`

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ ।

आगालागी गएराति भएको हो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

स्त्रीरोग उपचारमा रोबोटिक शल्यक्रियासहित आधुनिक प्रविधिबारे काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं– नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (एनएसजीई) ले इन्टरनेशनल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (आईएसजीई) को सहकार्यमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। शनिबार काठमाडौंमा आयोजित सम्मेलनमा स्त्रीरोग उपचारमा प्रयोग भइरहेका आधुनिक प्रविधि, न्यूनतम चिरफारमा आधारित शल्यक्रिया तथा रोबोटिक शल्यक्रियाबारे विशेषज्ञबीच छलफल र अनुभव आदानप्रदान गरिएको हो।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री प्रा. डा. सुधा शर्माले पछिल्लो समय चिकित्सा क्षेत्रमा सुपर स्पेसियालिटी र सब स्पेसियालिटीको भूमिका बढ्दै गएको बताइन्। नेपालको स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि पनि यस्ता विशेषज्ञता आवश्यक रहेको उनको भनाइ थियो।

उनले गुणस्तरीय क्लिनिकल केयरलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवाको वर्तमान अवस्थालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक रहेको बताइन्। बदलिँदो चिकित्सा प्रविधिसँगै चिकित्सक तथा स्वास्थ्य संस्थाले आफ्नो क्षमता र विशेषज्ञता विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।

सोसाइटीका अध्यक्ष प्रा. डा. गणेश दङ्गालले सम्मेलनका क्रममा पहिलोपटक रोबोटिक शल्यक्रियाको प्रदर्शन तथा तालिम गरिएको जानकारी दिए। उनका अनुसार नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय स्त्रीरोगसम्बन्धी सम्मेलनमा रोबोट सहायता प्राप्त शल्यक्रियासम्बन्धी तालिम आधिकारिक रूपमा प्रदर्शन गरिएको यो पहिलो अवसर हो।

मुख्य सम्मेलनअघि चिकित्सकहरूका लागि विभिन्न प्रि–कंग्रेस कार्यशाला समेत सञ्चालन गरिएको थियो। सेप्टेम्बर १६ मा चितवन मेडिकल कलेजमा रोबोटिक शल्यक्रियासम्बन्धी कार्यशाला आयोजना गरिएको थियो।

त्यस्तै, सेप्टेम्बर १७ र १८ मा काठमाडौं मोडल अस्पतालमा अडभान्स हिस्टेरोस्कोपी र अडभान्स ल्याप्रोस्कोपीसम्बन्धी तालिम सञ्चालन गरिएको थियो। सेप्टेम्बर १८ मा सोही अस्पतालमा भीएनओटीईएस (V-NOTES) अर्थात् भ्याजाइनल नेचुरल ओरिफिस ट्रान्सलुमिनल इन्डोस्कोपिक सर्जरीसम्बन्धी कार्यशाला पनि आयोजना गरिएको आयोजकले जनाएको छ।

शनिबार भएको मुख्य सम्मेलनमा नेपालका विभिन्न स्थानबाट ३०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए। त्यसैगरी करिब १०० जना अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सक प्रत्यक्ष तथा अनलाइन माध्यमबाट सम्मेलनमा सहभागी भएको आयोजकले जनाएको छ।

सम्मेलनमा स्त्रीरोग उपचारमा प्रयोग भइरहेका न्यूनतम चिरफारमा आधारित शल्यक्रियाका पछिल्ला प्रविधि, रोबोटिक शल्यक्रिया, ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी तथा अन्य आधुनिक उपचार विधिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।

चिकित्सकहरूबीच नयाँ प्रविधिको प्रयोग, उपचारका अनुभव तथा ज्ञान आदानप्रदानसँगै नेपालमा आधुनिक स्त्रीरोग उपचारलाई थप विस्तार र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।

भोटेकोशी बाढीमा श्रीमान बेपत्ता भएपछि २५ दिनदेखि श्रीमतीको पर्खाइ

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि श्रीमान् सम्पर्कविहीन भएपछि जनकपुरकी पूजा शाह २५ दिनदेखि पर्खाइमा छिन्।

उनका श्रीमान् ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंह रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए। बाढी आएपछि उनी बेपत्ता भएको पूजाले बताएकी छन्।

पूजाले श्रीमान्सँगको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भगवानसँग श्रीमान्लाई सकुशल फर्काइदिन भावुक आग्रह गरेकी छन्।

‘भगवान, साँच्चिकै तिमी छौ भने मेरो यो पुकार किन सुनिरहेका छैनौ? यति धेरै दिनदेखि तिमीलाई पुकारिरहेकी छु, रोइरहेकी छु, प्रार्थना गरिरहेकी छु। मेरो बुढो २४ दिनदेखि बेपत्ता छन्,’ उनले लेखेकी छन्।

उनले श्रीमान्को खोजीमा बितेका हरेक पल निकै पीडादायी भएको बताउँदै आफूलाई अनिश्चितताले झनै कमजोर बनाइरहेको उल्लेख गरेकी छन्।

‘हे भगवान, मसँग केही माग छैन, केही चाहिएको छैन—मलाई मेरो मान्छे मात्र फर्काइदेऊ। जहाँ छन्, जसरी छन्, सुरक्षित राखेर मेरो अगाडि ल्याइदेऊ,’ पूजाले लेखेकी छन्।

छोरीलाई बाबाको आवश्यकता रहेको उल्लेख गर्दै उनले आफ्नो ‘सानो संसार’ फेरि पूरा गरिदिन भगवानसँग प्रार्थना गरेकी छन्।

‘मेरो छोरीलाई उसको बाबा चाहिएको छ, मलाई मेरो बुढो चाहिएको छ। हाम्रो सानो संसार फेरि पूरा गरिदेऊ,’ उनले भनेकी छन्।

लामो समयदेखि श्रीमान्को अवस्थाबारे कुनै जानकारी नपाउँदा आफू निकै कठिन मानसिक अवस्थामा रहेको बताउँदै उनले छोरीलाई हेरेर आफूलाई सम्हालिरहेको उल्लेख गरेकी छन्।

‘मेरो यो अन्तिम आशा नतोडिदेऊ। मलाई कमजोर नबनाऊ, मेरो बुढोलाई सकुशल फर्काइदेऊ,’ उनले लेखेकी छन्।

उनले जहाँ भए पनि श्रीमान्लाई सकुशल फर्काइदिन र छोरीलाई बाबाको काखमा फर्काइदिन भावुक अपिल गरेकी छन्।

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा अइतबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

झापा । झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका थिए । छातीमा गम्भीर चोट लागेका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।गत बिहीबार झापा गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा पनि एक जना भारतीय युवकको मृत्यु भएको थियो ।

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

कास्की। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलगायत सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्ने बताउनुभएको छ ।लेखनाथ उद्योग वाणिज्य सङ्घको ३०औँ वार्षिक साधारणसभाको शनिबार पोखराको लेखनाथमा उद्घाटन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउनका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

“सरकारले अर्थतन्त्रका समस्या पहिल्याउन सक्नुपर्छ । सही दिशा पहिल्याउन सकेपछि मात्र समस्या हल हुने हो र देशले आर्थिक रूपमा गति लिनसक्छ । निजी क्षेत्र सरकारलाई सहयोग गर्न सधैँ तयार छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

चालु आर्थिक वर्षको बजेट आएको तीन महिना बितिसक्दा पनि कार्यान्वयनले अपेक्षित गति लिन नसकेको उहाँले उल्लेख गर्नुभयो । संविधान संशोधनका सन्दर्भमा महासङ्घले प्रधानमन्त्री कार्यालयमा सुझाव पेस गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कृषियोग्य जमिन संरक्षणका लागि औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्याउने भूउपयोग नीति तत्काल आवश्यक रहेको उहाँले बताउनुभयो ।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले नेपालमा लघुउद्यम तथा व्यवसायको हिस्सा ८२ देखि ८५ प्रतिशतसम्म रहेको उल्लेख गर्दै साना, मझौला र ठूला उद्योगलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले महासङ्घजस्ता संस्थालाई संस्थागत महत्व दिनुपर्ने भन्दै निजी क्षेत्रका माग सुनुवाइका लागि महासङ्घले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्योगी–व्यवसायी सङ्कटमा रहेका बेला महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरेर लगानीमैत्री वातावरण निर्माण, ऋण तथा निजी लगानीका समस्या समाधानका गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले हालैको भोटेकोशी नदीको बाढीले अर्थतन्त्रमा थप असर गरेको उल्लेख गर्नुभयो । सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले विगत एक वर्षका अवधिमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी सीपमूलक तथा रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

साधारणसभाका अवसरमा सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा स्थापित ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सेवा’ पुरस्कार यात्री मिडिया नेटवर्क प्रालिका प्रधानसम्पादक टीकाराम यात्रीलाई प्रदान गरियो । पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । यस्तै पोखरा रत्न सम्मानबाट सम्मानित उद्यमी चन्द्रकृष्ण कर्माचार्यलाई बधाईसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभा गौतमलगायतले देशको समृद्धिका निजी क्षेत्रको विकास र विस्तारमा रहेकाले राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

बाढीपहिरोले पदमार्ग प्रभावित, हेलिकप्टरबाट धवलागिरि आधार शिविर पुगे आरोही

म्याग्दी। चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन्। धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ।

‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गरेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिए।

“आरोहण टोली हेलिकप्टरबाट सिधै आधार शिविरमा पुगेर शनिबार धार्मिक विधिअनुसार पूजाआजा गरी तयारी थालेका छन्”, उनले भने, “म्याग्दीको बगर गाउँतर्फबाट आधार शिविर जाने चक्रीय धवलागिरि पदमार्गमा बाढी पहिरोले क्षति पुर्‍याएकाले पर्वतारोहण टोलीले मार्फातर्फको पदमार्ग र हेलिकप्टर प्रयोग गरेका हुन्।”

विपद् नहोस्, दुर्घटनाको सामना गर्नु नपरी आरोहण अभियान साफताको कामना गर्दै आधार शिविरमा शेर्पाहरूले धार्मिक विधिअनुसार पूजाआजा गर्ने चलन छ। आधार शिविर पुगेर फर्किएका शेरचनका अनुसार बन्दोबस्तीका सामान ढुवानीका लाआरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी। चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन्। धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ।

‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गरेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिए।

“आरोहण टोली हेलिकप्टरबाट सिधै आधार शिविरमा पुगेर शनिबार धार्मिक विधिअनुसार पूजाआजा गरी तयारी थालेका छन्”, उनले भने, “म्याग्दीको बगर गाउँतर्फबाट आधार शिविर जाने चक्रीय धवलागिरि पदमार्गमा बाढी पहिरोले क्षति पुर्‍याएकाले पर्वतारोहण टोलीले मार्फातर्फको पदमार्ग र हेलिकप्टर प्रयोग गरेका हुन्।”

विपद् नहोस्, दुर्घटनाको सामना गर्नु नपरी आरोहण अभियान साफताको कामना गर्दै आधार शिविरमा शेर्पाहरूले धार्मिक विधिअनुसार पूजाआजा गर्ने चलन छ। आधार शिविर पुगेर फर्किएका शेरचनका अनुसार बन्दोबस्तीका सामान ढुवानीका लागि खच्चड र हेलिकप्टरको प्रयोग गरेका छन्।

थप टोली पनि आधार शिविर जाने तयारीमा रहेको शेरचनले बताए। आधार शिविरमा केही दिन अनुकूल मौसमको प्रतीक्षा र तयारी गरेपछि पर्वतारोहीहरूको टोली ‘रोप फिक्सिङ’ र शिविर सार्दै चुचुरोतर्फ लाग्नेछन्। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल सुरु भएको छ।

चालु वसन्तयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म चार वटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन्। उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर (आरोहण) शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ।

गत वसन्तयाममा तीन वटा समूहका १२ महिला र १६ पुरुष तथा २०८२ सालको शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका विभागको अभिलेखमा छ। छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेको थियो। गि खच्चड र हेलिकप्टरको प्रयोग गरेका छन्।

थप टोली पनि आधार शिविर जाने तयारीमा रहेको शेरचनले बताए। आधार शिविरमा केही दिन अनुकूल मौसमको प्रतीक्षा र तयारी गरेपछि पर्वतारोहीहरूको टोली ‘रोप फिक्सिङ’ र शिविर सार्दै चुचुरोतर्फ लाग्नेछन्। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल सुरु भएको छ।

चालु वसन्तयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म चार वटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन्। उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर (आरोहण) शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ।

गत वसन्तयाममा तीन वटा समूहका १२ महिला र १६ पुरुष तथा २०८२ सालको शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका विभागको अभिलेखमा छ। छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेको थियो।

परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल सहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेकाे छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन् ।

छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।

पहिरोका कारण कोरिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बिच बाटोमै रोकिएका छन्, सडकमा ठुला ठुला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताउनुभयो । आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बिच बाटोमै रोकिनुपरेको बताए ।

“उहाँहरु पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, बुढाले भने ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको बताए । उनका अनुसार सडकमा ठुला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको बताए ।

करिब १०० मिटर सडक क्षेत्रमा ठुला ढुङ्गा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ । दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भवतः पर्सि दिउँसोसम्म कर्णाली कोरिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ ।

वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली कोरिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । कोरिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा भदौ महिनामा २९ हजार २७४ पर्यटक घटेको देखाउँछ । यो अघिल्लो महिनाको भन्दा भदौमा ४७.७८ प्रतिशत पर्यटक कम हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी र मुस्ताङको सिमान प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरणअनुसार चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६५५ जना, सार्क ३१ हजार ५७५ र अन्य राष्ट्रका १९३ जना गरी ६१ हजार २६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।

त्यसैगरी, चालु वर्षको भदौमा आन्तरिक १६ हजार ५०३, सार्क १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ गरी ३१ हजार ९८९ जना पर्यटक मुस्ताङ आएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा रसुवा बाढीपछि भदौमा आन्तरिक १४ हजार १५२ (४६.१६) प्रतिशत र सार्क पर्यटकतर्फ १६ हजार ४३७ (५२.०५) प्रतिशत पर्यटक आगमनमा ह्रास आएको हो ।

तर, आन्तरिक र सार्क राष्ट्रको पर्यटक सङ्ख्या घट्दो रहेपछि अन्य राष्ट्रको पर्यटक भने अघिल्लो महिनाको तुलनामा बढेको पाइएको छ । अघिल्लो साउनमा १९३ जना अन्य मुलुकका पर्यटक मुस्ताङ आएकामा भदौमा भने थप १५५ जना वृद्धि हुँदै ३४८ जना अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।

मुस्ताङमा चालु वर्षको साउन र भदौमा गरी ९३ हजार २५२ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी निरीक्षक बस्यालका अनुसार साउन र भदौमा आन्तरिक ४७ हजार १५८, सार्क ४६ हजार ७१३ र अन्य राष्ट्रका ४४१ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

प्रहरी निरीक्षक बस्यालले भदौ १० गतेको रसुवा बाढी घटनाका कारण सबै नेपाली जनता शोकमा परेका कारण मुस्ताङमा पर्यटक कम भित्रिएको हुनसक्ने उल्लेख गरे । गत आव २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षको साउन र भदौको तुलनामा चालु वर्षको साउन र भदौमा पर्यटकका सङ्ख्या वृद्धि भएको भए पनि चालु वर्षको साउनको तुलनामा भदौमा पर्यटक आगमन घटेको तथ्याङ्क छ ।

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो ।

द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् रु तीन अर्ब ६४ करोडभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट रु एक अर्ब ४४ करोड ९९ लाख आम्दानी भएको छ ।

भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

नुवाकोट । नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार भन्दा बढीले औषधि सेवन गरेका छन् ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै बाढी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा ५० हजार ४६७ जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बसोबाँस गर्दै आएका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ । अभियानअन्तर्गत हालसम्म ५० हजारभन्दा बढीले खोप सेवन गरिसकेको उनले जानकारी दिइन्।

“सुरक्षित खानेपानी तथा सरसफाइको चुनौतीका कारण हैजालगायतका महामारी फैलिन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालनमा ल्याएका छौँ”, डा कार्कीले भनिन्, “हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।”

बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न स्थानमा मानवीय तथा पशुचौपायाको क्षति हुनुका साथै ठुलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् । बाढी प्रभावित तथा विस्थापितलाई विभिन्न स्थानमा स्थापना गरिएका ‘होल्डिङ सेन्टर’मा राखिएको अवस्थामा खानेपानी तथा सरसफाइको अवस्था चुनौतीपूर्ण बनेकाले हैजाजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा ई–कोलाई अर्थात् दिसाजन्य प्रदूषणको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सोही कारण जोखिमयुक्त क्षेत्रमा रोगको प्रकोप नियन्त्रण तथा रोकथामका लागि आपत्कालीन रूपमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

जनस्वास्थ्य कार्यालयका अनुसार जन्मेको एक वर्ष पूरा भएका सबै व्यक्तिलाई खोप उपलब्ध गराउने व्यवस्था गरिएको छ । खोप सुरक्षित र प्रभावकारी रहेकाले लक्षित सबैलाई निर्धक्क भएर खोप सेवन गर्न कार्यालयले अनुरोध गरेको छ ।

हैजाको सङ्क्रमण हुँदा कडा किसिमको जलवियोजन (डि–हाइड्रेसन) भएर ज्यानसमेत जान सक्ने भएकाले बाढी प्रभावित क्षेत्रमा सरकारले विशेष अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गरेको हो । उक्त खोप बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र सबै होल्डिङ सेन्टरमा निःशुल्क उपलब्ध गराइएको छ ।

जनस्वास्थ्य कार्यालयले अभियानलाई लक्ष्यअनुसार प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनसमेत खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । कडा किसिमको झाडापखाला हैजामा परिणत हुनसक्ने भएकाले झाडापखालालगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन जनस्वास्थ्य प्रशासक डा कार्कीले आग्रह गरिन् ।

हैजाको जोखिम उच्च रहेको विदुरवासी ५९ हजार २५४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । हालसम्म नगरपालिकाभित्र ४० हजार २९१ जनाले खोप लगाएको तथ्याङ्क रहेको स्वास्थ्य शाखाले जनाएको छ । विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले खोप लगाउन बाँकी रहेका बासिन्दालाई नजिकैको स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन आग्रह गरे ।

“खोप कार्यक्रम सातै दिन सञ्चालन भइरहेको छ । नगरपालिकाका सबै स्वास्थ्य संस्थाका साथै बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा समेत खोप उपलब्ध गराइएको छ”, उनले भने, “जोखिमलाई ध्यानमा राखेर लक्षित सबै नागरिकले खोप सेवन गर्नु अहिलेका लागि अत्यावश्यक रहेको छ ।”

गत भदौ १० को बाढीपश्चात् माहामारीजन्य रोगको सङ्क्रमण हुन र फैलन नदिन स्वास्थ्यकर्मीले खोप लगाएसँगै उमालेर वा शुद्धीकरण गरेर सुरक्षित पानी पिउने, साबुनपानीले नियमित हात धुने, खाना सफा राख्ने तथा घर, टोल र आसपासको वातावरण सफा राख्न आग्रह गरेका छन् ।

प्यालेस्टिनी प्रतिनिधिमण्डलको भिसा अस्वीकार फिर्ता लिन ईयूको अमेरिकासँग आग्रह

काठमाडौँ । वासिङटनले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन चाहने प्यालेस्टिनी अधिकारीहरूलाई भिसा अस्वीकार गरेको निर्णयप्रति खेद व्यक्त गर्दै पुनर्विचार गर्न युरोपेली सङ्घले शनिबार आग्रह गरेको छ ।

अमेरिकी विदेश विभागले यस हप्ता न्यूयोर्कमा अर्को हप्ता हुने बैठकअघि प्यालेस्टिनी नेता महमूद अब्बास र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरूलाई भिसा नदिने बताएको थियो ।

“हामी प्यालेस्टिनी प्रतिनिधिमण्डलका सदस्यहरूलाई लगातार दोस्रो वर्ष प्रवेश भिसा अस्वीकार गर्ने निर्णयप्रति खेद व्यक्त गर्दछौँ,” ईयूको कूटनीतिक सेवाका प्रवक्ता अनोवार एल अनौनीले भने ।

“संयुक्त राष्ट्रसङ्घसँग रहेका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वहरूका आधारमा हामी संयुक्त राज्य अमेरिकालाई यो निर्णय पुनर्विचार गर्न आग्रह गर्दछौँ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत वर्ष पनि प्यालेस्टिनी प्रतिनिधिमण्डललाई भिसा अस्वीकार गरेको थियो, जसका कारण संयुक्त राष्ट्रसङ्घको महासभाका नियमित सहभागी अब्बासले भिडियोमार्फत सम्बोधन गर्न बाध्य हुनुपरेको थियो ।

महासभाले बिहीबार १५२–३ मतले अब्बासलाई यस वर्ष फेरि भर्चुअली उपस्थित हुन अनुमति दिएको थियो ।

हालको अवस्थामा, मङ्गलबारदेखि सुरु हुने बैठकमा प्यालेस्टिनी नियोगका सदस्यहरू मात्र सहभागी हुन सक्नेछन् ।

शुक्रबार संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेर्रेसले पनि वासिङटनको निर्णयप्रति खेद व्यक्त गर्दै यसले ‘प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्रसङ्घको काममा पूर्ण रूपमा सहभागी हुने क्षमतामा पार्ने प्रभाव’ प्रति चिन्ता व्यक्त गरे ।

संयुक्त राज्य अमेरिका र इजरायलले प्यालेस्टिनी प्राधिकरणले कैद वा मारिएका प्यालेस्टिनीहरूका परिवारलाई (इजरायलीहरूविरुद्ध आक्रमण गर्नेहरूसमेत) ऐतिहासिक रूपमा भुक्तानी दिँदै आएकोमा आपत्ति जनाएका छन् ।

प्यालेस्टिनी प्राधिकरणले हालै यो प्रणाली सुधार गरेर राजनीतिक आबद्धता वा कैदीको अवस्थाको सट्टा आवश्यकताका आधारमा परिवारहरूलाई कल्याणकारी भुक्तानी बाँड्ने व्यवस्था गरेको छ ।

विदेश विभागले वासिङटनले ‘इजरायली–प्यालेस्टिनी द्वन्द्वलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यहरूमा अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) र अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मार्फत एकपक्षीय मान्यता खोजेर वार्ता छल्ने प्रयास” लाई पनि विरोध गरेको बताएको छ ।

उनीहरूमाथि ‘आतङ्कवादीहरूलाई भत्ता दिइरहनु र सार्वजनिक घोषणा तथा विद्यालयका पाठ्यपुस्तकहरूमा आतङ्कवाद र आतङ्कवादीहरूको महिमामण्डन गरेको’ आरोप लगाइएको छ ।

अमेरिका गत वर्ष संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने १४२ सदस्य राष्ट्रहरूसँग मतभेदमा छ ।

अब्बासलाई अमेरिकी प्रवेश भिसा अस्वीकार गर्ने निर्णय वेस्ट बैङ्कमा इजरायली बस्तीवासीहरूद्वारा प्यालेस्टिनीहरूविरुद्ध हिंसा बढेको हालका महिनाहरूमा आएको हो ।

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३/८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो ।

भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम । सिरहाको छुट्टाछुटै स्थानमा शिनबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोटर चलाएर खेतमा पानी लगाउन क्रममा शनिबार दिउँसो करेन्ट लागेर सिरहा नगरपालिका–१९ निवासी ३५ वर्षीय सञ्जिव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । मृतक यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका– ३ रोजी मेडिकल नजिकै ना४ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५० वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पालले बताए ।

सोही ट्रकको ठक्करबाट स्थानीय ४५ वर्षीय राजातुल अन्सारी घाइते भएको र उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ११ पैसा बिक्रीदर ४०७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् ।

लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो ।

गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केशीका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन दिनसम्म कोरला नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट चार लटमा ४१९ वटा भेडाच्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।

वरिष्ठ पशुचिकित्सक डा केसीले भदौ ३१ गते च्याङ्ग्रा १५५, असोज १ गते च्याङ्ग्रा ११८, भेडा ४६ र असोज २ गते च्याङ्ग्रा १०० वटा कोरला नाकाबाट नेपाल भित्रिएको जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बतबाट खरिद गरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनार्थ भेडाच्याङ्ग्रा नेपाल भित्र्याएका पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केसीको भनाइ छ ।

पोखरा कार्यालयअन्तर्गत पोखरा अन्तरराष्ट्रिय विमानस्थल र कोरला नाकामा दुई वटा पशु क्वारेन्टाइन रहेको उनले बताए । क्वारेन्टाइन ऐनअनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी नेपालमा ल्याउन चाहेमा कार्यालयअन्तर्गतको चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण सात दिनअगावै पूर्वजानकारी गराइनुपर्ने प्रावधान रहेको छ । सोही नियमअनुसार लोमान्थाङका जनप्रतिनिधि तथा स्थानीय व्यापारीले कोरला नाका हुँदै तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल ल्याउन सुरु गरेका वरिष्ठ पशु चिकित्सक केसीको भनाइ छ ।

कोरला नाकाबाट पूर्वजानकारी गरी नेपाल भित्र्याइएका भेडाच्याङ्ग्राको पशु स्वास्थ्य निरोगिताको प्रमाणपत्र तथा खोप विवरणको कागजातका आधारमा पशु चेकपोस्टद्वारा स्वीकृति प्रदान गरेको हो । सीमावर्ती भेडाच्याङ्ग्रा व्यापारीले पशु निरोगिताको प्रमाणपत्र पेस गरे पनि खोप विवरण उल्लेख नभएकाले लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल भित्रिएका भेडाच्याङ्ग्राको खोप लगाउने काम भएको वरिष्ठ पशु चिकित्सक डा केसीको भनाइ छ ।

चीनबाट नेपाल भित्रिएका भेडाच्याङ्ग्रा अहिले लोमान्थाङस्थित न्याम्डो र छोसेर चरन क्षेत्रमा स्थानीय भेडाच्याङ्ग्रा बथानसँग नमिसाउने गरी बेग्लै व्यवस्थापन गरिएको छ । अन्य मुलुकबाट नेपाल भित्रिएका पशुचौपायालाई क्वारेन्टाइन ऐनअनुसार सात दिनसम्म छुट्टै व्यवस्थापन गरी राख्नुपर्ने र सोको अनुुमगन क्वारेन्टाइन चेक पोस्टका पशु प्राविधिक र प्रहरी निकायले गर्ने वरिष्ठ पशुचिकित्सक डा केसीले उल्लेख गरे ।

बर्सेनि दसैँ–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा हिमाली भेडाच्याङ्ग्राको माग बढी हुने गर्छ । मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट भेडाच्याङ्ग्रा बजार पुर्‍याइने गरिन्छ । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका स्थानीयले व्यावसायिक रूपमा च्याङ्ग्रापालन गर्ने गरेका छन् । यस वर्ष कोरला नाकाबाट वैधानिक रूपमा तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेपछि लागि भेडाच्याङ्ग्रा केही कम मूल्य पर्न क्ने अपेक्षा गरिएको छ ।

यसैगरी, नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक १० कन्टेनर भेडाको ऊनको नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा गणेश केसीले जानकारी दिए ।

युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति

वासिङटन । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनलाई २.६८ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीको सम्भावित स्वीकृति दिएको छ ।यसअघि किएभले रूसी आक्रमणहरू रोक्नका लागि बारम्बार सहयोगको अपिल गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले कङ्ग्रेसलाई पठाएको सूचनामा भनेको छ, “मन्त्रालयले ‘युक्रेन सरकारलाई सम्भावित विदेशी सैन्य हतियार बिक्री स्वीकृत गर्ने निर्णय’ गरेको छ, जसमा हवाई प्रतिरक्षा विकासको स्तरवृद्धि तथा सम्बन्धित उपकरण र सेवाहरू समावेश छन्।“किएभले विभिन्न प्रकारका मिसाइल, लन्चर, ड्रोन विरोधी राडार र ट्रेलरसहितका उपकरण खरीद गर्न निवेदन दिएको छ,” विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।

प्रस्तावित बिक्रीका लागि कङ्ग्रेसले समीक्षा गर्नेछ र सही लागेमा पारित गर्नेछ । “यदि खरिदका लागि भएको प्रस्ताव कङ्ग्रेसले अनुमोदन गरेमा युक्रेनले यसलाई युरोपेली योगदान र अघिल्लो प्रशासनको पालामा विनियोजन गरिएको अमेरिकी विदेशी सैन्य वित्तपोषणको संयोजनबाट वित्तपोषण गर्नेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही अगस्टमा भनेका थिए, “ट्रम्प प्रशासनले युरोपेली सहयोगीहरूलाई आफ्ना पूर्ववर्ती जो बाइडेनको प्रशासनअन्तर्गत युक्रेनलाई दिइएको अमेरिकी सहयोग फिर्ता गर्न आग्रह गर्नुहुनेछ ।”राष्ट्रपति ट्रम्पले लामो समयदेखि युरोपेलीहरूले युक्रेनप्रति पश्चिमी सहयोगको लागतको ठूलो भाग वहन गर्नुपर्ने माग गर्दै आएका छन् ।

विदेश मन्त्रालयले २.६८ अर्ब डलर लागत अनुमान गरेको शुक्रबारको यो प्रस्ताव राष्ट्रपति ट्रम्पले रूसलाई दबाब दिन नयाँ प्रतिबन्धहरू स्वीकृत गर्ने विधेयकमा हस्ताक्षर गरेको बेला आएको हो ।

युक्रेनको राजधानी किएभमा रूसी आक्रमणहरूमा तीव्र वृद्धि देखिएको छ, जसलाई गोलाबारुदको अभावका कारण यसको हवाई प्रतिरक्षाले रोक्न सङ्घर्ष गरिरहेको छ ।

विश्लेषकहरू भन्छन्, “मस्को युक्रेनी मनोबललाई कमजोर बनाउन र किएभका युरोपेली सहयोगीहरूलाई त्रसित पार्न खोजिरहेको छ । यतिवेला क्रेमलिनले हतियार उत्पादनबाट उसलाई लाभ भएको विश्वास गर्दछ।”वासिङटनको समय र गोलाबारुदको ठूलो भाग ओगटिरहेको मध्य पूर्वको युद्धले पनि द्वन्द्व अन्त्य गर्ने अमेरिकी मध्यस्थता वार्तालाई बाधा पुर्‍याएको छ

ज्ञानेन्द्र शाहीको कटाक्ष- ‘भ्रष्टाचारी र कारबाही गर्छु भन्नेहरू एउटै टेबलमा’

काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको कार्यक्रमलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत शाहीले विगतका राजनीतिक घटनाक्रमलाई जोड्दै संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा सहभागी राजनीतिक नेतृत्वप्रति प्रश्न उठाएका हुन्।

उनले एक पक्षले ‘नयाँ नेपाल बनाउँछु’ भन्दै देशलाई १० वर्ष द्वन्द्वमा धकेलेको र त्यस क्रममा १७ हजार मानिसको ज्यान गएको दाबी गरेका छन्। देशका भौतिक संरचना ध्वस्त भएको तथा अहिले ८० लाखभन्दा बढी नेपाली विदेशमा काम गर्न बाध्य भएको उनको भनाइ छ।

त्यस्तै, अर्को पक्षले ‘भ्रष्टाचारीलाई जेल हाल्छु, संविधान संशोधन गर्छु’ भन्दै अघि बढेको तर त्यस क्रममा ७६ जना ‘जेन्जी’ युवाको ज्यान गएको शाहीले उल्लेख गरेका छन्।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन् –
एउटाले ‘नयाँ नेपाल बनाउँछु’ भन्यो—१७ हजार मान्छे मरे, दस वर्ष देश द्वन्द्वमा धकेलियो, देशका भौतिक संरचना ध्वस्त भए। आज ८० लाखभन्दा बढी नेपाली विदेशमा काम गर्न बाध्य छन्।अर्काले ‘भ्रष्टाचारीलाई जेल हाल्छु, संविधान संशोधन गर्छु’ भन्यो ७६ जना जेन्जी युवाको ज्यान गयो। देश खरानी भयो।
तर आज न भ्रष्टाचारी जेल परे, न संविधान संशोधन भयो,
बरु भ्रष्टाचारीहरू र ‘भ्रष्टाचारीलाई कारबाही गर्छु’ भन्दै देश खरानी बनाउनेहरू आज शीतल निवासमा
एउटै टेबलमा बसेर मजा लिइरहेका छन्
सत्य तीतो हुन्छ, यथार्थ यही हो।

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल सहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेकाे छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन् ।

एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री

नागोया। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) की अध्यक्ष क्रिस्टी कोभेन्ट्रीले महादेशीय खेलकुदले ओलम्पिक अभियानसँगको सम्बन्ध थप सुदृढ गर्दै ओलम्पिक खेलकुदमा योगदान पुर्याउने दिशामा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

सन् २०२६ को आइची–नागोया एसियाली खेलकुदमा ४३ खेल समावेश छन् । पेरिस ओलम्पिकमा भने ३२ खेल समावेश थिए । एसियाली खेलकुदमा १७ हजारभन्दा बढी खेलाडी तथा अधिकारी सहभागी हुँदैछन् । खेलको सङ्ख्या र संरचनालाई लिएर एसियाली खेलकुदलाई थप व्यवस्थित र ओलम्पिकसँग नजिक बनाउने विषयमा बहस भइरहेका बेला कोभेन्ट्रीको यस्तो धारणा आएको हो ।

“महादेशीय खेलकुदसम्बन्धी निर्णय सम्बन्धित महादेशले नै गर्नुपर्छ । महादेशीय सङ्घहरूको आफ्नै स्वायत्तता हुन्छ । तर भविष्यमा महादेशीय खेलकुदले ओलम्पिक अभियानमा कसरी योगदान पु¥याउन सक्छ भन्ने पक्षलाई अझ बलियो बनाउन आवश्यक छ”, कोभेन्ट्रीले सिन्ह्वासँगको अन्तर्वार्तामा भन्नुभयो ।

उहाँले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले एसियाली खेलकुदलाई ओलम्पिकभन्दा एक वर्षअघि आयोजना गर्ने प्रयास गरिरहेको उल्लेख गर्नुभयो । यसो गर्दा एसियाली खेलकुदलाई ओलम्पिक छनोट प्रतियोगिताका रूपमा समेत प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

“महादेशीय सङ्घहरूले आफ्ना प्रतियोगिता ओलम्पिकभन्दा एक वर्षअघि आयोजना गर्न जोड दिइरहेका छन्, ताकि तिनलाई ओलम्पिक छनोटका लागि प्रयोग गर्न सकियोस् । यो ओलम्पिक अभियानलाई सुदृढ बनाउने उत्कृष्ट माध्यम हुन सक्छ”, उहाँले भन्नुभयो ।

यद्यपि, खेल कार्यक्रम निर्धारण गर्ने अधिकार सम्बन्धित महादेशीय निकाय र आयोजक राष्ट्रमै रहने कोभेन्ट्रीले स्पष्ट पार्नुभयो । उहाँका अनुसार प्रत्येक महादेश र आयोजक राष्ट्रका खेलसम्बन्धी आफ्नै प्राथमिकता हुने भएकाले कार्यक्रम निर्धारण गर्दा विभिन्न पक्षबीच सन्तुलन आवश्यक हुन्छ ।

कोभेन्ट्री शुक्रबार साँझ नागोया पुग्नुभएको थियो । शनिबार उहाँले मुख्य मिडिया केन्द्रमा एसियाका आईओसी सदस्यहरूसँग भेट गर्नुभयो भने मुख्य प्रेस केन्द्र तथा अन्तरराष्ट्रिय प्रसारण केन्द्रको अवलोकन गर्नुभयो ।

उद्घाटन समारोहप्रति उत्साहित रहेको बताउँदै उहाँले खेलाडीहरूलाई प्रत्यक्ष हेर्न आफू आतुर रहेको बताउनुभयो । उहाँले बास्केटबल र पौडीसहित अन्य केही प्रतियोगिता अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

एसियाली खेलकुदको स्वर्ण पदक तालिकामा चीन लगातार ११ संस्करणदेखि शीर्ष स्थानमा रहँदै आएको छ । चीनको निरन्तर सफलताबारे सोधिएको प्रश्नमा कोभेन्ट्रीले चीनको प्रदर्शन आफैँमा स्पष्ट रहेको बताउँदै आगामी दिनमा पनि उसको सफलताको कामना गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताउनुभएको छ ।भारत भ्रमणमा रहनुभएका उहाँले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न त्यहाँका लगानीकर्तालाई आह्वान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआइ)द्वारा आज आयोजित व्यापार तथा लगानी अन्तरक्रियामा अर्थमन्त्री डा वाग्लेले उदीयमान लगानीका अवसरमाथि प्रकाश पार्दै आर्थिक रूपान्तरणमा सहभागी हुन आह्वान गर्नुभएको हो । उहाँले नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका लागि ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्न आग्रह गर्नुभयो ।

मन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेकामा जोड दिनुभयो । उहाँले नीतिगत सुधारलाई तीव्र बनाउन र अझ बढी अनुमानयोग्य, पारदर्शी तथा लगानीमैत्री व्यावसायिक वातावरण सिर्जना गर्न सरकारले लागिपरेको स्पष्ट पार्नुभयो ।

“सूचना प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्”, मन्त्री वाग्लेले भन्नुभयो, “भारतीय व्यवसायीलाई नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्न चाहन्छौँ ।”

उहाँले वार्षिक बजेट, कर सुधार र लगानीकर्तामैत्री नीतिगत पहलमार्फत नेपाल सरकारले हालै चालेका कदम व्यावसायिक वातावरण सुधार गर्न, लगानीका बाधाहरू हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन लक्षित रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको उल्लेख गर्नुभयो ।कार्यक्रममा भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

काभ्रेपलाञ्चोक। भोटेकोशीको बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शव बनाएर संस्कारपूर्वक अन्त्येष्टि गरिएको छ ।

बाढीपछि हराइरहेका ३७ जिल्लाका नागरिक अहिलेसम्म परिवार तथा प्रशासनको सम्पर्कमा नआएको जिल्लास्थित प्रशासन कार्यालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । बाढीपछि चौँरी देउराली गाउँपालिका–५ का हेमन्त चौलागाईं, प्रतीक गौतम, वडा नं ७ को सम्झना मोक्तान, चौँरी देउराली–२ घर भई हाल कलङ्की बस्ने राजेन्द्र प्रधान, पनौती नगरपालिका–५ का दिनेश श्रेष्ठ, वडा नं ३ का अच्युतम सापकोटा, वडा नं ९ का अर्जुन खत्री केसी सम्पर्कविहीन अवस्थामा रहनुभएको हो ।

यस्तै, बनेपा–९ का उद्धव सापकोटा, वडा नं १० का बालकृष्ण रञ्जित, प्रह्लाद गिरी परिवारसँग सम्पर्कविहीन हुनु भएको जनाइएको छ । बनेपा–८ का एगेश श्रेष्ठ, आशिष गुभाजु, भोगेन्द्रकुमार खत्री, वडा नं १३ को प्रकृति डङ्गोल सम्पर्कमा आउनु भएको छैन । पाँचखाल–११ का मिलन खरेल, राजकुमार गौतम, वडा नं ३ का ज्ञानेन्द्रलाल श्रेष्ठ, भुम्लु–१ का महेश पन्त, मिलन श्रेष्ठ र प्रकाश श्रेष्ठ, वडा नं ५ का राजकुमार रिजाल, वडा नं ८ का सुवास तामाङ सम्पर्कविहीन बनेको केन्द्रले जनाएको छ ।

त्यस्तै, बाढीपछि बेथानचोक–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन र आइते तामाङ, तेमाल–७ का विशाल तामाङ, वडा नं ८ का गणेश लामा, वडा नं ६ का सुमन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ, ज्ञानबहादुर राना मगर र मिलन तामाङ सम्पर्कविहीन हुनुभएको छ ।

मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ, धुलिखेल–२ का सङ्गम चौलागाईं, सुकुमान तामाङ, वडा नं ३ का मनिक भुजेल, वडा नं ८ का महेश तामाङ हालसम्म सम्पर्कविहीन अवस्थामा रहनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल गरिरहेको जानकारी दिनुभयो ।

यसैबीच, तीन हप्ताभन्दा बढी समयसम्म कतै सम्पर्क तथा कुनै पत्ता नलागेपछि सम्पर्कविहीनमध्ये तीन जनाको परिवारले जीवित भेटिने आश मारेर कुशको शव बनाई परम्पराअनुसार दाहसंस्कार गरेका छन् । पाँचखाल–११ का राजकुमार गौतम तथा बनेपा–१० का बालकृष्ण रञ्जित र प्रह्लाद गिरीको कुशको शव बनाई परम्पराअनुसार दाहसंस्कार गरिएको हो । उक्त बाढीमा परी ज्यान गुमाएका पाँचखाल–६ का बस चालक दिलकुमार श्रेष्ठ र रोशी–९ का शङ्खबुद्ध तामाङको शव यसअघि नै फेला परिसकेको काभे्रपलाञ्चोक प्रशासनले जनाएको छ ।

सुरेश नगरकोटीको प्रस्तुतिमा दोहोरी गीत ‘पहिलो चरण’ सार्वजनिक

काठमाडौं । सुरेश नगरकोटीको प्रस्तुतिमा दोहोरी गीत ‘पहिलो चरण’ सार्वजनिक गरिएको छ । प्रेमभावले भरिएको गीतमा शितल गुरुङ र दिपिका बयम्बु मगरको स्वर रहेको छ ।रमेश परियारको शब्द तथा संगीतमा तयार भएको गीतको शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच लोक स्वर सम्राट राजु परियारले विमोचन गरे । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ भने ओजन स्टुडियोमा रेकर्डिङ गरिएको हो । प्रेमिल भाव र मौलिक दोहोरीको स्वाद समेटिएको गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।

गीतको भिडियो रोशन विश्वकर्माको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो । भिडियोमा सुरेश कोहली, सुन्जना गुरुङ, तुल्सी गुरुङ र सुरेश नगरकोटीको अभिनय तथा प्रस्तुति रहेको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोको कलर तथा सम्पादन मनोज कार्कीले गरेका छन् ।

विमोचन कार्यक्रममा लोक स्वर सम्राट राजु परियारले गीत तथा भिडियो निर्माणको प्रशंसा गर्दै सफलताको शुभकामना दिए । उनले शितल गुरुङ र दिपिका बयम्बु मगरको स्वरले गीतलाई थप आकर्षक बनाएको बताउँदै डिजिटल पुस्ताका दर्शक–श्रोताले पनि गीतलाई रुचाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव एवं सर्जक शिव हमालले ‘पहिलो चरण’ लोक बजारमा अब्बल सिर्जनाका रूपमा स्थापित हुने शुभेच्छा व्यक्त गरे । प्रवासमा पसिना बगाइरहेका लोकसंगीतप्रेमीहरूले नेपाली लोकगीत–संगीतमा गरेको लगानीले समग्र लोक क्षेत्रको विकासमा योगदान पुर्‍याइरहेको भन्दै उनले निर्माता सुरेश नगरकोटीलाई धन्यवाद दिए ।

कार्यक्रममा सर्जक रमेश परियारले गीतको भाव तथा सिर्जनाको पृष्ठभूमिबारे जानकारी गराएका थिए । गायक शितल गुरुङ र गायिका दिपिका बयम्बु मगरले गीत प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । गायक तेजश रेग्मीले पनि गीतको सफलताको शुभकामना दिए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले लोक क्षेत्रमा एउटा राम्रो सिर्जना थपिएको भन्दै गीतको व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे । गीत रमेश परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

‘झिंगेदाउ २’ लाई दोस्रो दिन पनि दर्शकको उत्साहजनक साथ

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको दोस्रो दिन शनिबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ । शनिबार राजधानीका विभिन्न हलमा चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । हलमा दर्शकको चापसँगै चलचित्रप्रति उनीहरूको उत्साह पनि देखिन्थ्यो ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको चलचित्रले दोस्रो दिन पनि दर्शक तान्न सफल भएको छ । हलमा चलचित्र हेरेर निस्किएका दर्शकले कथावस्तु, कलाकारको अभिनय तथा प्रस्तुतिको प्रशंसा गरेका छन् ।

दर्शकको उत्साहजनक उपस्थितिले चलचित्रको निर्माण पक्ष पनि उत्साहित देखिएको छ । सुरुवाती दुई दिनको प्रतिक्रियाले आगामी दिनमा चलचित्रको प्रदर्शन थप बलियो हुने अपेक्षा निर्माण पक्षले गरेको छ ।

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

मस्को। रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ ।क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढाएको यस कदमको युक्रेनले कडा विरोध गरेको छ । मानव अधिकारकर्मीहरूले भने त्यहाँका बासिन्दालाई मतदानका लागि दबाब दिइएको बताएका छन् ।

रुसभर शुक्रबारदेखि सुरु भएको मतदान आइतबारसम्म चल्नेछ । तर, युक्रेनका रुसी नियन्त्रणमा रहेका क्षेत्र तथा रुसको सीमावर्ती केही क्षेत्रमा भने सुरक्षा कारण देखाउँदै गत महिनाको अन्त्यदेखि नै मतदान सुरु गरिएको थियो ।

रुसी अधिकारीहरूका अनुसार डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रमा ३५ लाखभन्दा बढी मतदाता छन् । रुसले सन् २०२२ को सेप्टेम्बरमा यी क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेको थियो । त्यतिबेला ती सबै भूभागमा उसको पूर्ण नियन्त्रण थिएन । रुसको उक्त कदमलाई अन्तरराष्ट्रिय समुदायले मान्यता दिएको छैन ।

रुसी नियन्त्रणमा रहेको डोनेत्स्क क्षेत्रको एक मतदान केन्द्रमा सशस्त्र रुसी सैनिकको उपस्थितिमा मतदाताले मतदान गरेका थिए ।राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको सम्बोधनमा ती क्षेत्रका बासिन्दाले ‘रुससँग पुनर्मिलन’ पछि पहिलो पटक स्टेट डुमाका लागि मतदान गरिरहेको बताउँदै निर्वाचनको महत्वमा जोड दिनुभयो । युद्धमा सङ्लग्न रुसी सैनिकहरूले पनि मतदान गर्ने उहाँले उल्लेख गर्नुभयो ।

सन् २०१४ मा रुसले गाभेको क्रिमियामा पनि मतदान भइरहेको छ । युद्धका क्रममा भइरहेको स्टेट डुमाको यो पहिलो निर्वाचनले क्रेमलिनको राजनीतिक प्रभाव सुदृढ गर्ने र युद्धप्रतिको जनसमर्थन देखाउने उद्देश्य राखेको रुसी पक्षको भनाइ छ ।

युक्रेनले भने रुसी नियन्त्रणमा रहेका क्षेत्रमा गरिएको मतदानलाई गैरकानुनी भन्दै विदेशी सरकार तथा अन्तरराष्ट्रिय संस्थाहरूलाई त्यसलाई मान्यता नदिन आग्रह गरेको छ । युक्रेनका नौ मानव अधिकारवादी संस्थाको गठबन्धनले पनि ती क्षेत्रका बासिन्दालाई मतदानमा सहभागी नहुन आह्वान गरेको छ ।युरोपेली आयोगका प्रवक्ता क्रिश्चियन विग्यान्डले ती क्षेत्रमा गरिएको मतदानलाई अन्तरराष्ट्रिय कानुनको उल्लङ्घन भन्दै युरोपेली सङ्घले निर्वाचन र त्यसका परिणामलाई मान्यता नदिने बताउनुभएको छ ।

‘डोनबास एसओएस’ मानव अधिकार समूहकी संयोजक भायोलेटा आर्टेमचुकले स्थानीय निर्वाचन आयोगका सदस्यहरू रुसी सैनिक र सुरक्षाकर्मीको साथमा घरघर पुगेर मानिसलाई मतदान गर्न बाध्य पारिरहेको दाबी गर्नुभयो । सार्वजनिक क्षेत्रमा काम गर्नेहरूलाई जागिरबाट हटाउने धम्की दिइएको तथा सामाजिक सुरक्षा र अन्य सुविधालाई मतदानसँग जोडिएको उहाँको भनाइ छ ।

किएभस्थित पेन्टा सेन्टरका राजनीतिक विश्लेषक भोलोदिमिर फेसेन्कोले रुसी नियन्त्रणमा रहेका क्षेत्रमा भएको निर्वाचनलाई ‘बन्दुकको बलमा गरिएको निर्वाचन’ भन्दै आलोचना गर्नुभएको छ । उहाँले निरन्तरको युद्धबीच भइरहेको मतदानले लोकतान्त्रिक निर्वाचनको मान्यतामाथि प्रश्न उठाएको बताउनुभयो ।

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान। इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो ।

यद्यपि, उक्त दाबी स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलडमरूमध्य पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी दिएको छ । अर्को तेलवाहक जहाजमाथि पनि अज्ञात वस्तुबाट आक्रमण भएको बताइएको छ । चालकदलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ ।

यमनमा हुथी समूहको गतिविधिका कारण बाब अल-मन्देब जलडमरूमध्यमा पनि व्यापारिक जहाजको आवागमन घटेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण महत्वपूर्ण समुद्री व्यापारिक मार्ग प्रभावित भइरहेका छन् ।

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन आग्रह गर्दै यस क्षेत्रको विकासबिना मुलुकको पूर्ण विकास सम्भव नहुने बताएका छन् ।कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको ११औँ संविधान तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको बताउँदै संविधानले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र समानुपातिकतालाई केन्द्रमा राखेको सुनाए ।

प्रदेश प्रमुख जोशीले संविधानको अक्षरशः पालना र प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै अङ्गको सक्रियता आवश्यक रहेकाे बताए । मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट जारी भएको संविधानले नागरिकका सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताए ।

संविधानको संस्थागत विकासका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकलाई राज्यको अनुभूति गराउन तीनै तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेको बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपालको संविधानले सबै जाति, वर्ग, धर्म, लिङ्ग र भाषाका नागरिकलाई समेटेको बताइन् । संविधानले नागरिकका अधिकार सुनिश्चित गर्नुका साथै कर्तव्यप्रति पनि सचेत गराएको उनले उल्लेख गरिन् ।

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौँ । नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ । निमा एजुसेशन फाउण्डेसनले आज यहाँ एक कार्यक्रमसहित आगामी वर्ष हुने ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतिस्पर्धामा भाग लिने नेपाली विद्यार्थी छनोट प्रक्रिया शुभारम्भ गरेको हो ।सातदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीले भाग लिन पाउने सो अन्तरराष्ट्रिय प्रतियोगितामा करिब ५० देशका प्रतिस्पर्धी हुने फाउण्डेसनले जनाएको छ ।

एआई रोबोटिक्सको प्रयोग गरी संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य हासिल गर्न नवीन समाधानसहित कार्यक्रम तथा कार्ययोजना निर्माणमा प्रोत्साहित गर्ने अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने प्रक्रियामा सहभागी हुन मुलुकका अधिकांश विद्यालयबाट माग भइरहेको कोडेभर नेपाल’का कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार परिवर्तित विश्वपरिवेशमा आलोचनात्मक सोच, सिर्जशीलता, सहकार्य एवं सञ्चार गरी चार महत्वपूर्ण सीप र क्षमता विकासमा जोड दिने नीतिसहित नवप्रवर्तन तथा उद्यमशीलता, स्वच्छ ऊर्जा तथा विश्वव्यापी ऊर्जा सङ्कटसम्बन्धित चुनौतीको समाधान गर्न रोबोटिक्स तयार गर्ने र फुटबल खेल्ने रोबोटिक्स तयार गरी प्रतिस्पर्धा गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

उनका अनुसार गत वर्ष इण्डोनेसियाको जाकार्तामा सम्पन्न प्रतियोगितामा नेपालका पाँच हजार विद्यार्थीबाट छनोट भएका ९५ जना सम्मिलित ४० टोलीले भाग लिएको, ६ वटा कीर्तिमानी अन्तर्राष्ट्रिय उपाधि जितेको र विश्वका ३० उत्कृष्टभित्र नेपालका तीन वटा प्रोजेक्ट पर्न सफल भएको थियो ।

जाकार्ताका साथै यसअघि सन् २०२४ मा दुबईमा ६० विद्यार्थीसहित २० टोली र सन् २०२५ मा कतारको दोहामा ७२ विद्यार्थीसहित १९ टोलीले ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतियोगितामा भाग लिई उल्लेखनीय परिणाम ल्याउन सफल नेपालले यसपटक १० उत्कृष्ट मुलुकभित्र पर्नका लागि आवश्यक तयरी गरिहेको फाउण्डेसनका कार्यकारी अधिकृत निश्चल प्रधानले जानकारी दिए ।

प्रधानमन्त्री शाहको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले महासभामा सहभागिता जनाउने

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ।परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् ।

साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार , परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

यस पटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ। यो पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागिता जनाउन जानेमध्येको कम संख्या पनि हो।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रमसमेत रहेको छ।प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्नेछन् ।

भदौमा ५६ करोड युनिटभन्दा बढी विद्युत् निर्यात, ५ अर्ब ९ करोड आम्दानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यस अबधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो ।

प्राधिकरणकाअनुसार भदौ महिनामा द्विपक्षीय सम्झौतातर्फ ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात गरी ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी भएको छ । त्यसैगरी विद्युत् बजार मार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् निर्यात भई १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

भदौ महिनाको कुल निर्यातमा द्विपक्षीय सम्झौता मार्फत भएको निर्यातको हिस्सा बढी रहे पनि विद्युत् बजार मार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको देखिन्छ । यसैबीच भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात भने बन्द रहेको छ ।

प्राधिकरणले अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिसकेको जनाएको छ । आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता नेपाल विद्युत् प्राधिकरणले व्यक्त गरेको छ ।

‘संविधानलाई राजनीतिक अस्त्र बनाउन जरुरी छैन’ – राजीव खत्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले संविधानलाई विरोध र समर्थनको राजनीतिक अस्त्र बनाउन आवश्यक नरहेको बताएका छन्।

संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै खत्रीले एक वर्षअघिको आफ्नो धारणा र अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने भनाइबीचको विरोधाभासतर्फ संकेत गरेका हुन्।

उनले लेखेका छन्, ‘एक वर्षअघि : दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ। एक वर्षपछि : अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गरौँ।’

खत्रीले अहिले संविधानको चिन्ताले कोही ‘मरिच’ हुनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन्। जनजी आन्दोलनपछि यो पुस्ता संविधानको पक्षमा नउभिएको भए देश फरक स्वरूपको संविधानबाट चलिरहेको हुन सक्ने उनको भनाइ छ।

संविधान संशोधनको विषयमा डराउन आवश्यक नरहेको उल्लेख गर्दै उनले सार्वभौमसत्ता र भौगोलिक अखण्डताबाहेक अन्य विषयमा संशोधन गर्न संविधानले रोक नलगाएको दाबी गरेका छन्।

खत्रीले सामाजिक सञ्जालमा लेखेका छन् –

– एक वर्षअघि: दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ ।
– एक वर्षपछि: अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गरौं ।
✍️ भो अब संविधानको चिन्ताले कोहि मरिच हुनुपर्दैन । यदि यो पुस्ता यो संविधानको पक्षमा हुँदैन थियो भने जेन जी आन्दोलनपछि दुई पेजको संविधानले देश चल्दै गरेको हुने थियो । संशोधनको मुद्दाले तर्सिनु पनि पर्दैन किन कि यो संविधानले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताबाहेक अन्य विषयमा संशोधन गर्न रोकेकै छैन । त्यसैले यथार्थता र समाजका सपनालाई समेट्ने गरी संविधान लेखिनुपर्छ, र समाज/राजनीतिको बदलिंदो अपेक्षालाई सम्बोधन गर्ने गरी संविधानमा सुधार हुँदै जानुपर्छ । जनताको चाहाना हुन्छ भने राजतन्त्र र हिन्दू राज्य फर्काउनसमेत यो संविधान बाधक छैन ।
‘पछाडि फर्किने कुरा स्वीकार्य छैन’ भन्दै ध’म्क्याउँदै संविधानलाई वि’रोध र समर्थनको राजनीतिक अ’स्त्र बनाउन जरुरी नै छैन । संविधानलाई राजनीतिक यथार्थताभन्दा कानुनको साँघुरो घेरामा सीमित गर्न नखोजौ । संविधानलाई कानुनका ‘यान्त्रिक’ पा’सोमा फ’साइयो भने यसले राजनीतिक वै’धता गुमाउँदै जान्छ ।
संविधान दिवसको शुभकामना !

संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड

जनकपुरधाम। मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त देशको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो भनेका छन्।

उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनसँगै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्। उनले संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने भन्दै सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन्।

संविधान दिवसको अवसरमा शनिबार जारी शुभकामना सन्देशमा आङ्देम्बेले संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने बताएका छन्। उनले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गरी राष्ट्रिय सहमतिका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।

उनको भनाइमा, ‘त्यसैले त्यस्तो प्रतिवेदनलाई खारेज गरौँ। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाऔँ। बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरौँ।’

संविधान संशोधनका लागि गठन गरिएको कार्यदलको क्षेत्राधिकार र संविधानका आधारभूत मूल्य मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै दलहरूले लिखित असहमति जनाएका थिए। कार्यदलले भने विभिन्न विज्ञ, राजनीतिक दल, संस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ।

आङ्देम्बेले संविधान कार्यान्वयनको प्रश्न पनि उत्तिकै गम्भीर रहेको बताएका छन्। ‘संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि बलमिच्याइँ भइरहेको अनुभूति भइरहेको छ। यो गम्भीर विषय हो,’ उनले भनेका छन्।

उनले कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। संवैधानिक अंगलाई कार्यपालिकाको कारिन्दा निकायमा परिणत गर्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।

‘नेपाली कांग्रेसलाई संविधानमाथि चौतर्फी आक्रमण सरकारबाटै भइरहेको प्रतीत भएको छ,’ आङ्देम्बेले भनेका छन्, ‘सरकारको ध्यानाकर्षण गर्छु कि संविधानको हुर्मत नलिइयोस्। संविधानको मर्ममाथि खेलवाड नगरियोस्। संवैधानिक संस्थाको गरिमा नघटाइयोस्। व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गरियोस्।’उनले आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने तर संशोधनका नाममा संविधानको आत्मामाथि प्रहार गर्न नहुने बताएका छन्।

राष्ट्रपति पौडेलद्वारा संविधान दिवसमा एकताबद्ध भई अघि बढ्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार निर्माण गरेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताए । वि.सं.२०७२ असोज ३ गते संविधान जारी भएको ऐतिहासिक उपलब्धिको स्मरण गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट भएर अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याउने राजनीतिक दलका नेता, नागरिक तथा राजनीतिक कार्यकर्ताको योगदानको सम्मान गरे ।

हिमाल, पहाड र तराईको भौगोलिक विविधतासँगै बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान नेपालको विशेषता भएको बताए । राष्ट्रपति पौडेलले संविधानले सबै समुदायलाई समान संरक्षण दिएको बताए । नेपालीबीचको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने गतिविधि नहोस् भन्ने विश्वाससमेत उनले व्यक्त गरे ।

संविधान दिवसमा ओलीको सन्देश- ‘संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनमा जोड दिऔँ’

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संविधानसभाबाट जारी भएको संविधानलाई नेपालको पहिलो ऐतिहासिक संविधान भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको संविधानले गणतन्त्रलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापित गरेको बताए । उनले संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारबीच अधिकार बाँडफाँट गरेको तथा राज्यका अंगहरूमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई आत्मसात गरेको उल्लेख गरे ।

उनले नेपालको संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा चित्रण गर्दै संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

ओलीले संविधान जारी गर्ने समय देशले कठिन परिस्थितिको सामना गरेको स्मरण गर्दै संविधान जारी भएपछि नाकाबन्दीजस्तो चुनौती व्यहोर्नुपरेको उल्लेख गरे । त्यस्ता कठिनाइले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको उनले बताए ।

उनले संविधान निर्माणका क्रममा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलन तथा लोकतान्त्रिक, वामपन्थी र देशभक्तिपूर्ण आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य बलियो र समृद्ध हुनुपर्ने उल्लेख गर्दै उनले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यका रूपमा अघि सारेको बताए ।

अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

रसुवा। भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ। खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र सुरूङमा शव फेला परेको अपर त्रिशूली–१ का सामाजिक विज्ञ हर्क तामाङले जानकारी दिए। खोज उद्धारका लागि नेपाली सेना र जलविद्युत् कम्पनीका कर्मचारी रहेको विज्ञ तामाङले बताए।

उक्त क्षेत्रमा बिहीबार पनि ६ जना मजदुरको शव फेलापरेको प्रहरी प्रमुख थापाले बताउनुभयो । त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेला परेका हुन्।

बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा सनाखत गर्ने कार्य बाँकी रहेको प्रहरीको भनाइ छ। बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धारकार्य जारी राखिएको थियो।

दुई सय १६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो। सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोकमा डुबेका छन्। निर्माता कम्पनीले कुन–कुन नामका कति कामदार पठाएको भन्ने कुनै तथ्याङ्क राख्न नसक्दा शव पहिचानको लागि गाह्रो परेको प्रहरीले जनाएको छ।

फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा

काठमाडौँ । दुबईको राष्ट्रिय एयरलाइन्स ‘फ्लाइ दुबई’ ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान गर्ने घोषणा गरेको छ । सो कम्पनीले यही असोज ७ गतेदेखि उडान सुरु गर्न लागेको हो ।

नयाँ सेवासँगै फ्लाइ दुबई संयुक्त अरब इमिरेट्स (युएई ) बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स हुनेछ । सन् २००९ देखि काठमाडौँमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाइ दुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ ।

फ्लाइ दुबईका प्रमुख कार्यकारी अधिकृत घैथ अल घैथले नेपाल फ्लाइ दुबईका लागि अत्यन्त महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र युएइबिचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताए।

उनले दुबईलाई विश्वस्तरीय हवाई केन्द्रका रूपमा उपयोग गर्दै यात्रुलाई थप पहुँच र सहज कनेक्टिभिटी प्रदान गर्न पाउँदा कम्पनी गौरवान्वित रहेको बताए। फ्लाइ दुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधीर श्रीधरनले पोखरा उडानले यात्रुलाई थप विकल्प र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उल्लेख गरे।

उनका अनुसार यो सेवा संयुक्त अरब इमिरेट्स, खाडी मुलुकहरू, मध्यपूर्व, युरोप तथा फ्लाइ दुबईको विस्तृत अन्तरराष्ट्रिय सञ्जालबाट यात्रा गर्ने यात्रुको मागलाई लक्षित गरी सञ्चालन गरिनेछ । अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित पोखरा नेपालको प्रमुख पर्यटन तथा साहसिक गतिविधिको केन्द्रका रूपमा परिचित छ।नयाँ प्रत्यक्ष उडान सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तरराष्ट्रिय पहुँच अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।साविक रमदैया भवाडी गाविसका वडा नं २, ३, ४, ६, ७ र ८ का ती परिवारको जग्गाको नाप नक्सा विसं २०७४ मै सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरण हुन सकेको थिएन ।

क्षीरेश्वरनाथ नगरपालिकामा आज आयोजित कार्यक्रममा नगरप्रमुख सुखदेव यादवले जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरे । नाप नक्सा सम्पन्न भइसकेका नगरपालिका–२ का २४२ परिवारलाई भोलि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी रहेको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले जानकारी दिए ।

नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गर्न थालिएको उनले बताए ।
यसअघि भदौ २९ गते हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

पर्सा । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।

त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित गोठमा लुकाइराखेको रु १० लाख ५८ हजार ५४० बराबरका कपडा बरामद गरिएको छ ।बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए ।