`

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

Nepal One HD ४ पुष २०८२ २१:१६
राजनीति

जनकपुरधाम, ४ पुस : मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ प्रदेशसभा सदस्यको विश्वासको मत उहाँले प्राप्त गर्नुभएको उपसभामुख बविता राउत इशरले घोषणा गर्नुभयो ।

नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनमा जसपा नेपाल, जनमत, नेकपा (माओवादी केन्द्र), लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिएको र प्रमुख प्रतिपक्षी एमालेबाहेक सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल सङ्घीय समाजवादी पार्टीले विश्वासको मत दिएको हो ।

गत मङ्सिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले गत मङ्सिर २१ गते पद तथा गोपनीयताका शपथ लिनुभएको थियो र सोही दिन नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गर्नुभएको थियो ।

उहाँलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका छन् ।१०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा सरकारको विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ ।

प्रदेशसभामा हाल नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका नौ, लोसपाका आठ, नेकपा एकीकृत समाजवादीका सात प्रदेशसभा सदस्य छन् । त्यसैगरी राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सदस्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *