`

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार, चुनौती, व्यवहारिक प्रयोग, नेपाली बीमा बजारको अवस्था तथा वित्तीय साक्षरताको आवश्यकता जस्ता विषयमा विस्तृत छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण कोशी प्रदेशकार्यालयका सहायक प्रथम मिलन पोख्रेल ले गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रीति देवले बीमाका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिँदै प्राधिकरणको भूमिका, कर्तव्य र अधिकारबारे विद्यार्थी तथा शिक्षकलाई सुसूचित गराउने उद्देश्य रहेको बताइन्।

उनले नेपालको वित्तीय प्रणालीको समग्र परिचय प्रस्तुत गर्दै बीमा क्षेत्रको आवश्यकता र विद्यमान चुनौतीहरूबारे प्रकाश पारिन । देवका अनुसार बीमा क्षेत्रको विकासमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई यसतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रमअन्तर्गत हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसले विद्यार्थीहरूमा उत्साह थपेको थियो। समापनका क्रममा सहभागीहरूले उठाएका जिज्ञासाको समाधान गर्दै उनले बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गरिन् र यस क्षेत्रमा भविष्यको सम्भावना उज्ज्वल रहेको बताइन्। यसैबीच, प्राधिकरणले सञ्चालन गरेको निबन्ध लेखन प्रतियोगिताबारे पनि जानकारी गराइएको थियो। आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

भोटेकोशी समाज अमेरिकाको आयोजनामा ल्होसार साँझ २०२६ भव्य रुपमा सम्पन्न, गायक बिजय लामाले गाए आफ्ना हिट गीत

काठमाडौँ । गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटिमा सम्मानित भएका छन् । गायक लामालाई न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाले सम्मान गरेका हुन् ।

भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ल्होसार साँझ २०२६ मा गायक लामाले आफ्ना चर्चित गीतहरु नखानु पानी तोङ्बाको, भोली फर्कि आउँछु आउँदिन, खासा बजार, लगायतका गीतहरु प्रस्तुत गरेका थिए । सैयौँको संख्यामा उपस्थित दर्शकहरु पनि गायक लामासँगै झुमेको दृश्य लोभलाग्दो थियो ।

सो अवसरमा भोटेकोशी समाज अमेरिकाका अध्यक्ष अक्बर स्याङतानले भव्य रुपमा कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

उनले भोलीका दिनमा पनि आफ्नो कला संस्कृति र परम्परा जोगाउन यस्तो किसिमका सांस्कृति कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । परदेशी भूमिमा लामो समयदेखि परिवारसहित बस्दै आएका स्याङतानले कार्यक्रममा उपस्थित दर्शक तथा देश विदेशमा रहेका शुभचिन्तक एवंम कार्यक्रम सम्पन्न गर्न मद्धत गर्ने सबैलाई आभार प्रकट गरेका छन् ।

फुटबल टोलीकी कप्तान साम्बाको घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ ।बुधबार सामाजिक समार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्।
चिकित्सकको निगरानीमा भोलिदेखि रिह्याब सुरु हुने उनले जनाएकी छन्।

खाडी क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उपचारका लागि कतार जान नसकिएको अवस्थामा वैकल्पिक रूपमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको हो।

यसले खेलाडीको स्वास्थ्य व्यवस्थापनमा लचिलोपन र समयमै निर्णयको महत्व पनि देखाएको छ।कठिन समयमा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, साथै उनको क्लब क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमको सहयोगप्रति साम्बाले कृतज्ञता व्यक्त गरेकी छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६५, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १८०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १७०, लौका प्रतिकिलो रु १००, परवर (तराई) प्रतिकिलो रु १३०, घिरौँला प्रतिकिलो रु १३०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १००, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ९०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु ७०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३२० र रूखटमाटर प्रतिकेजी रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४५, रुखकटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३५०, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १६०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ६०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।

पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ ।

सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाकारी दिए ।

बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको उनले बताए ।

यसैगरी, प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा, केन्द्रीय लेखा समिति गठन र विविध विषयमा छलफल भएको उनले बताए ।बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

कैफियत देखिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ ।विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ ।

स्थलगत अनुमगनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गरिएको हो ।थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा तराईका भू–भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिदै

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित हुनुभएको हो ।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ ।

निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४० रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१ रुपैयाँ १९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४९० रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८८ पैसा रहेको छ ।

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर। बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ ।

बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन् । बाँदरको दुःख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका छन् ।

स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन् । खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ । कतिपयले डर देखाउने आकृति बनाएका छन् । खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

विशेषगरी मानेभञ्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ (साविक वडा नं. ८ र ९) मा बाँदरको समस्या ठूलो छ । स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ रित्तो जस्तै भएको छ ।

“पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ”, उहाँले भन्नुभयो । अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायतका बस्तीहरूमा अहिले अधिकांश घरहरू जीर्ण र खाली अवस्थामा छन् । एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन् ।
खेतका कान्ला र पाखाहरू झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जङ्गलमा परिणत हुन थालेको छ । उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ ।

किसानहरूका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारी जस्ता अन्नबाली बाँदरले नष्ट गरिदिने गरेको छ । “बाँदरले लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ”, तामाङले गुनासो गर्नुभयो, “दिनभरि खेतबारी कुरेर बस्न सकिँदैन । मेहिनत गरेर लगाएको बाली जोगाउन नसक्दा धेरैले खेती छाडे । कतिपयले त गाउँ नै छाड्नुपरेको छ ।”

जिल्लाका अन्य स्थानीय तहहरूमा बाँदर समस्या उस्तै गम्भीर रहेको कृषकहरूको गुनासो छ । कृषि नै मुख्य आम्दानीको स्रोत रहेको ग्रामीण परिवारहरू आर्थिक रूपमा मारमा परेका छन् । युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतबारीको जिम्मेवारी थपिएको छ, तर बाँदर आतङ्कका कारण उनीहरू पनि निरुत्साहित भएका छन् ।

स्थानीय सरोकारवालाहरूका अनुसार वनक्षेत्र नजिकका बस्तीहरूमा समस्या चर्को छ । मानवीय बस्ती घट्दै जादा बाँदर बाँकी रहेका बस्ती केन्द्रित बनेका छन् । दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बाँझिने खतरा बढ्दै गएको किसानहरुको भनाइ छ ।

बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको भनाइ छ । साथै, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानहरुको माग छ ।

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

गलकोट (बागलुङ) – गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबार चैते दसैँ मेला पनि सुरु भएको छ ।

कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्त आउने गरेको र यसपटक भक्तजनको सङ्ख्या बढी देखिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । शुक्रबारदेखि नवदुर्गा सुरु भएको र त्यस यत्रा नवमीसम्मै मन्दिरमा पूजा आजाका लागि आउने गरिएको छ । चैते दसैँमा अष्टमीलाई सबैभन्दा बढी उत्तम मानिन्छ । चैते दसैँको मुख्य दिन चैत १२ गते बिहीबार परेको छ ।

तीन सय वर्षभन्दा पहिलेदेखि मन्दिर परिसरमा चैते दसैँको अवसरमा मेला लाग्दै आएको छ । यस मन्दिरमा गुठीले व्यवस्थापन गरेसँगै व्यापारिक स्टल, रमाइलो मेला लगायतका संरचना निर्माण गरेर मङ्गलबारबाट मेला आयोजना गरेको हो ।

देशभरबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम जारी छ । मन्दिर परिसरमा लाग्ने मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ । चैते दसैँको प्रतिपदादेखि राम नवमीसम्म करिब १० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस अवसरमा विभिन्न गाउँ तथा जिल्लाबाट आउने भक्तजनका लागि मेला, स्टल र आवासको व्यवस्था मिलाइएको छ ।

मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा छेलो प्रतियोगिता आयोजना गरिएको छ । मेलामा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । मेलामा गाउँबाट किसानहरूले वर्षभरि तयार पारेका काठ, ठेका, बाँसुरी र बाँस र निगालोका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन् ।

मन्दिरमा विसं १५९१ देखि यस मन्दिरमा पूजा हुँदै आएको छ । किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गराएको विश्वास गरिन्छ ।

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा। गोलबजार नगरपालिकाबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–५ बस्ने २५ वर्षीय अनिल चौधरी र लहान नगरपालिका–१ भाइरलबावा टोल घर भई हाल गोलबजार–४ निपानेस्थित ससुराली घरमा बस्दै आएका ३३ वर्षीय बलिराम महतो रहेका छन् ।

