`

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि भएको युद्धको सुरुवात फेब्रुअरी २८ देखि नै इरानलाई हर्मुज नाका सम्प्रर्ण रूपमा पुनः खोल्न ४८ घण्टाको समय दिनुभएको थियो ।

त्यसपछि यो युद्ध मध्यपूर्वमा फैलिएको छ, इरानले यस क्षेत्रमा इजरायल र अमेरिकी चासोमाथि ड्रोन र मिसाइल आक्रमणको साथ जवाफ दिएको छ।

“यदि इरानको पावर प्लान्टहरूको बारेमा संयुक्त राज्य अमेरिकाले धम्की दियो भने, “स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द हुनेछ, र हाम्रो नष्ट भएका विद्युत उत्पादन प्लान्टहरू पुनर्निर्माण नभएसम्म यो पुनः खोलिने छैन,“ सेनाको अपरेशनल कमान्ड खातम अल–अन्बियाले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

इरानी सेनाले इजरायलको ‘पावर प्लान्ट’, ऊर्जा, र सूचना र सञ्चार प्रविधि (आइसिटी) पूर्वाधार साथै क्षेत्रीय देशहरूमा रहेका अमेरिकी लगानीका पावर प्लान्ट र अमेरिकी सेयरधनीहरू भएका कम्पनीहरूमा पनि आक्रमण गर्ने बताएको छ।

इरानी सेनाले भनेको छ, “‘हाम्रो देश र हाम्रो राष्ट्रको हितको रक्षाका लागि’ अन्य उपायहरू अपनाइनेछ ।”

युद्धको सुरुवातदेखि नै विश्वको २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्याँस जाने यस जलमार्गबाट हुने यातायात लगभग ठप्प भएको छ ।

एनालिटिक्स फर्म केप्लरका अनुसार तुलनात्मक रूपमा थोरै सङ्ख्यामा जहाजहरूले यसलाई आपूर्ति गर्न सक्षम भएका छन् । यो सङ्ख्या युद्धपूर्वको तुलनामा लगभग पाँच प्रतिशत मात्र हो ।

इरानी सेनाले धेरै जहाजहरूमा आक्रमण गरेको छ र जहाजहरूले जलमार्ग पार नगर्ने ‘चेतावनी’ पालन गर्न असम्भव भएको बताएका छन्।

हालैका दिनहरूमा इरानले आफूले मित्रवत् ठानेका देशका केही जहाजलाई आवतजावत गर्न अनुमति दिएको छ भने आफूविरुद्ध ‘आक्रमण’ मा सामेल भएका देशका जहाजहरू रोक्ने चेतावनी दिएको छ ।

संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामुद्रिक यातायात ‘युद्धपूर्वको अवस्थामा नफर्कने’ बताएसँगै इरानको संसदले जलडमरूको मध्य क्षेत्र हुँदै जहाजमा कर लगाउने योजना बनाइरहेको बताएको छ।

रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्कीबीच बालुवाटारमा भेटवार्ता

रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्कीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

भेटमा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गरेका छन् ।

उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु।’ यस्तैप्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन्

‘अहिले देश रोएको छ। तपाईँ युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। तपाईँहरुले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’

एक वर्षमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए

काठमाडौँ। पछिल्लो एक वर्षको अवधिमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी आफ्नो देश फर्किएका छन् ।
इरान, पाकिस्तान र टर्कीबाट ३० लाखभन्दा बढी अफगानी शरणार्थी अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले जानकारी दिनुभएको छ।

“ती मुल्कबाट कुल ३१ लाख १४ हजार १०७ शरणार्थीहरू मार्च २० सम्मको एक बर्षको अवधिमा अफगानिस्तान फर्किएका छन्,” अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजन (आरटीए) ले शनिबार राति हक्कानीलाई उद्धृत गर्दै जनाएका छन् ।

“अफगान सरकारले ती देशबाट स्वदेश प्रवेश गर्ने mनाकाहमा फर्केकाहरूलाई व्यवस्थापनका लागि लगभग चार अर्ब अफगानी नगद प्रदान गर्नुका साथै अस्थायी आश्रयहरू प्रदान गरेको छ,” आरटीएले रिपोर्ट गरेको छ ।

सरकारी तथ्याङ्क अनुसार करिब ६० लाखभन्दा बढी अफगान शरणार्थीहरू कथित रूपमा छिमेकी इरान र पाकिस्तानमा बसिरहेका छन् र उनीहरूले कानुनी कागजातबिना शरणार्थीहरूलाई आफ्नो मातृभूमि फर्कन आग्रह गरेका छन्।

युद्ध सुरु भएयता इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार, ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नष्ट

तेहरान। इजरायली सेनाले आइतबार मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको इजरायलले जनाएको छ ।

दक्षिणी इजरायलका दुई शहरमा इरानी क्षेप्यास्त्र आक्रमणनबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट यो तथ्यांक सार्वजनिक गरिएको हो ।

“इरानले ४०० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । हामीसँग ठूलो अवरोध दरहरू छन्,” इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाभ शोशानीले पत्रकारहरूसँग भन्नुभयो ।

“हामीसँग लगभग ९२ प्रतिशतभन्दा बढी क्षेप्यास्त्रलाई आकाशमा नै निस्क्रिय पारिएको छ,” उहाँले थप्नुभयो । शनिबार आक्रमण भएका शहरहरू मध्ये एक डिमोना रहेको छ, जुन इजरायलको अघोषित परमाणु शस्त्रागार भएको विश्वास गरिन्छ।

उक्त क्षेप्यास्त्रको प्रभाव शहरको आणविक केन्द्रबाट पाँच किलोमिटरको दूरीमा रहेको थियो । नजिकैको अर्को शहर अरादका धेरै भवनहरूमा ठूलो क्षति पुगेको छ ।

शनिबार प्रहार गरिएका क्षेप्यास्त्र ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा फरक नभएको र युद्धका क्रममा अहिलेसम्म यस्ता चारवटा मात्र प्रहार भएको शोशानीले बताउनुभयो ।

इजरायली सेनाले शनिबार हमला रोक्न नसकेको घटनाबारे अनुसन्धान गर्ने बताएको छ। “हामीले विगतमा धेरै आक्रमणलाई आकाशमा नै विफल बनाएका छौँ र भविष्यमा पनि यो दर कायम रहने छ,” शोशनीले भन्नुभयो ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार ‘निकै कठिन साँझ’ भएको स्वीकार गर्दै साइरन बज्दा नागरिकलाई सुरक्षा केन्द्रमा जान आग्रह गर्नुभएको छ।आइतवार उहाँले अरादको भ्रमण गर्नुभएको छ । अरादबाट उहाँले शीर्ष इरानी अधिकारीहरूको खोजी जारी राख्ने प्रतिवद्धता गर्नुभयो ।“हामी इरानको रिभोलुसनरी गाड्र्स, यो आपराधिक गिरोहलाई कारबाही गरिरहेका छौं,” नेतान्याहूले घटनास्थलमा पत्रकारहरूसँग भन्नुभयो ।

“हामी व्यक्तिगत रूपमा उनीहरूको पछि लागेका छौँ, उनीहरूका नेताहरू, उनीहरूको प्रतिष्ठान, आर्थिक सम्पत्ति खोजिरहेका छौँ ।इरानी आक्रमणमा तेल अभिभको व्यापारिक क्षेत्रमा आइतबार एक व्यक्ति घाइते भएका बताइएको छ।

स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम- मन्त्री गौतम

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम चालेको बताउनुभएको छ ।

मन्त्रालयमा आज कर्मचारीहरुसँगको कार्यक्रममा मन्त्री डा गौतमले औषधि तथा उपकरण खरिद प्रक्रिया, औषधि व्यवस्थापन र स्वास्थ्य बीमाको क्षेत्रमा आफूले समस्या पहिचान मात्र नभइ समाधानतर्फ कदम पनि चालेको बताउनुभयो । उहाँले आफूले चुनौतिका बीच मन्त्रालयको नेतृत्व गरेको उल्लेख गर्दै प्राथमिकतामा राखेका कामले प्रगति हासिल गरेको बताउनुभयो ।

“मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा थाहा थियो मन्त्रालयको काम चुनौतीपूर्ण छ, तर त्यहाँ ठूलो सम्भावना पनि छ,” मन्त्री डा गौतमले भन्नुभयो, “ आज निर्वाचन सम्पन्न भएको छ । नयाँ सरकार बन्दै छ, यस्तो समयमा म यहाँबाट बिदा लिँदै गर्दा तपाईंको कामप्रति सम्मान र हामीले सँगै हासिल गरेका प्रगतिप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”

मन्त्री डा गौतमले मानसिक स्वास्थ्य, आप्रवासी कामदारको स्वास्थ्य, उच्च जोखिम भएका प्रदेशमा मातृ तथा शिशु स्वास्थ्यमा पनि सुधार गरेको बताउनुभयो । “स्वास्थ्य बीमाभित्र झन्डै एक दशकदेखि थुप्रिएका विकृतिका चाङ मसिनोसँग केलायौँ र सुधारका कार्य अगाडि बढाइसकेका छौँ,” उहाँले भन्नुभयो, “बीमाले भोगेको आर्थिक समस्या केही हदसम्म कम हुनेछ ।”

पाँच महिनामा आफूले औषधि व्यवस्था विभागको स्तरवृद्धिको योजना, राष्ट्रिय औषधि प्रयोगशालाका लागि नयाँ भवन निर्माणको गुरुयोजना र मन्त्रालयमा औषधि मामिला महाशाखा स्थापनाको प्रारूप तयार पार्र्ने कार्य अन्तिम चरणमा पु¥याएको मन्त्री डा गौतमले उल्लेख गर्नुभयो ।

उहाँले औषधिमा गरेको कामले भविष्यमा औषधिको गुणस्तर, मूल्य, र नवप्रवर्तनको विकासमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो । देशभरिका सबै सङ्घीय अस्पतालमा मनोपरामर्श केन्द्र स्थापना गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा केदारबहादुर ढकाल, मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, मन्त्रालय मातहतका केन्द्र तथा अस्पतालका निर्देशकलगायतको उपस्थिति थियो ।

सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।

थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए। यस बिषयमा बैठकमा छलफल गरिएको थियो। बैठकमा छलफलपछि

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

हर्क साम्पाङले चुनावमा गरे ८ लाख २ हजार ५२० खर्च

काठमाडौं -श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

सुनसरी १ बाट विजयी भएका उनले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण आयोगमा पेश गरेका छन्।

उनले यातायातमा २ लाख ८८ हजार, स्टिकरमा २ लाख ४० हजार, स्टेज साउण्ड सिस्टममा एक लाख, अन्यमा ९६ हजार, पर्चा पम्पेल्टमा ६५ हजार ५२०, र मनोनयन दर्तामा १० हजार खर्च गरेका छन् ।

परम्परागत ज्ञान र आधनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौँ । परम्परागत ज्ञान र आधुनिक विज्ञान र प्रविधिमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ । चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरु गरिएको हो । यसका लागि नेपाल सरकारले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा उक्त परियोजना बिहीबारदेखि प्रारम्भ गरेको हो ।

यस परियोजनाको उद्देश्य कर्णाली प्रदेशस्थित डोल्पाको माथिल्लो दुर्गम क्षेत्रमा रहेका उच्च हिमाली चरनभूमिको संरक्षण गर्नु तथा स्थानीयको जीविकोपार्जन सुधार गर्नु, सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्नुलगायत रहेका छन् ।

संयुक्त अधिराज्यको ‘डर्विन इनिसिएटिभ’मार्फत वित्त पोषित यस सहकार्यले सरोकार भएका निकायको क्षमता उपयोग गर्दै सह-व्यवस्थापनको नवीन दृष्टिकोण अपनाउने छ । जसमा स्थानीय परम्परागत ज्ञान र आधुनिक विज्ञानको समन्वय गरिने जनाइएको छ ।

सन् २०२६ लाई ‘चरनभूमि तथा पशुपालकको अन्तरराष्ट्रिय वर्ष’ का रूपमा मनाइँदैछ । नेपालको उच्च हिमाली चरनभूमिहरूले हजारौँ वर्षदेखि प्रकृति र मानव जीवनलाई धान्दै आएका छन् । यी चरनभूमि आम्दानीको महत्वपूर्ण स्रोत हुनुका साथै जनताका लागि जल सुरक्षाको सुनिश्चिततामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

डोल्पासहित हिमाली क्षेत्रमा यी चरनभूमिले हिउँ चितुवालगायत विविध जैविक सम्पदालाई संरक्षण गर्छन् भने आदिवासी तथा स्थानीय समुदायका लागि सामाजिक-आर्थिक जीवनरेखाको रूपमा कार्य गर्नेछन् । बढ्दो मानवीय दबाब तथा जलवायु परिवर्तनका प्रभावले यी चरनभूमि प्रत्यक्ष जोखिममा परिरहेका छन् ।

डब्लुडब्लुएफ नेपालले देशका दुर्गम क्षेत्रमा रहेका वञ्चित समुदायसँग काम गर्ने सुदृढ अनुभव हासिल गरेको जनाएको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले ‘डर्विन इनिसिएटिभ’को सहयोगमा यसअघि तराई क्षेत्रमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको जीवनस्तर सुधारका कार्य गरिएको बताए। “डोल्पाको माथिल्लो क्षेत्रमा सञ्चालन हुने यो नयाँ परियोजनामार्फत समुदायमा आधारित संरक्षण र जीविकोपार्जनलाई सुदृढ गर्दै समान प्रभाव हासिल गर्ने हाम्रो लक्ष्य छ”, उनले भने।

नेपालले यी चरनभूमिको प्राकृतिक तथा सांस्कृतिक अखण्डताको संरक्षणलाई उच्च प्राथमिकता दिएको छ । दूरदर्शी नीतिहरूले सह-व्यवस्थापनका लागि अनुकूल वातावरण सिर्जना गरेका छन् । जसमा आदिवासी तथा स्थानीय समुदायको सार्थक सहभागिता सुनिश्चित गरिएको छ । तथापि, दुर्गमता, सीमित स्रोतसाधन तथा व्यवस्थापनसम्बन्धी अस्पष्ट जिम्मेवारीजस्ता व्यावहारिक चुनौतीहरूले प्रभावकारी संरक्षणमा अझै अवरोध सिर्जना गरिरहेका छन्।

डब्लुडब्लुएफ नेपालले वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र स्थानीय समुदायसँग सहकार्य गर्दै से-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा समग्र संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । जहाँ हिउँ चितुवालाई प्रमुख वन्यजन्तुको रूपमा लिइएको छ।

संरक्षणको दिगोपन सरोकार भएका निकायको सक्रिय सहभागिता र जिम्मेवारीमा निर्भर हुने भएकाले यी प्रयासहरूले प्रकृति र मानव कल्याणबीचको सकारात्मक सम्बन्धलाई मजबुत बनाउँदै सहअस्तित्व प्रवर्द्धनलाई प्राथमिकता दिएका छन् । वन्यजन्तुसँगकोद्वन्द्व व्यवस्थापन, जीविकोपार्जन विविधिकरण, शिक्षा तथा स्वच्छ ऊर्जामा पहुँच विस्तार यसका प्रमुख प्राथमिकता हुन्।

“चरनभूमि व्यवस्थापनमा समुदायको सहभागिता र परम्परागत ज्ञानको एकीकरण नेपाल सरकारको प्राथमिक रणनीति हो । यस महत्वपूर्ण परियोजनामा योगदान पुर्‍याउने दातृ निकाय र साझेदारलाई विभाग धन्यवाद दिन चाहन्छ”, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्र्देशक डा. बुद्धिसागर पौडेलले भने।

यो संयुक्त अधिराज्यद्वारा वित्तपोषित परियोजनाले हालसम्मका प्रयासलाई आधार मानेर चरनभूमि तथा तिनबाट प्राप्त हुने मूर्तअमूर्त सेवालाई दीर्घकालीन रूपमा सुरक्षित गर्दै मानव कल्याणमा योगदान पुर्‍याउने लक्ष्य राखेको उनले बताए।

विभाग र से-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको नेतृत्व तथा से-फोक्सुन्डो गाउँपालिकाको मार्गदर्शनमा सञ्चालन हुने यस परियोजनाले नेपालको उच्च हिमाली चरनभूमिका लागि पुनरावृत्ति गर्न सकिने प्रभावकारी शासन ढाँचा विकास गर्ने लक्ष्य राखेको छ।

परियोजना क्षेत्रका चरनभूमिले बुद्ध र मुक्पोरङ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका ६५० भन्दा बढी परिवारलाई सहयोग पुर्‍याइरहेको छ । जहाँ समुदाय जीविकोपार्जनका लागि पशुपालन, गैरकाठ वन उपज तथा परम्परागत औषधिमा निर्भर छन्।

नेपाल सरकारका नीति, परम्परागत ज्ञान र अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासको मार्गदर्शनमा यस परियोजनाले स्थानीय समुदायका सदस्य–विशेष गरी युवा, महिला र गोठालालाई सशक्त बनाउने बताइएको छ । जसले मध्यवर्ती क्षेत्र प्रयोगकर्ता समितिका चरनभूमि व्यवस्थापन उपसमितिमा सक्रिय भूमिका निर्वाह गर्नेछन्।

“यो परियोजना ‘डर्विन इनिसिएटिभ’मार्फत संयुक्त अधिराज्यको सहयोगले स्थानीय नेतृत्व सुदृढ गर्दै मानव र प्रकृतिलाई समान रूपमा लाभ पुर्‍याउने उत्कृष्ट उदाहरण हो । धार्मिक अगुवा र समुदायस्तरीय चरनभूमि समितिसँग सहकार्य गर्दै हामी बुद्धले लामो समयदेखि सिकाउँदै आएको एउटा सरल सत्यलाई स्वीकार गर्छौँ । मानव र प्राकृतिक संसारको कल्याण आपसमा गहिरो रूपमा सम्बन्धित छन्”, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनले भने।

डब्लुडब्लुएफ नेपाल बाहेक यस परियोजनाका साझेदार संस्थामा ‘दिगो कृषि र जैविक स्रोतका लागि एशियाली सञ्जाल’ (एन्साब) नेपाल र सोवा रिग्पा एसोसिएसन अफ नेपाल (एसआरएएन) रहेका छन् । ‘एन्साब’ नेपालले गैरकाठ वन उपजको दिगो सङ्कलन, मूल्य अभिवृद्धि तथा बजार पहुँचमा सहयोग गर्नेछ भने ‘एसआरएएन’ ले बौद्ध परम्परामा आधारित सोवा रिग्पा (उपचारको विज्ञान) को संरक्षण र समसामयिक सन्दर्भअनुसार सुदृढीकरणमा योगदान पुर्‍याउनेछ।

परम्परागत ज्ञान प्रणालीको संरक्षण र सुदृढीकरणका लागि चरनभूमि व्यवस्थापन उपसमितिहरूको नेतृत्व धार्मिक अगुवा तथा परम्परागत चिकित्सक ‘अम्ची’हरूले गर्नेछन् । साथै, अम्चीहरूलाई कानुनी तथा दिगो औषधिजन्य सामग्री प्रयोगतर्फ रूपान्तरण गर्न सहयोग गरिने से फोक्सुन्डो राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। “जसले लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिमा निर्भरता घटाउँदै परम्परागत ‘सोवा रिग्पा’ उपचार पद्धतिको मौलिकता संरक्षण गर्नेछ”, उनले भने।

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायाता व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उक्त विधेयक प्रदेशसभामा पेस गर्नुभएको हो । सोमबार बस्ने प्रदेशसभा बैठकमा उक्त विधेयकमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।

“विधेयकमाथि छलफल भएपछि पारित गर्ने प्रकृया अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारी, विपक्षी दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य महेन्द्र जिसीले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकको शून्य समयमा प्रदेशसभा सदस्य दमयन्ती रुचाल, दिलमाया पौवी, नन्दकला नेपाली, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, महेश भट्टराई, लिलबहादुर थापा, श्यामराजा महत र हरिबहादुर भण्डारीले आफ्नो धारणा राख्नुभएको थियो ।

पाकिस्तान : गिरफ्तारीमार्फत असहमति दबिएको आरोप

काठमाडाैँ । पाकिस्तानमा शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण कडा बन्दै गएको भन्दै मानव अधिकार समूहहरूले चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सडकमा उत्रन खोज्नेहरू समेत पक्राउ परेका घटनाले बहस चर्किएको छ।

राजधानी इस्लामाबादमा समाजशास्त्री तथा अधिकारकर्मी मावरा बारी अन्तर्राष्ट्रिय महिला दिवसको मार्चमा सहभागी हुन जानुभएको थियो, तर उहाँको दिन सडकमा नभई जेलको साँघुरो कोठामा बित्यो । उहाँले करिब १२ घण्टा अत्यन्तै असहज, दुर्गन्धयुक्त र दम घुट्ने वातावरणमा बिताउनुपरेको बताउनुभएको छ । त्यहाँ बिग्रिएको शौचालयबाट दुर्गन्ध आइरहेको, भुइँ सधैँ भिजेको र पसिनाको गन्ध मिसिएको वातावरणले बस्नै नसकिने अवस्था बनाएको थियो।

उनका अनुसार महिला, पुरुष र बालबालिका गरी ३० जनाभन्दा बढीलाई एकैसाथ पक्राउ गरिएको थियो । “हामी अत्यन्त खराब अवस्थाको जेलमा थियौँ, हामीमाथि कुटपिटसमेत भयो”, उनले भने । एएफपीका एक पत्रकारले रिहाइका क्रममा कैदीहरूको अवस्था प्रत्यक्ष देखेका थिए, जहाँ धेरैजना मानसिक रूपमा विचलित देखिन्थे भने केहीमा शारीरिक चोटपटक र सुन्निने जस्ता दुव्र्यवहारका सङ्केत स्पष्ट थिए।

प्रहरी चौकी बाहिर एक अभिभावकले भावुक हुँदै भने, “मेरी छोरी त केवल मार्च हेर्न आएकी थिइन्, उनले कुनै गल्ती गरेकी थिइनन् ।” यस्ता घटनाले शान्तिपूर्ण भेला र नागरिक स्वतन्त्रतामाथि राज्यको दृष्टिकोणबारे प्रश्न उठाएको छ।

रोचक रूपमा, प्रधानमन्त्री शाहबाज सरिफले सोही दिन सामाजिक सञ्जालमार्फत महिला सशक्तीकरणलाई सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै महिलाहरूको योगदानको प्रशंसा गर्नुभएको थियो । तर व्यवहारमा भने प्रदर्शनमा उत्रिने प्रयास गर्नेहरू पक्राउ परेका छन्।

मानव अधिकार सङ्गठनहरूले पाकिस्तानमा गिरफ्तारीलाई असहमति दबाउने उपकरणका रूपमा प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् । एम्नेस्टी इन्टरनेसनलले मनमानी हिरासत, बल प्रयोग र जमघटमाथि प्रतिबन्धमार्फत असहमतिलाई सीमित गरिएको चेतावनी दिएको छ । धेरैजसो अवस्थामा पक्राउ गरिएका व्यक्तिहरूलाई कारणसमेत स्पष्ट नबताइने गरिएको बताइएको छ ।

ह्युमन राइट्स वाचले कार्यकर्ता, पत्रकार र वकिलहरूलाई लक्षित गर्दै धम्की, कानूनी उत्पीडन र जबरजस्ती बेपत्ता पार्ने घटनाहरू अभिलेख गरेको जनाएको छ । समानताको माग गर्ने समूह वा विपक्षी धारका प्रदर्शनहरू प्रायः रोकिएका वा प्रतिबन्धित भएका छन् भने सरकार समर्थित गतिविधिहरू सहज रूपमा सञ्चालन हुने गरेको आरोप छ।

डिजिटल अधिकारकर्मी उसामा खिलजीका अनुसार अहिले ‘लगभग सबै कुरा राष्ट्रिय सुरक्षासँग जोडिने’ अवस्था बनेको छ, जसका आधारमा कारबाही गरिन्छ । उनले मानव अधिकार वकिल इमान मजारीको उदाहरण दिँदै संवेदनशील मुद्दाहरू उठाउनेहरूलाई जेल सजाय भोग्न बाध्य पारिएको बताए । मजारी र उनका पति हादी अली चत्ता दुवै ‘राज्यविरोधी’ सामाजिक सञ्जाल पोस्टका आरोपमा कारागारमा छन्।

त्यस्तै डिजिटल पत्रकार सोहराब बरकतलाई पनि राज्य संस्थामाथि आलोचना गरेको आरोपमा परीक्षणबिनै हिरासतमा राखिएको छ । क्यानाडाबाट आएका पाकिस्तानी मूलका एक अनुसन्धानार्थीसमेत सामाजिक सञ्जाल पोस्टकै कारण केही दिन बेपत्ता भएको बताइएको छ।

पत्रकारहरूको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूले पनि पाकिस्तानमा जोखिम बढ्दो रहेको बताएका छन् । सन् २०२४ मा मात्र कम्तीमा सात पत्रकारको हत्या भएको र अन्यले उत्पीडन तथा बेपत्ता पारिने घटनाको सामना गर्नुपरेको उल्लेख गरिएको छ । नयाँ मिडिया कानूनहरूलाई पनि अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने भन्दै आलोचना भइरहेको छ।

महिला दिवसकै क्रममा पक्राउ परेकी पत्रकार सेहरिस कुरेसीले आफू अन्य पत्रकारहरूको अवस्थाबारे बुझ्न मात्र प्रहरी कार्यालय पुगेको बताए । “मलाई भित्र जान दिइयो, तर पछि बिना कारण हिरासतमा लिइयो”, उनले भने।

पाकिस्तान मानव अधिकार आयोगका महासचिव ह्यारिस खालिकले यस्ता कानूनी प्रबन्धलाई ‘कठोर’ भएको टिप्पणी गरे । यसले स्वतन्त्र अभिव्यक्ति र मिडियाको भूमिकालाई कमजोर बनाउने खतरा औँल्याइएको छ ।

रिहाइपछि केही दिनमै बारीले साथीहरूसँग अनुभव सुनाउँदै भने, “सुरुमा अत्यन्त डरलाग्दो थियो, हामीलाई किन पक्राउ गरियो भन्ने नै थाहा थिएन ।” पछि प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने कानून उल्लङ्घन भएको जनाएको थियो ।

यद्यपि केही दिनपछि हजारौँ सिया मुस्लिमहरू अल–कुद्स दिवसका अवसरमा इस्लामाबादमा भेला भएका थिए । यसले प्रतिबन्धहरूको असमान कार्यान्वयनबारे थप प्रश्न उठाएको छ।

यस्ता जोखिमका बाबजुद अधिकारकर्मीहरू पछि हट्न तयार छैनन् । प्रदर्शनका क्रममा पक्राउ परेका र कुटपिट भोगेका एक सहभागीले भने, “यसले मलाई रोक्ने छैन ।”

विश्वव्यापी व्यापारमा बढ्दो तनावबीच ‘व्यापार विस्तार’ मा चीनको जोड

काठमाडाैँ । विश्वव्यापी व्यापारमा बढ्दो तनाव र संरक्षणवादी नीतिहरूबीच चीनले आफूलाई खुला अर्थतन्त्रको पक्षधरका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय ‘व्यापार पाइ’ विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ । चिनियाँ प्रधानमन्त्री ली किआङले आइतबार बेइजिङमा आयोजित एक उच्चस्तरीय मञ्चमा यस्तो धारणा राखेका हुन् ।

चीनको दोस्रो वरीयताका नेतासमेत रहेका उनले देशले उच्चस्तरीय खुलापनलाई निरन्तर अगाडि बढाउने, गुणस्तरीय विदेशी वस्तुहरूको आयात विस्तार गर्ने तथा सन्तुलित र समन्वित व्यापार वृद्धिका लागि अन्य देशहरूसँग सहकार्य गर्ने बताए । उनले विश्व अर्थतन्त्रलाई समग्र रूपमा ठूलो बनाउने दिशामा चीन तयार रहेको पनि स्पष्ट पारे।

ली किआङले वार्षिक चाइना डेभलपमेन्ट फोरमको उद्घाटन सत्रमा बोल्दै बढ्दो एकपक्षीयता र संरक्षणवादप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार यस्ता प्रवृत्तिहरूले विश्व व्यापारका चुनौतीहरू समाधान गर्ने प्रभावकारी माध्यम प्रदान गर्न सक्दैनन् र बरु जटिलता थप्छन्।

उक्त मञ्चमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकसहित विश्वका प्रमुख बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । यसले चीनसँगको आर्थिक सहकार्यप्रति अन्तर्राष्ट्रिय चासो कायमै रहेको सङ्केत गर्दछ।

चीनका प्रमुख व्यापारिक साझेदारहरूले पछिल्लो समय बेइजिङमाथि व्यापार अधिशेष घटाउन दबाब दिइरहेका छन् । यद्यपि यस वर्षको पहिलो दुई महिनामा चीनको व्यापार झन्डै पाँचौँ भागले वृद्धि भएको आधिकारिक तथ्याङ्कले देखाएको छ, जसले पूर्वानुमानलाई समेत उछिनेको छ।

कोभिड–१९ महामारीपछि कमजोर बनेको आन्तरिक अर्थतन्त्रलाई पुनः सन्तुलनमा ल्याउने प्रयासमा रहेको चीनले विशेषगरी घरेलु उपभोग वृद्धि गर्न ध्यान केन्द्रित गरेको छ । यद्यपि, उपभोक्ता गतिविधिमा सुस्तता कायम रहेकाले निर्यात वृद्धिले अर्थतन्त्रलाई केही राहत दिएको छ।

यसैबिच अमेरिकासँगको व्यापारिक तनाव अझै कायम छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसहितका देशहरूमा कर लगाउने नीति अघि बढाएपछि गत वर्ष दुई देशबीच व्यापार युद्ध चर्किएको थियो, जसको प्रभाव अझै विश्व अर्थतन्त्रमा देखिन्छ।

मध्यपूर्वमा इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि उत्पन्न द्वन्द्वले पनि विश्व व्यापार र ऊर्जा सुरक्षामा असर पारिरहेको छ । विशेषगरी तेल आपूर्तिमा निर्भर चीनका लागि यो अवस्था थप संवेदनशील बनेको छ ।

ली किआङले अन्तर्राष्ट्रिय नियममा आधारित व्यापार प्रणाली अहिले शक्तिको राजनीति र अस्थिरताबाट प्रभावित भइरहेको उल्लेख गर्दै यसलाई सुदृढ बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।

यसअघि शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले एचएसबिसी, युबिएस, स्नाइडर इलेक्ट्रिक र स्ट्यान्डर्ड चार्टर्डजस्ता बहुराष्ट्रिय कम्पनीका वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गर्दै आर्थिक सहकार्यका विषयमा छलफल गरेका थिए।

अध्यागमन विभागद्वारा पदयात्रा अनुमतिबारे सूचना जारी, झन्झटरहित, छिटो र सेवाग्राहीमैत्री बनाइयो

काठमाडौँ। अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ ।

विभागले आज सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका १३ जिल्लाका तोकिएबमोजिमका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रुपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ । उक्त निषेधित क्षेत्रमा समूहगत रुपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झन्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जनाएको छ

साथै, पदयात्रा अनुमतिसम्बन्धी प्रावधान कठिनाई भएमा सहजीकरणको लागि यसअघि नै छुट्टै सम्पर्क नम्बर +९७७ ९७६१४२३६३६ को व्यवस्थासमेत गरिएको सूचनामा उल्लेख छ । विभागबाट विगतमा निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति जारी नहुँदा एकल रुपमा पदयात्रामा जान चाहने पदयात्रीले अनिवार्य रुपमा पदयात्रा साझेदार खोज्नुपर्ने भएकाले असहज भएको र पर्यटन प्रबद्र्धनमा समेत असर परेको भनी ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) लगायत पर्यटन क्षेत्र सम्बद्ध सङ्घसंस्थाहरुबाट गुनासो प्राप्त भएको अवस्थालाई दृष्टिगत गरी एक पदयात्रीलाई समेत पदयात्रा अनुमति प्रदान गर्ने गरी चैत ८ गते विभागीय निर्णय भएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो ।

यसरी पदयात्रा गर्दा अनिवार्य रुपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रुपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिने र अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुने गरी शर्त निर्धारण गरिएको छ ।

साथै, एजेन्सीमार्फत एक समूहमा ठूलो सङ्ख्यामा निषेधित क्षेत्रमा पदयात्रामा जाँदा पदयात्रीको सुरक्षामा पर्याप्त ध्यान दिन सहज नहुने, एक ट्रेकिङ गाइडबाट पदयात्रीका गतिविधि निगरानीमा असहज हुनेलगायतको अवस्थालाई मध्यनजर गरी एक समूहमा एक ट्रेकिङ गाइड बराबर बढीमा सात पदयात्री रहने गरी पदयात्रा अनुमति प्रदान गर्ने निर्णय भएको छ ।

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

काठमाडौँ। शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्याङ्क विश्लेषण गर्दा, सात दिनअघि मात्र वायु प्रदूषण १७८ एक्युआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा थियो । आज भने वायु प्रदूषण घटेर ६० एक्युआईमा झरेको छ । योसँगै काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७औँ स्थानमा छ ।

एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेष गरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्नसक्छ । यस्तै १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले शुक्रबार र शनिबार हावाहुरीसहित परेको वर्षाका कारण वायु प्रदूषण घटेको बताउनुभयो । उहाँका अनुसार वर्षाले हावामा रहेका धुलो तथा प्रदूषणका कणलाई जमिनमा झार्न मद्दत गर्छ भने हावाहुरीले ती कणलाई उडाएर अन्यत्र लैजाने हुँदा प्रदूषण कम हुन्छ ।

“यदि लामो समयसम्म वर्षा भएन र मौसम सुक्खा रह्यो भने वायुमण्डलमा धुलोका कण थुप्रिँदै जान्छन्”, महानिर्देशक सुवेदीले भन्नुभयो, “काठमाडौँ कचौरा आकारको सहर भएकाले प्रदूषण सजिलै बाहिर निस्कन सक्दैन ।”

पाल्पामा टिपर दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए। चिदीको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

यहाँको माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु२ख ४५२५ नम्बरको टिपर दुर्घटना भएको हो । खाली टिपर झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मध्यपूर्वको तनावका कारण भारतमा इन्धनको मूल्य वृद्धि

काठमाडौँ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्यमा वृद्धि भएको छ ।तेल मार्केटिङ कम्पनीहरूकाअनुसार शुक्रवारदेखि लागू हुनेगरी प्रिमियम गुणस्तरको पेट्रोलमा प्रतिलिटर करिव २.३० भारतीय रुपैयाँ र औद्योगिक डिजेलमा प्रतिलिटर २२ भारतीय रुपैयाँ वृद्धि गरिएको हो ।

मध्यपूर्वमा बढ्दो तनावलाई इन्धनको मूल्य बढ्नुको मुख्य कारण मानिएको छ । यो नयाँ मूल्य तत्कालै लागू हुने कम्पनीहरूले पुष्टि गरेका छन् ।

औद्योगिक डिजेलको मूल्यमा भएको भारी वृद्धिले उत्पादन (म्यानुफ्याक्चरिङ), ढुवानी (लजिस्टिक) र विद्युत उत्पादन जस्ता विभिन्न क्षेत्रहरूमा प्रतिकूल असर पार्ने देखिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसले उत्पादन र यातायात लागत बढाउने हुँदा दैनिक उपभोग्य वस्तुहरू समेत महँगो हुनसक्ने सम्भावना छ ।

यद्यपि भारतको संघीय सरकारले प्रिमियम पेट्रोलको मूल्य वृद्धिलाई खासै ठूलो समस्याका रूपमा लिएको छैन । सरकारकाअनुसार देशमा कुल पेट्रोल खरिद गर्ने उपभोक्तामध्ये केवल २ देखि ४ प्रतिशतले मात्र प्रिमियम पेट्रोल प्रयोग गर्ने भएकाले यसको प्रभाव न्युन रहनेछ ।

प्रधानमन्त्री कप क्रिकेटः मल्लको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

बैतडी। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ ।

शेर मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।

टोलीका अन्य खेलाडीमा किरण ठगुन्ना (उपकप्तान), खडक बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आग्री, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, सौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी रहेका छन् ।

यस्तै अर्जुन विक, टेक रावत, सचिन भट्ट र भोजराज भट्ट वैकल्पिक खेलाडीको सूचीमा रहेका छन् ।

गत माघमा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिता र त्यसपश्चातको बन्द प्रशिक्षणमा गरेको प्रदर्शनका आधारमा टोली घोषणा गरिएको सङ्घले जनाएको छ ।

उक्त टोलीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ ।

उपराष्ट्रपति यादवद्वारा पानी दिवसको शुभकामना

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ ।

विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा जिम्मेवारी हो ।”

उपराष्ट्रपति यादवले पछिल्लो समय पानी सङ्कटको गम्भीर चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनले हिमनदी पग्लिने दर बढाएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “भूमिगत पानीको स्तर घट्दै गएको छ, विशेषतः तराई–मधेसमा यो समस्या गम्भीर छ, पहाडी भूभागका झरना र प्राकृतिक स्रोतहरू सुक्दै गएका छन्, प्रदूषण, अव्यवस्थित संरचना र कमजोर व्यवस्थापनले जलासयहरूको क्षमता घटाएको छ ।” यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सबैले मिलेर काम गर्नुपर्ने र पानीको संरक्षण वातावरणीय मुद्दामात्र होइन, राष्ट्रिय अस्तित्व र भविष्यको प्रश्न पनि भएको उहाँको भनाइ छ ।

नेपाल जलस्रोतमा धनी देश भए पनि त्यसको उपयोग र संरक्षणमा अझै सक्षम बन्न नसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नदी, ताल, झरना र भूमिगत पानीको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक दृष्टिकोण टड्कारो भएको बताउनुभएको छ । स्थानीय समुदायलाई सहभागी गराएर पानीको स्रोत व्यवस्थापन गर्दै आधुनिक प्रविधि प्रयोग गरी पानीको भण्डारण, पुनःउपयोग र शुद्धीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “विश्व पानी दिवसले हामीलाई पानीको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्ने, भावी पुस्ताका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउने, पानीको न्यायपूर्ण पहुँच सुनिश्चित गर्दै सामाजिक समानता बलियो बनाउने, हिमनदी, आद्र्रभूमि र प्राकृतिक स्रोतहरूको संरक्षणलाई सामूहिक अभियानका रूपमा अगाडि बढाउने, महिलाहरूको आवाजलाई सुन्ने र उनीहरूको भूमिकालाई मान्यता दिने सङ्कल्प लिन प्रेरित गर्न सकोस् ।”

राष्ट्रपति पौडेलद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गर्नुभएको छ ।

विश्व पानी दिवस, २०२६ (२२ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभएको छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ, “पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो, मानव सभ्यताको विकासदेखि आजसम्म पानीले जीवनयापनका हरेक पक्षलाई दिशानिर्देश गरेको छ । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए, वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ ।”

भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएको र जसले पारिस्थितिकीय प्रणालीलाई दिगो बनाउने र नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्याउने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनास, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोतहरू सुक्दै गइरहेको उहाँको भनाइ छ ।

सन्देशमा भनिएको छ, “भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की भौतिक संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ, साथै अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ ।”

भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाहरूको निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्द्धन गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ तारिखलाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ ।

नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइँदै छ ।

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

चालु आव २०८२/ ८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा फागुन मसान्तसम्म आठ महिनामा मात्र रु १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार अर्थात् लक्ष्यको ५१.९७ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका चार महिनामा ४८ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुनसकेको छैन ।

चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलको भनाइ छ ।

नेपालगन्ज भन्सारमा चालु आवको साउनमा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रु एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार, पुसमा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार, माघमा रु एक अर्ब करोड ६९ लाख ४० हजार लक्ष्य रहेकामा ८८.२४ प्रतिशत रु एक अर्ब ७० करोड एक लाख ८२ हजार र फागुनमा रु एक अर्ब ९३ करोड ३८ लाख १९ हजार लक्ष्य रहेकामा ८८.३२ प्रतिशत रु एक अर्ब ९३ करोड ३८ लाख १९ हजार सङ्कलन भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आल २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत र फागुनमा ७३.६८ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, गगन थापाले दिएको राजीनामाबारे सदस्यहरूले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भएको छ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान। संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय तनावका बीच क्षेत्रीय व्यापारिक पानीजहाज र नागरिक पूर्वाधारमा इरानले गरेको आक्रमणको शनिबार पनि निन्दा गरेका छन् ।

इरानको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले संयुक्त अरब इमिरेट्स (युएई)को रस अल–खैमाहमा आक्रमण हुन सक्ने चेतावनी दिएपछि युएईसहितका २२ मुलुकले इरानी चेतावनीप्रति चासो देखाएका हुन् ।

“हामीले पहिले घोषणा गरेका थियौँ र व्यवहारमा प्रमाणित गरेका थियौँ, हामी हाम्रो क्षेत्र र राष्ट्रिय सार्वभौमिकतामाथि कुनै पनि आक्रमण भएमा प्रत्याक्रमण गर्नेछौँ,“ जोल्फाघारीले भन्नुभयो ।

रस अल खैमाह एक औद्योगिक बन्दरगाह शहर हो र संयुक्त अरब अमीरातको रस अल–खैमाहको सबैभन्दा ठूलो शहर र राजधानी पनि हो।

उहाँले भन्नुभयो, “हामी युएईलाई चेतावनी दिन्छौं कि यदि इरानको अबु मुसा टापु र फारसको खाडीमा रहेको ग्रेटर टुन्बमाथि बारम्बार आक्रमण भयो भने इरानको शक्तिशाली सेनाले रस अल–खैमाहलाई कडा प्रहार गर्नेछ ।

संयुक्त अरब इमिरेट्स, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, गणतन्त्र कोरिया, न्यूजिल्याण्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्वीडेन, फिनल्यान्ड, चेकिया, रोमानिया, बहराइन, लिथुआनिया र अस्ट्रेलियाले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।

‘स्ट्रेट अफ हर्मुज’ को ‘वास्तविक बन्द’ लगायत हालैका घटनाक्रमले विश्वव्यापी व्यापार र ऊर्जा सुरक्षामा गम्भीर जोखिम निम्त्याएको वक्तव्यमा चेतावनी दिइएको छ ।

वक्तव्यमा भनिएको छ, “हामी इरानलाई आफ्नो धम्की दिने, बारुदी सुरुङ ओछ्याउने ड्रोन र क्षेप्यास्त्र आक्रमण र स्ट्रेट अफ हर्मुज रोक्ने अन्य प्रयासहरू तत्काल रोक्न आग्रह गर्दछौँ।”

यसैबीच, युएईको रक्षा मन्त्रालयले भनेको छ कि उसको हवाई प्रतिरक्षा प्रणालीले शनिबार इरानबाट आफ्नो देशतर्फ प्रक्षेपण गरिएका तीन ब्यालेस्टिक मिसाइल र आठ ड्रोनलाई रोकेको छ।

आक्रमण सुरु भएयता युएईको हवाई प्रतिरक्षाले ३४१ ब्यालेस्टिक मिसाइल, १५ वटा क्रुज क्षेप्यास्त्र र एक हजार ७४८ ड्रोन प्रयोग गरिसकेको मन्त्रालयले जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त रूपमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ सैन्य कमान्डर र सर्वसाधारणको मृत्यु भएको थियो भने कैयौँ भौतिक संरचनामा क्षति पुगेको थियो ।

बदलामा इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृङ्खलाहरू सुरु गरेको थियो । यो युद्धले इरानलगायतको मध्यपूर्वलाई तहस नहस बनाएको छ ।

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो। तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेश मन्त्री अब्बास अराघचीले बताउनुभएको छ।

जापान मध्य पूर्वबाट कच्चा तेल आयातमा निर्भर छ, जसमध्ये अधिकांश खाडीमा अवस्थित स्ट्रेट अफ हर्मुज पार गरेर आपूर्ति हुन्छ ।

अमेरिका–इजरायली आक्रमणपछि इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ, जसले यो मार्ग प्रयोग गरी आउने पानीजहाजमा निर्भर देशहरूलाई वैकल्पिक मार्गहरू र भण्डार खर्च गर्न बाध्य पारेको छ।

क्योदो न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा अराघचीले यो मार्ग बन्द भएको अस्वीकार गर्दै इरानमाथि आक्रमण गर्ने देशहरूले प्रतिबन्धको सामना गर्नुपर्नेमा जोड दिनुभयो । अन्यलाई सहयोग प्रस्ताव गरिएको थियो।इरान जापानी जहाजलाई सहयोग गर्न तयार

“हामीले यो स्ट्रेट बन्द गरेका छैनौं। हाम्रो दृष्टिकोणबाट, स्ट्रेट खुला छ,” अराघचीले शनिबार आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको अन्तर्वातामा भन्नुभएको छ।

उहाँले भन्नुभयो, “यो केवल हाम्रा शत्रुहरूको जहाजहरूको लागि बन्द छ, जुन देशहरूले हामीलाई आक्रमण गर्छन्। अन्य देशहरूका जहाजहरू स्ट्रेट हुँदै जान सक्छन्।”

उहाँले जापानलाई सुरक्षित मार्ग सुनिश्चित गर्न इरान तयार रहेको बताउनुभयो ।

“उनीहरूले हामीलाई सम्पर्क गर्न आवश्यक छ ताकि हामी यो ट्रान्जिट कसरी हुन सक्छ भनेर छलफल गर्न सक्छौँ,” अराघचीले थप्नुभयो ।

विश्वको चौथो वरियताको अर्थतन्त्र जापान तेलको पाँचौँ ठूलो आयातकर्ता हो, जसमध्ये ९५ प्रतिशत मध्य पूर्वबाट र ७० प्रतिशत स्ट्रेट अफ हर्मुज हुँदै आएको छ ।

टोकियोले गत सोमबार भनेको थियो, “जापानले आफ्नो रणनीतिक तेल भण्डार प्रयोग गर्न सुरु गर्दैछ, जुन विश्वको सबैभन्दा ठूलो भण्डार हो।”

जापानसँग सामान्य अवस्थामा उसका लागि आवश्यक पर्ने २५४ दिनको घरेलु उपभोगको सञ्चिति छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्यहरू मार्च ११ मा मध्य पूर्वमा युद्धको कारण मूल्यमा भएको वृद्धिलाई कम गर्न तेलको भण्डार प्रयोग गर्न सहमत भएका थिए । यो यस प्रकारको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिक्रिया हो।

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी। महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो । चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा यहाँको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारमा धुमधामका साथ मनाइने गरिएको छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवको पुजारी कामेश्वर पाठकले बताउनुभयो । पण्डित पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने यस चैती छठको पहिलो दिन (आज) आइतबार व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गर्नेछन् । पर्वको दोस्रो दिन (भोलि) सोमबार खर्ना मनाइने छ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।

त्यस्तै, षष्ठीका दिन अर्थात् (मङ्गलबार) साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मूला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठी (सोमबार)का दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् । त्यस्तै त्यसको भोलिपल्ट अर्थात बुधबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातबासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठपर्व हिन्दूको सँगसँगै मुस्लिमहरूले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । तर चढाउने सामथ्र्य नभएकाहरूले गम्हरी धानको चामलमात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०१ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९० रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।

साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

इनिशा विक प्रकरणमा तथ्यका आधारमा अनुसन्धान जारी : महानिरीक्षक कार्की

काठमाडौँ, ७ चैत : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा रङ्गभेद उन्मूलनका लागि नेपाल प्रहरी सक्रिय रुपमा लागेको उल्लेख गर्दै विभेदजन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।

राष्ट्रिय दलित आयोग तथा विभिन्न दलित अधिकारकर्मी सङ्घ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महानिरीक्षक कार्कीले समाजमा विद्यमान विभेद अन्त्य गर्न कानुनी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले जातीय विभेद जस्तो सामाजिक विकृतिको अन्त्यबिना समतामूलक समाजको परिकल्पना अधुरो रहने उल्लेख गर्दै प्रहरी सङ्गठनले यस्ता घटनामा शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पार्नुभयो । “जातीय विभेद् रोक्न प्रहरी सक्रिय रूपमा लागि परेको छ । यसलाई अन्त्य गर्न हामी निरन्तर प्रयासरत छौँ, तर यसमा राज्यका अन्य निकाय, नागरिक समाज र सर्वसाधारणको पनि उत्तिकै भूमिका आवश्यक छ,” उहाँले भन्नुभयो ।

महानिरीक्षक कार्कीले नेपालको संविधानले सुनिश्चित गरेको समानता, स्वतन्त्रता र सामाजिक न्यायको अधिकार व्यवहारमा लागू गराउन प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै नागरिकले बिना कुनै भेद्भाव समान हक–अधिकार उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै विभेदजन्य गतिविधि गर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याइने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सुर्खेतकी इनिशा विकको हत्या प्रकरणको अनुसन्धान तथ्य र प्रमाणका आधारमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको जानकारी दिँदै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइने र न्याय सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“इनिशा विक हत्या प्रकरणमा अनुसन्धानका लागि पर्याप्त रूपमा प्रहरी परिचालन गरिएको छ । छिट्टै सत्यतथ्य सार्वजनिक हुनेछ,” उहाँले भन्नुभयो । कार्यक्रममा सहभागी वक्ताहरूले जातीय विभेद अझै समाजमा विद्यमान रहेको भन्दै यसको अन्त्यका लागि कडा कानुनी कार्यान्वयन, शिक्षा तथा जनचेतना कार्यक्रमलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । उहाँहरूले विशेषगरी दलित समुदायमाथि हुने हिंसा र विभेद्का घटनामा द्रुत न्याय सुनिश्चित गर्न राज्य संयन्त्रलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय रूपमा प्रत्येक वर्ष मार्च २१ मा मनाइने यो दिवसले रङ्गभेद तथा जातीय विभेदविरुद्ध विश्वव्यापी ऐक्यबद्धता जनाउने अवसर प्रदान गर्दछ । नेपालमा पनि यस दिवसलाई विभिन्न कार्यक्रममार्फत मनाइँदै आएको छ, जसले समानता, सहिष्णुता र मानव अधिकारको संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ

१० रुपैयाँ किलोमा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन् ।

खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन्, तर किसान भने खुसी छैनन् । आलुको बजार मूल्य खस्किँदो त छँदैछ, खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । हाल यहाँ आलु प्रतिकिलो रु सातदेखि रु १० सम्म झरेको छ ।

‘आलुको भाउ घटेकै छ, तर पनि बिक्री भइरहेको छैन । विगतमा खेतबारीमा आइपुग्ने व्यापारीलाई आफैँ बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ’, पाँचखाल नगरपालिका–६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाले गुनासो गरे ।

गत हप्ता रु १० देखि रु १५ सम्म बिक्री भएको आलु हाल रु सातसम्म झरेको छ । यसले स्थानीय किसानहरू निकै चिन्तित छन् । सापकोटा भन्छन्, ‘मूल्य नपाएपछि बारी खन्ने कि नखन्ने भनेर अलमलमा छौँ । खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ ।’

यस वर्ष आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ । अगुवा किसान सापकोटाका अनुसार केही किसानले आफैँ काठमाडाँैको कालीमाटीस्थित तरकारी बजार लैजाँदा पनि आलु बिकेको छैन । आफ्नो मूल्यभन्दा पनि व्यापारीकै भाउमा छाडेर आउनुपर्दा लगानी जोखिममा परेको छ ।

स्थानीय किसानका अनुसार अन्य बालीको तुलनामा आलु खेतीमा लागत खर्च बढी हुने गरेको छ । जमिन तयारी, प्राङ्गारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब प्रतिकेजी करिब रु १८ देखि रु २० सम्म खर्च हुन्छ । विगतका वर्षमा यही समयमा प्रतिकेजी रु २८ देखि ३५ सम्म बिक्री हुने गरेको थियो । स्थानीय विजय पराजुलीले भने, ‘छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि व्यापारीलाई प्रतिकेजी रु १० सम्ममा आलु बेचिरहेका छौँ ।’

पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिन्छ । शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब रु ६३ करोड ७० लाखको हाराहारीमा आम्दानी गुमाउने अनुमान गरिएको छ ।

सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्न नसकेसम्म समस्या समाधान नहुने स्थानीय समाजसेवी दामोदर अधिकारीको भनाइ छ ।

मण्डनदेउपुर–१० स्थित मण्डन फाँटका ८२ वर्षिय पशुपति श्रेष्ठ भन्छन्, ‘यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बरले आलु फलेको पाइयो, तर भाउ भने घटिरहेको छ । यसले उत्पादन बढ्दा पनि कुनै खुसी हुने अवस्था छैन । ।’

यहाँको ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यावसायिक आलुलगायतका तरकारी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । स्थानीय किसान नारायण श्रेष्ठले उक्त फाँटमा यस ‘सिजन’मा दुई सय रोपनीमा आलु रोपिएको र आफूले मात्रै विगत पाँच वर्षदेखि करिब १२ रोपनीमा आलु रोप्न थालेको बताए । उनले भने, ‘गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु फल्यो, तर यो वर्ष भने १२० बोराभन्दा बढी फलेको छ, तर भाउ भने पोहोरकोभन्दा तेब्बरले घटेको छ ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिकटन आलु उत्पादन हुन्छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर सङ्घीय राजधानी काठमाडौँको बजारमा पुर्‍याउँदासमेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै थेगिएको तथ्याङ्क छ । त्योमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए ।

भियतनाम निर्वाचन : ९९ प्रतिशत मतदाता सहभागी, गैरकम्युनिस्ट पार्टीका मात्र १८ जना निर्वाचित

एजेन्सी । भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित भएका भियतनामले शनिबार घोषणा गरेको छ । भियतनामको नेशनल एसेम्ब्ली देशको शीर्ष विधायिका निकाय हो, तर यसले मुख्यतया सत्तारुढ कम्युनिस्ट पार्टीले गरेका निर्णयहरूलाई अनुमोदन गर्दछ ।

