`

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

दमौली -तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० रुद्राक्षका बिरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालय तनहुँको समन्वय तथा मालागिरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा सुरु गरिएको अभियानले वन संरक्षणसँगै धार्मिक, पर्यावरणीय तथा आर्थिक महत्त्व बोकेको वन क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

सगरमाथा वृक्षरोपण महाअभियानको अवसर पारेर उक्त ठाउँमा रुद्राक्ष रोपण गरिएको कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए उनले सम्भवतः गण्डकी प्रदेशमै पहिलो पटक ठूलो सङ्ख्यामा रुद्राक्ष रोपण अभियान सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार रुद्राक्षका बिरुवा स्थानीय हावापानीअनुसार हुर्काउन सकिने भएकाले यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिइनेछ ।

“रुद्राक्ष धार्मिक आस्थासँग जोडिएको बहुमूल्य वनस्पति हो । यसको संरक्षण, विस्तार र व्यावसायिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो”, रानाभाटले

सामुदायिक वनमा एक हजार सात सय वटा खाडल खन्ने कार्य जेठ महिनाभित्र सम्पन्न गरिएको मालागिरी सामुदायिक वन उपभोक्ता समूहका सचिव सिद्ध खाँडले जानकारी दिए उनका अनुसार सामुदायिक वनमा आबद्ध ८३ घरधुरीका सबै उपभोक्ताको प्रयासमा खाडल खन्ने कार्य गरिनको थियो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले रुद्राक्ष रोपण अभियानले नगरको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उनले वन संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्थानीय नागरिकको आर्थिक समृद्धिमा यस अभियानले योगदान पु¥याउने विश्वास व्यक्त गर्नु ।

“मालागिरी सामुदायिक वनलाई केवल हरियाली संरक्षणमा सीमित नराखी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ”, पण्डितले ।

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

काठमाडौँ । होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि सप्ताहान्तमा उक्त जलमार्गको समुद्री आवागमन उल्लेख्य रूपमा घटेको छ । अमेरिका र इरानबीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता बढेको छ ।

सामुद्रिक अनुगमन संस्था केप्लरका अनुसार शनिबार २९ वटा मालवाहक जहाजले होर्मुज जलमार्ग पार गरेका थिए भने आइतबार यो सङ्ख्या घटेर १२ मा सीमित भएको छ ।

केप्लरका तथ्याङ्कअनुसार १५ जुनपछि मध्यपूर्वमा तनाव बढ्दै जाँदा बुधबार मात्रै ७० वटा जहाजले उक्त जलमार्ग पार गरेका थिए, जुन पछिल्लो अवधिकै उच्च सङ्ख्या हो ।

इरानले स्वीकृत मार्गबाहेक अन्य जलमार्ग प्रयोग नगर्न चेतावनी दिए पनि सप्ताहान्तमा केही जहाजले विभिन्न मार्ग प्रयोग गरेका थिए । केप्लरअन्तर्गतको ‘मरिन ट्राफिक’ वेबसाइटका अनुसार शनिबार बिहान आक्रमण भएको जहाजपछि केही घण्टासम्म जहाजले ओमानको जलक्षेत्र हुँदै दक्षिणी मार्ग प्रयोग गरे पनि त्यसपछि आवागमन सुस्त बनेको थियो ।

उक्त वेबसाइटले सक्रिय ट्रान्सपोन्डर भएका जहाजको मात्र अनुगमन गर्ने भएकाले सिग्नल बन्द गरेका अन्य जहाज पनि जलमार्ग पार गरेको हुन सक्ने जनाइएको छ ।

सप्ताहान्तमा खाडी क्षेत्रबाट बाहिरिनेभन्दा भित्रिने जहाजको सङ्ख्या बढी रहेको केप्लरले जनाएको छ । अघिल्लो साताको तुलनामा यो प्रवृत्ति फरक हो । त्यसबेला खाडी क्षेत्रमा अलपत्र परेका नाविकलाई सुरक्षित बाहिर निकाल्ने प्रयासलाई प्राथमिकता दिइएको थियो ।

संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सञ्चालित करिब ११ हजार नाविकको उद्धार अभियान भने ओमानको खाडीमा भएको जहाजमाथिको आक्रमणपछि बिहीबार स्थगित गरिएको थियो ।

एचएफआई रिसर्चका अनुसार आइतबार चारवटा तेल ट्याङ्कर र एउटा कन्टेनर जहाज अमेरिकी नौसेनाको सुरक्षा व्यवस्थामा ओमानको दक्षिणी मार्ग हुँदै खाडी क्षेत्रमा प्रवेश गरेका थिए । यद्यपि आइतबार खाडीबाट बाहिरिने कुनै पनि जहाजले उक्त मार्ग प्रयोग नगरेको केप्लरले जनाएको छ ।

इरानले सोमबार होर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी विषयमा ओमानसँग पहिलो चरणको छलफल गरेको जनाएको छ । यता अमेरिकाले अन्तरराष्ट्रिय जलमार्ग प्रयोग गरेबापत कुनै पनि प्रकारको ‘ट्रान्जिट शुल्क’ स्वीकार नगर्ने स्पष्ट पारेको छ ।

भेनेजुएलालाई चीनको सहायता

काठमाडाैँ। शक्तिशाली भूकम्पबाट ठुलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। दुई वटा शक्तिशाली भूकम्पका कारण एक हजार ४५० भन्दा बढी मानिसको ज्यान गएपछि बेइजिङले राहत र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा चीन सरकारले भेनेजुएलालाई निःशुल्क आपतकालीन राहत सामग्री उपलब्ध गराउने जानकारी दिए। उनका अनुसार उक्त सहायता भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार कार्य तथा पुनर्निर्माण अभियानलाई सहयोग गर्न प्रयोग गरिनेछ।

गुओले राहत सामग्री सकेसम्म छिटो भेनेजुएला पठाइने बताउँदै प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन र उद्धार कार्यलाई सहयोग पु¥याउन चीनले स्याटेलाइट तस्बिरसमेत उपलब्ध गराइरहेको जानकारी दिए । उनले परिस्थितिअनुसार आगामी दिनमा पनि भेनेजुएलालाई थप सहयोग गर्न चीन तयार रहेको उल्लेख गरे।

यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई शोक सन्देश पठाउँदै विपद्‌बाट प्रभावित जनताप्रति समवेदना व्यक्त गरेका थिए। उनले चीनले राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका थिए।

यसैबिच भूकम्पका कारण आठ जना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। उद्धार टोलीहरू अझै प्रभावित क्षेत्रमा खोज तथा राहत कार्यमा खटिएका छन्।

उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको छ ।

उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा आजदेखि मन्त्रालयमा सर्वसाधारणले सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्ने उद्देश्यले ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको हो । उक्त ‘ड्यासबोर्ड’ बाट अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण वास्तविक समय (रियल टाइम) मै अद्यावधिक हुने छ ।

