`

नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्दै

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत उनले नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध हुने बताए ।

एकपटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय (Subscribe) गरिरहनुपर्ने आवश्यकता नरहने उनले बताए ।

नेपाल टेलिकमले नयाँ सदस्यता–आधारित प्याकेज तथा यसको शुल्क, सुविधा र अन्य प्रावधानबारे विस्तृत विवरण आज सार्वजनिक गर्ने उनले बताए ।

२४ घण्टामा ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो ।

 फिफा विश्वकप : क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार बिहान भएका खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको हो ।

क्रोएसियाको जितका लागि पेटार सुचिच र निकोला भ्लासिचले उत्कृष्ट गोल गरेका थिए । घानाका तर्फबाट डेरिक लुकासेनले एक गोल फर्काएर थिए ।क्रोएसियाका लागि पेटार सुचिचले ३१औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको ७३औँ मिनेटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए । त्यसपछि ८३औँ मिनेटमा निकोला भ्लासिचले लुका मोड्रिचको पासलाई हेडमार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्त्वपूर्ण जित दिलाए ।

यस्तै, समूहको अर्को खेलमा इङ्गल्याण्डले पानामालाई २–० गोल अन्तरले पराजित गरेको छ ।इङ्गल्यान्डको जितमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ह्यारी केनले ६७ औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे ।

 

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि

कर्णाली। ‘कर्णाली क्रिकेट कप २०८३’ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ ।कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा खेल सञ्चालन हुने बताउँदै कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रदेश सचिव केसीका अनुसार प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिमको सहभागिता रहनेछ ।प्रतियोगिताको विजेता टोलीले रु एक लाख एक हजार र उपविजेताले रु ५१ हजार पुरस्कार पाउने छन् । उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख सहयोग गरेको छ ।

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

पर्वत। पर्वतको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा (मार्बल) स्लेटका रूपमा प्रयोग गरिने स्लेट (ढुङ्गा) खानी सञ्चालन गर्ने भएको छ ।

मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित माटेको लेकमा रहेको धवलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १८ वर्षदेखि बन्द अवस्थामा रहेको हो । तत्कालीन क्याङ, देउराली र भुकताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेटखानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो ।

मोदी गाउँपालिकाको गत मङ्गलबार सम्पन्न १९औँ गाउँ अधिवेशनबाट स्लेटखानी सञ्चालन गर्ने योजना पारित भएको हो । गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा माटे लेकमा अवस्थित स्लेट अर्थात् ढुङ्गाखानी सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा सङ्घीय र प्रादेशिक निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाउने उल्लेख छ । गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको नौ वर्षमा पहिलोपटक स्लेटखानी सञ्चालनको कार्यक्रम अघि सारिएको हो ।

गाउँपालिकाको राजस्व वृद्धि गरी रोजगारी सृजना गर्न खानी सञ्चालनको कार्यक्रम अघि सारिएको अध्यक्ष शर्माले बताए। उ ले सम्भाव्यता अध्ययनका साथै आवश्यक पहुँचमार्ग निर्माणलगायत योजनाका लागि बजेटसमेत विनियोजन गरिएको छ ।

चालु खर्चबाट व्यवस्थापन गर्नेगरी बजेट व्यवस्था गरिएको उनले बताए । यहाँबाट वार्षिक करोडौँ आम्दानी हुने अनुमान छ ।

मोदी गाउँपालिकाको तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सानी व्यहोर्नुका साथै स्थानीय सरकारको पनि लाखौँ राजस्व गुमेको छ । देउराली, क्याङ र भुकताङले गाविसका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको हो ।

सबैले खानीका बारेमा आआफ्नै हिसाबले दावा गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका पूर्वअध्यक्ष नरसिंह पुनले बताए । उनले विवादले चर्को रूप लिएपछि खानी बन्द गर्नुको विकल्प नभएको बताए । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो ।

खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहँुंदा प्रयोगविहीन बनेका छन् । खानी सञ्चालनका समयमा दैनिक सयाँै मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाएका थिए । यहाँ निकालिएका ढुङ्गा साविक धवलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दीका विभिन्न स्थानमा जाने गर्दथे । “खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी परिवार पाल्दै आएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी नै बन्द भएको छ भने स्थानीय युवाहरू पलायन हुन बाध्य भएका छन् । खानी सञ्चालनबारे पालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएपछि स्थानीयवासी हर्षित बनेका छन् । विकले अब खानी सञ्चालन हुने आशा जागेको बताए ।

विकले खानीमा १० वर्षसम्म काम गरे पनि बेरोजगार हुनुपरेको गुनासो । यसैको आम्दानीले विकले चार जनाको परिवार पाल्दै आउनुभएको थियो । यहाँका ढुङ्गा घर, गोठ, मतान छाउन प्रयोग हँुंदै आएका छन् । जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ भएकाले मानिसहरू अहिले पनि ढुङ्गाले छाउन मन पराउने गर्दछन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५२ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ र बिक्रीदर २३ रुपैयाँ १० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ। कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको जानकारी गराउँदै आगामी हप्ता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिए।

उनका अनुसार मङ्गलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ । उनका अनुसार आज राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि आइतबार राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा तगा कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ । सोही दिन सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ ।

सोमबारदेखि भने वर्षा थप बढ्नेछ । सोमबार देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ ।

कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि आउने विभागले जनाएको छ । सोमबार रातिदेखि भने थप सक्रिय भई कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

एकजना मौसमविद् धर्मराज उप्रेतीका अनुसार असार १४ देखि १७ गतेसम्ममा मनसुन थप सक्रिय भई असार १६ देखि १८ गतेसम्ममा भारी वर्षा गराई रोपाइँको वातावरण बनाउने जनाइएको छ । सोमबारपछि भने पश्चिम नेपाल बाँकेदेखि कञ्चनपुरसम्मै वर्ष गराउने उनले जानकारी गराए ।

भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएलाको तटीय सहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति शाली दुईवटा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट घटनाको ३२ घण्टापछि एउटा नवजात शिशुलाई सकुशल उद्धार गरिएको छ ।

सामाजिक सञ्जालमा शुक्रबार साझा गरिएको भिडियोमा उद्धारकर्ताहरूले भत्किएको भवनमाथि ‘फ्लडलाइट’ को उज्यालोमा काम गर्दै शिशुलाई बाहिर निकालेको देखिन्छ । राजधानी काराकासको उत्तरमा रहेको सबैभन्दा बढी प्रभावित शहर ला ग्वाइरामा शुक्रबार राति उद्धारकर्मी शिशुको उद्धार गर्न सफल भएपछि उपस्थित मानिसहरूले खुशी व्यक्त गरेका थिए ।

भिडियोमा उद्धारकर्ताहरूले कम्बलले बेरेर शिशुलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सतर्कतापूर्वक हस्तान्तरण गरेका देखिन्छ । शिशुलाई निकालेपछि हल्का र नरम कागजले धुलैधुलो भएको बच्चालाई पुछेर सफा गरेको देखिन्छ।

भिडियो सार्वजनिक गर्ने युजर एन्ड्रेइना किन्टेरोका अनुसार शिशु मात्र १८ दिनको थियो र ३२ घण्टासम्म भग्नावशेषमा फसे पनि उसलाई कुनै चोट लागेको छैन। शिशुको आमालाई बच्चा उद्धार भएको एक घण्टापछि उद्धार गरिएको थियो ।

शुक्रबारको अर्को फलोअप भिडियोमा किन्टेरोले आमालाई अस्पतालको बेडमा देखाउनुभएको छ भने एक स्वास्थ्यकर्मीले बच्चालाई कुनै चोट नलागेको बताइन् । स्वास्थ्यकर्मीले आमाले आफ्नो शरीर वा अर्को कुनै वस्तुले बच्चालाई ढाकेर जोगाएको अनुमान गरेका छन् ।

बुधबार आएको ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पबाट कम्तीमा ९५० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् वा बेपत्ता छन् ।

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

गोरखा । कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ ।

सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । सो पालिकाले यो वर्षलाई मनास्लु हिमालको सफल आरोहणको ७०औँ वर्ष पूरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ ।

सोही अवसरमा गाउँपालिकाको गाउँसभाले फुञ्जोको नाम पर्यटन सद्भावना दूतका रूपमा सर्वसम्मत अनुमोदन गरेको लामाले बताए । “हाम्रो राष्ट्रको गहनाका रूपमा रहेकी फुञ्जोलाई पर्यटन सद्भावना दूत नियुक्त गरेका छौँ”, उनले भने ।

लामाका अनुसार विश्वभर ख्याति कमाएकी फुञ्जोले सद्भावना दूतका रूपमा मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछिन् । आफ्नो जन्मभूमिले दिएको यो सम्मानप्रति कृतज्ञता प्रकट गर्दै फुञ्जोले भनिन्, “यो मेरा लागि ठुलो सम्मान हो र यस क्षेत्रलाई विश्वभर प्रवर्द्धन गर्न म कुनै कसर बाँकी राख्ने छैन ।”

विश्वको आठौँ अग्लो शिखर मनास्लुका अतिरिक्त चुमनुब्रीको आफ्नै अद्वितीय परम्परा छ । अहिंसा क्षेत्र घोषणा भएको १०५ वर्ष पूरा गरेको चुमनुब्रीले अहिंसा क्षेत्रमा जैविक विविधताको पहिचान, निरन्तरता, प्रचारप्रसार र संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले ‘श्याग्या परम्परा संरक्षण ऐन, २०८०’ (२०२३) समेत जारी गरेको थियो ।

स्वीस आल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिमप्राप्त गरेकी फुञ्जोले १४ घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर आरोहण गर्दै सबैभन्दा छिटो आरोहण गर्ने महिलाका रूपमा विश्व कीर्तिमान कायम गरेकी थिइन् । सन् २०२४ मा उनले बेसक्याम्प (आधार शिविर) बाट १४ घण्टा ३१ मिनेटमा सगरमाथाको शिखर चुमेकी थिइन् ।

चुमनुब्री–७ छोकाङपागाउँमा जन्मेकी फुञ्जोले सगरमाथा, ल्होत्से, मनास्लु, चो ओयुका साथै आमादबलाम, लोबुचे र डेनालीलगायतका अन्य हिमालहरूको सफल आरोहण गरिसकेकी छन् । उनले ग्रामीण तथा सीमान्तकृत समुदायहरूलाई जीविकोपार्जन, शिक्षा र दिगो विकासका क्षेत्रमा समेत सहयोग पुर्‍याउँदै आएकी छिन् ।

शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन

मुग्लिन । शक्तिखोर–फिस्लिङ सडक खण्डअन्तर्गत कालिका नगरपालिका–९ को कोलारडाँडामा आज (शनिबार) ढुङ्गासहित खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।

सडकमा खसेका ठुला ढुङ्गा र पहिरो हटाई दुईतर्फी सडक सञ्चालन गरिएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए । पहिरोको जोखिम रहेकाले शक्तिखोर हुँदै उपरदाङगढी, मायाटारलगायतका क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाएर मात्रै यात्रा गर्न उनले अनुरोध गरे ।

नगरप्रमुख रेग्मीले बर्खायाममा उक्त सडक खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्दै भने, “बर्खाको समय भएकाले यो क्षेत्रमा यात्रा गर्ने सबै यात्रुले संयमित र सुरक्षित ढङ्गले यात्रा गर्नुहोला ।”

पहिरोका कारण चितवनको इच्छाकामनाका पर्यटकीयस्थल पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपरदाङगढी, मायाटार, घुर्केसलगायतका क्षेत्रमा आवतजावत गर्ने पर्यटक बाटोमा अलपत्र परेका थिए । गर्मी मौसम सुरु भएसँगै यस क्षेत्रमा पर्यटकको आवागमन बढ्ने गर्छ । बर्खा लागेसँगै सडकमा पहिरो खस्ने भएकाले शक्तिखोर–फिस्लिङ सडकको यात्रा जोखिमपूर्ण रहेको छ ।

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को जेठको कार्यसम्पादन मूल्याङ्कन (रिपोर्ट कार्ड) अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम भएको छ ।

वैशाख महिनामा पनि पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश प्रहरीले जेठमा समेत उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा परिणाममुखी, नागरिकमैत्री तथा प्रविधिमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिइएको, मातहतका प्रहरी कार्यालयको नियमित अनुगमन, समीक्षा र समन्वयलाई प्रभावकारी बनाइएको तथा अपराध नियन्त्रण, लागूऔषधविरुद्धको अभियान, अवैध तस्करी नियन्त्रण, समुदाय–प्रहरी साझेदारी र सेवा प्रवाहमा सुधार गरिएकाले यो उपलब्धि हासिल भएको हो ।

डीआईजी खत्रीले प्रदेशभर शान्तिसुरक्षा सुदृढ बनाउन आफू नियमित रूपमा जिल्ला, इलाका, प्रहरी चौकी तथा सीमा क्षेत्रको निरीक्षणमा जाने, प्रहरी कर्मचारी तथा स्थानीय नागरिकका गुनासा प्रत्यक्ष सुन्ने र समस्याको तत्काल समाधानमा जोड दिँदै आएको बताए । उनले नागरिकको विश्वासलाई केन्द्रमा राखेर व्यावसायिक, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माणलाई प्राथमिकतामा राखिएकाले त्यसको सकारात्मक परिणाम कार्यसम्पादन मूल्याङ्कनमा देखिएको उल्लेख गरे ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्ज्वल खड्काले लुम्बिनी प्रदेश प्रहरीले चैत, वैशाख र जेठ महिनामा निरन्तर उत्कृष्ट कार्यसम्पादन गर्दै देशकै प्रथम स्थान कायम राख्न सफल भएको बताए । उनका अनुसार प्रदेशमा शान्तिसुरक्षा कायम गर्ने, लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, अवैध भन्सार तथा राजस्व चुहावट नियन्त्रण, नागरिकमैत्री सेवा विस्तार र सङ्गठनात्मक सुधारलगायतका सूचकको मूल्याङ्कनका आधारमा नेपाल प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेश प्रहरीलाई पहिलो स्थान प्रदान गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय हेक्कफर सेफ्टी, लुम्बिनी पिस वाक, साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा तथा ‘डिजिटल’ सुरक्षासम्बन्धी समुदायस्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्नाका साथै प्रविधिमा आधारित प्रहरी सेवाको विस्तारलाई पनि प्राथमिकता दिएको जनाएको छ ।

कार्यालयले आगामी दिनमा पनि शान्तिसुरक्षा, सुशासन, अपराध नियन्त्रण तथा नागरिकको विश्वास अभिवृद्धि गर्दै आधुनिक, व्यावसायिक र उत्तरदायी प्रहरी सेवाको विकासमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।

पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२२ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ । जात्राको परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ ।

जात्रा सुरु गरिएकै दिन आजै राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडू पूजा (होम गर्ने) पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अनुसार जात्रा मनाउने क्रममा चतुर्दशीका दिन (दोस्रो दिन) पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगर परिक्रमा गराइनाका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिँदैछ ।

यस्तै, जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौनिकता प्रदर्शन गराई (यौन क्रियाकलाप झल्किने क्रिया) रथलाई एकापसमा जुधाउने काम हुन्छ ।

जात्राको किंवदन्तीअनुुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रूपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रूपधारण गरी भद्रकालीलाई भगाउँछन् ।

सोही क्रममा भाग्ने र पिछा गर्ने कार्यका रूपमा अबिरजात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । धार्मिक आधारमा रथ जुधाउने परम्परालाई यौनिकता प्रस्तुतिका रूपमा लिइने गरिन्छ ।

रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्ने गरेको पाइन्छ । इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो ।

विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही वर्षदेखि देवतारूपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ ।

त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रहिआएको छ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको स्थानीय बताउँछन् ।

जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता छ । जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता पनि छ । स्थानीयले जात्रा अवधिभर प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम राखी आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गर्छन् ।

तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिएकाले पनौती नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोेलीसहित धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ निवासी २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखियालाई पक्राउ गरेको हो ।

होटलमा आज दिउँसो खाना खान आएका दुई जना युवकसँग हतियार रहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हतियारसहित दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

पक्राउ परेका दुवै जनाका साथबाट एक थान पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद भएको प्रहरी निरीक्षक यादवले बताए । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २४ घण्टामा २५ वटा विपद्का घटना भएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बारामा खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ । उनले २५ वटा घटनामा झण्डै आधा १२ वटा घटना सर्पदंशका रहेको जानकारी दिए । उनका अनुसार सङ्खुवासभा, बारा, नवलपरासीपूर्व, कविपलवस्तु, कैलाली, कञ्चनपुरमा सर्पदंशका घटना भएको र ती घटनामा परेर १० जना घाइते भएका छन् ।

यस्तै, पहिरोले बझाङमा एक, जनावरको आक्रमणबाट दोलखामा एक, आगलागीबाट कास्कीमा एक जना घाइते भएका पनि उनले बताए । ती विपद्जन्य घटनाबाट कुल दुई लाख ७७ हजारको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । ती घटनामा परेर २२ वटा पशु चौपाया क्षति भएको जनाइएको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ््तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख लिई सम्पर्कविहीन भएको पाइएको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

यसैबिच बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी इलाम देऊमाई नगरपालिका–२ का कृष्णकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ–१४ बल्खुबाट पक्राउ गरेको हो । उहाँलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।

समस्याग्रस्त सहकारी गाभ्न र खारेज गर्न कामपाले ल्यायो नयाँ सर्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एकआपसमा गाभ्नका लागि सर्तहरू अगाडि बढाएको छ । कामपा क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सम्बनधीत संस्थाको विभिन्न सर्तहरू अघि सारेको छ ।

सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्कृय रहेको अवस्था भएमा र साधारण सभाको तत्काल कायम रहेका दुई तिहाई बहुमत सदस्यको निर्णयबाट संस्थाको निर्णय गरी दर्ता खारेजीको स्वीकृतका लागि इच्छुक संस्थाले प्रक्रिया अघि बढाउन सक्ने छ ।

त्यसका लागि कामपाले सम्बन्धित संस्थको लेटर प्याड सहकारीको विघटन दर्ता खारेजीसम्बन्धी निवेदन, वडा कार्यलयबाट व्यवसाय कर तथा वहाल कर चुक्ताको प्रमाणपत्र, साधारणसभाबाट दुई तिहाई सदस्यले सहकारी विघटन/दर्ता खारेजीको निर्णयको प्रमाणित प्रतिलिपी, शेयर सदस्यको विवरण, ऋणीको विवरण, बचतकर्ताको विवरण, हालसम्मको सञ्चालक समितिको तीनपुस्ते विवरण र ऋण लगानी बाहेकका अन्य चल अचल सम्पत्तिको विवरण विभागका प्राप्त भएमा मात्र कानुनी रूपमा प्रक्रिया अघि बढाइने प्रमुख काफ्लेले जानकारी दिए ।

पछिल्लो समय कामपा सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन पनि परेको बताइएको छ । विभागका अनुसार आगामी एक महिनाभित्र रु पाँच लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको छ । साथै ठूला बचतकर्ताका हकमा ऋण असुली प्रक्रिया अघि बढाउँदै बचत फिर्ता गर्न समन्वय भइरहेको पनि प्रमुख काफ्लेले जानकारी दिए । सहकारी विभागले उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ ।

सहमति हुन नसकेमा आवश्यक कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ । हाल कामपामा एक हजार ९१२ सहकारी रहेको छ । ५० प्रतिशत सहकारीले मात्रै नियमित रूपमा वार्षिक साधारणसभा गरेको प्रतिवेदन पेस गर्ने गरेका छन् । दर्ता भएका तर नियमित रूपमा साधारणसभा नगर्ने सहकारीलाई कामपाले कानुनी कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित

काठमाडौँ । युरोपका विभिन्न भागमा शनिबार कम्तीमा १९ करोड ३० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

जर्मनीमा मात्र करिब ७ करोड ५० लाख व्यक्ति उच्च तापक्रमका कारण प्रभावित भएका थिए ।

एएफपीले प्राप्त गरेको तथ्याङ्कको विश्लेषण अनुसार उष्ण लहर पूर्वतर्फ सर्दै गरेकाले यो सङ्ख्या शुक्रबारको तुलनामा बढेको अनुमान गरिएको छ ।

टर्की बाहेकका युरोपमा शनिबार ४० करोड ४० लाखभन्दा बढी मानिसले ३० डिग्री सेल्सियसभन्दा माथिको अधिकतम तापक्रमको सामना गर्नेछन्, जुन शुक्रबारको तुलनामा केही कम हो ।

जर्मन मौसम विज्ञान सेवाको पूर्वानुमान र संयुक्त अनुसन्धान केन्द्रको सन् २०२५ जनसङ्ख्या प्रक्षेपणमा आधारित एएफपीको यो विश्लेषण अस्ट्रियन एनजीओ ‘क्लिमाड्यासबोर्ड’ को तथ्याङ्कसँग मिल्दोजुल्दो छ।

पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे

काठमाडौँ । नेपालमा विगत पाँच वर्षको अवधिमा क्यान्सरका बिरामीको संख्या करिब दोब्बरले बढेको छ। सरकारबाट उपचार खर्चबापत सहुलियत लिने क्यान्सरका बिरामीको संख्या निकै बढेको स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ।

महाशाखाकी निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २८ हजार ६७८ पुगेको छ। जनचेतनाको कमीले क्यान्सर रोग लाग्ने गरेको पाइएकाले यसबाट बच्न सरकार र नागरिक समाज सबै मिलेर जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ३१, आर्थिक वर्ष २०७९/८० मा १६ हजार ६९६ र आर्थिक वर्ष २०८०/८१ मा २२ हजार १५३ जना क्यान्सरका बिरामीले उपचार खर्च लिएका छन्। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितका लागि १ लाख रुपैयाँसम्मको उपचार व्यवस्था गर्दै आएको छ भने प्रदेश सरकारहरूले पनि थप १ लाख रुपैयाँसम्मको सहायता प्रदान गर्दै आएका छन्।

शरीरको कोष तथा कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धिलाई क्यान्सर रोग भनिन्छ, जसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिने गरिन्छ। नेपालमा विशेष गरी फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर प्रमुख रूपमा देखिएका छन्। पुरुषहरूमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलाहरूमा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर बढी पाइएको महाशाखाले जनाएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले अत्यधिक मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, खानपिन, आधुनिक जीवनशैली, आरामको कमी, विकिरणको प्रभाव, जीवाणु र वंशाणुगत कारणले क्यान्सर निम्त्याउने स्पष्ट पारेका छन्। ‘हामी भात, दाल, तरकारी र अचार जस्ता परम्परागत खाना छाडेर बढीजसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मद्यपान र पोलेका खानेकुरा खान्छौँ। व्यायाम नगर्दा र सडेगलेका तथा बासी खानेकुरा खाँदा क्यान्सरको जोखिम धेरै हुन्छ,’ उनले भने, ‘मोटोपन क्यान्सर हुने जोखिमको दोस्रो ठूलो कारक हो।’
डा. शाहीका अनुसार खानपिन, आराम, नियमित व्यायाम, धुम्रपान र मद्यपानको नियन्त्रणका साथै मोटोपनलाई रोक्न सके क्यान्सरको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। नेपालमा सबैभन्दा बढी फोक्सो र त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको समस्या छ।

सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरूका लागि ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। सरकारी तहबाटै क्यान्सरको विशिष्टीकृत उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल, चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा रहेका छन्।

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन् ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।

काम नगर्ने १६ निर्माण कम्पनीको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु

जुम्ला । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरेर पनि वर्षौँदेखि काम अलपत्र पारेका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ। कार्यालयले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित ती आयोजनाहरूले समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिनेसम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म सम्झौता भएका कालिकोटका १२, जुम्लाका तीन र मुगु जिल्लाको एक गरी १६ वटा रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएको हो। ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि कार्यालयले यो कदम चालेको सिंहको भनाइ छ।

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा काम सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीले कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गर्ने प्रक्रिया थालिएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतराले बताए।

कानुनअनुसार ठेक्का सम्झौता अन्त्य गरी सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत तथा धरौटी बापतको रकम जफत गर्ने र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्ने तयारी कार्यालयले गरेको छ। यसका साथै ती आयोजनाको बाँकी काम गर्न लाग्ने खर्च समेत सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने प्रमुख महतराले स्पष्ट पारेका छन्। यसअघि पनि कर्णाली राजमार्गमा काम अलपत्र पारिएका सडकका १० वटा रुग्ण आयोजनाको ठेक्का तोडिसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

सल्यानका स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क औषधिको अभाव

सुर्खेत। सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ ।यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो। औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका बिरामीले बताएका छन् ।

प्रदेश सरकारले अहिलेसम्म निःशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यानसहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घरोगीले प्रयोग गर्ने औषधिको अभाव भएको छ ।कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग मात्र नभई परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव भएको बताउनुभयो ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले निःशुल्क पाउने औषधि स्वास्थ्य संस्थामा नपाउँदा आर्थिक अवस्था कमजोर भएका नियमित सेवनबाट वञ्चित भएको बताउनुभयो ।यो वर्षमा मात्र नभई प्रत्येक वर्ष औषधि ढिला पठाउँदा कहिले के त कहिले के औषधि अभाव भइरहने गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा अर्जुन बुढामगरले प्रदेश सरकारले अस्पतालबाट निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधि पठाउनेमा यसपालि अहिलेसम्म नपठाएकाले उच्च रक्तचाप, मधुमेह, मानसिक रोगलगायत औषधिको अभाव भएको बताउनुभयो ।अस्पतालमा उपचार गर्न आएका बिरामीलाई मेडिकल तथा अस्पतालको फार्मेसीबाट किन्न लगाउनुपरेको उहाँले बताउनुभयो ।

धुलिखेल–खावा सडक खण्ड १५ दिन राति बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ ।जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी साधन आवागमन बन्द गरिने जनाएको हो ।

उक्त सडक खण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

उनका अनुसार आर्थिक वर्षको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले सडक निर्माण प्रक्रियालाई केही ढिलाइ गर्न लगाइएको हो । समितिले सडक निर्माणलाई सहजीकरण गर्न यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्ने समेत जनाएको छ ।

तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारी साधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । सवारी साधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ ।गत चैतमा करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर दुई दशमलव पाँच किमी सडक कालोपत्र (डिबिएम-पीच) को काम गरिएको थियो ।

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार शुक्रबारसम्म रु ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब ८० अर्ब बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । बाँकी दिनमा रु तीन खर्ब ६७ अर्ब ५१ करोड राजश्व सङ्कलन गर्नुपर्नेछ । त्यसका लागि दैनिक करिब रु १९ अर्ब ३४ करोड बराबर सङ्कलन गर्नुपर्ने हुन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, कर राजस्व सङ्कलनतर्फ लक्ष्यको ७६ दशमलव २० प्रतिशत प्रगति भएको छ । कर राजस्वतर्फ रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु १० खर्ब १० अर्ब १६ करोड तीन लाख सङ्कलन भएको छ ।

त्यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्मरु एक खर्ब दुई अर्ब ३२ करोड ४३ लाख प्राप्त भएको छ । यस्तै, अनुदानतर्फ रु ५३ अर्ब ४४ करोड ६९ लाख प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म रु २४ अर्ब ११ करोड १२ लाख मात्रै प्राप्त भएको छ । जुन लक्ष्यको ४५ दशमलव ११ प्रतिशत बराबर हो ।

सो अवधिमा अन्य प्राप्ति शीर्षकमा रु छ अर्ब ५० करोड ५३ लाख सङ्कलन भएको छ । यससँगै सरकारको कुल प्राप्ति रु ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख पुगेको छ । जुन वार्षिक लक्ष्यको ७४ दशमलव ५४ प्रतिशत हो ।

यस्तै, कूल सरकारी खर्चतर्फ रु १४ खर्ब चार अर्ब ९८ करोड ८६ लाख बराबर पुगेको छ । यो कूल लक्ष्यको ७१ दशमलव ५३ प्रतिशत हो । शुक्रबार मात्रै रु पाँच अर्ब ३६ करोड ८२ लाख खर्च भएको छ ।

खर्चको प्रकृतिअनुसार चालु तर्फ ८० दशमलव ४२ प्रतिशत रहेको छ । कूल रु ११ खर्ब ८० अर्ब ९८ करोडको लक्ष्यमध्ये रु नौ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख खर्च भइसकेको छ ।

विकास निर्माणको काममा खर्च हुने पूँजीगततर्फ रु एक खर्ब ४२ अर्ब २३ करोड ६८ लाख पुगेको छ । जुन लक्ष्यको ३४ दशमलव ८७ प्रतिशत हो । चालु आवका लागि रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख पूँजीगत खर्च गर्ने लक्ष्य तय गरिएको थियो ।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फको खर्च ८३ दशमलव ४१ प्रतिशत पुगेको छ । वित्तीय व्यवस्था विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि खर्च गरिन्छ । वित्तीय व्यवस्थातर्फ कूल रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख लक्ष्य मध्ये रु तीन खर्ब १२ अर्ब ९९ करोड २३ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।

उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

काठमाडौैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को अन्तिम खेलमा उरुग्वेमाथि १–० को महत्वपूर्ण जित निकाल्दै स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

शनिबार बिहान मेक्सिकोको ग्वाडालाहारास्थित एस्टाडियोमा सम्पन्न खेलमा स्पेनले पहिलो हाफमा गरेको एकमात्र गोलको आधारमा तीन अंक हात पारेको हो।आजको खेलमा स्पेनका लागि आलेक्स बाएनाले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सोही गोल स्पेनको लागि जित बन्यो।

यस जितसँगै स्पेनले समूह चरणका तीन खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा पुगेको छ । समूह विजेताका रूपमा स्पेन नकआउट चरणमा समेत पुगेको छ।यस्तै, समूह चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको उरुग्वे पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

रास्वपा संगठनभन्दा व्यक्तिमा केन्द्रित रहेको शंकर पोखरेलको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको चुनावी परिणामलाई लिएर टिप्पणी गर्दै रास्वपा अझै संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न बाँकी रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’ को मुद्दा स्मरण गराउँदै महाधिवेशनको नतिजामाथि व्यंग्य गरेका हुन्।

उनले लेखेका छन्, ‘हिजो ‘नो भोट’ को चर्को वकालत गर्ने रास्वपाका साथीहरूले चितवन महाधिवेशनको चुनावी परिणाम हेर्नुभयो? ‘नो भोट’ को व्यवस्था हुन्थ्यो भने पदाधिकारीमा रवि र केन्द्रीय सदस्यमा जम्मा ९ जना मात्र चुनिने रहेछन्।’

पोखरेलले उक्त परिणामले रास्वपा व्यक्तिकेन्द्रित दल भएको दाबी गर्दै रास्वपा भनेकै रवि भन्ने टिप्पणी गरेका छन्।‘यसले प्रमाणित गर्छ— रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा हुन्। रास्वपा संगठनात्मक रूपमा पार्टी बन्न त बाँकी नै रहेछ,’ उनले लेखेका छन् । रास्वपाको प्रथम महाधिवेशनपछि सार्वजनिक भएको निर्वाचन परिणामलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।

रैथाने बाली संरक्षणका लागि सरकारद्वारा करिब ३ करोड रुपैयाँ अनुदान

काठमाडौँ । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध गराएको छ ।कृषि वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि जैविक विविधता संरक्षण केन्द्रले लोप हुने अवस्थामा पुगेका स्थानीय बाली तथा प्रजातिहरूको पहिचान, खेती विस्तार, अनुसन्धान तथा बीउ विकास, स्थानीय हावापानी अनुकूलका बीउ उत्पादन तथा प्रवर्द्धनका लागि स्थानीय तह, कृषि सहकारी र कृषक समूहलाई लक्षित गरी करिब रु तीन करोड सहयोग प्रदान गरेको हो ।

रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले विभिन्न ४० स्थानीय तहमार्फत यस किसिमको आर्थिक सहयोग प्रदान गरिएको केन्द्र प्रमुख केशव देवकोटाले जानकारी दिए। कृषि जैविक विविधताको दिगो व्यवस्थापनमा सहभागी सम्बन्धित किसानलाई अनुदान प्रदान गरिएको बताउँदै उनले कृषि जैविक विविधताको व्यवस्थापनमा माटोका सुक्ष्मजीव र कृषि प्रणालीसँग सम्बन्धित आनुवंशिक स्रोतहरूको दिगो संरक्षणमा जोड दिइएको जानकारी दिए ।

अनुदान प्राप्त गर्न कृषक समूह, कृषि सहकारी वा निजी फार्म सम्बन्धित निकायमा दर्ता भई नवीकरण भएको हुनुपर्ने व्यवस्था छ । केन्द्रले स्थानीय तहसँग समन्वय गरी कृषि जैविक विविधताको दिगो व्यवस्थापन भए/नभएको अनुगमनसमेत गर्ने गरेको छ । कृषकद्वारा परम्परागत ज्ञान तथा सीपको प्रयोगबाट गरिने उत्पादनले जैविक विविधता संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

किसानसँग खाद्य सुरक्षा, पोषण र जलवायु परिवर्तन अनुकूलनमा ध्यान केन्द्रित गर्न आग्रह गरेको केन्द्रले कृषि जैविक विविधताको व्यवस्थापनका लागि प्राङ्गारिक मल र जैविक विधि अपनाउनुपर्ने सर्त राखेको प्रमुख देवकोटाले जानकारी दिए ।कृषकको हकहित र ज्ञानको संरक्षण गरी रैथाने बीउबिजन जोगाउन यस कार्यक्रममा सहयोग प्राप्त गर्न किसानले जैविक खेती प्रणालीमा रासायनिक मलरविषादीको प्रयोग गर्न निषेध गरिएको छ ।

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०८, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ८३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने दुई, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८४ जनालाई कारबाही गरिएको हो ।

शिकागोमा ऐतिहासिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव आयोजना हुने

शिकागो, इलिनोइस। नेपाली समुदायको साझा सपना तथा भावी पुस्ताको पहिचानको केन्द्रका रूपमा निर्माण हुन गइरहेको नेपाली सांस्कृतिक केन्द्र (NCCC) स्थापना अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकाको इलिनोइस राज्यमा आगामी जुलाई ५ देखि ११, २०२६ सम्म “श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा शिकागो आध्यात्मिक महोत्सव २०२६” भव्य रूपमा आयोजना हुने भएको छ।

आध्यात्मिक जागरण, धार्मिक एकता तथा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको यस महोत्सवमा नेपालका सुप्रसिद्ध वाचन प्रवीण पूज्य पण्डित दीनबन्धु पोखरेलज्यू को मुखारविन्दबाट श्रीमद्भागवत महापुराणको दिव्य कथा वाचन हुने आयोजक समितिले जनाएको छ।

सप्ताहव्यापी महोत्सवमा दैनिक कथा प्रवचन, पूजा–आराधना, भजन–कीर्तन, सत्सङ्ग, धार्मिक अनुष्ठान तथा विविध आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। आयोजकका अनुसार कार्यक्रममा अमेरिका लगायत विभिन्न राज्यबाट हजारौँ श्रद्धालु भक्तजन तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

महायज्ञबाट संकलित सम्पूर्ण सहयोग नेपाली समुदायको दीर्घकालीन आवश्यकता तथा साझा सम्पत्तिका रूपमा निर्माण हुन गइरहेको नेपाली सांस्कृतिक केन्द्र (NCCC) को स्थापना अभियानमा समर्पित गरिनेछ। उक्त केन्द्र नेपाली भाषा, कला, संस्कृति, धार्मिक गतिविधि तथा भावी पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने साझा थलोका रूपमा विकास गरिने लक्ष्य रहेको बताइएको छ।

महायज्ञ मूल समारोह समितिका संयोजक बाला घिमिरे, सहसंयोजक खेम पाठक, सचिवालय सचिव तथा सहसंयोजक श्याम पराजुली, तथा सहसंयोजक एवं प्रचार–प्रसार संयोजक शिव अधिकारी लगायत सम्पूर्ण आयोजक परिवारले अमेरिकाभर रहेका नेपाली समुदाय, धर्मप्रेमी महानुभाव, बुद्धिजीवी, समाजसेवी तथा श्रद्धालु भक्तजनहरूलाई सपरिवार उपस्थित भई यस ऐतिहासिक धार्मिक एवं सांस्कृतिक महाअभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरेका छन्।

आयोजक समितिका अनुसार सम्पूर्ण भक्तजनहरूको साथ, सहयोग र सहभागिताबाट यो महायज्ञ नेपाली समुदायको इतिहासमा एक अविस्मरणीय, प्रेरणादायी तथा ऐतिहासिक अध्यायका रूपमा स्थापित हुने विश्वास लिइएको छ।

📍 स्थान:
101 S Church Rd, Bensenville, IL 60106, USA

विशेष आह्वान

“घर–घरबाट उठौँ, नगर–नगरबाट जुटौँ ।
नेपाली संस्कार, संस्कृति र पहिचान जोगाउने यस महाअभियानमा सहभागी बनौँ ।”

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ ।

हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो मुलुकका हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

साथै, महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले त्यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जीप’ दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।

शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए।

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे पराजित

काठमाडौँ। उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ ।

अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो फ्रान्सको लगातार यो तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो ।अठाइस वर्षपछि विश्वकपमा फर्कको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

खेलमा डेम्बेलेले खेलको पहिलो हाफको ३२आँै मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २०औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

खेलको २१आँै मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर खेलको ३२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए ।

खेलको ५०औँ मिनेटमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न चुके सकेनन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोएले गोल गरेपछी फ्रान्सले नर्बेमाथी ४–१ को जित निकाल्यो ।

आजै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरको पराजित गर्दै जित हासिल गरेको छ ।

यससङै समूह आइमा अमेरिकाले नौ अङ्क बटुलेको छ भने नर्बेको ६ अङ्क छ । तेस्तै सेनेगलले तीन अङ्क जोड्दा इराक भने अङ्कबिहीन रहँदै विश्वकपबाट बाहिरियो ।

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पु¥याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ ।

उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत ३२ वटा कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।उद्योगमन्त्री गौरिकुमारीले कार्ययोजनाअन्तर्गत तोकिएका कार्य समयअगावै सम्पन्न गरी विस्तृत प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाउनुभएको हो ।

कार्ययोजनाले निर्दिष्ट गरेका नीतिगत सुधार, औद्योगिक वातावरण सुधार, प्रभावकारी सेवा प्रवाह, लगानीमैत्री वातावरण सृजना, उद्योग प्रशासनलाई चुस्त बनाउने तथा मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको उद्योग मन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारप्रति जनविश्वास बढाउने, सुशासनलाई संस्थागत गर्ने तथा परिणाममुखी कार्यशैली स्थापित गर्ने उद्देश्यका साथ मन्त्रालयले आफ्ना कामलाई तीव्र बनाएको उद्योग मन्त्रीको भनाइ छ ।

कार्ययोजनामा घोषणा गरिएका कार्यक्रम समयमै सम्पन्न गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिन प्रधानमन्त्री शाहले निरन्तर निर्देशन दिँदै आउनुभएको छ ।

सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस तथा सञ्चार क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको ‘कोशी मिडिया सम्मेलन’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण तथा सुशासन प्रवर्द्धनका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रको मूल मर्म नै फरक विचार, विरोध र आलोचनालाई सम्मान गर्नु रहेको उल्लेख गर्दै विरोध तथा आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।

सत्य र तथ्यमा आधारित, जिम्मेवार तथा मर्यादित पत्रकारिताले लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभयो । आगामी साउन १ गतेदेखि कोशी प्रदेश सरकारले सबै सञ्चार माध्यमलाई समान रूपमा विज्ञापन प्राप्त गर्ने हक र अवसर सुनिश्चित गर्ने नीति कार्यान्वयनमा ल्याउने उहाँले जानकारी दिनुभयो । प्रेस क्षेत्रलाई बेवास्ता गरेर अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पूर्ण प्रत्याभूति सम्भव नहुने उहाँको भनाइ थियो ।

लोकतन्त्र नेपाली समाजको संस्कृतिका रूपमा स्थापित भइसकेकाले यसलाई कसैले पनि समाप्त गर्न नसक्ने मुख्यमन्त्री कार्कीले जिकिर गर्नुभयो । जनताको सङ्घर्ष, भावनाद्धारा स्थापित लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन सञ्चार जगतले पनि आफ्नो मर्यादा, निष्पक्षता र व्यावसायिक आचारसंहितालाई आत्मसात् गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी साउन महिनादेखि आवश्यक बजेट र कार्यविधिसहित सञ्चार प्रतिष्ठान गठन गर्ने तयारी पूरा गरेको जानकारी दिँदै यसबाट पत्रकार तथा सञ्चार क्षेत्रको संस्थागत विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनका अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, डा महेन्द्र विष्ट र शिव गाउँलेलाई पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर स्वरूप सम्मान गरिएको थियो ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले ‘पत्रकार आचारसंहिता र मर्यादित पत्रकारिता’ तथा महासङ्घ कोशी प्रदेशका पूर्वअध्यक्ष मोहन काजीले ‘कोशी प्रदेशका पत्रकारको अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम ऐतिहासिक महाधिवेशनसँगै आफ्नो पार्टीले देशकै एक प्रमुख र परिपक्व राजनीतिक शक्तिका रूपमा उदीयमान वैधानिकता प्राप्त गरेको बताउनुभएको छ ।

चितवन उद्योग सङ्घको प्रदर्शनी हलको बन्दसत्रस्थलमा आज साँझ रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट उहाँले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अब राष्ट्र निर्माणको महाअभियानमा पार्टी जिम्मेवार र प्रतिबद्ध भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले महाधिवेशनले नयाँ राजनीतिक दललाई दलका रूपमा वास्तविक वैधानिक र राजनीतिक पहिचान प्रदान गर्ने उल्लेख गर्नुभयो । देशका विभिन्न क्षेत्रबाट अनेकन कठिनाइ र मौसमको प्रतिकूलताका बाबजुद महाधिवेशनमा उत्साहजनक सहभागिता जनाउने प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई उहाँले विशेष धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

पहिलो अनुभव भएकाले व्यवस्थापन र आयोजनामा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरीहरू भएको स्वीकार गर्दै सभापति लामिछानेले भन्नुभयो, “यो हाम्रो पहिलो महाधिवेशन हो । पहिलो अनुभव भएका कारण व्यवस्थापनमा केही स–साना कमजोरीहरू भएका हुन सक्छन्, त्यसलाई हामी स्वीकार गर्छौँ । आगामी दिनमा यी कमजोरीहरूबाट पाठ सिक्दै अझ सचेततापूर्वक र परिपक्व ढङ्गले सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चुनावी प्रतिस्पर्धाका विषयमा चर्चा गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा पदका आकाङ्क्षाहरू हुनु स्वाभाविक भएको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो, “पार्टीभित्रका आन्तरिक निर्वाचन र पदका आकाङ्क्षाहरूलाई हामीले विशुद्ध लोकतान्त्रिक अभ्यासको रूपमा लिएका छौँ । यो हलभित्र प्रतिस्पर्धा जे–जस्तो भए पनि, यस हलबाट बाहिर निस्किएपछि हामी सबै मनमुटाव त्यागेर एकजुट भई देश निर्माणको एउटै लक्ष्यमा अगाडि बढ्नुपर्छ ।”

सभापति लामिछानेले देशको भविष्य र वर्तमान व्यवस्था परिवर्तनका लागि पार्टीका हरेक नेता, सांसद र कार्यकर्ता अत्यन्तै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । जनताले राखेको ठुलो आशा र विश्वासलाई मर्न नदिने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामीमाथि जनताको ठुलो भरोसा छ । जनताको यो विश्वासलाई कायम राख्दै देश र जनताको हितमा निरन्तर लागिरहनु हाम्रो प्रमुख उत्तरदायित्व हो ।”

नयाँ र पुराना साथीहरूको सम्बन्धलाई प्रस्ट्याउँदै उहाँले निर्वाचनका क्रममा रास्वपा परिवारमा देखिएको प्रेम दुई नदी जस्तै भएको टिप्पणी गर्नुभयो । पुराना र भर्खरै आएका साथीहरू दुवैलाई मिलाएर लैजानुपर्ने चेतना नै बलियो रास्वपाको संकेत भएको उहाँको भनाइ थियो ।

चुनावमा प्यानल र लिस्ट बनाइएका हल्लाहरूका बीच पनि आम पार्टी सदस्य र मतदाताहरूले आफ्नो विवेक प्रयोग गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रा आम पार्टी सदस्य र मतदाताहरूले विवेक प्रयोग गरे । उनीहरूका लागि कुनै प्यानल वा ग्रुप होइन, बनाउनेहरूले बनाए होलान्, त्यो पछि अध्ययनको विषय बन्ला । त्यसमा हामी समीक्षा गरौँला, हेरौँला, अध्ययन गरौँला ।”

भर्खरै पार्टी प्रवेश गरेका साथीहरूलाई पनि उच्च मत दिएर पठाउनुले रास्वपामा सबैलाई स्वागत छ भन्ने सन्देश दिएको उहाँले बताउनुभयो । आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न हुन सक्ने गुटबन्दी र मनमुटावलाई हलभित्रै अन्त्य गर्नुपर्नेमा जोड दिँदै सभापति लामिछानेले भन्नुभयो, “नयाँ र पुरानोको द्वन्द्व पनि आज अन्त्य भएको छ । यो गुट र त्यो गुटको कुरा पनि अन्त्य भएको छ । अंशहरू केही बाँकी रहेका छन् भने, यसलाई यहीँ दफन गरेर जाऔँ । कहीँकतै वैमनस्यता बाँकी रहेको छ भने, यसले यहीँ अन्त्य पायो । यसको अन्त्येष्टि यहीँ, यही हलबाट गरेर हामी अगाडि बढ्नुपर्ने हुन्छ ।”

सम्बोधनका क्रममा सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम भने पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जानकारी दिनुभयो ।

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका–३ स्थित टिकुलिया–बेल्ही सडकखण्डमा बाँसको (टहरा) मचानमा बसेको अवस्थामा शङ्कास्पद उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

उनका अनुसार शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘आठ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको जानकारी दिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

रवि लामिछानेले भने – महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गर्यो

काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले पार्टीमाथि लगाइएका राजनीतिक आरोप अब टिक्न नसक्ने बताएका छन् । चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथग्रहणपछि सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विचारविहीन, सिद्धान्तविहीन र अपरिपक्व राजनीतिक शक्तिको आरोपलाई खारेज गरेको बताए ।लामिछानेले निर्वाचनमा कसैको हार नभई सम्पूर्ण पार्टीको जित भएको बताए।

उनले भने, ‘जित–हार क्षणिक कुरा हो। यहाँ कसैले हारेको छैन। जस–जसले जित्यो, घण्टी बजाले नै जित्यो, नील योद्धाले नै जित्यो। त्यसकारण सिंगो राष्ट्रको हितबाहेक कसैले पनि हारेको छैन।’

उनले निर्वाचनको प्रतिस्पर्धापछि देखिएका असहजतालाई बिर्सेर पार्टीलाई अझ सशक्त बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा आर्थिक मामिला, स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लोकसेवा आयोग, प्रदेशसभा सचिवालयलगायत विभिन्न प्रतिष्ठान एवं निकायसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल भएको छ ।

छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले बजेट निमार्णमा भएका कमीकमजोरी सच्याउँदै बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनीहरूले बजेट विनियोजनका सबल र सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा राखेका थिए ।

प्रदेशसभा सदस्य कुसुम बुढा पुन, चम्पादेवी खड्का, फणिन्द्र देवकोटा, रोशनबहादुर गाहा थापा, प्रकाश बराललगायतले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो । बैठकको विशेष समयमा विपक्षी दलका नेता हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पंचराम गुरुङले बजेटसहित समसामयिक विषयवस्तुमा आफ्ना भनाइ राखेका थिए ।

नेता चुमानले सङ्घीय संरचनालाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । नेता गुरुङले बजेट निर्माणमा मन्त्रीहरूबाट समन्वय नभएको बताए। टुक्रे र वितरणमुखी बजेटले अपेक्षित उपलब्धि हासिल नहुने उनको भनाइ छ ।

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल मङ्गलबारदेखि सुरु भएको थियो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य चम्पादेवी खड्का, फणिन्द्र देवकोटा र श्यामराजा महतले समसामयिक विषयमा धारणा राखेका थिए ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले गत शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सामान्य छलफल सकिएपछि मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो । विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ ।

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

मस्को। युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान गरेको मस्कोले जनाएको छ । यो चार वर्ष लामो युद्धमा भएको पछिल्लो युद्धबन्दी आदान–प्रदान हो ।

रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भनेको छ, “युक्रेनबाट १६० जना रूसी सैनिकहरू फिर्ता भएका छन् र बदलामा १६० जना युक्रेनी युद्धबन्दीहरूलाई फिर्ता पठाइएको छ ।”

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युद्धबन्दी फिर्ता तथा मारिएका सैनिकहरूको शव आदान–प्रदान मस्को र किएभबीचको थोरै सहयोगका क्षेत्रहरूमध्ये एक बनेको छ ।

“फिर्ता भएका रूसी सैनिकहरू हाल बेलारुसमा छन्,” रूसी मन्त्रालयले जनाएको छ।उक्त आदान–प्रदानमा संयुक्त अरब इमिरेट्स (युएई) ले मध्यस्थता गरेको पनि मन्त्रालयले बताएको छ ।युक्रेनले भने तत्काल यस आदान–प्रदानबारे कुनै प्रतिक्रिया वा पुष्टि गरेको छैन ।

रास्वपाका नवनिर्वाचित सभापति लामिछानेसहित पदाधिकारी तथा सदस्यहरूले लिए सपथ

चितवन । रास्वपाका नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

महाधिवेशनस्थल भरतपुरमा निर्वाचन आयोगका प्रमुख भुवन केसीले नवनिर्वाचित सभापति लामिछानेलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सर्वसम्मत सभापति चयन भएका थिए । सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ गराएका छन् ।