`

धार्मिक पर्यटकीय गन्तव्य बन्दै चिच्याएर वर माग्ने मालिका मन्दिर

गुल्मी, ७ जेठ : मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

पौराणिक महत्व बोकेको मालीका मन्दिर परिसर वरपर देखिने सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । मालिका मन्दिरमा वर चिच्याएर माग्नुपर्दछ । यहाँ विषेश पर्वहरुमा श्रद्धालुहरुको घुइँचो लाग्छ । यहाँ दर्शन एवं पूजाआजा गर्न गुल्मीलगायत अर्घाखाँची, बागलुङ, प्युठान, बुटवल, काठमाडौँलगायत ठाउँबाट श्रद्धालुहरु आउने गरेका छन् । ज्ञमालिका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पूरा हुन्छ भन्ने जनविश्वास छ । भाकल गरेपछि परेवा उडाउने र बली दिने प्रचलन छ ।

मन्दिर नजिकैको ठूलो चट्टानबाट निस्किएको पानीको मूल यस मन्दिरमा पुग्नेहरुका लागि थप सुन्दर र आकर्षक मानिन्छ । सानो पानीको कुण्डमा रङ्गिबिरङ्गी माछाहरु तैरिरहेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउँछ । मालिका मन्दिरमा बैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीमा हजारौँ भक्तजनको घुइँचो लाग्ने स्थानीय ज्ञानहरी सापकोटाले बताउनुभयो ।

मालिका क्षेत्रमा किम्मु, बर र सिमलका रुखहरु रहेका र तिनै रुखको फेदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने किम्बदन्ती छ । उक्त क्षेत्रमा प्रशस्त मात्रामा वनजङ्गल रहेकाले जङ्गली जनावर र चराचुरुङ्गीको वासस्थान रहेको छ । पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान मागभन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरुले दुःख पाएको भनेर पुकार गरेपछि देवी मालीका भगवती प्रसन्न भएर मन्दिर परिशरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ । चट्टानको बीचमा सानो जलकुण्ड छ । यहाँ साउन र माघ महिनामा बली चढ्दैन ।

मन्दिर नजिकै स्वाँरामा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । मन्दिरबाट फर्केपछि दर्शनार्थीहरु होमस्टेमा बास बस्नुका साथै रैथाने बस्तुका विभिन्न परिकारको स्वाद लिने गरेका छन् । मालिका क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिकाले सडक, खानेपानी, मन्दिर पुनःर्निमाण, व्यवस्थापन लगायतका क्षेत्रमा सहयोग पु¥याउँदै आएको नगरप्रमुख जीवलाल खरेलले बताउनुभयो ।

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ जेठ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १४ पैसा र बिक्रीदर चार रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७० पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जेठ ८ देखि पोखरामा प्रधानमन्त्री कप भलिबल प्रतियोगिता,तयारी अन्तिम चरणमा

कास्की, ७ जेठ : देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् ।

प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेलस्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहने छ । “त्रिपुरेश्वरको कभर्डहल मर्मत भइरहेकाले पोखरा नै उपयुक्त विकल्प हो”, अध्यक्ष चन्दले भने । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फका उपाधि विजेताले रु आठ लाखका दरले पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रु चार÷चार लाख तथा तृतीय हुने टोलीले रु दुई दुई लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही रु ५० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही रु २५ हजार प्राप्त गर्नेछन् । सङ्घका अध्यक्ष चन्दले नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवसायिकरण र युवा पिढीलाई खेलप्रति आकर्षित गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । “गण्डकी प्रदेशको राजधानी पोखरामा भलिबल खेलको लोकप्रियता भलिबल खेलप्रेमीको माया र सद्भाव एवं खेल पर्यटनका मार्फत पोखराको प्रवद्र्धन हुने विश्वास लिएका छौँ”, अध्यक्ष चन्दले भने ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : नेता डा कोइराला

काठमाडौँ, ७ जेठः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा विद्यमान बेथिति र निराशा अन्त्यका लागि सुशासन अपरिहार्य रहेको बताउनुभएको छ । कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आज यहाँ आयोजना गरेको ‘बदलिँदो विश्व परिवेशमा नेपालले अँगाल्नुपर्ने आर्थिक नीति संवाद’ गोष्ठीमा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता डा कोइरालाले दण्डहीनता अन्त्य गर्न र जनअपेक्षाअनुसार काम गर्न सरकारसँग दृढ इच्छाशक्ति हुनुपर्ने विचार व्यक्त गर्नुभयो । “हामी सक्छौँ भन्ने सोेच विकास गरेर अघि बढेमा मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । अब कुरा गरेर हुने स्थिथि छैन । त्यसैले दण्डहीनताको अन्त्य र सुशासन प्रवर्द्धन गर्ने गरी काम गरौँ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले मुलुकको समृद्धिका लागि सेवामा आधारित जनशक्ति विकास र सरकारी सेवा प्रवाह चुस्त बनाउनु आवश्यक रहेको बताउनुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकभित्रै रोजगारी सिर्जना गर्न जमिनको वर्गाीकरण गरेर, जमिन बाँझो रहने समस्या हल गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा विभागका संयोजक डा गोविन्दराज पोख्रेल, पूर्वमुख्य सचिवहरू डा विमल कोइराला र वैकुण्ठ अर्याल, नेपाल सरकारका पूर्वसचिवहरूलगायतले भाग लिई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिनेछः अध्यक्ष दाहाल

काँक्रेविहार, ६ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिने बताउनुभएको छ ।

आज चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको र त्यसमा पार्टीले ध्यान दिने बताउनुभयो ।

अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानकै उत्कृष्ट कार्यक्रम यहाँ भएको भन्दै चौरजहारीको जनसभामा उत्साहपूर्ण जनसहभागिता र समर्थनले आफू अत्यन्त उत्साहित भएको उल्लेख गर्नुभयो । “पार्टीप्रति रुकुमबासीको माया, समर्थन र सहभागिता कहिल्यै बिर्सने छैन”, उहाँले भन्नुभयो, “यहाँका जनताप्रति हाम्रो जिम्मेवारी झनै बढेको छ । विकासका योजना र पार्टीको प्राथमिकता अब रूकुममै केन्द्रित गर्नेछौँ ।”कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौँ, ६ जेठः वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।

यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

“जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप”

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले मङ्गलबार रुसमाथि शान्ति वार्ता लम्ब्याउँदै समय खर्च गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । उहाँको भनाइ अनुसार रुसको उद्देश्य युद्धलाई अझ लम्ब्याउनु हो । यद्यपि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तुरुन्त युद्धविरामको पहल गरिरहेका छन् ।

ट्रम्पले सोमबार जेलन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै फोन संवाद गर्नुभएको थियो । पछिल्लो शुक्रबार इस्तानबुलमा युक्रेनी र रुसी अधिकारीबीच तीन वर्षपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको थियो । तर ती वार्ताहरू कुनै ठोस निष्कर्षबिना टुंगिएका थिए । जेलन्स्कीले ती वार्तामा रुसी प्रतिनिधिहरूलाई ‘खाली टाउको’ भएको आरोप लगाउँदै गम्भीरता नदेखिएको बताउनुभयो ।

रुसी राष्ट्रपति पुटिनले भने युद्धविरामको सट्टा ‘स्मरणपत्र’ तयार गर्ने प्रस्ताव गरेका छन्, जसमा युद्ध अन्त्यका लागि दुवै पक्षका धारणाहरू समेटिने भनिएको छ । तर यो स्मरणपत्रमा युद्ध रोक्नुपर्ने कुनै बाध्यता नरहेको हुँदा रुसले आक्रमण जारी राख्न सक्ने अवस्था रहेको विश्लेषकहरूको भनाइ छ ।

किभ र मस्कोका सर्वसाधारणले पनि वार्ताबाट ठूला आशा नराखेको देखिएको छ । किभमा एक निवृत्त शिक्षिका भिक्टोरिया किसेलियोभाले ट्रम्पप्रति विश्वास नरहेको बताउनुभयो भने, एक इन्जिनियर भिटालिले ट्रम्पलाई ‘उद्धारकर्ता’ मान्न नमिल्ने बताउनुभयो । युक्रेनी विश्लेषक भोलोडिमिर फेसेन्कोका अनुसार, ट्रम्पको हालको वार्ताले स्थितिलाई प्रस्ट पार्नुको सट्टा झन अन्योलमा पारेको छ । उहाँले पुटिन वार्तालाई बहाना बनाएर युद्ध जारी राख्न खोजिरहेको पनि बताउनुभयो ।

युक्रेन र युरोपेली मुलुकहरूले अहिले ट्रम्पलाई रुसमाथि थप कडा प्रतिबन्ध लगाउन आग्रह गरिरहेका छन् । इस्तानबुल वार्तामा रुसले युक्रेनले पटक–पटक अस्वीकार गर्दै आएको भूभागमाथिको दाबी पुनः उठाएको आरोप पनि लगाइएको छ । युरोपेली सङ्घले रुसमाथि १७ औँ चरणको प्रतिबन्ध घोषणा गर्दै रुसी जलयात्रा साधनहरूमाथि कारबाही गरेको छ ।

जेलन्स्कीले युरोपेली आयोग प्रमुख उर्सुला भन डेअर लायनसँग कुराकानी गरी आगामी प्रतिबन्धका तयारीबारे छलफल गरेको जानकारी दिनुभयो । उहाँले रुसको ऊर्जा व्यापार, बैङ्क प्रणाली र आर्थिक योजना माथि प्रतिबन्ध लगाउन जोड दिनुभएको छ ।

यसैबीच चीनले पनि दुवै पक्षबीचको प्रत्यक्ष संवादलाई निरन्तरता दिनुपर्ने भन्दै सबै पक्षलाई स्वीकार्य, न्यायपूर्ण र बाध्यकारी शान्ति सम्झौतिमा पुग्न आग्रह गरेको छ । चीनको परराष्ट्र मन्त्रालयले संवाद नै समाधानको बाटो भएको धारणा व्यक्त गरेको छ ।

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुर, ६ जेठः धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो । बताउनुभयो ।

कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा आज दिउँसो दुवै जनाको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।

घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताउनुभयो ।

चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ ।

‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ् मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो । उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलता पूर्वक स्थान लिन सफल भएको छ ।

यस उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान, रेडियो तथा टेलिभिजन प्रसारण सेवाहरू प्रदान गरिने अपेक्षा गरिएको छ ।

साथै, यस प्रक्षेपणसँगै लङ् मार्च रकेट शृङ्खलाको यो ५७७ औँ उडान रहेको छ, जसलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

भिरबाट लडेर ज्यान गुमाएका दुई महिलाको शव परिवारलाई बुझाइयो

तनहुँ, ६ जेठः यहाँको ऋषिङ गाउँपालिका–३ स्थित टोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएका दुई महिलाको शव परिवारलायृ बुझाइएको छ ।

सोमबार घाँस काट्ने क्रममा लडेर मृत्यु भएका स्थानीय ६२ वर्षीया श्रीमाया राना र २६ वर्षीया खिमसरा मगरको शव आज परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

वनमा घाँस काट्न गएका दुई महिला अबेरसम्म नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा श्रीमाया सालको रुखमा र खिमसरा वनमाराको झ्याङमा अड्किएको अवस्थामा मृत फेला गर्नुभएको थियो ।

मृतक दुवै जनाको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र भवितव्य ज्यान मुद्दा शीर्षकमा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

शैक्षिक संस्थाआसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग

भक्तपुर, ६ जेठः नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शैक्षिक संस्था आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिरा बेचबिखनमा रोक लगाउनुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको तीन वर्षे कार्यकालको उपलब्धि कार्यक्रममा उहाँले शैक्षिक संस्था आसपासका त्यस्ता पसल तत्काल सञ्चालनमा रोक लगाउनुपर्ने बताउनुभएको हो । नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने औल्याउँदै सांसद सुवालले विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा स्वतः राम्रो हुने बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अतिरिक्त क्रियाकलाप बाहेक हरेक वर्ष नगरस्तरीय महत्त्वपूर्ण योजना सम्पन्न गर्दै आएको जानकारी दिनुभयो । उहाँले स्थानीय तह प्रजातन्त्रको जग भएको चर्चा गर्दै स्थानीय तह अधिकार सम्पन्न भए मात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गर्नुभयो । नगरपालिकाले भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतलाई उच्च प्राथमिकतामा राखेको प्रमुख प्रजापतिको भनाइ छ ।

कार्यक्रममा भक्तपुर नपाकी उपप्रमुख रजनी जोशीले जनताको साथ र सहयोगबिना भक्तपुरको विकास सम्भव नभएको बताउनुभयो । उहाँले जनतालाई निर्वाचना गरेको वाचाअनुसार घोषणापत्रलाई आधार बनाइ काम गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाले प्रवाह गर्दै आएको शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो । मापदण्ड अनुसार भवन निर्माण गरी सम्पन्न प्रमाणपत्र लिएका वडाबासीलाई रु १४ लाख ७५ हजार १४४ बराबरको काठ, इँटा र झिँगटी अनुदान प्रदान गरेको जानकारी गराइयो । नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारी र ३० वर्ष सेवा गर्ने कर्मचारीलाई कदरपत्र तथा दीर्घ सेवाबाट सम्मान गरिएको थियो ।

बागमती प्रदेशसभा बैठक : विभिन्न विधेयक तथा प्रतिवेदन पेस

मकवानपुर, ६ जेठः बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमतीका मुख्य न्यायाधीवक्ता कार्यालयको २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) विधेयक प्रस्तुत गर्नुभयो ।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले ‘प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ प्रस्तुत गर्नुभयो ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित समितिको प्रतिवेदन २०८१ पेस गर्नुभयो ।

यसैगरी उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ लाई प्रस्तुत गर्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी राखेको स्तावमाथि बुधबार र बिहीबार बस्ने बैठकमा पूर्ण छलफल गरिने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी गराउनुभयो । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।

सर्लाहीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

बरहथवा (सर्लाही), ६ जेठः यहाँ दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालको मृत्यु भएको छ ।

आज क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नं को मोटरसाइकल आपसमा ठोक्किएका थिऐ । दुर्घटनामा ५२६ नं को मोटरसाइकल चालक रौतहटको साविक बिसुनपुर्वा गाविस बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनार र ७८६८ नं को मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–२३, वसन्तपुर बस्ने ३० वर्षको विवेक मानन्धरको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै बागमतीस्थित मोडल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

५६२ नं को मोटरसाइकल पछाडि सवार रौतहटको साविक बिसुनपुर्वा–४ की ३२ वर्षीया चनचला देवी साह र भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षकी मुनीदेवी साहको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो । दुवैको शव चन्द्रपुरस्थित अस्पतालमा राखिएको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दुई वटा बाहिनीको निरीक्षण

काठमाडौँ, ६ जेठ : प्रधान सेनापति अशोकराज सिग्देलले सिराहास्थित २७ बाहिनी र बारास्थित २८ बाहिनी अड्डाको शान्ति कार्य लजिष्टिक शाखा र अमलेखगन्जस्थित प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण गर्नु भएको छ ।

त्यसक्रममा उहाँले बाहिनीको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुका साथै शिक्षालय तथा शान्तिकार्य लजिष्टिकबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले धनुषाको भिमानस्थित एकीकृत फायरिङ अभ्यासकोसमेत अवलोकन गर्नु भएको थियो ।

तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकार तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनप्रति गम्भीर रहेको बताएका छन् । मन्त्री खड्काको संयोजनमा मन्त्रालयमा सम्पन्न एक उच्चस्तरीय छलफलमा उनले उक्त आयोजनालाई ठोस कार्ययोजना बनाएर अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

छलफलमा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाबाट विद्युत् उत्पादनसँगै पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लामा करिब एक लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा सिंचाइ सुविधा र्पुयाउने सम्भावनाबारे विस्तृत प्रस्तुति गरिएको थियो ।
चिसाङ सिंचाई आयोजना मार्फत पानी वितरण गरिने यस आयोजनाले ऊर्जा, कृषि, रोजगारी सिर्जना, जल यातायात र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान र्पुयाउने बताइन्छ ।

मन्त्री खड्काले आयोजनाको विगतको अवस्थाको समीक्षा गर्दै निर्माण प्रक्रिया लामो समयसम्म अल्झिनु, बजेटको ठूलो खर्च हुँदासमेत ठोस परिणाम नआउनु र बाँधको सुनिश्चितता नहुँदासम्म लगानीमा गति आउन नसक्नु चिन्ताको विषय भएको बताउए ।
सरकारी संयोजन र समन्वयको अभावले धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दै मन्त्री खड्काले विदेशी लगानीकर्ताको चासो बढिरहेको सन्दर्भमा ढिलाइ नगरी व्यावहारिक मोडेलमा आयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, ऊर्जा सचिव सुरेश आचार्य, सिंचाई सचिव सरिता दवाडी, राष्ट्रिय योजना आयोगका सदस्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलगायत सरोकारवालाहरूको उपस्थिति थियो। सहभागीहरूले आगामी आर्थिक वर्षको बजेटमै आयोजना कार्यान्वयनका लागि आवश्यक बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।सरकारको स्पष्ट नेतृत्व र दिगो कार्ययोजना मार्फत तमोर आयोजना अब निष्कर्षमुखी कार्यान्वयनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

कोटिहोममा ५ लाख बढी भक्तजनले दर्शन गरेको आयोजकको दाबी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मङ्गलवार सम्म ५ लाख बढी भक्तजनले कोटिहोम दर्शन गरेका छन ।
दिन प्रतिदिन भक्तजनको उल्लासमय उपस्थितिले आजको दिन सम्म ५ लाख बढी भक्तजनले कोटिहोम अवलोकन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।मङ्गलवार पनि भक्तजनको सहभागिताले कोटिहोम परिसर भरिभराउ भएको थियो । कोटिहोम दर्शन गर्नका लागि दैनिक पोखरा सँग देशभरका जिल्ला बाट भक्तजन आउन सङ्ख्या बढ्दै गएको छ ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जेठ १० गते देखि दैनिक १ लाख भक्तजनले कोटिहोम दर्शन गर्ने आउने सङ्केत पाएको बताए । हुन पनि जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा पुनः कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो सङ्केत देखिएको उनको विश्वास छ ।

देवी प्रतिभाले जेठ १६ गते सम्म कथा प्रवचन गर्ने कार्यक्रम छ भने जेठ १४ देखि २२ गतेसम्म नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । दुई प्रख्यात कथा वाचीकाको कोटिहोमा उपस्थितिले पनि भक्तजनको सङ्ख्या बढ्ने आयोजकको दाबी छ ।

कोटिहोममा काठमाण्डौकी कलाकवि चापागाईँबाट १ लाख १ हजार, पुन महिला समूह पोखरा– १५ राम बजार ७३ हजार ५ सय ५५, जागृति दिदीबहिनी समूह पोखरा– ७ बाट २५ हजार ५ सय २५, पोखरा– ५ भगवान अधिकारीको परिवार बाट २५ हजार ५ सय ५५, सूर्योदय आमा समूह पोखरा–२७ बाट २५ हजार १ सय ५, विकास टोल आमा समूह पोखरा– १४ बाट २५ हजार १ सय ५५, ढले पिपल विपल लुकुश्वार लौलिवोटर आमा समूह पोखरा–२५ पुम्दीबाट १० हजार ५५, लमजुङ मध्ये नगर पालिका पदम बहादुर थापाबाट १० हजार, पोखरा– १७ बिरौटाका नरेन्द्रराज बरालबाट १५ हजार १ सय, न्यूरोड महिला उत्थान मञ्च पोखरा– ५ बाट २५ हजार ६०, ज्येष्ठ नागरिक आश्रम मिलन केन्द्र पोखरा–२३ बाट ४४ हजार ५ सय ५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
कोटिहोममा मङ्गलवार श्री रत्न ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले दर्शन गरेका थिए । कोटिहोममा जेठ ९ र १० गते फरक क्षमता भएका व्यक्ती, प्रमुख आचार्य, गुरुहरू धार्मिक तथा सामाजिक अभियानमा सक्रिय अभियन्ता, विभिन्न धार्मिक सङ्घ संस्थाका अध्यक्ष तथा पदाधिकारी गुरुकुलका पदाधिकारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ ।

कोटिहोममा विभिन्न धार्मिक कार्यक्रमका गतिविधिमा मात्र सीमित नभई धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका तथा फरक क्षमता भएका व्यक्तिलाई पनि सम्मान गरिने उदाहरण प्रस्तुत गर्न यो सम्मान कार्यक्रम राखिएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । यसअघि पनि कोटिहोममा सहयोग गर्ने सयौँ सञ्चारकर्मीलाई सम्मान गरिएको छ भने सम्मान कार्यक्रम जारी रहेको छ ।

मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । मानवसेवा फाउन्डेसनले सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन गरेको हो । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको छ ।

कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ । कोटिहोममा जेठ १४ गते नेपालका सुप्रसिद्ध मोटिभेटर डा।तारा प्रसाद गिरीले निःशुल्क प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा पोखरमा रहेका विद्यालयका विद्यार्थीलाई लाभ लिन आयोजकले आग्रह गरेको छ ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार धार्मिक क्षेत्रमा राम्रो प्रतिभा भएको कोही पनि नव उदीयमान व्यक्तित्व कोटिहोममा राम्रो स्थान दिइनेछ। ती प्रतिभाले त्यस बापत केही दिनुपर्दैन बरु हामी उच्च मूल्याङ्कन गरेर सहयोग गरिने उनले जानकारी दिए ।

कोटिहोममा अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते, जेठ १४ देखि २२ गतेसम्म श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

उनका अनुसार कोटिहोममा तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् ९हरिवंश पुराण०, कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ ९चण्डी पाठ०, रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।

त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा। तुलसी प्रभास खनालले जानकारी दिए ।

कोटिहोममा युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराज र आदियोगि गौतम स्वामीले भजन संगित सहित सुमधुर वाणीका साथ कथा वाचन गरेका छन् । कोटिहोमम राष्ट्रिय भजन प्रतियोगिता र खुल्ला रक्तदान कार्यक्रम जारी रहेको छ ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन ।

कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान शिवको आशीर्वाद प्राप्त गर्ने महत्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

त्यसैगरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त

न्युयोर्क, ६ जेठ क्युएनए) : प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट वा क्षतिग्रस्त भएको घोषणा गरेको छ ।

युएनआरडब्लुएले सोमबार आफ्नो एक्स प्लेटफर्ममार्फत ‘गाजाका परिवारहरूले अकल्पनीय विनाशको सामना गरिरहेका छन्’ भन्दै ‘सुरक्षा क्लस्टरका अनुसार पट्टीका ९२ प्रतिशत घरहरू क्षतिग्रस्त वा नष्ट भएका छन्’ भनी जोड दिएको छ ।

राष्ट्रसङ्घीय एजेन्सीले ‘अनगिन्ती बासिन्दाहरू धेरै पटक विस्थापित भएका छन् र आश्रय अभाव भएको छ’ उल्लेख गर्दै यो अझै पनि महत्त्वपूर्ण सहायता प्रदान गर्ने भूमिमा रहेको कुरामा जोड दिएको छ ।

युएनआरडब्लुएले आफ्नो विज्ञप्तिमा ‘गाजा पट्टीमा लगाइएको नाकाबन्दी हटाउने आवश्यकता’ मा जोड दिएको छ ।

जनवरी १९ देखि लागु भएको युद्धविराम सम्झौताअन्तर्गत दुई महिनाको विरामपछि इजरायली कब्जा सेनाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो ।

यद्यपि यस कब्जाले अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा बमबारी जारी राख्दै दुई महिनाको अवधिमा युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको छ ।

जापानी कम्पनी होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय सवारी साधन (विद्युतचालित गाडी) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मको लागि तोकिएको लगानी १० ट्रिलियन येन (झण्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करीब ४८ अर्ब डलर) बनाउने घोषणा गरेको छ। यो लगानीमा ३० प्रतिशत कटौती हो।

कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रुपमा विद्युतचालित सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।

कम्पनीका अध्यक्ष तोशिहिरो मिबेका अनुसार अब सन् २०३० सम्ममा होन्डाको कुल सवारी साधन बिक्रीमध्ये विद्युतचालित सवारीको हिस्सा २० प्रतिशत मात्र रहनेछ, जुन पहिलाको लक्ष्य ३० प्रतिशत थियो।

क्यानडामा निर्माण गर्न लागिएको ब्याट्री र विद्युतचालित सवारी उत्पादन केन्द्रको निर्माण कार्य सन् २०२८ मा सुरु हुने भनिएको थियो, तर अब उक्त योजना दुई वर्ष पछाडि सारिएको छ। कम्पनीले त्यस अवधिमा अवस्था मूल्यांकन गरेर योजना अगाडि बढाउनेछ।

यद्यपि लगानी घटाइएको भए पनि, कम्पनीले सन् २०४० सम्म आफ्ना सम्पूर्ण नयाँ सवारी साधनहरूलाई विद्युतचालित वा इन्धनको सट्टा बिजुली प्रयोग गर्ने बनाउने दीर्घकालीन लक्ष्य यथावत राखेको छ। त्यसैगरी, होन्डाले सन् २०३० सम्म हालको तुलनामा दोब्बर अर्थात् २२ लाख हाराहारीमा मिलेजुले (हाइब्रिड) सवारीको बिक्री गर्ने लक्ष्य राखेको छ। आगामी चार वर्षभित्र १३ वटा नयाँ मिलेजुले सवारी बजारमा ल्याउने योजना पनि कम्पनीको छ।

त्यसैगरी, होन्डाले अत्यधिक नाफा दिने मोटरसाइकल व्यवसायमा ध्यान केन्द्रित गर्ने भएको छ। हाल ४० प्रतिशत रहेको विश्व बजार हिस्सालाई ५० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, केन्द्रीय बैंकको नयाँ निर्णय

अष्ट्रेलियाको केन्द्रीय बैंकले हालै मौद्रिक नीतिमा परिवर्तन गर्दै आफ्नो औपचारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा ल्याएको छ। यो सन् २०२५ को दोस्रो ब्याजदर कटौती हो, जुन निर्णय मंगलबार बैंकको सञ्चालक समितिको बैठकपछि सार्वजनिक गरिएको हो।

बैंकले जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति) लाई स्थिर र नियन्त्रणमा राख्ने उद्देश्यसहित ब्याजदर घटाइएको उल्लेख गरिएको छ। सन् २०२२ मा अष्ट्रेलियामा मुद्रास्फीति अत्यन्त उच्च विन्दुमा पुगेको थियो, जसले गर्दा त्यतिबेला केन्द्रीय बैंकले निरन्तर रूपमा ब्याजदर बढाउँदै आएको थियो। ती नीतिहरूले समग्र माग र आपूर्तिबीच सन्तुलन ल्याउन केही हदसम्म सफलता पाएको बैंकले जनाएको छ। हालको स्थितिमा मूल्यवृद्धि केही ह्रास भएको देखिएको र आर्थिक गतिशीलता बढाउन ब्याजदर घटाउने निर्णय गरिएको हो।

साथै, बैंकले पछिल्ला तीन महिनामा विश्वभर आर्थिक अनिश्चितता बढेको र यसको असर अष्ट्रेलियाली अर्थतन्त्रमा पनि पर्ने भएकाले सावधानीपूर्वक नीति बनाइरहेको जनाएको छ। घरेलु बजारको अवस्था अझै स्पष्ट नभएको र उपभोक्ता तथा व्यवसायीहरूको व्यवहार कसरी परिवर्तन हुन्छ भन्ने कुराले आगामी निर्णयहरूलाई प्रभावित पार्ने बैंकको भनाइ छ।

यस परिवर्तनले ऋण लिनेहरूलाई राहत मिल्ने र लगानी प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। तर, आर्थिक वातावरण अझै पूर्ण रूपमा स्थिर नभएकाले केन्द्रीय बैंकले आगामी महिनाहरूमा पनि परिस्थिति अनुसार कदम चाल्ने जनाएको छ।

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

पर्वत, ६ जेठः स्थानीय तह कार्यान्वनमा आएको नौ वर्षमा यहाँ छ वटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएका छन् ।

महाशिला गाउँपालिकाले साविक बालाकोट गाविसको कार्यालयबाट सेवाप्रवाह गर्दै आएकोमा हालै आफ्नै भवन निर्माण सम्पन्न गरेको छ । स्थापनाकालदेखि भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको मोदी गाउँपालिकाले विसं २०८० माघदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । यसैगरी पैँयूगाउँपालिकाले गत साउन २५ गतेदेखि आफ्नै भवनवाट सेवाप्रवाह सुरु गरेको हो ।

विहादी गाउँपालिकाले पनि विगत तीन वर्षदेखि आफ्नै कार्यालयबाट सेवा दिँदै आएको छ । जलजला गाउँपालिकाले गत जेठ १ गतेदेखि आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको हो । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

ग्रामीण र दुरदराजका स्थानीय तहले वडा कार्यालय र पालिका कार्यालय निर्माण गरिसक्दा सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बल्ल भवन निर्माण सुरु गरेको हो । गत मङ्सिर देखि भवन निर्माण सुरु भएको हो । हालसम्म करिब २० प्रतिशत काम भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु १४ करोडमा बन्ने सो भवन लिफ्टसहित साढे छ तलाको हुने छ । कुश्मा नगरपालिकाले चारवटा घर भाडामा लिएर कार्यालय र शाखा सञ्चालन गरेको छ । मासिक रु एक लाख ५० हजार भाडा तिर्दै आएको छ ।

सवारी साधनको ठक्करबाट रतुवा मर्‍यो

मुग्लिन (चितवन), ६ जेठः पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा सवारी साधनले ठक्कर दिँदा एउटा रतुवा मरेको छ । सव डिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार आज बिहान सडक पार गर्ने क्रममा पहिचान नखुलेको सवारीले ठक्कर दिँदा पोथी रतुवा मरेको हो ।

रतुवाको मुख र गर्धनमा चोट लागेको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरी चौकी कुरिनटार र स्थानीयको रोहबरमा रतुवालाई खाडलमा पुरी व्यवस्थापन गरिएको रेञ्जर सुवेदीले जानकारी दिनुभयो । स्थानीय सञ्जय खनालका अनुसार लेवाटार क्षेत्र वरपरका जङ्गलबाट वन्यजन्तु सडक पार गरी पानी खान त्रिशूली नदी तर्फ जाने गर्छन् ।

गत आइतबार पनि लेवाटारमै सवारीको ठक्करबाट रुतुवा घाइते भएका थिए । उहाँका अनुसार केही महिनाको अन्तरालमा लेवाटार आसपासमा तीन वटा मृग सवारीको ठक्करबाट मरेका छन् भने दुई वटा घाइते भएका छन् । सडक वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुका लागि असुरक्षित बनेको छ ।

सडक स्तरोन्नतिसँगै कल्भर्टमा माटो थुपारेपछि वन्यजन्तुलाई सडक पार गर्न जोखिम भएको खनालले बताउनुभयो । खनालले सडक निर्माण कम्पनीलाई कल्भर्टलाई वन्यजन्तु आवतजावतका लागि सहज बनाउन आग्रह गर्दा सुनुवाइ नभएको बताउनुभयो ।

‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन’ : महासचिव पोखरेल

देउखुरी (दाङ), ६ जेठः नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताउनुभएको छ । कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले पूर्वराजाका समर्थकहरुले गर्ने भनेको आन्दोलन जनताका विरूद्ध हुने बताउनुभयो ।

युवाहरुले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उहाँको तर्क छ । “देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ । विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्”, उहाँले भन्नुभयो ।

दाङमा कम्युनिष्ट पार्टी स्थापना हुनुमा नेत्रलाल अभागीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उहाँले भन्नुभयो, “अभागी विद्यालयको प्राध्यानाध्यापकको जागिर छोडेर कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा लाग्नु भएको थियो । उहाँ कुसल शिक्षक र कुसल साहित्यकार हुनुहुन्थ्यो ।” लोभ लालचा नभएको इमान्दार नेता नेत्रलालको जीवनीबाट सबैले पाठ सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

किमाथाङ्का (सङ्खुवासभा), ६ जेठः सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

कीर्तिमानीका लागि मुक्कुट, उहाँका भाइहरुरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र उहाँकी २३ वर्षीया एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन् ।

“एउटै बुबाआमाका पाँच छोराछोरीसहित छ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ”, बहिनी पासाङ याङ्जीले दाबी छ,“भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मै कान्छी महिला भएको हाम्रो दाबी छ ।”एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासङ्घ सङ्खुुवासभा र शेर्पा सङ्घले सम्मानसमेत गरेको छ ।

राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन् : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यसत्ता विरुद्ध सुरु गरेको परिवर्तनको लडाइँ एकै दिनमा पूरा नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना, रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘राज्यसत्ताको विरुद्धमा जुन परिवर्तनको लागि लडाई सुरु गरेका छौं त्यो एकै दिनमा हुने कुरा होइन् । मैले पाएँ भने त आजै सत्ता फेरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने छ । तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन् भन्ने कुरा हेर्नुपर्छ । त्यसकारण योजना, रणनीति भन्ने कुरालाई बिर्सिनु हुँदैन् ।’
यस्तै, उनले नेपालमा भएका ठूला ठूला परिवर्तन चुनावबाट नभएको भन्दै अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस भन्ने सोचेर अगाडि बढि रहेको बताए

उनले भने, ‘आन्दोलन मूल रुपमा प्रदर्शन र घेराउबाटै हाम्रो मान्यता स्थापित गर्ने बाटोमा लागि रहेका छौं । त्यो तरिकाले आन्दोलन अगाडि बढाइ रहेका छौं । नेपालमा भएका कुनैपनि परिवर्तन चुनावबाट भएको छैन् । ०७ साल, ०१७, ०४६, ०६२÷६३ सालमा भएको कुनै पनि परिवर्तन चुनावबाट भएको होइन । त्यसकारण हामीले अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस भन्ने सोचेर अगाडि बढिरहेका छौ ।’\

उनले समझदारीबाट पनि राजसंस्था स्थापना हुनसक्छ भन्ने विश्वास लिएको भन्दै राजादेखि लिएर अहिलेका सबै राजनीतिक दलहरुलाई ठाँउ दिएर देशलाई निकाश दिने हिसाबले अगाडि बढ्न पनि आह्वान गरेका छन् ।

पोखराबाट सुर्खेततर्फ जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

दमौली (तनहुँ), ६ जेठः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना५ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् । चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो ।

बस दुर्घटनामा घाइतेको प्रदेश अस्पताल दमौली, रत्नहरि अस्पताल दमौली र म्याग्दे पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २९ वर्षीय शेरबहादुर वली, सहचालक कास्कीको पोखरा महानगरपालिका–२१ बस्ने २६ वर्षीय सञ्जय अधिकारी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २८ वर्षीय अशोक विकसमेत घाइते भएका छन् ।

आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप समिति गठन

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समिति गठन गरेको छ ।

अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।

यसैगरी, संसारभरका राष्ट्रिय समन्वय परिषद् एनसीसीहरुलाई अर्को पक्षको अनधिकृतरुपमा नियन्त्रणमा रहेको एमआइएस सिस्टम प्रयोग नगर्न पनि बैठकले अपिल गरेको छ ।

महासचिव बाबुराम (बीआर) लामाका अनुसार एनसीसीहरुलाई आफ्नै पोर्टलबाट आवेदन खोल्न अनुरोध गर्ने र आफ्नै पोर्टल नभएका एनसीसीहरुलाई आईसीसीसँग समन्वय गर्न भनिएको छ ।यसैगरी क्षेत्रीय बैठकहरू आयोजना गर्ने विषयमा मिति र स्थान तय गर्ने जिम्मा क्षेत्रीय संयोजकहरूलाई नै दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता गौतमले जनाए ।

कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

फुङ्लिङ (ताप्लेजुङ), ६ जेठ – सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५–१७ गते तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।

सामुद्रिक सतहबाट तीन हजार ५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिएको रमणीयस्थल हो । धार्मिक महत्वका साथै पर्यटन सम्भावनाले भरिपूर्ण यस क्षेत्रको समग्र विकासका लागि सिदिङ्वा धाम महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रका अन्य प्रमुख पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गालगायत स्थलको प्रचारप्रसार र प्रवर्द्धन पनि महोत्सवमार्फत गरिने छ । जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तरराष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम अन्तरराष्ट्रिय जैविक मार्गका रूपमा परिचित धार्मिक पर्यटकीय क्षेत्र भएकाले महोत्सवले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पर्यटन गतिविधि बढेसँगै गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने छ ।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । उहाँका अनुसार महोत्सवले स्थानीय तथा बाह्य पर्यटक आकर्षण बढाउने छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक प्रस्तुतिलगायत विविध गतिविधि रहने छन् ।

तीनदिने महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता हुने छ । प्रतियोगिताका विजेतालाई नगद रु ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छभने उपविजेताले रु ३० हजार पुरस्कार पाउने छन् । त्यसैगरी, हाफ म्याराथन प्रतियोगिता पनि हुने छ, जसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४०, ३० र २० हजार पुरस्कार पाउने छन् । सांस्कृतिक कार्यक्रमअन्तर्गत नौमती बाजा, च्याब्रुङ नाच (केःलाङ) तथा स्थानीय जातजातिका संस्कार–संस्कृति प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ ।

धार्मिक पर्यटनको दृष्टिले सिदिङ्मा धाम पछिल्लो समय आन्तरिक पर्यटकबीच लोकप्रिय बन्दै गएको छ । पछिल्लो समयमा भ्रमण गर्ने आन्तरिक पर्यटक उल्लेख्य वृद्धि भएको स्थानीय कैलाश राईले बताउनुभयो । उहाँका अनुसार यसअघि सीमित पर्यटक मात्र पुग्ने सिदिङ्मा धाममा अहिले बढ्दो सङ्ख्यामा पर्यटक आउन थालेका छन् । धाम सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा नं ३ आङ्खोपको सीमामा अवस्थित छ । अहिले सिक्रेडाँडासम्म सडक पुगेपछि अझ सुलभ बनेको छ । सिक्रेडाँडाबाट सिदिङ्मासम्म करिब अढाइ घण्टाको पैदलयात्रा गर्नुपर्छ ।

यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी, भारतका सिक्किम र दार्जिलिङका रमणीय दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ । धार्मिक मान्यताअनुसार सिदिङ्मा धामलाई सिद्ध नामक ऋषिले तपस्या गरेर मनोकाङ्क्षा पूरा गरेको स्थल मानिन्छ । दर्शनार्थीहरू यहाँ आफ्नो इच्छा पूरा हुने विश्वाससहित पूजाआजा गर्न पुग्ने गर्छन् । स्थानीयका अनुसार विशेषगरी वैशाख र असोजमा तथा ऋषि तर्पणीको समयमा सिदिङ्मामा उल्लेख्य सङ्ख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन् ।

गाउँपालिका उपाध्यक्ष कडरियाले प्रचारप्रसारको अभावले पर्यटकको सङ्ख्या कम रहेको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जाललगायत माध्यमले यस क्षेत्रमा पर्यटक बढ्न थालेको बताउनुभयो । सिक्रेडाँडासम्म सडक ट्रयाक निर्माण, पदमार्ग, प्रवेशद्वार (गेट)लगायत संरचना निर्माण थालिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले सिदिङ्मा धाम क्षेत्रको थप प्रचारप्रसार र प्रवर्द्धनका लागि महोत्सवसहित दीर्घकालीन योजना बनाएको छ । हाल सिदिङ्मा धाममा स्थानीय, ताप्लेजुङका अन्य क्षेत्र र पाँचथरबाट पनि पर्यटक पुग्ने गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेद्वारा हजयात्रीलाई त्रिभुवन विमानस्थलमा बिदाइ

काठमाडौं । इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ ।

हजयात्रीको समुहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विमानस्थलमा बिदाइ गर्दै सफल, सुरक्षित र अर्थपूर्ण हज यात्राको शुभकामना व्यक्त गरे । उनले हज यात्रालाई केवल धार्मिक अभ्यास मात्र नभई राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवद्र्धन गर्ने अवसरको रूपमा पनि लिनुपर्ने धारणा राखे ।

मन्त्री पाण्डेले हज व्यवस्थापन, यात्रीहरूको सुरक्षालगायत सम्पूर्ण प्रक्रिया व्यवस्थित र मर्यादित बनाउने सरकारको प्रतिबद्धता दोहोर्याए । उनले हजयात्रीहरूलाई अनुशासित, सहिष्णु र नेपाली पहिचान झल्काउने व्यवहारका साथ पवित्र भूमिमा प्रतिनिधित्व गर्न आग्रह समेत गरे ।

यस वर्ष हजमा जान ४० भन्दा बढी नेपाली हजयात्रीको सहभागिता रहने जनाइएको छ । तीर्थयात्रीहरूलाई सहज रूपमा हज यात्रा सम्पन्न गराउन नेपाल सरकार,मुस्लिम आयोग र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको छ ।

एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी

काठमाडौं । २१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।यही जेठ ९ देखि ११ गते (२०२५मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार शुभकामना सहित विदाई गरेका छन् ।

खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ सहभागी छन् । यस्तै हेड कोच कुशल श्रेष्ठ, टिम कोच मन्डेकाजी श्रेष्ठ, टिम म्यानेजर किशोर प्रसाद भट्टराई रहेका छन् ।

नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ प्रतिशत,दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६ दशमलब ५० प्रतिशत पुगेको छ ।

पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १० दशमलव ४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले तीन दशमलव ०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताउनुभयो । हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३ दशमलव ९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने उनले बताए । यो भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए ।

उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुने छ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ ।

राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ ।

पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान

वीरगञ्ज (पर्सा), ६ जेठ – अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न यहाँका विभिन्न आठ स्थानमा ‘सिसी क्यामेरा’ जडान गर्न थालिएको छ । स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णयानुसार सोमबार वीरगञ्जको छपकैया, सिर्सिया, बलिरामपुर, अलौँलगायत स्थानमा दुई–दुई ठाउँमा गरेर आठवटा सिसी क्यामेरा जडान गरिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले आइतबार वीरगञ्ज महानगरको छपकैया, सिर्सियालगायत ठाउँमा सिसी क्यामेरा जडान गर्न अवरोध गरिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने, प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति राधेश्याम धिमाललगायतको उपस्थितिमा छपकैया र सिर्सियासहितका चार स्थानमा दुई–दुईवटा सिसी क्यामेरा जडान गरिएको छ । त्यसैगरी, बलिरामपुरमा दुई, अलौँमा दुईवटा सिसी क्यामेरा जडान गरिएको हो ।

सिसी क्यामेरा जडान गर्न गएका भन्सारका कर्मचारी टोलीलाई अवरोध पु¥याएपछि सोमबार स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको संयोजक प्रजिअकै नेतृत्वमा टोली नै पुगेर सिसी क्यामेरा जडान गरेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । “समितिको बैठकले सम्भावित अवैध चोरी निकासी तथा पैठारी हुने ठाउँको पहिचान गरेर सिसी क्यामेरा जडान गर्ने निर्णय गरेको थियो”, उहाँले भन्नुभयो, “समितिले गरेको निर्णयलाई सुरक्षाकर्मीसहितको टोलीको उपस्थितिमा सिसी क्यामेरा जडान गरेका छौँ । यसले भन्सार छली गरेर वस्तु तथा सामान आयात तथा निर्यात गर्नेलाई निरुत्साहित गर्नेछ ।” प्रजिअ अर्यालले सीसी क्यामेरा जडान भएसँगै भन्सार छली गरेर अवैध मालसमान ओसारपसार गर्नेलाई मनोवैज्ञानिक तवरले पनि तस्करी नियन्त्रणमा सघाउ पुर्याउने आशा राखेको बताउनुभयो ।

“भन्सार छली गरेर सामान भित्र्याउनेले सुरक्षाकर्मीमाथि गर्ने दुव्र्यवहार पनि न्यूनीकरण हुने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो, “सुरक्षाकर्मीमाथि जाइलाग्ने माथि पनि आवश्यक कानुनी कारबाही गर्ने बाटो खुल्ने छ ।”

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख लामिछानेले पहिलो चरणमा कार्यालयले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेर सिसी क्यामेरा जडान गरेको जानकारी दिनुभयो । कार्यालयले सम्भावित चोरी निकासी तथा तस्करी हुनसक्ने जोखिमयुक्त ठाउँमा लक्षित गरेर सिसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिँदै जाने बताउनुभयो । उहाँले आगामी दिनमा पर्सा र बाराका छोटी भन्सार कार्यालय, नाका तथा अन्य संवेदनशील ठाउँमा पनि सिसी क्यामेरा जडान गर्ने योजना रहेको जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

कास्की, ६ जेठः निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ ।

हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।”

हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए ।

पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उहाँको विश्वास छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित रु ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।

साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन पोखरा आवतजावत गर्ने गर्छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ६ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १००, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु २८०, कुरिलो प्रतिकिलो रु ६००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु २००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु २५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

एकीकृत समाजवादीले समान विचारधाराका वामसमूहलाई समाहित गर्ने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचारधारा भएका पार्टी तथा स्वतन्त्र वामपन्थी समूहलाई आफ्नो पार्टीमा समाहित गर्ने भएको छ । कम्युनिष्ट पार्टीको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा विभिन्न कारणले पार्टी परित्याग गरेका नेताहरूलाई एकीकृत समाजवादीमा फर्कन आह्वान गरेको हो ।

पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले कम्युनिष्ट पार्टी स्थापनादेखि साङ्गठनिक सुदृढीकरणका लागि योगदान गरेका वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग एकताको गृहकार्य अन्तिम चरणमा पुगेको बताउँदै केही नेताहरूको व्यवस्थापन टुङ्गो लगाएपछि यथाशीघ्र समाहित हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीमा माथिल्लो कमिटीदेखि तल्लो तहका कमिटीसम्म नेताहरूको ‘एक पद, एक व्यक्ति’ प्रणालीका आधारमा व्यवस्थापन गरिने समझदारी भएको छ । पार्टीको तेस्रो बरियता क्रममा नेता गौतमलाई व्यवस्थापनको गृहकार्य दिइने पार्टी कार्यालयले जनाएको छ ।

मुलुकमा वामपन्थी धु्रर्वीकरण गरी वैज्ञानिक समाजवाद कार्यान्वयन गर्ने उद्देश्यले पार्टी सङ्गठनलाई देशभर सुदृढीकरण गरी गतिशील बनाउने योजनाअनुरुप पार्टीले मातहतका कमिटीमार्फत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका कार्यक्रम सञ्चालन गरेको छ ।

पार्टी महासचिव घनश्याम भुसाल नेतृत्वको कार्यदलले कम्युनिष्ट सिद्धान्तमा निष्ठावान् भई स्वतन्त्र वामसमूह, आदर्श नेताहरूसँग पनि एकताका लागि छलफल गरेको उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु

इनरुवा (सुनसरी), ६ वैशाखः बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिनुभयो ।

बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ ।

बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताउनुभयो । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।

बाह्र लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ

सुनसरीको बर्जु गाउँपालिकामा रहेको इष्टर्न सुगर मिल्सले एक वर्षमा १२ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको छ । चालु आर्थिक वर्षमा बीउबाहेक १२ लाख ८० हजार ६३८ दशमलव ४९ क्विन्टल उखु क्रसिङ भएको महाप्रबन्धक पवनकुमार झाले जानकारी दिनुभयो । सबैभन्दा बढी बर्जु गाउँपालिकाबाट आएको उखु क्रसिङ भएको छ भने सबैभन्दा कम रामधुनी नगरपालिकाबाट भएको उहाँले बताउनुभयो ।

बर्जु गाउँपालिकाबाट छ लाख ६९ हजार ५८७ दशमलव पाँच र रामधुनी नगरपालिकाबाट एक हजार १० दशमलव ३३ क्विन्टल उखु क्रसिङ भएको झाले उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा चार हजार ६९३ दशमलव ७१ बिघामा उखुखेती हुँदै आएको छ ।

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

काठमाडौँ, ६ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो ।

नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् ।

“सम्मेलनमा ७१ वर्षअघिदेखिका सगरमाथा आरोहीको सहभागिता रहनेछ । कीर्तिमानी आरोहीको अनुभव आदनप्रदान हुनेछ । फरक क्षमता भएका कीर्तिमानी आरोहीको प्रस्तुति रहनेछ”, अध्यक्ष नेपालले भन्नुभयो । उहाँका अनुसार सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुने अध्यक्ष नेपालले जानकारी दिनुभयो । हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीको आदानप्रदान हुनेछन् ।

प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्याका बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

पर्यटन व्यवसायीको छाता संस्थाहरू नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत संस्थाको समन्वय र सहकार्य रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटनमा महत्त्वपूर्ण इभेन्टका रूपमा आयोजना हुने यस समिटर सम्मेलन साहसिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ, ६ जेठ ः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च–पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाटो निर्माण ढिलाइसम्बन्धी पोखरा महानगर प्रमुख आचार्यलाई ध्यानाकर्षण

गण्डकी, ६ जेठः लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका–२७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ ।

यहाँको करिब साढे तीन किलोमिटर दूरीमा बाटो निर्माण ढिलाइ भएकाले आवतजावतसँगै यहाँका पर्यटनमा नकारात्मक असर परेको भन्दै निर्माणलाई थीघ्रता दिनका लागि ध्यानाकर्षण गराइएको हो ।

सङ्घका कार्यवाहक अध्यक्ष विक्रम कर्माचार्यको संयोजकत्वमा सङ्घका पूर्वध्यक्ष बलराम ढकाल, सङ्घका कार्यसमिति सदस्य एलपी ढुङ्गानालगायत टोलीले प्रमुख आचार्यसमक्ष तालचोक बेगनास ताल बाटोको ढिलासुस्तीबारे ध्यानाकर्षण गराएको हो ।भेटमा महानगर प्रमुख आचार्यले वर्षात् सुरु हुनुभन्दा अघि एकतर्फी बाटो तुरुन्तै सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण व्यवसायी तथा इञ्जिनियरलाई आग्रह गर्नुभयो ।

कार्यवाहक अध्यक्ष कर्माचार्यले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सडक पहिलो माध्यम बनेको भन्दै बर्खायाम अगाडि निर्माण सकेर बेगनास ताल क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जन वृद्धि गर्न अनुरोध गर्नुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष बलराम ढकालले बेगनास तालको पर्यटकीय विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।

नेपालमा चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

झापा, ६ जेठः नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।

ाष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा रहेका जानकारी दिनुभयो ।उहाँका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उहाँले उल्ल्ेख गर्नुभयो ।

“घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्”, प्राधिकरणकी सहसचिव श्रेष्ठले भन्नुभयो ।

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका उहाँले जानकारी दिनुभयो । कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सहसचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।

नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिनुभयो । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उहाँले बताउनुभयो ।

सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उहाँले बताउनुभयो ।

“विकसित मुलुकको तुलनामा नेपालमा बढी मानवीय तथा भौतिक क्षति हुनुका कारण चेतना र प्रविधिको अभाव हो”, जलवायु विज्ञ सिग्देलले रासससँग भन्नुभयो, “हामीले गरेको सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाएका छौँ । त्यस्तो क्षतिलाई रोक्न सकिने सम्भावना छ ।”

मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उहाँले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताउनुभयो । त्यस्ता कामहरू मध्याह्नअगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतःन्यूनीकरण हुने उहाँको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन् । ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले जानकारी दिनुभयो । उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उहाँले बताउनुभयो ।

घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उहाँले बताउनुभयो । स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायकाबारेमा वडा र टोलसम्म पर्याप्तमात्रामा सचेतना पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ःबजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।