`

२२ दिनमा भएका विपद्मा ४१ जनाको मृत्यु, दुई सय चार घाइते

Nepal One HD २३ वैशाख २०८३ ६:३८
प्रशासन

काठमाडौँ। वैशाख महिनाको २२ दिनमा विपद्जन्य घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि हालसम्म विभिन्न प्रकृतिका आठ सय ६८ वटा विपद्का घटनामा परेर ४१ जनाको मृत्यु भएको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई सय चार जना घाइते भएका र एक हजार १०९ परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी चट्याङबाट १२ जनाको ज्यान गएको छ ।

यस्तै, आगलागीबाट आठ, हुरीबतासका कारण छ, लेक लागेर पाँच, जनावरको आक्रमणबाट तीन, सर्पदंश, डुङ्गा पल्टिँदा र पहिरोबाट दुई÷दुई जना र वन डढेलोबाट एक जनाको मृत्यु भएको हो । २२ दिनमा सबैभन्दा बढी आगलागीका तीन सय चार वटा घटना भएका छन् भने चट्याङका एक सय पाँच, हुरीका एक सय ६१, वन डढेलोका एक सय ३० घटना भएका छन् ।

प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ९२ जनाको उद्धार गरिएको छ । हाल प्रिमनसुनको समयमा पनि विपद्का घटना भइरहेको र मौसम बदली कायम रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सबैमा अपिल गरेको छ ।यस्तै, पूर्वतयारीका योजना बनाएर आवश्यक तयारीमा रहन पनि सबैमा अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *