`

चौरासी पूजा तथा वृद्धभत्ताबाट संकलन भएको रकम ९३ वर्षीया मिराले गरिन् भोटेकोशी बाढीपीडितलाई सहयोग

पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ बगैँचाकी ९३ वर्षीया मिरा कुमारी श्रेष्ठले भोटेकोशी बाढीपीडितका लागि ४० हजार रुपैयाँ सहयोग गरेकी छन्। श्रेष्ठले आफ्नो चौरासी पूजा तथा वृद्धभत्ताबाट संकलन भएको रकम बाढीपीडितको सहयोगका लागि प्रदान गरेकी हुन्। उमेरले ९३ वर्ष पुगे पनि सामाजिक सेवाप्रति आफ्नो दायित्व सम्झिँदै उनले विपद्मा परेका परिवारलाई सहयोग गर्ने इच्छा व्यक्त गरेकी हुन्। उनको यो सहयोगले विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

वृद्ध अवस्थामा समेत आफ्नो आम्दानीबाट रकम बचत गरी विपद्मा परेका नागरिकलाई सहयोग गरेपछि उनको योगदानको स्थानीयस्तरमा प्रशंसा भएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटिरहेको अवस्थामा श्रेष्ठको सहयोग पनि सोही अभियानमा थपिएको छ।

नेपाली कथानक चलचित्र ‘युग’को करिब ९० प्रतिशत छायांकन सम्पन्न

काठमाडौं। हिमालयन मुभिज प्रोडक्सन हाउसको निर्माणमा निर्माणाधीन नेपाली कथानक चलचित्र ‘युग’को करिब ९० प्रतिशत छायांकन समाप्त भएको छ। करिब तीन सातासम्म देशका विभिन्न स्थानमा छायांकन गरेर निर्माण टोली काठमाडौं फर्किसकेको र बाँकी छायांकन राजधानीमै गरिने निर्माण स्रोतले जानकारी दिएको छ।

सरोज खनाल, दिक्पाल कार्की, हिमानी सुब्बा, तारा के.सी., गीता अधिकारी, अभिषेक खड्का, टिना आले मगर, सुरवीर पण्डित लगायतको अभिनय रहेको यस चलचित्रको विषयवस्तुबारे भने केही खुलाइएको छैन।

प्रतिकूल मौसमका कारण छायांकनमा केही असर परेको र मौसममा सुधार हुनासाथ बाँकी काम सम्पन्न गरिने चलचित्रका लेखक तथा निर्देशक कोमलनाथ खतिवडाले जानकारी दिएका छन्। चलचित्र ‘युग’को मुख्य सहायक निर्देशनमा मनिष राउत रहेका छन् भने छायांकनको जिम्मेवारी मुकेश हुमागाईंले लिएका छन्।

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालले नगण्य मात्रामा कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणाम नेपालले नै भोग्नुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताउनुभएको छ ।

यसकारण नेपालले जलवायु न्याय पाउनुपर्ने दाबी पेस गर्दै जलवायु न्याय केवल राष्ट्रसङ्घको दस्ताबेजमा सजाएर राख्ने सुन्दर शब्दावली मात्र बन्न नहुने तर्क प्रधानमन्त्रीले गर्नुभयो ।

ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नुहुँदैन । हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ । त्यसैले हामीले न्याय पाउनुपर्छ ।”

प्रधानमन्त्री शाहले नेपाल जलवायु परिवर्तनसम्बन्धी सबै पक्षले आ–आफ्ना दायित्व पूरा गरून् भन्ने पक्षमा रहेको पनि बताउनुभयो । उहाँले जलवायुजन्य विपद्लाई भूराजनीतिक आरोप–प्रत्यारोपको विषय बनाउन नहुनेमा समेत जोड दिनुभयो । नेपालमा पछिल्ला विपद्का कारण भएको क्षतिको जानकारी दिँदै उहाँले हिमालय क्षेत्रलाई तनावको क्षेत्र नभई जलवायुजन्य जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि साझा प्रयोगशाला बनाउनुपर्नेमा जोड दिनुभयो ।

सम्बोधनकै क्रममा प्रधानमन्त्रीले ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गर्नुभएको छ । नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स् मेकानिज्म’ स्थापना गर्नुपर्ने उहाँको तर्क थियो ।

हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अरब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको र यो क्षेत्र नै पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षणका लागि यस्तो संयन्त्र आवश्यक रहेको उहाँको तर्क थियो । प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने तथा विपद्का समयमा सीमापार सहायता समन्वय गर्ने प्रस्ताव उहाँले अघि सार्नुभएको छ । हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तरराष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने जस्तो महत्वपूर्ण विचार उहाँले राख्नुभयो ।

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान रहेका वित्तीय संयन्त्रहरु पर्याप्त नभएको तर्क पनि गर्नुभयो ।

हुन पनि हो, प्रकृतिको पर्खाल हुँदैन, विपत्तिलाई बारले छेक्दैन । प्रधानमन्त्रीले भन्नुभएजस्तै जलवायु परिवर्तनले सीमा चिन्दैन, हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन् । यसको पछिल्लो उदाहरण भोटेकोशी बाढीलाई लिँदा गल्ती हुँदैन । किनभने चीनतर्फबाट आएको हिमाली सुनामीसरहको बाढीले यसरी बढार्यो कि त्यहाँ भूगोलले छुट्याएको चीन नेपाल सीमाको कुनै कुरै आएन । विपत्तिले क्षति दुवैतर्फ नै गर्यो । नेपालतिरको भूगोल गहिरो भएकाले पानी तलै बग्यो र हामीलाई धेरै हान्यो, त्यो अस्वभाविक होइन ।

यो प्रसङ्ग यहाँ प्रस्तुत गर्न किन आवश्यक छ भने हामी कार्बन उत्सर्जनमा निकै कम योगदान भएका राष्ट्र हौँ तर हामी नै प्रकृतिको बढी कोपभाजन बन्न पुगेका छौँ । कार्बन उत्सर्जनमा हाम्रो योगदान नगण्य छ भने हाम्रा उत्तरी र दक्षिणी छिमेकीको विश्वकै सबैभन्दा बढी हरित गृह ग्यास तथा कार्बन उत्सर्जनको गणनामा आउने गर्दछ ।
हाम्रा छिमेकीको यो प्रतिशत विश्वकै गणनाको भएकाले यो हेरेपछि एउटा सामान्य र सीधा हिसाब के निकाल्न सकिन्छ भने हाम्रा छिमेकी पनि नेपालको असरबाट धेरै टाढा छैनन्, बरु जोखिममै जोडिएका छन् । अर्थात् प्राकृतिक विपत्तिबाट धेरै सुरक्षित तथा निकै पर चाहिँ छैनन् ।

प्राकृतिक विपत्ति सिमाना छुट्याएर आउँदैन र विनाशका लागि यसले भूगोल छान्दैन भन्ने उदाहरण यसअघि खुलाइएको छ भोटेकोशी बाढीको । यसको उदाहरण प्रधानमन्त्री शाहले नै प्रस्तुत पनि गर्नुभयो । किनभने त्यो महाविनाशले पहिला चीनतर्फको भूगोलमा क्षति पौँचाएरै नेपाल प्रवेश गरेको छ । नेपाल गहिरो भूगोलको बनोटमा परेकाले हामीकहाँ महाविनाश गर्यो, बाढी ओरालो बगेकाले क्षति हामीलाई बढी भयो ।

अर्कातर्फ यो महाविनाशमा भारतीय नागरिक पनि परेका छन् । सिमानाले छुट्याए पनि आखिर धार्मिक, प्राकृतिक र अरु साहसिक पर्यटक त एउटै आँगनसरि हिँडडुल र यात्रा गर्न रुचाउँछन् । यो विपत्तिका समयमा गोसाइँकुण्ड जाने भारतीय पनि थिए र सदगुरुको अगुवाइको सहितका कैयौँ टोली चीनको मानसरोबर यात्रामा जाने भारतीय तथा नेपाली पनि थिए ।

त्यसबेला महाविनाशले हान्दै गर्दा भूगोल र नागरिक चिन्ने कुरा पनि भएन । विपत्ति सबैका लागि बराबर हो, सान्त्वना र सहानूभूति पनि यो या उ भूगोलका लागि नभएर मानवताकै लागि हो । यहाँनेर यो आलेखको आसय यो हो कि जलवायु परिवर्तनको असर सबैको साझा समस्या हो, त्यसैले यसको निराकरण या रोकथामको प्रयास पनि सबैको साझा कर्ममै हुनु जरुरी छ । जसरी अघि भनिएजस्तै विपत्तिले भूगोल छान्दैन र कुनै पनि देशको नागरिकता चिन्दैन, त्यसैगरी यसको प्रकार प्रकृतिको पहिचान र निराकरणमा पनि सबैको साझा पहलले नै धेरै रोकथामको काम गर्नेछ ।

उहाँको सम्बोधनमा नेपालले प्रकृतिमैत्री जीवनशैली अपनाएका विषयहरु मात्र समेटिएको छैन कि विशाल हिमालय क्षेत्र र बृहत् नदी प्रणालीमार्फत विश्व जलवायु तथा वातावरण संरक्षण र प्रवर्द्धनमा नेपालले योगदान पु¥याउँदै आएको तथ्य पनि विश्वसमुदायलाई जानकारी गराइएको छ ।

जलवायु वित्तमा पहुँचका लागि कमजोर मुलुकले वर्षौंसम्म कागजी प्रक्रिया पूरा गरेर सहयोग माग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने आसय यो सम्बोधनमा छ । यसलाई पनि प्रधानमन्त्री शाहले हामीजस्ता पीडित राष्ट्रमाथिको ‘ब्युरोक्र्याटिक अलमल’ को संज्ञा दिनुभएको छ । योसँगै उहाँले नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको तथ्य पनि स्पष्ट गर्नुभएको छ ।

यसअघि यो महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल जाने तय भएकामा भोटेकोशीमा गत भदौ १० गते आएको भायानक बाढी र त्यसले नदी तटीय क्षेत्रका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरुमा गरेको त्रासदीपूर्ण क्षतिपछि जलवायुजन्य यो घातक परिणामका बारेमा विश्व समुदायलाई जनकारी दिई नेपाललाई जलवायु न्यायका लागि याचना गर्न स्वयं प्रधानमन्त्री नै त्यहाँ जानुभएको हो ।

यसै महासभाको उद्घाटन सत्रमा राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरेसले नेपालले जलवायु परिवर्तनका कारण अकल्पनीय क्षति व्यहोरिरहेको विषयमा आवाज बुलन्द गरिदिएको दुई दिनपछि प्रधानमन्त्री शाहले पनि सोही मञ्चमा नेपालका तर्फबाट यो आवाज उठाउनुभएको हो ।

महासचिव गुटेरेसले नेपालमा आफू दुई वर्षअघि पुगेका बेला त्यहाँको हिमाल निकै नै दु्रत गतिमा पग्लिरहेको र जसका कारण नेपाल त छँदैछ, यसले विश्वलाई नै असर गर्ने विषयमा कुरा उठाएको स्मरण गर्दै आज सोही रुपमा नै नेपालमा भोटेकोशी बाढीले क्षति गरेको कुरा उठाउनुभएको थियो ।

जलवायुजन्य विपत्तिको क्षतिपूर्तिका सन्दर्भमा पनि प्रधानमन्त्री र महासचिवको धारणा मिल्न आउँछ । जस्तो कि महासचिवले जसले जलवायु परिवर्तनका लागि योगदान पुर्याएको छ त्यही राष्ट्रले नै क्षतिपूर्ति तिर्नुपर्ने कुरा महासभामा राख्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको यो तथ्यले पनि नेपाललाई विश्व सामु जलवायु न्यायका लागि प्रस्ताव राख्न सहज बनाएको छ ।

यही धारणा प्रधानमन्त्री शाहले पनि राख्नुभयो । उहाँले नेपालका लागि जलवायुजन्य महाविपत्ति केवल मानवीय घटना मात्र नभई विकासको आपत्काल समेत रहेको उल्लेख गर्दै जसले बढी मात्रामा कार्बज उत्सर्जन गरेका छन् तिनै राष्ट्रहरूले नै बढी जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्रीले न्यायको तुलना पैसासँग गर्न नमिल्ने तर्क विश्व समुदायसँग गरेजस्तै गरी नेपालले पनि विगत लामो समयदेखि यस्तै अन्तरराष्ट्रिय मञ्चहरुमा न्याय माग्दै आएको छ ।

हामीमाथि निरन्तर बज्रिरहेको विपत् वास्तवमा हामीलाई नखाएको विष लागेजस्तै हो । नेपालले केवल विदेशीसँग दुःख देखाएको मात्र होइन, आफूले पाउनुपर्ने न्यायको आवाज बुलन्द पारेको हो । यो तथ्यलाई प्रधानमन्त्रीले स्पष्ट राख्नुभएको छ ।

त्यसैले यसलाई सम्बद्ध देश, सरोकारवाला तथा विश्व समुदायले यो नेपालको ‘भिक्टिम कार्ड’ अर्थात् दुःखका साथ गरिएको पीडितको याचना होइन भनेर बुझ्नु आवश्यक छ । किनभने हिमाल विश्वको छानो भएकाले हिमाल र प्रकृति जोगाउनु पनि सबैको दायित्व हो ।

‘लेडी र्‍यापर’ मञ्जलीको ‘दनदनी’ सार्वजनिक, गीतसँगै सामाजिक सेवामा पनि सक्रिय

काठमाडौँ । ‘लेडी र्‍यापर’का रूपमा परिचित मञ्जली तामाङले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ र्‍याप गीत ‘दनदनी’ सार्वजनिक गरेकी छन्। गीत सार्वजनिकसँगै उनले आफ्नो जन्मदिन सामाजिक सेवामार्फत समेत मनाएकी छन्।

‘दनदनी’ र्‍यापमा बुलेट फ्लो ‘थापाकाजी’को लेखन तथा कम्पोजिसन रहेको छ भने मञ्जली तामाङले प्रस्तुति दिएकी छन्। गीतमार्फत ट्रेन्डिङ र भाइरल हुने दौडमा मात्र नलागी आफ्नै मिसन र भिजनअनुसार अघि बढ्नुपर्ने सन्देश प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा विनोद राईको सिनेमेटोग्राफी, सुवास भट्टको कोरियोग्राफी र लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ। ‘दनदनी’ मञ्जली तामाङ ‘लेडी र्‍यापर’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत सार्वजनिक गर्नुका साथै मञ्जलीले जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै चन्द्रागिरि–१४, नैकाप, काठमाडौँस्थित सुजनशील अपांग पुनर्स्थापना केन्द्र तथा विशेष शिक्षा विद्यालयमा पुगेर त्यहाँ रहेका व्यक्तिहरूलाई खाना खुवाएकी छन्।

मञ्जलीले यसअघि ‘गरिबलाई कानुन’, ‘लिट मेन्दो माया’, ‘चेन्ज माइ नेशन’, ‘भ्रष्टलाई फाँसी’ र ‘कथा’ लगायतका र्‍याप गीत सार्वजनिक गरिसकेकी छन्।

सामाजिक तथा समसामयिक विषयलाई आफ्ना र्‍यापमार्फत उठाउँदै आएकी उनका गीतलाई दर्शकले रुचाउँदै आएका छन्।नयाँ गीत ‘दनदनी’मार्फत आफ्नै बाटो, सोच र लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने सन्देश दिन खोजिएको मञ्जलीको भनाइ छ।

नेपाल र जापानबीचको खेल रद्द, नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ‘ए’को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए । त्यस्तै, लोकेश बमले २२ बलमा ६ छक्का र एक चौकाको मद्दतमा अविजित ५२ रनको योगदान दिए । ओपनर आसिफ शेखले २१ रन बनाए ।

जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए ।नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि मैदानलाई कभरले ढाकिएको थियो । लगातार वर्षाका कारण जापानको इनिङ सुरु हुन सकेन र खेल रद्द गरिएको हो ।

खेल रद्द भएसँगै नेपालले दुई खेलबाट तीन अंक जोडेको छ । समूह ‘ए’को शीर्ष स्थानमा रहँदै नेपाल क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ ।धौलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । मङ्गला गाउँपालिकामा भने मतदान प्रक्रियाबाट गोपाल भट्टचन सभापतिमा निर्वाचित हुनुभएको छ ।

म्याग्दी कांग्रेसका सचिव भरत रकालले बेनी नगर सभापतिमा चक्र केसी, धौलागिरिमा प्रेमप्रसाद पुन, मालिकामा राजेन्द्र जुग्जाली, रघुगङ्गामा निरज भण्डारी र अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरुवाल निर्विरोध चयन हुनुभयो ।

मङ्गला गाउँपालिकाको सभापतिमा प्रतिस्पर्धी मुक्तमान केसीलाई दुई मतले पछि पार्दै भट्टचन निर्वाचित हुनुभएको हो । भट्टचनले ४१ मत प्राप्त गरेर सभापतिमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी केसीले ३९ मत प्राप्त गर्नुभएको थियो ।

छ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ वटै वडामा सर्वसम्मतिमा नेतृत्व, पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधिहरु चयन भएका जिल्ला सचिव रकालले जानकारी दिनुभयो ।

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।वर्षाका कारण खेल १५ ओभरमा छोट्याइएको थियो । निर्धारित १५ ओभरमा नेपालले चार विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५७ रन बनाए । उनले ३२ बलको सामना गर्दै पाँच चौका र तीन छक्का प्रहार गरे , उनी नटआउट रहे ।यस्तै, लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५२ रन बनाए । उनले ६ छक्का र एक चौका प्रहार गरे । बमले खेलको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् ।

ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाए । कुशल भुर्तेल १२ बलमा चार रन बनाएर आउट भए । त्यस्तै, कुशल मल्ल र गुल्सन झा समान दुई रनमा पवेलियन फर्किए ।

अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित

सङ्खुवासभा। अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित भएको छ भने बाढी पहिरोको जोखिम पनि बढेको छ ।मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घर र एउटा विद्यालय भवन पनि पहिरोको जोखिममा छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार घरमाथिबाट पहिरो खसेपछि निरौलाको पाँच जनाको परिवार विस्थापित भएको छ ।लगातारको वर्षासँगै चैनपुर–६ भञ्ज्याङखर्कमा पहिरो खसेपछि पाँचखपन–चैनपुरमा यातायात सेवा अवरुद्ध भएको छ । सिलिचोङ गाउँपालिका–२ को वाला माध्यमिक विद्यालय भवन पनि पहिरोको जोखिममा छ ।जिल्ला प्रशासन कार्यालयले अरुण, वरुण, हेवा र सभा खोलाको जलसतह निरन्तर बढिरहेको जनाउँदै सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी। लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका हुन् ।

बैतडीमा गए रातिदेखि लगातार वर्षा भइरहेको छ । दुवै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचालाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन् ।दार्चुला ‘अति जोखिम’ वर्गमा रहेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

सल्यान । सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले असोज ७, ८ र ९ गते सञ्चालन गरेको स्क्रबटाइफस स्वास्थ्य खोजपड्तालसम्बन्धीको शिविरमा ८८ जनामा सङ्क्रमण देखिएको हो ।

तीन स्थानीय तहमध्ये दार्मा गाउँपालिकामा सबैभन्दा बढी ५४ जनामा उक्त रोगको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए ।

उनले भने, “दार्मा गाउँपालिका–१ मा १६० जनाको जाँच गर्दा ३७ र वडा नं ५ मा १८१ जनाको स्वास्थ्य परीक्षण गर्दा १७ जनमा सङ्क्रमण भेटिएको छ । कुमाख गाउँपालिका–४ मा सात जनाको परीक्षणमा एक पुरुष, वडा नं ६ मा ५३ मध्ये छ र वडा ७ मा ३८ जनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखियो ।”

जनस्वास्थ्य अधिकृत रिजालका अनुसार कालीमाटी गाउँपालिका–४ धुरचौरमा २१ जनाको स्वास्थ्य परीक्षण गर्दा एक महिला र एक पुरुषमा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको पाइएको छ । बागचौर नगरपालिका–४ मा १११ जनाको जाँच गर्दा १० जना महिला सङ्क्रमित भेटिएका जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिए ।

रोग फैलिँदै गएको र त्यसमा सङ्क्रमणको अवस्था भयावह बन्दै गएपछि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यसअघि करिब ८०० थान कीटसहित आवश्यक औषधि पठाइसकेको उक्त निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए । उनका अनुसार आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप ४५० कीट स्वास्थ्य परीक्षणका लागि पठाइएको छ ।

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

चितवन। लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन् ।कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार लगातारको वर्षाले अहिले दाना लाग्ने अवस्थामा रहेको धानबालीमा दानामा दाग लाग्ने तथा परागसेचन हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्छ । उहाँले भन्नुभयो, “लगातारको वर्षाका कारण पानीले फूल झार्ने हुन्छ । पछि फोकटा दाना हुन्छ र यो बेलाको झरीका कारण दानामा दाग लाग्ने रोग पनि निम्त्याउँछ ।”

उहाँले जिल्लाका विभिन्न पालिकामा धानमा समस्या देखिन थालेको बताउनुभयो । समस्या देखिएका स्थानमा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयमा खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बढी समस्या भएका स्थानमा हामीले शिविर सञ्चालन गर्न थालेका छौँ । कार्यालयले भरतपुर महानगरपालिका–१४ पकौडीमा बाली उपचार शिविर आयोजना गरेको छ भने अब रत्ननगरमा पनि गर्ने तयारी छ ।”

समस्याको आधारमा शिविर सञ्चालन गरी किसानका समस्या समाधान गर्न कार्यालय लागिपरेको प्रमुख कँडेलले बताउनुभयो । कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले कार्यालयमा दैनिकरूपमा धानमा देखिएको समस्या लिएर आउने किसानको सङ्ख्या बढेको बताउनुभयो । कार्यालय नजिकका किसान कार्यालय मै आउने र अन्य स्थानका किसानले सम्बन्धित स्थानीय तहमा समस्या जानकारी गराउने गरेको उहाँले बताउनुभयो । धानमा देखिएको समस्या लिएर कार्यालयमा आउने किसानको सङ्ख्या बढेपछि बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार जिल्लामा अहिले धानमा एउटा मात्रै रोग नभई विभिन्न रोग तथा किराको समस्या देखिएको छ । खाद्यतत्वको कमी, गबारो, पात बेरुवा, पात मरुवा, पातको फेद डढुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद डढुवालगायतका समस्या देखिएको उहाँले बताउनुभयो ।

यद्यपि, हालसम्मको स्थलगत अवलोकन र किसानबाट प्राप्त समस्याको अवस्थालाई हेर्दा रोग नियन्त्रणबाहिर भने नगएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिम चितवनमा हेर्दा हामीले उपचार गर्दा र किसानलाई सजग बनाउँदा रोग नियन्त्रणबाहिर गएको छैन ।”

रोग नियन्त्रणका लागि पालिकाका कृषि प्राविधिकसँगको समन्वयमा उपचार तथा किसानलाई आवश्यक सुझाव दिँदै आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार विशेषगरी सावाँ मन्सुली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ । हर्दिनाथ–६ जातको धानमा पनि केही क्षेत्रमा समस्या देखिन थालेको उहाँले जानकारी दिनुभयो ।

धानमा समस्या देखिनुमा मौसमसँगै खाद्यतत्वको कमी पनि कारण रहेको उहाँले बताउनुभयो । धानमा विशेषगरी पोटास र जिङ्कको कमी देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “किसानले डीएपी र युरिया मात्रै बढी दिनुभयो, तर धानमा पोटास र जिङ्कको कमी पनि देखिएको छ ।”

लगातार पानी पर्ने र फेरि तापक्रम उच्च हुने अवस्थाले पनि धानमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।

प्रमुख कँडेलले लगातार पानी परिरहेकाले पानी बगाउन मिल्ने खेतमा निकासको व्यवस्था गर्न किसानलाई सुझाव दिनुभयो । यस वर्ष धानमा समस्या बढ्नुमा मौसमको अवस्थालाई पनि प्रमुख कारण मानिएको छ । धान रोप्ने समयदेखि नै बढी पानी परेको र पछिल्लो समय पानी तथा घामको क्रमिक प्रभावले बालीमा विभिन्न समस्या देखिएको उहाँले बताउनुभयो ।

धानमा देखिएका रोग तथा किराको व्यवस्थापनमा जैविक विधिलाई प्राथमिकता दिनुपर्ने र रासायनिक विषादी प्रयोग गर्नुपर्ने अवस्था आएमा सुरक्षित तथा सिफारिस गरिएको मात्रामा मात्र प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ ।

कार्यालयले समयमै किसानका समस्या सुन्ने र खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गरी समस्या नियन्त्रणमा लिन आवश्यक प्रयास गरिरहेको जनाएको छ । यसका लागि स्थानीय तहका कृषि प्राविधिक तथा अन्य कृषि विज्ञ एवं प्राविधिकको सल्लाह र समन्वयमा काम भइरहेको कार्यालयले जनाएको छ ।

झापामा बाढी–डुबानको जोखिम बढेपछि पहिलोपटक ड्रोन प्रयोग

झापा। बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम निगरानी र उद्धार कार्यका लागि शुक्रबार ड्रोन प्रयोगमा ल्याएको हो ।

डिभिजन वन कार्यालयसँग समन्वय गरी प्रयोगमा ल्याइएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुनसक्ने क्षेत्रको निगरानी गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी आवश्यक सूचना सङ्कलन र उद्धारलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको बताउनुभयो । “जोखिम नक्साङ्कनका आधारमा नदी तथा खोलाका संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा आवश्यक उद्धार र प्रतिकार्य अघि बढाइनेछ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार गौरिगञ्ज गाउँपालिकाका वडा नं १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं १ र २ का ६९५ गरी एक हजार १६९ घरपरिवार डुबानको जोखिममा छन् । सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौवटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ तथा सशस्त्र प्रहरीका उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।

प्रजिअ पोखरेलका अनुसार जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ ।

शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो । ती नदी क्षेत्रमा तीन साइरन जडान गरिएको र शुक्रबारसाँझतिर जलसतह घटेको उहाँले जानकारी दिनुभयो ।

“इलाम क्षेत्रमा भारी वर्षा भएपछि त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले त्यसलाई आधार बनाएर साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टममार्फ’त जोखिममा रहेका क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो ।

सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए

काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् ।शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ ।

जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो । शुक्रबार बिहान १० बजे प्रतिसेकेन्ड एक लाख ९८ हजार २ सय २० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए ।दिउँसो १ बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो । दिउँसो २ बजे पानीको बहाव दुई लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो ।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०० पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९९ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८९ पैसा बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९८ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका ४४ वडामध्ये ४२ वडाको अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

गाउँपालिका अधिवेशनबाट नाम्खा गाउँपालिकाको सभापतिमा पेमा लामा, सिमकोटमा बलवीर शाही, खार्पुनाथमा बसन्त शाही, ताँजाकोटमा रणबहादुर रिठाल, अदानचुलीमा जीवन बुढा र सर्केगाडमा सुवास रावत सर्वसम्मत चयन भएका छन् ।गाउँ तथा वडा अधिवेशनपछि अब महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया प्रारम्भ हुने जानकारी सभापति सिंहले दिए ।

साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसल: उपभोक्ताको आकर्षण

बागलुङ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा दसैँ , तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ ।र्पोरेसनले जिल्लामा यही असोज ५ गते सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको आएपछि उपभोक्ताको भीड नै लागेको छ । दैनिक ५०० जनासम्म उपभोक्ता सुपथ मूल्य पसलमा आउने गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले सहुलियत मूल्यमा चिनी, नुन, दाल, चिउरा,मैदा, तोरीको तेल र आटाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

उपभोक्ता सन्जय शर्माले चाडपर्वका मुखमा उपभोक्तालाई खाद्य पदार्थमा केही सहुलियत दिएपछि राहत मिलेको बताए ।

नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठुला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित कार्यालयमा सुपथ मूल्य पसल सञ्चालन ल्याइएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । कार्यालयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ । सुपथ मूल्यसँगै गुणस्तरीय सामग्रीका लागि उपभोक्ता लाइनमा बसेरै खाद्य सामग्री खरिद गर्न थालेका छन् ।

बजारमा मूल्य वृद्धि भइरहेको चिनी, नुन तथा तेललगायतका उपभोग्य बस्तु सरकारी निकायले छुट सुविधासहित दिएपछि उपभोक्ता लामबद्ध भएर खरिद गर्न व्यस्त छन् । उपभोक्तालाई बिलसहित कारोबार गरिरहेको छ । पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी, खाने तोरीको तेल तथा आटा खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताए । पसल आगमी कात्तिक ३० गतेसम्म सञ्चालनमा रहने जनाइएको छ ।

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ । उनले भने ,“माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ ।”

भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार चिनिया मूलका ती पर्यटक युरोपेली नागरिक भएको जानकारी आएको छ । हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो ।

इम्जा छे अर्थात् आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्त्वपूर्ण पर्वतारोहण गन्तव्य हो । नेपाल पर्यटन बोर्डका अनुसार दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ । आइल्यान्ड पिकलाई स्थानीय नाम इम्जा छेले चिनिन्छ । यो क्षेत्र समुद्री सतहबाट करिब छ हजार १६५ मिटर उचाइमा रहेको र खुम्बु हिमाल क्षेत्रमा पर्ने पर्वतारोहण गन्तव्य हो । नेपाल सरकारको पर्यटन तथ्याङ्कमा रूपमा अभिलेख गरिएको छ ।

प्रतिकूल मौसमका कारण माथिल्लो क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको छ । हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनको भनाइ छ । उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ । “मौसम प्रतिकूल भएकाले पर्यटकको सुरक्षालाई प्राथमिकता दिएका छौँ । जोखिमयुक्त अवस्थामा अनावश्यक रूपमा माथि नजान आग्रह गरिएको छ,” उनले भने ।

सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार खुम्बु क्षेत्र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने उच्च जोखिमयुक्त भौगोलिक क्षेत्र हो । निकुञ्जको माथिल्लो भागमा हिमनदी, हिमाल र गहिरा उपत्यका रहेका छन् । इम्जा खोला प्रणालीसमेत निकुञ्जको महत्त्वपूर्ण जलाधार क्षेत्रमा पर्छ । नेपाल पर्यटन बोर्डले सगरमाथा क्षेत्रलाई उच्च हिमाली भूगोलका कारण मौसममा तीव्र परिवर्तन हुने क्षेत्रका रूपमा उल्लेख गरेको छ । यहाँको माथिल्लो क्षेत्रमा तापक्रम न्यून हुने र वर्षा तथा हिमपातका कारण पदयात्रा तथा पर्वतारोहण प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्थाअनुसार यात्रा गर्नुपर्ने हुन्छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले समेत उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएपछि पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा अनावश्यक आवागमन नगर्न आग्रह गरेको छ । गाउँपालिकाले थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार हिमपात बढ्दै गएमा उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीबिच समन्वय कायम गरिएको छ । “विपद्को समयमा स्थानीय जनप्रतिनिधि सक्रिय हुनुहुन्छ । जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा आवश्यक उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि तयारी अवस्थामा छौँ,” उनले भने । प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न र स्थानीय प्रशासन तथा पालिकाले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेको छ ।

भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते बिहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीन वटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन् ।

बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ । विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन् ।

यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन् । यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । करिब सात हजार ५७० घरहरु प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिब ४० हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सडक सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य द्रुत जारी छ ।

‘संकटमा ‘राज्य र रेडक्रस उपस्थित छन्’

विनाशकारी बाढीगए लगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी०को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले आवश्यक समन्वय एवं पहल गरी आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत (१२ लाख अमेरिकी डलर) खर्च गर्न स्वीकृति सुनिश्चित गर्दै बाढी प्रभावितको तत्काल खोज, उद्धार तथा राहतमा जुट्न नेपाल रेडक्रसको स्वयंसेवक र ‘आइएफआरसी’का ‘टिम’लाई आह्वान गरेका थिए ।

साथै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाइ सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकहरूलाई बाढी प्रभावितको खोज, उद्धार परिचालित गरेको थियो । सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीका नेतृत्वमा एक टोलीले तत्काल प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रतिकार्य सञ्चालनलाई अगाडि बढाएको थियो ।

स्वयंसेवकहरूले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा सहयोग पुर्‍याइरहेका छन् । ‘आइएफआरसी’को ‘ड्रिफ’ ले विपद प्रभावितलाई तत्काल उद्धार र राहत सुरुआत गर्न सम्भव बनाइरहेको छ । यसबाट खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, ओछ्याउने म्याट, प्राथमिक उपचार, स्ट्रेचर, शव व्यवस्थापनका लागि सामग्री (डेथ बडी–ब्याग), मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सहयोग, आपतकालीन स्वास्थ्य सेवा, सरसफाइ ‘किट’ जस्ता सामग्री तथा सेवा छिटो भन्दा छिटो प्रभावित स्थानमा पठाउन र वितरण गर्न सम्भव भएको जनाइएको छ ।

महासचिव तथा प्रमुख कार्यकारी अधिकृत चापागाईँले भने, “ड्रिफ समयमा निकासा हुँदा तत्काल बाढी प्रतिकार्यमा सहयोग पुर्‍यायो । स्वयंसेवक सहित उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न सफल भए । प्रभावितले राहत सामग्री उपयोग गर्न पाउनुभयो । यसले अकाल मृत्यु, रोग र थप मानवीय पीडाको संकट घटाउन सहयोग पुर्‍यायो । यसबाट विश्वासको वातावरण निर्माण बनाउन सहयोग पुर्‍यायो । सङ्कटका अवस्थामा ‘राज्य र रेडक्रस उपस्थित छन्’ भन्ने अनुभूति समुदायमा दिलायो । यसले सामाजिक तनाव र अविश्वास घटाउन सहयोग पुर्‍यायो ।”

भोटेकोशी बाढीमा ‘फ्ल्यास फ्लड’को प्रकृतिअनुसार स्रोत परिचालनको गति पनि अत्यन्तै छिटो भएको र ‘ड्रिफ’ र आपतकालीन अपिल अत्यन्त छिटो सक्रिय रहेको उनले जानकारी दिए । महासचिव चापागाईँ भने,“भोटेकोशी बाढी प्रतिकार्यलाई ‘जलवायु संवेदनशील मानवीय प्रतिकार्य’को एउटा महत्त्वपूर्ण ‘मोडेल’ बन्न सक्छ । ”

बढी प्रतिकार्य अन्तर्गत विभिन्न मानवीय सहायताका काम निरन्तर जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । रेडक्रसको महामन्त्री ऋषिरमण खनालले भोटेकोशी बाढी गएको सुरुआती दिनदेखि प्रतिकार्य निरन्तर जारी रहेको जानकारी दिए । उनले सुरुआती क्षणमा बाढी प्रभावितको खोज,उद्धारमासहयोगको साथसाथै हाल आवास तथा गैरखाद्य, खाद्य सामग्रीको वितरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोग, रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनः स्थापना, बहुउद्देश्यीय नगद सहायता/नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा मानवीय सहायता निरन्तर जारी रहेको बताए ।

मानवीय सहायता निरन्तर जारी

महामन्त्री खनालद्वारा जारी विज्ञप्तिका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीको वितरण अन्तर्गत एक हजार २१८ सेट, त्रिपाल ५६३ थान, म्याट्रेस ७०१ थान र कम्बल एक हजार ३२४ थान वितरण गरिएको भने करिब दुई हजार प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ । एक महिनाका अवधिमा बाढी प्रभावित दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याएको, १८ पानी ट्याङ्की व्यवस्थापन गरिएको र आवश्यक स्थानहरूमा ट्याङ्करबाट पानी वितरण गरिएको सोसाइटीले जनाएको छ । विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोगबाट एक हजार ७१० बाढी प्रभावित लाभान्वित भएका, रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सेवाबाट एकजार २३९ जनालाई आवश्यक स्वास्थ्य परीक्षण, औषधि अन्य आवश्यक सेवा उपलब्ध गराएको, परिवार पुनर्मिलन तथा सम्पर्क पुनः स्थापनाबाट दुई हजार २९१ खोजतलाससम्बन्धी ‘केस’मा सेवा तथा सहजीकरण गरिएको साथै नेपाल सरकारका विभिन्न सुरक्षा निकायहरूलाई दुई हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको उल्लेख छ ।

विज्ञप्तिमा बहुउद्देश्यीय नगद सहायता/नगद तथा भौचर सहायता सेवा अन्तर्गत बाढीबाट प्रभावित समुदायको तत्काल आवश्यकता परिपूर्तीको लागि धादिङको १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको, समुदायको गुनासा, सुझाव तथा आवश्यकता सङ्कलन सेवा अन्तर्गत विभिन्न माध्यमबाट समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझावहरू संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा ‘रेफरल’ सेवा प्रदान गरिएको, संरक्षण, लैङ्गिक तथा समावेशीकरण अन्तर्गत मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एक हजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत एक हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ । मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एक हजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत एक हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ ।

सूचना तथा सहायता कक्ष सेवा अन्तर्गत प्रभावित समुदायलाई सूचना, आवश्यक सहयोग तथा सहजीकरण उपलब्ध गराउन विभिन्न १७ स्थानमा सहायता/सूचना कक्ष सञ्चालन गरी सेवा उपलब्ध गराएको र सूचना, शिक्षा तथा सञ्चार सामग्री सेवा अन्तर्गत बाढी प्रभावित समुदायका लागि बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्व सूचना तथा सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य तथा सरसफाइ, परिवार पुनर्मिलन तथा सम्पर्क पुनः स्थापना, राहत तथा सेवामा पहुँच, बहुउद्देश्यीय नगद सहायता तथा समुदायको गुनासा/सुझाव दर्ता गर्ने प्रक्रियासम्बन्धी सूचना सामग्री विकास गरी रेडक्रसको सामाजिक सञ्जाल र रेडियो मार्फत प्रचारप्रसार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ “विशेषगरी विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने, आवश्यक सामग्रीको समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषय नेपाल रेडक्रसको प्राथमिकतामा रहेको छ । साथै, प्रभावित परिवारको पुनः स्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रहरूमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना छ । यस विपद्का समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवाहरू निरन्तर सञ्चालन गर्न सहयोग पुर्‍याउनुहुने रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी , नेपाल सरकार तथा सम्बन्धित सरकारी निकाय, स्थानीय तह, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा सहयोगी व्यक्ति र सम्पूर्ण सरोकारवालाहरूप्रति नेपाल रेडक्रस धन्यवाद तथा आभार व्यक्त गर्दछ । ”

दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित भएर पर्यटन प्रवर्द्धनका विषयमा पर्यटन दशकबारे होटल व्यवसायीसँग छलफल गर्नुभएको छ ।

उहाँले आज आफ्नै कार्यकक्षमा होटल व्यवसायी सङ्घ कर्णाली प्रदेश समितिका पदाधिकारीसँग आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशको आर्थिक विकास र पर्यटन क्षेत्र प्रवर्द्धनसँग जोड्नुपर्ने बताउनुभयो ।

खेलकुदसँगै स्वास्थ्य र पर्यटन प्रवर्द्धन गरी प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउनका लागि होटल व्यवसायीको सक्रियता जरुरी रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो । कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन र पर्यटन दशक मनाउने सम्बन्धमा गर्न सकिने कामहरूका बारेमा उहाँले होटल व्यवसायीसँग जिज्ञासा राख्नुका साथै सुझावसमेत माग्नुभएको थियो ।

सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदको समयमा यहाँका होटलहरू गर्नुपर्ने व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री शाहीले होटल व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

छलफलमा होटल व्यवसायी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पर्यटन दशकको तयारी गर्नुअघि पर्यटकीय क्षेत्रहरूसम्म जाने बाटोको सहजता हुनुपर्ने र त्यहाँ नजिकै रहेका जग्गा उपलब्ध गराएर होटल क्षेत्रमासमेत लगानी भित्र्याउन सकिने बताउनुभयो ।

होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष प्रतिभा वलीले कर्णालीमा सञ्चालित होटलहरूको वर्गीकरण गर्न र पर्यटक बोक्ने गाडीको नम्बर प्लेट दिने विषयमा पहल सरकारलाई गरिदिन आग्रह गर्नुभयो । कर्णालीमा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर

काठमाडौँ। नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र रुवान्डाका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री ओलिभियर जाँ प्याट्रिक न्दुहुन्गिरेहेले सम्झौतामा हस्ताक्षर ग को हो।

सम्झौताले नेपाल र रुवान्डाबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ। नेपाल र रुवान्डाबीच सन् २०१८ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो र दुवै मुलुक संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन्।

सम्झौतामा हस्ताक्षरसँगै नेपाल–रुवान्डा सम्बन्धलाई थप संस्थागत गर्दै आपसी सहयोगका नयाँ क्षेत्र पहिचान र विस्तार गर्ने अवसर सिर्जना भएको छ।

छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्दै छिटो काम गर्न सरकारलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले बजेट निर्माणलाई तीव्रता दिन र बजेटबारे विगतमा उठ्दै आएका प्रश्नलाई सम्बोधन गर्ने गरी काम गर्नसमेत आग्रह गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी, प्रदेशसभा संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा भएको बैठकमा विगतमा सबै दलहरूको सहमतिमा बजेट निर्माणसम्बन्धी बनाइएका मापदण्ड पालना र टुक्रे तथा छरिएका योजनालाई निरुत्साहित गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा बजेट तथा योजना निर्माण गर्ने, प्रदेशसभा सदस्यहरूले सिफारिस गर्ने योजनासमेत रणनीतिक महत्व र आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिइएको थियो ।

प्रदेशको समग्र विकासमा प्रभाव पार्ने रुपान्तरणकारी ठूला तथा प्राथमिकता प्राप्त योजनालाई बजेटमा समेट्ने र टुक्रे योजनाका नाममा हुने बेथिति रोक्ने सबै दल सहमत भएका छन् ।

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक। बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको तह पार गरेको छ ।

यद्यपि, उक्त खोलाको जलसहत शुक्रबार दिनभरमा घटबढ भएको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको पनौतीस्थित बाढी सूचना केन्द्रले जनाएको छ ।

वर्षासँगै पनौतीस्थित रोशी खोलामा आएको बाढीका कारण जलसतहमा फेरबदल हुने क्रममा शुक्रबार साँझ ५ः०० बजे जलसतहले खतराको तह पार गरेको केन्द्रले जनाएको हो ।

विभागका विभागका डाइड्रोलोजिष्ट सौर्हाद जोशीका अनुसार आज अपराह्न ५ः५५ बजेसम्म पनौतीस्थित रोशी खोलाको जलसतह ४.५२ मिटर रहेको छ । रोशी खोलामा पानीको सतह निरन्तर उकालो लागेपछि तल्लो तटीय क्षेत्र तथा आसपासका बस्तीमा कटान र बाढीको जोखिम बढेको जनाइएको छ ।

विभागले रोशी खोलालाई लक्षित गर्दै पनौतीको भूमिडाँडा नजिक बाढी मापन केन्द्र, पनौतीको त्रिवेणी घाट नजिक बाढी मापन केन्द्र स्थापना गरेको छ । पनौतीस्थित रोशी खोलामा जलसतहले खतराको तह पार गरेपछि पनौती गोरखनाथमा स्थानीयवासीले देख्ने गरी खतराको बत्तीसमेत बल्ने गर्दछ । विभागका अनुसार काभ्रेपलाञ्चोक, काठमाडौँलगायत बागमती प्रदेशभित्र भोलि शनिबार साँझसम्म वर्षा हुने अवस्था रहेको जनाइएको छ ।

रोशी खोलामा आज जलसतहले खतराको तह पार गरेपछि उक्त खोला आसपासका मानिस टिकटक बनाउने, रिल्स तथा फोटो, भिडियोको लागि खोला छेउमा गएका फोटो तथा भिडियो सार्वजनिक भएकाले खोला छेउमा नजान प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सार्वजनिक अपिल गर्नुभएको छ ।

यसैबीच, रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको दुई स्थानका अस्थायी डाइभर्सन बगाएको छ । बाढीले मुख्यगरी नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउनेमा निर्माण गरिएको डाइभर्सन बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

यसअघि दुई सालअघिको बाढीले सडक बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको थियो । बिहीबार रातिदेखि परेको वर्षासँगै रोशी खोलामा आएको बाढीले अधिकांश स्थानको डाइभर्सन बगाएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो ।

उक्त राजमार्गको विभिन्न स्थानमा पहिरो तथा डाइभर्सन बगाएपछि उक्त खण्डमा यातायात सञ्चालन प्रभावित भएको छ । बाढी र पहिरोका कारण राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले शुक्रबार बिहानदेखि नै राजमार्गमा यातायात अवरुद्ध भएको छ ।

यसैबीच जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक खडकखण्डलाई बन्द गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलले बाढीपहिरोको अवस्था हेरी दिनको समयमा पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो ।

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा शुक्रबार रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको छ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज रातिदेखि वर्षा निरन्तर बढ्ने भएकाले जोखिमका दृष्टिले सुदूरपश्चिममा थप सतर्क रहनुपर्ने अवस्था रहेको बताए। शनिबारदेखि पानी पर्ने क्रम थप बढ्ने र प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम बढ्ने उहाँले जानकारी दिए।

आज राति प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ। यस्तै, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम कार्यालयले जनाएको छ।

आगामी २४ घण्टामा आकस्मिक बाढीको जोखिम

आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका चार जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान ८ः०० बजेदेखि २४ घण्टाका लागि गरेको आकस्मिक बहाव (फ्ल्यास फ्लड) जोखिम पूर्वानुमानमा प्रदेशका डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च जोखिमको तहमा राखेको छ।

महाशाखाको पूर्वानुमान नक्साअनुसार बैतडी, दार्चुला, बाजुरा, अछाम र बझाङमा मध्यम जोखिम रहेका प्रमुख साहले जानकारी दिनुभयो । पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा भइरहेको वर्षासँगै साना नदी, खोला तथा खहरेमा पानीको बहाव बढ्नसक्ने भएकाले आकस्मिक बाढीको जोखिम बढेको भन्दै उच्च जोखिममा रहेका जिल्लाका नदी तथा खोला तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको उनले बताए।

यहाँका उच्च जोखिममा रहेका जिल्लाका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बाढी आउने सम्भावना उच्च हुने भएकाले आवश्यक तयारी अवस्थामा रहन स्थानीय तहलाई पनि आग्रह गरिएको छ । स्थानीय तह तथा सरोकार भएका निकायलाई आपत्कालीन तयारीका सामग्री तयारी अवस्थामा राख्नुका साथै उद्धार तथा राहतका स्रोतसाधन परिचालन गर्न सोहीअनुसार तयार रहन समन्वय भइरहेको कार्यालय प्रमुख इन्जिनियर साहले जानकारी दिए।

उच्च जोखिममा रहेका डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरका नागरिकले नदी, खोला तथा खहरे आसपास अनावश्यक आवतजावत नगर्न, पानीको सतह बढेको अवस्थामा खोला नतर्न तथा मौसम र बाढीसम्बन्धी सूचना नियमित रूपमा लिन उनले आग्रह गरे। जोखिम बढेमा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशनअनुसार सुरक्षित स्थानतर्फ जानसमेत तयारी अवस्थामा रहन सचेत गराइएको छ।

मध्यम जोखिममा रहेका बैतडी, दार्चुला, बाजुरा र अछामका नदीको जलस्तर बढ्नसक्ने भएकाले नदी तटीय तथा होचा भूभागका बासिन्दाले सतर्क रहन र पूर्वसूचना प्राप्त गरिरहनुपर्ने जनाइएको छ। स्थानीय तह तथा सम्बन्धित निकायले नदीको अवस्थाबारे निगरानी बढाउँदै समुदायलाई समयमै सूचना दिनसमेत सचेत गराइएको छ।

यसैबिच जल तथा मौसम विज्ञान विभागको पछिल्लो वर्षा निगरानीमा सुदूरपश्चिमका विभिन्न स्थानमा उल्लेख्य वर्षा मापन भएको छ । केही स्थानमा पछिल्लो २४ घण्टामा ७० मिलीमिटरभन्दा बढी वर्षासमेत मापन भएकाले वर्षा र त्यसबाट नदी खोलामा पर्नसक्ने प्रभावलाई जोडेर तयारी गर्न भनिएको छ। यहाँ आज सबैभन्दा बढी कैलालीको भजनी नगरपालिका क्षेत्रमा ७५ दशमलव छ मिलीमिटर वर्षा मापन गरिएको छ ।

यसै आधारमा सुदूरपश्चिमका अधिकांश स्थानीय तहले पूर्वतयारीस्वरुप नियमित मौसमी बुलेटिन अद्यावधिक गर्ने र सोहीअनुसार विभिन्न माध्यमबाट समुदायमा सूचना प्रवाह गरिरहेका छन् । बाढी तथा अतिवृष्टिसम्बन्धी सूचना लिन टोल फ्री नम्बर ११५५ मा नियमित सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

रसुवा। रसुवाको भोटेकोशीमा आएको वनाशकारी बाढीले बगाएर बेपत्ता भएका रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित दुई जना जनप्रतिनिधिको एक महिनासम्म कुनै जानकारी नपाएपछि पीडित परिवारले परम्परागत काजकिरिया सुरु गरेका छन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी गाउँपालिकाका उपाध्यक्ष प्रतिमा लामा, वडा नं २ का वडाध्यक्ष कामीछिरिङ तामाङ र वडा नं ५ का वडाध्यक्ष दावामिङ्मार तामाङ बेपत्ता हुनुभएको थियो । एक महिनासम्म स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीले खोजीकार्य जारी राखे पनि उहाँहरूको कुनै जानकारी पाउन सकिएको छैन ।

खोजीकार्यबाट कुनै सफलता नमिल्दा बेपत्ता जनप्रतिनिधिहरू जीवितै भेटिने आशा क्षीण हुँदै गएपछि पीडित परिवारले ‘कतै जीवितै उद्धार भएका छन् कि ?’ आशालाई शोकमा बदल्दै उहाँहरूको परम्परागत संस्कारअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका हुन् ।

बाढीमा परी बेपत्ता भएका तीनै जना जनप्रतिनिधि स्थानीय क्षेत्रमा ऊर्जावान र उदीयमान नेताका रूपमा परिचित हुनुहुन्थ्यो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा गोसाइँकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित लामाले स्नातकमा नर्सिङ (बिएससी) अध्ययन पूरा गर्नुभएको थियो ।

विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय उहाँले स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको थियो । राजनीतिमा आउनुअघि उहाँले राष्ट्रिय महिला भलिबल टोलीको खेलाडीका रूपमा समेत देशको प्रतिनिधित्व गर्नुभएको थियो ।

विभिन्न सामाजिककार्यमार्फत जनताको मन जितेर स्थानीय निर्वाचनमा वडा नं २ बाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएका कामीछिरिङ जनताको सुखदुःखमा सधैँ साथ दिने जनप्रतिनिधि हुनुहुन्थ्यो । त्यस्तै, वडा नं ५ बाट निर्वाचित दावामिङ्मार लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा समाजमा स्थापित र परिचित हुनुहुन्थ्यो ।

गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार एकैपटक तीन जना ऊर्जावान्, योग्य र जनताका प्यारा जनप्रतिनिधि गुमाउनुपर्दा सिङ्गो पालिका इतिहासकै ठूलो सङ्कट र शोकमा डुबेको छ । उहाँले पालिकाले अपूरणीय क्षति व्यहोर्नुपरेको बताउनुभयो ।

गत भदौ १० गते गोसाइँकुण्ड गाउँपालिका-२ स्थित घट्टेखोला टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीको बाढीले भीषण रूप लिएको थियो । उक्त बाढीले स्थानीय बजार, थुप्रै घर र भौतिक संरचना बगाएर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो ।

बाढी गएको एक महिना बितिसक्दा स्थानीय प्रशासन र सुरक्षा निकायको खोजीकार्य जारी रहे पनि हालसम्म पनि बेपत्ताहरूको कुनै जानकारी पाइएको छैन । विपद्को यस कठिन घडीमा बेपत्ताका परिवारसँगै सिङ्गो रसुवावासी गहिरो शोकमा डुबेका छन् । गाउँपालिकाका थुप्रै कर्मचारी, शिक्षक-शिक्षिका, बालबालिकासमेत बेपत्ता भएका छन् ।

हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

भक्तपुर। दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेका खोला किनाराका टहरामा बस्ने १५ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेका १५ परिवारका ९२ जनालाई उद्धार गरी कौसल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा सारेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी, हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणीस्थलका ९२ जनालाई सुरक्षित रूपमा स्थानान्तरण गरेको राससलाई जानकारी दिनुभयो ।

भक्तपुर–काठमाडौँ जोड्न पुल भासियो, यातायात बन्द

भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायाको साधनलाई आवतजावतमा रोक लगाएको छ । निरन्तरको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीबाट सडक तथा जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बढेपछि आवागमनमा समस्या आएको छ ।

भक्तपुर-काभ्रे जोड्ने सडक सञ्चालन

अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काँभ्रेको नाला बनेपा जोड्ने सडकखण्डमा यातायात आवागमन सञ्चालन भएको छ । वर्षासँगैको पहिरोले सडक अवरुद्ध भएपछि आज बिहानदेखि च्यामासिंह ताथली नाला सडकमा सवारी आवागमन रोकिएको थियो ।

धौलीगङ्गा जलविद्युत्‌काे बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी। भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ। एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन भारतबाट प्राप्त पत्रअनुसार आइतबार राति १२ बजेदेखि सोमबार बिहान १० बजेसम्म सिल्ट सफाइ (जलविद्युत् आयोजना, सिँचाइ नहर, ढलको लेदो, बाक्लो माटो वा बालुवा सफा गर्ने प्रविधि)का लागि बाँध खोलिने भएको हो ।

यसअघि गत साउन १३ गते पनि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो । सिल्ट सफाइका लागि परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन्। बाँध खोलिने समयमा नदी तटीय क्षेत्रका स्थानीयलाई नदीकिनारमा नजान आग्रह गरिएको उनले बताइन्।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो। दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने बताउँदै अर्यालले सोहीअनुसार यता पनि सतर्कता अपनाइने बताइन्।

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ।अरुण नदीमा जलसतह बढेपछि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

आयोजनाको निर्माणाधीन क्षेत्रमा अरुण नदीको पानीको बहाव बढेपछि ड्राइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको टनेलबाट पानी पूर्ण रूपमा निकास हुन नसक्दा पानी अस्थायी ड्याममाथिबाट बगेको छ।

निर्माणाधीन स्थायी ड्याममा पानी जान थालेपछि ड्यामको काम तत्कालका लागि रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताए। उनका अनुसार हाल उक्त क्षेत्रमा अरुण नदीको पानीको बहाव ८१८.५० मिटर पुगेको छ। आयोजनास्थलमा नदीको पानीको बहाव ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण हुने बताइएको छ। आयोजनास्थलको अवस्था तथा नदीको पानीको बहावको निरन्तर निगरानी गरिरहेको जनाइएको छ।

पछिल्लो अवस्थाका कारण आयोजनाको ड्याम निर्माण कार्य प्रभावित भएको हो । निरन्तर नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम भएका बस्तीमा पनि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। वर्षाको गतिविधि बढ्दै जाने र जिल्लाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले विशेष सावधानी आवश्यक रहेको स्थानीय प्रशासनले जनाएको छ।

पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा। अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिराले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार पहिरोका कारण रामबहादुरको चार जनाको परिवार सकुशल रहेका छन् भने केसुरामको चार जनाको परिवारमध्ये उहाँकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता हुनुभएको छ । परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रनाउ भट्टराईले बताउनुभयो ।

पहिरोबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि अन्य चौपायामा क्षति नभएको उहाँको भनाइ छ । पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुङ्गा–माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धारकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता सारुको खोजीकार्य जारी छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि केही समय सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पछि पहिरो पन्छाएर सडक सञ्चालन गरिए पनि पहिरो झर्न नरोकिएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

यस्तै, यो समाचार तयार पार्दासम्म रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण सडकमाथिबाट पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

यस्तै सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने प्रमुख सडकका रूपमा रहेको तानसेन–हार्थोक–छहरा सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ । हार्थोक–बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडकमाथिबाट पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सर्वसाधारणले आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको उहाँको भनाइ छ । सडक अरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारीसाधनसमेत सडकमा रोकिएका छन् । विशेषगरी बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध पुर्याउने दुग्ध ढुवानीका सवारीसाधन बाटोमै रोकिँदा समस्या थपिएको रायमाझीको भनाइ छ ।

पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने अत्यावश्यक वस्तु ढुवानीमा अवरोध हुँदा कृषक तथा व्यवसायीसमेत प्रभावित भएका छन् । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको जनाइएको छ ।

सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले विहीबारदेखि सोमबारसम्म बेलुकी ७ः०० देखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको हो

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी वर्षाको प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ ।

पूर्वानुमानअनुसार प्युठान जिल्लाका माण्डवी र सरुमारानी गाउँपालिका, जाजरकोट जिल्लाका नलगाड र बारेकोट तथा बझाङ जिल्लाका केदारस्यूँ र थलारा गाउँपालिकामा भारी वर्षाको प्रभाव पर्न सक्ने जनाइएको छ ।सम्बन्धित पालिकाका बासिन्दालाई मौसमको अवस्था र जारी हुने थप सूचनाबारे सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर। भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ ।
निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिनुभयो ।

बाढीको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालगायतको टोलीले हुनमन्ते खोला, मनोहरा खोलामा बहाव बढेपछि अनुगमन गरेको थियो ।

अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बगेपछि आवागमनमा समस्या आएको छ ।

त्यसैगरी बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेकाहरू हटाएर सुरक्षित स्थानमा सारेको छ । टहरामा बस्नेहरूलाई कौशल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा राखिएको जिल्ला प्रहरी परिसरका प्रमुख खड्काले जानकारी दिनुभयो । बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणी स्थल हो ।

च्यामासिंह नाला सडक खुल्यो

त्यसैगरी, अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काभ्रेको नाला–बनेपा जोड्ने सडकको यातायात आवागमन सञ्चालन भएको छ । वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध भएपछि बिहानदेखि च्यामासिंह–ताथली–नाला सडकमा यातायातको साधन आवागमन रोकिएको थियो ।

आज प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी प्रमुख खड्कालगायतको टोलीले उक्त सडकको अनुगमन गरी डोजरले पहिरो पन्छाउन लगाएर सडकमा यातायात सञ्चालन गरेको हो । रा

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त

सिक्किम। पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार वर्षाले ठूलो पहिरो गएको छ । यसले धेरै घरहरू क्षतिग्रस्त बनाएको अधिकारीहरूले बताएका छन् ।

बिहीबार राति गएको पहिरोले हिलो तथा ढुङ्गा–माटो बस्तीतिर बग्दा उर्जा विभागका सरकारी आवाससहित धेरै संरचनाहरूमा क्षति पुगेको छ ।

धेरै घरहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ । तर अहिलेसम्म मानवीय क्षति भएको कुनै पुष्टि भएको छैन ।

लगातार वर्षा भइरहेकाले पहिरो वरपरका स्थानीय बासिन्दाहरूमा चिन्ता बढेको छ । नजिकैका घर, सम्पत्ति र यातायातलाई सुचालु राख्ने घरहरू जोखिममा छन् ।

अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन् र प्रभावित क्षेत्रको अवस्था निगरानी गरिरहेका छन्।

यो घटना सिक्किममा लगातार भारी वर्षा भइरहेको बेला भएको हो। वर्षाले धेरै ठाउँमा पहिरो, माटो बग्ने र सडक अवरुद्ध हुने घटनाहरू भएका छन्।

जिल्ला विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए), गान्तोकले जिल्लाभर वर्षासँग सम्बन्धित घटनाहरूपछि क्षतिको व्यापक मूल्याङ्कन सुरु गरेको छ ।

अधिकारीहरूले पहिरो जोखिमयुक्त क्षेत्रहरूमा अनावश्यक यात्रा नगर्न र विशेष गरी राति सतर्क रहन सल्लाह दिएका छन्। अस्थिर भिरालो ठाउँ नजिक बस्ने बासिन्दाहरूलाई कुनै विपत्का चेतावनीका सङ्केतहरू निगरानी गर्न र तुरुन्तै जानकारी दिन भनिएको छ ।

असोजमै कोरलानाकामा हिमपात, हिउँले ढाकिए सीमावर्ती क्षेत्रका डाँडाकाँडा

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे।

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ। बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको हो। हिमपातका कारण उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्।

त्यसैगरी कोरलानाका क्षेत्रमा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको छ भने बस्तीदेखि माथिका उच्च लेकमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । वर्षा र हिमपातसँगै उपल्लो क्षेत्रमा चिसो बढ्न थालेको एक्याप प्रमुख पौडेलको भनाइ छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाका पूर्वसूचना अनुसार बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने प्रक्षेपण गरिएको थियो । मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात हुँदा मुस्ताङका अन्य क्षेत्रमा निरन्तर वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मौसम प्रतिकूलताका कारण बाढीपहिरो, नदी कटानलगायत कारण सडक अवरुद्ध हुनसक्ने भएकाले मुस्ताङको काभ्रेभिरदेखि उपल्लो मुस्ताङका सडकमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सूचित गरेको छ।

सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म रातिमा यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए।

त्यसैगरी, मुस्ताङको घरपझोङ गाउँपालिकाले वर्षाका कारण कालीगण्डकी नदी उच्च भई जोखिम सृजना हुनसक्ने भएकाले कालीगण्डकी तटीय क्षेत्रमा स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । घरपझोङ गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गरी तटीय क्षेत्र आसपासका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

यस्तै, वर्षाका कारण मुस्ताङका पुराना ढुङ्गा र माटोले निर्मित परम्परागत संस्कृतिका घरहरूमा वर्षाले जोखिम बढाएको छ। घरपझोङ–५ ठिनीका स्थानीय सरिता थकालीका अनुसार पुराना ढुङ्गा र माटोले बनेका घर निरन्तर वर्षा हुन थालेको सास्ती तुल्याएको बताउनुभयो । वर्षाले पुराना घर चुहिने र भत्किने डर भएकाले वर्षाबाट जोगाउन स्थानीयले घरको छत र गारोमा त्रिपाल र प्लास्टिकले ढाकेको जानकारी दिए।

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्।

बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी छ। खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङले बताए।

उनका अनुसार खुला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमिनमा बगेको भल टेन्टभित्र पस्दा थप समस्या भएको छ । रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बसोबास गर्दै आएका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका–५, बाणाचौतारोमा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ताकपडा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाणाचौतारोमा बस्दै आउनुभएका दावामिङ्मार तामाङले बताए।

“टेन्टमा पानी पसेपछि सामान जोगाउनै समस्या भएको छ । जमिन हिलाम्मे बनेको छ भने चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई बढी समस्या भएको छ”, उनले भने।

अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ । जिल्ला शाखाका मन्त्री उद्धव शर्मा रिजालका अनुसार बाणाचौतारोसहित जिल्लाका विभिन्न पाँच स्थानमा बसोबास गरिरहेका प्रभावितको टेन्टमा त्रिपाल ओढाउने र जमिनबाट बगेको पानी टेन्टभित्र पस्न नदिन चारैतर्फबाट पानीको निकास बनाउने काममा स्वयंसेवक परिचालन गरिएको छ ।

“वर्षाका कारण प्रभावितको बसाइ थप कष्टकर बनेपछि टेन्टमा त्रिपाल ओढाउने र पानीको निकास बनाउने काम भइरहेको छ”, उनले भने, “आज साँझसम्म सबै स्थानमा रहेका प्रभावितको टेन्टमा त्रिपाल लगाउने काम सम्पन्न गर्ने लक्ष्य छ ।”

निरन्तरको वर्षाका कारण बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ। त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाइ भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए।

बाढीले पुरिएका भग्नावशेष हटाई सुरक्षित रहेका सामग्री निकाल्न प्रभावित परिवारलाई विदुर नगरपालिका तथा विभिन्न सङ्घसंस्थाले सहयोग गरिरहेका छन्। तर, निरन्तरको वर्षाले भग्नावशेष तथा आसपासको क्षेत्र हिलाम्मे भएपछि खोज तथा उद्धारका साथै सामग्री निकाल्ने काममा कठिनाइ भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ।

भोटेकोशी हुँदै त्रिशूलीको बाढीका कारण नुवाकोटमा दुई हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भई घरबारविहीन भएका छन्। भाडामा बस्ने र व्यवसाय गर्दै आएका परिवारसमेत थप हुँदा बाढीपछि जिल्लामा दुई हजार ५०० भन्दा बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्क छ।

बाढीबाट विस्थापित परिवारमध्ये केहीले घर तथा बाढीले पुरिएका संरचनाबाट सामान निकाल्न सफल भए पनि धेरै परिवार अझै अस्थायी संरचना र राहत सामग्रीको भरमा बस्दै आएका छन्। निरन्तरको वर्षाले चिसो बढेपछि विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, बिरामीलाई समस्या बनाएको छ। बाढीपश्चात् अस्थायी संरचनामा बस्दै आएका परिवारको जनजीवन अहिलेको निरन्तरको वर्षाले थप प्रभावित बनाएको हो।

दुई युवा मृत्यु प्रकरणका मुख्य अभियुक्त ‘बारुद सिंह’

रौतहट। अपहरण, शरीर बन्धक तथा सङ्गठित अपराधलगायतका मुद्दामा दोषी ठहर भई हाल जिल्ला कारागार रौतहटमा जेल सजाय भोगिरहेका ‘बारुद सिंह’ भनिने सुरेन्द्रप्रसाद यादवको स्थानीय दुई युवा हत्या प्रकरणमा सक्रियता देखिएको छ।

गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र वडा नं २ का २८ वर्षीय प्रमानन्द सहनीको २०६४ साल वैशाख ३१ गते राति १ बजे गढीमाई नगरपालिका–६ पिपरिया दोसतिया भन्ने स्थानमा गोली हानी हत्या भएको घटनामा निज यादव संलग्न देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त गौतमका अनुसार अज्ञात व्यक्ति वा समूहले चलाएको गोलीबाट मृत्यु भएका बैठा र सहनीसम्बद्ध घटनाको छानबिन तथा अनुसन्धानका क्रममा तत्कालीन समयमा तराई जनतान्त्रिक मुक्ति मोर्चालगायत भूमिगत सङ्गठनमा आबद्ध यादव मुख्य अभियुक्तका रुपमा देखिएको हो।

गढीमाई नगरपालिकामा १९ वर्षअघि दुई युवाको हत्या भएको घटनाको अनुसन्धानपछि कर्तव्य ज्यान मुद्दाको मुख्य अभियुक्तका रुपमा निज यादवको पहिचान भएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले स्पष्ट गरेको छ।

यसैबिच बारा जिल्ला सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट खोलामा हामफालेर बेपत्ता भएका छन्।

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार मानसिक समस्याबाट पीडित यादव उपचारका लागि गरुडातर्फ गइरहेको अवस्थामा मोटरसाइकलबाट ओर्लेर लालबकैया पुलबाट दिउँसो १ बजे खोलामा हामफाली बेपत्ता भएका हुन् । सो घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको तर्फबाट खोज तथा उद्धार कार्य जारी रहेको छ।

गोताखोरसहित सशस्त्र प्रहरी बलको टोलीसमेत बेपत्ता युवाको उद्धार तथा खोज कार्यमा संलग्न भए पनि लालबकैया खोलामा पानीको बहाव बढेकाले उद्धारमा संलग्न टोलीलाई कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट करिब तीन किलोमिटर पूर्वमा रहेको छ।

श्वास परीक्षणले क्यान्सरयुक्त फोक्सोको नोड्युल पहिचानमा आशा देखायो

काठमाडौँ । साधारण श्वास परीक्षणले क्यान्सरयुक्त र क्यान्सर नभएको फोक्सोको नोड्युल छुट्याउन चिकित्सकलाई सहयोग गर्न सक्ने अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक अध्ययनले देखाएको छ । यसले फोक्सोको क्यान्सरको प्रारम्भिक पहिचानमा सहयोग गर्नुका साथै केही बिरामीमा आक्रामक परीक्षणको आवश्यकता कम गर्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

ग्रिफिथ विश्वविद्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अनुसन्धानकर्ताले दुई पूरक प्रविधिमार्फत बिरामीको श्वास विश्लेषण गरेका थिए । तीमध्ये ‘इलेक्ट्रोनिक नोज’ (ईनोज) ले श्वासमा रहेका रसायनका ढाँचा पहिचान गर्छ भने ‘ग्यास क्रोमाटोग्राफी–मास स्पेक्ट्रोमेट्री’ ले श्वासमा रहेका विशिष्ट वाष्पशील जैविक यौगिक पहिचान गर्छ ।

अध्ययनका सम्बन्धित लेखक तथा ग्रिफिथ विश्वविद्यालयको बायोमेडिसिन एन्ड ग्लाइकोमिक्स संस्थानकी प्राध्यापक चामिन्डी पुन्यादीराका अनुसार श्वासमा आधारित दुवै प्रविधिले सामान्य चिकित्सकीय जानकारीमा आधारित विधिभन्दा क्यान्सरयुक्त र क्यान्सररहित नोड्युल छुट्याउन उल्लेखनीय रूपमा राम्रो नतिजा देखाएका छन् ।

हाल फोक्सोका नोड्युलको मूल्याङ्कन गर्न ‘सीटी’ निर्देशित बायोप्सी र ब्रोन्कोस्कोपीलगायत आक्रामक प्रक्रियाको प्रयोग गरिन्छ । केही अवस्थामा शङ्कास्पद नोड्युलको परीक्षणका लागि शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ । विश्वभर प्रत्येक वर्ष फोक्सोको क्यान्सरका करिब २५ लाख नयाँ बिरामी पहिचान हुने विज्ञप्तिमा उल्लेख छ ।

ग्रिफिथ विश्वविद्यालयका सहलेखक झाङ सीका अनुसार फोक्सोका नोड्युलको बायोप्सी प्राविधिक रूपमा चुनौतीपूर्ण हुन सक्छ, विशेषगरी नोड्युल सानो वा पहुँच गर्न कठिन स्थानमा भएमा । यस क्रममा फोक्सो खुम्चिनेलगायतका जटिलता देखिन सक्ने उनले बताए ।

श्वास परीक्षणले क्यान्सरयुक्त हुन सक्ने नोड्युल पहिचानमा सम्भावना देखाए पनि यसले बायोप्सीलाई प्रतिस्थापन गर्ने उद्देश्य नराखेको झाङले स्पष्ट पारे । बरु, कुन बिरामीलाई तत्काल आक्रामक उपचार वा थप परीक्षण आवश्यक छ भन्ने निर्णयमा चिकित्सकलाई सहयोग गर्न सक्ने उनको भनाइ छ ।

यस परीक्षणले नियमित उपचारमा गैरआक्रामक विधि थप्दै क्यान्सररहित नोड्युल भएका बिरामीमा अनावश्यक प्रक्रियालाई सम्भावित रूपमा कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन निर्देशन जारी गरिएको जानकारी दिएका छन् । देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन निर्देशन दिइएको महासङ्घले जनाएको छ ।

महासङ्घले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ ।

चाडपर्वका समयमा सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनुका साथै टिकट बिक्रीमा अनलाइन बुकिङलाई प्राथमिकता दिनुपर्ने महासङ्घले जनाएको छ । यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको महासचिव गौतमले बताएका छन् ।

यस्तै, उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने तथा यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने महासङ्घले जनाएको छ ।

महासङ्घले अनधिकृत काउन्टर तथा परिचयपत्र र पोसाक नलगाएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य नियन्त्रण गर्न पनि निर्देशन दिएको छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्ने, मादक पदार्थ सेवन गरी यात्रा गरेमा कारबाही गर्नुपर्ने तथा आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेमा जोड दिइएको छ ।

सवारी चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको स्थानमा मात्रै यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था मिलाउनुपर्ने महासङ्घले जनाएको छ । बाढीपहिरो तथा सडक अवरोधको सम्भावनालाई ध्यान दिँदै मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण, आवश्यक मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

चाडपर्वका अवधिमा आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने, यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङ र ठूला सवारीसाधनको आवतजावतबारे सरोकारवालासँग छलफल गरी समयमै सूचना जारी गरिने महासङ्घले जनाएको छ ।

यसैगरी, लामो दूरीमा चल्ने सवारीसाधनमा चालकको स्वास्थ्य अवस्था जाँच गर्ने, बिरामी परेका चालकको सट्टा अर्को चालकको व्यवस्था गर्ने तथा लामो बाटोमा चल्ने सार्वजनिक सवारीसाधनमा कम्तीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था गर्न पनि महासङ्घले आग्रह गरेको छ ।

अठार वर्ष उमेर पूरा नभएका नाबालकलाई चालक तथा अन्य काममा नलगाउन तथा चाडपर्वको समयमा सवारीको चाप र सडक दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रभावकारी अनुगमन तथा निगरानी गर्न पनि महासङ्घले निर्देशन दिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा सडक र मौसमको अवस्थाबारे थप छलफल गरी अग्रिम टिकट खुला गर्ने मिति तथा समयबारे आवश्यक सूचना पछि जारी गर्ने महासङ्घले जनाएको छ ।

नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

काठमाडाैँ। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभाको नियन्त्रण पुनः प्राप्त गर्ने र त्यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक एजेन्डा अन्त्य हुने दाबी गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलनपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले डेमोक्रेटहरूले प्रतिनिधि सभा फिर्ता लिने र त्यसपछि ‘नयाँ दिन’ सुरु हुने बताए। उनले ट्रम्पको राष्ट्रपति पद ‘हामीले चिनेको रूपमा’ नोभेम्बरमा समाप्त हुने दाबी गरे। यद्यपि, काङ्ग्रेसमा डेमोक्रेटहरूको नियन्त्रण भए ट्रम्पको राष्ट्रपति पद कसरी समाप्त हुन्छ भन्ने उनले स्पष्ट पारेनन्।

न्युजमले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नगरी खाद्यान्नको मूल्य, घरको बिमा, आवास र राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्ने बताए। क्यालिफोर्नियाको अर्थतन्त्र सन् २०१९ यता ४० प्रतिशतले बढेको र यस वर्ष ९० प्रतिशत दिन कुनै न कुनै समयमा विद्युत् माग शतप्रतिशत स्वच्छ ऊर्जाबाट पूरा भएको उनले बताए।

ट्रम्प प्रशासनले क्यालिफोर्नियाका वातावरणसम्बन्धी नियम उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाउँदै न्युजमले ट्रम्पको नीतिले अमेरिकालाई पछाडि धकेलिरहेको टिप्पणी गर्नुभयो । सन् २०२८ को राष्ट्रपतीय निर्वाचनबारे उनले कुनै पनि डेमोक्रेटिक उम्मेदवारले जित्न सक्ने दाबी गर्दै विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले ट्रम्पका विवादास्पद नीतिलाई समर्थन गरेको आरोप लगाए।

न्युजमले सम्भावित राष्ट्रपतीय उम्मेदवार अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजबारे पनि टिप्पणी गर्दै महिलाले राष्ट्रपति निर्वाचन जित्न नसक्ने धारणा गलत भएको बताए। उनले ओकासियो–कोर्टेजलाई ‘पुस्ताको प्रतिभा’ को संज्ञा दिनुभयो । साथै, सन् २०२८ को राष्ट्रपतीय दौडमा आफू अघि बढेमा आफ्नो अनुभव, दृष्टिकोण र क्षमतालाई फरक रूपमा प्रस्तुत गर्न सक्ने बताए।

बालेनको यूएन सम्बोधनमा गोकुल बाँस्कोटाको समर्थन– ‘दृढ, सार्थक र जोडदार लाग्यो’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले शाहको सम्बोधन आफूलाई दृढ, सार्थक र जोडदार लागेको बताएका हुन्।

उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक नभए पनि प्रधानमन्त्री शाहले राष्ट्रसंघमा देशको भावना बोलेको भन्दै खुसी मनले समर्थन गरेको बताएका छन्।

उनले लेखेका छन्,‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा होइन, उनले देशको भावना बोले–मंैले खुसी मनले समर्थन गरेँ ।’

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ९० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रुपैयाँ र सानो (टनेल) गोलभेडा ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो (मुडे) ४८ रुपैयाँ, भारतीय रातो आलु ४५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ५० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ५० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ, तने बोडी ४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ तथा घिउ सिमी (लोकल) ६० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ६० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १८० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ५०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ३०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो १३० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार २०० रुपैयाँ र तरबुजा (हरियो) ६० रुपैयाँ तोकिएको छ ।

खतराको संकेतमा कोशी ब्यारेज, १ लाख ९० हजार क्युसेकभन्दा बढी बहावपछि २४ ढोका खोलिए

इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ ।

शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मूल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोका मध्ये २४ वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए ।

पानीको बहावबढेसंगै कोसी ब्यारेजमा खतराको सङकेत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झन्डा समेत फहराइएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ ।