`

पत्रकारमाथि प्रहरी धरपकडको शृङ्खला : दुई पक्राउ, अर्काको खोजीमा प्रहरी, सम्पादकलाई धम्की

Nepal One HD १४ कार्तिक २०८३ १८:२१
बिशेष

काठमाडौं।  खोजमूलक समाचार लेख्ने पत्रकारमाथि प्रहरी धरपकडको घटना एकपछि अर्को सार्वजनिक हुन थालेको छ। प्रहरीले एकै दिन दुई पत्रकारलाई पक्राउ गरेको छ भने अर्का पत्रकारको खोजीमा सादा पोशाकका प्रहरी सञ्चारगृहको कार्यालयमै पुगेका छन्।

यता, न्यायपालिका र प्रधानन्यायाधीशसँग सम्बन्धित समाचार प्रकाशित गरेपछि एक सञ्चारगृहका सम्पादकलाई पक्राउ गर्ने धम्कीसमेत दिइएको छ।

प्रहरीले मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको हो।

पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार बराललाई अनामनगरस्थित भाटभटेनी नजिकै रहेको कार्यालयबाट सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएका हुन्।

केही कुरा गर्नुपर्ने भन्दै कार्यालयबाट लगिएका बराललाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले बताएका छन्। उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले सार्वजनिक गरेको छैन। बराल नेकपाका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ निकट मानिन्छन्।

त्यस्तै, नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

केही दिनअघि नेपाल प्रेसमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यस विषयमा कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित भएको थियो। उक्त समाचारकै विषयमा सोधपुछ गर्न सुवेदीलाई पक्राउ गरिएको साइबर ब्युरोका अधिकारीहरूको भनाइ छ।

यसैबीच, नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीको खोजी गर्दै सादा पोशाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेका छन्। एकै दिन पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी पुग्ने घटनाले सञ्चार क्षेत्रको ध्यान तानेको छ।

उता, दियोपोष्ट डटकमका प्रधान सम्पादक सुदीप विश्वकर्मालाई पनि पक्राउ गर्ने धम्की दिइएको छ। प्रधानन्यायाधीश र न्यायपालिकासँग सम्बन्धित खोजमूलक समाचार प्रकाशित गरेपछि प्रहरी प्रशासनको नाम प्रयोग गर्दै उनलाई फोनमार्फत दबाब दिइएको दियोपोष्टको दाबी छ।

९८५१२८६७७१ नम्बरबाट फोन गर्ने एक व्यक्तिले ‘सुदीप विश्वकर्मा कहाँ हुनुहुन्छ ? उहाँविरुद्ध उजुरी परेको छ’ भन्दै सोधपुछ गरेका थिए। उजुरी कसले र के विषयमा दिएको हो भन्ने जिज्ञासामा फोनकर्ताले विवरण खुलाउन नमिल्ने जवाफ दिएका थिए।

फोन गर्ने व्यक्तिले प्रधानन्यायाधीशसँग सम्बन्धित समाचारलाई लिएर नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र साइबर ब्युरोको संयुक्त टोली परिचालन भएको दाबीसमेत गरेका थिए।

दियोपोष्टले त्यसअघि ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त सामग्री सार्वजनिक भएपछि सम्पादकलाई पक्राउ वा धरपकड गर्ने आशयले फोन आएको दियोपोष्टको भनाइ छ।

यही घटनाक्रमबीच प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष डा. कुमार शर्मा आचार्यले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु गैरसंवैधानिक हुने प्रतिक्रिया दिएका छन्। वरिष्ठ अधिवक्तासमेत रहेका आचार्यले संविधानले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेकाले समाचारको विषयवस्तुलाई लिएर पत्रकारलाई सोझै पक्राउ गर्ने कार्य उचित नहुने बताएका हुन्।

‘समाचारको विषयवस्तु गलत छ भने सच्याउने प्रक्रिया छन्। त्यतिले नपुगे कारबाही गर्ने छुट्टै संयन्त्र छ,’ आचार्यले भने, ‘तर समाचार लेखेकै आधारमा पक्राउ गर्न मिल्दैन। त्यसो गरियो भने गैरसंवैधानिक काम हुन जान्छ। हाम्रो संविधान र कानुनले त्यस्तो परिकल्पना गरेको छैन।’

उनको भनाइमा समाचारमा त्रुटि भए त्यसलाई सच्याउने, कानुनी उपचार खोज्ने र आवश्यक परे सम्बन्धित निकायबाट कारबाही अघि बढाउने व्यवस्था छ। तर समाचार प्रकाशनकै कारण पत्रकारलाई नियन्त्रणमा लिने कार्यले प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिमाथि प्रश्न उठाउँछ।

पछिल्लो समय दियोपोष्टले न्यायालयभित्रका गतिविधि, न्यायिक प्रक्रिया र सार्वजनिक पदमा रहेका व्यक्तिहरूसँग सम्बन्धित विषयमा खोजमूलक समाचार प्रकाशन गर्दै आएको छ। यस्ता विषयमा समाचार प्रकाशित भएपछि पत्रकारमाथि पक्राउ, सोधपुछ र धम्कीका घटना सार्वजनिक हुनुले स्वतन्त्र पत्रकारिताको वातावरणबारे बहस चर्काएको छ।

एकातिर संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ भने अर्कोतिर समाचारको विषयलाई लिएर पत्रकारमाथि प्रहरी कारबाहीका घटना सार्वजनिक भइरहेका छन्।

समाचारमा कसैको आपत्ति वा उजुरी भए कानुनी प्रक्रियाबाट निरूपण गर्ने बाटो हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी पुग्ने घटनाले प्रेस स्वतन्त्रताको व्यावहारिक अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यसअघि कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि गाडीहरू राखिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *