`

कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ

पुमा गाउँ (लमजुङ), असोज ८-कृषिप्रतिको अनिच्छासँगै गाउँ तथा बस्तीहरू उजाडिँदै गएका अवस्थामा लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ स्थित पुमा गाउँ कृषि पर्यटनबाट समृद्धि खोज्नेतर्फ अग्रसर देखिन्छ । स्थानीयवासीको सङ्गठित प्रयाससँगै यहाँका ५४ घरधुरी पुमा एग्रो प्रालिमा आबद्ध हुँदै बाँझो तथा प्रयोगविहीन जमिन एवम् स्थानीय जनशक्तिको अधिकतम उपयोग गर्दै कृषि पर्यटनलाई एकीकृत रुपमा विकास गर्ने अभियानमा जुटेका हुन् ।

समुन्द्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा रही अन्नपूर्ण र मनास्लुलगायत हिमशृङ्खलाहरूको सुन्दर दृश्यावलोकन गर्न सकिने यो गाउँमा कृषि पर्यटनका माध्यमबाट स्थानीयवासीको आयआर्जन अभिवृद्धि गराउँदै अधिकतम पर्यटकहरू आकर्षित गर्ने लक्ष्य राखिएको पुमा एग्रो प्रालिका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

पुमा गाउँमा यसअघि नै सामुदायिक घरबास ‘होमस्टे’को पूर्वाधार विकास भइसकेको बताउँदै उहाँले भौगोलिक एवम् प्राकृतिक रुपमा कृषि, पशुपालन तथा पर्यटनका लागि सम्भावनायुक्त क्षेत्र भए पनि पर्याप्त लगानी, आधुनिक कृषि प्रविधि, पूर्वाधार, बजार व्यवस्थापन तथा जनशक्ति अभावका कारण यो क्षेत्रपछि परेको उहाँले बताउनुभयो । “गाउँमा रहेको ठूलो भूभाग खेतीयोग्य भए पनि पूर्ण रुपमा उपयोग गर्न नसकिएको वास्तविकतामा यसलाई कृषि पर्यटनका माध्यमबाट उपयोग गर्न खोजिएको हो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार पुमा एग्रो प्रालिमार्फत यहाँको करिब एक हजार ४०० रोपनी जग्गा (भूमिदान, खरिद र भाडामा लिएर) लाई चरणबद्ध रुपमा उपयोग गर्ने योजना अघि सारिएको छ । सदरमुकाम बँेसीसहरबाट जम्मा १० किलोमिटरको दूरीमा पुमा गाउँ रहेको छ । यहाँको जग्गालाई चरणबद्ध रुपमा उपयोग गर्दै कफी, आरुबखडा, टिमुर, तरकारी तथा अन्य स्थानीय उत्पादनको व्यावसायिक खेती विस्तार गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, मौरीपालन, स्थानीय प्रजातिका कुखुरा, बाख्रा तथा भैँसीपालन र स्थानीय उत्पादनमा आधारित भान्साघर सञ्चालन गरी उत्पादनदेखि बजारसम्मको मूल्य शृङ्खला निर्माण गर्ने योजना राखिएको छ । भूमि उपयोग योजनाअन्तर्गत कफी र आरुबखडा बिरुवा एक हजार रोपनीमा लगाइने बताउँदै उहाँले टिमुर र मौरीपालन २०० रोपनीमा गर्न लागिएको बताउनुभयो ।

त्यस्तै, कुखुरा र पशुपालन एक सय रोपनीमा, भान्सा घर र तरकारी एक सय रोपनीमा विस्तार गरिने गुरुङले जानकारी दिनुभयो । यस वर्षदेखि सुरु गर्न लागिएको परियोजनाअन्तर्गत उत्पादनका लागि पाँचवर्षे योजना अघि सारिएको छ । संस्थाले कफी खेतीका लागि पहिलोदेखि पाँचौँ वर्षसम्म क्रमशः १० हजार, २० हजार, २० हजार र ३० हजार गरी ५० हजार कफीका बोट लगाउने लक्ष्य राखेको छ । आरुबखडा पाँच वर्षमा हरेक वर्ष दुई÷दुई हजार गरी १० हजारको सङ्ख्यामा लगाउने योजना राखेको छ भने टिमुर हरेक वर्ष चार/चार सय बोटका दरले दुई हजार लगाउने योजना छ ।

त्यस्तै, पाँच वर्षमा सुरुको वर्ष ५० वटा मौरीघार वितरण गरिने र त्यसपछि तीन वर्ष १००/१०० घार तथा पछिल्लो वर्ष १५० वटा मौरी घार वितरण गर्ने योजना छ । स्थानीय जातका कुखुरापालनका लागि पहिलो दुुई वर्ष दुई हजार ४००, तेस्रो वर्ष तीन हजार र पछिल्ला दुई वर्ष तीन हजार ६०० सङ्ख्यामा पालिने उल्लेख गरिएको छ ।

त्यस्तै, दुहुनो भैँसी दोस्रो वर्षदेखि दुई/दुई वटा र पछिल्ला दुई वर्ष तीन/तीन वटा तथा दुहुनो बाख्रा दोस्रो र तेस्रो वर्ष ३०/३० वटा चौथो र पाँचौँ वर्ष ५०÷५० वटा थप्ने योजना छ । परियोजनाअन्तर्गत सबै कामका लागि रु चार करोड २४ लाख लागत अनुमान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रालिका सञ्चालक सदस्य एवम् कार्यपालिका सदस्य सुकमाया गुरुङका अनुसार परियोजनाअन्तर्गत कृषि पर्यटनका माध्यमबाट युवा तथा महिलालाई उद्यमी बन्न प्रेरित गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, कृषि उत्पादन वृद्धि, स्थानीय अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । बाँझो जमिनको सदुपयोग, गाउँबाट हुने बसाइँसराइ न्यूनीकरण गर्दै सहर झरेका स्थानीयलाई गाउँमा बसाइँ फर्काउने अभियानका साथ यो पहल गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँमा २०७५ सालदेखि घरबास कार्यक्रम पनि सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले परियोजनाको सुरुआतीमा भान्छाघर निर्माण गरी त्यसलाई सञ्चालन गरिने बताउनुभयो । संंस्थाले आगामी पाँच वर्षमा २७ जनालाई स्थायी र धैरैलाई अस्थायी रोजगारी प्रदान गर्ने तथा स्थानीय युवा र महिला किसानका साथै समुदायलाई समेत उद्यमसँग जोड्ने लक्ष्य लिएको छ ।

यस परियोजनालाई दीर्घकालीन रुपमा कृषि, पशुपालन, मौरीपालन, कृषि प्रशोधन, भान्सा घर तथा होमस्टे सञ्चालन र पर्यटनलाई एकै ठाउँमा जोडिएको नमूना एकीकृत कृषि उद्यमका रुपमा विकास गर्ने परिकल्पना रहेको उहाँको भनाइ छ ।

अध्यक्ष गुरुङका अनुसार यस गाउँमा स्थानीयले विगत चार वर्षयता आरुबखडाको वाइन, जुस, जाम आदि बनाउने प्रयास थालिसकेका छन् । परियोजनाअन्तर्गत आरुबखडाको खेती विस्तार गर्दै यसबाट बन्ने वाइन, जुस, जामलगायत परिकारहरू बनाइने उहाँले बताउनुभयो ।

आरुबखडासहित यसबाट बन्ने परिकारका साथै स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गरी बजारमा प्रतिस्पर्धी र उच्च मूल्य प्राप्त गर्ने कृषि उद्यम निर्माण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । गाउँमा आउने पर्यटकलाई स्थानीय उत्पादनकै परिकार खुवाउनाका साथै यहाँबाट जाँदा लैजाने कोसेली पनि गाउँमा नै तयार गर्ने लक्ष्य राखिएको छ । गाउँमा उत्पादित आरुबखडा, कफी, टिमुर, तरकारी, मह, दूध, मासु तथा स्थानीय कुखुराको बजारीकरणलाई पनि व्यवस्थित बनाउने गरी सोच अघि बढाइएको उहाँले बताउनुभयो ।

कृषि पर्यटनका माध्यमबाट स्थानीय उत्पादन वृद्धि हुनाका साथै रोजगारी सृजना, स्थानीय आय वृद्धि, बाँभmो जमिनको प्रयोग र गाउँको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय कृषक तथा समुदायलाई आधुनिक कृषि प्रविधि, सीप र उद्यमशीलतासँग जोड्नाका साथै कृषि, पशुपालन, मौरीपालन र ग्रामीण पर्यटनलाई जोडेर कृषि पर्यटनको नमूना गन्तव्य विकास गर्ने लक्ष्य लिइएको छ । परियोजना सम्पन्न भएपछि प्रालिमार्फत हुने नाफाको २० प्रतिशत रकमको कल्याणकारी कोष स्थापना गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यो कोष एकल महिला÷पुरुष, गरिब तथा जेहेन्दार प्रतिशत मुनाफा गाउँमा बस्ने प्रत्येक घरधुरीलाई दामासाहीले पुमा गाउँ टोल सुधार समितिको सिफारिसमा वितरण गरिनेछ ।

परियोजना आर्थिक रुपमा सम्भावनायुक्त, सामाजिक रुपमा उपयोगी, वातावरणीय रुपमा दिगो र स्थानीय विकासका दृष्टिले महत्वपूर्ण रहेको हुँदा सम्बन्धित सरकारी निकायहरूबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास लिइएको उहाँले बताउनुभयो । पुमा गाउँ टोल सुधार समितिका अध्यक्ष गणेशकुमार गुरुङका अनुसार पुमा गाउँ कृषि पर्यटनसँगै धार्मिक पर्यटनमा पनि उत्तिकै सम्भावना बोकेको गाउँ हो ।

गाउँको सिरानमा रहेको कन्यादेवी मन्दिर यहाँको प्राचीन धार्मिक महत्वको तीर्थस्थलका रुपमा रहेको उहाँले बताउनुभयो । कृषि पर्यटनको विकाससँगै यस मन्दिरको धार्मिक महत्वलाई समेत जोड्दै धार्मिक पर्यटनको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने बताउँदै उहाँले मन्दिरमा पूजापाठ गर्नाले मनोकामना पूरा हुने विश्वास रहेको जानकारी दिनुभयो । उक्त विश्वास व्यवहारमा नै परिणत भएको प्रत्यक्ष देखे भोगेको उहाँको अनुभव छ ।

यहाँ घरबासमा आउने पर्यटकलाई स्थानीयले गाउँमा नै उत्पादन भएका परिकार खुवाउने गरेका छन् । कोदोको ढिँडो, रोटी, लोकल कुखुराको मासु, स्थानीय मदिरा, रातो भट्ट, मकै, फर्सी, बन्दा, काउली, ब्रोकाउली, आलुलगायत कृषिजन्य उत्पादन गाउँमा नै फलाउने गरेका स्थानीयले मौसमअनुसार यहीँ वरपर पाइने कुरिलो, निउरो, सिस्नोलगायत परिकार पनि खुवाउने गरेका छन् ।

गाउँको माथि रहेको बाघ बाँध्ने ढुङ्गा यहाँको अर्को आकर्षण भएको उहाँले बताउनुभयो । प्राचीनकालदेखि नै जमिनमा गाडिएको यो ढुङ्गा जमिनमाथि नै १० फुट अग्लो रहेको छ । यस ठाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण, मनास्लुलगायतमा हिमशृङ्खलाहरू नाङ्गो आँखाले देख्न सकिन्छ । नगरपालिकाको रु चार लाख सहयोगमा गाउँबाट बाघ बाँध्ने ढुङ्गासम्म बाटो लगिएको छ । कृषि पर्यटनसँगै यहाँको प्रकृति, संस्कृति र धार्मिक सम्पदालाई पर्यटकीय रुपमा उपयोग गर्ने आफूहरूको दीर्घकालीन सोच रहेको उहाँको भनाइ छ ।

जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी

काठमाडौँ, असोज ८ –नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ । सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको महानगरपालिकाले जनाएको छ ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । अहिले सामान्य पानी परिरहेको भए पनि यो भारी वर्षाका रुपमा विकसित हुनसक्ने देखिएकोले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाइएको हो ।

जोखिमपूर्ण क्षेत्रमा रहेका विद्यालयको अवस्था समेत मूल्याङ्कन गरी आवश्यक परे विद्यालय सञ्चालन तथा पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको माहानगरपालिकाले जनाएको छ ।

मौसमजन्य विपदको पूर्वतयारी र प्रतिकार्य योजनाका लागि बुधबार महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले सम्भावित बाढी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रसलगायत निकायसँग समन्वय बढाउने निर्णय गरेको छ ।

बैठकले, भारी वर्षाबाट महानगर क्षेत्रभित्र हुनसक्ने जोखिम न्यूनीकरणका लागि महानगरका सबै संयन्त्र, विभाग, निकाय र वडा कार्यालयलाई पूवतयारी तथा प्रतिकार्यका काम सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा निगरानी बढाउने तथा ढल, मङ्गाल र क्याचपिट सफाइलाई तीव्रता दिने निर्णयमा उल्लेख छ । यसका लागि नगरप्रहरी बल, वातावरण व्यवस्थापन विभाग र विपद् व्यवस्थापन विभागलाई जिम्मेवारी तोकिएको छ ।

विपद् प्रतिकार्यका लागि ¥याफ्टिङ बोर्ड, त्रिपाल, सवारीसाधनलगायत आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । दुई जना नगर प्रहरी उद्धार टोलीलाई तैनाथ गरिएको छ । सम्भावित जोखिमका समयमा नेपाल सरकारका कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सङ्घसंस्थासँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइएको छ ।

खेलकुद पूर्वाधार विस्तारमा सरकारको नयाँ योजना, २७ स्थानमा निर्माण

काठमाडौँ । सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहरी विकास तथा भवन निर्माण विभागबिच समझदारी भएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा राखेप र सहरी विकास तथा भवन निर्माण विभागबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार पहिलो चरणमा सातै प्रदेशमा क्रिकेट रङ्गशाला, फुटबल रङ्गशाला र कभर्ड हललाई प्राथमिकतामा राखेर खेलकुद पूर्वाधार निर्माण गरिने मन्त्री पोखरेलले बताए।

“सरकारले पहिलेदेखि देखेको ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने सपनामा हामी एक कदम अगाडि बढेका छौँ,” मन्त्री पोखरेलले भने। विद्यालय तहबाटै खेलकुदप्रति आकर्षण बढाउन नयाँ पूर्वाधार निर्माणले सहयोग पुग्ने उनको विश्वास छ।

मन्त्री पोखरेलले पाठ्यक्रममा खेलकुदलाई जोड्ने सरकारको योजनाअनुसार पाठ्यक्रम पुनर्निर्माणको काम भइरहेको र त्यसका लागि खेलाडीलाई समेत पाठ्यक्रम निर्माण कार्यदलमा सहभागी गराइएको जानकारी दिए ।

उनका अनुसार विभिन्न प्रदेश तथा जिल्लामा पर्याप्त खेलकुद पूर्वाधारको अभाव रहेकाले ग्रासरुट तहबाट खेलाडी उत्पादनमा समस्या हुँदै आएको छ। सोही अवस्थालाई सम्बोधन गर्न पहिलो चरणमा सातै प्रदेशमा विभिन्न खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्न लागिएको हो।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले नयाँ तथा अत्याधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित भएको साझेदारीले नेपालको खेल क्षेत्रको विकासमा योगदान पुग्ने बताए। सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ खेलकुद पूर्वाधार निर्माणका साथै विद्यमान पूर्वाधारको मर्मत, सम्भार, पुनर्निर्माण, स्तरोन्नति तथा सुदृढीकरणलाई प्राथमिकता दिएको छ।

बजेटअनुसार आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० फुटबल रङ्गशालाको स्तरोन्नति गर्ने तथा प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने लक्ष्य छ।

त्यस्तै विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गर्ने योजना छ। मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गर्ने विषयसमेत बजेटमा समेटिएको छ । सरकारले खेलकुद पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने नीति लिएको जनाएको छ ।

यूएन महासभाका क्रममा खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच भेट, बहुपक्षीय सहकार्यबारे छलफल

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सिनेटर मोहम्मद इशाक दारबिच संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीले नेपाल र पाकिस्तानबिच रहँदै आएको सौहार्दपूर्ण तथा सहयोगात्मक सम्बन्धका विविध पक्षबारे विचार आदान—प्रदान गरे ।

उनीहरूले नेपाल–पाकिस्तान सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिए । द्विपक्षीयसँगै बहुपक्षीय तहमा समेत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

विशेष गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पाकिस्तानबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षले जोड दिए ।

बाढी प्रभावित क्षेत्रमा आत्मिक शान्तिका लागि लामा गुरुहरूद्वारा पाठ पूजा

रसुवा । भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्ति तथा प्रभावित परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै रसुवाको स्याफ्रुबेँसी र सानो भार्खुमा विशेष धार्मिक पूजा एवं छ्योइकार सप्ताह सम्पन्न भएको छ ।

शार मिनुब गुम्बा, कर्मापा श्यामारनग सङ्घ, श्री कर्म राजा महाविहार सङ्घको आयोजनामा भएको उक्त कार्यक्रम गत भदौ १० गते गएको बाढीले रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, शान्ति बजार, मैलुङ, खाल्टे, बेत्रावती बजारलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो । विपद्का कारण शोकमा डुबेका परिवारलाई धार्मिक तथा सामाजिक रूपमा आत्मिक शान्ति र राहत प्रदान गर्ने उद्देश्यले यो धार्मिक विधिको आयोजना गरिएको हो ।

स्याफ्रुबेँसीमा ३० लामा गुरुहरूको उपस्थितिमा विशेष पाठ पूजा गरिएको थियो । डुप्सेङ रिम्पोछे, ढुप्वेन निग्यम रिम्पोछे र रसाङपो रिम्पोछेको नेतृत्वमा भएको उक्त पूजामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैगरी, गोसाइँकुण्ड गाउँपालिका–५ अन्तर्गतकै सानोभार्खुस्थित महाकरुणा गुम्बामा आजदेखि सुरु भएको विशेष पाठ पूजा तथा छ्योइकार सप्ताह आज सम्पन्न भएको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, स्थानीय जनप्रतिनिधि, धार्मिक गुरु तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा सो धार्मिक अनुष्ठान सम्पन्न भएको हो ।

विपद्पछिको कठिन परिस्थितिमा आयोजना गरिएको यस धार्मिक अनुष्ठानले बाढीप्रभावित क्षेत्रका बासिन्दामा सकारात्मक ऊर्जा थप्नुका साथै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको आयोजकले जनाएका छन् । साथै बाढीप्रभावित परिवारलाई राहतसमेत वितरण गरिएको बताइएको छ ।

कर्मापा श्यामारनग सङ्घ बौद्ध काठमाडौँका अध्यक्ष खेन्पो टासी ओसेरका अनुसार पीडितलाई राहत वितरण गरिनुका साथै विशेष पाठपूजा गरिएको थियो । गोसाइँकुण्ड गाउँपालिका–५ को कार्यवाहक वडाध्यक्ष डोल्मा तामाङले ताकी पुन्यको काम सहज बनोस भन्दै उहाँहरूलाई सहजीकरण गरेका थिइन् ।

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औँल्याएका हुन् ।

भेटवार्तामा मन्त्री खनालले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जर्मन सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे।

उनले भने, “नेपालले विपद्पछिको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका कार्य अघि बढाइरहेको छ । यस क्रममा जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानी अत्यावश्यक छ ।”

मन्त्री खनालले नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पु¥याउँदै आएको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएकामा जोड दिनुभएको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा जर्मनीकी मन्त्री राडोभानले नेपालमा पछिल्लो पटक उत्पन्न ‘विनाशकारी विपद्लाई विश्वव्यापी साझा चुनौती’का रूपमा लिनुपर्ने बताउँदै जर्मनी नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

भेटवार्तामा नेपाल–जर्मनीबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान हुनुका साथै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

राष्ट्रिय युवा संघ काठमाडौं महानगरको अध्यक्षमा विकल्प थापा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटीको दोस्रो महानगर अधिवेशनबाट विकल्प थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका छन्। कालिमाटीमा सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा १७ सदस्यीय नयाँ महानगर कमिटी गठन गरेको हो।

राजनीतिक वातावरणमै हुर्किएका थापाका लागि संगठन र राजनीति नयाँ विषय होइन। उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिक गतिविधिसँग जोडिएको भएकाले सानैदेखि सामाजिक तथा राजनीतिक गतिविधिलाई नजिकबाट बुझ्ने अवसर उनले पाउँदै आएका छन्। पारिवारिक राजनीतिक संस्कारसँगै विभिन्न पेशा तथा व्यवसायमा आबद्धताको अनुभवले उनलाई युवाका विविध क्षेत्रका समस्या, आवश्यकता र सम्भावनासँग जोडिन थप सहज बनाएको छ।

विभिन्न पेशा तथा व्यवसायमा आबद्ध थापाले युवाको क्षमता र रुचिअनुसार उनीहरूलाई आ–आफ्नो क्षेत्रमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै आएका छन्। उनको बुझाइमा युवालाई राजनीतिक गतिविधिमा मात्र सीमित नराखी रोजगारी, उद्यमशीलता, खेलकुद, सीप विकास तथा सामाजिक सेवासँग जोड्न आवश्यक छ।

दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष चयन भएपछि थापाले युवाको ऊर्जा, सीप र क्षमतालाई सही दिशामा परिचालन गर्दै संगठनलाई थप सक्रिय, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी दिनमा युवाका आवश्यकता र सरोकारलाई प्राथमिकतामा राख्दै नयाँ सोच तथा सिर्जनशील कार्यक्रममार्फत संगठनलाई थप प्रभावकारी बनाउने उनको धारणा छ।

“राजनीति पेशा होइन, सेवा हो भन्ने मान्यताका साथ युवाका लागि काम गर्नुपर्छ,” थापाले भनेका छन्। उनका अनुसार राजनीतिलाई व्यक्तिगत लाभको माध्यमभन्दा समाज र युवाको हितमा योगदान गर्ने सेवाका रूपमा अघि बढाउन आवश्यक छ।

विभिन्न पेशा, व्यवसाय र सामाजिक गतिविधिमा आबद्ध युवालाई एउटै प्लेटफर्ममा जोड्दै उनीहरूलाई आ–आफ्नो क्षेत्रमा अगाडि बढाउने वातावरण निर्माण गर्नु आगामी कार्यकालको महत्वपूर्ण प्राथमिकता हुने बताइएको छ। राजनीति मात्र नभई व्यवसाय, रोजगारी, खेलकुद, सीप विकास तथा सामाजिक सेवामा समेत युवाको सहभागिता बढाउनुपर्नेमा थापाले जोड दिएका छन्।

थापाको दोस्रो कार्यकालमा युवा सहभागिता, संगठन विस्तार, सामाजिक सेवा, सीप विकास तथा रचनात्मक गतिविधिले थप गति पाउने अपेक्षा गरिएको छ। पारिवारिक राजनीतिक पृष्ठभूमि, आफ्नै सक्रियता तथा विभिन्न पेशा–व्यवसायसँगको अनुभवलाई समेट्दै थापाले काठमाडौं महानगरका युवालाई अवसर र नेतृत्वसँग जोड्दै हरेक क्षेत्रमा अगाडि बढाउने विश्वास गरिएको छ।

‘मुग्लिङ बजारमा’ को भिडियो विमोचन, राजु परियारसहित कलाकार तथा सञ्चारकर्मी सम्मानित

काठमाडौं । महक रेकर्डिङ स्टुडियोमा ‘मुग्लिङ बजारमा’ बोलको नयाँ लोकगीतको औपचारिक विमोचनसँगै कलाकार तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न भएको छ। मौलिक नेपाली लोक संगीतको प्रवर्द्धन तथा कला, संगीत र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा पुराना तथा नयाँ पुस्ताका कलाकार, सञ्चारकर्मी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कलाकार तथा महक रेकर्डिङ स्टुडियोका सञ्चालक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोक स्वर सम्राट राजु परियार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा कलाकार विनोद ढकाल, वरिष्ठ एरेन्जर जुजु गुरुङलगायत ‘मुग्लिङ बजारमा’ गीतसँग सम्बन्धित सम्पूर्ण टिम, कलाकार तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ‘मुग्लिङ बजारमा’ गीतको औपचारिक विमोचन गरिएको थियो। गीत विमोचनसँगै कला, संगीत तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दुई दर्जनभन्दा बढी कलाकार तथा सञ्चारकर्मीलाई एकसाथ सम्मानसमेत गरिएको थियो। महक रेकर्डिङ स्टुडियोको तर्फबाट आयोजित सम्मान कार्यक्रममार्फत नेपाली लोक संगीतको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने कलाकार र सञ्चारकर्मीको भूमिकालाई सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मानित सञ्चारकर्मीहरूमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, केन्द्रीय सदस्य तथा प्रवक्ता शिखरजङ्ग श्रेष्ठ, केन्द्रीय सदस्य तुलसिंह रनपछाई, केन्द्रीय सदस्य सुमन सापकोटा, केन्द्रीय सदस्य कविराज ढकाललगायत रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि लोक स्वर सम्राट राजु परियारले नेपाली लोक संगीतको मौलिकता जोगाउन कलाकार, सर्जक, सञ्चारकर्मी तथा संगीत क्षेत्रसँग आबद्ध सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए। उनले मौलिक लोक सिर्जनालाई निरन्तरता दिँदै नयाँ पुस्तामाझ नेपाली लोक संगीतलाई पुर्‍याउनुपर्नेमा जोड दिए।

त्यस्तै, विशेष अतिथि चन्द्रमणि गौतमले ‘मुग्लिङ बजारमा’ गीत मौलिक लोक सिर्जनाका रूपमा आएको बताए। उनले नेपाली समाज, संस्कृति र मौलिक पहिचानसँग जोडिएका गीत–संगीतको संरक्षण र प्रवर्द्धनमा यस्ता सिर्जनाले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

वक्ताहरूले नेपाली लोक संगीतको विकासका लागि नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिएका थिए। पछिल्लो समय आधुनिक प्रविधि र डिजिटल माध्यमको विस्तारसँगै संगीतको प्रस्तुति र पहुँचमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै उनीहरूले मौलिक नेपाली गीत–संगीतलाई पनि नयाँ प्रविधि र माध्यममार्फत व्यापक श्रोतामाझ पुर्‍याउनुपर्ने बताए।

कार्यक्रमको स्वागत मन्तव्य ‘मुग्लिङ बजारमा’ गीतका गायक तथा प्रस्तुतकर्ता विसु गुरुङले राखेका थिए। उनले गीत निर्माणको उद्देश्य, कलाकार तथा प्राविधिक टिमको सहकार्य र नेपाली लोक संगीतप्रतिको आफ्नो प्रतिबद्धताबारे धारणा राखेका थिए। उनले गीतलाई दर्शक तथा श्रोताले माया गर्ने विश्वाससमेत व्यक्त गरे।

‘मुग्लिङ बजारमा’ गीतमा गायक तथा प्रस्तुतकर्ता विसु गुरुङ र पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ। गीतमा नेपाली मौलिक लोक संगीतको स्वादलाई प्राथमिकता दिइएको निर्माण पक्षले जनाएको छ।

गीत निर्माणमा कलाकार, गायक–गायिका, संगीतकर्मी तथा प्राविधिक टिमको सहकार्य रहेको छ। कार्यक्रममा गीतसँग सम्बन्धित कलाकार तथा सिर्जनात्मक टिमको सहभागिताले पनि कार्यक्रमलाई विशेष बनाएको थियो।

आयोजकका अनुसार गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रमले नेपाली कला, संगीत र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य बोकेको छ। कलाकारले सिर्जना गर्ने र सञ्चारकर्मीले त्यसलाई दर्शक तथा श्रोतामाझ पुर्‍याउने भएकाले यी दुई क्षेत्रबीच सहकार्य आवश्यक रहेको आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागी कलाकार तथा सञ्चारकर्मीहरूले नेपाली मौलिक गीत–संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म हस्तान्तरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए। विशेषगरी लोक संगीतको मौलिकता कायम राख्दै समयअनुकूल रूपमा नयाँ पुस्तामाझ प्रस्तुत गर्न सके नेपाली लोक संगीतको दायरा अझ फराकिलो बन्न सक्ने उनीहरूको धारणा थियो।

‘मुग्लिङ बजारमा’ गीतको विमोचनसँगै आयोजित सम्मान कार्यक्रमले एकातर्फ नयाँ लोक सिर्जनालाई श्रोतामाझ ल्याएको छ भने अर्कोतर्फ नेपाली कला, संगीत र सञ्चार क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको आयोजकले जनाएको छ।

भोटेकोशी बाढीपछि खोजी–उद्धार जारी, ४ हजार ७१८ बेपत्ताको खोजी हुँदै, १ हजार ४५३ शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजे सम्म १ हजार ४५३ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५१ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ३५ गरी कुल ३ हजार ३६४ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ ।

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २८० जना व्यक्तिहरूलाई राखिएको छ ।

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट। भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आउनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन् ।

धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट भएको क्षतिको स्थलगत अवलोकनपछि उनले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नेभन्दा पनि सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रुपमा पुनःस्थापना गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजकसमेत रहनुभएका नेपालले जलवायु तथा मौसम परिवर्तनका कारण विपद्का घटना बढ्दै गइरहेकाले आगामी दिनमा अझ ठूलो विपद् आउन सक्ने भन्दै पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

उनले भने“बाढीले क्षति पु¥याएका क्षेत्रलाई जोखिमयुक्त भूगोलका रुपमा पहिचान गरी सार्वजनिक प्रयोजनमा कायम राख्नुपर्छ र प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थित नयाँ बस्ती निर्माण गरी पुनःस्थापना गर्नुपर्छ ।”

बाढीबाट क्षतिग्रस्त क्षेत्रको अवलोकनपछि पूर्वप्रधानमन्त्री नेपाल विदुर नगरपालिकाको कार्यालयमा आयोजित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीचको अन्तरक्रियामा सहभागी भए ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान

चितवन। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, धादिङ र रसुवाका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन्।

कुराकानी गर्दै मन्त्री तामाङले बाढीपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, प्राथमिक उपचार, तथा ‘होल्डिङ सेन्टर’को व्यवस्थापनदेखि स्वास्थ्य सेवा विस्तारका कामलाई निरन्तरता दिइएको बताए ।

भोटेकोशीमा बाढी आएलगत्तै प्रदेशका मुख्यमन्त्री, आफू र अर्थमन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा पुगेर सङ्घ तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरेको उहाँले बताउनुभयो । उनले भने, “त्यतिबेला हाम्रो प्राथमिकता उद्धार र प्राथमिक उपचार थियो । त्यसपछि जटिल उपचार आवश्यक पर्ने बिरामीलाई रिफर गर्ने र उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएकालाई होल्डिङ सेन्टरमा राख्ने काम ग¥यौँ ।”

बाढीबाट विद्यालय, स्वास्थ्य चौकीलगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको तथा नुवाकोट, धादिङ र रसुवाका विभिन्न स्थानमा सम्पर्क विच्छेद भएकाले त्यसलाई पूर्ववत् अवस्थामा फर्काउन प्रदेश सरकार केन्द्रित भएको मन्त्री तामाङको भनाइ छ ।

उनका अनुसार त्रिशूलीमा रहेका दुईवटा जनस्वास्थ्य तथा जिल्ला अस्पताल, आयुर्वेद अस्पताल तथा बेत्रावती, स्याफ्रुबेँसी र धादिङका स्वास्थ्य कार्यालयमार्फत सेवा दिइँदै आएको छ । स्वास्थ्य सेवाको आवश्यकता अझै रहेको भन्दै प्रदेश सरकारले एक सयभन्दा बढी स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन गरेको उहाँले जानकारी दिए ।

मन्त्री तामाङले भने, “स्वास्थ्य कर्मचारी एक सयभन्दा बढी पठाउँदा पनि त्यहाँ सेवा अझ बढी दिनुपर्ने अवस्था भएकाले विभिन्न संस्थासँग समन्वय गरेर उहाँहरूलाई स्वास्थ्य सेवामा जोडेर काम गरिरहेका छौँ ।”

बाढीपछि प्रभावित क्षेत्रमा देखिएका मौसमी रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए । पखालालगायतका समस्या देखिएपछि आवश्यक स्वास्थ्य उपचार तथा खोपलगायतका माध्यमबाट रोग नियन्त्रणमा ल्याइएको उनको भनाइ छ ।

शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ – परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले विश्व शान्ति तथा सुरक्षाको प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालले पुर्‍याउँदै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा राष्ट्रसङ्घका शान्ति सञ्चालन विभाग उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँग न्युयोर्कमा भएको साइडलाइन भेटवार्ताका क्रममा मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि आभार व्यक्त गरेका हुन् ।

“संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वासका लागि धन्यवाद व्यक्त गर्दछु”, मन्त्री खनालले भने “नेपालले संयुक्त राष्ट्रसङ्घसँगको दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको छ र पारस्परिक विश्वास, सम्मान तथा सहकार्यमा आधारित यस सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउन चाहन्छ ।”

विश्व शान्ति र सुरक्षाका लागि समर्पित हुँदै शान्ति स्थापनाका क्रममा जीवन उत्सर्ग गरेका तथा घाइते हुनुभएका नेपाली शान्ति सैनिकहरूको योगदानको उच्च सम्मान गर्दै मन्त्री खनालले उहाँहरूको त्याग र समर्पणप्रति श्रद्धासमेत व्यक्त गरे ।

उनले नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता राष्ट्रका रूपमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरे ।

“हाल करिब १२ वटा संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा चार हजार ३०० भन्दा बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारीले सेवा प्रदान गरिरहनुभएको छ,” उनले भने, “संयुक्त राष्ट्रसङ्घको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परेको अवस्थामा नेपाल १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तत्पर रहेको छ ।”

संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि आवश्यक सहयोगको आह्वान हुँदा नेपालले सदैव सकारात्मक, जिम्मेवार र रचनात्मक ढङ्गले प्रतिक्रिया जनाउँदै आएको उल्लेख गर्दै उनले कठिन तथा चुनौतीपूर्ण परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको बताए ।

नेपाली शान्ति सैनिकहरूले व्यावसायिकता, अनुशासन, समर्पण, कार्यदक्षता तथा तोकिएको जिम्मेवारीको प्रभावकारी कार्यान्वयनमार्फत उच्च योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय मापदण्डअनुरूप प्रशिक्षण, कार्यसम्पादन, जवाफदेहिता तथा अन्तरसञ्चालन क्षमताको निरन्तर अभिवृद्धि गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

कर्णाली। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । वीरेन्द्रनगरमा बुधबार बसेको बैठकले प्रदेश सरकारको संस्थागत तथा व्यवस्थापनसँग सम्बन्धित निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिए।

बैठकले कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा डा चन्द्रप्रसाद रिसाललाई कामकाजका लागि खटाउने निर्णय गरेको छ ।

कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० अनुसार, एघारौँ तह वा सो सरहको पदमा पदस्थापन गर्ने अधिकार मुख्यमन्त्रीलाई प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ । उक्त निर्णयसम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिने प्रवक्ता खड्काले बताए ।

बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारका तर्फबाट जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख रमेश सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक छ – परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपदवाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आज आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपद्को अवस्थाबारे सम्बोधन गर्दै उहाँले पुनःस्थापना, जलवायु वित्त, विपद् पूर्वतयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा जी–७ को सहयोग र सहकार्यका लागि आग्रह गरे।

बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले जलवायु विपद्को कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग गर्ने जी–७ सदस्य राष्ट्र तथा अन्य मित्रराष्ट्रप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

“नेपालले जलवायु परिवर्तन, दिगो विकास, उत्थानशीलता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य अघि बढाउन जी–७ ले निर्वाह गर्दै आएको नेतृत्वको उच्च कदर गर्दछु,” उनले भने । उनले बैठक आयोजना गरेकोमा जी–७ को अध्यक्ष फ्रान्सलाई धन्यवाद व्यक्त गरे ।

हालैको जलवायुजन्य विपद्ले नेपालमा पु¥याएको मानवीय तथा भौतिक क्षति अत्यन्तै ठूलो रहेको उल्लेख गर्दै मन्त्री खनालले बाढीका कारण घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा क्षति पुग्नुका साथै जनजीवन र अत्यावश्यक सेवासमेत प्रभावित भएको बताए।

प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले जानकारी दिए ।

विपद्को वैज्ञानिक अध्ययन जारी रहेको उल्लेख गर्दै उनले तीव्र रूपमा तातिँदै गएको हिमाली वातावरणमा बरफ, चट्टान, पानी र अस्थिर भू–बनोटबीचको जटिल अन्तरक्रियाका कारण विपद् उत्पन्न भएको प्रारम्भिक विवरण प्राप्त भएको बताए ।

जलवायुजन्य विपद्को बढ्दो गम्भीरतालाई सम्बोधन गर्न यस्ता क्षेत्रमा लगानी विस्तार गर्न जी–७ तथा अन्य साझेदार राष्ट्रलाई उहाँले आह्वान गर्नुभयो । मन्त्री खनालले बहुपक्षीय वित्तीय संस्थामार्फत शीघ्र, किफायती र सहज वित्तीय स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

“समयमै उपलब्ध हुने वित्तीय स्रोत केवल वित्तीय साधन मात्र होइन, जलवायुजन्य धक्काबाट बारम्बार प्रभावित हुने जोखिममा रहेका मुलुकका लागि जीवनरेखा हो,” उहाँले भन्नुभयो ।

बहुपक्षीय विकास बैङ्क तथा अन्तरराष्ट्रिय वित्तीय संस्थासँग सहकार्य गरी आवश्यक वित्तीय स्रोत परिचालन गर्न जी–७ सदस्य राष्ट्रले आफ्नो प्रभाव र संयोजन क्षमता उपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

हिमाली क्षेत्रलाई जलवायु कार्यसूचीमा थप प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले हिमनदी, हिमाल तथा जलप्रणालीको भविष्य क्षेत्रीय तथा विश्वव्यापी जलवायु सुरक्षासँग अभिन्न रूपमा जोडिएको बताउनुभयो ।

“हिमालयमा हुने परिवर्तन हिमालयमै सीमित रहँदैन,” उहाँले भन्नुभयो, “यसले दक्षिण एसिया तथा त्यसबाहिरका मनसुन प्रणाली, नदी तटिय क्षेत्र, कृषि प्रणाली तथा लाखौँ मानिसको जीवनमा प्रभाव पार्छ ।”

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा साझा जलवायु उत्थानशीलता अभिवृद्धिका लागि जी–७ सँग सहकार्य गर्न नेपाल तयार रहेको उहाँको भनाइ थियो । भोटेकोशी विपद्लाई नेपालमा मात्र सीमित त्रासदीका रूपमा नहेर्न आग्रह गर्दै मन्त्री खनालले यसलाई हिमालयबाट विश्व समुदायका लागि आएको गम्भीर सन्देशका रूपमा प्रस्तुत गर्नुभयो ।

“भोटेकोशीको विपद् केवल नेपालको त्रासदी होइन । यो हिमालयबाट आएको एउटा चेतावनी हो । तातिँदो पृथ्वीले दशकौँको विकास उपलब्धिलाई केही घण्टामै उल्ट्याउन सक्छ ” उहाँले भन्नुभयो ।

उहाँले अन्तरराष्ट्रिय ऐक्यबद्धतालाई ठोस कार्यमा, जोखिमलाई उत्थानशीलतामा र साझा जिम्मेवारीलाई जलवायु न्यायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । “नेपाल सुरक्षित, उत्थानशील र दिगो विश्व निर्माणका लागि जी–७ लगायत सबै अन्तरराष्ट्रिय साझेदारसँग सहकार्य गर्न तत्पर छ ” मन्त्री खनालले भन्नुभयो ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२० रुपैयाँ १२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २१ पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३४ पैसा र बिक्रीदर २३ रुपैयाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५३ पैसा बिक्रीदर ४०७ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ११ पैसा र कबिक्रीदर ३९८ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

राष्ट्रियसभाः लोक सेवा आयोगको प्रतिवेदन पेस हुने यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ ।

आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ ।

यसैगरी, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुनेछ ।

यसैगरी, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।

पाँच संसदीय समितिको बैठक बस्दै यस्तै, आज विभिन्न पाँच वटा समितिको बैठक बस्दैछ। निर्धारित कार्यक्रमअनुसार, कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

देशका यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम९मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको छ आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम९उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको धेरै स्थान, सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी भूभाग एकरदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभाग एकरदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

राहुघाट निर्माणको १६ वर्षे यात्रा: असफल ठेक्कादेखि परीक्षण उत्पादन

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ ।

पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनः संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारण डेढ दशकपछि सम्पन्न हुन लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेर म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाको परीक्षण सफल भएको छ ।

कुल २०/२० मेगावाट क्षमताका दुई वटा युनिटको मङ्गलबार र बुधबार परीक्षण गरी केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउन थालिएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।

“दुई वटै युनिटलाई पूर्ण क्षमतामा चलाएर केन्द्रीय प्रसारण लाइनमा जोडेका छौँ,” उनले भने, “विद्युत् प्राधिकरणसँग भएको सम्झौताअनुसार १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।”

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झीँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्र्याउने पोखरी निर्माण भएको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–सडक छेउमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युत्गृह छ ।

तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हँुदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँच मार्ग निर्माण र राहुघाटमा एक बेलिब्रिज निर्माण भएको आयोजना प्रमुख राजबहादुर बिष्टले बताए ।

विद्युत्गृह परिसरमा स्विचयार्ड र कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न आवश्यक संरचना निर्माण गरिएको छ ।

आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

आइभिआरसीएलसँग सुरु भएको यात्रा

राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय निर्माण कम्पनी आइभिआरसीएलसँग २०६७ कात्तिक १८ गते रु दुई अर्ब ५० करोडमा सिभिल ठेक्का सम्झौता गरेको थियो । आइभिआरसिएलले सम्झौताअनुसार काम गरेको भए राहुघाटले विसं २०७० मै विद्युत् उत्पादन सुरु गर्ने थियो ।

कमजोर आर्थिक अवस्थाका कारण काम गर्न नसकेपछि विद्युत् प्राधिकरणले विसं २०७२ मा आइभिआरसीएलसँगको ठेक्का रद्द गर्‍यो । ठेक्का तोडिँदा पाँच वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति १२ प्रतिशतमा सीमित थियो ।

प्राधिकरणले आयोजना पुनः संरचना गरी क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट बनाउने र कम्पनी मोडेलमा निर्माण अघि बढाउने निर्णय गर्‍यो । मुद्दा झेलेरै भए पनि आइभिआरसिएलसँगको ठेक्का रद्द हुनु राहुघाट आयोजनाको निर्माण यात्राको पहिलो ठुलो मोड बन्यो ।

कम्पनी मोडेलमा नयाँ सुरुआत

आइभिआरसिएलको ठेक्का रद्द भएपछि प्राधिकरणले विसं २०७३ मा सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी आयोजना अघि बढायो । भारतीय एक्जिम बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्याक्ट (इपिसी) प्रारूपमा राहुघाट निर्माण गर्ने प्रक्रिया अघि बढाइएको हो ।

नयाँ प्रक्रियाबाट छनोट भएको सिभिल ठेकेदार भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७४ मङ्सिर ६ गते करिब रु छ अर्बमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७५ असारदेखि पहुँच मार्ग र विसं २०७६ असार ८ गतेदेखि पिप्लेस्थित तेस्रो नम्बरको अडिटबाट सुरुङ निर्माण सुरु गरेको थियो । विसं २०८१ साउन १५ गते राहुघाटको मुख्य सुरुङ जोडिएको थियो ।

कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका व्यवस्थापक एमएस गौरको भनाइ छ ।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भेल भारत सरकारको स्वामित्वको कम्पनी हो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत् विकासको ‘गेटवे’ (प्रवेशविन्दु) मानिएको थियो ।

“राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेका छन्,” उनले भने, “ढिलै भए पनि डेढ दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको चरणमा पुगेको खबरले उत्साही भएका छौँ ।”

विपद्जन्य जोखिममा सतर्क रहन महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही असोज ९ देखि ११ गतेसम्म भारी तथा अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार ती दिन अत्यधिक वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र सडकमा जलमग्न हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको हो ।

महानगरपालिकाको शिक्षा विभागकी महाशाखा प्रमुख सरस्वती पोखरेलले विद्यालय आउँदा–जाँदा बालबालिकालाई जोखिम हुनसक्ने भएकाले थप सावधानी अपनाउन आग्रह गरेकी छन् ।

उनले विद्यार्थीलाई नदी, खोला, खुला ढल तथा डुबान भएका सडकबाट टाढा रहन, विद्यालय आउँदा सुरक्षित बाटो प्रयोग गर्न र कक्षाकोठामा आवश्यक सावधानीबारे जानकारी गराउन आग्रह गरेकी छिन् । विद्यालय परिसरमा पानी जम्ने, पर्खाल भत्किने वा पहिरो जानेजस्ता जोखिम भए नभएको यकिन गरी तत्काल आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पनि उनले आग्रह गरेकी छन् ।

आपत्कालीन अवस्था आएमा स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न पनि महानगरले आग्रह गरेको छ । मौसमको अवस्था अत्यन्तै प्रतिकूल भएमा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भएकाले महानगरपालिकाको शिक्षा विभागसँग समन्वय गरी पठनपाठन बन्द गर्ने वा वैकल्पिक व्यवस्था गर्ने निर्णय लिन सकिने छ ।

निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्‍याउन प्रशासन सक्रिय

झापा । झापाका निजी अस्पतालमा सरकारले तोकेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा अस्पताल सञ्चालक तथा सरोकारवालाबीच छलफल भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलको पहलमा जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको छलफलमा गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिइयो । सेवा कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने तथा लक्षित वर्गको पहिचानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार जिल्लामा अस्पतालको स्वीकृत श्यया सङ्ख्याको १० प्रतिशत श्यया गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलगायत लक्षित वर्गका लागि छुट्याएर निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले निःशुल्क स्वास्थ्य सेवा वास्तविक लक्षित वर्गसम्म सहज रूपमा पुर्‍याउने र सेवा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्ने उद्देश्यले छलफल आयोजना गरिएको बताए । “सरकारले तोकेको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नु सबैको दायित्व हो । यसबाट संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनमा सहयोग पुग्नाका साथै नागरिकको अधिकार संस्थागत हुन थप टेवा पुग्ने छ,” उनले भने, “लक्षित वर्गले सहज रूपमा सेवा पाउने वातावरण बनाउन स्थानीय तह, अस्पताल र प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक छ ।”

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार झापामा रहेका ४० वटा निजी अस्पतालमध्ये हालसम्म १७ वटा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको ‘निःशुल्क स्वास्थ्य पोर्टल’मा आबद्ध भएका छन् । बाँकी अस्पताललाई पोर्टलमा आबद्ध हुन छलफलबाट प्रतिबद्ध गराइएको उनले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा झापाका निजी अस्पतालबाट आंशिक रूपमा तीन हजार ६०४ जनाले निःशुल्क सेवा लिएका छन् । ती सेवाको मूल्य रु २७ लाख २५ हजार ९७६ रहेको छ ।

यस्तै, पूर्ण रूपमा निःशुल्क सेवा लिने १५८ जनाको उपचारमा रु चार लाख सात हजार ९३० खर्च भएको उनले जानकारी दिए।

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

महेन्द्रनगर । आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा पनि सजकता अपनाउँदै विपद् प्रतिकार्यका लागि सरोकारवाला संयन्त्र तयारी अवस्थामा राखिएको छ ।

सम्भावित वर्षातमा उच्च जोखिममा रहेका बझाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सर्तकता अप्नाउन ‘एलर्ट’ जारी गरिएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरीया, कैलालीका निमित्त प्रमुख सञ्जयकुमार शाहले जानकारी दिए । “चुरे क्षेत्रमा वर्षात् हुने भएकाले यी दुई जिल्लालाई पनि उच्च जोखिममा राखेर एर्लट गरिएको छ ।”

उच्च जोखिममा राखिएको सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित वर्षापछि उत्पन्न हुनसक्ने विपद्को परिस्थितिबाट बच्न नागरिक तहसम्म सुचना जारी गरिएको बताए ।

उनले भने, “सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न स्काभेटर तयारी अवस्थामा राख्नुका साथै दुई महिनासम्मका लागि खाद्यान्नको बन्दोबस्ती गरेका छौँ ।” उनले स्रोतसाधनले भ्याएसम्मको तयारी गरिएको बताए ।

त्यसैगरी बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले गृह मन्त्रालयसँग समन्वय गरेर पूर्वतयारीबारे छलफल भइरहेको बताए । उनले भने, “बझाङलाई उच्च जोखिममा राखिएकाले सोही अनुसार विपद् प्रतिकार्य तयारी भइरहेको छ ।”

स्थानीय प्रशासनका साथै सुदूरपश्चिममा सुरक्षा संयन्त्रहरुले पनि सम्भावित विपदबाट क्षति कम गर्नका लागि विपद् प्रतिकार्य तयारी तीव्र पारेका छन् । सशस्त्र प्रहरी बल श्री नं ७ वैद्यनाथ बाहिनी अत्तरीयाका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयले मौसम पूर्वानुमान महाशाखाबाट आएको खबर अनुसार सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्य तयारी गरेको जानकारी दिए ।

“यस अवधिमा शसस्त्र प्रहरीका कर्मचारीलाई बिदा दिइएको छैन, सुदूरपश्चिमा तैनाथ शसस्त्र प्रहरी युनिटका साथै विपद्का लागि यहाँ १४ वटा अस्थायी विपद् सुरक्षा वेश तयारी अवस्थामा राखिएको छ । सरोकारवाला निकाय र सुरक्षा संयन्त्रबीच समन्वय भइरहेको छ”, उनले भने ।

बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएको र त्यसको प्रभाव नेपालमा पनि पर्ने बताइएको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुरक्षा समितिहरुले प्रतिकार्य तयारी गरिरहेका छन् ।

नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्य तयारी पुरा गरिसकेको जनाएको छ । प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सेनाले सुदूरपश्चिम पृतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ ।

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ। बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यही असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

हाल विभिन्न स्थानमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको हो । स्वास्थ्य मन्त्रालयले निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक तथा अन्य जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।

साथै, आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न र सम्भावित विपद्का समयमा सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बिरामी स्थानान्तरण तथा रेफरल सेवालाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय तथा सञ्चालनलाई प्रभावकारी बनाउन र आवश्यकताअनुसार सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक सहजीकरण गर्न पनि अनुरोध गरेको छ ।

अर्को वर्ष भेटौँला मनास्लु !

गोरखा । सातोरी एडभेन्चर प्रालिका फुर्ते शेर्पा लेख्छन्, “हिमाल जहिले पनि त्यहीँ रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ । खराब मौसमका कारण सुरक्षित रहने निर्णय स्पष्ट भएपछि सातोरी एड्भेन्चर्स प्रालिको टोली सकुशल घरतर्फ फर्किंदैछ । अझै पनि हिमालमा रहनुभएका हाम्रा सम्पूर्ण साथीहरू, बलियो बन्नुहोस्, सुरक्षित रहनुहोस्, आफ्नो निर्णयमा विश्वास राख्नुहोस् र सकुशल घर फर्कनुहोस् । कुनै पनि शिखरको आरोहण जीवनलाई जोखिममा पार्न लायक हुँदैन । अर्को वर्ष भेटौँला, मनास्लु ।”

मनास्लुमा रहेको समिट फोर्स टोलीका माइल्स शेर्पा लेख्छन्, “तीव्र हावा र निरन्तरको हिमपातले पर्वतारोहीलाई शिखरमा पुग्ने योजना पुनरावलोकन गर्न र क्याम्प १ र २ बाट आधार शिविरमा फर्कन बाध्य बनाएको छ ।” आउँदै गरेको ढिलो मनसुनी आँधी प्रणालीले पहिले नै हिमपहिरोको जोखिममा रहेको हिमालमा थप हिउँ थुपार्ने शेर्पाको भनाइ छ ।

“महिनौँको तयारीपछि बल्लतल्ल पुगेको शिखरबाट फर्कन यसै सहज हुँदैन, तर हिमाल सधैँ यहीँ रहिरहनेछ । मनास्लु सधैँ यहीँ छ । आउँदो वर्ष पुनः फर्कनुहोला । हामीलाई आफ्नो टोलीप्रति गर्व छ, उहाँहरू कति माथिसम्म पुग्नुभयो भन्नेमा मात्र होइन, परिस्थिति अनुकूल नहुँदा सही निर्णय लिने आँट देखाउनुभएकोमा पनि । सबैभन्दा ठूलो सफलता सधैँ शिखरमा पुग्नु मात्र होइन । कहिलेकाहीँ, सुरक्षित रूपमा घर फर्कनु नै सबैभन्दा ठूलो उपलब्धि हो”, भन्दै उस्तै सभ्य र सालिन भाषा प्रयोग गर्दै हिमालय समिट क्लबले आफ्ना आरोहीलाई पनि घर फर्काएको छ ।

समिट क्लबले भनेको छ, “विनम्रता, धैर्यता र प्रकृतिप्रतिको सम्मानको अर्को पाठ सिकाएकोमा धन्यवाद, मनास्लु ! अनि यस मनास्लु यात्रामा हामीसँग जोडिनु भएकोमा र आफ्नो विश्वास तथा सहयोगका लागि विश्वभरका हाम्रा सम्पूर्ण आदरणीय अतिथिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । सन् २०२७ मा फेरि भेटौँला ।”

सन् २०२६ को लागि शरदकालीन मनास्लु आरोहण सिजन कसैले पनि आरोहण नै नगरी औपचारिक रुपमा टुङ्गिएको छ । बङ्गालको खाडीबाट नेपालतर्फ आउँदै गरेको गहिरो न्यून चापीय प्रणालीको प्रभाव विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा पनि देखिएको हो । जसका कारण हिमालमुनि रहेका सयौँ पर्वतारोही र गाइडलाई असर परेको छ । दुई सातादेखि लगातार मौसमले साथ नदिएपछि आफूहरु मनास्लु आरोहण नगरी धमाधम फर्किएको आरोही नाङ्स्याल छोदेनले बताए ।

मनास्लुको क्याप ३ सम्म पुगेका आरोही चुचुरोमा नपुगी फर्किनुपरेको उनले जानकारी दिए । “यसपालि मौसमले साथ नदिएपछि सबैजना फर्किनुपर्यो, जीवन रह्यो भने हिमालले त पर्खन सक्छ”, उनले भने, “अहिले त बेसक्याप पनि रित्तिसक्यो । हामी केही आरोही र शेर्पाको टोलीहरु बेसक्यापमा टेण्ट निकाल्दै छौँ । हामी पनि अब सामागाउँ झर्ने तयारीमा छौँ ।”

यो सिजनमा रोप फिक्सिङ (डोरी बाँध्ने) कार्यदलका केही सदस्यबाहेक अन्यले मनास्लु आरोहण गर्न नपाएको छोदेनको भनाइ छ । उनका अनुसार मनास्लुको क्याम्प ३ सम्म पुगेका आरोही मङ्गलबार बेसक्याप झरेका र बुधबार बिहानदेखि सामागाउँ फर्कन थालेका हुन् । केही कम्पनीका आरोही अक्टोबरमा आरोहण गर्ने तयारीमा रहेका र अधिकांश आरोही काठमाडौँ फर्कन लागेका आरोही नाङ्स्याल छोदेनले बताएका छन् ।

मनास्लु आरोहणको तयारीमा रहेका अमेरिकी आरोही चार्ली एङ्गलले भनेका छन्, “आज धेरै मानिसहरू हिमालबाट तल झर्दैछन् । केही मानिसहरू अझै पनि आफैँ तल आउन सकेका छैनन् । उद्धार कार्य अझै जारी छ । अनि मौसमको अवस्था हेर्दा, अबको एक हप्ता वा १० दिनसम्म पर्खनुपर्ने स्थिति आउन सक्छ जस्तो देखिन्छ । त्यसो भए हामी के गर्दैछौँ त ? खासै केही छैन । हामी पर्खिरहेका छौँ, मौसमलाई नियालिरहेका छाैँ । के भइरहेको छ भनेर बुझ्ने प्रयास गर्दैछौँ र त्यसैका आधारमा निर्णय लिनेछौँ ।”

यसअघि सन् २०२२ को शरद ऋतुमा प्रतिकूल मौसमका कारण सयौँ आरोहीहरु मनास्लु आरोहण नगरी फर्किनुपरेको थियो । निरन्तर वर्षा र हिमपातका कारण हिमाल चढ्न अनुकूल नभएपछि यो वर्ष पनि आरोही हिमालै नचढी फर्किनु परेको हो ।

हालका लागि मौसम प्रतिकूल भए पनि फेरि यसै याममा आरोहण गर्न सक्ने सम्भावना नरहेको बेसक्यापमा रहेका प्रबल लामाले जानकारी दिए । “विभिन्न देशबाट आएका आरोही कसैको भिसा सिद्धिएको हुन्छ । आफूमात्र गएर भएन । सरसामान लैजानुपर्छ, गाइड, शेर्पा लैजानुपर्छ । त्यसैले अब फेरि फर्केर आरोहणमा जाने सम्भावना छैन”, लामाले भने, “म सन् २०१२ देखि मनास्लु आउन थालेको हुँ । यो वर्षजस्तो भारी वर्षा र हिमपात कहिल्यै आएको थाहा थिएन ।”

सितिमिति पानी नै नपर्ने र परे पनि अति कम पर्ने मनास्लु आधार शिविरमा विगत दुई सातादेखि निरन्तर पानी परिरहेको सामागाउँका वीरबहादुर लामाले बताए । हाल सामागाउँ बेसक्याम्पबाट फर्किएका आरोहीहरुले होटल खचाखच भरिएको उनले जानकारी दिए । “केही मनास्लु सर्किट हुँदै पैदल हिँडेर फर्कने तयारीमा छन् भने अधिकांश हेलीमा फर्किरहेका छन्”, लामाले भने ।

उच्च हिमाली वातावरण द्रुत गतिमा बदलिरहेको छ । हिमपात, वर्षा, हावाको बेग र हिमालको अस्थिरता, यी सबैले हिमाल आरोहणमा निर्णय लिन महत्वपूर्ण भूमिका खेल्छन् । यही विषयको भेउ नपाउँदा सन् २०१२ मा र ११ जना आरोहीको ज्यान गयो ।

आठ हजार १६३ मिटर अग्लो मनास्लुलाई प्राविधिक रूपमा कठिन र हिमपहिरोको उच्च जोखिमयुक्त शिखरका रूपमा लिइँदै आइएको छ । यसका आरोहण मार्गहरूले हिमखानी भरिएका भूभाग, क्याम्प १ र २ बीचको सक्रिय आइसफल तथा माथिल्लो भेग ठाडो, भिरालो पाखा एवं सेराक्स छन् ।

केही दिनको अप्रत्याशित भारी हिमपातपछि, मनास्लुमा करिब पाँच फिट नयाँ हिउँ जम्मा भएसँगै हिमालको स्थिति पूर्ण रूपमा परिवर्तन भएको छ । क्याम्प ३ र क्याम्प ४ बीचको बाटो हिमपहिरोको तीव्र जोखिमयुक्त क्षेत्रमा पर्ने बताइएको छ ।

हालै गएको हिमपहिरोले डोरी टाँग्ने टोलीलाई समेत प्रभावित पारिसकेको छ । असोज आठ र नौ गतेदेखि नेपालमा अर्को ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना रहेकाले आरोही लैजाने कम्पनीहले यस यामको मनास्लु आरोहण प्रयास यहीँ अन्त्य गर्ने कठिन निर्णय लिएका छन् ।

विश्वको आठौँ अग्लो मनास्लु आरोहण गर्न यो सिजनमा सधैँभन्दा धेरै करिब पाँचसय आरोहीले अनुमति लिएका थिए । पाँचसय जना नेपाली उच्च हिमाली गाईड र सहयोगी कर्मचारी मनास्लुमा आएका थिए ।

गत वर्ष ४१० जनाले अनुमति लिएका थिए भने यस वर्ष ४९३ जनाले त्यो अनुमति पाएका छन् । अघिल्लो वर्ष विभिन्न ६७ देशका ४१ समूहका अरोहीबाट सरकारलाई रु २२ करोड ४८ लाख १४ हजार राजस्व आम्दानी भएको छ ।

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा वाग्लेले मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको र यसमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा महासङ्घका तर्फबाट लघु, घरेलु तथा साना उद्योगको विकासका लागि नीतिगत सुधारको माग राख्दै आगामी १० वर्षलाई ‘लघु, घरेलु तथा साना उद्योग विकास दशक’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै, सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता, ‘मेड इन नेपाल’ अभियान, निर्यात सहजीकरण तथा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्न महासङ्घले माग गरेको महासङ्घकी अध्यक्ष शोभा गुरुङले जानकारी दिइन् ।

उनका अनुसार महासङ्घले महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि विशेष उद्यमशीलता प्याकेज, ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम तथा उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट–ट्रयाक इन्डष्ट्रियल सर्भिस’ लागू गर्न पनि प्रस्ताव गरेको छ । सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्यबाट उत्पादन, रोजगारी र निर्यात बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने महासङ्घले जनाएको छ ।

सो अवसरमा महासङ्घले बाढीप्रभावित परिवारहरूको राहतका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गरेको छ । उक्त सहयोग रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा वाग्लेलाई अध्यक्ष गुरुङले हस्तान्तरण गरिन् । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

महासङ्घकी अध्यक्ष गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासङ्घका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, उपाध्यक्षहरू हरिहर थापा, मोहन कटुवाल, सत्यनारायण प्रजापति, जानकी प्रधान, गुणराज ढकाल, महिला उद्यमी समितिकी अध्यक्ष रीता अवाल, महासचिव विनोददेव पन्त, कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायत सहभागी थिए ।

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ विशेष समारोह आयोजना गरियो ।

नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निखरले आयोजना गर्नुभएको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो ।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मी, समाजका प्रतिष्ठित व्यक्ति र साउदी अरबका मित्रराष्ट्रका प्रतिनिधिको सहभागिता थियो ।

त्यस अवसरमा राजदूत म्निखरले साउदी अरबको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राजा अब्दुलअजिज बिन अब्दुर्रहमान अल साउदले एकीकरण गरेको मुलुकले पुस्तौँदेखि आफ्ना मूल्य, पहिचान र परम्पराको संरक्षणसँगै प्रगतिपथमा मुलुक अग्रसर भएको बताउनुभयो ।

यस वर्ष साउदी अरबको राष्ट्रिय दिवसको मूल सन्देश ‘हाम्रो गौरव हाम्रो प्रकृतिमा’ रहेको छ । सन् १९७७ मा नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनेको छ ।

भारी वर्षाको जोखिम बढेपछि गृह मन्त्रालयको सक्रियता, ७७ जिल्लाका सीडीओसँग पूर्वतयारीबारे छलफल

यही असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका सन्दर्भमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग आज उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।

गृह सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा वर्षाको सम्भावित अवस्था, उच्च जोखिमयुक्त जिल्लाहरूमा अपनाउनुपर्ने सतर्कता, आम सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने संयन्त्र तथा सम्भावित जोखिमका आधारमा सवारी आवागमन नियन्त्रण वा बन्द गर्नेलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

छलफलमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल), नेपाल पर्यटन बोर्ड एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उच्च प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका थिए ।

चिनियाँ राष्ट्रपति सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

न्युयोर्क । चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई विमानस्थलमै पुगेर स्वागत गर्नेछन् । सामान्यतया विदेशी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने अभ्यास रहेकामा ट्रम्पले जोइन्ट बेस एन्ड्रयुजको धावनमार्ग मै सीलाई स्वागत गर्न लागेका हुन् ।

ट्रम्पको यो निर्णयले एक दशकभन्दा बढी समयपछि पहिलो पटक अमेरिकाको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिलाई दिइएको उच्च प्राथमिकता देखाउँछ । ह्वाइट हाउसका अनुसार ट्रम्पले सी र उनकी पत्नी पेङ लियुआनसँगै सैन्य आधारमा आगमन समारोहमा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

प्रथम महिला मेलानिया ट्रम्पले सी र पेङलाई उच्च सम्मानका साथ स्वागत गर्नुपर्ने बताएकी छन् । उनले सी र ट्रम्पबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपति अमेरिकी भूमिमा आउँदा उनलाई सम्मानपूर्वक स्वागत गर्नुपर्ने बताइन् ।

सीको तीनदिने भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा औपचारिक आगमन समारोह तथा राजकीय भोज आयोजना हुनेछ । यस भ्रमणलाई ट्रम्पको यसै वर्षको मे महिनामा भएको चीन भ्रमणका क्रममा आफूले पाएको औपचारिक स्वागतको प्रत्युत्तरका रूपमा पनि हेरिएको छ ।

यद्यपि, उच्चस्तरीय स्वागत समारोह भइरहेका बेला अमेरिका–चीन सम्बन्ध व्यापार, कृत्रिम बुद्धिमत्ता, इरान र ताइवानलगायत विषयमा तनावपूर्ण छ । दुवै देशले सम्बन्धमा ‘रणनीतिक स्थिरता’ कायम राख्ने प्रयास गरिरहेका छन् । ट्रम्पले पछिल्ला महिनामा सीलाई ‘महान् नेता’ भन्दै उनीसँगको सम्बन्धबारे सकारात्मक धारणा व्यक्त गरेका छन् ।

सीलाई दिइने भव्य स्वागतप्रति केही अमेरिकी सांसदले आलोचना गरेका छन् । सिनेटको सशस्त्र सेवा समितिका अध्यक्ष रोजर विकरले चीनको सैन्य विस्तार र इरानसँगको सम्बन्धलगायत विषयमा सीसँग गम्भीर छलफल गर्न ट्रम्पलाई आग्रह गरेका छन् ।

