`

आज नृसिंह जयन्ती

काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ ।भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिनुभएकाले यस दिन नृसिंह जयन्ती मनाउने गरिएको जानकारहरू बताउँछन् । धार्मिक मान्यताअनुसार नृसिंह अवतार भगवान् विष्णुको चौथो अवतार हो ।

दैत्यराज हिरण्यकश्यपुको वध गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नु परेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

हिन्दु धर्म ग्रन्थमा उल्लेख भएअनुसार कष्यप ऋषिकी पत्नी दितिको गर्भबाट दुई बालक हिरण्याक्ष र हिरण्यकश्यपु पैदा भएका थिए । ठूलो भएपछि दुवैले जताततै उप्रद्रो मच्चाउन थाले ।

हिरण्याक्षलाई भगवान् विष्णुको तेस्रो अवतार बराह भगवान्ले मार्नुभएको थियो । हिरण्यकश्यपुले ब्रह्माजीको घोर तपस्या गर्दा हिरण्यकश्यपुको शरीरबाट आगोको ज्वाला निस्कन्थ्यो ।

यो देखेर ब्रह्माजीले हिरण्यकश्यपु भएको ठाउँमा गएर इच्छाअनुसार वरदान माग्ने आज्ञा गर्नुभयो । यो सुनेर हिरण्यकश्यपुले ब्रह्माजीसँग अमर रहने वरदान मागे । ब्रह्माजीले जन्मेपछि मर्नैपर्ने सृष्टिको नियम भएकाले अरू वर माग्ने आज्ञा गर्नुभयो ।

यो सुनेर हिरण्यकश्यपुले घरको बाहिर घरको भित्र, रातिको अँध्यारो, दिनको घाममा, आकाशमा, पातालमा, जमिनमा, नर (मानिस)बाट, यक्षबाट, गन्धर्वबाट, देवताबाट, कसैको हातबाट र हतियारबाट नमर्ने वरदान मागेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रह्माजीले हिरण्यकश्यपुको तपस्या घोर भएकाले मागेको वरदान दिनुभयो । ब्रह्माजीको वरदान पाएर हिरण्यकश्यपु अमर भयो ।

यस्तो छ किंवदन्ती

धार्मिक ग्रन्थमा उल्लेख भएनुसार हिरण्यकश्यपुले तीनै लोकमा कब्जा जमाए । जगत्लाई आफ्नो बसमा बनाए । पूरा सृष्टिको मालिक म नै हो, मभन्दा ठूलो अरू कोही छैन भन्ने विश्वास सबैमा दिलाउन अनेक प्रयत्न गरेँ । हिरण्यकशिपुको घरमा भक्त प्रह्लादको जन्म भयो । भक्त प्रह्लाद दैत्य राज हिरण्यकश्यपु जस्ताको छोरा भएर पनि सानैदेखि हरि भक्तिमा रुचि राख्न थाले ।

यो देखेर दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई संसारको अधिपति आफू भएको र आफूभन्दा ठूलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो, तर प्रह्लादले उनलाई कुवाको भ्यागुताको संज्ञा दिँदै उल्टो जवाफ दिए । यो सुनेर हिरण्यकश्यपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठाए ।

प्रह्लाद त्यहाँ पनि पढाइ छोडेर हरि भक्तितिरै लागे । गुरुले धेरै सम्झाए, तर प्रह्लादले हरि भक्ति छोडेनन् । झनै त्यहाँ भएका अन्य दैत्य पुत्रलाई हरि भक्तिमा लगाए । यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकश्यपु कहाँ फिर्ता पठाइदिए । हिरण्यकश्यपुले फेरि प्रह्लादलाई सम्झाउने कोसिस गरेका थिए, तर प्रह्लादले हरि भक्तिभन्दा ठूलो केही ज्ञान छैन भनी सुनाए ।

हिरण्यकश्यपु रिसाएर प्रह्लादका हातखुट्टा बाँधेर हात्तीको बाटोमा छोड्न लगाए, तर हात्तीले प्रह्लादलाई देखेर कुल्चन सकेनन् । हिरण्यकश्यपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगाए, प्रह्लादलाई सागरमा बगाइयो तर हरिकृपा, विष्णु भगवान् स्वयं आएर प्रह्लादलाई बचाउनुभयो ।

प्रह्लादलाई ज्ञान दिएर भगवान् अन्तध्र्यान हुनुभयो । केही दिनपछि हरि ज्ञान प्राप्त गरेर प्रह्लाद घर फर्किए । प्रह्लादलाई देखेर हिरण्यकश्यपु फेरि सम्झाउन लागे । प्रह्लादले हरिभन्दा ठूलो कोही नभएको र हरि सबै ठाउँमा रहेको कुरा दोहो¥याए । रिसले चुर भएका हिरण्यकश्यपुले ‘यदि तेरो हरि सबै ठाउँमा छ भने मेरो सामुन्ने हरिलाई देखा’ भने । प्रह्लादले हरिको ध्यान गर्दै विष्णुको आह्वान गरे । केही छिनमै भगवान् विष्णु खम्बाबाट नृसिंह अवतारमा प्रकट हुनुभयो । यो देखेर हिरण्यकश्यपुले खम्बालाई तरवारले काट्यो । भगवान् नृसिंह पनि रिसाएर हिरण्यकश्यपुलाई मार्न अघि सर्नुभयो । नृसिंह भगवान्को आधा शरीर सिंहको र आधा शरीर मान्छेको थियो ।

नृसिंह न जनावर थिए न मान्छे । जतिखेर हिरण्यकश्यपुलाई मारियो । त्यो समय सन्ध्या समय थियो । त्यो समयमा न त घाम थियो, न रातको अँध्यारो । तब सबै विधि मिलाएर भगवान् नृसिंहले हिरण्यकश्यपुलाई घरको बीच ढोकामा आफ्नो काखमाथि राखेर नङ्ग्रा धसी मार्नुभयो ।

ब्रह्माजीको सबै वाचा मिलाएर मारेपछि गएर नृसिंहको क्रोधले सारा संसार जल्न लाग्यो । नृसिंहको क्रोध शान्त पार्न ब्रह्मा, शिव, लक्ष्मी आदि देवीदेवता आएर प्रार्थना गर्नुभयो, तर क्रोध झन् बढ्दै गयो ।

अन्तमा प्रह्लादले प्रार्थना गर्दा नृसिंहको रिस शान्त भयो । प्रह्लादलाई ज्ञान दिएर नृसिंह अन्तध्र्यान हुनुभयो । प्रह्लादले पनि हरि भक्तिमा ध्यान दिएर राज पाठ सम्हाले । प्रह्लादलाई ज्ञान सिकाउन भगवान् विष्णुले दत्तात्रय अवतार लिनुभएको थियो । दत्तात्रयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाउनुभयो ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली ज्यापू प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १८०, टाटेसिमी प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ८०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु १२०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोबी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु ३२०, सेलरी प्रतिकिलो रु १६०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जन रु २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ५५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ ।
बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो ।

‘१५ औँ महाधिवेशन कालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने, नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ ।

बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गर्ने निर्णय गरेको छ । अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेबसाइटमा राखिनेछ जनाएको छ ।

२१ महिना देखाएर समापन गरियो हनुमान नाच

बागलुङ। नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभारम्भ गरिएको थियो ।

उक्त नाच १९ पटक देखाएर बागलुङ बजारको हनुमान पौवामा पुगेर मङ्गलबार समापन गरिएको र आगामी तीन वर्षपछि देखाउने योजना बनाएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

गालामा अनेकथरी रङ्ग पोतिएको, शिरमा श्रीराम लेखिएको रातो पट्टि, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने १३ जोडी युवा विभिन्न १० तालमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले करिब तीन सय वर्षदेखि बचाउँदै आएका छन् ।

नाचको बीचबीचमा हनुमानहरूलाई वीर चढ्ने दृश्यले सबैलाई मोहित बनाउने गरेको छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले पूजाविधिका कारण हनुमानहरूलाई वीर चढ्ने (लाग्ने) गरेको बताइन्छ ।

यसपटक पनि विगतमा जस्तै दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्न १९ पटकमा ४२ युवाको सहभागिता रहेको थियो । शुभारम्भ, समापन, बागलुङ महोत्सव, बसपार्क उद्घाटन र अतिथि स्वागत, गलकोटमा देखाइएको नाचसँगै १४ वटा टोल पूजा सम्पन्न गरिएका छ ।

मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेर देखाउँदै आएका छन् । कोरोनालगायत कारण नौ वर्षमा देखाइएको नाच २१ महिनामा १९ पटक देखाएर समापन गरी बागलुङ बजारको हनुमान पौवामा हनुमानको मूर्ति बागलुङ बजार परिक्रमा गरी पुनः प्रतिस्थापन गरिएको छ ।

खर्चिलो नाचका रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच विस्तारै पाँच वर्ष, सात वर्ष र हाल नौ वर्षमा मनाउन थालिएकोे हनुमान नाचका प्रधानकजी ईश्वरप्रसाद मलेपतीले जानकारी दिनुभयो ।

उक्त नाच रामायण कथामा आधारित रहेको छ । भक्तपुरका नेवार समुदाय विसं १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास पाइन्छ । बीचमा हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको मलेपतीले बताउनुभयो ।

नाच बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने गर्दछ । विसं २०८१ भदौ ११ गते नारायणचोकबाट नौ वर्षपछि सुरु भएको हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरि चोक, आवारोड, सृजना टोल, गलकोट हुँदै कालिका मन्दिरसहित शुभारम्भ र समापनसहित १९ स्थानमा देखाइएको छ ।

हनुमान नाच समापन समारोहमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङको पहिचानसँग हनुमान नाच जोडिएको बताउनुभयो । कार्यक्रममा हनुमान नाचमा सहभागी कलाकार, वाद्यवादक, प्रधानकजी तथा कजीलाई सम्मान गरिएको थियो ।

नहर अतिक्रमण गरी बनाइएका चार सय घरटहरा हटाइँदै  

रौतहट। बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाइने भएको छ ।आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई संरचना हटाउन आग्रह गरिसकेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ र ६ क्षेत्रमा स्थानीयले विगत करिब २८ वर्षदेखि नहरको जमिन अतिक्रमण गरी बसोबास गर्दै आएका छन् । सूचना जारी गरिए पनि अतिक्रमित संरचना नहटाइएकाले अब बल प्रयोग गरेर हटाउने तयारी गरिएको बागमती सिँचाइ आयोजना कर्मैयाका आयोजना प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।

केही दिनभित्र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल तथा सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

करिब साढे तीन सयदेखि चार सयसम्म घरटहरा हटाइने चौधरीले बताउनुभयो । जलस्रोत तथा सिँचाइ विभागको निर्देशन तथा नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय बुँदे  कार्यसूचीअनुसार सार्वजनिक जग्गाको संरक्षण, डिजिटल अभिलेख तयारी, निगरानी प्रणाली सुदृढीकरण र अवैध कब्जा हटाउने अभियानअन्तर्गत यो कदम चालिएको उहाँले बताउनुभयो ।

आयोजना प्रमुख चौधरीले भन्नुभयो,“सरकारको नीतिअनुसार नयाँ अतिक्रमण रोक्ने र पुराना अवैध संरचना हटाउने अभियान सुरु भएको छ । यहाँ चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीदेखि गुजरा नगरपालिकाको धन्सार खोलासम्म मूल नहर क्षेत्रको एक सय २५ मिटर क्षेत्र खाली गर्नुपर्ने छ, जसमा पूर्वतर्फ ६५ मिटर र पश्चिमतर्फ ६० मिटर क्षेत्र नहरअन्तर्गत पर्छ ।”

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि नहर क्षेत्रको अतिक्रमण चाँडै हटाइने स्पष्ट पार्नुभएको छ । “स्वतः नहटाए संरचना भत्काइन्छ, छिट्टै आवश्यक छलफल गरेर कार्यान्वयनमा जान्छौँ ।”
तहट क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलले नहर व्यवस्थापन र सिँचाइ विस्तारका लागि सरकारले यस्तो निर्णय लिएको बताउनुभयो । बागमती सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यसको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट थप पानी ल्याई सिँचाइ क्षेत्र विस्तार गर्ने योजना पनि अघि बढाइएको जानकारी दिँदै उहाँले नहर क्षेत्रमा बसोबास गर्ने वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।यता नहर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय भने वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गर्न माग गर्दै नगरपालिकामा ध्यानाकर्षण गराएका छन् ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित मध्यम सम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भूभागको थोरै स्थानहरुमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ। औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । तर, यहाँ जडीबुटीको संरक्षण, प्रवर्द्धन र मौसममा मात्रै भर पर्नुपर्ने अवस्था रहेको छ । जसले औषधीय जडीबुटीको गुणस्तरमा असर पर्ने गरेको पाइन्छ । मुख्य आयस्रोतको रूपमा रहेको औषधीय जडीबुटी यार्सागुम्बा आजदेखि सङ्कलन सुरु भएको छ ।

औषधीय जडीबुटीले भरिपूर्ण मनाङका लेकमा हुने यार्सागुम्बा सङ्कलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए। उनका अनुसार यहाँका धेरै खर्कमा यार्सागुम्बा पाइने भए पनि सङ्कलन भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा सङ्कलन थालिएको छ।

“यार्सा पाइने नजिकको खर्कबाट सङ्कलन सुरु भएको छ । पहिलाको भन्दा उत्पादनमा ह्रास आउदै गएको सङ्कलनकर्ताले जनाएका छन्”, उनले भने, “यो समस्याको रूपमा विकास भएको देखिँदै गएको छ ।”

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र संरक्षण व्यवस्थापन निर्देशिका २०५६ हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटीको सङ्कलन अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो कार्यक्षेत्रभित्र सङ्कलन पूर्जी दिने गरेको छ।

जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रभित्रका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलन अनुमति दिने र जिल्ला बाहिरका नेपाली नागरिकलाई यार्सागुम्बा सङ्कलन सम्बन्धित संरक्षण व्यवस्थापन समितिमा निर्भर रहने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने हुन्छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्दछन् । नार्पाभूमिका खर्कमा जिल्लाभित्रका नागरिकलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइन्छ भने बाहिरी जिल्लाका नागरिकलाई अनुमति दिने प्रावधान छैन।

उनले भने, “भौगोलिक रूपमा नै विकट भएकाले सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमिका खर्कमा यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छैन । अन्य स्थानीय तहका खर्क खाङ्सार, हुलाकी ओडार र पिसाङलगायतका जिल्लाका सबै खर्कमा यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।” स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको एक्यापले जनाएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ । यार्सागुम्बा सङ्कलनका निम्ति नाम्ग्या खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइने प्रावधान निर्धारण गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए। उनले पालिका, एक्यापलगायत सम्बन्धित सरोकारवालाको बैठकबाट निर्णय भएबमोजिम सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइएको जानकारी दिए।

सुरुआतमा नाम्ग्या र नार्पाभूमि गाउँपालिका–२ हुलाकी ओडार खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय गरिएको छ । मनाङमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइने भएको उहाँले बताउनुभयो । मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त यामका रूपमा लिइन्छ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा सङ्कलन गरिने भए पनि बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताए। उनले भने, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएका छौँ । स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।”

नार र फुमा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताए । नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी यस्तो निर्णय गरिएको हो । जिल्लाका अन्य खर्कमा वैशाखबाट र नार्पाभूमिमा जेठबाट मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ ।

यार्सागुम्बा सङ्कलनकर्ताले सङ्कलन गरेको यार्सागुम्बा खरिद गर्न आउने व्यक्तिलाई नाम्ग्या खर्कमा यार्सा सङ्कलनका लागि जिल्लाका भएमा प्रतिव्यक्ति रु १२ हजार र जिल्ला बाहिरका खरिदकर्तालाई प्रतिव्यक्ति रु १७ हजारका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ ।

जिल्लाका अन्य खर्कमा यार्सा सङ्कलनका लागि भने फरक दस्तुर लिने निर्णय हुने गरेको समितिले जनाएको छ । संरक्षण समितिका पदाधिकारी सुरक्षाका सवालमा अग्रपङ्क्तिमा रही जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

पुर्जी काटेर सङ्कलन गर्न अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई समितिले सहज रूपमा खर्कतर्फ जान अनुमति दिनेछ । चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ।

मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फु लेक, मनाङ लेक, आइसलेक, स्याक्र्यु लेक, थोराङ्ला लेकलगायतका लेकमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिनेछ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य गरिन्छ।

अवैध रूपमा भारतबाट ल्याइएका पाँच हजारभन्दा बढी कुखुराका चल्ला बरामद

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बुधबार बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले अन्दाजी रु पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ ।

बरामद गरिएका चल्लालाई पशु क्वारेनटाइन कार्यालय, नेपालगन्ज पठाइएकामा सबै चल्ला नष्ट गरिएका पशु क्वारेनटाइन कार्यालय प्रमुख डा हरेराम यादवले जानकारी दिए ।

कडाइ गर्दागर्दै पनि खुला सीमाको फाइदा उठाएर बाँके र बर्दियाका नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भएको उनले बताए । भारतबाट यसरी कुखुराको अवैध आयात गर्नु दण्डनीय भएकाले सतर्क रहन उहाँले सबैलाई आग्रह गरे ।

सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ। नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४.४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ ।

अन्य विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागमा अभिलेख भएअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०.८, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित मध्यमसम्मको वर्षा अहिले पनि जारी छ ।

भोलि पनि बदली कायम रहने तर विस्तारै कम हुँदै जाने बताइएको छ । बिहीबार देशभर साधारणतया बादल लाग्ने कोशी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागका मौसमविद् सञ्जिल अधिकारीले जानकारी दिनुभयो ।

ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक

ढाका। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले बुधबार संसदमा राजधानी ढाकालाई स्वच्छ र हरित शहरमा रूपान्तरण गर्न १२ बुँदे योजना घोषणा गर्नुभएको छ।संसद्मा सत्तारुढ दलका सांसदको प्रश्नको जवाफमा रहमानले भन्नुभया,े “ढाका नर्थ र ढाका साउथ सिटी कर्पोरेसनले यो लक्ष्य हासिल गर्न विभिन्न पहलहरू गरिरहेका छन् ।”

कार्य योजना ढाकाको गम्भीर वायु गुणस्तर चुनौतीहरूको पृष्ठभूमिमा आएको छ ।सुक्खा मौसममा उच्च प्रदूषणको स्तर प्रायः ‘अस्वस्थ’ वा ‘खतरनाक’ स्तरमा पुग्छ।

रहमानले भन्नुभयो, “योजनाको प्रारम्भिक एक भागको रूपमा साप्ताहिक जनचेतनामूलक कार्यक्रमहरू तीव्र सरसफाइ र लामखुट्टे नियन्त्रण अभियानहरू सञ्चालन गरिँदैछन्।”

“सरकारले ढाकाको प्रमुख फोहोर स्थानान्तरण स्थलहरूको आधुनिकीकरण पनि गर्दैछ र भूसुदर्शनीकरण, हरियाली र जागरूकतासम्बनधी भित्तेचित्रहरू समावेश गरी वातावरण मैत्री फोहोर व्यवस्थापनलाई बढावा दिइरहेको छ,” उहाँले थप्नुभयो ।

शहरी हरियालीको बारेमा रहमानले भन्नुभयो, “सडक र खुला ठाउँहरूमा वृक्षारोपण कार्यक्रम गरिएको छ, आगामी पाँच वर्षमा शहरमा पाँच लाखरूखहरू रोप्ने लक्ष्य राखिएको छ।”

वातावरण विभाग र ढाकाको यातायात समन्वय प्राधिकरणले संयुक्त रूपमा आधुनिक बस सेवाहरू सुरु गर्न र विद्युतीय बसहरू सुरु गर्न लागेको रहमानले बताउनुभयो ।

जल प्रदूषण नियन्त्रणका लागि उद्योगका लागि फोहोर प्रशोधन केन्द्र अनिवार्य गरिएको उहाँले बताउनुभयो । उहाँले यो संयुक्त पहलबाट ढाका क्रमशः स्वच्छ र हरित शहर बन्ने विश्वास व्यक्त गर्नुभयो ।

६ महिनामा दुई हजार ६ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।

यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र एक सय ९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी एक सय १२ जना पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

यस अवधिमा सबैभन्दा बढी गत चैतमा छ सय २१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा पाँच सय ८०, मङ्सिरमा दुई सय ९३, पुसमा तीन सय ७६, माघमा तीन सय ६९ र फागुनमा तीन सय ८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटनबाट रु १४ लाख ६७ हजार ४८६ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी वाग्लेले बताए ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कोभिड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको सङ्ख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो सङ्ख्या बढ्दै गएको छ । “नेपालकै सबैभन्दा ठुलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेका छन्”, वाग्लेले भने ।

निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७६२ जनाले यहाँ भ्रमण गरेका छन्, जसमा एक सय ३२ विदेशी र एक सय १२ सार्क मुलुकका पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१र८२ मा तीन हजार ३२२ जनाले निकुञ्ज भ्रमण गरेकामा त्यसमा एक सय ९९ जना सार्क मुलुकका र एक सय ५२ त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठुलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताए । “शुक्लाफाँटाको प्रचारप्रसार गरेर यहाँ उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ । यहाँको जैविक विविधताबारे व्यापक प्रचारप्रसार हुन सकेको छैन । अब प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्छ”, उनले भने ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् ।

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) मिसनमा तैनाथ शान्ति सैनिकको अदलीबदली भएको छ ।

सो मिसनअन्तर्गत रिपुमर्दन गण सातौँ डफ्फा र सैनिक प्रहरी युनिट दशौँ डफ्फालाई बदली गर्न कालीबहादुर गण आठौँ डफ्फा र सैनिक प्रहरी गण एघारौँ डफ्फाका १९७ जना शान्ति सैनिकको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १९७ जना नेपाली शान्ति सैनिक यही वैशाख ११ गते स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार १०७ जना शान्ति सैनिक कार्यरत छन् ।

मुलुक आर्थिक समृद्धितर्फ उन्मुख रहेको छ : मुख्यमन्त्री कार्की

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुक आर्थिक समृद्धितर्फ उन्मुख रहेको बताउनुभएको छ ।

विराट व्यापार सङ्घको २६ औँ साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुँदा आर्थिक गतिविधि वृद्धि हुने धारणा बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र राष्ट्रिय पुँजीको विकास सम्भव हुने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको विकासमा अघि बढ्ने बताउनुभयो । कार्यक्रमका वक्ताहरुले खुला सीमाका कारण हुने चोरी तस्करी नियन्त्रणका लागि सरकारी निकाय बढी संवेदनशील बन्न माग गरेका थिए ।

विराट व्यापार सङ्घको १३औँ अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तत्काल खाली गर्न आग्रह गरेको छ ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै त्यस्ता जग्गामा निर्माण गरिएका घरटहरा यही वैशाख १७ गते साँझसम्म खाली गर्न आग्रह गरेको हो ।

विपद्को उच्च जोखिममा रहेका ती बस्तीहरु वैशाख १८ गते बिहान ७ः०० बजेदेखि खाली गर्न थालिने सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा आज जारी सूचनामा उल्लेख छ ।

अतिक्रमित जग्गामा बनेका बस्तीमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा बालबालिकालाई सुरक्षित स्थानमा सार्न, स्थानान्तरण कार्यमा प्रहरीको सहायता लिन, व्यक्तिगत मालसामान, लत्ताकपडा, पशुपन्छी चौपाया बाहिर निकाल्न कार्यालयले आग्रह गरेको छ ।

वास्तविक भूमिहीन एवं परिवारको पहिचान गरी दिगो रुपमा समस्या समाधान गर्ने कार्य यथाशीघ्र अघि बढ्ने र नक्कली एवं अवास्तविक भूमिहीन भनिएका व्यक्ति एवं परिवारको पहिचान गरी कानुनी दायरामा ल्याइने कार्यालयले जनाएको छ ।

उत्पीडित समुदायको संवैधानिक अधिकार कार्यान्वयन गर्ने मन्त्री सीता वादीको प्रतिबद्धता

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले समाजका सबैभन्दा कमजोर अवस्थामा रहेका, गरिब, विपन्न, दलित, र सीमान्तकृत समुदायको संवैधानिक र कानुनी अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

मन्त्रालयले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “पछाडि परेको समुदायको सामाजिक जीवनमा रूपान्तरण गर्न वा सामाजिक सांस्कृतिक रूपमा हुँदै आएको भेदभाव, अपमान र हिंसाको अन्त्य गर्न हामीले यो समुदायको सशक्तीकरण र मूलप्रवाहीकरण गर्न अनिवार्य छ, त्यसैले यो गम्भीर र संवेदनशील विषयमा हामीले भइरहेका संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ भने आवश्यक कानुन, नीति र कार्यक्रम तय गरी लागू गर्नुपर्नेछ ।”

मन्त्री वादीले सरकारले समग्र देशको विकासमा थिव्रताका साथ काम गरे तापनि मानवीय विकासका कार्यक्रमले प्राथमिकता नदिइकन नेपाली समाजको समग्रतामा विकास हुन सक्दैन र रूपान्तरण हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसैले हामीले सामाजिक र मानवीय विकासलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ, मानवीय विकास न्याय, समानता र हिंसाको अन्त्यसँग गहिरो रूपमा जोडिएको छ, त्यसैले हामीले समाजका सबैभन्दा कमजोर अवस्थामा रहेका, गरिब, विपन्न, दलित, र सीमान्तकृत समुदाको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणतर्फ ध्यान केन्द्रित गर्नै पर्छ ।”

विशेषगरी सामाजिक विकास मन्त्रालय वा सरोकारवाला निकायले यो विषयमा केन्द्रित भएर समग्र सामाजिक र मानवीय विकासमा केन्द्रित हुने दिशातिर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत सबै सीमान्तकृत समुदायको पक्षमा काम गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी आफ्नो मन्त्रालयमा भए पनि सो जिम्मेवारी केबल सङ्घीय मन्त्रालयको मात्रै नभई प्रदेश र स्थानीय सरकारको पनि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेषगरी जनताको घरदैलोमा सरकारको उपस्थिति, जनताको आवश्यकता, चाहना र अप्ठ्यारामा जनताको पहुँचमा सरकार पुग्ने मान्यताअनुरूप हामीले सङ्घीयताको अभ्यास गरेका हौँ, अझ समाजका सबैभन्दा पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा सबैभन्दा सीमान्तकृत समुदायको पहुँचमा राज्यको उपस्थिति सुनिश्चितता सङ्घीय शासन व्यवस्थाको मूल मर्म हो ।”

समुदायको राज्यसत्तामा पहुँच र अर्थपूर्ण प्रतिनिधित्वको लागि हामीले सङ्घीयताको अभ्यास गरेका हौँ भने ऐतिहासिक उत्पीडक र वञ्चितीकरणमा पारिएका समुदायको राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक जीवनमा रूपान्तरण गरेर न्यायपूर्ण समाज निर्माण सङ्घीयताको मूल उद्देश्य रहेको उहाँको भनाइ छ ।

मानसिक समस्या पहिचान र न्यूनीकरणका लागि काठमाडौँ महानगरको पहल

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै त्यसको पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि पहल थालेको छ ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका व्यक्तिलाई सहयोग गर्ने तत्परता, यसको व्यवस्थापनसँग सम्बन्धित कानुनी दायित्व, सामाजिक अवस्था, प्राज्ञिक तथा सरोकारवालासँग छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विवाहपछि महिलाहरूको जिम्मेवारी, उनीहरूप्रति परिवार र समाजको अपेक्षा, गर्भवती हुने अवधि, सुत्केरी र त्यसपछिको एक वर्षमा ठूलो मानसिक समस्या भोग्नु पर्ने, यसै कारण जीवन नै अन्यत्र मोडिने अवस्था छ ।

यस्ता अवस्था पुरुषहरूमा पनि छन् ।” कार्यवाहक प्रमुख डङ्गोलले शारीरिक रूपमा देखिएको रोगलाई सबैले स्वीकार गरेर उपचार गराउने मानसिक रोगलाई स्वीकार नगरी रोग भएको व्यक्ति झन् पीडित भएर बस्नुपर्ने अवस्थामा सुधार गर्नु पहिलो आवश्यकता भएको बताउनुभयो ।

“कामपाले अहिले अभ्यास गरेको स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी सेवालाई कहाँ जोड्न सकिन्छ यसमा प्राज्ञिक क्षेत्रबाट सुझाव चाहिएको छ”, स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले भन्नुभयो, “विज्ञ, अनुसन्धाता, प्राज्ञिक र व्यवस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूबाट पृष्ठपोषण लिएर मानसिक स्वास्थ्य सुधार गर्ने तयारीमा कामपा छ ।”

