पशुपतिनाथबाट तलब भत्ता लिन्नँ, पशुपतिकै कोषमा अर्पण गर्छु: सदस्य सचिव भुसाल
काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले आफूले पाउने तलब भत्ता भगवान् पशुपतिनाथकै कोषमा अर्पण गर्ने घोषणा गर्नुभएको छ ।
गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाबाट कोषको सदस्य सचिव नियुक्त भएपछि नेपाल वेद विद्याश्रमका वटुकबाट वैदिक मन्त्रोच्चारणसहित पदबहाली गर्दै उहाँले पारिश्रमिक पशुपतिनाथलाई नै अर्पण गरी स्वयंसेवा गर्ने बताउनुभएको हो ।
“म यहाँबाट कुनै पारिश्रमिक लिन्नँ, मैले पाउने सेवा सुविधासहित सबै पारिश्रमिक श्रीको संरक्षणमा अर्पण गर्छु । पारिश्रमिकबाट जम्मा हुने रकमले यहाँका बिग्रिएका सम्पदाको संरक्षण र संवर्द्धनमा उपयोग गरिने छ”, सदस्य सचिव भुसालले भन्नुभयो ।
उहाँले लोप भएको पशुपतिनाथको सम्पत्ति खोजी गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । विश्वभरका दुई अर्बभन्दा धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई विकास गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहने सदस्य सचिव भुसालको भनाइ थियो ।
उहाँलाई कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारीले कोषको कार्यालयमा स्वागत गर्नुभएको थियो ।
