`

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

बागमती, १० जेठ : हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अबरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उहाँले बताउनुभयो । कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौँ आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

भक्तपुर, १० जेठ : भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् ।

भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरू भएको प्रतियोगिता भारत, इङ्ग्ल्याण्डसमेत र नेपालको २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा भारतबाट चार र इङ्ग्ल्याण्डबाट एक जना खेलाडीको सहभागी रहेको छ ।

नेपालको पहिलो अन्तरराष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगितामा शुक्रबार पाँच राउण्ड सम्पन्न भएको र शनिबार चार राउण्ड खेलिने बताउनुभयो ।प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीको सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियोगिता बुद्धिअर्थात् दिमाग लगाएर खेल्ने खेल भएको बताउँदै अन्तरराष्ट्रिय क्षेत्रमा हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताउनभयो ।

आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, १० जेठ : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकको उद्धार

काठमाडौँ, १० जेठः लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ । दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १० जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७१ पैसा र बिक्रीदर २० रुपैयाँ ८० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ४० पैसा र विक्रीदर ३५४ रुपैयाँ ९६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सूचना प्रविधि क्षेत्रका तीन प्रमुख संस्थाद्वारा सरकारलाई ४१ बुँदे सुझाव

काठमाडौँ, १० जेठः सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१’मा सूचना प्रविधि क्षेत्रका तीन प्रमुख संस्थाले ४१ बुँदे सुझाव दिएका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ), साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआरआई नेपाल) र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) को प्रतिनिधिमण्डलले संयुक्त रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूणामणि पौडेललाई सुझावसहितको दस्तावेज बुझाएका हुन् ।

ती संस्थाले ब्लुप्रिन्टलाई डिजिटल नेपाल निर्माणको दिशामा ठोस पहलको रूपमा औँल्याउँदै सुधारका लागि आवश्यक सुझाव प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा गत वैशाख १७ गते बसेको ई–गभर्नेन्स आयोगको पहिलो बैठकपछि सुरु भएको परामर्श र विश्लेषणपछि तयार पारिएको यस मस्यौदामा मन्त्रालय, स्वायत्त निकाय, विज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।

क्यान महासङ्घका कार्यवाहक अध्यक्ष एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल बाइ डिफल्ट’ नीति, सार्वजनिक–निजी साझेदारीको प्रवर्द्धन र ‘एक नागरिक – एक ड्यासबोर्ड’ अवधारणाले समावेशी डिजिटल भविष्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले साइबर सुरक्षा सुदृढीकरण, डिजिटल साक्षरताको प्रवर्द्धन र एआई तथा ब्लकचेनजस्ता प्रविधिको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सीएसआरआई नेपालका अध्यक्ष डा शालिग्राम पराजुलीले डिजिटल नेपाल फ्रेमवर्कसँग समन्वयमा सरकारी सेवाको प्रभावकारिता र सहभागिता बढाउन ब्लुप्रिन्टले सहयोग गर्ने बताउनुभयो । उहाँले डेटा एक्सचेन्ज प्लेटफर्म मजबुत पार्दै अवधारणागत नक्कल न्यूनीकरण र स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष डा राजीव सुब्बाले डेटा सुरक्षालाई प्राथमिकता दिँदै बलियो साइबर सुरक्षा मापदण्ड, प्रभावकारी डेटा संरक्षण नीति र सुरक्षित क्रस–बोर्डर डेटा स्थानान्तरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

इन्साइट टेक्नोलोजीका प्रमुख कार्यकारी सुमन शर्माले ब्लुप्रिन्टलाई डिजिटल नेपालको सपना साकार पार्ने दिशामा महत्त्वपूर्ण दस्तावेज भन्दै डिजिटल पूर्वाधार सुदृढीकरणमा जोड दिनुपर्ने धारणा राख्नभयो । क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले डिजिटल नेपालको परिकल्पना साकार पार्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सचिव पौडेलले ब्लुप्रिन्टलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावलाई समावेश गरिने बताउँदै निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१ मा ७ रणनीतिक स्तम्भ, डिजिटल पूर्वाधार सुदृढीकरण, नागरिक केन्द्रित सेवा, मानव स्रोत विकास, नवप्रवर्तन, कानुनी अद्यावधिक, समन्वय र मूल्याङकनलगायतका पक्ष समेटिएका छन् ।

ब्लुप्रिन्टले साझा राष्ट्रिय क्लाउड, ग्रामिण इन्टरनेट विस्तार, डिजिटल ड्यासबोर्ड, नागरिक एप, रियल–टाइम प्रतिक्रिया संयन्त्र, हरित सूचना प्रविधि र स्थानीय भाषामा सेवाको प्रयोगसमेत समेटेको छ ।

ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ९ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने बताउनुभएको छ । ताप्लेजुङको पाथिभरा जाने क्रममा गत वैशाख ८ गते विद्युत्को तारमा अल्झिएर बोलेरो दुर्घटना भएपछि मन्त्री खड्काद्धारा बनाएको दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन आज बुझ्दै उहाँले विद्युत् सेवा वितरणमा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने बताउनुभएको हो ।

उहाँले विद्युत् सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । उक्त दुर्घटनामा परेर चार जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका थिए ।

ऊर्जामन्त्री खड्काले उक्त घटना राज्यका लागि गम्भीर चुनौतीका रूपमा देखिएको बताउनुभयो । मन्त्री खड्काले उक्त घटनाको अध्ययन गर्न विद्युत् विकास विभागका सुपरिडेन्टेन्ट इन्जिनीयर नुतप्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गर्नुभएको थियो ।

प्रतिवेद बुझ्दै मन्त्री खड्काले घटनाबाट गम्भीर शिक्षा लिँदै आगामी दिनमा नीति र व्यवहार दुवैमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले दुर्घटनामा ज्यान गुमाउने परिवारका साथै घाइतेलाई स्वास्थ्य उपचार र उचित क्षतिपूर्तिका लागि पहल गर्नसमेत विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

जागरण अभियान राष्ट्रिय एकताको अभियान बन्न पुग्यो : अध्यक्ष दाहाल

कास्की, ९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताउनुभएको छ ।

अभियानका क्रममा पोखरा आइपुग्नुभएका अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बैतडीदेखी सुरु भएर पोखरासम्म आइपुग्दा राष्ट्रिय एकताको अभियान बनेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “स्थानीय तहमा नेपाली कांग्रेस तथा नेकपा (एमाले) का सरकार भएका ठाउँमा समेत अभियानको स्वागत, अभिनन्दन र अभियान सफलताको शुभकामना व्यक्त गरिएको छ । सयौँ ठाँउमा प्रत्यक्ष सहयोग समेत भएको छ । यो माओवादीको मात्र अभियान नभएर राष्टिय एकताको अभियान र देशमा राजनीतिक अस्पष्टता र अराजकताको समाधानको अभियान बन्न पुगेको पुगेको छ ।”

मध्यपहाडी लोकमार्ग केन्द्रीत जनजागरण अभियानको पहिलो चरण शनिबार पोखरामा सभा आयोजना पछि सम्पन्न हुने अध्यक्ष दाहालले जानकारी दिनुभयो । उहाँले जनताले राखेका मागहरु सरकारलाई बुझाइने र आगामी बजेटमा सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला

तानसेन (पाल्पा), ९ जेठः यहाँको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । बिहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका–३ तिनाउखोला ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृतावस्थामा फेला परेका हुन् ।

नेपाल प्रहरी, नेपाली सेनाको तालिम प्राप्त टोलीले ड्यामसाइडबाट शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई बताउनुभयो । “अन्सारी चार जना साथीहरूसँग घुम्न आएका थिए । साथीहरू भने सकुशल छन्”, उहाँले भन्नुभयो ।

गत वैशाख र यही जेठमा तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सरकार र प्रहरीचौकी दोभानको समन्वयमा दुर्घटना सम्भावितस्थलका लागि निषेध गरे पनि आफूखुसी पौडी खोल्ने क्रम बढेकाले दुर्घटना भएको उहाँको भनाइ छ । हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको तस्वीर लिनेहरू लडेर ज्यान गुमाउने गरेका प्रउ भट्टराईले बताउनुभयो ।

यस क्षेत्र पर्यटकका लागि आकर्षणस्थल भए पनि त्यसको उचित सुरक्षा प्रबन्ध नहुँदा धेरैले ज्यान गुमाउनुपरेको हो । उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटक बढी जाने गरेका भन्दै सुरक्षाको उचित प्रबन्ध नहुँदा दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

खोला किनार तथा सम्भावित जोखिम भएका क्षेत्रमा जाँदा सुरक्षाका उपाय अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय, आगन्तुक तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ । पछिल्ला केही दिनयता भारत, रुपन्देहीलगायत तराईका जिल्लाबाट गर्मी छल्न तिनाउखोलामा पौडी खेल्न पुग्नेको सङ्ख्या बढ्दै गएकाले उच्च सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको हो ।

“रूस–युक्रेन युद्धबन्दी सटासटबारे राष्ट्रपति ट्रम्पको घोषणा, तीन वर्षयताकै सबैभन्दा ठूलो हुने अपेक्षा”

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको एक महत्वपूर्ण सटासट सम्पन्न हुने जानकारी दिनुभएको छ । यो सटासट तीन वर्षदेखि जारी द्वन्द्वकालीन अवधिमा सबैभन्दा ठूलो हुने बताइएको छ ।गत साता इस्तानबुलमा सम्पन्न वार्तामा युक्रेन र रूसले एक अर्काका एक–एक हजार युद्धबन्दीहरू साटासाट गर्ने सहमति जनाएका थिए । यद्यपि, घटनासँग नजिकबाट संलग्न एक वरिष्ठ अधिकारीका अनुसार यो सटासट प्रक्रिया अझै पूर्णरूपमा सम्पन्न भइसकेको छैन ।

राष्ट्रपति ट्रम्पले आफ्ना सामाजिक सञ्जालमार्फत यस सटासट सम्पन्न भएको घोषणा गर्नुभयो । तर, ती अधिकारीले सटासटको प्रक्रिया हाल जारी रहेको र औपचारिक रूपमा सम्पन्न नभएको स्पष्ट पार्नुभयो ।राष्ट्रपति ट्रम्पले उक्त घोषणासँगै यस्तो सटासटले भविष्यमा सकारात्मक सङ्केत दिन सक्ने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो ।तीन वर्षदेखि जारी युद्धको क्रममा दुवै देशमा हजारौं युद्धबन्दीहरू रहेका छन् । अनुमानअनुसार, रूसी पक्षले युक्रेनी युद्धबन्दीहरू ठूलो सङ्ख्यामा नियन्त्रणमा राखेको छ, जसको सङ्ख्या आठ हजारदेखि १० हजारबीचमा रहेको बताइएको छ ।

दुवै पक्षले युद्धबन्दीहरूमाथि अन्तर्राष्ट्रिय कानुनअनुसार व्यवहार नगरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले पनि बन्दीहरू दुवै देशमा यातना तथा अमानवीय व्यवहारको शिकार भएको पुष्टि गरेको छ ।रूसले केही बन्दीहरूलाई अदालती कारवाहीमा पेस गरेको, कैयौंलाई यातना दिएको र केही युक्रेनी बन्दीहरू बन्दी अवस्थामै मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् । साथै, कब्जा गरिएको युक्रेनी भूभागबाट केही नागरिकहरू रूस लैजाने गरिएको विश्वास गरिन्छ ।

यसै वर्ष, पत्रकार भिक्टोरिया रोश्चिनाको मृत्युपश्चात उहाँको शव रूसबाट युक्रेन फिर्ता गरिएको थियो ।युक्रेनका हराइरहेका व्यक्तिहरूका लागि जिम्मेवार आयुक्त आर्तुर दोब्रोसेर्दोभले गत महिनामा सञ्चारमाध्यमलाई जानकारी दिँदै भन्नुभयो,“हाल करिब ६० हजार व्यक्ति हराइरहेका छन्, जसमध्ये १० हजार को बन्दी अवस्थाको पुष्टि भएको छ । ”

एक उच्च अधिकारीका अनुसार, “प्रत्येक सटासटमा यस्ता व्यक्तिहरू समेत फिर्ता हुने गरेका छन्, जसको अवस्थाबारे पहिले केही जानकारी थिएन ।”सन् २०२२ मा मारीउपोलमा भएको सैन्य घेराबन्दीको क्रममा धेरै युक्रेनी सैनिकहरू बन्दी बनाइएका थिए । त्यसबाहेक, सन् २०१४ मा रूसले क्राइमिया कब्जा गरेयता पनि केही युक्रेनी नागरिकहरू रूसी नियन्त्रणमा रहेको जनाइएको छ ।

रूसी युद्धबन्दीहरूको सङ्ख्या युक्रेनी पक्षमा तुलनात्मक रूपमा कम रहेको अनुमान गरिएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युद्धकालभर रूसी सैनिकहरूलाई बन्दी बनाएर भविष्यका सटासटहरूका लागि ‘विनिमय कोष’ तयार राख्न आवश्यक भएको बताउँदै आउनुभएको छ ।

सन् २०२४ मा युक्रेनी सेनाले रूसको कुस्र्क क्षेत्रमा गरेको आक्रमणको क्रममा सयौं रूसी सैनिकहरूलाई बन्दी बनाएको थियो । त्यसक्रममा केही उत्तर कोरियाली सैनिकहरू पनि बन्दी बनाइएको उल्लेख गरिएको छ, जसले रूसको पक्षबाट लडाइँमा सहभागी भएको बताइएको छ ।साथै, युक्रेनले रूसी सेनासँग मिलेर काम गरेको आरोपमा केही नागरिकहरूलाई जेल सजाय दिएको छ, जसलाई भविष्यका विनिमय सम्झौतामा समावेश गरिने अनुमान गरिएको छ ।

गत वर्ष, रूसको आक्रमणलाई समर्थन गरेको अभियोगमा सजाय पाएका युक्रेनी आर्थोडक्स धर्मगुरुलाई पनि युद्धबन्दी सटासटमा समावेश गरिएको थियो ।रूसले यस वर्षको सुरुवातमा कुस्र्क क्षेत्रबाट आफ्ना केही नागरिकहरू युक्रेनको सुमी क्षेत्रमा लगिएको जानकारी दिएको थियो र उनीहरू अझै फर्कन नसकेको जनाएको छ ।इस्तानबुलमा भएको पछिल्लो वार्तासम्म, दुवै पक्षबीच कायम रहेका सीमित संचार माध्यमहरूमा युद्धबन्दी तथा शवहरूको सटासट र रूसले युक्रेनी बालबालिकाहरू फर्काउने विषय प्रमुख थिए ।

‘बाढीजन्य विपद् आगामी दिनमा नआउने नगरी पूर्वतयारी थाल्नुपर्छ’ : उपप्रमुख डङ्गोल

काठमाडौँ, ९ जेठः काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले गत असोजको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद् आगामी दिनमा नआउने गरी पूर्वतयारी गर्नुपर्ने बताउनुभएको छ । आज विश्व बैंकका प्रतिनिधिहरूसँगको बैठकमा उहाँले पूर्वतयारीका लागि आवश्यक काम तत्काल सुरुआत गर्नुपर्नेमा जोड दिँदै तथ्य सङ्कलन र बाढी, पहिरोको प्रमुख कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्ने बताउनुभयो । सरोकार भएका र साझेदारी निकायसँग समन्वय र सहकार्य गरी विगतमा भएका गल्ती सच्याउँदै जानुपर्ने उहाँको भनाइ छ ।

“काठमाडौँका नदीमा यो तहसम्म पानीको बहाव देखेको थिएन र यस्तो समस्या भोग्नुपरेको पनि थिएन । उक्त दुःखद क्षणलाई सिकाइ मानौँ । आगामी दिनमा काठमाडौँले यस खालका विपद् भोग्नु नपरोस् भनेर पूर्वतयारी थालौँ”, उहाँले भन्नुभयो ।

सहरी विकासका विषय चुनौतीपूर्ण भए पनि सबै मिलेर समाधानका उपाय खोज्नुपर्ने उपप्रमुख डङ्गोलले उल्लेख गर्नुभयो । आगामी दिनमा बाढीजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि कामपाले नदी सुधार गुरुयोजना तयार पारिरहेको उहाँले जानकारी दिनुभयो ।

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले भन्नुभयो, “बाढी व्यवस्थापन गर्न विश्वका सहरले गरेको प्रयत्न काठमाडौँका लागि सिकाइ नहुन सक्छ । काठमाडौँको भूगोल, सहरी बस्ती, नदी प्रणाली अन्य सहरभन्दा फरक छ ।”

छलफलमा विश्व बैंकको पूर्वाधार क्षेत्रका कार्यक्रम प्रमुख गायत्री सिंहले कामपाले विकास, निर्माण र विकास व्यवस्थापनका क्षेत्रमा कार्यरत साझेदार तथा सरोकार भएकासँग समन्वय गरी विपद् जोखिम न्यूनीकरणका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा वर्षाको पानी व्यवस्थापन गर्न नसक्दा हुनसक्ने समस्याका बारेमा छलफल भएको थियो । फोहर व्यवस्थापन, फोहर पानीको प्रशोधन, सहरी पूर्वाधारमा नदी प्रणाली, नदी प्रणालीमा सहरी पूर्वाधारको सम्बन्धलगायत पक्षबाट जोखिम न्यूनीकरण गर्न सकिने विषयमा सरोकार भएकाहरूसँग छलफल भएको थियो ।

श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देवी प्रतिभाको टोली शनिबार आउँदै

पोखरा । पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ । आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको थियो

एकादशीको पावन अवसरमा वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचनहरू सम्पन्न गरिएका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, यस अवसरमा युवा दार्शनिक चैतन्यकृष्ण महाराजको भोलि बिदाई गरिने छ भने अनन्त श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले भक्तिभावसहित कथा वाचन र भजन प्रस्तुत गरेका छन् ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्व विजयश्री कृष्णमूर्ति जी महाराजले पोखरा–१७ लाई कोटिहोमचोक को रुपमा घोषणा गरिएको जानकारी दिएका छन् । साथै भोलि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभा २५ जनाको टोलीसहित कोटिहोममा आगमन गर्नेछिन् ।

देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नेछिन् भने जेठ १४ देखि २२ सम्म भागवत वाचिका राधिका दासीको पनि कथा हुने भएको छ । आयोजकका अनुसार यी दुई वाचिकाको आगमनले भक्तजनको सहभागिता अझ बढ्ने छ ।

कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने

काठमाडौँ, ९ जेठः वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी तवरले वैदेशिक रोजगारीमा पठाउने र पठाउन सहजीकरण गर्ने कार्य नगर्न सूसुचित गरेको छ ।
विभागले आज सूचना जारी गर्दै कानुनविपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारमा पठाउन वा पठाउनका लागि प्रक्रिया अघि बढाउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

विभागले उजुरीका आधारमा टोली खटाई नियमित एवं आकस्मिक अनुगमन गरिने भएकाले उजुरीका लागि सर्वसाधारणलाई आग्रह समेत गरेको छ । व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्थाहरुले विदेश पठाइदिने भनी सूचना जारी गर्ने, राहदानी र अन्य कागजात सङ्कलन गर्ने, नक्कली कागजात तयार गरी विदेश पठाउने कार्यमा संलग्न भएको जनगुनासो प्राप्त भएको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बताउनुभएको छ ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकको रुपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम विभागमा दर्ता भएको संस्था हुनुपर्ने कानुनी प्रावधान छ ।

विभागले तालिम प्रदायक संस्थाहरुलाई वैदेशिक रोजगारमा जाने कामदारको लागि मापदण्ड पूरा गरी तालिम सञ्चालन गर्न सुसूचित गराएको छ ।
अभिमुखीकरण तालिम सञ्चालन गर्दा सबै प्रशिक्षार्थीलाई अनिवार्य उपस्थित र तालिमका लागि आवश्यक न्यूनतम भौतिक एवं अन्य स्रोतसाधनसम्बन्धी मापदण्ड पूरा नगर्ने संस्थालाई कारबाही गर्ने चेतावनी दिएको हो ।

मापदण्ड पूरा नगरी तालिम सञ्चालन भइरहँदा वैदेशिक रोजगारीमा जाने कामदारले पर्याप्त मात्रामा सुसूचित हुन नसकेको विभागले जनाएको छ । “सुरक्षित र मर्यादित रुपमा वैदेशिक रोजगारीको व्यवस्थापन नभएको भनी यस विभागमा जनगुनासो आइरहेको हुँदा त्यस्ता संस्थाहरुले वैदेशिक रोजगारमा जाने कामदारको लागि अभिमुखीकरण तालिम सञ्चालन गर्दा सबै मापदण्ड पूरा गर्नपर्नेछ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने

सुर्खेत । रनवेमा खाल्डो परेपछि मंगलबार देखि बन्द सुर्खेत विमानस्थल शनिबारदेखि नियमित सुचारु हुने भएको छ ।विमानस्थलको रनवेमा खाल्डो परेपछि मर्मतका लागि विमान्स्थल चार दिनदेखि बन्द गरिएको थियो । शुक्रबार मर्मतको काम सकिए पछि शनिबारदेखि नियमित जहाड उडानका लागि विमानस्थल सुचारु गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए ।
विमानस्थलको उत्तरतर्फको भागको रनवेमा पानीको मुल फुटेपछि विमानस्थल बन्द गरेर रनवे मर्मत थालिएको थियो ।

‘पहिले देखिएको खाल्डो मर्मत गर्दा रनवेमै अर्को ठाउँमा पानीको मुल फुटेपछि थप दुई दिन विमानस्थल बन्द गर्नु प¥यो’ विमानस्थल प्रमूख काफ्लेले भने, ‘रनवे मर्मत सकिएसंगै शनिबारबार जहाज नियमित गरिने छ ।’ रनवेमा पानी निस्किएर भासिन थालेपछि भौगर्भिक अनुसन्धान गर्ने कार्यपनि अघि बढाइने उनले बताए ।

मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरिक्षण गरेका थिए । उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरुलाई भनेको बताए ।

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला, ९ जेठः यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् ।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिँह साउदले यार्सा सङ्कलनको ‘सिजन’ सुरु भएकाले जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिनुभयो । बर्खे बिदाबाट मिलान गर्ने गरी हाल विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला गरिने उहाँले बताउनुभयो ।

जडीबुटी सङ्कलन गरिने भएकाले यहाँ हरेक वर्ष यही समयमा अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरिका २४ सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।

अपी हिमाल गाउँपालिका–२ का स्थानीय गगनसिँह लोथ्यालले यार्सागुम्बा सङ्कलन गरेर केटाकेटी पढाउन र अन्य आवश्यकता पूर्तिका लागि आर्थिक जोहो गर्न हरेक वर्ष लेक जानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षभरिको कमाई यही यार्सागुम्बा हो । बालबालिकालाई लिएरै जानुपर्ने अवस्था छ, नभए के खानु, कसरी पढाइ खर्च जुटाउनु !” अन्न उत्पादन कम हुने भएकाले स्थानीयले जेठ–असारमा सङ्कलन गरिएको जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन् । यहाँ वर्षौदेखि यसरी नै यार्सागुम्बा खोज्ने गरिन्छ । खेतबाट उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले आफूहरूले यस्तो काम गर्नु परेको लोथ्यालको भनाइ छ ।

गाउँपालिका–३ का कमलसिँह धामी पनि वर्षभरिका अत्यावश्यक आवश्यकता पूर्तिका लागि यार्साको जोहो गर्नुपरिरहेको बताउनुहुन्छ । “अधिकांश ठाउँ भिरालो पाखो जमिन हो । दुई महिना यार्सागुम्बा सङ्कलन गरेर वर्षभरिको जोहो चलाउन ठिक्क हुन्छ । हामी अभिभावकभन्दा बालबालिकाले यार्सागुम्बा बढी भेट्टाउँछन्”, उहाँले भन्नुभयो,“यार्सा खोज्न निकै कष्टकर भए पनि जीविका चलाउनका लागि यसैको भर पर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यार्सागुम्बा सङ्कलनकै लागि काठमाडौँ, धनगढी, दार्चुला सदरमुकाम खलङ्गामा अध्ययन गर्न गएका विद्यार्थीसमेत पाटन क्षेत्रमा पुग्ने गरेको छन् । काठमाडौँमा अध्ययन गर्दै आएका जय धामीले भन्नुभयो, “यार्सागुम्बा सङ्कलनका लागि वैशाख अन्तिमसाता अघि नै गाउँ पुगेको हो । एक महिना यहाँ बस्छु, अनि काठमाडौँ फकिने !” उहाँ दैनिक २० देखि ३० ओटा यार्सागुम्बा भेट्टाउने गरेको सुनाउनुुहुन्छ । “यार्सागुम्बा भेटिएको वर्ष त आम्दानी राम्रै हुन्छ । सधैँ धेरै भेटिन्छ भन्ने पनि हुँदैन । हिउँ परेका बेला चिसो र हिउँ पहिरोको त्रास हुन्छ । यो वर्ष गत वर्षको भन्दा अलि राम्रो यार्सागुम्बा छ, राम्रै आम्दानी हुने अपेक्षा छ”, धामीको भनाइ छ ।

यहाँका स्थानीय वैशाख अन्तिमसाता नै यार्सागुम्बा सङ्कलनका लागि पाटन गइसकेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत भएकाले पनि यहाँका हरेक घरघरबाट पाटन जाने गरिएको छ । दार्चुला बहुमुखी क्याम्पस खलङ्गामा अध्ययरत नौगाड गाउँपालिकाका खडकसिँह धामी जेठ पहिलो साता यार्सागुम्बा खोज्न अपी पुगिसक्नुभएको छ । “एक महिना यार्सागुम्बा खोजेर कलेजको पढाइलाई निरन्तरता दिन्छु,” उहाँले भन्नुभयो, “हाल पढाइ मात्रै भनेर हुँदैन, पैसा पनि कमाउनु प¥यो । वर्षमा दुई बाली मात्र हुने अपी हिमालका खेतबाट उत्पादित अन्नले वर्षभरि पुग्दैन । घरमा जागिर नहुनेका लागि यही विकल्प छ ।”

आम्दानी मात्रै होइन यहाँ जोखिम पनि उत्तिकै हुन्छ । पटकपटक असिना पानी आउने, हिमपहिरो खस्ने डरका बीच यार्सागुम्बा सङ्कलन गर्नु परेको सङ्कलक मानसिँह धामी बताउनुहुन्छ । उहाँका अुनसार घरको उत्पादनले खान नपुगेपछि लालाबालासहित अधिकांश स्थानीय जोखिम मोलेर पाटन जान्छन् । १२ देखि ५० वर्षसम्मका सबै मानिसहरू पाटनमा जाने गरेका छन् । यार्सा सिजन सुरु भएसँगै जिल्लाको मार्मा, नौगाड, व्याँस गाउँपालिकाका बासिन्दा पनि लेक उक्लिएपछि यहाँका कतिपय घरमा ताला लागेका छन् ।

जिल्लामा सबैभन्दा बढी अपी हिमालको लोलु, रिङ्देपानी, सतगङ्गा कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगङ्गा, चाइमटेलालगायत क्षेत्रमा सयौँ सङ्कलकहरू पुगेका छन् । यस्तै, व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवनलगायतका ठाउँमा यार्सागुम्बा सङ्कलन हुने गर्छ ।

जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि हरेक वर्ष अनुमतिपत्र जारी गर्ने गर्छ, तर सङ्कलकहरू लेक पुगिसक्दा पनि सो कार्यालयबाट हालसम्म करिब ७०० जतिले मात्रै अनुमति लिएका छन् । कार्यालयले जिल्लाका १० वटा ठाउँबाट सङ्कलन अनुमतिपत्र जारी गरिरहेको कार्यालय प्रमुख संरक्षण अधिकृत विनयकुमार झाले बताउनुभयो ।

सबैले अनिवार्य रूपमा परिचयपत्र लिएर मात्रै सङ्कलन गर्नुपर्ने कानुनी प्रावधान छ तर त्यसको पूर्ण पालना भएको देखिँदैन । जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको संरक्षण क्षेत्र कार्याले बताउने गरेको छ ।

गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट हालेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने छ ।

गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ ।भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ ।उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।

नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, ९ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि यहाँ सुरू भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)को उद्घाटन कार्यक्रममा उहाँले कनेक्टिभिटीका लागि नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको सङ्ख्या बढी छ । उहाँहरू पनि यहाँ आउन इच्छुक हुनुहुन्छ । हामीले छिमेकी मुलुकबाट पर्यटक यहाँ सोहीअनुसार योजना बनाउनुपर्छ । यहाँका उत्पादनको ‘ब्रान्डिङ’ गर्नुका साथै पर्यटक लक्षित ‘प्याकेज’हरू तयार गर्नुपर्छ ।”

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकाससँगै कनेक्टिभिटी बढाउन पनि सरोकार भएका निकायलाई अध्यक्ष ढकालले आग्रह गर्नुभयो । मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै उहाँले मार्टलाई परिस्कृत गरी ब्रान्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर ‘बौद्ध सर्किट’ विकास गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोहीअनुरूप पर्यटक आगमन बढाउन सकेमा नेपाल आर्थिक रूपमा सबल हुनुका साथै पर्यटनको आयाम परिवर्तन गर्न सकिने धारणा राख्नुभयो ।

अर्बौंको लागतमा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले पर्यटकको आवागमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको अध्यक्ष ढकालले बताउनुभयो । विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि ठोस पहल गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

“गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थललाई हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेका छन् । तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ । यो विषय पोखरा विमानस्थलमा पनि लागू हुन्छ । यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ”, उहाँले भन्नुभयो । बिआइटिएमले लुम्बिनीमा आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटकहरूको बसाइँ लम्ब्याउन र लुम्बिनीलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पनि मद्दत गर्ने अध्यक्ष ढकालले धारणा राख्नुभयो ।

“लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्न उपयुक्त छ । वर्तमान समयमा सूचना, प्रविधिको बढ्दो प्रयोगले संसारका मानिस शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन् । लुम्बिनीले स्वस्थ पर्यटन प्रवर्द्धनका लागि आदर्श र शान्त वातावरण प्रदान गर्दछ । हामी धार्मिक पर्यटक लक्षित भएर विभिन्न कल्याणकारी कार्यक्रमहरू विकास गर्न सक्छौँ”, अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले नेपालको हवाई भाडा महँगो हुँदाहुँदै सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो हुन गएको बताउँदै यसमा समीक्षा गर्न आग्रह गर्नुभयो । उहाँले भारतीय पर्यटक नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाउने प्रावधानलाई परिमार्जन गरी अन्य देशहरूबाट आउने पर्यटकले जस्तै नेपालमा मान्य हुने पाँच हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो ।

नेपालमा पर्यटनको सम्भावना अत्यधिक रहेको बताउँदै अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रले सहकार्य तथा समन्वय गरी यसबाट लाभ उठाउनसक्ने उल्लेख गर्नुभयो । विदेशी लगानीकर्तालाई पनि यहाँको पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ढुक्कसँग लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।

तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए । उनले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताए । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।

आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो । त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको थियो । तर समय अभाव भएकाले आज दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।

९४६ केजी गाँजा समातेका पराजुली बने सर्वोत्कृष्ट प्रहरी

विराटनगर । ९ सय ४६ किलोग्राम ९३८ बोरा गाँजासहित ट्रक र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिने कार्यको नेतृत्व गरेका प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले बैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’घोषित गरेको छ ।

पराजुली धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत छन् । गत बैशाख १५ गते चौबिसे गाउँपालिका ५ बोधेस्थित अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको संयुक्त प्रहरी टोलीले ना.५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरिएको ठूलो मात्रामा गाँजा बरामद गरेको थियो ।
ट्रकमा रहेका व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, पराजुलीले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, इमानदारी र साहससाथ आफ्नो कर्तव्य निर्वाह गरेका छन् ।

यसले प्रहरी संगठनप्रति जनविश्वास थप मजबुत बनाएको जनाइएको छ । प्रहरी संगठनले यस्ता उत्कृष्ट कार्य सम्पादन गर्ने सुरक्षाकर्मीलाई हौसला र प्रेरणा दिनका लागि ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै आएको छ ।

डाइनामिक ब्रोकर डीजीहबको अत्याधुनिक एयर ट्रेडमा, आईतबारदेखि लगानीकर्तालाई नयाँ टीएमएस प्रणाली

काठमाडौं । डाइनामिक ब्रोकर (ब्रोकर नं ४४) एयर ट्रेडमा जोडिएको छ । अत्याधुनिक नयाँ टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा डाइनामिक ब्रोकरले आफ्नो टीएमएसलाई जोडेको हो ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको डाइनामिकले आईतबारदेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ । डाइनामिकले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आईबारदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।

हाल डाइनामिक ब्रोकरमा करिव ४ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आईबारदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।

जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषतहरुमाः
१ मोबाईल भर्सन (ब्लमचयष्म बलम क्ष्इक्)
२ वेब भर्सन
३ डेस्कटप भर्सन रहेको छ ।
अन्य अपरेसनल बिशेषतहरुमाः
१ सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर लाई भनी राख्नु नपर्ने ।
२ आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने ।
३ एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने ।
४ अर्डर बास्केट ।
५ आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने ।
६ रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने ।
७ सजिलो र छिटो अर्डर राख्न सकिने ।
८ आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने ।
९ लिन्क एन्ड डक फिचर्स भएको ।
१० मल्टी विन्डो फिचर्स भएको ।
११ मल्टी एक्सचेन्ज फिचर्स भएको ।
१२ सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको ।

अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर वादहरुको पछाडि नलागौं :गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले असमानताको अन्त्य चाहन्छौ भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छाड्नै हुदैँन् भन्ने कुरा पनि खासै सही नभएको भन्दै असमानताको अन्त्य गर्ने हो भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताए ।

उनले भने, ‘समानताको मुद्दा एकदमै जायज हो । यस्तो मुद्दा सम्बोधन गर्नको लागि त्यही नै जानुपर्छ । ०६३ सालपछि केही हदसम्म गएका छौ । हामी असमानताको अन्त्य चाहन्छौ भने पुँजीवाद अन्त्य हुन लाग्यो, यो त्यो भन्नेतर्फ नलागौं । कसैले सबै सत्य देखेको पनि हुदैँन् । अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छोड्नै हुदैँन् भन्ने कुरा पनि खासै सही होईन् ।’

कुनै पनि वादहरु प्रति पूर्वाग्रह नराखि सबै वादको राम्रो कुराहरु लिएर अगाडि बढ्नु पर्ने पनि उनको भनाई छ । यस्तै, उनले असमानताले देशलाई अगाडि नबढाउने भन्दै कम्युनिष्ट आन्दोलनको राम्रो योगदान नै समानता भएको बताए ।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनको राम्रो योगदान हाम्रो देशमा के हो भने समानतामा जुन जोड दिनु भएको छ, त्यो हामीलाई एकदमै काम लाग्ने कुरा हो । हाम्रो देश दुई चारवटा जातले मजाले लुटेर खाएको ठाँउ हो । अहिले पनि त्यस्तै त्यस्तै छ । यो असमानताले हाम्रो देशलाई अगाडि बढाउँदैन । यहाँ १ सय ४०, ४५ वटा समूदाय, भाषा छ ।’

श्रम क्षेत्रको नीति र कानुनको आधार कांग्रेसले तयार पारेको हो : सभापति देउवा

काठमाडौँ, ९ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रम क्षेत्रको नीति र कानुनको आधार पार्टीले नै तयार पारेको बताउनुभएको छ ।

कांग्रेस, श्रमिक तथा ट्रेड युनियन विभागले आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको पेसागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि ‘श्रमजीवीका कुरा’ विषयक कार्यक्रममा उहाँले कांग्रेसकै सरकारले कारखाना सम्बन्धी ऐन, २०१६, श्रम ऐन, २०४८ (संशोधित २०७४), योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ संसद्बाट पारित गराएको बताउनुभयो ।

“मैले नै २०५७ सालमा कमैयाहरूलाई मुक्त गराएको हो, यसर्थ श्रम क्षेत्रको नीति र कानुनको पूर्वाधार कांग्रेसले नै निर्माण गरेको हो, श्रम ऐनको १४५ र १८० लगायतका कतिपय दफाहरू श्रमिक प्रतिकूल भएको र सरकारले तोकेको न्यूनतम ज्यालासमेत श्रम क्षेत्रमा कार्यान्वयन नहुनुमा श्रम निरीक्षण प्रणालीको कमजोरी हुनसक्छ, यसको पुनर्विचार हुन्छ”, सभापति देउवाले भन्नुभयो ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनको सङ्गठन गर्ने अधिकारसम्बन्धी अभिसन्धि ८७ नेपालले पारित गर्नुपर्ने एवं संवैधानिक श्रम आयोग गठन हुनुपर्ने कुराका साथै श्रम कानुन परिमार्जन गरी कार्यान्वयनमा ल्याउन कांग्रेसले पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । शिक्षा र निजामती विधेयक अघि बढाउने विषयमा पनि पार्टी दृढ रहेको सभापति देउवाले दोहोर्‍याउनुभयो ।

समाजवादी अवधारणा अनुसार सामाजिक सुरक्षा भत्ता नसक्नेलाई उपलब्ध गराउनुपर्ने, अनौपचारिक क्षेत्रका श्रमजीवीलाई योगदानमा आधारित सामाजिक सुरक्षा सहज रूपमा उपलब्ध गराउन कानुन संशोधन गरेर कार्यान्वयन गराउने पनि उहाँको वाचा छ । अनौपचारिक क्षेत्रका श्रमिकको पहिचान र पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न कांग्रेसले पहल गर्ने सभापति देउवाले बताउनुभयो ।

राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकतामा राखी युवा जनशक्तिलाई स्वदेशमै रोजगार दिन पहल गरिने सभापति देउवाले बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा डा महानन्द चालिसे र चार्टर्ड एकाउन्टेन्ट अर्जुनकुमार गौतमले श्रमिकका अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि श्रमिकहरूले विचार राख्ने कांग्रेसले जनाएको छ ।

एआईको सदुपयोग गरी सकारात्मक उपलब्धिका लागि प्रयोग गर्नुपर्नेमा शिक्षामन्त्री पन्तको जोड

ललितपुर, ९ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुनाथ पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम बौद्धिकता (एआई)को सदुपयोग गरी सकारात्मक उपलब्धि हासिल गर्न प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’को २९औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पन्तले एआईलाई आधारभूत मूल्य, मान्यतासहित सदुपयोग गर्दै सकारात्मक नतिजा आउने गरी प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “कृत्रिम बौद्धिकताको सदुपयोग गर्न सकेमा यो सहयोगी बन्न सक्छ । गलत तरिकाले प्रयोग गरिएमा यसले असहज स्थिति निम्त्याउन सक्छ, तसर्थ हामी सहज हुँदै यसको प्रयोग गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

डिजिटल सञ्चारमाध्यमको विकास र प्रसारसँगै पत्रकारले सम्पादकको अनुमतिका लागि कसैको आदेश पर्खिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आजका सञ्चारमाध्यमले प्रतिभावान् र क्षमतावान् व्यक्तिका लागि नयाँ अवसरहरू सिर्जना गरेकाले कसले आफ्नो क्षमता कति विकास गर्छ भन्ने विषय मेहनत र सक्रियताले निर्धारण गर्दछ ।”

मन्त्री पन्तले डिजिटल प्रविधिका कारण मोबाइल र अनलाइनमार्फत रेडियो सुन्न सकिने भएकाले सामुदायिक रेडियोलाई प्रविधिसँग जोडेर अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामुदायिक रेडियोहरूले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका बताउँदै भन्नुभयो, “सामुदायिक रेडियो सञ्चालनमा केही जटिलता छन्, ती समस्याको समाधानका लागि मन्त्रालयबाट आवश्यक समन्वय र सहयोग गरिनेछ ।”

कार्यक्रमको प्रमुख विषयवस्तु ‘डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताले ल्याएको चुनौती र अवसर’ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले एआईलाई चुनौती होइन, अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कृत्रिम बौद्धिकतालाई स्वयं प्रयोग गरेर तथ्यहीन सामग्रीको सत्यता पत्ता लगाउन सकिन्छ, यसमा आफू सचेत हुनु जरुरी छ । प्रविधिको विकाससँगै हामीले पनि आफ्नो क्षमताको पनि विकास गर्दै जानुपर्छ ।”

वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार सकारात्मक छ : मुख्यमन्त्री आचार्य

देउखुरी (दाङ), ९ जेठ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशको पहिलो परिषद् भेला उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासङ्घमा आबद्ध सदस्यहरू आन्दोलनका नाममा भावनामा बग्न जरूरी नरहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, “भावनामा बग्न जरूरी छैन । वार्ताबाट समाधान निस्कन्छ । समस्याको समाधान निकाल्ने प्रयास भइरहेको छ । समस्या तपाईं हामी मिलेर छलफल गरेर समाधान गर्ने हो । सरकार सामुदायिक वन उपभोक्ताहरूको मागका बारेमा गम्भीर छ ।”

व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासङ्घको बीचमा दूरी बढाउने काम गरेको उल्लेख गर्दै उहाँले यस्ता प्रवृत्तिबाट सचेत रहनुपर्ने धारणा राख्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनीका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, मन्त्रालयका प्रतिनिधि तथा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

कीर्तिपुर (काठमाडौँ), ९ जेठ : आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो ।

कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले राससलाई बताउनुभयो ।

“अहिले उपकरणहरूको परीक्षण र समग्र सुरूङमार्गको कार्यमा त्यसलाई संयोजना सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ,” इञ्जिनियर कोइरालाले भन्नुभयो, “अहिले उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको छ र त्यो निकाय छनोट भएपछि पनि त्यसपछि तालिम लिनुपर्ने हुन्छ । त्यसमा पनि दुई महिना जति लाग्न सक्छ ।”

उहाँका अनुसार आयोजनाले सुरूङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरूङभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्जिनको निरन्तर प्रवाहजस्ता सुरूङमार्गका अत्यावश्यक सेवा (टनेल फ्यासिसिटी) उपलब्ध गराउने कामलाई अन्तिम रूप दिइरहेको छ ।

पूर्वी मुखमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाको दहचोकबाट सुरू हुने कूल २ दशमलव ७ किलोमिटर लामो सुरूङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । त्यसैको समानान्तर उद्धार आदि कार्यका लागि समानान्तर सहायक सुरूङसमेत खनिएको छ ।

सञ्चालनमा आएपछि नागढुङ्गादेखि बलम्बुसम्मको भौतिक दूरी करिब तीन किलोमिटरले छोटिनेछ भने प्रचलित मार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडक उपभोक्ताको झण्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ ।

सुरूङमार्ग निर्माणमा सुरूमा देखिएका भौगोलिक अनिश्चिता, बजेटको व्यवस्था र स्थानीयसँगको संयोजनलाई आयोजना अनुकूल बनाउँदै भौतिक प्रगति हासिल गरिएको पनि इञ्जिनियर कोइराला बताउनुहुन्छ । सुरूङमार्गमा निस्किएको पानीको व्यवस्थापनबारे स्थानीय जनता, चन्द्रागिरि नगरपालिका र धुनीबेँसी नगरपालिकाबीच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

आयोजनाले सिस्ने खोलातर्फ बनाउन लागेको पार्कको काम भने जग्गाको स्वामित्वबारे विवादका कारण स्थगित गरिएको कोइरालले जानकारी दिनुभयो । मालपोतकै दस्तावेजमा जग्गा धनीको महलमा सडक विभाग र व्यक्ति दुवैको नाम परेका कारण त्यहाँ अप्ठ्यारो परेको उहाँले बताउनुभयो ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

जनकपुर । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले २ जना मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गरेको छ ।मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा गठन गरिएको सरकारमा सहभागी जनमत पार्टीकै वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ ।

बिहीबार अबेर साँझ गरेको पुनर्गठनमा सञ्जय कुमार यादवलाई वन तथा वातावरण मन्त्रालय र वसन्त कुशवाहालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुलाई अबेर साँझ नै सपथ ग्रहण गराइएको छ । सपथग्रहण गरे लगतै दुवै जना मन्त्रीले आ–आफ्नो मन्त्रालयमा कार्यभार ग्रहण गरेका छन् ।

बजेट ल्याउन १७ दिनमात्र बाँकी रहँदा मन्त्री फेरबदल गरेकोले मधेश प्रदेश सरकारप्रति सामाजिक सञ्जालहरुमा नाकारात्मक टिप्पिन हुन लागेको छ ।

प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्छन् । पर्सा–४ बाट निर्वाचित उनीसँग देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र युवाको विदेश गमनलगायत समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईँको पछिल्लो संसदीय अभ्यासको अनुभव कस्तो भइरहेको छ ?

मसँग यसअघि पनि संसद्को अनुभव छ । तर, अहिलेको संसदीय गतिविधि हेर्दा सक्रियताका साथ अगाडि बढिरहेको छ । संसद् पछिल्लो समयमा कानुन निर्माणको पाटोमा अलि बढी सक्रिय छ । अहिले बर्खे अधिवेशन चलिरहेको छ । यो अधिवेशन बजेट अधिवेशन हो । सरकारले ल्याएको नीति तथा कार्याक्रममाथि पर्याप्त छलफलपछि पारित भएको छ । सँगसँगै संसद्ले कान्न निर्माणलाई पनि प्राथमिकता दिएको छ । सदनमा जनताका जल्दाबल्दा सवाल पनि उठिरहेकै छ । कतिपय जनताका सवाललाई सरकारले सम्बोधन पनि गरेको छ । संसद्ले अस्थिरताका बीच दुई ठूला दल सम्मिलित स्थिर सरकार दिएको छ ।

संविधान कार्यान्वयनलाई कसरी विश्लेषण गर्नुभएको छ ?

हामी सबै राजनीति दलले धेरै मेहनत गरेर संविधान बनाएका छौँ । तर राम्राका लागि कोसिस भए पनि उत्कृष्ट संविधान दिन सकेनौँ । फलस्वरुप मुलुकमा सरकार स्थिर हुन सकेन । अधिकारसम्पन्न शक्तिशाली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने कुरा संविधानमा उल्लेख गर्नुपर्ने थियो । त्यसैले अहिले संविधानप्रति म सन्तुष्ट छैन । मेरो अनुभवमा संविधान अलि विचार पुर्याएर बनाउन सकिएन कि भन्ने लागेको छ । तैपनि संविधानका केही प्रावधान कार्यान्वयन भएको छ । यो राम्रो कुरा हो ।

संविधान संशोधनबारे तपाईँको धारणा के छ ?

संविधान संशोधन अहिलेको मुख्य आवश्यकता हो । संविधान संशोधन नगरी मुलुकले समृद्धिको बाटो लिन्छ जस्तो मलाई लागेको छैन । संविधान संशोधन गरेरै स्थिर सरकारको व्यवस्था गर्नुपर्छ । ‘थ्रेस होल्ड’ र समानुपातिक÷समावेशी निर्वाचन प्रर्णालीलाई संशोधन गर्नुपर्ने छ । तर जनताको सुझावसहित संविधान संशोधनमा सबै दलबीच सहमति हुन जरुरी छ । सरकारले संविधान संशोधनमा सम्भव भएसम्म सबैलाई सहमतिमा ल्याउनुपर्छ । स्थिर सरकारका लागि ‘थ्रेसहोल्ड’ बढाउनुपर्छ ।

अहिलेको शासन व्यवस्थाप्रति तपाईँको धारणा के छ ?

हामीसँग सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ । प्रदेशप्रति आम जनताको भावना राम्रो छैन । तर, सबै हिसाबले हेर्दा यसको व्यवस्थापनमा समस्या भइरहेको छ । प्रतिनिधिसभा सदस्यको सङ्ख्या धेरै भयो । धेरै खर्चिलो भयो । प्रतिनिधिसभाका सदस्य एक सय ६५ भए काफी हुन्छ । त्यसका लागि निर्वाचन प्रणालीमा सोचविचार गर्नुपर्छ । यदि बढाउने हो भने २०४८ सालमा जस्तै दुई सय पाँचभन्दा बढी बढाउनै हुँदैन । त्यहीअनुसार सङ्घीय मन्त्रालयको सङ्ख्या पनि कम गर्नुपर्छ । प्रदेश सांसदको सङ्ख्या र मन्त्रालयको सङ्ख्या पनि घटाउनुपर्छ । स्थानीय तहलाई पनि चुस्त बनाउनुपर्छ । समग्रमा आर्थिक हिसाबले मुलुकले धान्ने गरी शासन व्यवस्था हुनुपर्छ ।

राष्ट्रियसभालाई कसरी हेर्नुभएको छ ?

राष्ट्रियसभा संवैधानिक व्यवस्था हो । अब अहिले यसलाई हटाउन पनि गाह्रो छ । तर पनि अलि सानो बनाउन जरुरी छ । राष्ट्रियसभामा राजनीतिक व्यक्तित्वभन्दा पनि समाजमा उत्कृष्ट योगदान दिएका व्यक्ति हुनुपर्छ । समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिको प्रतिनिधित्व हुनुपर्छ । खास भन्ने हो भने राष्ट्रियसभा भनेको गैरराजनीतिक व्यक्तिलाई विज्ञका आधारमा छनोट गर्ने हो । यो सभाको सदस्यको सङ्ख्या ३५ जनामात्र भए पनि पर्याप्त हुन्छ ।

तपाईँ निर्वाचित पर्सा जिल्लाको निम्ति तपाईंले गर्नुभएको मुख्य काम के–के हुन् ?

पर्सा जिल्लामा सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो । यो जिल्लाको मात्र होइन, मधेस प्रदेशसहित सिङ्गो देशकै समस्या हो । मैले मेरो निर्वाचन क्षेत्रमा रोजगारीका निम्ति सरकारसँग पहल गरिरहेको छु । अर्को, पर्सामा सडकको पनि समस्या छ । सडक निर्माणका निम्ति हामी सांसद आफैँ कार्यकारी होइन । त्यसका लागि सरकारका मन्त्री, वडाध्यक्ष र पालिका प्रमुख हो । तर पनि मैले व्यक्तिगत रूपमा त्यस क्षेत्रको समग्र विकासका निम्ति आफूले सकेको पहल गरिरहेको छु । तराईमा सबैभन्दा बढी स्वास्थ्य र शिक्षाको समस्या छ । तर, देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पहिलाको तुलनामा धेरै विकास भएको छ ।

जनताको अवस्थालाई तपाईँले कसरी विश्लेषण गर्नुभएको छ ?

देशमा केही गर्न सकिँदैन, देशमा केही पनि हुन सक्दैन भन्ने भाष्य जबर्जस्त निर्माण गरिँदै छ । तीन तहको सरकारमा खर्च बढी भयो भन्ने हुनसक्छ । तर सरकारले कामै गरेको छैन भन्ने होइन । सञ्चार, शिक्षा, विकासमा धेरै परिर्वतन भएको छ । सरकारले पनि तीव्रगतिमा काम गरिरहेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत युवा उद्यमशीलताको कार्यक्रम ल्याएको छ । प्रदेश र स्थानीय सरकारले पनि त्यहीअनुसार काम गर्दै आएको छ । त्यसैले देशको व्यवस्थाअनुसार जनताको अवस्थामा पनि क्रमिक सुधार हुँदै गएको छ । अब छिट्टै पूर्ण रूपमा सुधार हुन्छ ।

युवा पलायनका सन्दर्भमा तपाईँको बुझाइ के छ ?

नेपाली युवा अध्ययनका लागि विदेश जाने सवाल स्वाभाविक हो । गुणस्तरीय शिक्षाका निम्ति नेपालबाट मात्र होइन, अन्य देशका युवाले पनि देश छाडेका छन् । हामी ‘ग्लोबलाइजेसन’ र ‘डिजिटलाइजेसन’को युगमा छौँ । घरमा बसेर संसार हेर्न र बुझ्न सकिन्छ । दक्षिण कोरियाले पनि ७० को दशकतिर कानुन नै बनाएर खाडीलगायत अन्य मुलुकतिर रोजगारीका निम्ति मान्छे पठाउने गरेको थियो । पछि आफ्नो देश समृद्ध भएपछि उनीहरु फर्किएका थिए । त्यसैले युवा पलायनलाई अन्यथा लिनु हुँदैन । विदेश जाने मात्र होइन, नेपाली युवा देशभित्र फर्किएर आफ्नो व्यापारव्यवसाय गरेका पनि छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । नेपाल समृद्धितिर जान थालेपछि स्वाभाविक रूपमा नेपालीहरू आफ्नो देश फर्किने छन् । तर पनि हामीले शिक्षा प्रणालीलाई थप सुदृढ गरेर रोजगारमूलक बनाउनुपर्ने छ । हामीले नेपालका युवामात्र विदेश गएका देखेका छौँ । रोजगारीका सिलसिलामा विदेशबाट नेपाल पनि आएका छन् । नेपालबाट अन्य देश जाने पनि छन् ।

देशमा सुशासन कायम गर्न के गर्न सकिन्छ होला ?

सुशासनका निम्ति भ्रष्टाचारलाई पूर्ण रूपमा निर्मूल पार्नुपर्छ । कानुनको पूर्ण कार्यान्वयन गर्नुपर्छ । जनतालाई कानुनभन्दा माथि कोही हुँदैन भन्ने आभास दिन सक्नुपर्छ । कानुन नमान्ने जोकोही दण्डित हुनुपर्छ । सरकार र राज्यप्रति जनताको विशवास जगाउन सक्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्न राजनीतिक दलले भ्रष्टाचारीलाई संरक्षण दिनु हुँदैन । कानुनको नजरमा भ्रष्टाचार गर्ने सबै दोषी हुन् ।

देशमा उद्योग, कलकारखाना सञ्चालन गर्न के गर्नुपर्छ होला ?

देशका धेरै कानुन विकासविरोधी छन् । सरकार आफैँले उद्योग–व्यापार गर्ने होइन । यो निजी क्षेत्रले गर्ने हो । निजी क्षेत्रसँग पैसा पनि छ । हामीले निजी क्षेत्रलाई विश्वास दिलाउन सक्नुपर्छ । निजी क्षेत्रले उद्योग खोलेर सञ्चालन गर्ने सवालमा कानुनी बाधा अड्चन छन् भने सरकारले त्यसको समाधान गर्नुपर्छ । सरकारले मात्र गरेर हुँदैन । निजी क्षेत्रको सक्रियताबिना मुलुक समृद्ध हुन सक्दैन । सडक निर्माणदेखि हरेक काम निजी क्षेत्रलाई दिन सक्नुपर्छ ।

देशको आर्थिक विकासका निम्ति तपाईँको सुझाव के छ ?

निजगढ–काठमाडौँ द्रूतमार्ग निर्माणका लागि भारतबाट निजी कम्पनी आएको थियो । भारतीय निजी क्षेत्रलाई ठेक्का दिँदा हामीले त्यसको विरोध गरियो । पछि नेपाली सेनालाई जिम्मा दिँदा त्यसको खर्च बढी आएको छ । सरकारले सबै काम गरेर साध्य हुँदैन । सरकारी निकायमा एउटा राजनीतिक नेतृत्व आउँछ, उसले आफ्ना मान्छे मात्र भर्ती गर्छ । म आफैँ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा उदयपुर सिमेन्ट कारखानाको हविगत देखेको छु । मैले सरकारी कर्मचारी भनेर कामै नगरिकन ‘ओभरटाइम’को पैसा लिएको देखेको छु । त्यसैले विकासको काम निजी क्षेत्रलाई नदिइकन सम्भव नै छैन । सरकार आफैँले हवाईजहाज चलाएर सक्छ ? अमेरिकाजस्तो देशमा सरकारको आफ्नो एयरलाइन्स छैन ।

अन्त्यमा, आमजनताप्रति तपाईँको सन्देश के छ ?

म जनतालाई धैर्य गर्न आह्वान गर्दछु । देश अहिले सही बाटोमा छ । देशको व्यवस्था परिवर्तन भएको छ । अब अवस्थालाई परिवर्तन गर्ने प्रयास भइरहको छ । देश बन्दैन भन्ने भाष्य गलत छ । देश बनिरहेको छ । अझै राम्रो बन्छ । अब राजनीतिमा पनि पढेलेखेका युवा शक्तिको बर्चस्व छ । सकारात्मक सोच राखौँ । देश बन्छ ।

आइपिएलःलगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार

काठमाडौं । लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई पराजित गर्दै सिजनको छैठौं जित दर्ता गरेको छ । बिहीबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा दुई विकेट गुमाउँदै २३५ रन बनाएको थियो।

जवाफमा गुजरातले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो। घरेलु मैदानमा लगातार चार जितपछि गुजरातको यो पहिलो हार हो।
पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। लखनउ भने यस अघि नै आईपीएलबाट बाहिरिएको छ।

लखनउ १२ अङ्क सहित छैटौँ स्थानमा छ। गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ।

रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।

बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन्। सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् र त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

बन्दी प्रत्यक्षीकरणको रिटको अन्तिम आदेश आज आउने सम्भावना रहेको अधिवक्ता प्रमोद न्यौपानेले जानकारी दिएका छन् । उनले भने,‘नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाई भईरहेको छ ।

आजसम्म प्रतिवादीका कानून व्यवसायीहरु वकिलले बहस गरे भने अब बाकी जाहेरवालाका तर्फबाट बहस गर्न बाकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्भवत आज बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्वरको निवेदनको संयुक्तरुपमा सुनुवाई भएकाले आदेश आउने सम्भावना छ न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ ।

खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य

गलकोट (बागलुङ), ९ जेठः दश वर्षअघि बडिगाड गाउँपालिका दगातुन्डाँडामा प्रारम्भ भएको ‘एक घर, एक धारा’ योजना हालसम्म पूरा नहुँदा त्यहाँका तीन सय ८० परिवार काकाकुलको नियति भोग्न बाध्य छन् ।

दगातुन्डाँडाका बासिन्दा खानेपानीकै कारण बसाइँ सर्न थालेका छन् । विसं २०४८ सालमा ल्याइएको खानेपानीको सार्वजनिक धारामार्फत सात सय घरपरिवार लाभान्वित गाउँमा २०७२ सालमा सोही खानेपानी मुहानमा तीन सय ८० घरलाई धारा पुर्याउन नयाँ योजना थालिएको थियो ।

पच्चीस वर्ष पुरानो योजना जीर्ण बनेपछि ‘एक घर, एक धारा’ निर्माण प्रारम्भ भए पनि १० वर्षमा पनि पूरा नभएपछि स्थानीय आक्रोशित छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट नयाँ योजनामार्फत तीन सय ८० घरलाई खानेपानी पुर्याउने प्रयास प्रारम्भ भए पनि बजेट अभावमा १० वर्ष बित्दा पनि योजना पूरा नभएको हो । खानेपानी अभावमा स्थानीय बसाइँ हिँड्न थालेको दतातुन्डाँडाका पूर्वप्रधानपञ्च प्रेमलाल सापकोटाले बताउनुभयो ।

“तारेभिरको मुहानको खानेपानी १३ किलोमिटर तलको गाउँमा आएपछि दगातुन्डाँडावासीलाई २०४८ सालमा राहत मिलेको थियो, तर योजना २५ वर्ष पुरानो भएपछि ‘एक घर, एक धारा’ योजना ल्याइएको थियो । उक्त योजना थालेको १० वर्षसम्म पूरा भएन”, पूर्वप्रधानपञ्च सापकोटाले भन्नुभयो ।

स्थानीयको मागअनुसार वडाभर नै एक घर, एक धारा निर्माणका लागि योजना २०७२ सालमा थाले पनि बजेट अभावमा खानेपानी योजना अपूरै रहँदा समस्या भएको स्थानीय भीमलाल पोखरलले बताउनुभयो ।

दुर्लुङ, रायाँ, हमेल, नौतुवा, बेतनी, भट्टनी, थान, ढाँड, प्यालपोखरी, तुन्डाँडा, दगाको सबै गाउँ, जिमी, टुटीफेद र गहते गाउँका स्थानीयका तीन सय ८० घरमध्ये अहिले सम्म एक सय ६७ घरमा मात्र धारा पुगेको र पानी वितरणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सुदीप आचार्यले जानकारी दिनुभयो ।

स्थानीयको श्रमदानसहित रु पाँच करोड लागत अनुमान गरिएको तारेभिर खानेपानी आयोजनामा हालसम्म रु दुई करोड ४५ लाख बजेट खर्च भइसकेको छ । आव २०७२÷७३ देखि सुरु भएको योजनामा हालसम्म आठ वटा पानी सङ्कलन ट्याङ्की, १३ किलोमिटर मुख्य पाइपलाइन, आठ किमी वितरण पाइपलाइन तयार भएको इञ्जिनियर आचार्यले बताउनुभयो ।चालु आवमा एक सय ३५ घरमा धारा जडान गर्ने र तीन सय ८० घरमध्ये दुई सय ३५ घरमा पानी आपूर्ति गरिने उहाँले बताउनुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ९ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १२, काउली (स्थानीय) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ३०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १२०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ७००, निगुरो प्रतिकिलो रु २५ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १७०, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २००, आभोकाडो प्रतिकिलो रु ७५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु ५५, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो।मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो। नगरप्रमुख विष्ट र उप–प्रमुख गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए, जसले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।

कार्यक्रमका क्रममा नगरप्रमुख विष्टले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिए। “ज्येष्ठ नागरिकहरूप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य हो,” उनले भने। साथै उनले कोटिहोमका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उनले स्पष्ट पारे।

प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावना प्रति प्रशंसा व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको सहभागिताले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

यस महायज्ञमा पहिलोपटक पोखरा बाहिरका पालिकाका प्रमुखहरूको उपस्थिति देखिएको हो, जसले कार्यक्रमलाई राष्ट्रिय स्तरको स्वरूप दिएको छ। थाहा नगरपालिकाको सहभागिता यस अर्थमा विशेष रह्यो कि त्यो नगरको प्रतिनिधित्व गर्दै प्रमुख तथा उपप्रमुख दुबै उपस्थित भएका थिए।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले पनि नगरप्रमुख विष्टको उपस्थिति र सहयोगको खुलेर प्रशंसा गर्दै भने, “हामीप्रति कुनै रिसराग छैन। म र हाम्रो मानव सेवा फाउण्डेशन सधैं स्वागत गर्न तत्पर छौं।” उनले अन्य नगर र पालिकाका अध्यक्षहरूलाई पनि आउन र सहभागिता जनाउन आह्वान गरे।

कार्यक्रमको दौरान कोटिहोम सम्पूर्ण स्थलमा नगरप्रमुख सहितको टोलीले भ्रमण गरेको थियो। विभिन्न भागहरूमा पुगेर कार्यक्रमको अवलोकन गर्दा भक्तजनहरूले उत्साहपूर्वक ताली बजाएर स्वागत गरेका थिए। प्रवचन स्थलमा विद्युत सजावट, फूलमालाले सजाइएको प्रवेशद्वार, र सांस्कृतिक कार्यक्रमहरूले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो।

यस्ता कार्यक्रमहरूले धर्म, संस्कृति र सामाजिक समृद्धिलाई जोड्ने पुलको काम गर्छन् भन्ने जनविश्वास रहेको छ। नागरिकहरूले स्थानीय जनप्रतिनिधिहरूको सक्रियताले उनीहरूप्रति जनस्तरको विश्वास अझ मजबुत हुने बताए।

परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

काठमाडौँ । परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गर्न विश्वभरका कूटनीतिक नियोगहरूलाई पत्राचार गरेको छ ।
यो सँगै एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)लाई नेपाल सरकारले मान्यता प्रदान गरेको हो ।

सर्वोच्च अदालतको परमादेशबाट गठित शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले गत मे ३–४ ९वैशाख २०–२१० मा काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

महाधिवेशन रोक्न असफल भए पछि महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई काम गर्न नदिनु भन्ने माग गर्दै बद्री केसीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरी श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई काम गर्न खुला गरिदिएको छ। यसै पृष्ठभूमिमा परराष्ट्रको पत्रले अब श्रेष्ठ नेतृत्वको कार्यसमिति नै वैध भएको प्रस्ट भएको यस क्षेत्रका जानकारहरूले बताएका छन् ।परराष्ट्रको यो निर्णयले लामो समयदेखि चल्दै आएको एनआरएनएको नेतृत्व विवादलाई समाधान गर्ने अपेक्षा गरिएको छ ।

नव निर्वाचित श्रेष्ठ नेतृत्वको कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन सुरु गरिसकेको छ । परराष्ट्रको पत्रपछि एनआरएनएका महासचिव बाबुराम ९बीआर० लामाले विश्वभरका राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० हरूलाई अब कुनै पनि भ्रममा नपर्न र एनसीसीहरुको सदस्यता वितरण लगायत राष्ट्रिय अधिवेशन आयोजना गर्दा नवनिर्वाचित आईसीसीसँग समन्वय गरेर काम गर्न अनुरोध गरेका छन् ।

यसैगरी अध्यक्ष श्रेष्ठले नेपाल सरकार, माननीय परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा, परराष्ट्र सचिव लगायत यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अभियानलाई सशक्त बनाउनका लागि एकजुट हुन अपिल गरेका छन् । ‘अब धेरै भयो, एनआरएन अभियानलाई उचाइमा र्पुयाउन सबैको सामूहिक पहल जरुरी छ, अब हामी एकजुट भएर सरकारसँग आफ्ना मुद्दाहरू सम्बोधन गराउन अभियानमा जुट्ने बेला आएको छ,ु उनले भने।

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती,बीउ बिक्री गरेर मात्रै बार्षिक सात लाख आम्दानी

पर्वत, ९ जेठ : कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिनुभएको छ । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आउनुभएको छ । उहाँको काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।

विगत दुई दशकदेखि व्यावसायिक कृषिमा होमिनुभएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्नुहुन्थ्यो । उहाँले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्नुहुन्थ्यो । जब २०७९ सालको निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभयो त्यसपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्राखेतीमा लाग्नुभएको हो ।

क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आउनुभएको हो । अहिले उहाँले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गर्नुभएको छ । उहाँले हरेक वर्ष रू पाँचदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आउनुभएको छ ।

उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उहाँको पेसामा श्रीमान् सोमबहादुरले साथ दिनुभएको छ । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गर्नुभएको छ । “हाम्रो परिवारले मात्र रू सात लाखसम्मको बीउ, बिक्री गर्छौँ, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ”, उपप्रमुख क्षेत्रीले भन्नुभयो, “जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु” जनप्रतिनिधिको कर्मचारीजस्तो बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्मको कार्यसमय हुँदैन, साँझबिहान जतिबेला पनि जनताको सेवामा जानुपर्छ, कहिलेकाहीँ खाली रहेको समय तरकारी र गोठमा पालेका वस्तुभाउको स्याहारसुसारमा पनि लाग्ने गरेकी छु ।”

कृषिकर्म गरेर कोही पनि सानो नभइने बताउँदै उपप्रमुख क्षेत्री जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही पेसालाई व्यावसायिक रूपमा अँगाल्न आफूले सुझाव दिने गरेको बताउनुहुन्छ । उहाँले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गर्नुभयो । उहाँ तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी हुनुभएको हो ।

उहाँसँग कृषिको करिब दुई दशक लामो साइनो र सङ्घर्ष रहेको छ । क्षेत्रीले भन्नुभयो, “म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु ।”

क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालदेखि सुरू भएको थियो । सुरूमा होटल व्यवसाय गर्नुभएकी क्षेत्रीले किराना पसलसँगै सुरू गरेको होटलमा दूधको माग बढेपछि गाई पाल्न थाल्नुभएको हो । विसं २०७० मा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि उहाँ त्यसको संस्थापक सचिवसमेत बन्नुभएको थियो । बीस जना सेयर सदस्यबाट रु पाँच हजारका दरले लगानी गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सहकारीमा आबद्ध गर्नुभएकी क्षेत्रीको पहलमा अहिले उक्त गाउँका झण्डै सात सय किसानले व्यावसायिक पशुपालन गरेर दूध बिक्री गर्दै आएका छन् ।

काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गर्नुहुन्छ । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक रु दुई लाखभन्दा बढीको आम्दानी गर्नुभएकी उहाँले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताउनुभयो । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उहाँको भनाइ छ । आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोहोर्याउने उहाँको इच्छाले समेत सार्थकता पाउँदै गएको उहाँको भनाइ छ । “सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।

फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यवासायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक रू छ करोड भित्रिने गरेको छ ।

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौँ, ९ जेठ :नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापछि काठमाडौँ उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने छ । यसले आवास/सरल कर्जासम्बन्धी कार्य छिटोछरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।

पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

हेटौँडा, ९ जेठ : तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन् । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ ।

नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छभने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन् । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ । नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।

‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।

नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ ।

लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन् । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ ।

नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि रहेका छन् । यस बस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो ।

एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताउनुभयो । उहाँका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “हामीले बोल्ने नेवारी भाषा काठमाडौँमा बोलिने भाषाभन्दा फरक छ”, उहाँ थप्नुहुन्छ, “शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ ।” उहाँका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन् ।

त्यसैगरी,ै यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताउनुभयो । थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उहाँ सम्झनुहुन्छ । तत्कालीन जनयुद्धमा छोरी गुमाउनुभएकी उहाँलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउनुहुन्छ । उहाँका अनुसार यहाँ पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उहाँको भनाइ छ ।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिनुभयो । यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुञ्छाललाई एउटा जीवित सङ्ग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ ।” मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिनुभयो ।

नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ । महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो । बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।

पदयात्राको समेत सम्भावना

थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौँबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हँुदै करिब तीन घण्टामा पुग्न सकिन्छ । टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरू गर्न सकिन्छ ।

बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ ।

वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हँुदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ ।

वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ । वाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ ।

चितवनमा बस र विद्युतीय कार ठोक्किँदा एक जनाको मृत्यु

भरतपुर (चितवन), ९ जेठः खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प, पूर्ण विवरण आउन बाँकी

बैतडी, ९ जेठः बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताउनुभयो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष

कञ्चनपुर, ९ जेठ : कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ ।

एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार आज शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छवटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ । करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४ दशमलव ८५७ र अर्गानोफस्फेट ६० दशमलव ५९९ प्रतिशत रहेको पाइएको छ ।

“तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भए केही दिन राख्ने र पर्खने विषादीको मात्रा घटेको पाइए मात्र खानयोग्य हुन्छ, क्वारेन्टाइन गर्नुपर्ने हुन्छ”, एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले भन्नुभयो, “विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइए विर्सजन (नष्ट) गर्नुपर्ने हुन्छ, खानयोग्य हँुदैन ।”

उहाँका अनुसार प्रयोगशालाले कार्वामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादीको परीक्षण गर्दै आएको छ । झलारी बजारमा रहेका छवटा पसलमा एकाइ कार्यालयको टोलीले अनुगमन गरी काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायतका गरी १० वटा नमूना प्रयोगशालामा जाँचका लागि सङ्कलन गरी परीक्षण गरेको छ ।

सङ्कलित नमूनामा रायोको नमूनामा ३३ दशमलव ९४८ अर्गानोफस्टेट रहेको पाइएको छ । अन्य तरकारीका सङ्कलित नमूनामा किटनाशकको अवशेष शून्य दशमलव १५० देखि २७ दशमलव ९२७ रहेको पाइएको छ । विषादीको मात्रा अत्यधिक भेटिएको तरकारी पसलबाट जफत गरी नष्ट गरिएको छ । विषादीको प्रयोग गरी करेला बिक्री गर्न ल्याउने किसानलाई पहिलोपटकका लागि सचेत गर्ने कार्य गरिएको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका कर्मचारीले बताउनुभयो ।

दुई साताअघिमात्र महेन्द्रनगरको सब्जीमण्डीमा बिक्रीका लागि राखिएको काँक्राको नमूना प्रयोगशालामा परीक्षण गर्दा खानै नहुने मात्रामा विषादी फेलापरेको थियो । चालु आवको हालसम्म प्रयोगशालाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट दुई हजार एक सय ६७ किटनाशक विषादी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ ।

सङ्कलित नमूनामध्ये १६ वटा विसर्जनयोग्य, आठवटा केही दिन पर्खनुपर्ने (क्वारेन्टाइन गर्नुपर्ने) र दुई हजार १४३ वटा खानयोग्य रहेको पाइएको छ । तरकारीका सबैभन्दा बढी नमूना कञ्चनपुरबाट आठ सय २२ वटा सङ्कलन गरिएका छन् । जसमध्ये नौवटा नमूनामा विषादीको मात्रा (विर्सजनयोग्य) अत्यधिक रूपमा फेलापरेको छ । दुईवटा नमूना केही दिन पर्खेर मात्र खानयोग्य रहेको पाइएको एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले बताउनुभयो ।

उहाँका अनुसार कैलालीमा चालु आवमा छ सय २४ तरकारीका नमूना सङ्कलन गरिएकामा पाँचवटा नमूनामा खान अयोग्य (विसर्जनयोग्य) विषादीको मात्रा फेलापरेको छ । चारवटा नमूनामा केही दिन पर्खेरमात्र खान पाइने गरी विषादी राखिएको पाइएको छ ।

प्रयोगशालाले स्थानीय तहसँगको समन्वयमा तरकारीका नमूना सङ्कलन गरी किटनाशक विषादी परीक्षण गर्दै आएको छ । देशभरिमा तरकरीको विषादी परीक्षण गर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला १२ वटा रहेका छन् । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार तरकारीमा कीरा मार्न प्रयोग गरिने विषादी मानव स्वास्थ्यका लागि हानिकारक छ । तरकारीमा छर्किने विषादीले पेट दुख्ने, बान्ता हुने, पाचन प्रणालीमा समस्या ल्याउने, टाउको दुख्ने, पक्षघात हुने, विषादीयुक्त तरकारीको लामो समयसम्म प्रयोग गरे आन्द्रा, कलेजो वा छालाको क्यान्सर हुने सम्भवना हुन्छ ।

“मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोगलाई घटाई जैविक विधिबाट तरकारी उत्पादन गरी बिक्री वितरण गर्न किसानलाई सचेत पार्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “तरकारीमा हालिने विषादीलाई न्यूनीकरण गर्न कृषि प्राविधिकले किसानका घरमै पुगेर यसले पुर्याउने हानिबारे जानकारी दिनुपर्छ ।”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ २३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।