बारम्बार निराश हुनु, आफू फन्दामा परेको ठान्नु, मादकपदार्थ र लागुऔषधको सेवन बढ्नु, छटपटी र व्याकुलता बढ्नु, निद्रामा गडबडी हुनु, कसैसँगको भेट वा सामाजिक सञ्जालमा निराशाका कुरा लेख्नु, चाँडो रिसाउनु, हेलचक्य्राइँ पूर्ण व्यवहार गर्नु, मेरो भविष्य केही छैन भन्नु, मानसिक स्वास्थ्य समस्याका लक्षण हुन् ।

विद्यालय उमेरका बालबालिकामा मानसिक स्वास्थ्यको अवस्था अध्ययन गर्न कामपाले गत वर्ष जेठ २७ गते विद्यालय उमेरका १३४ जना विद्यार्थीहरूमा सर्वेक्षण गर्दा ७१ जना अर्थात् ५२ दशमलव ९९ प्रतिशत बालबालिकाले सामान्य भएको, खुसी रहेको प्रतिक्रिया दिएका थिए । उनान्तीस जना अर्थात् २१ दशमलव ६४ जनाले भावनात्मक लक्षण देखिएको थियो ।

सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको प्रतिवेदनअनुसार हरेक आठ जनामध्ये एक जना व्यक्तिमा मानसिक समस्या छ । विकासोन्मुख र मध्यम आय भएका देशमा बस्ने नागरिकहरूमा यसको भार धेरै छ । व्यक्तिलाई अपाङ्गता बनाउने १० वटा प्रमुख कारणमध्ये मानसिक स्वास्थ्यसँग सम्बन्धित दुई वटा कारण छन् ।

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

वासिङ्गटन। ८० वर्षपछि रूसको विजय दिवसको परेडमा ट्याङ्क र मिसाइल नदेखिने अधिकारीलाई उद्धृत गरी रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता पहिलो पटक रुसले मे ९ मा सैन्य उपकरणबिना विजय दिवस परेड आयोजना गर्नेछ। रक्षा मन्त्रालयले कुनै उपकरणविना विजय जुलुस मनाउनुलाई परिचालनका लागि हालको अवस्थालाई कारणका रूपमा जनाएपनि यसबारे विस्तृत विवरण दिएको छैन ।

रुसले मे ९ मा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको ८१ औँ वार्षिकोत्सव मनाउँदैछ । रुसी रक्षा मन्त्रालयले राजधानी मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस सैन्य प्रदर्शनमा यसपटक सैन्य उपकरणको प्रदर्शन नहुने घोषणा गरेको छ ।

सन् २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि यस बर्ष रूसी ट्याङ्क, र मिसाइल प्रणाली र अन्य भारी सैन्य सवारी साधनहरू परेडमा समावेश हुने छैनन्। सामान्यतया यो परेडलाई रुसको सैन्य शक्तिको ठूलो प्रदर्शनका रुपमा लिइन्छ ।

रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अहिलेको परिचालन अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको छ । यसको पछाडिको कारण भने विस्तृत रुपमा बताइएको छैन ।”

परेडमा विभिन्न सैन्य शैक्षिक संस्थाका क्याडेटहरू र सेनाका केही शाखाका कर्मचारीहरू सहभागी हुनेछन् भने परम्परागत हवाई फ्लाइओभर जारी रहनेछ ।

विजय दिवस रूसको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय उत्सव मानिन्छ। रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको कुरालाई महान् देशभक्तिपूर्ण युद्धका रूपमा सम्झने गरेको छ ।

सोभियत सङ्घमा लाखौँ मानिसको ज्यान लिएको युद्धले देशको सामूहिक स्मृतिमा गहिरो प्रभाव पारेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो लामो शासनकालमा विजय दिवसलाई राष्ट्रिय गौरव र शक्ति प्रदर्शनको प्रमुख प्रतीक बनाउनुभएको छ। उनीहरूले युक्रेन युद्धको औचित्य पुष्टि गर्न यस ऐतिहासिक विजयको सन्दर्भलाई पनि प्रयोग गरिरहेका छन्।

गत वर्षको परेड भव्य थियो, जसमा ११ हजार ५०० भन्दा बढी सैनिक र १८० भन्दा बढी सैन्य गाडीहरू सहभागी थिए। यसले युक्रेन युद्धमा प्रयोग गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल यार्स, ट्याङ्क र हतियारहरू पनि प्रदर्शन गरेको थियो । त्यसबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा जस्ता विश्वका धेरै नेताहरु पनि उपस्थित थिए ।

यद्यपि, सन् २०२३ मा पहिले नै परेडलाई स्थगित गरिएको थियो ।

हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हावाहुरीले उडाएको छ ।

कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको ६ कोठे भवनको जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको हो ।

हावाहुरीले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको प्रधानाध्यापक न्याउली छन्त्यालले बताउनुभयो । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठाको अभाव भएको उहाँले बताउनुभयो ।

यसैगरी आज अन्नपूर्ण गाउँपालिकाको शिख, घार क्षेत्रमा परेको असिनाले हिउँदे र बर्खेबालीमा क्षति पुर्याएको छ । असिनापानीपछिको बाढीले विभिन्न ठाउँमा सडक, खानेपानी, सिँचाइका संरचनामा क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार र हिस्तानको जनजीवन हावाहुरी, बर्सात र असिनाले प्रभावित बनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा फैसला भई २६ वर्षदेखि फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम। कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै २६ वर्षदेखि फरार प्रतिवादीलाई कैलाली प्रहरीको टोलीले पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका–११ का ५९ वर्षीय काले कामीलाई सोही ठाउँबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

विसं २०५६ असार ११ गतेदेखि फरार रहेका कामीलाई सोही ठाउँमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा कामीलाई सात वर्ष एक महिना १४ दिन कैदको फैसला गरेको थियो ।

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न दलहरुको आग्रह

काठमाडौँ। विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको बैठकले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्नेसम्बन्धी अध्यादेश फिर्ता लिई सदनमा पेस गर्न आग्रह गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले जानकारी दिनुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामा सहभागी हुनुहुन्थ्यो ।

ठेक्काको विवरण हेरफेर प्रकरणः आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौली पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ गरेको हो ।ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्नन गरेको आरोपमा हालसम्म दल जना निर्माण व्यवसायीसहित १३ जनालाई अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

पक्राउ परेकाविरुद्ध सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी बनाउन आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएकी छन् ।

मालपोत कार्यालयहरूमा पछिल्लो समय सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाहसम्बन्धी गुनासाहरू बढ्दै गएपछि मन्त्रालयले तत्काल समस्या पहिचान र समाधान गर्न यस्तो प्रणाली सुरु गरेको हो।

नयाँ व्यवस्थाअनुसार मन्त्री रावलले अब देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाहको अवस्था प्रत्यक्ष रूपमा अनुगमन गर्न सक्ने छिन्। डिजिटल प्रणालीमार्फत प्राप्त हुने विवरणका आधारमा सेवा प्रवाहमा देखिने अवरोध, ढिलासुस्ती तथा प्राविधिक समस्याबारे तत्काल जानकारी लिन र आवश्यक निर्देशन दिन सकिने व्यवस्था मिलाइएको छ।

 

हावाहुरीको जोखिम : एक दशकमा १०१ जनाले गुमाए ज्यान

काठमाडौँ, वैशाख १६ –पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७३ साल वैशाख १ गतेदेखि २०८२ माघ २५ गतेसम्मको अवधिमा कूल एक हजार ५१९ वटा हावाहुरीका घटना भएका छन् ।

उक्त अवधिमा हावाहुरीका कारण १०१ जनाले ज्यान गुमाएका छन् भने एक जना बेपत्ता भएका छन् । त्यस्तै, एक हजार ५७२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । आठ हजार ५०४ परिवार यस अवधिमा प्रभावित बनेका छन् । हावाहुरीबाट मानवीय क्षतिसँगै भौतिक क्षति पनि ठूलो मात्रामा हुने गरेको छ । विशेषगरी तराई तथा मध्य पहाडी क्षेत्रमा हावाहुरीको प्रभाव बढी देखिने गरेको विज्ञहरू बताउँछन् । करिब ५३ करोड आर्थिक क्षति यस अवधिमा भएको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा भारी वर्षाका कारण ११० जनाले र हिउँ–हुरीका कारण १७ जनाले ज्यान गुमाएका छन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार यही वैशाख १ गतेदेखि १६ गतेसम्म देशभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटेका छन् । यी घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् । यस अवधिमा हावाहुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् र करिब रु ८३ लाख क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

जलवायुविद् डा।मनिष पाण्डेले जलवायु परिवर्तनका कारण हावाहुरीको प्रकृति तथा तीव्रता परिवर्तन हुँदै गएको भन्दै सरोकारवालाले पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार जलवायु जोखिम न्यूनीकरणका लागि जलवायु न्यूनीकरण र अनुकूलनलाई प्राथमिकतामा राख्दै पूर्वसूचना प्रणालीलाई अझ व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन आवश्यक छ । “जोखिम न्यूनीकरणका लागि जलवायु न्यूनीकरण र अनुकूलनलाई प्राथमिकता दिँदै पूर्वसूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्छ र त्यसमा लगानी पनि बढाउनुपर्छ,” पाण्डेले भन्नुभयो । उहाँका अनुसार हावाहुरीजन्य जोखिम न्यूनीकरणका लागि स्थानीय तहदेखि केन्द्रसम्म समन्वय बढाउनुका साथै सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनु अपरिहार्य रहेको छ ।

हावाहुरीको विशेष चेतावनी

जल तथा मौसम विज्ञान विभागले हावाहुरीसम्बन्धी विशेष चेतावनी जारी गर्दै आज देशका विभिन्न क्षेत्रमा उच्च गतिका हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरीको सम्भावित समय पनि तोकेको छ । हावाहुरी सुरु हुने सम्भावित समय आज अपराह्न ४ः०० बजे र समाप्त हुने सम्भावित समय बिहीबार बिहान ६ः४५ रहेको विभागले जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । कञ्चनपुर, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा, मोरङलगायतका जिल्लामा यसको प्रभाव पर्ने सम्भावना औँल्याइएको छ ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले हावाहुरी बुधबार अपराह्नदेखि सुरु भई बिहीबार बिहानसम्म जारी रहन सक्ने बताउनुभयो । “यस अवधिमा मेघगर्जन, चट्याङ तथा वर्षासहितको मौसम प्रणाली सक्रिय रहने सम्भावना पनि रहेको छ”, उहाँले भन्नुभयो । विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्कता अपनाउन, खुला स्थानमा अनावश्यक रूपमा ननिस्कन तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

मौसमविद् अधिकारीले पश्चिमबाट पूर्वतर्फ सर्ने मौसमी प्रणालीका कारण देशका धेरै स्थानमा यसको प्रभाव देखिन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहन पनि अनुरोध गर्नुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न प्रदेशका जिल्लामा भोलिदेखि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गरेको सूचनामा हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुनसक्ने जोखिम औँल्याइएको छ । सर्वसाधारणलाई यस्तो समयमा सकेसम्म घरबाहिर ननिस्कन, झ्यालढोका राम्रोसँग बन्द गर्न, कमजोर जस्तापाता वा छाना मजबुत बनाउन तथा रुख, खम्बा र बिजुलीका तार नजिक नबस्न आग्रह गरिएको छ । त्यस्तै, लत्रिएको बिजुली तार नछुन, आगो बाल्दा सावधानी अपनाउन र हावाहुरीका बेला उडेर आउने वस्तुबाट सतर्क रहनसमेत अनुरोध गरिएको छ ।

केही स्थानमा भारी वर्षाको सम्भावना

विभागले आज मुलुकको केही स्थानमा भारी वर्षासम्म हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ÷असिनासहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा अधिकांश बादल लाग्ने र तराई भू–भागमा सामान्यतया बादल लाग्ने सम्भावना रहेको विभागको भनाइ छ ।

आज विभागले जारी गरेको मौसमी बुलेटिनअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरअसिनासहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

हिमाल आरोही र पदयात्रीलाई सतर्कता अपनाउन आग्रह

हावाहुरीको सम्भावित प्रभावका कारण हिमाल आरोहण तथा पदयात्रामा जाने पर्यटकहरूलाई सतर्कता अपनाउन पर्यटन विभागले आग्रह गरेको छ । विभागले मार्ग प्रयोग गर्ने क्रममा आरोही तथा सहयोगी टोलीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी बरफका ठूला ढिस्का (सेराक) खस्ने सम्भावना रहने क्षेत्रमा जोखिम उच्च रहने भएकाले सावधानी आवश्यक रहेको जनाइएको छ । पर्यटन विभागले सबै आरोहीलाई सुरक्षित र सफल आरोहणको शुभकामना दिँदै जोखिम न्यूनीकरणका उपायहरू पालना गर्न अनुरोध गरेको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमले मौसमसम्बन्धी पूर्वसूचनालाई आधार मानेर यात्रा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार हालका लागि पदयात्रा पूर्णरूपमा रोकिएको छैन । तर हिमाल आरोहीहरूले भने मौसमको अवस्थालाई नजिकबाट मूल्याङ्कन गरेर मात्रै अगाडि बढ्नुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।

“अहिले पदयात्रा रोकेका छैनौँ । हिमाल आरोहीहरूले मौसम हेरेर मात्रै अगाडि बढ्छन् । तर ट्रेकिङमा जाने पर्यटकहरूलाई असर पर्न सक्छ”, गौतमले भन्नुभयो, “हामीले रोक्न सक्दैनौँ, तर मौसम विज्ञान विभागले जारी गरेको विशेष सूचनाका आधारमा सबैलाई सतर्कता अपनाउन अनुरोध गरेका छौँ ।”

विभागका अनुसार यस सिजनमा २९ वटा हिमालका लागि आरोहण अनुमति जारी गरिएको छ । ती हिमालहरूका लागि कूल ९९९ आरोही र ११८ समूहका लागि आरोहण अनुमति स्वीकृत भएको छ ।

त्यस्तै सगरमाथा आरोहणका लागि मात्रै ४२५ जना आरोहीले अनुमति प्राप्त गरेका छन् । आरोहीबाट करिब एक अर्ब सात करोड ८७ लाख राजस्व सङ्कलन भएको छ । पर्यटन विभागले मौसमी अवस्थालाई ध्यानमा राख्दै यात्रा तथा आरोहण गर्दा अनिवार्य सावधानी अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

जोखिम बढ्ने अवस्था आएमा पदयात्रा रोकिने

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले सगरमाथा क्षेत्रमा सम्भावित हावाहुरीको अवस्थाबारे विभागसँग समन्वय गरी आवश्यक निर्णय लिने बताउनुभयो । उहाँका अनुसार हावाहुरीसम्बन्धी सूचना सार्वजनिक गर्दै सगरमाथा आरोही, पदयात्री तथा सरोकारवालालाई सचेतना बढाउने उद्देश्यले जानकारी प्रवाह गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत सचेतनामूलक सन्देश प्रवाह गरिएको उहाँले जानकारी दिनुभयो ।

“अहिलेको अवस्थामा पदयात्रा पूर्ण रूपमा रोक्ने निर्णय गरिएको छैन, तर सावधानी अपनाएर मात्रै यात्रा गर्न आग्रह गरेका छौँ”, पाण्डेले भन्नुभयो, “यदि जोखिम बढ्ने अवस्था आयो भने तत्काल पदयात्रा रोक्न निर्देशन जारी गरिनेछ ।” उहाँका अनुसार सम्भावित विपद्को प्रतिकार्यका लागि सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी तयारी अवस्थामा राखिएको छ । रासस

निजी विद्यालयको शुल्कबारे रोकिएन गुनासो, सहायता कक्षमा घन्टामै पचास फोन !

काठमाडौँ, वैशाख १६-“सर, नमस्कार । बढी शुल्क लिने विद्यालयबाट रकम फिर्ता गराउने नेपाल सरकारको निर्देशन उचित छ तर हामीले आग्रह गर्दा निजी विद्यालयले फिर्ता गर्न मानिरहेका छैनन् । केन्द्रबाट नै भनिदिनुपर्‍यो”, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थापित सहायता कक्षमा हरेक दिन होइन हरेक मिनेटमा यस्ता गुनासा आउने गर्छन् ।

मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुनविपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरूले नियमितरूपमा गुनासो टिपाउन थालेका हुन् । भक्तपुर, सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा खडा गरिएको सहायता कक्षका प्रमुख एवं केन्द्रका निर्देशक निर्मलप्रसाद सिंह राठौरको मोबाइल नम्बर ९८५१२१४६३८ मा हरेक दिन होइन, हरेक मिटेनमा फोन आउँछ । केन्द्रका सूचना अधिकारीसमेत रहनुभएका निर्देशक राठौरले विद्यार्थी भर्ना शुल्कलगायत विविध विषयमा विभिन्न माध्यमबाट नियमित गुनासो आएको बताउनुभयो ।

निर्देशक राठौरले भर्ना शुल्क भनेर नलिए पनि वार्षिक शुल्कका नाममा निजी लगानीका विद्यालयले बढी बढी शुल्क लिएको उजुरी आएको बताउँदै वर्षमा दुई महिना बराबरको रकम वार्षिक शुल्कका रूपमा लिन पाउने कानुनी व्यवस्था संशोधन गर्नुपर्नेलगायत सुझाव पनि आएको राससलाई जानकारी दिनुभयो ।

“मासिक शुल्क पनि महँगो हुन्छ । त्यसमाथि दुई महिना बराबरको वार्षिक शुल्क लिने पाउने व्यवस्थाले हाम्रो ढाड सेकिने गरेको छ”, अभिभावकको गुनासो सुनाउँदै निर्देशक राठौरले भन्नुभयो, “कानुन संशोधन गर्न पहल गरिदिनुपर्‍यो ।”

गुनासोकर्ताहरूले स्थानीय तहले शुल्क मापदण्ड र मन्त्रालयको निर्देशन पालनामा ध्यान नदिएकादले केन्द्र सरकारले सिधै हेर्नुपर्ने माग पनि गरेका छन् । निर्देशक राठौरका अनुसार पछिल्लो समयमा सामुदायिक विद्यालयमा शुल्क लिइएको गुनासो आउने थालेको छ । मन्त्रालयले कानुनविपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन गत चैत २२ गते सम्बन्धित सबै स्थानीय तहहरूलाई अनुरोध गरेको थियो । आफूखुसी शुल्क लिएर फिर्ता नगर्ने विद्यालयलाई शिक्ष ऐन, २०२८ लगायतका अन्य कानुनी व्यवस्थाबमोजिम कारबाही हुन सक्नेतर्फ मन्त्रालयले सचेत गराएको थियो ।

उहाँले शुल्क नतिरेको नाममा कक्षा १२ को परीक्षाका लागि एडमिट कार्ड रोकिएको र ललितपुरमा एक निजी विद्यालयले कपाल काटेर आउनु भन्ने शिक्षकको निर्देशन नमानेका कारण पनि परीक्षाको एडमिट कार्ड रोकिएकामा फोन गरेर भने पछि समस्या समाधान भएको निर्देशक राठौरले बताउनुभयो । उहाँका अनुसार हालसम्म घन्टाको पचास टेलिफोनबाट तीन हजारसम्मको उजुरी परेको, इमेलबाट सय, एसएमस ३०० र भाइबरमा बढी शुल्कको बिल आदि प्रमाण दिनेको सङ्ख्या ७० पुगेको छ । सहायता कक्षले आफ्नोमा आएका गुनासो/उजुरीलाई नीतिगत सम्बोधनका लागि केन्द्रका महानिर्देशकसमक्ष पेस गरिएको र तत्काल सम्बोधन गर्न सकिने विषयहरू आफूले समाधान गरेको राठौरको भनाइ छ ।

सरकारले नयाँ शैक्षिकसत्रको प्रारम्भ वैशाख १५ गतेदेखि सुरु गर्न निर्देशन दिए पनि अधिकांश निजी विद्यालयले त्यसअगावै भर्ना गरेका छन् । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा हुने भनिए पनि आर्थिक सहयोग शुल्कका नाममा अभिभावकसँग रकम लिने गरिएको छ तर निजीको तुलनामा सरकारीको सहयोग रहक नगन्य रहेको छ । काठमाडौँको विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले सरकारको न्यून बजेटका कारण गुणस्तरीय शिक्षा दिन वर्षभरीका लागि कक्षा १ देखि ८ सम्म न्यूनतम् एक हजार ४०० देखि दुई हजार ९०० सम्म अभिभावकसँग आर्थिक सहयोग शुल्क लिने गरेको बताउनुभयो । उहाँले करिब १०० विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको जनाउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) महासचिव आरबी कटवालले निजी विद्यालयहरूले आमरूपमा मापदण्डबमोजिम स्थानीय तहबाट स्वीकृत शुल्क मात्रै लिएको जिकिर गर्दै शैक्षिकसत्र लाग्नुअगावै भर्ना गरिएको शुल्क भने फिर्ता गर्न आफूहरूलाई आपत्ति नहुने बताउनुभयो । “हामीले सदस्य विद्यालयहरूलाई सरकारको निर्देशन र विद्यमान कानुनको परिपालना गर्न भन्दै आएका छौँ ।

शैक्षिकसत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने कतिपय ठूला विद्यालयबाट अभिभावकले रकम फिर्ता लिन आउनुस् भनेर सूचना जाँदा पनि अभिभावक नआएको पाइयो”, महासचिव कटवालको भनाइ छ, “त्यस्ता विद्यालयमा विद्यार्थीको चाप हुने भएकाले भर्ना गरिसकेपछि रकम फिर्ता लिँदा सिट गुम्ने चिन्ता अभिभावकमा पर्र्ने रहेछ, त्यसैले भर्ना भइसकेकाको हकमा रकम फिर्ता भन्दा अब तिर्नुपर्ने मासिक शुल्कमा मिलान गर्ने व्यवहारिक सल्लाह भएको पाइएको छ ।” महासचिव कटवालले कतिपय विद्यालयले विविध शीर्षकमा बढी रकम लिने गरेको पाइएका अध्ययन भइरहेको र त्यसमा सरकारी निकायलाई आफूहरूले समन्वय र सहयोग गर्ने स्पष्ट गर्नुभयो ।

शिक्षा नियमामवली, २०५९ (संशोधनसहित) को नियम १४६ मा विद्यालयले लिन पाउने शुल्क तथा धरौटीहरूको व्यवस्था गरिएको छ । उक्त दफामा विद्यालयले मासिक पढाइ शुल्क, कूल दुई महिनाको पढाइ शुल्क बराबरको रकममा नबढ्ने गरी खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, मर्मतसम्भार, पुस्तकालय र प्राथमिक उपचारबापतको वार्षिक शुल्क, विद्यालयमा पहिलोपटक भर्ना हुँदा एक पटकको लागि भर्ना हुने कक्षाको मासिक पढाइ शुल्कमा नबढ्ने गरी भर्ना शुल्क तोकिएको छ ।

यसैगरी विविधअन्तर्गत परीक्षा शुल्क, कम्प्युटर शुल्क, स्थानान्तरण प्रमाणपत्र शुल्क, विशेष प्रशिक्षण (जुडो, मार्शल आर्टस्, पौडी, गायन, नृत्य) शुल्क, आवास शुल्क, परिवहन शुल्क, भोजन शुल्क लिन सकिने नियमावलीले व्यवस्था छ ।

नियमावलीको नियम १४७ मा विद्यालयले विद्यार्थीसँग लिने अधिकतम् शुल्क विद्यालयको वर्गीकरणका आधारमा तोकी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले शैक्षिकसत्र सुरु हुनुभन्दा तीन महिनाअगावै सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । विद्यालयको व्यवस्थापन समितिले शिक्षक–अभिभावक सङ्घको कार्यकारी समितिसँग परामर्श गरी तोकिएको अधिकतम् शुल्क सीमाभित्र रही शैक्षिकसत्र सुरु हुनु दुई महिनाअघि समन्वय एकाइमा पेस गर्नुपर्ने भनिएको छ । एकाइले प्रस्तावको जाँचबुझ गरी शुल्कको दर तोकी सूचना प्रकाशन गर्नेछ । शुल्क व्यवस्थापन तथा अनुगमनका लागि केन्द्रका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय समिति गठनको व्यवस्था गरिएको छ ।

सभामुख अर्यालसँग संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक याहियाको शिष्टाचार भेट

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएकाे छ । भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैङ्गिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको हाे ।

भेटका क्रममा सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद् संयुक्त राष्ट्रसंघसँग सहकार्य र समन्वयका लागि सदैव प्रतिबद्ध रहेको बताए । उनले पछिल्लो आम निर्वाचनपश्चात् गठन भएको प्रतिनिधि सभामा युवाहरूको उल्लेखनीय सहभागिता भएको उल्लेख गर्दै यसलाई नेपालको लोकतान्त्रिक अभ्यासको ऐतिहासिक उपलब्धि बताए । उनका अनुसार जेन–जी पुस्ताको सक्रिय भूमिका यस उपलब्धिको महत्त्वपूर्ण पक्ष हो ।

उनले समावेशी लोकतन्त्र सुदृढीकरणका लागि महिला सहभागिता वृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान संवैधानिक व्यवस्थालाई थप सुदृढ बनाउँदै महिला–पुरुष ५०/५० प्रतिनिधित्वतर्फ उन्मुख हुने लक्ष्य रहेको जानकारी दिए ।

सभामुख अर्यालले अबको राजनीतिक प्राथमिकता विकास, सुशासन र चेतनाको विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले विभिन्न पुस्ताबिचको अनुभव, ऊर्जा र क्षमताको समायोजनमार्फत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ प्रभावकारी कानुन निर्माणमा संसद् केन्द्रित हुने स्पष्ट पारे ।

 

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

गण्डकी। पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा क्षति पुर्याएको छ ।पोखरा र आसपासका क्षेत्रमा समान्यतः हरेक दिन साँझ हुरी तथा चट्याङसहितको वर्षाले विशेषगरी लहरे तरकारी, मकैबाली आदिमा क्षति पुर्याएको किसान बताउँछन् ।

पन्ध्र दिनअघि आएको असिनाका कारण तरबुजा, काँक्रोजस्ता लहरे बालीमा क्षति पुर्याएकामा केही दिनयता आउन थालेको हुरी तथा चट्याङसहितको पानीले तरकारीखेतीसँगै पशुधनमा समेत क्षति पुगेको पोखरा–३३ सुरौदीमा सञ्चालित तिखेढुङ्गा पशुपालन तथा कृषि फार्मका सञ्चालक रमेश आचार्यले जानकारी दिनुभयो ।मङ्गलबार दिउँसोको हुरीसहित चट्याङ पर्दा फार्ममा पालिएको भैँसीको मरेको उहाँले बताउनुभयो ।कृषिमा केही गरौँ भनेर लागे पनि प्रकृतिजन्य जोखिमले आफूहरू समयसमयमा मर्कामा पर्ने गरेको जनाउँदै उहाँले किसानको पीडालाई राज्यले बुझ्नुुपर्ने बताउनुुभयो ।

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा

अमेरिका। टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन् ।

टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन नेपाली समाजले यही वैशाख १४ र १५ गते आयोजना गरिएको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २६७, वारेस नामा एक, एकतर्फी यात्रा कागजात तीन र एनआरएन कार्ड एक गरी २७२ जनालाई सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत धना जोशीले जानकारी दिनुभयो ।

अमेरिकाका विभिन्न नौ राज्यमा रहेका नेपालीलाई कन्सुलर सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गरेको थियो । उपमहावाणिज्यदूत धना जोशीका अनुसार ड्यालसमा दूतावास स्थापना भएपछिको यो पहिलो घुम्ती शिविर हो ।

भौगोलिक रूपमा टाढा रहेका नेपालीलाई पायक पर्ने स्थानमै सेवा प्रदान गर्ने महावाणिज्य दूतावासको नीति रहेको छ । भौगौलिक रुपमा ठूलो टेक्सस राज्यको अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीले लामो समयदेखि राहादानी तथा कन्ुसलर शिविरको माग गर्दै आएका थिए । शिविरको स्थानीय व्यवस्थापनमा ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले सहयोग गरेको थियो । शिविरमा महावाणिज्यदूत सुरेश अधिकारी, उपमहावाणिज्यदूत धना जोशी, उपवाणिज्यदूत हरिमाया अधिकारीलगायतका कर्मचारीहरूले सेवा प्रदान गरेका थिए ।

अस्टिनमा सम्पन्न राहदानी तथा कन्सुलर घुम्ती शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने ग्रेटर अस्टिन नेपाली समाजसहित सम्पूर्ण स्थानीय नेपाली समुदायप्रति महावाणिज्य दूतावासले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेको छ । रासस

सवारी ज्यान मुद्दाका फरार कैदी रुपन्देहीबाट पक्राउ

भैरहवा। सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मङ्गलबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार थारु गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा भएको तोडफोड तथा आगजनीका क्रममा फरार भएका थिए ।पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक आज बस्दै छ ।

बुधबार समिति सभाहलमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्ययोजनाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।बैठक दिउँसो १ बजे बस्ने छ ।

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पु¥याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ ।

प्रसारण लाइन निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण लाइन निर्माणमा देखिएको रुख कटानको समस्या समााधान गर्ने, मुआब्जा वितरणमा देखिएको जटिलता फुकाउने तथा लगानीको विविधकरण गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको ‘विद्युत् खपत वृद्धि तथा ऊर्जा निर्यात रणनीति, २०८२’ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरेको छ । रणनीतिअनुसार, हेटौडा– ढल्केबर इनरुवा प्रसारण लाइनको हेटौडा ढल्केबर खण्ड चालु आवको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ । सो प्रसारण लाइनको पूर्वी खण्ड ढल्केबर–इनरुवा खण्ड भने यसअघि नै सम्पन्न भइसकेको छ ।

सो आयोजनालाई शीघ्र निर्माण सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणलाई जिम्मेवार बनाइएको छ । रुख कटान, वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जालगायतका समस्याका कारण सो आयोजना लामो समयदेखि समस्यामा परेको थियो । पछिल्ला दिनमा सो समस्या समाधान भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा नियमित काम सुरु भइसकेको छ ।

यसैगरी नयाँ खिम्ती बाह्रबिसे काठमाडौँ प्रसारण लाइनको काम आव २०८४÷८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त प्रसारण लाइनको क्षमता चार सय केभीको हो । सो प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय तह र वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवार बनाइएको छ ।

हेटौँडा–रातमाटे लप्सीफेदी न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन आव २०८६÷८७ सम्म निर्माण सम्पन्न हुनेछ । सो प्रसारण लाइन चार सय केभी क्षमताको हो । यसैगरी नयाँ बुटवल–लमही प्रसारण लाइन आव २०७८÷८८ सम्म निर्माण सम्पन्न हुनेछ ।

यस्तै, लहमी–छिन्चु दोदोधारा प्रसारण लाइन आव २०८९÷९० सम्म निर्माण सम्पन्न हुनेछ । किमाथांका– हाइटार सितलपाटी प्रसारण लाइन आव २०८९÷९० सम्म सम्पन्न हुनेछ ।

अरुण हब इनरुवा प्रसारण लाइन, इनरुवा–अनारमणी प्रसारण लाइन, फुकोट बेतन दोदोधारा प्रसारण लाइन, तिंगला दुधकोशी–ढल्केबर प्रसारण लाइन आव २०९०÷९१ सम्म सम्पन्न गर्ने लक्ष्य रणनीतिमा समावेश गरिएको छ ।
भेरी करिडोर प्रसारण लाइन र सेती करिडोर प्रसारण लाइन पनि आव २०९०÷९१ मा सम्पन्न हुनेछ । दोदोधारा–अत्तरिया लम्की प्रसारण लाइन भने आव २०९१÷९२ सम्म सम्पन्न हुनेछ । ती सबै प्रसारण लाइनको क्षमता चार सय केभीको छ ।

उत्पादित बिजुलीलाई सहज रुपमा प्रसारण गराएर लाड सेन्टरहरुमा पु¥याउने लक्ष्यका साथ सरकारले प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । आवश्यक संरचनागत सुधार गरिने, नीतिगत अस्पष्टता हटाउने तथा तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने लक्ष्यलाई रणनीतिले विशेष प्राथमिकतामा राखेको छ । यस्तै, अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि उत्तिकै महत्वका साथ रणनीतिले समेटेको छ । अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि पनि अर्को महत्वपूर्ण पक्ष छ ।

ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन आव २०८३÷८४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन, नानपारा नेपालगञ्ज, इनरुवा पूर्णिया, लम्की बेरली, लमही लखनउ, निजगण मोतिहारी, चमेलिया जौलजिवी, ढल्केबर मुजफ्फरपुर र चिलिमे हब केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण प्राथमिकतामा छ ।

आन्तरिक रुपमा बिजुलीको खपत बढाउने, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरण गर्ने लक्ष्यलाई रणनीतिले स्पष्ट रुपमा सूचीकृत गरेको छ । त्यस्तै, स्मार्ट ग्रिड र सवस्टेशनको आधुनिकीकरण निरन्तर रुपमा अगाडि बढाइनेछ । सवस्टेशनको क्षमता विस्तार गरेर ४० हजार एमभीए पु¥याइनेछ । सो कार्य आव २०९२÷९३ सम्म सम्पन्न हुनेछ ।

कृषि क्षेत्रको आधसनिकीकरण र किसानको खेतसम्म नै फिडर पु¥याउने लक्ष्यलाई पनि उत्तिकै महत्व दिएको रणनीतिमा भूमिगत वितरण प्रणालीको काम २०८५ सम्म सम्पन्न गर्ने उल्लेख गरिएको छ । आव २०९२÷९३ सम्म एलपी ग्यास अनुदान खारेजी गर्ने र विद्युतीय चुल्होमा अनुदान दिइनेछ । देशभर चार्जिङ स्टेशन सञ्जाल विस्तार गर्ने, प्रमुख शहरहरुमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक विद्युत् खपत क्षमता विकास गरिनेछ ।

हाल नेपालको कूल जडित क्षमता चार हजार ८६ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण ग्रिडको विस्तारसँगै ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रतिवद्धता अनुरुप खनिज इन्धनको परनिर्भरता घटाई स्वदेशी बिजुलीको खपत बढाउन अबलम्बन गर्नुपर्ने सबै काम अगाडि बढाउने रणनीतिको लक्ष्य छ ।

नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरिसकेको छ । हाल करिब एक हजार दुई सय मेगावाट बिजुली भारत र बंगलादेशतर्फ आयात निर्यात भइरहेको अवस्था छ ।

अविरल वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

रामेछाप। काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ।
सोमबार साँझबाट आंशिक रूपमा सञ्चालनमा आएको उक्त सडक मंगलबार साँझदेखि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। यसअघि रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा शनिबारदेखि नै सडक अवरुद्ध भएको थियो।

मंगलबार साँझ पुनः वर्षासँगै खोलामा पानीको सतह बढेपछि सडक सञ्चालनमा समस्या आएको र सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ। सडक बन्दहुँदा काठमाडौंबाट पूर्व आउजाउ गर्ने यातायता साधन रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचनामा प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको उल्लेख गरिएको छ।

प्रहरीका अनुसार मौसममा सुधार भई सडकमा कुनै अवरोध नरहेपछि अर्को सूचना जारी गरेर सडक सुचारु भएको जानकारी गराइनेछ। थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।

सरुवा कर्मचारीमाथि कडाइ: ३ दिनभित्र हाजिर र रमाना अनिवार्य, नत्र कारबाही

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ।मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराई र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ।एक सूचना जारी गर्दै मन्त्रालयले कर्मचारीलाई समेत ३ दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएको छ।

मन्त्रालयले विभिन्न स्थानमा खटाइएका कर्मचारीहरू हालसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि सूचना निकालेको हो। सुचनामा तोकिएको समयभित्र हाजिर नभए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने भनिएको छ।

यी स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा अधिकांश बादल लाग्ने तथा सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनी सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको छ ।

विश्वकप लिग–२ :नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ ।नेपालले आजको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु मैदानमा हुने यस खेललाई लिएर नेपाली समर्थकहरू उत्साहित छन् ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले युएईलाई पराजित गर्दै शृंखलामा सुखद सुरुवात गरेको थियो । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक हात पारेको थियो ।यता ओमानले भने आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको थियो । त्यसैले आजको खेल ओमानका लागि पुनरागमनको अवसरका रूपमा रहेको छ भने नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । ओमान भने २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा रहेको छ । नेपालका लागि शीर्ष टोलीहरूसँगको प्रतिस्पर्धामा स्थान सुधार गर्न आजको खेल निकै महत्वपूर्ण मानिएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम जारी

नवलपरासी। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ ।आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ ।

सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि जारी छ ।

सडक निर्माणको काम अन्तिम चरणमा पुग्दैगर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएको सूचना अधिकारी खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माणका धेरैजसो काम अन्तिम चरणतर्फ बढेका छन्, हामीले सोहीअनुसार सडक सुरक्षाका काम अघि बढाएका छौँ ।”

सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात किलोमिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था छ । अन्य सबै क्षेत्रमा कालोपत्र तथा पक्की सडक सञ्चालनमा आइसकेको छ । पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो । पूर्वी खण्डमा अहिले दाउन्ने क्षेत्रमा बाहेक अन्य स्थानमा यात्रा सहज भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरु गरेको थियो । कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि हाल चौथोपटक म्याद थप गरी आउँदो साउनसम्मका लागि अवधि बढाइएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित यस सडक विस्तार आयोजनाको दुवै खण्डको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ ।

कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किमीमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरका सर्भिस लेन निर्माण गरिनेछ । दाउन्ने क्षेत्रको १४ किमी खण्डमा तीन लेनको सडक निर्माण हुनेछ ।

सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

खोटाङ। निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ ।

निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक भवनमा एक नम्बरको इँटा प्रयोग गर्ने सम्झौता भएपनि दुई नम्बरको प्रयोग गरेको पाइएपछि नगरपालिकाले भवनको पर्खाल भत्काएको हो ।

प्रशासनिक भवन निर्माणको जिम्मा लिएर बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन भवनको कोठामा कमसल किसिमको इँटा प्रयोग गरेको पाइएपछि नगर प्रहरी लगाएर मङ्गलबार पर्खाल भत्काइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “नगरपालिकासँग गरिएको सम्झौतामा एक नम्बरको इँटा प्रयोग गर्ने भनिएको छ । ठेकेदार कम्पनीले पर्खाल निर्माण गर्दा सुरुमा सोहीअनुसारका इँटा लगाएका थिए”, उहाँले भन्नुभयो, “बढी नाफा कमाउने उद्देश्यले बीचमा आएर दुई नम्बरको इँटा प्रयोग गर्न थालेका रहेछन् । कमसल किसिमका इँटा प्रयोग गरेर लगाएको पर्खाल भत्काएर पुनः सम्झौता अनुसारका इँट्टा प्रयोग गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ ।”

सम्झौता गरेको १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको ठेकेदार कम्पनी आकाश निर्माण सेवाले निर्माणको काममा भने तीव्रता दिएको पाइएको छ । यद्यपि, कमसल इँटा प्रयोग गरेर गुणस्तरहीन काम गर्ने छुट कसैलाई पनि नभएको भन्दै नगरपालिकाको टोलीले मङ्गलबार निर्माणाधीन भवनको पर्खाल भत्काएको हो ।

प्रशासनिक भवनका लागि नेपाल सरकार, शहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा रु पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको वडा नं. ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको नगरपालिकाको सेवालाई व्यवस्थित बनाउने उद्देश्यले आरसिसी ढलानसहितको पक्की प्रशासनिक भवन निर्माणको काम सुरु गरिएको हो ।

नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि दुर्छिमका चारजना स्थानीय बासिन्दाले रु एक करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी जग्गा निःशुल्क दिएका छन् । एघार वडा रहेको यो नगरपालिकालाई दुर्छिमका स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले निःशुल्क जग्गा उपलब्ध गराउनुभएपछि ट्रस भवन निर्माण गरेर सेवा प्रवाह गर्दै आएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा यो (हलेसी तुवाचुङ नगरपालिका)ले सोही ट्रस भवन हटाएर पक्की भवन निर्माणको काम सुरु गरेसँगै सबै स्थानीय तहको आ–आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित जिल्लाका अन्य आठ स्थानीय तहले यसअघि नै आ–आफ्नो सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने आफ्नै लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न प्रशासनिक भवन सम्पन्न भएको लामो समय बितेपनि अहिलेसम्म सञ्चालन गरेको छैन ।

तत्कालीन गाउँपालिका प्रमुख एवम् कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईको पालामा निर्माण सुरु गरिएको प्रशासनिक भवन तीन वर्षअघि नै सम्पन्न भएपनि वर्तमान जनप्रतिनिधिले सञ्चालन नगरेको हो ।

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का

कर्णाली। कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त हुनुभएको छ ।कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्रहण गर्नुभएको छ ।

खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गा जिल्लाका स्थायी निवासी हुनुहुन्छ । सङ्घीय संसद सचिवालयमा पाँच वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।

संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उहाँले विसं २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा प्रदेशसभा बैठक सञ्चालनमा सहजीकरण गर्नुभएको थियो ।

काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् ।काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार व्यवसायीसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी, वडा कार्यालय र बसपार्क सञ्चालन व्यवस्थापनमा काम गर्ने पक्षसँग चरणबद्ध छलफल गरेर बसपार्कबाट बस सञ्चालन गरिएको हो । व्यवसायीसँगको समझदारीमा सेवा स्थानान्तरण गर्न समय दिएर समस्या समाधान गरिएको उहाँले बताउनुभयो ।

सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन भएपछि चक्रपथ करिडोरमा सवारी पार्किङ्कको समस्या न्यूनीकरण भएको छ । सडक किनारामा गाडी रोकेर यात्रु चढाउँदा र ओराल्दा हुने दुर्घटनाको जोखिमसमेत समाधान भएको छ ।

कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “सहरी सुविधा वितरण तथा विकास व्यवस्थापनमा विवाद समाधान गर्न यो अनुकरणीय उदाहरण हो । यसमा सबै पक्षको जित भएको छ । निर्णय कार्यान्वयन गर्दा कसैलाई नोक्सान पुगेको छैन । यसरी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र थप सुधार गर्ने कामलाई प्राथमिकता दिइनेछ ।”

यसअघि २०८२ चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्क भित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो ।

सोअनुसार नुवाकोटतर्फका यातायात सञ्चालन गर्ने कम्पनीहरु सम्पर्कमा आएको पनि धादिङतर्फ सञ्चालन हुने यातायात व्यवसायीहरु सम्पर्कमा नआएपछि पुनः तीन दिनको समय दिइएको थियो ।

प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा सात सय सार्वजनिक यातायातका साधन बाहिरिने गरेकामा करिब ३५० वटा सवारीसाधन बसपार्क बाहिरै पार्किङ हुने गरेका थिए । यहाँ एकीकृत बसपार्क सञ्चालन भए त्यो समस्या समाधान हुने उहाँले बताउनुभयो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार हाले नुवाकोटतर्फ सञ्चालन हुने करिब ६५ वटा र धादिङतर्फ चल्ने करिब ९० वटा सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।

बसपार्कमा लामो दूरीको एउटा सवारीसाधन नौ घण्टा पार्किङ गरेमा रू चार सय ५० शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दूरीका माइक्रो बसको रु दुई सय २० लिने गरिएको मल्लले बताउनुभयो ।

बसपार्कबाट औसतमा दैनिक तीन सय ४० वटा गाडी आउने जाने गर्छन् । नयाँ बसपार्क क्षेत्र एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ भने यहाँ सात सय ५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिन्छ ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०८ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २५ पैसा र बिक्रीदर ४० रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १० पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २८ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २३ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ६८ पैसा रहेको छ ।यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

अपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल। दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग जोडिएको राजनीतिक पतन अझ गहिरिँदै गएको छ र अपील अदालतले उहाँकी श्रीमती किम केओन हीलाई थप भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय बढाएको छ ।

यसअघि नै विद्रोहको आरोपमा युनलाई आजीवन कारावास सजाय सुनाइएको पृष्ठभूमिमा आएको यो निर्णयले पूर्व शासक दम्पतीको पतनलाई अझ नाटकीय बनाएको छ ।

सियोल उच्च अदालतले मङ्गलबार किमको सजायलाई चार वर्षमा पु¥याउने निर्णय सुनाएको हो । यसअघि जनवरीमा जिल्ला अदालतले उहाँलाई २० महिनाको जेल सजाय सुनाएको थियो । त्यतिबेला उहाँमाथि युनिफिकेशन चर्चसँग राजनीतिक समर्थनका लागि सम्बन्ध राख्दै महँगा उपहार—ग्राफ डायमन्ड नेकलेस र च्यानल ब्याग—लिएको आरोप पुष्टि भएको थियो । यद्यपि, प्रथम महिला बन्नुअघि स्टक मूल्य हेरफेरमा संलग्न रहेको आरोपबाट भने उहाँले सफाइ पाउनुभएको थियो ।

तर दुवै पक्षले गरेको अपिलपछि उच्च अदालतले थप प्रमाणका आधारमा अर्को च्यानल झोला प्राप्त गरेको र मूल्य हेरफेरमा संलग्न भएको ठहर गर्दै सजाय बढाएको हो । अदालतका अनुसार राष्ट्रपतिको निकटतम व्यक्तिका रूपमा किमले आफ्नो प्रभाव र पदको दुरुपयोग गर्दै व्यक्तिगत फाइदा उठाउनुभएको थियो, जसले सार्वजनिक विश्वासमा गम्भीर चोट पुर्‍याएको निष्कर्ष निकालिएको छ ।

डिसेम्बर २०२४ मा युनले अचानक मार्सल ल घोषणा गरेपछि सुरु भएको राजनीतिक सङ्कटले अन्ततः उहाँको महाभियोग र पदच्युतिमा परिणत भएको थियो । त्यसयता युनमाथि विभिन्न आपराधिक मुद्दाहरू लागेका छन् । फेब्रुअरीमा सियोल केन्द्रीय जिल्ला अदालतले संसद् कब्जा गर्ने प्रयास, राजनीतिक विरोधीलाई पक्राउ गर्ने योजना र निरङ्कुश सत्ता स्थापना गर्न सेना तथा प्रहरी परिचालन गरेको अभियोगमा उहाँलाई विद्रोहको दोषी ठहर गर्दै आजीवन कारावास सजाय सुनाएको थियो ।

किम भने उक्त मार्सल ल प्रकरणमा प्रत्यक्ष संलग्न नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । तर उहाँको नाम यसअघि नै विभिन्न घोटालासँग जोडिँदै आएको थियो, जसले युनको लोकप्रियतामा ठूलो गिरावट ल्याएको थियो र विपक्षीहरूलाई निरन्तर राजनीतिक आक्रमण गर्ने अवसर दिएको थियो ।

किम गत अगस्टदेखि हिरासतमा हुनुहुन्छ किनकि सियोल जिल्ला अदालतले प्रमाण नष्ट गर्न सक्ने सम्भावना देखाउँदै उहाँको पक्राउ आदेश स्वीकृत गरेको थियो । अहिलेको फैसलापछि उहाँ र स्वतन्त्र वकिल दुवैलाई सर्वोच्च अदालतमा अपिल गर्न एक साताको समय दिइएको छ । यसअघि स्वतन्त्र सल्लाहकार मिन जोङ–कीको टोलीले उहाँका लागि १५ वर्षसम्मको सजाय माग गरेको थियो, तर किमको पक्षले उक्त अनुसन्धानलाई राजनीतिक प्रेरित भनेको छ ।

सियोल उच्च अदालतले आफ्नो फैसलामा सार्वजनिक पदसँग जोडिएको जिम्मेवारी र नैतिकताको स्तर उच्च हुने उल्लेख गर्दै किमले त्यस अनुरूपको आचरण देखाउन नसकेको ठहर गरेको छ । अदालतले उहाँले आफ्नो हैसियतको फाइदा उठाउँदै उपहार ग्रहण गरेको र त्यसले शासन प्रणालीप्रति जनविश्वास कमजोर बनाएको निष्कर्ष निकालेको छ ।

यस घटनाक्रमले दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा सत्ताको शिखरबाट कानूनी सङ्कटसम्मको तीव्र पतनको उदाहरण प्रस्तुत गरेको विश्लेषकहरू बताउँछन् ।