`

आज चार संसदीय समितिका बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ, ८ जेठः सङ्घीय संसद्अन्र्तगत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बीच छलफल हुनेछ ।प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।

यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्र्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । विकास, आर्र्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।

यसैगरी, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ । बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भाबी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।

आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह

काठमाडौँ, ८ जेठः आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गराइने सेवा सुविधालाई सरल र सहज तुल्याउन ध्यान नदिएको आरोप लगाउँदै उहाँले जनतामा करको भार वृद्धि हुँदा मुलुकमा उत्पादन, व्यापार र व्यवसाय सुस्ताउने बताउनुभयो ।

सङ्घीय संसद्भवनस्थित आफ्नो कार्यकक्षमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष साहले भन्नुभयो, “पछिल्ला वर्षहरूमा जनताले निरन्तर भन्दै आएका छन्, हामीलाई करको भार बढ्यो । करका कारण दैनिक उपभोग्यलगायतका हरेक चीजवस्तु महँगो भयो ।”

मुलुकको आम्दानीको ठूलो स्रोत वन, जलस्रोतलगायतको सही उपयोग गर्न सुझाव दिँदै उहाँले ती वस्तुको संरक्षणका लागि गरिएको लगानीअनुरुप राज्यले लाभ लिन नसकिरहेको बताउनुभयो ।

राज्यले चलाउन नसकेको उद्योगधन्दा एउटा व्यक्तिविशेषले कसरी चलाउन सक्छ भनी प्रश्न गर्दै अध्यक्ष साहले देशको अर्थतन्त्र जोगाउन, रोजगारी सिर्जना गर्न विद्यमान कर प्रणालीको पुनरावलोकन जरूरी रहेको विचार व्यक्त गर्नुभयो ।

प्रहरी परिसरको गेटबाटै भागेका थुनुवा आजै असनबाट पक्राउ

काठमाडौँ, ७ जेठ : म्याद थप गरेर ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भागेका एक जना थुनुवालाई आजै प्रहरीले असनबाट पक्राउ गरेको छ । यसरी पक्राउपर्नेमा थुनुवामा दोलखाको बैदेश्वर गाउँपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२४ नरदेवी बस्ने वर्ष २४ का निशान परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थपगरी ल्याउने क्रममा उनी आज १२ः२१ बजेको समयमा जिल्ला प्रहरी परिसर, काठमाडौँको गेट नजिकबाट भागेका थिए ।

उनको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–२४ असनको याट्खा टोलबाट आजै साँझ १८ः१८ बजे लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बोहराले बताउनुभयो ।

गत वैशाख ३१ गते उनलाई काठमाडौँ महानगरपालिका–१५ चमतीबाट पक्राउ गरी अभद्र व्यवहार कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकामा आज यहाँ म्याद थपका लागि ल्याइएको थियो ।

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि नयाँ विवरण र प्रारम्भिक कोषको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले मङ्गलबार यस परियोजनाका लागि लगभग तीन वर्षमा सञ्चालन ल्याउने गरी २५ अर्ब अमेरिकी डलर छुट्याइएको घोषणा गर्नुभएको छ र परियोजना सञ्चालनका लागि लगभग १७५ अर्ब डलर खर्च हुन सक्ने र तीन बर्षसम्ममा यसलाई कार्यान्वयनमा ल्याइने योजनामा उल्लेख छ ।

यसैबीच, बेइजिङले बुधबार ‘गोल्डेन डोम’लाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतराको संज्ञा दिँदै संयुक्त राज्य अमेरिकाले हतियारको होडबाजीलाई बढावा दिएको आरोप लगाएको छ।
स्थानीय समय अनुसार मङ्गलबार ह्वाइट हाउसमा ट्रम्पले भन्नुभयो, “चुनावी अभियानमा मैले अमेरिकी जनतालाई अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा कवच बनाउने वाचा गरेको थिएँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु । हामीले यस अत्याधुनिक प्रणालीको लागि आधिकारिक रूपमा ढाँचा चयन गरेका छौँ ।

ट्रम्पले भन्नुभयो, “एकपटक पूर्ण रुपमा निर्माण भएपछि ‘गोल्डेन डोम’ क्षेप्यास्त्रलाई विश्वका अन्य देशबाट प्रक्षेपण गरिए पनि र अन्तरिक्षबाट प्रक्षेपण गरिए पनि त्यसलाई रोक्न सक्षम हुनेछ ।”“यो हाम्रो देशको सफलता र अस्तित्वको लागि पनि धेरै महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो ।उहाँले अमेरिकी अन्तरिक्ष बलका जनरल माइकल गुएटलिनले यस प्रयासको नेतृत्व गर्ने र क्यानडाले पनि सुरक्षा प्राप्त गर्न चाहेकाले यसमा सहभागी हुन चासो व्यक्त गरेको बताउनुभयो ।

ट्रम्पले यसको कुल मूल्य करिब १७५ अर्ब अमेरिकी डलर रहेको बताए पनि संसद्को बजेट अफिसले अन्तरिक्षमा आधारित इन्टरसेप्टरको सीमित सङ्ख्यालाई परास्त गर्न २० वर्षमा १६१ अर्ब डलरदेखि ५४२ अर्ब डलरसम्म खर्च हुने अनुमान गरेको छ ।

उहाँले भन्नुभयो, “‘गोल्डेन डोम’को विस्तृत लक्ष्य छ र यसले अन्तरिक्ष, समुद्र र जमिनमा रहनेगरी ‘सेन्सर’ र ‘इन्टरसेप्टर’ सहित अर्को पुस्ताका प्रविधिहरू तैनाथ गर्नेछ।”
पेन्टागनका प्रमुख पीट हेगसेथले ट्रम्पको योजनालाई समर्थन गर्दै भन्नुभयो, “यो प्रणालीको उद्देश्य परम्परागत वा आणविक क्रुज मिसाइल, ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक मिसाइल, ड्रोन बाट आफ्नो मातृभूमिको रक्षा गर्नु हो ।

– चीन र रूसद्वारा विरोध–

यो गोल्डेन डोम योजनाको नामाकरण इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमबाट आएको हो जसले सन् २०११ मा सञ्चालनमा आएदेखि हजारौँ छोटो दूरीका रकेट र अन्य प्रोजेक्टाइलहरूलाई रोकेको छ।संयुक्त राज्य अमेरिकाले विरोधीहरूबाट विभिन्न क्षेप्यास्त्र खतराहरूको सामना गरिरहेको छ तर ‘गोल्डेन डोम’ इजरायलको आइरन डोमको सामना गर्न डिजाइन गरिएको छोटो दूरीका हतियारहरू भन्दा उल्लेखनीय रूपमा भिन्न छन्।

सन् २०२२ को मिसाइल प्रतिरक्षा समीक्षाले चीन र रुसबाट बढ्दो खतरालाई औँल्याएको छ ।ब्यालेस्टिक र हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिको मामिलामा बेइजिङले वासिङ्टनसँगको दूरी कम गरिरहेको छ भने मस्कोले अन्तरमहादेशीय दूरीको क्षेप्यास्त्र प्रणालीलाई आधुनिकीकरण गर्दै उन्नत ‘प्रिसिजन स्ट्राइक’ क्षेप्यास्त्रको विकास गरिरहेको छ ।

वासिङ्टनले योजना घोषणा गर्दै युक्रेन युद्धमा महत्वपूर्ण भूमिका खेलेको ड्रोनको खतरा बढ्ने सम्भावना रहेको र उत्तर कोरिया र इरानबाट ब्यालिस्टिक क्षेप्यास्त्रका साथै गैरराज्य पक्षबाट रकेट र क्षेप्यास्त्रको खतराबारे पनि चेतावनी दिएको छ ।

बेइजिङले बुधबार उक्त योजनाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै यसले ’विश्वव्यापी रणनीतिक सन्तुलन र स्थिरता’लाई कमजोर पार्ने बताएको छ ।विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले आफ्नो स्वार्थलाई पहिलो स्थान दिएको छ र आफ्नो पूर्ण सुरक्षा खोज्ने तर्फ उन्मुख छ, जुन कुनै पनि देशको सुरक्षा अरूको मूल्यमा हुनुहुँदैन भन्ने सिद्धान्तको उल्लङ्घन गर्दछ।”माओले भन्नुभयो, “यो योजनाले अन्तरिक्षलाई युद्धभूमि बन्ने खतरा बढाउँछ, हतियारको होडबाजीलाई बढावा दिन्छ र अन्तर्राष्ट्रिय सुरक्षालाई कमजोर पार्छ ।

पाकिस्तान र इरानबाट तीन हजार भन्दा बढी अफगान परिवार स्वदेश फर्किए

अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान तथा इरानबाट तीन हजार ३१९ अफगान परिवार अर्थात १८ हजार ६४० जना नागरिकहरू स्वदेश फर्किएका छन् ।

उहाँहरू पूर्वी नान्गारहार प्रान्तको तोर्खम, दक्षिणी कान्धारको स्पिन बोल्दाक, पश्चिमी हेरातको इस्लाम कला, पश्चिमी निमरोजको अब्रिशम तथा दक्षिणी हेलमन्द प्रान्तको बह्रमचा सीमाबाट अफगानिस्तान प्रवेश गर्नुभएको हो ।

उक्त आयोगद्वारा उहाँहरूलाई अस्थायी आवास, भोजन, पिउने पानी, आधारभूत स्वास्थ्य सेवा तथा आफ्नो प्रान्तसम्म पुग्न यातायात सुविधा उपलब्ध गराइएको जानकारी गराइएको छ ।हाल करिब सात लाख अफगान शरणार्थीहरू विदेशमा बसोबास गरिरहनुभएको छ, जसमा अधिकांश अवैध रूपमा इरान र पाकिस्तानमा रहनु भएका व्यक्तिहरू हुन् ।

पाकिस्तान र इरानका सम्बन्धित अधिकारीहरूले गैरकानुनी रूपमा बसोबास गरिरहनुभएका विदेशी नागरिकहरूलाई स्वदेश फर्कन अनुरोध गर्नुभएको छ ।

मनसुनजन्य विपद् प्रतिकार्यको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

कुरिनटार (चितवन), ७ जेठ : गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित छैटौँ समूहको गोताखोर तालिमको आज समापन गर्दै उहाँले तालिमका क्रममा सिकेका सीपको प्रयोग गरी अप्ठ्यारामा परेको नागरिकको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै विपद् जोखिम न्यूनीकरणमा लाग्न जरूरी रहेको बताउनुभयो । जोखिम न्यूनीकरणका लागि स्थानीय तथा प्रदेश सरकारलाई सक्षम बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जोखिममा परेका नागरिकको जीउधनको सुरक्षा, राहत तथा पुनःनिर्माणमासमेत सबै सुरक्षा निकाय तथा स्थानीय तहले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरी कर्मचारीले तालिममा हासिल गरेका ज्ञान, कला र सीपलाई कार्यक्षेत्रमा खटिँदा सदुपयोग गर्दै आपत्विपद्मा परेका नागरिकको उद्धार कार्यमा आफ्नो ज्यानको प्रवाह नगरी दिएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीले गरेका हरेक क्रियाकलापले आमनागरिकमा भरोसा पैदा गरेको जनाउँदै उहाँले आमनागरिकले आगामी दिनमा पनि यस्तै कामको अपेक्षा गरेको बताउनुभयो ।

गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल विभिन्न प्रकृतिका विपद् जोखिममा रहेको हुँदा यसखालका तालिमबाट दक्ष जनशक्ति उत्पादनका साथै विपद्मा फसेका नागरिकको उद्धार र राहत कार्यमा सहजता पुगेको बताउनुभयो । गोताखोर तालिम प्राप्त गरेका जनशक्तिले आफ्नो जीउको बाजी राखेर पीडित नागरिकको उद्धारमा लागेको उल्लेख गर्दै उहाँले विपद् उद्धार कार्यका लागि चाहिने साधनस्रोत र जनशक्तिमा कमीकमजोरी नआओस् भन्नेतर्फ मन्त्रालय प्रयासरत रहेको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनले आपत्विपतमा परेका नागरिकको उद्धार राहत तथा सेवा सुरक्षालाई सधै प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो । सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यस्थापनको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले विपद् व्यवस्थापनलाई ध्यान दिएर सम्पूर्ण इकाइमा आधारभूत उद्धार सामग्री र प्रदेशस्तरमा विशिष्टिकृत आधुनिक उपकरणसहित दक्ष र व्यावसायिक जनशक्ति तैनाथ गर्ने योजना रहेको बताउनुभयो ।

महानिरीक्षक अर्यालले विभिन्न प्रकृतिका विपद् प्रतिकार्य गर्नसक्ने समुदायस्तरमै समुदाय विपद् स्वयंसेवक उत्पादन गर्ने योजना कार्यान्वयन भइरहेको जनाउँदै जेठ महिनभित्रै सबै वडामा २५ जनाका दरले एक लाख ७० हजार समुदायस्तरमा विपद् सूचक तयार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भरत खनियाँले तालिम केन्द्रको विविध गतिविधिको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सो अवसरमा गृहमन्त्री लेखकले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण र महानिरीक्षक अर्यालले गोताखोर ‘ट्याग’ प्रदान गर्नुभएको थियो । त्यस अवसरमा गृहमन्त्री लेखकले विपद् व्यवस्थापनसम्बन्धी सामग्री रहेको ‘डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिवेशन सेन्टर’को समेत अवलोकन गर्नुभएको थियो ।

छ हप्ता अवधिको उक्त तालिममा २० जना सशस्त्र प्रहरी कर्मचारी सहभागी थिए । तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो ।

पूर्वतयारी र सूचना प्रवाहले जनधनको सुरक्षामा निर्णायक भूमिका खेल्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ७ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जल तथा मौसम विज्ञान विभागको आयोजनामा आज आयोजित ‘राष्ट्रिय मौसम फोरम–२०८२’ को उद्घाटन उहाँले जलवायु परिवर्तनका कारण मौसम चुनौती थप जटिल बन्दै गएकाले अबको नीति पूर्वानुमान र पूर्वतयारीलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने बताउनुभयो ।

“पूर्व अनुमान र उचित सन्देश समयमै प्रवाह गर्न सकेमा ठूलो जनधनको सुरक्षा हुन्छ, केवल नीति निर्माण मात्र होइन, संरक्षण, उत्पत्ति र उपयोग सबै पक्षमा पूर्व तयारी आवश्यक छ,” उहाँले भन्नुभयो । मन्त्री खड्काले केही समयअघि सिस्नेरीमा भएको दुर्घटनाको स्मरण गर्दै पूर्वानुमान र समयमै सूचना प्रवाह गर्न सकेको भए विद्यार्थीहरूको ज्यान जोगिन सक्ने बताउनुभयो ।

हिमाल आरोहणमा गएका पर्यटक समयमै सूचना नपाएर अकालमा ज्यान गुमाउनु परेका घटनालाई उदाहरण दिँदै उहाँले यस्ता त्रासदी दोहोरिन नदिन प्रभावकारी पूर्वानुमान प्रणाली र सूचना सम्प्रेषणमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

विपद् व्यवस्थापनमा सबैभन्दा छिटो प्रतिक्रिया स्थानीय तहको वडा कार्यालयबाट हुने भएकाले मौसमसम्बन्धी सूचना वडास्तरसम्म पुर्‍याउनु जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले जल तथा मौसम विज्ञान विभागलाई सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।

विभागका महानिर्देशक कमलराम जोशीले आगामी दिनमा अझ वैज्ञानिक र सहभागीपूर्वक तयारी अघि बढाइने बताउनुभयो । कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीलगायतको सहभागिता रहेको थियो ।

बागमती प्रदेशसभा : विनियोजन विधेयकमा छलफल सुरु

मकवानपुर, ७ जेठ : बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) विधेयक माथि छलफल सुरु भएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गत मङ्गलबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमा विभिन्न शीर्षकअन्तर्गत २९ बुँदाको विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गर्नुभएको थियो ।

सो बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी प्रदेशसभाका २७ जना सदस्यहरुले छलफलमा भाग लिनुभएको थियो । उहाँहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुको बोलीवचन र व्यवहारमा एकरूपता नहुँदा प्रदेशमा सुशासनको भूमिकालाई उपहास गरिएकाले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सरकारद्वारा प्रस्तुत विनियोजन विधेयकमा पूर्वाधार क्षेत्रको विकास, राजस्व सङ्कलन, आन्तरिक आयमा अभिवृद्धि, संविधान र प्रादेशिक योजनको कार्यान्वयन, विनियोजन कुशलता, कार्यान्वयन दक्षता, वित्तीय अनुशासन र सङ्घीय प्रणालीको सवलीकरणमा सरकारले इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइयो ।

प्रदेशसभा सदस्यहरुले सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा पारदर्शी, निष्पक्षता र दलगत स्वार्थबाट माथि उठेर योजना बैंकमार्फत आएका विभिन्न योजनाको छनोट गरी बजेट वितरण गरिएमा मात्र सरकारको लक्ष्य पूरा गर्न सकिने बताउनुभयो । उहाँहरुले कृषि उत्पादन, पर्यटन विकासको विस्तार र औद्योगिक क्षेत्रलाई विस्तार र प्रवर्द्धन गरी बेरोजगार युवालाई सीपमूलक तालिम दिइ स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराउन सरकारले गुरुयोजना तयार गरी लागू गर्न सुझाव दिनुभयो ।

उक्त विधेयक माथि छलफलमा डा दिनेशचन्द्र देवकोटा, सुरेन्द्रप्रसाद पौडेल, गोविन्द लम्साल, गङ्गानारायण श्रेष्ठ, आशा लामा, दीपेन्द्र श्रेष्ठ, डम्बर लामा, कुमारी मुक्तान, लक्ष्मी घिमिरे, शिवराज अधिकारी, राधिका तामाङ, रमेशकुमार महत, कञ्चन चन्द्रबादे, रत्नप्रसाद ढकाल, उर्मिला सुनवार, भारती पाठक, सृजना सैँजु, उमेश बाँस्कोटा, केशवप्रसाद पोख्रेल, मातृका भट्टराई, प्रभात तामाङ, गीता काफ्ले, आनन्दकुमार श्रेष्ठ, छिरिङ दोर्जे लामा, भरतबहादुर केसी, सुरेन्द्र गोरसाईं र उद्व थापाले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले प्रदेशसभाको अर्काे बैठक भोलि जेठ ८ गते दिनको ११ बजे बस्नेगरी आजको बैठक स्थगित गर्नुभएको थियो ।

यस्तो छ, सार्वजनिक लेखा समितिको निर्णय

काठमाडौं । सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई थप ग्रहण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले उक्त निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उनले भने,‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय भएको छ ।
पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि आएको विषयहरु सचिवालयले ड्राफ्ट बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको पनि जानकारी गराए ।

‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’ : महासचिव पोखरेल

देउखुरी (दाङ), ७ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्ने बताउनुभएको छ ।नेकपा एमाले स्थानीय विकास विभाग दाङद्वारा आयोजित कार्यकर्ता र जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले विपक्षीले प्रशंसा गरेमा बाटो बिराएको भनेर बुझ्नुपर्ने बताउनुभयो । “विपक्षीहरूले प्रशंसा गर्न थाले भने आफूले बाटो बिराएको सम्झनुपर्छ । उनीहरूले आलोचना गर्नु भनेको चिन्ताको विषय होइन”, उहाँले भन्नुभयो ।

उहाँले एमालेले विगतका हरेक सङ्कटलाई सामना गर्दै सशक्त रूपमा अघि बढेको र देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित गरिसकेको दाबी गर्नुभयो । पोखरेलले भन्नुभयो, “एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो । हामी लोकतन्त्र र समृद्धिका पक्षमा लडिरहेछौँ ।”

स्थानीय सरकाले गरेका राम्रा कामको प्रचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा एमालेबाट निर्वाचित वडा तथा स्थानीय तहका जनप्रतिनिधिको उपलब्धि र आगामी चुनौतीबारे जानकारी गराइएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले नगरस्तरीय विकास योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, स्थानीय विभागका केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो ।

श्री गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

पोखरा महानगरपालिका वडा नं. १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ । कोटिहोम नियमित सञ्चालन भइरहेको बेला आज स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् । माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानिय शारदा पंगेनीले बताएकी छन् ।

उनले भनिन–“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा भावी पुस्ताहरुले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी ताजा राख्नको लागि कोटिहोम चोक भनेर नामकरण गरिएको हो ।” उनले थपिन–हामी धन्य रहेछौं हाम्रो आगनमा आएर अहिले सम्म नदेखेको कोटिहोमको दर्शन गर्ने अवसर पायौं ।

त्यस्तै अर्का स्थानिय धनी प्रसाद ढकालले भने –“हामी कोटिहोम चोक बनाएर अहिले सानो बोर्ड मात्र स्थापना गरेका छौं,यो कोटिहोम महायज्ञको इतिहास जिवन्त गर्नका लागि अर्काे बर्ष स्थानियको सक्रियतामा नै ठूलो प्रवेशद्धार निर्माण गर्ने छौं ।”

त्यस्तै अर्का स्थानिय बिनोद केसीले नयाँ मान्छे आउदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला कोटिहोम महायज्ञ र कोटिहोम चोक नामाकरण गर्दा हाम्रो पहिचान नै उच्च रहने बताएका छन् । त्यस्तै बैशाख ९ गते एकादशीको दिन उक्त चोकको अनावरण गर्ने कार्यक्रम रहेको स्थानियको भनाई रहेको छ ।मानव सेवा फाउण्डेसन नेपाल लगायतको आयोजनामा अहिले सञ्चालन भएको कोटिहोम महायज्ञमा दैनिक बाक्लो भक्तजनको सहभागीता रहेको छ ।

भूमिसम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग संघीय लोकतान्त्रि मोर्चाको माग

काठमाडौं । संघीय लोकतान्त्रि मोर्चा सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक फिर्ता लिन आग्रह गर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको जनमत पार्टीले संघीय लोकतान्त्रि मोर्चाको मूल समितिको बैठकले विधेक असंवैधानिक रहेको निष्कर्ष निकाल्दै सरकारलाई फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

उनले भने,‘यो सरकारले संसद प्रस्तुत गरेको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक ल्याएको छ । संविधानको अनुसूची ६ अनुरुप भूमि व्यवस्था र भूमिसुधार सम्बन्धी अभिलेख राख्ने अधिकार रहेकोले प्रदेशको क्षेत्रअधिकारमा हस्तक्षेपगरी ल्याएको विधेयक असंवैधानिक रहेको भूमि ऐन र सुकुम्बासीको समस्या समाधान यो विधेयबाट हुन सक्दैन् ।

सुकुम्बासीको समस्या समाधान गर्न प्रचलित ऐन नै पर्याप्त रहेको छ । यो जनताको हितमा नरहेकोले सरकारले फिर्ता लिनुपर्छ भन्ने अनुरोध गरिएको छ ।’ त्यस्तै बैठकले आगामि बजेट जनसङख्या र मानव विकास सूचाङकको आधारमा विनियोजन गर्न आग्रह समेत गरेको छ ।

मेची भन्सार कार्यालयबाट १० महिनामा चिया निर्यात ४६ प्रतिशतले वृद्धि

भद्रपुर (झापा), ७ जेठः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार रु तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ ।

चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाइँले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ५२ करोड १० लाख १४ हजार बराबरको चिया निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात ३.६० प्रतिशतले घटेको छ । चालु आवको दश महिनामा रु छ अर्ब ६६ करोड २५ लाख ४५ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा छ अर्ब ९० करोड ९४ लाख ४८ हजार बराबरको अलैँची निर्यात भएको थियो ।

भेनीयर सिट ७९ प्रतिशत, फलामे पाता ७.७०, सिआरसिट ६२.२० प्रतिशत र मोलासिस निर्यातमा ८४४.३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी सिमेन्ट क्लिङ्कर ३.९० प्रतिशत, छुर्पी १६.२० प्रतिशत, अदुवा ५९.४० प्रतिशत, अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आवको १० महिनामा रु २१ अर्ब ४५ करोड ९३ लाख २३ हजारको मालवस्तु निर्यात भएको छ ।

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण

काठमाडौँ, ७ जेठ : नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल आरोहण गरेको छ । संयुक्त आरोहण अभियान टोलीले यही जेठ ५ र ६ गते कञ्चनजङ्घा हिमाल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

दुई वटा समूहमा भएको उक्त आरोहणमा नेपाली सेनाका सेनानी गजेन्द्र देउवाको नेतृत्वमा १० र भारतीय सेनाका कर्नेल सर्फराज सिंहको नेतृत्वमा पाँच गरी १५ जना सहभागी थिए ।

सेनाद्वारा हिमाली क्षेत्रको सरसफाइ

पर्यावरण संरक्षणमा टेवा पु¥याउनुका साथै हिमाली क्षेत्रमा सरसफाइको महत्वका बारेमा स्थानीयलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेनाले सरसफाइ गरेको छ ।

यही जेठ ३ गते नेपाली सेना अन्तर्गत मुस्ताङ जिल्लामा तैनाथ श्री सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले थोराङ पास इलाकामा छरिएर रहेका ३५० केजी (३७ बोरा) फोहर सङ्कलन गरी अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) जोमसोमलाई हस्तान्तरण गरेको छ ।

त्यसैगरी, गत वैशाख २६ गतेदेखि आजसम्म सोलुखुम्बुमा सेनाले अभ्यास शिखर यात्रा सञ्चालन गरी गोरक्सेप, दिङबोचे, पाङ्बोचे, कालापत्थर क्षेत्रमा सरसफाइ गर्नुका साथै स्थानीयको उपस्थितिमा सचेतनामूलक कार्यक्रमसमेत गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सेनाले पाङबोचे र दिङबोचे क्षेत्रमा जम्मा भएको करिब ५०० केजी फोहरलाई स–साना टुक्रा बनाई ढुवानी गर्न सहज बनाउनुका साथै पाङबोचे र नाम्चेमा रहेको करिब १०० केजी फोहर लुक्लासम्म ढुवानी गरी सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको छ ।

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।

विभागका महानिर्देशक कमलराम जोशीले अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको बताउनुभयो । “यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश “भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,” उहाँले भन्नुभयो, सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।”

त्यसैगरी मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको जोशीले बताउनुभयो ।

अधिकतम तापक्रमको आँकलन

जोशीले अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ र सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग, गण्डकी प्रदेशको पश्चिमी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको बताउनुभयो ।

“त्यसैगरी मधेश प्रदेशको पूर्वी भू–भाग र गण्डकी प्रदेशको मध्य भू–भागमा सरदर भन्दाबढी रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ र देशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ,” उहाँले भन्नुभयो ।

न्यूनतम तापक्रमको आँकलन

विभागले न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ जनाएको छ । “कर्णाली र बागमती प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशको मध्य भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशको तराई भू–भागमा न्यूनतम तापकम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग र कोशी प्रदेशको उत्तरी भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दाबढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।”

विभागका अनुसार यस आँकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपहरूको आँकलन र दक्षिण एसियाली जलवायु मौसमी दृष्टिकोण मञ्च आँकलनको आधारमा तयार गरेको हो ।

बाढीको पूर्वसूचना प्रणाली विकासका लागि समझदारी

जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्नेसम्बन्धी एक समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।

आज राष्ट्रिय मनसुन दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडीको उपस्थितिमा विभागका तर्फबाट महानिर्देशक कमलराम जोशी र इप्पानकातर्फबाट अध्यक्ष गणेश कार्कीले एमओयुमा हस्ताक्षर गर्नुभएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले यस ऐतिहासिक सम्झौताको सफल कार्यान्वयन ऊर्जा क्षेत्रमा कोशेढुङ्गा सावित हुने बताउनुभयो । यसको कार्यान्वयनका क्रममा आयोजनाको केही लागत बढे पनि पूर्वसूचनाबाट पाइने लाभको अगाडि त्यो नगण्य हुने हुनाले सबै आयोजनाले यसलाई सहजरूपमा लिने पनि खड्काले विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जा सचिव सुरेश आचार्यले आयोजनामा हुने क्षति न्यूनीकरणका लागि इप्पान र डिएचएमबीच भएको सम्झौताले निकै ठूलो अर्थ राख्ने बताउनुभयो । जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छाले यो सम्झौता ऐतिहासिक हुने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको मौसम विज्ञान विभाग र निजी क्षेत्रका ६०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीको छाता संस्था इप्पानबीच भएको यो समझदारीले जलविद्युत् आयोजनामा हुने बाढीपहिरोको क्षति रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विभागका महानिर्देशक कमलराम जोशीले बताउनुभयो । उहाँले निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनामा जडान गरिएका र आगामी दिनमा जडान हुने बाढी पहिरोको पूर्वसूचना प्रणालीलालाई जल तथा मौसम विज्ञान विभागको नेटवर्कसँग आबद्ध गर्दै विद्युत् आयोजना स्थलमा वर्षा, बाढी र पहिरोको जोखिमको सूचना समयमै प्रवाह गरी सुरक्षा सतर्कता अपनाउने र मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले इप्पान र विभागबीच यो सम्झौता भएको बताउनुभयो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले यस सम्झौतापछि जलविद्युत् आयोजनामा विगतको जस्तो बाढीपहिरोको असरले ठूलो भौतिक तथा मानवीय क्षति हुन नपाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गत वर्ष काठमाडौँमा आएको बाढीले २८ किलोमिटर पर रहेको एउटा जलविद्युत् आयोजनासमेत बचाउन नसकिएको बताउँदै बाढीपहिरोपछि बिमा दाबी भुक्तानीका सन्दर्भमा पनि अर्को समस्या रहिरहेको बताउनुभयो ।

सम्झौतामा के छ ?

पाँच वर्षका लागि गरिएको यो समझदारीपत्र कार्यान्वयनका लाग इप्पान र विभागबाट एक/एक जना प्रतिनिधि तोकिनेछ । दुवै पक्ष सहमत भएमा यसको समय थप हुनुका साथै कुनै एक पक्ष सहमत नभएमा यो सम्झौता खारेज गर्न सकिनेछ । दुवै पक्षको आपसी सहमतिबाट एक महिनाको पूर्वसूचना दिएर जुनसुकैबेला समझदारीकपत्र संशोधन गर्न सकिने भए पनि समझदारीपत्र संशोधन गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौताअनुसार विभागले बाढी आउने सम्भावित समय जेठ १५ देखि असोज १५ गतेसम्म नदी बेसिनका आधारमा वर्षा र जलसतहसम्बन्धी रियल टायम तथ्याङ्क एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपिआइ)मार्फत इप्पान तथा यसका सदस्य आयोजनालाई उपलब्ध गराउनेछ । यसमा नदी बेसिनअनुसार वर्गीकरण गरिएको डाटा र सम्बन्धित ठाउँको तीन दिन वा उपलब्ध भएसम्मको मौसम पूर्वानुमानको तथ्याङ्क फाइल ट्रान्सफर पोर्टोकल (एफटिएफ) लिङ्कमार्फत विभागले इप्पानलाई उपलब्ध गराउनेछ ।

विभागले इप्पानलाई उपलब्ध गराएका तथ्याङ्कहरू आफ्नो सर्भरमा भण्डारण गरी त्यसलाई प्रशोधन गरेर बिक्री वितरण गर्न सक्नेछ भने आफ्ना सदस्य आयोजनाले कुनै अध्ययन अनुसन्धानका लागि माग गरेमा निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।

इप्पान तथा यसका सदस्य आयोजनाले जडान गरेका पूर्वसूचना प्रणालीको तथ्याङ्क विभागले तोकेको ढाँचामा विभागको सर्भरमा सम्प्रेषण गर्नुपर्नेछ । आगामी दिनमा जडान हुने जल तथा मौसम पूर्वानुमान उपकरणहरू विभागको प्राविधिक स्पेसिफिकेशन पालना गरी जडान गर्नुपर्नेछ ।

त्यसैगरी विभागले उपलब्ध गराएको एपिआई गोप्य राख्नुपर्ने, प्राप्त तथ्याङ्क आन्तरिक प्रयोजन, विकास प्रवद्र्धन र क्षति न्यूनीकरण प्रयोजनका लागि बाहेक तेस्रो पक्षको पहुँचमा पुर्‍याउन नहुने कुरा समझदारीपत्रमा उल्लेख छ । यस सम्झौताअनुसार इप्पान र तथा यसका सदस्य आयोजनाले हरेक वर्षायामपछि मौसमसम्बन्धी प्रतिवेदन तयार पारी विभाग र ऊर्जा मन्त्रालयमा पेस गर्नुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

बाढीपहिरो पीडितका लागि सातदिनपछि तिल गाउँमा पु-याइयो राहत सामग्री

सिमकोट (हुम्ला), ७ जेठः जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिल गाउँमा आज राहत सामग्री पु-याइएको छ । यही जेठ १ गते राति गएको बाढीपहिरो पीडितका लागि सातदिन पछि आज राहत सामग्री पु-याइएको हो ।

पहिरोको जोखिममा रहेका १९ घरपरिवारका लागि नाम्खा गाउँपालिका, उद्योग वाणिज्य सङ्घ, ‘आधार नेपाल’ नामक संस्थाको टोली राहत सामग्री लिएर तिल गाउँमा पुगेको हो । राहत सामग्रीसँगै नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा पनि तिला गाउँ पुग्नुभएको छ ।

बाढीपहिरो पीडितका लागि प्रमुख समस्या गाँस, बास र कपास भएकाले आवश्यक सामग्री आज बिहान पु-याइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । उनीहरुलाई १० क्विन्टल चामल, १०० लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एक क्विन्टल चिउरा, एक क्विन्टल भुजा, चिया, आलुको बीउ, सागसब्जीको बीउ, साबुन, औषधि, सिमेन्ट पु-याइएको प्रजिअ पाण्डेयले बताउनुभयो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा आज राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको छ । कम्बल, त्रिपाल, म्याट्रेस लिएर अध्यक्ष गणेश महत त्यसतर्फ लाग्नुभएको हो । त्यसैगरी खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लाले एक हजार ८०० मिटर खानेपानीको पाइप सहयोग गरेको छ ।

तिल गाउँका १९ घरपरिवारका ३३ जना त्रिपाल मुनि बस्दै आएका छन् । उक्त राहत सामग्री हल्जी गाउँदेखि गाडी पुग्ने ठाउँसम्म गाडीमा र त्यसपछि भरिया, घोडा र खच्चडलाई बोकाएर तिल गाउँमा पु-याइएको हो ।

हाइटेन्सनको करेन्ट लागेर बाख्रा चराउन गएकाएक वृद्धको मृत्यु

गोरखा, ७ जेठ : हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा चौताराका ७० वर्षीय बलराम विकको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार बारीमा बाख्रा चराउन जानुभएका विकलाई दिउँसो १४ः३० बजे बारीमा गाडिएको हाइटेन्सन लाइनको सपोर्ट तारमा छुँदा करेन्ट लागेको थियो । उहाँको घटनास्थलमा नै मृत्यु भएको सुवेदीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने

सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको छ। यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै थाहा पाउन सजिलो हुनेछ।

अहिले मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन २ देखि ४ घण्टा लाग्छ, तर यो एआई प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्छ। वरिष्ठ डाक्टर लोहेन्द्रन बास्करनले मंगलबार सञ्चारकर्मीलाई यसबारे जानकारी दिनुभयो।यो प्रणाली पहिले परीक्षण गरिएको बेलामा ८५% देखि ९९% सम्म सही नतिजा दिएको थियो। अब यो प्रणाली एक वर्षसम्म अस्पतालहरूमा प्रयोग गरेर त्यसको परिणाम कस्तो हुन्छ भन्ने हेरिनेछ।

‘सिंगापुर मुटु घाउ विश्लेषक’ नाम दिइएको यो प्रणाली सन् २०२५ को तेस्रो चौमासिक (सेप्टेम्बर-अक्टोबरतिर) बाट प्रयोगमा ल्याइनेछ।सिंगापुरमा मुटुको समस्या हुने रोग सबैभन्दा धेरै मानिसको ज्यान लिने कारण हो। सन् २०२२ मा अाठ हजार३११ जनाको मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको थियो, जुन कुल मृत्युमध्ये लगभग ३० प्रतिशत हो।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला

झापा, ७ जेठ : यहाँको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले आज बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । उक्त हात्ती धेरै पहिलेदेखि बिरामी थियो ।

प्रकृति संरक्षण कोषबाट पशु चिकित्सक ल्याएर चार पटक उपचार गराएको श्रेष्ठले जानकारी दिनुभयो । “हात्ती पहिल्यैदेखि बिरामी थियो,” उहाँले भन्नुभयो, “उपचार गरियो, बचाउन सकिएन ।” बिरामी भएर चरनमा जान नसकेपछि उक्त हात्तीका लागि मेचीनगरका युवाको संस्था रेपिड रेस्पोन्स टिम (आरआरटी)ले बन्दाकोभी, फुलकोभी, तरुललगायतका खाना जङ्गलमै लगेर खुवाउने गरेको थियो ।

वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलका अनुसार उक्त रैथाने हात्तीलाई ‘घुमन्ते गज’ नामकरण गरिएको थियो । लुइँटेलले झापाको जङ्गलमा विचरण गर्दै आएका रैथाने हात्तीलाई तिनीहरुको पहिचान र स्वाभावको आधारमा विभिन्न नामकरण गरिँदै आएको बताउनुभयो ।

हात्ती मरेपछि पोस्टमार्टम जाँचका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली घटनास्थलमा आइपुगेको र आजै खाल्डो खनेर पुरिने जनाइएको छ ।

पर्यटन क्षेत्र सुधार्न विधेयक जरूरी पर्‍यो : मन्त्री पाण्डे

काठमाडौँ, ७ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१’ पर्यटन क्षेत्र सुधारका लागि जरूरी भएको बताउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको स्पष्ट पार्नुभयो ।

उक्त विधेयकमाथि सदस्य डा अञ्जान शाक्य, गङ्गाकुमारी बेल्वासे, किरणबाबु श्रेष्ठ, तारामान सुवार, सुरेशकुमार आलेमगर, गोपीबहादुर अछामी, तुलसाकुमारी दाहाललगायतले नेपाल प्राकृतिक हिसाबले सुन्दरता, पर्यटन क्षेत्रको दिगो विकास राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री पाण्डेले उक्त विधेयकमाथिको छलफलपछि नेपालको प्राकृतिक र सांस्कृति दृष्टिकोणले निकै सम्भावनाका क्षेत्र रहेको उल्लेख गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट पर्यटन प्रवर्द्धन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त प्रस्ताव समितिको सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सदस्यहरूले विधेयक शाखामा गएर संशोधन राख्न सकिने जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते बुधबार १ः१५ बजे बस्नेछ ।

सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि,कतिमा हुँदैछ कारोबार?

काठमाडौँ, ७ जेठः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९९० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संघीय लोकतान्त्रीक गणतन्त्रको रक्षाँ गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा रहेको र त्यसको रक्षाँको जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन् ।

मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षणयन्त्र भईराखेको बताएका हुन् ।

उनले भने, ‘फेरी एउटा नयाँ वहस, फेरी एउटा नयाँ संघर्ष सुरु भईसकेको छ हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा पार्ने षणयन्त्र भईराखेको छ । यसको रक्षाँ गर्ने जिम्मा यसको निर्माण गर्नेहरुको काधमा नै मूख्यरुपमा हुन्छ जसले संघीय लोकतान्त्रीक गणतन्त्र भनेर महिला, उत्पिडीत वर्गको पहिचान दियो यसलाई जन्म दियो । त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्र कै हुन्छ । माओवादी केन्द्रले त्यो हिम्मत गरेन भने यो सम्पूर्ण व्यवस्था कोल्याप्स हुने खतरा हुन पनि सक्छ ।’उनले संघीय लोकतान्त्रीक गणतन्त्र जनताको गणतन्त्र बन्ने हो कि दलालहरु, नोकरशाहहरु, गणतन्त्र हुने भन्ने बैचारिक लडाई सुरु भएको बताए ।

‘संघीय लोकतान्त्रीक गणतन्त्र महिला, दलित, आदिवासी, जनजाती, मजदुर किसान मधेशी, मुस्लिम, थारु सबैको हित संरक्षण गर्ने जनताको गणतन्त्र बन्ने हो कि यो दलालहरु, नोकरशाहहरु, बिचौलियाहरु, जाली भटाहाहरुको गणतन्त्र हुने हो भन्ने लडाई अहिले देशमा बैचारिकरुपले गर्न सुरु गरिसकेको छ,’ उनले भने ।

सुशासन कायम गर्न तीनै तहका सरकार अनुशासित हुनुपर्छ : शेखरकुमार सिंह

काठमाडौँ, ७ जेठः लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधन गरी मधेसी समुदायको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभएको छ । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित उहाँ राजनीतिक दलको अबको मुद्दा देशको आर्थिक विकास हुनुपर्नेमा जोड दिनुहुन्छ । राष्ट्रियसभा सदस्य सिंहसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश :

देश निर्माणमा लाग्नुपर्ने युवा विदेश पलायन हुनु राम्रो होइन । तर वैदेशिक रोजगारीको धेरै पाटाहरू छन् । एकातिर देशका युवा विदेश जाँदा विप्रेषण आइरहेको छ । तर त्यसो भनेर हुँदैन । अन्नको भूमिको रूपमा चिनिने नेपाल आज परनिर्भर हुनुपरेको छ । यो देशका लागि दुःखको कुरा हो । नेपालको सबै क्षेत्रले उत्तिकै सम्भावना बोकेको छ । हामीले पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्ने होभने त्यो नै देशको आम्दानीको राम्रो स्रोत हुनसक्छ । कृषिको त्यत्तिकै सम्भावना छ । त्यसअनुरुप देशले कृषिमा लगानी गर्नै सकेको छैन । विदेशी युवालाई रोक्नका लागि देशभित्र नै आम्दानीको स्रोत बढाउनुपर्छ । अहिले गाउँ पूरै खाली छ । मान्छे मर्दा मलामी पाउन गाह्रो छ । गाउँमा युवा उमेरका मानिस सबै विदेशमा छन् । युवालाई स्वदेशमै रोक्न सरकारले ल्याएको युवा स्वरोजगारलाई व्यवहारमा कार्यान्वयन हुनुपर्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पनि व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ ।

अर्कातर्फ देशमा सुशासन कायम गर्न तीनै तहका सरकार अनुशासित हुनुपर्छ । तीन तहका सरकारले पारदर्शी भएर जनताको पक्षमा काम गर्नुपर्छ । सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीमा गरेको लगानी पारदर्शी हुनुपर्छ । जबसम्म सरकारले गरेका काम र भएको लगानी पारदर्शी हुँदैन तबसम्म सुशासन कायम हुन सक्दैन । देशमा देखिएका सबै समस्या समाधान गर्न पहिला देश आर्थिक रूपमा सम्पन्न हुनुपर्छ । देशले आम्दानी बढाउनुपर्छ । आर्थिक अवस्थामा सुधार ल्याउन देशभित्र उद्योग र कलकारखाना सञ्चालन गर्नुपर्छ । देशभित्र भएका प्राकृतिक स्रोत साधनको सही ढङ्गबाट परिचालन गर्नुपर्छ । साँच्चिकै भन्ने हो भने हाम्रो देश कृषिबाट नै आत्मनिर्भर हुनसक्छ । कृषिमै प्रचुर सम्भावना छ । तर प्रत्येक वर्ष किसानले मल, बीउ र सिँचाइको समस्या भोग्नुपरेको छ । उनीहरूले समयमा मल पाउन सकेका छैनन् । अर्कातिर उनीहरूले उत्पादन गरेका वस्तुले उचित बजार पाउन सकेको छैन । सरकारले कृषिसँग सम्बन्धित यी सबै कुरा सम्बोधन गर्ने होभने नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढ्छ ।

मैले मधेसी समुदायको अधिकारका निम्ति विगत लामो समयदेखि सङ्घर्ष गर्दै आएको छु । नयाँ संविधानमा मधेसी समुदायका केही अधिकार सुनिश्चित भएको छ । अझै धेरै अधिकार सुनिश्चित हुन बाँकी छन् । अहिले हामी संविधान संशोधनमार्फत मधेसी समुदायको थप अधिकार सुनिश्चित गर्ने पक्षमा छौँ । सरकार गठनका क्रममा संविधान संशोधन गर्ने विषय राखिएको छ । संविधान संशोधन मधेसी समुदायको पक्षमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि संविधान संशोधनका विषयमा सकारात्मक नै हुनुहुन्छ ।

मधेसी सुमदायको मुख्य समस्या भनेको शिक्षा, स्वास्थ्य, रोजगारी र विकास हो । यो समस्या मधेसीमा मात्र नभई देशकै हो । गुणस्तरीय शिक्षा सबै नेपालीको माग हो । तर अन्य प्रदेशको तुलनामा मधेस विकासमा पछि परेको छ । राज्यका निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा मधेसी समुदायको सहभागिता कमजोर छ । संवैधानिक निकाय होस् वा अरु कुनैमा पनि मधेसी समुदायको प्रतिनिधित्व न्यून छ । जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।

समग्रमा संविधानको कार्यान्वयन हुँदै आएको छ । खासगरी पछाडि परेको समुदाय र महिलाको संवैधानिक अधिकार क्रमशः कार्यान्वयन हुँदै गएको छ । त्यसको तुलनामा मधेसी, दलित, उत्पीडित क्षेत्रका समुदायको अधिकार भने अझै कार्यान्वयन हुनसकेको छैन । यही संविधानलाई टेकेर दुईवटा निर्वाचन सम्पन्न भएको छ । संसद्ले ऐन, कानुन पनि तीव्रगतिमा निर्माण गरिनै रहेको छ । फेरि संविधान एकैपटक कार्यान्वयन हुने विषय पनि होइन । विस्तारै कार्यान्वयन हुन्छ भन्ने विषयमा हामीलाई पूर्ण विश्वास छ । सङ्घीयता लोकतन्त्रको गहना हो । यदि सङ्घीयता नभएको भए आज हामी राष्ट्रियसभामा हुने थिएनौँ । सङ्घीयताले समग्र मुलुकलाई विकासको बाटोमा डोहोर्याउँछ । नेपाललाई उज्यालोतर्फ डोहोर्याउने माध्यम भनेको सङ्घीयता नै हो । यसलाई अझै सुदृढ बनाउन सङ्घीयतासँग जोडिएका शिक्षा, निजामती र प्रहरी ऐनलगायतका कानुन बनाउन जरुरी छ ।

हामी सबै दल मिलेर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएका हौँ । देशको एउटा व्यवस्था परिवर्तन भएको छ । तर समग्र जनताको अवस्थालाई अझै सुदृढ बनाउनुपर्ने छ । सबै राजनीतिक दल मिलेर देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने छ । अब सम्पूर्ण राजनीतिक दलको मुख्य मुद्दा नै आर्थिक विकास बन्नुपर्छ । देशको विकास गर्ने सवालमा एकले अर्कालाई आरोपप्रत्यारोप गरेर हुँदैन । दलहरू मिल्नुपर्ने बेला आएको छ । हामी सधैँभरि व्यवस्था मात्र परिवर्तन गर्नमै व्यस्त हुने भए देश बन्दैन । अब देशको अवस्था पनि त परिर्तन गर्नुपर्ने होला नि ? हामीले त्यत्रो सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । जनतालाई सुशासन पनि दिनुपर्छ । कसैले चाहना राख्दैमा व्यवस्था परिवर्तन हुँदैन ।

अहिले भएकै व्यवस्थालाई सुधार गर्दै लैजानुको विकल्प छैन । हामीले जनतालाई स्थायित्व पनि दिनुपर्छ । सबै व्यवस्थाको परीक्षण र अनुभव गर्दागर्दै मुलुक यो अवस्थामा आइसकेको छ । अहिले नेपाली जनताले पाएको अधिकारलाई थप व्यवस्थित गरेर लैजानुपर्छ । जनताले अहिले व्यवस्था होइन, आफ्नो अवस्थामा परिवर्तन चाहेको छ । त्यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरीछ । जनताको अबको चाहना भनेको समृद्ध नेपाल, सुखी नेपाली हो । त्यो पूरा हुँदैछ, छिट्टै पूरा हुन्छ । जनतालाई केही समय धैर्य गर्न आह्वान गर्दछु ।

‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’ को सफलता पछि सोही टिमले फेरि नयाँ कथा लिएर चलचित्र बनाउने घोषणा गरेको छ । चलचित्र टिमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा बनाउने घोषणा गरेको हो । जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ ।

यस चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य, मान्यता र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले जानकारी दिए । चलचित्रको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘ह् न्भलभचबतष्यल बाउ’ र ‘श् छोरा’ भनेर चित्रण गरिएको छ, जसको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।

नेपाली समाजमा बढ्दो पुस्तागत द्वन्द्व र नयाँ पुस्ताले भोगिरहेको दुव्र्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । चलचित्रले बाउ र छोराबीचको भौतिक दूरी मात्र नभई सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।

यसअघि ‘होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो । ‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ ।यस चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । चलचित्रको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ ।

रिसोर्टको पौडी पोखरीमा डुबेर २५ वर्षीय लोकेशको मृत्यु, सँगै गएका आठ जना पक्राउ

चितवन, ७ जेठः भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।साथीहरूसँग पौडी खेल्न गएका निजलाई डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती, ७ जेठ: बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ । बैठकमा आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

इयुका राजदूतहरु भक्तपुरका सम्पदास्थल अवलोकन गर्दै (फोटोफिचर)

नेपाल भ्रमणमा रहेको युरोपेली सङ्घ (इयु) सम्वद्ध विभिन्न २३ देशका राजदूत तथा प्रतिनिधिहरु मङ्गलबार भक्तपुरका सम्पदास्थलको अवलोकन गर्नुहुँदै । तस्बिर ः रमेश गिरी/ रासस

 
 
 

बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै

झापा, ७ जेठ: सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताउनुभयो । यो सडक आरपी समता जेभीले रु ५८ करोडमा निर्माणको ठेक्का लिएको हो ।

बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा रु पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले रु एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ ।

वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको रु छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताउनुभयो ।

विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नति तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्र भइसकेको छभने पहिलो र अन्तिम खण्डमा काम जारी छ । उक्त सडकको पहिलो खण्ड रु एक करोड १३ लाख, दोस्रो खण्ड रु छ करोड र अन्तिम खण्ड रु एक करोड ११ लाखमा ठेक्का लागेको हो ।

कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको रु दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँबाट लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । यहाँ केही दिनमा सडक कालोपत्र गरिने निर्माण व्यवसायी दिनेश मैनालीले जानकारी दिनुभयो ।बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईँले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको बताउनुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ७ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु २५, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु २५, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, भिण्डी प्रतिकिलो रु २५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १२०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ७००, निगुरो प्रतिकिलो रु २५ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १७०, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २४५, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ६३० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु २५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको कर्णाली र सुदुरपशचिम प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मूख्यतया मौसम सफादेखि आंशिक बदली रहेको छ । कोशी, बाग्मती र सुदुरपशचिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भू—भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू—भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती, कोशी, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू—भागमा आंशिक बदली रहनेछ । कोशी, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लिङ्गोे जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी

गलेश्वर (म्याग्दी- सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ ।

दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा कान्छी गाउँ विजय भएको स्थानीय समाजसेवी धनीलाल गर्बुजाले जानकारी दिनुभयो । दग्नामको भूमे पूजाको मुख्य आर्कषणको रुपमा लिइएको लिङ्गोे जुधाउने प्रतिस्पर्धामा गैरी र कान्छी गाउँबीच भएको लिङ्गो जुधाइमा कान्छी गाउँ विजयी भएको हो । विगत चार सय वर्ष पहिलेदेखि भूमे पुजाका साथै सोही दिन दग्नामका दुई गाउँका बीचमा लिङ्गो जुधाउने प्रतियोगिता हुँदै आएको एकता युवा क्लब दग्नामका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो ।

दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजासहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गोे बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा सुरु भएको थियो । यहाँ सामे भुमे, सिद्ध भूमे, देवी, देउराली, भारा, खोला र मण्डलीको पूजाआजा गरी खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोपसहित विनाश नहोस्, स्थानीयको मनोकामना पूरा होस् भनी हरेक वर्षको जेठ महिनामा भूमेपूजा गर्ने गर्दछन् । पूजापछि सोही दिन आयोजना गरिने लिङ्गो जुधाउने प्रतियोगितालाई खुसियाली र भावनात्मक प्रतिस्पर्धासँगै एकताको प्रतीकको रुपमा लिने गरिएको स्थानीय गुन पुनले बताउनुभयो ।

दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझीगाउँ र डाँडागाउँ गरी चार वटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापताकाले सिँगारिएका अग्ला बाँसका लिङ्गा बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङगो ठड्याएर प्रतिस्पर्धा गरेका थिए ।

पुख्र्यौली नाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवका बीच आज बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउन स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिँगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ ।

सचिनको कप्तानीमा यु–१६ क्रिकेट खेल्ने टोली घोषणा

बैतडी- एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ । तडी जिल्ला क्रिकेट सङ्घले उक्त छनोट प्रतियोगिता खेल्नका लागि सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा उपकप्तान भाष्कर जोशी, अन्य सदस्यमा मुकेश चन्द, सन्तोष चन्द, विक्रम बोहरा, नीरज थापा, अमन विष्ट, विनोद भाट, नीरज भट्ट, कृष्ण बोहरा, अमर चन्द, दिनेश महरा, जयबहादुर नाथ र पङ्कज चन्द रहेका छन् ।

यस्तै, टेकराज जोशी, आकाश भण्डारी, सौरभ राना र निखिल टमटा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका सङ्घका सचिव शिद्धराज बोगटीले जानकारी दिनुभयो ।

सङ्घले गत वैशाख २६ गतेदेखि यही जेठ २ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू टोलीमा समावेश भएका सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुँदैछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र क्रिकेट सङ्घको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ ।

बैतडी जेठ ८ गते उद्घाटन खेलमा बझाङसँग भिड्नेछ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटेर प्रदेशको टोली तयार गरिनेछ ।एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

१० गतेदेखि नागढुङ्गा–नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द गरिने

काठमाडौँ-राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनुभयो । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।

आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उहाँले जानकारी दिनुभयो ।

“निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो”, प्रजिअ तिवारीले भन्नुभयो ।

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

बाँध निर्माणमा ढिलाई भएपछि कञ्चनपुरका सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा

दोधारा चाँदनी (कञ्चनपुर), ७ जेठ – सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत वर्षको बाढीले महाकाली नदीमा भत्किएको गाइडबन्ड (बाँध) निर्माणमा ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले महाकाली पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीमा जोखिममा रहेकाले उक्त क्षेत्र निकै संवेदनशील रहेकाले विपद् सङ्कटग्रस्त क्षेत्रको घोषणाका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम मन्त्रिपरिषद्को बैठकले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ८, ९, १० लाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भए पनि उक्त क्षेत्रमा कसरी काम गर्ने भन्नेबारे माथिल्लो निकायबाट कुनै जानकारी नआएको बताउनुभयो ।

भीमदत्त नगरपालिका वडा १२ का वडाध्यक्ष भूपेन्द्रसिंह रावलले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणापछि नेपाली सेनाले काम गर्ने जानकारी पाएको बताउनुभयो । “यहाँ बाढीको धेरै जोखिम छ यहाँका स्थानीयले बाँध निर्माणका लागि पटकपटक आन्दोलन गरेका छन् ।” वडाध्यक्ष रावलले भन्नुभयो, “सङ्कटग्रस्त क्षेत्र घोषणा भएको छ अब नेपाली सेनाले काम गर्छ भन्ने जानकारी पाएको छु ।” गत वर्ष भदौमा महाकाली नदीमा आएको बाढीले महाकाली नदीमा बनेको चार लेनको पुलसँगै निर्माण भइरहेको पोखरीको गाइडबण्ड (बाँध) भत्काएको थियो । उक्त गाइडबण्डको भेरिएसन नहुँदा पुनःनिर्माण हुन सकेको छैन । उक्त गाइडबण्ड निर्माणका लागि सुरुमा ठूलो ढुङ्गाको प्रयोग गर्ने डिजाइन बनाइएको थियो । तर ठूलो ढुङ्गा नपाइएपछि कंक्रिट र तारजालीमा ढुङ्गा भरेर गाइडबण्ड बनाउने डिजाइन बनाइएको हो । तर उक्त डिजाइन ढिलो गरी स्वीकृत भएपछि हालसम्म भेरिएसन भएको छैन ।

भेरिएसन नभएपछि पुल निमार्ण कम्पनीले ठेक्का तोड्ने तयारी गरेको छ । लामो समयसम्म काम गर्न नपाएपछि ठेक्का तोड्ने तयारी गरिएको निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफइसी जेभीका इञ्जिनियर किशोर पाण्डेले जानकारी दिनुभयो । “एक वर्षदेखि हामीले काम गर्न पाएका छैनौँ त्यतिकै अल्झिएर बस्नुभन्दा ठेक्का तोड्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “हामीले काम गर्छौँ भन्दा काम गर्न पाएनौँ भेरिएसन नै नहुँदा काम गर्ने वातावरण भएन ।”

महाकाली नदीमा निर्माण भएको आठ सय मिटर पुलको दुवैतर्फ दुई हजार सात सय मिटर लम्बाइ र छ सय मिटर चौडाइका पोखरी निर्माणाधीन छन् । पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी ९५ प्रतिशत काम भइसकेको छ । अब दुई सय मिटर पहुँचमार्ग कालोपत्र सँगै गाइडबण्डको काम मात्रै बाँकी छ । २०७४ मा ३ वर्षभित्र निर्माण सक्ने गरी रु तीन अर्ब २७ करोडमा कुमार श्रेष्ठ सीएफइसी जेभीसँग सम्झौता भएको थियो ।

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

बनियानी (झापा), ७ जेठ : कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको छ ।

नगर अस्पतालको सेवामा विविधतासँगै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बताउनुभयो ।

“चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ ।” निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको नगरप्रमुख प्रसाईंले बताउनुभयो । अहिले नगर अस्पताल १५ शैय्याको छ । यसलाई २५ शैय्याको बनाउने लक्ष्य रहेको छ । “नगर अस्पताललाई विशेष प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो ।

नगर अस्पतालबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेका नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताउनुभयो । अस्पतालले चाँडै डायलाइसिस सेवा सञ्चालन गर्न लागेको छ । “६ वटा डायलाइसिस मेसिन दाताबाट प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकामा एक नगर अस्पताल र आठ वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । रु तीन करोड ९६ लाखको लागतमा आठवटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन् । रु १५ करोड ३४ हजारको लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको नगरप्रमुख प्रसाईंले बताउनुभयो । भवन निर्माण भएपछि १५ शैय्याबाट २५ शैय्यामा स्तरोन्नति गरिने छ ।

आधारभूत स्वास्थ्य केन्द्रबाट एक सय २७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले बताउनुभयो । नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत हालसम्ममा ८९ हजार सात सय ६४ जनाले स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ ।

बिर्तामोड नगर क्षेत्रमा घरमा प्रसूति गराउनेको दर ‘शून्य’मा झरेको प्रमुख विष्ट बताउनुहुन्छ । नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ । अस्पतालमा चिकित्सकसहित ६० जनाको जनशक्ति रहेको छ ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै चिच्याएर वर माग्ने मालिका मन्दिर

गुल्मी, ७ जेठ : मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

पौराणिक महत्व बोकेको मालीका मन्दिर परिसर वरपर देखिने सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । मालिका मन्दिरमा वर चिच्याएर माग्नुपर्दछ । यहाँ विषेश पर्वहरुमा श्रद्धालुहरुको घुइँचो लाग्छ । यहाँ दर्शन एवं पूजाआजा गर्न गुल्मीलगायत अर्घाखाँची, बागलुङ, प्युठान, बुटवल, काठमाडौँलगायत ठाउँबाट श्रद्धालुहरु आउने गरेका छन् । ज्ञमालिका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पूरा हुन्छ भन्ने जनविश्वास छ । भाकल गरेपछि परेवा उडाउने र बली दिने प्रचलन छ ।

मन्दिर नजिकैको ठूलो चट्टानबाट निस्किएको पानीको मूल यस मन्दिरमा पुग्नेहरुका लागि थप सुन्दर र आकर्षक मानिन्छ । सानो पानीको कुण्डमा रङ्गिबिरङ्गी माछाहरु तैरिरहेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउँछ । मालिका मन्दिरमा बैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीमा हजारौँ भक्तजनको घुइँचो लाग्ने स्थानीय ज्ञानहरी सापकोटाले बताउनुभयो ।

मालिका क्षेत्रमा किम्मु, बर र सिमलका रुखहरु रहेका र तिनै रुखको फेदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने किम्बदन्ती छ । उक्त क्षेत्रमा प्रशस्त मात्रामा वनजङ्गल रहेकाले जङ्गली जनावर र चराचुरुङ्गीको वासस्थान रहेको छ । पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान मागभन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरुले दुःख पाएको भनेर पुकार गरेपछि देवी मालीका भगवती प्रसन्न भएर मन्दिर परिशरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ । चट्टानको बीचमा सानो जलकुण्ड छ । यहाँ साउन र माघ महिनामा बली चढ्दैन ।

मन्दिर नजिकै स्वाँरामा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । मन्दिरबाट फर्केपछि दर्शनार्थीहरु होमस्टेमा बास बस्नुका साथै रैथाने बस्तुका विभिन्न परिकारको स्वाद लिने गरेका छन् । मालिका क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिकाले सडक, खानेपानी, मन्दिर पुनःर्निमाण, व्यवस्थापन लगायतका क्षेत्रमा सहयोग पु¥याउँदै आएको नगरप्रमुख जीवलाल खरेलले बताउनुभयो ।

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ जेठ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १४ पैसा र बिक्रीदर चार रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७० पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जेठ ८ देखि पोखरामा प्रधानमन्त्री कप भलिबल प्रतियोगिता,तयारी अन्तिम चरणमा

कास्की, ७ जेठ : देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् ।

प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेलस्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहने छ । “त्रिपुरेश्वरको कभर्डहल मर्मत भइरहेकाले पोखरा नै उपयुक्त विकल्प हो”, अध्यक्ष चन्दले भने । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फका उपाधि विजेताले रु आठ लाखका दरले पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रु चार÷चार लाख तथा तृतीय हुने टोलीले रु दुई दुई लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही रु ५० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही रु २५ हजार प्राप्त गर्नेछन् । सङ्घका अध्यक्ष चन्दले नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवसायिकरण र युवा पिढीलाई खेलप्रति आकर्षित गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । “गण्डकी प्रदेशको राजधानी पोखरामा भलिबल खेलको लोकप्रियता भलिबल खेलप्रेमीको माया र सद्भाव एवं खेल पर्यटनका मार्फत पोखराको प्रवद्र्धन हुने विश्वास लिएका छौँ”, अध्यक्ष चन्दले भने ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : नेता डा कोइराला

काठमाडौँ, ७ जेठः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा विद्यमान बेथिति र निराशा अन्त्यका लागि सुशासन अपरिहार्य रहेको बताउनुभएको छ । कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आज यहाँ आयोजना गरेको ‘बदलिँदो विश्व परिवेशमा नेपालले अँगाल्नुपर्ने आर्थिक नीति संवाद’ गोष्ठीमा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता डा कोइरालाले दण्डहीनता अन्त्य गर्न र जनअपेक्षाअनुसार काम गर्न सरकारसँग दृढ इच्छाशक्ति हुनुपर्ने विचार व्यक्त गर्नुभयो । “हामी सक्छौँ भन्ने सोेच विकास गरेर अघि बढेमा मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । अब कुरा गरेर हुने स्थिथि छैन । त्यसैले दण्डहीनताको अन्त्य र सुशासन प्रवर्द्धन गर्ने गरी काम गरौँ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले मुलुकको समृद्धिका लागि सेवामा आधारित जनशक्ति विकास र सरकारी सेवा प्रवाह चुस्त बनाउनु आवश्यक रहेको बताउनुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकभित्रै रोजगारी सिर्जना गर्न जमिनको वर्गाीकरण गरेर, जमिन बाँझो रहने समस्या हल गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा विभागका संयोजक डा गोविन्दराज पोख्रेल, पूर्वमुख्य सचिवहरू डा विमल कोइराला र वैकुण्ठ अर्याल, नेपाल सरकारका पूर्वसचिवहरूलगायतले भाग लिई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिनेछः अध्यक्ष दाहाल

काँक्रेविहार, ६ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिने बताउनुभएको छ ।

आज चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको र त्यसमा पार्टीले ध्यान दिने बताउनुभयो ।

अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानकै उत्कृष्ट कार्यक्रम यहाँ भएको भन्दै चौरजहारीको जनसभामा उत्साहपूर्ण जनसहभागिता र समर्थनले आफू अत्यन्त उत्साहित भएको उल्लेख गर्नुभयो । “पार्टीप्रति रुकुमबासीको माया, समर्थन र सहभागिता कहिल्यै बिर्सने छैन”, उहाँले भन्नुभयो, “यहाँका जनताप्रति हाम्रो जिम्मेवारी झनै बढेको छ । विकासका योजना र पार्टीको प्राथमिकता अब रूकुममै केन्द्रित गर्नेछौँ ।”कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।