अपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय
सियोल। दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग जोडिएको राजनीतिक पतन अझ गहिरिँदै गएको छ र अपील अदालतले उहाँकी श्रीमती किम केओन हीलाई थप भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय बढाएको छ ।
यसअघि नै विद्रोहको आरोपमा युनलाई आजीवन कारावास सजाय सुनाइएको पृष्ठभूमिमा आएको यो निर्णयले पूर्व शासक दम्पतीको पतनलाई अझ नाटकीय बनाएको छ ।
सियोल उच्च अदालतले मङ्गलबार किमको सजायलाई चार वर्षमा पु¥याउने निर्णय सुनाएको हो । यसअघि जनवरीमा जिल्ला अदालतले उहाँलाई २० महिनाको जेल सजाय सुनाएको थियो । त्यतिबेला उहाँमाथि युनिफिकेशन चर्चसँग राजनीतिक समर्थनका लागि सम्बन्ध राख्दै महँगा उपहार—ग्राफ डायमन्ड नेकलेस र च्यानल ब्याग—लिएको आरोप पुष्टि भएको थियो । यद्यपि, प्रथम महिला बन्नुअघि स्टक मूल्य हेरफेरमा संलग्न रहेको आरोपबाट भने उहाँले सफाइ पाउनुभएको थियो ।
तर दुवै पक्षले गरेको अपिलपछि उच्च अदालतले थप प्रमाणका आधारमा अर्को च्यानल झोला प्राप्त गरेको र मूल्य हेरफेरमा संलग्न भएको ठहर गर्दै सजाय बढाएको हो । अदालतका अनुसार राष्ट्रपतिको निकटतम व्यक्तिका रूपमा किमले आफ्नो प्रभाव र पदको दुरुपयोग गर्दै व्यक्तिगत फाइदा उठाउनुभएको थियो, जसले सार्वजनिक विश्वासमा गम्भीर चोट पुर्याएको निष्कर्ष निकालिएको छ ।
डिसेम्बर २०२४ मा युनले अचानक मार्सल ल घोषणा गरेपछि सुरु भएको राजनीतिक सङ्कटले अन्ततः उहाँको महाभियोग र पदच्युतिमा परिणत भएको थियो । त्यसयता युनमाथि विभिन्न आपराधिक मुद्दाहरू लागेका छन् । फेब्रुअरीमा सियोल केन्द्रीय जिल्ला अदालतले संसद् कब्जा गर्ने प्रयास, राजनीतिक विरोधीलाई पक्राउ गर्ने योजना र निरङ्कुश सत्ता स्थापना गर्न सेना तथा प्रहरी परिचालन गरेको अभियोगमा उहाँलाई विद्रोहको दोषी ठहर गर्दै आजीवन कारावास सजाय सुनाएको थियो ।
किम भने उक्त मार्सल ल प्रकरणमा प्रत्यक्ष संलग्न नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । तर उहाँको नाम यसअघि नै विभिन्न घोटालासँग जोडिँदै आएको थियो, जसले युनको लोकप्रियतामा ठूलो गिरावट ल्याएको थियो र विपक्षीहरूलाई निरन्तर राजनीतिक आक्रमण गर्ने अवसर दिएको थियो ।
किम गत अगस्टदेखि हिरासतमा हुनुहुन्छ किनकि सियोल जिल्ला अदालतले प्रमाण नष्ट गर्न सक्ने सम्भावना देखाउँदै उहाँको पक्राउ आदेश स्वीकृत गरेको थियो । अहिलेको फैसलापछि उहाँ र स्वतन्त्र वकिल दुवैलाई सर्वोच्च अदालतमा अपिल गर्न एक साताको समय दिइएको छ । यसअघि स्वतन्त्र सल्लाहकार मिन जोङ–कीको टोलीले उहाँका लागि १५ वर्षसम्मको सजाय माग गरेको थियो, तर किमको पक्षले उक्त अनुसन्धानलाई राजनीतिक प्रेरित भनेको छ ।
सियोल उच्च अदालतले आफ्नो फैसलामा सार्वजनिक पदसँग जोडिएको जिम्मेवारी र नैतिकताको स्तर उच्च हुने उल्लेख गर्दै किमले त्यस अनुरूपको आचरण देखाउन नसकेको ठहर गरेको छ । अदालतले उहाँले आफ्नो हैसियतको फाइदा उठाउँदै उपहार ग्रहण गरेको र त्यसले शासन प्रणालीप्रति जनविश्वास कमजोर बनाएको निष्कर्ष निकालेको छ ।
यस घटनाक्रमले दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा सत्ताको शिखरबाट कानूनी सङ्कटसम्मको तीव्र पतनको उदाहरण प्रस्तुत गरेको विश्लेषकहरू बताउँछन् ।