नेपालमा हालसम्म कति उद्योग तथा कम्पनी दर्ता भएर सञ्चालनमा छन् भन्ने जानकारी सर्वसाधारणले प्राप्त गर्न यसअघि निकै कठिन थियो । ‘ड्यासबोर्ड’ सञ्चालनपछि सहजै उक्त जानकारी प्राप्त गर्न सकिने उद्योग मन्त्रीको सचिवालयले जनाएको छ । यसबाट आगामी आर्थिक वर्षमा प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणसमेत समावेश गर्ने मन्त्रालयको योजना रहेको जनाइएको छ ।

सचिवालयका अुनसार ‘ड्यासबोर्ड’ मा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणाली हेर्न सकिनेछ । अन्य सूचना प्रविधि प्रणाली नभएका निकायको विवरण पनि ‘डाइनामिक फर्म’को माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त प्रणालीलाई एपीआईमार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह

इस्तानबुल। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युरोपका सबै रक्षा तथा सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न र नेटो सदस्य राष्ट्रबीच रक्षा उद्योगसम्बन्धी व्यापारमा रहेका अवरोध हटाउन आग्रह गर्नुभएको छ ।

जुलाई ७ र ८ मा अङ्कारामा हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आयोजित कार्यक्रममा उहाँले युरोपेली सुरक्षामा टर्कीको योगदानलाई बेवास्ता गर्न नहुने बताउनुभयो ।

नेटोका ३२ सदस्य राष्ट्रका संसदीय प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले युरोपेली सुरक्षामा टर्कीको अपरिहार्य योगदानलाई कहिलेकाहीँ उपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

एर्दोगानले टर्की युरोपका सबै रक्षा तथा सुरक्षा पहलमा सहभागी हुन इच्छुक रहेको बताउनुभयो । एर्दोगानले युरोपेली सङ्घको १५० अर्ब युरो बराबरको युरोपका लागि सुरक्षा कार्यक्रममा टर्कीको सहभागिताका लागि समर्थन गर्न सांसदसँग आग्रह गर्नुभयो ।

यद्यपि उक्त कार्यक्रममा टर्कीको सहभागिताका लागि युरोपेली सङ्घका सबै २७ सदस्य राष्ट्रको सहमति आवश्यक पर्ने र ग्रीसले त्यसमा आपत्ति जनाउने सङ्ककेत गरेको छ ।

उहाँले रक्षा उद्योगसम्बन्धी व्यापारमा सदस्य राष्ट्रबीच कायम अवरोध हटाउनुपर्नेमा जोड दिँदै साझा सुरक्षा चुनौती सामना गर्न निष्पक्ष जिम्मेवारी बाँडफाँट आवश्यक रहेको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकापछि नेटोको दोस्रो ठूलो सेना रहेको टर्कीले पछिल्ला वर्षमा आफ्नो रक्षा उद्योग विस्तार गरेको छ । तर रूसबाट एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेपछि अमेरिकाले लगाएको ‘काट्सा’ प्रतिबन्धका कारण टर्कीको रक्षा उद्योग प्रभावित भएको छ ।

सोही विवादका कारण अमेरिकाले टर्कीलाई एफ–३५ लडाकु विमान कार्यक्रममा पनि सहभागी हुनबाट हटाएको थियो। यद्यपि वासिङ्टनले दुई देशबीचको विवाद समाधान गर्ने इच्छा व्यक्त गरे पनि ‘काट्सा’ प्रतिबन्ध हटाउन अमेरिकी कंग्रेसको स्वीकृति आवश्यक पर्ने भएकाले निकट भविष्यमा त्यसको सम्भावना कम रहेको विश्लेषकले बताएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा एर्दोगानलाई सन्तुष्ट पार्ने विषयमा सकारात्मक संकेत दिनुभएको छ ।

विश्लेषकका अनुसार यो टर्कीले विकास गरिरहेको पाँचौँ पुस्ताको ‘कान’ लडाकु विमानका लागि आवश्यक अमेरिकी निर्मित एफ–११० इन्जिन आपूर्तिसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ ।

तरकारी र खसीबोका बिक्रीबाट ८ करोड आम्दानी

पर्वत । महाशिला गाउँपालिकाले सागसब्जी(तरकारी) र खसीबोका बिक्री गरी पछिल्लो २० महिनामा रु ८ करोड आम्दानी गरेको छ । पालिका पर्वत जिल्लाकै सबैभन्दा विकट र सानो हो ।

यहाँस्थित ६ वटै वडाका आठ सय ८३ कृषकले उत्पादन गरेका सागसब्जी, खसीबोका, स्थानीय जातका कुखुरा र दुध बिक्री गरी उक्त आम्दानी भएको पालिकाका अध्यक्ष इशवरी भुसालले बताइन्। उत्पादित कृषिजन्य बस्तु सदरमुकाम कुश्मा, छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गरिन्छ।

महाशिलामा उत्पादित सागसब्जी र खसीबोका किन्न पोखराको बिरौटामा रहेका तरकारी पसलमा बिहानैदेखि उपभोक्ता कुरेर बसेका हुन्छन्। गाउँमा उत्पादित स्थानीय जात स्वस्थ्यकर हुने भन्दै ग्राहकको पहिलो रोजाइँ महाशिलाकै उत्पादन बन्ने गरेको पूर्व अध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिइन्।

पालिकाले सागसब्जीमा प्रतिकिलो रु पाँच मासुजन्य वस्तुमा रु २५ तथा दुधमा प्रतिलिटर रु दश अनुदान दिँदै आएको छ। कृषकको उत्पादनको यकिन मापन गर्ने कार्यका लागि गाउँपालिकाभित्रका मुख्य टोलमा ३३ वटा तराजु वितरण गरिएको छ।

कृषकको गोठको भकारो सुधार र बाख्राको खोरसुधार कार्यमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गरिएपछि ब्यावसायिक कृषिमा लाग्ने कृषकको आकर्षण बढेको छ। तरकारीखेतीमा लागेका यहाँका हरेक कृषकले न्यूनतम रु दुई लाखदेखि रु दश लाखसम्म आम्दानी गरेका छन्।

उत्पादन सङ्कलनका लागि दुई जना बजार प्रतिनिधि पालिकाले नियुक्त गरेको छ। उनले कृषकको घर घर पुगी उत्पादन सङ्कलन गर्ने गर्नेगरेका छन्। पालिकाले पूर्णरुपमा कृषिमा आश्रित परिवार र व्यवसायले लिने कृषि ऋणमा लाग्ने ब्याजमा निश्चित अनुदान प्रदान गर्ने कार्यक्रम समेत सञ्चालन गरेको छ।

रास्वपा महाधिवेशन : चितवनका नेता खुसी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सफलतापूर्वक सम्पन्न भएको भन्दै जिल्लाका नेताले खुसी व्यक्त गरेका छन् । स्थानीय व्यवस्थापन सम्हाल्हेका रास्वपाका जिल्लास्तरीय नेताहरुले महाधिवेशनस्थल भरतपुरमा गर्ने निर्णय भएसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा चितवनले व्यापक रुपमा प्रचारप्रसार पाएको बताए ।

पार्टीको उर्वरभूमि चितवनलाई प्राथमिकता दिई यहाँ महाधिवेशन गर्ने अवसर प्रदान गरेकामा पार्टी नेतृत्वलाई धन्यवाद दिँदै उनीहरूले गर्मीका बाबजुद सबैको साथ सहयोग प्राप्त गरी पहिलो महाधिवेशन सफल बनाउन आयोजक जिल्लाका तर्फबाट कुनै कसुर बाँकी नराखेको दाबी गरे ।

महाधिवेशनमा आवास र खानपानको व्यवस्थापनको संयोजन गरेका राजन गौतमले चितवन रास्वपाले ऐतिहासिक अवसर प्राप्त गरेको बताए । उनले भने, “झण्डै एक साता देशभरका रास्वपाका नेता, कार्यकर्ता तथा शुभेच्छुक यहाँ बस्दा जिल्लाको समग्र अर्थतन्त्र गतिशील भई जिल्लावासी लाभान्वित भएका छन् ।” चितवनको भूमिले रास्वपाको पहिलो महाधिवेशन गरेर नीति र नेतृत्व चयन गर्ने अवसर पाएको उनले बताए ।

प्राविधिक कारणले महाधिवेशन लम्बिँदा पनि खानपान र आवासमा कुनै कमजोरी हुन नपाएको भन्दै नेता गौतमले भने, “गर्मीका कारण उत्पन्न समस्याबाहेक अरू भएजस्तो लाग्दैन । यस अवसरमा महाधिवेशन अवधिभर अहोरात्र खटिने सबै नेता, कार्यकर्ता, शुभेच्छुकलाई धन्यवाद भन्न चाहन्छु । समग्र चितवनको प्रतिष्ठा बढाउन रास्वपा महाधिवेशन सफल भएको छ ।”

व्यवस्थापनमा खटिनुपर्दा प्राप्त हुनसक्ने पद गुमाउन परको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “चितवनबाहिर महाधिवेशन भएको भए केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिन्थेँ होला, भ्याइनभ्याइ व्यवस्थापनमा कुद्नु पर्दा केन्द्रीय सदस्यमा पनि मनोनयन दर्ता गर्न सकिएन ।” साथीहरूको जोडबल रहे पनि व्यवस्थापन कमजोर हुने चिन्ताले उम्मेदवारी दिइन्, मैले पाइनँभन्दा पनि महाधिवेशन सफल भएकामा खुसी छु ।”

यसैगरी जिल्ला सभापति मिनीमाधव खनाल केन्द्र र जिल्लाको टिम अहोरात्र खटिएकै कारण महाधिवेशन सफल भएको बताउँछन् । महाधिवेशन अवधिभर दिनरात, भोकतिर्खा नभनीकन काम गरेकाले नै महाधिवेशन सफल भएको स्पष्ट गर्दै उनले भने, “चितवनले नयाँ नेतृत्व र नीति बनाएर पठाएको छ, यसमा हामी गौरवान्वित छौँ ।”

देशभरका रास्वपाका नेता तथा कार्यकर्ताले चितवनको राजनीतिसँगै पर्यापर्यटन र समग्र परिस्थितिको अवलोकन गर्न पाएको भन्दै जिल्ला सभापति खनालले चितवनले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न भएको छ, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै धन्यवादका पात्र हुने बताए ।

जिल्ला सचिव तेजेन्द्र पौडेलले केन्द्रीय पदाधिकारीमा चितवनका तीन वटै संसदीय क्षेत्रका प्रतिनिधि निर्वाचित हुनु हामी चितवनवासीका लागि गौरवका विषय भएको बताए । उनले भने, “हामी जिल्लावासीको पहुँच केन्द्रीय पदाधिकारीसँगै सरकारका मन्त्रीहरुसम्म सहज भएको छ । चितवनमा सम्पन्न ऐतिहासिक महाधिवेशनपछि रास्वपा अझ सुदृढ, परिपक्व र राजनीतिक रुपमा अझ चलायमान भएको छ ।”

गृहमन्त्री गुरुङ र गृहसचिव श्रेष्ठकै गाडीबाट हटाइयो कालो सिसा

काठमाडौं ।गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ कै गाडीबाट कालो सिसा हटाइएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज गृहमन्त्री गुरुङ र गृहसचिव श्रेष्ठले प्रयोग गर्दै आएका सरकारी सवारीसाधनबाट जडान गरिएको कालो सिसा हटाएको हो ।

कानुनको समान रूपमा कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले सरकारी तथा निजी सबै प्रकारका सवारीसाधनमा अवैध रूपमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा मान्यता दिएपछि अजरबैजानले त्यसप्रति गम्भीर असन्तुष्टि जनाएको छ । टर्कीको निकट सहयोगी अजरबैजानले यो निर्णयले क्षेत्रीय मेलमिलाप र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ ।

अजरबैजानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलको निर्णयलाई गम्भीर चिन्ताको विषय भन्दै यसले विद्यमान विभाजनलाई अझ गहिरो बनाउन सक्ने उल्लेख गरेको छ । मन्त्रालयले इजरायली सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

आर्मेनियाले सन् १९१५ देखि १९१७ सम्म ओटोमन साम्राज्यकालमा करिब १५ लाख आर्मेनियालीको मृत्यु भएको घटनालाई नरसंहारका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन लामो समयदेखि प्रयास गर्दै आएको छ । टर्कीले भने उक्त आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ । अङ्काराको भनाइमा प्रथम विश्वयुद्धका क्रममा आर्मेनियाली र तुर्क दुवै समुदायका मानिसहरू मारिएका थिए र मृत्यु हुनेको सङ्ख्या आर्मेनियाले दाबी गरेभन्दा कम रहेको छ ।

अमेरिका, फ्रान्स र जर्मनीसहित दुई दर्जनभन्दा बढी देशहरूले यस घटनालाई नरसंहारका रूपमा मान्यता दिइसकेका छन् । तर इजरायलले लामो समयसम्म यस्तो मान्यता दिनबाट जोगिँदै आएको थियो । यसको मुख्य कारण टर्कीसँगको रणनीतिक सम्बन्धलाई मानिएको थियो ।

गाजामा युद्ध सुरु भएयता टर्की र इजरायलबीचको सम्बन्ध चिसिएको छ । टर्कीले गाजामा इजरायलले नरसंहार गरेको आरोप लगाउँदै आएको छ भने इजरायलले ती आरोप अस्वीकार गरेको छ । विश्लेषकहरूले इजरायलको पछिल्लो निर्णयलाई टर्कीप्रति राजनीतिक सन्देशका रूपमा पनि हेरेका छन् ।

अजरबैजान र इजरायलबीच रक्षा तथा सुरक्षा क्षेत्रमा घनिष्ठ सहकार्य रहँदै आएको छ । यद्यपि अजरबैजानको सबैभन्दा निकट साझेदार टर्की भएकाले इजरायलको यो निर्णयले त्रिपक्षीय सम्बन्धमा असर पार्न सक्ने सङ्केत देखिएको छ ।

यसैबीच, दशकौँदेखि काराबाख क्षेत्रलाई लिएर विवादमा रहेका अजरबैजान र आर्मेनियाबीच पछिल्ला महिनाहरूमा तनाव कम हुँदै गएको छ । दुवै देशले विस्तृत शान्ति सम्झौताको दिशामा वार्ता अघि बढाइरहेका बेला इजरायलको यो निर्णयले क्षेत्रीय कूटनीतिमा नयाँ बहस सिर्जना गरेको छ ।

पूर्वउपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ – विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज दोस्रो पटक तीन दिन म्याद थप भएको छ ।”

नेकपा (एमाले) का उपाध्यक्षसमेत रह का पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार

अफगानिस्तानमा गत एक वर्षमा लागूऔषधको लतमा परेका ४५ हजारभन्दा बढी व्यक्तिले उपचार पूरा गरी परिवारसँग पुनर्मिलन गरेको अफगान जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लागूऔषध नियन्त्रण तथा जनचेतनासम्बन्धी एक कार्यक्रममा मन्त्रालयअन्तर्गतको राष्ट्रिय लागूऔषध लत उपचार कार्यक्रमका निर्देशक अल–हाफिज इनामुल्लाह अम्मरले ४५ हजारभन्दा बढी दुव्र्यसनीले उपचार सेवा प्राप्त गरेको जानकारी दिनुभयो । उहाँका अनुसार करिब तीन लाख व्यक्ति लागूऔषध दुरुपयोग रोकथामसम्बन्धी जनचेतनामूलक अभियानबाट लाभान्वित भएका छन् ।

‘देशभर लागूऔषध नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउँदै उपचार सेवा विस्तार गर्न सरकार प्रतिबद्ध छ,’ अम्मरले भन्नुभयो ।

मन्त्रालयका उपचारात्मक औषधि महानिर्देशक वाहदत अलोकोजेका अनुसार हाल अफगानिस्तानभरका करिब ६७ अस्पतालबाट लागूऔषध दुव्र्यसनीको उपचार सेवा उपलब्ध गराइँदै आएको छ ।

अमेरिका र उसका सहयोगी राष्ट्रहरूको सैन्य उपस्थितिका क्रममा अफगानिस्तान विगत दुई दशकसम्म अफिम र हेरोइनको प्रमुख विश्व उत्पादकमध्ये एक बनेको थियो । त्यस अवधिमा लाखौँ व्यक्ति लागूऔषधको लतमा फसेका थिए, जसका कारण गरिब मुलुक अफगानिस्तानले अहिले पनि गम्भीर सार्वजनिक स्वास्थ्य तथा सामाजिक चुनौती सामना गरिरहेको छ ।

भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५र७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ । आयोगले गरेको अध्ययनअनुसार छवीसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि रु ४५ लाख बराबरको रकम विनियोजन भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको बजेट तथा कार्यक्रमसहितको पत्रबमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र बेरुजु फछ्र्यौट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो ।

स्वीकृत लागत अनुमान रु ५६ लाख सात हजार ८९७ मध्ये उपभोक्ता सहभागिता रु ११ लाख सात हजार ८९७ र कन्टिन्जेन्सीतर्फ रु दुई लाख २५ बराबरको बजेट थियो । निर्माण भएकोभन्दा बढी काम भएको देखाई अस्वाभाविक दर राखी र सम्झौता बमोजिमको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल भरपाईका आधारमा रु २२ लाख एक हजार ६६५ बराबरको रकम भुक्तानी गरेको आयोगको भनाइ छ ।

आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इञ्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहराविरुद्ध रु २२ लाख एक हजार ६६५ बराबरको बिगो माग दाबी गरेको छ ।

छविसपाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडा नं ६ का वडाअध्यक्ष मोहनलाल विकविरुद्ध पनि समान बिगो बराबरको मागदाबी गरिएको छ । बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि समान बिगो र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक छ – राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन् ।

आज २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना गर्दै उनले भने “कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिन्छ ।”

“श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ । जीवन धान्नका लागि मात्र कृषि पेसा होइन, अब व्यावसायिक कृषितर्फ लाग्न म सबैलाई आह्वान गर्दछु । यसका लागि सम्बन्धित निकायले त्यसतर्फ ध्यान देओस् भन्ने चाहन्छु”, उनले भने ।

धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको बताए । हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने उनको भनाइ छ ।

“जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो मागअनुसारको धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो”, उनले भने ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण आफ्नै देशमा धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने आदर्श वाक्यका साथ यो दिवस मनाइँदै छ ।

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । साथै, कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्नेसम्बन्धी नीति पनि संविधानमा व्यवस्था छ । धान हाम्रो प्रमुख खाद्यान्न बाली भएकाले यसको हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्त्व पनि रहेको राष्ट्रपतिको भनाइ छ ।

कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्ने बताएका छन् ।राष्ट्रिय धान दिवस अवसरमा शुभकामना व्यक्त गर्दै उनले श्रमजीवी किसानहरूको मेहनत, पसिना र समर्पणले राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण गरेको बताए ।

‘कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो । हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ,’ उनले भने, ‘रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन् ।’

उनले रोपाइँको मुख्य समयमा पनि किसानहरूले पर्याप्त मल, गुणस्तरीय बीउबिजन, सिँचाइ तथा अन्य आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको बताए । उनले सरकारलाई किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे ।

उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो

उदयपुर । चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ ।

कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए । प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।

यस्तै, हात्तीले स्थानीयको घरको अन्नपातसमेत खाएको छ । राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनुभयो । हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ ।

कोशीटप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र ४५ चोक आसपास क्षेत्रको जङ्गलमा रहेको बताइएको छ । अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताए ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ १६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०० पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५२ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८२ पैसा र बिक्रीदर नौ रुपैयाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ११ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौँ – दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस रङ्गशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो ।

यससँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो । क्यानडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो ।

क्यानडा समूह ‘बी’ मा दोस्रो तथा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो, स्थानीय आतंकित

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ ।

भारततर्फबाट छावा (हात्तीका बच्चा)सहित आएका जङ्गली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन् । दैनिक ४० देखि ५० वटाको सङ्ख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन् । छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर कुन अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको स्थानीयवासीको भनाइ छ ।

हात्तीको आतङ्कका कारण अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउनसमेत नसकिरहेको अवस्था छ । बाटोमै हात्ती भेटिने डरले बालबालिकाको पढाइ प्रभावित भएको छ । किसानहरू असारको हिलोमा धान रोप्न छाडेर ज्यान हत्केलामा राख्दै दिनभर हात्ती धपाउन हिँडिरहेका छन् । स्थानीय युवाहरू, गाउँले र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानतर्फ धपाउने प्रयास त गरिरहेका छन्, तर यो प्रयास ‘अल्पकालीन’मात्र सावित भएको छ ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर फिल्डमा खटिएको बताए । उनले भने, “हामीले स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा साइरन बजाएर हात्तीलाई बस्ती तथा चियाबारीबाट भारततर्फ धपाउने काम गरिरहेका छौँ । यो समस्या स्थानीय तहको एकल प्रयासले मात्र हल हुन सक्दैन, यसका लागि सङ्घीय सरकारले नै ठोस कदम चाल्नुपर्छ ।”

लामो समयदेखि समस्या झेल्दै आएका बाहुनडाँगीका स्थानीयवासी नीलकण्ठ तिवारीले आक्रोश र दुखेसो पोख्दै भने, “धनजन जोगाउन मुस्किल पर्न थाल्यो भनेर प्रधानमन्त्रीलाई समेत मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापनपत्र बुझायौँ । तर सुनुवाइ भएन ।”

बाहुनडाँगी र हात्तीबीचको द्वन्द्व दशकौँदेखि छ । भारतको आसाम र पश्चिम बङ्गालबाट नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवतजावत गर्ने परापूर्वकालदेखिको प्राकृतिक बाटो (करिडोर) हो । मानव बस्ती विस्तार र वन फडानीका कारण हात्तीको बाटोमा अवरोध पुगेपछि उनीहरू गाउँ पस्न थालेका हुन् ।

हात्ती रोक्न सीमा क्षेत्रमा करोडौँको लागतमा लगाइएको विद्युतीय तारबार (फेन्सिङ) धेरै ठाउँमा जीर्ण भएको छ भने हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिल्याइसकेका छन् । त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा (बाँस, सिरु, केरा) नहुनु र गाउँमा थन्क्याइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुन्छन् ।

स्थानीयस्तरमा साइरन बजाएर वा केहीबेर धपाएरमात्र यो समस्या समाधान हुँदैन । यसका लागि नेपाल र भारत दुवै देशका सरकारबीच ‘क्रस–बोर्डर’ (सीमापार) समन्वय गरी हात्तीको पुरानो करिडोरलाई व्यवस्थापन गर्न जरुरी छ । तत्कालका लागि स्थानीय प्रशासनले फेन्सिङको मर्मत गर्ने, प्रभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने र किसानलाई उचित क्षतिपूर्तिको ग्यारेन्टी नगरे बाहुनडाँगीमा मानवीय सङ्कट आउन सक्ने देखिन्छ ।

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर। भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार गत वैशाखयता अढाई महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा तीन महिला र १२२ पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अढाइ महिनाको अवधिमा लागुऔषधसम्बन्धी ६७ मुद्दा दर्ता भएको जानकारी दिए ।

कञ्चनपुर प्रहरी, सशस्त्र प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोले यहाँ दैनिक लागुऔषधको अवैध कारोबारी, प्रयोगकर्तालाई लागुऔषधसहित धमाधम कानुनी कारबाहीको दायरामा ल्याइरहेको छ ।

पछिल्लो समय भारतसितको खुला सीमानाका भएका कारण पनि यहाँ भारतबाट लुकीछिपी विभिन्न किसिमका लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको प्रहरीको बुझाइ छ । पछिल्ला केही वर्षयता यहाँ लागुऔषधमा खैरो हिरोइनको अवैध कारोबार हवात्तै बढेको पाइन्छ । प्रहरीका अनुसार यहाँको कारागारमा ३५ प्रतिशतभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले प्रहरीले जिल्लाभरका प्रहरी युनिटलाई लागुऔषध न्यूनीकरणका लागि सक्रिय बनाएको बताए ।

“हामीले समाजमा लागुऔषधको नियन्त्रणका लागि संलग्नलाई कारबाही र समाजमा विभिन्न ठाउँमा सचेनताका कक्षा पनि सञ्चालन गरिरहेका छौँ”, उनले भ यो, “प्रहरी र स्थानीय प्रशासनसँगै यसको नियन्त्रणका लागि स्वयं अभिभावक र स्थानीय पालिकाहरू पनि गम्भीर हुनुपर्ने अवस्था आइसकेको छ ।” उनले वडा/टोल तहसम्म लागुऔषध नियन्त्रण र यसको रोकथामका लागि हुने सचेतनामूलक अभियानमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिए।

उनले अढाइ महिनामा लागुऔषध मुद्दामा मात्रै पक्राउ सङ्ख्या अत्यधिक रहेको बताए । “खैरोहिरोइन २१५ ग्राम, ६२१ मिलिग्राम बरामद भएको छ”, उनले भ , “चरेस, ट्रामाडोल, फेनारगन र एम्पुललगायत लागुऔषध प्रहरीले बरामद गरेको छ ।

असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

धान दिवस

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।

भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ

काठमाडाैँ । इराकी सुरक्षा निकायले भ्रष्टाचार विरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

हालै प्रधानमन्त्री नियुक्त भएका अली अल–जैदीले पदभार ग्रहण गरेसँगै भ्रष्टाचार नियन्त्रण र राज्यको सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको नेतृत्वमा सञ्चालन गरिएको यो अभियान आगामी महिना हुने अपेक्षित संयुक्त राज्य अमेरिकाको भ्रमणअघि सुरु गरिएको हो।

सरकारी समाचार संस्था आईएनएका अनुसार भ्रष्टाचारसम्बन्धी आरोपमा पक्राउ परेकामध्ये संसद्का सदस्य, विभिन्न सरकारी अधिकारी तथा तेल मन्त्रालयका कम्तीमा एक अधिकारी रहेका छन्।

आइतबार बिहान बग्दादस्थित उच्च सुरक्षा व्यवस्था रहेको ‘ग्रीन जोन’ तथा राजधानीका अन्य क्षेत्रमा आतंकवादविरोधी एकाइसहितका सुरक्षा बलले छापा मारेपछि पक्राउ प्रक्रिया सुरु भएको थियो ।

ग्रीन जोनमा अमेरिकी दूतावास, अन्य कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्थाका कार्यालय तथा सरकारी निकाय रहेका छन्। उच्चपदस्थ सरकारी अधिकारी र राजनीतिज्ञहरूको आवास पनि यही क्षेत्रमा छ ।

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सुरक्षा बललाई बख्तरबन्द सवारीसाधनसहित ग्रीन जोनका विभिन्न स्थानमा परिचालन गरिएको देखिएको छ ।

बग्दादस्थित एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार प्रधानमन्त्री जैदीको भ्रष्टाचारविरुद्धको अभियानलाई उनको वासिङ्टन भ्रमणको तयारी तथा सुधारप्रतिको प्रतिबद्धता प्रदर्शनका रूपमा पनि हेरिएको छ।

यसैबिच इरानी विदेशमन्त्री अब्बास अराघचीको बग्दाद भ्रमणसँगै उक्त अभियान सञ्चालन गरिएको हो । उहाँले नयाँ इराकी सरकारसँग सबै क्षेत्रमा सहयोग विस्तार गर्न तेहरान प्रतिबद्ध रहेको बताए।

इराक लामो समयदेखि आफ्नो छिमेकी इरान र संयुक्त राज्य अमेरिकाबीचको प्रतिस्पर्धी प्रभावको सन्तुलन कायम गर्ने प्रयासमा रहेको छ। एक सुरक्षा अधिकारीका अनुसार पछिल्लो अभियान भ्रष्टाचार नियन्त्रणका साथै अवैध वित्तीय कारोबार, अमेरिकी डलर तथा इरानी तेल तस्करीमा संलग्न समूह विरुद्धको व्यापक कारबाहीको पनि हिस्सा हो।

‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान

काठमाडाैँ । ‘द चेक रिपब्लिक’ आइतबार ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गर्दै नयाँ कीर्तिमान कायम भएको छ । यो लगातार दोस्रो दिन उच्चतम तापक्रमको नयाँ कीर्तिमान बनेको हो ।

