`

अस्पतालमा स्वास्थ्य मन्त्रालयको अनुगमन, शासकीय सुधार कार्ययोजना कार्यान्वयनमा जोड

Nepal One HD २२ वैशाख २०८३ ६:११
जीवनशैली/स्वास्थ्य

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्ययोजना कार्यान्वयनमा तीव्रता दिएको छ ।

शासकीय सुधार कार्ययोजनाअनुरूप मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूमा अनुगमन अघि बढाएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा रोशन न्यौपानेको नेतृत्वमा काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको अनुगमन गर्दै आवश्यक सुधारका लागि पत्राचार गरेको छ ।

मन्त्रालयले अस्पताललाई बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), फार्मेसी, रेडियोलोजिकल विभागलगायत अन्य सेवामा समेत प्रतीक्षा समय घटाउन भनेको छ । बिरामीसँग सम्मानजनक र मैत्रीपूर्ण व्यवहार गर्न, आकस्मिक अवस्थामा पर्याप्त कर्मचारी खटाउने व्यवस्था गर्न, सरसफाइ र सुरक्षा व्यवस्थापनमा सुधार गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ ।

यस्तै, कर्मचारीको नियमित उपस्थिति कडाइका साथ पालना गराउनर अस्पतालका उपकरणहरू चुस्त दुरुस्त राख्न निर्देशन दिएको छ । मन्त्रालयले अस्पताललाई पत्रमार्फत अस्पतालको ओपिडी समयमा ‘एमआर’ लाई प्रवेशमा रोक लगाउन पनि निर्देशन दिएको जनाइएको छ ।

यसअघि भेरी अस्पताल, नारायणी अस्पताल, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पतालको समेत मन्त्रालयले अनुगमन गरेको थियो ।

सरकारको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्ययोजना’ को बुँदा नं ८५ को ‘क’ देखि ‘ङ’ सम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विषय समावेश छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *