`

अमेरिका र युक्रेनी समूहले ‘सबैभन्दा जटिल मुद्दा’ छलफल गर्दै : जेलेन्स्की

Nepal One HD २३ पुष २०८२ २०:३६
विश्व

वासिङ्टन र किएभका वार्ता टोलीले बुधबार पेरिसमा युक्रेन वार्ताको ‘सबैभन्दा जटिल मुद्दा’ को समाधान गर्ने अपेक्षा गरिएको युक्रेनी नेताले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र ग्रिनल्याण्डको योजनालाई लिएर चर्किएको तनावका बाबजुद युक्रेनका लागि संयुक्त मोर्चा प्रस्तुत गर्न खोज्दा युरोपेली नेता र अमेरिकी कुटनीतिज्ञहरूले मङ्गलबार किएभका लागि प्रमुख सुरक्षा ग्यारेन्टी गर्ने सहमति भएको घोषणा गरेका थिए ।

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरले वार्तामा वासिङ्टनको प्रतिनिधित्व गरेका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो, “किएभ र वासिङ्टनको वार्ता टोलीले पेरिस वार्ताको दोस्रो दिन रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको भविष्य र पूर्वी युक्रेनको इलाकाको नियन्त्रणका लागि समर्पित गर्नेछन् ।”

उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, “अमेरिकी राष्ट्रपतिका राजदूतहरूसँग वार्ताको अर्को सत्र बस्दैछ र दुई दिनमा यो तेस्रो सत्र हुनेछ।”

राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “युद्ध अन्त्यको आधारभूत ढाँचाबाट सबैभन्दा जटिल मानिएका जापोरिज्जिया आणविक ऊर्जा प्लान्ट र क्षेत्रहरूसँग सम्बन्धित मुद्दाहरू छलफल गरिनेछ ।”

जेलेन्स्कीले किएभका पश्चिमी सहयोगीहरूले मस्कोमाथि दबाब दिनु महत्त्वपूर्ण रहेको पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “शान्ति सम्मानजनक हुनुपर्छ र यो साझेदारहरूमा निर्भर गर्दछ । उनीहरूले युद्ध समाप्त गर्न रूसको वास्तविक तयारी सुनिश्चित गर्छन् कि गर्दैनन यो पनि प्रमुख बिषय हो,” उहाँले भन्नुभयो ।

जेलेन्स्कीका नयाँ चिफ अफ स्टाफ काइरिलो बुडानोभले बुधबार भन्नुभयो, “यसको ठोस नतिजा आइसकेको छ तर सबै सूचना सार्वजनिक गर्न नसकिने देखिएको छ ।”

एक युरोपेली कुटनीतिक स्रोतका अनुसार फ्रान्स, जर्मनी र बेलायतका प्रतिनिधिहरू साथै इटाली र टर्कीका केही प्रतिनिधिहरू पनि बुधबार भएको पेरिस वार्तामा सहभागी भएका थिए ।

मङ्गलबार युक्रेनका पश्चिमी सहयोगीहरूले अमेरिकी नेतृत्वको निगरानी संयन्त्र र युरोपेली बहुराष्ट्रिय बलसहित किएभका लागि प्रमुख सुरक्षा सुनिश्चितता दिने सहमति गरेका छन् ।

तर दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्वमा लडाइँमा कुनै कमी आएको छैन र मस्कोको वर्तमान वार्ताको स्थिति स्पष्ट छैन ।

रुसी नेता भ्लादिमिर पुटिनले बारम्बार युक्रेनमा नेटो स्थलसेनाको उपस्थितिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै आउनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *