‘सरकार जेनजी युवाको निराशालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ’
काठमाडौँ, ३ पुसः जेनजी प्रतिनिधिहरुले वर्तमान सरकारले जेनजी युवाको निराशालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल कानुन समाज र जेनजी समूहद्वारा आयोजित जेनजी आन्दोलनको सय दिनःउपलब्धि र भावि रणनीति अन्तरक्रियामा सहभागीले जेनजी आन्दोलनको १०० दिन पूरा हुँदा पनि सरकारले युवाको निराशालाई सम्बोधन गर्न नसकेको भन्दै निराश व्यक्त गरेका हुन् ।
गरिखान देऊ अभियानका अध्यक्ष मिराज ढुङ्गानाले राज्यका तर्फबाट अवसर नपाउँदा जेनजी आन्दोलन भएको बताउनुभयो । उहाँले जेनजीभित्र देखिएको निराशालाई सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रण, स्थिर सरकार, रोजगारी सिर्जना अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।
जेनजी संयोजन समितिका संयोजक लेलिन विष्टले वर्तमान सरकारले जेनजी समूहको मुद्दालाई सम्बोधन गर्न नसकेको बताउनुभयो । संविधान संशोधनविना जेनजी पुस्ताले राखेको मागलाई सम्बोधन गर्न नसक्ने उहाँको भनाइ थियो । उहाँले भ्रष्टचार नियन्त्रण, राजनीतिक नियुक्ति खारेज, सरकारको पुर्नगठनलगायत अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
सहिद परिवारकोतर्फबाट कमल सुवेदीले सहिद परिवारले राखेको मागलाई सरकारले गम्भीर रुपमा नलिएको बताउनुभयो । उहाँले सहिद र घाइतेको माग अहिलेसम्म पूरा हुन नसक्नु दुःखद् भएको बताउँदै माग पूरा नभए पुनःसडक सङ्घर्षमा जान बाध्य हुनुपर्ने बताउनुभयो ।
जेनजी मुभमेन्ट नेपालका संरक्षक रविकिरण हमालले सर्वपक्षीय सरकार निर्माण गरेर संविधानलाई पुनर्लेखन गरेर अगाडि बढेमात्र जेनजीले राखेको माग पूरा हुने उल्लेख गर्नुभयो । युवाको मागलाई सम्बोधन गर्न नसक्ने संसद् पुनःस्थापनाले राष्ट्रलाई आवश्यक नभएको उहाँको भनाइ थियो ।
जेनजी वार्ता टोली समितिका सदस्य किशोरी कार्कीले जेनजी आन्दोलनका दोषीलाई कारबाही गरेमात्र जेनजी पुस्ताले न्याय पाउने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारी प्रदान गर्न आग्रह गर्नुभयो । घाइतेकोतर्फबाट विकास यादवले जेनजी आन्दोलनका क्रममा आफूले चार गोली खाएको बताउनुभयो ।
स्वतन्त्र जेनजी संयोजक डा जगत् विकले देशको विकासका लागि जेनजी आन्दोलन भएको बताउनुभयो । शान्ति, सुरक्षा र सुशासन जेनजीले चाहेको भए पनि अहिले उक्त माग पूरा हुन नसकेको उहाँको भनाइ थियो । वर्तमान सरकारले देशलाई निकाश दिन नसक्ने उहाँले बताउनुभयो ।
वार्ता टोलीका सदस्य टीकाराम लिम्बूले सर्वोच्च अदालत, अख्तियारलगायत संवैधानिक निकायमा राजनीतिक हस्तक्षेप हुँदा कसरी स्वतन्त्र न्याय पाउन सकिन्छ भनी प्रश्न गर्नुभयो । सरकार, जेनजी पुस्ता, राजनीतिक दल बसेर राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।
कमन जेनजीका संयोजक विकेश शाहले जेनजी आन्दोलनका हत्यारालाई कारबाही गर्न वर्तमान सरकार चुकेको बताउनुभयो । जेनजीको चाहना विकास, शान्ति र सुशासन भएको उहाँको भनाइ थियो ।
जेनजी आन्दोलनका अभियन्ता अजय सोडारीले जेनजी चुनावका लागि नलडेको बताउनुभयो । उहाँले जेनजी आन्दोलन हालसम्म पनि नसकिएको उल्लेख गनुभयो । जेनजी आन्दोलनका अभियन्ता सुनील सिंहले जेनजीले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
संविधानसभा सदस्य डा खिमलाल देवकोटाले संविधान संशोधनलाई गर्दा कुन बाटोबाट गर्ने भन्नेबारे बहस र छलफल चलाउनुपर्ने बताउनुभयो । वरिष्ठ अधिवक्ता डा नारायण घिमिरेले विधिको शासन, सुशासन र भ्रष्टाचारको अन्त्य आजको आवश्यकता भएको बताउनुभयो । उहाँले संविधान संशोधनका लागि आयोग बनाएर सबै राजनीतिक दलको सहभागितामा हुनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल कानून समाजका प्रमुख कार्यकारी निर्देशक कृष्णमान श्रेष्ठले जेनजी समूह एकढिक्का भएर अगाडि बढेमात्र जेनजीको माग पूरा गर्न सहज हुने बताउनुभयो । समाजका कार्यक्रम संयोजक मोहन आचार्यले सुशासन कायम गरी स्थायी सरकार अवको आवश्यकता भएको बताउनुभयो । उहाँले सरकारका हरेक निकायमा दलीयकरण भएको भन्दै यसको अन्त्य गर्दै संस्थागत संरचनामा व्यापक सुधारको खाँचो रहेको बताउनुभयो ।
—
