`

मुक्तकमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

कञ्चनपुर। कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।मुक्तकमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित खुला मञ्चमा आज आयोजित जागरणसभामा उहाँले मुक्तकमैया, हलिया, हरवाचरवा तथा कम्लरीको अधिकारको लडाइँमा सरकार सँगसँगै अगाडि बढ्ने बताउनुभयो ।

आफू यसै समुदायकी छोरी भएकाले यस क्षेत्रप्रति अझ जिम्मेवार भएर काम गर्ने उल्लेख गर्दै मन्त्री चौधरीले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने धारणा राख्नुभयो । “तपाईंहरूको समस्या मेरो समस्या पनि हो, म यसबारे जानकार छु । त्यसैले अधिकारको लडाइँमा म र सरकार तपाईंहरूसँगै छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृपाराम रानाले मुक्तकमैया, कम्लरी, हलियालगायत आरक्ष पीडितहरूको न्यायिक पुनःस्थापनका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । “कतिपयसँग लालपुर्जा छ, तर जग्गा छैन । कतै जग्गा छ, तर लालपुर्जा छैन”, उहाँले भन्नुभयो, “दिइएको जग्गा नदी किनार वा वन क्षेत्र नजिक भएकाले प्रयोगयोग्य छैन, बाढीपहिरोको जोखिममा बस्नुपर्ने बाध्य छन्, अब यस्तो अवस्था अन्त्य हुनुपर्छ ।”

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महतले मुक्तिको घोषणा मात्रै पर्याप्त नहुने भन्दै पुनःस्थापना, सुरक्षित आवास र आधारभूत सेवाको सुनिश्चितताका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो । “मलाई विश्वास छ, अब नागरिकले सरकार खोज्दै हिँड्नुपर्ने अवस्था छैन, सरकार नै नागरिकसम्म पुगेर समस्या समाधानमा केन्द्रित हुन्छ”, उहाँले भन्नुभयो ।

मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले मुक्त घोषणा भएको दुई दशकभन्दा बढी समय भइसक्दा पनि अधिकांश समस्या समाधान हुन नसकेको गुनासो गर्नुभयो । “केही परिवारको पुनःस्थापना भए पनि तीन हजारभन्दा बढी मुक्तकमैया परिवार अझै पुनःस्थापनाको पर्खाइमा छन्”, उहाँले भन्नुभयो, “धेरैले परिचयपत्र पाएका छन् तर जग्गा पाएका छैनन् । राज्यबाट पाउने सुविधाको सुनिश्चितता गर्न सरकारले काम गर्नुपर्छ ।”

जागरणसभाका अन्य वक्ताहरूले मुक्त कमैया समुदायको दिगो पुनःस्थापना, भूमि व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति र त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्री चौधरीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको अवलोकन

मन्त्री चौधरीले आजै यहाँको बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँसँगै प्रतिनिभिसभा सदस्य राना, महता, बेदकोट नगरपालिका प्रमुख भोजराज बोहरालगायतले त्यस क्षेत्रको अवलोकन गर्नुभएको हो ।

त्यसक्रममा मन्त्री चौधरीले ओद्योगिक क्षेत्रको निर्माण प्रक्रियाका विषयमा बुझेर प्रक्रिया अघि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । “सरकारले कानुनी तथा प्रशासनिक सुधारमार्फत समस्या समाधान गर्ने काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “जनताका अपेक्षालाई निराशामा परिणत हुन नदिने गरी अहोरात्र खटेर काम गरिरहेका छौँ । औद्योगिक क्षेत्रलगायत स्थानीयका माग सम्बोधनका लागि आवश्यक पहल गर्न म प्रतिबद्ध छु ।”

तीन दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोटस्थित दैजी छेला औद्योगिक क्षेत्र पाँच वर्षअघि शिलान्यास भएको थियो, तर निर्माणकार्य अगाडि बढ्न सकेको छैन । करिब ९०० बिघा क्षेत्रफल, रु नौ अर्ब लागत अनुमान र २२ हजार रोजगारीको अपेक्षा गरिए पनि वन फँडानी र प्रक्रियागत जटिलताका कारण काम अगाडि बढ्न नसकेको जनाइएको छ ।

२४ घण्टामा ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु आठ लाख ५८ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १३६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७५ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २०६, निषेधित क्षेत्रमा हर्न बजाउने २८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९२, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता २० र अन्य सवारी नियम पालना नगरेका एक हजार ८१० जनालाई कारबाही गरिएको हो ।

मुद्रास्फीति बढ्यो भने ब्याजदर बढाउनु आवश्यक हुनसक्छ : फेड

वाशिङ्गटन। मध्य पूर्व युद्धबाट मुद्रास्फीतिलाई बढावा दिने मूल्यवृद्धिको असर पर्ने यस पहिलेको अपेक्षाभन्दा बढी भएमा पुनः ब्याज दर वृद्धिको एक श्रृङ्खला आवश्यक हुन सक्ने अमेरिकी फेडरल रिजर्भका एक प्रमुख अधिकारीले शुक्रबार चेतावनी दिनुभएको छ।

“सङ्घीय ब्याजदर वृद्धिको सम्भावित एक श्रृङ्खला श्रम बजारमा थप कमजोरीको जोखिममा पनि आउन सक्छन्,” यस हप्ता केन्द्रीय बैङ्कको समग्र निर्णयमा आफ्नो असहमतिको व्याख्या गर्दे मिनियापोलिस फेडका अध्यक्ष नील काशकारीले भन्नुभयो ।

“एक ठूलो मूल्यवृद्धिको झट्काले मुद्रास्फीतिको सार्वजनिक अपेक्षाहरू परिवर्तन गर्न सक्छ, र फेडले यसको बिरूद्ध कार्य गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

दुई दिनको नीति बैठकपछि बुधबार फेडको वक्तव्यको विपक्षमा मतदान गर्ने चार अधिकारीहरूमध्ये काशकारी पनि एक हुनुहुन्थ्यो । बैङ्कको दर निर्धारण समितिमा १२ जना मतदान सदस्यहरू छन्।

उहाँजस्तै फेडका अन्य दुई अध्यक्ष, बेथ ह्याम्याक र लोरी लोगानले ब्याजदर स्थिर राख्ने निर्णयलाई समर्थन गर्नुभयो तर अर्को कटौती अर्को सम्भावित कदम हो भन्ने बैङ्कले सङ्केत गरेको छैन ।

ह्याम्याक र लोगानले आफ्नो निर्णयको बचाउ गर्दै छुट्टाछुट्टै बयानमा तीव्र मुद्रास्फीतिको जोखिमलाई पनि उद्धृत गर्नुभयो । फेडका गभर्नर स्टिफन मिरानले सम्भावित मुद्रास्फीति रोक्न ब्याजदर कम गर्न जोड दिनुभयो ।

यो अक्टोबर १९९२ पछि असहमतहरूको सबैभन्दा ठूलो सङ्ख्या थियो । यसले फेड अध्यक्ष जेरोम पावेलको अपेक्षित उत्तराधिकारी केभिन वार्शले सामना गर्ने चुनौतीहरूलाई जोड दिन्छ ।

“दर निर्धारण गर्ने ‘फेडरल ओपन मार्केट कमिटी’ले ‘एक नीतिगत दृष्टिकोण प्रस्ताव गर्नुपर्दछ जसले अर्को दर परिवर्तन या त कटौती वा वृद्धि हुन सक्छ भन्ने सङ्केत गर्छ र अर्थव्यवस्थाको विकास कसरी हुन्छ भन्ने कुरामा जोड दिन्छ,” काशकारीले शुक्रबार भन्नुभयो ।

उहाँले मध्यपूर्व द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’को लामो समयसम्म बन्द हुने जोखिम र यस क्षेत्रको ऊर्जा र आधारभूत सामानको पूर्वाधारमा थप क्षतिको सम्भावनालाई औँल्याउनुभयो ।

फेब्रुअरी २८ देखि अमेरिका–इजरायली हमलापछि तेहरानले ऊर्जा ढुवानीको लागि एक प्रमुख जलमार्ग लगभग अवरुद्ध गरेको छ।

यसले तेलको मूल्यमा वृद्धि गरेको छ जसले थप स्थिर मुद्रास्फीतिको चिन्ता बढाएको छ । फेडका डलास राज्यका लोगानले भन्नुभयो, “उहाँ फेडको लामो अवधिको दुई प्रतिशतको लक्ष्यमा मुद्रास्फीति फर्कन कति समय लाग्नेछ भन्नेमा ‘बढ्दो चिन्ता’ छ। महामारी पछि वर्षौंदेखि मूल्य वृद्धि लक्ष्यभन्दा माथि रहेको छ।”

क्लिभल्याण्ड फेडका ह्याम्याकले भन्नुभयो, “मैले बैठकपछिको भनाइप्रति असहमति व्यक्त गरेको छु किनभने मलाई विश्वास थिएन कि मौद्रिक नीतिको लागि भविष्यको निर्णयको वरिपरि सहज पूर्वाग्रह समावेश गर्नु उचित थियो।”

“मुद्रास्फीतिको दबाब व्यापकतामा आधारित छ र बढ्दो तेलको मूल्यले मुद्रास्फीतिको दबाबको थप स्रोत प्रस्तुत गर्दछ,” उहाँले भन्नुभयो ।

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको थवाङ–जलजला क्षेत्रमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारजनलाई भेट्दै सान्त्वना व्यक्त गरेका छन् ।

उक्त घटनापछि पार्टीका सबै कार्यक्रम स्थगित गरी प्रभावित परिवारलाई सान्त्वना दिने तथा शव परिवारलाई बुझाउने कामम सक्रिय भएका छन् । उनले यो दुर्घटनाले समग्र देशलाई स्तब्ध बनाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

शुक्रबार दुर्घटनामा परेर मृत्यु भएका २० जनामध्ये हालसम्म आठ जनाको पोस्टमार्टम सम्पन्न भएको छ भने पाँच जनाको शव परिवारलाई बुझाइएको छ । अन्य मृतकहरूको पहिचान तथा आवश्यक प्रक्रिया जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५६, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली ज्यापू प्रतिकिलो रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १८०, टाटेसिमी प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १२०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १२०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३२०, सेलरी प्रतिकिलो रु १६०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जन रु २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ५०० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी। १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ ।धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्यु्त्लाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रुपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो ।

धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि वडा नं ३ र ७ हुँदै मालिका गाउँपालिका–७ मा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसन जोड्ने १६ दशमलब ४८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो ।

यस आयोजनाबाट तीन वटा आयोजनाबाट उत्पादन हुने १६४ दशमलब ७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पाएरका सञ्चालक पूर्णबहादुर पुनले बताउनुभयो ।

कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ४६.२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युुत् आयोजनाले साझेदारी गरेर बनाउन लागेको आयोजनाको ५७ वटा टावर निर्माण हुुनेछन् ।

कुुल रु ४२ करोड ६२ लाख लागत अनुुमान गरिएको आयोजना निर्माणका लागि आठ दशमलव ४० हेक्टर निजी र २१ दशमलब ९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ ।

सार्वजनिक वन प्रयोग गरेबापत सरकारलाई जग्गा सट्टाभर्ना गरिने, टावर रहने निजी जग्गा खरिद तथा प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराइने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका क्रममा हुुन सक्ने वातावरणीय प्रभाव न्यूनीकरणका लागि रु ४१ लाख ७५ हजार र सामाजिक सहयोग कार्यक्रमका लागि रु २१ लाख ३१ हजार रकम प्रस्ताव गरिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको सुुझाव समेटेर वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि निर्माण सुुरु हुुने प्रसारण लाइन आयोजना आठ महिनामा सम्पन्न गरिने म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख उत्तम पौडेलले बताउनुभयो ।

विसं २०८१ असोज ६ गते सर्वेक्षण अनुुमति प्राप्त भएको म्याग्दी कोरिडोर प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८१ साल चैत १२ गते स्वीकृत भएको थियो ।

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी। म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो ।
धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिनुभयो ।

खोरीया नजिकैको महभिरमा रहेका दुई घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने उहाँले बताउनुभयो । १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ ।

बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताउनुभयो । मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन् ।

भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि महसिकारी डोरी (पराङ)मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।

वसन्त र शरद ऋतु महशिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । प्रतिलिटर रु तीन हजार देखि रु तीन हजार ५०० का दरले भिरमह बिक्री हुने गर्छ ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी(स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ ।

मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक हुनाका साथै धार्मिककार्यका लागि पनि प्रयोग हुने उपभोक्ताको अनुभव छ ।

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ ।
उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उक्त संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा रु एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार राजश्व संकलन भएको छ ।

त्यसैगरी मङ्सिरमा रु एक अर्ब ३६ करोड ७४ हजार, पुसमा रु एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा रु एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

कालिकोट, -एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योतिः फर्किदा दुःखको अन्धकार सदा हटेको छ । उनीको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसंग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् । उनीले चाडै पुनःआँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि थिइनन् ।

बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण दाहिने आँखाको दृष्टि पूर्णरूपमा उनीले गुमाएकी थिइन । अन्यत्रका साहारामा लिनुपर्दा उनीलाई आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँच टाढा र अभिभावकको सीमित उपस्थितिका कारण समयमै उपचार सम्भव हुन सकेको थिएन । उनका बुबा रोजगारीका लागि भारतमा रहने भएकाले परिवारको जिम्मेवारी पनि सहज थिएन । यस्तो अवस्थामा उनी उपचारको आशा नगरी बसिरहेकी थिइन् ।

यही वैशाख १४ देखि १६ गतेसम्म जिल्ला आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरले उनको जीवन नै बदलिदिएको छ । शिविरमा सहभागी भएपछि गरिएको शल्यक्रिया सफल भएसँगै उनीले पुनः उज्यालो संसार देख्न पाएकी छन् । शल्यक्रियापछि उनको अनुहारमा देखिएको खुसी र उत्साहले त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको थियो । जुम्लामा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरले उनी जस्तै धेरै बिरामीको जीवनमा नयाँ आशा ल्याएको छ ।

उक्त शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा हरि बिक्रम अधिकारीको नेतृत्वमा गरिएको हो । बालिकाको अवस्था जटिल भए पनि सफल शल्यक्रियापछि दृष्टि फर्किनु चिकित्सकीय हिसाबले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । बालिका र उनका परिवारजनले उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

नेपाल नेत्रज्योति सङ्घ कालिकोटको आयोजना तथा रिड्ली आइ फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविर जुम्लाको चन्दननाथ आँखा अस्पतालमा सम्पन्न भएको हो ।

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवाश नेपालका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा कुल ५८४ जना बिरामीको आँखा परीक्षण गरिएको थियो भने १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । साथै, शिविरमार्फत आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

उहाँका अनुसार कर्णालीजस्ता दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिक अझै पनि सामान्य स्वास्थ्य सेवाबाट वञ्चित छन् । विशेषगरी आँखासम्बन्धी रोगका बिरामी आर्थिक अभाव, भौगोलिक विकटता तथा जानकारीको कमीका कारण वर्षौँसम्म उपचार नपाई पीडामा बस्न बाध्य हुने अवस्था छ । यस्ता निःशुल्क शिविरले गाउँघरमै पुगेर सेवा प्रदान गर्दा उपचारको पहुँच नपुगेका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन् ।

नेपाल नेत्रज्योति सङ्घले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित देशभर आफ्नो सञ्जालमार्फत निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । दुर्गम तथा पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएका शिविरले अन्धोपन निवारण तथा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

सङ्घका अनुसार, स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ ।

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी),वैशाख १९-नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो । पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको उहाँले बताउनुभयो ।

एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुनेछन् । दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो । अब चौध दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सडकबाटै यात्रा गर्न सकिने सूचना अधिकारी खनालले बताउनुभयो । “दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, अब चाँडै यात्रा सहज हुनेछ,” सूचना अधिकारी खनालले भन्नुभयो ।

दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग ६५ किलोमिटर सडक कालोपत्र र ढलानले जोडिएको सूचना अधिकारी खनालले बताउनुभयो । “दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, योसँगै पुरै ६५ किलोमिटर सडक कालोपत्र र पक्की सडकले जोडिएको छ,” सूचना अधिकारी खनालले भन्नुभयो, “अबको चौध दिनपछि पूर्वी खण्डका सबै क्षेत्रमा कालोपत्र र पक्की सडकमा यात्रा गर्न सकिन्छ ।” दाउन्नेको पूर्वी खण्डमा पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा काम अघि बढिरहेको छ । आयोजना सुरु भएको सात वर्ष पूरा हुँदा यस खण्डको यात्रा सहज हुँदै गएको छ ।एसियाली विकास बैङ्क ९एडिबी०को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल करिब रु १७ अर्ब लागत रहेको छ ।

आज केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा करिब दुई सय जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

मन्त्रालयले सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्वासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र कीर्तिपुरस्थित राधा सत्सङ्गमा दुई स्थानमा गरिएको स्वास्थ्य शिविरमा २२२ जनाले सेवा लिएका मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रङ्शालामा १४० र राधा सत्सङ्गमा ८२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

रङ्गशालाको शिविरमा उच्च रक्तचाप, मधुमेह, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग, ग्यास्ट्राइटिस, झाडापखाला, सङ्क्रमण, चोटपटकलगायत समस्या भएका बिरामी देखिएका मन्त्रालयका सूचना अधिकारी डा केसीले बताउनुभयो । सोही शिविरका केही सेवाग्राहीलाई मनोसामाजिक परामर्शसमेत दिइएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला तीन दिनको शिविर सञ्चालन गरिएको छ । त्यसैगरी कीर्तिपुरस्थित राधा सत्सङ्गमा आज ४२ जनाको साधारण जाँच, २० जनाको आँखा, २० जनाको दाँत, १३ जनाको रगतमा चिनीको मात्रा परीक्षण गर्नुका साथै १४ जना बालबालिकाकोस्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा आएकामध्ये थप उपचारको आवश्यकता देखिएका १७ जनालाई वीर अस्पताल र छ जनालाई कान्ति बाल अस्पतालमा प्रेषण गरिएको उहाँले बताउनुभयो ।

रङ्गशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन मानसिक अस्पताल र कान्ति अस्पतालका चिकित्सक तथा नर्सले उपचार गर्नुभएको थियो । कीर्तिपुरस्थित राधा सत्सङ्गमा वीर अस्पतालबाट चिकित्सक र नर्स खटिनुभएको थियो ।

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की। देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।पुलिसको जितमा राष्ट्रिय महिला टोलीका स्टाइकरसमेत रहेकी रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । निर्मला विक र साहारा लिम्बूले एक–एक गोल थपे ।

खेलको तेस्रो मिनेटमै पुलिसकी सम्झना लावतीको प्रहार बाहिरियो । पाँचौँ मिनेटमा रेखा पौडेलले क्रस गरेको बल गोलमा परिणत भएको थियो । नवौँ मिनेटमा उनको प्रहारलाई आरएसकी गोलरक्षक प्रिया लामाले बचाउ गरिन् । लगत्तै दशौँ मिनेटमा रेखाको पासमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर पारिन् । सत्ताइसौँ मिनेटमा रेखाले पुनः गोल गरिन् । उनले ३५औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसको दुई मिनेटपश्चात् रेखाले नै पुलिसका लागि पाँचौँ गोल गरिन् ।

त्यसअघि २३औँ मिनेटमा आरएसकी अनिता रानामगरको प्रहार पुलिसका डिफेन्डरले क्लियर गर्दा गोल गर्नबाट चुकिन् । २८औँ मिनेटमा अनिताले नै हेडर गरेको बल पुलिसकी गोलरक्षक उसा नाथले बचाउँदा अर्को अवसर खेर गयो । २९औँ मिनेटमा आरएसकी आयुषा रिउलेले प्रहार गरेको लामो सटमा उसा पुनः बाधक बनिन् । ४०औँ मिनेटमा आयोजकले अर्को अवसर खेर फाल्यो । भूमिका बुढाथोकीको पासमा वर्षा ओलीले फितलो प्रहार गर्दा गोलको अवसर गुम्यो ।

खेलको सुरुआतबाटै आयोजकमाथि हाबी भएको पुलिसले पहिलो हाफमा ५–० को अग्रता कायम राख्यो । पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल उपहारस्वरुप पायो । खेलको ५०औँ मिनेटमा साहाराले गोल गरिन् । ६०औँ मिनेटमा रेखाले व्यक्तिगत पाचौँ गोल गरिन् । उनी खेलको ‘प्लेयरअफ दी म्याच’ समेत घोषित भइन् । जितसँगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ । आयोजक आरएस र पुलिससँगै त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच दोस्रो खेल हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ । यही वैशाख २० गते हुने प्रतियोगिताको फाइनल खेलमा च्याम्पियन टोलीले नगद रु पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् ।

त्यसैगरी, उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजार प्राप्त गर्नेछन् । अनुशासित टिमले रु २५ हजार पाउने आयोजक आरएस पोखराले जनाएको छ ।

टिपरको ठक्करबाट १४ वर्षीय दिवसको मृत्यु , चालक फरार

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय युके०६एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन् । उहाँलाई उपचारका लागि भारतको खटिमातर्फ लगिएको प्रहरीले जनाएको छ । घाइते चुनाराको बायाँ खुट्टामा चोट लागेको छ ।

अवस्था मध्यम रहेको छ । टिपर चालक भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मध्यपूर्व युद्धका कारण शरणार्थी सहायतामा असर

जेनेभा। मध्यपूर्व युद्धको प्रभावले ढुवानी दरमा वृद्धि हुँदा यसले अफ्रिका लगायतका व्यापक क्षेत्रका शरणार्थीहरूलाई सहायता वितरणमा असर गरेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (युएनएचसीआर) ले शुक्रबार जानकारी गराएको छ ।युएनएचसीआरका तीन मुख्य स्रोत देशहरू भारत, पाकिस्तान र चीनबाट आपतकालीन आपूर्तिको ढुवानी दरमा करिब १८ प्रतिशतले वृद्धि भएको र बन्दरगाह भएको भीडले आपूर्तिमा ढिलाइ र प्रभाव पारिरहेको संयुक्त राष्ट्रसङ्घीय यस निकायले जनाएको छ ।

इन्धनमा खर्च गरिएको प्रत्येक अतिरिक्त डलर र उच्च युद्धको जोखिमका लागि ढुवानीका लागि बीमा प्रिमियमका लागि यस क्षेत्रमा बढेको खर्चले ढुवानी दरलाई प्रभावित पारिरहेको यूएनएचसीआरले जनाएको छ ।

“मध्यपूर्व सङ्कटले विश्वव्यापी मानवीय आपूर्ति श्रृङ्खला र सहायता वितरणमा यस क्षेत्रभन्दा बाहिर दूरगामी प्रभाव पारेको छ,” प्रवक्ता कार्लोटा वुल्फले जेनेभामा एक पत्रकार सम्मेलनमा भन्नुभयो ।युएनएचसीआरका सामान्य यातायात प्रदायकहरूको अनुरोधको जवाफ दिने क्षमता वर्षको सुरूमा ९७ प्रतिशतबाट ७७ प्रतिशतमा झरेको र ढुवानी दरहरूमा वृद्धि भएको छ ।

युएनएचसीआरले सामानलाई पुनः अर्को मार्ग बनाएर पठाएको छ । यसले जोर्डनको अकाबा रेड सी बन्दरगाह हुँदै समुद्री र दुबईबाट अरब प्रायद्वीप र टर्कीए पार गर्ने ट्रक मार्गसहित स्थलमार्गहरूको प्रयोग सुरू गरेको छ।

“केही ढुवानीहरूको खास गरी दुबईमा यूएनएचसीआरको विश्वव्यापी भण्डारबाट हाम्रो सुडान र चाडका लागि अभियानमा राहत सामग्रीहरूको लागि यातायात लागत दोब्बर भन्दा बढी भएको छ र यो लागत नौ लाख २७ हजार अमेरिकी डलरबाट बढेर १८ लाख ७० हजार पुगेको छ,” वुल्फले भन्नुभयो ।

यसै बर्षको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व युद्ध सुरु भएको थियो । तेहरानले खाडीमा पूर्वाधारमा आक्रमण गरेर र स्ट्रेट अफ हर्मुजमा अवरोध गरेर प्रतिकार गर्दा प्रवाहमा विश्वव्यापी प्रभाव बढेको छ।

हर्मुज जलडमरूमार्फत हुने यातायातमा प्रतिबन्धले विश्व अर्थव्यवस्थाबाट ठूलो मात्रामा तेल, ग्यास र मलको निर्यात श्रृङ्खलालाई विच्छेद गरेको छ भने बदलामा संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ।

वुल्फले भन्नुभयो, “अफ्रिकामा यो प्रभाव विशेष गरी चिन्ताजनक देखिएको छ ।” यूएनएचसीआरको विश्वव्यापी सात भण्डार रहेकोमध्ये एक केन्यामा इन्धनको मूल्य वृद्धिका कारण इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र दक्षिण सुडानमा ट्रकको उपलब्धता घटाएको र ढुवानीमा ढिलाइ भएको छ ।“हालैका महिनाहरूमा सुडानमा सहायता वितरणको लागत दोब्बर भएको छ,” उहाँले भन्नुभयो । ‘केप अफ गुड होप’ वरपरको ढुवानीको पुनः मार्गीकरणले आपूर्ति समयमा २५ दिन थपिएको उहाँले बताउनुभयो ।

“यदि मध्यपूर्वमा अस्थिरता कायम रह्यो भने बढ्दो लागत, ढिलाइ र सीमित यातायात क्षमताले मानवीय सञ्चालनलाई थप बाधा पुर्याउने सम्भावना छ,” वुल्फले भन्नुभयो ।

“लामो समयसम्म अवरोधले आवश्यकतामा परेका व्यक्तिहरूसम्म सहायता पुग्न सक्ने मात्रा र गतिलाई कम गर्ने जोखिम छ, जसले विश्वव्यापी रूपमा लाखौं शरणार्थी र विस्थापित व्यक्तिहरूको लागि गम्भीर परिणामहरू निम्त्याउँछ,” उहाँले भन्नुभयो ।लामो अवधिपछि हाललाई विश्वव्यापी भण्डार राम्रो छ तर युएनएचसीआरले पुनः भण्डारण गर्न कति महँगो हुनेछ भनेर चिन्ता देखाएको छ ।युएनएचसीआरलाई यस वर्ष यसको सञ्चालनका लागि ८.५ अर्ब डलर आवश्यक छ, जसमध्ये अहिलेसम्म २३ प्रतिशत मात्र वित्त पोषित छ।

भारतको उत्तर प्रदेश काङ्ग्रेसका अध्यक्ष राय अस्पताल भर्ना

कोलकाता। भारतको उत्तर प्रदेशका भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष अजय राय कार्यक्रममा अचानक बेहोस बनेपछि उहाँलाई मेदान्त अस्पतालमा भर्ना गरिएको छ ।उहाँको अस्पतालको आकस्मिक सेवामा उपचार भइरहेको छ । कार्यक्रमका क्रममा राय एकाएक बेहोस हुनुभएको थियो । अत्याधिक पिडा र दुखाइ महसुस भएपछि उहाँलाई तत्काल मेदान्त अस्पताल भर्ना गरिएको हो ।उहाँको उपचारमा विशेषज्ञसहितको चिकित्सकको टोली खटिरहेको बताइएको छ। जानकारीअनुसार ‘सोडियम’को कमी देखिएको र अन्य परीक्षणहरू भइरहेको छ ।

लखनऊमा काङ्ग्रेसको ‘स्टेट लेभल टिचर्स एन्ड डक्टर्स कन्फ्रेन्स’ नामक कार्यक्रममा सहभागी भइरहँदा उहाँ अचानक विरामी हुनुभएको थियो ।विरामी पर्नु पहिले मजदूर दिवसका अवसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रदेश कांग्रेस अध्यक्ष रायले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिको काङ्ग्रेसले मात्र डटेर विरोध गरिरहेको र यो लडाईँमा काङ्ग्रेसको राजनीतिक फाइदा मात्र नभई समाजको हरेक वर्ग, शिक्षक, चिकित्सक र आम नागरिकको हित जोडिएको खावी गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “सामाजिक सञ्जालदेखि तल्लो तहसम्म कांग्रेसका कार्यकर्ताहरु सक्रिय छन् । मजदुरको मिहिनेतको प्रशंसा गर्दै रायले लोकतन्त्र, अधिकार र न्यायको रक्षाका लागि यो लडाइँ अघि बढ्ने छ।”कार्यक्रममा उहाँले आफूहरु मजदुरको अधिकारका लागि उनीहरूसँग मिलेर सङ्घर्ष गरिरहेको र यो सही अर्थमा मजदुर दिवसको अन्तर्य हो भन्दै शुभकामना दिनुभएको थियो ।

चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौँ। चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र सङ्गठनको झण्डा हस्तान्तरण गर्नुभयो । सोही अवसरमा अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गर्नुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्नुभयो । सङ्गठन सुधार केवल एक प्रमुखको कार्यकालमा सुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै उहाँले राष्ट्र, सङ्गठन र जनताको सुरक्षासँगै मातहत कर्मचारीको हितलाई सर्वोपरी राखी आफूले काम गरेको बताउनुभयो ।

त्यस अवसरमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सङ्गठनमा स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यावसायिक र जनउत्तरदायी सङ्गठनका रुपमा निरन्तर अघि बढाइने बताउनुभयो । उहाँले सङ्गठन विकास, सुदृढीकरण र संस्थागत सबलीकरणका लागि अघि सारिएका सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालीन मार्गदर्शनका रूपमा स्थापित गरिने बताउनुभयो ।

सङ्गठनलाई राज्य र जनताप्रति विश्वासयोग्य बनाउन सशस्त्र प्रहरी कर्मचारीको योगदान महत्त्वपूर्ण हुने उल्लेख गर्दै महानिरीक्षक पौडेलले भन्नुभयो, “उच्च नैतिक आचरण र दृढताले एउटा सशक्त सन्देश दिन्छ, जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ, जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ ।”

समारोहमा अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारीलगायत सशस्त्र प्रहरीका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको समेत उपस्थिति थियो ।

कामपाले दियो भूमि भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले वडा भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा प्रदान गरेको छ ।विसं २०८२ चैत १२ गते मालपोत कार्यालय चाबहिल, डिल्लीबजार र कलङ्कीसँग सम्झौता गरेर २०८३ वैशाख २ गतेदेखि नमूनाका रूपमा सेवा थालिएका वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट यो सेवा प्रदान गरिएको हो ।

प्रदान गरिएका सेवामध्ये सबैभन्दा धेरै २१ जनाको स्वामित्व परिवर्तनको हो । भूसेवा केन्द्र तथा भूसूचना प्रणाली कार्यक्रमका सम्पर्क व्यक्ति अशोक श्रेष्ठका अनुुसार यस्तै १९ जनालाई प्रमाणपुर्जा प्रदान गरिएको छ ।
यसमा सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको लिखत पारित, रैकर जग्गा दर्ता सेवा प्रदान गरिएका छन् श्रेष्ठले भन्नुभयो ।

कामपाले यसअघि चारकिल्ला सिफारिस, घरबाटो सिफारिसजस्ता सेवा दिँदै आएको थियो । यो सेवा प्रारम्भ भएपछि भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएका वडाबाटै प्राप्त हुनेछन् ।

नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि वडाबाटै हुनेछ ।

यस प्रक्रियामा वडाले नामसारी निवेदन र मुलुकी देवानी संहिता, २०७४ बमोजिम पारित हुने लिखतमा आफ्नो रोहवरमा कारणीको ल्याप्चे सही छाप, दस्तखत तथा सनाखत गराएर थप प्रक्रियाका लागि मालपोत पठाउने छ । जग्गाधनी सङ्केत नम्बर कायम भएका र ससिम कित्ताको कारोबारका लागि मात्र लिखत र नामसारी निवेदन तयार गर्नेछ ।

जग्गाधनी सङ्केत नम्बर कायम नभएका जग्गाधनीको हकमा जग्गाधनी विवरण अद्यावधिकका लागि मालपोत कार्यालयमा पठाउने कामपाले जानकारी दिएको छ ।नेपालको संविधानले भूप्रशासनको काम स्थानीय तहलाई दिएको छ । यसअघि पूर्वाधार र जनशक्ति तयार नभएकाले यो काम सङ्घ सरकारबाटै हुँदै आएको थियो ।

मेची भन्सार कार्यालयबाट दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

झापा। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ ।कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु १० अर्ब ७० करोड सात लाख १८ हजारबराबरको अलैँची निर्यात भएको हो ।

चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु छ अर्ब २५ करोड १२ लाख ६१ हजारबराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात २६.७३ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु तीन अर्ब २७ करोड २० लाख ७२ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुमध्ये भेनियर सिट ३०.८८ प्रतिशत, छुर्पी ३०.३५ प्रतिशत वृद्धि भएको छ भने प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता एक हजार ७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशत र सिमेन्ट क्लिङ्करको निर्यात शतप्रतिशतले घटेको छ ।

मेची भन्साबाट चालु आव २०८२/८३ को चैत मसान्तसम्ममा रु १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजारबराबरको मालवस्तु निर्यात भएको छ ।

राष्ट्रपति पौडेलले जारी गरे सम्पत्ति शुद्धीकरण अध्यादेश

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सञ्चार क्षेत्रमा सामाजिक सञ्जालको प्रभाव बढ्न नदिन सचेतना आवश्यक

काठमाडौँ । सञ्चार क्षेत्रमा सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभाव बढ्न थालेकाले यससम्बन्धी सचेतना वृद्धि हुनुपर्नेमा जोड दिइएको छ।

नेपाल प्रेस युनियनले फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) को सहयोगमा शुक्रबार आयोजना गरेको ‘डिजिटल रुपान्तरण : अर्थ राजनीति र सञ्चार क्षेत्रका चुनौती’ विषयक सेमिनार कार्यक्रमका वक्ताहरूले सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभावले चुनौती थपिएकाले यससम्बन्धी चेतना बढाउनुपर्नेमा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन्।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हरिहर विरहीले सञ्चारमाध्यममा एल्गोरिदम उपहार र चुनौती दुवै हुन सक्ने भएकाले सकारात्मक रुपमा राम्रो प्रभाव पार्नेगरी अघि बढाउनुपर्ने बताए। एउटा झूटलाई सयपटक दोहोर्‍याएर सत्य साबित गर्न सकिन्छ भन्ने मान्यताअनुसार नेपालमा सामाजिक सञ्जाल र एल्गोरिदमलाई प्रयोग गर्न थालिएकाले सचेत हुनुपर्ने उनको भनाइ थियो।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तूफानले नेपाली सञ्चार क्षेत्रमा चौतर्फी आक्रमण भइरहेको बताए। युनियनका अर्का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक सञ्जाल र एल्गोरिदमबाट उत्पन्न गराइने भ्रमबाट नेपाली सञ्चारमाध्यम मुक्त हुनुपर्ने बताए। यस्तो भ्रमबाट जनतालाई पनि मुक्त गराउने दायित्व सञ्चारमाध्यमकै रहेको उनको भनाइ थियो ।

युनियनका सल्लाहकार एवं वरिष्ठ पत्रकार तेजप्रकाश पण्डितले एल्गोरिदमको प्रभावबाट नेपाली समाजलाई मुक्त गराउने काममा सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले एल्गोरिदमको नकारात्मक मात्र नभई सकारात्मक पक्ष पनि भएकाले गलत कुरा सकारात्मक विषय मात्र लिनसक्नुपर्ने बताए।

महासङ्घका पूर्वसचिव एवं रत्नराज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुख डा. जगत नेपालले नेपाली सञ्चारमाध्यमका बारेमा अध्ययन एवं अनुसन्धान नभएकाले पनि यस्तो अवस्था आएको बताए। यस्ता कार्यक्रमले सञ्चारमाध्यम र यहाँ आबद्ध सबैलाई अध्ययन–अनुसन्धानतर्फ प्रेरित गर्ने उनको भनाइ थियो।

कार्यक्रममा उज्ज्वल आचार्य र पुष्पराज आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि झा र कृष्णा पौडेलले टिप्पणी गर्नुभएको थियो । यसैगरी, पुष्पराज आचार्य प्रस्तुत गरेको कार्यपत्रमाथि नेपाल र बिमला तुम्खेवाले टिप्पणी गर्दै नेपाली पत्रकारिता क्षेत्रमा देखिएका चुनौती सामना गर्न चेतना र जागरण फैल्याउनुपर्नेमा जोड दिएका हुन्।

एफइएसका कार्यक्रम व्यवस्थापक पवित्रा राउतले मिडिया साक्षरतालगायत विषयमा पत्रकारितासँग सम्बन्धित संस्थासँग मिलेर यस्ता गतिविधि गरिरहेको जानकारी दिए।

कार्यक्रममा युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेल, प्रेस सेन्टर नेपालका उपमहासचिव बुद्ध लोप्चन, महासङ्घका सचिव सोनी शर्मालगायतले भ्रमबाट नेपाली सञ्चारमाध्यमलाई मुक्त गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

तनहुँ। व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको छ ।

नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाका लागि नगरपालिकाले गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको हो ।

नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीनपटक (४, ६ र ८ महिना) गर्भ परीक्षण गरेका महिलालाई आठ महिनामा मातृ शिशुकार्डका आधारमा रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ५२ जनालाई रु दुई लाख ६० हजार प्रोत्साहन रकम वितरण गरिएको छ ।

सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गराउने उद्देश्यसहित सुत्केरीलाई पोषणभत्ता दिइएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो ।

उहाँका अनुसार गर्भवतीको नियमित स्वास्थ्य परीक्षण नगरी घरमै शिशु जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या पर्ने भएकाले यसको अन्त्यका लागि भत्ता उपलब्ध गराउन थालिएको हो । ‘महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत नगरभित्र सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइने उहाँको भनाइ छ ।

गर्भवतीलाई समयसमयमा गर्भ परीक्षण गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिने नीति सुरु गरिएको दरैले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकाले सचेतनाका लागि कार्यक्रम सञ्चालन गरेका हौँ ।” यसैबीच, नगरपालिकाले चालु आर्थिक वर्षमा ६० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ ।

इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान। इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ ।इरानको आधिकारिक समाचार एजेन्सीले भनेको छ, “इस्लामिक गणतन्त्र इरानले संयुक्त राज्य अमेरिकासँगको वार्ताको क्रममा मध्यस्थकर्ताको रूपमा पाकिस्तानलाई बिहीबार साँझ आफ्नो पछिल्लो वार्ताको प्रस्तावको पाठ बुझाएको छ।”

नयाँ प्रस्तावमा के समावेश गरिएको छ भन्ने कुरा तत्काल स्पष्ट भएको छैन। करिब ४० दिनदेखिको तनावपछिको युद्धविरामपछि इरान र अमेरिकाबीच एक चरण मात्र वार्ता भएको थियो ।

संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको भन्दै वार्तामा सहभागी हुन इरानले नमानेपछि र इरानले मुख्य स्ट्रेट अफ हर्मुजलाई धेरै हदसम्म बन्द राखेको भन्दै अमेरिकाले यसलाइै खोल्न दबाव दिएपछि वार्ता रोकिएको छ । युद्धको सुरुवातदेखि जलमार्गबाट सिमित जहाजहरूलाई मात्र आवागमनमा अनुमति दिएको छ।

शुक्रबार इरानका विदेशमन्त्री अब्बास अराघीचीले साउदी अरब, कतार, टर्की, इराक र अजरबैजानका समकक्षीहरूसँग टेलिफोन वार्ता गरी इस्लामिक गणतन्त्रले युद्ध अन्त्य गर्ने पछिल्लो पहलबारे जानकारी गराउनुभएको थियो

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँका विभिन्न स्थानबाट हाम्रो टोलीले एक थान पेस्तोल, म्यागेजिन, गोली र लागुऔषध ट्रामाडोलसहित चार जना पक्राउ गरेको छ । उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ ।”

उहाँका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन तीन थान, सोही पेस्तोलको गोली चार राउन्ड, एसएलआर हतियारको गोली दुई राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि

नयाँ दिल्ली। इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको एक सरकारी ऊर्जा कम्पनीले जनाएको छ ।

भारत आयातित ऊर्जामा धेरै निर्भर छ । भारतले तरलीकृत पेट्रोलियम ग्याँस (एलपिजी) को लगभग ६० प्रतिशत विदेशबाट ल्याउँछ । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको भारतको ठूलो हिस्साले खाना पकाउन प्रयोग गर्ने इन्धन ग्यास हो ।

फेब्रुअरीको अन्त्यमा मध्यपूर्व युद्ध सुरु भएदेखि नै आयातमा अवरोध आइरहँदा नयाँ दिल्लीले घरपरिवार र अत्यावश्यक क्षेत्रहरू पर्याप्त मात्रामा आपूर्ति भएको सुनिश्चित गर्न कदम चालेको छ, जसले धेरै रेस्टुरेन्ट, निर्माता र पावर प्लान्टहरूलाई अलपत्र पारेको छ।

सरकारले भारतले समग्र इन्धनको अभाव नरहेको बताउँदै आएको छ । सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसिएल) ले भनेको छ, “धेरै मात्रा र व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपिजी सिलिन्डरको मूल्य संशोधन गरिएको छ ।”

आइओसीएलको मूल्य तालिकाअनुसार व्यावसायिक प्रयोगका लागि बनाइएको १९ केजीको ग्यास सिलिन्डरको मूल्य ९९३ भारतीय रूपैयाँ (१०.५० अमेरिकी डलर) कायम भएको छ ।यो भनेको राजधानी नयाँ दिल्लीमा ग्यासको मूल्यमा झण्डै ४८ प्रतिशतले वृद्धि भएको छ । स्थानीय करका कारण दरहरू शहर अनुसार फरक हुन्छन्।

तीव्र वृद्धिले रेस्टुरेन्टहरूलाई विशेष गरी कडा असर पार्नेछ, मध्य पूर्व युद्धको समयमा धेरैले पहिले नै सेवाहरू घटाएका छन् ।अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि जेट इन्धनको मूल्य पनि समायोजन गरिएको भारतीय इन्धन कम्पनीले जनाएको छ ।आइओसीएलको तालिकाअनुसार दिल्लीमा हवाई इन्धन (एटिएफ) करिब पाँच प्रतिशतले बढेको छ ।

जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

आज १३७औँ विश्व श्रमिक दिवसका अवसरमा ‘लोकतन्त्र, ट्रेड युनियन र मानवअधिकारः समग्र श्रमिकको संवैधानिक अधिकार’ भन्ने नारासहित नेपाल ट्रेड युनियन कांग्रेसद्वारा यहाँ आयोजित कार्यक्रममा सभापति थापाले कांग्रेस जनादेशअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप संसदीय प्रणालीभित्रै रहेर कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय परिषद्का अध्यक्ष योगेन्द्र कुँवरले सरकार श्रमिकका माग सुनुवाइ गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।सोही कार्यक्रममा विभिन्न राष्ट्रबाट आएका श्रमिक अगुवाले श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र श्रमिक सङ्गठनबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको थियो ।कार्यक्रमका वक्ताहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सुरक्षित काम गर्ने वातावरण र ट्रेड युनियनको भूमिकाबारे आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

इस्तानबुल। टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ।सिएचडी लयर्स एसोसिएसनका अनुसार इस्तानबुलमा करिब ४०मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ० जना पक्राउ परेका छन्, जहाँ प्रहरीले दङ्गा नियन्त्रण गर्ने गाडीबाट भीडमा अश्रुग्यास प्रहार गरेको थियो।

विपक्षी च्यानल एचएएलके टिभीमा प्रसारण भएका तस्वीरमा टर्कीएको वर्कर्स पार्टीका अध्यक्ष एरकान बासमाथि पनि अश्रुग्यास प्रहार भएको देखिएको छ ।उहाँले भन्नुभयो, “सत्तामा बस्नेहरुले वर्षमा ३६५ दिन बोल्छन्, त्यसैले कामदारहरुले वर्षमा कम्तीमा एक दिन आफूले भोग्ने कठिनाइबारे कुरा गरून् ।”

शहरको युरोपेली पक्षमा दुई समूहले ताक्सिम स्क्वायरमा प्रदर्शन गर्ने प्रयास गरेपछि उनीहरूलाई विशेष रूपमा तितरवितर पारिएको थियो ।विगतमा धेरै सरकार विरोधी प्रदर्शनहरूमा ताक्सिम स्क्वायरमा प्रदर्शन गर्ने गरिएको थियो तर प्रहरीले सहरको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेको थियो ।
श्रमिक युनियनका एक अधिकारी बसरन अक्सुलाई तक्सिममा प्रदर्शनमा रोक लगाएपछि पक्राउ गरिएको थियो।

“तपाईं टर्कीएका कामदारहरूको लागि एक वर्ग बन्द गर्न सक्नुहुन्न। सबैले आधिकारिक समारोहहरूको लागि, उत्सवको लागि तक्सिम प्रयोग गर्छन्।केवल मजदुर र गरिबहरूले मात्र उनीहरूका लागि तक्सिम स्क्वायर बन्द पाउँछन्,” उहाँले रिस पोख्दै भन्नुभयो ।

मजदुर वर्गको हित र अधिकारका लागि विश्वभर मे १ लाई विशेष अवसरका रूपमा मनाइन्छ तर टर्कीएमा हरेक वर्ष व्यापक प्रहरी हस्तक्षेप हुने गर्छ ।गत वर्ष प्रदर्शन शहरको कादिकोय क्षेत्रमा सारिएको थियो र ४०० भन्दा बढी मानिसहरू पक्राउ परेका थिए।

शुक्रबार प्रहरीको ठूलो तैनाथीबीच धेरै दङ्गाहरू भएका र नियन्त्रणका लागि धातुका ब्यारिकेडहरू राखी इस्तानबुलको मध्य छिमेकमा पहुँच अवरुद्ध भएको थियो ।एएफपीले ‘टर्कीएको सत्तारूढ पार्टी’ एकेपी सहयोगीको नारा लगाउँदै भीडमा अश्रुग्यास प्रहार गरेको थियो ।

मजदूर युनियन र नागरिक समाज सम्बद्ध सङ्घहरूले मे १ मा भोको पेटलाई खाना, शान्ति र स्वतन्त्रता भन्ने नाराका साथ प्रदर्शनको आह्वान गरेका थिए।सरकारी तथ्याङ्क अनुसार टर्कीएमा मुद्रास्फीति ३० प्रतिशतभन्दा बढी भएको अनुमान गरिएको छ तर स्वतन्त्र अनुमान र विश्लेषण अनुसार ४० प्रतिशतको हाराहारी रहेको बताउने गरिएको छ।

एएफपीका एक पत्रकारका अनुसार अङ्कारामा तलब बक्यौताको माग गर्दै नौ दिने भोक हड्ताल गरेका कोइला खानीमा काम गर्ने करिब १०० जना मजदूरले मे डे मार्चमा सामेल भइरहँदा खुशी मनाएका थिए ।यस हप्ताको सुरुमा, टर्कीएका अधिकारीहरूले ६२ जनाविरुद्ध पक्राउ र खोजी वारेन्ट जारी गरेका थिए, जसमध्ये पत्रकार, ट्रेड युनियनका नेता र विपक्षी नेताहरू सहित ४६ जनालाई पक्राउ गर्न सक्ने बताउनुभएको थियो ।

लाइसेन्स नै खारेज भएका थप १९ जना डाक्टरहरू यिनै हुन् !

काठमाडौँ, १८ वैशाखः नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिनुभयो ।

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो । उहाँले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताउनुभयो । उहाँले ती चिकित्सकको दर्ता किताबबाट नाम समेत हटाइएको बताउनुभयो ।

“नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ,” उहाँले भन्नुभयो ।

ती चिकित्सक नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अष्ट्रेलियन र भारतीय नागरिकता लिएकाले दर्ता खारेज गरिएको हो । उहाँका अनुसार डा सुमिन्द्रा पुन, डा शैलेशकुमार जयसवाल, डा भूपेश खड्का, डा आरती रानाभाट, डा रमेशराज पहारी, डा सञ्जोक घले, डा ऋषिराज बराल, डा प्रभु पाण्डे, डा तृप्ती महर्जन र डा सृजना श्रेष्ठ रहनुभएको छ ।यस्तै, लाइसेन्स खारेज हुनेमा डा सुनिता विष्ट, डा दीपा मल्ल, डा सौरब जिसी, डा.जेनिसा श्रेष्ठ, डा प्रभास रेग्मी, डा दिपीका ज्ञवाली, डा हेमु चौरसिया, डा समीक्षा शर्मा र डा मनोरमा पाण्डे रहनुभएको छ ।

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की, वैशाख १८-पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्ने क्रममा खपौदी बस्ने १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालक तालमा डुबेर बेपत्ता भएको सूचनापछि कालिका गणबाट प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा सात जनाको गोताखोर सहितको टोली परिचालन गरिएको थियो ।

सो उद्धार टोलीले खोजीका क्रममा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो । उद्धारपछि बालकलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकामा दिउँसो करिब १२ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

काठमाडौँ, वैशाख १८ –के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ बुझाउँदा हैरानी खेप्नुभएको छ ? ट्राफिक व्यवस्थापनका लागि खटिने प्रहरीको पनि त्यसरी कागजपत्र लिनु रहरको विषय नहुन सक्छ । हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई यो झन्झट नहुने भएको छ ।

सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा सवारी चालकको अनुमतिपत्र, ब्लुबुक, चाबीलगायत कागजपत्र नियमन्त्रणमा लिनु कानुनविपरीत भएको ठहर गरेपछि ट्राफिक व्यवस्थापन र कारबाहीमा नयाँ अभ्यास देखिने भएको छ ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत पुस ६ गते गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत सवारी चालकको चालक अनुमतिपत्र, ब्लुबुकलगायत कागजपत्र र चाबी नियन्त्रणमा नलिन फैसला गरेको हो ।

नेपाल ल क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिट निवेदनमाथि यो फैसला भएको हो । निवेदक चौधरी विसं २०८१ साउन ४ गते बबरमहलमा ट्राफिक लाइट उल्लङ्घनमा पर्दा प्रहरीले जरिवाना गरी लाइसेन्स नियन्त्रणमा लिएको र २४ घण्टापछि मात्र फिर्ता दिएको समस्या लिएर अदालत जानुभएको थियो ।

उक्त विषयमा अदालतले सरोकारवाला सबै निकायसँग छलफल गरी निष्कर्षमा पुग्दा ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा सवारी चालकको अनुमतिपत्र, ब्लुबुक, चाबीलगायतका कागजपत्र नियमन्त्रणमा लिनु कानुनविपरीत भएको ठहर गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूको सवारी चालक अनुमतिपत्रसमेत नियन्त्रणमा लिने सम्बन्धमा कुनै निर्णय गरेको देखिएन । “सार्वजनिक अधिकारीको स्वेच्छाचारितालाई अदालतले मान्यता दिन हुँदैन, यसमा आवश्यक नियन्त्रण गर्नु जरुरी हुन्छ”, फैसलामा भनिएको छ, “जहाँ स्वेच्छाचारिताले प्रश्रय पाउँछ, त्यहाँ कानुनी राज्यको आदेश निमोठिन पुग्छ ।”

अदालतले ट्राफिक प्रहरीले निवेदक र अन्य व्यक्तिको सवारी चालक अनुमितपत्र, ब्लुबुक, चाबीलगायतका कागजपत्र नियन्त्रणमा लिन कानुनले अनुमति प्रदान नगरेको अवस्थामा नियन्त्रणमा लिने गरेको भन्ने देखिएको हुँदा त्यस्तो स्वेच्छाचारी र कानुनविपरीतको कार्य रोक्न निर्देशनात्मक आदेशसमेत गरेको छ ।

फैसलामा भनिएको छ, “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत सवारी चालकको अनुमतिपत्र, ब्लुबुकलगायत कागजपत्र र चाबी नियन्त्रणमा लिने कार्य नगर्नु÷नगराउनु भनी विपक्षीहरूको नाउँमा निर्देशनात्मक आदेश जारी छ ।” अदालतले गृह मन्त्रालय, नेपाल प्रधान कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नाममा उक्त निर्देशनात्मक आदेश गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने व्यवस्था भने गरेको छ । ऐनको (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि पहिलोपटक ट्राफिक नियम उल्लङ्घन गर्नेलाई रु पाँच सय रुपैयाँ, दोस्रोपटक गर्नेलाई रु एक हजार र तेस्रोपटक वा सोभन्दा बढी पटक गर्नेलाई रु एक हजार ५०० जरिवाना यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल गर्न सक्ने व्यवस्था छ ।

ट्राफिक प्रहरीले जरिवाना गर्न सक्ने अवस्थाहरूमा ट्राफिक सङ्केत वा इशारा उल्लङ्घन गरी सवारी चलाएमा, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएमा, सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेमा, सडकमा गलत मार्गतर्फबाट सवारी चलाएमा, एकतर्फी सडकमा सोविपरीत सवारी चलाएको, अवस्था ठिक नभएको सवारी सञ्चालन गरेकालगायत छन् ।

त्यस्तै, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा, राति बत्ती नबाली सवारी चलाएमा, मादक पदार्थ सेवन गरी सवारी चलाएमा, अरूलाई बाधा पुग्नेगरी सार्वजनिक स्थानमा सवारी राखेमा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएमा, नम्बर प्लेट नराखी सवारी चलाएमा, सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा निर्धारित वजनभन्दा बढी भएका सवारी चलाएमा प्रहरीले जरिवाना गर्न सक्नेछ ।

साथै, पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा, सवारीमा बस्ने वा राखे मानिस वा मालसामानको हद निर्धारित गरिएकामा सोहदभन्दा बढी राखी सवारी चलाएमा, सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा, निर्धारित भाडा दरभन्दा बढी भाडा लिई सवारी चलाएमा, लापरवाही साथ सवारी चलाएमा, वाटो इजाजतपत्र नलिई सार्वजनिक सवारी चलाएमा र चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएमा जरिवाना गर्ने व्यवस्था छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ ले ट्राफिक प्रहरीलाई केवल जरिवाना गर्ने अधिकार दिएकामा कानुनले तोकेको भन्दा बढी अधिकार प्रयोग गरी सवारी चालक अनुमतिपत्र नियन्त्रणमा लिँदा व्यक्तिको आवतजावत गर्ने र आफ्नो पेसा व्यवसाय सञ्चालन गर्ने स्वतन्त्रतामा अनुचित बन्देज लाग्ने अदालतले व्याख्या गरेको छ ।

फैसलामा भनिएको छ, “विधिको शासनको विपरीत हुन जान्छ, नेपालको संविधानको धारा १८ ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने प्रत्याभूति गरेको अवस्थामा कानुनविपरीत प्रहरीले कुनै चालकको सवारी चालक अनुमतिपत्र नियन्त्रणमा लिने कार्यले नेपालको संविधानको धारा १८ अन्तर्गत समान संरक्षणको हकलाई समेत असर पार्दछ ।”

अदालतले व्यक्तिको हक अधिकार वा स्वतन्त्रतालाई असर पार्ने जुनसुकै कार्य पनि स्पष्ट कानुनी शक्तिको आधारमा गरिएको हुनुपर्ने र जुन काम प्रत्यक्ष रूपले गर्न पाइँदैन त्यो काम अप्रत्यक्ष रूपले समेत गर्न नमिल्ने भनेको छ ।

फैसलामा भनिएको छ, “सवारी नियमको उल्लङ्घन गरेमा हुने सजायअन्तर्गत चालक अनुमतिपत्र, ब्लुबुक र गाडीको साँचो कब्जामा लिने कानुनी व्यवस्थाको अभावमा सोकार्य कुनै निकाय वा अधिकारीबाट हुन्छ भने उक्त कार्यले व्यक्तिको मर्यादालाई असर पार्ने हुँदा यस प्रकारका सवारी नियमको उल्लङ्घन भएको अवस्थामा चालक अनुमतिपत्रलगायत कागजात नियन्त्रणमा लिनु न्यायपूर्ण मान्न नमिल्ने हुँदा निवेदकबाट अनुमतिपत्रलगायत कागजात कब्जामा लिने कार्य गैरकानुनी देखिन आयो ।”

कानुनी व्यवस्थालाई हेर्दा, सवारी नियमको उल्लङ्घन गरेबापत सवारी चालकको सवारी चालक अनुमतिपत्र वा अन्य सवारीसँग सम्बन्धित कागजात नियन्त्रणमा लिने, जफत गर्ने अधिकार ट्राफिक प्रहरीलाई कानुनले दिएको कहीँ पनि नदेखिएको अदालतले व्याख्या गरेको छ ।

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।

सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बुद्ध जयन्तीले गौतम बुद्धका कालजयी उपदेशहरूको स्मरण गराउँदै सत्य, न्याय र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।२५७०औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरे ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले यहीं विविधताभित्रको एकता र आपसी सद्भाव नै राष्ट्रिय शक्ति भएको बताए ।

सभामुख अर्यालले विश्व शान्तिका प्रतीक भगवान् बुद्धका शिक्षा, दर्शन र विचारहरू सम्पूर्ण मानवजातिका लागि मार्गदर्शक रहेको उल्लेख गर्दै बुद्ध जयन्तीले अहिंसा, करुणा र प्रेमको सन्देश प्रवाह गरिरहेको बताए । वर्तमान बदलिँदो परिवेशमा बुद्धका शिक्षाले निराशा र अन्योलबाट बाहिर निस्कन धैर्य, संयम र सकारात्मक सोच अपनाउन प्रेरित गर्ने उनको भनाइ थियो ।

आईजीपी राजु अर्यालको कार्यकाल : सीमा सुरक्षा र विपद् व्यवस्थापनमा उल्लेखनीय प्रगति

काठमाडौँ, १८ वैशाख : मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल नेपालले पछिल्ला वर्षहरूमा नीतिगत, संस्थागत र संरचनागत क्षेत्रमा परिणाम देखिनेगरी फड्को मारेको छ । सशस्त्र प्रहरी बलका १२औँ सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चारवर्षे कार्यकालमा नीतिगत सुधार, सीमा सुरक्षा व्यवस्थापन, आन्तरिक सुरक्षा, मानव स्रोत विकास र विपद् प्रतिकार्यका क्षेत्रमा असरदार नतिजा हासिल गरेको छ ।

सीमा सुक्षाको प्रमुख जिम्मेवारी वहन गर्दै आएको सशस्त्र प्रहरीले सीमा सुरक्षा विभागको पुनस्र्थापना गरी सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, चोरी निकासी पैठारी र मानव बेचबिखनलगायतका कार्य नियन्त्रणमा अहोरात्र खटिइरहेको छ । यस अवधिमा तीन हजार ७५७ वटा सीमा स्तम्भहरूको निर्माण, मर्मतसम्भार तथा रङरोगन गरिएको छ । सीमा सुरक्षामा नागरिकहरूसँगको सहकार्यलाई आत्मसात् गर्दै ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ सञ्चालन गरिएको प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमाका स्टिप म्याप १८२ थान नक्सा नापी विभागबाट प्राप्त गरी सीमा सुरक्षा विभागमा ‘बोर्डर रिसोर्स एन्ड रिसर्च सेन्टर’ (बिआरआरसी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा ११० स्थानमा ३८८ वटा सिसीक्यामेरा जडान गरी निगरानी बढाइएको र ३२ वटा थप बोर्डर आउटपोष्ट (बिओपी)हरू स्थापना गरिएको छ । ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्मलाई स्तरोन्नति गरी स्थायी संरचनामा लगिएको र सीमा सुरक्षार्थ थप ३२ वटा बिओपीको स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पछिल्ला चार वर्षमा सशस्त्र प्रहरी सङ्गठनको कामकारबाहीलाई व्यवस्थित बनाउन १०९ वटा विभिन्न कार्यविधि, निर्देशिका, मापदण्ड, स्थायी आदेश र कार्ययोजना तयार गरी लागू भएको छ । प्रहरी कर्मचारीको वृत्तिविकासका लागि नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी विभिन्न तहका १७ हजार १६३ कर्मचारीको पदोन्नति गरिएको, सशस्त्र प्रहरी कर्मचारीको सरुवा, बढुवा र पदस्थापनालाई थप पारदर्शी पूर्वानुमानयोग्य बनाउन सूची प्रकाशन गर्ने कार्यको थालनी भएको छ । आर्थिक पारदर्शिता अनुगमनका लागि विशेष युनिटको समेत स्थापना गरिएको छ ।

सकल दर्जाको मनोबल अभिवृद्धिका लागि यस अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने ४५ जना सशस्त्र प्रहरी कर्मचारीको विशेष तथा ७७ जना सशस्त्र प्रहरी कर्मचारीको अनिवार्य अवकाश विशेष बढुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल २०७९ वैशाख १९ गते सङ्गठन प्रमुखमा नियुक्त हुनुभएको थियो । उहाँ चारवर्षे कार्यकाल पूरा गरी भोलिदेखि अवकाशमा जाँदै हुनुहुन्छ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महारनिरीक्षक नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ ।

‘एक सिपाही एक सीप नीति’अनुरूप दुई हजार २१९ जनालाई विभिन्न सीपमूलक तालिम दिइएको, विपद् व्यवस्थापनका लागि १३४ जना गोताखोर तयार गरी सबै प्रदेशहरूमा परिचालन गरिएको छ । प्रतिविद्रोह तथा प्रतिआतङ्कवादसम्बन्धी विशिष्टीकृत तालिमहरू आफ्नै सङ्गठनभित्र सञ्चालन गर्न थालिएको छ । मनाङस्थित शिक्षालयमा ‘हाइ अल्टिच्युड’ तालिम सञ्चालन गरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गरिएको छ ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन उद्देश्यका साथ नौ स्थानमा नयाँ विपद् व्यवस्थापन बेसहरू थप गरिएको छ । विपद् राहत कोषको स्थापना गरिएको छ । विपद् उद्धार सामग्रीको थप व्यवस्था र मनसुनलक्षित उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस अवधिमा कल्याणकारी कार्यतर्फ स्थायी युनिटहरूमा शिशु स्याहार केन्द्र स्थापना, वीरगतिप्राप्त कर्मचारीका परिवार र अवकाशप्राप्त कर्मचारीलाई परिचयपत्र वितरण सुरु गरिएको छ । कर्मचारीका अपाङ्ग सन्ततिलाई राहत भत्ता, आवास कर्जाको दायरामा वृद्धि गरिएको छ । नेपाल एपिएफ अस्पताललाई ११० शय्याबाट ३०० शय्यामा विस्तारका लागि स्वीकृति लिनुका साथै ‘एपिएफ नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स’को स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

अस्पतालमा डायलाइसिस, प्रसूति सेवा र अनकोलोजी (क्यान्सर) युनिट जस्ता सेवाहरू थप गरिएको छ । अमर सशस्त्र प्रहरीका ५६ स्थानमा शिलालेख स्थापना, कर्मचारीका अपाङ्ग सन्ततिहरूलाई मासिक आर्थिक राहतको व्यवस्था र तल्लो दर्जाका कर्मचारीलाई लक्षित गरी आवास कर्जा र सामाजिक व्यवहार कर्जाहरूको सुरुआत गरिएको छ ।

‘डिजिटल’ बोर्डर अवधारणालाई कार्यान्वयनमा लैजाने योजना पेस गरिएको छ । भारत र चीनस्थित नेपाली राजदूतावासमा सशस्त्र प्रहरीको प्रतिनिधि राख्ने र सीमा व्यवस्थापन प्राधिकरण गठन गर्नेजस्ता महत्त्वपूर्ण योजना पाइप लाइनमा रहेको सशस्त्र प्रहरीले जनाएको छ । देशभरका छ हजार ७४३ वडामा एक लाख ६८ हजार ९५६ जना विपद् सूचकहरूको रोस्टर तयार गरी स्थानीयस्तरमै उद्धार संयन्त्र बलियो बनाउने कार्य भइरहेको छ ।

जापान–कोरिया पठाउने बहानामा ३ करोडभन्दा बढी ठगी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौँ, १८ वैशाख : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइदिने भनेर ४५ जनाबाट रु तीन करोड १४ लाख ठगेको अभियोगमा मिति २०८३ वैशाख १७ गते बिहीबार पक्राउ गरिएको हो ।

तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्रीलाई पक्राउ गरिएको हो । अभियुक्त लिम्बू र मगरले जापानको प्रलोभनमा पारेर ११ जनाबाट रु एक करोड दुई लाख उठाएका थिए ।

त्यसैगरी, थापाले कोरिया पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट एक रु करोड ५० लाख, शेर्पाले फ्रान्सको प्रलोभनमा पारेर पाँच जनाबाट रु २८ लाख र गौतमले एक जनाबाट रु २७ लाख असुलेका जनाइएको छ ।

चैते धानखेती प्रवर्द्धनार्थ किसानलाई ८५ प्रतिशतसम्म अनुदान

तनहुँ। कृषि विकास कार्यालयले चैतेधान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशतसम्म अनुदान प्रदान गरेको छ ।किसानले चैतेधान लगाउन छाडेपछि यसको संरक्षणका लागि व्यावसायिक चैते धान खेती प्रवर्द्धनमा जोड दिइएको उक्त कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले राससलाई बताउनुभयो ।

उहाँले भन्नुभयो, “अनुदान पाएपछि किसानले उत्साहित भएर चैतधान रोपेका छन् । चैतेधानको बीउसँगै सिँचाइको व्यवस्था नभएका स्थानमा कुलो खन्नसमेत अनुदान दिइएको छ ।”

यो वर्ष तीन हजार ८०० रोपनीमा चैतेधानखेती गरिएको छ । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा व्यावसायिक रूपमा चैतेधानखेती भएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली ज्यापू प्रतिकिलो रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १८०, टाटेसिमी प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४२०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १२०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३२०, सेलरी प्रतिकिलो रु १६०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जन रु २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ५०० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५५, माछे खुर्सानी प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २२५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो ।

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउन, प्राविधिक र प्रशासनिक परामर्श सुरु गरेको छ ।

नदी किनाराका अव्यवस्थित बस्ती हटाइसकेपछि जग्गा संरक्षणको कार्य अघि बढाएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । कामपाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदनअनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि प्राविधिक तथा प्रशासनिक परामर्श थालिएको कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ ।

स्वीकृत डिपिआरअनुसार नदी २०२१ सालको नापी नक्साबमोजिम हुनुपर्नेमा नदीले बहावले स्थान परिवर्तन गरेर पश्चिमतर्फ सरेको छ । यसले गर्दा काठमाडौँतर्फको करिब १०० रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौँतर्फ सरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा अध्ययन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले, कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गरेर डिपिआरबमोजिमको बहाव क्षेत्र कायम गराउने काम कामपाको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

“नदी किनारामा अव्यवस्थित बस्ती भएका कारण यसअघि सञ्चालन गर्न नसकिएका काम तत्काल अगाडि बढाएर आयोजनालाई चाँडो सम्पन्न गराउनुपर्ने बताइएको छ । यसका लागि लागत अनुमान तयार पार्ने, जनशक्ति परिचालन योजना बनाउने र योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ”, कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “बस्तीबाट आफूलाई भूमिहीन भनेर विवरण टिपाउनुभएका व्यक्तिहरूको उचित व्यवस्थापन, बस्ती खाली गराइएका ठाउँको निर्माणजन्य सामग्रीको व्यवस्थापन र ती स्थानलाई बारबेर गरेर संरक्षण गर्ने कामलाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुहोला ।”

मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार आयोजना क्षेत्रभित्र पर्ने नदीको करिब १.५ किलोमिटर बहाव क्षेत्रमध्ये ५७५ मिटर साविक अवस्थामा छ । बाँकी नदी खण्डमा बहाव परिवर्तन भएको छ । भक्तपुरतर्फ जग्गा सरेको ठाउँमा पक्की घरटहरा तथा अस्थायी संरचना थिए । त्यस स्थानबाट मानवीय बसोबास खाली गराएर संरचना भत्काएपछि रिप्लटिङको प्रक्रिया अगाडि बढाइसकेका छौँ ।”

आजदेखि काठमाडौँ उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै

काठमाडौँ। सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ ।पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो ।

उक्त प्रक्रियालाई व्यवस्थित बनाउन बिहीबार सहरी मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो । सो बैठकले बस्ती स्थानान्तरणको आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको थियो ।

मन्त्रालयका अनुसार जोखिमयुक्त बस्ती स्थान्तरणलाई सहज बनाउन त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रङ्गशाला पुर्याइनेछ । रङ्गशालामा तीनवटा सहायता कक्ष सञ्चालन गरिनेछन् । पहिलो कक्षमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रोमा सुकुम्वासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्याङ्क सङ्कलन गरिनेछ ।

त्यसैगरी, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामानजस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायले सहयोग गर्नेछन् । आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन पनि बसको व्यवस्था गरिएको छ ।

मन्त्रालयले तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवाको व्यवस्थासमेत गरेको छ । यी सेवा प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा उपलब्ध हुनेछन् ।सङ्कलित विवरणका आधारमा सुकुम्वासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ । पहिचान हुन नसकेका व्यक्तिहरूलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ । पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने छ ।

विगतमा नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको छानबिन गरिने र दोषी ठहरिए कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा आज साँझसम्म खाली गर्न आग्रह गरेको थियो ।

विपद्को उच्च जोखिममा रहेका ती बस्तीहरू वैशाख १८ गते बिहान ७ः०० बजेदेखि खाली गर्ने कार्य सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले राससलाई जानकारी दिनुभयो ।

आज बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँने गरिन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ,