`

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ ।सरकारको आर्थिक वर्ष २०८३ / ०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो ।

सहकारी संस्थाहरूको अनुगमन, सुपरीवेक्षण र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।
सार्वजनिक स्थलहरूमा सिसीटिभी क्यामरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ सिस्टम विकास गरिने बजेटमा उल्लेख छ ।

लागुऔषध दुरूपयोग, मानव बेचबिखन र साइबर अपराध न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सञ्चालन गर्ने बजेटमा भनिएको छ । बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, विपद् स्वयंसेवक परिचालन र विपद् बीमा कार्यक्रम सञ्चालन गरिने मन्त्री तामाङले बताए ।सवारी साधनको चाप बढी हुने स्थानहरूमा ट्राफिक लाइट जडान र प्रदेशका मुख्य नाकाहरूमा स्मार्ट चेकपोस्ट स्थापना गरिने सरकारले जनाएको छ ।

पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्नु गलत भन्दै सरकारमाथि खनिए प्रदीप ज्ञवाली

काठमाडौं – एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमार्फत सरकारको शैली गलत भएको टिप्पणी गरेका छन् । उनले पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्नु गलत भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुन सम्मत् सामना गर्ने र न्यायालयको फैसलालाई सहज ढङ्गले स्वीकार गर्ने नेकपा (एमाले) को स्थापित मान्यता हो । नेकपा ( एमाले) ले यस मान्यतालाई अवलम्बन गर्दै आएको छ ।’

‘पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित विधि हुनु पर्ने हो ।

तर पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ ।राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन ।’

फिफा विश्वकप : सेनेगलमाथि रोमाञ्चक जित निकाल्दै नर्वे नकाउट चरणमा

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान भएको खेलमा नर्वेले सानदार जित निकालेको छ । खेलमा एर्लिङ हालान्ड चम्किदा नर्वेले सेनेगललाई ३-२ गोलले हराउन सफल भयो । खेलमा हालान्डले २ गोल गरेका हुन् ।

खेलमा नर्वेको लागि एर्लिङ हालान्डले २ गोल गर्दा मार्कस पेडरसनले १ गोल गरे। सेनेगलका लागि इस्माइल सार्रले २ गोल फर्काए। जितसँगै नर्वे नकाउट चरणमा पुगेको छ ।

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै समस्या हुन्छ कि हुँदैन ? क्यान्सर रोग निको भएपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन ? क्यान्सर निको भएपछि पहिला जस्तै जीवन जिउँन सकिन्छ ?

सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको क्यान्सर रोगसम्बन्धी एकदिने सचेतना एवं उत्प्रेरणा कार्यक्रममा क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका व्यक्तिहरूले यी र यस्ता धेरै प्रश्नहरु क्यान्सर रोग विशेषज्ञसमक्ष राखे । नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको समन्वयमा सम्पन्न कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा उज्ज्वल चालिसेसँग क्यान्सर रोगसँग सङ्घर्ष गरिरहेका, क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका र हाल किमोथेरापी तथा अन्य उपचार प्रक्रियामा रहेका बिरामीले पीडादायक भोगाइ राखेका थिए।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले क्यान्सर रोगसँग सङ्घर्ष गरी जीवन जितेका व्यक्तिहरू जीवन जिउन प्ररेणा, उपचाररत बिरामीमा आशा एवं आत्मविश्वास जगाउने, सर्भाइभरहरूबीच अनुभव आदानप्रदान गराउने तथा परिवार, स्वास्थ्य संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्यको वातावरण निर्माण गर्न कार्यक्रम सफल भएको बताए ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेले क्यान्सरका बिरामीबाट आएका प्रश्नको जवाफ दिँदै क्यान्सर रोग पत्ता लागेपछि उपचार गरे निको हुने बताउँदै चौथो चरणमा पुगेमात्रै समस्या आउने बताए । उनले क्यान्सर निको भएपछि पुरानै जीवनमा फर्केर सहज जीवनयापन गर्नसक्ने बताउँदै रोग लागेपछि नआत्तिन, नियमित उपचार र परीक्षणमा रहनुपर्ने बताए । उनले क्यान्सर निको भएपछि गर्भधारण गर्न र बच्चा जन्माउन सकिने बताउँदै क्यान्सर रोगबाट गाउँगाउँमा सचेतना प्रवाह गर्न आवश्यक भएको बताए ।

कार्यक्रमका सभापति एवं नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले क्यान्सर रोगलाई केबल शारीरिक रोगका रूपमा मात्र नभई मानसिक, सामाजिक र आर्थिक पक्षसँग पनि जोडिएको विषयका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याए ।

स्वास्थ्य शाखा प्रमुख वसन्त चौलागाईंले सूर्यविनायक नगरपालिकाको अभिलेखअनुसार हाल करिब २४० क्यान्सरबाट प्रभावित व्यक्ति विभिन्न प्रकारका सहायता तथा सेवाबाट लाभान्वित हुँदै आएका बताए । कार्यक्रममा नगरपालिकाभित्र क्यान्सर रोगको उपचारमा रहेका र क्यान्सर रोग निको भएकाहरुको सहभागिता थियो ।

एम्बाप्पे चम्किँदा इराकमाथि फ्रान्सको सानदार जित

काठमाडौं – फिफा विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको खेलमा इराकमाथि फ्रान्सले सानदार जित निकालेको छ । खेलको १४ औँ र ५४ औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गरे । त्यसपछि ठूलो पानी परेपछि खेल २ घण्टा रोकिएको थियो । त्यसपछि दोस्रो हाफको ६६ औँ मिनेटमा फ्रान्सकै उस्मान डेम्बेलेले गोल गरे ।

यससँगै साबिक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रबेश गरेको छ । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको थियो । फ्रान्स २ खेलमा ६ अङ्क बनाएर नकआउट चरणमा पुगेको हो ।

सिदिङ्वा गाउँपालिकाले ५० युनिटसम्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा अध्यक्ष मानबहादुर राईले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । विद्युत् महसुलमा राहत दिने कार्यक्रमले न्यून तथा मध्यम आय भएका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाका सूचना अधिकारी रुद्र बेघाका अनुसार पालिकाभित्र रहेका दुई हजार ५०० भन्दा बढी घरधुरीमध्ये मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने परिवार उक्त कार्यक्रमबाट लाभान्वित हुनेछन् । पचास युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको हकमा भने यो सुविधा लागू नहुने उनले जानकारी दिए ।

अध्यक्ष राईले ‘एक घर एक करेसाबारी, प्राङ्गारिक तरकारी’ नारासहित कृषिमा आत्मनिर्भरता बढाउने, किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादन वृद्धि गर्ने विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरे । ‘स्वस्थ माटो, स्वस्थ उत्पादन’ स्वस्थ भान्सा, स्वस्थ जीवन कार्यक्रमलाई प्रभावकारी बनाउन ल्याब सेवालाई निरन्तरता, प्राङ्गारिक मल उत्पादन र प्रयोग गर्नेलाई प्रोत्साहन गर्नुका साथै पशुपालनमा अनुदानको व्यवस्था गर्ने पनि उनको भनाइ छ ।

यसैबिच, गाउँपालिकाले आगामी आवका लागि रु ५३ करोड आठ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्णकुमारी कँडरियाले बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा बजेटमा विद्युत् महसुलमा अनुदान, कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवर्द्धन तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा

किएभ। युक्रेनले सोमबार रुसी आक्रमणविरुद्ध बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको समर्थनको प्रशंसा गरेको छ । प्रधानमन्त्री स्टार्मरले पदबाट राजिनामा दिने घोषणा सोमबार गर्नुभएको छ ।

उता रूसले भने प्रधानमन्त्री स्टार्मरको राजीनामाको घोषणालाई उल्लेख गर्दै उहाँको स्थानमा जोसुकै आए पनि कुनै परिवर्तन नहुने बताएको छ ।रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि लन्डन युक्रेनको सबैभन्दा दृढ समर्थकमध्ये एक रहँदै आएको छ । त्यसयता बेलायतका चार जना प्रधानमन्त्रीले हतियार र आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

“हाम्रो सहकार्य र तपाईंको समर्थन र संयुक्त निर्णयहरूका लागि प्रधानमन्त्री स्टार्मरलाई धन्यवाद । यसले हाम्रो युरोप र जीवनको रक्षालाई बलियो बनाउन मद्दत गरेको छ,” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समा लेख्नुभएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दैनिक ब्रिफिङमा स्टार्मरको रेकर्डको आलोचना गर्दै भन्नुभयो, “डाउनिङ स्ट्रिटको नेतृत्व जोसुकैले लिएपनि रूसको हेराइमा खासै परिवर्तन हुने देखिँदैन।”
“रुस–बेलायत सम्बन्धको हिसाबले स्टार्मर कुनै विशेष रूपमा अलग देखिनुभएन,” उहाँले एएफपीलगायत पत्रकारहरूसँग भन्नुभयो ।

“हालको बेलायतमा राजनीतिक दृश्यमा कसैले पनि प्रधानमन्त्री स्टार्मरभन्दा फरक अडान लिनेछन् भन्ने सम्भावना निकै कम छ।”सन् २०२४ देखि सत्तामा रहेका स्टार्मरले सोमबार राजिनामा घोषणा गर्नुभएको छ । उहाँ महिनौँदेखि नीतिगत रूपमा पछि हटेको भन्दै जनतामा गहिरो असन्तुष्टि र आफ्नै पार्टीभित्र घट्दो समर्थनका कारण राजिनामा दिने दबाबमा पर्नुभएको थियो ।

पाँच प्रदेशमा मनसुन फैलियो, विभिन्न क्षेत्रमा भारी वर्षा

काठमाडौँ । सोमबार मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सोमबारदेखि पाँच प्रदेशमा मनसुन फैलिएको र सोही मनसुनी वायुको प्रभाव भएका क्षेत्रमा बढी वर्षा भएको छ ।

सोमबार कोशी, बागमती, मधेस प्रदेशमा पुरै तथा गण्डकी प्रदेशका अधिकांश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन प्रवेश भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा भारी वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म बढी वर्षा भएको जानकारी दिए ।

सोमबार रातीको अभिलेख अनुसार गएको २४ घण्टामा कास्कीमा ९८.२ र सुनसरीमा ८८.४ मिलिलिटर वर्षा भएको छ । यस्तै स्याङजा, लमजुङ, गोरखा, मकवानपुर, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङमा ५०देखि ६६ मिलिलिटरसम्म वर्षा भएको छ ।

राति कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना विभागले साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ । मङ्गलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने बताइएको छ ।

मङ्गलबार देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्ने छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने बताइएको छ । हाल नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो । अहिले लमजुङ, स्याङ्जा, कास्की, चितवन, नवलपरासीपूर्वलगायत क्षेत्रमा पानी परिरहेको छ ।

विष्णु पौडेल पक्राउपछि एमाले आक्रोशित, ओलीले दिए सरकारलाई चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र भएको बताएका छन् ।

अध्यक्ष ओलीले भने – ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’

अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यपालिका हुँदाहुँदै विधिको शासन र सामान्य कानुनी प्रक्रियाको धज्जी उडाएर गिरफ्तारी गरिएको उल्लेख गरे । सोधपुछका अन्य विकल्प हुँदाहुँदै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो हर्कत गरेको उनको भनाइ छ ।

‘जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्त्याइएको छ । सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्टु र सस्तो राजनीतिक खपतका लागि बदनियत पूर्वक गिरफ्तार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको भन्दै ओलीले यस्ता हर्कत तत्काल रोक्न चेतावनी दिए । उनले विपक्षी दलमाथिको प्रहार बन्द नभए त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिए ।

 

रास्वपाको बन्दसत्र आजदेखि, प्रतिनिधि परिचयपत्र वितरण सुरु

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ ।यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताउनुभयो ।

महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उहाँले केही ढिलाइ भए पनि समस्या नआउने गरी काम गरिएको जानकारी दिनुभयो ।

उहाँले सोमबार साँझ ७ः०० बजेदेखि नै कार्ड वितरण थालिएको जानकारी दिनुभयो । राति छपाइ भएका कार्ड प्रदेशमार्फत अहिले बिहानदेखि वितरण थालिने छ । सात प्रदेश र समायोजन एवं प्रवाषका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।

कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।

कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । सोपश्चात् पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ ।

विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । सोपश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ ।

आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

विश्वकप फुटबल : अर्जेन्टिना नकआउट चरणमा प्रवेश, २ गोल गरेसँगै मेस्सी बने सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौँ – विश्वकप फुटबल २०२६ को आज बिहान भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतले अष्ट्रियालाई हराउदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलमा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रोे हाफको अतिरिक्त समयमा अर्को गोल गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २२ रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १६ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ३९ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

भरतपुर महानगरद्वारा पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत, क्रिकेट रङ्गशाला निर्माणका लागि १४ करोड छुट्याइयो

भरतपुर। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु पाँच अर्ब ५१ करोड ७० लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ ।महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आज उक्त बजेट सार्वजनिक गरे ।

महानगरले आगामी आवको बजेटमा अन्तर सरकार वित्तीय हस्तान्तरणबाट (सङ्घ र प्रदेशतर्फ) रु दुई अर्ब १७ करोड ७३ लाख ९८ हजार, सङ्घ राजश्व बाँडफाँटबाट रु ३३ करोड १२ लाख ६४ हजार, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु १३ करोड ४० लाख ६१ हजार, नगर विकास कोषबाट रु चार करोड, जनसहभागिताबाट रु तीन करोड, बैंक मौज्दात रु ७४ करोड ५० लाख, सडक बोर्ड नेपालबाट रु एक करोड ९३ लाख रहने अनुमान गरेको छ । महानगरले चालु आर्थिक वर्षको बजेट रु पाँच अर्ब २२ करोडको बजेट ल्याएको थियो ।

नगरसभामा नीति तथा कार्यक्रम पेस गर्दै कार्यवाहक नगरप्रमुख अधिकारीले चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम हुँदा विकास निर्माण सुस्ताएको र राजश्व सङ्कलनको लक्ष्यमा केही धक्का पुगेको बताए। चालु आवमा महानगरले आन्तरिक आयतर्फ रु एक अर्ब ८० करोडको लक्ष्य राखेको छ ।

महानगरले सहरी पूर्वाधार, कृषि तथा पशुविकास, शिक्षा, स्वास्थ्य र खानेपानीमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । बजेटले ‘दिगो पूर्वाधार, समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात गरेको नगरप्रमुख अधिकारीले बताए ।

सार्वजनिक निजी साझेदारीमा फोहर मैला प्रशोधन केन्द्र स्थापना, निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरलाई छेकबार लगाउन फाउण्डेशनसहित मेसजाली निर्माण, आयुर्वेद अस्पताल निर्माण र भरतपुरलाई साइकल लेन बनाउने कामलाई जारी राख्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै महानगरले रामपुरको निर्माणधीन क्रिकेट रङ्गशाला निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याएको छ ।

चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने

ब्रसेल्स। युरोपेली सङ्घ (इयू) व्यापार प्रमुख मारोस सेफ्कोभिचले चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्टाओसँग ब्रसेल्समा जुन २९ मा वार्ता गर्ने कार्यक्रम तय भएको इयूले जनाएको छ।

इयूले संवादमार्फत व्यापारिक तनाव सम्बोधन गर्न खोजिरहेको स्पष्ट पार्दै इयू व्यापार प्रवक्ताले सोमबार एएफपीसँग वार्ताको कार्यक्रमबारे बताएका हुन्

“म पुष्टि गर्न सक्छु कि आयुक्त सेफ्कोभिचले जुन २९ सोमबार ब्रसेल्समा मन्त्री वाङलाई स्वागत गर्दै बैठक गर्नेछन्,” इयू व्यापार प्रवक्ता ओलोफ गिलले भने

युरोपेली सङ्घ (इयू) ले पछिल्ला केही हप्ताहरूमा चीनसँगको २७ देशीय समूहको व्यापार असन्तुलन सम्बोधन गर्नुपर्ने विषयमा कडा धारणा अघि बढाएको छ ।

गत वर्ष इयूको व्यापार घाटा करिब ३६० अर्ब युरो (४१२ अर्ब अमेरिकी डलर) पुगेको थियो, अर्थात् इयूले गतबर्ष चीनबाट निकै बढी आयात गरेको तर निर्यात निकै कम गरेको थियो ।

गत हप्ता इयूका नेताहरूले ब्रसेल्सले दुई पक्षीय रणनीति अपनाउनुपर्ने सहमति जनाएका थिए ।

व्यापार नीति हेर्ने युरोपेली आयोगलाई उनीहरूले चीनसँग संवाद गर्नुका साथै चिनियाँ निर्यातको वृद्धिलाई सामना गर्न बलियो औजारहरू विकास गर्न निर्देशन दिएका छन्।

आयोगका मुख्य प्रवक्ता पाउला पिन्होले इयूले एउटा यस्तो संयन्त्रमा काम गरिरहेको बताउनभयो, जसको ‘उद्देश्य इयू सदस्य राष्ट्रहरूबीच एकताको भावना विकास गरी व्यापार असन्तुलन र अनुचित अभ्यासलाई प्रतिकार गर्नु’ हो,

नवलपुरमा इभी हाइस पल्टिँदा आठ जना घाइते, दुईको अवस्था गम्भीर

नवलपुर । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालको कमाण्डमा खटिएको १५ सदस्यीय टोलीले हाइसमा सवार नौ जनामध्ये आठ जना घाइतेको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको जनाएको छ । दुर्घटनामा कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ निवासी २७ वर्षीया श्रद्धा अग्रवाल र १५ महिनाका नौसद रिसिङ अग्रवाल गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक बरालले जानकारी दिए ।

उनका अनुसार सवारी चालक कपिलवस्तुको मायादेवी गाउँपालिका-२ निवासी २४ वर्षीय विष्णु घर्ती, कृष्णनगर नगरपालिका-२ का २६ वर्षीय ऋषभ अग्रवाल, २५ वर्षीया रिद्धिसिंह सिंहनिया, २३ वर्षीया सेरी सिंह, २७ वर्षीया शिवानी अग्रवाल र ३१ वर्षीय अरविन्द अग्रवाल घाइते भएका छन् । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट प्रहरीको टोली खटिई दुर्घटनाग्रस्त सवारीसाधन नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बारामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । मृतकमध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ ।

प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीतपुरसिमरा-१ पथलैया घर भई हाल काठमाडौँ बसोबास गर्ने २० वर्षीय सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन् । पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए ।

दुर्घटनामा गम्भीर भएका तीनै जनालाई अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये जोशी र अधिकारीको शव बयोधा अस्पतालमा छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ ।

मुक्तिनाथ आकर्षणले मुस्ताङमा विदेशी पर्यटकको संख्या ह्वात्तै बढ्यो

मुस्ताङ । मुस्ताङ आउने विदेशी पर्यटक बढेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ८१ दशमलव ८४ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयका अनुसार चालु आवको जेठसम्म मुस्ताङमा दुई लाख ४४ हजार ८८० विदेशी पर्यटकले भ्रमण गरेका छन् भने गत आवको सोही अवधिमा एक लाख ३४ हजार ६६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

यसवर्ष भारतीय पर्यटकको आगमन अत्यधिक रहेको जनाइएको छ । छिमेकी मुलुक भारतमा चर्को गर्मी छल्न तथा धार्मिक हिसाबले पनि मुक्तिनाथ आउनेहरु बढेकाले मुस्ताङमा विदेश पर्यटक आगमन बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार चालु आवको जेठमा मात्रै ९० हजार ९३९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । जसमध्ये ९० प्रतिशत बढी भारतीय पर्यटक नै रहेको प्रहरी निरीक्षक महतले जानकारी दिए । गतवर्षको जेठमा २४ हजार ३७२ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०८०/८१ मा ९९ हजार ३९९ जना र आव २०८१/८२ मा एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए ।

बाहुनडाँगीमा हात्ती आतंक बढेपछि सशस्त्र प्रहरीको स्पेसल टास्कफोर्स परिचालन

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले थप जनशक्ति परिचालन गरेको छ । भारतबाट दर्जनौँको सङ्ख्यामा दिनहुँ भित्रिने जङ्गली हात्तीको बथानले क्षति पुर्‍याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यका साथ १० जना सुरक्षाकर्मी रहेको ‘स्पेसल टास्कफोर्स’ परिचालन गरिएको हो ।

‘स्पेशल टास्कफोर्स’ बाहुनडाँगी पठाइसकिएको बताउँदै सशस्त्र प्रहरी बल नेपालको नम्बर २ गणका सूचना अधिकारी सुमन पोखरेलले बाहुनडाँगी सुरक्षा पोस्टमा यसअघिदेखि २० जना सुरक्षाकर्मी रहँदै आएको जानकारी दिए । उनले भने, “अहिले हात्ती नियन्त्रण गर्न भनेर स्पेसल टास्कफोर्सअन्तर्गत १० जना सुरक्षाकर्मी थप गरिएको हो ।”

मेचीनगर नगरपालिका–१ र ४ स्थित बाहुनडाँगी क्षेत्रमा भारतको आसाम र पश्चिम बङ्गालको वन्यजन्तु आरक्षण रहेको जङ्गलबाट नेपालमा हात्तीको बथान भित्रिने गरेका छन् । नौ दिनअघि हात्तीले मेचीनगर–४ की ६२ वर्षीय पदमा पौडेललाई घरमै आक्रमण गर्दा उनको मृत्यु भएको थियो भने केही महिनायता व्यापक मात्रामा अन्न र फलफूल बालीमा क्षति पुर्‍याइरहेको छ ।

हात्तीका कारण स्थानीयवासीले असुरक्षा महसुस गरेपछि झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर स्पेशल टास्कफोर्स खटाउन माग गरेकी थिइन् । सांसद डाँगीले बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि सुरक्षाकर्मीको स्पेशल टास्कफोर्स परिचालन हुने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षाकर्मी संलग्न स्पेसल टास्कफोर्स परिचालन गरिने बताए । उनले केही सुरक्षाकर्मी हात्ती नियन्त्रणमा परिचालन भइसकेको जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको बाहुनडाँगी क्षेत्रमा सुरक्षा चौकी छन् । बाहुनडाँगी बजार, तिरिङ र नकलबन्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकी छ ।

स्पेसल टास्कफोर्समा परिचालित सुरक्षाकर्मी स्थानीयवासीको सुरक्षार्थ राति र दिउँसो गस्ती गर्ने, हात्ती धपाउने र आवश्यकताअनुसार जुनसुकै बेला पनि परिचालन हुने सशस्त्र प्रहरी बल नम्बर २ गणका सूचना अधिकारी पोखरेलले बताए । हात्ती नियन्त्रणका लागि परिचालित प्रहरीको टोली बाहुनडाँगीस्थित ब्यारेकमा बसेको छ । “अहिले खटिएकाहरूका लागि छुट्टै ब्यारेकको व्यवस्था छैन”, उनले भने, “बाहुनडाँगी ब्यारेकमा बस्ने व्यवस्था गरेका छौँ ।”

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले बाहुनडाँगीमा पहिल्यैदेखि नेपाल प्रहरीको जनशक्ति तैनाथ रहेको जनाउँदै हात्ती नियन्त्रणका लागि भनेर जनशक्ति थप नगरिएको बताए । मेचीनगर–४ का सन्तोष सुवेदीले बाहुनडाँगी क्षेत्रमा हात्ती नियन्त्रणका लागि १० जना थप जनशक्ति आइपुगेको जनाउँदै उनीहरूले स्थानीय युवाको द्रूत परिचालन टोलीसँग समन्वय गरिरहेको बताए ।

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली। केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बिदा दिने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो ।

गर्मीका कारण विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकाले त्यसको प्रतिकूल असरबाट बच्न र सुरक्षित रहन धनगढीभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा यही असार ९ गतेदेखि १२ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय भएको उपमहानगरपालिका, शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

गर्मीका कारण विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले वर्षे तथा हिउँदे बिदाबाट मिलान हुने गरी बिदा व्यवस्था गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

साथै, उपमहानगरले शिक्षक, विद्यार्थी र अभिभावकलाई गर्मी तथा लु (तातो हावा) बाट बच्नका लागि सावधानीका उपायहरू अवलम्बन गर्नुहुन पनि अनुरोध गरेको छ ।

रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ ।मंगलबार पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचना अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र आजका लागि स्थगित गरिएको हो।

सूचनामा आज साँझ ७ बजेदेखि प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु गरिने तथा प्रक्रियामा रहेका कार्डहरू भोलि बिहान ७ बजेदेखि वितरण गरिने उल्लेख गरिएको छ। प्रतिनिधि कार्ड वितरण सम्पन्न भएपछि बन्दसत्रको कार्यक्रम सुरु गरिने जनाइएको छ।

पार्टीले महाधिवेशन आफ्नो सर्वोच्च निकाय भएकाले प्रतिनिधि व्यवस्थापन प्रक्रियामा कुनै विवाद नआओस् भन्नेमा प्रतिबद्ध रहेको जनाएको छ।

यसबाट महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै धैर्यता, संयमता र सहयोगका लागि सम्पूर्णलाई आग्रह गरेको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट रात्रिबसमा चढाएर काठमाडौं ल्याइदै

काठमाडौं – आज सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।   पौडेललाई सुर्खेतबाट रात्रिबसमा चढाएर काठमाडौं ल्याउन लागिएको हो ।

सोमबार वीरेन्द्रनगरको शुभ होटलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको संख्यामा रहेका बिशेष प्रहरीको टोलीले पौडेललाई नियन्त्रणमा लिएको जनाइएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ ।

मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ ।

केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ताउपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने मूल्य सूचकाङ्क तथा मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

राष्ट्रिय तथ्याङ्क परिषद्को आजको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै उक्त जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी एक वर्षसम्म तथ्याङ्क सङ्कलन, प्रशोधन तथा प्रकाशनका लागि नेपाल राष्ट्र बैंकलाई सहयोग गर्नेछ ।

तथ्याङ्क कार्यालयका कर्मचारी, प्राविधिक जनशक्ति एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्याङ्क कार्यालयमा हस्तान्तरण हुनेछ ।

लामो समयसम्म उपभोक्ता मूल्य सूचकाङ्कको काम राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेपनि पछि केन्द्रीय बैंकले जिम्मा लिएर प्रकाशन गर्दै आएको छ । केन्द्रीय बैंकले हरेक महिना विवरण सार्वजनिक गर्दै आएको छ ।

प्रमुख तथ्याङ्क अधिकारी पोख्रेलले महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै तथ्याङ्कको दोहोरापना हटाउन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।

“हामीले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छौँ, यसले हामीलाई थप सबल बनाउनेछ भने तथ्याङ्क कार्यालयलाई पनि काम उपलब्ध हुनेछ”, पोख्रेलले भने।

संरचनागत सुधार, स्रोत तथा साधनको उपलब्धतालाई समेत ख्याल गरेर सङ्क्रमणकालीन रुपमा एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्याङ्क कार्यालयले जिम्मेवारी लिने उहाँको भनाइ छ ।

सात दिनमा तथ्याङ्क सङ्कलन, प्रशोधन तथा महिना दिनमा प्रकाशन गर्नुपर्ने भएकाले उपभोक्ता मूल्य सूचकांकको काम आफैमा चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे ।

हाल तथ्याङ्क कार्यालयले त्रैमासिक रुपमा उपभोक्ता मूल्य सूचकाङ्कको काम गर्दै आएको थियो। कार्यालयलाई थप सबल सक्षम र कामकाजी बनाउने उद्देश्यका साथ राष्ट्र बैंकले गर्दै आएको जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै प्रमुख तथ्याङ्क अधिकारी पोख्रेलले यसलाई गौरवको रुपमा लिनुपर्ने तर्क गरे ।

उनले तथ्याङ्कको दोहोपना हट्ने र मौद्रिक नीति तय गर्ने केन्द्रीय बैंकले नै उपभोक्ता मूल्य सूचकाङ्कको काम गर्दा आउने आलोचना समेत कम भएर जाने विश्वास व्यक्त गरे ।

“आवश्यक तयारीका लागि केही समय लाग्छ, त्यसपछि हामी हामी आफै सबल र सक्षम बन्छौ। तत्कालका लागि राष्ट्र बैंककै साधन र स्रोत उपयोग गरेर काम गर्छौ”, उनले भने ।

गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

नवलपरासी। पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो । सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालको कमाण्डमा खटिएको १५ सदस्यीय टोलीले हाइसमा सवार नौ जनामध्ये आठ जना घाइतेको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको जनाएको छ ।

दुर्घटनामा कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ निवासी २७ वर्षीया श्रद्धा अग्रवाल र १५ महिनाका नौसद रिसिङ अग्रवाल गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक बरालले जानकारी दिए ।

उनका अनुसार सवारी चालक कपिलवस्तुको मायादेवी गाउँपालिका-२ निवासी २४ वर्षीय विष्णु घर्ती, कृष्णनगर नगरपालिका-२ का २६ वर्षीय ऋषभ अग्रवाल, २५ वर्षीया रिद्धिसिंह सिंहनिया, २३ वर्षीया सेरी सिंह, २७ वर्षीया शिवानी अग्रवाल र ३१ वर्षीय अरविन्द अग्रवाल घाइते भएका छन् ।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट प्रहरीको टोली खटिई दुर्घटनाग्रस्त सवारीसाधन नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध

काठमाडाैँ । अमेरिका र चीनबिच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबिच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ। वासिङ्टनले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि चीनले त्यसको प्रतिकारस्वरूप रक्षा तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो।

चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले चिनियाँ कम्पनीहरूलाई तथाकथित ‘चिनियाँ सैन्य उद्यम सूची’ मा समावेश गरेको कदमको प्रतिक्रियास्वरूप नयाँ निर्यात नियन्त्रण लागू गरिएको जनाएको छ । मन्त्रालयका अनुसार यो निर्णय राष्ट्रिय सुरक्षाको संरक्षणका लागि समेत आवश्यक ठानिएको हो।

यस कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि सम्बन्ध सुधारको प्रयास गरिरहेको एक महिनापछि नयाँ तनाव सिर्जना गरेको छ । दुवै देशले व्यापार शुल्क घटाउने सहमति गरे पनि प्रविधि, रक्षा र सुरक्षा क्षेत्रका विवाद भने निरन्तर बढिरहेका छन्।

यस महिनाको सुरुआतमा अमेरिकाले चिनियाँ सेनासँग सम्बन्ध रहेको आरोप लगाउँदै ८० वटा चिनियाँ कम्पनी र तिनका सहायक संस्थालाई कालोसूचीमा राखेको थियो। उक्त सूचीमा प्रविधि कम्पनी अलिबाबा र बाइडुका साथै विद्युतीय सवारी निर्माता बीवाईडी समेत समावेश भएपछि चीनले प्रतिकारात्मक कदम चाल्ने सङ्केत दिएको थियो।

चीनले प्रतिबन्ध लगाएका कम्पनीहरूमा अमेरिकी रक्षा तथा एयरोस्पेस क्षेत्रसँग आबद्ध एभिओक्स र ओस्कोश डिफेन्स रहेका छन्। ओस्कोश डिफेन्स अमेरिकी सैन्य सवारी उत्पादनमा संलग्न कम्पनी हो भने एभिओक्सले अमेरिकी सेनासँग रक्षा सम्झौताहरू गर्दै आएको छ।

त्यसैगरी अमेरिकी दुर्लभ पृथ्वी खनिज उत्पादक एमपी मटेरियल्स र युएसए रेयर अर्थ पनि नयाँ सूचीमा परेका छन्। चीनले सूचीबद्ध संस्थाहरूलाई दोहोरो प्रयोगमा आउने वस्तु तथा सामग्री निर्यात गर्न प्रतिबन्ध लगाएको छ।

वाणिज्य मन्त्रालयले सूचीमा रहेका कम्पनीहरूसँग सम्बन्धित सबै निर्यात गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । चीनमा उत्पादित दोहोरो प्रयोगका सामग्री कुनै पनि देश वा क्षेत्रका संस्था तथा व्यक्तिमार्फत ती कम्पनीहरूलाई उपलब्ध गराउन पनि रोक लगाइएको मन्त्रालयले जनाएको छ।

यसैबिच चीनको वित्त मन्त्रालयले सार्वजनिक खरिदमा संलग्न सरकारी निकायहरूलाई ४६ अमेरिकी कम्पनीका उत्पादन खरिद गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । प्रतिबन्धमा लकहिड मार्टिन, रेथियोन र बोइङको रक्षा विभागका उत्पादनहरू पनि समावेश छन् ।

जनरल डायनामिक्स, एन्डुरिल इन्डस्ट्रिजका केही विभाग तथा विभिन्न एयरोस्पेस कम्पनीहरू पनि प्रतिबन्धित सूचीमा परेका छन् । यद्यपि चीनमा सञ्चालन गरिरहेका अमेरिकी लगानी भएका कम्पनीहरूलाई भने यी उपायबाट बाहिर राखिएको वित्त मन्त्रालयले जनाएको छ । नयाँ नियम सोमबारदेखि लागू भएको छ ।

चीनले यसअघि पनि ताइवानलाई अमेरिकी हतियार बिक्री गरेको आरोपमा सन् २०२४ र २०२५ मा तीमध्ये केही अमेरिकी कम्पनी र तिनका सहायक संस्थामाथि प्रतिबन्ध लगाइसकेको थियो ।

ताइवानले बेइजिङबाट बढ्दो सैन्य र राजनीतिक दबाब सामना गर्न अमेरिकाको सहयोगमा ठुलो निर्भरता राख्दै आएको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्न सक्ने चेतावनी पनि दिँदै आएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस महिनामात्र ताइवानका लागि प्रस्ताव गरिएको १४ अर्ब अमेरिकी डलर बराबरको हतियार प्याकेज समीक्षा प्रक्रियामा रहेको बताएका थिए।

मे महिनामा सी जिनपिङसँगको भेटपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा अमेरिका–चीन सम्बन्ध सुधारको सन्देश दिन खोजेका थिए। गत साता फ्रान्समा सम्पन्न जी–७ सम्मेलनका क्रममा उनले इरानसँगको अमेरिकी द्वन्द्वमा तटस्थ भूमिका अपनाएको भन्दै चिनियाँ नेतृत्वको प्रशंसा पनि गरेका थिए।

यद्यपि पछिल्ला प्रतिबन्धात्मक कदमहरूले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार, प्रविधि र सुरक्षा प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको सङ्केत गरेका छन्।

फ्लाइ दुबईले आगामी असोजदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दै

पाेखरा । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।

सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताए । “पोखराको अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारमा यो महत्वपूर्ण उपलब्धि हो, यसले सिङ्गो गण्डकी प्रदेश र मुलुकलाई नै प्रत्यक्ष लाभ पुग्छ”, उनले भने, “पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिन्छ, यात्राअवधि छोटिँदा खर्च पनि घट्छ ।”

पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरु सिधै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताए । वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ ।

विश्वकै व्यस्त र महत्वपूर्ण मानिने हवाई ट्रान्जिट हब दुबईमा हुने उडानले अन्तरराष्ट्रिय क्षेत्रमा पोखराको सिधा हवाई पहुँच पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबिच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने प्रमुख आचार्यले बताए ।

इमिरेट्स एयरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ लाई आफ्नो प्रमुख हब बनाएर विश्वका ६ वटा महादेशका ७६ देशमा रहेका १४३ भन्दाबढी देशहरुमा जोड्दै आएको उनको भनाइ छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक निरौलाले एयरलाइन्सहरुबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने बताए । “पोखरादेखि दुबई हुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्छन्, लगेज आफैँ सार्नुपर्ने झण्झट पनि हुँदैन”, उनले भने, “दुबईसम्म एउटा विमानले यात्रु बोक्छ, त्यहाँ ट्रान्जिटपछि अर्को विमानले गन्तव्यमा पुर्याउँछ ।”

पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । त्यसअघि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो ।

सरकारले आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।

विमानस्थलका महाप्रबन्धक निरौलाले पोखराबाट उडान सेवा सुरु गर्न एयर अरेबियाले चासो देखाएको बताए । “पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनको दिगोपनाका लागि निजी क्षेत्रलगायत सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ”, उनले भने, “पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुँदा मुलुकको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्छ, सर्वसाधारण यात्रुहरुले सहज सुविधा पाउँछन् ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रहेको छ । काठमाडौँ केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुँदा मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरहरूसँग पोखराको पहुँच पुग्ने जनाइएको छ ।

झण्डै रु २२ अर्ब ऋणमा बनेको यस विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन गरिएको थियो । स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा छन् ।

पोखरा–दुबई सिधा उडानले पोखरा र सिङ्ग्रो गण्डकी प्रदेशको आर्थिक समृद्धिको ढोका खुल्ने उद्योग वाणिज्य महासङ्घ, गण्डकीका अध्यक्ष नरेश कँडेलले बताए । “गण्डकी प्रदेशबाट मध्यूपूर्वका देशदेखि युरोप, अमेरिकासम्म रोजगार र अध्ययनका लागि जानेको सङ्ख्या ठूलो छ”, उनले भने, “पोखरा–दुबई उडानले ती यात्रुलाई घर आउन सहज र कम खर्चिलो बन्नेछ, पोखरालगायत आसपासका गन्तव्यमा आउने पर्यटक अब सिधै पोखरा आउन पाउँछन् ।”

एमालेका उपाध्यक्ष विष्णु पौडेल प्रहरीको नियन्त्रणमा

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई आज सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनलाई सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको हो ।

म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय

म्यानमार । म्यानमारका अधिकारीहरूले अनलाइन जुवासँग सम्बन्धित रहेको आशङ्कामा एक लाख ४३ हजार ४०९ सिमकार्ड स्थायी रूपमा निष्क्रिय पारेका छन् ।

सरकारी स्वामित्वको दैनिक ‘द ग्लोबल न्यू लाइट अफ म्यान्मा’ ले सोमबार प्रकाशित गरेको समाचारअनुसार मार्च २०२५ देखि मे २०२६ सम्मको अवधिमा अनलाइन जुवासँग सम्बन्धित एउटै प्रकृतिका सन्देश ठूलो परिमाणमा पठाएको पाइएपछि ती सिमकार्डहरू स्थायी रूपमा रद्द गरिएको हो ।

समाचारमा जनाइएअनुसार जुवा गतिविधिसँग सम्बन्धित अवैध वित्तीय खाता सञ्चालनमा प्रयोग भएका एक हजार १२० सिमकार्ड पनि बन्द गरिएको छ । साथै, अनलाइन जुवा सञ्चालनसँग जोडिएका एक हजारभन्दा बढी मोबाइल वालेट खाता स्थायी रूपमा बन्द गरिएका छन् ।

त्यसैगरी, जनवरी २०२५ देखि अप्रिल २०२६ सम्म म्यान्मामा १०२ वटा जुवासम्बन्धी वेबसाइट र ‘एप’ मा आईपी प्रतिबन्धमार्फत पहुँचमा रोक लगाइएको छ ।अधिकारीहरूले अनलाइन स्लट खेलका विज्ञापन प्रवर्द्धन गर्ने कलाकार, सामाजिक सञ्जाल प्रभावकर्ता तथा अन्य व्यक्तिविरुद्ध कानुनी कारबाही प्रक्रिया समेत अघि बढाएको समाचारमा उल्लेख छ ।

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

दाङ । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ । नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको हो ।

हालको उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । लमही नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ । साथै सम्बन्धित सबै विद्यालयलाई सोही अनुसार जानकारी गराइएको सूचनामा उल्लेख छ ।

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

चितवन । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा तिमिल्सिनाले निर्देशन दिएका हुन् ।

उनले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरे हुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिए ।

दूरसञ्चार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उनले जनअपेक्षा अनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने, “१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ । हिजो मान्छे एउटा सेवा लिनका लागि पाँच दिनसम्म कुर्न सक्थ्यो भने आज एक दिन पनि कुर्दैन, फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले तपाईंहरुले सोहीअनुसार काम गर्नुपर्छ ।”

उनले भने, “सेवाग्राहीले तिरेको पैसाले कार्यालय सञ्चालन भइरहेका छन्, तपाईंको सबैभन्दा ठूलो जवाफदेहिता सेवाग्राहीप्रति हुनुपर्छ । सोहीअनुसार सेवाग्राही खुसी हुने गरी कार्यसम्पादन गर्नुहोला ।”

नेपाल टेलिकमको कार्यालय व्यवस्थित गर्ने विषयमा चासो दिँदै उनले भवनलगायत समस्याका बारेमा कार्यरत कर्मचारीसँग एकल एवं संयुक्त रुपमा छलफल गरे । नेपाल टेलिकमको पुनःसरचना, कर्मचारीको वृत्तिविकास, आवश्यक उपकरण र अन्य समस्याका बारेमा भरतपुर कार्यालय प्रमुख राकेश चौधरीसहितका कर्मचारीहरुले सञ्चारमन्त्रीसमक्ष अनुरोध गरेका थिए ।

लागुऔषधसहित वडासदस्य जैरू पक्राउ

कञ्चनपुर। यहाँको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रहरीले आज जारी गरेको विवरणअनुसार उनको शरीर खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएका अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल गरी जम्मा ३० एम्पुल बरामद गरेको जनाएको छ ।

जैरूमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ ।

उक्त समस्यामा यसअघिका प्रक्रिया जिल्लास्थित सराकारवाला निकायले गर्दै आएका थिए भने अब बाँकी प्रक्रिया गाउँपालिका कार्यालयले नै गर्ने भएको हो । यसका लागि गाउँपालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याइएको छ ।

यसअघि जिल्लास्थित नापी र मालपोत कार्यलयका कर्मचारीले जग्गाधनीको पहिचान गर्दै लालपुर्जा दिलाउँदै आएका थिए । हालसम्म ५३१ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ । अब बाँकी करिब ५०० लालपुर्जा आजदेखि वितरण गर्ने कार्यक्रम बनाइएको ८ नं वडाका अध्यक्ष मोतीलाल लामाले बताए । उनका अनुसार जिल्लास्थित नापी र मालपोत कार्यालयद्वारा तयार लालपुर्जा वितरण गर्न लागिएको हो भने त्यसपछिका कित्ताकाटलगायतको काम गाउँपालिकास्थित भूमि व्यवस्थापन शाखाले गर्नेछ ।

शाखाको शुक्रबार गाउँपालिका अध्यक्ष प्रेम भुजेलले शुभाररम्भ ग । लालपुर्जाका समस्याका बाँकी काम शाखाले नै गर्ने अध्यक्ष उनले बताए । उनका अनुसार केही जटिलता आए जिल्लास्थित मालपोत तथा नापी कार्यालयसँग समन्वय गरिनेछ । सङ्घीय सरकारले पहिलो चरणमा छनोट गरेको ३५ स्थानीय तहमध्ये काभ्रेको भुम्लु र रोशी गाउँपालिका छनोटमा परेका थिए ।

लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पु¥याएर औपचारिक रुपमा २०८२ भदौदेखि वितरण गर्न थालिएको हो । विसं २०३२ देखि गाउँपालिकाको ९तत्कालीन भुम्लु र फलाँटे गाविस० हालका दुई वडाका बासिन्दा विविध कारण लालपुर्जाको पर्खाइमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४ सय ३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ गरी ४३१ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

क्रमिकरुपमा तयार १०० लालपुर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले जानकारी दिनुभयो । उनका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पु¥याएर लालपुर्जा वितरण भइरहेको हो भने हालसम्म थप तयार करिब ५०० लालपुर्जा वितरणको तयारी भएको हो । समस्या समाधनका लागि जिल्लास्थित नापी कार्यालयले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । टोली मात्र नभई कार्यालयको आवश्यकताले विसं २०७६ मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालय स्थापना गरियो । कार्यालयका अनुसार वडा नं ७ मा ३००र ८ मा ६०० लालपुर्जा बनाउनुपर्ने देखिएको थियो ।

घटनाक्रमअनुसार साविकको पिपलटार गाविस हुँदादेखि नै कमाइ गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतीयोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।

कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा हिजोराति पौने १० बजे निधन भएको हो ।

पछिल्लो समय दमको समस्या बढेपछि खरेललाई फ्रन्टलाइन अस्पतालमा उपचारका लागि राखिएको थियो । खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित भएका थिए । खरेलले कांग्रेसको नेतृत्वसँग निकट रहेर काम गरेका थिए ।

स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ । केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ ।

कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण

सुनसरी। अर्नाको राजधानी र चराको स्वर्ग मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन्।आरक्ष प्रशासनका अनुसार पछिल्लो समय यस क्षेत्रमा विदेशीको तुलनामा आन्तरिक पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको छ।

आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये नौ हजार ७० जना नेपाली रहेका छन्, जसमा चार हजार ५३५ महिला र चार हजार ५३५ पुरुष रहेका छन्। त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट तीन जना महिला र २२ जना पुरुष गरेर कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन्। सार्क मुलुकबाहेकका अन्य विदेशी मुलुकबाट ४४ जना महिला र १०३ जना पुरुष गरी १४७ जना पर्यटक आरक्षको अवलोकनका लागि आएका छन्।

यस आर्थिक वर्षको ११ महिनाको अवधिमा सबैभन्दा बढी पर्यटक मंसिर महिनामा आएका छन् भने सबैभन्दा कम असोज महिनामा पर्यटक आएका छन्। मंसिर महिनामा एक हजार ८९३ जना पर्यटकले आरक्षको भ्रमण गरेका छन् भने असोज महिनामा ३२५ जना पर्यटक मात्र यहाँ भित्रिएका छन्। आरक्ष प्रशासनका अनुसार साउनमा ४९६, भदौमा ५४७, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा एक हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेत महिनामा एक हजार ७० जना पर्यटकले आरक्षको भ्रमण गरेका छन्।

विशेषगरी यहाँ आउने पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी) का साथै २० प्रकारका साना ठूला जनावरहरू हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर र अजिङ्गर प्रत्यक्ष हेर्न पाउँछन्। आरक्षको छेवैमा बग्ने सप्तकोसी नदीमा पर्यटकहरूले सजिलै डल्फिनसमेत हेर्न पाउने आरक्षका योजना अधिकृत पौडेलले जानकारी दिए।

विश्वमै दुर्लभ मानिएका पन्छीसहित ४९८ प्रजातिका चराचुरुङ्गी पाइने यस आरक्षमा हाँस प्रजातिका २० वटा र जलचरा प्रजातिका ११४ वटा पन्छीहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। यसका साथै पछिल्लो समय कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने पर्यटकहरूले रैथाने तथा आगन्तुक वन्यजन्तुसँगै गैँडाको समेत अवलोकन गर्न पाउने भएकाले पर्यटकको संख्या आगामी दिनमा अझ बढ्ने अपेक्षा गरिएको छ।

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र आजदेखि शुरु

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आजदेखि शुरु हुँदैछ । बन्दसश बिहान ८ः३० बजेदेखि चितवनको प्रदर्शनी केन्द्रमा सुरु हुँने जनाइएको छ ।

त्यढहाँ रहेका तीन ठुला हलमध्ये दुई वटामा बन्दसत्रका लागि तयारी गरिएको छ। बिहान ८ः३० बजे सभापति रबि लामिछानेबाट सत्रको प्रारम्भ हुने, ८ः३० देखि ८ः५० सम्म अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने र यसमाथि छलफल हुने रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बिहान ९ बजेदेखि ९ः३० सम्म पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गर्ने तालिका रहेको छ ।

यसैगरी, बिहान १० बजेबाट १०ः४५ सम्म पार्टी महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुनेछ ।

त्यसपछि १०ः४५ देखि ११ः४५ सम्म पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

विधान संशोधन प्रस्ताव अनुमोदन भएपछि बिहान ११ः४५ देखि दिउँसो १२ः१५सम्म पार्टीका सभापतिले राजनीतिक प्रतिवेदन पेश तथा छलफल गर्ने कार्यतालिका रहेको छ ।

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी

मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रियता बढाइएको छ।हेटौँडा औद्योगिक क्षेत्रभित्र विसं २०३२ सालमा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको यो उद्योग विसं २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो।

त्यसयता यसलाई पुनः सञ्चालन गर्न पटक-पटक प्रयास भए पनि ती प्रयासले सार्थकता पाउन सकेका थिएनन्। यस वर्ष भने सरकारले विशेष चासो बढाएपछि सरकारी तवरबाट स्थलगत अनुुगमन र सक्रियता बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए।

सूचना अधिकारी भण्डारीका अनुसार कपडा उद्योगसँगै तत्कालीन समयमा बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै सञ्चालनमा ल्याइएको थियो। हेटौँडा कपडा उद्योग बन्द भएपछि ती दुई उद्योग पनि बन्द हुन पुगेका थिए। कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै उनले त्यहाँ रहेका उपकरणहरू सामान्य मर्मत गरेपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिए।

हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विशेष अग्रसरता लिएको छ। यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेकी छन्। त्यस्तै हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएको छ।

मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौँडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताएकी थिइन्। देशका रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने दाबी गर्दै उनले कपडा उद्योगका लागि आवश्यक पर्ने बुटवल धागो र कपासखेती पनि यसै वर्ष सञ्चालनमा ल्याइने जानकारी गराएकी थिइन्।

कपडा उद्योग बन्द भएपछि उक्त उद्योग परिसरमा विसं २०७५ सालदेखि सशस्त्र प्रहरी बलको १४ नम्बर गण बस्दै आएको छ। सशस्त्र प्रहरी बस्नुअघि त्यहाँको सुुरक्षाका लागि मात्र दुई जना कर्मचारी खटिएका थिए। पहिले सो क्षेत्र लागुऔषध प्रयोग गर्ने दुव्र्यसनीहरूको अखडा बनेको भए पनि सशस्त्र प्रहरी बसेपछि अहिले उद्योग पूर्ण रूपमा सुरक्षित रहेको छ। सरकारी चासो बढेसँगै हाल उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइसमेत गरेका छन्।

फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उरुग्वे र केप भर्डेले बराबारी खेलेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेलेको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।

खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै बराबारी बनाए ।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाए ।६१औं मिनेटमा केप भर्डेका हेलियो भारेलाले गोल गर्दै बराबरी बनाए ।

आजकाे मौसम : लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने

काठमाडाैं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ।
कोशी प्रदेश सहित देशका हिमाली र पहाडी साधारणतया बादल लागेको छ । मधेश र बागमतीको तराईमा आंशिक बादल र लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश, बागमती, गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाहिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा बागमती, गण्डकी, लुम्बिनी,र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेशमा र कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

दाङ। घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ ।

नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ । नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएका उनले बताए । सहरी सौन्दयीकरण र सरसफाइका लागि ९९ किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित स्यानेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको छ । नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी र कटानको जोखिम कम गरिएको छ ।

खानेपानी र सिँचाइमा आत्मनिर्भरता नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ १०८ कुवा र ७७ डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगरप्रमुख चौधरीले बताए । कृषि क्षेत्रलाई लक्षित गरी ४३ कृत्रिम जलाशय निर्माण गरिएका छन् । जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको उहाँको भनाइ छ । ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार र सातवटा सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ ।

नगरप्रमुख चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा शिक्षा क्षेत्रमा २७ विद्यालय भवन र ३९ नयाँ कक्षाकोठा थपिएका छन् भने अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्यतर्फ २८ स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् । सामाजिक सुरक्षाका क्षेत्रमा १७ हजार ३७४ लाभग्राहीलाई बैंकमार्फत रु ६३ करोड ५८ लाखभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

घोराहीले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरी शासन प्रणालीलाई विधिसम्मत बनाएको छ । वडास्तरबाटै अनलाइन घटना दर्ता, अनलाइन नागरिकता सिफारिस र राजस्व सङ्कलनजस्ता विद्युतीय शासन प्रणाली लागू गरी सेवा प्रवाहलाई छिटो तथा पारदर्शी बनाइएको नगरप्रमुख चौधरीले बताए । वातावरण संरक्षणका लागि एक हजार ३०० थान इन्डक्सन चुलो र ४५० थान सुधारिएको चुलो वितरण गरी धुवाँमुक्त भान्सा अभियानलाई समेत सहयोग पुर्याइएको छ ।

यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या

पर्वत। पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका किसान चिन्तित बनेका छन् ।

नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउनेगरी गत चैतमा नै ५० प्रतिशत रकम किसानबाट सङ्कलन गरेको थियो । कुश्मा नगरपालिकाका १४ वडाबाट ७०५ किसानले यान्त्रिक हलो उपलब्धताका लागि नगरपालिकामा निवेदन दिए पनि नगरपालिकाले विभिन्न विधामार्फत २०० किसानलाई छनोट गरेको थियो ।

छनोटपश्चात् ५० प्रतिशतबापतको रु २० हजार प्रतिकिसान सङ्कलन गरे पनि रकम लिएको तीन महिना बितिसक्दासम्म यान्त्रिक हलो उपलब्ध गराउन सकेको छैन । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलका अनुसार बोलपत्र आह्वानपश्चात् छनोट भएको क्वालिटी रिन्युयबल प्रालि काठमाडौँले समयमा गुणस्तरीय उपकरण उपलब्ध गराउन नसक्दा किसानलाई यान्त्रिक हलो वितरण गर्न ढिलाइ भएको बताए ।

नगरपालिकाले उक्त कम्पनीसँग रु ६२ लाख ७९ हजार लागतमा यान्त्रिक हलो उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको छ ।

गत जेठ २१ गते सम्झौता भए पनि अहिले असारमा मात्रै उक्त कम्पनीले परीक्षणका लागि यान्त्रिक हलो उपलब्ध गराएको र दुईपटकसम्म उपलब्ध भएका उपकरण चेक जाँचमा समस्या भएपछि पुनः ल्याउनका लागि अनुरोध गरिएको कृषि शाखाका निमित्त प्रमुख बलबहादुर जिटीले बताए ।

जिटीका अनुसार नगरपालिकाले माग गरेको हलो कम्तीमा सात हर्जपावर र ८० किलो तौल हुनुपर्नेमा त्यो नभएपछि परीक्षणका लागि उपलब्ध गराएको हलो फिर्ता पठाएर अर्को माग गरिएको बताउनुभयो । नगरपालिकामा हलोका लागि निवेदन दिए पनि रकम जम्मा गरेको तीन महिनासम्म हलो उपलब्ध नहँुदा आफूहरूले ठूलो रकम खर्च गरेर बाँझो खेतबारी जोत्नुपर्ने अवस्था आएको कुश्मा नगरपालिका–२ का किसान टीकाराम शर्माले बताए ।

“नगरपालिकाबाट समयमा नै गुणस्तरीय यान्त्रिक हलो आउला र वर्षेबाली लगाउँला भन्ने थियो तर तीन महिना बितिसक्यो हलो आएन”, उहाँले भन्नुभयो, “अहिले प्रतिघण्टा रु एक हजार तिरेर जोत्नुपर्ने अवस्था आएको छ”, उहाँजस्तै अन्य किसानको पनि समयमा हलो उपलब्ध नगराएकोप्रति गुनासो व्यक्त गरेका छन् ।

सम्झौता गरेको कम्पनीले समयमा गुणस्तरीय सामग्री उपलब्ध गराउन नसक्दा किसानलाई सास्ती भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

विधान संशोधन गरेर रास्वपालाई थप समावेशी बनाइँदै

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको हो ।

विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने छ । अब समिति १५१ सदस्यीय हुनेछ । ९९ जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने ५१ जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

सात प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन् । विधानले यसभन्दाअघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनित गर्ने व्यवस्था गरिएको छ ।

पराजुलीले भने, “समावेशिताको सिद्धान्तलाई समेट्ने गरी विधानले सम्बोधन गरेको छ ।” सबै तहमा महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ । प्रत्यक्ष निर्वाचित हुने ९९ सदस्यमध्ये एउटा प्रदेशबाट पाँच जनाका दरले केन्द्रीय सदस्य आउनेछन् ।

प्रदेशबाट आउने ३५ जनामध्ये एउटा प्रदेशबाट दुई महिलाको अनिवार्य उपस्थिति हुनेछ । प्रदेशमा उपस्थित जनसङ्ख्याका आधारमा गण्डकी र कोशी प्रदेशमा एक–एक जना जनजाति अनिवार्य हुनेछ भने सुदूरपश्चिम र कोशी प्रदेशमा एक–एक दलित अनिवार्य हुनुपर्ने छ । लुम्बिनीमा एक थारू र मधेस प्रदेशमा मधेस दलित अनिवार्य हुनेगरी समावेशिताको सिद्धान्तलाई समावेश गरिएको छ ।

समायोजनको भावनालाई सम्बोधन गर्दै सभापतिलाई मनोनयनको अधिकार विधानले थप गरेको पराजुलीले जानकारी दिनुभयो । विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ ।

आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज हुँदैछ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रपछि भोलिपल्टबाट निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।