`

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारीको मनोनयन पत्र दर्ता

Nepal One HD २३ पुष २०८२ १८:४४
निर्वाचन विषेश

सुदूरपश्चिम – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट आज चार जनाले आ–आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गराउनुभएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रत्यासीहरूले मनोनयन दर्ता गराउनुभएको हो ।

प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक पुरुषको कोटा(अन्य समूह) तर्फ नेपाली कांग्रेसका खम्महादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकारा जैशीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयका प्रेमराज भट्टले जानकारी दिनुभयो ।

यस्तै, रिक्त हुन लागेको एक महिला कोटाका लागि नेकपा(एमाले)की लीलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा र नेपाली कम्युनिष्ट पार्टीले एकल रुपमा उम्मेदवारीको मनोनयन दर्ता गराएको हो ।

यो प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य (एक महिला एक पुरुष)को पदावधि सकिन लागेको छ । यही पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने निर्वाचन कार्यतालिका छ ।

राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ । यो निर्वाचनका लागि ५२ प्रदेशसभा सदस्य मतदाता छन् । प्रदेशसभाका एक सदस्य निलम्वनमा छन् ।

यस्तै, प्रदेशका सबै ८८ पालिका तहका प्रमुख÷उप्रमुख र अध्यक्ष÷उपाध्यक्ष गरी १७५ मतदाता छन् । पालिका तहका एक मतदाता पनि निलम्वनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *