`

पूर्वीनाका काँकडभिट्टा हुँदै भारतबाट चार करोड ६० लाखको खरबुजा भित्रियो

झापा, ९ जेठ : पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा रु चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ । गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फलका रूपमा खरबुजा बजारमा लोकप्रिय छ । स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ ।

विगत १० महिनामा सबैभन्दा बढी चैतमा रु एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी खरबुजा भारतबाट आयात भएको छ । भन्सारले जनाएअनुसार चालु आवको पहिलो महिना साउनमा रु ६० लाख ५० हजार मूल्य बराबरको दुई लाख ३० हजार ८५० केजी, भदौमा रु ४८ लाख ९८ हजार मूल्य बराबरको एक लाख ८६ हजार १४० केजी, असोजमा रु ३७ लाख २९ हजार मूल्य बराबरको एक लाख ४१ हजार ४५० केजी, कात्तिकमा रु २१ लाख ३७ हजार मूल्य बराबरको ८१ हजार २४० केजी, मङ्सिरमा रु १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा रु १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ ।

त्यसैगरी, माघमा रु २२ लाख ३२ हजार मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा रु ४४ लाख ८८ हजार मूल्य बराबरको एक लाख ७३ हजार ७८९ केजी, चैतमा रु एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी र वैशाखमा रु ६५ लाख ८६ हजार मूल्य बराबरको दुई लाख ५२ हजार ६५० केजी खरबुजा आयात भएको पाइएको छ ।

विगत केही वर्षदेखि झापामा व्यावसायिक खरबुजाखेती हुने गरेको छ । तर, नेपाली उत्पादनले भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बिक्रीमा समस्या भइरहेको मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले बताउनुभयो । खनालले साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा खरबुजाखेती गर्दै आउनुभएको छ । गत वर्ष उक्त फार्ममा ३५० मेट्रिक टन खरबुजा उत्पादन भएको थियो ।

आज देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

काठमाडौँ, ९ जेठः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी , मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री

काठमाडौँ, ९ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उहाँले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज र न त देशकै विकास हुन्छ भन्नुभयो ।

उहाँले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन ।”

मन्त्री डा राणाले गैरआवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ । त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस् ।”

मन्त्री डा राणाले सर्वाेच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालैमात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीहरूलाई आग्रह पनि गर्नुभयो ।

आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै (उहाँले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नेपाली डायस्पोराका साथै आर्थिक कूटनीतिसम्बन्धी पनि अलग्गै महाशाखा स्थापना गरेर काम अघि बढाएका छौँ । यसका लागि संसारमा रहेका सबै नेपालीको महत्त्वपूर्ण भूमिका रहन्छ र नेपाल सरकारले पनि सोही प्रकारको सहयोगको अपेक्षा गरेको छ ।”

यु–१६ क्रिकेट सुदूरपश्चिम छनोट, बझाङद्वारा बैतडी पराजित

बैतडी, ८ जेठ : ‘एसिसी पुरुष यु–१६ इष्ट जोन कप’को सुदूरपश्चिम छनोट आजदेखि बैतडीमा सुरु भएको छ । दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा सुरु भएको उक्त प्रतियोगिताको नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरे ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेशबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, सचिव सिद्धराज बोकटीलगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहपश्चात् भएको पहिलो खेलमा बझाङले घरेलु टोली बैतडीमाथि ६ विकेटको जित निकालेको छ ।

बैतडीले दिएको ९६ रनको सामान्य लक्ष्य बझाङले १२ दशमलब ३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि महेन्द्र विष्टले अविजित ३९ र हिमाल दौल्यालले २४ रन बानाए । बलिङतर्फ बैतडीका अमर चन्दले तीन विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा ९५ रन मात्र बनायो । उसका लागि अमर चन्दले सर्वाधिक २१ रन बनाए । बलिङतर्फ बझाङका सुशिल रावल र सागर खड्काले तीन तीन विकेट लिए । सुसिशल खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

आजै सम्पन्न अर्को खेलमा डडेल्धुराले डोटीलाई ९ विकेटले पराजित गर्यो । डोटीले दिएको १०९ रनको लक्ष्य डडेल्धुराले ८ दशमलव एक ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । ‘प्लेयर अफ दी म्याच’ लोकेश चन्दले अविजित ४९ तथा यसकुमार कठायतले ३८ रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको डोटीले १५ ओभरमा ५ विकेटको क्षतिमा १०८ रन जोड्यो । उसका लागि महेश देउवाले ३१ र मोहन भट्टले २८ रन बनाए । बलिङतर्फ डडेल्धुराका किरन देउवाले २ विकेट लिए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आवद्ध सुदूरपश्चिमका आठ जिल्ला सहभागी छन् । समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’ मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् । छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला परे

देउखुरी (दाङ), ८ जेठ : दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला परेका छन् । डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए ।

एक भाले, दुई पोथी र चार लिङ्ग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिनुभयो । ती तस्बिर विभिन्न २३ स्थानमा जडान गरिएका क्यामेरामा कैद गरिएका हुन् । सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालयको मार्गदर्शनमा गत वर्ष मङ्सिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएका थिए ।

चालिस दिनसम्म दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएका एक सय नौ वटा ग्रिडमा क्यामेरा जडान गरी चार सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिनुभयो । उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाभित्र रहेका चार स्थानीय तह, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दङ्गीशरण गाउँपालिकाभित्रका वन क्षेत्रलाई समेटेको थियो ।

सर्वेक्षणमा डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक तथा १६ अनुसन्धानकर्ता सम्मिलित आठ टोली बनाइएको थियो । हाल सङ्कलित तथ्याङ्कको विश्लेषण कार्य जारी छ भने विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ ।

यससँगै, मध्ये तराई भूपरिधि क्षेत्रभित्र सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पूरा भएको छ । दाङ, अर्घाखाँची र कपिलवस्तु जिल्लाका चार वटा डिभिजन वन कार्यालयको समन्वयमा सम्पन्न उक्त अध्ययनमा हालसम्म जम्मा १० वयस्क बाघ अभिलेख गरिएको छ ।

प्रारम्भिक अध्ययनअनुसार ती बाघ बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु संरक्षण क्षेत्रबाट कम्दी जैविक मार्ग हुँदै ओहोरदोहार गरेको अनुमान गरिएको छ । सिमावर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणका लागि आन्तरिक तथा दुई देशबीच प्रभावकारी समन्वयको आवश्यकता छ । यस क्षेत्रमा बाघको उपस्थिति नेपाल सरकारले सञ्चालन गरेका दीर्घकालीन वन्यजन्तु संरक्षण प्रयासको सकारात्मक परिणामको रुपमा लिइएको छ । वन तथा भू–संरक्षण विभाग र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा डब्लु डब्लु एफ नेपालले मध्य तराई भूपरिधि संरक्षण रणनीति तथा कार्ययोजना कार्यान्वयनमा निरन्तर सहयोग गर्दै आएको छ ।

डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले दाङमा पहिलो पटक बाघको गणना गरिएको बताउनुभयो । वन्य जन्तु संरक्षणमा मानव जातीले सकारात्मक सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधान’ – वनमन्त्री ठकुरी

काठमाडौँ, ८ जेठ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार) को सचिवालयको मुख्यालयमा आयोजित इन्बार परिषद्को १३औँ बैठकको आज उहाँले अध्यक्षता गर्नुभएको थियो । उहाँले विश्वका जल्दाबल्दा चुनौती, जलवायु परिवर्तनका प्रभाव, जैविक विविधता संरक्षण, दिगो जीविकोपार्जन र हरित आर्थिक वृद्धिलाई सम्बोधन गर्न बाँस तथा बेतको रूपान्तरणकारी क्षमता आवश्यक रहेकामा जोड दिनुभएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।

उहाँले सदस्य राष्ट्रहरूबीच ज्ञान र विशेषज्ञता आदानप्रदानले विश्वव्यापी दिगोपनाका प्रयास सुनिश्चित गर्दै प्रकृतिमा आधारित समाधानलाई विस्तार गरिने उल्लेख गर्नुभयो ।

बैठकमा मन्त्री शाहीले अध्यक्षताका क्रममा नेपालप्रति दर्शाएको विश्वासका लागि जनवादी गणतन्त्र चीन सरकार, सबै सदस्य राष्ट्रहरू र इन्बार सचिवालयप्रति आभार व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री शाहीले उरुग्वे र डोमिनिकन गणतन्त्रलाई इन्बारको नयाँ सदस्यका रूपमा स्वागत गर्नुभयो । कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले नेपालमा पाइने बाँस तथा बेतका विभिन्न प्रजातिको महत्त्वमाथि प्रकाश पार्दै माटो तथा पानी संरक्षण र जनताको जीविकोपार्जनमा सुधारका लागि बाँस तथा बेत महत्त्वपूर्ण रहेको बताउनुभयो ।

परिषद्को बैठकमा इन्बारका सदस्य राष्ट्रहरू तथा पर्यवेक्षक राष्ट्रहरूका प्रतिनिधिहरूको सहभागिता थियो । सन् १९९७ मा स्थापित, अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन एक अन्तरसरकारी विकास सङ्गठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दै आएको छ ।

मन्त्री शाही नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही जेठ १० गते स्वदेश फर्कने कार्यक्रम छ । नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो ।

सुदूरपश्चिम प्रदेश सरकार : भूमिसम्बन्धी नीति ल्याउने तयारी

सुदूरपश्चिम, ८ जेठ : सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने तयारी गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज धनगढीमा गरेको भूमि नीति मस्यौदाको छलफलका सहभागीहरुले कृषिमा आत्मनिर्भर बन्न भूमि नीति यथाशीघ्र ल्याउन सुझाव दिनुभयो ।

मस्यौदामा पर्यटन, वन क्षेत्रजस्ता संवेदनशील क्षेत्रको रेखाङ्कन गर्ने कुरा समेटिनुपर्ने सुझाव दिइएको छ । सो अवसरमा मुख्यमन्त्री कमलबहादुर शाहले भूमि नीति ल्याउन ढिलाइ गर्न नहुने बताउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाको अध्यक्षतामा भएको छलफलमा मन्त्रालयका सचिव शङ्कर साहले प्रदेशको कूल क्षेत्रफलको ४५ प्रतिशत खेतीयोग्य जग्गा रहेकामा योमध्ये १५ देखि २० प्रतिशत जग्गा बाँझो रहँदा खाद्यान्न उत्पादन पर्याप्त नभइरहेको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशमा खाद्यान्न उत्पादनतर्फ तराईका कैलाली र कञ्चनपुर जिल्ला आत्मनिर्भर रहेका छन् । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा हुने खाद्यान्न उत्पादनले त्यहाँका बासिन्दालाई वर्षभरि खान पुग्दैन । सचिव साहले भन्नुभयो, “प्रदेशमा ८४ प्रतिशत किसान छन्, तराईका दुई जिल्ला खाद्यान्न उत्पादनमा आत्मनिर्भर रहे पनि समग्र नौवटै जिल्लाको हकमा ५० प्रतिशतलाई मात्र खान पुगेको अवस्था छ, जग्गाको खण्डीकृत खेती प्रणालीका कारण यस्तो भइरहेको छ ।”

भूमि नीतिको मस्यौदामाथिको छलफलमा प्रदेश सरकारका मन्त्री, सचिव, मतहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । भूमि नीति ल्याउने प्रयासमा रहेको सात प्रदेश सरकारमध्ये सुदूरपश्चिम प्रदेश सरकार पहिलो रहेको बताइएको छ । भूमिको वैज्ञानिक व्यवस्थापन एवं सामाजिक न्यायमा आधारित भू–उपयोगका माध्यमबाट सहकारी क्षेत्रको परिचालन गरी प्रदेशको कृषि एवं पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रको उत्पादनलाई निर्यातयोग्य अवस्थामा पु¥याउने ‘मिशन’ प्रदेश सरकारले लिएको छ ।

जनसङ्ख्या वृद्धि, आन्तरिक बसाइँसराइको चापले अत्यधिक सार्वजनिक, सरकारी, ऐलानी जग्गाको अतिक्रमण हुनु, खेतीयोग्य जग्गाको समुचित उपयोग हुन नसक्नु, तराईमा खेतीयोग्य जग्गाको व्यापक रुपमा खण्डीकरण हुनु र पहाडी क्षेत्रको जग्गा बाँझो रहनु, कूल खेतीयोग्य जग्गाको ५० प्रतिशतमा सिँचाइको सुविधा नपुग्नुजस्ता मुख्य समस्याहरु छन् ।

पेस्तोलसहित दुई युवा पक्राउ

तनहुँ, ८ जेठ : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो ।

उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोलसहित दुई युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस

गण्डकी, ८ जेठः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरूङ नेतृत्वको टोलीले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेस गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्टसमक्ष गुुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक स्रोत भएको देश भए पनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिएको उल्लेख गर्नुभयो ।
“मुलुकमा वित्तीय सङ्घीयता लागू गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग आर्थिक पाटोतर्फ मेरुदण्ड पनि हो । वित्तीय आयोग वास्तवमा देशका बौद्धिक वर्ग पूर्वप्रशासक, अर्थशास्त्री, वित्तसँग राम्रो अनुभव भएका व्यक्ति, प्राकृतिक स्रोतसाधनलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने ज्ञान भएका भएका विज्ञ सम्मिलित आयोग हो”, भट्टले भन्नुभयो ।

प्रदेश प्रमुख भट्टले छ वर्ष कार्यकाल रहने आयोगका पदाधिकारीहरू कुनै दबाब, प्रभाव र राजनीतिक बाधा अड्चनमा नअल्झिकन जिम्मेवारी पूरा गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।“सबै आयोगहरुका प्रतिवेदन बुझ्दा, अध्ययन गर्दा समस्याहरू, कमीकमजोरीहरू औँल्याएको पाएको छु । त्यसलाई सुधारका लागि प्रयास, सरोकारवालामाथि दबाब जति हुनुपर्ने हो नभएको हो कि ? भन्ने लाग्दछ”, उहाँले भन्नुभयो ।

आयोगका कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८१/०८२ का लागि सङ्घीय सञ्चित कोषबाट गण्डकी प्रदेश सरकारलाई सात अर्ब ६३ करोड र प्रदेशभित्रका स्थानीय सरकारलाई आठ अर्ब ९९ करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकामा नेपाल सरकारले सोहीबमोजिम बजेट विनियोजन गरेको बताउनुभयो ।

त्यसैगरी प्रदेशभित्रका स्थानीय सरकारलाई प्रदेश सरकारतर्फबाट एक अर्ब १६ करोड वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न सिफारिस गरिएको उहाँले उल्लेख गर्नुभयो । सरकारले सिफारिसबमोजिम बजेट विनियोजन गरे पनि प्रदेश तथा स्थानीय तहलाई महालेखा नियन्त्रकको कार्यालयले पूरै रकम हस्तान्तरण नगरेको गुरूङको भनाइ छ ।

आर्थिक वर्ष ०८१/८२ मा गण्डकी सरकारले पेस गरेको वार्षिक बजेटमा एक अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखे पनि त्यसअघिको आर्थिक वर्षमा ऋण उठाउनका लागि परिचालन गरेको नदेखिएकाले आयोगले आशङ्का व्यक्त गरेको छ ।

आयोगलाई सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तह तथा प्रदेश सञ्चित कोषबाट स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान रकमका लागि सङ्घीय सरकार र प्रदेश सरकारलाई सिफारिस गर्ने अधिकार छ ।

सङ्घीय सञ्चित कोषबाट सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँट गर्ने, मानक र पूर्वाधारका आधारमा प्रदेश र स्थानीय तह सशर्त अनुदानको आधार तय गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय तहबीच राजस्व बाँडफाँट गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहले लिनसक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्नेजस्ता अधिकारसमेत छ ।

पाटनमा यार्सागुम्बा खोज्न  गएकी महिलाको चट्याङ लागेर मृत्यु

जुम्ला, ८ जेठः चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेतिर चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिनुभयो ।

मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न जानुभएको थियो । पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ ।

तिलगाउँमा आएको बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

अदानचुली (हुम्ला), ८ जेठः यहाँको नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिराका कारण पत्ता लगाउन सरकारी विज्ञ टोली आज आइपुगेका छन् ।
बाढीपहिरोको एक हप्तापछि उनीहरु सदरमुकाम सिमकोटबाट तिलगाउँ प्रस्थान गरेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेका हुन् ।

टोलीमा जल तथा मौसम विज्ञान विभागका ‘हाइड्रोलोजिस्ट’ इञ्जिनियर सौहार्द जोशी र खानी तथा भू–गर्भ विभागका सिनियर डिभिजनल ‘जिओलोजिस्ट’ शिवकुमार बास्कोटा छन् । खराब मौसमका कारण विज्ञहरुको टोली आउन केही दिन ढिला भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

यही जेठ १ गते राति बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा क्षति पुगेको थियो । बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन् । करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ ।

स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाएका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ । काठमाडौँबाट आएको विज्ञको टोलीले वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा गरिएको छ ।

एक सातापछि प्रदेश सरकारको राहत सामग्री

हिमपहिराबाट विस्थापितलाई कर्णाली प्रदेश सरकारले एक सातापछि राहत सामग्री पठाएको छ । आज प्रदेश सरकारले राहत सामग्री पठाएको हो ।दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँका २१ परिवारका ३३ जना विस्थापित भएका हुन् । हिमपहिराका कारण मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ ।

प्रदेश सरकारले आज पाँच सेट टेन्ट (अस्थायी घर) २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेससेटलगायत राहत सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो । हिमपहिराले तिलखोला लघुजलविद्युत् आयोजनादेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ ।

रेडक्रस सोसाइटीले पनि आज राहत पु¥याएको छ । सोसाइटीको हुम्ला शाखाले प्रत्येक विस्थापित परिवारलाई एक÷एक थान त्रिपाल, एक/एक थान कम्बल र एक/एक थान म्याट्रेस पु¥याएर वितरण गरिएको शाखाका अध्यक्ष गणेश महतले बताउनुभयो । आधार विकास नेपाल नामक संस्थाले अन्य खाद्यान्न, औषधिलगायत सहयोग गरेको छ ।

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

विराटनगर, ८ जेठ : कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि आज छलफल भएको छ ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको उक्त छलफलमा कोशी प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, नारायणबहादुर मगर, सम्झना तामाङ थाम्साङ, मीना श्रेष्ठ, निर्मला लिम्बू, भीम पराजुली, मैया श्रेष्ठ, गोविन्द गिरी, डोल्मा तामाङ, कमला दर्नाल, रोहितबहादुर कार्की, नीरन राई, रामप्रसाद महतो, निमसरी राजवंशी, शोभा चेम्जोङ र गोपालबहादुर विश्वकर्माले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

यसअघि प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण गरेर जनतालाई सेवा सुविधा दिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भाषा आयोगले कोशी प्रदेशमा कामकाजका लागि सिफारिस गरेको मैथिली र लिम्बू भाषालाई कार्यान्वयमा लैजानुपर्ने भन्दै जनताको दैनिक जीवनमा अनुभूति हुने किसिमको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

शून्य समय

शून्य समयमा मुलुकको समसामयिक विषयमा कोशी प्रदेशसभा सदस्यहरु भक्तिप्रसाद सिटौला, हिमाल कार्की र इस्राइल मञ्जुरीले विभिन्न समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए । कोशी प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

१९ बर्षसम्म द्वन्द्व पीडितका मुद्दालाई थाँती राख्नु सामान्य कुरा होइन् : डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई छिटो सम्पन्न गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालिन न्यायको असर’ विषयक नागरिक स्तरीय कार्यक्रममा उनले १९ वर्षसम्म द्वन्द्व पीडितको कुुरालाई थाती राख्ने कुरा दुःखलाग्दो भएको भन्दै यसबारे आत्मालोचना गरेर यो विषयलाई टुङ्गो लगाउनुपर्ने बताए ।

उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको काम अझै सम्पन्न हुन सकेको छैन् । हामीले केही महिना र वर्षभित्र सम्पन्न गर्ने भनेको कुरा १९ वर्षसम्म पूरा हुँदा द्वन्द्व पीडित परिवारको अवस्था के भएको होला । १९ वर्षसम्म यस्तो कुुरालाई यसरी थाती राख्न मिल्छ । हामी सबै आत्मालोचक बन्नुपर्छ र यो विषयलाई टुङ्गो लगाउनुपर्छ ।’यस्तै, उनले शान्ति सम्झौताको बेला वेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भनिएपनि आजसम्म त्यो पूरा नभएको बताए ।

उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग जसलाई हामीले शान्ति सम्झौताको अभिन्न अंगको रुपमा मानेका थियौं । शान्ति सम्झौताको बेला वेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भन्ने कुरा प्रष्ट लेखिएको छ ।

साथै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर यो विषयलाई टुङ्गो लगाउने, सत्यको छानबिन गर्ने, मानव अधिकारको प्रत्याभूति गरेर दिगो शान्तिको प्रत्याभूति गर्ने भन्ने विषयमा दुई पक्ष मिलेर अगाडि बढ्ने भन्ने कुरा थियो तर त्यो बेला संसद थिएन ।’उनले आफू प्रधानमन्त्री हुँदा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका कामहरु सम्पन्न गर्ने भनेर लागेको पनि सुनाए ।

बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री

काठमाडौं । अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२।०८३ को बजेट वक्तव्यको तयारीमा जुटेको छ । विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको हो ।मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरुलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२ र ०८३ को बजेट निर्माणबारे मन्त्रालयहरु, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको थियो ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग परामर्श गरेका छन् ।

अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरुसँग समेत परामर्श गरेको थियो ।त्यसैगरी पूर्वअर्थ सचिवहरु, अर्थविद्हरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका विषयतगत संघसंस्थाहरुसँग छलफल गरेको थियो । विकास साझेदारहरुसँग पनि छलफल भएको थियो ।

बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नागरिकहरुले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेट सम्बन्धी सुझाव दिनका लागि सार्वजनिक रुपमा आह्वान गरेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसदमा छलफल भइसकेको छ ।

बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ । जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेश हुनेछ ।

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह

काठमाडौँ, ८ जेठ : राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायको विषयमा पीडितको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेको छ ।

आयोगले सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्ने, सङ्क्रमणकालीन न्यायका अन्तरराष्ट्रिय अभ्यासलाई आत्मसात गर्नुपर्ने तथा सङ्क्रमणकालीन न्यायलाई विशुद्ध कानुनी प्रकृतिको न्यायिक निरुपणको विषय मात्र नबुझ्ी पीडितको सन्तुष्टिलाई केन्द्रमा राख्न आग्रह गरेको छ । साथै, भविष्यमा द्वन्द्व नदोहोरियोस् भन्नेतर्फ विचार पु¥याउन र द्वन्द्वपीडित समुदायलाई विश्वासमा लिई कार्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई अनुरोध गरेको छ ।

सङ्क्रमणकालीन न्याय समयमै टुङ्गोमा पुगी द्वन्द्वपीडितले न्याय पाउनुपर्छ भन्ने द्वन्द्वपीडितको सरोकार र भावनाको कदर गर्दै पीडितको न्यायप्रति सदैव प्रतिबद्ध रहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पीडितको सन्तुष्टिलाई ध्यानमा राखेर काम गर्न र भविष्यमा द्वन्द्व नदोहोरियोस् भन्नेतर्फ विचार पु¥याउन आग्रह गरिएको छ ।

“पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग स्पष्ट छ, विवाद र असहमतिलाई वार्ता तथा संवादका माध्यमबाट नै निकास दिन सकिने हुँदा द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउनु आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ, “सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन विगतमा गरिएका प्रयासहरुको असफलताबाट पाठ सिक्दै पुनः सो नियति नदोहोरियोस् भनी सम्बद्ध सबै पक्ष गम्भीर हुनु आवश्यक छ ।”

नेपाल सरकारले विगत दुई वर्षदेखि रिक्त रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठन गरेको सन्दर्भमा द्वन्द्वपीडितले आयोग गठन प्रक्रियाप्रति गरेको असहमतिप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

काठमाडौँ, ८ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

पर्यटन मन्त्रालयमा आज भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे गहन छलफल भएको थियो । मन्त्री पाण्डेले युनेस्कोको मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक काम भइरहेको जानकारी गराउँदै, सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको बताउनुभयो । साथै, लुम्बिनीलाई स्थायी रुपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

युनेस्कोका प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै हालै सम्पन्न अन्तरराष्ट्रिय वैज्ञानिक समितिको बैठकमा लुम्बिनीसहित काठमाडौँका विषयमा सकारात्मक छलफल भएकामा सन्तोष व्यक्त गर्नुभयो ।

भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत तथा अन्य सम्भावित सम्पदालाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गर्नुभयो । साथै, लुम्बिनीको दीर्घकालीन प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिबारे जानकारी गराउनुभयो ।

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनुभएको छ ।

“बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरी नायव निरीक्षक छत्यालको बढुवा

काठमाडौँ, ८ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ ।
दुवैै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गर्नुभएको हो । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिनुभयो ।

यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको राससलाई बताउनुभयो । छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गर्नुभएको हो ।

देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँः राजेन्द्रलक्ष्मी गैरे

काठमाडौँ, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे राष्ट्रियसभा सदस्य हुनुहुन्छ । पाल्पामा जन्मिनुभएकी सांसद गैरेसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश ः

राष्ट्रियसभाको आफ्नो अनुभव सुनाउनुहुन्छ कि ?

–सुरुमा संसद्मा आउँदा सरकारले भर्खरै बजेट ल्याएको थियो । त्यही बजेट छलफलमै केन्द्रित भएँ । राष्ट्रियसभामा परिपक्वको प्रतिनिधित्व भएर होला अनुशासित छ । यो सभामा कसैलाई पनि आक्षेप लगाउने काम हुँदैन । हामी विभिन्न पार्टीबाट सहभागि भएपनि राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिन्छौँ । सत्ता वा प्रतिपक्ष नभनी देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ ।

संविधान कार्यान्वयनप्रति सन्तुष्ट हुनुहुन्छ ?

–संविधान भनेको देशका सबै नागरिकको प्रतिनिधित्व हो । पछिल्लो समयमा आम जनताले सुशासन, भ्रष्टाचार, अन्याय र आफ्नो अधिकारको विषयमा सहजै बोलेका छन् । यो हाम्रो संविधानको उपलब्धि हो । संविधान समावेशी भएकै कारण महिला, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र सबै उत्पीडित समुदायले आफ्नो अधिकारको निम्ति आवाज उठाइरहेकै छन् । संविधान कार्यान्वयनको पक्षमा सकारात्मक रुपमै अगाडि बढेको छ । यदी संविधानमा महिलाको निम्ति ३३ प्रतिशत सुनिश्चित हुँदैन थियो भने महिलाले आफ्नो कुरा राख्न सक्ने अवस्था हुन्थेन । तर पनि नागरिकता, निर्वाचन प्रणालीलगायत केही विषयमा संविधानमा मिलाउनुपर्ने छ ।

हाम्रो निर्वाचन प्रणालीलाई तपाईंले कसरी हेर्नुभएको छ?

–अहिलेको हाम्रो निर्वाचन प्रणाली अत्यन्त महँगो छ । पैसा हुने मान्छे मात्रै चुनाव लड्न सक्ने खाले छ । लामो समयदेखि निष्ठाको राजनीति गर्ने व्यक्तिसँग पैसा छैन भने उसले चुनाव जित्न कठिन छ । निर्वाचन प्रणाली अलि भड्किलो छ । अहिले नेताले राजनीतिमा गरेको योगदानभन्दा पनि पार्टीले नै पैसा जोसँग छ, उसैलाई टिकट दिने प्रचलन बढेर गएको छ । त्यसैले अहिलेको निर्वाचन प्रणालीलाई परिवर्तन गरी सहज र सरल बनाउनुपर्ने छ । अब महिला–महिलाबीच प्रतिस्पर्धा हुने निर्वाचन प्रणाली बनाउनुपर्छ । महिलामा जसले जिते पनि महिलाले नै आउँछन् ।

महिला सशक्तीकरण र उनीहरुको अधिकारको रक्षा कसरी गर्ने ?

–हामी महिला जनसङ्ख्याको हिसाबले पनि ५१ प्रतिशत हो । मतदाताको हिसाबले पनि हामी ५१ प्रतिशत छौँ । राज्यमा प्रतिनिधित्व पनि त्यही अनुपातमा हुनुपर्छ । देशको आर्थिक र सामाजिक रुपान्तरणसँगै समग्र विकासको निम्ति पुरुषको जति योगदान छ, त्यतिनै महिलाको पनि त्यति नै छ । जहिलेसम्म महिला र पुरुषबीचको विभेद रहन्छ, त्यहिलेसम्म यो मुद्दा उठिरहन्छ । हाम्रो लक्ष्य भनेको संसद्मा ३३ प्रतिशत सहभागिता मात्रै होइन । यद्यपि अहिले भएको कुरालाई हामीले उपलब्धिको रुपमा लिएका छौँ । प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारको निम्ति निरन्तर सङ्घर्ष गर्नुपर्ने छ ।

संविधान संशोधनबारे तपाईंको धारणा के छ ?

–संविधान दश वर्षमा संशोधन गर्न सकिने विषय संविधानमै उल्लेख छ । संविधानको कार्यान्वयनको सवालमा पनि कतिपय विषय संशोधन गर्नुपर्ने आवश्यकता देखिन्छ । तर संशोधन आवश्यक छ, भन्दैमा आफ्नो मनमानी हुँदैन । राजनीतिक सहमति नगरिकन संशोधन गर्न हुँदैन । नेपाली जनताको भावनाअनुसार संशोधन हुनुपर्छ ।

सङ्घीयतालाई अझ सुदृढ बनाउन के गर्नुपर्छ ?

–देश सङ्घीयतामा जाँदै गर्दा हामीले नेपाली जनताको अधिकारलाई अझै सुलभ र सरल बनाउनुपर्छ भनेको हो । सङ्घीयता आएपछि मानिसहरुले एउटा राजाको ठाउँमा धेरै राजाहरु आए भनेका छन् । सङ्घीय, प्रदेश र स्थानीय तहको खर्चिलो प्रणालीलाई कम गर्नुपर्छ । तीनै तहको सरकारको खर्च कटौती गर्नुपर्छ । त्यसको लागि मन्त्रालयको सङ्ख्या र सांसदको सङ्ख्या कम गर्नुपर्ने हुन्छ । स्थानीय तहलाई पनि गाँभेर जानुपर्छ जस्तो लाग्छ ।

महिला हिंसा अन्त्यको निम्ति राज्यले के गर्नुपर्छ ?

–पहिलो कुरा, महिलाहरु आफैँ सक्रिय भएर आफ्नो आवाज बुलन्द गर्नुपर्छ । अर्को भनेको सबै ठाउँमा महिलाको सहभागिता पनि हुनुपर्छ । नेपालमा महिलाको राजनीतिक प्रतिनिधित्व भए पनि निर्णय गर्ने तहमा अझै पुग्न सकेका छैनन् । महिला भएकै कारण उसको अस्थित्वलाई स्वीकार नगर्ने संस्कार पनि छ । महिला हिंसा, महिलाको आर्थिक पहुँचसँग पनि जोडिएको छ । त्यसको निम्ति राज्यले महिलाको आर्थिक पहुँचमा वृद्धि गर्ने नीति तथा कार्यक्रम ल्याउन जरुरी छ । जनचेतना पनि फैलाउन जरुरी छ । सरकारले महिला आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

तपाईं पाल्पा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ, जिल्लाको विकासलाई कसरी लिनुभएको छ ?

–पाल्पा पहाडी जिल्ला हो । यो जिल्लाले खासै सङ्घीय मन्त्री पाउन सकेको छैन । त्यसैमाथि हरेक सरकारले ल्याउने बजेट राजनीतिक नेताको पहुँचको आधारमा बन्ने गरेको पाइन्छ । तर पनि हामी पाल्पाका सांसदले गत वर्ष अर्थमन्त्रीलाई अनुरोध गरेरै रु नौ करोड ३० लाख बजेट पारियो । विगतमा तानसेन नगरपालिकाको खानेपानी संस्थाको म आफैँ अध्यक्ष भएर योजना सम्पन्न गरेकी थिए । त्यसपछि एक घर एक धारा भएको छ । बाटो घर–घरमा पुगेको छ । सडक र अन्य सेवा सुविधाको हिसाबले अरु जिल्लाको तुलनामा विकास भएको छ । तर पनि रोजगारीको दृष्टिले देशको अवस्था जस्तो छ, पाल्पाको पनि त्यस्तै हो । जिल्लामा पढेलेखेका युवा नै बेरोजगार बन्नु परेको छ । कोही रोजगारीको लागि खाडी जान बाध्य छन् । यो जिल्लाको निम्ति आगामी आर्थिक वर्षको बजेटको लागि पनि पहल गरिएको छ ।

देशको वर्तमान व्यवस्था र जनताको अवस्थालाई तपाईंले कसरी हेर्नुभएको छ ?

–देशको व्यवस्था पनि परिवर्तन भएको छ । जनताको अवस्था पनि परिवर्तन भएको छ । पहिला हामी एउटा गाउँबाट अर्को गाउँ जान दिनभरि हिँड्नुपर्ने हुन्थ्यो । सदरमुकाम पुग्न एक दिन लाग्थ्यो । अहिले जनताको घरदैलोमा गाडी पुगेको छ । विस्तारै आर्थिक रुपमा पनि सम्पन्न हुँदै गएको देखिन्छ । तर हामीले जनतालाई सुशासन दिन सकेका छैनौँ । जनता आफूले नपाएर होइन, अरुले बदमासी गरेकोमा दुखी छ ।

युवा पलायन रोक्न के गर्न सकिन्छ ?

–विदेश जाने युवाहरु दुई थरीका छन् । एउटा अध्ययनका सिलसिलामा जाने छन् । जसको घरको आर्थिक अवस्था बलियो छ । तर उ विदेश गएर पनि सुखी छैन । किनभने उसले त्यहाँ कमाउँदै पढ्दै गर्ने हो । अर्को भनेको रोजगारीको निम्ति विदेश जाने युवा रोक्नका लागि देशभित्रै रोजगारीको सिर्जना गर्न सक्नुपर्छ ।

सुशासनको निम्ति तपाईंको सुझाव के छ ?

–सरकारले सबैसँग समन्वय गरेर काम गरेको देखिँदैन । सांसद पनि सत्तामा जानका लागि मात्रै प्रतिस्पर्धा गरेको देखिन्छ । सरकारले नियुक्त गर्ने राज्यका हरेक निकायमा राजनीतिक भागबण्डा देखिन्छ । अहिले मात्रै होइन, पहिलेका सरकार पनि आफू केन्द्रित भएको देखिन्छ । सुशासनको निम्ति आफ्नो मान्छे होइन, योग्य मान्छे नियुक्त गर्नुपर्छ ।

सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ८ जेठः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ ।अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती, ८ जेठः बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजे हुनेछ ।

बुधबारको बैठकमा कृषि, उद्योग, वन र पर्यटक प्रवद्र्धनलाई बजेटले प्राथमिकता दिनुपर्ने सांसदहरुको सुझाव थियो । आव २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) छलफल जारी छ ।

दश महिनामा ३३ करोड ४४ लाख राजस्व सङ्कलन

हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा रु ३३ करोड ४४ लाख छ हजार राजस्व सङ्कलन गरेको छ ।

दश महिनामा सम्पत्ति करबाट रु छ करोड ८५ लाख ६८ हजार ९७१, घरबहाल करबापत रु चार करोड ६३ लाख ३५ हजार ८४, नक्सापास दस्तुर रु पाँच करोड ७५ लाख ५८ हजार ५१०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु तीन करोड ५६ लाख २५ हजार सङ्कलन भएको उपमहानगपालिकाले जनाएको छ ।

अध्यक्ष दाहाल रूकुमपूर्वमा

काठमाडौँ, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराउनुभएको थियो । उहाँले स्थानीय रूपमा उत्पादन हुने जैविक वस्तुको माग उच्च रहेकाले त्यसअनुसार उत्पादन बढाउन आफूहरु क्रियाशील बताउनुभयो ।

कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले स्वीकार ग‍र्यो

काठमाडौं । अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको छ ।

यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको)का रूपमा प्रयोग हुनेछ ।

यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यो उपहार कानुनी भएको दाबी गरेको भए पनि गत हप्ता यसको स्थानान्तरण घोषणा गर्दा ठूलो विवाद उत्पन्न भएको थियो । कतारी राजपरिवारबाट उपहारस्वरूप दिइएको यो विमानको अनुमानित मूल्य चार सय मिलियन डलर रहेको छ ।

‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’ : प्रवक्ता महत

दमौली (तनहुँ), ८ जेठ: पूर्वऊर्जामन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभएको छ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज बिहान निरीक्षण गरेपछि उहाँले मुलुकमा उपलब्ध अपार जलस्रोतको अधिकतम उपयोग गरेर राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भन्नुभयो ।

ऊर्जाका माध्यमबाट औद्योगिक विकासका साथै बिजुली बेचेर देशलाई समृद्ध बनाउन सकिने तथा विद्युतीय वाहनको प्रयोगबाट पेट्रोलियम पदार्थको आयात पनि घटाउन सकिने भएकाले ऊर्जामा आत्मनिर्भर हुन सघाउने तनहुँ जलविद्युत् आयोजना निर्धारित समयमा पूरा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टी प्रवक्तासमेत रहनु भएका नेता महतले आयोजनाको प्याकेज र विद्युत्गृहको निरीक्षण गर्नुभएको थियो । उहाँलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्म आयोजनामा भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

चलचित्र ‘ऊनको स्वीटर’ को विशेष शो सम्पन्न, सेलिब्रेटीहरूको उपस्थिति र प्रशंसा

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री मनिषा कोइरालालगायतका चर्चित कलाकारहरूको उपस्थितिमा चलचित्र ‘ऊनको स्वीटर’ को विशेष प्रदर्शन शो बुधबार वन सिनेमा, आइप्लेक्स मलमा सम्पन्न भएको छ । शोमा नेपाली चलचित्र क्षेत्रका विभिन्न चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

गायक राजेश पायल राईको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी सेलिब्रेटीहरूले चलचित्रको विषयवस्तु, अभिनय र प्रस्तुतिलाई अत्यन्तै सराहना गरेका छन् । उनले यो वर्षको र नेपाली चलचित्र उद्योगले मिठो चलचित्र पाएको बताए ।

उनले भने, ‘ चलचित्र ‘ऊनको स्वीटर’ अत्यन्तै उत्कृष्ट चलचित्र बनेको छ । एउटा सामाजिक परिवेश भित्रको माया प्रेम, हरेक चिजहरु यसको छायाँकन, कथा बुन्दै यसरी लगेको छ की नेपाली चलचित्र उद्योगले धेरै राम्रो चलचित्र पाएको छ । चलचित्र उत्कृष्ट बनेको छ । मलाई लाग्छ यो वर्षको र नेपाली चलचित्र उद्योगले मिठो चलचित्र पाएको छ ‘ऊनको स्वीटर’।

क्याप्टेन विजय लामाले फिल्मले आफूलाई आँखा रसाउने बनाएको भन्दै भावुक प्रतिक्रिया दिए । उनले भने, ‘गाउँघरको परिवेश, नेपालको संस्कृति सबै सिक्न सकिने चलचित्र बनेको छ । दर्शकहरूले यो चलचित्र अनुभव गर्नैपर्ने छ ।’

अभिनेता नाजिर हुसेनले निर्देशकद्वारा सिर्जना गरिएको संसार र त्यसमा बसोबास गर्ने पात्रहरूको यथार्थपरक चित्रणलाई उच्च मूल्याङ्कन गरे । उनले भने, ‘यो चलचित्र सबै परिवार बसेर हेर्न सकिने सुन्दर चलचित्र बनेको छ ।’

चलचित्रका प्रमुख कलाकार विपिन कार्कीले ‘ऊनको स्वीटर’ मा आफूले निभाएको भूमिका वास्तविक जीवनसँग निकै मिल्दोजुल्दो रहेको बताए । उनले भने, ‘पूर्वमा छायांकन गरिएको यस चलचित्रमा काम गर्दा एकदमै रमाइलो अनुभव भयो । पूर्वकै मान्छे भएकाले भावनात्मक रुपमा पनि जोडिएको महसुस भयो ।’

चलचित्रको कथा सामाजिक परिवेशभित्रको माया, प्रेम र संस्कृतिलाई केन्द्रमा राखेर बुनेको छ । उपस्थित कलाकार तथा दर्शकहरूले यो वर्षको उत्कृष्ट नेपाली चलचित्रको रूपमा ‘ऊनको स्वीटर’ लाई उल्लेख गरेका छन् ।
चलचित्रको निर्देशन तथा प्रस्तुतिका पक्षमा गरिएको प्रशंसाले यो फिल्म नेपाली सिनेमाको गुणस्तर उकास्ने दिशामा महत्वपूर्ण कदम बन्ने आशा गरिएको छ ।

तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू परे कालोसूचीमा

काठमाडौं । तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।काठमाडौं महानगरपालिका( १४ ठेगाना उल्लेखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।

सल्यानको लेखपोखरा(६ ठेगाना उल्लिखित तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।बाँकेको डडुवा गाउँपालिका(५ मा रहेको यज्ञश्वरी निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

निर्माण र आपूर्तिको ठेक्का लिएर काम नगरेपछि सम्बन्धित ठेक्का लगाउने निकायले कालोसूचीमा राख्न सिफारिस गर्न सक्छ ।
त्यसपछि सार्वजनिक खरिद अनुगन कार्यालयले त्यसरी सिफारिस भएका निर्माण कम्पनी र आपूर्तिकर्ताबारे थप बुझैर कालोसूचीमा राख्छ ।

मुम्बई आईपीएलको प्ले अफमा

काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लागेको छ ।बुधबार भएको खेलमा दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बई इन्डियन्स प्ले अफमा प्रवेश गरेको हो ।यसअघि नै गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन् । मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ ।

मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १२१ रनमा समेटिएको हो ।
दिल्लीका समीर रिज्भीले ३९, विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोड्दा के ऐल राहुलले ११ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

मुम्बईका माइकल सान्टनरले चार ओभरमा ११ रन खर्चेर तीन तथा जसप्रित बुमराहले ३.२ ओभरमा १२ रन खर्चेर तीन विकेट हात पारे। मुम्बईको बंखाडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पाँच विकेटको क्षतिमा १८० रनको योगफल खडा गरेको थियो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ८ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५३, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु २५, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो रु १२०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु २६०, कुरिलो प्रतिकिलो रु ६००, निगुरो प्रतिकिलो रु २५ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६५, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १५०, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३२०, आँप (दशहरी) प्रतिकिलो रु २५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, तरबुजा (हरियो) प्रतिकिलो रु ४५, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २००, आभोकाडो प्रतिकिलो रु ७५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु ७०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली हुने

काठमाडौँ, ८ जेठः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ ।

प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री सिँह

जनकपुर-मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि क्षेत्रको विकासमार्फत प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा उहाँले कृषि विद्युतीकरण तथा सिँचाइ व्यवस्थापनका लागि प्रदेश सरकारले स्थानीय तहलाई अनुदान दिएको र त्यसमा बहुसङ्ख्यक स्थानीय तह परेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले स्टार्टअपसम्बन्धी कार्यक्रमका लागि विनियोजित बजेट परिचालन गर्न कार्यविधि बनाई काम अगाडि बढाए पनि बैङ्कहरूको अरुचिका कारण समस्या भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा स्टार्टअप तथा इन्क्विवेसन सेन्टर वीरगञ्जमा स्थापनाका गर्नका लागि बजेट छुट्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले आवश्यकता एवम् औचित्यका आधारमा आर्थिक क्षेत्रमा फड्को मार्न नीतिगत प्रस्टता र सुशासन कायम गर्ने बताउनुभयो ।

मुख्यमन्त्री सिंहले राजस्व सङ्कलन गर्ने विन्दुमा प्रदेश सरकारको कानुनी हस्तक्षेप निष्प्रभावी रहेको भन्दै त्यस्ता ठाउँलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन सङ्घ सरकारसँग संवाद गर्ने बताउनुभयो । उहाँले उद्योग तथा कलकारखानालगायत अन्य पूर्वाधार विकासका लागि जग्गा व्यवस्थापन गर्न सरकारले गुठी ऐन ल्याउन लागेको बताउनुभयो ।

पर्यटन विकासका लागि मिनी क्यासिनो सञ्चालन अनुमति दिने अधिकार प्रदेश सरकारसँग भए पनि सञ्चालनमा रहेका क्यासिनोको अनुुभव दुःखद रहेका उहाँको भनाइ थियो । “वीरगञ्जका दुई क्यासिनोका कारण धेरै नेपालीको उठिबास भएको छ । प्रदेश सरकारले नियमन गर्न खोजिरहँदा ती क्यासिनोले सहयोग गरिरहेका छैनन् । नेपाली नागरिकलाई बिचल्ली बनाउने क्यासिनोमा ताल्चा लगाए गुनासो नगर्नुहोला”, उद्योगी–व्यवसायीलाई मुख्ष्मन्त्री सिंहले आग्रह गर्नुभयो ।

महासङ्घ प्रदेश अध्यक्ष अशोक टेमानीले उद्योग व्यवसाय, कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सार्वजनिक वित्तलगायत क्षेत्रको विकासका लागि प्रदेशको स्थिति अनुकूल भए पनि बजेटको प्राथमिकता र कार्यान्वयन अभावमा अन्य प्रदेशको तुलनामा मधेश आर्थिक सूचकाङ्कमा कमजोर हुन पुगेको बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले स्थिर आर्थिक नीतिबाट नेपाली तथा विदेशी लगानीकर्ताको हित सुनिश्चितता, आवश्यक कानुन निर्माण, प्रोजेक्ट बैङ्कको पूर्णता र लगानी प्राधिकरणजस्ता व्यवस्था एवम् संरचना बनाई उद्योग व्यवसाय प्रवर्द्धन गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव, उद्योग तथा पर्यटनमन्त्री सकिल मियाँ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन साहलगायत उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा आर्थिक अभियान दैनिकका ओमप्रसाद खनालले मधेश समृद्धि शृङ्खला शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पर्सामा १० महिनामा सवारीसाधन दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाए

वीरगञ्ज (पर्सा), ८ जेठः पर्सामा चालु आर्थिक वर्षको १० महिनामा सवारीसाधन दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एकपटक ट्राफिक जनचेतनामूलक कार्यक्रम अघि बढाउँदै आइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले जिल्लामा चालु आवमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एक पटक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो । “हामीले सातामा एकपटक ट्राफिक सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “गत वर्षभरिमा ५१ जनाले सवारीसाधन दुर्घटनामा परेर ज्यान गुमाउनुभयो । यो वर्ष हामीले ट्राफिक सचेतना फैलाएर ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिँदै आइरहेका छौँ ।”

कार्यालयले दुर्घटना न्यूनीकरणका लागि वीरगञ्जको चोक–चोकमा ट्राफिक सचेतनासम्बन्धी अभियानलाई पनि निरन्तरता दिँदै आइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको अगुवाइमा बुधबार साँझ वीरगञ्जको घण्टाघरचोकमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सवारीचालकलाई लक्षित गरेर एकघण्टे प्रशिक्षण गरिएको हो । प्रमुख लोकराज भट्टले ट्राफिक नियम पालना गर्न सवारीचालक तथा यात्रुलाई अनुरोध गर्नुभएको छ । “सवारी दुर्घटनाका कारणले धेरैले ज्यान गुमाइरहेका छन्,” उहाँले भन्नुभयो, “ट्राफिक नियम पालना गर्दा ठूला खालका दुर्घटनाबाट पनि जोगिन सकिन्छ । त्यसैले दुर्घटनाबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका उपाय पालना गर्न हाम्रो आग्रह छ ।”

समृद्धि नेपाल फाउन्डेसनका अध्यक्ष सुरज सर्राफले पनि वीरगञ्जमा सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो । कार्यक्रम संयोजक दिलीपराज कार्कीले रोगले भन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक नियमको पालना गर्नुपर्ने बताउनुभयो ।

राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत

दाङ, ८ जेठः राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा सहायक प्राध्यापक डा रञ्जितकुमार शाहको आगमनसँगै केही दिनअघि जलविन्दुको विशेष उपचार सेवा सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीहरू घर आँगनमै उपचार पाएको भन्दै खुसी भएका छन् ।

तुलसीपुर–१५ की ८३ वर्षीया जयमोती थरुनीले लामो समयपछि उपचार सेवा पाएपछि खुसी व्यक्त गर्नुभयो । घरबारविहीन थरुनीले उपचारपछि नयाँ जीवन पाएको अनुभव भएको बताउनुभयो ।

डा शाहका अनुसार यहाँ बहिरङ्ग सेवा (ओपिडी) लिन दैनिकजसो दुईदेखि तीन सय बिरामी आउने गरेका छन् । तीमध्ये पाँचदेखि सात जनामा जलविन्दुको समस्या देखिने गरेको छ । “जलविन्दु आँखामा दबाब बढेर दृष्टिमा असर पु¥याउने रोग हो । प्रारम्भिक अवस्थामा उपचार सुरु गरिएमा दृष्टि जोगाउन सकिन्छ तर धेरैजसो बिरामी ढिलो गरी अस्पताल आउने भएकाले दृष्टिमा स्थायी क्षति पुगिसकेको हुन्छ”, डा शाहले भन्नुभयो ।

नेपालमा हालैको एक सर्वेक्षणअनुसार दुई दशमलव एक प्रतिशतभन्दा बढी जनसङ्ख्यामा जलविन्दुको समस्या देखिएको छ । डा शाह धेरैलाई यसबारे थाहा नहुने, लक्षणको बेवास्ता गर्ने र अस्पताल ढिलो पुग्ने समस्या रहेको बताउनुहुन्छ । जलविन्दुको मुख्य लक्षणहरूमा दृष्टि धमिलो हुँदै जानु, बत्तीमा हेर्दा इन्द्रेणी रङ देखिनु, टाउको र आँखामा दुखाइ, वाकवाकी लाग्नुलगात रहेका उहाँले बताउनुभयो ।

“यो रोग परिवारमा एक जनामा देखिएको खण्डमा अन्य सदस्यमा पनि हुने सम्भावना रहन्छ । साथै मधुमेह, उच्च रक्तचाप वा आँखामा चोटपटक लाग्दा पनि जलविन्दु हुने सम्भावना बढ्छ”, डा शाहले भन्नुभयो,“राप्ती आँखा अस्पतालले आँखासम्बन्धी विविध उपचार सेवा दिँदै आएकामा जलविन्दु विशेषज्ञ सेवा पनि थपिएपछि यहाँका सेवाग्राहीलाई निकै राहत हुनेछ ।”जलविन्दु भएका बिरामीहरूलाई काठमाडौँ वा अन्य ठाउँ जानुपर्ने बाध्यता अन्त्य भएपछि यसले दाङलगायत आसपासका जिल्लाका जनतालाई ठूलो राहत मिलेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, ८ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८४ रुपैयाँ १७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६५ रुपैयाँ ९० पैसा र बिक्रीदर १६६ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७८ पैसा र बिक्रीदर २० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २५ पैसा तथा आमनी रियाल एकका खरिददर ३५५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्न विनिमय दर भने फरक हुनसक्न र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कका ‘वेबसाइट’मा उपलब्ध हुन जनाइएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ, ८ जेठः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुधबार एकजनालाई पक्राउ गरिएको छ ।कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उहाँलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट रु २६ लाख ८० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ पेप्सीकोलाबाट पक्राउ गरेको हो । यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यस्तै, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तरराष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरी दिन्छु भनी नक्कली कागजात बनाई रु चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो । जिजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

भक्तपुर, ८ जेठः ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ ।

भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष गोले, सुनसरी जिल्ला घर भई काठमाडौँ नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्की पोखरा महानगरपालिका–१ घर भई नारायणटार बस्ने १८ वर्षीय सुजन गुरुङ, रौतहट घर भई नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ र मकवानपुर मनहरी–२ घर भई काठमाडौँ बस्दै आएका १८ वर्षीय विक्रम तामाङ रहेका छन् ।

पक्राउ परेकाहरूले विभिन्न समयमा मध्यपुरथिमि बोडेबाट बा५७प ९९५७ नंको स्कुटर, बा७७प ३३५९ नंको स्कुटर चोरी गरेको र चोरीको स्कुटरसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक नेउपानेले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई चोरी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन

भद्रपुर (झापा), ८ जेठः मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । “गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् रु सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी, तरकारीको आयातबाट रु ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट रु २४ करोड १० लाख ३० हजार, कफीबाट रु १९ करोड ३६ लाख ९० हजार, दलहनबाट रु २० करोड २९ लाख ९४ हजार, राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागार्इंले जानकारी दिनुभयो ।

यहाँबाट चालु आवको १० महिनामा रु २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा रु १९ करोड ८९ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ । सोही अवधिमा रु ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा रु १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व सङ्कलन भएको छ ।

आज चार संसदीय समितिका बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ, ८ जेठः सङ्घीय संसद्अन्र्तगत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बीच छलफल हुनेछ ।प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।

यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्र्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । विकास, आर्र्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।

यसैगरी, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ । बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भाबी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।

आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह

काठमाडौँ, ८ जेठः आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गराइने सेवा सुविधालाई सरल र सहज तुल्याउन ध्यान नदिएको आरोप लगाउँदै उहाँले जनतामा करको भार वृद्धि हुँदा मुलुकमा उत्पादन, व्यापार र व्यवसाय सुस्ताउने बताउनुभयो ।

सङ्घीय संसद्भवनस्थित आफ्नो कार्यकक्षमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष साहले भन्नुभयो, “पछिल्ला वर्षहरूमा जनताले निरन्तर भन्दै आएका छन्, हामीलाई करको भार बढ्यो । करका कारण दैनिक उपभोग्यलगायतका हरेक चीजवस्तु महँगो भयो ।”

मुलुकको आम्दानीको ठूलो स्रोत वन, जलस्रोतलगायतको सही उपयोग गर्न सुझाव दिँदै उहाँले ती वस्तुको संरक्षणका लागि गरिएको लगानीअनुरुप राज्यले लाभ लिन नसकिरहेको बताउनुभयो ।

राज्यले चलाउन नसकेको उद्योगधन्दा एउटा व्यक्तिविशेषले कसरी चलाउन सक्छ भनी प्रश्न गर्दै अध्यक्ष साहले देशको अर्थतन्त्र जोगाउन, रोजगारी सिर्जना गर्न विद्यमान कर प्रणालीको पुनरावलोकन जरूरी रहेको विचार व्यक्त गर्नुभयो ।

प्रहरी परिसरको गेटबाटै भागेका थुनुवा आजै असनबाट पक्राउ

काठमाडौँ, ७ जेठ : म्याद थप गरेर ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भागेका एक जना थुनुवालाई आजै प्रहरीले असनबाट पक्राउ गरेको छ । यसरी पक्राउपर्नेमा थुनुवामा दोलखाको बैदेश्वर गाउँपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२४ नरदेवी बस्ने वर्ष २४ का निशान परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थपगरी ल्याउने क्रममा उनी आज १२ः२१ बजेको समयमा जिल्ला प्रहरी परिसर, काठमाडौँको गेट नजिकबाट भागेका थिए ।

उनको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–२४ असनको याट्खा टोलबाट आजै साँझ १८ः१८ बजे लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बोहराले बताउनुभयो ।

गत वैशाख ३१ गते उनलाई काठमाडौँ महानगरपालिका–१५ चमतीबाट पक्राउ गरी अभद्र व्यवहार कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकामा आज यहाँ म्याद थपका लागि ल्याइएको थियो ।

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि नयाँ विवरण र प्रारम्भिक कोषको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले मङ्गलबार यस परियोजनाका लागि लगभग तीन वर्षमा सञ्चालन ल्याउने गरी २५ अर्ब अमेरिकी डलर छुट्याइएको घोषणा गर्नुभएको छ र परियोजना सञ्चालनका लागि लगभग १७५ अर्ब डलर खर्च हुन सक्ने र तीन बर्षसम्ममा यसलाई कार्यान्वयनमा ल्याइने योजनामा उल्लेख छ ।

यसैबीच, बेइजिङले बुधबार ‘गोल्डेन डोम’लाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतराको संज्ञा दिँदै संयुक्त राज्य अमेरिकाले हतियारको होडबाजीलाई बढावा दिएको आरोप लगाएको छ।
स्थानीय समय अनुसार मङ्गलबार ह्वाइट हाउसमा ट्रम्पले भन्नुभयो, “चुनावी अभियानमा मैले अमेरिकी जनतालाई अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा कवच बनाउने वाचा गरेको थिएँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु । हामीले यस अत्याधुनिक प्रणालीको लागि आधिकारिक रूपमा ढाँचा चयन गरेका छौँ ।

ट्रम्पले भन्नुभयो, “एकपटक पूर्ण रुपमा निर्माण भएपछि ‘गोल्डेन डोम’ क्षेप्यास्त्रलाई विश्वका अन्य देशबाट प्रक्षेपण गरिए पनि र अन्तरिक्षबाट प्रक्षेपण गरिए पनि त्यसलाई रोक्न सक्षम हुनेछ ।”“यो हाम्रो देशको सफलता र अस्तित्वको लागि पनि धेरै महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो ।उहाँले अमेरिकी अन्तरिक्ष बलका जनरल माइकल गुएटलिनले यस प्रयासको नेतृत्व गर्ने र क्यानडाले पनि सुरक्षा प्राप्त गर्न चाहेकाले यसमा सहभागी हुन चासो व्यक्त गरेको बताउनुभयो ।

ट्रम्पले यसको कुल मूल्य करिब १७५ अर्ब अमेरिकी डलर रहेको बताए पनि संसद्को बजेट अफिसले अन्तरिक्षमा आधारित इन्टरसेप्टरको सीमित सङ्ख्यालाई परास्त गर्न २० वर्षमा १६१ अर्ब डलरदेखि ५४२ अर्ब डलरसम्म खर्च हुने अनुमान गरेको छ ।

उहाँले भन्नुभयो, “‘गोल्डेन डोम’को विस्तृत लक्ष्य छ र यसले अन्तरिक्ष, समुद्र र जमिनमा रहनेगरी ‘सेन्सर’ र ‘इन्टरसेप्टर’ सहित अर्को पुस्ताका प्रविधिहरू तैनाथ गर्नेछ।”
पेन्टागनका प्रमुख पीट हेगसेथले ट्रम्पको योजनालाई समर्थन गर्दै भन्नुभयो, “यो प्रणालीको उद्देश्य परम्परागत वा आणविक क्रुज मिसाइल, ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक मिसाइल, ड्रोन बाट आफ्नो मातृभूमिको रक्षा गर्नु हो ।

– चीन र रूसद्वारा विरोध–

यो गोल्डेन डोम योजनाको नामाकरण इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमबाट आएको हो जसले सन् २०११ मा सञ्चालनमा आएदेखि हजारौँ छोटो दूरीका रकेट र अन्य प्रोजेक्टाइलहरूलाई रोकेको छ।संयुक्त राज्य अमेरिकाले विरोधीहरूबाट विभिन्न क्षेप्यास्त्र खतराहरूको सामना गरिरहेको छ तर ‘गोल्डेन डोम’ इजरायलको आइरन डोमको सामना गर्न डिजाइन गरिएको छोटो दूरीका हतियारहरू भन्दा उल्लेखनीय रूपमा भिन्न छन्।

सन् २०२२ को मिसाइल प्रतिरक्षा समीक्षाले चीन र रुसबाट बढ्दो खतरालाई औँल्याएको छ ।ब्यालेस्टिक र हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिको मामिलामा बेइजिङले वासिङ्टनसँगको दूरी कम गरिरहेको छ भने मस्कोले अन्तरमहादेशीय दूरीको क्षेप्यास्त्र प्रणालीलाई आधुनिकीकरण गर्दै उन्नत ‘प्रिसिजन स्ट्राइक’ क्षेप्यास्त्रको विकास गरिरहेको छ ।

वासिङ्टनले योजना घोषणा गर्दै युक्रेन युद्धमा महत्वपूर्ण भूमिका खेलेको ड्रोनको खतरा बढ्ने सम्भावना रहेको र उत्तर कोरिया र इरानबाट ब्यालिस्टिक क्षेप्यास्त्रका साथै गैरराज्य पक्षबाट रकेट र क्षेप्यास्त्रको खतराबारे पनि चेतावनी दिएको छ ।

बेइजिङले बुधबार उक्त योजनाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै यसले ’विश्वव्यापी रणनीतिक सन्तुलन र स्थिरता’लाई कमजोर पार्ने बताएको छ ।विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले आफ्नो स्वार्थलाई पहिलो स्थान दिएको छ र आफ्नो पूर्ण सुरक्षा खोज्ने तर्फ उन्मुख छ, जुन कुनै पनि देशको सुरक्षा अरूको मूल्यमा हुनुहुँदैन भन्ने सिद्धान्तको उल्लङ्घन गर्दछ।”माओले भन्नुभयो, “यो योजनाले अन्तरिक्षलाई युद्धभूमि बन्ने खतरा बढाउँछ, हतियारको होडबाजीलाई बढावा दिन्छ र अन्तर्राष्ट्रिय सुरक्षालाई कमजोर पार्छ ।