चेक मौसम विज्ञान संस्थान (सीएचएमआई)का अनुसार प्रागको उत्तरमा रहेको डोक्सानीस्थित आधिकारिक मौसम केन्द्रमा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

संस्थानले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको जानकारीमा आधिकारिक मौसम केन्द्रको सञ्जालमा पहिलो पटक ४१ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अभिलेख गरिएको जनाएको छ । तापक्रम अझै बढिरहेको जनाउँदै यसले रेकर्ड अझै माथि जान सक्ने उल्लेख गरेको छ ।

यसअघि शनिबार पनि डोक्सानीमा ४० दशमलव ९० डिग्री सेल्सियस तापक्रम मापन भएको थियो, जसले १४ वर्षअघिको रेकर्ड तोडेको थियो । युरोपका अधिकांश मुलुक झैँ ‘द चेक रिपब्लिक’ पनि पछिल्ला दुई सातादेखि तीव्र गर्मीको लहरबाट प्रभावित छ । मौसमविद्हरूले आइतबार गर्मी चरम अवस्थामा पुग्ने तथा साँझतिर पश्चिमी ‘द चेक रिपब्लिक’ केही क्षेत्रमा शक्तिशाली हुरी तथा वर्षाको सम्भावना रहेको बताएका छन् ।

आइतबार दुई वटा मौसम केन्द्रमा दिउँसो करिब एक घण्टामै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो, जुन शनिबारको तुलनामा करिब दुई घण्टा अगाडि हो ।

सीएचएमआईले प्राग र आसपासका क्षेत्रमा अत्यधिक गर्मीका कारण जमिन सतहमा ओजोनको मात्रा बढेर धुवाँको जोखिम देखिएकाले चेतावनी जारी गरेको छ । संस्थानले विशेषगरी दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई अनावश्यक शारीरिक श्रम नगर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती । बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तीन दिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री तथा रु २५ लाख बराबरको कारोबार भएको छ ।

हेटौँडा महानगरपालिका–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा सञ्चालित महोत्सवमा हेटौँडा तथा आसपासका क्षेत्रका उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको हेटौँडा उपवमहानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले जानकारी दिए।

स्थानीय उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादनप्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ ।

स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानलाई उचित बजार उपलब्ध गराउने तथा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्न महोत्सव प्रभावकारी भएको रेग्मीले बताए।

सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम। मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमनलगायत सेवा प्रदेशभित्रै कार्यान्वयन गर्ने भएको छ।सङ्घीय सरकारले रु २५ करोडसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमन तथा प्रशासनिक अधिकार मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले उद्योग दर्ता, नवीकरण, नियमनलगायत सेवा अघि बढाएको हो।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट स्पष्ट रूपमा गरेको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ ले निश्चित मापदण्डभित्रका उद्योगको प्रशासनिक जिम्मेवारी प्रदेश सरकारलाई दिने व्यवस्था गरेको थियो ।

तर कानुनी व्यवस्था भए पनि त्यसको कार्यान्वयन सात वर्षभन्दा बढी समयसम्म हुन नसक्दा उद्योगी–व्यवसायी सामान्य प्रशासनिक कामका लागि काठमाडौँस्थित उद्योग विभाग धाउन बाध्य थिए । यसले सेवा प्रवाहमा ढिलाइ, अतिरिक्त खर्च र प्रशासनिक जटिलता सिर्जना गरेको थियो।

उद्योग विभागबाट मधेस प्रदेशअन्तर्गत रहेका १८८ उद्योगका अभिलेख प्रदेश सरकारलाई हस्तान्तरण भएसँगै अब ती उद्योगसम्बन्धी सेवा प्रदेशबाटै सञ्चालन मधेस प्रदेश सरकारअन्तर्गत उद्योग विभाग वीरगञ्जका निमित्त निर्देशक रीना साहले जानकारी दिइन्।

“उद्योगका फायलहरू विभागमा हस्तान्तरण भइसकेको छ”, निमित्त निर्देशक साहले भनिन्, “सङ्घीय सरकारको उद्योग विभागबाट प्रदेश मन्त्रालयमार्फत हस्तान्तरण भएका उद्योगको फायलहरू हामीले अध्ययन गरिरहेका छौँ, अध्ययन गरेर सेवा प्रवाहलाई अघि बढाउने तयारीमा जुटेका छौँ ।” पहिलो चरणमा कार्यालयबाट दर्ता, नवीकरण, लगत कट्टालगायतको काम सुरु गर्छाैँ र त्यसपछि अनलाइन प्रणालीबाट पनि सेवा प्रवाह गर्ने निमित्त निर्देशक साहको भनाइ छ।

प्रदेश सरकारको पहुँच बढेसँगै उद्योग दर्ता, नवीकरण तथा नियमनका प्रक्रिया थप छरितो र सहज हुने अपेक्षा गरिएको छ । यसबाट सेवा प्रवाहलाई नागरिकको नजिक पुर्‍याउने सङ्घीय शासनको मूल मर्मलाई व्यवहारमा उतार्ने विश्वास गरिएको छ।

सङ्घीय शासन व्यवस्थाको उद्देश्य केवल राजनीतिक अधिकार बाँडफाँट गर्नुमात्र नभई विकास र सेवा प्रवाहलाई विकेन्द्रीकरण गरेकाले प्रदेशबाट उद्योग दर्ता, नवीकरण लगायतका सेवा सुरु गर्न लागिएको मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले बताए।

नागरिकले आफ्नो प्रदेशमै आवश्यक सेवा पाउने व्यवस्था हुँदा प्रशासनिक दक्षता बढ्नुका साथै सरकारप्रतिको विश्वाससमेत मजबुत हुने उनले बताए। यसबाट प्रदेश सरकारलाई आर्थिक विकासको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ ।

उद्योग प्रशासन आफ्नै मातहत आएपछि प्रदेशले उद्योगमैत्री नीति कार्यान्वयन, लगानी प्रवर्द्धन, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई स्थानीय आवश्यकताअनुसार अघि बढाउन सक्ने सचिव घिमिरेको भनाइ छ ।

यद्यपि अधिकार हस्तान्तरणसँगै प्रदेश सरकारको जिम्मेवारी बढेको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति, सूचना प्रविधिमा आधारित प्रशासन, पारदर्शी कार्यप्रणाली र उत्तरदायी संस्थागत संयन्त्र निर्माण आवश्यक हुन्छ।

सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ ।अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा स्वीकृत भएको हो ।

सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि सङ्घीय संसद्को विधेयक शाखामा प्रस्ताव पेस गर्न आग्रह गरिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सहकारीबाट पीडितको रकम फिर्ता गराउन विधेयक ल्याइएको बताइन्। उनले सहकारी समस्यालाई वास्तविक रूपमै समाधान गर्न सरकार कटिबद्ध भएको बताउँदै विगतकै सरकारको योजनाअनुसार चक्रीय राहत कोष खडा गरिएको जानकारी दिइन्।

छलफलमा सांसदहरू नरेन्द्रकुमार केरूङ, अशोककुमार चौधरी, समीक्षा बास्कोटा, बासना थापा, गङ्गालक्ष्मी अवाल, खड्कबहादुर शाही, हरिमोहन भण्डारी, गणेशबहादुर विश्वकर्मा, वलावती शर्मा, बदनकुमार भण्डारी, साजिदा खातुन सिद्धिकीले भाग लिएका थिए।

सांसदहरूले सहकारीलाई आर्थिक रूपान्तरणको खम्बाका रूपमा स्थापित गर्दै यसलाई व्यवस्थित र पारदर्शी गर्नुपर्ने बताए। उनीहरूले सहकारी ठगीमा परेर दैनिक गुजारामा चल्नुपर्ने व्यक्तिहरू मारमा परिरहेका सन्दर्भमा पीडितहरूलाई राहत र क्षतिपूर्ति दिन कानुनी संशोधन आवश्यक भएकामा जोड दिए।

सहकारी ठगी गर्ने जोसुकैलाई कानुनी कारबाही गर्न खुट्टा नकमाउन आग्रह गर्दै उनीहरूले चलिरहेको संसद् स्थगन गराएर अध्यादेशबाट विधेयक ल्याउने प्रवृत्ति अन्त्य गर्न पनि माग गरे।

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ।काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु दुई लाख २३ हजार पाँच र २२ बुक ताससहित पक्राउ गरेको हो।

यस्तै चितवन, भरतपुर महानगरपालिका–३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ८० हजार ४६५ र चार बुक ताससहित पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ ।

महाशाखाले आइतबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूलासाना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपास निर्माण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त भएको हो। फ्रान्सेली टेलिभिजन बिएफएमटिभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर रहेका छन्।

दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले घटनाको वास्तविक समयमै निगरानी तथा समन्वय गर्न विभागीय सञ्चालन केन्द्र सक्रिय पारिएको जानकारी दिएका छन्। यसमा सबै सम्बन्धित उद्धार तथा आपतकालीन सेवाहरू परिचालन गरिएको जनाइएको छ।

राष्ट्रिय प्रहरीले उद्धार तथा सुरक्षाकर्मीलाई सहज रूपमा काम गर्न सक्ने वातावरण बनाउन सर्वसाधारणलाई दुर्घटनास्थलमा नजान र त्यस क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारीसाधनमाथि कारबाहीसहित जरिबाना गरेको छ । आइतबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालोसिसा प्रयोग गरेका ती सवारीसाधन चालकलाई जरिबानासहित कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

कार्यालयका प्रमुख काफ्लेका अनुसार कानुनविपरीत सवारीसाधनमा कालोसिसा प्रयोग गर्न नपाइने व्यवस्था रहेकाले नियम उल्लङ्घन गर्ने सवारीमाथि निगरानी बढाइएको हो । “कानुनविपरीत गाडीमा कालोसिसा प्रयोग गर्न पाइँदैन । आज मात्र ५७ वटा सवारीसाधनलाई कारबाहीसहित जरिबाना गरेका छौँ”, एसएसपी काफ्लेले भ ।पछिल्लो समय निजी तथा सार्वजनिक सवारीसाधन, विशेषगरी माइक्रोबस र ट्याक्सीमा कालोसिसाको प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरीले त्यसविरुद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।

प्रहरीका अनुसार कालोसिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले साना हतियार, लागुऔषध, सुन तथा अवैध मुद्राको ओसारपसार, फरार अपराधीको आवतजावत तथा विभिन्न आपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाइएको छ ।

ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुनेगरी कुनै पनि प्रकारको हेरफेर गर्न नपाइने व्यवस्था रहेको जनाएको छ । ट्राफिक प्रहरीले कानुनविपरीत कालोसिसा प्रयोग गर्ने सवारीसाधनमाथि आगामी दिनमा पनि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

गोकर्णेश्वरमा २३औँ धान रोपाइँ महोत्सव: कृष्ण कडेलसहित चर्चित कलाकारको प्रस्तुति, राम थापा अविरल सम्मानित हुने

काठमाडौं। असार १५ को अवसरमा गोकर्णेश्वर नगरपालिका–७ स्थित शिवचोक फाँटमा २३औँ धान रोपाइँ तथा दही–चिउरा कार्यक्रम आयोजना हुने भएको छ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजना, राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल उपत्यका समितिको सहआयोजना, सांस्कृतिक संस्थानको सहकार्य तथा गोकर्णेश्वर नगरपालिकाको समन्वयमा हुन लागेको उक्त कार्यक्रमले नेपाली कृषि संस्कृति, लोकपरम्परा र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।

कार्यक्रममा परम्परागत धान रोपाइँसँगै दही–चिउरा खाने संस्कृतिलाई उत्सवका रूपमा मनाइनेछ। साथै, लोकदोहोरी क्षेत्रका लोकप्रिय कलाकार कृष्ण कडेल सहित इन्द्रणी टिम, रीता थापा मगर, किरणबाबु पुन, राजु परियार, बद्रि पंगेनी, टिका सानु लगायतका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ।

यसै अवसरमा गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी तथा गीतकार राम थापा अविरललाई नगद रु। ५,५५५ सहित सम्मान गरिने कार्यक्रम छ।

आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थाहरूको पनि सहयोग रहनेछ। कार्यक्रममा एक्स्ट्रीम इनर्जी ड्रिंक, इशा फाउण्डेशन, दरबार रोधी क्लब, सोफा हब, गायक प्रकाश कटवाल, समाजसेवी रामकृष्ण बराल, रमेश विश्वकर्मा तथा अनिल सेडाईलगायतको सहयोग रहेको जनाइएको छ।

आयोजकले कृषि संस्कृति, लोकसंगीत र सामाजिक एकतालाई सुदृढ बनाउने यस कार्यक्रममा स्थानीयवासी, सञ्चारकर्मी, कलाकार तथा संस्कृति प्रेमीहरूलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेको छ।

पार्वती फिल्मको गीतमा आकर्षक टिकटक बनाउनेलाई ५० हजार नगद पुरस्कार घोषणा

काठमाडौं । नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘पार्वती’ ले आफ्नो चर्चित गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडियो बनाउने दर्शकहरूका लागि पुरस्कार राशि सहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ। प्रतियोगितामा सहभागी हुनेहरूले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ।

प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने तीन जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिने जनाइएको छ। जसअनुसार प्रथम पुरस्कार रु ५०,०००, दोस्रो पुरस्कार रु ३०,००० र तेस्रो पुरस्कार रु २०,००० रहेको छ। साथै ५ जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट समेत प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा क्याप्सनमा ह्यासट्याग पार्वती ह्यासट्याग भाद्र१२ ह्यासट्याग नौतुना रेलैमा अनिवार्य रुपमा प्रयोग गरेको हुनुपर्ने छ । उत्कृष्ट भिडियो र प्राप्त भ्युज का आधारमा विजेता छनोट गरिने जानकारी दिइएको छ।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्। विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा रमाइलो पारामा प्रस्तुत गरिएको छ। भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन्।

उनीहरूबीचको रमाइलो भिडियोमा हेर्न सकिन्छ। अभिनेत्री नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन्। नीताका साथमा फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको मुख्य अभिनय रहेको छ।निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको डीओपी रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। फिल्मको सम्पादन तथा टिजररट्रेलर साहिल खानले तयार पार्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म ‘पार्वती’ आगामी भदौ १२ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

दाउरा निकाल्ने क्रममा बागमती नदीमा डुबेर रौतहटमा दुई बालकको मृत्यु

रौतहट । रौतहटको गढिमाई नगरपालिकामा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गढिमाई नगरपालिका वडा नम्बर १ हरैया घाट स्थित बागमती नदीमा तैरिरहेको दाउरा निकाल्ने क्रममा डुबेर स्थानीय दुई बालकको ज्यान गएको हो ।

मृत्यु हुनेहरूमा सोही स्थानमा बस्ने वर्ष ८ का आदित्य यादव र वर्ष ८ कै अनिकेस यादव रहेका छन् । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा दुवै जना अचानक गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए ।

बालकहरू नदीमा डुबेर बेपत्ता भएको खबर स्थानीयवासीले गरेलगत्तै उद्धार र खोजतलासका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस समनपुर र नेपाल प्रहरीको संयुक्त टोली तत्कालै घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो ।

नदीको विभिन्न सम्भावित स्थानहरूमा व्यापक खोततलास गर्ने क्रममा दुवै बालक मृत अवस्थामा फेला परेका हुन् । संयुक्त टोलीले दिउँसो ३ः०५ बजे अनिकेस यादव र त्यसको केही समयपछि ३ः५० बजे आदित्य यादवको शव नदीबाट बाहिर निकालेको थियो ।एकै गाउँका दुई अबोध बालकको नदीमा डुबेर असामयिक निधन भएपछि हरैया क्षेत्र र आसपासका स्थानीयवासी शोकमा डुबेका छन् ।

देशभर ११ जिल्लामा बर्डफ्लु, काठमाडौँ उपत्यकामा कागबाट जोखिम बढ्यो

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो ।पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन”, उनले भने, “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।”

महानिर्देशक डा.दाहाल सङ्क्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउँछन् । कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उहाँको भनाइ रहेको छ । “काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन । अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ । कागको सुलिले पनि धेरै नै बर्डफ्लु सार्ने गर्दछ” उनले भने ।

हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । उनका अनुसार अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ ।
महानिर्देशक डा.दाहालले उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकेको छ । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक सङ्क्रामक रोग हो । उनले उपत्यकामा कागमा बर्डफ्लु देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताए ।

विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आइएको छ ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’

काठमाडाैँ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छिन्। मानवताविरूद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

७८ वर्षीय हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उहाँको १५ वर्ष लामो शासन अन्त्य भएपछि छिमेकी भारतमा आश्रय लिइरहेका छन्। त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छिन्। गत जनवरीमा भने उहाँले नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडियोमार्फत सम्बोधन गरेकी थिइन्।

भारतीय टेलिभिजन एनडीटिभीसँगको अन्तर्वार्तामा हसिनाले आफूविरूद्धको फैसला ‘गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित’ भएको दाबी गरिन्। उनले आफू मृत्युदण्डको सजायबाट नडराउने पनि बताइन्।

“मेरोविरुद्ध धेरै षड्यन्त्र गरिए । तर ती सबैलाई पार गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको विकासका लागि काम गरेँ”, उनले भनिन्।

स्वदेश फर्किनेबारे सोधिएको प्रश्नमा हसिनाले भनिन्, “सबै बाधा र षड्यन्त्रलाई पार गर्दै म यसैवर्ष आफ्नो देश फर्कनेछु ।” गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।यसैबीच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगको गतिविधिलाई पनि बङ्गलादेशमा गैरकानुनी घोषणा गरिएको छ।

उता, गत फेब्रुअरीमा बङ्गलादेशमा भएको निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको बताइए पनि हसिनाको सुपुर्दगीको विषयमा दुवै देशबिच मतभेद कायमै छ।
बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीको माग दोहोर्‍याउँदै आएको छ।

रास्वपा महाधिवेशन : चितवनका तीन सांसद पदाधिकारीमा निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्य पदाधिकारीमा निर्वाचित भएका छन्।चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। क्षेत्र नं. ३ की सांसद सोविता गौतम उपसभापति र क्षेत्र नं. १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित उपसभापति डा. स्वर्णीम वाग्लेको घर पनि पूर्वी चितवनमा पर्छ। रत्ननगर नगरपालिका–१४, पिठुवास्थित घरमा उनका बुबाआमा बस्दै आएका छन्।

त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।जिल्लाकै नेताहरू प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यसअघिका केन्द्रीय सदस्य राजन गौतमको नाम पनि केन्द्रीय सदस्यका लागि चर्चामा रहे पनि आवास तथा खाना व्यवस्थापन समितिमा कार्यव्यस्त रहेकाले उनले उम्मेदवारी दिएनन्।

पौडेलले समग्र केन्द्रीय समितिमा चितवनका धेरै नेताको प्रतिनिधित्व भएको बताए। तीनवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य पार्टी पदाधिकारी बन्नु जिल्लाका लागि गर्वको विषय भएको उनको भनाइ छ। उनले मनोनित हुने ५१ सदस्यभित्र पनि चितवनका नेताहरू पर्ने आकलन गरिएको बताए।हालै भरतपुरमा सम्पन्न महाधिवेशनमा देशभरबाट झन्डै १० हजार प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुक सहभागी भएका थिए।

विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पु¥याएका छन् ।

खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका हुन् । डी–बक्सभन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई फउल गरेपछि प्राप्त फ्रिकिकलाई उनले सिधै जाली चुमाउँदै अर्जेन्टिनालाई ३–१ को जित दिलाए ।

जारी विश्वकपमा मेस्सीको यो छैटौं गोल होल हो । यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए । यस गोलसँगै विश्वकप इतिहासमा मेस्सीको कुल गोल संख्या १९ पुगेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने छन् र प्रधानमन्त्रीको तर्फबाट मन्त्री पुनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
अर्थमन्त्री वाग्लेलले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने छन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन प्रतिभा रावलले‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उज्बेकिस्तानविरुद्ध कंगोको सान्दार जित, कोलम्बिया र पोर्चुगल बराबरी 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई पराजित गरेको छ । आइतबार बिहान भएको खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई २-१ ले पराजित गरेको हो ।

६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको ७८औं मिनेटमा फिस्टोन मायेलीले गोल गरे ।

यससँगै डीआर कङ्गो अन्तिम ३२ मा स्थान बनाउने दिशामा अघि बढेको छ ।उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।यसैगरी आज भएको खेलमा कोलम्बिया र पोर्चुगलबीचको बराबरीमा सकिएको छ । दुवै टोली गोलको खोजीमा रहे गाल गर्न सकेनन् ।

नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्दै

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत उनले नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध हुने बताए ।

एकपटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय (Subscribe) गरिरहनुपर्ने आवश्यकता नरहने उनले बताए ।

नेपाल टेलिकमले नयाँ सदस्यता–आधारित प्याकेज तथा यसको शुल्क, सुविधा र अन्य प्रावधानबारे विस्तृत विवरण आज सार्वजनिक गर्ने उनले बताए ।

२४ घण्टामा ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो ।