`

शान्ति नेपाली समाज बेलायतको नेपाल शाखा गठन, अध्यक्षमा सांसद साजिदा सिद्धिकी

Nepal One HD १४ कार्तिक २०८३ १९:१०
समाचार

काठमाडौं । बेलायतको बर्मिङ्घम क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको संस्था शान्ति नेपाली समाज बेलायतले नेपाल शाखा गठन गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित भेलाले प्रतिनिधिसभा सदस्य तथा मानव अधिकारकर्मी साजिदा खातुन सिद्धिकीको अध्यक्षतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष साजिदा दुई दशकबढी समयदेखि सामाजिक र मानवअधिकार क्षेत्रमा ख्यातीप्राप्त नाम हो ।

जनजीविका र राष्ट्रियताको सवालमा सिद्धिकी संसदमा खरो सुनिन्छिन् । उनै सांसद सिद्धिकी लाई बेलायतबाट नेपाल आएका संस्थाका अध्यक्ष राजेशमणि लामिछानेको अध्यक्षतामा बसेको भेलाले अध्यक्ष चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा वैदेशिक रोजगार विज्ञ बलराज तामाङ, महासचिवमा व्यवस्थापन विज्ञ तथा योजनाविद् प्रवेश अर्याल, सचिवमा पर्यटन व्यवसायी कृष्ण आचार्य, कोषाध्यक्षमा वैदेशिक शिक्षा विशेषज्ञ तथा समाजसेवी नारद सापकोटा र प्रवक्तामा जङ्ग तामाङ चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा चन्द्रशेखर घिमिरे, सरिता गुरुङ, सृजना श्रेष्ठ, नारायण ढकाल र लक्ष्मी कुमारी गिरी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सिद्धिकीले नेपालमा विभिन्न विपत्तिका बेला संस्थाले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन् । शिक्षा तथा पूर्वाधार विकासमा संस्थाको योगदानको सराहना गर्दै उनले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनाको महत्त्वमा जोड दिइन् ।

उपाध्यक्ष बलराज तामाङले विदेशमा रहेका नेपाली संस्थाहरू नेपालको विकासका संवाहक बन्न सक्ने बताए । महासचिव प्रवेश अर्यालले संस्था नेपाली संस्कार र संस्कृतिलाई देशविदेशमा जन्मे हुर्केको नयाँ पुस्तासँग जोड्ने सेतु बन्न सक्ने धारणा राखे ।

सचिव कृष्ण आचार्यले नयाँ पुस्तालाई नेपाल फर्कन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए । कोषाध्यक्ष नारद सापकोटाले विदेशमा रहेका युवालाई नेपालको विकासमा जोड्नुपर्ने उल्लेख गर्दै विदेशमा अध्ययन, सीप र अनुभव हासिल गरेका नेपालीका लागि वंशजको नागरिकताको निरन्तरता अपरिहार्य रहेको धारणा राखे ।

कार्यक्रममा अध्यक्ष लामिछानेले संस्था सन् २०१२ अक्टोबरमा स्थापना भएको जानकारी दिए । बेलायतको मिडल्यान्ड क्षेत्र, विशेषगरी बर्मिङ्घम आसपास बसोबास गर्ने गैरआवासीय नेपालीबीच भाइचारा, सहयोग र एकता कायम गर्ने उद्देश्यले संस्था स्थापना गरिएको उनले बताए ।

संस्थाले स्थापनाकालदेखि नै नेपाली कला, संस्कृति, चाडपर्व, परम्परा र रहनसहनको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ । बेलायतमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

नेपालमा प्राकृतिक विपत्ति आइपर्दा आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उल्लेख गर्दै लामिछानेले मातृभूमिप्रतिको जिम्मेवारी आगामी दिनमा पनि निरन्तर निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल शाखा गठनले मातृभूमिलक्षित सामाजिक तथा विकासका कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको विश्वास थियो ।

कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष निशेन्तमान बज्राचार्य, महासचिव शशांक शर्मा, प्रमुख सल्लाहकार कोशलेश्वर ढकाल र संरक्षक ठाकुरप्रसाद ज्ञवालीलगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *