`

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षमा दुई लाख १२ हजारभन्दा बढीलाई सेवा

चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत दुई लाख १२ हजार ९७७ जनालाई सेवा प्रदान गरेको छ। अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसर पारेर हरेक वर्ष असोज १० गते यस्तो तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ।

कुल बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी रहेका छन् भने बाँकी पुराना बिरामी पुनः परीक्षणका लागि आएका थिए। अस्पतालका डा. सुशील अधिकारीका अनुसार सन् २०२५ मा आएका बिरामीमध्ये ६ हजार ८५८ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएका छन्।

यसअघि सन् २०२४ मा दुई लाख चार हजार ९७१ जना बिरामीले बहिरङ्ग सेवा लिएकोमा ३१ हजार ५६० नयाँ बिरामी रहेका थिए। सो वर्ष सात हजार नौ जना नयाँ क्यान्सरका बिरामी फेला परेका थिए। सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा प्राप्त गरेका छन् भने ११ हजार ५५९ जना बिरामी भर्ना भएर (अन्तरङ्ग सेवा) उपचार गराएका छन्। सोही अवधिमा अस्पतालमा तीन हजार ९१ वटा ठूला शल्यक्रिया (मेजर अप्रेसन) सम्पन्न भएका छन्।

सन् २०२४ मा आकस्मिक कक्षबाट ३० हजार ८०१ जनाले सेवा लिएको र १२ हजार ४७ जना भर्ना भई उपचार गराएको तथ्याङ्क छ। सो वर्ष तीन हजार १६९ वटा ठूला शल्यक्रिया गरिनुका साथै २७ हजार ४९३ जनाले डे केयर सेवा लिएका थिए। सन् २०२५ मा विकिरण प्रविधि (सेकाई) मार्फत उपचार गराउनेहरूको सङ्ख्या दुई हजार ९७० पुगेको छ भने डे केयरमा भर्ना भई केमोथेरापी लिने बिरामीको सङ्ख्या २६ हजार ४७२ रहेको छ।

एक वर्षको अवधिमा ११ हजारभन्दा बढी विपन्न बिरामीले निःशुल्क उपचार सुविधा प्राप्त गरेका छन्। अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले दिएको जानकारी अनुसार विपन्न बिरामीहरूको उपचारबापत ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ १६ पैसा छुट प्रदान गरिएको छ।

यसैगरी क्यान्सर सेवा समाजमार्फत १७६ जना बिरामीलाई १५ लाख ७३ हजार १४५ रुपैयाँ छुट दिइएको छ। तुलनात्मक रूपमा सन् २०२४ मा नौ हजार ११२ जना विपन्न बिरामीले ३५ करोड ५८ लाख २२ हजार २०६ रुपैयाँ ९५ पैसा छुट पाएका थिए भने समाजमार्फत २१५ जनाले १३ लाख ९० हजार ३६४ रुपैयाँ छुट पाएका थिए।

पाँच सय शय्या क्षमताको यस अस्पतालले आइसियू, एचडियू र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेडहरू निःशुल्क उपलब्ध गराउँदै आएको डा. नेपालले बताएका छन्। अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरूलाई दुई छाक खाना र एक छाक नास्ता पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने गरिएको छ।

उपचार, अनुसन्धान र रोग निवारण तथा रोकथामको उद्देश्यसहित विसं २०५३ मा ऐनमार्फत सरकारको स्वायत्त संस्थाका रूपमा स्थापित यो अस्पताल सुरुमा एक सय शय्याको रहे पनि अहिले ५०० शय्यामा विस्तार भएको छ। चीन सरकारद्वारा निर्माण गरिएको यस अस्पतालमा नेपालभरबाट मात्र नभई भारतबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्। हाल अस्पतालमा एक सय जना चिकित्सक र २९५ जना नर्ससहित कुल ७१८ जना कर्मचारी कार्यरत छन्।

कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु

बागलुङ। अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ।पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्न गएका बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको ढिकबाट खसेर आइतबार बेलुका मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले घटनाको पुष्टि गरेका छन्।

यसैबिच बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो मानवीय क्षति पुगेको छ।

आइतबार मात्रै पहिरो र दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। यसअघि शनिबार पहिरोमा परी एक जनाको मृत्यु भएको थियो।

प्रहरी प्रमुख प्रसाईंका अनुसार आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। त्यसैगरी निसीखोला गाउँपालिकामा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। राहत र उद्धार कार्यका लागि स्थानीय प्रशासन तथा प्रहरी टोली प्रभावित क्षेत्रमा खटिएको छ।

बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले पु¥याएको अकल्पनीय जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

विपद् जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको पूर्वतयारी तथा हाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बद्ध निकायहरूबाट अहोरात्र खटिएर भइरहेको उद्धार कार्यप्रति आभार व्यक्त गर्दछौं । राज्यको भरमग्दुर प्रयासका बाबजुद पनि विपद्को स्वरूपका कारण अमूल्य मानवीय क्षति हुन पुग्नु अत्यन्तै पीडादायक छ ।

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा टरिसकेको छैन। तसर्थ, नदी तटीय क्षेत्र र पहिरोको जोखिमयुक्त स्थानमा रहनुहुने तथा अत्यावश्यक कामबाहेक यात्रामा निस्कनुहुने सम्पूर्ण आम नागरिकहरूलाई उच्च सतर्कता र विशेष सावधानी अपनाउन हामी हार्दिक अपिल गर्दछौं ।

यस विषम परिस्थितिमा सरकारले गरिरहेको हालको प्रयासलाई थप गति प्रदान गर्दै प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकहरूको खोजी र घाइतेको उपचारलाई अझै युद्धस्तरमा अगाडि बढाउन हामी नेपाल सरकारसँग आग्रह गर्दछौं ।

विपद्पछिको अवस्थामा अवरुद्ध राजमार्गहरू तत्काल सुचारु गर्न र घरबारविहीन भएका नागरिकहरूको सुरक्षित आवास तथा पुनस्र्थापनाको कार्यमा कुनै पनि किसिमको ढिलासुस्ती नगर्न तीनवटै तहका सरकारहरूको ध्यानाकर्षण पनि गराउँदछौं ।

विपद्को यस संवेदनशील घडीमा सम्बन्धित निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा आमनागरिकको सेवामा निस्वार्थ भावले समर्पित हुन रास्वपाका सम्बन्धित क्षेत्रका सम्पूर्ण तहका नेता, सदस्य, शुभचिन्तक, ¥यापिड एक्सन टिमलगायत सम्पूर्ण सर्वसाधारणलाई आह्वान गर्दछौं ।

पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

काठमाडौँ। अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ ।

सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ । ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ ।

प्रवक्ता सुवेदीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ । चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

“कृष्णभिरको पहिरो हटाई एकतर्फी सञ्चालन गर्न सकिने भए पनि चालिसे र बाङ्गेमोडलगायतका स्थानमा अझै पहिरो हटाउने काम बाँकी भएको सो मार्ग हुँदै सवारी सञ्चालनमा केही कठिनाइ छ”, प्रवक्ता सुवेदीले भन्नुभयो ।

पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी, वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिलोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बिपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको हो ।

बाढी र पहिरोका कारण सडकका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेरमात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । वर्षा भइरहेका बेला पहाडी सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

उता काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन् । ठूला सवारीसाधनलाई भने त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीका अनुसार दक्षिणकाली–सिस्नेरी सडकखण्ड तथा त्रिभुवन राजपथमा सवारीसाधनलाई निश्चित समयतालिका बनाएर आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सडकको अवस्था, सवारीको चाप र मौसमलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका प्रवेश गर्ने प्रमुख सडकमार्गमा यातायात प्रभावित भएपछि यात्रु भने समस्यामा परेका छन् । विशेषगरी पृथ्वीराजमार्ग र बिपी राजमार्गमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म चालक तथा यात्रुलाई धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार गर्ने प्रयास नगर्न र ट्राफिक प्रहरी तथा सम्बन्धित निकायले दिएको सूचनाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘आमको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।

यस्तै आजको बैठकमा मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यक्रम छ ।

जमुनाहनाकाबाट भारतीय पर्यटकलाई भित्र्याउन आग्रह

बाँके । पर्यटन प्रवर्द्धनका लागि बाँकेको जमुनाहनाकाबाट भारतीय पर्यटकलाई निर्बाध भित्र्याउन पर्यटन व्यवसायीले आग्रह गरेका छन् ।

नेपालगन्ज पर्यटन परिषद्को आइतबार यहाँ आयोजित प्रथम अधिवेशन तथा साधरणसभामा सरोकार भएका व्यक्ति तथा सङ्घसंस्थाले जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र ब्रान्डिङ भए पर्यटन प्रवर्द्धनमा सफलता हासिल हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रत्न खत्रीले सरकार र निजी क्षेत्रको समन्वयमा पर्यटन प्रवर्द्धन एवं बजारीकरण आवश्यक भएको बताए ।

उनले लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवर्द्धन र बजारीकरणलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जानकारी दिए । उनले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जदेखि गौतमबुद्ध जन्मस्थल लुम्बिनीसम्म प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गरे ।

उनले कतिपय नीतिगत अस्पष्टताले पर्यटन प्रवर्द्धनमा अवरोध सृजना गरेको उल्लेख गर्दै भारतीय पर्यटकलाई सम्मान र प्रतिष्ठाका साथ नेपाल भित्र्याउनुपर्नेमा जोड दिए ।

पर्यटन डिभिजन कार्यालय, कोहलपुरका प्रमुख सुमन पौडेलले पर्यटन क्षेत्रमा प्रदेश सरकारले बहुवर्षीय योजना लागू गर्न लागेको उल्लेख गरे ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमर वलीले नेपालगन्ज पर्यटकीय सहरका रूपमा विकास हुन थालेको बताउनुभयो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेको गाभर र अगैयालाई पर्यटकीय हबका रूपमा विकास गर्न आग्रह गरे ।

होटल एसोसिएसन अफ नेपाल (हान) बाँके अध्यक्ष दिवाकर खनालले पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी ठुलो रहेको औँल्याए । जिल्लामा बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, गाभर भ्याली, अगैया क्षेत्र, बोटानिकल पार्क, महेन्द्र पार्कलगायतका क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् ।

सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस नेपालमा मनाइँदै

काठमाडौँ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाउने गरिन्छ।

सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।

विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बिचमा पुर्‍याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ।

जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले सूचनामा पहुँचको अधिकारलाई अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्साका रूपमा स्वीकार गरेको थियो। यस अधिकारका मुख्य दुई आयाम छन्, जसमा सीमित अपवादबाहेकका सूचना दिने राज्यको दायित्व र सार्वजनिक हितका सूचना स्वतः प्रकाशित गर्ने विषय समेटिएका छन्। संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको सूचकाङ्कले पनि सूचनाको हकसम्बन्धी प्रभावकारी कानुन निर्माण तथा कार्यान्वयनको जिम्मेवारी तोकेको छ।

विशेष गरी ग्रामीण क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र पिछडिएका वर्गसम्म सूचनाको हकका बारेमा अझै पर्याप्त जानकारी र चेतना पुग्न बाँकी छ। राष्ट्रिय सूचना आयोग, सूचनाको हकका अभियानकर्मी तथा आमसञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुपर्ने जिम्मेवारीमा रहेका सार्वजनिक निकाय र सूचनाको आवश्यकता पर्ने नागरिक तहमा चेतनाको स्तर बढाउन निरन्तर प्रयास भइरहेको आयोगको भनाइ छ। आयोगले सही सूचना प्रवाहका लागि सामाजिक सञ्जाल, इन्टरनेट, इमेलजस्ता विद्युतीय माध्यमको सदुपयोगमा जोड दिँदै आएको छ, जसले सूचना मागकर्ता र सार्वजनिक निकाय दुवैलाई सहज बनाएको विश्वास गरिएको छ।

सूचनाको हकलाई तल्लो तहसम्म पुर्‍याउनुपर्नेमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले जोड दिँदै आएको छ। महासङ्घले यसका लागि जागरण र अन्तर्क्रिया जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालको संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५, कार्यविधि एवं निर्देशिकासमेत बनिसक्दा पनि तीनै तहका सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर लैजाने वातावरण अझै नबनेको महासङ्घका अध्यक्ष उमीद बागचन्दले बताए। सूचनाको हकले नागरिकलाई अधिकारसम्पन्न बनाएकाले यसको कार्यान्वयनका लागि नागरिक संस्थाका रूपमा सक्रियता लिएको महासङ्घको भनाइ छ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले आयोगमा शीघ्र पदाधिकारी नियुक्तिको वातावरण बनाउनेतर्फ ध्यानाकर्षण गराउँदै रचनात्मक कार्यक्रमका साथ दिवस मनाउन लागिएको जानकारी दिए।

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझा खेतमा फुल्यो सपना

लमजुङ । बेँसीसहर नगरपालिका–१० बाँझा खेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन फ्रुटखेतीतर्फ लागेका हुन् ।

तीन जनाले जनही रु तीन लाख लगानी गर्ने सहमति गरी ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएका थिए । उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक रु चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताए ।

सुरुमा करिब एक रोपनीमा ६०० कागतीका बिरुवा लगाइएको थियो । बलौटे माटोका कारण कागतीबाट अपेक्षित आम्दानी हुन सकेन । विसं २०७५र७६ तिर सामाजिक सञ्जालमार्फत ड्रागन फ्रुटखेतीबारे जानकारी पाएपछि त्यसतर्फ आकर्षित भएको उनले बताए ।

विसं २०७७ चैतमा दमौलीबाट बिरुवा ल्याएर ५० वटा पिलरबाट ड्रागन फ्रुटखेती सुरु गरियो । सुरुमा १५–१६ जना मिलेर खेती गर्ने योजना बनाइएको थियो । तर व्यवस्थापन तथा निर्णय प्रक्रियामा कठिनाइ हुने देखिएपछि अन्ततः तीन जनाले खेतीलाई निरन्तरता दिएका छन् ।

ड्रागन फ्रुटसँगै उहाँहरूले खुर्सानी र तरबुजा खेती गर्नुभएको छ । करिब दुई रोपनीमा लगाइएको खुर्सानी पहिलो वर्ष १० क्विन्टल र दोस्रो वर्ष ४० क्विन्टल उत्पादन भएको थियो । मृगले बालीमा क्षति पुर्याउन थालेपछि खुर्सानी खेती बन्द गरिएको इन्द्रले बताउनुभयो । पहिलो वर्ष करिब ४० क्विन्टल तरबुजा उत्पादन हुँदा रु दुई लाख ५० हजार आम्दानी भएको थियो । सुरुमा आठ रोपनीमा लगाइएको तरबुजा अहिले पाँच रोपनीमा सीमित गरिएको छ ।

ड्रागन फ्रुटको उत्पादन भने हरेक वर्ष बढ्दै गएको छ । विसं २०८० मा करिब एक क्विन्टल, २०८१ मा दुई क्विन्टल र २०८२ मा पाँच क्विन्टल उत्पादन भएको थियो । यस वर्ष बिरुवा परिपक्व हुँदै गएकाले करिब १५ क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको इन्द्रले बताए ।

उनका अनुसार हालसम्म करिब १२ लाख आम्दानी भएको छ । प्रतिकिलोग्राम रु ४५० का दरले ड्रागन फ्रुट बिक्री भइरहेको छ । कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा करिब १० हेक्टरमा ड्रागन फ्रुटखेती भएको अनुमान छ ।

आधिकारिक तथ्याङ्क प्राप्त नभए पनि ड्रागन फ्रुटको व्यावसायिक उत्पादन र विस्तारका लागि थप अध्ययन आवश्यक रहेको उनले बताए । उनका अनुसार पानी नजम्ने बलौटे माटोमा ड्रागन फ्रुटखेती राम्रो हुनसक्छ । घरआँगन, टारी तथा प्रयोगविहीन जग्गामा समेत खेती गर्न सकिने भएकाले यसको सम्भावना रहेको उनले बताए । खेतीमा मल व्यवस्थापन भने चुनौतीका रूपमा रहेको इन्द्रले बताए । आफ्नै पशुपालनबाट पर्याप्त मल नपुग्ने भएकाले बेँसीसहर र चनौटदेखि ल्याउनुपर्ने बाध्यता छ ।

सुरुमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले खरिद गर्ने गरेकामा अहिले ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट किन्न थालेका छन् । उत्पादन बढेपछि लमजुङबाहिरका बजारमा समेत बिक्री गर्ने योजना रहेको उनले बताए । हालसम्म उक्त खेतीका लागि रु ३० लाख लगानी भइसकेको छ । पिलर, बिरुवा, सिँचाइ, मल तथा बारी व्यवस्थापनमा लगानी बढ्दै गए पनि कृषि कर्जा सहज रूपमा उपलब्ध नहुँदा थप विस्तारमा समस्या भएको उहाँले बताउनुभयो । हाल करिब ५०० पिलरमा ड्रागन फ्रुटखेती गरिएको छ ।

आगामी दिनमा पिलरको सङ्ख्या एक हजार पुर्‍याउने र गुणस्तरीय उत्पादन गर्दै जिल्लाबाहिरका बजारमा पुर्‍याउने लक्ष्य रहेको इन्द्रले बताए ।कागतीबाट सुरु भएको यात्रा ड्रागन फ्रुटसम्म आइपुग्दा बाँझा खेतमा तीन युवाले खेतीमा नयाँ प्रयोगमात्र गरेका छैनन्, सम्भावना खोज्दै कृषि व्यवसायमा लाग्ने युवाका लागि नयाँ बाटोसमेत देखाएका छन् ।

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ऐतिहासिक जिब्रो छेड्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै वीरेन्द्र कसजू श्रेष्ठलाई रु दुई लाख नगदसहित सम्मान गरेका छन् । श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेका हुन् ।

थिमिमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री थापाले श्रेष्ठलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । प्रदेश सरकारले ऐतिहासिक जिब्रो छेड्ने जात्रा संरक्षण तथा जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहनस्वरुप उक्त रकम प्रदान गरेको जनाएको छ ।

सो अवसरमा प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । मुख्यमन्त्री थापाले ऐतिहासिक कला, संस्कृति, मूर्त तथा अमूर्त सम्पदासँगै जात्रा तथा पर्वको संरक्षणमा प्रदेश सरकारले समन्वय र सहयोग गर्ने बताए ।

उनले ऐतिहासिक सम्पदा, जात्रा तथा पर्वलाई पर्यटनसँग जोडेर भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताए ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४२ रुपैयाँ १८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३० पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९९ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८९ पैसा बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

मेची भन्सार : दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु तीन अर्ब सात करोड ५० लाख राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२।१४ प्रतिशत राजस्व सङ्कलन भएको जनाइएको छ ।

कार्यालयका अनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य राखिएकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो । भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको छ ।

भदौमा साउनको तुलनामा राजस्व सङ्कलनमा सुधार आएको कार्यालयले जनाएको छ । साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व सङ्कलन भएकामा भदौमा ९४।७३ प्रतिशत पुगेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२/८३ को भदौको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन ९.४३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो ।

सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत न्यौपानेले जानकारी दिए ।

६ वर्षमा दुई पटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठुलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्षको अवधिमा दुई पटक ठुलो आगलागी भएको छ । पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी बिस्तारै आफ्नो व्यापार–व्यवसाय र दैनिकीलाई लयमा फर्काउँदै गर्दा बिहीबार भएको आगलागीले पुनः बिचल्लीमा पारेको छ ।

बिहीबार भएको आगलागीमा परी १० घर र १७ वटा पसल जलेका छन् । आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन् । केही पीडित भने जलेका घर तथा पसलका भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र पुनर्निर्माणको तयारीमा जुटेका छन् ।

छोराहरूसँग बस्दै आउनुभएका ८६ वर्षीय स्यामलाल खरेलका लागि यो आगलागी विगतको पीडा दोहोरिएजस्तै भएको छ । “पटकपटकको आगलागीले ठुलो पीडा दियो । व्यापार व्यवसायमा लगानी गरेर बसियो, सबै सखाप भयो, अब बसौँ कसरी बस्ने, जाउँ कता जाने ?” उनले भने ।

अर्का अग्निपीडित चन्द्र पौडेल पनि छोटो अवधिमा दुई पटक आगलागीको चपेटामा पर्दा पुनःस्थापनाको चिन्तामा छन् । “छोटो अवधिमा दुई पटक आगलागीको चपेटामा परियो, यसो तङ्ग्रिँदै गर्दा पुनः आगलागीले सखाप पार्‍यो”, उनले भने, “अब सरकारले दिने सामान्य राहतले हाम्रो समस्या समाधान हुँदैन । सरकारले बिनाब्याज ऋणको व्यवस्था गरिदियोस्, हामी पुनः स्थापित भएर साँवा रकम सरकारलाई फिर्ता गर्छौँ । नत्र आफैँले गर्न सक्ने अब कुनै उपाय छैन ।”

उद्योग वाणिज्य सङ्घ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजारका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट समेत सहज रूपमा ऋण पाउन नसकेको बताए । नदी तथा खोलाकिनारमा बजार रहेकाले बैंकले लगानी डुब्ने जोखिम देखाउँदै ऋण दिन आनाकानी गर्ने गरेको उनको गुनासो छ ।

“दोभान बजारवासीलाई बैंकबाट ऋण पाउन पनि सहज छैन, नदी तथा खोला किनारमा बसेको बजार भएकाले लगानी डुब्ने जोखिम देखाएर बैंकहरूले ऋण दिन सकिरहेका छैनन्”, काफ्लेले भने ।

आगलागीपीडित परिवार तत्कालका लागि आफन्त तथा छरछिमेकीको घरमा आश्रय लिएर बसेका छन् । उनीहरू अहिले जलेका सामान तथा भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र सम्भव भएका संरचनाको पुनर्निर्माण तथा व्यवस्थापनमा जुटेका छन् । शनिबार दिउँसोबाट मौसममा केही सुधार भएकाले जलेका सामान तथा भग्नावशेष पन्छाउने कार्य भइरहेको पीडित चन्द्र पौडेलले बताए ।

जिल्ला विपद् व्यवस्थापन समिति, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, मेरिङ्देन गाउँपालिकालगायत सरकारी तथा गैरसरकारी निकायले तत्कालका लागि पीडितपरिवारलाई राहत रकम तथा विभिन्न सामग्री उपलब्ध गराएका छन् । पीडितले भने तत्कालको राहतभन्दा दीर्घकालीन पुनः स्थापना र पुनर्निर्माणका लागि सरकारको विशेष सहयोग आवश्यक रहेको बताएका छन् ।

बिहीबार दिउँसो भएको आगलागीमा आठ परिवारका १० घर तथा १७ वटा पसल जलेको प्रारम्भिक विवरण छ । आगलागीबाट करिब रु १४ करोड ५० लाखबराबरको क्षति भएको बताइएको छ । सदरमुकाम फुङ्लिङबाट दुईवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो ।

सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो बढी कारोबार हुने व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा करिब ८० वटा घर तथा पसल रहेको उद्योग वाणिज्य सङ्घ दोभानले जनाएको छ ।

बजारमा यसअघि २०७७ साल फागुनमा ठुलो आगलागी भएको थियो । उक्त आगलागीले ४९ घर जलेका थिए भने करिब रु ४० करोडभन्दा बढीको क्षति भएको थियो । त्यस बेला सर्वस्व गुमाएका कतिपय व्यवसायी तथा परिवार बिस्तारै आफ्नो व्यवसाय पुनः स्थापित हुँदै थिए । छ वर्ष नपुग्दै फेरि आगलागी दोहोरिएपछि उनीहरू आर्थिकसँगै मानसिक र पारिवारिक रूपमा ठुलो सङ्कटमा परेका छन् ।

स्थानीयका अनुसार दोभान बजारमा बारम्बार हुने आगलागी नियन्त्रण तथा सम्भावित क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक छ । पछिल्लो समय बिजुलीका कारण धेरै आगलागीका घटना हुने गरेकाले घरमा प्रयोग हुने विद्युतीय सामान र जडानका बारेमा पनि सचेतना फैलाउनुपर्ने स्थानीय गुरु पौडेलले बताए ।

यस्तै विपद्का समयमा तत्काल प्रयोगमा आउने विपद् प्रतिकार्य सामग्रीको सहज उपलब्धता बारेमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने स्थानीयले बताए । पछिल्लो समय यस जिल्लामा विद्युत्का कारण आगलागीका घटना बढ्दै गएका छन् । विद्युत्का कारण हुने आगजनी नियन्त्रणका लागि नागरिकस्तरमा व्यापक सचेतना जरुरी रहेको आवश्यकता औँल्याइएको छ ।

बाढी पहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी । कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध भएको छ ।

बाढीले पर्वतको कुश्मा नगरपालिकास्थित नयाँपुलमा झन्डै १०० मिटर सडक बगाएको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुलमा क्षति पुग्दा सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय, पर्वतका प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले जानकारी दिए ।

नयाँपुलमा सडकको पूरै भाग कटान गरेकाले अस्थायी रूपमा मार्ग खोल्न केही दिन लाग्ने जनाइएको छ । मालढुङ्गाको पुलमा पर्वतपट्टिको भाग भत्केको छ । जीर्णोद्धार नगरेसम्म उक्त पुलबाट सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था नरहेको प्रहरी नायब निरीक्षक भट्टराईले बताए ।

कास्कीलगायत जिल्लाबाट उक्त सडकखण्ड हुँदै बागलुङ, म्याग्दी र मुस्ताङका लागि छुटेका साना सवारीसाधन छमर्कैबाट पाङ हुँदै वैकल्पिक सडक प्रयोग बाध्य भएका छन् ।

ठूला सवारीसाधन भने बीचमा रोकिएका छन् । मध्यपहाडी लोकमार्ग भएर बागलुङ हुँदै पूर्वीरूकुम, पश्चिमरूकुमलगायत जिल्ला जाने लामो दूरीका सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन् । बिरामी एवं अत्यावश्यक कामका लागि हिँड्ने यात्रुलाई सास्ती थपिएको छ ।

मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा पहिरो र भलले सडक कटान गर्दा यातायात सेवा ठप्प बनेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो । “फर्से र लस्तीमा गरी दुईतीन ठाउँमा बाढीले सडक कटान गरेको छ”, उनले भने, “केही दिन यस क्षेत्रको यातायात सेवा प्रभावित हुने देखिएको छ ।”

उनका अनुसार जलजला–८ फर्सेको पुरानो बजार बाढीले बगाएको छ । बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन् । यस्तै, २५ घर उच्च जोखिममा रहेका गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठुलो क्षति भएको अध्यक्ष आचार्यले बताए ।

जलवायु न्यायको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछ : वनमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको आवाजलाई कोप–३१ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा प्रस्तुत गरिने बताएकी छन् ।

‘जलवायु न्यायका लागि पर्वतीय कूटनीति विषयक’ परिसंवाद कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले यो विषय केवल नेपालका लागि मात्र नभई विश्वका सबै हिमाली र तल्लो तटीय देशका साथसाथै समग्र पृथ्वीका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।

“हिमाल पृथ्वीको जीवन धान्ने महत्त्वपूर्ण प्रणाली हो । यसले नेपालभन्दा धेरै परसम्मका अर्बौँ जनसङ्ख्यालाई पानी, पारिस्थितिक प्रणाली, कृषि तथा जीविकोपार्जन उपलब्ध गराउँदछ”, मन्त्री चौधरीले भनिन् ।

हिमाल आज जलवायु परिवर्तनको सबैभन्दा अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै उनले हिमाली बाढी, पहिरो, हिमताल विस्फोट र हिमनदी पग्लने जोखिम बढ्दो क्रममा रहेको बताइन् । जलवायु परिवर्तनले नाजुक हिमाली पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको उनको कथन थियो । हिमाली देशको साझा आवाजका लागि पर्वतीय कूटनीति आवश्यक रहेको उनको भनाइ छ ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको अत्यन्त न्यून योगदान (०.१ प्रतिशत भन्दा कम) छ । यद्यपि, जलवायु परिवर्तनको प्रभाव नेपालले असामान्य रूपमा भोगिरहेको उल्लेख गर्दै उनले यो न्याय नभएको र असमानता हो भनिन् ।

“यही असमानता नेपालको जलवायु कूटनीतिको नैतिक आधार हो । हामीले सहानुभूति होइन, जलवायु न्याय मागेको हो । जबाफदेहिता मागेको हो”, मन्त्री चौधरीले भनिन् ।

जलवायु न्यायको कुरा गर्दा जहिले पनि प्रभावित मानिसलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । मन्त्री चौधरीले भोटेकोशीको बाढीका कारण करिब एक हजार ४०० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी मानिस बेपत्ता भएको अवस्थामा निरन्तर खोजी, मर्यादित सहयोग, आश्रय, स्वास्थ्य सेवा र सुरक्षित पुनर्लाभ र पुनर्स्थापना पहिलो प्राथमिकता रहेको उल्लेख गरिन् ।

प्रभावित समुदाय र अत्यावश्यक पूर्वाधार बाढीले बगाएर लगेको अवस्थामा पहिले नै ठुलो क्षति व्यहोरिरहेको मुलुकमा थप ऋणको भार नथपी, अन्तर्राष्ट्रिय सहयोग प्रभावित मानिससम्म छिटो पुग्नुपर्ने मन्त्री चौधरीको धारणा थियो ।

उनले भनिन्, “पुनर्निर्माण गर्दा बालबालिका, महिला, अपाङ्गलाई केन्द्रमा राखेर सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत् आयोजनाको पुनस्र्थापनासँगै सुरक्षित योजना तर्जुमा, सुदृढ पूर्वसूचना प्रणाली र विपद्–प्रतिरोधी पूर्वाधारको विकास पनि सँगसँगै अघि बढाइनुपर्छ ।”

अनुगमन, पूर्वसूचना र पूर्व तयारीका विषयमा क्षेत्रीय सहकार्य साझा सुरक्षाको सवाल भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा भने जस्तै चीन, नेपाल र भारतबिच हिमालय जलवायु उत्थानशीलता संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइन् । साथै उहाँले ऐतिहासिक दायित्व र क्षमता भएका राष्ट्रले पुनर्लाभ तथा विपद्–प्रतिरोधात्मक क्षमता विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने बताइन् ।

जलवायुमैत्री बजेट, क्लाइमेट–स्मार्ट पूर्वाधार, स्थानीय तहसम्म जोखिम जानकारी र प्रकृतिमा आधारित समाधानमार्फत राष्ट्रिय क्षमता सुदृढ गर्नुपर्ने बताउँदै मन्त्री चौधरीले जलवायु न्याय दया नभई अधिकार भएको उल्लेख गरिन् । “जलवायु वित्त सहयोग मात्र होइन, न्यायपूर्ण दायित्व हो र पर्वतीय मुद्दा नेपालको मात्र होइन सम्पूर्ण विश्वको साझा मुद्दा हो”, उनले भनिन् ।

सप्तरीमा बाढीबाट पाँच सय परिवार विस्थापित

सप्तरी । सप्तरीको सप्तकोशी नदीमा गएको बाढीले ५०० भन्दा बढी घर डुबानमा परेका छन् । यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिकाको तटीय क्षेत्रमा बसोबास गर्ने वडा नं पाँच हजार ७१२ मा ३८० र वडा नं १३ को गोबरगाढा टापुमा १५० घर डुबानमा परेका छन् भने तिलाठी कोइलाडी गाउँपालिकाको २७ घर डुबानमा परेका छन् ।

तीन दिनदेखि पानी घरभित्रै पसेपछि घरमा भएको खाद्यान्न, लत्ताकपडा, दाउरालगायत सामग्री निकाल्न नसक्दा हामी बाढीबाट प्रभावितलाई खाना पकाउनसमेत समस्या भएको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ की ४० वर्षीया विमलाकुमारी सदाले बताइन्।

उनले भनिन्, “दुई सानासाना नातिनातिनासहित आठ जनाको परिवार छौँ । शनिबार रातिदेखि नगरपालिकाले बिहान बेलुकी खाना खुवाउन थालेको छ ।” बस्न, नुहाउन र लुगा धुन पनि एकदमै समस्या भएको सदाले बताइन्।

“हाम्रो परिवार यहाँ बसेदेखि चौथो पुस्तामा आइसकेको र यो समस्या चार पुस्तादेखि झेल्दै आएका छौँ । चौथो पुस्ता अहिले बालबालिका नै छन् । प्रत्येक वर्ष वर्षा याममा बाढीले यसरी नै घर डुबाएर सबै सखाप पार्छ । पानी सुकेपछि सबै शून्यबाट सुरू गर्दागर्दै फेरि एक वर्षपछिको अवस्था यस्तै हुँदै आएको छ । हामी यहाँ बसोबास गर्ने सबैको सम्पत्तिका नाममा केही छैन । विकल्प नभएपछि ठाउँ छोड्नसक्ने अवस्था छैन । सरकारले हामीलाई बसोबासका लागि विकल्प दिनुपर्‍याे”, सदाले भनिन्।

स्थानीय २५ वर्षीया आरतीदेवी सदा ससाना चार सन्तानसहित सोही ठाउँमा बसोबास गर्दै आएका छिन्। श्रीमान् भने मजदुरीका लागि भारतको पञ्जाब गएको चार महिना भयो । बाढीका बेला चार वटा सन्तान लिएर एक्लै बस्नुपर्दा थप समस्या भएको छ । घरमा भएको खाट पनि सुत्नका लागि निकाल्ने कोही नभएको उनले बताइन्।

सदाले भनिन्, “त्रिपाल टाँगेर कसरी बसौँ ? दुई छाक खान पाएका छौँ । कतैबाट आएको राहत पनि राख्ने ठाउँकोसमेत व्यवस्थापन गर्न सकेकी छैन ।”

बस्तीमा बसोबास गर्ने सबैको समस्या उस्तै रहेको स्थानीय ३० वर्षीया बौकी देवी सदाले बताइन्। उनले भनिन्, “सबैभन्दा बढी हामीलाई खानेपानीको समस्या छ । पानीमा डुबेको चापाकलको पानी पिउनुपर्ने बाध्यता छ ।”

गोबरगाढा टापुको मात्र १५० परिवारसहित पालिकाको ५०० भन्दाबढी परिवार डुबानमा परी विस्थापित भएको हनुमान नगर कङ्कालिनी नगरपालिकाका नगरपालिका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए।

उनले भने, “गोबरगाढा बस्तीका बढी प्रभावित परिवारलाई बस्तीका पश्चिमी भागमा टेन्टमा र कोसी तटीय क्षेत्रमा डुबानमा परेका परिवारलाई तत्काल टेन्टमा सारिएको छ ।” पालिकाको वडा नं ७ र ५ को १५४ परिवारका घरमा पानीका कारण खाना पकाउने अवस्था नभएपछि पालिकाले शनिबारदेखि दुई छाक खाना खुवाउने ब्यवस्था मिलाएको उनले बताए।

कोसीको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–४, ५ र ११ वडाका २७ घर बाढीमा बाढी बसेर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरूणकुमार मण्डलले बताए।

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

काठमाडौँ। नेपाली सेनाले अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबान प्रभावित क्षेत्रबाट आज ६८४ जनाको उद्धार गरेको छ ।

सेनाले आज पर्वत, म्याग्दी, बागलुङ र जाजरकोटका विभिन्न स्थानबाट उनीहरुलाई उद्धार गरी सुरक्षित स्थलमा स्थानान्तरण गरेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा पहिरो गई फसेका ७८ जनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरी मुक्तिमार्ग माध्यामिक विद्यालयमा लगिएको छ ।

यस्तै, पर्वत, म्याग्दी र बागलुङबाट ६०२ जनालाई जमिनी उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ वडाबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ ।

जाजरकोटको भेरी नगरपालिका–१३, कुदुस्थित भेरी नदीको टापुमा फसेका चार जनालाई हेलिकप्टर उद्धार गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुक्तिमार्ग माध्यामिक विद्यालय, बागलुङको तमानखोला गाउँपालिकाको सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा सैनिक हेलिकप्टरद्वारा ९७९ किलो राहात सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ ।

सेनाले डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित भगरियामा अवरुद्ध जोगबुडा–बुडर सडकखण्ड पहिरो हटाई सञ्चालनमा ल्याएको छ । रौतहटको मौलापुर नगरपालिका–१, मर्यादापुरस्थित लालबकैया नदीमा करिब ८० मिटर बाँध मर्मत गरी मजबुद बनाएको छ ।

जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु

फ्रान्कफर्ट। दक्षिण जर्मनीमा ‘अक्टोबरफेस्ट’ बियर महोत्सवका लागि पर्यटक बोकेर म्युनिखतर्फ जाँदै गरेको बस राजमार्गमा दुर्घटनाग्रस्त हुँदा दुई फिलिपिनी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ४ बजे भएको दुर्घटनामा अन्य आठ जना गम्भीर घाइते भएका छन् । अपर बभेरिया प्रहरी कार्यालयकी एक प्रवक्ताले एएफपीलाई बताएअनुसार, ट्राभल कम्पनीले भाडामा लिएको उक्त बसमा म्युनिखमा आयोजना हुने अक्टोबरफेस्टमा सहभागी हुन करिब ५० जना फिलिपिनी पर्यटक सवार थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार, अस्ट्रियाको सीमाना नजिकैको बुक्लो क्षेत्रबाट गुज्रिरहेको बेला बस सडकबाट बाहिरिएर पल्टिएको थियो । बस इटालीको मिलान सहरबाट छुटेको थियो । दुर्घटनापछि ठूलो सङ्ख्यामा आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो । उद्धार तथा अनुसन्धानका लागि राजमार्गको दुवैतर्फको आवागमन केही समय बन्द गरिएको प्रहरीले जनाएको छ

भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

लखनउ। उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिनयता बाढी र वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ । राहत आयुक्तको कार्यालयका अनुसार एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

यता, गत अगस्ट २६ को विनाशकारी बाढीबाट प्रभावित नेपालमा पुनः बाढी र पहिरोको नयाँ शृङ्खला सुरु भएको छ । नेपालका विपद् व्यवस्थापन अधिकारीका अनुसार बिहीबारयता बाढी तथा पहिरोका घटनामा १२ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् ।

वैज्ञानिकहरूले हालका वर्षमा दक्षिण एसियामा चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको चेतावनी दिँदै आएका छन् । उनीहरूले यसलाई जलवायु परिवर्तन र बढ्दो तापक्रमसँग जोडेर हेरेका छन् ।

गत महिना चीन–नेपाल सीमाक्षेत्रमा हिमनदीसहितको पहाड खस्दा आएको विनाशकारी बाढीमा एक हजार ४०० भन्दाबढी मानिसको मृत्यु भएको थियो भने हजारौँ बेपत्ता भएका थिए ।

उत्तर प्रदेशमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुनका बेला हरेक वर्ष भारी वर्षा र आँधीबेहरीका घटना दोहोरिने गर्छन् । अधिकारीका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीस्थल भागतर्फ सर्दा वर्षाको तीव्रता बढेको हो, जसका कारण अत्यधिक वर्षा भई मानवीय तथा भौतिक क्षति भएको छ ।

राज्यमा शुक्रबारदेखि आइतबारसम्म ६६.५ मिलिमिटर वर्षा मापन गरिएको छ, जबकि यस अवधिको औसत वर्षा ७.६ मिलिमिटर मात्र हुने गर्दछ ।

भारी वर्षाले कृषिक्षेत्रमा व्यापक असर परेको छ । बालीनालीमा क्षति पुगेपछि किसानले आगामी सिजनको खेती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, भारतको पूर्वी राज्य ओडिसामा भारी वर्षाका कारण नदीहरूको जलस्तर बढेपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पुल तथा कल्भर्टमा क्षति पुगेपछि लोकप्रिय पर्यटकीय गन्तव्य ‘देवकुण्ड’ पनि अस्थायी रूपमा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लामो गर्मीयामपछि मनसुन सुरु भएसँगै भारतमा हरेक वर्ष बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पु¥याउने गरेको छ

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो ।

यस्तै, पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । सोही पहिरोमा परेर हस्तविर श्रीपालीकी श्रीमती बेपत्ता भएकी छन् ।

यसैगरी, पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए ।

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ । मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आज साँझदेखि प्रहरीले माइकिङ गर्न थालेको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार साँझ करिब ७ः०० बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी मस्र्याङ्दी नदी आसपासका बस्तीमा माइकिङ गर्ने काम भइरहेको छ । खुदी, भकुण्डे, पाउदीलगायत नदी आसपासका बस्तीका स्थानीयवासीलाई घरमा नबस्न तथा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताए । प्रजिअ खनालका अनुसार अहिले मस्र्याङ्दी नदीको पानीको बहाव केही कम भए पनि मनाङतर्फ घट्टे खोलामा पहिरो झर्नेक्रम जारी छ । पहिरोका कारण खोला थुनिएर एक्कासी ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम रहेकाले सावधानी अपनाइएको हो ।

“अहिले पानीको बहाव केही कम भएको छ । तर माथिल्लो क्षेत्रमा घट्टे खोलामा पहिरो झरिरहेको छ । कुनै पनि बेला खोला थुनिन सक्छ र थुनिएर ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम छ”, प्रजिअ खनालले भने । उनका अनुसार पाउदीलगायत केही स्थानमा यसअघि नै बाढीको प्रभाव देखिएको छ । तत्काल ठूलो समस्या नदेखिए पनि घट्टेखोला थुनिएर पानी एक्कासी आएमा जोखिम अझ बढ्नसक्ने भएकाले नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताए ।

यसैगरी, जोखिमलाई ध्यानमा राख्दै ७० मेगावाटको मध्य मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनालाई गेट खोलेर पानी निकास गर्न र विद्युत् उत्पादन बन्द गर्न आग्रह गरिएको प्रजिअ खनालले बताए । सोहीअनुसार पानीको निकास भइरहेको छ”, उनले भने । विभिन्न निर्माणाधीन आयोजनामा रहेकालाई आयोजना छाडेर अन्यत्र बस्न लगाइएको उनले बताए । नदी आसपासका बस्तीका स्थानीयवासीलाई नदी किनार तथा आसपासका क्षेत्रमा नजान र सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

सोमबारदेखि वीरगञ्जमा वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था

वीरगञ्ज । अब वीरगञ्जवासीले वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्न सक्ने भएका छन् । वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्ने व्यवस्था लागू गरेको छ ।

सोमबारदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर सङ्लन गर्न सक्ने व्यवस्था मिलाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले जानकारी दिए । उनले भने, “यहाँका नगरवासीलाई घरदैलो नजिकैबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने महानगरपालिकाको नीतिअनुसार वडा कार्यालयबाटै मालपोत कर बुझाउने व्यवस्था गरिएको छ, योसँगै अब मालपोत कर तिर्न महानगरपालिकाको मुख्य कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।”

प्रमुख प्रशासकीय अधिकृत बोहराले कर सङ्लनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका सबै वडा कार्यालयलाई निर्देशन दिइसकेको पनि बताए । महानगरपालिकाले सूचना पनि जारी गरी नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउनसमेत आग्रह गरेको छ ।

नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर सङ्लन गर्ने व्यवस्था गरिएको र यो व्यवस्था प्रभावकारी हुने महानगरको भनाइ छ ।

चोलेन्द्रशमशेर राणाको पक्राउबारे ज्ञानेन्द्र शाहीको प्रश्न- ‘दोषी भए किन छोडियो, निर्दोष भए किन पक्राउ गरियो?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै शाहीले राणा दोषी भए उनलाई किन छोडिएको र निर्दोष भए किन पक्राउ गरिएको भन्दै प्रश्न गरेका हुन् ।

‘पूर्वप्रधानन्यायाधीश दोषी हुनुहुन्छ भने किन छोडियो ? निर्दोष हुनुहुन्छ भने किन पक्राउ गरियो ?’ उनले लेखेका छन् ।

शाहीले गृहमन्त्रीको पद व्यक्तिगत इगो, रिस वा साँठगाँठका लागि नभएको भन्दै राज्यसत्ता पनि केटाकेटीको खेल नभएको बताएका छन् ।

‘अलिकति परिपक्व भएर काम गर्नुहोस्,’ उनले गृहमन्त्रीलाई सुझाव दिएका छन् ।

आफ्नो भनाइ विरोधका लागि विरोध नभएको उल्लेख गर्दै शाहीले यसलाई ‘एउटा शुभचिन्तकको सुझाव’ भएको बताएका छन् ।

पहिरो र हिमपातले मुस्ताङको कोरला सडक ठप्प, सयौँ कन्टेनर रोकिए

मुस्ताङ। शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण (जोमसोम-कोरला) सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरबाट कोरला नाकासम्मको सडकमा ठाउँठाउँ पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात हुँदा आवागमन रोकिएको हो ।

वर्षाका कारण राष्ट्रिय गौरवको कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरला नाका ठप्प हुँदा सयौँ कन्टेनर भन्सार यार्डमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गएरातिको भारी वर्षा र हिमपातले मुस्ताङको काभ्रेभीरबाट कोरला नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार म्याग्दी-मुस्ताङ सिमाना काभ्रेभीर खण्डमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर सडक अवरुद्ध बनेको छ । भारी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसा क्षेत्रका कतिपय ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । उहाँले तल्लो घाँसा, घाँसा चेकपोस्ट नजिकलगायत स्थानमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो ।

यसैगरी घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ फार्म नजिकैको फाराम खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । बाढीका कारण सडक अवरुद्ध भए पनि भौतिक क्षति नभएको उहाँले बताउनुभयो । त्यहाँ गाउँपालिकाको डोजर लगेर सडक खुलाउने प्रयास गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कोरला नाका जोड्ने जोमसोम-पान्डा खोला सडकमा गए रातिको वर्षाले सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यहाँका प्रहरी निरीक्षक बस्यालका अनुसार कागबेनीबाट वारागुङ-३ चैलेसम्मको सडक पनि अवरुद्ध भएको छ ।

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक संरचनामा क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी मुस्ताङमा गएराति भारी वर्षा भइरहँदा लोमान्थाङ र कोरलानाका क्षेत्रमा भारी हिमपात भएको छ । लोमान्थाङ-४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का ईञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरला नाका र भन्सार क्षेत्रमा गए राति भारी हिमपात भएको छ ।

हिमपातका कारण कोरलानाकाको दशजगजा क्षेत्रमा पाल टाँगेर बस्ने स्थानीय व्यापारी समस्यामा परेका छन् । भारी हिमपातले स्थानीय व्यापारीले टाँगेका आधा दर्जन बढी पाल भत्किएका छन् भने कोरलाबाट लोमान्थाङ आवतजावत गर्ने राष्ट्रिय राजमार्ग सडक हिउँले पूर्ण रूपमा अवरुद्ध बनेको बिओपी इञ्चार्ज धितालले उल्लेख गर्नुभयो ।

कोरलानाका क्षेत्रमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण नेपाल-चीन निकासी तथा पैठारी व्यापार पूर्ण रुपमा प्रभावित भएको छ । बिओपी ईञ्चार्ज धितालका अनुसार कोरलानाकास्थित मुस्ताङ भन्सार यार्डमा २०० भन्दा बढी कन्टेनर अलपत्र परेका छन् । भन्सार जाँच पास भइसकेका र सीमापारी मालवस्तु लिन जाने खाली कन्टेनर यथास्थानमा रोकिएको उहाँको भनाइ छ । कोरलानाका क्षेत्रमा एक फिट बढी हिउँ परेको इञ्चार्ज धितालले जनाउनुभयो ।

त्यस्तै भारी वर्षाका कारण विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । जोमसोम विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीका अनुसार घरपझोङ र थासाङ गाउँपालिकाको सिमाना चोखोपानीमा २४० किलोवाट क्षमताको जलविद्युत् गृहमा बाढी पसेर बन्द भएको हो । वर्षाका कारण गएरातिदेखि म्याग्दीको दानाबाट कोवाङसम्मको ३३ केभीए प्रसारण लाइनको सम्पर्क विच्छेद हुँदा मुस्ताङको विद्युत् सेवा पूर्ण रूपमा अवरोध भएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले गए रातिको वर्षाले पुर्‍याएका क्षति विवरण सङ्कलन गर्नमा सञ्चार सम्पर्क हुन नसक्दा समस्या भइरहेको जनाएको छ । उत्तर/दक्षिण जोड्ने बेनी-जोमसोम सडकखण्डको म्याग्दी खण्डमा पनि गएरातिको भारी वर्षाले दर्जनाैँस्थानमा सडक अवरुद्ध हुन पुगेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपर भाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

गोरखामा चामलको मूल्य घट्यो, दसैँतिहारका लागि सहुलियत बिक्री सुरु

गोरखा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ ।दसैँतिहारलाई लक्षित गरी शाखाले चामलमा साविकभन्दा रु पाँच मूल्य घटाएर सहुलियत मूल्यको चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताउनुभयो ।

कार्यालयको वार्षिकउत्सवको अवसर पारेर साउन २८ गतेदेखि सहुलियतको चामल बिक्री सुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयबाट स्टिम जिरा मसिना र अरुवा सोना मन्सुली चामल छुट मूल्यमा बिक्री हुँदै आएको छ । यस वर्षका लागि कार्यालयको गोरखा शाखामा ३८० क्विन्टल सिर्दिबास डिपोका लागि १९० क्विन्टल तथा बिक्री केन्द्र नामरुङ र चुमलिङका लागि पनि १९० क्विन्टल चामल छुट मूल्यमा बिक्री गर्न कोटा निर्धारण भएको थियो ।

सोअन्तर्गत शाखा कार्यालय गोरखाबाट अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ६२ बाट घटेर रु ५७ मा बिक्री भइरहेको छ । स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९२ बाट घटेर रु ८७ का दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।

खाद्यको सिर्दिवास डिपो तथा बिक्री केन्द्र नामरुङ र चुमलिङबाट भने अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ६५ बाट घटेर रु ६० र स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९५ बाट घटेर रु ९० का दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीको भनाइ छ । उहाँका अनुसार छुट कोटाको मौज्दात नसकिएसम्म बिक्री केन्द्रबाट सहुलियतको चामल उपलब्ध हुन्छ । छुट कोटाको मौज्दात सकिएपछि भने पुरानै दरमा चामल खरिद बिक्री हुने उल्लेख छ ।

“छुट कोटामा २५ किलो बोराको अरुवा सोना मन्सुली चामल गोरखामा प्रतिबोरा रु एक हजार ४२५ र सिर्दिवासमा प्रतिबोरा रु एक हजार ५०० तथा स्टिम जिरा मसिनो चामल गोरखामा प्रतिबोरा रु दुई हजार १७५ र सिर्दिवासमा प्रतिबोरा रु दुई हजार २५० मा बिक्री गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “छुट कोटा सकिएपछि प्रतिकेजी पाँच रुपैँया बढी तिरेर बजार मूल्यभन्दा सस्तोमा नै चामल बिक्री वितरण हुन्छ ।”

दसैँ, तिहारलाई लक्षित गरेर कार्यालयले चिनी, दाल, तेल र गेडागुडीसमेत बिक्री गर्न लागेको कार्यालय प्रमुख रञ्जना केसीले जानकारी दिनुभयो । “केही दिनभित्र चिनीलगायत अन्य खाद्यन्न बिक्री गर्न सुरु गर्छौँ । चिनी प्रतिकिलो रु ११० मा उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि खाद्यको सिर्दिवास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुम्लिङ बिक्री केन्द्रका लागि एक, एक हजार क्वीन्टल चामलको कोटा निर्धारण भएको छ । शाखा कार्यालय गोरखाका लागि भने आवश्यकताअनुसार चामल ढुवानी हुने बताइएको छ । कार्यालयको सिर्दिवास डिपोमा हाल ७०० क्वीन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ ।

नारायणीको बाढीले सुस्ता डुबानमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम)। अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारी ल्याइएको छ। पश्चिम-नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबारदेखि बाढी पसेको हो।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको थारु, वडाका टोललगायत क्षेत्रमा बाढी पसेपछि स्थानीय नागरिकलाई सुस्तामा रहेका आश्रयस्थलमा राखिएको थियो।

नारायणीमा बाढीको तह बढ्दै गएपछि ८०० भन्दा बढी नागरिकलाई नारायणीवारि सुस्ता बालिनगरमा रहेको बिपी माध्यमिक विद्यालयमा ल्याइएको उनले बताए। उनले भने, “सुस्तामा २१९ घरधुरीमा एक हजार ४५० भन्दा बढी नागरिक छन् । केही पहिलै आफन्तको घरमा गएर बसेका छन् भने बाँकीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वारि ल्याउने काम भएको हो।”

“सुस्तावारि आउनका लागि नारायणी नदीमा झोलुङ्गे रहेकामा पुलमा जलसतह बढेपछि केही माथि उकालेर विद्यालयमा पुर्‍याउन ढिलाइ भएको हो”, प्रजिअ नेपालले भने। उद्योग वाणिज्य महासङ्घ नवलपरासी र नवलपरासी रेडक्रसले राहत सामग्री लिएर सो क्षेत्रमा पुगेको उनले बताए।
अहिले गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी मापन गरिएको गण्डक योजना कार्यालय भैसालोटन बाल्मकीनगरका सम्पर्क तथा भूआर्जन अधिकृत सोभित हलुवाईले बताए।

प्रधानमन्त्री बालेनको अपिल- ‘खतरा अझै टरेको छैन, अत्यावश्यकबाहेक यात्रा नगर्नुहोस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना भइरहेकाले जोखिम अझै कायमै रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले असोज ९ देखि १२ गतेसम्म भारी वर्षा तथा हावाहुरीको पूर्वानुमानपछि सरकारले पूर्वसावधानीका लागि नागरिकलाई सार्वजनिक अपिल गरेको बताएका छन् । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोस्टको बैठक राखी निरन्तर सूचना सम्प्रेषण, रात्रीकालीन यातायात रोक्ने तथा विद्यालय बन्द गर्ने लगायतका सावधानीका निर्णय गरिएको थियो भने ७७ वटै जिल्ला कमान्ड पोस्ट सक्रिय बनाइएको थियो ।

प्रधानमन्त्रीका अनुसार असोज ८ गतेदेखि आइतबार साँझसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको छ । विपद्मा परी पाँच जना घाइते भएका छन् भने उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले बताएका छन् ।

यसैगरी, पाँच जना बेपत्ता भएको विवरण प्राप्त भएको र मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचनाबारे विवरण संकलन भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन् । सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायतका पूर्वाधारमा समेत क्षति पुगेको छ ।

प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मीहरू अहोरात्र खटिरहेको बताएका छन् । प्रभावित परिवारका लागि स्थानीय तहसँगको समन्वयमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

नारायणी नदीमा बाढीले क्रुजसिप बगाएर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको उनले बताएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न सडक प्रभावित भएको तथा भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको र कालीगण्डकीको पक्की पुलसमेत बगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

त्यस्तै, बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको उनले जानकारी दिएका छन् । त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा बन्द भएका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै ६९५.२ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक उपायस्वरूप बन्द गरिएको छ ।

विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन् ।

महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ । सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेको तथा कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको उनले जानकारी दिएका छन् ।

हुरीसहितको वर्षाले धानबाली, तरकारीलगायत अन्य कृषि बालीमा समेत क्षति पुगेको प्रधानमन्त्रीले बताएका छन् ।

उनले जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्दै संकट परे निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी राखिरहेको भन्दै प्रधानमन्त्री शाहले त्यस्ता गतिविधि नगर्न चेतावनी दिएका छन् ।

‘हामी धैर्य, संयम र एकताका साथ यो विपद्को पनि सामना गर्नेछौँ,’ उनले भनेका छन् ।

फेवातालमा १०५ किमि प्रतिघण्टा गतिमा चल्ने जेटस्की उद्धार बोट सञ्चालन

कास्की। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको ‘जेटस्की’ उद्धार बोट (डुङ्गा) सञ्चालनमा ल्याइएको छ ।
फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले आजदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रतिघण्टा १०५ किमी गतिमा सञ्चालन हुनछ ।

विश्व पर्यटन दिवसको अवसर पारेर उद्धार बोट सञ्चालनमा ल्याइएको हो । संयुक्त अरब इमिरेट्स (युएई)ले विपद् उद्धारका लागि सशस्त्र प्रहरी बललाई उपलब्ध गराएका दुई वटा बोटमध्ये एउटा पोखराको फेवातालमा ल्याइएको सशस्त्र प्रहरी बल, कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बोट फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा खटिएको सुरक्षा टोलीसँग रहनेछ । पानीमा तीव्र गतिमा आवतजावत, ‘वाटर सर्च’, ‘रेस्क्यु’, आपत्कालीन उद्धार तथा ‘वाटर पेट्रोल’का लागि बोट उपयोगी हुने उहाँले बताउनुभयो ।

“फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको उद्धार टोलीले आवश्यकताअनुसार उक्त बोट प्रयोग गरी उद्धार कार्य गर्नेछ । उच्च गतिमा पानीमा आवतजावत गर्न सक्ने भएकाले दुर्घटना वा आपतकालीन अवस्थामा उद्धार टोलीलाई घटनास्थलमा छिटो पुग्न सहयोग पुग्नेछ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो ।

बोटको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा उद्धार कार्यलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउन उद्धार बोटले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

“फेवातालमा आउने छालको पूर्वअनुमान गर्न नसकिएको भएकाले आपतकालीन अवस्थामा छिटो उद्धार गर्न सकिने उच्च क्षमताको बोट सञ्चालनमा आउनु फेवातालको सुरक्षा व्यवस्थाका लागि महत्त्वपूर्ण उपलब्धि हो । पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटको सुरक्षा पहिलो प्राथमिकता दिएका छौँ”, प्रमुख आचार्यले भन्नुभयो ।

प्रमुख आचार्यले फेवातालमा आउने पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्नु पर्यटन प्रवर्द्धनसँगै स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी तथा पर्यटनसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता थियो ।

बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

गुल्मी। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३० घर, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसिकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर जोखिममा परेका छन् ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोट गाउँपालिकाका ७०, धुर्कोट गाउँपालिकाका १५, इस्माका १२ र छत्रकोट गाउँपालिकाका सात घर पहिरोको जोखिममा परेका उहाँले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक बोगटीले जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताउनुभयो । जोखिममा रहेका तथा विस्थापित परिवारको विवरण थपिन सक्ने भएकाले घटनाको विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोका कारण उच्च जोखिममा परेर विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको सहयोगमा सुरक्षित स्थानमा सार्ने आवश्यक सहयोग उपलब्ध गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चोलेन्द्रशमशेर राणाको पक्राउबारे राजीव खत्रीको प्रश्न– ‘पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा समात्नु गलत भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रहरीले राणालाई पक्राउ गर्नुको कारण ‘सुरक्षा थ्रेट’ भने पनि पछि उनलाई ‘छोडिएको’ बताइएको भन्दै सुरक्षा खतरा कसरी टर्‍यो भन्ने प्रश्न गरेका छन् ।

‘चोलेन्द्र पक्राउबारे प्रहरीले भन्यो– सुरक्षा थ्रेट ! तर पक्राउको कारण गोप्य राखेर छोडियो भनियो । चोलेन्द्रमाथिको सुरक्षा खतरा कसरी टर्‍यो पत्तै पाइएन,’ उनले लेखेका छन् ।

राणाको घर डुबानको उच्च जोखिममा रहेकाले बगाउने खतरा भएपछि सुरक्षित स्थानमा सारिएको र वर्षा रोकिएपछि परिवारको जिम्मा लगाएर पठाइएको भन्ने विवरण पनि सत्य नभएको खत्रीले उल्लेख गरेका छन् ।

उनले कुनै नागरिकले असुरक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउनु राज्यको दायित्व भए पनि प्रहरीले राणालाई घरबाट पक्राउ गर्ने शैली सही नभएको बताएका छन् ।

खत्रीले यसअघि रास्वपा सभापति रवि लामिछानेमाथि गरिएको पक्राउको शैलीलाई पनि गलत भन्दै राणाको हकमा पनि त्यस्तै भएको टिप्पणी गरेका छन् ।

‘चोलेन्द्रका कर्मलाई लिएर हजार प्रश्न गर्न सकिन्छ । नैतिक तथा आर्थिक पतन भएको छ भने बेहिसाब समातिनु पर्छ । त्यस्तै प्रकृतिका कथित नेताहरू पनि पक्राउ पर्नु पर्छ,’ उनले लेखेका छन् ।

लगातारको वर्षाले नेपाली चलचित्रको व्यापारमा धक्का, हलसम्म दर्शक नपुग्दा कारोबार प्रभावित

काठमाडौँ । लगातार परेको वर्षाले मुलुकको जनजीवन प्रभावित भएसँगै नेपाली चलचित्रको व्यापार खस्किएको छ । सम्बद्ध व्यवसायीका अनुसार अविरल वर्षाका कारण चलचित्र हलसम्म पुग्ने दर्शकको सङ्ख्या घटेसँगै व्यवसाय प्रभावित भएको हो ।

मौसम प्रतिकूल भएपछि दर्शक हलसम्म पुग्न नसक्दा प्रदर्शनरत चलचित्र तथा शुक्रबारदेखि प्रदर्शनमा आएका नयाँ चलचित्रको व्यापार अपेक्षित रुपमा नभएको हल सञ्चालकको भनाइ छ ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण बुधबारदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । यही मौसमकाबिच शुक्रबार तीन नेपाली चलचित्र ‘आचार्य बा : एक योद्धा’ र ‘जदौ’ प्रदर्शनमा आएका थिए । वर्षाका कारण अपेक्षाकृत कम दर्शक देखिएको बताउँदै हल सञ्चालकले देशभर क्रमशः अब मौसम सफा भई दर्शकको उपस्थिति बढ्ने विश्वास व्यक्त गरेका छन् ।

विशेषगरी नयाँ चलचित्रका लागि प्रदर्शनको पहिला तीन दिन नै महत्त्वपूर्ण मानिन्छ । तर, चलचित्र हलसम्म पुग्ने वातावरण नै प्रतिकूल बनेपछि नयाँ चलचित्रले अपेक्षित व्यापार गर्न कठिन भएको सञ्चालकको अनुभव छ ।

काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले अहिलेको मुख्य चुनौती फिल्मको ‘कन्टेन्ट’भन्दा पनि दर्शक हलसम्म आउने वातावरण नभएको बताए।

“अहिलेको मुख्य चुनौती दर्शक हलसम्म आउने वातावरण नभएको हो । लगातारको वर्षाका कारण दर्शक हलसम्म पुग्न सकिरहेका छैनन् । बिहान र दिउँसोका ‘शो’हरूमा ५० प्रतिशतसम्म हल भरिएका छन् तर साँझ शून्यजस्तै छ । कति स्थानमा ‘हाई अलर्ट’ सूचना जारी भएको हुँदा मानिस बाहिर निक्सन सकिरहेका छैनन्”, शर्माले बताए।

चलचित्र ‘बाः एक योद्धा’का निर्देशक हरि लम्सालले फिल्मप्रति दर्शकको चासो हुँदाहुँदै पनि मौसमले असर गरेको बताए। उनले भने, “रिलिज भएको पहिलो तीन दिन नै दर्शकको उपस्थिति मौसमअनुसार घटबढ भइरहेको छ । पानी रोकिएपछि व्यापारले गति लिनसक्ने हाम्रो अपेक्षा छ।”

यता, वर्षाको प्रभाव नयाँ चलचित्रमा मात्र होइन, अघिल्लो सातादेखि प्रदर्शनरत चलचित्रमा परेको छ । ‘पेन्सन पट्टा’ र ‘बेहुली’ भदौको अन्त्यतिर र ‘भिङ्गेदाउ २’ असोजको सुरुआतमा दर्शक तानिरहेका चलचित्र हुन्।

यस्तै, ‘पार्वती’, ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ लगायतका चलचित्र पनि हलमा प्रदर्शनरत छन् । तर, पछिल्लो समय आएको लगातार वर्षाले यी चलचित्रको नियमित व्यापारिक गतिलाई असर पारिरहेको देखिन्छ।

चलचित्र ‘पेन्सनपट्टा’का वितरक रोहित कट्टेलले फिल्म ‘रिलिज’को समयमा दर्शकको साथ नै सबैभन्दा महत्वपूर्ण हुने तर, अहिले लगातार पानी परिरहेका कारण मानिस घरबाट बाहिर निस्कन कठिन भएकाले यसको प्रत्यक्ष प्रभाव हलको ‘अकुपेन्सी’मा देखिएको बताए।

“पेन्सनपट्टाले पहिलो र दोस्रो हप्ता निकै राम्रो व्यापार गरेको थियो । तेस्रो हप्तामा पनि यसले थप राम्रो व्यापार त गरेको छ तर शुक्रबारदेखि नै अविरल वर्षाको प्रभाव भने देखिएको छ । भोलिदेखि व्यापारमा पुनःरफ्तार आउनेमा आशावादी छु”, उनले भने ।

असोज महिना नेपाली चलचित्रका लागि महत्वपूर्ण समय मानिन्छ । यसवर्ष असोजमा मात्रै करिब एक दर्जन नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । दसैँको आसपास चलचित्रको व्यापार बढ्ने अपेक्षा गरिए पनि मौसमको अनिश्चितताले निर्मातादेखि प्रदर्शकसम्मलाई चुनौती थपेको छ।

नारायणीको बाढीले क्रुज बगाएर पुलको पिलरमा ठोक्कायो, आवतजावत रोकियो

चितवन । नारायणी नदीमा आएको बाढीले क्रुजसिप बगाएर नारायणी पुलको पिलरमा ठोक्काएको छ ।

गैंडाकोटतर्फको किनारमा रहेको क्रुजसिप बाढीले बगाएर पुलको पिलरमा ठोक्किँदा ठूलो आवाज आएको स्थानीयले बताएका छन् । क्रुजसिप अहिले पनि पुलको पिलरमा अड्किएको अवस्थामा रहेको जनाइएको छ ।

क्रुजसिप पुलको पिलरमा ठोक्किएपछि पुलमा जोखिम हुनसक्ने भन्दै केही समयका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।

घटनापछि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल फिल्डमा पुगेका छन् । पुलको अवस्था तथा सम्भावित जोखिमबारे निरीक्षण भइरहेको जनाइएको छ ।

सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६ सयभन्दा बढीले गरे श्राद्ध

काठमाडौँ । सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा ६ सयभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन् । बिहानैदेखि वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवङ्गत पितृको सम्झनामा धार्मिक विधिअनुसार श्राद्ध गर्न पशुपति क्षेत्रमा पुगेका थिए।

पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आएका कलङ्कीका पण्डित शेषकान्त पन्तका अनुसार वर्षाका कारण विगतका वर्षको तुलनामा यस वर्ष पहिलो दिन श्रद्धालुको सङ्ख्या केही कम देखिएको हो।

उनले सोह्र श्राद्ध पितृहरूको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएको उल्लेख गर्दै पहिलो दिनमै वर्षा भएकाले श्रद्धालुको आवागमन प्रभावित भएको बताए। पितृहरूको आत्माको शान्तिको कामना गर्दै सोह्र श्राद्धका अवसरमा विभिन्न धार्मिक तथा तीर्थस्थलमा श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ।

यस अवधिमा विशेषगरी पशुपतिनाथ क्षेत्रमा दिवंगत आफन्तको सम्झनामा धार्मिक कर्मकाण्ड गर्ने श्रद्धालुको बाक्लो उपस्थिति रहने गरेको पण्डित गङ्गाराज दाहालले बताए। उनका अनुसार आजदेखि सुरु भएको सोह्र श्राद्ध औँसीसम्म चल्नेछ।

यस अवधिमा श्रद्धालुहरूले आफ्ना दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा रहिआएको छ। वर्षाका कारण बिहान श्रद्धालुको आवागमन केही प्रभावित भए पनि दिउँसोसम्म पशुपतिनाथ क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदान गर्नेहरूको चहलपहल जारी थियो।

कोटेश्वरबाट श्राद्ध गर्न पशुपति आएका कमल अधिकारीले वर्षा भए पनि तिथिअनुसार श्राद्ध गर्नुपर्ने भएकाले आफूहरू आएको बताउनुभयो । उहाँले सोह्र श्राद्धको अन्तिम दिन श्रद्धालुको उपस्थिति अझ बाक्लो हुने अपेक्षा गरे।

सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल बढेको छ । श्रद्धालुहरूको आगमनसँगै पण्डितहरूलाई पनि श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउन भ्याइनभ्याइ भएको छ।

त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

नुवाकोट । नुवाकोटको त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक कठिनाइ देखिएपछि विदुर नगरपालिकाका चार स्थानमा सञ्चालनमा ल्याइएका तुइन बन्द गरिएका हुन् ।

तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्न बेलकोटगढी नगरपालिकामा पर्ने झोलुङ्गे पुल वा धादिङको गल्छीस्थित पक्की पुल हुँदै आवतजावत गर्नुपर्ने बाध्यता भएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने सम्पूर्ण पुलसहित सडकको पहुँच मार्गसमेत बगाएपछि विदुर नगरपालिकासँगको सहकार्यमा बागमती प्रदेश सरकारले विभिन्न चार स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याएको थियो ।

त्रिशूली नदी वारपारका बस्तीलाई आपसमा जोड्न विदुर नगरपालिका–१ इन्द्रायणीचौरमा दुई ठाउँमा तथा वडा नं ४, वडा नं–१२ जोड्ने सिमचौर, वडा नं ५ र ३ जोड्ने देवीघाटमा एक–एक ठाउँमा तुइन जडान गरिएका थिए ।

निरन्तर वर्षा भइरहेका कारण तुइनका घिर्नी सञ्चालनमा कठिनाइ हुनुका साथै नदी वारपार गर्ने क्रममा बीचमै अड्किन सक्ने जोखिम रहेकाले सञ्चालन रोकिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए ।

“प्राविधिक समस्या र नदीको बहावबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै तुइन सञ्चालन रोकिएको हो”, उनले भने, “मौसम सफा भएर नदीको बहाव घटेपछि पुनः सञ्चालनमा ल्याइनेछ ।”

देवीघाटमा जडान गरिएको तुइनको लठ्ठा बाँधिएको रुखसमेत त्रिशूली नदीको कटानका कारण जोखिममा परेको छ । वडा नं ३ तर्फ लठ्ठा बाँधिएको रुखमा नदीको कटानले क्षति पुर्याएकाले मौसम सफा भएपछि प्राविधिक अध्ययन गरेर मात्र उक्त तुइन सञ्चालनमा ल्याउने तयारी गरिएको प्रमुख थापाले जानकारी दिए ।

भोटेकोशी बाढीपछि देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रोब्रिज सञ्चालनमा ल्याएसँगै धादिङतर्फको आवतजावत केही सहज भएको छ । तर, त्रिशूली नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल पक्की वा अन्य वैकल्पिक पुल निर्माण गर्न नसक्दा नदी वारपारका लागि तुइन नै प्रमुख माध्यम बनेको छ ।

नदी वारपारको एकमात्र साधन तुइन पनि बन्द भएपछि नदीपारिका बस्तीमा बाढीले पुर्याएको क्षति पश्चात पुरिएका घरको भग्नावशष हटाइ खोज तथा उद्धार र राहत वितरणमा समस्या भएको छ । आम उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएको विदुर नगरपालिका–७ का अध्यक्ष रबिन्द्र नेपालले गुनासो गरे ।

नदी पार गर्ने माध्यम नहुदाँ सदरमुकाम विदुरबाट त्रिशूली नदी पारितर्फ रहेको त्रिशूली अस्पताल पुग्न नसक्दा यहाँका बिराम जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । नदी वारपारको सहज माध्यम बन्द हुँदा विदुरबाट त्रिशूली पारीतर्फ विदुरको आठवटा वडा सहित किस्पाङ र म्यागङ गाउँपालिकासँगको आउजाउ रोकिएको छ ।

हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ

मनाङ । हिमाली जिल्ला मनाङस्थित हिम्लुङ हिमालको बेसक्याम्पमा हिमपहिरो खसेको छ ।नेपाल प्रहरीका अनुसार बेसक्याम्प क्षेत्रमा हिमपहिरो गएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार टोली घटनास्थलतर्फ पठाइएको छ । भौगोलिक विकटता तथा प्रतिकूल मौसमकाबीच उद्धार कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

हिमपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयले माग्याे रायसुझाव

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि रायसुझाव उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको छ ।

नेपाल स्काउट विश्व स्काउटका सदस्य रहेकाले विश्व स्काउटका सिद्धान्त तथा मूल्यमान्यतासँग नेपालको मौलिक परम्परा र प्रचलित कानुनलाई समायोजन गर्दै नेपाल स्काउटमार्फत बालबालिका तथा युवालाई विश्व स्काउटका सिद्धान्त र मान्यताअनुरूपको अभियानमा सहभागी गराउन विधेयक आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

बालबालिका तथा युवालाई शारीरिक र नैतिक रूपमा विकास गरी अनुशासित, जिम्मेवार र सेवा भावनाले अभिप्रेरित गराउँदै देश विकासका कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई अझ सक्षम र सङ्गठित बनाउन आवश्यक भएकाले कानुन संशोधन तथा एकीकरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

नेपालको संविधानले सङ्घीय शासन प्रणाली अवलम्बन गरेअनुसार नेपाल स्काउटलाई पनि सङ्घीय ढाँचामा रूपान्तरण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा यसको सञ्चालन तथा व्यवस्थापनमा स्पष्टता कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। संविधानको भाग ६, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत धारा ५१ का नीतिसँग सम्बन्धित विषयलाई ध्यानमा राखी नेपाल स्काउटसम्बन्धी ऐन तर्जुमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

प्रस्तावित विधेयकले नेपाल स्काउटको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै अन्तरराष्ट्रिय दायित्वसमेत पूरा गर्न सहयोग पुग्नेछ । विधायन ऐन, २०८१ को दफा (६) को (२) बमोजिम विधेयकलाई थप प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको जनाइएको छ।

मन्त्रालयले यही असोज ८ गते सार्वजनिक गरेको सूचनामा विधेयकको उद्देश्य, आवश्यकता तथा त्यसबाट पर्ने प्रभावका सम्बन्धमा १५ दिनभित्र सुझाव दिन सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई अनुरोध गरिएको छ।

नारायणीको जलसतह हालसम्मकै उच्च

चितवन । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः १० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३ः ४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ ।

नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उहाँले बताउनुभयो ।

कार्यालयका अभिलेखअनुसार विसं २०८१ असोज १२ गते नारायणी नदीमा उच्चतम जलसतह ११ दशमलव छ मिटर पुगेको थियो । विसं २०८० साउन २९ गते आठ दशमलव ३३ मिटर, विसं २०७९ असोज २० गते नौ दशमलव ५२ मिटर र विसं २०७८ असार २ गते १० दशमलव ५० मिटर उच्चतम जलसतह मापन गरिएको अभिलेखमा उल्लेख छ । उहाँका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो ।

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

स्याङ्जा। अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ। स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेतीखोलाको किनारमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको हो।

चार दिनदेखि निरन्तर रुपमा परेको वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका-५ तर्फको बजारका १७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। त्यस्तै, पर्वततर्फका नौ घरमा क्षति पुगेको गल्याङ-५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए।

“स्याङ्जातर्फका १७ घरमा बाढी पस्दा घरहरू भत्किनुका साथै डुबानमा परेका छन्”, उनले भने, “गएराति २ः०० बजेतिरदेखि नदी तथा खोलामा बहाव बढेसँगै स्याङ्जा र पर्वततर्फका बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम मावि परिसरमा राखिएको छ।”

विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितलाई तत्काल खानपान तथा आश्रयको व्यवस्थापन मिलाइएको उनले बताए। बाढीका कारण मानवीय क्षति नभएपनि केही पशुचौपाया भने नदीले बगाएर लगेको उनको भनाइ छ।

बजार डुबानमा परेपछि अहिले त्यहाँको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण विश्व विराट शालिग्राम शीला डुबानमा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाका सबै ढोका खोलेर विद्युत उत्पादन बन्द गरिएको छ । नदीमा आएको बाढीले आज बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मीलाई जोड्ने मोटरेबल पुलसमेत बगाएको थियो।

कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पुल बगायो

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पुल बगाएको छ । बाढीको बहाव उच्च भएपछि कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पुल बाढीले बगाएको हो ।

बाढी बढेपछि १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलेर विद्युत् उत्पादन पूर्णरूपमा बन्द गरिएको जनाइएको छ ।

तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति

भैरहवा । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मजुवा क्षेत्रमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुगेको छ ।

गए राति तिनाउ नदीको जलसतह सतर्कता तह पार गरेपछि आएको बाढीले स्थानीय दुर्गा बानियाँसहित उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो । बाढीसँगै भएको नदी कटानका कारण नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा समेत आंशिक क्षति पुगेको छ ।

बाढीबाट घरमा क्षति भएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारेर आवश्यक राहत तथा अस्थायी आश्रयको व्यवस्था गरिएको छ ।

तिनाउ नदीको जलसतह बढ्दै गएपछि स्थानीय प्रशासन तथा जल तथा मौसम विज्ञान विभागले नदी किनार, तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । सोहीअनुसार जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जनप्रतिनिधिले बताएका छन् ।

 

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र टाकुर्चे तथा गोदावरी नगरपालिका–६ बिखेन्धारामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला खोटाङ अन्र्तगत मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्न रुपमा अवरुद्ध भएको छ । याङवरक गाउपालीका २ दोभाने खोला स्थित मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्न रुपमा अवरुद्ध भएको छ ।अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–८ पकुचामा समेत पहिरोका कारण अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ ।

यस्तौ, धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको कृष्णभीर, टिङराङखानी तथा जोगिमारा–मझिमटार मोडमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ ।
सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरू बाढी र पहिरोको उच्च जोखिमका कारण बन्द गरिएको छ । ८ गते साँझ ६ बजेदेखि आगामी १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरिएकाले बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सवारी साधन र पैदल यात्री बाहेक अन्य सम्पूर्ण सवारी साधन र मानिसहरूको रात्रिकालीन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ ।

भोजपुर जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्ग लगायत सम्पूर्ण भित्री सडकहरू सम्भावित क्षति रोकथामका लागि बन्द गरिएको छ । ८ गते दिउँसो १६ः४० बजेदेखि अर्को सूचना जारी नभएसम्म बेलुका १९ बजेदेखि बिहान ५ बजेसम्मका लागि अत्यावश्यक सवारी साधन (एम्बुलेन्स, दमकल, खाद्यन्न बोकेका) को हकमा नजिकको प्रहरी इकाईसँग समन्वय गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको छ ।

इलाम जिल्लाका सम्पूर्ण सडकहरू सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ । मेची राजमार्ग, मेची कोरिडोर लगायतका सडकहरूमा ८ गते बेलुका १७ बजेदेखि ११ गतेसम्म बेलुका १९ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

खोटाङ जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ । ८ गते देखि ९ गते सम्म बेलुका १९ बजे देखि बिहान ५ बजे सम्म मध्य पहाडी लोकमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ। यसैगरी, हलेसी तुवाचुङ नपा १ कटुवा स्थित मध्य पहाडी सडक खण्डमा १० गते बिहान ०९ः१५ बजे पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उदयपुर जिल्लाको कटारी—घुर्मी (सिद्धिचरण लोकमाग)सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ । ८ गते देखि १२ गते सम्म बेलुका १७ बजे देखि बिहान ५ बजे सम्म सो सडक खण्डमा सवारी आवागमनमा रोक लगाइएको छ ।

पाँचथर जिल्लाको तुम्वेवा गा.पा. २ नावाखोलामा बाढी आएका कारण तमोर—कोरिडोर सडक खण्ड ८ गते बिहान ८ः५ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी, याङवरक गा.पा. २ दोभान खोला स्थित मध्य पहाडी लोकमार्गमा ९ गते बिहान ०८ः३० बजे पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।