कञ्चनपुर भन्सार : लक्ष्यअनुसार राजस्व सङ्कलन हुनै मुस्किल
महेन्द्रनगर, २२ पुस : कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीले केही वर्षयता वार्षिक लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन । हरेक वर्ष वार्षिक लक्ष्य बढाउँदै लगेको भन्सार कार्यालयले हरेक वर्षमा राजस्व सङ्कलन दर बढाउँदै लगेको भए पनि वार्षिक लक्ष्यको शतप्रतिशत सङ्कलन भने हुन नसकिरहेको जनाएको छ ।
पश्चिमी नाका गड्डाचौकीबाट भारत हुँदै यहाँ दैनिक उपभोग्य सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक सामग्री, लत्ताकपडा लगायतका सामान आयात हुने गरेको छ । भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म कार्यालयले रु २५ करोड २९ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।
चालु आर्थिक वर्षमा वार्षिक रु ७९ करोड राजस्व सङ्कलनको लक्ष्य लिइएको भए पनि हालसम्म ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । त्यसैगरी गत आर्थिक वर्ष २०८१/८२ मा रु ७४ करोड पाँच लाख ५९ हजार राजस्व सङ्कलन लक्ष्य रहेकोमा सो वर्ष रु ५९ करोढ ७७ लखा ५८ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका लेखापाल गणेशबहादुर सिंहले जानकारी दिनुभयो । “वार्षिक लक्ष्यसँगै राजस्व सङ्कलन दर पनि बढिरहेको छ ।” सिंहले भन्नुभयो, “हरेक वर्षको तथ्याङ्क हेर्दा सङ्कलनमा वृद्धि नै छ ।”
आर्थिक वर्ष २०८०/८१ मा भने लक्ष्य नजिक पुगेर राजस्व सङ्कलन भएको देखिन्छ । सो वर्ष रु ५९ करोड ६९ लाख राजस्व सङ्कलन गर्ने भनिएकामा रु ५४ करोड ३८ लाख ९० हजार सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । यो वार्षिक ९१.१२ प्रतिशत सङ्कलन हो ।
त्यस्तै आर्थिक २०७९/८० मा रु ४२ करोड नौ लाख ९५ हजार राजस्व सङ्कलन भएको थियो । उक्त वर्ष रु ५८ करोड ९६ लाख ४४ हजार लक्ष्य लिइएको थियो । आर्थिक वर्ष २०७८/७९ मा रु ५२ करोड ७७ लाख ६० हजार लक्ष्य रहेको थियो । जसमा रु ४६ करोड २२ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो ।
कोरोना सङ्क्रमणका कारण लगाइएको निषेधाज्ञाका कारण भारतबाट हुने आयात ठप्प हुँदा यहाँको राजस्व सङ्कलनमा विगतका वर्षमा असर परेको थियो । गड्डाचौकी भन्सारबाट जडीबुटी, हस्तकलाका वस्तु तथा सेवा निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