ट्रम्पले सीलाई प्रभावित पार्न भ्रमणको तयारीमा विशेष ध्यान दिएका छन् । उनले ह्वाइट हाउसमा निर्माण भइरहेको नयाँ हेलिकप्टर अवतरणस्थलको चर्चा गरेका छन् ।

बिहीबार ह्वाइट हाउसमा औपचारिक स्वागत समारोह, सैन्य सम्मान गारदको निरीक्षण र राजकीय भोज आयोजना हुनेछ । भोजमा प्रविधि तथा व्यवसाय क्षेत्रका प्रमुख व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ । दुई नेताबीच व्यापार, प्रविधि तथा अन्य विवादित विषयमा बन्द कोठाभित्र छलफल हुनेछ ।

भ्रमणबाट ठूलो कूटनीतिक उपलब्धि हासिल हुने अपेक्षा भने सीमित रहेको समाचारमा उल्लेख छ । शुक्रबार सी र पेङले ट्रम्प दम्पतीसँग अनौपचारिक चियापान गर्ने तथा वासिङ्टनस्थित राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम छ । त्यहाँ उनीहरूले अमेरिका–चीन सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज अवलोकन गर्नेछन् ।

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती सडकमा सवारी सञ्चालनको समय निर्धारण गरिएको जानकारी दिए ।

उनका अनुसार असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइनेछ ।

त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्र भञ्ज्याङबाट हेटौँडातर्फ सवारी प्रस्थान गर्न दिइने उनले बताए ।

सुवेदीका अनुसार कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ । भारी वर्षाका कारण बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तोकिएको समयभित्र मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौँ । सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’को काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिए ।

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ,” उनले भने ।मन्त्री लम्सालले सम्भावित वर्षा तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै यात्राका क्रममा सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोध गरेका छन् ।

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा सयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा एस जयशङ्करको आयोजनामा आज सम्पन्न ग्लोबल साउथका समान विचारधारा भएका मुलुक तथा मित्र राष्ट्रहरूको उच्चस्तरीय मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विकासशील मुलुकहरूको सामूहिक आवाजलाई विश्वव्यापी शासन प्रणालीमा अझ प्रभावकारी बनाउनुपर्ने बताए।

“सशक्तीकरण’ भन्नाले ग्लोबल साउथ नियम पालना गर्ने अवस्थाबाट नियम निर्माण गर्ने भूमिकामा रूपान्तरण हुनुपर्छ भन्ने हो । हामीले अरूले तयार गरेका कार्यसूची कार्यान्वयन गर्नेमा मात्र सीमित हुनुहुँदैन, हाम्रो भविष्य निर्धारण गर्ने नियम निर्माण, संस्थाहरूको सञ्चालन र नीतिनिर्माणमा हामीले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ”, उनले भने ।

नेपाल समूह–७७ तथा चीन र असंलग्न आन्दोलनको सक्रिय सदस्यका रूपमा विकासशील विश्वको ऐक्यबद्धताप्रति दृढ विश्वास राख्दै आएको उल्लेख गर्दै उनले पूर्वीय दर्शनको ‘वसुधैव कुटुम्बकम्’को अवधारणाले मानवजातिको साझा भविष्यलाई प्रतिविम्बित गर्ने बताए । “विश्वको आधा मानवजाति निर्णय प्रक्रियामा सीमान्तकृत रहँदा विश्वव्यापी समृद्धि दिगो हुन सक्दैन”, उनले भने ।

मन्त्री खनालले विश्वव्यापी शासन प्रणालीको तत्काल लोकतान्त्रीकरण आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ । “संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् र अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूको संरचनामा व्यापक सुधार आवश्यक छ । यी संरचनाहरू सन् १९४५ का शक्ति समीकरणमा नभई आजको विश्वको वास्तविकतालाई प्रतिविम्बित गर्नेगरी पुनर्संरचना गरिनुपर्छ”, उनले भने ।

विकासशील मुलुकहरू असमान ऋणको भारमा रहँदै दिगो विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउनुपर्ने अवस्थाप्रति ध्यानाकर्षण गराउँदै उनले वित्तीय प्रणालीमा न्यायपूर्ण र समतामूलक पहुँच आवश्यक रहेको बताए । साथै, विश्व व्यापार सङ्गठन (डब्लुटीओ) केन्द्रित खुला, निष्पक्ष तथा नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

“विकासशील तथा स्तरोन्नतिको प्रक्रियामा रहेका मुलुकका लागि पूर्वानुमानयोग्य बजार पहुँच, अर्थपूर्ण विशेष तथा विभेदात्मक व्यवहार, व्यापारका लागि सहायता र क्षेत्रीय मूल्य शृङ्खलामा एकीकरण अत्यावश्यक आधार हुन्”, मन्त्री खनालले भने ।

नेपालले संयुक्त राष्ट्रसङ्घलाई अन्तरराष्ट्रिय कानुन र सार्वभौम समानताको प्रमुख आधारका रूपमा सुदृढ गर्न निरन्तर समर्थन गर्दै आएको उल्लेख गर्दै उनले ‘यूएन–८०’ इनिसियटिभलाई संस्थागत विखण्डन न्यूनीकरण गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा लिनुपर्ने बताए । “संस्थागत सुधारले विकास र जलवायुका स्तम्भलाई कमजोर पार्नु हुँदैन; बरु तिनलाई निर्णायक रूपमा सुदृढ गर्नुपर्छ”, उनले स्पष्ट पारे ।

बहुपक्षीयतामा देखिने विभाजनको सबैभन्दा गहिरो असर कमजोर तथा संवेदनशील मुलुकहरूले भोग्नुपरेको उल्लेख गर्दै मन्त्री खनालले शक्ति राजनीतिमा आधारित दबाबको सट्टा संवाद, प्रविधि साझेदारी र दक्षिण–दक्षिण सहकार्यलाई अघि बढाउनुपर्ने बताए ।

“ग्लोबल साउथलाई सशक्त बनाउनु भनेको बहुपक्षीयतालाई नै पुनर्जीवित गर्नु हो”, उनले भने, “साहस, साझा सङ्कल्प र प्रामाणिक सामूहिक आवाजका साथ हामी सबैका लागि न्यायपूर्ण र उज्ज्वल भविष्य निर्माण गर्न काँधमा काँध मिलाएर अघि बढौँ ।”

सल्यानमा स्क्रबटाइफसको प्रकोप नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सल्यानको दार्मा गाउँपालिकामा देखिएको स्क्रबटाइफसको प्रकोप नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीले भोलि बिहानसम्म स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप एक हजार किट, आवश्यक औषधि तथा चिकित्सकसहितको जनशक्ति पठाउन निर्देशन दिएका हुन् ।

स्क्रबटाइफसका कारण दार्माका वडा नं १, ५ र ६ बढी प्रभावित देखिएको छ । प्रकोप नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीसहित प्रदेश सरकारले परीक्षण किट, औषधि र थप स्वास्थ्यकर्र्मी पठाउने तयारी गरेको छ ।

मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उपलब्ध स्रोत साधन परिचालन गरेर रोगलाई नियन्त्रणमा लिन सम्बन्धित निकायलाई उहाँले आग्रहसमेत गरेका छन् ।

मुख्यमन्त्रीको निर्देशानुसार स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ । प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनका साथै वडा नं १ मा स्थानीयको रगत परीक्षण गरिएको अधिकृत रिजालले जानकारी दिए ।

स्क्रबटाइफस परीक्षणका लागि कर्णाली प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट २०० र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २५० गरी हालसम्म ४५० वटा किट दार्मा पठाइएको छ । प्रकोपको अवस्था हेर्दा तत्काल कम्तीमा एक हजार थप परीक्षण किट आवश्यक रहेको जनस्वास्थ्य अधिकृत रिजालले बताए ।

स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रतीक भट्टका अनुसार जिल्ला अस्पताल सल्यानको ल्याबबाट ३५ जना र बागचौर नगरपालिकामा ६२ जनामा स्क्रबटाइफस पुष्टि भएको छ । सल्यानकै कालीमाटी र कुमाख गाउँपालिकामा पनि प्रकोट देखिएपछि दुवै पालिकाले परीक्षण किटको माग गरेका छन् । यता प्रदेश सरकारले जिल्लाका जोखिमयुक्त क्षेत्रमा परीक्षण तथा निगरानी बढाउने तयारी गरेको छ ।

स्वास्थ्य सेवा कार्यालयले यसअघि स्क्रबटाइफससँगै डेङ्गु परीक्षण किटलगायतका आवश्यक औषधि उपलब्ध गराउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको थियो । सोही पत्र र मुख्यमन्त्रीको निर्देशनअनुसार आवश्यक औषधी तथा किट भोलि बिहानै सल्यान पठाउने तयारी भइरहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा रविन खड्काले जानकारी दिए ।

भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व सङ्कलन

राँझा (बाँके) – भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२÷८३ मा रु ७४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युतरोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।

भाडाको भवनबाटै कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, फारम र पूर्जा बिक्री तथा अन्य शीर्षकबाट गरी रु ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व सङ्कलन गरेको भूमि प्रशासन कार्यालयका प्रमुख सन्तोष विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आवमा कार्यालयले सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट सङ्कलन गरेको छ । पुँजीगत लाभकर दस्तुरबाट मात्रै रु ३७ करोड ४० लाख ९९ हजार ६०७ राजस्व सङकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेसन दस्तुरबाट रु ३६ करोड ९० लाख ५९ हजार १६४ राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयले सेवा शुल्क, अन्य प्रशासनिक दस्तुरबापत रु ५४ लाख २३ हजार ९१४ सङ्कलन गरेको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो । त्यस्तै फारम र पूर्जा बिक्रीबापत रु १७ हजार ६००, न्यायिक दस्तुर, दण्ड, जरिवानाबाट १५ हजार ९०० र धरौटी सदर र स्यहार राजस्व शीर्षकबाट रु १२ हजार ९२३ सङ्कलन भएको छ ।

कार्यालयले गत आवमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ । जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका कामसँगै कार्यालयले सरकारको राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी र व्यवस्थित बनाउँदै सेवा प्रवाहसँगै राजस्व सङ्कलनको कामलाई निरन्तरता दिइएको कार्यालय प्रमुख विकको भनाइ छ ।

भूमि प्रशासन कार्यालयले ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएका ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपूर्जाको स्रेस्ता कायम गरेको छ ।

कार्यालय प्रमुख विकले विभागको अनलाइन प्रणालीमा समस्या भएबाहेक अन्य समय सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहुनेगरी सेवा प्रवाह गर्न आफूहरू लागिपरेको दाबी गर्नुभयो ।

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली महावाणिज्यदूतावासको अवलाेकन गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा उहाँले न्युयोर्कमा रहेकाे महावाणिज्यदूतावासको अवलाेकन गर्नुभएको हो।

त्यस क्रममा मन्त्री खनाल महावाणिज्यदूत ददीराम भण्डारीद्वारा आयोजित ब्रिफिङ कार्यक्रममा सहभागी हुनुभएको थियो।

कार्यक्रममा महावाणिज्यदूतावासबाट सम्पादन भइरहेका कार्य, सेवा प्रवाह तथा नेपाली समुदायसँग सम्बन्धित विषयमा जानकारी प्रस्तुत गरिएको थियो।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूले नेपालको राष्ट्रिय हित प्रवर्द्धन, नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा तथा नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तारमा निर्वाह गर्दै आएको भूमिकाको बारेमा जानकारी लिनुभएको थियो।

कार्यक्रममा सहभागी अधिकारीहरूले महावाणिज्यदूतावासका गतिविधि, आगामी कार्ययोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराएका थिए।

मन्त्री खनालले नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन तथा नेपालको हित प्रवर्द्धनमा निरन्तर सक्रिय रहन आवश्यक समन्वय र सहकार्यमा जोड दिनुभएको थियो।

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

कास्की। सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले यही असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । “ सरकारको नीतिअनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर पसल सञ्चालनमा ल्याएका हौँ । यो पसल दुई महिनासम्म सञ्चालन हुनेछ । बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो ।

सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी रु एक सयमा उपलब्ध गराइएको छ । एक जना उपभोक्ताले अधिकतम छ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ । बजारमा चिनी प्रतिकेजी रु १४० मा बिक्री भइरहेको अवस्थामा सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्ताले प्रतिकेजी रु ४० सहुलियत पाउने साल्ट ट्रेडिङले जनाएको छ ।

पोखरा–१७ बिरौटाकी सचिना रानाभाटले अन्य पसलको तुलनामा साल्ट ट्रेडिङमा सस्तोमा खाद्य सामग्री खरिद गर्न पाएको बताउनुभयो । विशेषगरी चिनीमा उल्लेख्य सहुलियत पाएको उहाँको भनाइ छ । “यस्तो महँगीको बेला सस्तोमा सामान किन्न पाउँदा धेरै खुसी लागेको छ । अरुभन्दा चिनी यहाँ धेरै नै सस्तो रहेछ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय छन् । दुवै कार्यालयबाट उपभोक्ताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने जनाइएको छ । साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्वका समयमा सुपथ मुल्यका पसल सञ्चालन गरेर सहुलियतमा नागरिकलाई खाद्य सामग्री बिक्री गर्दै आएको छ ।

साँगुरीगढीबाटै स्थायी लेखा नम्बर वितरण, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा । यहाँको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न सुरुआत गरेको छ । यसबाट स्थानीय नागरिक तथा व्यवसायीलाई करसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा अन्य कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

गाउँपालिका अध्यक्ष जितेन्द्र राईले मङ्गलबार पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाबाट पान दर्ता तथा वितरण सेवाको औपचारिक शुभारम्भ गरे। साँगुरीगढी गाउँपालिका–६ सिम्सुवा नजिक बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङ गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही बने ।

यसअघि व्यक्तिगत पान तथा नयाँ व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने पान दर्ताका लागि सेवाग्राहीले जिल्लाको सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था रहेको थियो । ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकका लागि यस्तो सेवा लिनकै लागि सदरमुकाम पुग्नु पर्दा यातायात खर्च, समय र अतिरिक्त झन्झट व्यहोर्नुपर्ने अवस्था रहँदै आएको पहिलो सेवाग्राही ईवाहाङले बताए ।

विशेषगरी गाउँपालिकाभित्र व्यवसाय सञ्चालन गरिरहेका तथा नयाँ व्यवसाय सुरु गर्न चाहने युवा, उद्यमी, स्वरोजगार व्यक्ति, साना व्यवसायी र व्यक्तिगत रूपमा पान आवश्यक पर्ने नागरिकले स्थानीय तहमै सेवा प्राप्त गर्दा समय र खर्चको बचत भएको उनको भनाइ छ ।

स्थानीय व्यवसायीका लागि व्यवसाय सञ्चालनको प्रारम्भिक चरणमै विभिन्न प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । व्यवसाय दर्ता, पान दर्ता, बैंकिङ कारोबार, करसम्बन्धी प्रक्रिया तथा अन्य सरकारी कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थाले साना व्यवसायीलाई थप समस्या हुने गरेको थियो ।

साँगुरीगढी गाउँपालिकामा पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटार रहेको क्षेत्र भएकाले पर्यटन, होटल तथा रेस्टुरेन्ट, यातायात, निर्माण, खुद्रा व्यापारलगायत कृषिका विभिन्न क्षेत्रमा साना तथा मझौला व्यवसाय सञ्चालन हुँदै आएका छन् । ग्रामीण क्षेत्रमा स्वरोजगार र साना उद्यमको सङ्ख्या बढ्दै जाँदा व्यवसायीलाई आवश्यक सरकारी सेवा पनि गाउँमै उपलब्ध हुँदा स्थानीयलाई ठूलो राहत भएको गाउँपालिका अध्यक्ष राईले बताए ।

यसले व्यवसायलाई औपचारिक बनाउने, सरकारी अभिलेखमा व्यवसाय तथा व्यवसायीको विवरण व्यवस्थित गर्ने र करसम्बन्धी दायित्व पूरा गर्न नागरिकलाई सहज वातावरण बनाउन सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।

सुनौलो हजार दिनभित्र बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन । समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ । आठ वर्षभित्र आँखाको समस्या देखिएमा यसको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

भरतपुर आँखा अस्पतालका बाल आँखारोग विशेषज्ञ डा मनिषा श्रेष्ठ जन्मिएको दुई वर्षभित्रमा आँखा परीक्षण गर्नुपर्नेमा जोड दिन्छिन् । दुई वर्षसम्ममा आँखाको विकासक्रम ८० प्रतिशत हुने जनाउँदै उनले यही समयभित्र परीक्षण गरे कुनै समस्या भएमा समाधान हुने बताइन् । उनले भनिन्, “बालबालिकाहरूको दुई वर्षसम्मको समय आँखाका लागि निकै महत्त्वपूर्ण समय हो ।” यो समयलाई सुनौलो हजार दिन पनि भनिन्छ । यो समयमा नसकेमा आठ वर्ष नकटाउन उनले सुझाव दिइन्।

सामान्यतया गर्भधारणदेखि बच्चाको दुई वर्ष उमेरसम्मको समयलाई सुनौलो हजार दिन भनिन्छ । यो समय शिशुको वृद्धि, मस्तिष्क विकास, पोषण र हेरचाहका हिसाबले अति नै महत्त्वपूर्ण मानिन्छ । राम्रो पोषण, मायालु हेरचाह र सुरक्षित वातावरणले दिमागको विकास मजबुत हुन्छ, यसको असर पछि सिकाइ, स्वास्थ्य र समग्र जीवनमा देखिन्छ । यही समयमा आँखा परीक्षणसमेत गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यही समयमा परीक्षण गर्दा अल्छी आँखा भएमा यो उपचारको माध्यमबाट निको हुने उनी बताउछिन्।

बालबालिकामा आँखाको ढकनी झर्ने, आँखाको नानीमा फुलो पर्ने, मोतियाबिन्दु हुने, झिमझिम हुने, छड्के आँखाजस्ता समस्या देखापर्ने गर्दछ । ती समस्या शल्यक्रिया र चश्मामार्फत समाधान गर्न सकिने उनको भनाइ छ । बालबालिकाले धेरै नजिक गएर हेर्ने, झिमझिम गर्ने, आँखा पुछिरहने, पढाएको नबुझेर साथीसँग सोध्नेजस्ता लक्षण देखिएमा तत्काल परीक्षण गर्न उनको सुझाव छ । ३४ हप्ता र त्यसभन्दा अघि जन्मिएमा, बच्चाको तौल दुई किलोभन्दा तल भएका, लामो समय बाल सघन उपचारकक्षमा बसेका बच्चाहरूको तीनदेखि चार हप्तामा आँखाको परीक्षण गर्नुपर्ने उनी बताउछिन् ।

भरतपुर आँखा अस्पतालमा सन् २०२५ मा १९ हजार ३१४ बालबालिकाले आँखा उपचार सेवा लिएका थिए । अस्पताल आउने बिरामीमध्ये ११ प्रतिशत बालबालिका हुन् । यो सङ्ख्या सन् २०२४ मा १९ हजार ९१६ रहेको थियो । सन् २०२१ मा आठ हजार ३१, सन् २०२२ मा १३ हजार ९८९, सन् २०२३ मा १९ हजार ७७६ बालबालिकाले आँखाको परीक्षण गरेका थिए । यसमध्ये ५७ प्रतिशत हाराहारी बालक रहेको तथ्याङ्क छ । तीमध्ये सन् २०२५ मा ११९ जना, सन् २०२४ मा १०४ जना, सन् २०२३ मा १५८ जना, सन् २०२२ मा ९९ जना र सन् २०२१ मा ४८ जना बालबालिकाको आँखाको शल्यक्रिया गरिएको छ ।

उनीहरूको मोतियाबिन्दु र डेढो पनाको शल्यक्रिया गरिएको हो । अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लामा रहेका आँखा अस्पताल, उपचार केन्द्र र शिविरमार्फत बालबालिकाको आँखा परीक्षण र उपचार गर्दै आएको बताए । अस्पतालले भरतपुरसहित विभिन्न जिल्लाका २५ ठाउँबाट आँखा उपचार सेवा दिँदै आएको छ । विद्यालयहरूमा आँखा शिविरमार्फत बालबालिकाको निःशुल्क आँखा उपचार गरिँदै आइएको छ । अस्पतालले बच्चाबच्चीका लागि मात्रै गत आर्थिक वर्षमा ७० वटा विद्यालयमा निःशुल्क शिविर गरेको थियो । हरेक वर्ष विद्यालयमा शिवि मार्फत विद्यार्थीको आँखा परीक्षण गर्ने गरेको श्रेष्ठ बताउछन् ।

आमनागरिकलाई बालबालिकाको आँखा समयमा उपचार गर्न सकेमा आँखामा देखिएको समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न नसक्दा अझै सबै बालबालिकाको आँखा परीक्षण हुन नसकेको नको भनाइ छ ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो ।

फेला परेका मृतकको विवरणमा ५४५ पुरुष, ३३६ महिला तथा ५३० वटा आंशिक मानव अंगहरू रहेका छन् । बाढीमा परेर अझै ५ हजार ७०५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ । संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३६७ जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २३६, रसुवामा २०३, गोरखामा ७९, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ । खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म ११८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदन माथि धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरूले धारणा राख्ने छन् ।

केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ वटा एजेन्डामा माथि बहस भइरहेको छ ।आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोली पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरू अनुमोदनका लागि पुन केन्द्रीय समितिमा प्रस्तुत गरिने आचार्यले बताए ।

पार्टीभित्र मतभेदका बिच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा अधिकांश सदस्यहरूले समर्थन जनाएका छन् ।एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनय,पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने एजेन्डा पनि छन् ।

 

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको मध्य-पश्चिम भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै (बलियो न्युन चापीय क्षेत्र) को रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।

हाल देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भुभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभाग एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।सिंहदरबारमा बिहान ११ः०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ ।

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्नुहुनेछ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन ) विधेयक, २०८३’ र भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

त्यस्तै, कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।