निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन प्रशासन सक्रिय
झापा । झापाका निजी अस्पतालमा सरकारले तोकेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा अस्पताल सञ्चालक तथा सरोकारवालाबीच छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलको पहलमा जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको छलफलमा गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिइयो । सेवा कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने तथा लक्षित वर्गको पहिचानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार जिल्लामा अस्पतालको स्वीकृत श्यया सङ्ख्याको १० प्रतिशत श्यया गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलगायत लक्षित वर्गका लागि छुट्याएर निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले निःशुल्क स्वास्थ्य सेवा वास्तविक लक्षित वर्गसम्म सहज रूपमा पुर्याउने र सेवा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्ने उद्देश्यले छलफल आयोजना गरिएको बताए । “सरकारले तोकेको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नु सबैको दायित्व हो । यसबाट संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनमा सहयोग पुग्नाका साथै नागरिकको अधिकार संस्थागत हुन थप टेवा पुग्ने छ,” उनले भने, “लक्षित वर्गले सहज रूपमा सेवा पाउने वातावरण बनाउन स्थानीय तह, अस्पताल र प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक छ ।”
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार झापामा रहेका ४० वटा निजी अस्पतालमध्ये हालसम्म १७ वटा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको ‘निःशुल्क स्वास्थ्य पोर्टल’मा आबद्ध भएका छन् । बाँकी अस्पताललाई पोर्टलमा आबद्ध हुन छलफलबाट प्रतिबद्ध गराइएको उनले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा झापाका निजी अस्पतालबाट आंशिक रूपमा तीन हजार ६०४ जनाले निःशुल्क सेवा लिएका छन् । ती सेवाको मूल्य रु २७ लाख २५ हजार ९७६ रहेको छ ।
यस्तै, पूर्ण रूपमा निःशुल्क सेवा लिने १५८ जनाको उपचारमा रु चार लाख सात हजार ९३० खर्च भएको उनले जानकारी दिए।
