`

दिल्लीमा सम्पन्न कुस्ती प्रतियोगितामा नेपालका सुरेश चुनाराले जिते कांस्य पदक

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती (अलिश) च्याम्पियनसीप २०२५ मा नेपालका सुरेश चुनाराले कांस्य पदक जितेका छन् ।
दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्रो स्थान प्राप्त गर्दै कांस्य पदक जितेको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए ।

उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबोलोट अमानोभ पहिलो तथा भारतका कुभेनु पुरो दोस्रो भएका थिए ।आयोजित सम्मान समारोहमा सुरेश चुनारालाई आयोजक संस्थाहरू एआइटीडब्ल्यूपीएफ, एशियन अलिश फेडेरेसन र वल्र्ड अलिश फेडेरेसनका प्रतिनिधिहरूले प्रमाणपत्र र पदक प्रदान गरेका थिए ।

एसियाका विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा चुनाराले अनुशासन, मेहनत र समर्पणसहित प्रदर्शन गरी कांस्य पदक प्राप्त गर्न सफल भएको संघका अध्यक्ष कुसारीले बताए ।

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक हिजो ४ बजे बसेको थियो भने त्यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुनेछ । ।

पाँचदिने जापान भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री

काठमाडौँ, ११ जेठः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उहाँले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल– जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिनुभयो । उक्त भेटवार्ताहरु मुलुकका लागि उपलब्धिमूलक रहेको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणाले भन्नुभयो, “यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरुका सम्बन्धमा अन्य देशहरुले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिल्यो ।”

परराष्ट्रमन्त्री डा राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्री डा राणाले यही जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा तानाका अकिहिकोसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाका बारेमा कुराकानी गर्नुभएको थियो ।

यसअघि उहाँसँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी हुनुभएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री डा राणाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

जापानमा रहँदा मन्त्री डा राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गर्नुभएको थियो । जापानको भ्रमण पूरागरी गएराति स्वदेश फर्कनुभएकी मन्त्री डा राणालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित अधिकारीहरुले स्वागत गर्नुभएको थियो । उहाँ गत सोमबार जापान जानुभएको हो ।

चीनमा नेपाली संस्कृति प्रदर्शन

गुइलिन (चीन), ११ जेठः नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ । एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । नेपालकोतर्फबाट देविका वन्धन, कमल खत्री र राष्ट्रिय गतिशील कला समूहका कला समूहले कलाकारहरुले विशेष साङ्गीतिक प्रस्तुति दिएका भने चिनियाँ कलाकारहरुले पनि मौलिक नाच र गीत प्रस्तुत गरेका थिए ।

एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले कार्यक्रम नेपाल र चीनबीचको मित्रता, संस्कृति, कला र पर्यटन प्रवर्द्धनको सेतु भएको बताउनुभयो । उहाँले नेपालको पहिचान र आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा पुर्‍याउने हाम्रो उद्देश्य यही मञ्चबाट साकार हुँदैछ भन्ने आफूले महसुस गरिरहेको उल्लेख गर्नुभयो । “नेपाल र चीनका स्थानीय तहबीचको सहकार्य र सांस्कृतिक आदानप्रदानलाई अझ मजबुद बनाउने हाम्रो यो प्रयास सामाजिक परिवर्तनतर्फको एक सकारात्मक पाइला हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले दुई देशबीचको सम्बन्ध लामो समयदेखि रही आएको उल्लेख गर्दै अरिनको र भृकुटीले नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउन इतिहासमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो । “कार्यक्रममा हाम्रो जनताको भावनाका आकाङ्क्षाको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्व र सम्मानको विषय हो । नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् । प्राचीन बौद्ध विहारहरुदेखि लिएर आजका पूर्वाधार र पर्यटन साझेदारीसम्म हाम्रो मित्रता समयसँगै अझ बलियो, गहिरो र अर्थपूर्ण बन्दै गइरहेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गुइलिन संयुक्त मोर्चा कार्यविभागका मन्त्री ब्लाङ सिएन फिङले दुवै देशबीचको यस कार्यक्रमले नागरिकस्तरमा पनि सम्बन्ध विस्तारमा थय सहयोग पुगेको बताउनुभयो ।

त्यस अवसरमा गुइलिन सांस्कृतिक स्वयंसेवक सङ्घका अध्यक्ष हुनुहुन्छ । लिनबिन, गुइलिनको संयुक्त मोर्चा कार्य विभागकी उपनिर्देशक झाङ गाओलियन, गुइलिन सिटी ग्लोरी कज प्रमोशन एशोसिएसनका उपाध्यक्षः याङ युनवु, गुइलिन फुक्सी एसेट म्यानेजमेन्टका अध्यक्ष चेन होङसियान र लिजियाङ उद्धार केन्द्रका कप्तान मो गुआङफुलगायतको सहभागिता थियो ।

सगरमाथा आरोही मिड्ना डेम्ब शेर्पाले हिमाल आरोहणको चर्चा गर्दै हिमाल आरोहणमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिनुभयो । उहाँले विश्वका आठ हजारभन्दा अग्ला विभिन्न हिमालको ३३ पटक सफल आरोहण गर्नुभएको छ । कार्यक्रममा गायिका देविका वन्दनालाई एमरजिन सिङ्गर अवार्ड र गायक कमल खत्रीलाई उत्कृष्ट गायकको अवार्ड प्रदान गरिएको थियो ।

एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक थुप्तेन ग्याल्बो मोक्तानले यस प्रकारका कार्यक्रमले देश नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, मित्रता र पर्यटन प्रवद्र्धनका लागि समर्पित रहेको बताउनुभयो । “हाम्रो देशको सङ्गीत सम्पदा, कला र संस्कृतिले यस अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गरिरहेका छौँ, जसले दुवै देशबीचको आपसी समझदारीले अझ प्रगाढ बनाउने विश्वास लिएको छ”, उहाँले भन्नुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ११ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १८, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ३०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तनेबोडीको मूल्य प्रतिकिलो रु ७०, मकैबोडी मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३०, घिराँैला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १३०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३५०, आँप (दशहरी) प्रतिकिलो रु २५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २३०, आभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३५०, भेडेखुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२,८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एंव सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

चौबीस वर्षदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित

दोधारा चाँदनी (कञ्चनपुर), ११ जेठ : हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उहाँ त्यहाँबाट विस्थापित हुनुभयो ।

आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा करिब चार÷पाँच वर्ष सडकमै बिताउनुभयो । राज्यबाट व्यवस्थापन हुन नसकेपछि २०६४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढक्का शिविरमा उहाँ लगायतका ६ सय विस्थापित बसोबास गर्दै आउनुभएको छ ।

“सरकारले हाम्रो व्यवस्थापन नगरेपछि जङ्गलको किनारमा खाली ठाउँ देखेपछि यहाँ बसेका छौँ” आरक्षपीडित भण्डारीले भन्नुभयो, “सरकारले ३३ आयोग गठन गरे पनि हाम्रो व्यवस्थापन हुनसकेको छैन, २४ वर्ष बितिसक्यो ।”

भण्डारीका अनुसार शिविरमा हाल ६ सय चार परिवारको बसोबास छ । “हामी यहाँ झुपडी बनाएर जर्बजस्ती बसेका हौँ, जङ्गली हात्ती आउँछ । घर भत्काउँछ, पुनः झुपडी बनाउन निकुञ्जले रोक्छ”, उहाँले दुखेको गर्दै भन्नुभयो, “बिजुली बत्ती, खानेपानी, शौचालय केही सुविधा छैन, सोलार पनि निकुञ्जले लगाउन दिँदैन ।”

उहाँले २४ वर्षदेखि ढक्का शिविरका बासिन्दा अँध्यारोमा बस्न बाध्य रहेको बताउनुभयो । जसले गर्दा बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । “राज्यबाट केही सुविधा मिलेको छैन, हाम्रा बालबालिकाले खोप र भिटाभिनसमेत पाएका छैनन्”, भण्डारीले भन्नुभयो, “हाम्रो भोट मात्र चल्छ, अरु केही चल्दैन आधारभूत सेवाबाट वञ्चित भएका छौँ ।” उहाँले उक्त स्थानमा गहँु थ्रेसिङ र खनजोतका लागि पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

सरकारले आरक्ष विस्थापितको समस्या समाधानका लागि विभिन्न समयमा ३३ आयोग गठन गरेको छ तर पनि विस्थापितको समस्या समाधान हुनसकेको छैन । जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएका छ सय चार परिवार दुई दशकदेखि ढक्का शिविरमा कष्टकर जीवन बिताइरहेका छन् ।

पिपलाडी–१ बाट विस्थापित भएर शिविरमा बस्दै आउनुभएका मोतिलाल डगौरा सरकारले सट्टाभर्ना दिने आश्वासन दिए पनि हालसम्म नदिएको बताउनुहुन्छ । “विस्थापित हुने बेला जग्गाधनी पुर्जा थिएन, सट्टाभर्ना पाइएन”, उहाँले भन्नुभयो, “हाम्रो व्यवस्थापनका लागि सरकारले पटकपटक आयोग गठन गर्यो, ती आयोगले समस्या समाधान गर्नुको साटो विस्थापितको सङ्ख्या थपघट गर्ने काम मात्र गरेको छ ।” उहाँले सरकारले छानबिन गरेर वास्तविक पीडितको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । “राज्यले हाम्रो पीडा बुझेन, हामी भोट बैंक मात्र भयौँ”, उहाँले भन्नुभयो, “निर्वाचनका बेला मात्र नेताहरू आउँछन्, हामी व्यवस्थापन गर्छु भन्छन् अहिलेसम्म आश्वासन मात्र पाएका छौँ ।”

हालसम्म ३३ आयोग गठन हुँदा पनि विस्थापितको समस्या समाधान हुनसकेको छैन । विसं २०५८ मा द्वन्द्वका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडित अझै पनि जङ्गल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् । निकुञ्जको ‘कोर एरिया’मा रहेको ढक्कालगायत जिल्लाका विभिन्न स्थानका १७ शिविरमा विस्थापित बसोबास गरिरहेका छन् । निकुञ्जभित्रको ढक्का शिविरमा छ सय चार, तारापुर एक सय ८० र लल्लरेडाँडामा १३ परिवारको बसोबास छ । त्यसैगरी कृष्णपुर नगरपालिकाको बाणी, सिसमघारी र मालुबेला, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा, बनहरा र वैशाखा, बेदकोट नगरपालिकाको सुडासँगै पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाका शिविरमा गरी दुई हजार ४७३ परिवार विस्थापित छन् ।

त्यतिबेला विस्थापित भएकालाई भीमदत्त नगरपालिका–१४ र १६ को नयाँ कटान, बेदकोट नगरपालिका–१० र शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा पुनःस्थापना गरिएको थियो । पुनःस्थापना हुन नसकेकाहरू अहिले निकुञ्जभित्रै र बाहिर बसोबास गरिरहेका छन् । निकुञ्जभित्र बसोबास गरिरहेकाहरू पनि जङ्गलमै खनजोत गरेर खेतीपाती गरिरहेका छन् । जङ्गलमा वन्यजन्तुदेखि सर्प र कीराको डरैडरमा बाँच्नुपरेको विस्थपितहरू बताउँछन् ।

निकुञ्जको क्षेत्रमा बसोबास रहेको हुँदा निकुञ्जमा जङ्गली जनावरको मृत्यु भए पनि यहाँका बासिन्दालाई आरोप लाग्ने गरेको ८२ वर्षीय विवसिंह धामी बताउँछन् । “त्यतिबेला राज्यले गर्भवती र बालबालिकालाई उठाएको थियो, हामीले पाँच वर्ष त सडकमै बितायाँै”, धामीले भन्नुभयो, “निर्वाचनका बेला मात्र हामीलाई आश्वासन आउँछ हामी अँध्यारोमा कष्टकर जीवन बिताउन बाध्य छौँ ।” उहाँले आफूहरूको व्यवस्थापनका लागि विभिन्न समयमा आन्दोलन गरे पनि व्यवस्थापनका लागि कुनै पहल नभएको बताउनुभयो ।

दुई दशकदेखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् । “हामी अँध्यारोमा बस्न बाध्य छौँ, निकुञ्जले यहाँ सोलारसमेत लगाउन दिँदैन”, पीडित रामदास चौधरीले भन्नुभयो, “हामी मोबाइल र टर्च चार्ज गर्न अर्को गाउँ जानुपर्छ त्यहाँ मोबाइल र टर्च चार्ज गरेको रु १०–१० तिर्नुपर्छ ।” शिविरमा विद्युत् नहुँदा बालबालिकाको पढाइ प्रभावित हुने गरेको उहाँको दुखेको छ । “यहाँ हामीले धेरै दुःख खेप्नुपरेको छ, खेतमा लगाएको अन्न जङ्गली जनावरले खाइदिन्छन्, धान, गहँु थ्रेसिङ गर्न निकुञ्जको अनुमति लिनुपर्छ ।” उहाँले भन्नुभयो, “हामीले राज्यबाट पाउनुपर्ने सेवा पाएनाँै ।”

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ढक्का शिविरमा थुप्रै समस्या रहे पनि समाधान गर्न नसकिएको बताउनुभयो । “हामीले शिविरमा उज्यालोका लागि सोलार जडान गर्ने तयारी गरेका थियौँ, तर निकुञ्जले अनुमति दिएन”, उहाँले भन्नुभयो, “त्यहाँ हामीले चाहेर पनि केही गर्न सक्दैनाँै ।” उक्त शिविर निकुञ्जको कोर एरियामा भएका कारण त्यहाँ निकुञ्ज प्रशासनले विद्युत्, खानेपानीलगायत सेवा विस्तारमा रोक लगाउने गरेको छ । एक सय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर तीन सय पाँच वर्गकिलोमिटर बनाइएको थियो । राजनीतिक दलहरूले चुनावका बेला मुद्दा उठाउने र कार्यकर्ता भर्तीका लागि आयोग गठन गर्ने गरेको विस्थापितको आरोप छ ।

मादी नदी जिप दुर्घटना : मृतक तीन जनाको सनाखत

दमौली (तनहुँ), ११ जेठ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०÷२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् । घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।

आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, ११ जेठ : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सर्वोच्च अदालतको फैसला कानुनी रूपमा स्वीकार गरेका छौँ : रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गरेको जनाएको छ ।

रास्वपाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको हकमा सर्वोच्च अदालतको आदेशलाई कानुनी रूपमा स्वीकार गरे पनि राजनीतिक प्रतिशोधको आशङ्का व्यक्त गरेको छ । विज्ञप्तिमार्फत रास्वपाले अदालतबाट न्याय पाइने जनविश्वास कमजोर बन्न नहुने भन्दैै चिन्ता प्रकट गरेको छ ।

“सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौँ रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबर्जस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा हाम्रो सरोकार र चिन्ता रहेको छ”, विज्ञप्तिमा कार्यवाहक प्रवक्ता मनिष झाले उल्लेख गर्नुभएको छ, “राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त गर्दछौँ ।”

रास्वपाले ‘भिजिट भिसा’मार्फत मानव तस्करी भएको भन्ने विषयबारे छानबिन गर्न सरकारसँग माग गरेको छ । पार्टीको सचिवालय र केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक आज बसेको थियो । यसको निरन्तरतास्वरूप केन्द्रीय समितिको अर्को बैठक आइतबार अपराह्न २ः०० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता झाले जानकारी दिनुभयो ।

पर्वतका मल्लले टेके पाँचौँ पटक सगरमाथाको चुचुरो

पर्वत-जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ पटक सफल आरोहण गर्नुभएको छ । उहाँले सन् २०१७ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।

इलाइट एक्सपेडमा कार्यरत अन्तरराष्ट्रियस्तरको गाइडको अनुमतिपत्र प्राप्त गर्नुभएका मल्लले म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरि हिमालमा सन् २०१७ मा आरोहण गर्नुभएको थियो । मनास्लुमा पाँच र ल्होत्से हिमाल एकपटक आरोहण गरेको उहाँले बताउनुभयो ।

“आरोहणबाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जीवन दिन पाउँदा पेसाप्रति गर्व लाग्छ”, मल्लले भन्नुभयो । आठ हजार मिटर अग्ला हिमालबाहेक युरोप, इन्डोनेसिया, पाकिस्तानका हिमालमा दर्जनभन्दा बढी पटक आरोहण गरिसकेको उहाँले जानकारी दिनुभयो ।

हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताउनुभयो । हिमाल आरोहण टोलीसँगै केही दिनमा पाकिस्तान जान लागेको उहाँले बताउनुभयो ।

म्याग्दी र पर्वत क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सक्रिय रहनुभएका मल्लले कीर्तिमानी आरोही निर्मल पुर्जाबाट प्रभावित भएको बताउनुभयो । उहाँले हिमाल आरोहणसँगै पर्यटन प्रवर्द्धनका क्षेत्रमा आगामी दिनमा थप सक्रिय उल्लेख गर्नुभयो । उहाँले नेपाल र विश्वका विभिन्न देशमा रहेका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड सङ्कलन

वीरगञ्ज (पर्सा), ११ जेठः नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ रु दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने रु दुई लाख ५९ हजार ४७५ रहेको छ ।

निर्जीवन बिमातर्फ सात हजार १२४ सङ्ख्याले रु एक अर्ब ६० करोड २६ लाख रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई रु एक अर्ब आठ करोड ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।

नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गर्नुभयो । “हामीले बिमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।”

कार्यालयले चालु आवको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार छ सय ७० वटा जीवन बिमाको बिमालेख सङ्ख्या रहेको छ ।

जीवन बिमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बिमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट रु दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बिमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट रु दुई अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको थियो ।

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो

सिमकोट (हुम्ला), ११ जेठ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री यहाँ पुगेको छ ।

प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर (टेन्ट), म्याट्रेस सेटलगायत राहत सामग्री यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रजिअ पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर लिनुभएको हो ।

बोक्चेगौडा सडक निर्माण भइरहेका कारण सिधै सदरमुकाम सिमकोटमा पुग्न नसकेपछि उहाँको टोली शनिबार त्यहाँ पुगेर राहत सामान बुझी ल्याएको हो । उक्त सामान बोक्चेगौडा भिरमा बोकेर ओसारिएको थियो । यस्तै अन्य सुरक्षाकर्मीले भारी बोकेर भिर पार गरी सामग्री ओसारेका थिए । कर्णाली प्रदेश सरकारले पठाएको उक्त राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ ।

यही जेठ १ गते राति गाउँभन्दा माथिदेखि बाढीपहिरो आउँदा तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन् । तिलगाउँमा आएको बाढीपहिरोबारे अनुसन्धान, अवलोकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली अहिले उक्त स्थानमा रहेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्व सुरु

मुस्ताङ, ११ जेठ : उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियाँै वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ । उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ ।

उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै थलोमा भेला भएर तिजी पर्वलाई हर्ष र उल्लासका साथ मनाउने प्रचलन छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व ‘तिजी’ शुभारम्भ गरिएको हो । तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व भन्ने गरिन्छ ।

तिजी पर्वका बेलामा उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषासहितको लुगा र गरगहना लगाउने गर्छन् । तिजी पर्व अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने धार्मिक चलन छ ।

उपल्लो मुस्ताङमा तिजी पर्व तीनसम्म मनाइने प्रचलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । “तिजी पर्व एक किसिमको धार्मिक पूजा नै हो, तर यो धार्मिक पूजालाई लोछोदिन समुदायले पर्वका रूपमा विस्तार गरेको हो”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस्, सबैको भलो होस् भन्ने उद्देश्यले तिजी पूजाको रूपमा यो पर्व चल्दै आइरहेको हो ।”

तिजी पर्वमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङस्थित तिजी पर्वमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने धार्मिक प्रचलन रहेको अध्यक्ष विष्टको भनाइ छ ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङको धार्मिक तथा ऐतिहासिक पर्व तिजी उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरका रूपमा रहेको बताउनुभयो । यो पर्वले उपल्लो मुस्ताङको समृद्धि, विकास र शान्ति स्थापना गर्न तथा उपल्लो मुस्ताङका नागरिकलाई भावानात्मक रूपमा एकताबद्ध गर्न तिजी पर्वले महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको उल्लेख गर्नुभयो ।

तिजी पर्व आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालादेखि सुरु भएको लोमान्थाङस्थित लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले बताउनुभयो । गुरु पद्मसम्भवको पालादेखि सुरु भएको तिजी पर्व उपल्लो मुस्ताङमा पन्ध्राँै शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि सुरु भएको छोदे गुम्बाका लामा गुरुङको भनाइ छ ।

पछिल्लो अवस्थामा उपल्लो मुस्ताङमा तिजी पर्व चल्दै गर्दा विभिन्न काखखण्डमा तिजी पर्व रोकिँदै र सुरु हुँदै आएकामा सन् १९६३ देखि नियमित रूपमा उपल्लो मुस्ताङमा तिजी सञ्चालन हुँदै आइरहेको छोदे गुम्बाका लामा गुरुङले जनाउनुभयो । त्यसो त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरना सङ्क्रमणको जोखिमका कारण सन् २०२० देखि तीन वर्ष उपल्लो मुस्ताङमा तिजी पर्व रोकिएको लामा गुरुङले उल्लेख गर्नुभयो ।

लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक पर्व तिजी तीन दिनसम्म नियमित रुपमा सञ्चालन हुने गर्छ । त्यस अवधिमा तीन दिनसम्म बिहान ६ः०० देखि १२ बजेसम्म त्यहाँको गुम्बामा लामाद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गर्ने गरिन्छ । यसरी पूजापाठ गर्दा उपल्लो मुस्ताङलाई कसैले कुदृष्टि नलगाओस्, विश्व भातृत्व र शान्ति कायम होस्, रोगब्याधी र अनष्टि नहोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपद्को सामाना गर्न नपरोस्, सबै लोछोदिन समुदायमा सुख, शान्ति समृद्धि छाओस् भन्ने कामना गर्दै छोदे गुम्बाका लामाहरूले सामूहिक पूजा गर्ने प्रचलन रहेको लामा झ्यम्पा घ्याचो गुरुङले जानकारी दिनुभयो ।

यसैगरी तिजी पर्वको तीन दिनसम्म बिहानको धार्मिक पूजापाठपछि लोमान्थाङस्थित मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसर अगाडि छोदे गुम्बाका लामाबाट बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने गरिन्छ । यो प्रक्रिया तीन दिनसम्म नियमित चल्ने लामा गुरुङले सुनाउनुभयो । तिजी पर्वको अवसरमा लोमान्थाङको ऐतिहासिक दरबार अगाडि छोदे गुम्बाका लामाले ५४ प्रकारका बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने चलन रहेको उहाँको भनाइ छ ।

यसरी बज्रकिलया र महाकाल देवताको दुरुस्तै हुनेगरी मुकुट पहिरिएर नृत्य अभ्यास प्रर्दशन गर्ने गरिएको लामा गुरुङले बताउनुभयो । लोमान्थाङमा आयोजित लोछोदिन समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजीको अन्तिम दिन तीन दिनसम्म पुजामा रािखएको तोर्म गाउँबाहिर लगेर बिर्सजन गरेपछि तिजी पर्व समापन भएको संकेत गरिन्छ । यसरीमा पुजामा राखिएको तोर्म बिर्सजन गर्नुअघि कुन दिशमा लगेर बिर्सजन गर्ने हो त्यसको लामाहरुले पुजा गरेपछि निक्र्योल गरिन्छ । तार्म बिर्सजन गर्दा मुस्ताङी राजपरिवार ,गाउँका भद्रभलाद्मी,लामाहरु र स्थानीय गाउँले मिलेर गाउँ बाहिर लगेर फ्याकिन्छ ।

यसअघि तिजी पर्व सुरुहुँदा लोमान्थाङ स्थित मुस्ताङी सांस्कृतिक राजाको दरबारमा राखिएको दुई तला ठुलो करिव ३० फुट लामो गुरु पद्यम सम्भवको लुङ्ता बाहिर निकालेर लामाहरुले नृत्य अभ्यास गर्ने स्थान नजिकै झुन्ड्याउने गरिन्छ । गुरु पद्यम सम्भवको ठुलो आकारको लुुङ्ता वर्षको एक पटकमात्रै तिजी पर्वको बेला सार्वजनिक गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छिमी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दरबारबाट निकालिएको पद्यसम्भवको लुङ्ता तिजी पर्व सकेपछि पून ः दरबारमै लगेर राख्ने गरिएको छ ।

दुरुस्तै तिब्बतीय कलासंस्कृतिको झल्कोदिने उपल्लो मुस्ताङमा आयोजना हुने यसप्रकारको तिजी पर्वलाई विदेशी पर्यटकहरुले निकै अभिरुची र चाँसोका साथ अवलोकन गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । तिजी पर्वको अवलोकन गर्ने र त्यहाँको धार्मिक तथा सांस्कृतिक सभ्यता र मौलिकतालाई विदेशी पर्यटकले फोटो र भिडियोमा कैंद गर्ने एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाइ छ । तिजी पर्वको अवलोकनका लागि उपल्लो मुस्ताङ आएका विदेशी पर्यटकको उपस्थितीले लोमान्थाङमा पर्यटकीय रौनकता बढाएको एक्याप लोमान्थाङ प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

लोमान्थाङमा तिजी पर्वको छेको पारेर यसै हप्ता मात्रै पाँच सय दुई विदेशी पर्यटक उपल्लो मुस्ताङमा भित्रिएको एक्याप लोमान्थाङले जनाएको छ । कार्यालयअनुसार सन् २०२५ को मे १ देखि मे २३ तारिखसम्ममा सात सय ५५ विदेशी उपल्लो मुस्ताङ भित्रिएका हुन् । सन् २०२५ को जनवरीदेखि मे २३ सम्ममा एक हजार छ सय ४७ विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको कार्यालय प्रमुख उमेश पौडेलको भनाइ छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, ११ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७१ पैसा र बिक्रीदर २० रुपैयाँ ८० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ४० पैसा र विक्रीदर ३५४ रुपैयाँ ९६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी गर्दै चितवन खैरहनीका हरि

भरतपुर (चितवन), ११ जेठ : चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।

सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गर्नुभयो । पछि राम्रो हुँदै गएपछि उहाँले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाल्नुभयो । अहिले, चार बिघा जमिनको जलासयमा माछा छन् । उहाँले वार्षिक रु एक करोड ५० लाखको माछा बिक्री गर्नुहुन्छ । खर्च कटाएर रु ७० लाख बढी नाफा हुने गरेको अर्यालले बताउनुभयो ।

“वार्षिक रु ६० लाख जति दानामा खर्च हुन्छ, विद्युत् लगायतका अन्य क्षेत्रमा खर्च हुन्छ”, उहाँले भन्नुभयो, “रु वार्षिक ७० लाख त कम्तीमा बचत हुन्छ ।” उहाँको फर्ममा वार्षिक दुई सय टनभन्दा बढी माछा उत्पादन हुन्छ । यतिखेर १० टन माछा बजार लैजाने तयारी छ ।

अर्यालले माछापालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र बिक्रीमा ध्यान दिनुभएको छ । उहाँले उत्पादन गरेका माछा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा बिक्रीका लागि लैजाने गरिन्छ । माछापालनले अर्यालको जीवनस्तरमा महत्वपूर्ण सुधार ल्याएको छ । उहाँले आफ्नो आम्दानीबाट थप जमिन किनेर, घर बनाउनुभएको छ भने गाडी किन्ने योजनामा हुनुहुन्छ ।

माछापालन व्यवसायबाट नै अर्यालले तीन छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कुलमा पढाइरहनुभएको छ । उहाँले आफ्नो फर्ममा ६ जनालाई रोजगारी दिनुभएको छ । आगामी दिनमा माछापालन व्यवसायलाई एग्रो टुरिजममा विस्तार गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ । “पोल्ट्री क्षेत्रमा हात हालेको छु । त्यसबाट राम्रो आम्दानी हुन सकेन”, अर्यालले भन्नुभयो, “यतिबेला कागती खेतीमा पनि लगानी गरेको छु, यसलाई एग्रो टुरिजममा लैजाने योजना छ ।”

श्रीमान्–श्रीमती नै माछापालनमा खटिनुहुन्छ । उहाँले माछापालनमा रुची राख्ने अन्य कृषकलाई प्रशिक्षण र सल्लाह प्रदान गर्दै आउनुभएको छ । ४५ वर्षीय अर्याल माछापालनमा त्यतिकै लाग्नुभएको होइन । पैसा कमाउन सन् २००५ मा मलेसिया पुग्नुभएका उहाँ २४ महिना बस्नुभयो । त्यतिखेर नेपालमै केही गर्ने सोचका साथ राम्रै पैसा कमाएर स्वदेश फर्किनुभएका अर्याल यहाँ भने जस्तो नभएपछि फेरि सन् २००८ मा फेरि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जानुभयो ।

दुई वर्ष दुबई बसेर फर्किनुभएका अर्याल परम्परागत खेतीपाती मै लाग्नुभएको थियो । पछि भरतपुरको बजार क्षेत्रमा माछापालन गरेको देख्नुभयो । यसबाट फाइदा हुने पाएपछि माछापालन गर्न थाल्नुभएको हो । माछापालन गर्दा सुरुवाती दिनमा धेरै दुःख पाएको उहाँसँग अनुभव छ ।

“एक कठ्ठामा माछा कति राख्ने, कसरी राख्ने केही ज्ञान थिएन, अन्धाधुन्ध नै माछापालन गर्न थालियो”, उहाँले भन्नुभयो, “सुरुमा व्यापारीले ठगे । दुई तीन वर्ष घाटा नै भयो ।” पछि माछापालनसम्बन्धी बुझ्दै गएपछि सहज भएको उहाँको भनाइ छ । सुरुआती दिनमा अर्यालले बङ्गलादेशबाट माछाका भुरा ल्याएर माछापालन गर्न थाल्नुभएको थियो । त्यतिखेर भारतिय बाटो हुँदै लुकाइछिपाइ गरेर भुरा ल्याउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । अहिले भने चितवनमै सरकारीस्तरबाट माछाका भुरा उत्पादन हुँदा माछापालन गर्न सहज भएको उहाँले बताउनुभयो । अर्याल पछिल्लो अधिकांश किसानका लागि प्रेणाका स्रोत बनिरहनुभएको छ ।

माछापोखरीमा आर्यालले रु दुई करोड लगानी गर्नुभएको छ । सात पोखरीमा माछा छन् । सुरुमा पोखरी खन्दा नै रु एक करोड खर्च लागेको उहाँले बताउनुभयो । जग्गा भाडामा लिएर माछापालन गर्नुभएका अर्यालको २८ कठ्ठा जमिन आफ्नै हो । अहिले चितवनमा पन्ध्र सयभन्दा बढी किसान माछापालनमा लागेका छन् । नेपालमा माछापालनमा राम्रो सम्भावना रहेको उहाँको भनाइ छ ।

“विदेश जानुभन्दा, यहाँ नै उत्पादनमूलक काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।राज्यले दाना र बिजुलीमा छुट दिएमा नेपाली माछापालन किसान अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो । “माछापालनमा राम्रो आम्दानी छ तर राज्यले हेर्ने नजर गलत छ”, अर्यालले भन्नुभयो, “देश धनी बनाउने हो भने युवालाई रोकेर कृषिमा लगानी गर्न जरुरी छ ।”

उहाँले भारतबाट अवैध रुपमा माछाको आयात नरोकिदा नेपाली किसान मारमा पर्दै आएको गुनासो गर्नुभयो । “भारतका माछालाई व्यवस्थापन गर्न सके नेपालमा उत्पादन भएका माछाले सहजै बजार पाउँछन्”, उहाँले भन्नुभयो, “राज्यले ठोस योजना बनाएर अवैध कारोबार रोक्नुपर्छ ।’ माछा व्यवसायी सङ्घ चितवनका उपाध्यक्षसमेत रहनुभएका अर्यालले सङ्घकै नेतृत्वमा अवैध माछा नियन्त्रण गरेर नष्ट गर्ने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताउनुभयो ।

दमौलीको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु ,दुई जना घाइते

दमौली (तनहुँ), ११ जेठ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट   जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । जिपमा पाँच जना सवार थिए ।

मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

पर्यटन व्यवसाय फस्टाउँदै जान थालेपछि बागलुङमा होटलमा लगानी थपियो

गलकोट (बागलुङ), १० जेठः पर्यटन व्यवसाय फस्टाउँदै जान थालेपछि बागलुङमा होटलमा लगानी बढेको छ । आन्तरिक र बाह्य पर्यटक वृद्धि हुन थालेपछि यहाँ होटलमा लगानी थपिँदै जान थालेको हो ।

अन्तरराष्ट्रिय मापदण्डको होटल ‘इला कम्फर्ट’ रु ३० करोड लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको छ । व्यवसायी चन्द्रप्रसाद ढकालले गृह जिल्लामा ३१ कोठाको सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउनुभएको हो । आइएमई ग्रुपअन्तर्गत रहेर अन्तरराष्ट्रिय मापदण्डको होटल बागलुङमा पहिलोपटक सञ्चालनमा आएको हो ।

जिल्लामा आउने विशिष्ट तथा अतिविशष्टि पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको हो । बागलुङ कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयलगायत पर्यटकीय गन्तव्यका कारण पछिल्लो समय बागलुङका होटल भरिभराउ हुन थालेपछि यस क्षेत्रमा लगानी थपिँदै गएको ढकालले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालका अनुसार होटललाई अन्तरराष्ट्रिय मापदण्डअनुसार ‘इला कम्फर्ट’ नामाकरण गरिएको हो । “होटलमा पर्याप्त पार्किङको सुविधा छ । ढोरपाटन सिकार आरक्ष र लोकमार्गका कारण पछिल्लो समय यहाँको पर्यटन व्यवसाय फस्टाउँदै गएको हो”, उहाँले भन्नुभयो । केही महिनाअघि रु दुई करोड लागतमा २४ कोठासहितको होटल शीतल सञ्चालनमा आएको थियो ।

शिक्षक पेसा छोडेर होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले २० वर्षको होटल व्यवसायको अनुभवपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा हार्ट शीतल सञ्चालनमा ल्याउनुभएको हो ।सानो घरबाट होटल व्यवसाय थाल्नुभएका कुँवर अहिले बागलुङ बजारको उपल्लाचौरबाट विशिष्टिकृत होटलबाट सेवा दिन थाल्नुभएको छ । चार कोठाबाट सुरु गरेको होटल व्यवसाय बढ्दै २४ कोठामा पुगिसकेको उहाँको भनाइ छ ।

कुँवरले रु दुई करोड खर्चेर होटललाई नयाँ व्यवस्थापनका साथ सुविधासम्पन्न पाँचतले घरबाट सेवा दिन थाल्नुभएको छ । उहाँका अनुसार उक्त भवनको मासिक भाडा मात्रै रु एक लाख पर्दछ ।

बागलुङ नगरपालिकाका प्रमुखसमेत रहनुभएका वसन्तकुमार श्रेष्ठले उपल्लाचौरस्थित आफ्नै जग्गामा संरचना तयार पारेर होटल ‘रेड एप्पल’ सञ्चालनमा ल्याउनुभएको छ । उहाँले बागलुङमा आउने पर्यटकले सुविधासम्पन्न होटल नभएको गुनासो गरेपछि उहाँहरूको समस्या सम्बोधन गर्न होटल सञ्चालनमा ल्याइएको बाताउनुभयो ।

यहाँ अन्तरराष्ट्रिय मापदण्डको होटल सञ्चालनमा आएपछि विदेशी पर्यटकलाई सहज भएको छभने यहाँबाट मुस्ताङ हिँडेका पर्यटकलाई पनि सहज हुने अपेक्षा गरिएको छ । पाँच वर्षयता बागलुङमा होटल दी राजन, सगुन होटल र कालिका मन्दिर गेटमा कालिका मल्टिप्यालेसलगायत सुविधासम्पन्न होटल सञ्चालनमा आइसकेका छन् ।

सप्तरीको मलेखपुरमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

राजविराज (सप्तरी), १० जेठः हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् ।मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो । दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नंको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।दुर्घटनापछि ट्र्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

ललितपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

काठमाडौँ, १० जेठः ललितपुरमा आज बिहान बसको ठक्क्रबाट मोटरसाइकल चालकको मृत्यु भएको छभने मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोट खण्डमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँको नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको अल्का अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नम्रता लामिछाने र निजका छोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जोशीले बताउनुभयो ।

यू-१६ सुदूरपश्चिम छनोटः बैतडीका भास्करको शतक

बैतडी, १० जेठः बैतडीमा जारी एसिसी मेन्स यू-१६ इस्ट जोन कप-२०२५ को सुदूरपश्चिम छनोटमा बैतडीका भास्कर जोशीले शतक हिर्काएका छन् । भास्करले डोटीविरुद्धको खेलमा ६२ बलमा शतक प्रहार गरेका हुन् । उनको शतकमा बैतडीले डोटीमाथि ९४ रनको शानदार जित निकालेको छ ।

जारी प्रतियोगितामा शतक बनाउने भास्कर पहिलो खेलाडी बनेका छन् । उनले १२ चौका र पाँच छक्का प्रहार गर्दै शतक बनाएका हुन् । घरेलु मैदान दशरथचन्द क्रिकेट रङ्गशाला सुन्दरखालीमा पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा दुई सय १० रन बनाएको छ । जसमा भास्कर एक सय रनमा अविजित रहे । यस्तै विक्रम बोहराले ४७ र कप्तान सचिन भट्टले अविजित ४६ रनको योगदान गरे ।

भास्कर र विक्रमबीच एक सय पाँच रनको ओपनिङ शतकीय साझेदारी भयो । त्यसपछि आएका कप्तान सचिनले पनि भास्करसँग एक सय पाँच रनकै साझेदारी गरे । भास्कर प्लेयर अफ द म्याच समेत चुनिएका छन् ।

डोटीका सुमन मल्लले एक विकेट हात पारे । जवाफी ब्याटिङमा उत्रेको डोटीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १६ रन मात्रै बनाउन सक्यो । डोटीका महेश देउवाले अर्धशतकीय पारी खेल्दै ६० रन बनाएपनि जित हुन सकेन । बलिङतर्फ बैतडीका अमर चन्द र जयबहादुर नाथले दुई/दुई विकेट निकाले ।

प्रतियोगिताबाट बैतडी र बझाङ बाहिरिसेकेका छन् । आजै भएको पहिलो खेलमा बझाङले डडेल्धुरालाई ३३ रनले हराएको छ । आजको खेलमा पराजित भए पनि डडेल्धुरा नेट रनरेटका आधारमा बझाङलाई पछि पार्दै समूह ‘ए’ को विजेताको रूपमा फाइनलमा सुरक्षित भयो ।

जितका लागि पाएको एक सय ७४ रनको लक्ष्य पछ्याएको डडेल्धुरा निर्धारित २० ओभरमा एक सय ४० रनमा समेटियो । जसमा मान साउँदले सर्वाधिक २२ रन बनाएपनि हार टार्न सकेनन् । बझाङका हिमाल दौल्यालले तीन विकेट झारे । यसअघि बझाङले २० ओभरमा खाठ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो ।

बझाङका इशान दौल्यालले अर्धशतकीय पारी खेल्दै ५१ रनको पारी खेले । उनी प्लेयर अफ द म्याच समेत चुनिएका छन् । डडेल्धुराका तपेन्द्र बोहरा र किरन देउवाले दुई/दुई विकेट हात पारे ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् । दुवै समूहका विजेताबीच यही जेठ १४ गते उपाधिका लागि भिडन्त हुनेछ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताएका छन् ।एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यू-१६ इस्ट जोन कपको छनोटका लागि जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

विधिअनुसार सर्वोत्तम हित हुनेगरी न्यायसम्पादन गर्नुपर्नेमा प्रधानन्यायाधीश राउतको जोड

पाटन (ललितपुर), १० जेठः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राज्यले निर्देशित गरेको विधिअनुसार सर्वोत्तम हित हुनेगरी न्याय तथा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।केन्द्रीय बाल न्याय समितिको सचिवालयद्वारा आज यहाँ आयोजित ‘नेपालमा बाल न्याय प्रणालीको प्रवर्द्धनमा सरोकारवालाको भूमिकाको खोजी’ विषयक एकदिने राष्ट्रिय कार्यशाला गोष्ठीमा उहाँले न्याय सम्पादन र पद्धतिमा बालबालिकाको सर्वाेत्तम हित भयो कि भएन भन्ने प्रश्न उठिरहेकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो,“यदि कानुनमा कुनै कमजोरी छन् भने ती सुधार गर्नुपर्छ । जनशक्ति हुने तर दक्ष जनशक्ति नहुने अवस्था हुनुहुँदैन, दोषपूर्ण कानुनबाट न्याय सम्पादन गरेर बालबालिकाको हित हुन सक्दैन, यसमा सुधार गर्नुपर्छ । न्याय दिने जिम्मेवारीमा बसेका मानिसले आफ्नो कर्तब्य र अधिकारको उपयोग गर्दै निष्ठापूर्वक काम गर्नुपर्छ ।”

उहाँले बाल सुधारका क्षेत्रमा काम गर्न धेरै ढिला भएको धारणा राख्दै न्याय प्रणालीमा हस्तक्षेपकारी भूमिका आवश्यक देखिएको जिकिर गर्नुभयो । “प्रहरीले सुधार गर्ने हैन, सुरक्षा मात्रै दिने हो, सुधार र समाजमा पुनःस्थापनाका लागि सबैले हामीले ध्यान दिनुपर्छ । पूर्वाधार र उत्प्रेरणात्मक वातावरण तयार गर्नुपर्छ, यसमा तीनै तहका सरकारको अभिभावकीय भूमिका आवश्यक छ”, प्रधानन्यायाधीश राउतले भन्नुभयो ।

केन्द्रीय बाल न्याय समितिका अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले बाल सुधार तथा बाल न्यायका क्षेत्रमा भएका समस्यामा समाधानका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाल सुधार र बाल न्यायका क्षेत्रमा केही काम भएको भएपछि यो पर्याप्त नभएको भन्दै यस क्षेत्रका समस्या समाधान गर्दै सबैले आ–आफ्नो जिम्मेवारी र भूमिकाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गोष्ठीमा मात्रै ठूला कुरा गरेर बालबालिकाको हित, बाल सुधारगृहको व्यवस्थापन र बाल न्यायका क्षेत्रमा काम हुन नसक्ने भन्दै व्यवहारमा बालबालिकामैत्री कार्यशैली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको हकहित र बाल सुधारगृह व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वयका आधारमा काम गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता उपेन्द्र न्यौपानेले भौतिक पूर्वाधार, मानव स्रोत र अन्य साधनको व्यवस्थापन गरेर बाल सुधारगृहलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै बाल न्यायसम्बन्धी ऐनमा भएका कमजोरी सुधार गर्नुपर्ने बताउनुभयो ।

सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन्ः उपसभापति वाग्ले

भरतपुर, १० जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताउनुभएको छ ।

आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उहाँले न्यायका लागि कानुनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताउनुभयो । “हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने सङ्कल्प गर्छाैं ।”

उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गर्दै आगामी दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने बताउनुभयो । “केन्द्रिय समितिको बैठक आइतबार बस्दैछ । संसद् र सभाहरूमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधिवत् रूपमा अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।

उपसभापति वाग्लेले अब पनि पार्टीको सभापति रवि लामिछाने नै भएको बताउँदै आगामी दिनमा बहुमत ल्याएर उहाँलाई नै प्रधानमन्त्री बनाउने सङ्कल्प गरिरिएको बताउनुभयो ।

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न

काठमाडौँ, १० जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तोकिएको समयभन्दा एक वर्ष ढिलागरी सबै जिल्ला कमिटीका अधिवेशन सम्पन्न भएका छन् । धनुषा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएसँगै पार्टी सबै जिल्लाका अधिवेशन सम्पन्न भएका हुन् । विसं २०८१ जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले धनुषामा अधिवेशन सम्पन्न भएसँगै सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो । यही जेठ महिनाभित्र जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घलगायतको महाधिवेशन गर्न बाँकी रहेको छ । ठूला जनसङ्गठनको १५१ केन्द्रीय कमिटी र साना जनसङ्गनठको ९९ केन्द्रीय कमिटी बनाउन पार्टीले निर्देशन दिएको छ ।

देश बिग्रिन नदिन जेठ १५को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् ।राजसंस्था पुनः स्थापनाको लागि घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले जेठ १५ गतेको आन्दोलनमा देशवासी नै सहभागी हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको भविष्य बर्वाद हुनेवाला छ । यसकारण यो देशलाई बिग्रिन नदिनको लागि, भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा आउनुपर्छ । यो आन्दोलन नेतृत्व गर्नेको मात्र होइन यो आन्दोलन हामी सबैको साझा आन्दोलन हो । देशवासीको आन्दोलन हो ।’साथै उनले जनताको एक दिनको धक्काले र योगदानले यो भ्रष्ट व्यवस्था ढल्ने बताए । उनले शान्तिपूर्ण आन्दोलनमा कुनै पनि हिंसात्मक कार्यहरु गर्न नदिन सरकारलाई आग्रह गरे ।

उनले भने, ‘तपाईंको एक दिनको धक्काले र योगदानले यो भ्रष्ट व्यवस्था ढल्छ । र सबैको भविष्य सुरक्षित हुन्छ । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं । यो शान्तिपूर्ण आन्दोलनमा सरकारलाई हामी कुनै हिंसात्मक कार्यहरु गर्न नदिनको लागि आग्रह गर्न चाहन्छौं ।’

लेखक बन्न पहिले राम्रो पाठक हुनुपर्छ: शिक्षामन्त्री पन्त

काठमाडौँ, १० जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो लेखक बन्न राम्रो पाठक पनि बन्नुपर्ने बताउनुभएको छ । इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको साहित्यकार कल्पना रिजालको उपन्यास ‘डाँफे’को आज यहाँ विमोचन गर्नुहुँदै उहाँले पाठक हुन नसक्ने व्यक्ति लेखक बन्न नसक्ने बताउनुभयो । लेख्नका लागि धेरै पढ्नुपर्ने र अरुले लेखेको नपढी लेख्ने साहित्कार सफल हुननसक्ने मन्त्री पन्तको भनाइ थियो ।

समालोचक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले उपन्यास राष्ट्र, राष्ट्रियता र देशभक्तिपूर्ण भावका साथै सीमा समस्या अनि समाधानमा केन्द्रित भएको बताउनुभयो । उपन्यासका लेखक रिजालले पाठकको माया पाएर नै आफूले तेस्रो पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो ।

मन्त्री पन्त, समालोचक उपप्रा ज्ञवाली, लेखक रिजाल, कथाकार भागीरथी श्रेष्ठलगायतले संयुक्त रूपमा उपन्यासको लोकार्पण गर्नुभएको थियो । लेखक रिजालका यसअघि नियात्रा विधाका दुई पुस्तक ‘युरोपसँगैका अनुभूति’ र ‘अर्थदङ्श’ प्रकाशित भइसकेका छन् ।

सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, १० जेठः नपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनका कारण राष्ट्रिय राजनीतिमा विभिन्न सङ्कट उत्पन्न भएको बताउनुभएको छ ।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ८ कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले देश र जनताका पक्षमा क्रियाशील कम्युनिष्ट पार्टीले विगतका अनुभवबाट सिक्दै गल्ती तथा कमजोरीलाई सच्याएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

सम्मानित नेता खनालले सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै आफ्नो पार्टीका तर्फबाट नेपाली मौलिकता र विशेषतालाई दृष्टिगत गरी ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक र सामाजिक विकासको आधारमा समानता, सामाजिक निष्पक्षता एवं न्याय निश्चित गर्न आवश्यक संस्था विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

साङ्गठनिक विचार, सिद्धान्त र लक्ष्यलाई जनतासमक्ष प्रस्ट पार्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नेता खनालले साङ्गठनिक हितका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

पोखरा कोटिहोम विराट ज्ञान महायज्ञमा आएर कथा श्रवण गर्न भक्तजनहरुलाई देवी प्रतिभाको आग्रह

पोखरा । अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभाले पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएर दर्शन गरी कथा श्रवण गर्न सबै भक्तजनलाई आग्रह गरेकी छिन् ।

शनिबार पोखरा कोटिहोम विराट ज्ञान महायज्ञमा कथावाचनको क्रममा उनले १४ दिन महायज्ञमा आएर कथा श्रवण गरेका भक्तजनहरुलाई पुनः कथा श्रवण गर्न आउनको लागि आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘तपाईंहरुको मायाले नै म यहाँ आए । १४ दिनसम्म जसले जसले कथा श्रवण गर्नुभयो तपाईहरु पनि फेरी आएर तपाईहरुको छोरीको मुखबाट पनि कथा सुनिदिनुहोला।’

त्यस्तै उनले पशुपति कोटिहोममा पहिलो पटक कथा वाचकको लागि आउँदा सबैजना नयाँ लागेको भएतापनि अहिले दोस्रो पटक आउँदा सबै पुरानो र जस्तो सबैजना आफ्नो परिवारजस्तो लागेको अनुभव सुनाइन् ।

उनले भनिन्,‘पशुपति कोटिहोममा पहिलो पटक कथा वाचकको लागि आउँदा मलाई सबैजना नयाँ लागेको थियो । तर अहिले दोस्रो पटक आउँदा सबै पुरानो भएको जस्तो सबैजना आफ्नो परिवारजस्तो लागेको छ ।’

गृहमन्त्री लेखकले भने : ‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’

काठमाडौँ, १० जेठः गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताउनुभएको छ ।आज यहाँ सञ्चारकर्मीहरूसँग उहाँले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेवित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजीर नबसाल्ने जिकिर गर्नुभयो ।

गृहमन्त्री लेखकले अगाडि भन्नुभयो,“गृह मन्त्रालयमा हजार, लाख कर्मचारी छन् । यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्नसक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? त्यसकारण मैले भनिसके मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको छ ।”

उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ का विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताउनुभयो । “अहिले जुन सवाल उठिरहेको छ, यसका सन्दर्भमा मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको प्रमाणित कसैले ग¥यो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु”, लेखकले भन्नुभयो,“यसर्थ मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुट्टा प्रचारबाजी भइरहेको छ । यस विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको छु ।”

यसअघि आजै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित/प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।

राजनितिक चेतनाको आधारमा मधेश समृद्ध भूमि : गृहमन्त्री लेखक

जनकपुर । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेश सभ्यता, संस्कृति र राजनितिक केन्द्रको आधारमा समृद्ध भूमि भएको उल्लेख गरेका छन् ।शनिबार नेपाली कांग्रेस मधेश प्रदेश, कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले मधेश प्रदेश राजनितिक रुपले सर्वाधिक चेतनशिल ठाउँ रहेको बताएका हुन् ।

उनले मुलुकमा लोकतन्त्र स्थापना, गणतन्त्र स्थापना, संघियताको सुनिश्चितताका निम्ति, समावेशी चरित्रको राज्य निर्माण गर्न लगायत हरेक राजनितिक परिर्वतनको आन्दोलनमा मधेश प्रदेशको सबै भन्दा ठूलो भूमिका रहेको बताए ।

गृहमन्त्री लेखकले संविधानको कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानका मुल तत्वहरुको सुदृढिकरण नै सबै भन्दा राम्रो बाटो र उपाय भएको बताए । उनले मधेश प्रदेशले यी कुराहरुलाई गम्भिरतापूर्वक राम्ररी बुझेको उल्लेख गरे ।

अहिले संविधान र संघियतालाई समाप्त गर्न संविधान विरोधी गतिविधिहरु भइरहेकाले मधेश र मधेशी जनताले यो कुरा बुझ्न जरुरी रहेको उनले धारणा राखे ।विशेष बैठकमा प्रदेशका नेता, कार्यकर्ताहरुले गृहमन्त्री लेखकलाई प्रदेशका गतिविधि र राजनितिक अवस्थाबारे जानकारी गराउनुका साथै आफ्ना समस्याहरु सुनाएका थिए ।

अध्ययनका लागि बाहिर जाने विद्यार्थीका लागि शैक्षिक मेला हुने

काठमाडौँ । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट–२०२५’ नामक शैक्षिक मेला हुने भएको छ ।

ही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला हुन लागेको हो । विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि यो मेला निकै लाभदायी हुने आईसीसीसीले जनाएको छ ।यो मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव प्राप्त हुने आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले बताएका छन् ।

मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभइ विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिनेछ । मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आकर्षक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ ।जेठ १८ गते अथार्त जुन १ तारिखका दिन हुने मेलामा आईसीसीसीबाट अध्ययनका लागि विभिन्न देश गएका बिद्यार्थीहरुसँग भर्चुअल अन्तरक्रियाको समेत आयोजना गरिएको छ ।

एक्स्ट्रा अडीनरी विद्यार्थीहरुका लागि उक्त दिन उपस्थित मात्रै भएमा पेइड इन्र्टनका रुपमा काम गर्न अवसर दिइनेछ । यो ६ महिनाका लागि लागि लागू हुनेछ भने भने विद्यार्थीले राम्रो काम गरेमा उनीहरुलाई जागिरकै रुपमा आईसीसीसीमा अवसर दिइनेछ । साथै उक्त दिन विभिन्न रोचक खेलहरु समेत खेलाइने आईसीसीसीका प्रवन्ध निर्देशक खड्काले जानकारी दिए ।

अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरा कोटिहोममा

पोखरा । अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचनको लागि आइपुगेकी छिन् । उनको उपस्थितिमा शनिबार कोटिहोम विराट ज्ञान महायज्ञको समुद्घाटन समेत गरिएको छ ।उनले आज देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको हो ।देवी प्रतिभाले नेपाल भक्तजनको मायाले पुनः पोखरामा कथा वाचनको लागि आफूलाई तानेको बताइन् । उनको‘प्यार से बोलो ना’ शब्दले पोखारा कोटिहोम गुञ्जायमान भइरहेको छ ।

उनले भनिन्, ‘मलाई नेपाली भक्तजनले यति धेरै माया दिनुभएको छ कि त्यही मायाको कारण पुनःपोखरामा कथा वाचनको लागि आएकी छु । पोखरा बासीबाट दुई दिनमा एक हजार म्यासेज आयो भने आउँछु भनेको थिए । तर एक घण्टामा नै आयो यो मायाको लागि आभार छु ।’

गणतन्त्रको सुदृढीकरणका लागि राजनीतिक नेतृत्व सच्चिनुपर्छः अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको क्रियाकलापका कारण गणतन्त्रमाथि चुनौती उत्पन्न भएकाले नेताहरू सच्चिनुपर्नेमा जोड दिएका छन् ।

गणतन्त्र दिवस–२०८२ को अवसर पारेर राष्ट्रिय जनमोर्चाले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनले गणतन्त्रलाई सुदृढ तुल्याउन सुशासन, भ्रष्टाचार नियन्त्रण र अनियमितता अन्त्य गर्नुपर्ने सुझाव दिए । अध्यक्ष केसीले भने, “त्यसका लागि नेपालका सबै देशभक्त, लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, बुद्धिजीवी र आमजनताको समेत गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।”

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राजनीतिक उपलब्धिको रक्षा गर्दै देशलाई प्रतिगमनको दिशामा जानबाट रोक्न परिवर्तन पक्षधर नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, “प्रतिगमन वा राजतन्त्रको पुनःस्थापना जस्तो प्रयत्नलाई पराजित गर्न सङ्घर्षलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।”

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संविधानको मर्म ठीक भएको र मुलुकको राजनीति ‘तरमारा’ वर्गको इसारामा अघि बढेकाले गणतन्त्र कैदमा देखिएको बताए ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वैज्ञानिक समाजवादी गणतन्त्र र समृद्धिका लागि राष्ट्रिय एकताको आवश्यकता औँल्याए ।

वामपन्थी नेता नवराज सुवेदीले सत्ता र बाहिर रहेका दलहरुबीचको गहिरो खाडललाई साँघु¥याउँदै लैजानुपर्ने बताए । विश्लेषक झलक सुवेदीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रगतिशील भए पनि शासकीय भूमिकामा रहेका व्यक्तिको शैली र कार्यपद्धतिका कारण मुलुकले आशातित सफलता पाउन नसकेको जिकिर गरे ।

स्थिरता र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यकः अध्यक्ष दाहाल

कास्की, १० जेठ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत आज पोखरामा आयोजना गरिएको सभामा उहाँले कार्यकारी राष्ट्रपतिका लागि जनतालाई प्रशिक्षित र परिचालित गर्न पनि अभियान सञ्चालन गरिएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “संविधानसभाबाट संविधान बनाउँदा नै यसले स्थिरता र आर्थिक समृद्धि ठीक ढङ्गले हासिल गर्न सक्दैन भनेका थियौँ । हाल गणतन्त्र एक प्रकारको र निर्वाचन प्रणाली तथा शासकीयस्वरूप अर्को ढङ्गको भएको छ । अब कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाबारे जनतालाई प्रशिक्षित गर्नु आवश्यक छ ।”

उहाँले संविधान निर्माणका बेला प्रत्यक्ष निर्वाचित कार्यकारी भने पनि आफ्नै अडानमा बस्दा संविधान नबन्ने देखिएकाले ‘नोट अफ डिसेन्ट’सहित अडान छाडेको स्मरण गर्नुभयो । अध्यक्ष दाहालले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने आधार तयार भएको बताउनुभयो । “देशको स्थायित्व र सुशासनका लागि माओवादीले नै पहल र रूपान्तरणको अभियान छेड्नुपर्दछ भनेर लागिपरेका छौँ । रूपान्तरणको अभियान नेतृत्वबाट सुरु गरिएको छ, सबैले आत्मसमीक्षा गर्नुहोला”, उहाँले भन्नुभयो,“समाजवादी क्रान्तिको आधार तयार गरेर लैजाने सपनासहित जनजागरण अभियान अघि बढाइएको छ । समाजवादउन्मुख राज्य व्यवस्था परिकल्पना गरिए पनि संविधानमा यसबारे स्पष्टता नभएकाले यसबारे बुझाउन पनि जनतासँग सम्पर्क बढाएका छौँ ।”

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले उठाएका सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्दालाई जनताबीच लैजान आग्रह गर्नुभयो । महासचिव देव गुरुङले माओवादी नेतृत्वको सपना र दृष्टिकोणअनुसार निर्माण सुरुरू भएको मध्यपहाडी लोकमार्गको बाँकी काम छिट्टै पूरा गर्नका लागि सरकारलाई दबाब दिइने बताउनुभयो ।

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

सोलुखुम्बु, १० जेठ : सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गर्नुभएका उहाँ हाल ६१ वर्षको हुनुभयो । पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसक्नु भएका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ ।

भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका उहाँलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।”

पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उहाँसँग छ । उहाँ सम्झँदै भन्नुहुन्छ, “जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।”

पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण महासङ्घको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् ।

नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । उहाँ भन्नुहुन्छ, “हाल सोलुखुम्बुपछि सङ्खुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ । त्यसपछि खोटाङ, ओखलढुङ्गालगायत जिल्लाबाट पनि सहभागिता छ ।”

सङ्घका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ । करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ । कतिपय हिमालहरू अझै अध्ययनको क्रममा छन् । सञ्चार अधिकृत गुरूङ भन्नुहुन्छ, “पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको आकर्षण बढ्दो छ । भविष्यमा पर्यटकहरूको सङ्ख्या बढ्यो भने पर्वतारोहण पथप्रदर्शक जनशक्ति कम हुन सक्छ । हालसम्म चिन्ता छैन । तर, हिमाल चढ्नु जटिल पेसा भएकाले यस पेसाप्रति आकर्षण घट्छ कि भन्ने चिन्ता हो ।”

शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आउनुभएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्नुहुन्छ । हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुङ्गो नरहेको हिमालयन उद्धार सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्यालले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हालसम्म हिमाल आरोहण पेसामा शेर्पा समुदायको बाहुल्यता छ । यस पेसामा आबद्ध शेर्पाका छोराछोरी कोही काठमाडौँमा आएर पढ्ने र कोही विदेशमा अध्ययन गर्ने भएकाले बाबुबाजेको पेसामा उनीहरू फर्कन्छन् भन्ने निश्चित छैन ।”

खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा सङ्ग्रहालय सञ्चालन गर्नुभएका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ । शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उहाँको अनुमान छ । बरू जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उहाँ बताउनुहुन्छ । “बर्सेनि सगरमाथामा हिउँ कम हुँदै गएको छ । सगरमाथा पत्थरमा परिणत भयो भने सगरमाथा को चढ्छ ?”, उहाँ प्रश्न गर्नुहुन्छ ।

हालसम्म आठ पटक सगरमाथा आरोहण गर्नुभएका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो पुस्ताका शेर्पाहरूले हाल गाइडको काम धानिरहेका छाँै । हिमाल चढ्ने पेसा जोखिमयुक्त भएको कारण पछि आउने पढेलेखेका पुस्ताले यस पेसालाई अँगाल्दैनन् कि भन्ने चिन्ता छ । हाल पर्वतारोहणमा अनुभवी र उमेरले परिपक्व शेर्पाहरू धेरै भेटिन्छन्, पछिल्लो पुस्ताका शेर्पाहरू कम भेटिन्छन् ।”

सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुग्नुभयो । कलिलो उमेरदेखिनै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहनुभएका उहाँको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ । आठ पटक सगरमाथा आरोहण गरिसक्नुभएका तार्केले सगरमाथा आरोहण गर्न छाड्नुभएको तीन वर्ष बितिसक्यो । आठ हजार मिटरमुनिका हिमालमा अझै उहाँ आरोहण दलको नेतृत्व गरिरहनुभएको छ । हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उहाँको स्वीकारोक्ति छ ।

“पढेलेखेका केही युवाहरू व्यवसायमा लागेका छन् भने, केही युवाहरू अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि पुगेका छन्”, उहाँले भन्नुभयो, “पछिल्ला पुस्ताका शेर्पा युवाहरू पेसामा सक्रिय देखिँदैन । निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकारबाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको हुनुपर्छ ।”

खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्नुपथ्र्यो । ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम सम्म गरेको तर हिमाल आरोहण नगरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाल गाउँमा युवाहरू त्यति भेटिँदैनन् । सबै विदेशिएका छन् । खुम्बु क्षेत्रका पाङबोचे, थामे, खुम्बुलगायतका गाउँका केही शेर्पा युवाहरू हिमाल चढ्ने पेसा अँगाले पनि नाम्चे बजारका युवाहरू खासै छैनन् ।”

तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो । विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए ।

सगरमाथा आधार शिविर पुग्नका लागि काठमाडौँबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केसम्म यातायात सुविधा छ भने, काठमाडौँ र रामेछापबाट लुक्लासम्म हवाई सुविधा छ । लुक्लादेखि सगरमाथा आधार शिविरतर्फ पैदलयात्रामार्फत पुग्न सकिन्छ । बाटोमा सुविधा सम्पन्न होटलहरू छन् । हाल लुक्ला र सुर्केबाट खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्छ ।

नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ । कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे । हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो ।

प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र

कास्की । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान अन्तर्गत कास्की पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दलहरू समेत सहभागी थिए ।
उनीहरूले कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल लोकमार्ग)सँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेर उक्त ज्ञापनपत्र अध्यक्ष प्रचण्डसमक्ष प्रस्तुत गरेका छन् ।

यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी हो भनी राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ ।

आज देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा अपराह्न २ः३० बजे ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको छ ।

यो मे महिनाको सबैभन्दा उच्च तापक्रम हो, जुन सन् २००३ देखि सुरु गरिएको रेकर्डमा पहिलो पटक देखिएको एनसीएमले जनाएको छ ।यसअघि मे सन् २००९ मा मापन गरिएको ५० दशमलव २ डिग्री सेल्सियस तापक्रम नै मे महिनाको उच्च तापक्रम थियो ।यूएई विश्वकै ठूला तेल निर्यातकर्ता मध्ये एक भए पनि उसले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि ठूलो लगानी गरेको छ ।

वर्षासँगै आएको हावाहुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

भोजपुर, १० जेठ : वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पु¥यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् । हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् । निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएका स्थानीय कृषक कुमार विष्टले बताउनुभयो । किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उहाँको भनाइ छ ।

बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खर्सानीको खेती गरिरहेका छन् । पछिल्लो समय दैविक प्रकोपको अलवा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ । भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १० जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ३०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १२०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ७००, निगुरो प्रतिकिलो रु २५ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १५०, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३५०, आँप (दशहरी) प्रतिकिलो रु २५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २००, आभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु ६०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ

काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

काठमाडौं । उपत्यकामा बढ्दो सहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९ स्थानमा ट्राफिक लाइट जडान गरिए । तर, २८ वटा ट्राफिक लाइट बिग्रिएर थन्किएको महिनौं भयो । यी लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन कुनै पनि सरकारी निकाय तयार छैनन् ।

काठमाडौं उपत्यकामा जडान गरिएका ६९ ट्राफिक लाइटमध्ये २८ वटा पूर्णरूपमा बिग्रिएका छन् । पैदल यात्रुका लागि छुट्टै ‘पेनिकल लाइट’ समेत समावेश गरिएका मध्ये अधिकांश लामो समयदेखि मर्मत नहुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ ।

उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक गिरीका अनुसार बिग्रिएका लाइटमध्ये केही आन्दोलनकारीको तोडफोड, केही चट्याङका कारण र कतिपय प्रविधिगत वा विद्युत प्रणालीको समस्याका कारणले बिग्रिएका हुन् ।

‘ट्राफिक प्रहरीले लाइट मर्मत गर्ने न बजेट पाउँछ, न प्राविधिक जनशक्ति नै,’ प्रवक्ता दीपक गिरीले भने, ‘बिग्रिएका लाइट सडक विभाग र सम्बन्धित महानगरपालिकाले मर्मत गर्नुपर्छ ।’

गिरीका अनुसार, काठमाडौं उपत्यकामा हाल काठमाडौं जिल्लामा ५२ स्थानमा, ललितपुरमा १२ स्थानमा र भक्तपुरमा पाँच स्थानमा ट्राफिक लाइट छन् । तीमध्ये काठमाडौंका २०, ललितपुरका ३, भक्तपुरको १ र पैदल यात्रीका लागि छुट्टिएको काठमाडौंका ४ स्थानमा ट्राफिक लाइट अवरुद्ध छ । प्रयोगमा भएका ६९ वटा ट्राफिक लाइट मध्ये ४१ वटा मात्रै अहिले सञ्चालनमा छन् ।

उनले भने, ‘हामीले यी ठाउँमा लाइटहरु विग्रिएका छन् भनेर जानकारी गराएका छौं । काठमाडौंमा अब ५२ ठाउँमा ट्राफिक लाइट जडान भएको छ भने ललितपुरमा १२ ठाउँमा र भक्तपुरमा पाँच ठाउँमा ट्राफिक लाइट जडान छन् । तर अन्य थुप्रै बिग्रिएका छन् । जसमा काठमाडौंको २० ठाउँमा ट्राफिक लाइट बिग्रिएका छन् । ललितपुरमा तीन, भक्तपुरमा एक र पैदल यात्रुहरु बाटो काट्ने ठाउँमा काठमाडौंमा चार ठाउँमा बिग्रिएको अवस्था छ ।’

ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा मानव जनशक्ति प्रयोग गर्नुपर्ने बाध्यता रहेको गिरीले बताए । ‘लाइट हुँदा चालकहरूले नियम पालना गर्न सजिलो हुन्छ,’ गिरीले भने, ‘तर लाइट नभएको अवस्थामा चोकमा प्रहरी उभिएर हातको इशाराले ट्राफिक चलाउनुपर्छ । घाम, पानी, हावाहुरीले गर्दा प्रहरीमाथि थप दबाब पर्छ ।’

यसैगरी प्रवक्ता गिरीले ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढेको बताए । उनले कुनैबेला सवारी आवागमनको र मान्छेको चाप बढि भएको बेला ट्राफिक प्रहरीको हातको इशाराले नपुग्ने भन्दै दुर्घटनाको जोखिम झन बढ्ने गरेको बताए ।
उनले भने, ‘ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढि नै हुन्छ । जहाँ लाइटहरु बलिरहेका हुन्छन् त्यहाँ सबैलाई थाहा हुन्छ आफ्नो यात्रा गर्ने समय । लाइट बलिरहेको ठाउँमा जथाभाभी बाटो काट्न सकिँदैन र दुर्घटना कम हुन्छ ।

तर ट्राफिक लाइट नहुँदा हातको इशाराले प्रहरीले सबैलाई व्यवस्थापन गरिहेको हुन्छ । तर कुनैबेला सवारी आवागमन र पैदलयात्रुको चाप बढि भएको बेला हातको इशाराले पुग्दैन । त्यो बेला पैदल यात्रीहरु बाटो काट्दै जान्छन् र दुर्घटनाको जोखिम बढ्छ ।’

उनले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको आवश्यकतामा जोड दिँदै भने, ‘२१औं शताब्दीमा हरेक चोकमा प्रहरी उभ्याउनुको सट्टा प्रविधि प्रयोग गर्नु उत्तम हुन्छ । यसले दुर्घटनाको जोखिम घटाउँछ, नियम उल्लंघन प्रमाणित गर्न सीसीटीभीमार्फत सजिलो हुन्छ ।’
दैनिक २५ सय चालक कारवाहीमा !

यसैगरी ट्राफिक महाशाखाका प्रवक्ता गिरीले ट्राफिक लाइट उल्लंघन गर्नेहरुमध्ये दैनिक करिब दुई हजारदेखि २५ सयजना चालक कारवाहीमा पर्ने गरेको बताए । उनले मादक पदार्थ सेवन गरेर सवारी चलाउने झन्डै एक सय चालक दैनिक नियन्त्रणमा लिइने गरेको समेत बताए ।

उनले भने, ‘ट्राफिक लाइटको उल्लंघन गर्ने दुई हजारदेखि २५ सयजना चालकहरु एकैदिन कारवाहीमा परिरहेका हुन्छन् । कतिपय ठाउँमा प्रहरी पुग्न सक्दैन र छुटेको हुनसक्छ । मादक पर्दाथ सेवन गरेर सवारी चलाउने एकसय जना कारवाहीमा परिरहेका हुन्छन्।’यसैगरी ट्राफिक प्रहरीले ब्रेथलाइजर र शंकास्पद अवस्थामा अस्पताल तथा युरिन परीक्षणमार्फत मापसे तथा लागुपदार्थ सेवनको चेकजाँच गर्दै आएको समेत उनले बताए ।

प्रायः निकै ठूलो तामझाम गरेर ट्राफिक लाइट जडान गर्ने, मर्मत संभार नगर्ने र जिम्मेवारी नलिने परिपाटी धेरै हुँदा सवारी चालक ट्राफिक प्रहरीकै हातको इसारामा चल्न बाध्य छन् ।ट्राफिक लाइट नभएका स्थानमा सवारीको चाप बढ्ने, नियम उल्लंघन हुने, सवारी भद्रगोल हुने जस्ता समस्या देखिएका छन् ।