चीन–दक्षिण कोरिया सम्बन्धमा आशा
चीनका शीर्ष सांसदले मङ्गलबार बेइजिङमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट गर्दै दुई देशबीच स्थिर सम्बन्ध र गहिरो सहयोगको अपेक्षा व्यक्त गर्नुभएको सरकारी मिडियाले जनाएको छ ।
राष्ट्रपति ली छ वर्षपछि चिनियाँ राजधानी भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली नेता हुनुहुन्छ । उहाँले पछिल्ला वर्षहरूमा देखिएको कूटनीतिक गतिरोधपछि चीनसँगको सम्बन्ध सुधार गर्ने प्रयास गरिरहनुभएको छ ।
सोमबार राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुभएको थियो । सो भेटमा दुवै नेताले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको महत्त्वमा सहमति जनाउँदै उत्तर कोरियासँग संवाद पुनः सुरु गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।
मङ्गलबारको भेटमा चीनका तेस्रो उच्च पदस्थ अधिकारी तथा नेसनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीले चीन दक्षिण कोरियासँग ‘असल–छिमेकी मित्रता सुदृढ गर्न’ र ‘पारस्परिक फाइदामा आधारित सहयोगलाई अझ गहिरो बनाउन’ इच्छुक रहेको बताउनुभयो । उहाँले दुई देशबीच सम्बन्धको ‘स्थिर र दीर्घकालीन विकास’ र निरन्तर संवाद तथा सहकार्यको अपेक्षा व्यक्त गर्नुभएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति लीको चीन भ्रमण भेनेजुएलामा हालै भएको अमेरिकी सैन्य कारबाहीपछि भएको हो । उक्त कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अपदस्थ गरी न्युयोर्कमा लागुऔषध तस्करीसम्बन्धी आरोप सामना गर्न लगिएको थियो, जसको बेइजिङ र प्योङयाङले निन्दा गरेका छन् ।
यसैक्रममा राष्ट्रपति लीले मङ्गलबार चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि भेट गर्नुभएको छ । सो अवसरमा उहाँले चीन–दक्षिण कोरिया सम्बन्ध सुधारलाई ‘समयको अपरिवर्तनीय प्रवृत्ति’ का रूपमा वर्णन गर्नुभयो ।
आफ्नो देशको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग आर्थिक सहकार्य विस्तार गर्ने अपेक्षा राख्नुभएका दक्षिण कोरियाका राष्ट्रपति ली बुधबार चीनको प्रमुख आर्थिक केन्द्र साङ्घाईको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
