`

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २२५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो ।

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउन, प्राविधिक र प्रशासनिक परामर्श सुरु गरेको छ ।

नदी किनाराका अव्यवस्थित बस्ती हटाइसकेपछि जग्गा संरक्षणको कार्य अघि बढाएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । कामपाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदनअनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि प्राविधिक तथा प्रशासनिक परामर्श थालिएको कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ ।

स्वीकृत डिपिआरअनुसार नदी २०२१ सालको नापी नक्साबमोजिम हुनुपर्नेमा नदीले बहावले स्थान परिवर्तन गरेर पश्चिमतर्फ सरेको छ । यसले गर्दा काठमाडौँतर्फको करिब १०० रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौँतर्फ सरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा अध्ययन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले, कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गरेर डिपिआरबमोजिमको बहाव क्षेत्र कायम गराउने काम कामपाको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

“नदी किनारामा अव्यवस्थित बस्ती भएका कारण यसअघि सञ्चालन गर्न नसकिएका काम तत्काल अगाडि बढाएर आयोजनालाई चाँडो सम्पन्न गराउनुपर्ने बताइएको छ । यसका लागि लागत अनुमान तयार पार्ने, जनशक्ति परिचालन योजना बनाउने र योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ”, कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “बस्तीबाट आफूलाई भूमिहीन भनेर विवरण टिपाउनुभएका व्यक्तिहरूको उचित व्यवस्थापन, बस्ती खाली गराइएका ठाउँको निर्माणजन्य सामग्रीको व्यवस्थापन र ती स्थानलाई बारबेर गरेर संरक्षण गर्ने कामलाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुहोला ।”

मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार आयोजना क्षेत्रभित्र पर्ने नदीको करिब १.५ किलोमिटर बहाव क्षेत्रमध्ये ५७५ मिटर साविक अवस्थामा छ । बाँकी नदी खण्डमा बहाव परिवर्तन भएको छ । भक्तपुरतर्फ जग्गा सरेको ठाउँमा पक्की घरटहरा तथा अस्थायी संरचना थिए । त्यस स्थानबाट मानवीय बसोबास खाली गराएर संरचना भत्काएपछि रिप्लटिङको प्रक्रिया अगाडि बढाइसकेका छौँ ।”

आजदेखि काठमाडौँ उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै

काठमाडौँ। सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ ।पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो ।

उक्त प्रक्रियालाई व्यवस्थित बनाउन बिहीबार सहरी मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो । सो बैठकले बस्ती स्थानान्तरणको आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको थियो ।

मन्त्रालयका अनुसार जोखिमयुक्त बस्ती स्थान्तरणलाई सहज बनाउन त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रङ्गशाला पुर्याइनेछ । रङ्गशालामा तीनवटा सहायता कक्ष सञ्चालन गरिनेछन् । पहिलो कक्षमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रोमा सुकुम्वासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्याङ्क सङ्कलन गरिनेछ ।

त्यसैगरी, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामानजस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायले सहयोग गर्नेछन् । आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन पनि बसको व्यवस्था गरिएको छ ।

मन्त्रालयले तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवाको व्यवस्थासमेत गरेको छ । यी सेवा प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा उपलब्ध हुनेछन् ।सङ्कलित विवरणका आधारमा सुकुम्वासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ । पहिचान हुन नसकेका व्यक्तिहरूलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ । पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने छ ।

विगतमा नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको छानबिन गरिने र दोषी ठहरिए कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा आज साँझसम्म खाली गर्न आग्रह गरेको थियो ।

विपद्को उच्च जोखिममा रहेका ती बस्तीहरू वैशाख १८ गते बिहान ७ः०० बजेदेखि खाली गर्ने कार्य सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले राससलाई जानकारी दिनुभयो ।

आज बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँने गरिन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ,

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका(४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई वर्षदेखि अलपत्र पर्दै आइरहेको छ । सरकारले दीर्घकालीन महत्वको ‘एक स्थानीय तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधारका लागि बहुवर्षीय आयोजना अघि बढाएको हो ।

हाल उक्त निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बजेट विनियोजन नहुँदा अलपत्र परेको छ । आव २०७६/७७ मा जोमसोममा सुविधा सम्पन्न दुई तले बहुउद्देश्यीय कभर्ड हल निर्माण सुरु गरिएको थियो । सङ्घीय, प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माणाधीन जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड हल विगत दुई वर्षदेखि रोकिएको छ ।

कभर्ड हलको लागत रु छ करोड ५८ लाख तय गरिएको छ । इनडोर खेलमैदानलगायत विभिन्न पूर्वाधारको व्यवस्थापन गर्ने गरी निर्माण थालनी गरिएको जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड सङ्घ, प्रदेश र स्थानीय तहको टुक्रे बजेट र समयमा आवश्यक बजेट नहुँदा निर्माण सम्पन्न हुन विलम्ब भएको हो ।

समयमा बजेट सुनिश्चितता नहुने, विनियोजित रकम लागत अनुपातभन्दा न्यून बजेट हुँदा कर्भड हल निर्माणले गति लिन नसकेको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्र बमले जानकारी दिए । आयोजना सुरु भएको छ वर्ष बितिसक्दा यसको भौतिक प्रगति ४० प्रतिशत रहेको उनले उल्लेख गरे । निर्माणाधीन कभर्डहल आयोजना कार्यान्वयनमा आएको पहिलो वर्ष सङ्घीय सरकारबाट रु ४० लाख, प्रदेशबाट रु ५० लाख र घरपझोङ गाउँपालिकाको समपूरक बजेट रु १५ लाख लागत साझेदारी गरिएको थियो ।

यसैगरी आव २०७७/७८ मा प्रदेश सरकारबाट रु २५ लाख र स्थानीय तहबाट रु १७ लाख गरी रु ४२ लाख बजेट विनियोजन भएपछि कभर्ड हल निर्माणलाई निरन्तरता दिइएको थियो । “आव २०७८र७९ मा सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी रु ३२ लाख बजेट विनियोजन भएको थियो । आव २०८०र८१ मा पनि सङ्घीय सरकारबाट रु ३२ लाख र स्थानीय तहको समपूरक बजेट रु २० लाख गरी रु ५२ लाख बजेट परेको थियो”, इन्जिनियर बमले भने । पछिल्लो समय घरपझोङमा निर्माणाधीन कभर्ड हलमा रु दुई करोड बढी बजेट खर्च भइसकेको उनले जानकारी दिए ।

निर्माण सुरु भएको छ वर्ष पुग्दा कभर्ड हलमा दर्शक बस्नका लागि प्यारापिट र भुइँतला ‘स्टे«क्चर’ निर्माण भएका छन् । समग्रतामा कभर्ड हलको दुई तला स्टक्चर उठिसकेको छ । हलको भित्र र बाहिरका कभर्डमा विभिन्न कक्षको कोठाका संरचना तयार भएका छन् । कभर्ड हलमा फलामे ढोका पनि जडान गरिएको छ ।

जोमसोम खेल मैदानमा ७०० देखि ८०० दर्शक अट्ने गरी निर्माण भइरहेको इन्जिनियर बमले जानकारी दिए । दुई तले कभर्ड हलको नमूना डिजाइन प्रदेश सरकारले पठाएपछि घरपझोङ गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो ।

उनका अनुसार यसको लम्बाइ ४५ मिटर र चौडाइ २५ मिटर हुनेछ । जोमसोममा निर्माणाधीन दुई तले कभर्ड हलमा इन्डोर भलिबल खेल मैदान, अफिस कोठा, परिवर्तन कक्ष (चेन्जिङ रुम), प्यारापिट, भिआइपी कक्ष, मेडिकल हल, शौचालयलगायत पूर्वाधार निर्माण हुने योजना छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले कभर्ड हल निर्माण सम्पन्न गर्नका लागि सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गरिए पनि पछिल्लो समय बजेट विनियोजन हुन नसकेका बताए । स्थानीय तहले चाहेर पनि कभर्ड हल निर्माण सम्पन्न गर्न नसक्ने भएकाले उपल्लो निकायको ध्यानाकर्षण गराउँदै आइएको उनको भनाइ छ ।

मुस्ताङका पाँच स्थानीय तहमा सुविधा सम्पन्न इन्डोर खेल मैदान (कभर्ड हल) नहुँदा यहाँ विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्न निकै कठिनाइ हुँदै आएको थियो । समुद्री सतहबाट दुई हजार ७०० मिटर उचाइमा अवस्थित मुस्ताङको जोमसोममा दिउँसो १२ः०० बजेपछि बेजोडले हावाहुरी चल्ने हुँदा यहाँ आउट डोर खेल सञ्चालन गर्न कठिन हुन्छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ९६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७७ पैसा र बिक्रीदर २३ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा रहेको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल कोशी, मधेश, बागमती , गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भई रहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा तथा सुदुरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

तनहुँमा दुईदिन सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिए ,२० जनामा क्यान्सर

तनहुँ। तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन् ।यही वैशाख १६ र १७ गते सञ्चालित शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, सुर्तीजन्य पदार्थबाट हुने नाक, कान, मुख र घाँटीको क्यान्सरलगायत रोगको परीक्षण गरिएकामध्ये बीस जनामा क्यान्सर देखिएको हो ।

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाले जानकारी दिँदै उहाँहरूको थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पठाइएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना, व्यास नगरपालिकाको आर्थिक सहयोग, विपी कोइराला क्यान्सर अस्पतालको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

रेडक्रस सोसाइटी सामाजिक संस्था भएकाले तनहुँ, कास्की र लमजुङ जिल्लाका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाका सभापति प्रमोद न्यौपानेले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “दश वर्षपछि लाग्ने रोग आजको परीक्षणबाट थाहा हुने भएकाले शिविर महत्वपूर्ण र फलदायी भएको विश्वास गरिएको छ ।”

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष

वाशिङगटन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी जारी रहने बताउनुभएको छ ।हर्मुजमा आवागमन पुनः खोल्नका लागि प्रयास जारी राखेको अमेरिकाले स्वतन्त्र रूपमा आवागमनमा अवरोध भएमा हर्मुजमा आक्रमण गरेरै भएपनि जहाजलाई वारपार गराउने बताएको थियो ।

नाकावन्दी लगाएर आफूलाई झुकाउने अमेरिकी प्रशासनको नीतिविरूद्ध चट्टानी अडान राख्दै इरानले हर्मुज घाँटीमा सिमित जहाजको आवागमनलाई मात्र अनुमति दिएपछि तनावले थप उचाइ लिने देखिएको छ ।

ट्रम्प निकट एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभएको छ, “इरानलाई प्रमुख जलमार्गमा उसको प्रभाव वा नियन्त्रण अन्त्य गर्न बाध्य पार्ने उद्देश्यका साथ राष्ट्रपति ट्रम्पले विभिन्न कूटनीतिक र नीतिगत विकल्पहरू अघि सार्नुहुनेभएको छ। ”

ती अधिकारीले भने, “योजना अन्तर्गत अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी जारी राख्नेछ र राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँग इरानमाथि दबाब बढाउने प्रयास गर्नुहुनेछ, यसले इरानी इन्धनको स्वतन्त्र प्रवाहलाई अवरोध गर्ने प्रयासको मूल्य चुकाउन सकिने विश्वास राष्ट्रपति ट्रम्पको रहेको छ।”

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण भोलिदेखि

काठमाडौँ। सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ ।पहिलो चरणमा सिनामङ्गलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू स्थानान्तरण गरिसकिएको छ भने अब दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालको सचिवालयले जनाएको छ ।यस प्रक्रियालाई व्यवस्थित बनाउन आज मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो । सो बैठकले आवश्यक तयारी पूरा गरेको छ ।

सचिवालयका अनुसार स्थान्तरणलाई सहज बनाउन जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रङ्गशाला पु¥याइनेछ । रङ्गशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरिनेछन् । पहिलो कक्षमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण सङ्कलन र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्याङ्क सङ्कलन गरिनेछ ।

त्यसैगरी, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामानजस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायको सहयोग रहनेछ । आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन पनि बसको व्यवस्था गरिएको छ ।

मन्त्रालयले तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवाको व्यवस्थासमेत गरेको छ । यी सेवा प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा उपलब्ध हुनेछन् ।

सङ्कलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ । पहिचान हुन नसकेका व्यक्तिहरूलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ । पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने छ ।

यसैबीच, विगतमा नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको छानबिन गरिने र दोषी ठहरिए कानुनी कारबाही गरिने सचिवालयले जनाएको छ ।

टेलिकमद्वारा दुर्गम क्षेत्रमा भिस्याटमार्फत सेवा प्रवाह

काठमाडौँ। नेपाल टेलिकमले देशका विभिन्न दुर्गम स्थानहरुमा ‘टुजी’ प्रविधिमा आधारित जिएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ ।टेलिकमले स्याटेलाइट प्रविधिमा आधारित जिएसएम मोबाइल तथा भिस्याट टेलिसेन्टर उपकरण जडान गरी हाल ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको जनाएको छ ।

चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो–रोल्पा पदमार्ग रहेको दोलखाको ना–गाउँ र गोसाइँकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा यो सेवा विस्तार गरिएको प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रविधिका सबैभन्दा बढी अर्थात् १४ ‘साइट’ डोल्पा जिल्लामा रहेका छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट रहेका छन् ।

यस्तै हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा), सोरुकोट र भी गरी पाँच÷पाँच स्थानमा साइट रहेको टेलिकमले जनाएको छ ।

यसैगरी मनाङको भीमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ (च्छो–रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्सेप र मोन्जु, रसुवाको गोसाइँकुण्ड र चन्दनबारी तथा दार्चुलाको तिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा यस्ता साइट रहेका छन् ।

टेलिकमले सहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसङ्ख्याको कोणबाट निकै कम मानिसहरु रहने दुर्गम बस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि भिस्याट प्रविधिको प्रयोग गरेको छ ।

यस्ता दुर्गम बस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकोप्टरबाट उपकरण र सामानहरु ओसारेरसमेत दूरसञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।

उपाध्यक्ष भण्डारीसँग चीनका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ ।राजदूत चाङले आज सिंहदरबारस्थित उपाध्यक्ष भण्डारीको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो ।

भेटमा उपाध्यक्ष भण्डारीले नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याउनुभयो । “हामी एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो । नेपालको सार्वभौमिकता र स्वतन्त्रताप्रति चीनले दर्शाउँदै आएको सम्मानलाई नेपालले सधैँ उच्च महत्त्व दिएको उहाँले जानकारी दिनुभयो ।

आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तअनुसार नै अगाडि बढ्ने चर्चा गर्दै उपाध्यक्ष भण्डारीले चीनले नेपालको पूर्वाधार विकासलगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल एक आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको चर्चा गर्दै उपाध्यक्ष थापाले थप चिनियाँ लगानी आकर्षित तथा सहजीकरण गर्न नेपालले आफ्ना नीतिहरूलाई व्यवसायमैत्री र लगानीमैत्री गर्ने दिशामा सक्रियतापूर्वक कार्य गरिरहेको जानकारी गराउनुभएको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ्स फ्रेमवर्कअन्तर्गत सहमति भएका परियोजनाहरूका साथै अन्य सहयोग परियोजनाहरूको कार्यान्वयनको गतिलाई तीव्रता दिन चाहेको पनि उपाध्यक्ष भण्डारीको भनाइ थियो ।

सो अवसरमा राजदूत चाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताउनुभयो । दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइँमा उठेको पनि उहाँको भनाइ थियो ।

नेपालमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको पनि बताउनुभयो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौँ, १७ वैशाखः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन अभ्यास गरिएको छ ।अन्तरराष्ट्रिय नागरिक उडड्यन मापदण्डअनुसार नियमित रूपमा गरिने यस्तो अभ्यासले सम्भावित विपद्का बेला समन्वय, दक्षता र तत्परतामा सुधार ल्याउने विश्वास गरिएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङगठनका मापदण्ड तथा विमानस्थलको आपत्कालीन योजनाअनुसार प्रत्येक दुई वर्षमा पूर्णस्तरको अभ्यास सञ्चालन गरिँदै आएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

अभ्यासका क्रममा विमान दुर्घटनाको काल्पनिक दृश्य सिर्जना गरी आगलागी नियन्त्रण, घाइतेको उद्धार, प्राथमिक उपचार, अस्पतालसम्म सुरक्षित स्थानान्तरण तथा घटनास्थल व्यवस्थापनजस्ता अभ्यास गरिएको थियो ।

उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारी, दमकल सेवा, एम्बुलेन्स टोली तथा अन्य सरोकारवाला निकायको सहभागिता थियो ।

महाप्रबन्धक सिटौलाका अनुसार यस्तो अभ्यासले आकस्मिक अवस्थामा देखिन सक्ने कमजोरी पहिचान गरी सुधार गर्न मद्दत पु¥याउनेछ । “वास्तविक दुर्घटना हुँदा क्षणिक निर्णय, स्रोत व्यवस्थापन र प्रभावकारी समन्वय अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले यस्ता अभ्यासले तयारीलाई अझ मजबुत बनाउँछ”, उहाँले भन्नुभयो ।

नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल

काठमाडौँ। पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार र आकर्षक नारामा केन्द्रित नभई सुधार र नतिजा देखिने गरी रुपान्तरणकारी ढङ्गले आउनुपर्ने बताउनुभएको छ ।आगामी आव २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको नीतिगत छलफल कार्ययममा पूर्वअर्थमन्त्री खनालले नतिजा केन्द्रित बजेट विनियोजना हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । विगतका बजेटहरू आकार, वितरण र लोकप्रिय घोषणामा सीमित भएका उल्लेख गर्दै उहाँले अबको बजेटले ठोस् नतिजा दिनुपर्ने धारणा राख्नुभयो ।

पूर्वअर्थमन्त्री खनालले आफ्नै संस्थागत तथा वित्तीय क्षमताको यथार्थ मूल्याङ्कन गरेर मात्र लक्ष्य निर्धारण गर्न सरकारलाई सुझाव दिनुभयो । महत्वाकाङ्क्षी लक्ष्य आवश्यक भए पनि कार्यान्वयन क्षमताभन्दा बाहिरको लक्ष्य निर्धारणले नकारात्मक असर पार्नसक्ने उहाँको भनाइ छ । अघिल्ला सरकारले सुरु गरेका सकारात्मक, सुधार र प्रतिबद्धतालाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले हालै कानुनविपरीत लिइँदै आएका सेवा–सुविधा कटौती गर्ने निर्णयलाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै पूर्वअर्थमन्त्री खनालले वित्तीय अनुशासनमा कडाइ गरिँदा त्यसले सकारात्मक सङ्केत दिन थालेको बताउनुभयो । “मितव्ययिताका सवालमा अनुशासनको सुरुआत भएको छ, यसलाई निरन्तरता दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यबारे पूर्वअर्थमन्त्री खनालले आगामी पाँच वर्षमा औसत सात प्रतिशतको वृद्धि हासिल गर्ने सरकारी योजना महत्वाकाङ्क्षी रहेको उल्लेख गर्नुभयो । यस्तो लक्ष्य हासिल गर्न ठूलो लगानी, स्रोत व्यवस्थापन र नीतिगत स्थायित्व आवश्यक पर्ने उहाँको भनाइ छ । साथै, प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पु¥याउने लक्ष्य पनि चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने सन्दर्भमा पनि सरकार गम्भीर हुनुपर्नेमा पूर्वअर्थमन्त्री खनालले जोड दिनुभयो । विशेषगरी जलविद्युत् क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाउन जग्गा मुआब्जा, अनुमति प्रक्रिया र प्रशासनिक जटिलता समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

कर नीतिमा स्थायित्वको अभावले निजी क्षेत्रको मनोबल कमजोर बनाएको उल्लेख गर्दै खनालले कम्तीमा आगामी १० वर्षसम्म कर दर स्थिर रहने स्पष्ट प्रतिबद्धता सरकारले दिनसके लगानी गर्ने वातावरण सुधार हुने बताउनुभयो । नेपालको कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा कर राजस्वको अनुपात उच्च रहेको उल्लेख गर्दै व्यवहारिक कर संरचनाका कारण वैदेशिक व्यापारमा अपचलन देखिएको उहाँको विश्लेषण छ ।

आन्तरिक उत्पादन वृद्धि र आयात नियन्त्रण आवश्यक भए पनि करका दर बढाएर मात्र यो लक्ष्य हासिल गर्न खोज्दा प्रत्युत्पादक परिणाम आउन सक्ने पूर्वअर्थमन्त्री खनालको धारणा छ । रोजगारी सिर्जनाको लक्ष्य पनि महत्वाकाङ्क्षी रहेका भन्दै उहाँले त्यसका लागि आन्तरिक लगानी वृद्धि अपरिहार्य रहेको बताउनुभयो ।

खनालले वर्तमान सरकारले कामलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले अघि बढ्नुपर्ने बताउँदै प्रशासकीय सङ्घीयतालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धामा आधारित भएर अघि बढ्न आग्रह गर्नुभयो ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयनतर्फ सरकार अग्रसर रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्री खनालले विगतका अध्ययन र सुधार सिफारिसहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता स्वागतयोग्य रहेका बताउनुभयो ।

कार्यक्रममा सेजनका अध्यक्ष भागवत भट्टराईले आगामी बजेट कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

रोल्पामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २० पुग्यो

काठमाडौं – रोल्पामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप थवाङ गाउँपालिका-१ जलजलामा दुर्घटना भएको हो ।

जिप भीरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो।दुर्घटनामा परेकाहरू १७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अमेरिकाले लज्जास्पद हार बेहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान। इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दावी गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो नाकाबन्दीको इरानी नेतृत्वले उल्लङ्घन गर्न सफल हुनुलाई इरानको जीतका रूपमा सर्वोच्च नेता खामेनीले बताउनुभएको छ।

खामेनीले भन्नुभएको छ, “यस क्षेत्रमा सबैभन्दा ठूलो सैन्य तैनाथी र आक्रमण र संयुक्त राज्य अमेरिकाको लज्जास्पद हारको दुई महिनापछि पर्सियन खाडी र स्ट्रेट अफ हर्मुजका लागि नयाँ अध्याय खुलेको छ ।”

इरानको नयाँ सर्वोच्च नेताका रूपमा मार्च ९ मा नियुक्त भएयता अहिलेसम्म सार्वजनिक रूपमा देखा नपरेका खामेनीको सन्देश इरानमा ‘पर्सियन खाडी’ दिवसको वार्षिक राष्ट्रिय उत्सवको अवसरमा आएको हो।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तत्कालिन सर्वोच्च नेता तथा खामेनीका पिताको मृत्यु भएपछि मोजतबा खामेनी सर्वोच्च नेता बन्नुभएको थियो ।

गत हप्ता न्यूयोर्क टाइम्सले नाम नखुलाइएका कैयौँ इरानी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा खामेनी गम्भीर घाइते भएको तर उहाँ मानसिक रूपमा तेज रहेको बताएको थियो ।

आफ्नो बिहीबारको सन्देशमा उहाँले अमेरिकाले यस क्षेत्रमा आफ्ना सहयोगीहरूलाई सुरक्षित गर्ने कुनै आशा प्रदान गर्ने कुरा त परै जाओस् अमेरिकी अड्डाहरूमा ‘आफ्नो सुरक्षा सुनिश्चित गर्ने क्षमताको पनि अभाव छ।”

उहाँले यस क्षेत्रका देशहरूका लागि ‘आराम र प्रगति’ ल्याउने माध्यमको रूपमा रणनीतिक स्ट्रेट अफ हर्मुजको इरानको ‘नयाँ कानुनी ढाँचा र व्यवस्थापन’ को प्रशंसा गर्नुभयो ।

–उज्ज्वल भविष्य –

मध्यपूर्व युद्ध सुरु भएदेखि यो जलमार्ग एउटा प्रमुख विन्दु बनेको छ, इरानले जलमार्गबाट केवल केही जहाजलाई मात्र पार गर्न अनुमति दिएको छ।

गत हप्ता इरानी एक वरिष्ठ सांसदले भन्नुभएको थियो, “तेहरानले हर्मुज जलमार्गमा लगाएको करबाट राम्रो राजस्व प्राप्त गर्न थालेको छ।”

खामेनीले खाडीमा संयुक्त राज्य अमेरिकाको उपस्थित नहुनु नै यस क्षेत्रका लागि उज्ज्वल भविष्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हजारौं किलोमिटर टाढाबाट हस्तक्षेप गर्नेहरूलाई ‘यसको पानीको पिँधमा बाहेक खाडीमा कुनै स्थान छैन।”

नेता खामेनीले सरकारको राष्ट्रियताका लागि भएको लडाइमा इरानका जनताले पीडा सहेरै पनि समन्वय गरेको भन्दै इरानी जनताको धैर्यका लागि आधार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “नानो र बायोदेखि आणविक र मिसाइलसम्मका पहिचान, आध्यात्मिक, मानवीय, वैज्ञानिक, औद्योगिक र उन्नत प्रविधिहरू सबै राष्ट्रिय क्षमताहरूलाई इरानीहरू आफ्नो राष्ट्रिय लक्ष्य मान्छन्।”

यसअघि बिहीबार नै इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानले हर्मुजमा गरेको कदमको बदलामा अमेरिकी नौसैनिक नाकाबन्दी ‘असफल हुने’ बताउनुभएको थियो ।

पेजेस्कियानले थप्नुभयो, “यस्ता उपायहरूले ‘क्षेत्रीय सुरक्षा बढाउन मात्र असफल हुने छैन, तर वास्तवमा तनावको स्रोत र पर्सियन खाडीमा स्थायी स्थिरताको अवरोध हो।”

अन्य तथ्याङ्कहरूले पनि अवज्ञाको स्वर प्रहार गरेका छन्। इरानका नौसेना कमान्डर शाहराम इरानीले सङ्केत गर्नुभयो, “इरानले ‘धेरै निकट भविष्यमा’ नौसैनिक हतियार तैनाथ गर्नेछ जुन उसले भर्खरै विकास गरेको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता

बर्दिया। कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षणलाई प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता जनाउनुभएको छ ।

आज निकुञ्ज स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) का अवसरमा यहाँ आयोजित विशेष समारोहमा मन्त्री चौधरीले निकुञ्ज र वन्यजन्तुको संरक्षणलाई आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परम्परागत शैलीबाट माथि उठाएर वैज्ञानिक र प्रविधिमैत्री बनाइने उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले निकुञ्जको ५० वर्षे यात्रालाई बर्दियाली जनता र प्रकृतिबीचको सहअस्तित्वको महत्वपूर्ण इतिहासका रूपमा चित्रण गर्नुभयो । “पाँच दशकअघि वन्यजन्तुको सुरक्षित बासस्थान बनाउने उद्देश्यले स्थापना गरिएको निकुञ्ज आज विश्वका लागि जीवन्त सङ्ग्रहालयका रूपमा विकास भएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुको संरक्षण गर्नु सरकारको मात्र दायित्व नभई स्थानीय समुदाय, साझेदार संस्था र निजी क्षेत्रको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय समुदायको सक्रिय सहभागिताबिना निकुञ्जको दिगो संरक्षण सम्भव नहुने धारणा राख्नुभयो ।

वन्यजन्तु संरक्षणका क्रममा उत्पन्न मानव-वन्यजन्तु द्वन्द्वलाई मुख्य चुनौतीका रूपमा रहेका उल्लेख गर्दै मन्त्री चौधरीले जनताको सुरक्षा र जीविकोपार्जनलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो । “वन्यजन्तुको संरक्षणसँगै मानव जीवन र सम्पत्तिको सुरक्षालाई समेत समान रूपमा ध्यान दिँदै प्रभावकारी योजना बनाइछ”, उहाँले भन्नुभयो ।

निकुञ्जबाट प्राप्त हुने लाभ स्थानीय बासिन्दाको जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले त्यसको न्यायोचित वितरण गरिने बताउनुभयो । आगामी दिनमा वैज्ञानिक अध्ययन, प्रविधिको प्रयोग तथा युवाको सक्रिय परिचालनमार्फत संरक्षणलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ छ । “प्रकृति हाम्रो मात्र नभई भावी पुस्ताको सम्पत्ति भएकाले यसको संरक्षण हाम्रो साझा जिम्मेवारी हो”, मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।

सो अवसरमा निकुञ्ज संरक्षणमा योगदान पुर्‍याउने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा संरक्षणकर्मीलाई सम्मान गरिएको थियो । सरकारले मध्यवर्ती क्षेत्रको विकास, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा अवैध गतिविधि नियन्त्रणका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

महिला नेतृत्व सम्मेलन यही वैशाख २१ मा

काठमाडौँ। नेपाल उद्योग परिसङ्घ (सिएनआई) र सिएनआई कोशी प्रदेशको संयुक्त आयोजनामा राष्ट्रियस्तरको महिला नेतृत्व सम्मेलन हुने भएको छ ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहकार्यमा यही वैशाख २१ गते प्रदेशको राजधानी विराटनगरमा सो सम्मेलन हुने भएको हो ।

‘दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ मुख्य विषय रहने सम्मेलनमा महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्थानीय कृषि तथा उद्यमशीलता प्रवर्द्धनका विषयमा छलफल हुने सिएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उक्त सम्मेलनमा सफल महिला उद्यमीहरूका अनुभव आदानप्रदान गर्ने तथा स्वदेशी उत्पादन प्रदर्शनी गरिने आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

सम्मेलनमा महिला उद्यमीहरूको सफलताका कथा प्रस्तुति, डिजिटल नवप्रवर्तनसम्बन्धी छलफल, स्वदेशी वस्तुहरूको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता र निजी क्षेत्रका प्रतिनिधि एवं विकास साझेदारहरूबीच छलफल हुने जनाइएको छ । परिसङ्घका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

उच्च शिक्षा पढ्ने छोरीबुहारीलाई भीमदत्तको छात्रवृत्ति

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षा हासिल गर्न चाहने छोरीबुहारीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरेको छ ।

आर्थिक अभावका कारण कोही पनि छोरी बुहारीहरु उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यविधि बनाएर नगरपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको हो ।

उच्च शिक्षा अध्ययनमा सहज पहुँच पुगाउन छोरीबुहारी, दलित, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गरिने भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले एमबिबिएस, सिभिल इन्जिनियर तथा प्राविधिक विषय र साधारण धारतर्फ अध्ययन गर्ने नगरपालिकाभित्रका छोरीबुहारीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।

“यो शैक्षिक शत्रका लागि पालिकाले सुचना आह्वान गरेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष एमबिबिएस र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने कोही विद्यार्थी सम्पर्कमा आउनुभएन् ।” शिक्षा शाखाका अनुसार छोरीबुहारी उच्च शिक्षाछात्रवृत्ति कार्यक्रमबाट हालसम्म पाँच जनाले अध्ययन गरिरहेका छन् ।

आव २०७९/८० मा तीन जना छोरी बुहारीले छात्रवृत्तिबाट साधारण धारतर्फका विषयमा अध्ययन गरेका छन् । त्यसैगरी आव २०८०/८१ म दुई जनाले उक्त छात्रवृत्तिबाट अध्ययन गरिरहेका हुन् ।

एमबिबिएर र इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु सम्पर्कमा नआएपछि गत वर्ष बजेट फ्रिज भएको थियो । चालु शैक्षिक शत्रका लागि पनि पालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।

एमबिबिएस अध्ययन गर्ने दुई जनालाई प्रतिव्याक्ति रु दुई लाख, इन्जिनियरिङ अध्ययन गर्ने तीन जनालाई रु एक लाख र अन्य विषय अध्ययन गर्ने छ जनालाई रु ५० हजार हरेक आवमा छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइनेछ – अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आज यहाँ आयोजना गरेको नीतिगत छलफलमा अर्थमन्त्री वाग्लेले पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट ल्याइने स्पष्ट पारे।

उनले परिणाममुखी र सुधार केन्द्रित बजेट ल्याइने बताए । बजेटबारे आम नागरिकमा रहेको अतिरञ्जना र भ्रमप्रति टिप्पणी गर्दै उनले बजेटलाई सरकारको आय–व्यय व्यवस्थापनको व्यावहारिक दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा राखे ।

उनका अनुसार आगामी बजेट निर्माणका लागि सबै मन्त्रालयलाई राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभित्रै रहेर योजना बनाउन निर्देशन दिइएको छ । यद्यपि आर्थिक रुपान्तरणका लागि अहिलेको सिलिङ अपर्याप्त रहेको टिप्पणी पनि उनले गरे ।

विगतमा राजस्व क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउने प्रवृत्तिले समस्या निम्त्याएको उल्लेख गर्दै उनले आगामी वर्षका लागि करिब १३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको अनिवार्य दायित्व रहेको र देशको राजस्व क्षमता करिब ११ खर्ब ८० अर्ब रुपैयाँ हाराहारी मात्र रहेको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले यस्तो अवस्थाले अनिवार्य दायित्व धान्नसमेत चुनौती देखिएको उल्लेख गर्दै ऋण परिचालनको आफ्नै दायित्व र सीमाहरू रहेको बताए । करिब १९ खर्ब रुपैयाँको बजेटले करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन सक्ने वा नसक्ने प्रश्न महत्त्वपूर्ण रहेकाले विनियोजनको कुशलता र कार्यान्वयन क्षमतामा जोड दिईने उनले बताए ।

सीमित स्रोतका कारण नतिजा नदिने तथा प्रभावहीन कार्यक्रमहरू कटौती गरिने सङ्केत गर्दै उनले सार्वजनिक खर्चलाई रणनीतिक रूपमा बढाएर अर्थतन्त्र चलायमान बनाउने नीति अवलम्बन गरिने बताए । यो ।

सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त : प्रदेश प्रमुख कर्ण

धनुषा। मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त रहेको बताउनुभएको छ ।

मधेसी आयोगको आयोजना तथा इन्सेकको सहकार्यमा आज जनकपुरधाममा ‘नैतिकवान मधेस र सशक्त नैतिक शिक्षा’ कार्यक्रमअन्तर्गत ‘प्रशासनिक आचरण, उत्तरदायित्व र सुशासित–समृद्ध मधेस निर्माणमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तक्र्रिया सम्पन्न भएको थियो ।

सो अन्तरक्रियामा प्रदेश प्रमुख कर्णले समाजमा नैतिक मूल्यमान्यता कमजोर बन्दै जाँदा प्रशासनिक अनुशासन र पारदर्शितामा चुनौती देखिएकाले यसलाई सुधार गर्न शिक्षादेखि नै नैतिकता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी प्रदेशसभा सदस्य शारदा पहाडीले नीति र व्यवहारबीचको दूरी घटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नैतिक शिक्षालाई जीवनपद्धतिसँग जोड्न सके मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले स्थानीय तहदेखि नै सुशासनको अभ्यास सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका काममा पारदर्शिता, जनसहभागिता र निगरानी प्रणाली सुदृढ गर्नसकेमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै मधेसी आयोगका सदस्य आभा सेतू सिंहले नैतिक शिक्षा समाज रुपान्तरणको मूल आधार भएको बताउनुभयो । उहाँले मधेसको समग्र विकासका लागि नैतिकता, अनुशासन र उत्तरदायित्वलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै यसका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य अनिता साह, लाल गोइतलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु, सुकुमवासी बस्तीमा डोजर चलाइएको विषयमा छलफल

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

पहिलो बैठकमा सङ्घीय सरकारले सुकुमवासी बस्तीमा डोजर चलाइएको, आगामी बजेटका प्राथमिकतालगायत विषयमा छलफल भएको हो ।

बैठकमा प्रदेशसभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले राजनीतिक दलले देश निर्माणको हैसियत राख्ने बताउनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले नयाँ अधिवेशनले प्रदेश विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । प्रभावकारी नीति निर्माणमार्फत विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै विगतका कमजोरी सच्याउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक इन्द्रजित थारुले आवासविहीन सबै नागरिकलाई आवासको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशमा भूमि व्यवस्थापन ऐन छिटो ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले इमान्दारी र समावेशितामा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य हेमा बेल्वासेले विगतका गल्ती नदोहो¥याइ कार्यान्वयनयोग्य बजेट ल्याउनुपर्ने बताउँदै युवालाई लक्षित डिजिटल अर्थतन्त्रका कार्यक्रम समेट्न सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले किसानका समस्या समाधान गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले बजेट निर्माण गर्दा वास्तविक आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्नुपर्ने बताउँदै पारदर्शी र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाः बजेट अधिवेशन आरम्भ

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) प्रारम्भ भएको छ ।

आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त प्रस्ताव पेस गर्नुभएको थियो ।

यसअघि सभामुख भीमबहादुुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गर्नुहुँदै आठौँ अधिवेशन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा सत्तापक्ष नेपाली कांग्रेसका डम्मरी महरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजेन्द्रसिंह रावल र प्रमुख प्रतिपक्ष नेपाली कम्युुनिष्ट पार्टी (नेकपा)का प्रकाश रावलले समसामयिक विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

सञ्चारमाध्यमलाई उद्योगका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारमाध्यमलाई सूचना प्रवाह गर्ने संस्थाका रुपमा मात्र नभई दिगो र आत्मनिर्भर मिडिया उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीद्वारा आज पोखरामा आयोजित सञ्चारमाध्यमको व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया एवं कार्यशाला गोष्ठीमा उहाँले सञ्चारमाध्यम आफैँमा सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर व्यावसायिक प्रतिष्ठानका रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

“प्रदेश सरकार सञ्चारमाध्यमलाई जिम्मेवार, मर्यादित र व्यावसायिक रुपमा सक्षम बनाउन आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यसका लागि सरकार, सञ्चार उद्यमी, सम्पादक, पत्रकार, विज्ञापन क्षेत्र र सरोकारवालाबीच व्यावहारिक सहकार्य आवश्यक छ ।”

परम्परागत सञ्चारमाध्यमहरु डिजिटल रुपान्तरणमा जानुपर्ने बताउँदै उहाँले डिजिटल माध्यमसँग जोडिएर पहुँच, प्रभाव र आम्दानीको नयाँ आधार तयार गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले विज्ञापनका लागि मात्र गरिने पत्रकारिता क्षणिक हुने भएकाले दीर्घकालसम्म नागरिकको विश्वास जित्ने सामग्री उत्पादन र सम्प्रेषण गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गर्नुभयो ।

उहाँले सञ्चार क्षेत्रका माग र आवश्यतालाई प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा यथासम्भव सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यशाला गोष्ठीमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित रेडियो तथा टेलिभिजनका सञ्चालकहरुको सहभागिता थियो ।

गोष्ठीमा मिडिया अनुसन्धानकर्ता मधु आचार्यलगायतले सञ्चारमाध्यमको व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो । प्रेस रजिष्ट्रार विमला भण्डारी र प्रेस रजिष्ट्रारको कार्यालयका निर्देशक निराजन शर्माले कार्यालयको सेवा प्रवाह र भावी योजनाबारे प्रस्तुतीकरण राख्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, नेपाल पत्रकार महासङ्घ, गण्डकीका अध्यक्ष रमेश पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुली, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष कुमार भट्टराई, सञ्चार उद्यमी विश्वशङ्कर पालिखेलगायतले सञ्चार क्षेत्रका समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

अफगानिस्तानमा ‘महिला बजार’को सुरुवात

काबुल । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरूलाई सशक्त बनाउन एउटा छुट्टै महिला बजार खोलिएको जनाइएको छ ।

जहाँ दर्जनौं महिला उद्यमीहरूले महिला ग्राहकहरूलाई मात्र आफ्ना उत्पादनहरू बेच्ने व्यवस्था गरिएको स्थानीय मिडिया टोलो न्यूजले रिपोर्ट गरेको छ ।

यस पहलको उद्देश्य व्यवसायमा महिलाहरूको सहभागिता बढाउनु तथा महिलाका लागि सुरक्षित र सहयोगी व्यावसायिक वातावरण सिर्जना गर्नु रहेको जनाइएको छ । उक्त बजारमा महिला उद्यमीहरुले निर्माण गरेका विभिन्न प्रकारका हस्तशिल्प, परम्परागत उत्पादन र खाद्य पदार्थहरू बिक्रिको लागि राखिएको जनाइएको छ ।

यो बजार महिलाहरूको व्यावसायिक भविष्य सुरक्षित गरी उनीहरूलाई अधिकारिक मान्यता प्रदान गर्न प्रभावकारी रहेको तथा महिलाहरूको बेग्लै पहिचानको प्रयास गरेको स्थानीय उद्यमी गोलाफ्रोज नजाफीलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

हेरात महिला चेम्बर अफ कमर्सका अनुसार हेरात प्रान्तमा करिब एक हजार २०० जना महिलाले आधिकारिक रूपमा व्यवसाय दर्ता भएका छन् भने १० हजार भन्दा बढी महिला अनौपचारिक व्यापार गतिविधिमा संलग्न छन् ।

दुई तिहाइ बहुमतसहित बनेको सरकारले अपेक्षाअनुसार काम गर्न सकेन – प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेशसँगै नेपाली कांग्रेसलाई प्रविधिमैत्री र आधुनिक पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

बिहीबार आयोजित एक कार्यक्रममा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सन्दीप रानालाई सम्मान गर्दै उनले राजनीति अब पूर्ण रूपमा डिजिटल माध्यममा केन्द्रित हुँदै गएको बताए।

‘हामीले डिजिटलाइजेसन आत्मसात गर्न सकेनौँ भने प्रतिस्पर्धामा टिक्न सक्दैनौँ,’ उनले भने।
उनले कांग्रेसले अहिले सञ्चालन गरिरहेको सदस्यता अध्यावधिक अभियानलाई पार्टी सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे। सदस्यहरूको तथ्यांक संकलन, उनीहरूको रुचि पहिचान, र पार्टीसँगको सम्बन्धलाई प्रभावकारी बनाउन डिजिटल प्रणाली आवश्यक भएको उनले बताए।

‘हामीसँग आफ्ना सदस्यहरूको पूर्ण विवरण छैन। उनीहरूको सम्पर्क, सामाजिक सञ्जालमा सक्रियता, योगदान गर्ने इच्छा यी सबैलाई व्यवस्थित गर्न डिजिटलाइजेसन अपरिहार्य छ,’ उनले भने।पौडेलले वर्तमान सरकारप्रति कडा टिप्पणी पनि गरे। दुई तिहाइ बहुमतसहित बनेको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको, संसद सञ्चालनमा कमजोरी देखाएको र अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप उनले लगाए।

‘यति शक्तिशाली सरकार भएर पनि संसद प्रभावकारी रूपमा चलाउन नसक्नु गम्भीर विषय हो,’ उनले भने।

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भई बस पल्टिएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सो दुर्घटनामा बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका छन् ।

घाइते ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामूदायिक अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मोटरसाइकल चालक कचनकबल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

दुई दिने बिदा कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षण संस्थामा समेत हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा असहजताका कारण गत चैत २३ गतेदेखि निजामतीलगायत सबै निकाय र शिक्षण संस्थामा शनिबार र आइतबार बिदा दिइ सरकारी कार्यालय समय बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कायम गरेको थियो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरेर दुई दिने बिदाको समर्थन गरेका हुन् । नयाँ बिदाको प्रबन्धअनुसार पाठ्यक्रम पाठनपाठन मिलाउन शिक्षक र विद्यालय कर्मचारीले आग्रह गर्दै आएका छन् ।

महासंघको विज्ञप्तिमा विगतमा आफूहरूसँग भएका सहमतिबमोजिम स्थायी, सबै प्रकारका अस्थायी राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालविकास, विशेष शिक्षालगायत शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान हुनेगरी विद्यालय शिक्षा ऐन छिटो ल्याउन माग गरिएको छ ।

महासंघले सोलुखुम्बु, सिरहालगायत जिल्लामा शिक्षक दरबन्दी कटौती गर्दै सेवा हटाउने, विभिन्न बहानामा अनुपयुक्त सरुवा गर्नेजस्ता कार्य भएकामा चिन्ता व्यक्त गरेको छ ।

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः आयुक्त भण्डारी

काठमाडौँ, वैशाख १७ –निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।

आयोगले तीन वर्षअघि विभिन्न सात ऐनलाई विस्थापित गरी एउटै एकीकृत विधेयक तर्जुमा गरेर सरकारलाई पठाएको उल्लेख गर्दै प्रमुख आयुक्त भण्डारीले विद्युतीय मतदान (ई–भोटिङ), विदेशमा रहेका नेपालीको मतदान अधिकार र अन्तर–प्रदेश मतदानजस्ता विषयलाई समेट्न कानुन अपरिहार्य रहेको बताउनुभयो । वर्तमान ऐन नियम भद्रगोल अवस्थामा रहेको टिप्पणी गर्दै उहाँले कानुन निर्माणमा गम्भीर हुन जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयोग कानुन मस्यौदा गर्ने निकाय नभए पनि अभ्यासमा देखिएका जटिलता समाधान गर्न हामीले विधेयक तयार गरेका हौँ । आगामी बजेट अधिवेशनबाट यो विधेयक पारित नभए आगामी २०८४ सालको निर्वाचन पनि पुरानै ढर्रामा हुनेछ र कुनै सुधार सम्भव हुने छैन ।”

आयोगले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उच्च आर्थिक पारदर्शिता र मितव्ययिता अपनाएको दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले सुनिश्चित गरेको ६ सय ७५ करोड रुपैयाँको बजेटमध्ये करिब एक सय ७५ करोड रुपैयाँ बचत भएको र सो रकम छिट्टै सरकारलाई फिर्ता गरिने जानकारी दिनुभयो ।

आयोगले ४७ प्रकारका निर्वाचन सामग्री जिल्ला र स्थानीय तहबाटै खरिद गर्ने गरी ‘अधिकार प्रत्यायोजन गरेका कारण खर्चमा व्यापक कटौती भएको बताइएको छ । निर्वाचनमा भएको खर्चको पूर्ण विवरणसहित आयोगले छिट्टै श्वेतपत्र जारी गर्ने तयारीसमेत गरेको छ ।’प्रमुख भण्डारीले भन्नुभयो, “हामीले केन्द्रबाट सीमित सामग्री मात्र खरिद ग¥यौँ । स्थानीयस्तरमा सरकारी निकायबाटै सामग्री खरिद गरिएकाले कुनै आर्थिक अनियमितता हुने गुञ्जायस रहेन ।”

सुरज र अनुको ‘हावा चल्यो सिरिरी’ सार्वजनिक

काठमाडौं — ‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। यस गीतमा सुरज पौडेल र अनु चौधरीको सुमधुर स्वर रहेको छ भने गीतका शब्द प्रमोद ढुंगानाले लेखेका हुन्। मनोज चौलागाईंले संगीत तथा एरेन्ज गरेका यस गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो।

गीतको भिडियोतर्फ निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् भने रोहित सिंह ठकुरीले कोरियोग्राफी गरेका छन्। भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ। मेकअप एकता भण्डारीले गरेकी छन् भने सम्पादन सौखिन तिमल्सिनाको रहेको छ। ग्राफिक डिजाइन सन्तोष पनेरुले गरेका छन्। म्युजिक भिडियोको निर्माता निल प्रसाद ईटनि रहेका छन्।

गायक सुरज पौडेलको आज सार्वजनिक भएको म्युजिक भिडियो १० औ भिडियो हो। आज सार्वजनिक भएको भिडियो म्युजिक मन्त्र युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

भिडियोको छायांकन गुन्डु, भक्तपुरमा गरिएको छ। भिडियोमा डिओपीका रूपमा विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।

चर्चित गायिका मिना लामाको “भाका सारेर” सार्वजनिक

नेपाली गीत संगीत क्षेत्रमा सर्वाधिक चर्चा बटुल्न सफल चर्चित गायिका मिना लामाले भर्खरै मात्रा मिठो सांगीतिक कोसेली “भाका सारेर” सार्वजनिक गर्नु भएको छ । मिना लामा र खेम सेन्चुरीको आवजमा रहेको उक्त सांगीतिक कोसेलिमा शब्द नेत्र आर्यालको रहेको छ भने संगीत नन्दु परियारको रहेको उक्त सांगीतिक कोसेलि मिना लामा युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

धादिङ गल्छी गाउँ पालिका ७ मा बुवा राम चन्द्र तामाङ र आमा कान्छी माया तामाङ को कोख बाट माइली सुपुत्रीको रुप्मा जन्मिनु भएका चर्चित गायिका मिना लामाले हाल सम्मा झन्डै पाँच छ हजार भन्दा बढी सांगीतिक कोसेलिहरुमा आफ्नो मीठो आवाज भरी सक्नु भएको छ ।

चर्चित गायिका मिना लामा हङकङ , कोरिया,युके जापान लगायत २ दर्जन भन्दा बढी देश हरुमा पुगि आफ्नो प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनु भै स्वादेश फर्की सकेकी छिन । चर्चित गायिका मिना लामा आफ्नो कलाकारिता पेशाबाटै एक समपन्न कलाकार बन्न सफल गायिका हुन । अझ बिशेषत गायिका मिना लामालाई नेपाली गीत संगीत क्षेत्रमा दोहोरिकी रानि समेत भन्ने गर्दछन ।

सरकारलेसंसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिले संविधानविद्हरुसँग परामर्श गर्दै

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।

अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन् ।

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यले अध्यादेश सिफारिस गरेको थियो ।

मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो कदम चालिएको हो ।

अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले गर्ने धितो रोक्का तथा फुकुवाका सम्पूर्ण कार्यहरू फेसलेस र समयबद्ध रूपमा डिजिटल प्रणालीमार्फत मात्र सञ्चालन हुनेछन् । विभागले जारी गरेको परिपत्र अनुसार यो व्यवस्थालाई दुई चरणमा कार्यान्वयन गरिनेछ ।

विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका र भू–सेवा केन्द्रको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरूका लागि सरकारले बुधबार देखिनै अनलाइन प्रणाली अनिवार्य गरिसकेको छ । त्यस्तै, हालसम्म अनुमति नलिएका वा प्रक्रियामा रहेका अन्य संस्थाहरूको हकमा भने आवश्यक तयारी पूरा गरी २०८१ जेठ १ गतेदेखि अनिवार्य रूपमा यो प्रणाली लागू गर्न निर्देशन दिइएको छ ।

यो नयाँ व्यवस्था पाम प्रणाली लागू भएका देशभरका सबै मालपोत कार्यालयहरूमा कार्यान्वयन हुने विभागले जनाएको छ । यसबाट सर्वसाधारणले मालपोत कार्यालय धाइरहनुपर्ने झन्झट अन्त्य हुने, सेवामा पारदर्शिता बढ्ने र सुशासन कायम हुने विश्वास लिइएको छ ।

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर सरकारले अध्यादेश ल्याएको स्पष्ट गरेका छन् ।

उनले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउनका लागि आवश्यकपर्ने महत्वपूर्ण कदम चाल्नका लागि अध्यादेश सिफारिस गरेको बताए ।

सल्लाहकार शाहले आज सामाजिक सञ्जालमार्फत सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउन महत्वपूर्ण कदम चालेको बताए ।

सोही प्रयोजनका लागि यही वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश प्रमाणीकरणका लागि सिफारिस गरेको जानकारी दिए ।

उनले भने, “वर्तमान सरकार गठन भएलगत्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले नयाँ जनादेशको मर्मअनुसार शासकीय सुधारका लागि राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आह्वान गर्नुभएको थियो । सो आग्रहका बाबजुद कार्यसम्पादन र समन्वयमा देखिएका व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले यो कानुनी बाटो रोजेको हो । यसले कार्यसम्पादनमा देखिएका अवरोध ‘डेड्लक’ अन्त्य गरी नतिजामुखी शासन पद्धति स्थापित गर्न सहज हुनेछ ।”

उनले सार्वजनिक सरोकारका निर्णय निश्चित समयभित्रै सम्पादन गरी जनतालाई सुशासनको प्रत्याभूति गराउन सो अध्यादेश ल्याइएको पनि प्रष्ट पारेका ५छन् । पुराना र जटिल कानुनी प्रावधानका कारण जनहितका कार्यमा हुने विलम्बलाई यसले अन्त्य गर्ने जानकारी दिँदै विगतमा दशकौँसम्म अल्झिएका प्रक्रियागत समस्यालाई पहिचान गरी तिनको दिगो र वैज्ञानिक समाधान निकाल्ने सरकारको लक्ष्य रहेको पनि उनले बताए ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।

बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने छ ।

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो।

उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ।

यसैगरी, कोहलपुर नगरपालिका–१० चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका–२५ याम्दीबाट एक र सिम्रौगढ नगरपालिका–३ भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरबाट एक जनालाई पक्राउ गरेको हो। उनीहरु बुधबार पक्राउ परेका हुन्।

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा। जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।

सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उहाँ रुखबाट खस्नुभएको हो । उहाँ जिल्लाका अग्रणी किसान हुनुहुन्थ्यो

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।

यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र एक सय ९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी एक सय १२ जना पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

यस अवधिमा सबैभन्दा बढी गत चैतमा छ सय २१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा पाँच सय ८०, मङ्सिरमा दुई सय ९३, पुसमा तीन सय ७६, माघमा तीन सय ६९ र फागुनमा तीन सय ८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटनबाट रु १४ लाख ६७ हजार ४८६ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कोभिड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको सङ्ख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो सङ्ख्या बढ्दै गएको छ । “नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेका छन्”, वाग्लले भन्नुभयो ।

निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७६२ जनाले यहाँ भ्रमण गरेका छन्, जसमा एक सय ३२ विदेशी र एक सय १२ सार्क मुलुकका पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ३२२ जनाले निकुञ्ज भ्रमण गरेकामा त्यसमा एक सय ९९ जना सार्क मुलुकका र एक सय ५२ त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो । “शुक्लाफाँटाको प्रचारप्रसार गरेर यहाँ उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ । यहाँको जैविक विविधताबारे व्यापक प्रचारप्रसार हुनसकेको छैन । अब प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् ।

आज नृसिंह जयन्ती

काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ ।भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिनुभएकाले यस दिन नृसिंह जयन्ती मनाउने गरिएको जानकारहरू बताउँछन् । धार्मिक मान्यताअनुसार नृसिंह अवतार भगवान् विष्णुको चौथो अवतार हो ।

दैत्यराज हिरण्यकश्यपुको वध गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नु परेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

हिन्दु धर्म ग्रन्थमा उल्लेख भएअनुसार कष्यप ऋषिकी पत्नी दितिको गर्भबाट दुई बालक हिरण्याक्ष र हिरण्यकश्यपु पैदा भएका थिए । ठूलो भएपछि दुवैले जताततै उप्रद्रो मच्चाउन थाले ।

हिरण्याक्षलाई भगवान् विष्णुको तेस्रो अवतार बराह भगवान्ले मार्नुभएको थियो । हिरण्यकश्यपुले ब्रह्माजीको घोर तपस्या गर्दा हिरण्यकश्यपुको शरीरबाट आगोको ज्वाला निस्कन्थ्यो ।

यो देखेर ब्रह्माजीले हिरण्यकश्यपु भएको ठाउँमा गएर इच्छाअनुसार वरदान माग्ने आज्ञा गर्नुभयो । यो सुनेर हिरण्यकश्यपुले ब्रह्माजीसँग अमर रहने वरदान मागे । ब्रह्माजीले जन्मेपछि मर्नैपर्ने सृष्टिको नियम भएकाले अरू वर माग्ने आज्ञा गर्नुभयो ।

यो सुनेर हिरण्यकश्यपुले घरको बाहिर घरको भित्र, रातिको अँध्यारो, दिनको घाममा, आकाशमा, पातालमा, जमिनमा, नर (मानिस)बाट, यक्षबाट, गन्धर्वबाट, देवताबाट, कसैको हातबाट र हतियारबाट नमर्ने वरदान मागेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रह्माजीले हिरण्यकश्यपुको तपस्या घोर भएकाले मागेको वरदान दिनुभयो । ब्रह्माजीको वरदान पाएर हिरण्यकश्यपु अमर भयो ।

यस्तो छ किंवदन्ती

धार्मिक ग्रन्थमा उल्लेख भएनुसार हिरण्यकश्यपुले तीनै लोकमा कब्जा जमाए । जगत्लाई आफ्नो बसमा बनाए । पूरा सृष्टिको मालिक म नै हो, मभन्दा ठूलो अरू कोही छैन भन्ने विश्वास सबैमा दिलाउन अनेक प्रयत्न गरेँ । हिरण्यकशिपुको घरमा भक्त प्रह्लादको जन्म भयो । भक्त प्रह्लाद दैत्य राज हिरण्यकश्यपु जस्ताको छोरा भएर पनि सानैदेखि हरि भक्तिमा रुचि राख्न थाले ।

यो देखेर दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई संसारको अधिपति आफू भएको र आफूभन्दा ठूलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो, तर प्रह्लादले उनलाई कुवाको भ्यागुताको संज्ञा दिँदै उल्टो जवाफ दिए । यो सुनेर हिरण्यकश्यपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठाए ।

प्रह्लाद त्यहाँ पनि पढाइ छोडेर हरि भक्तितिरै लागे । गुरुले धेरै सम्झाए, तर प्रह्लादले हरि भक्ति छोडेनन् । झनै त्यहाँ भएका अन्य दैत्य पुत्रलाई हरि भक्तिमा लगाए । यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकश्यपु कहाँ फिर्ता पठाइदिए । हिरण्यकश्यपुले फेरि प्रह्लादलाई सम्झाउने कोसिस गरेका थिए, तर प्रह्लादले हरि भक्तिभन्दा ठूलो केही ज्ञान छैन भनी सुनाए ।

हिरण्यकश्यपु रिसाएर प्रह्लादका हातखुट्टा बाँधेर हात्तीको बाटोमा छोड्न लगाए, तर हात्तीले प्रह्लादलाई देखेर कुल्चन सकेनन् । हिरण्यकश्यपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगाए, प्रह्लादलाई सागरमा बगाइयो तर हरिकृपा, विष्णु भगवान् स्वयं आएर प्रह्लादलाई बचाउनुभयो ।

प्रह्लादलाई ज्ञान दिएर भगवान् अन्तध्र्यान हुनुभयो । केही दिनपछि हरि ज्ञान प्राप्त गरेर प्रह्लाद घर फर्किए । प्रह्लादलाई देखेर हिरण्यकश्यपु फेरि सम्झाउन लागे । प्रह्लादले हरिभन्दा ठूलो कोही नभएको र हरि सबै ठाउँमा रहेको कुरा दोहो¥याए । रिसले चुर भएका हिरण्यकश्यपुले ‘यदि तेरो हरि सबै ठाउँमा छ भने मेरो सामुन्ने हरिलाई देखा’ भने । प्रह्लादले हरिको ध्यान गर्दै विष्णुको आह्वान गरे । केही छिनमै भगवान् विष्णु खम्बाबाट नृसिंह अवतारमा प्रकट हुनुभयो । यो देखेर हिरण्यकश्यपुले खम्बालाई तरवारले काट्यो । भगवान् नृसिंह पनि रिसाएर हिरण्यकश्यपुलाई मार्न अघि सर्नुभयो । नृसिंह भगवान्को आधा शरीर सिंहको र आधा शरीर मान्छेको थियो ।

नृसिंह न जनावर थिए न मान्छे । जतिखेर हिरण्यकश्यपुलाई मारियो । त्यो समय सन्ध्या समय थियो । त्यो समयमा न त घाम थियो, न रातको अँध्यारो । तब सबै विधि मिलाएर भगवान् नृसिंहले हिरण्यकश्यपुलाई घरको बीच ढोकामा आफ्नो काखमाथि राखेर नङ्ग्रा धसी मार्नुभयो ।

ब्रह्माजीको सबै वाचा मिलाएर मारेपछि गएर नृसिंहको क्रोधले सारा संसार जल्न लाग्यो । नृसिंहको क्रोध शान्त पार्न ब्रह्मा, शिव, लक्ष्मी आदि देवीदेवता आएर प्रार्थना गर्नुभयो, तर क्रोध झन् बढ्दै गयो ।

अन्तमा प्रह्लादले प्रार्थना गर्दा नृसिंहको रिस शान्त भयो । प्रह्लादलाई ज्ञान दिएर नृसिंह अन्तध्र्यान हुनुभयो । प्रह्लादले पनि हरि भक्तिमा ध्यान दिएर राज पाठ सम्हाले । प्रह्लादलाई ज्ञान सिकाउन भगवान् विष्णुले दत्तात्रय अवतार लिनुभएको थियो । दत्तात्रयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाउनुभयो ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली ज्यापू प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १८०, टाटेसिमी प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ८०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु १२०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोबी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु ३२०, सेलरी प्रतिकिलो रु १६०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जन रु २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ५५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।