सोमबार राति गोलबजार–४ निपाने टोलस्थित पूर्व–पश्चिम लोकमार्ग सडक छेउमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका अनिल चौधरीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट एक ग्राम खैरो हेरोइन फेला पारेको थियो । प्रहरीसँगको सोधपुछका क्रममा चौधरीले उक्त पदार्थ आफूलाई बलिराम महतोले बिक्री गर्न दिएको बयान दिएका थिए ।

चौधरीको बयानका आधारमा प्रहरी टोली राति नै बलिराम महतो बसिरहेको निपानेस्थित उनको ससुराली घर पुगेको थियो । घर खानतलासी गर्दा दराजमा लुकाइछिपाइ राखेको अवस्थामा १० ग्राम २५० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरीले महतोको साथबाट नगद रु २० हजार ३१०, ओप्पो मोबाइल एक थान, चुरोट पाँच थान, लाइटर दुई थान र ब्लेडका टुक्रा दुई थानसमेत बरामद गरेको छ । दुवै जनाको साथबाट जम्मा ११ ग्राम २५० मिलिग्राम खैरो हिरोइन बरामद गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क मोतीविन्दुको पहिचान तथा शल्यक्रिया गर्नका लागि समझदारी भएको छ । ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालय कमलादीमा आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक प्राडा सन्दुक रुइटको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार तिलगङ्गा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकको निःशुल्क रूपमा मोतीविन्दुको पहिचान गरी शल्यक्रिया गरिनेछ ।

यस्तै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्राछात्रको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिनेसमेत समझदारी भएको छ।
कार्यक्रममा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए।

“हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई सातै प्रदेशमा समान रूपमा पुर्‍याउने प्रयास गरेका छौँ, हामी जहाँ व्यापार गछौँ, जहाँबाट नाफा कमाउँछौँ, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ,” उनले भने।

तिलगङगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए। उनले आफूहरूले कुनै पनि कार्यक्रममा पारदर्शीता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको उल्लेख गरे।

पर्वतको बाच्छामा रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आज दिउँसो मृत्यु भएको हो ।

घर नजिकै रहेको दगदगेको रुख काट्ने क्रममा सोही रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि प्रदेश अस्पताल पर्वतमा ल्याइएकामा चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।

रुख ढलेर च्यापिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय बाच्छा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । दिउँसो ४ः३० मात्रै प्रदेश अस्पतालमा ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्गठनले यसलाई सुडानको विनाशकारी युद्धमा जीवनमाथिको आक्रमण भनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, पूर्व डारफुरको राजधानी शहरमा रहेको शिक्षण अस्पतालमा शुक्रबार भएको आक्रमणमा घाइते हुनेको सङ्ख्या पनि ८९ बाट बढेर १४६ पुगेको छ । हाल उक्त अस्पताल पूर्ण रूपमा सञ्चालनमा छैन ।

सुडानका लागि संगठनकी उपप्रतिनिधि तथा स्वास्थ्य आपतकालीन प्रमुख हाला खुडारीले यस घटनालाई ‘भयानक आक्रमण’ बताए। उनका अनुसार मृतकमध्ये सात महिला, १३ बालबालिका, एक चिकित्सक र दुई नर्स रहेका छन् । घाइतेहरूमा बिरामी, उनीहरूका परिवारका सदस्य तथा आठ स्वास्थ्यकर्मी समेत रहेका छन् ।

उनले भने, “अस्पतालको बाह्य सेवा र आकस्मिक कक्षमा विशेष गरी गम्भीर क्षति पुगेको छ ।” यो अस्पताल यसअघि पनि सन् २०२४ को अगस्टमा भएको अर्को आक्रमणमा क्षतिग्रस्त भएको थियो । पछिल्लो आक्रमणपछि अस्पताल अब सञ्चालनयोग्य नरहेको बताइएको छ।

उक्त अस्पतालले पूर्व डारफुरका विभिन्न क्षेत्रमा रहेका करिब २० लाखभन्दा बढी जनतालाई सेवा प्रदान गर्दै आएको थियो । अब बिरामीहरूले अर्को सन्दर्भ अस्पताल पुग्न करिब १६० किलोमिटर टाढा जानुपर्ने अवस्था आएको छ ।

खुडारीले भने,“अस्पतालमाथिको आक्रमण केवल भवनमाथिको आक्रमण मात्र होइन, उपचार खोजिरहेका मानिस, अरूको ज्यान बचाउन जोखिम उठाउने स्वास्थ्यकर्मी र सङ्कटको समयमा बाँच्ने सम्भावनामाथिको आक्रमण पनि हो ।”

“स्वास्थ्य सेवामा पहुँच घट्दै गएको छ र क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गर्ने प्रयासहरू पनि प्रभावित भइरहेका छन् ।”उनका अनुसार सन् २०२६ का लागि सुडानको स्वास्थ्य प्रतिक्रिया योजनामा हालसम्म मात्र ५.७ प्रतिशत रकम उपलब्ध भएको छ ।

सन् २०२३ को अप्रिलदेखि सुरु भएको द्वन्द्वमा सरकारी सेना र अर्धसैनिक बलबीचको संघर्षका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब १ करोड १० लाख मानिस विस्थापित भएका छन् ।

मानवअधिकार समूह ‘आपतकालीन वकिलहरू’ का अनुसार उक्त अस्पतालमाथि सेनाले ड्रोन आक्रमण गरेको थियो ।पश्चिमी सुडानको विशाल डारफुर क्षेत्रमा अर्धसैनिक बलको प्रभाव रहेको छ भने देशको पूर्व, मध्य र उत्तर भागमा सरकारी सेनाको नियन्त्रण रहेको छ ।अर्धसैनिक नियन्त्रणमा रहेको उक्त शहरमा नियमित रूपमा सरकारी सेनाले आक्रमण गर्दै आएको छ।

श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी

कोलम्बो। मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ ।
यो निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको छ । यसमा सार्वजनिक क्षेत्रभरि इन्धन र बिजुलीको खपत घटाउने उपायहरू अपनाउन सुझाव दिइएको छ ।

निर्देशिकाअनुसार, कर्मचारीहरूले व्यक्तिगत सवारीसाधन प्रयोग नगरी सम्भव भएमा सार्वजनिक यातायात वा समूहिक यातायातको प्रयोग गर्नुपर्छ । साथै, क्षेत्रीय कार्यका लागि सवारी साधनको सङ्ख्या घटाउन दैनिक यातायात योजना तयार गर्न सरकारी निकायहरूलाई निर्देशन दिइएको छ ।

बिजुली र ऊर्जा बचतका लागि सुझावहरूमा प्राकृतिक प्रकाशको अधिकतम प्रयोग, एयर कन्डिसनको सट्टा बिजुली पङ्खाको प्रयोग र सिँढीको प्रयोग प्रोत्साहित गरी लिफ्टको सीमित प्रयोग समावेश छ ।

स्थानीय सरकारका निकायहरूले अनावश्यक समयमा सडक बत्ती निभाउन र उच्च सुरक्षा क्षेत्रबाहेक सडक बत्ती अस्थायी रूपमा बन्द गर्न निर्देशन पाएका छन् ।निर्देशिकाले संस्थाहरूका प्रमुखलाई पनि प्रविधि उपलब्ध भएमा कर्मचारीलाई कार्यालय उपस्थितिका सट्टा घरबाट काम गर्न अनुमति दिन प्रेरित गरेको छ ।

सबै सार्वजनिक अधिकारीहरूलाई जिम्मेवार व्यवहार गर्न, जनता माझ उदाहरण प्रस्तुत गर्न र राष्ट्रिय ऊर्जा संरक्षण तथा सुरक्षा प्रयासमा पूर्ण समर्थन जनाउन आग्रह गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत। भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गर्नुभएको छ ।उहाँले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडको जिरो बिन्दुबाट सुरु भएको भेरी करिडोर सडक आयोजनाको डोल्पाको सदरमुकाम दुनैसम्म पुगेर अनुगमन गर्नुभएको हो ।

मन्त्री चौलागाईंबाट अलपत्र परेका पाँच पुलको अनुगमन गरिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको ५६ किलोमिटर कालोपत्र भइरहेको छ । रुकुम पश्चिमको आठबीसकोट–५ देखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्म लगाएको नयाँ ठेक्काको प्रगतिबारे उहाँले जानकारी लिनुभएको थियो ।

मन्त्री चौलागाईंले सडक निर्माणमा आएका अवरोधका विषयमा त्रिपुरासुन्दरी नगरपालिकामा सरोकारवाला निकायसँग र जिल्ला प्रशासन कार्यालय डोल्पामा छलफल भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभयो ।सो क्रममा उपल्लो डोल्पाको करिडोरअन्तर्गतपर्ने ल्यासिक्याप–सिसौल सडक नेपाली सेनालाई दिइएको निर्णयका विषयमा छलफल भएको छ ।

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ। पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौँलगायत केही जिल्लामा वर्षा भएको छ ।काठमाडौँमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा असिनापानी, हिमपात र हुरीबताससमेत आएको छ ।

विभिन्न जिल्लाको वर्षामापन केन्द्रबाट प्राप्त विवरणअनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी झापामा नौ दशमलव चार मिलिमिटर वर्षा भएको छ । यस्तै, ताप्लेजुङ, भोजपुर, नुवाकोट, लमजुङ, गोरखा, कास्की र कालीकोटमा हल्का वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा तनहुँमा २४ दशमलव छ र झापामा १२ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपात भइरहेको विभागले आज साँझ ६ः०० बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ । यस्तै, तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मोरङको पाँच स्थानमा बर्डफ्लु

मोरङ, १० चैतः जिल्लाका पाँच स्थानमा बर्डफ्लु सङ्क्रमण फैलिएको छ । यहाँ विराटनगरको दाहाल कृषि फर्म, सुन्दरहरैचा नगरपालिकाको हलेसी महादेव फर्म, उर्लावारी नगरपालिकाको अठियाावारी फर्म र कटहरीको ए टु जेड र कामख्या पोल्टी फर्ममा कुखुरामा बर्डफ्लु देखिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टी गरेको छ ।

सङ्क्रमण पुष्टि भएका क्षेत्रमा पक्षी, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । पछिल्ला केही दिनयता बोइलर र लेयर्स कुखुरा फर्ममा कुखुरा मर्ने क्रम वृद्धि भएसँगै दैनिक आठदेखि नौ जना किसान परीक्षणका लागि मरेका कुखुरा लिएर आउने गरेको प्रयोगशालाका प्रमुख डा कमल गिरीले बताउनुभयो ।

उहाँका अनुसार गत साउनयता परीक्षण गरिएका १९८ नमूनामध्ये ४५ वटामा बर्डफ्लु पुष्टि भइसकेको छ । शङ्कास्पद नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको डा गिरीले जानकारी दिनुभयो ।

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर। भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो र १९ जना घाइते भए ।

नेपाल रेडक्रस सोसाइटीको टोलीले सडकमै घाइतेको प्राथमिक उपचार गर्न थाले । विपद् उद्धारमा सक्रिय संस्था आरएनए–१६, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले घाइतेको तत्काल उद्धार गर्यो। जिल्लाका चार वटा एम्बुलेन्समा घाइतेलाई भक्तपुर जिल्ला अस्पताल पुर्याइयो । अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र नर्सले तत्कालै उपचारमा सक्रियता देखाए ।

यो दृश्य आज यहाँ आयोजना गरिएको आकस्मिक दुर्घटनाको कृत्रिम अभ्यासको हो । यहाँ भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको सहकार्यमा दुर्घटनाका बेला विपद्मा उद्धार र उपचारमा गरिने तयारीबारे कृत्रिम अभ्यास गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घट्नास्थलमा गरिने उद्धार, प्राथमिक उपचार, अस्पतालमा आएका घाइतेको उपचार, भीड नियन्त्रणदेखि उपचारसम्म गरिने तयारीबारे सडक विपद् आपतकालीन अभ्यास गरिएको बताउनुभयो । यसले आगामी दिनमा आउनसक्ने विपद्मा सहज सेवा दिन योगदान पुग्ने उहाँको भनाइ छ ।

कार्यक्रममा अस्पतालका निर्देशक डा सुरेन्द्र भट्टले अस्पताल जुनसुकै विपद्मा पनि उपचारका लागि तयारी अवस्थामा रहेको सन्देश दिन अभ्यास गरिएको र यसले सडक विपद् आपतकालीन अवस्थामा आउनेसक्ने जोखिममा थप सहज रूपमा काम गर्न प्रेरणा मिल्ने बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा कृपा महर्जनले आज सडकदेखि अस्पतालसम्म गरिएको अभ्यास निकै उपलब्धिमूलक रहेको र आगामी दिनमा आउनसक्ने विपद्का चुनौतीलाई सामना गर्न सक्षम भएको प्रमाणित गरेको बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा कार्यरत प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले आजको अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मीदेखि अस्पतालका कर्मचारीलाई समेत विपद्मा कसरी उद्धार र उपचार गर्ने भन्नेबारेमा प्रयोगात्मक सीप सिकाइएको बताउनुभयो ।

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ, १० चैत : गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ ।प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएकामा ४० प्रतिशत मतपत्र प्रयोगविहीन भएका हुन् ।

निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६६९ मतदाता रहेकामा आयोगले दुवै प्रणालीका लागि मतदाता सङ्ख्याभन्दा सात प्रतिशत बढी हुने गरी जनक शिक्षा सामग्री केन्द्रमार्फत मतपत्र छपाइ गरेको थियो । आयोगले प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार र समानुपातिकतर्फ दुई करोड आठ लाख ४३ हजार गरी चार करोड ११ लाख ४३ हजार मतपत्र छपाइ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गरेको थियो ।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको र त्यसमध्ये करोड पाँच लाख नौ हजार १७ (९४ दशमलव ५५ प्रतिशत) मत सदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा एक करोड आठ लाख ३५ हजार २५ (९६ दशमलव ०५ प्रतिशत) मत सदर भएको थियो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सामान्यतः मतदाताको सङ्ख्याभन्दा बढी सङ्ख्यामा मतपत्र छापिने अभ्यासबमोजिम यस पटक पनि चार करोड ११ लाख ४३ हजार मतपत्र छापिएकामा प्रयोग नभएका मतपत्र कानुनी प्रबन्धबमोजिम तत्तत् क्षेत्रमा धुल्याउने प्रक्रियामा जाने बताउनुभयो ।

मतदाताभन्दा बढी मतपत्र छपाइ भएकामा कुनै दुरूपयोग त भएन ? वा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्छ कि ? भन्ने कतिपयले प्रश्न उठाएको सन्दर्भमा प्रवक्ता भट्टराईले भन्नुभयो, “शङ्का त गर्न पाइयो तर निर्वाचनको निष्पक्षतामा कुनै शङ्का छैन । हामीले प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसेको र कुनै दल वा पक्षबाट औपचारिकरूपमा त्यस्तो प्रश्न नआएकाले मतपत्र खेर गयो भन्ने आधारमा कुनै शङ्का गर्नु उचित हुँदैन ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले पाठ्यपुस्तक छपाइलगायत नियमित कामका अतिरिक्त राष्ट्रको जिम्मेवारीलाई बोध गर्दै आयोगको कार्यादेशबमोजिम दैनिक १३ लाख मतपत्र छपाइ गरी सुरक्षितरूपमा समयमै हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले मतपत्र छपाइको कामले केन्द्रलाई घाटापूर्ति गर्न पनि सघाएको बताउनुभयो ।

‘सरकारी कागजात धुल्याउने नियमहरू, २०२७ (पहिलो संशोधन, २०७०’ मा धुल्याउने भन्नाले ‘सरकारी कार्यालयमा रहेको कागजातमा लेखिएको व्यहारो पढ्न, बुझ्न वा त्यसको कुनै उपयोग गर्न नसकिने गरी रद्द गर्ने कार्यलाई सम्झनुपर्छ र सो शब्दले त्यस्तो कागजलाई आगोमा डढाउने कार्यसमेत जनाउँछ’ भनिएको छ ।

सो कानुनअनुसार सम्बन्धित कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको कागजातहरूअवधि पुगेपछि ‘नेपाल सरकारको कुनै हानि–नोक्सानी नहुनेदेखि धुल्याउन उचित ठह¥याएका जति कागजातहरू काम तामेल भई सकेपछि जुनसुकै बखत धुल्याउन धुल्याउन आदेश दिन सक्ने’ व्यवस्था छ । धुल्याउने कागजातहरूलीलाम बिक्री पनि गर्न सकिने भनिएको छ ।

कानुनमा काम तामेल भएको तीन महिनापछि धुल्याउने कागजातहरूको वर्गीकरण गरिएको छ । ‘नक्सा र डिजाइनसम्बन्धी तथ्याङ्कबाहेक कुनै निर्माण कार्यसम्बन्धी योजना, सम्भौता, ठेक्का पट्टा, अनुदानसम्बन्धी कागजात सो कार्य पूरा भएपछि लेखापरीक्षण गराउनुपर्ने भए गराइ अन्तिम रूपमा फर फारख भएपछि र लेखा परीक्षण गराउनुपर्नेमा सम्बन्धित कार्य पूरा भएपछि धुल्याउने व्यवस्था छ । राष्ट्रका लागि अभिलेखमूलक काजगात कहिल्यै नधुल्याउन नपाउने भनिएको छ ।आयोगले विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चार/चार करोड मतपत्र छपाइ भएकामा करिब ६२ प्रतिशत मतदान भई बाँकी मतपत्र प्रयोगविहीन भएको थियो ।

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, अब बिहीबार सुनुवाइ हुने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधनविरुद्धको रिट निवेदनमा बिहीबार सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ हुने भएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरू भए पनि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो ।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रतिस्पर्धी पार्टीसँग अल्मलिएर कांग्रेसले आफ्नो मुद्दा बिर्सिएकाले समस्या आएको हो : सभापति थापा

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिस्पर्धी पार्टीसँग अल्मलिएर कांग्रेसले आफ्नो मुद्दा बिर्सिएकाले समस्या आएको बताउनुभएको छ ।पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेपालीको स्वतन्त्रता र समानताका निर्माण भएको पार्टी भएकाले जनताको मुद्दा विर्सन नहुने बताउनुभयो ।

“अबको पाँच वर्ष सफलतापूर्वक सरकार सञ्चालन हुने विश्वास छ, अनेकन अप्ठ्यारोकाबीच मत प्रदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै निर्वाचित हुने सबै उम्मेदवारलाई बधाई ज्ञापन गर्दछु,” सभापति थापाले भन्नुभयो । उहाँले विशेष महाधिवेशन नगरी पार्टी निर्वाचनमा गएको भए कांग्रेसले जनताको प्रतिरोधको सामना गर्न कठिनाई हुन्थ्यो भन्नुभयो ।

“विशेष महाधिवेशनसँग असन्तुष्टि होलान्, निर्वाचनमा कांग्रेसको चिह्न लिएर उम्मेदवार भएको व्यक्तिलाई मत नमाग्ने र नहाल्ने विषयमा हामीले नोटिसमा राखेका छौँ, आफ्नो निर्वाचन क्षेत्रमा पाँच÷छ पटक उम्मेदवार भएको व्यक्तिले पार्टीको पक्षमा मत माग्नुपर्दैन ? यो विषयमा महाधिवेशनले समीक्षा गर्छ, तर म सिङ्गै कांग्रेस पार्टीको सभापति हो, सबैसँग छलफल गर्नेछु,” उहाँले भन्नुभयो ।

सभापति थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकका विशिष्ट अपेक्षा रहेको उल्लेख गर्दै अख्तियारको दुरुपयोग एवं नीतिगत भ्रष्टाचारको विषयमा प्रष्ट छानबिन गरेर जानुपर्छ भन्नेमा जोड दिनुभयो ।

नेपालको लोकतन्त्र र विविधताका विषयमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिँदै सभापति थापाले लोकतान्त्रिक व्यवस्थाले दिएका अधिकार कायम राख्न कांग्रेसले प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्नुभयो । “संविधानअनुसार प्रदत्त स्वतन्त्र, समानता र स्वयत्ततामा कुनै आँच आउनु हुँदैन, कांग्रेस यसमा प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “संविधानका आधारभूत मूल्य मान्यतालाई फराकिलो बनाउन संविधान संशोधन गर्नु आवश्यक छ, संविधानको संशोधन र परिमार्जनको विषयमा पार्टीभित्र छलफल गरेर समिति बनाउँछौँं ।”

मध्यपूर्वमा भएको तनावले नेपाललाई नदेखिने गरी समस्यामा पारेको भन्दै सभापति थापाले नेपालको अर्थतन्त्र र वैदेशिक रोजगारीमा देखिएका समस्या हल गर्ने विषयमा समाधान गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।

शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २०७४ सालपछि शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा थालेको छ।समितिका अध्यक्ष एवं कार्यवाहक महानगर प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बैठकमा शिक्षा अधिकृत केशव ज्ञवालीले गएको आठ वर्षमा समितिले गरेका मुख्य मुख्य निर्णय र त्यसको कार्यान्वयन अवस्थाका विषयमा प्रस्तुतीकरण गर्नुभएको हो ।

बैठकले महानगरलाई साक्षर नगर घोषणा गर्ने, सार्वजनिक तथा निजी गुठीको विधान शिक्षा अधिकारीलाई प्रमाणित गर्ने अधिकार दिने, तहगत प्रधानाध्यापक व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षा विभागलाई दिने, कक्षा १ को कक्षा सञ्चालन अनुमति नदिने, विद्यालयको परिचय पाटीमा नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा नाम लेख्न लगाउन शिक्षा विभागलाई निर्देशन दिनेलगायत निर्णय गरेको छ । यस्तै, शिशु स्याहार, मन्टेश्वरी, पूर्वप्राथमिक तहको कक्षा सञ्चालन अनुमति दिने तथा अभिलेखनको जिम्मेवारी शिक्षा विभागलाई दिने निर्णय कार्यान्वयनमा ल्याइएको अधिकृत ज्ञावालीले बताउनुभयो ।

समितिले २०७८ सालमा शुल्क निर्धारण समितिको प्रतिवेदनअनुसार संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । दर्ता भएर सञ्चालनमा नदेखिएका एक सय सात वटा विद्यालय खारेजीको सार्वजनिक सूचनामा ४२ वटा सम्पर्कमा आएको पनि जनाइएको छ । तीमध्ये सात वटाले सञ्चालन भइरहेको र ३५ वटाले सञ्चालन तयारीमा रहेको जानकारी दिएको विभागले जनाएको छ ।

विगतको समीक्षासँगै बैठकमा नौ वटा प्रस्ताव पेस भएका थिए । ती प्रस्तावमा छलफल गर्दै अध्यक्ष डङ्गोलले विद्यालयको सामाजिक नक्साङ्कको काम १० दिनभित्र सम्पन्न गर्न विभागलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,“शैक्षिक सत्र सुरु हुनुअघिका सबै तयारी सम्पन्न गर्नुहोला । विद्यालयको बेरुजु घटाउन, शिक्षकलाई प्रविधि र प्राविधिक क्षेत्रमा क्षमता विकास गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुुहोला ।”

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले मापनयोग्य शैक्षिक नतिजाका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न विभागले नवीनतम कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिँदै प्रविधि र प्राविधिक क्षेत्रको शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बेला आएको बताउनुभयो ।

स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले विद्यालय छोड्ने समस्याबारे गम्भीर भएर सोच्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो,“विद्यार्थी भर्नाको समय आउँदैछ, अभियानका क्रममा विद्यालय छोडेर जाने बालबालिकासँग सम्बन्धित सामाजिक कारण खोज्नुपर्छ, अनि मात्र कार्यक्रम दिगो हुन्छ ।”

दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

वासिङ्टन। इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित भएपछि एशियाली देशहरूले अस्थायी रूपमा कोइलामा निर्भरता बढाएका छन् ।

यस क्षेत्रले आयातित इन्धनमा धेरै निर्भर रहँदै आएको छ, जसको ठूलो हिस्सा होर्मुस जलसन्धि हुँदै आउँछ, जहाँ विश्वको करिब एक पाँचौं तेल र प्राकृतिक ग्यासको व्यापार हुन्छ ।

तरलित प्राकृतिक ग्यास सामान्यतया तेल र कोइलाबाट सफा ऊर्जा तर्फको सङ्क्रमणमा प्रयोग गरिन्छ । यो कोइलाभन्दा कम प्रदूषण फैलाउँछ, तर अझै पनि वातावरणमा हानिकारक ग्यास उत्सर्जन गर्छ । इरान युद्धपछि ग्यास आपूर्ति घट्दा भारत, दक्षिण कोरिया, इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्स र भियतनामले कोइलामा निर्भरता बढाएका छन् ।

भारतले गर्मीको उच्च माग पूरा गर्न अधिक कोइला प्रयोग गरिरहेको छ । दक्षिण कोरियाले कोइलाबाट विद्युत उत्पादनमा सीमा बढाएको छ । इन्डोनेसियाले आफ्नो घरेलु कोइला प्राथमिकतामा राखेको छ, जसले क्षेत्रीय आपूर्ति घटाउने सम्भावना बढाएको छ । भियतनामले आपूर्ति अस्थिर भएपछि अन्य देशबाट कोइला आयात गर्ने तयारी गरेको छ ।

कोइलाको अधिक प्रयोगले स्मग, हावाको प्रदूषण, हृदय र फोक्सो सम्बन्धी रोगको जोखिम बढाउँछ । यसले दीर्घकालीन रूपमा नवीकरणीय ऊर्जा स्रोततर्फको संक्रमण ढिला गर्ने सम्भावना पनि राख्छ । विशेषज्ञहरूको अनुसार कोइलाको प्रयोग अहिले अस्थायी समाधान हो, दीर्घकालीन समाधान नवीकरणीय ऊर्जा नै हो ।

कोइलाको मूल्य युद्धपछि बढेको छ, जसले दक्षिणपूर्व एशियाका देशहरूमा विद्युत मूल्यमा दबाब सिर्जना गर्नेछ । स्वास्थ्य संगठनका अनुसार कोइलाबाट निस्कने धुवाँले फोक्सो, मुटु, स्ट्रोक र दीर्घकालीन श्वासप्रश्वास रोगको जोखिम बढाउँछ ।भारतमा करोडौं मानिस असुरक्षित हावा सास फेर्दैछन्। भियतनामले इलेक्ट्रिक सवारी प्रवर्धन गर्दै कोइलाको प्रयोग घटाउने लक्ष्य राखेको छ ।

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

काठमाडाैँ । इराकमा भएको हवाई आक्रमणमा हसद अल–शाबी गठबन्धनका १५ जना सदस्य मारिएका छन् । यो आक्रमणलाई इरान–अमेरिकी युद्ध सुरु भएपछिको सबैभन्दा घातक घटनाका रूपमा हेरिएको छ।

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि यो युद्ध इराकसम्म फैलिएको छ । इराकी सशस्त्र बलमा समावेश इरान समर्थित ब्रिगेडहरूसँग सम्बन्धित हसद अल–शाबीले आफ्ना लडाकुहरूको मृत्युको जिम्मा संयुक्त अमेरिकी–इजरायली आक्रमणमा लगाएको छ।

स्वायत्त इराकी कुर्दिस्तानमा भएको ब्यालेस्टिक मिसाइल आक्रमणमा छ पेसमेर्गा लडाकु मारिएका छन् । इराकी अधिकारीहरूले आक्रमणलाई ‘शत्रुतापूर्ण र विश्वासघाती’ भनेका छन् र यसमा इरानको भूमिका रहेको आरोप लगाएका छन् । अमेरिका र इरान कसैले पनि यस घटनामा टिप्पणी गरेका छैनन्।

गत वर्षहरूमा, इरान समर्थक सशस्त्र समूहहरूले इराक र क्षेत्रभर अमेरिकी लक्ष्यमा आक्रमणको जिम्मेवारी लिँदै आएका छन् भने अमेरिकी–इजरायली कारवाहीले ती समूहहरूलाई पनि लक्षित गरेको छ । पेन्टागनले हालै इराकमा इरान समर्थक समूहविरुद्ध हेलिकप्टर आक्रमण भएको स्वीकार गरेको थियो।

हसद अल–शाबीले विज्ञप्तिमा राजनीतिक पक्षहरूलाई जिम्मेवारी लिन र अमेरिकी उल्लङ्घनको सामना गर्न आग्रह गरेको छ । कुर्द अधिकारीहरूका अनुसार ६ वटा इरानी ब्यालेस्टिक मिसाइलले पेसमेर्गालाई लक्षित गरेको थियो, जसमा छ जना मारिएका र ३० जना घाइते भएका छन्।

विशेषज्ञहरूले यस घटनालाई इराकमा द्वन्द्वको जटिलता र क्षेत्रीय सुरक्षा जोखिमको सङ्केतका रूपमा मूल्याङ्कन गरेका छन् । युद्धले इराकको राजनीतिक र सुरक्षा सन्तुलनमा ठुलो प्रभाव पारिरहेको छ र कुर्दहरूले इरान–अमेरिका युद्धमा तटस्थ रहन प्रयास गरिरहेका छन्।

काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा १२२ औँ स्थानमा

काठमाडौँ, चैत १०-संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ ।

विश्वभरका ९५ देशका पाँच सय सात विश्वविद्यालय सहभागी ‘र्‍याङ्किङमा विश्वविद्यालयको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत एक सय ३६ सूचक प्रयोग गरिएका थिए । यो ‘र्‍याङ्किङ’ मुख्यतः दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयको कार्यसञ्चालन क्षमता मूल्याङ्कनमा केन्द्रित रहेको जनाइएको छ ।

उक्त संस्थाले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्दै तथ्यमा आधारित समग्र चित्र प्रस्तुत गर्ने गरेको जनाइएको छ । उक्त मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएअनुसार सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्य उन्मुख योजनामा विश्वविद्यालयले विशेष सम्भावना देखाएको छ । ‘एचई उच्च शिक्षा ‘र्‍याङ्किङ’को विशेषता विश्वविद्यालयको सञ्चालनसँग सम्बन्धित नीति, प्रक्रिया, सेवा, उत्पादन र परिणामहरूको मापनमा जोड दिनु रहेको छ ।

मूल्याङ्कनका लागि समावेश गरिएका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तरराष्ट्रियकरण, शैक्षिक निष्ठा तथा डिजिटल पहुँचलगायत छन् ।

शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा अर्थपूर्ण सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले ‘र्‍याङ्किङ’ तयार गरिएको संस्थाले उल्लेख गरेको छ ।

काठमाडौँ विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’ की सचिव नूरा अब्दुलजलीलले उक्त उपलब्धि विश्वविद्यालयको नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको सामूहिक प्रयास र शिक्षाप्रतिको प्रतिबद्धताको परिणाम भएको जनाइएको छ । यो उपलब्धिले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रति काठमाडौँ विश्वविद्यालयको अटल प्रतिबद्धता झल्काउने इमेलमा उल्लेख गरिएको छ ।

काठमाडौँ विश्वविद्यालय शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्रा डा हेमराज काफ्लेले प्रतिवेदनले विश्वविद्यालयको संस्थागत सञ्चालनबारे महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको बताउनुभयो । उहाँले यसले आफ्नो विश्वविद्यालयको सञ्चालन प्रणालीबारे केही महत्त्वपूर्ण जानकारी दिएको र अन्य अन्तरराष्ट्रिय ‘र्‍याङ्किङ’ मा सहभागी हुन आवश्यक तथ्याङ्क सुदृढ गर्न मद्दत पुर्‍याउने धारणा राख्नुभयो ।

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौँ, चैत १० –इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि राजधानी उपत्यकामा एक्कासी खाना पकाउने ग्यासको अभाव भयो ।देशमा पेट्रोलियमा पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने निकाय नेपाल आयल निगमले समस्या समाधानको प्रयासस्वरुप आधा सिलिन्डर ग्यास बजारमा पठाउन उद्योगीलाई निर्देशन दियो तर सहजै ग्यास नपाएको उपभोक्ताको गुनासो छ ।

निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न आमउपभोक्तामा आग्रह गर्दै आइरहेको छ । नेपालमा मासिक रुपमा ४६ हजार मेट्रिक ग्यास खपत हुँदै आएको छ । हरेक महिना सोही परिमाणमा आयात पनि भइरहेको छ ।

पश्चिम एयसियामा जारी जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको छ । यद्यपि, निगमले पेट्रोलियम पदार्थको आपूर्ति साबिककै परिणाममा गरिरहेको बताएको छ ।

देशमा इन्धनको पर्याप्त भण्डारण नहुँदा बेलाबखत अभाव हुने गरेको निगमका अधिकारी स्वीकार गर्छन् । सरकारले तीन महिनाको माग धान्न सक्नेगरी पेट्रोलियम पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । डिजेल, पेट्रोल र मट्टितेलको भण्डारण क्षमता वृद्धि गरिए पनि हालसम्म खाना पकाउने ग्यासको भण्डारण व्यवस्था भएको छैन ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट बजारमा ग्यासको अभाव हुन नदिन भण्डारण पूर्वाधारमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । “अहिलेसम्मको अवस्थाले नेपाललाई एलपी ग्यास पाइपलाइन र कम्तीमा ३० दिनका लागि पुग्ने भण्डारण पूर्वाधार निर्माण गर्नु अत्यावश्यक छ”, उहाँले भन्नुभयो ।

ग्यास ढुवानीमा वार्षिक रु छ अर्बभन्दा बढी खर्च हुँदै आएको छ । नेपालसँग आफ्नै ग्यास बुलेट नहुँदा ढुवानी लागत अधिक छ । “ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माण भएमा अर्बौं बचत हुन्छ”, कार्यकारी निर्देशक भट्टले भन्नुभयो, “यसबाट आपूर्ति प्रणाली सुधार भई आमउपभोक्ताले सहजै ग्यास पाउने अवस्था बन्छ ।”

तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माण गर्ने राष्ट्रिय नीति भए पनि अझै त्यसले पूर्णता पाउन सकेको छैन । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना पेट्रोलियम भण्डारण नीतिको अस्पष्टता र अव्यवस्थित वितरण प्रणालीका कारण सहजै ग्यास उपलब्ध नभएको तर्क गर्नुहुन्छ । पेट्रोलियम पदार्थमा परनिर्भर हामीले अधिकभन्दा अधिक विद्युत् उपभोगमा उहाँको जोड छ ।

भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन र भण्डारण गृह निर्माणका लागि नेपालले भारतसँग प्रस्ताव गरेको छ । “हामीले एक वर्षअघि नै इन्डियन आयल कर्पोरेसनमार्फत त्यहाँको पेट्रोलियम मन्त्रालयमा ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव गरिसकेका छौँ, जवाफ प्राप्त भएको छैन”, कार्यकारी निर्देशक भट्टले भन्नुभयो ।

उहाँले ‘अब के हुने हो’ भनेर उपभोक्ताले सञ्चिति गरेका कारण ग्यासमा केही ‘प्रेसर’ देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्यास बुलेट लोड गर्न जाने क्रममा कहिलेकाहीँ चाप हुँदा भर्न नभ्याएको मात्रै हो, ग्यास आयतमा केही समस्या छैन ।” ग्यासको वितरण प्रक्रिया सहज हुँदै गएको ठहर गर्दै निगम एक सातापछि पूर्ण सिलिन्डर बजार पठाउने योजनामा जुटेको छ । रासस

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौँ, चैत १० –खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरुले नेपालको पानी नीति, आपूर्ति पद्धति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव दिनुभएको छ । विश्व पानी दिवस– २०२६ का अवसरमा ‘स्मार्ट वास सोलुसन्स’को आयोजनामा पानी र लैङ्गिक समानता विषयमा सोमबार यहाँ भएको कार्यशालाका वक्ताहरुले यस्तो सुझाव दिनुभएको हो ।

कार्यक्रममा अन्तरराष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानका निर्देशक डा मनोरमा खड्काले नेपालको पानीसम्बन्धी नीति, कार्यक्रम, अभ्यास, परम्परा महिलामैत्री बनाउन नसकिएकाले महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक र समग्र विकास प्रभावित भएको बताउनुभयो ।

उहाँले अझै पनि नेपालका ग्रामीण क्षेत्रमा पानीको आपूर्ति सहज नभएको र खानेपानीदेखि घरेलु काममा उपयोगमा गरिने पानी सङ्कलनको जिम्मेवारी महिलाले लिने प्रचलन देखिएकाले छोरीहरुको पढाइ र अन्य सामाजिक सहभागिताको विषय प्रभावित भएको बताउनुभयो । उहाँले पानी सङ्कलनका क्रममा महिलाहरुले हिंसा पनि सहनु परेको उल्लेख गर्दै भन्नुभयो, “दलित महिलाहरुको स्थिति त भयावह छ । तराईमा होस् कि पहाडमा जातीय विभेद र छुवाछूतको विभेद भनिसाध्य छैन् ।”

खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले घरको काम पुरुष र महिलाले बराबरी गर्ने अभ्यास नहुनु नै महिलाहरुको विकासको बाधक भएको बताउनुभयो । उहाँले केही प्रदेशका केही पालिकाहरुमा विदेशी दातृ निकाय र संंस्थाहरुको सहयोगमा ‘एक घर एक धारा’ अभियान चलेकाले यो पूरा भएमा पानीका कारण रोकिएको महिलाहरुको आर्थिक–सामाजिक विकासको गति अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा कपिल ज्ञवालीले पानीको बहुपक्षीय उपयोगको महत्वलाई आत्मसात् गरेर आयोगले विश्व पानी दिवस, हिमनदी दिवस र जल तथा मौसम दिवसलाई समेट्ने गरी ‘वास विक’ नै मनाउन थालेको बताउनुभयो ।

पूर्वमन्त्री गणेश साहले पानी संसारभर सबै वर्ग, पेसा, समुदाय र उमेर समूहका नागरिकका लागि सुख तथा समृद्धिको माध्यम र परिचायक भएको बताउनुभयो । “जसकहाँ पानी बढी छ, त्यो धनी छ । पानी नहुने गरिब छ । पानीले धनी बनाउन सक्छ”, उहाँले भन्नुभयो । उहाँले पानीका सम्बन्धमा सहज उपलब्धता, पहुँचयोग्य र किफायतीपन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठद्वारा सञ्चालित बहसमा विज्ञ, नीतिनिर्माता, स्थानीय निकायका प्रतिनिधि र खानेपानीका क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरुले आ–आफ्नो क्षेत्रमा भएका असल अभ्यासका बारेमा बताउनुभएको थियो । कार्यक्रममा स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप साहले स्वागत मन्तव्य गर्नुभएको थियो भने समापन मन्तव्य वाटर एड, नेपालका कविन्द पुडासैनीले गर्नुभएको थियो ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि विश्व पानी दिवस मनाउन थालेको हो । यस वर्षको पानी दिवस पानी र महिला विषयमा केन्द्रित छ । यस वर्षको नारा जहाँ ‘पानी प्रवाहित हुन्छ, त्यहाँ समानता बढ्छ’ भन्ने रहेको छ ।

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

काठमाडौं,चैत १० –नेपाल आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएका हुन् ।

ग्यास आयातमा कुनै समस्या नरहेको जिकिर गर्दै उनले भने,ग्यास आयातमा कुनै पनि समस्या छैन । उपभोक्ताले सञ्चिति बढाउँदा केही समस्या देखिएको छ । एक सातापछि भरी सिलिन्डर बजारमा पठाउने योजनासहित निगम जुटेको छ ।

निगमले फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास विक्री गर्न निर्देशन दिएको थियो । हाल खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न पनि भट्टले उपभोक्तालाई आग्रह गरेका छन् ।

नेपालमा मासिक ४६ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएकोमा उक्ति परिमाणमा ग्यास आयात भइरहेको निगमले जनाएको छ ।

बेलाबखत हुने अभावको समस्या समाधानका लागि सरकारले भण्डारण पूर्वाधारमा लगानी गर्नुपर्ने भट्टले बताए । नेपालमा एलपी ग्यास पाइपलाइन र कम्तीमा ३० दिनका लागि पुग्ने भण्डारण पूर्वाधार निर्माण गर्नु अत्यावश्यक भइसकेको छ,भट्टले भने ।

पाइपलाइन नहुँदा ग्यास ढुवानीमा मात्रै वार्षिक छ अर्बभन्दा बढी खर्च हुँदै आएको उनले बताए । नेपालसँग आफ्नै ग्यास बुलेट नहुँदा ढुवानी लागत अधिक भएको हो । ग्यास पाइपलाइन र भण्डारण पूर्वाधारमा लगानी भएमा अर्बौँ बचत हुन्छ । यसबाट आपूर्ति प्रणाली सुधार भई उपभोक्ताले पनि सहजै ग्यास पाउने अवस्था बन्छ, उनले भने ।

तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माणको नीति भए पनि त्यसतर्फ काम हुन सकेको छैन ।भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन र भण्डारण गृह निर्माणका लागि नेपालले एक वर्षअघि नै भारतसँग प्रस्ताव रोखेको थियो । उक्त विषयमा भारतले हालसम्म पनि नेपाललाई कुनै जवाफ दिएको छैन । हामीले एक वर्षअघि नै प्रस्ताव राखेका थियौँ । अहिलेसम्म कुनै जवाफ प्राप्त भएको छैन,कार्यकारी निर्देशक भट्टले भने ।

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उहाँहरूले उपराष्ट्रपति यादवसँग आज सामूहिक भेट गर्नुभएको हो ।भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदानपश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले २०८१ असोजको बाढीपहिरोले पूर्ण तथा आंशिक क्षति पुगेका रोशी गाउँपालिकाका पीडितको सूची सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिद्वारा पहिलो चरणमा उक्त गाउँपालिकाका १९९ घर स्थायी निर्माण गर्न तथा ४० घर रेट्रोफिटिङ (प्रवलीकरण) गर्न सिफारिस गरिएको छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रेमा गत सालको विपत्तिमा आवासमा पुर्याएको क्षति छानबिन गरी स्थायी आवास निर्माणका लागि सिफारिस गर्न सुरु गरिएको बताए । उनका अनुसार रोशी गाउँपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा स्थायी आवासका लागि सिफरिस सुरु गरिएकाले क्रमशः जिल्लाका अन्य स्थानीय तहका पनि सिफारिस गरिनेछ ।

