`

लाखौं जनता सडकमा आएभने एक दिनमै गणतन्त्र समाप्त हुन्छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि वितृष्णा आउने गरेको बताएका छनु ।सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताएका हुन् ।उनले देश बिग्रियो भने युवाको भविष्य विग्रने दाबी गरे । उनले देशका तीन ठूला दलका नेताहरुका कारण देश विग्रिएकाले युवाहरुको भविष्य अन्योलमा परेको बताए ।

उनले तीन करोड जनसंख्या भएको देशमा ६० लाख भन्दा बढी विदेशमा छन् भने देशको अवस्था कस्तो होला भन्दै प्रश्न गरे ।उनले शान्तिपुर्वक ढंगले लाखौं जनता सडकमा आयौँ भने एकै दिनमा गणतन्त्र समाप्त हुने बताएका थिए ।

त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफै अगाडि आउने भन्ने आफैमा भरपर्ने बताए ।उनले भ्रष्टचारीका विरुद्द एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको सविंधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे ।

‘गणतन्त्रको विकल्प छैन’ : शारदा भट्ट

काठमाडौँ, १२ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सल्लाहकार शारदादेवी भट्ट राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । ७६ वर्षीया सदस्य भट्ट सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ । सदस्य भट्टसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंशः

तीनै तहका सरकारहरुले भ्रष्टाचार अन्त्यका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्छ । यसका लागि समन्वयात्मक काम गर्नुपर्छ । एकले अर्कोलाई दोष दिएर उम्कन मिल्दैन । गरिबी छ, वैदेशिक ऋण पनि छ । यस्तो अवस्थामा भ्रष्टाचार हुन्छ भने समाज के होला ? जनताले तिरेको कर हिनामिना गरिनुहुन्न । सबैभन्दा पहिला देशबाट भ्रष्टाचार अन्त्य गर्नुहोस् । भ्रष्टाचार रोक्न सकेमात्र देश उँभो लाग्छ, देशको विकास हुन्छ । सदाचारलाई हामी सबै मिलेर प्रवद्र्धन गरिनुपर्छ ।

सुगम भनिए पनि कैलाली सुदूरपश्चिमको एउटा पिछडिएको जिल्ला हो । यहाँ बसोबास गर्ने थारु, चौधरी, दलित र महिलालगायत सबै जनतामा शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या छ । सुदूरपश्चिमलाई अझै पर्याप्त बजेट विनियोजन गरिँदैन । अन्य प्रदेशका तुलनामा सुदूरपश्चिममा अत्यन्त न्यून बजेट विनियोजन हुन्छ । कैलालीमा महिला बढी समस्यामा परेका छन् ।

ज्येष्ठ नागरिकलाई समाज र राष्ट्रले उच्च सम्मान गर्नुपर्छ । अहिले बदलिँदो सामाजिक संरचनाका कारण ज्येष्ठ नागरिकले अपहेलित भएको महसुस गर्न थालेका छन् । पहिलो कुरा भनेको छोराछोरीले नै आफूलाई जन्म दिने बाबुआमा प्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ । सन्तानलाई नै आमाबाबुप्रति जिम्मेवार बनाउनुपर्छ । सन्तान नै नभएको खण्डमा भने राज्यले उनीहरुको व्यवस्थापन गर्नुपर्छ । बाँचुञ्जेल भएको सम्पत्ति सबै बाबुआमाकै नाममा हुनुपर्छ । यदि सम्पत्ति भएन भने सन्तानले बाबुआमालाई नहेर्ने चलन पनि छ । सरकारले अलिकति भए पनि भत्ता दिएर बूढाबूढीलाई राहत भएको छ । भत्ता बूढेसकालको सहारा भएको छ । यो राज्यले राम्रो गरेको छ ।

हाम्रो जमानामा महिला अधिकार भन्ने थाहै थिएन । अहिले भने महिलाले धेरै अधिकार पाएका छन् । हामीले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, मन्त्री, सांसद, मेयर र उमपेयर पाएकै छौँ । यसलाई महिलाले अधिकार नपाएकै हो भन्न सकिन्न । तर महिलाको हकअधिकारको निम्ति धेरै काम गर्नुपर्ने छ । अझै धेरै सङ्घर्ष गर्नुपर्ने छ । महिलाभित्र पनि टाठाबाठाले अधिकारको बढी उपभोग गरेका छन् । जसले पाउनुपर्ने हो, उस्ले पाउन सकेको छैन । महिलाभित्र पनि समान रुपमा अधिकारको बाँडफाँट हुन आवश्यक छ ।

अहिले संविधान संशोधनको चर्चा चुलिएको छ । तर के विषयमा संशोधन गर्ने भन्ने कुरा आएको छैन । अहिल्यै पनि संविधानमा जनताका धेरै विषयवस्तु समावेश भएका छन् । अझै केही अधिकार संशोधनमार्फत सम्बोधन गर्नुपर्ने छ ।

काम गर्न विदेश जाने युवालाई रोक्नका लागि देशमा भएका सबै कलकारखाना सञ्चालन गर्नुपर्छ । नेपालमा भएका कलकारखाना कहाँ गए भन्नेबारेमा पनि खोजी हुनुपर्छ । यो खोजी कुनै पनि सरकारले गर्न सकेको छैन । मेरो जानकारीमा नेपालमा कुनै दिन ३० वटाभन्दा बढी कलकारखाना र उद्योग थिए । ती सबै अहिले कहाँ गए ? अहिले देशभित्र काम नपाएपछि नेपाली युवा विदेशमा श्रम बेच्न बाध्य छन् । यो कुरालाई सरकारले सम्बोधन गर्नुपर्छ । यसरी नै युवा विदेशिने क्रम बढ्दै गयो भने देशको विकास कसरी हुन्छ ? प्रत्येक गाउँ युवाविहीन भइरहेका छन् । पहाडका घरहरु खाली हुन थालेका छन् । यो गम्भीर विषय हो ।

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । अब फेरि राजा ल्याउने भन्ने कुरा हुँदैन । हामीले लामो समय राजतन्त्र पनि हेरेकै हो । त्यसैले अहिलेकै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुधारेर लैजानुपर्छ । तर नेताले जनताको पक्षमा राम्रो काम गर्नुपर्छ । देश एउटा गतिमा अगाडि बढिसकेको छ । सरकारले पनि समृद्ध नेपाल सुखी जनताको निम्ति काम गरिरहेको छ । जनता निरास हुनुपर्ने अवस्था छैन । अब विस्तारै जनताको अवस्थामा पनि परिवर्तन आउँछ । देशमै रोजगारीको सिर्जना हुन्छ । सबैभन्दा उत्तम व्यवस्था गणतन्त्र हो । यो हामीले लडेर ल्याएको हो । तर जनतालाई व्यवस्था मात्रै दिएर पुग्दैन । उनीहरुलाई त्यहीअनुसारको सेवा सुविधा पनि दिनुपर्ने हुन्छ ।

राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । अब आउँदो फागुनमा मेरो कार्यकाल सकिँदैछ । राष्ट्रियसभा एउटा सम्मानित सभा हो । यो सभासम्म आइपुग्ने सदस्यहरु लामो सङ्घर्ष गरेर आउनुभएको छ । त्यस अर्थमा पनि यो सभा परिपक्व र अनुभवीको सभा हो । राष्ट्रियसभामा आउने सदस्यले देश र जनताको निम्ति केही न केही योगदान गरेरै आएका छन् । मेरो अनुभवमा राष्ट्रियसभाले संविधानभित्र रहेर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेकै छ । आफ्नो काम, कर्तव्य नियमपूर्वक पालना गरेकै छ । सांसदको कामै कानुन निर्माण गर्ने हो । यो भूमिका पनि राष्ट्रियसभाले निर्वाह गर्दै आएको छ । यो सभामा आएका विधेयक पर्याप्त छलफल गरेर मात्रै पास गर्छौं ।

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण हुने भएको छ ।

सोमबार बिहान ११ः३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । घोषणासभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

हिमाली जिल्लाका लुलु गाई संरक्षणतर्फ किन ध्यान पुगेको छैन ?

मुस्ताङ, १२ जेठः हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो । पारिस्थितिक प्रणाली (इको सिस्टम¬)मा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ ।

जुरो नभएको स्थानीय गाईका जातमध्ये लुलु गाई एक हो । अन्य गाईभन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने लुलु गाई कद केही होचो हुन्छ । यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा लालमणि अर्यालले मुस्ताङमा सदियाँै वर्षदेखि परम्परा र संस्कृतिको रुपमा पालन गर्दैआइरहेको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको जानकारी दिनुभयो । मुस्ताङमा दश वर्षअघि करिब १० हजार बढी लुुलु गाई रहेकोमा पछिल्लो समय मुस्ताङका पाँचौँ पालिकामा गरी करिब छ हजारको सङ्ख्यामा लुलु गाईपालन गरिएको उहाँले बताउनुभयो । “मुस्ताङमा लुलु गाईपालन बर्सेनि घट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकले खासै चासो दिएको पाइएन”, पशु चिकित्सक डा अर्यालले थप्नुभयो, “दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गार्ई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।”

मुस्ताङका कृषकले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दूध उत्पादन गर्न सकिने भएकै कारण लुुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दूध उत्पादन गर्ने भएकाले कृषकले लुलु गाईपालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताउनुभयो । “कृषकहरु लुलु गाई जोगाउनु पर्नेतर्फ संवेदनशील भएको पाइँदैन, यो निकै चिन्ताको विषय बनेको छ”, पशुु शाखा प्रमुख थकालीले भन्नुभयो, “गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्नेलगायतमा सहयोग गर्ने गरेको छ ।”

मुस्ताङका कृषकले पालन गर्ने लुलु गाई हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रुपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाइ छ ।

जिल्लामा विस्थापित हुने अवस्था रहेको लुलु गाईपालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसँगै मुस्ताङका कृषकले विस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् । मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकले आवश्यक रुपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताउनुभयो । “अन्य बस्तुभाउभन्दा लुलु गाईलाई कृषकले बेवास्ता गर्न थाले, जथाभावी छाडिदिने गर्न थाले”, उहाँले भन्नुभयो, “कोही कृषि र होटल चलाउन थालेपछि कृषकले लुलु गाई पाल्न छाडेका हुन् ।” पहिला पहिला एउटै घरमा १०÷१२ वटासम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाइ छ । कृषि र पर्यटनको विकाससँगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाउनुभयो ।

लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरु लोपोन्मुख हुन थालेका हुन् । त्यस्तै कृषकले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाइदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौती बनेको हो । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्च लेक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरु कृषकले बेवास्ता गरी छाडा रुपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ । आफैँ आहारा व्यवस्थापन गर्ने क्षमता भए पनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काएका कागज र अरुले फ्याकेका खानेकुरा खाएर आहार पूर्ति गर्ने गरेको पाइएको छ ।

आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्यो राष्ट्रिय समन्वय परिषदहरुलाई अनुरोध

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नै वेब पोर्टलबाट सदस्यता खुला गर्न सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई अनुरोध गरेको छ।सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिद्वारा गत मे ३ – ४, २०२५ मा काठमाडौँमा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले त्यस्तो आग्रह गरेको हो।
एनआरएनए आइसीसी का महासचिब बाबुराम (बिआर ) लामाले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन् ” विभिन्न कारणले हालसम्म हाम्रो मातहतमा सदस्यता सूचना प्रणाली (एमआइएस) उपलब्ध नभएको हुँदा सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूलाई आफ्नै बेब पोर्टलबाट सदस्यता खुला गर्न अनुरोध गरिन्छ।

आफ्नै बेव पोर्टल नभएका एनसीसीहरुलाई आइसीसीको वर्तमान कार्यसमितिले सहजीकरण गर्नेछ।”त्यस्तै परराष्ट्र मन्त्रालयले महेश कुमार श्रेष्ठ नेतृत्वको आइसीसी नै आधिकारिक भन्दै सबै कूटनीतिक नियोगहरुलाई पत्राचार गरिसकेको साथै मुद्दाको लगत कट्टा गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई पत्र पठाई सकेकाले कुनै पनि भ्रममा नपर्न पनि महासचिव लामाले आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको परमादेश कार्यान्वयन र परराष्ट्र मन्त्रालयको मान्यता पछि महेश कुमार श्रेष्ठ नेतृत्वको आइसीसी नै सबै गैर आवासीय नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एक मात्र मान्यताप्राप्त संस्था भएकाले उक्त कार्यसमिति बाहेक अन्य कसैले संघको नाममा पत्राचार गरेमा अनधिकृत हुने पनि विज्ञप्तिमा उल्लेख छ।

जाइकाको आर्थिक सहयोगमा धुलिखेल अस्पतालमा ‘ट्रमा एण्ड इमर्जेन्सी’ सेन्टर निर्माण हुने

काभ्रेपलाञ्चोक, १२ जेठः धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको छ । यसका लागि नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण गर्न लागिएको हो ।

उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको हो । यही जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो ।

आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट तीन अर्ब २९६ करोड येनसम्मको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप अनुदान उपलब्ध गराइएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

दूतावासले आर्थिक एवं भौतिक विकास, सडक सञ्जाल विस्तार, यातायातका साधनको बढ्दो प्रयोगलगायतका कारण ट्रमाका बिरामीको सङ्ख्यामा वृद्धि हुनुका साथै स्ट्रोक, मुटुजस्ता नसर्ने रोगका बिरामीको सङ्ख्या वृद्धि हुँदै गई बिरामीको चाप बढेकाले नेपालका स्वास्थ्य संस्थामा श्यया र चिकित्सा उपकरणको अभाव देखिएकाले उक्त सहायता दिइएको जनाएको छ ।

यस्तै सहायताले धुलिखेलमा ट्रमा र आपत्कालीन केन्द्र र सम्बन्धित उपकरण निर्माण गरी नेपालको चिकित्सा सेवालाई थप सुदृढ पार्ने, स्वास्थ्य तथा चिकित्सा सेवाको गुणस्तरमा सुधार ल्याउने र आर्थिक वृद्धिमा योगदान पु¥याउने उद्देश्य रहेको जनाइएको छ ।

धुलिखेलमा एक सय श्ययाको ट्रमा सेन्टर बनाउन सरकार र जापान सरकारबीच पाँचौँ चरणमा अन्तिम सम्झौता सम्पन्न भएको हो । धुलिखेलमा ट्रमा सेन्टरको स्थापनाले अरनिको राजमार्ग र विपी राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । धुलिखेललाई अरनिकोले चीनको तिब्बतसँग जोडेको छ भने विपीले पूर्वी नेपालहुँदै भारतसँग जोडेको छ ।

निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख गरिएको छ । सेन्टरमा पार्किङ, आइसियु, तीन वटा अप्रेसन थिएटर, एचडियु, ल्याब, फार्मेसी, फोहर व्यवस्थापनलगायत आवश्यक सबै सेवा उपलब्ध हुने जनाइएको छ ।

यस्तै सेन्टर सञ्चालनका लागि तीन तला बेसमेन्टसहित पाँच तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदनमा उल्लेख छ । उक्त भवन भूकम्प प्रतिरोधात्मक रहनुका साथै आपत्कालीन संरचना जडित हुनेछ ।

चिकित्सकीय भाषामा ट्रमामा छ घण्टालाई ‘गोल्डेन आवर’ भनिन्छ । यो अवधिभित्र उपचार ग¥र्यो भने बाँच्ने र कम क्षति हुने सम्भावना हुन्छ । यो छ घण्टाको समय गुमाउँदा दुर्घटनामा धेरैको ज्यान जाने र अङ्गभङ्ग हुने हुन्छ ।

कांग्रेसको पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्ने भएको छ । सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुनेछ ।

पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुनसक्ने बुझिएको छ ।

चलचित्र ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध

काठमाडौं । चलचित्र ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् ।चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा गरेका थिए ।

‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,’ निर्देशक शेर्पाले भने, स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौ ।’

‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुने त्यो भने उनले खुलाएका छैनन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १२ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तनेबोडीको मूल्य प्रतिकिलो रु ७०, मकैबोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ४५, पालुङ्गो साग प्रतिकिलो रु ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १३०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २१०, अनार प्रतिकिलो रु ३५०, आँप (दशहरी) प्रतिकिलो रु २५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु ३००, लिची (लोकल) प्रतिकिलो रु २००, निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३५०, भेडेखुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ४५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १००० तोकेको छ ।

चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै

भरतपुर, १२ जेठः चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ ।

कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताउनुभयो । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक जनाले प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन् ।

“पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ”, उहाँले भन्नुभयो, “शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौँ ।” चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको बताउनुभयो । यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो । “यहाँ बिहान ४ बजेदेखि राति ९ बजेसम्म नै विद्यार्थीलाई अध्यापन गराइन्छ”, उहाँले भन्नुभयो, “शिक्षकहरु पनि आवासीय रुपमै बसिरहनुभएको छ ।”

राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिनुभयो । यस नतिजालाई नगरपालिकाले समेत सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो । लामिछानेले बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको बताउनुभयो ।

कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रुपमा चिनिन्छ । सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको स्थानीय सीताबहादुर चेपाङले बताउनुभयो । उहाँले पछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्छ भन्ने धारणाको विकास भएको बताउनुभयो ।

यहाँ पुग्न अझै पनि दुई÷तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । यहाँका विद्यार्थी कक्षा ८ उत्तीर्ण भएपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्दछन । पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको प्रधानाध्यापक थपलियाले बताउनुभयो ।

यहाँ २०७२ साल अगाडि कक्षा ३ सम्म मात्रै अध्यापन हुने गरेको थियो । विसं २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि यहाँ विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो । लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले गरिबी र अभाव देखेर चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले । स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो । त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बीचमै पढाइ छाड्ने गरेको विद्यालयका प्रअ थपलियाले बताउनुभयो । “अहिले पनि अभिभावकको पढाउने क्षमता छैन, विभिन्न सङ्घसंस्थाले सहयोग नगरेमा यहाँका बालबालिका पढ्नबाट वञ्चित हुनेछन्”, उहाँले भन्नुभयो ।

विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको थपलियाले बताउनुभयो । उहाँका अनुसार निम्न माध्यमिक विद्यालयमा १० जना शिक्षकको दरबन्दी आवश्यक पर्छ । अहिले सातजना शिक्षकको दरबन्दी रहेको उहाँले बताउनुभयो । विद्यालयमा शौचालय, पुस्तकालयको अभाव रहेको भन्दै उहाँले राज्यले विकटको विद्यालयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पचास जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना अध्ययनरत छन । विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि स्रोतसाधनको आवश्यकता समेत बढेको उहाँले बताउनुभयो ।

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति भने, कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेश प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस वर्ष बागवानीको आँप ५३ लाख बढी मूल्यमा ठेक्का

बरहथवा (सर्लाही), १२ जेठ : उष्ण प्रदेशिय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ । केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि जम्मा रु ५३ लाख ७१ हजारमा ठेक्का लगाएको हो । दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिनुभयो ।

निमित्त प्रमुख यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो । गत वर्ष रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको थियो । ‘‘गत वर्ष अफ सिजन थियो । त्यसैले आँप निकै कम फल्यो । ठेक्का कम रकममा लागेको हो’’, निमित्त प्रमुख यादवले भन्नुभयो ।

यसवर्ष सिजन भएकाले धेरै फलेको उहाँको भनाइ छ । उत्पादन बढेकाले बागवानीले रु ७१ लाख ११ हजार १२१ बिक्री मूल्य राखेर गत वैशाख १६ गते प्रथम पटक बिक्री सूचना निकालेको थियो । तर, १५ दिनको म्याद अवधिमा आँप ठेक्काको निवेदन नपरेको उहाँले बताउनुभयो । त्यसपछि केन्द्रले फेरि गत जेठ १ गते रु ५१ लाख ७५ हजार मूल्य राखेर दोस्रो पटक सात दिनको लागि सूचना निकालेको होे ।

ठेक्का लगाउने समयमा हावाहुरीले आँपमा क्षति गरेकाले ठेक्का मूल्य घटाउनुपरेको केन्द्रका निमित्त प्रमुख यादवको भनाइ छ । यस केन्द्रले अहिले सम्मकै धेरै आर्थिक वर्ष २०७९÷८० मा रु एक करोड ११ लाखमा आँप बिक्री गरेको थियो । यहाँ करिब एक सय बिघा क्षेत्रफलमा आँपका छ हजार वटा रूख छन् । त्यसमध्ये वर्सेनि तीन हजार पाँच सय बढी रुखमा मात्र फल लाग्ने गरेको छ । बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमसहित ३५ बढी जातको आँप उत्पादन हुने गरेको निमित्त केन्द्र प्रमुख यादवले बताउनुभयो ।

न्युनतम सेवा मापदण्ड अनुगमनमा भरतपुर अस्पताल देशकै पहिलो अस्पताल

चितवन, १२ जेठ : न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल देशकै प्रथम स्थान प्राप्त गर्ने अस्पताल बनेको हो ।

अस्पतालले दिएको जानकारीअनुसार मन्त्रालयले देशभरिका १५ वटा सङ्घीय अस्पतालमा यो अनुगमन गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले उत्कृष्ट अङ्कसहित भरतपुर अस्पतालले ‘ग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिनुभयो । ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ ।

‘ग्रिनजोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उहाँले बताउनुभयो । सुशासन तथा व्यवस्थापन, चिकत्सकीय सेवा र फोहरमैला लगायतका वस्तुहरुको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ । यो हरेक वर्ष मन्त्रालयले गर्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश वुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनुगमन गरेको थियो ।

मेडिकल सुपरिटेण्डेन्ट प्रा डा पौडेलले गुणस्तरीय सेवामा आफूहरु निरन्तर लागि रहेको बताउनुभयो । “अस्पतालको सिङ्गो टिम सेवा सुधारमा लागि रहेको छ । जसको परिणाम राम्रो आयो”, उहाँले भन्नुभयो ।

मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष स्तरवृद्धि गराउँदै आएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार विसं २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै

काठमाडौँ-न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले यही जेठ १४ र १५ गते नेपालको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, उहाँले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ ।न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

लोडसेडिङ हुँदैन, हल्लाको पछि नलाग्नूस् : मन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताउनुभएको छ । मन्त्री खड्काले आईतबार साँझ कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।

सोही अवसरमा नो–लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे मन्त्री खड्काले जानकारी लिनुभयो । मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युत्ले माग पूरा गर्न पर्याप्त रहेकाले अब लोडसेडि नहुने स्पष्ट पार्नुभयो ।

“केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेका छन्, त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्दछु,” उहाँले भन्नुभयो ।

विगतका वर्षमा विद्युत् प्रणालीमा अहिलेभन्दा बढी समस्या देखिने गरे पनि अहिलेको अवस्थामा विगतभन्दा तुलनात्मक रुपमा सहजता भएको मन्त्री खड्काले बताउनुभयो । असामान्य मौसम, हावाहुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको उहाँको भनाइ थियो ।

मन्त्री खड्काले आजै स्युचाटारस्थित ‘लोड डिस्प्याच सेन्टर’को समेत आकस्मिक अवलोकन गर्नुभएको छ । उहाँले उक्त सेन्टरमार्फत मुलुकभरको विद्युत् प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे जानकारीसमेत लिनुभयो ।

सेन्टरको निरीक्षण गर्दै उहाँले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिनुभयो । बजारमा सञ्चालित अपुष्ट सूचना र असत्य प्रचारले आमजनतामा भ्रम सिर्जना गर्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने उहाँको भनाइ थियो ।

सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाई गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले बताउनुभयो । निरीक्षण टोलीमा मन्त्री खड्कासँगै ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित अन्य प्राविधिक कर्मचारीको उपस्थिति थियो ।

यातायात कार्यालय बाराद्वारा १० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १२ जेठ : यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिनुभयो । “कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो ।

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा रु २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने रु ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा रु ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्र्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ । त्यस्तै आयकरतर्फ रु आठ लाख ६० हजार ५२५ र पटके करतर्फ रु ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, १२ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७३ पैसा र बिक्रीदर २० रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३५५ रुपैयाँ ४० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ, १२ जेठ : चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधनान्तर रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमो थियो । चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भइ रु एक खर्ब ८८ अर्ब २० करोड पुगेको छभने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई रु १३ खर्ब नौ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर रु ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ ।

चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब छ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा ९९ हजार छ सय ६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् । चालु आवको नौ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ । चालु आवको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति पाँच दशमलव ९२ प्रतिशत थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत थियो ।

गत चैतमा खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्य वृद्धि ५.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत रहेको थियो ।

वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो ।

फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने

सोलुखुम्बु, जेठ १२ : सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ ।

नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन ।

नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । सल्लेरीका व्यवसायी महेश अधिकारीले भन्नुभयो, “जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन ‘बिपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।” विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो ।

पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

काठमाडौँ, १२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ ।

एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताउनुभयो ।

यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।

देशको राजनीतिक तथा आर्थिक सङ्कट समाधानका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ११ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा उत्पन्न राजनीतिक तथा आर्थिक सङ्कट समाधानका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित जनसेवा नेपाल मोर्चासँगको एकता समारोहमा अध्यक्ष नेपालले कम्युनिष्ट आदर्श तथा मूल्यमान्यतालाई अवलम्बन गर्ने दल तथा वामपन्थी शक्तिहरूसँग आफ्नो पार्टीले सहकार्य तथा एकता गर्ने विषय प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । मुलुकमा विभिन्न समयमा कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनले सामाजिक न्याय तथा आर्थिक रुपान्तरण हुन नसकेको बताउँदै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले विगतका कमजोरीलाई सच्याएर देश विकास तथा जनताका अधिकार संरक्षणका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीले मूलधारको कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गरेको विचार व्यक्त गर्दै उहाँले सिद्धान्त, नीति तथा कार्यक्रमका आधारमा वामपन्थी शक्ति एकताबद्ध गर्न आफूहरुले देशभर राजनीतिक अभियान सुरु गरेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य, व्यक्ति तथा मानव समाजको विकासका लागि वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिँदै समाजवादको अभ्यासले श्रमजीवी वर्गको अधिकार, जनसहभागिता, सामाजिक न्याय, समान अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच सविन पुलामी नेतृत्वको जनसेवा नेपाल मोर्चा एकीकृत समाजवादीमा समाहित भएको हो । उक्त कार्यक्रममा वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायले उहाँहरुलाई स्वागत गर्नुभयो ।

मौद्रिक नीति समीक्षा : बैङ्क वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

काठमाडौँ, ११ जेठ – नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै शेयर धितो कर्जाको जोखिम भार घटाइएको छ ।राष्ट्र बैङ्कले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनीक गर्दै नीतिगत दर, निक्षेप संकलन दर र बैङ्कदर भने यथावत राखेको छ ।

“आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ । नीतिगत दरलाई विद्यमान पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैङ्क दरलाई साढे छ प्रतिशतमा यथावत राखिएको छ,” समीक्षामार्फत् राष्ट्र बैङ्कले भनेको छ, “विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय खुला बजार कारोबार उपकरणमा गरेको सुधारलाई मध्यनजर गरी बैङ्क तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।”

विद्यमान सेयर धितो कर्जाको जोखिम भार पनि घटाइएको छ । हाल सेयर धितो कर्जामा रहेको कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिने राष्ट्र बैङ्कले जनाएको छ । कानुनी सुधारतर्फ पनि राष्ट्र बैङ्कले केही नयाँ व्यवस्था ल्याउन लागिएको छ ।

लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थालाई समावेश गरी “नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिने जनाइएको छ । त्यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक गन्तव्य बनाउन पहल गरिएको छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी, ११ जेठ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्न पहल गरेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजेको बताउनुभयो ।

तेस्रो बौद्ध अन्तरराष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन व्यवसायी सङ्घ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषलगायतका निकायको सहकार्यमा यात्राको आयोजना गरिएको हो ।

प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि ‘लुम्बिनी पर्यटन सर्किट’को अवधारणा अघि बढाएको र यसले लुम्बिनीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको उहाँको भनाइ छ । लुम्बिनीलाई केन्द्रमा राखी देवदह, रामग्राम, तिलौराकोटलगायत सम्पदालाई जोड्दै बौद्ध सर्किटको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । लुम्बिनी विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्राचीन स्मारक, पुरातात्विक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय सूचना प्रवाहका लागि डिजिटल प्लेटफर्मको विकास, उत्तरगण्डकी महास्नान मेला, रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन, विभिन्न मेला–महोत्सवको आयोजना, होमस्टे प्रवर्द्धनलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो ।

“लुम्बिनी प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “टुरिजमले रोजगारी सिर्जना, आर्थिक विकास र नेपालको अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने छ भन्ने हाम्रो दृढ विश्वास छ ।”

प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र पर्यटन क्षेत्रको योगदान कूल गार्हस्थ उत्पादनमा चार प्रतिशतबाट सात प्रतिशतमा पु¥याउने र आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या २२ लाख नाघ्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । लुम्बिनीलाई आध्यात्मिक अनुसन्धान केन्द्रका रूपमा विकास गरी संरचना र सेवा सुविधायुक्त बनाउँदै विश्व शान्तिको सन्देश फैलाउने दिशामा प्रदेश सरकार दृढताका साथ लागिपरेको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभयो ।

नेपालको बौद्ध धर्मसम्बन्धी तीर्थ पर्यटन प्रवर्द्धनका लागि केन्द्रित यो यात्रा नेपालसहित अन्तरराष्ट्रिय बजारमा बौद्ध पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण मानिएको छ । यात्रामा पर्यटन क्षेत्रका सरोकारवाला, आध्यात्मिक व्यक्तित्व, प्रदर्शक तथा विदेशी प्रतिनिधिको सहभागिता रहेको छ । यस यात्राले नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्दै, विशेषतः लुम्बिनीलाई विश्वसामु अझ सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ ।

पूर्वराष्ट्रपति भण्डारी चीनमा

काठमाडौँ, ११ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने चीन भ्रमणका क्रममा आज गोञ्जाओ हुँदै बेइजिङ पुग्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीसँगै चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई हार्दिक स्वागत गर्नुभएको थियो । पूर्वराष्ट्रपति भण्डारी आजै साँझ उहाँको स्वागतमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभयो । उहाँलाई अन्तरराष्ट्रिय विभागका मन्त्री लिउ च्यानछाउले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा नेपाल–चीनबीचको आपसी सम्बन्ध र त्यहाँ आयोजित कार्यक्रमको विषयमा सङ्क्षिप्त कुराकानी भएको थियो । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा सहभागी पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्ट (एमाले) का सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्णबहादुर थापा, सांसद देवी भट्टचन, पूर्वसांसद गोमा देवकोटा, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, मदन भण्डारी फाउन्डेसनका डा कैलाशकुमार भण्डारी, डा भेषराज अधिकारी, विनय केसीलगायत समाजका विभिन्न क्षेत्र र उहाँको निजी सचिवालयका गरी १५ जना सहभागी हुनुहुन्छ ।

रात्रिभोजमा पूर्वराष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल र चिनियाँ अधिकारीका साथै अन्य विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले सोमबार ‘छिमेकी मुलुकका राजनीतिक पार्टीहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीको संवाद’ कार्यक्रमको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ ।

गणतन्त्र दिवसलाई जनस्तरमा मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ११ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रुपमा मनाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन जोड दिनुभएको हो ।

नेपाल सरकारले यही जेठ १५ गते गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । “गणतन्त्र दिवस, जनताको दिवस हो । यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रुपमा मनाउनुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्दछ ।”

आजै सम्पन्न एमालेको सचिवालयको बैठकले गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयनका क्रममा प्रेस चौतारी नेपालले सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसारको अगुवाइ गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई देशभक्तहरु प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरु मन नपर्ने स्पष्ट पार्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न आग्रह गर्नुभयो ।

प्रथम महिला राधिका शाक्यसमेत सहभागी उक्त भेटमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले आफूहरुले नेतृत्वमा आएपछि वर्ष २०८२ लाई प्रशिक्षण वर्षका रुपमा मनाउनेलगायतका योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

चीनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

दक्षिण चीनको ग्वाङ्शी झुआङ स्वायत्त क्षेत्रको एक गाउँमा शुक्रबार बिहान आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् ।
ग्वेइलिन शहरअन्तर्गत लङसेङ काउन्टीको सानसे गाउँमा आएको विपत्तिपछि खोज तथा उद्धार कार्यका लागि नौ वटा टोली परिचालन गरिएको छ । आइतबार साँझ ६ बजेसम्म थप तीन जनाको शव फेला पारिएसँगै मृतक सङ्ख्या ६ पुगेको हो ।

हालसम्म दुई जना अझै बेपत्ता रहेका छन् । उद्धार कार्य तीव्र र व्यवस्थित रूपमा भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । सबै पक्ष उच्च सतर्कताका साथ खोजी अभियानमा संलग्न रहेका छन् ।

दश महिनामा पर्यटकीय केन्द्र रारामा १३ हजार पर्यटक पुगे

मुगु, ११ जेठ : नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन् । गत वर्ष साउनदेखि यही वैशाख मसान्तसम्म उनीहरुले रारा क्षेत्रको भ्रमण गरेका हुन् ।रारा राष्ट्रिय निकुन्जको कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले दिएको जानकारीअनुसार गत वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटक सङ्ख्या हेर्दा विगत वर्षभन्दा यो वर्ष बढेको देखिएको छ । सो अवधिमा आन्तरिक पर्यटक १२ हजार ७६१, सार्क राष्ट्रका ४५ र अन्य देशका २०८ जनाले राराको भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०८०÷८१ मा १७ हजार २९७ पर्यटकले राराको भ्रमण गरेका थिए । तर यस वर्ष वैशाखमै १३ हजार बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने आश गरिएको अधिकृत न्यौपानेले बताउनुभयो ।

यस्तै विभिन्न शिर्षकमा रु ४४ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । रारा राष्ट्रिय निकुन्जको कार्यालयले यही जेठ ५ गतेसम्म विभिन्न शिर्षकमा सो राजस्व सङ्कलन गरेको हो । यसमध्ये पर्यटन शुल्कबाट रु ३१ लाख २७ हजार राजस्व उठेको छ । रारा घुम्न आउने पर्यटकमध्ये आन्तरिकतर्फ प्रति व्यक्ति रु एक हजार, सार्क राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र विदेशी अन्य देशका नागरिकलाई रु तीन हजार पर्यटन शुल्क तोकेको छ ।

सडक स्तरोन्नति नहुँदा रारा आउन सास्ती

राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक स्तरोन्नति गरे पर्यटकको सङ्ख्या बढ्ने रारा मध्यवर्र्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सडकको अवस्था नाजुक छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । रारा विमानस्थलमा नियमित हवाइ उडान हुने हो भने कर्णाली प्रदेशकै आर्थिक अवस्थामा सुधार आउने देखिन्छ ।”

रारामा पर्यटकमैत्री भौतिक पूर्वाधारको अभाव छ । त्यसैले रारामा अझ बढी पर्यटक भित्र्याउन र पर्यटकको बसाइ लम्ब्याउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरी यहाँको विकासका लागि कदम चाल्नुपर्छ ।

सुर्खेतबाट तराई जोड्ने मूलपानी–भुरीगाउँ सडक शिलान्यास

कर्णाली, ११ जेठः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसँग तराई जोड्ने छोटो मार्ग मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि शिलान्यास गर्नुभएको छ ।

सुरुआती विन्दु फलाटे–रानीघाटखण्डको करिब सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज उहाँले शिलान्यास गर्दै उहाँले यस कार्यले दोस्रो खण्डको जग्गा भोगाधिकार, रूख कटान तथा रानीघाटमा निर्माणाधीन अवस्थामा रहेको पुल बनाउन दबाब पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “कर्णालीका नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने छ । यो सडक विगतमा सिङ्गो कर्णालीले हाट जाँदा प्रयोग गर्ने बाटो हो । यसको पूर्णताले बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिनभरमै कर्णालीमा ल्याउन सकिन्छ । जसबाट यहाँको समृद्धिमा ठूलो टेवा पुग्नेछ ।”

सडक निर्माणसम्पन्न गरेर चितवनको देवघाट जस्तै सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्नेगरी प्रदेश सरकार अगाडि बढेको बताउँदै मुख्यमन्त्री कँडेलले तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले दोस्रो खण्ड रानीघाट–तेलपानी–भुरीगाउँ खण्डमा जग्गा भोगाधिकार, रूख कटान र रानीघाटस्थित भेरी नदीमा पुल निर्माणका सन्दर्भमा प्रदेश सरकार लागिपरेको जनाउनुभयो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले रु ३२ करोड बजेटको स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्र गर्न ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । कुल रु १० किमी सडकमध्ये सात किमी सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम थालनी भएको छ ।

विसं २०८३ पुस ३० गते सम्पन्न गर्नेगरी रु ३२ करोडको उक्त बजेट घटेर भ्याटसहित रु १८ करोड ५२ लाख २३ हजार ८५१ लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भई काम अघि बढेको निर्देशनालयका निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मूलपानी–रानीघाट सडकको दूरी १० किमीमध्ये मूलपानीदेखि फलाटेसम्मको तीन किमी सडक भने कालोपत्र गर्ने कार्य सम्पन्न भइसकेको छ ।

आर्थिक वर्ष २०७६÷७७ देखि कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको यो सडकको प्रगति अपेक्षित छैन । उक्त आवदेखि दुई खण्डमा विभाजन गरी निर्माणका लागि ठेक्का गरिएअनुसार पहिलो खण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मूलपानीबाट रानीघाटसम्म १० किमी सडक स्तरोन्नतिका लागि विसं २०७६ पुस ९ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शङ्कर निर्माण कम्पनीबीच रु १० करोड २६ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ फागुन ८ गते निर्माणसम्पन्न गर्नुपर्ने समयावधि तोकिए पनि उक्त सडकले अझै पूर्णता पाउन सकेको छैन ।

कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरबाट बर्दियाको भुरीगाउँ जोड्ने सडकको दूरी ५१ किमी छ । यो सडकको निर्माण कार्य सम्पन्न भएमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टामै पुग्न सकिनेछ ।

स्थानीय तहले जनताको हितमा काम गर्नुपर्छः नेता सिटौला

मोरङ, ११ जेठः राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको कानुन, नीतिनिर्माण र बजेट निर्माणमा देखिएका समस्या समाधानमा सङ्घीय सरकारलाई राष्ट्रियसभाले ध्यानाकर्षण गराउने बताउनुभएको छ ।

सङ्घीय संसद् राष्ट्रियसभा सचिवालय काठमाडौँद्वारा आज यहाँ आयोजित राष्ट्रियसभाका सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष एवं उपाध्यक्षबीचको समन्वय बैठक एवं अन्तरक्रियामा उहाँले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा केही समस्या देखिएकाले राष्ट्रियसभाको पूर्ण बैठकले यसबारे छलफल गरी निर्णय गर्ने बताउनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता सिटौलाले संविधानअनुसार तीन तहको सरकार निर्माण भएको र स्थानीय निकायले समग्र रूपमा जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले स्थानीय तहमा देखिएका समस्या, कानुन कार्यान्वयनलगायतका विषयमा प्राप्त सुझावलाई कार्यान्वयनतर्फ लग्ने विचार राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गोपीबहादुर सार्की अछामीले कानुन निर्माणमा तीन तहको क्षेत्राधिकार र हालको अवस्था, प्रशासनिक सङ्घीयता र जनशक्ति व्यवस्थालगायतका विषयमा जानकारी लिनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

‘कान्तिपुर हाफ म्याराथन’ को तेस्रो संस्करण जेठ १७ गते

काठमाडौँ, ११ जेठः कान्तिपुर हाफ म्याराथन, तेह्रौ संस्करण प्रतियोगिता यही जेठ १७ गते हुने भएको छ । कान्तिपुर पब्लिकेसन्स लिमिटेडको आयोजनामा हुने उक्त प्रतियोगितामा हाफ म्याराथन २१ दशमलव एक किलोमिटर, कर्पोरेट रन पाँच किमी, कलेज रन सात किमी तथा ह्विलचेयर रेस हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त प्रतियोगिताअन्तर्गत हाफ म्याराथनतर्फका विजेताले जनही रु एक लाख ५० हजार, दोस्रो हुनेले रु ६५ हजार, तेस्रोले रु ५० हजार, चौथोले रु ३० हजार, पाँचौँले रु २० हजार तथा छैटौँ स्थान हासिल गर्नेले रु १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, ठिमी, सल्लाघारी चोकबाट सोही रुट हुँदै पुनःसेन्ट्रल बिजनेस पार्कमै आएर सकिनेछ ।

ह्विलचेयर रेसतर्फको शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कार पाउनेछन् । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष तीनमा रहने खेलाडीले विभिन्न पुरस्कार र गिफ्ट हृयाम्पर पाउनेछन् ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, वानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फर्किएर पुनःबानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुङ्गिने छ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस थापाथली, माइतीघर मण्डला हँुदै पुनःसेन्ट्रल विजनेस पार्कमै आएर समाप्त हुनेछ ।

नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा सिण्डिकेट भन्ने कुरा गलत रहेको बताएका छन् ।

आइतबार आन्तरिक रोजगार प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफल तथा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले मन्त्रालयले कुनैपनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार नदिएको भन्दै सिण्डिकेट गर्न नमिल्ने बताएका हुन् ।

उनले भने, ‘मैले भनिरहेको छु नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन । नेपालको मन्त्रालयले कुनैपनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार दिदैन । वैदेशिक रोजगारमा काम गर्ने व्यवसायीहरुले नेपाल सरकारको अनुमति प्राप्त गरेपछि वैदेशिक रोजगारमा संसारभर जुनसुकै मुलुक काम गर्न पाउछन् ।’

उनले सिण्डिकेटको नाममा श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैया खाएको भन्दै अफवाह फैलाएको बताए । साथै, उनले वैदेशिक रोजगारमा सुधारका काम गर्दा यथास्थितीमा फाइदा उठाउन खोज्नेहरुको चित्त नबुझेको पनि बताए ।

‘हामी धेरै कुरामा सुधार गरिरहेका छौ तर यथास्थितीमा फाइदा उठाउने तत्वहरुलाई चित्त बुझिरहेको छैन । उनीहरु नानाथरी कुरा गर्दै हिडिरहेका छन् । मलेसियामा सिण्डिकेट गरिएको छ, श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैया खाएका छन् भनेर लेखिरहेको छ ।
म चोकमा खण्डन गर्दिन । नेपाल र मलेसियाको बिचमा नियमावली सम्झौता नविकरण हुन बाकी छ । दुई पक्षिय सम्झौताकोबीच कारोबार हुन्छ । हामी मलेसियाको डेलिगेसन कुरेर बसिरहेका छौ ।’ उनले भने ।

गण्डकी प्रदेशसभाको आठौँ अधिवेशन सुरु

गण्डकी, ११ जेठः गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ । बैठकको सुरुमा गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।यसपछि शून्य समयमा प्रदेशसभा सदस्यहरूले बर्सात नजिकिँदै गर्दा सम्भाव्य प्राकृतिक प्रकोपबारे बेलैमा सचेततासँगै पूर्वतयारी गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य टीकाकुमारी बस्यालले गण्डकीमा एउटा जिल्ला तराईबाहेक सबै पहाडी र हिमाली जिल्ला रहेकाले सम्भाव्य प्राकृतिक जोखिमका सम्बन्धमा बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । सदस्य डिल्लीराम सुवेदीले जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगत ३० वर्षभन्दा ठूलो परिणाममा वर्षा हुने भनेको सन्दर्भमा समयमा नै विपद् जोखिमबाट बच्ने गरी अतिरिक्त व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेशसभा सदस्य विकल शेरचनले पनि हिमाली जिल्लामा हुने जोखिमको पूर्वआकलन गर्न जरुरी भएको बताउनुभयो । विगतमा कागबेनीमा आएको बाढी यसैको परिणाम भएको भन्दै उहाँले यसतर्फ सचेत बन्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य प्रकाश बरालले गत वर्ष फेवाफाँटको धानमा लागेको गबारोका कारण रु एक करोड २८ लाख बराबरको क्षति ब्यहोरोका किसानहरू अझै पनि राहतको आशामा रहेकाले त्यसको सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । किसानले यस वर्ष बीउ राख्ने वा नराख्ने भन्दै अन्योलमा रहेकाले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य पञ्चारम गुरुङले हालै वर्षाका कारण स्याङ्जाको आँधी खोलास्थित जुग्लेबजारमा क्षति पु¥याएको उल्लेख गर्दै यहाँका १०÷११ घर उच्च जोखिममा भएकाले बस्तीलाई जोखिमबाट जोगाउन ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा प्रदेशसभा सदस्यहरू अशोककुमार श्रेष्ठ, देवका पहारी, नन्दकला दमै, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, भोजराज अर्याललगायतले विभिन्न समसामयिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ, ११ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।ऊर्जा मन्त्रालय र मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा उहाँले काममा अल्छीपन र ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको हो । “मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने कुरा आएको छ, तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भन्नुभयो,“मन्त्रालयअन्तर्गतका निकायमा अझै पनि चित्तबुझ्दो प्रगति हासिल गर्न सकिएको छैन । यसमा गम्भीर भएर काम गरौँ ।”

कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरे मात्र हामीले लिएको लक्ष्य हासिल गर्न सहज हुने उहाँको भनाइ थियो । “कर्मचारी स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारपूर्वक निर्वाह गरौँ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले चाँडै नै बर्सात सुरुआत हुन लागेकाले यसबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पु¥याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिनुभयो ।

बैठकमा राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहतका निकायका उच्च कर्मचारीको सहभागिता रहेको थियो । बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायमा वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु

सुदूरपश्चिम, ११ जेठ : सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन) प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । अधिवेशन अन्तर्गतको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई (कर प्रस्तावबाहेक) सभासमक्ष प्रस्तुत गर्नुभयो ।

बैठकमा प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई संशोधनसहित तयार पारिएको सुदूरपश्चिम स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिका सभापति दिवानसिंह विष्टले पेस गर्नुभयो ।

यसअघि छैटौँ अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का खगराज भट्ट, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल, नेकपा (एकीकृत समाजवादी) पार्टीका नरेशकुमार शाही र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले प्रदेशको विकास र समृद्धिका लागि सत्ता प्रतिपक्षी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बैठकको प्रारम्भमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा वाचन गर्नुहुँदै छैटौ अधिवेशन उपलब्धिमूलक होस् भनी शुभेच्छा व्यक्त गर्नुभयो ।

अनावश्यक नियुक्ति खारेज गर्नुपर्नेलगायतका माग राखेर प्रदेशसभाको अघिल्लो अधिवेशनअन्तर्गतका बैठक प्रतिपक्षी दलका सदस्यहरुले अवरुद्ध गर्दै आएका थिए । निरन्तरका अवरोधका बीच उक्त अधिवेशन अन्त्य गरिएको थियो ।

छैटौँ अधिवेशन सुरु गर्नु अघि मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रतिपक्षीले उठाउँदै आएका समसामयिक विषयलाई प्रस्तावका रुपमा सदनमा लैजानका लागि सर्वपक्षीय समिति गठन गर्ने दलहरुबीच सहमति भएपछि सदनको अवरोध खुलेको हो ।

प्रतिपक्षी दलले तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको विवादास्पद अडियो (श्रव्य सामग्री) प्रकरणका बारेमा छानबिन हुनुपर्ने माग उठाउँदै आएका छन् । उक्त घटनापछि तत्कालीन मन्त्री चौधरीले गत वर्ष चैतमा पदबाट राजीनामा दिनुभएको थियो ।

डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, ११ जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वर्षा सुरु भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गर्नुभएको छ ।स्वास्थ्य मन्त्रालयमा आज आयोजित महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुसँगको बैठकमा उहाँले समयमै सजगता अपनाउन र आवश्यक तयारी थालिहाल्न आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले बर्खायाम लागेसँगै देखा पर्नसक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाउनुपर्ने भन्दै डेङ्गी फैलन नदिन हालैबाट लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षायाम सुरु भइसकेको छ । पानी तथा कीटजन्य महामारीबाट जोगिन आ–आफ्नो तर्फबाट तयारी थाल्नुहोला । विपद् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेकाले यसपालि त्यो दोहोरिनुभएन ।”

मन्त्री पौडेलले भारतलगायत देशमा कोभिड देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीनवटै सरकारसँग समन्वय गर्ने गरी मन्त्रालयले काम अघि बढाइरहेको बताउनुभयो । उहाँले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रूपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक आयोजना गर्ने निर्णय गरेको बताउनुभयो ।

शिक्षकहरुमा नौं बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं: शिक्षामन्त्री

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ । आइतबार बसेको समितिको बैठकले शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल गरेको हो ।

उक्त छलफलमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका नौं बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताए ।
उनले शिक्षक महासंघमा प्रतिनिधिहरुले नौ बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेन्डा बनाएकाले आफ्नो प्रतिबद्धता भनेको नौ बुँदे प्रतिवद्धता भएको बताए ।

उनले भने, ‘मैले गरेको नौ बुँदे सहमतिलाई कार्यान्वयन गर्न म प्रतिवद्ध छु । सरकारको मन्त्रीको हैसियतले मेरो प्रतिवद्धता हो । यसमा सत्ता गठबन्धन दलहरुको सबैको प्रतिवद्धता छ र स्वयम प्रधानमन्त्रीज्यूको पनि छ ।

नौ बुँदे सहमतिको हकमा प्रतिवद्धता छ तर अहिले सवाल नौ बुँदेको मात्रै होइन । शिक्षक महासंघमा साथीहरुले नौ बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेण्डा बनाएर जोड दिइराख्नु भएको छ ।

स्वभाविक रुपमा त्यसमा पनि छलफल गर्छौं । तर मेरो कमिटमेण्ट भनेको नौ बुँदे प्रतिवद्धता हो । नौ बुँदे प्रतिवद्धतालाई सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म कार्यान्वयन गरेर जाने हो । त्यसमा अस्पष्ट रहेका कतिपय बुँदाहरुमा शिक्षक महासंघका प्रतिनिधिहरुसँग बसेर छलफल गर्नेछौं । र एउटा निक्र्यौलमा पुग्छौं ।’

साथै उनले आर्थिक बोझ पार्ने मागहरु यसैपाली यसरकारले बहन गर्न नसक्ने बताए । उनले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ नरहेको बताए ।

उनले भने, ‘आर्थिक बोझ पार्ने मागहरु यसैपाली यही सरकारले बहन गर्न सक्दैन । हाम्रो अर्थतन्त्रले, आयस्रोतले गर्न सक्दैन । हामीले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ छैन ।’

डा.भोला रिजालले सार्वजनिक गरे ‘मेरो मृत्युपछि’

काठमाडौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालको शब्दरचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक भएको छ ।

वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको सार्वजनिक भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायांकन, सम्पादन तथा निर्देशन छ । लोकश भाटको सहसम्पादन र भीएफएक्स रहेको गीतको भिडियोलाई सरला रिजालले निर्माण गरेकी हुन् ।

गीत तथा भिडियोले मृत्यु पछिको अङ्गदानको महत्वलाई प्रकाश पारेको छ । मृत्युपछि त्यसै खेर जाने मानव शरीरका अङ्गहरू दान गर्दा अर्को जीवित मान्छेले नयाँ जीवन पाउने कुरालाई भिडियोमा मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ ।भिडियोमा गीतकार डा। रिजाल, डा. रिता गुरुङ, डा.भगवान कोइराला, डा.पुकारचन्द्र श्रेष्ठ, डा.ज्योतिन्द्र शर्मा लगायतको अभिनय रहेको छ ।

पोखरा कोटिहोममा ८ रोपनी बढी जग्गा दान, एकसय रोपनी दान आउने अपेक्षा

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनले जग्गा दान गरेका छन् ।केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको अभियानबाट प्रभावित भएपछि मानव सेवामा जोड्न जग्गा नै दान गरेका छन् ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले कोटिहोम महायज्ञ पश्चात् पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण गर्ने उद्घोषले पनि पोखरेली भक्तजनमा उत्साह छाएको छ, जसका कारण आर्थिकसँगै जग्गा दान गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।

कोटिहोममा जग्गा दान गर्ने धेरैको आश्वासन पाएकोले पनि यहाँका भक्तजनबाट एकसय रोपनी भन्दा बढी जग्गा उपलब्ध हुने अनुमान गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञमा भक्तजनको लाखौं सङ्ख्यामा उपस्थिति सँगै आर्थिक र जग्गा दानले महायज्ञ सफल भएको बताए ।

‘यो कोटिहोमका विषयमा केहि अनर्गल प्रचार गरियो जसले गर्दा भक्तजनलाई निराश छाएको महिले महशुष गरेको थिए’ उनले भने, ‘अनर्गल प्रचारका बाबजुद पनि सम्पूर्ण भक्तजनको उत्साहका साथ सहभागी भएर कोटिहोम दर्शन गर्न आउनुभयो म सबै प्रति आभारी छु । तपाईँहरूको यो उपस्थिति मेरा लागि ऊर्जा हो ।’
त्यसैले त बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भन्ने गरेका छन्–‘गण्डकी कोटिहोम ज्ञान महायज्ञमा सबै जनालाई स्वागत गर्न प्रतीक्षारत छु, महायज्ञका पछाडि विरोध गर्नेलाई पनि हाँसेर नै स्वागत गरिन्छ, मनमा लिँदिन कहिल्यै, ढुक्कले आउँदा हुन्छ ।’कोटिहोमा स्व। सूर्य व। केसीको नाममा उनकी धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्य रहने गरी दुई लाख रुपैयाँ दान गरेकी छन् ।
कोटिहोममा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगिको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा.तुलसी प्रभास खनालले जानकारी दिए ।
प्रतियोगितामा देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए।

उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनीषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुनेछ ।

कोटिहोम शनिवारदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । २५ जनाको समूहका साथ पुनः पोखरा आएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ । कोटिहोममा आज चर्चित गायक थानेश्वर गौतमसँगै विभिन्न भजन प्रस्तुति रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं। दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

कोटिहोममा चार सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् ९हरिवंश पुराण०, कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्रीसूक्त पाठ, संपुटक पाठ ९चण्डी पाठ०, रोगनिवारण पाठ, ग्रहसूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्रीसूक्त पाठपारायण, भूमिदोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।

कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

त्यसैगरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

गङ्गा दशहरा पर्व विशेषः गोसाइँकुण्ड जानेको चलहपहल सुरु

रसुवा, ११ जेठः गङ्गा दशहरा पर्वको पावन अवसरमा पवित्र तीर्थस्तल गोसाइँकुण्ड जाने भक्तजनको अहिले यहाँ चहलपहल सुरु भएको छ । यही जेठ १३ गतेदेखि सुरु हुने सो मेला भर्न आउने भारतीयसहित नेपाली तीर्थालुको जिल्ला सदरमुकाम धुञ्चेसहित आसपासका क्षेत्रमा चहलपहल देखिएको छ । समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा यही जेठ २४ गतेसम्म लाग्ने धार्मिक मेलामा जाने भक्तजनको उल्लेख्य उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीले बताउनुभयो ।

गङ्गा दशहरा पर्वका अवसरमा यस वर्ष मित्रराष्ट्र भारतसहित टाढाबाट समेत धार्मिक पर्यटक आउने क्रम सुरु भएको बताउँदै जिल्ला प्रहरी प्रमुख शाहीले सोही अनुसार सुरक्षा व्यवस्थासहित आवश्यक तयारी गरेको स्पष्ट गर्नुभयो । गोसाइँकुण्ड क्षेत्र विकास समितिले काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रापछि पैदल यात्रा सुरु भई तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिने बताउँदै पैदल यात्राका क्रममा समस्या भए सहजीकरण गर्ने प्रतिबद्धता गरेको छ ।

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष पर्व गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ । गोसाइँकुण्डमा स्नान गरी धुन्चे आइपुग्नुभएका कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने हाम्रो धार्मिक आस्थाको केन्द्र शिव शङ्कर भगवान् विराजमान कुण्ड गोसाइँकुण्ड पुगी स्नान गर्न सबैलाई सुझाव दिनुभयो ।

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

भोजपुर ११ जेठः मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताउनुभयो ।

किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उहाँको भनाइ छ । “यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ । मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।”

जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ । किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ ।

बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी किराको समस्या देखिएकोे कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । किरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ ।