`

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान। इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो ।

यद्यपि, उक्त दाबी स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलडमरूमध्य पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी दिएको छ । अर्को तेलवाहक जहाजमाथि पनि अज्ञात वस्तुबाट आक्रमण भएको बताइएको छ । चालकदलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ ।

यमनमा हुथी समूहको गतिविधिका कारण बाब अल-मन्देब जलडमरूमध्यमा पनि व्यापारिक जहाजको आवागमन घटेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण महत्वपूर्ण समुद्री व्यापारिक मार्ग प्रभावित भइरहेका छन् ।

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन आग्रह गर्दै यस क्षेत्रको विकासबिना मुलुकको पूर्ण विकास सम्भव नहुने बताएका छन् ।कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको ११औँ संविधान तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको बताउँदै संविधानले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र समानुपातिकतालाई केन्द्रमा राखेको सुनाए ।

प्रदेश प्रमुख जोशीले संविधानको अक्षरशः पालना र प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै अङ्गको सक्रियता आवश्यक रहेकाे बताए । मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट जारी भएको संविधानले नागरिकका सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताए ।

संविधानको संस्थागत विकासका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकलाई राज्यको अनुभूति गराउन तीनै तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेको बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपालको संविधानले सबै जाति, वर्ग, धर्म, लिङ्ग र भाषाका नागरिकलाई समेटेको बताइन् । संविधानले नागरिकका अधिकार सुनिश्चित गर्नुका साथै कर्तव्यप्रति पनि सचेत गराएको उनले उल्लेख गरिन् ।

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौँ । नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ । निमा एजुसेशन फाउण्डेसनले आज यहाँ एक कार्यक्रमसहित आगामी वर्ष हुने ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतिस्पर्धामा भाग लिने नेपाली विद्यार्थी छनोट प्रक्रिया शुभारम्भ गरेको हो ।सातदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीले भाग लिन पाउने सो अन्तरराष्ट्रिय प्रतियोगितामा करिब ५० देशका प्रतिस्पर्धी हुने फाउण्डेसनले जनाएको छ ।

एआई रोबोटिक्सको प्रयोग गरी संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य हासिल गर्न नवीन समाधानसहित कार्यक्रम तथा कार्ययोजना निर्माणमा प्रोत्साहित गर्ने अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने प्रक्रियामा सहभागी हुन मुलुकका अधिकांश विद्यालयबाट माग भइरहेको कोडेभर नेपाल’का कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार परिवर्तित विश्वपरिवेशमा आलोचनात्मक सोच, सिर्जशीलता, सहकार्य एवं सञ्चार गरी चार महत्वपूर्ण सीप र क्षमता विकासमा जोड दिने नीतिसहित नवप्रवर्तन तथा उद्यमशीलता, स्वच्छ ऊर्जा तथा विश्वव्यापी ऊर्जा सङ्कटसम्बन्धित चुनौतीको समाधान गर्न रोबोटिक्स तयार गर्ने र फुटबल खेल्ने रोबोटिक्स तयार गरी प्रतिस्पर्धा गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

उनका अनुसार गत वर्ष इण्डोनेसियाको जाकार्तामा सम्पन्न प्रतियोगितामा नेपालका पाँच हजार विद्यार्थीबाट छनोट भएका ९५ जना सम्मिलित ४० टोलीले भाग लिएको, ६ वटा कीर्तिमानी अन्तर्राष्ट्रिय उपाधि जितेको र विश्वका ३० उत्कृष्टभित्र नेपालका तीन वटा प्रोजेक्ट पर्न सफल भएको थियो ।

जाकार्ताका साथै यसअघि सन् २०२४ मा दुबईमा ६० विद्यार्थीसहित २० टोली र सन् २०२५ मा कतारको दोहामा ७२ विद्यार्थीसहित १९ टोलीले ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतियोगितामा भाग लिई उल्लेखनीय परिणाम ल्याउन सफल नेपालले यसपटक १० उत्कृष्ट मुलुकभित्र पर्नका लागि आवश्यक तयरी गरिहेको फाउण्डेसनका कार्यकारी अधिकृत निश्चल प्रधानले जानकारी दिए ।

प्रधानमन्त्री शाहको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले महासभामा सहभागिता जनाउने

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ।परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् ।

साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार , परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

यस पटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ। यो पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागिता जनाउन जानेमध्येको कम संख्या पनि हो।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रमसमेत रहेको छ।प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्नेछन् ।

भदौमा ५६ करोड युनिटभन्दा बढी विद्युत् निर्यात, ५ अर्ब ९ करोड आम्दानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यस अबधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो ।

प्राधिकरणकाअनुसार भदौ महिनामा द्विपक्षीय सम्झौतातर्फ ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात गरी ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी भएको छ । त्यसैगरी विद्युत् बजार मार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् निर्यात भई १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

भदौ महिनाको कुल निर्यातमा द्विपक्षीय सम्झौता मार्फत भएको निर्यातको हिस्सा बढी रहे पनि विद्युत् बजार मार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको देखिन्छ । यसैबीच भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात भने बन्द रहेको छ ।

प्राधिकरणले अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिसकेको जनाएको छ । आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता नेपाल विद्युत् प्राधिकरणले व्यक्त गरेको छ ।

‘संविधानलाई राजनीतिक अस्त्र बनाउन जरुरी छैन’ – राजीव खत्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले संविधानलाई विरोध र समर्थनको राजनीतिक अस्त्र बनाउन आवश्यक नरहेको बताएका छन्।

संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै खत्रीले एक वर्षअघिको आफ्नो धारणा र अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने भनाइबीचको विरोधाभासतर्फ संकेत गरेका हुन्।

उनले लेखेका छन्, ‘एक वर्षअघि : दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ। एक वर्षपछि : अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गरौँ।’

खत्रीले अहिले संविधानको चिन्ताले कोही ‘मरिच’ हुनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन्। जनजी आन्दोलनपछि यो पुस्ता संविधानको पक्षमा नउभिएको भए देश फरक स्वरूपको संविधानबाट चलिरहेको हुन सक्ने उनको भनाइ छ।

संविधान संशोधनको विषयमा डराउन आवश्यक नरहेको उल्लेख गर्दै उनले सार्वभौमसत्ता र भौगोलिक अखण्डताबाहेक अन्य विषयमा संशोधन गर्न संविधानले रोक नलगाएको दाबी गरेका छन्।

खत्रीले सामाजिक सञ्जालमा लेखेका छन् –

– एक वर्षअघि: दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ ।
– एक वर्षपछि: अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गरौं ।
✍️ भो अब संविधानको चिन्ताले कोहि मरिच हुनुपर्दैन । यदि यो पुस्ता यो संविधानको पक्षमा हुँदैन थियो भने जेन जी आन्दोलनपछि दुई पेजको संविधानले देश चल्दै गरेको हुने थियो । संशोधनको मुद्दाले तर्सिनु पनि पर्दैन किन कि यो संविधानले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताबाहेक अन्य विषयमा संशोधन गर्न रोकेकै छैन । त्यसैले यथार्थता र समाजका सपनालाई समेट्ने गरी संविधान लेखिनुपर्छ, र समाज/राजनीतिको बदलिंदो अपेक्षालाई सम्बोधन गर्ने गरी संविधानमा सुधार हुँदै जानुपर्छ । जनताको चाहाना हुन्छ भने राजतन्त्र र हिन्दू राज्य फर्काउनसमेत यो संविधान बाधक छैन ।
‘पछाडि फर्किने कुरा स्वीकार्य छैन’ भन्दै ध’म्क्याउँदै संविधानलाई वि’रोध र समर्थनको राजनीतिक अ’स्त्र बनाउन जरुरी नै छैन । संविधानलाई राजनीतिक यथार्थताभन्दा कानुनको साँघुरो घेरामा सीमित गर्न नखोजौ । संविधानलाई कानुनका ‘यान्त्रिक’ पा’सोमा फ’साइयो भने यसले राजनीतिक वै’धता गुमाउँदै जान्छ ।
संविधान दिवसको शुभकामना !

संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड

जनकपुरधाम। मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त देशको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो भनेका छन्।

उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनसँगै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्। उनले संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने भन्दै सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन्।

संविधान दिवसको अवसरमा शनिबार जारी शुभकामना सन्देशमा आङ्देम्बेले संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने बताएका छन्। उनले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गरी राष्ट्रिय सहमतिका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।

उनको भनाइमा, ‘त्यसैले त्यस्तो प्रतिवेदनलाई खारेज गरौँ। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाऔँ। बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरौँ।’

संविधान संशोधनका लागि गठन गरिएको कार्यदलको क्षेत्राधिकार र संविधानका आधारभूत मूल्य मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै दलहरूले लिखित असहमति जनाएका थिए। कार्यदलले भने विभिन्न विज्ञ, राजनीतिक दल, संस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ।

आङ्देम्बेले संविधान कार्यान्वयनको प्रश्न पनि उत्तिकै गम्भीर रहेको बताएका छन्। ‘संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि बलमिच्याइँ भइरहेको अनुभूति भइरहेको छ। यो गम्भीर विषय हो,’ उनले भनेका छन्।

उनले कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। संवैधानिक अंगलाई कार्यपालिकाको कारिन्दा निकायमा परिणत गर्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।

‘नेपाली कांग्रेसलाई संविधानमाथि चौतर्फी आक्रमण सरकारबाटै भइरहेको प्रतीत भएको छ,’ आङ्देम्बेले भनेका छन्, ‘सरकारको ध्यानाकर्षण गर्छु कि संविधानको हुर्मत नलिइयोस्। संविधानको मर्ममाथि खेलवाड नगरियोस्। संवैधानिक संस्थाको गरिमा नघटाइयोस्। व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गरियोस्।’उनले आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने तर संशोधनका नाममा संविधानको आत्मामाथि प्रहार गर्न नहुने बताएका छन्।

राष्ट्रपति पौडेलद्वारा संविधान दिवसमा एकताबद्ध भई अघि बढ्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार निर्माण गरेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताए । वि.सं.२०७२ असोज ३ गते संविधान जारी भएको ऐतिहासिक उपलब्धिको स्मरण गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट भएर अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याउने राजनीतिक दलका नेता, नागरिक तथा राजनीतिक कार्यकर्ताको योगदानको सम्मान गरे ।

हिमाल, पहाड र तराईको भौगोलिक विविधतासँगै बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान नेपालको विशेषता भएको बताए । राष्ट्रपति पौडेलले संविधानले सबै समुदायलाई समान संरक्षण दिएको बताए । नेपालीबीचको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने गतिविधि नहोस् भन्ने विश्वाससमेत उनले व्यक्त गरे ।

संविधान दिवसमा ओलीको सन्देश- ‘संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनमा जोड दिऔँ’

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संविधानसभाबाट जारी भएको संविधानलाई नेपालको पहिलो ऐतिहासिक संविधान भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको संविधानले गणतन्त्रलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापित गरेको बताए । उनले संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारबीच अधिकार बाँडफाँट गरेको तथा राज्यका अंगहरूमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई आत्मसात गरेको उल्लेख गरे ।

उनले नेपालको संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा चित्रण गर्दै संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

ओलीले संविधान जारी गर्ने समय देशले कठिन परिस्थितिको सामना गरेको स्मरण गर्दै संविधान जारी भएपछि नाकाबन्दीजस्तो चुनौती व्यहोर्नुपरेको उल्लेख गरे । त्यस्ता कठिनाइले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको उनले बताए ।

उनले संविधान निर्माणका क्रममा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलन तथा लोकतान्त्रिक, वामपन्थी र देशभक्तिपूर्ण आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य बलियो र समृद्ध हुनुपर्ने उल्लेख गर्दै उनले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यका रूपमा अघि सारेको बताए ।

अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

रसुवा। भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ। खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र सुरूङमा शव फेला परेको अपर त्रिशूली–१ का सामाजिक विज्ञ हर्क तामाङले जानकारी दिए। खोज उद्धारका लागि नेपाली सेना र जलविद्युत् कम्पनीका कर्मचारी रहेको विज्ञ तामाङले बताए।

उक्त क्षेत्रमा बिहीबार पनि ६ जना मजदुरको शव फेलापरेको प्रहरी प्रमुख थापाले बताउनुभयो । त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेला परेका हुन्।

बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा सनाखत गर्ने कार्य बाँकी रहेको प्रहरीको भनाइ छ। बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धारकार्य जारी राखिएको थियो।

दुई सय १६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो। सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोकमा डुबेका छन्। निर्माता कम्पनीले कुन–कुन नामका कति कामदार पठाएको भन्ने कुनै तथ्याङ्क राख्न नसक्दा शव पहिचानको लागि गाह्रो परेको प्रहरीले जनाएको छ।

फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा

काठमाडौँ । दुबईको राष्ट्रिय एयरलाइन्स ‘फ्लाइ दुबई’ ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान गर्ने घोषणा गरेको छ । सो कम्पनीले यही असोज ७ गतेदेखि उडान सुरु गर्न लागेको हो ।

नयाँ सेवासँगै फ्लाइ दुबई संयुक्त अरब इमिरेट्स (युएई ) बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स हुनेछ । सन् २००९ देखि काठमाडौँमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाइ दुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ ।

फ्लाइ दुबईका प्रमुख कार्यकारी अधिकृत घैथ अल घैथले नेपाल फ्लाइ दुबईका लागि अत्यन्त महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र युएइबिचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताए।

उनले दुबईलाई विश्वस्तरीय हवाई केन्द्रका रूपमा उपयोग गर्दै यात्रुलाई थप पहुँच र सहज कनेक्टिभिटी प्रदान गर्न पाउँदा कम्पनी गौरवान्वित रहेको बताए। फ्लाइ दुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधीर श्रीधरनले पोखरा उडानले यात्रुलाई थप विकल्प र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उल्लेख गरे।

उनका अनुसार यो सेवा संयुक्त अरब इमिरेट्स, खाडी मुलुकहरू, मध्यपूर्व, युरोप तथा फ्लाइ दुबईको विस्तृत अन्तरराष्ट्रिय सञ्जालबाट यात्रा गर्ने यात्रुको मागलाई लक्षित गरी सञ्चालन गरिनेछ । अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित पोखरा नेपालको प्रमुख पर्यटन तथा साहसिक गतिविधिको केन्द्रका रूपमा परिचित छ।नयाँ प्रत्यक्ष उडान सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तरराष्ट्रिय पहुँच अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।साविक रमदैया भवाडी गाविसका वडा नं २, ३, ४, ६, ७ र ८ का ती परिवारको जग्गाको नाप नक्सा विसं २०७४ मै सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरण हुन सकेको थिएन ।

क्षीरेश्वरनाथ नगरपालिकामा आज आयोजित कार्यक्रममा नगरप्रमुख सुखदेव यादवले जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरे । नाप नक्सा सम्पन्न भइसकेका नगरपालिका–२ का २४२ परिवारलाई भोलि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी रहेको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले जानकारी दिए ।

नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गर्न थालिएको उनले बताए ।
यसअघि भदौ २९ गते हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

पर्सा । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।

त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित गोठमा लुकाइराखेको रु १० लाख ५८ हजार ५४० बराबरका कपडा बरामद गरिएको छ ।बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए ।

भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौँ । भोटेकोशीमा आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरणपोषणमा एमआइटी फाउन्डेसनले रु ५७ करोड ८५ लाख प्रदान गर्ने भएको छ ।

सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार यहाँ आयोजित सङ्क्षिप्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष घलेले हस्ताक्षर गरे।

समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने, शिक्षा, स्वास्थ्य, पोषण र मनोसामाजिक सहयोग प्रदान गरिने छ । साथै, नातेदारमार्फत हुने हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा लिइनेछ ।

समझदारी हस्ताक्षर भएको मितिदेखि बढीमा १८ वर्षसम्म सहयोगलाई निरन्तरता दिइने छ । परिषद्ले लाभग्राहीको पहिचान, समन्वय तथा बाल संरक्षणमा सहजीकरण गर्नेछ भने फाउन्डेसनले वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ११ पैसा बिक्रीदर ४०७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २२ पैसा रहेको छ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताउनुभएको छ ।

संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उहाँले समयको मागअनुसार संविधानको सम्वद्र्धन गर्नु समयोचित हुने बताउनुभयो । पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष, विभिन्न समयका जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ सालमा नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन सफल भएको स्मरण गर्नुभयो ।

पहाडी मुलुक–भूकम्पीय जोखिम, बाढी पहिरो, जलवायु परिवर्तनको असर हाम्रा जीवनका प्राकृतिक चुनौती भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले संविधान दिवसले प्राकृतिक विपद्को सामना गर्न एक जुट भई अघि बढ्ने सामथ्र्य प्राप्त होस् भनी कामना गर्नुभयो ।

हालैको भोटेकोशी बाढीले ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै उहाँले हजारौँ मानिस बेपत्ता भएको घटनाले सबैलाई मर्माहत तुल्याएको बताउनुभयो ।

“यसपटकको रसुवा बाढी अत्यधिक वर्षाको कारण नभई हिमपहिरोका कारण भएको र त्यसलाई जलवायु परिवर्तनको असर मानिन्छ”, पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभएको छ, “जोसँग जुध्ने र क्षति बेहोर्ने हामीसँगको क्षमताले पुग्दैन । त्यसैले हामीलाई जलवायु न्याय चाहिएको छ, क्षतिपूर्ति चाहिएको छ ।”

जलवायु न्यायका लागि नेपाललाई अन्तरराष्ट्रिय सहयोग अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै उहाँले यसका लागि संयुक्त राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका खेलिदिनुपर्नेमा जोड दिनुभयो । उहाँले दीर्घकालीन रूपमा यस्ता विपत्तिको सामना गर्ने आफ्नै सामथ्र्य र क्षमता बढाउँदै जानुपर्नेमा पनि जोड दिनुभएको छ ।

कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण तथा कृषकलाई राहत उपलब्ध गराउन सङ्घ, प्रदेश र स्थानीय तहबाट आवश्यक व्यवस्था हुँदै आएको बताएकी छन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा उनले सबै किसिमका विपद् व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना भएको बताउँदै प्रदेश तथा स्थानीय तहमा समेत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको व्यवस्था रहेको जानकारी दिइन् ।

मन्त्री चौधरीका अनुसार प्रदेशस्थित कृषि क्षेत्र हेर्ने मन्त्रालयले कृषि क्षेत्रमा भएको क्षतिको व्यवस्थापनका लागि आवश्यक कार्यविधि निर्माण गरी बजेट व्यवस्थापन तथा राहत वितरण गर्दै आएका छन् ।

“सङ्घीय कृषि, वन तथा पर्यावरणसम्बद्ध क्षेत्रमा हुने क्षतिको राहत व्यवस्थापनका सम्बन्धमा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सम्बन्धित प्रदेशबाटै राहत व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ”, उनले भनिन्, “ठुला विपद्का कारण प्रदेशमा स्रोतको अभाव भएमा सङ्घीय मन्त्रालयबाट थप सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । कृषकले काबुबाहिरको परिस्थितिका कारण व्यहोर्नुपर्ने आगलागी, हुरीबतास, जङ्गली जनावर, बाढी, खडेरी तथा असिनालगायतका जोखिम न्यूनीकरण गर्न सरकारले बाली, पशुपन्छी तथा मत्स्य बिमाको व्यवस्था गरी प्रिमियममा अनुदान दिँदै आएको छ ।”

उनले अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यअनुसार कृषि तथा पशु बिमाको प्रिमियममा ८० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था रहेको बताउँदै अन्य अनुदानलाई भने क्रमशः घटाउँदै लैजाने नीति लिइएको जानकारी दिइन् ।

मन्त्री चौधरीले कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमअन्तर्गत बिमित कृषकले व्यहोर्नुपर्ने क्षतिको दाबी रकम समयमै उपलब्ध गराउने उद्देश्यले बजेट व्यवस्थापन गरिएको बताइन् । सङ्घीय सरकारबाट सञ्चालन हुँदै आएको बिमा कार्यक्रम प्रदेशस्थित कृषि क्षेत्र हेर्ने मन्त्रालयमार्फत सञ्चालन हुनेगरी सङ्घीय सशर्त अनुदानका रूपमा बजेट व्यवस्था गरिएको उनको भनाइ छ ।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार ‘कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८०’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू गरिएको उनले जानकारी दिइन् । उक्त कार्यविधिअनुसार बिमा प्रिमियममा अधिकतम ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था रहेको उनले बताइन् ।

मन्त्री चौधरीले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि तथा पशुपन्छी बिमाको रियल टाइममा आधारित कृषि तथा पशुपन्छी बिमा प्रणाली सफ्टवेयरसमेत सञ्चालनमा रहेको जानकारी दिइन् ।

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ ।

यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नै पर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास समेत रहेको छ ।

श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधि समेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जन विश्वास रहेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ । कागे अष्टमी समेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ ।

मन्दिर जान यातायात सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले राससलाई जानकारी दिनुभयो । मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठुलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठुलो कागको मूर्ति निर्माण भएको छ ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, चितवनलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वर मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्ने गर्छन् ।

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व हाे – प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् ।

संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए ।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयत्न स्वीकार्य नभएको उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

“राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ । संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ”, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले संविधान केवल एउटा कानुनी दस्ताबेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए ।

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितव। भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा क्षति पुगेको छ ।

नदीको कटानले सडक भासिएको, लेदो भरिएको, पहिरो झरेकोलगायत कारण लामो समय यो राजमार्ग पूर्ण सञ्चालन हुन सकेन ।

सडकको कृष्णभीरमा भदौ १४ गतेको बाढीले भासिएको सडक १८ दिनपछि सञ्चालनमा आएको छ । भदौ १० को बाढीको लेदोले सडक पुरिएपछि गल्छी क्षेत्रमा सडक सफा गर्न चार दिन लागेको थियो । मुग्लिनदेखि गल्छीसम्मको ६४ किलोमिटर सडक क्षेत्रको अधिकांश भाग त्रिशूली किनारमा पर्छ ।

आंशिक रूपमा सडक सञ्चालनमा आए यस सडकका ठाउँठाउँमा त्रिशूलीले खोतलेर सडकलाई ठूलो नोक्सान पुर्‍याएको छ । विस्तारको काम भइरहेको यस सडकको मुग्लिनदेखि मलेखु र मलेखुदेखि नौविसेसम्म दुई छुट्टाछुट्टै आयोजनाले विस्तारको काम गरिरहेका छन् । नौविसे–मुग्लिन आयोजनाको पश्चिम खण्डका इञ्जिनियर धीरज ढकालका अनुसार मुग्लिनदेखि मलेखुसम्मको ३९ किलोमिटर सडक क्षेत्रमा बाढीका कारण कटान हुँदा क्षति पुगेको छ । मुग्लिनबाट आठ किलोमिटर मलेखुतर्फको धारापानीमा २० मिटर हाराहारी सडक कटानका कारण जोखिममा पुगेको छ ।

सो ठाउँमा नदीतर्फ लगाइएको पर्खाल बगाएको छ । १७ किलोमिटर पर जवाङ खोलामा २० मिटर सडकको छेउ भासिएको छ । त्यस्तै २५ किलोमिटर पर कृष्णभीरमा भदौ १४ गते भासिएको सडक नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि पुनः सञ्चालनमा आएको छ ।

मुग्लिनबाटै ३६ किलोमिटर सितलबजारमा नदीले भित्तो काटेर ४० मिटर सडक भासिएको छ । यहाँ सडक एकतर्फी सञ्चालनमा छ । नेपाली सेनाले भित्तो ‘ब्लाष्टिङ’ गरेर फराकिलो गर्ने काम गरेको छ । चरौदीमा सडकको छेउमा कटान भएको छ । ढकालले नदीको बेग तीव्र भएको र सडक किनारमा पानी भएकाले राम्रोसँग हेर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन–कुन ठाउँमा क्षति पुगेको छ । हेर्ने काम भइरहेको छ ।” नदीको बहाव घटेपछि अन्य ठाउँको अवस्था थाहा हुने उहाँ बताउनुहुन्छ ।

नौविसे–मुग्लिन सडक आयोजनाको पूर्वीखण्डका इञ्जिनियर राजीव मानन्धरका अनुसार मलेखुबाट गल्छीसम्मको अधिकांश सडक त्रिशूली किनारमा छ । २५ किलोमिटर लामो सडकमा ठाउँठाउँमा सडक भासिएको छ । भदौ १० गते लेदोसहितको बाढीले सडकका ठाउँठाउँमा पुरेपछि १४ गते मात्र लेदो फालेर सडक सहज सञ्चालनमा ल्याइएको थियो । गल्छी क्षेत्रको १ दशमलव ५ किलोमिटर सडक लेदोले भरिएको थियो । यस्तै मलेखुबाट एक किलोमिटर गल्छीतर्फ परेवा भीरमा १०० मिटर जति सडक पूरै भासिएर भित्तो पट्टीबाट ट्याक खोलिएको छ ।

मलेखुबाट पाँच किलोमिटर पर चालिसेमा ६० मिटर सडक भासिएपछि एकतर्फी सञ्चालनमा छ । सो ठाउँमा सडक फराकिलो भएकाले सहज भए पनि ठूलो क्षति भएको उहाँ बताउनुहुन्छ । सोही सडकको मलेखुबाट ११ किलोमिटरको दूरीमा पर्ने पोखरे र बाँङ्गेमा झण्डै ८०० मिटर सडक लेदो भरिएको थियो । सडकको लेदो सफा गरिए पनि सडक छेउको कल्भर्ट, पर्खाललगायत ठूलो क्षति पुगेको छ । मलेखुबाट १२ किलोमिटर गल्छीतर्फ गलौदीमा कल्भर्ट र पर्खालमा क्षति पुगेको छ । त्यहाँ लेदोले सडक भरिएको थियो ।

सडकका ठाउँठाउँमा क्षति पुगेको र अध्ययन भइरहेको उहाँ बताउनुहुन्छ । मलेखुबाट गल्छीसम्मको सडकलाई पूर्ववत अवस्थामा फर्काउन रु ५० करोडभन्दा बढी खर्च हुने मानन्धर बताउनुहुन्छ । सडकका विभिन्न ठाउँमा त्रिशूली नदी किनारमा नदीको बहाव नियन्त्रण गर्ने, कटान रोक्ने र तट सुरक्षित बनाउने काम गर्नुपर्ने भएको छ ।

कटान भएर भासिएका ठाउँमा भिरालोको स्थिरिकरण, बायो इञ्जिनियरीङ र रिभर ट्रेनिङ वर्कस गर्नुपर्ने उहाँहरूको भनाइ छ । यो सडक हुँदै दैनिक १४ हजार सवारीसाधन आवतजावत गर्छन् । सवारी सञ्चालनमा अवरोध भएका ठाउँमा तत्काल काम गरिएको भए पनि अन्य ठाउँमा बिस्तृत अध्ययन गरेर काम गर्न लागिएको हो ।

अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

रसुवा। भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ। खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र सुरूङमा शव फेला परेको अपर त्रिशूली–१ का सामाजिक विज्ञ हर्क तामाङले जानकारी दिए। खोज उद्धारका लागि नेपाली सेना र जलविद्युत् कम्पनीका कर्मचारी रहेको विज्ञ तामाङले बताए।

उक्त क्षेत्रमा बिहीबार पनि ६ जना मजदुरको शव फेलापरेको प्रहरी प्रमुख थापाले बताउनुभयो । त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेला परेका हुन्।

बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा सनाखत गर्ने कार्य बाँकी रहेको प्रहरीको भनाइ छ। बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धारकार्य जारी राखिएको थियो।

दुई सय १६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो। सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोकमा डुबेका छन्। निर्माता कम्पनीले कुन–कुन नामका कति कामदार पठाएको भन्ने कुनै तथ्याङ्क राख्न नसक्दा शव पहिचानको लागि गाह्रो परेको प्रहरीले जनाएको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मन्त्रालयले हालसम्म सञ्चालन गरेका कार्यक्रमबारे जानकारी दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) र राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय तहबाट जाजरकोट, रुकुमपश्चिम र बझाङमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण, चेपाङ समुदायका विद्यार्थीका लागि आवासीय विद्यालय निर्माण तथा दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयको भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

त्यस्तै, कमजोर भएका स्थानीय तहमा प्राविधिक सहायता, शिक्षक तथा विद्यार्थी आदानप्रदान कार्यक्रम, टेलिभिजनमार्फत शिक्षण–सिकाइ कार्यक्रम प्रसारण, पाठ्यपुस्तक तथा पाठ्यक्रमको विकास र परिमार्जन तथा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण पनि सञ्चालन भइरहेको मन्त्री पोखरेलले बताउनुभयो ।

सङ्घीय सशर्त अनुदानअन्तर्गत प्रदेशमार्फत शिक्षकको पेसागत विकास तालिम, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि पूर्वाधारयुक्त आवासीय विद्यालय तथा सङ्घ–प्रदेश साझेदारीमा ‘हामी बनाउँछौँ हाम्रो विद्यालय’ कार्यक्रम सञ्चालनमा रहेको छ ।

स्थानीय तहमार्फत भने दिवा खाजा, विशेष शिक्षाका लागि आवासीय विद्यालय, आधारभूत तथा माध्यमिक तहमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका लागि शिक्षण सहयोग अनुदान, आधारभूत सिकाइ प्रवर्द्धन कार्यक्रम तथा प्रतिविद्यार्थी लागतका आधारमा शिक्षण–सिकाइ व्यवस्थापन अनुदान प्रदान भइरहेको मन्त्री पोखरेलले बताउनुभयो ।

धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु

काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भको गरेका छन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।

आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष असोज १७ गते शनिबारसम्म यो व्रत गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख दारिद्रय नास भएर सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ ।

साक्षात् भगावन् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताउनुभएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नास हुने धार्मिक विश्वास छ ।

देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझसमेत तीनपटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख, वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नास हुने उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीनपटक विशेष रूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहँदै आएको छ ।

फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा

काठमाडौँ। दुबईको राष्ट्रिय एयरलाइन्स ‘फ्लाइ दुबई’ ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान गर्ने घोषणा गरेको छ । सो कम्पनीले यही असोज ७ गतेदेखि उडान सुरु गर्न लागेको हो ।

नयाँ सेवासँगै फ्लाइ दुबई संयुक्त अरब इमिरेट्स (युएई ) बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स हुनेछ । सन् २००९ देखि काठमाडौँमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाइ दुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ ।

फ्लाइ दुबईका प्रमुख कार्यकारी अधिकृत घैथ अल घैथले नेपाल फ्लाइ दुबईका लागि अत्यन्त महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र युएइबीचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताउनुभयो ।

उहाँले दुबईलाई विश्वस्तरीय हवाई केन्द्रका रूपमा उपयोग गर्दै यात्रुलाई थप पहुँच र सहज कनेक्टिभिटी प्रदान गर्न पाउँदा कम्पनी गौरवान्वित रहेको बताउनुभयो । फ्लाइ दुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधीर श्रीधरनले पोखरा उडानले यात्रुलाई थप विकल्प र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार यो सेवा संयुक्त अरब इमिरेट्स, खाडी मुलुकहरू, मध्यपूर्व, युरोप तथा फ्लाइ दुबईको विस्तृत अन्तरराष्ट्रिय सञ्जालबाट यात्रा गर्ने यात्रुको मागलाई लक्षित गरी सञ्चालन गरिनेछ ।

अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित पोखरा नेपालको प्रमुख पर्यटन तथा साहसिक गतिविधिको केन्द्रका रूपमा परिचित छ । नयाँ प्रत्यक्ष उडान सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तरराष्ट्रिय पहुँच अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता छ ।भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशङ्करबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारतबीच रहीआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अगाडि बढाउने विविध विषयमा छलफल भएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डा वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहतकार्यमा पुर्‍याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।

भेटमा नेपाल–भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरूले छलफल गरेका थिए ।

यसअघि अर्थमन्त्री डा वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गर्नुभएको थियोे । भ्रमणको पहिलो दिन उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरेका थिए । सो क्रममा उनीहरूबीच द्विपक्षीय आर्थिक हित र सहकार्यका सन्दर्भमा छलफल भएको थियोे ।

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौँ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थामा संशोधन प्रक्रिया अघि बढाएको छ ।स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गराएको हो ।

मन्त्रालयबाट अघि बढाइएको उक्त विधेयकलाई मन्त्रिपरिषद्को २०८३ भदौ २९ गते बसेको बैठकले संसद्मा पेस गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि विधेयक संसद् सचिवालयमा दर्ता गरिएको हो ।

स्वास्थ्य सेवाको नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी प्रवाहका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा आवश्यक रहेको भन्दै मन्त्रालयले विद्यमान कानुनी संरचनालाई समयसापेक्ष बनाउन संशोधन प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मीको पेसागत सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित र सम्मानित कार्य वातावरण सुनिश्चित गर्न आवश्यक कानुनी सुधारलाई अघि बढाएको हो । विधेयक संसद्को प्रक्रियामा प्रवेश गरेसँगै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने बाटो खुलेको छ ।

स्वास्थ्यमन्त्री निशा मेहेताले स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्नु स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरतासँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो ।

“स्वास्थ्यकर्मी सुरक्षित र सम्मानित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्नु स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरतासँग प्रत्यक्ष जोडिएको विषय हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा बलियो बनाउन आवश्यक कानुनी सुधारलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको छ,” उहाँले भन्नुभयो ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य कानुनलाई समेत समयसापेक्ष बनाउन तीनवटा संशोधन विधेयक अघि बढाएको जनाएको छ । तीमध्ये ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन’ र ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी ऐन’ संशोधनका विधेयकसमेत मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद् सचिवालयमा दर्ता भएका छन् ।

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौँ। प्रहरीले स्रोत नखुलेको रु ३४ लाख ९५ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन् ।

काठमाडौँ महानगरपालिका–२९, अनामनगरस्थित किम्ची रेष्टुरेण्टमा स्रोत नखुलेको हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।अखिल नेपाल किसान महासङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले दिगो कृषि अभ्यास नेपाली किसानका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै किसानले दैनिक जीवनमा भोगेका समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्पादनलाई अनुकूलन गर्नु र खेतीलाई बढी लाभदायक बनाउनु अहिले ठूलो चुनौती रहेको बताउँदै संयोजक दाहालले प्रविधिको माध्यमबाट किसानलाई दिगो, पर्यावरणमैत्री र लाभदायक खेती गर्न प्रेरित गर्न सकेमा कृषि औद्योगिकरणको विकास गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले आफू पनि किसान सङ्गठनमा काम गरेको स्मरण गर्दै कृषि क्षेत्रले ठूलो सङ्ख्यामा रोजगारीका अवसर सृजना गर्ने तथा कृषि उत्पादन वृद्धिले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्षेत्रमा गरिने खर्चले उत्पादन वृद्धि हुने र किसान वर्गको जीवन सुदृढ गर्ने बताउँदै त्यसले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताउनुभयो ।रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

महासङ्घका अध्यक्ष बलदेव चौधरीले निर्यातमूलक कृषि उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउन आग्रह गर्दै नेपाली हावापानीमा हुने उत्पादन गुणस्तरीय हुने गरेकाले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको बताउनुभयो ।उहाँले सरकारले सिँचाइ, रासायनिक मल, बीउबिजन, नवीनतम् प्रविधिमा सहुलियत उपलब्ध गराउन माग गर्नुभयो । सो अवसरमा उद्यमी भगवान कार्कीलगायत उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको स्मृतिमा देवघाटमा उद्यान निर्माण गरिने

चितवन । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ।

भरतपुरमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश अर्यालले शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटमा स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल गरिनुका साथै त्यसका लागि सल्लाहकार समिति, निर्माण समिति र स्रोत व्यवस्थापन समिति बनाएर स्मृति उद्यान निर्माणको कार्य अघि बढाउने बताए।

सो अवसरमा बाढीपछि जिल्लामा भएको खोज, उद्धार तथा शव व्यवस्थापनका गतिविधिको समीक्षा गरिएको थियो। चितवनमा सञ्चालन गरिएको खोज, उद्धार तथा शव सङ्कलन र व्यवस्थापन कार्यमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई कदरपत्र समेत प्रदान गरिएको थियो।

प्रजिअ अर्यालले भोटेकोशी बाढीपछि जिल्लामा हालसम्म ३६४ शव फेला परेको जानकारी दिनुभयो । तीमध्ये ३५१ शव जमिनमुनि व्यवस्थापन गरिएको जानकारी दिए। हालसम्म १२ शव आफन्तले बुझेर लगेका र एउटा शव अस्पतालमा रहेको उनले बताए। बाढीमा परेर मरेका पशुको व्यवस्थापन भरतपुर महानगरपालिकाले गरेको प्रजिअ अर्यालले जानकारी दिए। चितवनमा स्थायी ठेगाना भएका १५ जनाका परिवारजनले बाढीमा हराएका भन्दै नाम टिपाएको उनले बताए।

प्रजिअ अर्यालले भने, “पवित्रस्थल देवघाटमा हामीले शवको व्यवस्थापन गरेका छौँ । सो स्थानमा उद्यान बनाउँदा उनीहरुका आफन्तजन आएर मन बुझाउन, बहलाउन सकिन्छ भनेर उद्यान बनाउने योजना बनाएका हौँ ।”

यसबाट भावी पुस्तालाई इतिहास दर्शाउन महत्त्वपूर्ण टेवा पुग्ने र भविष्यमा आवश्यक पर्दा अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग गर्ने तथा न्याय खोज्ने प्रयोजनका लागिसमेत प्रमाणका रूपमा रहने भएकाले उद्यान बनाउने सोच आएको उनले बताए।सो अवसरमा स्मृति उद्यानको डिजाइनसमेत प्रस्तुत गरिएको थियो ।

भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक गोलमेचलाई सम्बोधन

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गरेका छन्।

शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी)मा आयोजित ‘डिप्लोमेटिक राउन्डटेबल’मा अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका हुन्।

कार्यक्रममा भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्वविदेश सचिव शिवशंकर मेनन, पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार एवं कूटनीतिज्ञ पंकज शरणलगायत सहभागी थिए।

त्यस्तै, प्रख्यात अर्थशास्त्री तथा जवाहरलाल नेहरू विश्वविद्यालयका एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ)का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टी (भाजपा)को विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले पनि संवादमा सहभागी थिए।

कार्यक्रममा दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयकी निर्देशक मनुस्मृति, ‘द हिन्दू’की कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरसहित नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो।

जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई जलवायु परिवर्तनका विषयमा नयाँ ढंगले सोच्नुपर्ने सन्देश दिएको बताए ।उनले भने, ‘हामीले हाम्रो नेसनल सेक्युरिटीको कुरा अर्कै कोठामा बसेर, क्लाइमेट चेन्जको कुरा अर्कै कोठामा बसेर गर्ने, कूटनीतिको कुरा अर्कै कोठामा बसेर गर्ने के यो सुविधा हामीसँग छ ?’

थापाले नेपालका संस्थाहरूले बहुविषयगत रूपमा काम गर्न सक्ने संरचना बनाउनुपर्ने बताए । जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र कूटनीतिलाई छुट्टाछुट्टै विषयका रूपमा हेर्न नहुने उनको भनाइ थियो ।थापाले प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनको सहभागितामा विगतमा नेपालले उठाउँदै आएका विषयको निरन्तरता र दीर्घकालीन राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताए ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको अवस्थाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै थापाले उद्धार, राहत र पुनःस्थापनासँगै प्रभावित क्षेत्रको दीर्घकालीन जीविकोपार्जनका विषयमा पनि ध्यान दिनुपर्ने बताए ।

उनले रसुवालगायत क्षेत्रमा धेरै परिवारले आफ्ना आफन्त गुमाएको, कतिपय परिवारले शवसमेत प्राप्त गर्न नसकेको र ठूलो संख्यामा मानिस घरबारविहीन भएको बताए ।थापाले विपद्पछि केही दिनसम्म मात्रै चासो दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।  ।

उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, नेपाली आप्रवासी कामदार, आर्थिक सहयोग तथा नेपालमा हालै आएको विनाशकारी बाढीलगायत विषयमा छलफल भएको थियो ।भेटमा उपराष्ट्रपति यादवले सन् १९७७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताए । उनले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषिलगायत क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी तथा सहयोगको अपेक्षा रहेको बताए ।

यादवले साउदी अरेबिया नेपाली आप्रवासी कामदारका लागि प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गरेकोमा साउदी सरकारप्रति धन्यवाद व्यक्त गरे । सन् २०२७ मार्चमा नेपाल–साउदी कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको भन्दै उनले यसलाई अर्थपूर्ण र स्मरणीय बनाउन आवश्यक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।

नेपाल–साउदीबीच गत अगस्ट ३१ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै यादवले उक्त सम्झौताले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको पनि बताए ।

साउदी राजदूत मनिकरले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्न साउदी अरेबिया तयार रहेको बताए । आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप सुमधुर बनाउन निरन्तर प्रयास गर्ने उनले प्रतिबद्धता जनाए ।

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

काठमाडाैँ। उत्तरपश्चिमी पाकिस्तानको प्रहरी कार्यालयनजिकै रहेको मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । प्रहरी तथा उद्धार अधिकारीका अनुसार सुरक्षा बलले लडाकुविरुद्ध कारबाही गरिरहेका बेला उक्त विस्फोट भएको हो।

खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा भएको घटनामा विस्फोटक पदार्थले भरिएको एउटा गाडी मस्जिदमा ठोक्काइएको प्रान्तीय प्रहरी प्रमुख जुल्फिकार हमिदले बताए।

वरिष्ठ उद्धार अधिकारी बिलाल फैजीका अनुसार मृतकमध्ये पाँच प्रहरी र १० सर्वसाधारण छन् । घाइतेमध्ये अधिकांश नमाज पढ्न मस्जिद पुगेका व्यक्ति रहेको र केहीको अवस्था गम्भीर रहेको उनले बताए।

प्रहरीका अनुसार कम्तीमा दुई बन्दुकधारीले प्रहरी परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरूको प्रहरीसँग गोली हानाहान भएको बताइएको छ ।विस्फोटबाट प्रहरी कार्यालयको बाहिरी पर्खाल तथा मस्जिदमा ठूलो क्षति पुगेको छ। स्थानीय बासिन्दाका अनुसार विस्फोटको आवाज टाढासम्म सुनिएको थियो र त्यसलगत्तै गोली चलेको थियो।

प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति सहानुभूति व्यक्त गरेका छन्। उनले उद्धार कार्य तीव्र पार्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए।आक्रमणको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन । यद्यपि, घटनामा ’तेहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) अर्थात् पाकिस्तानी तालिबानको सङ्लग्नताको आशंका गरिएको छ।

उत्तरपश्चिमी हाङ्गु जिल्लामा सुरक्षा बलको गाडीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट गराउँदा छ सैनिकको मृत्यु भएको भोलिपल्ट शुक्रबारको घटना भएको हो । सेना र प्रहरीका अनुसार बिहीबार विभिन्न क्षेत्रमा गरिएको कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य मानिएका १० लडाकु मारिएका थिए।

पछिल्ला वर्षमा टीटीपीले पाकिस्तानमा प्रहरी तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्दै आएको छ। सन् २०२३ मा पेशावरस्थित एउटा मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा १०१ जनाको मृत्यु भएको थियो।

टीटीपी अफगानिस्तानको तालिबानभन्दा फरक समूह भए पनि उनीहरूबिच गठबन्धन रहेको बताइन्छ । अफगानिस्तानमा तालिबान सन् २०२१ मा सत्तामा फर्किएपछि पाकिस्तानले काबुलमाथि टीटीपीलाई आश्रय दिएको र सीमापारिबाट हुने आक्रमण रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएको छ । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले भने पाकिस्तानका आरोप अस्वीकार गर्दै आएको छ।

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

बाँके । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत समुदायमा परिवर्तनको नयाँ उज्यालो र आशा छाएको छ ।यहाँका कुचबधिया (पत्थरकट्टा), माहुत, चिडिमारलगायतका सीमान्तकृत तथा लोपोन्मुख अल्पसङ्ख्यक समुदायको यसबीचमा राज्यका निकायमा प्रतिनिधित्व र पहुँच बढेको छ । उनीहरू अहिले आफ्नो हकअधिकारका लागि एकजुट भई स्थानीय सरकारसँग आफ्ना कुरा प्रष्टसँग राख्न सक्ने भएका छन्।

ओछ्यानबाट उठ्नेबित्तिकै हातमा छिनो र हथौडा लिएर दिनभर ढुङ्गा कुद्दै सिलौटा र जाँतो बनाउने कुचबधिया समुदायको पुस्तैनी पेसा हो । तर अहिले समय बदलिएको छ, मुलुकमा नयाँ संविधान आएको एक दशकमा बाँकेका सीमान्तकृत र लोपोन्मुख बस्तीहरूमा परिवर्तनप्रतिको आशाको किरण पलाएको छ ।

स्थानीय जानकी गाउँपालिका–३ इन्द्रपुरका अर्जुन कुचबधियाका लागि पछिल्लो १० वर्ष केही अनौठो र केही आशाप्रद रह्यो । कुनै समय सरकारी कार्यालयको दैलो टेक्न पनि दकस मान्ने अर्जुनको समुदाय अहिले स्थानीय सरकारले आयोजना गर्नै बैठक तथा छलफल कार्यक्रममा पुगेर निर्धक्क आफ्ना हकअधिकारका कुरा राख्न सक्ने भएको छ।

“पहिले हाम्रा कुराको कहीँ सुनुवाइ हुँदैनथ्यो, अहिले स्थानीय सरकारसमक्ष आफ्ना पीरमर्का राख्न पाएका छौँ”, अर्जुन विगत र वर्तमानबारे भन्छन्, “राज्यले दिएको सामाजिक सुरक्षा भत्ताले चुलो बाल्न त अलि सजिलो भएको छ, शिक्षा, स्वास्थ्य र रोजगारीका सन्दर्भमा संविधानले दिएको अधिकारको नतिजा पनि अब हाम्रा घरसम्म आइपुग्ने विश्वासमा छौँ ।”

संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको ढोका खोलेपछि कुचबधिया, माहुत र चिडिमारजस्ता लोपोन्मुख समुदायका नागरिकमा एक प्रकारको आत्मस्वाभिमान जागेको छ। उनीहरू सङ्गठित भएका छन्, सामूहिक रूपमा आवाज उठाउन थालेका छन् । तर, जीवनयापनको मुख्य जग मानिने आर्थिक अवस्था भने अपेक्षकृत रूपमा अझै उठ्न सकेको पाइन्न।

त्यस्तै स्थानीय गीता कुचबधियाको चिन्ता भने अर्कै छ । बजारमा प्लास्टिक र आधुनिक सामग्रीको वर्चस्व बढेसँगै उनीहरूको पुख्र्यौली पेसा सिलौटा, जाँतो र डोरी बनाउने काम सङ्कटमा परेको छ । “भत्ताले त दाल–चामल किन्न मात्र ठिक्क हुन्छ”, गीता दुःख पोख्छिन्, “पुर्ख्याैली पेसा हराइसक्यो, नयाँ पेसामा रोजगारी पाइँदैन। राज्यले हामीलाई बस्ने बास, स्वास्थ्य र छोराछोरीको शिक्षामा ध्यान दिनुपर्नेछ।”

सो परिवारले सामाजिक सुरक्षा भत्ताका रुपमा रु १२ हजार स्थानीय तहबाट लिँदै आएको छ । स्थानीय जानकी गाउँपालिका–३ स्थित इन्द्रपुरमा सो समुदाय २७५ जना रहेको पालिका कार्यालयको अभिलेखमा उल्लेख छ । त्यसबाहेक नेपालगन्ज उपमहानगरपालिका–२१ मा पनि केही घर कुचबधिया समुदायको रहेको छ।

गाउँमै सरकार आएपछि केही राहत महसुस गरेका डुडुवा गाउँपालिका–६ हिरमिनियाका केलाराम माहुतको कथा पनि उस्तै छ । केलारामले स्थानीय सरकारबाट प्रदान हुने सेवा र कार्यक्रममा आफ्नो समुदायको पहुँच पहिलेको तुलनामा बढेको अनुभव गरेका छन्। नयाँ संविधानले सामाजिक न्याय, समानुपातिक र समावेशीकरण अधिकारको व्यवस्था गरेसँगै आफ्नो समुदायमा केही परिवर्तन आए पनि आशातित् उपलब्धि भने हासिल हुन नसकेको बताए ।

“पहिले सरकारी अड्डा छिर्न पनि डर लाग्थ्यो, अहिले गाउँमै सरकार छ, कार्यक्रमहरूमा हामी पनि सहभागी हुन पाउँछौँ”, केलाराम भन्छन्, “तर हाम्रा युवा पढेर पनि बेरोजगार बस्नुपर्दा मुटु चसक्क हुन्छ ।”

माहुत समुदायले भोगिरहेको अर्को ठुलो पीडा भनेको पहिचानको हो । राज्यका सीमान्तकृत अल्पसङ्ख्यकको सूचीमा सूचीकृत हुन नसक्दा उनीहरू धेरै अवसरबाट अझै वञ्चित हुनुपरेको छ । मातृभाषा, मौलिक अधिकार र सामाजिक न्यायका संवैधानिक बहस सुनिए पनि व्यावहारिक कार्यान्वयनमा अझै फराकिलो खाडल रहेको केलारामको भनाइ छ।

नयाँ संविधानले सीमान्तकृत समुदायलाई आफ्नै सरकार र सामाजिक सुरक्षाको आड त दियो, तर उनीहरूको भान्सामा तीन तहकै सरकार मिलेर समृद्धिको प्रश्न हटाउन सक्नुपर्ने छ।

परम्परागत पेसा विस्थापित हुँदै जानु, युवाहरू शिक्षित भएर पनि अवसर नपाउनु र आधारभूत आवश्यकता अझै ओझेलमा पर्नुले संविधान जारी भएको दशक पुग्दा पनि आफ्नै परिचयले पनि अर्थपूर्ण परिभाषा नपाएको गुनासो छ।

माहुत समुदायका युवाको रोजगारी र शिक्षामा उनको मुख्य चिन्ता छ। संविधानले मातृभाषा, मौलिक अधिकार, सामाजिक न्याय र समावेशी प्रतिनिधित्वका लागि महत्त्वपूर्ण आधार तयार गरे पनि संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा अझै प्रयास गरिनुपर्ने उनीहरूको सुझाव छ।

सीमान्तकृत अल्पसङ्ख्यक समुदाय भए पनि आफूहरू राज्यको निकायमा सूचीकृत हुन नसक्दा माहुत समु्दाय अवसरबाट वञ्चित हुँदै आएको उनको गुनासो छ । एसएलसीसम्मको अध्ययन गर्नुभएका केलाराम माहुतले अहिले एउटा निजी कम्पनीमा काम गरिरहेका छन्। सो समुदाय नेपालगन्ज उपमहानगर पालिका–१९ र २१ वडामा छन् भने डुडुवा गाउँपालिका–६ स्थित पहाडीएनपुरवामा करिब ११२ घर छ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका अर्को अल्पसङ्ख्यक समुदाय चिडिमार पनि हो । सरकारको सूचीकृत समुदायभित्रका चिडिमारको पुख्र्यौली पेसा अहिले लोप भएका कारण उनीहरू अन्य विभिन्न काम गर्न थालेका छन्।

सो समुदायका अगुवा नेपालगन्ज–१२ सुकराम चिडिमारले रोजगारीका अवसरमा पहुँच नभएको गुनासो गर्छन्। तर केही सो समुदायका पढेलेखेका व्यक्ति मधेसी समुदायको कोटामा प्रतिस्पर्धा गरी रोजगारीमा संलग्न भएको उनले बताए । स्नातक तहसम्म अध्ययन गरेका सुकरामले भने, “हामीले रु १२ हजार ज्येष्ठ नागरिक भत्ता पाएका छाैँ तर रोजगारीको अवसर पर्याप्त नभएकाले कोटा प्रणाली लागू गर्न आवश्वयक छ ।”

सो समुदायका तीनदेखि पाँच वर्षसम्मका बालबालिकालाई समेत स्थानीय तहले खाता खोलेर रु ५०० मासिक रूपमा प्रदान गरिरहेको छ।

नीति निर्माण तहमा समेत चिडिमार समुदायको संलग्नता आवश्यक भएकामा जोड दिँदै उनले यस समुदायका लागि बेग्लै रोजगारीको अवसर प्रदान गर्न सरकारसँग आग्रह गरे। “हाम्रो समुदायबाट नै कोटा प्रणालीमा रोजगारी पाएका छैनौ, निजी क्षेत्रका कम्पनीमा काम गरिरहेका छाैँ”, उनले भने। सुकरामका अनुसार अहिले यस समुदायले पुख्र्याैली पेसा छाडेर घर निर्माण र काठको काम गर्नेलगायतका काममा संलग्न छन्। चिडिमार समुदाय नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा २५० घर छन् भने त्यसबाहेक कोहलपुर नगरपालिका–१४ र १५ मा करिब ५० घर छन्।

बर्दियाको गुलरियामा पनि केही घर चिडिमार समुदायका छन्। नेपालको संविधान २०७२ ले समावेशी सिद्धान्तलाई आत्मसात् गरेपछि अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदायले आफ्ना हकअधिकारका लागि आवाज उठाउँदै समाजको मूलप्रवाहमा आउने क्रम बढेको पाइएको छ।

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप आइपुग्यो

झापा । जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा ३० वर्षमाथिका सबैलाई इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

पालिकाका लागि ६५ हजार ५२५ भाइल खोप आज मेचीनगर आइपुगेको जनाउँदै १५ वटै वडाको खोप केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिइन् । यही असोज ५ गते मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा स्वास्थ्यचौकीमा झापा जिल्लास्तरीय खोप अभियानको उद्घाटन गरिने उनले बताइन् ।

मेचीनगरमा चालु आर्थिक वर्षमा ६ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएकामा दुई जनाको मृत्यु भइसकेको छ भने अरुको विभिन्न अस्तालमा उपचार भइरहेको उनले बताइन् । आव २०८१/८२ र आव २०८२/८३ मेचीनगरमा यही रोगको सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको थियो । भारतको पश्चिम बङ्गाल र बिहार प्रान्तसँग सीमा जोडिएको क्षेत्र भएकाले मेचीनगरलाई संवेदनशील मानिएको छ ।

मेचीनगरको पाँचवटा वडामा रोगको सङ्क्रमण देखापरेको छ । खोप केन्द्रसम्म ज्येष्ठ नागरिकलाई ल्याउन आवश्यक परेमा सिटी सफारी र टेम्पोको प्रयोग गर्नेगरी तयारी भएको मेतीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले बताए । झापामा चालु आवभित्र १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए ।

रसुवा बाढीपछि अर्थ समितिले सरकारलाई दियो आठ बुँदे निर्देशन

काठमाडौं । संघीय संसद्को अर्थ समितिले रसुवाको भोटेकोशीमा आएको बाढीपछि अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै सरकारलाई आठ बुँदे निर्देशन दिएको छ ।अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले समितिको बैठकमा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सरकारलाई आठवटा निर्देशन दिने निर्णय भएको बताए ।

उनका अनुसार बाढीबाट नदीतटीय क्षेत्रमा रहेका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा ठूलो क्षति पुगेकाले प्रभावित उद्योगी तथा व्यवसायीका लागि राहत र पुनःस्थापनाका कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न अर्थ, ऊर्जा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको छ ।त्यस्तै, नदीतटीय क्षेत्रमा हुने सहरीकरण तथा सञ्चालनमा रहेका विकास आयोजनाका मापदण्ड पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको छ ।

समितिले विद्यमान विपद्सम्बन्धी पूर्वसूचना प्रणाली सुदृढ गर्दै पूर्वसूचनाका लागि अन्तरदेशीय सूचना आदानप्रदान प्रणाली विकास तथा विस्तार गर्न गृह र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

जलवायु वित्तलाई नेपालको दिगो तथा भरपर्दो विकास स्रोतका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दा तथ्य र तर्कका आधारमा प्रभावकारी रूपमा उठाउन तथा आवश्यक कूटनीतिक पहल गर्न सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको सभापति बुढाथोकीले बताए ।

त्यसैगरी भविष्यको जलवायु प्रक्षेपणका आधारमा पूर्वाधारका मापदण्ड अद्यावधिक गर्न र ठूला पूर्वाधार आयोजना तयार गर्दा जलवायु जोखिम विश्लेषण गरी जलवायु अनुकूलन प्रविधि तथा परियोजना डिजाइन अवलम्बन गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बाढी प्रभावित व्यवसायीलाई राहत दिन बैंकको कर्जाको किस्ता अवधि थप, सो अवधिको ब्याज मिनाहा, आवासलगायत संरचना निर्माणमा सहुलियत दरमा कर्जा उपलब्ध गराउन तथा निर्माण व्यवसायीको बाँकी भुक्तानी अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बाढीबाट क्षतिग्रस्त भौतिक संरचना, सवारीसाधन, चालक, व्यवसायी तथा आयोजनाको बिमा दाबी भुक्तानीमा सहजीकरण गर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।त्यस्तै, बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएका नागरिकका परिवारलाई मनोसामाजिक परामर्शसहित विशेष आर्थिक प्याकेज तथा रोजगारी र आयआर्जनमा सहयोग हुने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

ढुङ्गे-त्रिशूलीमा मोटरेबल पुल विदुरको पहिलो प्राथमिकतामा

नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाले ढुङ्गे-त्रिशूली बजार जोड्ने पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ।गत भदौ १० गते आएको बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि विदुर नगरपालिका-१ स्थित ढुङ्गे र त्रिशूली बजारसहित नदीपारिका भूगोलसँगको आवागमन सम्पर्क विच्छेद भएको थियो । पुल नहुँदा बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, विस्थापितको व्यवस्थापन तथा अत्यावश्यक सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको छ।

नगरप्रमुख राजन श्रेष्ठले प्रभावित नागरिकको दैनिकी सहज बनाउन र बाढीबाट क्षतिग्रस्त त्रिशूली बजारमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन पुल निर्माणका लागि चौतर्फी पहल भइरहेको बताए। उनले नेपाली सेनासँगको सहकार्यमा विभिन्न निकायको समन्वयमा मोटरेबल पुल निर्माण गर्न सकिएमा प्रभावित क्षेत्रको आवागमन सहज हुने जानकारी दिए।

“बाढीले बगाएका तथा पुरिएका संरचनाका कारण बगरमा परिणत भएको त्रिशूली बजारमा अपेक्षाअनुसार खोज तथा उद्धार गर्न सकिएको छैन,” नगरप्रमुख श्रेष्ठले भने, “विपद्पश्चात् हाम्रो पहिलो चाहना पुल निर्माण हो । प्राविधिक अध्ययनमा नदीको बहाव र आकारका कारण पुल निर्माण गर्न कठिनाइ भइरहेको छ।”

उनका अनुसार त्रिशूली नदी पार गर्न पुल नहुँदा प्रभावित बासिन्दा तुइनको भरमा आवतजावत गर्न बाध्य छन् । आवागमन सञ्चालन गराउन तुइन राखिए पनि त्यसबाट आवश्यकताअनुसार सेवा दिन नसकिने भएकाले स्थायी वा अस्थायी मोटरेबल पुल निर्माणको विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

नदीको बहाव र भूगोलले पुल निर्माणमा चुनौती

बाढीपछि त्रिशूली नदीको बहाव क्षेत्र करिब ३० मिटर उचाइमा पुगेको र नदीले दायाँबायाँ करिब १५० मिटर क्षेत्र ओगटेर बगिरहेको प्राविधिक अध्ययनले देखाएको छ। नदीको फराकिलो बहाव, उचाइ तथा ग्रेगर-लेदोसहितको थलथले हिलोका कारण तत्काल बेलिब्रिजलगायतका अस्थायी मोटरेबल पुल राख्न कठिनाइ रहेको सडक डिभिजन नुवाकोटको अध्ययनमा उल्लेख छ।

सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्माले विदुर-१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने गरी तत्काल पुल राख्न सकिने अवस्था नरहेको जानकारी जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा गराएका थिए।

बाढीपछि नदीले लिएको आकार, बहावको उचाइ तथा नदीमा थुप्रिएको ग्रेगर र लेदोका कारण पुल निर्माणका लागि आवश्यक प्राविधिक तथा भौगोलिक अवस्था चुनौतीपूर्ण रहेको उहाँले बताउनुभएको हो ।

असम्भव देखिए पनि विकल्प खोज्नुपर्ने सुझाव

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले जतिसक्दो चाँडो पुल निर्माण गरी त्रिशूली बजारमा पुगेको क्षतिको खोज तथा उद्धार, प्रभावितको व्यवस्थापन, विद्यालय सञ्चालन तथा त्रिशूली अस्पतालसँगको सम्पर्क पुनःस्थापना गर्नुपर्ने बताए।

“पुल निर्माणका लागि असम्भव देखिएका विषयमा पनि विकल्प खोजेर अगाडि बढ्नुपर्छ”,उनले भने, “त्रिशूली बजारमा भएको क्षतिको खोज तथा उद्धार, प्रभावितको व्यवस्थापन, विद्यालय सञ्चालन र अस्पतालसँगको सम्पर्क जोड्न ढिलाइ गर्नुहुँदैन ।”

जिसस प्रमुख ठकुरीले विपद्पछि प्रभावित नागरिकको जीवन सहज बनाउन आवश्यक पूर्वाधार निर्माणमा सबै निकायबिच समन्वय आवश्यक रहेको बताए।

८५ जना हराइरहेको तथ्याङ्क

भोटेकोशी बाढीका कारण विदुर नगरपालिका-१ स्थित ढुङ्गे र त्रिशूली बजारबाट ८५ जना हराइरहेको वडा कार्यालयको तथ्याङ्क छ । बाढीबाट प्रभावित दुई बस्ती जोड्न तथा नदीपारिको भूगोलसँग सम्पर्क स्थापित गर्न पुल निर्माण अत्यावश्यक देखिएको छ।

ढुङ्गे-त्रिशूली पुल निर्माण भएमा विदुरबाट त्रिशूली नदी पारि तारकेश्वर, म्यागङ, किस्पाङ हुँदै रसुवाको उत्तरगया गाउँपालिकाको ठूलोगाउँ र डाँडागाउँसम्म आवागमन सहज हुनेछ।

पुल अभावले बाढी प्रभावितको खोज तथा उद्धार र राहत सामग्रीको समानुपातिक वितरणमा मात्र नभई आमनागरिकको दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पारेको छ। विदुरतर्फका बासिन्दालाई नदी पारि रहेका अस्पताल तथा नेपाल विद्युत् प्राधिकरणका सेवा लिन कठिनाइ भइरहेको छ भने नदी पारिका बासिन्दालाई सडक तथा पुलको अभावमा सदरमुकाम हुँदै जिल्ला बाहिरसँगको सम्पर्क टुटिरहेको छ।

बाढीपछि त्रिशूली नदीको दुवैतर्फका बासिन्दाले भोग्दै आएको आवागमन समस्या समाधान गर्न ढुङ्गे-त्रिशूली पुल निर्माणको अन्योलता चाँडै हट्ने र आवश्यक पहलले गति लिने आशा स्थानीयवासीले गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै

काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन(ओसिभी)’ अभियान तीव्र बनाइएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ जनाले खोप पाएका उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनाले मुखबाट दिइने हैजाविरुद्धको खोप पाएका हुन्। रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका गाउँपालिकामा तथा नुवाकोटको बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ।

यसैबिच बाढी प्रभावित क्षेत्रमा टिटानस-डिफ्थेरिया (टिडी) खोप पनि स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइते व्यक्तिलाई पनि खोप प्रदान भइरहेको छ। रसुवाका चार स्थानीय तहमा ८२१ जनाले टिडी खोप पाएका छन् भने नुवाकोटको बिदुर नगरपालिकामा ११३ जनाले टिटी खोप लगाएका प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनकाअनुसार बाढीपछि शङ्कास्पद दादुराका आठ वटा रिपोर्ट रहेकामा सात नमुनाको परीक्षण नेगेटिभ आएको छ भने एउटा नमुनाको नतिजा आउन बाँकी छ। तीमध्ये रसुवाका ६ र नुवाकोटका २ वटा नमुना छन्।

परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुख डा अभियान गौतमकाले बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढाइएको बताए। उनका अनुसार रसुवा र नुवाकोटमा दादुरा रोग विरूद्धको ‘एमआर’ खोप अभियानको तयारी सुरु भएको छ भने धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडामा ‘ओसिभी’ खोप अभियानका लागि पनि तयारी भइरहेको छ

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ।

ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको उक्त परिपथका लागि सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको र क्रमागत बजेटमार्फत काम सम्पन्न गरिने काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले राससलाई बताउनुभयो।

पहिलो चरणमा रु १० करोड खर्च गरेर पनौतीको डबलीदेखि नमोबुद्धसम्मको सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण, विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना र थान्कालगायत जानकारीमूलक बोर्ड राखिनेछ।

चलनचल्तीका सडकलाई नै ‘बुद्ध–सर्किट’का रूपमा विकास गर्न लागिएको जानकारी दिदँै उहाँले परिपथको गुरुयोजना तयार भइसकेको बताउनुभयो।

उहाँका अनुसार पनौती–नमोबुद्ध करिब आठ किलोमिटर सडकलाई बुद्धसँग सम्बन्धित सम्पदाले भरिपूर्ण बनाउँदै आकर्षक पर्यटकीय मार्गका रूपमा विकास गर्ने उद्देश्य लिइएको छ।

बुद्ध–परिपथअन्तर्गत नमोबुद्ध–भकुण्डे सडकखण्डमा पर्ने दाप्चास्थित बोक्से सामुदायिक वनमा रतुवा मृग पार्क निर्माण गरिने छ। यसका लागि बागमती प्रदेशको वन मन्त्रालयमा योजना स्वीकृतिको प्रक्रिया अघि बढेको सांसद चौलागाईंले बताउनुभयो। “मृग पार्कका लागि स्थान छनोट भइसकेको छ र प्रदेश सरकार पनि सकारात्मक छ”, उहाँले भन्नुभयो।

यसैगरी, बिपी राजमार्गअन्तर्गत भकुण्डेबेँसीस्थित चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ निर्माण गरिने छ। चारैतर्फबाट देखिने उक्त गेटमा विभिन्न धर्म तथा संस्कृतिका प्रतीक र सन्देशमूलक आकृति राखिनेछन्।
उहाँका अनुसार नमोबुद्धदेखि भकुण्डेबेँसी हुँदै तेमालसम्मको करिब २५ किलोमिटर सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिनेछ। विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना गर्नुका साथै थान्कालगायत जानकारीमूलक बोर्ड राखिनेछन्।

तेमालस्थित याङबेलमा भने गुरु रेन्पोछेको विशाल मूर्ति निर्माण गर्ने योजना छ। यसका लागि याङबेलमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको जनाइएको छ।

याङबेलमा ‘बुद्ध पार्क’ निर्माण गरी विश्वकै ठूलो गुरु रेन्पोछेको मूर्तिसहित बुद्धको विशाल मूर्ति तथा विभिन्न बुद्ध आकृति निर्माण गर्ने, घण्टाघर, बच्चासहित बाघको प्रतिमा, शान्ति चैत्य, थान्का लेखन विद्यालय र पार्किङस्थल निर्माण गर्ने योजना रहेको सांसद चौलागाईंले जानकारी दिनुभयो।

“तेमालमा थान्का शिक्षालय सञ्चालन भएपछि सहर धाउनुपर्ने बाध्यता हट्नेछ। यहीँ बसेर सिक्ने र अरूलाई पनि थान्का लेखन सिकाउनेछन्। थान्कामार्फत तेमाललाई देशी–विदेशीसामु चिनाइनेछ”, उहाँले भन्नुभयो।

इतिहासविद्का अनुसार राजा प्रताप मल्लले वि.सं. १७२७ मा रानीपोखरी निर्माण गरेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ।

तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरूपमा बगिरहेको धार्मिक मान्यता छ। भारतको प्रयागमा गङ्गा र यमुनाको सङ्गममा गुप्तरूपमा सरस्वती नदी मिसिएझैँ पनौतीमा रोशीलाई रुद्रावती, पुण्यमातालाई लीलावती र ब्रह्मायणी मन्दिरमुनिबाट गुप्तरूपमा बग्ने नदीलाई पद्मावती मानिँदै आएको छ।

नमोबुद्ध गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रूपमा परिचित काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, रमणीय तथा पर्यटकीय स्थल हो। तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा शिकार खेल्ने क्रममा भोकले छटपटाइरहेको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काटेर खुवाउँदै देहत्याग गरी बघिनीलाई जीवनदान दिएको किंवदन्ती छ।

नमोबुद्ध क्षेत्रमा लामा तथा महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूला बुद्धमूर्ति र चैत्य छन्। ‘तामाङ इतिहास र सभ्यता खोज्नु छ भने तेमाल जानू’ भन्ने आख्यानले पनि तेमालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्छ। नेपाल एकीकरणअघि रिञ्जेन दोर्जे बलको शासनका बेला भारतबाट तिब्बत जाने क्रममा गुरु पद्मसम्भवले तेमालमा ध्यान गरी सिद्धता प्राप्त गरेको इतिहास रहेको बताइन्छ। तेमालको इतिहास, सभ्यता र संस्कृतिलाई झल्काउने विभिन्न संरचना तथा आकृति पनि निर्माण गरिएका छन्।