दलहरु तयारीमा जुटेसँगै सुदूरपश्चिममा चुनावी सरगर्मी बढ्दै
सुदूरपश्चिम, २१ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीमा दलहरु जुटेसँगै सुदूरपश्चिम प्रदेशमा निर्वाचनको माहोल तात्तिन थालेको छ ।
राजनीतिक दलहरुले निर्वाचन क्षेत्रका इच्छुक प्रत्यासीको नाम सिफारिस गर्न थालेसँगै निर्वाचनको माहोल तात्तिन थालेको हो । योसँगै आमनागरिकमा समेत चुनावी चासो र उत्साह बढेकोे छ ।
सार्वजनिक स्थलहरुमा राजनीतिक दलका कार्यकर्ता र शुभेच्छुकहरुबीच अबको चुनावमा कुन पार्टीका प्रत्यासी विजयी हुने र को पराजित हुने भन्ने विषयमा अड्कलबाजी हुन थालेका छन् ।
समानुपातिकतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका दलहरुले यतिबेला प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) र समानुपातिकतर्फका उम्मेदवारको नामावाली सङ्कलन गरी सिफारिस गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेसले आकांक्षी उम्मेदवारको सिफारिस गर्ने काम पूरा गरिसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलहरु आकांक्षी उम्मेवारको नाम धमाधम सिफारिस गरिरहेका छन् ।
नेपाली कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह आकांक्षी उम्मेदवारको सूची केन्द्रमा पठाइसकिएको र अब पार्टीको ध्यान निर्वाचन क्षेत्र केन्द्रित गर्ने तयारी भइरहेको बताउनुहुन्छ । नेकपा (एमाले) कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गाना निर्वाचन क्षेत्रीय समितिबाट आकांक्षी उम्मेदवारका नाम जिल्ला समितिमा आइसकेकाले प्रदेश समिति हुँदै केन्द्रमा पठाउन लागिएको बताउनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीर्घबहादुर सोडारीले पार्टीको एकता सन्देशसभालाई चुनावी तयारीका रुपमा समेत लिएर केन्द्रित भइरहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी युवा नेता हरि रेग्मीले सङ्गठन विस्तारसँगै निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय भएर लागेको बताउनुभयो । प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा कूल मतदाता सङ्ख्या १७ लाख १६ हजार ६६० रहेको छ । महिला मतदाता आठ लाख ६४ हजार ४२३ र पुरुष मतदाता आठ लाख ५२ हजार २१९, तेस्रो लिङ्गी मतदाता १८ छन् । प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार आसन्न निर्वाचनका लागि प्रदेशभरि एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र तोकिएका छन् ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेशमा नेपाली कांग्रेस आठ, नागरिक उन्मुक्ति पार्टीका तीन, नेकपा (एमाले)का दुई, तत्कालीन नेकपा (एकीकृत समाजवादी)का तीन निर्वाचन क्षेत्रमा विजयी भएको थियो । प्रदेशको कैलाली जिल्लामा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, बझाङ, डोटी, बाजुरा, दार्चुला, बैतडी र डडेलधुरामा एक÷एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् ।
‘हेभी वेट’ नेता को कहाँबाट सिफारिस
प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सिफारिस हुनुभएको छ । उहाँ विसं २०४८ देखि भएका निर्वाचनमा आफ्नो गृहजिल्ला डडेलधुराबाट विजयी हुँदै आउनुभएको छ ।
हाल उम्मेदवारका आकांक्षीको सिफारिसको चरणमा रहेको नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वमन्त्री लेखराज भट्ट कैलाली निर्वाचन क्षेत्र–४ बाट सिफारिस हुनुभएको छ । उहाँ डोटीबाट पनि सिफारिस हुनुभएको छ ।
कैलाली–४ बाट विघटित प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर सिफारिस हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीमबहादुुर रावल अछाम क्षेत्र–१ बाट सिफारिस हुनुभएको छ । यसैगरी कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखक कञ्चनपुर–३ बाट सिफारिस हुनुभएको छ ।
कांग्रेस नेत्री एवं निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कैलाली–५ (धनगढी क्षेत्र)बाट सिफारिस हुनुभएको छ । यो क्षेत्रमा कांग्रेसका प्रदेश महामन्त्री एवं युवा नेता नरनारायण शाह, विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र केन्द्रीय सदस्य नृपबहादुर ओड पनि सिफारिस हुनभएको छ । कांग्रेसका प्रभावशाली नेताद्वय एनपी साउद कञ्चनपुर–२, बाट र दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट सिफारिस हुनुभएको छ ।