मतदाताहरूले आइतबार आफ्नो मतदान गरे र शनिबार आधिकारिक परिणामले केवल १८ निर्वाचित व्यक्तिहरू गैर–कम्युनिस्ट पार्टीका सदस्य भएको देखिएको छ । पाँच वर्ष पहिले भएको चुनावमा यो सङ्ख्या केवल १४ थियो ।

संसदीय उप–मामिला समितिका उपाध्यक्ष ता थी येनले वृद्धिलाई ‘मामूली’ कुरा बताउँदै भने, ‘यसले लोकतन्त्र र नेसनल एसेम्ब्लीमा प्रतिनिधित्वको अर्थपूर्ण विस्तारलाई सङ्केत गर्दछ ।’ सरकारका अनुसार भियतनामका सात करोड ६० लाख मतदाताहरूमध्ये ९९ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेका छन् । यो सहभागी सङ्ख्या अत्यधिक उच्च हो ।

करिब १० करोड जनसङ्ख्या भएको दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनाम आर्थिक सफलताको कथा हो, गत वर्ष आठ प्रतिशतको वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ।

अर्को महिना बस्ने पहिलो बैठकले नयाँ संसदको पहिलो कार्यहरूमध्ये एक जनवरीमा दुई दशकको कंग्रेसमा पार्टीले पहिले नै चयन गरेका पार्टीका वरिष्ठ नेताहरूलाई अनुमोदन गर्नेछ ।

यसअघि पार्टीको बैठकले शीर्ष नेता टु लामलाई महासचिवको रूपमा पुनः अनुमोदन गरेको थियो, उनी राष्ट्रपति पनि बन्ने अपेक्षा गरिएको छ । यो पदका लागि सांसदहरूको अनुमोदन आवश्यक पर्दछ ।

मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका २५० यात्रुको उद्धार

ढोरपाटन (बागलुङ) । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका दुई सय २० भन्दा बढी यात्रुको उद्धार गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित डोजरको प्रयाग गरी सडक खुलाएर यात्रुको उद्धार गरिएको पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिए । उनका अनुसार सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा रहेका यात्रु समस्यमा परेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी गौतमले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसम हेरेर मात्रै यात्रा गर्न आग्रह गरे । उनले भने, ‘शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, बिहानसम्म हिउँले सडक अवरुद्ध भयो । हामीले त्यो खबर पाउना साथ भूमे गाउँपालिकाको मेसिन लिएर सुरक्षाकर्मीसहित खटेका थियौँ, सडक खुलाएर यात्रु पनि गन्तव्यतिर लागेका छन् ।’

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङ खण्डमा हिउँ परे पनि यातायात नरोकिएको बताए । काठमाडौँ, पोखरालगायत स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान, दैलेखलगायत स्थानमा पुग्ने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न भनिएको उनले जानकारी दिए ।

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले फागुनमा प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार ४३१ सवारी कारबाही परेका हुन् ।

ती सवारी धनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए । रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोरलगायत भित्रीक्षेत्रमा पर्ने सडक खण्डमा कार्यालय तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रमुखबाट राजमार्ग सुरक्षा गस्ती गर्ने क्रममा ती सवारी साधन कारबाहीमा परेका उनले बताए ।

“फागुनमा ९३ सवारी दुर्घटना हुँदा १३१ सवारी संलग्न रहेका पाइएको छ । उक्त दुर्घटनामा सात पुरुष र एक महिला गरी आठ जनाको मृत्यु भएको छ”, सूचना अधिकारी बिसीले भने- “दुर्घटनाको कारण ९३ पुरुष, ४७ महिला, १० बालक र १० बालिका गरी १६० जना घाइते भएका थिए । त्यसमा ६४ गम्भीर र ९६ सामान्य घाइते भएका छन् ।”

दुर्घटनाको प्रमुख कारण तीव्र गति, मादक तथा लागुपदार्थ सेवन, चालकको असक्षमता, गलत स्थानमा पार्किङलगायत रहेको उनले बताए । सूचना अधिकारी बिसीका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम पालनासम्बन्धी विद्यालय, कलेजमा ट्राफिक सचेतना कक्षा सञ्चालन, व्यवसायी, चालक परिचालक, स्थानीय टोल, समुदाय, सर्वसाधरण, पैदल यात्रुलाई पनि ट्राफिक सचेतना गराइएको छ ।

त्यसबाट ३२ हजार ५६ जना लाभान्वित भएका जानकारी दिए । फागुनमा ७८ हजार ८३९ सवारीसाधनको जाँच गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

न्युयोर्क। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न र होर्मुजको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा संयुक्त राष्ट्रसङ्घ सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

उहाँले संयुक्त राष्ट्र सङ्घले यस अघि “ब्ल्याक सी” मा सुरक्षा सुनिश्चि गरी अवस्था सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको परिणम स्वरुप सन् २०२२ जुलाई मा सुरु हुने मानवीय कोरिडोर मार्फत युक्रेनी निर्यातलाई सक्षम बनाएको जनाउनु भएको छ ।

गुटेरेसले हर्मुजको जलक्षेत्रमा सहज निर्यातको अवस्था सिर्जना गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घले हाल खाडीका प्रमुख निकायका साथै युरोपेली परिषदसँग समन्वय गरिरहेको बताउनु भएको छ ।

उहाँले यस सन्दर्भमा संयुक्त राष्ट्र सहयोग गर्न इच्छुक र तत्पर रहेको जनाउदै यस्ता प्रयासहरू व्यवस्थापन गर्न संयुक्त राज्य अमेरिका र अन्य साझेदारहरूसँगको प्रत्यक्ष सहकार्यमा सक्रिय रहने पुष्टि गर्नु भएको छ ।

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो

काठमाडौँ। कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौँस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ ।

यही चैत ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर भएको घटनाबारे छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीको लागि उनीहरुलाई प्रधान कार्यालय झिकाइएको हो ।

उक्त घटनामा केही तस्कर समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दासमेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबीन सुरु गरेको सशस्त्रका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

तस्कर समूह कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । तस्करी रोक्न विगतदेखि नै उत्कृष्टकार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपु¥याएको प्रधान कार्यालयको ठहर छ ।

यसअघि उक्त घटनाका विषयमा छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ ।

घटनालगत्तै घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट टोली बदली गरिएको छ । सशस्त्र प्रहरी बलले तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेकामा खक्रौलाबाट हुने तस्करीविरुद्ध विगतदेखि नै विशेष निगरानी गरिएको प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा रु एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख बराबर अनुदान छुट्याउन सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगले वित्तीय समानीकरण अनुदानको रकम प्रदेश सरकारको हकमा रु ६१ अर्ब ५० करोड ३२ लाख र स्थानीय सरकारलाई रु ९० अर्ब २० करोड ४६ लाख बराबर उपलब्ध गराउन सिफारिस गरेको हो ।

सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका लागि आयोगले नेपालको संविधान २०७२ को धारा ६०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार सिफारिस गर्दै आएको छ ।

आयोगले यसरी वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानका वर्गीकरण गर्ने गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान रु १५ अर्ब ३७ करोड ५८ लाख निर्धारण गरिएको छ ।

जुन प्रदेश सरकारले पाउने वित्तीय समानीकरण अनुदानको २५ प्रतिशत हुन आउँछ । जनसङ्ख्या र क्षेत्रफललाई समान ५०/५० प्रतिशत भार दिई प्रदेशले पाउने न्यूनतम अनुदानको हिस्सा निर्धारण गरिएको पनि आयोगले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि न्यूनतम अनुदान शीर्षकमा कोशी प्रदेशका लागि रु दुई अर्ब ८२ करोड ६४ लाख, मधेशका लागि रु एक अर्ब ९० करोड ६० लाख, बागमतीका लागि रु दुई अर्ब ७५ करोड ४२ लाख र गण्डकीका लागि रु एक अर्ब ८२ करोड २७ लाख बराबर सिफारिस गरिएको छ ।

त्यस्तै, लुम्बिनीका लागि रु दुई अर्ब ४६ करोड ५७ लाख, कर्णालीका लागि रु एक अर्ब ७८ करोड ७४ लाख र सुदूरपश्चिम प्रदेशका लागि रु एक अर्ब ८१ करोड ३४ लाख बराबर सिफारिस गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि स्थानीय तहले प्राप्त गर्ने न्यूनतम समानीकरण अनुदान रु ३० अर्ब ८३ करोड निर्धारण गरिएको पनि आयोगले जनाएको छ । जुन स्थानीय सरकारले पाउने कुल वित्तीय समानीकरण अनुदानको ३४ दशमलव १८ प्रतिशत हुन आउँछ ।

सूत्रमा आधारित वित्तीय समानीकरण अनुदानका लागि विभिन्न आधार तथा सूचकहरु तयार पारी त्यसको भार निर्धारण गरिएको आयोगको सिफारिसमा उल्लेख छ । जसमा मानव विकास सुचकाङ्कको १०, आर्थिक सामाजिक असमानताको ५, पूर्वाधार विकासको अवस्थालाई १५ र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमतालाई ७० प्रतिशत भार छुट्याइएको छ ।

न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानको छुट्टाछुट्टै गणनी गरी कुल वित्तीय समानीकरण अनुदान निर्धारण गरिएको छ । यी तीनवटै शीर्षकको कुल अनुदानको रकम रु सात करोड भन्दा कम भएका स्थानीय सरकारलाई भने महानगरपालिकाहरुको सूत्रवापतको रकम कट्टा गरी थप गर्न पनि आयोगले सिफारिस गरेको छ ।

“चालीस वटा स्थानीय सरकारले न्यूनतम अनुदान र सुत्रमा आधारित अनुदानबाट रु सात करोडभन्दा कम रकम पाउने देखिएको छ । अनुदान रकमले स्थानीय सरकारहरुको संविधान प्रदत्त जिम्मेवारी न्यूनतम रुपमा पूरा गर्न पर्याप्त नहुने ठहर गरी प्रत्येक स्थानीय सरकारहरुलाई न्यूनतम अनुदान र सूत्रमा आधारित अनुदान गरी कम्तीमा रु सात करोड प्राप्त हुनेगरी स्थानीय सरकारहरुको आन्तरिक राजस्वको अवस्थासमेतको आधारमा महानगरपालिकाहरुको सूत्र बापतको रकममा करिब १० दशमलव ८० प्रतिशतले कट्टागरी उक्त रकम त्यस्ता ४० वटा स्थानीय सरकारको अनुदानमा थप गर्नुपर्नेछ”, आयोगको सिफारिसमा भनिएको छ ।

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौँ। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताउनुभयो ।

पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको र यो पनि विस्तारै हट्ने उहाँको भनाइ छ ।

अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उहाँले बताउनुभयो ।

विभागको अभिलेख अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र मधेशप्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । विभागको पछिल्लो २४ घण्टे विवरणमा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीमा ७५.२, मोरङमा ६३.८ र धनकुटामा ६३.२, कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ ।

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडाैँ । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् ।

अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हँुदा थप समस्या भएको छ । यद्यपि यात्रुहरूको उद्धारको लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए ।

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ। नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शुभकामना सन्देश जारी गरी नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश भएको बताउनुभयो ।

“नेपालमा विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वहरू छन् । यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान हो । यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । त्यसमध्ये ईद उल फित्र पनि एक हो । ईद उल फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ, यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा प्रदान गरेको छ”, शुभकामना सन्देशमा भनिएको छ ।

ईद उल फित्र पर्वले आपसी भाइचारा, सहिष्णुता, क्षमा, दया र मानवताको भावना अभिवृद्धि गर्दै समाजमा मेलमिलाप र सद्भाव सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको कांग्रेसले जनाएको छ ।

उक्त पवित्र पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न प्रेरणा प्रदान गरोस् भन्ने विश्वास कांग्रेसले लिएको छ ।

सम्पूर्ण धर्मावलम्बीहरूबीच एकताको सन्देश प्रवाह गर्दै सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउन सकोस् भन्ने कामनाका साथ सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा कांग्रेसले शुभकामना व्यक्त गरेको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ७५, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १८०, मटरकोसा प्रतिकिलो रु ४५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ५५, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु १४०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकेजी रु १२०, चमसुर प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु १३०, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३२० र रूखटमाटर प्रतिकेजी रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २१०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु २८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १४०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १४०, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापानिज इन्सेफलाइटिस (जेई)विरुद्ध सञ्चालन गरिएको विशेष खोप अभियान उल्लेखनीय प्रगति गर्दै लक्ष्य नजिक पुगेको छ ।जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा अधिकांश लक्षित नागरिकले खोप सेवा लिइसकेका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँका अनुसार चैत ६ गतेसम्म लक्षित जनसङ्ख्याको ६९ दशमलव एक प्रतिशतले खोप सेवा लिइसकेका छन् । अभियानअन्तर्गत हालसम्म एक लाख तीन हजार ७५२ जनाले खोप लगाएका छन् । जसमध्ये ४२ हजार ८४१ पुरुष र ६० हजार ९११ महिला रहेका छन् ।

“छोटो अवधिमा नै उल्लेखनीय उपलब्धि हासिल भएको छ,” उहाँले भन्नुभयो, “अभियान लक्ष्यअनुसार सफलतापूर्वक अघि बढिरहेको छ ।” जनस्वास्थ्य अधिकृत प्रवीणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा निरन्तर सञ्चालन भइरहेको छ । “विशेषगरी बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा खोपको प्रगति अत्यन्त राम्रो देखिएको छ”, उहाँले भन्नुभयो, “बौदिकालीमा ९५ दशमलव एक प्रतिशत र बुलिङटारमा ८७ प्रतिशत प्रगति भएको छ ।”

जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षहरूमा बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी चैत १ गतेदेखि खोप अभियान सञ्चालन गरिएको हो । अभियानमार्फत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

“लक्षित उमेर समूहका सबै नागरिकलाई खोप सेवा लिन आग्रह गरिएको थियो”, प्रमुख चापागाईँले भन्नुभयो, “खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भएकाले लक्ष्य नजिक पुग्न सफल भएका छौँ ।”

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा चालु आवमा मात्र जापानिज इन्सेफलाइटिसका १५ जना सङ्क्रमित फेला परेका छन्, जसमध्ये छ जनाको मृत्यु भइसकेको छ । रोगको जोखिम नियन्त्रणका लागि खोप अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिएको जनाइएको छ ।

गोरेटोले बागबजारमा नयाँ शाखा खोलेकै दिन ३ सय बिद्यार्थीले लिए सेवा

काठमाडौँ –  गोरेटो  एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्न सुरु गरिएको  गोरेटोका प्रबन्ध निर्देशक धिरज कंडेलले  जानकारी दिए ।   नयाँ शाखा संचालमा आएसँगै निर्देशक कंडेल भन्छन् बागबजारमा विद्यार्थीलाई मल्टिडेस्टिनेसन करिअर काउन्सिलिङ गर्ने उद्देश्यले शाखाको विस्तार गरेका हौँ।

विद्यार्थीलाई अन्य शाखाहरूबाट जस्तै यहाँबाट पनि सेवा दिनेछौँ।  यस्तै गोरेटोका संयोजक प्रकाश रेग्मीले नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका क्रममा भोग्ने भिसा अस्वीकृतिको डर, आर्थिक दबाब, तथा सामाजिक सञ्जालबाट सिर्जित भ्रम र यथार्थका सम्वन्धमा सम्बन्धित मुलुकका शिक्षणसंस्थाका प्रतिनिधिबाटै परामर्श लिन पाउने बताए। संयोजक  रेग्मी भन्छन् विदेश अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई आफू नजिकको स्थानबाट सेवा लिन सजिलो होस् भन्ने अभिप्रायका साथ हामीले बागवजारमा सेवा विस्तार गरेका हौँ ।

गोरेटो एजुकेशनले काठमाडौँको वानेश्वर, ललितपुरको कूमारीपाटी, कोशी प्रदेशको इटहरी, बागमति प्रदेशको चितवन, गण्डकी प्रदेशमा पोखरापछि काठमाडौँको बागवजारमा शाखा विस्तार गरेको हो। गोरेटोका प्रवन्ध निर्देशक कंडेलले अन्य शाखामा जस्तै यो शाखा मार्फत पनि प्रभावकारी सेवा प्रदान गर्ने बताए।  गोरेटोले बागवजार शाखा सञ्चालनमा ल्याएको अवसरमा विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुलाई परामर्श समेत प्रदान गरेको थियो। सो अवसरमा ३ सय बढी बिद्यार्थीहरुको सहभागीता रहेको गोरेटोले जनाएको छ ।

ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात

बागलुङ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ ।शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिनुभयो । हिमपातले गर्दा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको स्थानीय विकले बताउनुभयो ।

केही दिन अगाडिदेखि सामान्य वर्षा भएको उहाँको भनाइ छ । अहिले पनि निरन्तर हिमपात भइरहेको भन्दै स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको उहाँले बताउनुभयो । आलु रोप्नका लागि अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायतका क्षेत्रबाट ढोरपाटन उक्लिए पनि हिमपातले गर्दा प्रभावित बनेको विकको भनाइ छ ।

“चैत महिनामा कहिलेकाहीँ मात्रै हिउँ पर्थ्यो, यसपालि गर्मी बढ्न लाग्दा हिउँ पर्‍यो, यतिबेला ढोरपाटनवासीलाई आलु रोप्ने चटारो थियो तर हिउँ पर्दा काम प्रभावित भयो”, विकले भन्नुभयो, “अलिअलि वर्षा त चाहिएको थियो, तर हिउँ परेर दैनिकीनै कष्टकर बनाइ दियो ।”

स्थानीय तुलराम पुनले हिमपातको कारण अत्यधिक चिसो बढेको बताउनुभयो । रातिदेखि परेको भमरी हिमपात अहिले बाहिर निस्किएर हिँडडुल गर्न र पशुचौपायालाई घाँस दाना खुवाउन पनि समस्या भएको उहाँको भनाइ छ ।