`

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

काठमाडाैँ । अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका आप्रवासन अदालत परिसरमा आप्रवासीलाई पक्राउ गर्न तत्काल रोक्न आदेश दिएएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउसमा फर्किएयता गृह सुरक्षा विभागका अधिकारीले शरणसम्बन्धी सुनुवाइ सकेर अदालतबाट बाहिरिने आप्रवासीलाई पक्राउ गर्ने अभ्यास अपनाएका थिए।

आप्रवासन अदालतको सुनुवाइमा अनुपस्थित हुनु कतिपय अवस्थामा कानुनी उल्लङ्घन मानिने तथा त्यसका आधारमा देशनिकालासमेत हुनसक्ने भएकाले धेरै आप्रवासी सुनुवाइमा उपस्थित हुन बाध्य हुने गरेका छन्।

अमेरिकी जिल्ला न्यायाधीश पी केसी पिट्सको आदेशमा उक्त नीति प्रशासनिक प्रक्रिया ऐनविपरीत रहेको ठहर गर्दै त्यसलाई ‘मनोमानीपूर्ण’ भनिएको छ।

न्यायाधीश पिट्सका अनुसार आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइसीई) र आप्रवासन समीक्षा कार्यकारी कार्यालय (इओआइआर)ले आफ्ना कार्यको पर्याप्त र तर्कसङ्गत आधार प्रस्तुत गर्न सकेका छैनन्। अदालत परिसरमा सुरक्षा अधिकारीको उपस्थितिले आप्रवासीमा त्रास सिर्जना गरेको उनको टिप्पणी छ।

गृह सुरक्षा विभागका कानुनी सल्लाहकार जेम्स पर्सिभलले भने उक्त फैसलाको आलोचना गरेका छन्। उनले आप्रवासन न्यायाधीशबाट देशनिकालाको आदेश पाएका गैर–नागरिकलाई अपराधमा दोषी ठहर भएका व्यक्तिसरह व्यवहार गरिनुपर्ने बताए।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले अदालतको आदेशलाई ‘खुला सीमाना समर्थक एजेन्डा प्रवद्र्धन गर्ने न्यायिक सक्रियता’को सङ्ज्ञा दिए।

ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीमाथि कडाइ गर्ने नीति अघि बढाउँदै आएको छ। राष्ट्रपति ट्रम्पले अमेरिका अपराधी तथा अवाञ्छित व्यक्तिको प्रवेशबाट प्रभावित भएको दाबी गर्दै आप्रवासन नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाए।

महाधिवेशनस्थलमा रास्वपाका उम्मेदवार आफैँले गरे फोहर सरसफाइ

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरेका छन्। रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका हुन ।

प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिले सरसफाइ गरेका हुन ।

रास्वपाको बन्दसत्र गरिएको उद्योग सङ्घको गेट बाहिरको फोहर तीन जना उम्मेदवारसहितका रास्वपा नेता कार्यकर्ताले सरसफाइ गर्नुभएको हो । सो क्षेत्रमा छरिएका उम्मेदवारका ‘भिजिटिङ कार्ड’, पर्चा पम्प्लेट, पानीका बोटललगायत फोहर उहाँहरूले सफा गर्नुभएको हो । खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए ।

उहाँले भन्नुभयो, “हामीलाई भोट हालेका जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन् । चितवन महाधिवेशनमा अत्यधिक फोहर देखेर हामीले सफा गरेका हौँ ।”

हरेक नेपालीको घरघरसम्म रास्वपाले फोहर गर्दैन भन्ने सन्देश प्रवाहका लागि उम्मेदवार अशिम साह, सुदीप ढकालसहित आफूहरूले सरसफाइ गरेको बताउनुभयो । उनले भने, “हामी फोहर गर्ने होइन सफा गर्ने मान्छे हो ।”

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताए छ ।रास्वपाको महाधिवेशनस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टीमा कुनै गुट उपगुट छैन भने ।

उनले भने, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।” उहाँले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए । उनले थपे, “पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।”

संविधान संशोधन कार्यदलको संयोजक रहनुभएका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारनै हुने बताए ।उहाँले भन्नुभयो, “दलको आ–आफ्नो धारणा हुन्छ । बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं ।”

प्रतिनिधिसभा निर्वाचनपछि १ लाख ८१ हजारभन्दा बढी नयाँ मतदाता दर्ता

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता थपिएका हुन् ।

उक्त निर्वाचनपछि १८ हजार छ सय २२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम थिए ।

आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनलगायत कार्य सञ्चालन गरिरहेको उनले बताए ।

स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा यही असार ४ गतेको राष्ट्रियसभाको राष्ट्रिय समावेशीकरणको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका पदाधिकारीसँग छलफल भएको थियो ।

निर्वाचन हुने निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै निर्वाचन घोषणा, समयमा आवश्यक बजेट उपलब्ध गराउने, आयोग तथा मातहतका निकायका रिक्त पद पूर्ति , मतदाता नामावली व्यवस्थापन प्रणाली स्तरोन्नति, आधुनिक उपकरणबाट मतपत्र छाप्ने तथा गलत सूचना प्रवाह हुन नदिन प्रभावकारी संयन्त्र विकास विषयमा सुझावहरू प्रस्तुत भएका थिए ।

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

नवलपरासी पश्चिम । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन् ।

लामो समयदेखि वर्षा नहुँदा पानीको हाहाकार भएको, गर्मी अत्यधिक बढेको र धानखेतमा धाँजा फाटी रोपेका बिरुवा सुक्न थालेपछि स्थानीय किसान चिन्तित देखिएका हुन् ।

खेतमा धाँजा फाटी लगाइएका धानका बिरुवा सुक्न थालेपछि रोपाइँ बन्द गरेको पाल्हीनन्दन–६ निवासी दीनानाथ यादव बताउँछन् । उनका अनुसार यस वर्षको लामो खडेरीसँगै डिपबोरिङ र चापाकलसमेत सुक्न थालेपछि सिँचाइको अतिरिक्त पिउने पानीको समेत समस्या थपिएको छ ।

पाल्हीनन्दन–५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठी गण्डक नहरदेखि दक्षिणतर्फका गाउँमा चापाकलमा थारै भए पनि पानी आइदिँदा लत्ताकपडा धुन र नुहाउन राहत मिलेको भए पनि आफ्नो गाउँठाउँतर्फ भने पानीको हाहाकार भएको बताउँछन् ।

खानेपानीको अभाव भएपछि चन्दा उठाएर मोटर सञ्चालन गरी खानेपानी संस्थानले गाडेको डिप बोरिङबाट पानीको व्यवस्था गर्न बाध्य हुनुपरेको अध्यक्ष त्रिपाठीले जानकारी दिए । अध्यक्ष त्रिपाठीका अनुसार दुई साताभन्दा बढी समयदेखि पानी नपर्दा गर्मी अचाक्ली बढी रोपेको धानका बिरुवा सुक्न थालेपछि बाँकी खेतमा धान रोप्ने काम बन्द गरिएको छ ।

कृषि ज्ञान केन्द्र नवलपरासीका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले पश्चिमी वायु प्रणाली सक्रिय हुँदा खुसी भई रोपेका धानका बिरुवा सुक्न थालेपछि किसान आत्तिन थालेको बताए । जिल्लामा अहिलेम्म करिब चालिस प्रतिशत धान रोपाइँको काम सकिएको जानकारी दिँदै प्रमुख अर्यालले भने, “दुई सातादेखि पानी नपर्दा रोपेका धानका बिरुवा सुक्न थालेका छन् । खानेपानीको समेत हाहाकार भइदिँदा किसानसहित स्थानीय जनता आँत्तिएका छन् । बोरिङ र चापाकलसमेत सुक्दा पश्चिम नवलपरासी क्षेत्रमा झन् समस्या देखिएको अवस्था छ ।”

यसैबिच, देशको पूर्वतर्फबाट मनसुन भित्रियो भन्ने खबर सुन्न पाइएको छ भन्दै स्थानीय किसानबाट अब छिट्टै वर्षा भइदिए गर्मी कम हुने, खानेपानी तथा सिँचाइको समस्या समाधान हुने, धानका बिरुवाले जीवन पाउने र कृषि व्यवसायमा सक्रिय भई आनन्द लिन पाउने अपेक्षा गरिएको छ ।

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली

पर्सा । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिएको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले बुधबार महानगरको २०औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमम प्रस्तुत गर्दै डिजिटल, सुशासनयुक्त महानगर, नागरिक केन्द्रित सेवा प्रणाली भएको सहर, हरित तथा दिगो सहरी संरचनायुक्त स्थान, उद्यमशीलता र लगानीको केन्द्र, तथा अवसर सिर्जना गर्ने आर्थिक केन्द्रका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताए।

नीति तथा कार्यक्रमले दीगो विकास लक्ष्यको स्थानीयकरण, आधुनिक तथा गुणस्तरीय शहरी पूर्वाधार निर्माण, सुरक्षित र व्यवस्थित बस्ती विकास, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, कृषि तथा उद्यम विकास, लगानी तथा पर्यटन प्रवर्द्धन, सुशासन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा समावेशी विकासलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको प्रमुख आलमले उल्लेख गरे।

महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि, प्रक्रियागत पुनसंरचनामार्फत सेवा प्रवाह सुधार, प्रविधिमैत्री प्रशासन, नागरिक सहभागितामा आधारित विकास व्यवस्थापन तथा सार्वजनिक स्रोतसाधनको पारदर्शी र परिणाममुखी परिचालनलाई पनि विशेष जोड दिइएको छ ।

प्रमुख आलमले भने, “कृषि क्षेत्रको आधुनिकीकरण, विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गरिनेछ, मुख्य खाद्यान्नबाली गहुँको उत्पादकत्व बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्ने व्यवस्थालाई महत्त्वका साथ निरन्तरता दिइनेछ ।”

महानगरले जलवायु परिवर्तन तथा रसायनिक मलको उच्चतम प्रयोगका कारण कृषि क्षेत्रमा सिर्जित जोखिम र बालीनालीमा लाग्ने आकस्मिक रोगव्याधि तथा कीरा नियन्त्रणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ समेत सञ्चालन गर्ने भएको छ । कृषकलाई नवीन प्रविधिसँग जोड्न बर्षे र हिउँदे मिनीकिट तथा सहरी क्षेत्रमा च्याउ खेती प्रवर्द्धनका लागि च्याउको बीउ वितरण कार्यक्रमलाई प्राथमिकता भने महानगरले भनेको छ।

नीति तथा कार्यक्रममा भनिएको छ, “दिगो विकासको लक्ष्य अनुरूप गुणस्तरीय शिक्षा सुचिश्चित गर्न महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको मूल धारबाट कुनै पनि बालबालिकालाई बञ्चित हुन नदिन खास विद्यार्थी भर्ना दरलाई शतप्रतिशत बनाउन निरन्तर समन्वय, सहकार्य, अनुगमन तथा मूल्याङ्कन कार्यमा तीव्रता ल्याइनेछ ।”

रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गरेका छन् ।चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र रहनुभएको छ भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।

उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए । उनले भने, ‘रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहेका पोखरेल रास्वपाकोतर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद छन् ।

चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

काठमाडौँ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।

महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणीको मूर्ति काठमाडौँस्थित थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल) को अनुपम कलाकृति मानिन्छ । उक्त मूर्तिको अन्तिम तस्बिर सन् १९७१ मा लिइएको अभिलेखमा उल्लेख छ भने सन् १९७१ र १९७७ बीच कुनै समयमा अवैध रूपमा अमेरिका पु¥याइएको ठानिएको छ ।

त्यसैगरी, सोह्रौँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरको इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिन्छ । उक्त मूर्ति सन् १९६९ र १९८३ बीच कुनै समयमा चोरी गरी अमेरिका लगिएको अनुमान गरिएको छ । पछि यो मूर्ति न्युयोर्कस्थित महानगर सङ्ग्रहालयबाट बरामद गरिएको थियो ।

यी दुवै सम्पदा न्युयोर्क सरकारी वकिलको कार्यालयले अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा खोजी गरेर नेपाललाई हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा महावाणिज्यदूत भण्डारीले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, अनुसन्धानकर्ता, सङ्ग्रहालय, सम्पदा संरक्षण अभियन्ता तथा समुदायका सदस्यप्रति आभार व्यक्त ग । उनले सबैको संयुक्त प्रयासबाट यी अमूल्य सांस्कृतिक सम्पदाको खोजी, नेपाललाई पुनः स्वामित्व प्राप्ति र स्वदेश फिर्ती सम्भव भएको बताए ।

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रणका लागि विकसित हुँदै गएको सहकार्य अन्तरराष्ट्रिय साझेदारीको उत्कृष्ट उदाहरण भएको तथा साझा सांस्कृतिक सम्पदा संरक्षणप्रतिको प्रतिबद्धताको प्रतीक भएको उनको भनाइ थियो ।

उनले अमेरिकास्थित नेपाली समुदाय तथा सामुदायिक संस्थाहरू, विशेषगरी नेवा गुठी न्युयोर्कलाई नेपालका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानका लागि धन्यवाद दिनुभयो ।

हस्तान्तरणपछि ती दुवै सम्पदालाई यही जुन २५ मा नेपाल पठाइने जनाइएको छ । ढुवानी तथा व्यवस्थापनको कार्य नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा गरिनेछ भने गुठीका प्रतिनिधिहरूले सम्पदासँगै नेपालसम्म यात्रा गर्नेछन ।

काठमाडौँ आइपुगेपछि ती सम्पदा पुरातत्त्व विभागलगायत सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरिनेछ ।

समारोहमा न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, नेवा गुठी, मेट्रोपोलिटन म्युजियम, प्राध्यापक, नेपाली समुदायका सदस्य, सम्पदा संरक्षणकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन प्रारम्भ गरेको हो ।

उक्त विश्व संस्थाका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तरराष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता, समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन् । उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्व आजको जटिल विश्व चुनौती समाधान गर्न तथा अझ समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माणका लागि महिलालाई कूटनीतिमा स्थान दिन अपरिहार्य भएको छ ।

अन्तरसम्बन्धित विश्वको मागअनुसार कूटनीति रूपान्तरण हुँदै गएको सन्दर्भमा निर्णय प्रक्रियाका सबै तहमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु समानताको विषय मात्र नभई प्रभावकारी विश्व शासनका लागि आधारभूत आवश्यकता भएकोमा जोड दिइएको छ । बेइजिङ कार्ययोजना र दिगो विकास लक्ष्यहरूको प्रतिबद्धता कार्यान्वयनका लागि पनि यसलाई महत्वपूर्ण मानिएको छ ।

महिलाहरू निर्णय लिने तहमा सहभागी हुँदा कूटनीति जनताको प्रतिनिधित्व अझ राम्रोसँग प्रतिबिम्बित हुने र दिगो शान्ति, दिगो विकास तथा मानव मर्यादालाई प्रवद्र्धन गर्न अझ सक्षम हुने राष्ट्रसङ्घले जनाएको छ ।

विभिन्न कूटनीतिक नियोग, बहुपक्षीय संस्था तथा अन्तरराष्ट्रिय वार्तामा महिलाहरू संवाद, सहमति निर्माण, द्वन्द्व समाधान र अन्तरराष्ट्रिय सहकार्यमा निरन्तर महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । उनीहरूको नेतृत्वले राष्ट्रिय प्राथमिकता र विश्वव्यापी चुनौतीबीच पुलको काम गर्दै मानव अधिकार, सुरक्षा र साझा समृद्धिलाई अघि बढाउन सहयोग पुर्याएको छ ।

राष्ट्रसङ्घका अनुसार यस दिवसले शान्ति र प्रगतिका लागि विविध आवाज र अनुभवको समावेशीकरण आवश्यक रहेको सशक्त स्मरण गराउने बताइएको छ । साथै महिला कूटनीतिज्ञहरूको उपलब्धिको सम्मान गर्दै अवरोध हटाउने, अवसर विस्तार गर्ने र आगामी पुस्ताका महिलालाई अन्तरराष्ट्रिय मामिलामा नेतृत्व गर्न सक्षम बनाउने प्रयासलाई सुदृढ गर्न आह्वान गरिएको छ ।

ऐतिहासिक रूपमा कूटनीतिक तथा अन्तरराष्ट्रिय निर्णय प्रक्रियाबाट महिलाहरू धेरै हदसम्म बाहिर राखिएको भए पनि समयक्रममा उनीहरूले अवरोध तोड्दै कूटनीतिक सेवा, अन्तरराष्ट्रिय सङ्गठन तथा शान्ति प्रक्रियामा आफ्नो उपस्थिति विस्तार गरेका छन् । यद्यपि, अझै पनि धेरै क्षेत्रमा महिलाको प्रतिनिधित्व न्यून रहेको र समान सहभागिता सुनिश्चित गर्न थप प्रयास आवश्यक रहेको उल्लेख गरिएको छ ।

शान्ति निर्माण, मध्यस्थता र द्वन्द्व समाधानमा महिलाको अर्थपूर्ण सहभागिताले अझ समावेशी र दिगो परिणाम दिने बताइएको छ । लैङ्गिक समानता र महिला सशक्तीकरण दिगो विकास तथा समावेशी समाज निर्माणका लागि यो आधारभूत तत्व हो ।

संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र पनि स्थायी प्रतिनिधि तथा राजदूतका रूपमा महिलाको उपस्थिति कम रहेको र कूटनीतिक सेवाका उच्च तहमा उनीहरूको सहभागिता अझै कमजोर रहेको बताइएको छ । संरचनात्मक, संस्थागत र सांस्कृतिक अवरोधका कारण महिलाहरूको नेतृत्वमा पुग्ने बाटो अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबै पक्षलाई समान अवसर सुनिश्चित गर्न आग्रह गरिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने बताउँदै महिलालाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड दिएकी छिन् ।

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।

उनले भने, “एकिन सङ्ख्या निकाल्दैछौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ ।”

निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४९ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १३०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ४० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७४६ जनालाई कारबाही गरिएको हो ।

प्रहरीको तलब प्रत्येक १५ दिनमा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि प्रहरीलाई पनि हरेक १५ दिनमा तलब दिने भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले आज देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

परिपत्रमा अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको गत जेठ २१ गतेको पत्रबमोजिम आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने प्रणालीमा आवश्यक व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित कार्यालयहरूलाई सोहीबमोजिम व्यवस्था मिलाई कार्यान्वयन गर्न अनुरोध गरेको छ । साथै, प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई समेत सम्बन्धित आर्थिक प्रणालीहरू नयाँ व्यवस्थाअनुसार व्यवस्थित गर्न भनिएको छ ।

फिफा विश्वकप : क्रोएसियासँग पानामा १-० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसियाले जित हात पारेको छ । क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले पानामालाई १-० ले पराजित गरेको छ ।

दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका आन्ते बुडिमिरले गोल गर्दै अग्रता दिलाए । बुडिमिरले खेलको ५४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई १-० अग्रता बनाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पानामाले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन ।

बाँदर आतङ्कबाट किसानलाई राहत दिन नगरपालिकाले छुट्यायो ४५ लाख

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।

नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि रु ४५ लाख छुट्याइएको छ । नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ बजेट विनियोजन गरेका हुन् ।

बाँदरको समस्यालाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । बाँदरको समस्या समाधान गर्न सङ्घीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको जनाइएको छ ।

नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रमसमेत सञ्चालन गर्ने नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई के चाहिन्छ ? कार्यक्रमअन्तर्गत किसानको घरदैलोमा पुगेर प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण र एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले असार ७ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । जिल्लाको दोस्रो ठूलो स्थानीय तह (एघार वडा रहेको) हलेसी तुवाचुङ नगरपालिकाले रु ८४ करोड ११ लाख ८२ हजारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

केपिलासगढी गाउँपालिकाले मङ्गलबार रु ४७ करोड ५१ लख पाँच हजार १७० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको १९औँ गाउँसभामा गाउँपालिका उपप्रमुख गुरुराज राईले पुँजीगत खर्चतर्फ रु १७ करोड १२ लाख ५१ हजार तथा चालु खर्चतर्फ रु ३० करोड ३८ लाख ५४ हजार १७० बजेट विनियोजन गरेका हुन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पाँच स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका, बराहपोखरी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ ।प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिएका छन् । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ । उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए ।

यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको प्रेस संयोजक बजगाइँले जानकारी दिए । उनी काठमाडौँ महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँगै कार्यरत थिए ।

प्रेस सहजकर्ता बजगाईंका अनुसार प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन्। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ ।

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

काठमाडौँ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली भएको छ । कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बदली हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही तथा बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै, कोशी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।

पोखरा बसपार्कका ५२० संरचना हटाइयो

कास्की। पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका ५२० वटा संरचना हटाएको छ ।

यही जेठ ४ गतेदेखि बसपार्कभित्रका व्यापारिक कम्प्लेक्स र सटरहरूमा डोजर चलाएको महानगरले हालसम्म बास्तोला कम्प्लेक्सका ३२० र अन्य २०० सटर कवलहरू खाली गरेको हो ।

हाल त्यस स्थानलाई सम्याउने काम भइरहेको र थप कार्यलाई निरन्तरता दिइएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।

देशको प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेकाले पोखरामा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विसं २०३० मा २०५ रोपनी जमिन अधिग्रहण गरिए पनि हालसम्म बसपार्क बनेको छैन भने अधिग्रहण गरिएको जग्गासमेत अहिले २६ रोपनी मात्र बाँकी छ । पछिल्लो समय महानगरले बसपार्कको जग्गाभित्रका संरचना हटाउने र सुकुमवासीले अतिक्रमण गरेको जग्गा खाली गर्न प्रक्रिया सुरु गरेको हो ।

महानगरले लालपूर्जाभित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुमवासी बस्ती खाली गर्न भने अझै बाँकी छ । बसपार्कभित्र तीन वटा सुकुमवासी बस्तीमा ५७२ घर परिवारले जग्ग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन् । महानगरले सुकुमवासीलाई अन्यत्र व्यवस्थापनपछि मात्र अतिक्रमति घर टहरनामा डोजर चलाउने जनाएको छ ।

महानगरपालिकाले हाल डोजर लगाएर खाली गरेको बाँस्तोला कम्प्लेक्सको जग्गासहित पेट्रोलपम्प लाइनको जग्गा व्यक्तिको स्वामित्वमा छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टा भर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।

महागरले पछिल्लो समय जग्गा सट्टा भर्नाको निर्णय लगायतको विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समितिसमेत गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुन सकेको छैन ।

यसैगरी बसपार्कका भूमिहीन सुकुमवासीको वैकल्पिक व्यवस्थाका लागिसमेत महानगरका विभिन्न छ स्थानमा जग्गा खोजी गरेर यसको प्राविधिक अध्ययनको काम भइरहेको महानगरले जनाएको छ ।

फिफा विश्वकप : इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले ।

समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।

विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो

यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११७ रुपैयाँ २३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८७ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा तीन दिन विद्यालय बन्द

नेपालगन्ज । अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरी तीन दिनका लागि १६३ वटा विद्यालय बन्द गरिने भएको छ । यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो ।गर्मीले विद्यार्थीलाई विद्यालय आवतजावत गर्न कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार १०, ११ र १२ गते विद्यालय बन्द गरिने भएको छ ।

उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर खत्रीले जल तथा मौसम विज्ञान विभागलगायतको सुझावका आधारमा तीन दिन विद्यालय तहका सम्पूर्ण पठनपाठन बन्द गरिने जानकारी दिए । उनले गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोस हुने, टाउको दुख्नेलगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्न बाध्य भएका भएको जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकामा संस्थागत ८२, सामुदायिक ४२ र धार्मिक विद्यालय ३९ गरी कुल १६३ विद्यालय रहेका छन् । जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार त्यहाँ आजको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस रहेको छ ।कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले नेपालगन्जमा ४० र खजुरामा ३९.६ अधिकतम तापक्रम रेकर्ड भएको जानकारी दिए ।

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १४ हजार १११ जनालाई राहदानी वितरण गरेको छ।सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका लागि आवेदन दिएकामा १४ हजार १३४ राहदानी कार्यालयमा प्राप्त भई १४ हजार १११ जनालाई वितरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न प्रयोजनका लागि विदेश जाने नागरिकको सङ्ख्या बढ्दै जाँदा राहदानी सेवाको मागमा उल्लेख्य वृद्धि भएको बताए । उनले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन कार्यालयले आवश्यक व्यवस्थापन गरेसँगै सेवाग्राहीबाट गुनासो आउनेक्रम रोकिएको जानकारी दिए।

सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले रूपन्देहीमा राहदानी बनाउने दर लुम्बिनी प्रदेशकै उच्च रहेको बताए । उनले खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रोजगारीका लागि जाने युवाको सङ्ख्या बढी रहेका अवस्थामा तुलनात्मक रुपमा धेरै जनसङ्ख्या भएको रुपन्देहीमा राहदानीको माग बढेको स्पष्ट पारे । उनले विशेषगरी वैदेशिक रोजगारी, अध्ययन, व्यावसायिक भ्रमण, पर्यटन तथा अन्य व्यक्तिगत प्रयोजनका लागि राहदानीको माग हुनेगरेको बताए।यसै

गरी, रपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले राहदानीसँग सम्बन्धित सेवाग्राहीको चापलाई दृष्टिगत गरी अनलाइन आवेदन, बायोमेट्रिक विवरण सङ्कलन तथा राहदानी वितरण प्रक्रियालाई थप व्यवस्थित बनाइएकाले सेवाप्रति गुनासो नरेको बताए।

रास्वपा केन्द्रीय सदस्यमा निर्मल गौतमको उम्मेदवारीको चर्चा

चितवन । रास्वपाका युवा नेता तथा वित्तिय विष्लेषक निर्मल गौतमले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । लामो समय बैँक तथा वृत्तिय क्षेत्रमा अनुभव बटुलीसकेका गौतमले खुल्ला तर्फबाट केन्द्रिय समितिको सदस्य पदमा उम्मेद्धवारी दर्ता गराएका हुन् । चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेमध्यमा उनी कम उमेरका र सानै उमेरमा विभिन्न अभियान, नेतृत्व विकास तालिम, संवाद तथा अधिकारमुखी कार्यक्रममार्फत खारिएका युवा नेता हुन् । नेपालमा अधिकारमा आधारित विकासको बहस सान्दर्भिक बन्दै गइरहेका बेला युवा राजनीतिज्ञ गौतमलाई रास्वपाभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ। युवाको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने र नेतृत्वलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । नयाँ पुस्तालाई सक्रिय राजनीतिमा प्रेरित गर्ने उद्देश्यका साथ मैले आफ्नो उम्मेदवारी दिएको हुँ, उनले भने ।

एक सफल वित्तिय विष्लेषकका रुपमा गौतमले काम गर्ने क्रममा सहकारीले सृजना गरेको दुई अर्ब भन्दा बढी रकम करको दायरामा ल्याई कसुर आर्जित सम्पत्तिलाई सरकारको आयमा समेत बृद्धि गर्न उनले उल्लेखनिय भूमिका खेलेका छन् । उनको कामको रास्वपा बृत्तमा निकै प्रशंसा हुने गरेको छ

रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो ।

आजै साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ । पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता गरिनेछ । उहाँका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति १०ः०० बजे प्रकाशन गरिनेछ ।

उम्मेद्वार बिरुद्ध दाविविरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ । दाविविरोध परेका उम्मेद्वारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ । राति ११ः१५ बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेद्वारी फिर्ता लिन सक्ने छन् । अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए ।

बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताउनुभयो । मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ ।

पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।

अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ का लागि अन्तिम मनोनयनलागि तीन हजार २९७ जनाको आवेदन प्राप्त भएको छ ।

प्राप्त आवेदनमध्येबाट ५८६ जनालाई मनोनयन गरिएको कामपा शिक्षा विभागले जानकारी दिएको छ । जसमा शिक्षा विषयका लागि दुई जना, मानविकीमा छ जना, कानुनमा २३ जना, व्यवस्थापनमा २७३ जना विज्ञानमा २८२ जना विद्यार्थी मनोनयन हुने भएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

शिक्षा अधिकृत प्रल्हाद खतिवडाका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका र अन्तिम मनोनयनमा समावेश हुन चाहेका परीक्षार्थीलाई विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गर्न असार ४ गते बिहान १० बजेदेखि ८ गते साँझ ५ बजेसम्मको अवधि दिइएको थियो । मनोनयनमा परेका विद्यार्थीहरूले असार ११ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना भइसक्नुपर्नेछ ।

यसवर्षका लागि कामपाले १४५ वटा शिक्षण संस्थामा चार हजार ८५७ कोटा निर्धारण गरिएकोमा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट तीन हजार ५१ जना विद्यार्थी, दोस्रो सूचीबाट २३० जना गरी तीन हजार २८१ जना विद्यार्थी भएपछि बाँकी रहेका एक हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको थियो ।

कामपाको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिष्टबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना हुनुभएको थियो । छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट पहिलो मनोनयन सूचीमा तीन हजार ७३५ विद्यार्थी थिए । यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो ।

यीमध्ये एक हजार ९०१ जना विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा पाँच जना विद्यार्थी भर्ना भएका छन् ।

यसरी भर्ना भएका विद्यार्थीहरूको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ लिष्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गर्‍यो ।

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो । १८ गतेदेखि २० गतेसम्म पुनर्योग र विवरण सच्याउन समय दिइएको थियो ।

गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकअन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल सुरु भएको छ ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले गत शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आवको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सामान्य छलफल सोमबार सकिएपछि मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल सुरु भएको हो ।

उद्योग तथा पर्यटन मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल सुरु भएको प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले बताए ।

आजको छलफलमा प्रदेशसभा सदस्य महेश भट्टराई, देवका पहाडी त्रिपाठी, कुसुम पुन बुढा, बिन्दु पौडेल, श्यामराजा महतलगायतले आफ्ना धारणा राखेका थिउ ।

छलफलमा भाग लिनुहुने प्रदेशसभा सदस्यहरूले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । दुरगामी प्रभाव पार्ने र नागरिकको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम तथा योजनालाई प्राथमिकतामा दिनुपर्ने उनीहरूको भनाइ थियो ।

गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो । विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला, अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री बालेन्द्र साह –बालेन) ले जनकपुरधाममा गरेको भाषणको स्मरण गराउँदै, संविधान संशोधन गरी संघीयता मजबुत बनाउने कार्यमा सरकार चुके आफ्नो पार्टी सडकमा उत्रीने चेतावनी दिए । उनले जसपा नेपालकै एजेन्डालाई बालेन्द्र नेतृत्वको सरकारले उठाएर अगाडि बढेको दाबी गरे । अध्यक्ष यादवले जसपा नेपाल प्रतिनिधि सभाको चुनावमा सिट हासिल गर्नेतर्फ हारे पनि राजनितिक रुपमा नहारेको जानकारी गराए ।

अध्यक्ष यादवले पार्टीले चुनावमा हार बेहोर्नुको आन्तरीक कारणहरुको समिक्षा गर्दै त्रुटी सच्चाएर आगामि चुनावको तयारी गर्ने बताए । जसपा नेपालको नेतृत्वमा मधेश प्रदेश सरकार बनेको बेला गरेका कयौं कार्य र उपलब्धिहरुको प्रचार प्रसार गर्न आफूहरु चुकेको अध्यक्ष यादवको भनाई थियो । उनले जनकपुरधाममा एमबीबीएसको पढाईदेखि कृषि विश्वविद्यालय स्थापना गर्ने कार्यसमेत जसपा नेपालको सरकारलेनै गरे पनि जनता समक्ष यी कार्यहरुबारे जानकारी नभएकोले पनि आफूहरु हारेको बताए ।

अध्यक्ष यादवले अब जसपा नेपाल जनताकोबीचमा गएर जनादेश अनुसार काम गर्ने जानकारी दिए । उनले पार्टीको सिद्धान्त र जनअपेक्षा अनुसार मधेश र मधेशवासीको हक अधिकार सुनिश्चित गर्नका निम्ति कार्य गर्ने धारणा राखे ।

एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री पौडेललाई विशेष अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

विशेष अदालतले मंगलबार जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा पौडेलविरुद्ध जारी गरिएको जरूरी पक्राउ पूर्जी स्वीकृत गर्दै पहिलो पटक सात दिनको म्याद थप गरिएको हो।

सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ।

अदालतको आदेशअनुसार आरोपी विष्णु प्रसाद पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि भइरहेको अनुसन्धानलाई अगाडि बढाउन म्याद थपको माग गरेको थियो। अदालतले सोही मागअनुसार पहिलो चरणमा सात दिनको म्याद स्वीकृत गरेको हो।

यसअघि मंगलबार विशेष अदालतमा म्याद थपसम्बन्धी बहस भएको थियो। अब विभागले अदालतले दिएको समयभित्र थप अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।

प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनको बन्दसत्रमा सहभागी हुनुभएको छ ।बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहनुभएको छ । त्यसअघि अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन सङ्गठनात्मक प्रतिवेदन पेस भएका थिए ।

यसैगरी, पार्टी उपभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव र सहमहामन्त्री विपीनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोध प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सकिएको छ ।कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा असार ७ गते प्रस्ताव गर्नुभएको थियो ।

छलफलमा कोशी प्रदेशसभाका २४ जना सदस्यहरूले सुझाव, सल्लाह, टिप्पणी र संशयसहित आआफ्ना धारणा राख्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री लिंथेपले छलफलमा उठेका रचनात्मक सुझावलाई शिरोधार्य गर्ने भन्दै बजेट न्यायोचित र सन्तुलित छ भन्नुुभयो ।

उहाँले आन्तरिक आय रु पाँच अर्ब ५० करोड उठ्ने लक्ष्य राखेको प्रदेश सरकारले कृषि, सिँचाइ, सडक, पूर्वाधार, निजी क्षेत्र र उदय परियोजनामा गर्ने लगानीबाट प्रदेशको आर्थिक वृद्धि दर पाँच प्रतिशत बढी हुने दाबी गर्नुभयो ।मन्त्री लिंथेपले प्रदेशका १०० वटा विद्यालयमा प्रविधिमैत्री शिक्षा लागू हुने जानकारी दिँदै जङ्गली हात्ती र बाँदरलाई नियन्त्रण गर्न साझा धारणा बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

बाँदर र हात्तीको विषयमा आवाज उठिरहेकाले सरकारले ठोस नीति बनाइ अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री लिंथेपले आर्थिक वर्ष २०८३/८४ सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ विचार गरियोस् भनी प्रस्ताव सदनमा पेस गर्नुभयो ।

सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो ।समसामयिक विषयमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गत असार ४ गते विराटनरस्थित आफ्ना निवासमा प्रहरीद्वारा भएको खानतलासीको विषयमा आफ्ना कुरा राख्नुभएको थियो ।

त्यस्तै विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले र शून्य समयमा कोशी प्रदेशसभाका सदस्य सविना बजगाईं, सिर्जना राई र मीना श्रेष्ठले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक असार ११ गते दिउँसो १ बजे बस्नेछ ।

ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

ललितपुर। ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानकार्यलाई प्राथमिकतामा राखेको छ ।

सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीतर्फको चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो ।

महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक तथा अन्य मुख्य सडकमा समेत स्मार्ट बत्ती जडानकार्य अघि बढाइरहेको जनाएको छ । यसअन्तर्गत दोस्रो चरणमा ललितपुर क्षेत्रभित्रको ७.९ किलोमिटर चक्रपथ क्षेत्रमा लाइट जडान गर्ने योजना कार्यान्वयन भइरहेको छ ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनका अनुसार परियोजनाका लागि महानगरपालिकाले रु १० करोड तथा नेपाल विद्युत् प्राधिकरणले रु तीन करोड सहयोग गरेको छ । यसरी कुल रु १३ करोडको लगानीमा स्मार्ट स्ट्रिट लाइट जडानको काम अघि बढाइएको हो ।

नगरप्रमुख महर्जनले चक्रपथमा आधुनिक बत्ती जडान भएपछि सडक रातभर उज्यालो रहने, यात्रु तथा सवारी चालकलाई सहज हुने र दुर्घटनाको जोखिम कम हुने विश्वास व्यक्त ग ।

उहाँका अनुसार परियोजनाअन्तर्गत ११ मिटर अग्ला ३७१ वटा पोल, आठ मिटर अग्ला १९५, सात मिटर अग्ला २२४ पोल तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गरिनेछ ।

महानगरपालिका क्षेत्रभित्रको सम्पूर्ण ७.९ किलोमिटर चक्रपथ खण्ड प्रभावकारी रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ ।महानगरपालिकाले पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती सञ्चालनमा ल्याउने र त्यसपछि क्रमशः अन्य क्षेत्रमा विस्तार गर्दै लैजाने जनाएको छ ।

नगरप्रमुख महर्जनले आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउने जानकारी दिँदै स्मार्ट स्ट्रिट लाइट परियोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

विदेश पठाउने भन्दै २३ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै रु २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१ का ५० वर्षीय युवकराज पराजुली, जिल्ला दोलखा जिरी नगरपालिका–३ का ३४ वर्षीय टङ्कबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका–६ का ३४ वर्षीय मनिष पोदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

उनले भने, “पक्राउ परेकामध्य पराजुलीले न्यूजील्यान्ड पठाउने भन्दै रु १६ लाख ६५ हजार, खड्काले लिथुआनिया पठाउने भन्दै रु पाँच लाख तथा पोदारले बेलायत पठाउने भन्दै रु दुई लाख रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए।

विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको घोर भत्र्सना, अविलम्ब रिहाइको माग

काठमाडौं । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ।मंगलबार बसेको संसदीय दलको बैठकले उनको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब विनासर्त रिहाइको माग गर्ने निर्णय गरेको संसदीय दलका सचेतक ऐन महरले जानकारी दिए।

उनले भने, ‘एमाले संसदीय दलको बैठकले विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ र उहाँलाई अविलम्ब विनासर्त रिहा गर्न माग गरेको छ।’त्यस्तै, उनको अनुसार सरकार तानाशाही र स्वेच्छाचारी अधिनायकवादको बाटोमा हिँडेको तथा विधिको शासन र कानुनी राज्यको खिलाफमा रहेको निष्कर्ष बैठकले निकालेको छ।

‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा छ। यो कदम पूर्णतः अधिनायकवादी छ र विधिको शासन एवं कानुनी राज्यको विरुद्धमा छ,’ उनले थपे।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।

भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।
चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १२२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६८८ जनालाई कारबाही गरिएको हो ।

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ ।

बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलहरु समेत हटाइएका छन् । विसं २०३० मा बसपार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बसपार्क निर्माणका लागि ‘साइट क्लियर’ गर्ने काम सुरु गरिएको हो । संरचना हटाएको क्षेत्रमा सरसफाइ गरेर सम्याइएको छ ।

महानगरले लालपूर्जाभित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुमवासी बस्ती खाली गर्न भने अझै बाँकी छ । बसपार्कभित्र तीन वटा सुकुमवासी बस्तीमा ५७२ घर परिवारले जग्ग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन् । महानगरले सुकुमवासीलाई अन्यत्र व्यवस्थापनपछि मात्र अतिक्रमति घर टहरनामा डोजर चलाउने जनाएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले सुकुमवासी बस्तीको व्यवस्थापन नगरिकन उनीहरुलाई त्यहाँबाट नहटाइने बताए । उनले भने, “सुकुमवासी बस्तीका साथीहरूको डकुमेन्ट भेरिफिकेसनसहित विवरण छानबिन भइरहेको छ । केही व्यक्तिहरुले तीनपुस्ते सही विवरण नदिएको तथा झुट्टा विवरण दिएको पाइएको छ । यस्तो झुटो विवरण प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही हुन्छ । विवरण प्रमाणित गर्ने काम पूरा भएलगत्तै सुकुम्वासी बस्ती स्थानान्तरण प्रक्रिया गछौँ ।”

प्रमुख आचार्यले सुकुमवासी बस्तीको व्यवस्थापन नगरी हटाइने छैन भन्ने प्रतिबद्धता महानगरबाट पटक–पटक दोहोर्याइए पनि केही गैरसुकुमवासी व्यक्तिहरू तथा असम्बन्धित व्यक्तिहरू बस्तीभित्र प्रवेश गरी गलत सूचना दिने र भड्काउने कार्य भएको पाइएकाले यसप्रति कसैले पनि भ्रममा नपर्न अनुरोध गरे ।

महानगरपालिकाले हाल डोजर लगाएर खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गासहित पेट्रोलपम्प लाइनको जग्गा व्यक्तिको स्वामित्वमा छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भएपनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।

महागरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णय लगायतको विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुन सकेको छैन ।

बसपार्कभित्रका सुकुमवासीहरु आफूहरुको अन्यत्र व्यवस्थापन हुनेबित्तिकै बस्ती खाली गर्न तयार रहेको बताएका छन् । सुकुमवासी सरोकार समितिका अध्यक्ष प्रेम गुरुङले विकल्प पाउनसाथ बसोबास गरिरहेको स्थानबाट हट्न तयार रहेको बताए । उनले भने,“बसपार्क लामो समयअघिको योजना हो तर हामीलाई देखाएर बन्न सकेको छैन । हामी विकासविरोधी होइनौँ, बाधक बन्दैनौँ, महानगरले हामीलाई कहाँ गएर बस्ने भन्ने ठाउँ देखाइदियोस् हामी जान तयार छौँ ।”

जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी करिब ९४ योजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको छ ।

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकस मन्त्रालयबाट स्वाकृति भई आएका ९४ वटा योजनामध्ये ८५ वटा योजना उपभोक्ता समितिसँग सम्झौता भई अहिलेसम्म ५० बाट योजना निर्माण सम्पन्न भएका छन् ।

नौ योजना ठेक्का भई हालसम्म सात वटा योजना निर्माण सम्पन्न भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकलबहादुर महतले जानकारी दिए ।

उक्त योजनामध्ये यहाकाँ आठवटै स्थानीय तहका लागि मन्त्रालयबाट क्रमागत सिँचाइका ७३ वटा योजना रहेका छन् । १७ वटा योजना तटबन्धन र खानेपानीका २५ वटा योजना यो आर्थिक वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख महतको भनाइ छ ।

खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी योजनालाई विशेष प्राथमिकतामा राखेर योजनालाई कार्यान्वयन गरिने भएको छ । कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट यहाँका जमिनमा सिँचाइ सुविधा विस्तार भई खेतीयोग्य जमिनमा स्तरोन्नति भएको छ ।

चालु आवको जेठसम्म कूल बजेटको पुँजीगत खर्च करिब ५० प्रतिशत खर्च भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ ।सरकारको आर्थिक वर्ष २०८३ / ०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो ।

सहकारी संस्थाहरूको अनुगमन, सुपरीवेक्षण र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।
सार्वजनिक स्थलहरूमा सिसीटिभी क्यामरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ सिस्टम विकास गरिने बजेटमा उल्लेख छ ।

लागुऔषध दुरूपयोग, मानव बेचबिखन र साइबर अपराध न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सञ्चालन गर्ने बजेटमा भनिएको छ । बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, विपद् स्वयंसेवक परिचालन र विपद् बीमा कार्यक्रम सञ्चालन गरिने मन्त्री तामाङले बताए ।सवारी साधनको चाप बढी हुने स्थानहरूमा ट्राफिक लाइट जडान र प्रदेशका मुख्य नाकाहरूमा स्मार्ट चेकपोस्ट स्थापना गरिने सरकारले जनाएको छ ।

पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्नु गलत भन्दै सरकारमाथि खनिए प्रदीप ज्ञवाली

काठमाडौं – एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमार्फत सरकारको शैली गलत भएको टिप्पणी गरेका छन् । उनले पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्नु गलत भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुन सम्मत् सामना गर्ने र न्यायालयको फैसलालाई सहज ढङ्गले स्वीकार गर्ने नेकपा (एमाले) को स्थापित मान्यता हो । नेकपा ( एमाले) ले यस मान्यतालाई अवलम्बन गर्दै आएको छ ।’

‘पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित विधि हुनु पर्ने हो ।

तर पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ ।राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन ।’