`

सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६ सयभन्दा बढीले गरे श्राद्ध

काठमाडौँ । सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा ६ सयभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन् । बिहानैदेखि वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवङ्गत पितृको सम्झनामा धार्मिक विधिअनुसार श्राद्ध गर्न पशुपति क्षेत्रमा पुगेका थिए।

पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आएका कलङ्कीका पण्डित शेषकान्त पन्तका अनुसार वर्षाका कारण विगतका वर्षको तुलनामा यस वर्ष पहिलो दिन श्रद्धालुको सङ्ख्या केही कम देखिएको हो।

उनले सोह्र श्राद्ध पितृहरूको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएको उल्लेख गर्दै पहिलो दिनमै वर्षा भएकाले श्रद्धालुको आवागमन प्रभावित भएको बताए। पितृहरूको आत्माको शान्तिको कामना गर्दै सोह्र श्राद्धका अवसरमा विभिन्न धार्मिक तथा तीर्थस्थलमा श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ।

यस अवधिमा विशेषगरी पशुपतिनाथ क्षेत्रमा दिवंगत आफन्तको सम्झनामा धार्मिक कर्मकाण्ड गर्ने श्रद्धालुको बाक्लो उपस्थिति रहने गरेको पण्डित गङ्गाराज दाहालले बताए। उनका अनुसार आजदेखि सुरु भएको सोह्र श्राद्ध औँसीसम्म चल्नेछ।

यस अवधिमा श्रद्धालुहरूले आफ्ना दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा रहिआएको छ। वर्षाका कारण बिहान श्रद्धालुको आवागमन केही प्रभावित भए पनि दिउँसोसम्म पशुपतिनाथ क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदान गर्नेहरूको चहलपहल जारी थियो।

कोटेश्वरबाट श्राद्ध गर्न पशुपति आएका कमल अधिकारीले वर्षा भए पनि तिथिअनुसार श्राद्ध गर्नुपर्ने भएकाले आफूहरू आएको बताउनुभयो । उहाँले सोह्र श्राद्धको अन्तिम दिन श्रद्धालुको उपस्थिति अझ बाक्लो हुने अपेक्षा गरे।

सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल बढेको छ । श्रद्धालुहरूको आगमनसँगै पण्डितहरूलाई पनि श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउन भ्याइनभ्याइ भएको छ।

त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

नुवाकोट । नुवाकोटको त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक कठिनाइ देखिएपछि विदुर नगरपालिकाका चार स्थानमा सञ्चालनमा ल्याइएका तुइन बन्द गरिएका हुन् ।

तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्न बेलकोटगढी नगरपालिकामा पर्ने झोलुङ्गे पुल वा धादिङको गल्छीस्थित पक्की पुल हुँदै आवतजावत गर्नुपर्ने बाध्यता भएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने सम्पूर्ण पुलसहित सडकको पहुँच मार्गसमेत बगाएपछि विदुर नगरपालिकासँगको सहकार्यमा बागमती प्रदेश सरकारले विभिन्न चार स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याएको थियो ।

त्रिशूली नदी वारपारका बस्तीलाई आपसमा जोड्न विदुर नगरपालिका–१ इन्द्रायणीचौरमा दुई ठाउँमा तथा वडा नं ४, वडा नं–१२ जोड्ने सिमचौर, वडा नं ५ र ३ जोड्ने देवीघाटमा एक–एक ठाउँमा तुइन जडान गरिएका थिए ।

निरन्तर वर्षा भइरहेका कारण तुइनका घिर्नी सञ्चालनमा कठिनाइ हुनुका साथै नदी वारपार गर्ने क्रममा बीचमै अड्किन सक्ने जोखिम रहेकाले सञ्चालन रोकिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए ।

“प्राविधिक समस्या र नदीको बहावबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै तुइन सञ्चालन रोकिएको हो”, उनले भने, “मौसम सफा भएर नदीको बहाव घटेपछि पुनः सञ्चालनमा ल्याइनेछ ।”

देवीघाटमा जडान गरिएको तुइनको लठ्ठा बाँधिएको रुखसमेत त्रिशूली नदीको कटानका कारण जोखिममा परेको छ । वडा नं ३ तर्फ लठ्ठा बाँधिएको रुखमा नदीको कटानले क्षति पुर्याएकाले मौसम सफा भएपछि प्राविधिक अध्ययन गरेर मात्र उक्त तुइन सञ्चालनमा ल्याउने तयारी गरिएको प्रमुख थापाले जानकारी दिए ।

भोटेकोशी बाढीपछि देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रोब्रिज सञ्चालनमा ल्याएसँगै धादिङतर्फको आवतजावत केही सहज भएको छ । तर, त्रिशूली नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल पक्की वा अन्य वैकल्पिक पुल निर्माण गर्न नसक्दा नदी वारपारका लागि तुइन नै प्रमुख माध्यम बनेको छ ।

नदी वारपारको एकमात्र साधन तुइन पनि बन्द भएपछि नदीपारिका बस्तीमा बाढीले पुर्याएको क्षति पश्चात पुरिएका घरको भग्नावशष हटाइ खोज तथा उद्धार र राहत वितरणमा समस्या भएको छ । आम उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएको विदुर नगरपालिका–७ का अध्यक्ष रबिन्द्र नेपालले गुनासो गरे ।

नदी पार गर्ने माध्यम नहुदाँ सदरमुकाम विदुरबाट त्रिशूली नदी पारितर्फ रहेको त्रिशूली अस्पताल पुग्न नसक्दा यहाँका बिराम जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । नदी वारपारको सहज माध्यम बन्द हुँदा विदुरबाट त्रिशूली पारीतर्फ विदुरको आठवटा वडा सहित किस्पाङ र म्यागङ गाउँपालिकासँगको आउजाउ रोकिएको छ ।

हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ

मनाङ । हिमाली जिल्ला मनाङस्थित हिम्लुङ हिमालको बेसक्याम्पमा हिमपहिरो खसेको छ ।नेपाल प्रहरीका अनुसार बेसक्याम्प क्षेत्रमा हिमपहिरो गएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार टोली घटनास्थलतर्फ पठाइएको छ । भौगोलिक विकटता तथा प्रतिकूल मौसमकाबीच उद्धार कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

हिमपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयले माग्याे रायसुझाव

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि रायसुझाव उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको छ ।

नेपाल स्काउट विश्व स्काउटका सदस्य रहेकाले विश्व स्काउटका सिद्धान्त तथा मूल्यमान्यतासँग नेपालको मौलिक परम्परा र प्रचलित कानुनलाई समायोजन गर्दै नेपाल स्काउटमार्फत बालबालिका तथा युवालाई विश्व स्काउटका सिद्धान्त र मान्यताअनुरूपको अभियानमा सहभागी गराउन विधेयक आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

बालबालिका तथा युवालाई शारीरिक र नैतिक रूपमा विकास गरी अनुशासित, जिम्मेवार र सेवा भावनाले अभिप्रेरित गराउँदै देश विकासका कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई अझ सक्षम र सङ्गठित बनाउन आवश्यक भएकाले कानुन संशोधन तथा एकीकरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

नेपालको संविधानले सङ्घीय शासन प्रणाली अवलम्बन गरेअनुसार नेपाल स्काउटलाई पनि सङ्घीय ढाँचामा रूपान्तरण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा यसको सञ्चालन तथा व्यवस्थापनमा स्पष्टता कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। संविधानको भाग ६, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत धारा ५१ का नीतिसँग सम्बन्धित विषयलाई ध्यानमा राखी नेपाल स्काउटसम्बन्धी ऐन तर्जुमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

प्रस्तावित विधेयकले नेपाल स्काउटको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै अन्तरराष्ट्रिय दायित्वसमेत पूरा गर्न सहयोग पुग्नेछ । विधायन ऐन, २०८१ को दफा (६) को (२) बमोजिम विधेयकलाई थप प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको जनाइएको छ।

मन्त्रालयले यही असोज ८ गते सार्वजनिक गरेको सूचनामा विधेयकको उद्देश्य, आवश्यकता तथा त्यसबाट पर्ने प्रभावका सम्बन्धमा १५ दिनभित्र सुझाव दिन सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई अनुरोध गरिएको छ।

नारायणीको जलसतह हालसम्मकै उच्च

चितवन । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः १० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३ः ४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ ।

नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उहाँले बताउनुभयो ।

कार्यालयका अभिलेखअनुसार विसं २०८१ असोज १२ गते नारायणी नदीमा उच्चतम जलसतह ११ दशमलव छ मिटर पुगेको थियो । विसं २०८० साउन २९ गते आठ दशमलव ३३ मिटर, विसं २०७९ असोज २० गते नौ दशमलव ५२ मिटर र विसं २०७८ असार २ गते १० दशमलव ५० मिटर उच्चतम जलसतह मापन गरिएको अभिलेखमा उल्लेख छ । उहाँका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो ।

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

स्याङ्जा। अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ। स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेतीखोलाको किनारमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको हो।

चार दिनदेखि निरन्तर रुपमा परेको वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका-५ तर्फको बजारका १७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। त्यस्तै, पर्वततर्फका नौ घरमा क्षति पुगेको गल्याङ-५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए।

“स्याङ्जातर्फका १७ घरमा बाढी पस्दा घरहरू भत्किनुका साथै डुबानमा परेका छन्”, उनले भने, “गएराति २ः०० बजेतिरदेखि नदी तथा खोलामा बहाव बढेसँगै स्याङ्जा र पर्वततर्फका बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम मावि परिसरमा राखिएको छ।”

विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितलाई तत्काल खानपान तथा आश्रयको व्यवस्थापन मिलाइएको उनले बताए। बाढीका कारण मानवीय क्षति नभएपनि केही पशुचौपाया भने नदीले बगाएर लगेको उनको भनाइ छ।

बजार डुबानमा परेपछि अहिले त्यहाँको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण विश्व विराट शालिग्राम शीला डुबानमा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाका सबै ढोका खोलेर विद्युत उत्पादन बन्द गरिएको छ । नदीमा आएको बाढीले आज बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मीलाई जोड्ने मोटरेबल पुलसमेत बगाएको थियो।

कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पुल बगायो

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पुल बगाएको छ । बाढीको बहाव उच्च भएपछि कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पुल बाढीले बगाएको हो ।

बाढी बढेपछि १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलेर विद्युत् उत्पादन पूर्णरूपमा बन्द गरिएको जनाइएको छ ।

तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति

भैरहवा । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मजुवा क्षेत्रमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुगेको छ ।

गए राति तिनाउ नदीको जलसतह सतर्कता तह पार गरेपछि आएको बाढीले स्थानीय दुर्गा बानियाँसहित उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो । बाढीसँगै भएको नदी कटानका कारण नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा समेत आंशिक क्षति पुगेको छ ।

बाढीबाट घरमा क्षति भएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारेर आवश्यक राहत तथा अस्थायी आश्रयको व्यवस्था गरिएको छ ।

तिनाउ नदीको जलसतह बढ्दै गएपछि स्थानीय प्रशासन तथा जल तथा मौसम विज्ञान विभागले नदी किनार, तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । सोहीअनुसार जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जनप्रतिनिधिले बताएका छन् ।

 

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र टाकुर्चे तथा गोदावरी नगरपालिका–६ बिखेन्धारामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला खोटाङ अन्र्तगत मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्न रुपमा अवरुद्ध भएको छ । याङवरक गाउपालीका २ दोभाने खोला स्थित मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्न रुपमा अवरुद्ध भएको छ ।अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–८ पकुचामा समेत पहिरोका कारण अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ ।

यस्तौ, धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको कृष्णभीर, टिङराङखानी तथा जोगिमारा–मझिमटार मोडमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ ।
सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरू बाढी र पहिरोको उच्च जोखिमका कारण बन्द गरिएको छ । ८ गते साँझ ६ बजेदेखि आगामी १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरिएकाले बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सवारी साधन र पैदल यात्री बाहेक अन्य सम्पूर्ण सवारी साधन र मानिसहरूको रात्रिकालीन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ ।

भोजपुर जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्ग लगायत सम्पूर्ण भित्री सडकहरू सम्भावित क्षति रोकथामका लागि बन्द गरिएको छ । ८ गते दिउँसो १६ः४० बजेदेखि अर्को सूचना जारी नभएसम्म बेलुका १९ बजेदेखि बिहान ५ बजेसम्मका लागि अत्यावश्यक सवारी साधन (एम्बुलेन्स, दमकल, खाद्यन्न बोकेका) को हकमा नजिकको प्रहरी इकाईसँग समन्वय गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको छ ।

इलाम जिल्लाका सम्पूर्ण सडकहरू सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ । मेची राजमार्ग, मेची कोरिडोर लगायतका सडकहरूमा ८ गते बेलुका १७ बजेदेखि ११ गतेसम्म बेलुका १९ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

खोटाङ जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ । ८ गते देखि ९ गते सम्म बेलुका १९ बजे देखि बिहान ५ बजे सम्म मध्य पहाडी लोकमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ। यसैगरी, हलेसी तुवाचुङ नपा १ कटुवा स्थित मध्य पहाडी सडक खण्डमा १० गते बिहान ०९ः१५ बजे पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उदयपुर जिल्लाको कटारी—घुर्मी (सिद्धिचरण लोकमाग)सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ । ८ गते देखि १२ गते सम्म बेलुका १७ बजे देखि बिहान ५ बजे सम्म सो सडक खण्डमा सवारी आवागमनमा रोक लगाइएको छ ।

पाँचथर जिल्लाको तुम्वेवा गा.पा. २ नावाखोलामा बाढी आएका कारण तमोर—कोरिडोर सडक खण्ड ८ गते बिहान ८ः५ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी, याङवरक गा.पा. २ दोभान खोला स्थित मध्य पहाडी लोकमार्गमा ९ गते बिहान ०८ः३० बजे पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नारायणी नदीमा बढ्दो जोखिम, जलसतह ११.०६ मिटर पुग्यो

काठमाडौं – चितवनको नारायणी नदीमा जलसतह ११ मिटर पुगेको छ । जलसतह बढेसँगै आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ । नदिको वहाव बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

यस्तै माडिको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको तह मानिन्छ ।

बर्दियामा अविरल वर्षाका कारण तीन घरमा क्षति

बर्दिया – बर्दियामा अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा तीन घरमा क्षति पुगेको छ । घरको भित्ता भत्किँदा बाँसगढी नगरपालिका–८ रेशम टोलमा एउटा बङ्गुरसमेत मरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानबाट ठूलो क्षति हुन नदिन जिल्ला प्रशासन र प्रहरीले उच्च सतर्कता अपनाएको छ । प्रहरीलाई पूर्वतयारी अवस्थामा राखिनुका साथै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन गाउँगाउँमा माइकिङसमेत गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।

दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण बाँसगढी नगरपालिका–८ रेशम टोलका जलबहादुर चौधरीको चारकोठे इँटा, माटोको कच्ची घरको दक्षिणतर्फको भित्ता भत्किएको छ । भित्ता भत्किँदा घरसँगै जोडिएको बङ्गुरको खोर च्यापिएर खोरमा रहेको बङ्गुर मरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मधुवन नगरपालिका–५ का खिरबहादुर गुरुङको चारकोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता भत्किएको छ भने बारबर्दिया नगरपालिका–९ खैरेनीमा दुईकोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको भित्ता भत्किएको छ । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षाका कारण स्थानीय कुला तथा नालामा पानीको सतह बढेपछि गुलरिया नगरपालिका–१ छेदापुर चोकमा पाँचवटा कच्ची घरमा पानी पसेको छ । पानी घरभित्र पसेको जानकारीपछि प्रहरी र वडाका जनप्रतिनिधिको सहयोगमा प्रभावित परिवारलाई उद्धार गरेर छेदापुरस्थित श्री स्वामी प्रमानन्द प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

त्यसैगरी, बढैयाताल गाउँपालिका–१ दैलेखी टोलकी गोमा विकको कच्ची घरमा पनि पानी पसेको छ । वर्षाका कारण प्रभावित परिवारलाई घरका सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । बर्दियामा कर्णाली, गेरुवा र भादा नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा डुबानको जोखिममा पर्ने गरेका छन् । नदीको जलसतह खतराको चिह्न पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क गराउन साइरन बजाउने गरिएको छ ।

खरखरे भिरमा पहिरो, बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ ।

वर्षा भइरहेकाले पहिरो पन्छाउन र भासिएको स्थानमा मर्मतसम्भार गर्न कठिन भएको छ ।

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र आर्मेनियाका विदेशमन्त्री अरारात मिर्जोयानबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरुबीच आपसी हित र चासोका साथै नेपाल र आर्मेनियाबीचको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा सहकार्य, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा बहुपक्षीय मञ्चहरुमा साझा विषय उठाउने बारेमा विचारविमर्श भएको थियो ।आजै परराष्ट्रमन्त्री खनाल र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग पनि भेटवार्ता गर्नुभएको छ ।

भेटमा परराष्ट्रमन्त्री खनालले नेपालप्रति सद्भाव दर्शाएर २५ मिलियन अमेरिकी डलर प्रदान गर्ने युएईको प्रतिबद्धताप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।उहाँहरुबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा तथा बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो ।

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

काठमाडौँ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ ।आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्र श्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिनुभयो ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले बताउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

सोह्र श्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफूअनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्रहरु बताउँछन् । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ ।

बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले सोेह्र श्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ । चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई ‘सुपर इन्टेलिजेन्स’ (एसआई) भनेर सम्बोधन गर्ने निर्णयको सम्मान गर्ने जनाएको छ ।चिनियाँ विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको शब्दावली छनोटलाई सम्मान गर्ने उल्लेख गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारदेखि अमेरिकी प्रशासनका आधिकारिक सञ्चारमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गरिने घोषणा गर्नुभएको थियो ।

यसै साता वासिङ्टनमा सम्पन्न अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको शिखर वार्तामा कृत्रिम बुद्धिमत्तासम्बन्धी विषय प्रमुख एजेन्डामध्ये एक थियो ।

वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति सीलाई पनि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ भन्दा ‘सुपर इन्टेलिजेन्स’ शब्द बढी उपयुक्त लागेको दाबी गर्नुभएको थियो । उहाँले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ लाई कमजोर र गलत तथा ‘सुपर इन्टेलिजेन्स’ लाई अझ सही र महत्त्वपूर्ण नामको सङ्ज्ञा दिनुभएको थियो ।

यद्यपि चीनले ट्रम्पको उक्त दाबीको पुष्टि वा खण्डन गर्नुभएको छैन् । विदेश मन्त्रालयले भने अमेरिकाले अपनाएको नयाँ शब्दावलीलाई महत्त्व दिएको र त्यसको सम्मान गर्ने जनाएको छ ।

मन्त्रालयका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी शब्दावलीका विषयमा चिनियाँ पक्षले अमेरिकी पक्षको अडानलाई महत्व दिन्छ र त्यसको शब्द–छनोटको सम्मान गर्दछ ।”

विज्ञप्तिमा कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि निरन्तर विकसित भइरहेको उल्लेख गर्दै सबै पक्षले पछिल्लो विकासलाई ध्यानमा राखी संवाद, अनुभव आदानप्रदान र सहमति निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

शिखर वार्तापछि दुवै देशले कृत्रिम बुद्धिमत्तासम्बन्धी विषयमा समन्वय र आकस्मिक घटनाबारे जानकारी आदानप्रदान गर्न विशेष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् ।

ट्रम्पले कृत्रिम बुद्धिमत्ताले मानवताका लागि गम्भीर जोखिम निम्त्याउन सक्छ भन्ने चिन्तालाई पटक–पटक अस्वीकार गर्दै आएका छन् । अर्कोतर्फ, राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ताको विकास मानवीय नियन्त्रण र जिम्मेवार प्रयोगभित्रै रहनुपर्ने धारणा व्यक्त गर्दै आउनुभएको छ ।

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली। यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला, एस मोड र सुर्खेतको बराहताल गाउपालिका–७ को औलिसेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरुद्ध भएको छ ।

त्यस्तै, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा गएको पहिरोले मध्यपहाडी राजमार्ग, सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा गएको पहिरोले राप्ती राजमार्ग बन्द भएको प्रवक्ता राठौरले बताउनुभयो । उहाँका अनुसार सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ को र्यालेमा गएको पहिरोले सुर्खेत–सल्यान र त्रिवेणी गाउँपालिका–३ ढुङ्गेबगरमा गएको पहिरोले लुहाम–कालीमाटी सडकखण्ड अवरुद्ध भएका छन् ।

त्यसैगरी, जाजरकोट छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोट तिलागुफा नगरपालिका–१ भिग्म, जुम्ला तातोपानी गाउँपालिका–१ बाइराँका र राँकागाउँ बीचको सडकखण्ड, मुगु रारा छाँयानाथ नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्ड पनि बन्द भएको यद्यपि सडक सञ्चालनका लागि पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट सल्यान र सुर्खेतबाट जेसिबी तथा स्काभेटरलगायतका उपकरण पठाएको प्रवक्ता राठौरले बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उनलाई गए राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घरबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्नुको आधिकारीक कारण खुलेको छैन । जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ ।

२०७५ साल पुस १७ मा प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९९ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८९ पैसा बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १८१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १८१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४२, सिसिटिभिमार्फत ४९, रातोबत्तीमा १५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, अवस्था ठिक नभएको १ र अन्यमा २३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

गण्डकी । गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो । शनिबार साँझ ६ः०५ बजे १५६ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईको जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई फर्केको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

यसअघि गति बिहीबार दुबईबाट फ्लाइ दुबईमार्फत १२२ यात्रु पोखरा अवतरण गरेका थिए । पोखराबाट १४३ यात्रु उक्त जहाजबाट दुबई गएका थिए । शुक्रबार भने खराब मौसमका कारण पोखरा–दुबई उडान रद्द भएको थियो । बुधबार पहिलो उडानबाट ११३ यात्रु दुबईबाट पोखरा आएका थिए । फर्कँदा उक्त जहाजले पोखराबाट १५२ यात्रु लिएर गएको थियो ।

यस उडानलाई प्रभावकारी र दिगो बनाउन कस्सिएका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष सुरुआतका दिनमा यात्रु सङ्ख्या देखेर उत्साहित छन् । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानको सुरुआती सङ्केत सकारात्मक र उत्साहजनक रहेको बताए ।

“यात्रुको बुकिङ पनि राम्रो छ, टुर्स एन्ड ट्राभल्स व्यवसायीहरू पनि खुसी हुनुहुन्छ”, उनले भने, “यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेष्टुराँले छुट योजना ल्याएका छन् ।” फ्लाइ दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थानको तालिका रहेको विमानस्थलका सूचना अधिकारी रावतले जानकारी दिए ।

फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान सुरु गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गर्ने फ्लाइ दुबई पहिलो वायुसेवा कम्पनी हो । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय चार्टर उडान गरेका थिए ।

यो उडान सुरु भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकबाट सजिलै पोखरा आउन सकिने भएको छ । यसबाट पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।

पाँचौँ पटक जिब्रो छेडेर वीरेन्द्रभक्तले ३५० वर्ष पुरानो जात्रालाई जीवन्त राखे

भक्तपुर । इन्द्रजात्राका अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आज राति ८ः३० बजे जिब्रो छेडेर मध्यपुरथिमिको टोलटोल र मन्दिरमन्दिर घुमेर जात्रा मनाइएको छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थलमा रहेको दिगुटोल दिगभैरव अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीन वटा चुच्चो भएको १० इन्च लामो फलामको सियोले जिब्रो छेडेर महाद्धीप (भेय्) बोकेर खाली खुट्टा मध्यपुरथिमिको टोलटोल घुम्नुभएको हो । नेपाल संवत् तिथिबमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हजारौँको सङ्ख्यामा उपस्थित भिडबिचमा कर्मी नाइकेले करिब १० इन्च लामो सुइरोले श्रेष्ठको जिब्रो छेडिदिएर थिमि परिक्रमा गरेको हो ।

जिब्रो छेडेर ३५० वर्ष पुरानो जात्रालाई जीवन्त राखेका वीरेन्द्रभक्तले यसअघि पहिलोपटक २०७४, त्यसपछि २०७९, २०८१ र २०८२ सालमा पनि जिब्रो छेडाएको बताउँदै यस वर्ष पाँचौँ पटक जिब्रो छेडाएर भेय् बोकेर खाली खुट्टा हिँडेरै मध्यपुरथिमिका टोलटोल परिक्रमा गरेका हुन् ।

विसं २०८२ मा खाली खुट्टा नै पशुपतिनाथको मन्दिरसम्म पुगेर फर्किँदा २८ किलोमिटर लामो सडक हिँडेको बताउँदै वीरेन्द्रभक्तले गत वर्ष पनि भक्तपुरको नवदुर्गा मन्दिरसम्म पुगेर फर्कँदा करिब १३ किलोमिटर यात्रा पार गर्नुभएको थियो । आज जिब्रो छेडेर उहाँले दिगुटोल डबलीबाट सुरु हुने महाद्धीप बोकेर यात्रा बालकुमारी, दक्षिणबाराही, चारदोबाटो, सिद्धिकाली मन्दिर, नासननी, चपाचो, गार्चा, नगदेश, सिद्धिगणेश मन्दिर, भीमसेन चोक, नगरपालिका चोक, पाटीबिहार, पोबु, भुलांखेल, चोडे, दुईपोखरी, शिवाटोल, दथुटोल, बालकुमारी, तछुटोल, विष्णुवीर हुँदै बालकुमारी मन्दिर परिसरमा पुगेर जात्रा समापन हुनेछ ।

बिचबिचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर रोकिँदै ११ वर्षको अन्तरालपछि २०७४ सालमा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः सुरु भएको थियो । त्यसयता उनले २०७९, २०८१ र २०८२ सालमा पनि जिब्रो छेडाएका थिए । विसं २०७५ मा बालकराम श्रेष्ठले एक पटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएकामा २०७९ सालमा पुनः वीरेन्द्रभक्तले र मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ सालमा जिब्रो छेडाएका थियो ।

आर्थिक अभावका कारण चल्दै र रोकिँदै आएको यो जात्रा सञ्चालनमा करिब रु छ लाखभन्दा बढीको खर्च हुने र बागमती प्रदेश सरकार, नगरपालिकाले सहयोग गरेको भन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयले खर्च गर्दै आएका छन् । जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार घुम्ने प्रचलन छ । उहाँले २०८२ सालमा जिब्रो छेडेर सयौँ स्थानीयका साथमा करिब ३० किलोको महाद्धीप बोकेर खाली खुट्टा नै पशुपतिनाथका मन्दिरसम्म पुगेर फर्किँदा २८ किलोमिटर लामो सडक खाली खुट्टा हिँडेरै यात्रा गरेका थिए ।

उनले २०८२ सालमा भने जिब्रो छोडेर दिगुटोलबाट सुरु भएको जात्रा बालकुमारी मन्दिर, तछुटोल, विष्णुवीर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुँदै पुनः शङ्खधर चोक हुँदै मुख्य सडकबाट राधेराधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्ध पोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डौँ, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान रुट हुँदै पुनः पाँचतले मन्दिर, वंशगोपाल, सिद्धपोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङ चिवा, भीमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुईपोखरी हुँदै बालकुमारी मन्दिरसम्मको १३ किलोमिटरको यात्रा पूरा गरी जिब्रोबाट सियो निकालेर जात्रा विसर्जन गरिएको थियो ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिसाचहरूले आतङ्क मच्चाएर जथाभाबी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिसाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडेर पुशपतिसम्मको यात्रा गर्दै अन्तिमा पुनः बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा रहेको छ । जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।

सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ ।
प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ ।

भोटेकोशी बाढीले राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

उनले भने, “सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।”

रसुवा बाढीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनाका प्रयासबारे सेनाले राष्ट्रिय समाचार समिति (रासस)लाई उपलब्ध गराएको दस्तावेजमा विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको ठम्याइँ छ ।

भोटेकोशी बाढीः खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेपाली सेना

गत भदौ १० गते भोटेकोशीमा गएको विनासकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्यायो । यस अप्रत्यासित जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुलहरू तथा जलविद्युत् आयोजना क्षणभरमै लेदोमा बिलिन हुन पुगे ।

यस्तो विकराल र विषम राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले आफ्नो उत्कृष्ट मानवीय दायित्व निर्वाह गर्दै आपत्कालीन खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । विपद्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत इलाकामा तैनाथ सैनिक युनिट तत्काल उद्धार कार्यका लागि खटिएका थिए ।

विषम परिस्थितिमा उद्धार अभियानलाई चुस्त बनाउन नौ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिनुका साथै कम्पोजित क्विक रियाक्सन टिम (सिक्युआरटी) र आपत्कालीन मेडिकल टिमसहित तुरुन्त चारवटा हेलिकप्टर खोज तथा उद्धारका लागि खटाइएका थिए । भौगोलिक विकटता र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थितिमा सेनाले हवाई उद्धार, जमिनी उद्धार, टनेल उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनस्र्थापनामा द्रुतगतिमा कार्य अगाडि बढाइरहेको छ ।

भौगोलिक जटिलता र सडक सञ्जाल पूर्ण रूपमा बिच्छेद भएको परिस्थितिमा नेपाली सेनाले हवाई मार्गलाई प्राथमिक माध्यम बनायो । एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर र निजी क्षेत्रका हवाई साधनलाई रणनीतिक रूपमा परिचालन गरिएको थियो । त्रिशूली र धुन्चेमा बेस स्थापना गरी एयर ट्राफिक कन्ट्रोल (एटिसी) सञ्चालनसहित दैनिक १५ देखि २२ वटा हेलिकप्टरमार्फत एक हजार ६०० भन्दा बढी उडानहरू भएका छन् ।

यस हवाई अभियानबाट कुल चार हजार २४२ जना (तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक)को सकुशल उद्धार भएको छ । यसका साथै टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीजस्ता स्थानमा हजारौँ किलो खाद्यान्न, औषधि, रासन र अक्सिजन सिलिन्डर एयरलिफ्ट तथा ड्रोनबाट पठाउनुका साथै टनेल क्षेत्रमा खोज तथा उद्धारका लागि अतिआवश्यक उपकरण लैजान स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको थियो ।

रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धारकार्यलाई उत्तिकै तीव्रताका साथ अगाडि बढाइ नेपाली सेनाले नदी किनार, जङ्गल, डाँडाकाँडा र सडक बिच्छेद तथा बाढीबाट बढी प्रभावित तुप्चे, दानसिङ, कालिकास्थान, स्याफ्रुबेँसीलगायत बस्तीमा निरन्तर पैदल गस्ती सञ्चालन गरी शव सङ्कलन र स्थानीय निकायसँग समन्वय र सहकार्य गरी परिस्थितिको बारेमा जानकारी सङ्कलन गरिएको थियो ।

अप्ठ्यारो भूभागमा सम्भावित स्थानको पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी रेकीसमेत भएका छन् । जमिनी उत्खनन र खोजीका क्रममा फेलापरेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरेको छ । स्थानीय प्रशासन, स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्यहरु भएका छन् ।

यस विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धारकार्य हो । जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट दुई हजार ७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासपश््चात सात जनाको जीवितै उद्धार गर्न सफल भएको छ ।

त्रिशूली–३ ‘ए’ मा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोली, अक्सिजन पम्प गरेर भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ बाट अडिट सुरुङको २२५ मिटर गहिराइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चिनियाँ नागरिकको सफल उद्धार गरिनुका साथै जम्मा ३७ वटा शवसमेत सङ्कलन भएका थिए ।

खोज तथा उद्धार टोलीद्वारा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोली चिलिमे सुरुङको ब्रेकथ्रुपश्चात् पाँचवटा शव तथा मानव अङ्ग सङ्कलन गर्नुका साथै रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धारकार्य भएको छ । छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुको जनशक्ति तथा प्रविधिसहित नेपाली सेनासँग संयुक्त रूपमा टनेलहरूमा खोज तथा उद्धारकार्यमा संलग्न भएका थिए ।

त्यसैगरी, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यका अतिरिक्त बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै सेनाले त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गर्यो, जसबाट तुरुन्त बाढीबाट घाइते र अन्य गरी चार हजार तीन जनाले प्रत्यक्ष चिकित्सा सेवा प्राप्त गरे । सुरुङ तथा भौगोलिक रूपमा विकट इलाकामा गम्भीर घाइते अवस्थामा फेलापरेका नागरिकलाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याएर आपत्कालीन उपचार प्रदान गरियो । विस्थापितहरूका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदिन स्थानीय निकायसँगको समन्वयमा निसङ्क्रमण अपरेसन सञ्चालन गरिएको थियो ।

खोज तथा उद्धारकार्य, स्वास्थ सेवा प्रदानका साथसाथै प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्याएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइयो । स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिए । बेत्रावतीमा बेलीब्रिज निर्माणकार्य अगाडि बढाउने क्रममा विष्फोटक पदार्थ प्रयोग गरी पुल निर्माण गर्ने स्थानसम्म जाने बाटो निर्माण भइहेको छ ।

समग्रमा, रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनाको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रह्यो । सम्पूर्ण उद्धार अभियान प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच कार्यसम्पादन गरिएको थियो ।

आफ्नै परिवार तथा सैनिकसमेत विपद्बाट प्रभावित रहेको अवस्थामा पनि नेपाली सेनाले कर्तव्यलाई सर्वोच्च प्राथमिकता दिँदै नागरिकको जीवनरक्षाका लागि निरन्तर अग्रपङ्क्तिमा रही खोज तथा उद्धार कार्य सञ्चालन गरिएको छ ।

विशेषतः हाइड्रोपावरको साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित स्थान तथा थप जोखिमको सम्भावनाबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता, टोलीगत समन्वय र जोखिम वहन गर्ने सैनिक चरित्रको कारणले सम्भव भएको देखिन्छ ।

राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर–निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको छ । सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।

साथै, विपद् प्रतिकार्यमा नेपाल सरकारको निर्देशनबमोजिम नेपाली सेनालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट देखिएको छ ।

रुस–युक्रेनबिच हवाई आक्रमण तीव्र, दुवैतर्फ सात जनाको मृत्यु

रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा शनिबार दुवै देशमा भएका आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

युक्रेनमा रुसी आक्रमणबाट चार जनाको ज्यान गएको छ भने रुसमा युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको करिब साढे चार वर्ष बितिसक्दा पनि युद्ध जारी छ । अग्रमोर्चामा प्रगति सुस्त रहे पनि रुसले क्रुज तथा ब्यालिस्टिक मिसाइल, ग्लाइड बम र जेट–सञ्चालित ड्रोन प्रयोग गरी युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले हरेक दिन आफ्नो आक्रमणको दायरा र तीव्रता बढाइरहेको भन्दै अन्तरराष्ट्रिय समुदायलाई थप कडा प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।

‘यदि रुसले आफ्ना आक्रमणलाई अझ क्रूर बनाउने बाटो रोजेको छ भने युद्धलाई थप फैलिनबाट रोक्न विश्वले अझ दृढ कदम चाल्नुपर्छ’, उनले सामाजिक सञ्जालमार्फत बताए ।

जेलेन्स्कीले किएभ, जापोरिजिया, ओडेसा, सुमी र खार्किभ क्षेत्रमा आवासीय भवनहरू लक्षित गरी आक्रमण गरिएको उल्लेख गरे ।

जापोरिजियाको क्षेत्रीय सैन्य प्रशासनका अनुसार ध्वस्त भएको घरको भग्नावशेषमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ । यस्तै, सुमी सहरमा भएको अर्को रुसी आक्रमणमा दुई जनाको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।

युक्रेनी ड्रोनद्वारा रुसी रिफाइनरीमा आक्रमण

यसैबीच, युक्रेनले लामो दूरीका ड्रोनमार्फत रुसका तेल प्रशोधन केन्द्र (रिफाइनरी) तथा अन्य औद्योगिक प्रतिष्ठानहरूलाई निशाना बनाएको छ । स्थानीय अधिकारीका अनुसार दक्षिणी क्रास्नोदार क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले टेलिग्राममार्फत दुई औद्योगिकस्थलमा आगलागी भएको जानकारी दिएका छन् । रुसी सञ्चारमाध्यमका अनुसार आक्रमणको मुख्य लक्ष्य स्थानीय तेल प्रशोधन केन्द्र थियो ।

यसअघि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने क्रममा जेलेन्स्कीले विभिन्न देशहरूलाई रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाई युद्ध सञ्चालनका लागि आवश्यक राजस्वमा रोक लगाउन आग्रह गर्नुभएको थियो । तर लामो समयदेखि जारी कूटनीतिक प्रयासका बाबजुद युद्ध अन्त्य हुने कुनै स्पष्ट सङ्केत देखिएको छैन ।

किएभमा ड्रोन आक्रमण, आगलागी र क्षति

शनिबार बिहान किएभ क्षेत्रमा भएको रुसी ड्रोन आक्रमणका कारण बोरिस्पिल जिल्लाको एउटा गोदाममा आगलागी भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् । अधिकारीका अनुसार रुसी ड्रोनले राजधानी किएभका विभिन्न क्षेत्रमा पनि प्रहार गर्दा थप चार जना घाइते भएका छन् भने आवासीय र कार्यालय भवनहरूमा क्षति पुगेको छ ।

रुसको रक्षा मन्त्रालयले किएभमा गरिएको आक्रमणबाट मोबाइल इन्टरनेट सेवा तथा स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीलाई सहयोग पुर्‍याउने एक डाटा सेन्टरमा क्षति पुगेको दाबी गरेको छ ।

अविरल वर्षापछि आएको बाढी–पहिरोमा ६ जनाको मृत्यु, बागमती र लुम्बिनीमा दुई–दुई जना

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ ।

विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई, गण्डकी र कर्णालीमा एक/एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् ।

घाइतेका लागि स्थानीय अस्पताल उपचार भइरहेको छ । प्रहरीले ४०७ जनाको उद्धार गरेको छ ।

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन गर्दै पहिले रोकथामको संस्कृतितर्फ अघि बढाउनुपर्ने धारणा राख्नुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खनालले कोभिड-१९ महामारीको समयमा कुनै एक स्थानमा उत्पन्न हुने जनस्वास्थ्य आपत्काल विश्वव्यापी सङ्कटमा परिणत भएको तथ्य उजागर गरेको बताए । मन्त्री खनालले उक्त महामारीले स्वास्थ्य सेवासँगै खोप, औषधि, प्रविधि र वित्तीय स्रोतमा रहेको गहिरो असमानता पनि उजागर गरेको बताए ।

“महामारी स्वास्थ्य सङ्कट मात्र थिएन, यसले दशकौँमा हासिल भएका विकासका उपलब्धिहरूलाई समेत चुनौती दिएको थियो”, परराष्ट्रमन्त्री खनालले भने । नेपालले विश्वव्यापी महामारीको तयारीलाई थप सुदृढ बनाउन विश्व स्वास्थ्य सङ्गठन महामारी सम्झौता (डब्ल्युएचओ प्यान्डेमिक एग्रिमेन्ट) तथा संशोधित अन्तरराष्ट्रिय स्वास्थ्य नियमावलीलाई महत्त्वपूर्ण कदमका रूपमा स्वागत गरेको उनले बताए ।

विश्वव्यापी महामारी रोकथाम तथा तयारीका लागि नेपालले पाँच प्राथमिकता अघि सारेको मन्त्री खनालले उल्लेख गरे । विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार समानता हुनुपर्ने, महामारी तयारीका लागि दिगो वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने, विश्व स्वास्थ्य सङ्गठनलाई केन्द्रमा राख्दै बहुपक्षीय सहकार्य र विकासशील मुलुकको अर्थपूर्ण प्रतिनिधित्व सुदृढ गर्नुपर्ने, ‘सम्पूर्ण सरकार, सम्पूर्ण समाज र एक स्वास्थ्य (वान हेल्थ)’ अवधारणामार्फत समुदायलाई तयारीको केन्द्रमा राख्नुपर्ने र युवालाई साझेदार, नवप्रवर्तक तथा भावी नेतृत्वका रूपमा समेट्दै महामारी तयारीलाई अन्तरपुस्तीय बनाउनुपर्नेमा उनले जोड दिएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले विश्व समुदायले सङ्कट आएपछि मात्र प्रतिक्रिया जनाउने अभ्यासबाट रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “सङ्कट आएपछि प्रतिक्रिया दिने हाम्रो शैलीलाई पहिले नै रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्छ”, उनले भने ।

उनले उत्थानशील स्वास्थ्य प्रणाली, दक्ष स्वास्थ्यकर्मी, रोग निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, अनुसन्धान तथा समुदायस्तरीय तयारीमा लगानी बढाउन आह्वान गर्दै कुनै पनि देश र कुनै पनि पुस्ता पछाडि नपर्ने गरी सुरक्षित, समतामूलक र उत्थानशील विश्व निर्माणका लागि सहकार्य गर्न आग्रह गरे ।

कांग्रेसलाई बलियो बनाउने संकल्पसहित राजीव लामिछानेको उम्मेदवारी

पर्वत । नेपाली कांग्रेसका युवा नेता राजीव लामिछानेले पार्टीको महाधिवेशन प्रतिनिधिमा खस आर्यतर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय लामिछानेले पार्टी संगठनलाई थप बलियो र समयानुकूल बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका लामिछानेले करिब डेढ दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएको बताएका छन्। यस अवधिमा पार्टीको कुनै औपचारिक पदमा नरहे पनि संगठन निर्माण, सामाजिक सेवा तथा विभिन्न अभियानमा निरन्तर सक्रिय रहेको उनको भनाइ छ।

लामिछानेले पर्वतका कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग निरन्तर सम्पर्क र सहकार्य गर्दै पार्टी संगठनका गतिविधिमा योगदान पुर्‍याउँदै आएको बताएका छन्। बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउन संगठनभित्र जिम्मेवारी, सक्रियता र नयाँ सोच आवश्यक रहेको उनको धारणा छ।

महाधिवेशन प्रतिनिधि छनोटमा सहभागी हुने क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले पार्टीलाई थप बलियो बनाउन समयअनुसार परिवर्तन र विवेकपूर्ण निर्णय आवश्यक रहेको बताएका छन्। उनले व्यक्तिगत भावना वा सम्बन्धभन्दा पार्टी र समाजको वर्तमान आवश्यकता हेरेर निर्णय गर्न प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीबारे धारणा सार्वजनिक गर्दै लामिछानेले भनेका छन्, ‘जहाँ छनोटको सुविधा छ, त्यहाँ विवेकको उत्तिकै आवश्यकता हुन्छ।’

उनले क्षेत्रीय प्रतिनिधिहरूको लामो अनुभव, संघर्ष र सक्रियताको उचित सम्मान हुनुपर्ने पनि बताएका छन्। प्रतिनिधिहरूले गरेको निर्णयले पार्टीको आगामी नेतृत्व र संगठनको दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले विवेकपूर्ण छनोट आवश्यक रहेको उनको भनाइ छ।

लामिछानेले महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने अवसर पाए पार्टीका कार्यकर्ता र आम नागरिकका आवाजलाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउने तथा संगठनलाई थप सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। पार्टीमा लामो समयदेखि योगदान गर्दै आएका कार्यकर्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सोचलाई जोडेर अघि बढ्नुपर्ने उनको धारणा छ। पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै जनतासँगको सम्बन्ध थप मजबुत बनाउन आफूले भूमिका खेल्ने उनले बताएका छन्।

पर्वतमा पार्टी संगठनलाई थप चलायमान र बलियो बनाउने उद्देश्यसहित आफू महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएको उल्लेख गर्दै लामिछानेले क्षेत्रीय प्रतिनिधिहरूबाट साथ र विश्वासको अपेक्षा गरेका छन्।

सन् १९७८ पछिकै ठूलो वर्षा हुम्लामा, सिमकोटमा २४ घण्टामा ११४.८ मिलिमिटर पानी

कर्णाली । पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा भारी वर्षा भएको छ । यो सन् १९७८ पछिको ठूलो वर्षा हो ।

असोज ९ गते शुक्रबार दिउँसो १ः०० बजेदेखि १० गते शनिबार दिउँसो १ः०० बजेसम्मको २४ घण्टाको मापन अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा ११४ दशमलव ८ मिलिमिटर वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा इन्दिरा कँडेलले जानकारी दिए ।

उनका अनुसार सन् २०२१ मा सिमकोटमा ११० मिलिमिटर र २०१५ मा ९८ मिलिमिटर वर्षा भएको थियो । कार्यालय प्रमुख डा कँडेलले भने “हुम्लाको हिसाबमा ११४ दशमलव ८ मिलिमिटर पानी पर्नु भनेको यो विषम वर्षा हो । यो रेकड ब्रेक वर्षा पनि हो ।

समुद्री सतहदेखि दुई हजार ९९३ मिटर उचाइमा रहेको हुम्ला सदरमुकाम सिमकोटमा १४ हजार ११३ दिन वर्षा मापन गरिएको थियो । जसमा एक मिलिमिटरभन्दा बढी वर्षा भएको दिन तीन हजार ७९४ को अभिलेख छ ।”

उनका अनुसार वर्षा भएको तीन हजार ७९४ दिन मध्ये १०० मिलिमिटरभन्दा बढी वर्षा भएको एक दिन, ७५ मिलिमिटरभन्दा बढी वर्षा भएको ६ दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा भएको १२ दिन रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कमा अभिलेख गरिएको छ ।

त्यसैगरी, असोज ९ गते शुक्रबार दिउँसो १ः०० बजेदेखि १० गते शनिबार दिउँसो १ः०० बजेसम्मको २४ घण्टाको वर्षा मापन गर्दा सुर्खेत वीरेन्द्रनगरमा भने ७५ दशमलव ५ मिलिमिटर पानी परेको बताउँदै उनले कर्णालीका भारी वर्षा भएको बताए ।

प्रधानमन्त्री बालेन फर्किएलगत्तै अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं – प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज कतार प्रस्थान गरेका छन्। उनी आज  साझँ ७ बजे कतार एयरवेजबाट दोहा प्रस्थान गरेका हुन्।

अर्थमन्त्री वाग्ले एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको ११ औं वार्षिक बैठकमा भाग लिन कतार प्रस्थान गरेका हुन् ।

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो भन्दै बोले संयोजक डा कोइराला

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन आफूहरुको परीक्षाको घडी भएको बताएका छना् ।

महाराजगञ्ज–चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक डा कोइरालाले भने, “यो हाम्रा लागि परीक्षाको समय पनि हो, यो अधिवेशनलाई त्यसैले हामीले अत्यन्त महत्वपूर्ण रुपमा लिएका छौँ र हामी सबै मिलेर सँगै अघि बढौँ भन्ने पनि चाहेका छौँ ।”

यही असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिकासहित नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा इतर समूहले पत्रकार सम्मेलन गरी संस्थापन पक्षीय महाधिवेशनमा सहभागी नभई कांग्रेसकै नाममा अलग्गै महाधिवेशनमा जाने बताएको हो । कांग्रेस पार्टीका पूर्वसभापति शेरबहादुर देउवासहित वरिष्ठ नेतासमेत सो समूहमा आबद्ध छन् ।

पार्टीको मङ्सिरमा हुने १५औँ महाधिवेशनमा आफूहरू नयाँ जोश र जाँगरका साथ जान लागेको बताउँदै संयोजक डा कोइरालाले भने, “हामी अत्यन्त गम्भीरतापूर्वक सोचेर अगाडि बढेका छौँ, हामी के चाहन्छौँ भने सबै साथै हिडौँ । सबै सँगै हिडौँ ।”

अमेरिकी प्रतिबन्धले इरानी उडान प्रभावित, छुटका लागि इराकको पहल

इरानी एयरलाइन्समाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण बिरामी, विद्यार्थी तथा धार्मिक यात्रु प्रभावित भएपछि इराक सरकारले केही विमानस्थललाई उक्त प्रतिबन्धबाट छुट दिन अमेरिकासँग वार्ता थालेको छ।

इराकका सबै विमानस्थलले यसै साता अमेरिकी प्रतिबन्ध कार्यान्वयन गरेपछि इरानबाट हुने उडान प्रभावित भएका छन्। यसको सबैभन्दा ठूलो असर पवित्र सहर नजफस्थित विमानस्थलमा परेको छ, जहाँ इरानी विमानहरूको आवतजावत उल्लेख्य हुने गरेको छ।

इराकी प्रधानमन्त्रीको सञ्चार कार्यालयले शनिबार दिएको जानकारीअनुसार, सरकारले “केही इराकी विमानस्थललाई अमेरिकी प्रतिबन्धबाट छुट दिन अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेको” छ।

इराकले चिकित्सा उपचार, शिक्षा र धार्मिक यात्राजस्ता मानवीय प्रयोजनका लागि उडान सञ्चालनलाई निरन्तरता दिन छुट आवश्यक रहेको जनाएको छ। सरकारका अनुसार यसले सर्वसाधारणको आवतजावत सहज बनाउन पनि मद्दत गर्नेछ।

इरानी एयरलाइन्सले मुख्यतः इरानका पवित्र धार्मिक सहरमा जाने इराकी शिया तीर्थयात्री तथा इराकका धार्मिक स्थलमा आउने इरानी नागरिकलाई सेवा दिँदै आएका छन्। यी उडानमार्फत इरानमा अध्ययनरत इराकी विद्यार्थी र उपचारका लागि इरान जाने बिरामीहरूले समेत यात्रा गर्दै आएका छन्।

प्रतिबन्ध कार्यान्वयन भएपछि केही इराकी नागरिक उपचारका लागि इरान जान नपाइने चिन्तामा छन् भने केही यात्रु इरानमै अलपत्र परेका छन्। उनीहरूमध्ये कतिपयलाई स्थलमार्ग हुँदै घर फर्किन १२ घण्टाभन्दा बढी समय लाग्ने अवस्था आएको छ।

अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले बुधबार इरानी एयरलाइन्सलाई “बन्द गरिने” बताएका थिए। त्यसपछि संयुक्त अरब इमिरेट्ससहित केही देशले अमेरिकी प्रतिबन्ध कार्यान्वयन गर्न थालेका छन्।

इराक र इरानबीच धार्मिक, राजनीतिक तथा आर्थिक सम्बन्ध लामो समयदेखि घनिष्ठ रहँदै आएको छ। दुवै देशमा शिया मुस्लिम समुदायको ठूलो जनसंख्या रहेको छ।

यसअघि मध्यपूर्वमा युद्ध सुरु भएपछि इराकी एयरलाइन्सले फेब्रुअरीदेखि नै इरानतर्फका उडान स्थगित गरेका थिए।

पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार

इस्लामावाद । झुक्याएर पाकिस्तान लगिएकी र आफ्नै नातेदार युवक (कजिन) सँग जबरजस्ती विवाह गर्न बाध्य पारिएकी एक महिलाको उद्धार गरी स्पेन फर्काइएको छ ।

घटनामा संलग्न भएको आरोपमा स्पेनमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले शनिबार जनाएको छ ।

क्याटालोनियाको क्षेत्रीय प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार जबरजस्ती विवाह गराउने उद्देश्यले मानव बेचबिखन गरेको आशङ्कामा ४१ र ४५ वर्षीय दुई पुरुषलाई जुलाई २१ मा बार्सिलोना विमानस्थलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बार्सिलोनामा कम्प्युटर पसल सञ्चालन गर्ने एक पाकिस्तानी नागरिकसँगको प्रेम सम्बन्धप्रति परिवारले स्वीकार गरेको भन्दै आफन्तहरूले ती महिलालाई सेप्टेम्बर २०२५ मा पाकिस्तान जान राजी गराएका थिए । तर पाकिस्तान पुगेपछि उनका आफन्तहरूले स्पेनिस

महिलाका प्रेमीले अप्रिलमा प्रहरीलाई जानकारी गराउँदै उनलाई परिवारका सदस्यहरूले जबरजस्ती पाकिस्तान लगेको बताएका थिए । यसअघि उक्त घटनासँग सम्बन्धित दुई व्यक्तिले ती प्रेमीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमणसमेत गरेको प्रहरीले जनाएको छ ।

स्पेनिस प्रहरीले पाकिस्तानस्थित स्पेनको दूतावाससँगको सहकार्यमा ती महिलाको अवस्थाबारे जानकारी सङ्कलन गरी उनको उद्धार गरेको थियो । त्यसपछि उनलाई सुरक्षित रूपमा स्पेन फर्काइएको र आवश्यक मनोसामाजिक तथा अन्य सहयोग उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जबरजस्ती विवाह तथा प्रेमीमाथिको आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान जारी राखेको जनाएको छ ।

बार्सिलोनामा पाकिस्तानी समुदायको उल्लेखनीय बसोबास रहेको छ । त्यहाँ २६ हजारभन्दा बढी पाकिस्तानी नागरिक दर्ता छन्, जसका आधारमा उनीहरू इटालियन र कोलम्बियन समुदायपछि तेस्रो ठुलो विदेशी नागरिक समूहका रूपमा रहेका छन् ।

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर । कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको कान्ति लोकपथ आयोजनाले जनाएको छ ।

लगातारको वर्षापछि कान्ति लोकपथको बिर्खेधारा, पाङ्दुर र टाकुर्चेमा पहिरो गएपछि शुक्रबार दिनभरि नै सवारीसाधन सञ्चालन हुन सकेको थिएन । शनिबार बिहानैदेखि पहिरो पन्छाएर दिउँसोपछि रोकिएका सबै सवारीसाधन गन्तव्यतर्फ पठाइएको आयोजनाका सुपरभाइजर दीपक घिमिरेले जानकारी दिए ।

मौसमविद्ले भोलिसम्म नै भारी वर्षाको जोखिम औँल्याएकाले जिल्ला प्रशासन कार्यालयले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । बिहीबारदेखि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको ललितपुर जिल्ला प्रशासनले शुक्रबार दिउँसोसमेत सवारी सञ्चालनमा रोक लगाएको थियो ।

रातको समयमा जोखिम हुने भएपछि काठमाडौँबाट छुटेका सवारीसाधनलाई टीकाभैरवबाट उता जान रोक लगाइएको छ भने मकवानपुरबाट आउने सवारीसाधनलाई चौगडामै रोकिएको प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले बताए ।

सुपरभाइजर घिमिरेका अनुसार कान्ति लोकपथको २७ ठाउँ जोखिमयुक्त क्षेत्र मानिएको छ । त्यसमध्ये भैँसेखोलादेखि बगुवासम्म विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको उनले जानकारी दिए । भने, “भैँसे खोला, बिर्खेधारा, नयाँगाउँ, कार्कीबास, टाकुर्चे, पाङदुर, तामा खानी, काल्चे, माल्टा दोबाटोलगायत विभिन्न २७ ठाउँमा पहिरोको उच्च जोखिम छ ।” अवरोध भएको सडकखण्डमा पहिरो हटाउनका लागि स्काभेटर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

बालेनको यूएन सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाएको परराष्ट्र मन्त्रालयको भनाइ

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको बताइएको छ ।

प्रधानमन्त्री शाह महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् । उनको भ्रमणबारे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जानकारी दिदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको बताए ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । उक्त उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना भइरहेको छ ।

प्रधानमन्त्री शाहले महासभाको ‘जनरल डिबेट’ मा २४ सेप्टेम्बर २०२६ मा सम्बोधन गरेका थिए । उक्त सम्बोधनका क्रममा उहाँले गत महिना भोटेकोशीमा गएको विनाशकारी बाढीलाई जलवायु सङ्कटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेको निमित्त सचिव ढकालले बताए । प्रधानमन्त्री शाहले उक्त विपद्बाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर तथा हिमनदी र ‘पर्माफ्रस्ट’ पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरोलगायत विपद्को जोखिम बढ्दै गएको बताएको उजले जानकारी दिए । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका थिए ।

साथै प्रधानमन्त्री शाहले ‘यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्दै विश्व शान्तिको आह्वान गरेको निमित्त सचिव ढकालले बताए ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए । भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए ।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिएका थिए । भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएको उनले बताए ।

यसैगरी, प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग भेटवार्ता गरेका थिए । उक्त अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

उक्त महासभाको क्रममा आयोजना हुने अतिकम विकसित मुलुक, भू–परिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक, जि–७७ र चीन लगायत मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भइरहेको निमित्त सचिव ढकालले बताए ।

एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

काठमाडौँ । नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली खेलकुदको पुरुष एकलतर्फ अन्तिम–३२ बाट बाहिरिएका छन् ।

चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा आज भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २–० ले पराजित भए । उनले १४–२१ र ९–२१ को नतिजा व्यहोरे ।

क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई २–० ले हराएका थिए । एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाडीको यो एकमात्र जित रह्यो । महिला एकलमा रशिला महर्जन र रिहाना महर्जन पहिलो चरणबाटै बाहिरिए । रशिला चीनकी वाङ झी यी तथा रिहाना श्रीलङ्काकी रणिथ्मा थिनुडी वेहेनागेसँग पराजित भए ।

मिक्स्ड डबल्समा क्षितिज–रिहाना तथा प्रफुल महर्जन–रशिलाको जोडी पनि पहिलो चरणमै रोकिएको थियो । पुरुष डबल्समा क्षितिज–प्रफुल तथा महिला डबल्समा रशिला–रिहानाको जोडीले पनि पहिलो चरण पार गर्न सकेनन् ।

पुरुष एकलमा प्रफुल श्रीङ्काका डुमिन्डु अबेविक्रमसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए ।

१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वान

काठमाडौँ । नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ ।

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक प्रकाशित भएको मितिले १० दिनभित्र सङ्घीय संसद्को सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनुवाइ समितिले जनाएको छ ।

समितिले उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको उजुरीको स्पष्ट आधार खुलाउन आग्रह गरेको छ । प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनुवाइ गरिने सार्वजनिक सूचनामा जनाइएको छ ।

समितिको यही असोज ८ गतेको बैठकले सुनुवाइको प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा.निश्चलनाथ पाण्डे, चीनका लागि डा.कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ ।

त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा.पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा.मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ । संसदीय सुनुवाइपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने समितिले जनाएको छ ।

देउवा समूहको महाधिवेशन तयारी तीव्र, असोज १५ बाट वडा अधिवेशन र मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीब्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबारबाट अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

शनिबार सम्पर्क कार्यालय महाराजगन्ज चुनदेवीमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै क्रियाशील सदस्यताका लागि अनलाइन पोर्टलको शुभारम्भ गरिएको हो । इतर समूहका संयोजक डा.शशांक कोइरालाले अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बोल्दै डा.कोइरालाले अहिलेको समय आफूहरूको परीक्षाको घडि भएको बताउँदै जोशका साथ १५ औं महाधिवेशनमा होमिएको जानकारी दिए ।

‘नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो तर पुरानो भनेको फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोश भरिएको छ । हामी जोशका महाधिवेशनमा जाँदैछौं,’ उनले प्रष्ट पारे ।

महाधिवेशनलाई सफल बनाउन उनले सबैको साथको अपेक्षा पनि गरे । अर्का नेता डा.प्रकाश शरण महतले यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरेर मंसिर २१, २२, २३ गते केन्द्रीय महाधिवेशन गर्न लागिएको जानकारी दिए ।

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा यही असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा हुने सो सम्मेलनमा सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय, सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण, प्रदेश सरकार गठन तथा सञ्चालनका क्रममा भएका असल अभ्याससहित अनुभवको आदानप्रदान, प्रदेशस्तरीय एवं तीन तहका सरकारबीचको समन्वय एवं सहकार्य, सुशासन र आर्थिक समृद्धिलगायतका विषयमा छलफल केन्द्रित हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहने विराटनगर सम्मेलनलाई व्यवस्थित एवं सफल बनाउन आवश्यक पूर्व तयारीको काम सुरु भइसकेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सडक तथा पुल निर्माण, उद्योग एवं पर्यटन प्रवर्दनसहित आर्थिक गतिविधिलाई चलायमान बनाउन र प्रदेशस्तरीय सम्बन्ध अझ सुदृढ तुल्याउन मुख्यमन्त्री सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

यसैगरी, कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले असोज २२ र २३ गते आयोजना हुने मुख्यमन्त्री सम्मेलनमा प्रदेशमन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता र उच्च सरकारी अधिकारीहरूको समेतको उपस्थिति रहने जानकारी दिँदै सङ्घीयता कार्यान्वयनसहित राजनीतिक, आर्थिक, सामाजिक, विकास निर्माण, कानुनी, व्यावहारिक पक्षमा छलफल भई स्पष्ट दिशानिर्दश गर्न सम्मेलन सफल हुने बताए ।

नेपाली डायस्पोरा राष्ट्रिय विकासको मुख्य आधारस्तम्भ : परराष्ट्रमन्त्री खनाल

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा नेपाली डायस्पोराका सदस्यहरूसँग अन्तरक्रिया गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा उनले नेपाली डायस्पोरालाई मुलुकको विकास यात्राको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै नेपालको समृद्धिमा थप योगदान पुर्‍याउन आग्रह गरेका छन्।

न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आयोजित सो कार्यक्रममा डायस्पोराका प्रतिनिधिहरूले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापन तथा नेपालको विकासमा पर्न सक्ने सम्भावित योगदानका विषयमा प्रस्तुति दिएका थिए।

अन्तरक्रियाका क्रममा मन्त्री खनालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पुँजी र सञ्जाललाई नेपालको विकाससँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिए। डायस्पोरासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उनीहरूको योगदान बढाउन सरकार प्रतिबद्ध रहेकोसमेत उनले बताएका छन्।

विदेशमा रहेका नेपालीलाई मताधिकार : कानुनी, नीतिगत र प्राविधिक विकल्प अध्ययन गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल तीव्र बनाएको छ।

विदेशमा रहेका नेपालीलाई मताधिकार (आउट अफ कन्ट्री भोटिङ) दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीहरूले सरोकारवाला तथा जानकारहरूसँग बृहत् विचारविमर्श अघि बढाएका हुन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको यकिन सङ्ख्या, मतदाता नामावली सङ्कलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि र निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगहरूको भूमिकाबारे गम्भीर छलफल भइरहेको छ।

विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने विधि, मतदान केन्द्रको सम्भावित व्यवस्था र मतदानपछिको मतपत्र व्यवस्थापनजस्ता प्राविधिक तथा प्रशासनिक पक्षहरूमा पनि आयोगले गृहकार्य गरिरहेको छ।

यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग परामर्श गरिसकेको छ। आयोगले आफ्नै अध्ययन सामग्रीका आधारमा विदेशस्थित दूतावास वा कन्सुलटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने अथवा विद्युतीय वा मिश्रित विधि अपनाउनेजस्ता विकल्पहरूमाथि कानुनी र नीतिगत परिवर्तनको सम्भावनाबारे अध्ययन गरिरहेको छ।

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा ठूलो क्षति पुगेको छ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरीका किसान लोकबहादुर चौधरीको करिब १० कट्ठामा लगाइएको ‘६०६’ जातको मोटो धान खेतमै ढलेको छ।

केही दिनमा काट्ने तयारी गरिएको धान वर्षाले ढालेपछि खेतमै उम्रिने चिन्ता व्यक्त गर्दै चौधरीले भने, ‘अब केही दिनमा धान काट्ने तयारी गर्दै थियौँ तर निरन्तर परेको वर्षाले धान बालीमा क्षति पुगेको छ।’ पानी परिरहेकाले तत्काल कुनै उपाय नभएको भन्दै उनले ढलेको धान नउम्रिओस् भन्ने कामना मात्र गर्न सकेका छन्। उनी जस्तै आसपासका अन्य किसानको धान बालीमा पनि वर्षाले क्षति पुर्‍याएको छ। खजुरा गाउँपालिकामा पनि पाकेको धान खेतमा ढलेर क्षति भएको छ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सुजिता शर्माका अनुसार वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन कार्य केही दिनमा सुरु गरिनेछ।

मलको अभावले गाँज नलागेका र राधा–४ लगायत मोटो धानका बाली खेतमा ढलेको हुन सक्ने उनले अनुमान गरेकी छन्। ज्ञान केन्द्रले वर्षाले पुर्‍याएको धान बालीको क्षतिको विवरण सङ्कलन गर्न जिल्लाका स्थानीय तहहरूलाई समेत आग्रह गरेको छ।

निरन्तरको वर्षाका कारण सम्भावित बाढी, डुबान र वर्षाजन्य विपद्बाट पशुपन्छी तथा बालीनालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न खजुरा गाउँपालिकाले कृषकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले सूचना जारी गर्दै बाढी तथा डुबानको जोखिम भएका स्थानका पशुपन्छीलाई समयमै सुरक्षित र उच्च स्थानमा सार्न, गोठको अवस्था जाँच गरी पानीको निकास मिलाउन र सुक्खा घाँस, दाना, पराल तथा सफा खानेपानी सुरक्षित रूपमा भण्डारण गर्न आग्रह गरेका छन्।

यसका साथै दूषित पानी र कुहिएको दाना नखुवाउन, विद्युतीय तारबाट पशुपन्छीलाई टाढा राख्न र बिरामी पशुपन्छी देखिएमा तत्काल पशु सेवा शाखामा सम्पर्क गर्नसमेत पालिकाले सूचनामार्फत अनुरोध गरेको छ।