सरकारले २०८१ असोजको बाढीपहिरोले क्षति पुर्याएको आवासको स्थायी पुनर्निर्माणका लागि रु चार लाख अनुदान दिने निर्णय गरेको थियो । साथै सोही निर्णयअनुसार रु चार लाखमध्ये सङ्घीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत तथा स्थानीय तहले २० प्रतिशत व्यहोर्ने नीति बनाइएको थियो । यसअघि जिल्लाको १० स्थानीय तहका दुई हजार ८९५ घरपरिवारलाई सरकारबाट प्राप्त अस्थायी आवास अनुदान वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीपहिरोले रोशी गाउँपालिकामा १२ जनाको निधन भएको थियो । यस्तै बाढीपहिरोबाट ४८२ पूर्ण रूपमा तथा ८८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । यस्तै, दुई हजार ५४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । त्यसैगरी, ६० खानेपानी आयोजना, एक पक्की पुल, विद्यालय तथा चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । बाढीपहिरो निर्माण सम्पन्न भएको डम्फू पार्क, १० शय्याको एक अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो ।

गत साल असोजको बाढीपहिरोबाट जिल्लामा ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत छन् भने एक सयको हाराहारीमा घाइते भएका थिए । गत चैत अन्तिम साताबाट जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाटै निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १८०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ११०, परवर (तराई) प्रतिकिलो रु १३०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु १००, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ६०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ७०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु २४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३२० र रूखटमाटर प्रतिकेजी रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २१०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, रुखकटहर प्रतिकिलो रु १२०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ३००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३५०, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १४०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ९०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

सत्ती भन्सार कार्यालय : आठ महिनामा ६० प्रतिशत राजस्व सङ्कलन

कैलाली । टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो । कार्यालयले चालु आवमा रु १५ करोड ८४ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म रु नौ करोड ६२ लाख ४१ हजार सङ्कलन गरेको छ ।

कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा रु ६३ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा रु एक करोड २८ लाख ९० हजार राजस्व सङ्कलन गर्नुपर्ने भए पनि लक्ष्यको ४९.१७ प्रतिशतमात्रै सङ्कलन भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मङ्सिरमा रु एक करोड ६७ लाख ७४ हजार अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व सङ्कलन भएको छ । मङ्सिरमा भन्सारले रु एक करोड २१ लाख १० हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो ।

कार्यालयले बितेको आठ महिनामा चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने चार महिना लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयका अनुसार असोज, मङ्सिर, पुस र माघमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ । बाँकी साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्य हासिल गर्न सकेको छैन ।

भन्सार प्रमुख सोनीले चार महिनामा भन्सारले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्ने दाबी गर्नुभयो । “सामानको आयात कतिसम्म हुन्छ भन्ने कुराले राजस्व सङ्कलनको लक्ष्य निर्धारण गर्ने हो”, उहाँले भन्नुभयो, “लगभग अहिलेसम्मको भन्सारबाट आयात हुने सामानको अवस्था हेर्दा लक्ष्य हासिल हुनेमा ढुक्क छौँ ।” उहाँले खुला सिमानाका कारण कैयौँ चोरीपैठारीका घटना हुने हुँदा राजस्व सङ्कलनमा चुनौती देखिएको बताउनुभयो । भन्सार प्रमुख सोनीले भन्सारको स्तरोन्नति भएर क्वारेन्टाइन स्थापना भए करोडमा नभई अर्बमा राजस्व सङ्कलन हुने विश्वास व्यक्त गर्नुभयो ।

गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । रु १२ करोड सात लाख ३२ हजारको लक्ष्य रहेकामा रु १४ करोड ३७ लाख ८२ लाख राजस्व उठाएको थियो । त्यसअघिका तीन वर्ष भन्सारले लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । आव २०८०÷८१ मा रु १२ करोड एक लाख ४७ हजार लक्ष्य रहेकामा रु १० करोड दुई लाख ४२ हजार सङ्कलन भएको थियो । त्यसैगरी, आव २०७९/८० मा रु १६ करोड ९४ लाख ४१ हजार राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले रु सात करोड ५० लाख ४० हजारमात्रै सङ्कलन गर्न सक्यो ।

आव २०७८/७९ मा पनि सत्ती भन्सारले राजस्व लक्ष्य हासिल गर्न सकेन । रु २० करोड ५८ लाख ६१ हजारको लक्ष्य पछ्याएको भन्सार कार्यालयले रु १० करोड ६७ लाख ९३ हजारमात्र सङ्कलन गर्न सक्यो । रु १४ करोड २३ लाख ४८ हजारको लक्ष्य आव २०७७/७८ मा पाएको भन्सारले रु १५ करोड ८३ लाख सात हजार राजस्व सङ्कलन गरेको थियो ।

पर्वतमा बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु

पर्वत। कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जीपमा ३५ वर्षीय चालक एक्लै रहेका थिए । चालक परियारको उद्धार गरी प्रदेश अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।

वर्षाका कारण उकालो बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिनुभयो ।

आज विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

काठमाडौँ। ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी दिवसलाई भव्यताका साथ मनाउन लागिएको हो । यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न खोजिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका साथ यस दिवसलाई भव्यताका साथ मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । देशभरका छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औषधि प्रतिरोधी उपचारका लागि ३१ वटा केन्द्र र ९८ वटा उपकेन्द्र सञ्चालनमा छन् । त्यस्तै, १४९ स्थानीय तहमा क्षयरोगमुक्त नेपाल अभियान विस्तार गरी सक्रिय बनाइएको छ । क्षयरोग प्राचीन कालदेखि मानव समुदायमा विभिन्न रोग र सङ्क्रमणका रूपमा लिने गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक बर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् ।

तीन हप्ता वा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो वा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, बढी पसिना आउने र थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्यचौकी गएर परिक्षण गराउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ । शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगको सङ्क्रमण सहजै हुन सक्दछ ।

जानकारहरूका अनुसार कमजोर रोगप्रतिरोध क्षमता भएका तथा धुमपान, मध्यपान वा लागुऔषध सेवन गर्नेमा यो रोगको सक्रमण हुन सक्छ । त्यस्तै, क्षयरोगको औषधिको मात्रा पूर्ण सेवन नगरेमा पनि सङ्क्रमण पुनः देखिन सक्छ ।

औषधिको नियमित सेवनले क्षयरोग निको हुन्छ । यो रोग लाग्नुभन्दा लाग्न नदिन विशेष सचेतना अपनाउनुपर्छ । उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी क्षयरोग नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी भव्यताका साथ दिवस मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई रु तीन करोडभन्दा बढी मुआब्जा वितरण भएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले कायम गरेको मूल्यअनुसार टावर निर्माण भएको जग्गाका धनीहरूलाई मात्र हालसम्म रु तीन करोड २९ लाख ६४ हजार ५६७ मुआब्जा वितरण भएको हो ।

आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाले मुआब्जाबापत रु दुई करोड २९ लाख २९ हजार ७२८ वितरण भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडिबी)को कार्यविधिअनुसार गरिब, महिला प्रमुख घरपरिवार, दलित÷जनजाति, अशक्तको आधारमा थप रु एक करोड ३४ हजार ८३९ वितरण भइसकेको छ । ”

पच्चीस किलोमिटर दूरीको प्रसारण लाइनका ८२ टावरमध्ये ४० वन क्षेत्र र ४२ व्यक्तिगत जग्गामा छन् । हालसम्म ६६ जनाले मुआब्जा लगिसकेका र सात जनाले मुआब्जा लैजाने प्रक्रियामा रहेका प्रशासकीय अधिकृत तिमिल्सिनाले बताउनुभयो । विसं २०७९ मा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले यस आयोजनाको टावर रहने जग्गाका धनीहरूलाई प्रतिरोपनी रु नौ लाखदेखि रु १३ लाख ५० हजारका दरले मुआब्जा निर्धारण गरेको थियो ।

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने जग्गाका धनीहरूलाई पनि क्षतिपूर्ति वितरण गर्न दररेट निर्धारणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । प्रसारण लाइनको बीच भागदेखि दायाँ र बायाँ नौ–नौ मिटरमा रहेको निजी जग्गाका धनीहरूले क्षतिपूर्ति पाउने व्यवस्था छ ।

चार सय ५४ कित्ता जग्गा प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने प्रारम्भिक विवरण सङ्कलन भएको छ । यसैगरी क्षतिपूर्ति वितरणका लागि पहिलो चरणमा तारमुनि पर्ने २२ वटा घरटहराको पहिचान भएको छ । तारमुनि पर्ने थप भौतिक संरचनाको पहिचान कार्यलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ । आयोजनाले सबस्टेशन निर्माणका लागि मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा ५१ रोपनी र रघुगङ्गा गाउँपालिका–३ राहुघाट अम्बाङमा ९० रोपनी जग्गा अधिग्रहण गरेको थियो । वन क्षेत्र प्रयोग गरेबापत रु चार करोड ५० लाखमा ५०४ रोपनी जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराइसकेको छ ।

प्रसारण लाइन प्रभावित क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १५ जनालाई सवारी चालक, १५ जनालाई हाउसवायरिङ र प्रभावित क्षेत्रमा पर्ने १९ सामुदायिक वनका दुई–दुई जनालाई गैरकाष्ठ वनपैदावार तालिम प्रदान गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको मागअनुसार वन डढेलो नियन्त्रण र प्रशासनीय कार्य सञ्चालनमा आवश्यक सामग्री वितरण गरेको आयोजनाले प्रभावित क्षेत्रका १८ वटा सामुदायिक विद्यालय तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी गरेको छ । आयोजना प्रभावित मालिका गाउँपालिका–७, ६, मङ्गला गाउँपालिका–१, २, बेनी नगरपालिका–५, ९ र रघुगङ्गा गाउँपालिका–३ का मठमन्दिर, आमा समूह, विद्यालयलाई निर्माणजन्य जिन्सी सामग्री वितरण गरिएको छ । विभिन्न ठाउँमा जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ ।

भौतिक प्रगति ७८ प्रतिशत

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी र राहुघाट बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन यो आयोजना सञ्चालन भएको हो ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलोपटकको म्याद गत जुलाई १६ र दोस्रोपटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रोपटक म्याद थपिएको छ ।

प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सबस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधि लम्बिएको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो । उहाँका अनुसार अबको पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले निर्माणकार्यलाई तीव्रता दिएका छन् ।

एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ८२ वटामध्ये ७१ वटा खडा भएका छन् । दुईवटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । दश दशमलव पाँच किलोमिटरमा तार तान्ने काम पनि सकिएको आयोजनाका इन्जिनियर सुरज गुरुङले बताउनुभयो । प्रसारण लाइन र सबस्टेशनको उपकरण आयात भइसकेको छ ।

डाँडाखेतको सबस्टेशनमा ९५ प्रतिशत, प्रसारण लाइनमा ७० प्रतिशत र राहुघाट सबस्टेशनमा ६५ प्रतिशत प्रगति भएको छ । एलएनटीका आयोजना व्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थपेर तोकिएको समयभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभयो । एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाँडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी छ । एसियाली विकास बैंकसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लोपटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एसियाली विकास बैंकले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाँडाखेत प्रसारण लाइन बनाउन ऋण लगानी गरेको हो ।

म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।

चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएका छन् ।

इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट खसेर १८ वर्षीय युवकको मृ त्यु

बागमती- बिजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर सोमबार साँझ मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ ।हेटौँडा उपमहानगरपालिका–४ कर्राचोक नजिकै समितपथस्थित बिजुलीको पोलमा काम गर्ने क्रममा खसेर मकवानपुर राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल टोल घर भई हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल डेरा गरी बस्ने १८ वर्षीय भुवन चेपाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार नेटफिलिक्सको इन्टरनेट तार जोड्ने क्रममा अचानक पोलबाट लडेर गम्भीर घाइते भएका चेपाङको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

तनहुँ। सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताउनुभयो । मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सामुदायिक वनमा यत्तिकै आगो लाग्ने सम्भावना निकै कम छ, मानिसले नयाँ घाँस पलाउँछ भनेर डढेलो लगाइदिने गरेका छन् । यसलाई पूर्ण रूपमा रोक्न सकिएको छैन ।”

रानाभाटका अनुुसार चरिणका लागि आगो लगाउने प्रवृत्ति ३० प्रतिशत, चुरोट पिउनेबाट १५, शिकारीबाट सात, वनभोज क्याम्पफाइरिङ आउनेहरूबाट सात, बच्चाहरू खेल्दा छ, अवैध काठ कटान गर्नेहरूबाट पाँच, अतिक्रमणकारीबाट पाँच, खोरिया फँडानीबाट पाँच, गोल पोल्नेबाट चार प्रतिशत र बाँकी जडिबुटी सङ्कलकबाट डढेलो लाग्ने गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ७१ वटा सामुदायिक वनका एक हजार ३२२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । यस्तै आव २०८१/८२ मा ८४ सामुदायिक वनका छ सय ६२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको रानाभाटले जानकारी दिनुभयो । दक्ष जनशक्तिको कमी, आधुनिक उपकरणको अभाव, बजेट कमलगायत कारणले डढेलो नियन्त्रणमा समस्या हुँदै आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वनमा डढेलो लगाउनेलाई नियन्त्रणमा लिएर कारबाही गर्न पनि सकेका छैनौँ, लुकिछिपी डढेलो लगाउँदा पहिचान खुलाउनै गाह्रो भइरहेको अवस्था छ ।” उहाँका अनुसार जिल्लाभर छ सय २५ सामुदायिक वन छन् ।

सामुदायिक वनका उपभोक्तालाई डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम भइरहेका छन् । डिभिजन वन कार्यालय र आठ वटा सवडिभिजन कार्यालयमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वन डढेलोले कम्तिमा दश प्रतिशत तापक्रम बढाउने गर्दछ ।

डढेलोबाट भुइँमा झरेका रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने, वनमा लागेको आगो नजिकको गाउँघरमा सरी जनधनको क्षति हुनेलगायत जोखिम रहेका वन अधिकृत श्रेष्ठले बताउनुभयो । गर्मी मौसममा बिडी, चुरोट खाएर जथाभाबी फाल्नाले, वन्यजन्तु भगाउन तथा नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलो झन बढ्दै गएको उहाँको भनाइ छ ।

वन डढेलो नियन्त्रणका लागि तनहुँमा र्यापिड रेस्पोन्स टिम गठन

वन डढेलो नियन्त्रणलाई प्रभावकारी र द्रुत बनाउन तनहुँमा बहुपक्षीय सहभागितासहित ¥यापिड रेस्पोन्स टिम (द्रुत प्रतिकार्य टोली) गठन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको पहलमा वन, प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिसहित उक्त टोली गठन गरिएको हो ।

वन अधिकृत श्रेष्ठको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी गोपाल पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पाठक, सशस्त्र प्रहरी बलका निरीक्षक रामशरण विष्ट, अनुसन्धान अधिकृत रेवन पोखरेल, कालीभञ्जन गण (इ) का सहसेनानी पोखरेन्द्र राना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठ रहनुभएको छ ।

टोली गठनसँगै वन डढेलो लाग्ने बित्तिकै तत्कालै घटनास्थलमा पुगेर नियन्त्रण, उद्धार तथा समन्वय कार्यलाई तीव्र बनाउने लक्ष्य राखिएको छ । विशेषगरी सुख्खा मौसममा डढेलोको जोखिम बढ्दै जाने भएकाले पूर्वतयारी स्वरूप यस्तो टोली गठन गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले वन डढेलो नियन्त्रणमा ढिलाइ हुँदा ठूलो क्षति हुने भएकाले तत्काल प्रतिक्रिया दिने संयन्त्र आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणमा समय सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले विभिन्न निकायबीच समन्वय गरी छिटो परिचालन हुने गरी रेस्पोन्स टिम गठन गरिएको हो ।”

उहाँले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा सर्वसाधारणसँग सहकार्य गरेर सचेतना अभिवृद्धि, निगरानी तथा पूर्वतयारीका कार्यक्रमलाई पनि सँगसँगै अघि बढाइने जानकारी दिनुभयो । “मानवीय लापरबाहीका कारण धेरैजसो डढेलो लाग्ने भएकाले जनचेतना अत्यन्त आवश्यक छ”, उहाँले भन्नुभयो ।

सम्बन्धित निकायहरूको संयुक्त प्रयासबाट वन डढेलो न्यूनीकरणमा प्रभावकारी उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । साथै, टोलीले जोखिमयुक्त क्षेत्रको पहिचान, नियमित निगरानी तथा आकस्मिक अवस्थामा तत्काल परिचालन भई क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख रानाभाटले जानकारी दिनुभयो ।