`

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

काठमाडौँ, ६ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो ।

नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् ।

“सम्मेलनमा ७१ वर्षअघिदेखिका सगरमाथा आरोहीको सहभागिता रहनेछ । कीर्तिमानी आरोहीको अनुभव आदनप्रदान हुनेछ । फरक क्षमता भएका कीर्तिमानी आरोहीको प्रस्तुति रहनेछ”, अध्यक्ष नेपालले भन्नुभयो । उहाँका अनुसार सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुने अध्यक्ष नेपालले जानकारी दिनुभयो । हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीको आदानप्रदान हुनेछन् ।

प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्याका बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

पर्यटन व्यवसायीको छाता संस्थाहरू नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत संस्थाको समन्वय र सहकार्य रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटनमा महत्त्वपूर्ण इभेन्टका रूपमा आयोजना हुने यस समिटर सम्मेलन साहसिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ, ६ जेठ ः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च–पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाटो निर्माण ढिलाइसम्बन्धी पोखरा महानगर प्रमुख आचार्यलाई ध्यानाकर्षण

गण्डकी, ६ जेठः लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका–२७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ ।

यहाँको करिब साढे तीन किलोमिटर दूरीमा बाटो निर्माण ढिलाइ भएकाले आवतजावतसँगै यहाँका पर्यटनमा नकारात्मक असर परेको भन्दै निर्माणलाई थीघ्रता दिनका लागि ध्यानाकर्षण गराइएको हो ।

सङ्घका कार्यवाहक अध्यक्ष विक्रम कर्माचार्यको संयोजकत्वमा सङ्घका पूर्वध्यक्ष बलराम ढकाल, सङ्घका कार्यसमिति सदस्य एलपी ढुङ्गानालगायत टोलीले प्रमुख आचार्यसमक्ष तालचोक बेगनास ताल बाटोको ढिलासुस्तीबारे ध्यानाकर्षण गराएको हो ।भेटमा महानगर प्रमुख आचार्यले वर्षात् सुरु हुनुभन्दा अघि एकतर्फी बाटो तुरुन्तै सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण व्यवसायी तथा इञ्जिनियरलाई आग्रह गर्नुभयो ।

कार्यवाहक अध्यक्ष कर्माचार्यले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सडक पहिलो माध्यम बनेको भन्दै बर्खायाम अगाडि निर्माण सकेर बेगनास ताल क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जन वृद्धि गर्न अनुरोध गर्नुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष बलराम ढकालले बेगनास तालको पर्यटकीय विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।

नेपालमा चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

झापा, ६ जेठः नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।

ाष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा रहेका जानकारी दिनुभयो ।उहाँका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उहाँले उल्ल्ेख गर्नुभयो ।

“घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्”, प्राधिकरणकी सहसचिव श्रेष्ठले भन्नुभयो ।

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका उहाँले जानकारी दिनुभयो । कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सहसचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।

नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिनुभयो । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उहाँले बताउनुभयो ।

सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उहाँले बताउनुभयो ।

“विकसित मुलुकको तुलनामा नेपालमा बढी मानवीय तथा भौतिक क्षति हुनुका कारण चेतना र प्रविधिको अभाव हो”, जलवायु विज्ञ सिग्देलले रासससँग भन्नुभयो, “हामीले गरेको सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाएका छौँ । त्यस्तो क्षतिलाई रोक्न सकिने सम्भावना छ ।”

मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उहाँले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताउनुभयो । त्यस्ता कामहरू मध्याह्नअगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतःन्यूनीकरण हुने उहाँको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन् । ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले जानकारी दिनुभयो । उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उहाँले बताउनुभयो ।

घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उहाँले बताउनुभयो । स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायकाबारेमा वडा र टोलसम्म पर्याप्तमात्रामा सचेतना पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ःबजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, ६ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८३ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९० पैसा र बिक्रीदर ८८ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ७४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गरिने छ’:मन्त्री भण्डारी

काठमाडौँ, ६ जेठः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी सिर्जना गर्ने व्यवसायी तथा उद्यमीलाई कानुनी कारबाही गरिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजद्वारा सोमबार यहाँ आयोजित उपभोक्ता सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले संविधान प्रदत्त उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेकाले व्यवसायीले व्यापारिक स्वच्छता तथा अनुशासन कायम गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक र कानुनविपरीत वस्तु तथा सेवामा भइरहेको समस्या निरुपणका लागि सरकारले गरेको हस्तक्षेपकारी बजार अनुगमनले उपभोक्ता अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मन्त्री भण्डारीले आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।बजार अनुगमनले उपभोक्ता र वस्तु तथा सेवा बिक्रेतालाई जागरुक बनाएको बताउँदै उहाँले भन्नुभयो, “जनताको आकाङ्क्षालाई सम्बोधन गर्न बजार प्रणालीलाई संस्थागत गर्दै संविधान र कानुन प्रदत्त उपभोक्ता अधिकारलाई संस्थागत गर्नुपर्छ ।”

मन्त्री भण्डारीले कानुनी मान्यताविपरीत सञ्चालन भई समस्या सिर्जना गरिरहेका व्यवसायी तथा उद्यमीलाई कानुनी दायरामा ल्याउन सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयमा अनुगमनलाई तीव्रता दिँदै आएको जानकारी दिनुभयो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले विभागको क्षेत्राधिकारभित्र रहेका बजार अनुगमन साथै शिक्षा, स्वास्थ्यलगायत सेवा प्रदायकमाथि हस्तक्षेपकारी अनुगमन गरिएको जानकारी दिँदै कैफियत पाइएका ठाउँमा जरिवाना गराइएको बताउनुभयो ।

साल्टट्रेडिङ कर्पोरेसनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले नुनको आपूर्ति व्यवस्थापन गर्दै आएको आफ्नो संस्थाले अहिले उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन तथा बजारमा मूल्य नियन्त्रण गर्न खाद्य पदार्थदेखि ग्यास, तेललगायत उपभोग्य वस्तु सुलभ मूल्यमा बिक्री गर्दै आएको जानकारी गराउनुभयो ।
सो अवसरमा अधिकारकर्मी, प्रशासकलगायतले बजार अनुशासन पालना गराई उपभोक्ताको अधिकार संरक्षण गर्न अनुगमनलाई तीव्रता दिँदै वस्तु तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन उडिन्, अरू को-को छन् सहभागी ?

काठमाडौँ, ६ जेठः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे छदिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तको सियान सहरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

सियान सहरमा यही यही जेठ १० गतेसम्म आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च तथा नवौँ सिल्क रोड अन्तरराष्ट्रिय प्रदर्शनी र पूर्व–पश्चिम चीनबीच सहयोगका लागि लगानी तथा व्यापार मञ्च कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नुहुनेछ ।

उहाँसँगै प्रतिनिधिसभाका सांसदद्वय दिनेशकुमार यादव र उर्मिला माझी, राष्ट्रियसभाका सांसदद्वय वेदुराम भुसाल र सुमित्रा विसी, संसद् सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंहसहितको प्रतिनिधिमण्डल सहभागी हुनुहुन्छ । चीन भ्रमण सकेर जेठ १० गते उक्त प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम छ ।

गण्डकी कोटिहोममा पुनः जेठ १० गतेखि देवी प्रतिभाले कथा वाचन गर्ने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन् । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ । देवी प्रतिभा पोखरा रहँदा छुटेका भक्तजनलाई पुनः एक पटक उनको कथा श्रवण गर्ने मौका मिलेको छ । पुनः पोखरा ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुनेछ ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको पहलमा देवी प्रतिभा पुनः पोखरा आउने भएकी हुन् । देवी प्रतिभाले भागवत पुराण भन्छिन्, रामचरित मानस सुनाउँछिन् । अनि त्यसको मिठास तरिकाले उल्था गर्छिन जसले गर्दा देवी प्रतिभाको कथा वाचन गर्नै शैलीले पनि सर्वत्र चासो बढिसकेको छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका गरेको यो सत कार्यलाई उनी खुलेरै प्रशंसा गरेकी छन् जसले गर्दा उनलाई पुनः पोखरा जोडिन मन लाग्यो ।

‘महाराज तपाईँले गरेको सङ्कल्पलाई म हर हमेसा साथ दिनेछु भनेर पटक पटक देवी प्रतिभाले मलाई हौसला थप्नुभएको थियो’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज भने ‘एक वचनमा उहाँको पुन आगमले कोटिहोम पवित्र बन्ने छ । यो सद्भाव मायाले नै कोटिहोम सफल भएको छ उहाँ प्रति हामी आभारी छौ ।’ काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मेकी देवी प्रतिभा (प्रतिभा पराजुली) यति बेला अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्रमा छिन् ।

‘जनतामा रहेको नैराश्यता चिर्न दुई ठूला पार्टीबिच गठबन्धन’ : महासचिव पोखरेल

काठमाडौँ, ५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनतामा रहेको नैराश्यता चिर्न दुई ठूला पार्टी मिल्नुपरेको बताउनुभएको छ ।नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले २०८४ सालको निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन नटुट्ने बताउनुभयो ।

महासचिव पोखरेलले समाजमा विखण्डनको प्रयास भइरहेको बताउँदै एमाले त्यसका विरुद्ध स्पष्टताका साथ उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेमाथि प्रहार भयो भनेर खुट्टा कमाउने नभई आँट र हिम्मतका साथ खुट्टा टेक्नुपर्ने बताउनुभयो । “एमाले माथि जुन प्रकारको घेराबन्दी र प्रहार भइरहेको छ । त्यो प्रहार र घेराबन्दीलाई सामाना गर्ने क्षमता एमालेमा छ”, उहाँले भन्नुभयो, “एमालेका सामु ठूला ठूला सङ्कट आउँदा एमालेले ती सबै सङ्कटको सामना गर्दै आएको छ । सबै खालका सङ्कट सामना गर्दै एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै आएको छ ।”

एमालेका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वयका संयोजक भानुभक्त ढकालले पार्टीमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो । समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले दलित समुदायको सशक्तिकरणमा राज्य गम्भीर बन्नुपर्नेम जोड दिनुभयो । यही जेठ ७ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

टेक्सस (अमेरिका), ५ जेठ : न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको नेपाल उत्सवमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाल उत्सव कार्यक्रममा न्यूयोर्कका अतिरिक्त न्यूजर्सी र कनेक्टिकट राज्यबाट नेपाली पोसाक, राष्ट्रिय झण्डा र ब्यानरसहित नेपाली सहभागी भएका थिए । नेपाल उत्सव कार्यक्रमको उद्घाटन न्यूयोर्क सहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले गर्नुभएको थियो । उहाँहरुले नेपाली कला संस्कृतिको प्रशंसा गर्नुभयो । नेपाली समुदायले हरेक वर्ष आयोजना गर्ने नेपाल उत्सव कार्यक्रममा प्रस्तुत गरिने कला संस्कृतिले न्यूयोर्कलाई थप विविधतायुक्त सहर बनाउनमा सहयोग पुगेको धारणा उहाँहरुको थियो ।

न्यूयोर्कको व्यस्त क्षेत्र म्यानहाटनमा पञ्चेबाजासँगै, भजन, देउडा तथा हुड्केली, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोलगायत कला संस्कृति प्रदर्शन गरिएको थियो । नेपाल डे परेड कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न कार्यक्रम र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले रुचीपूर्वक अवलोकन गरेका थिए ।

हरेक वर्ष गणतन्त्र दिवसको अवसर पारेर न्यूयोर्कमा आयोजना गरिने नेपाल डे परेड कार्यक्रमले नेपाललाई विश्व सामु चिनाउनुका साथै विदेशी समुदायको ध्यान आकर्षण गराउने गरेको नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना तथा नेपाली समुदायका एक दर्जन बढी संस्थाको सहभागितामा नेपाल डे परेड कार्यक्रम आयोजना गरिएको थियो । एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष छिरिङ शेर्पाको अध्यक्षता भएको परेडमा मनिता गुरुङले संयोजक भूमिका निर्वाह गर्नुभएको थियो ।

सन् २०१६ देखि सुरु गरिएको नेपाल डे परेड कार्यक्रमले नेपाली समुदायमा राष्ट्रिय पर्वको रुपमा स्थापित भइसकेको नेपाली समुदायका अगुवाहरु बताउँछन् ।

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

लेखनाथ (कास्की), ५ जेठ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । पर्यटकीय राजधानी पोखराको गहना फेवातालको अस्तित्व बचाइ राख्ने दायित्व प्रदेश सरकार र पोखरा महानगरपालिको भएकाले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित भएको उहाँको भनाइ छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनमा आज पोखरामा उहाँले फेवातालको मापदण्ड कायम गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा ल्याउन सिमाङ्कन सुरुवात भएको जानकारी दिनुभयो ।

प्रजातन्त्रपछि धेरै काम भएपनि दलहरुले विकास गर्न सकेनन् भनेर भाष्य निर्माण गरी लोकतन्त्रलाई असफल बनाउन खोज्नेतर्फ सतर्क हुनुपर्नेमा उहाँको जोड छ । प्रदेश सरकारले सीमित स्रोतसाधनका वाबजुद पनि जनताको हितमा काम गरेको जिकिर गर्नुभयो । उहाँले प्रदेशको बजेट ३२ अर्ब रहेको र त्यो मध्य १८ अर्ब तलबमा खर्च हुने भएकाले विकास निर्माणले गति लिन नसकेको भनाइ उहाँको थियो ।

सङ्घ सरकारले प्रदेश सरकारलाई अधिकार नदिएकै कारण सोचे जति काम गर्न नसकिएको उहाँको आरोप छ । उहाँले प्रदेश र स्थानीय सरकार मात्र जनताको दैलोमा जान सक्ने बताउनुभयो । “प्रजातन्त्रपछि विकासका काम धेरै भएका छन् तर हामी त्यसको समीक्षा गर्देनौ, विकास हुन नसकेको भनेर सरकारको आलोचना मात्र गर्छौँ,” उहाँले भन्नुभयो, “प्रजातन्त्र प्राप्तिपछि शिक्षा, स्वास्थ्य, आइटी, सडकलगायत क्षेत्रमा विकासले फड्को मारेको छ ।” सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय नेताहरुले आफ्ना भनाइ राखेका थिए ।

वनमा घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

दमौली (तनहुँ), ५ जेठ : यहाँको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर आज दुई जनाको मृत्यु भएको छ । सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा सोही वडा बस्ने ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ बस्ने २६ वर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

बिहान ७ बजेको समयमा घाँस काट्न गएका उनीहरु नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी एक सय मिटर तल उनीहरुको शव भेटिएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

लुम्बिनी, ५ जेठ : लुम्बिनी प्रदेश सरकारले नागरिक जीवनस्तर उकास्ने, दिगो विकासमा आधारित समृद्ध प्रदेश निर्माण गर्ने तथा जनताको विश्वास जित्ने दिशा तय गरेको छ ।

प्रदेशसभामा आज प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार र मानवीय विकासलाई सुदृढ बनाउँदै लैजाने, तीन तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने, प्रदेशलाई संस्थागत बनाउने कानुनी तथा जनशक्तिसम्बन्धी आधार तयार गर्ने र सबै जिल्लाको सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता दिने बताइएको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेशसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा प्रदेश सरकारको समग्र विकास, सुशासन, सेवा प्रवाह, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका विविध विषय समेटिएका छन् ।

नीति तथा कार्यक्रममा प्रदेशका सबै मन्त्रालय तथा निकायको समन्वयात्मक परिचालनलाई प्राथमिकता दिइएको छभने सुशासन, नागरिकमैत्री प्रशासन र सेवा प्रवाहमा व्यापक सुधार गर्ने लक्ष्य लिइएको छ । प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै ‘मोबाइल हातमा–प्रदेश सरकारका सेवा साथमा’ जस्ता अभियान अघि बढाइने उल्लेख गरिएको छ ।

कृषिमा उत्पादकत्व वृद्धि, कृषिलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्ने, कृषकका खेतका गह्रालाई सधैँ हराभरा बनाउने तथा घरदैलोमै कृषि सेवा पु-याउने नीति अवलम्बन गरिने जनाइएको छ । साथै, प्रदेशलाई आगामी १० वर्षभित्र पूर्ण प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य लिइएको छ । अर्गानिक खेतीलाई विकास गरी प्रदेशलाई अर्गानिक खेतीको हबका रुपमा विकास गरिने उल्लेख छ ।

उद्योग, उद्यमशीलता र स्वदेशी वस्तुको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई अझ मजबुत बनाउने योजना छ । सञ्चार जगतसँग सहकार्य गरी सरकारको नीति तथा कार्यक्रम जनस्तरसम्म पु-याइने उल्लेख गरिएको छ ।

‘नागरिकको योगदान, महिनाको एक दिन श्रमदान’, ‘मेरो विद्यालय मेरो दायित्व’, ‘हरियालीसहितका सडक पूर्वाधार’ तथा ‘प्रत्येक घर उज्यालो अभियान’ जस्ता नागरिक अभिमुखी कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन् ।

अधुरा आयोजनालाई सम्पन्न गर्ने, आयोजना बैंकको अवधारणा लागू गर्ने, एक जिल्ला एक नमूना बस्ती निर्माण गर्ने तथा रामपुर–चापाकोट सहर विकास जस्ता योजना नीति तथा कार्यक्रममा उल्लेख गरिएका छन् । राजधानी क्षेत्रको गुरूयोजना कार्यान्वयन तथा सरकारी भवन निर्माणमा स्वदेशी काठको अनिवार्य प्रयोग गरिने उल्लेख छ ।

वन्यजन्तु पीडितलाई घरमै राहत, सडकसँगै हरियाली र फलफूलका विरुवा रोप्ने अभियान सञ्चालन, शिक्षासँगै सीप, राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति गरी दुई सय शैय्यामा विस्तार, विपद् व्यवस्थापनको पूर्वतयारी तथा देउखुरीमा जलवायु केन्द्र स्थापना जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन् ।

प्रदेश गौरवका आयोजनालाई सम्पन्न गर्ने, विपन्न नागरिकका लागि मेडिकल कलेज तथा अस्पतालमा निःशुल्क सेवा उपलब्ध गराउने, सर्पदंश उपचार विस्तार तथा विद्यालय–समुदायमा स्वास्थ्य कार्यक्रम विस्तार गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छन् । हरित ऊर्जा, विद्युतीय सवारी र सौर्य ऊर्जा प्रवर्द्धनमा विशेष जोड दिइनेछ ।

वाग्मती सफाइ महाअभियान १३औँ वर्ष प्रवेश

काठमाडौँ, ५ जेठः वाग्मती सफाइ महाअभियान सुरु भएको १२ वर्ष पूरा भई १३औँ वर्षमा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यस अवसरमा आज काठमाडौँ महानगरपालिका–३२ र ९ को वाग्मती किनारमा सरसफाइ एवं १३ वटा रुद्राक्षको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वाग्मती सफाइ महाअभियान १३औँ वर्ष प्रवेश गरेका अवसरमा यही जेठ १७ गते शनिवार विशेष कार्यक्रम गर्न लागिएको छ । वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गरी नेपालको पूर्वदेखि सुदूरपश्चिम महाकाली, हिमाल, पहाड एवं तराईका विभिन्न स्थानमा १३ हजार बिरुवा रोप्ने कार्यक्रम तय गरिएको पनि महाअभियानले जनाएको छ । नदी संरक्षण अभियानकर्मी मेघ आलेको पहलमा बेलायतको थेम्स नदी र वाग्मती नदीलाई भगिनी नदीका रूपमा घोषणा गरिने भएको छ । दुई नदीबीच मित्रताको सम्बन्धमा जोड्न जेठ १८ गते आइतबार टेकु दोभानमा सिथी नख पर्वको दिन पारेर कार्यक्रम राखिएको छ ।

सफाइ महाअभियान १३औँ वर्ष प्रवेशको कार्यक्रममा कलाकारद्वय दीपकराज गिरि, दिपाश्री निरौला, कामनपा–९ का अध्यक्ष रामजी भण्डारी, कामनपा–११ का अध्यक्ष हिरालाल तन्डुकार, कामनपा–९ का वडा सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिसहित सफाइ अभियानकर्मीको उपस्थिति थियो ।

विपद् प्रतिकार्यको तयारीमा रहन मातहतका युनिटलाई सशस्त्रको परिपत्र

काठमाडौँ, ५ जेठः सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्यका लागि तयारी गरिरहेको छ । मातहतका निकायलाई विपद् प्रतिकार्यको तयारीमा रहन निर्देशन दिएको छ ।मनजसुनजन्य विपद्मा क्षति न्यूनिकरणका लागि सकेसम्म घटनास्थलमा छिटोभन्दा छिटो पुगी उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सबै युनिटमा परिपत्र गरेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मातहत युनिटका कमाण्डरलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाको तयारीमा रहन निर्देशन दिनुभएको छ । प्रवक्ता धौवजीले भन्नुभयो, “सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट अघिल्ला वर्षमा भएका विपद्का घटनालाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा विपद् व्यवस्थापनका सामान तयारी राख्नुका साथै विपद्सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्न निर्देशन भएको छ ।”

उहाँले टोलटोलमा विपद् सूचक राखी समुदाय लक्षित विपद्सम्बन्धी स्वयंसेवक तालिमसमेत सञ्चालन गर्न पनि निर्देशन भएको बताउनुभयो । अहिले नेपालमा प्रि–मनसुन चलिरहेको र यो समयमा ठाउँठाउँमा विपद्का घटना भइरहेका छन् ।

हिउँदमा राम्ररी वर्षा नभएकाले मनसुनका समयमा यसपालि बढी वर्षा हुने अनुमान गरिएको छ । यद्यपि विपद् प्राधिकरणले भने मनसुनको आँकलन हुन बाँकी रहेको जनाएको छ ।

स्वदेशी उत्पादन वृद्धि र त्यसको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौँ: उपप्रधानमन्त्री सिंह

काठमाडौँ, ५ जेठः उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सिमेन्ट उत्पादक संघले आज ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ मा उहाँले स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राख्नुभएको हो ।

“हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्था छ । अब आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिनेछ । आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौँ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले देशको भूबनोटअनुसार सिमेन्टको प्रयोगले बाटोहरू गुणस्तरयुक्त हुने भन्दै सुरुमा लगानी धेरै भए पनि लामो समय टिक्ने हुँदा यसको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकाशमा निजी क्षेत्रको सहकार्य जरूरी रहेको बताउनुभएको छ । उहाँले निजी क्षेत्रसँग साझेदारी गरी पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरिरहेको बताउनुभयो ।

विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांशसमेत लिने अभ्यास रहेको उल्लेख गर्दै मन्त्री दाहालले यस्ता सम्भाव्य क्षेत्रको पहिचान नेपालमा पनि आवश्यक रहेको बताउनुभयो । नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगति र टिकाउपनाका कारण कङ्क्रिट सडक निर्माणलाई अध्ययन गरी प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ थियो ।

हाल देश निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले सुरु भएका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्ने वातावरण बनाउन आश्यक रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादन वृद्ध र प्रयोगमा प्रोत्साहनका लागि सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो । उहाँले सिमेन्ट क्षेत्रमा आत्मनिर्भर बन्न निजी क्षेत्रको उपस्थिति प्रसंशायोग्य रहेको भन्दै अरु क्षेत्रमा पनि आन्तरिक उत्पादनमा निजी क्षेत्रको शसक्त भूमिका आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विज्ञहरूले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिक रूपमा खर्चिलो भए पनि टिकाउपनाका कारण दीर्घकालीन रूपमा प्रभावकारी हुने बताएका थिए ।

हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन

काठमाडा । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरुलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्री लेखकले विस्थापितहरुका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययनकाम लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरुको खानेबस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए । हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएका छन् ।

त्यसैगरि बैठकमा मन्त्री लेखकले प्रिमनसुन पूर्व नै विपद प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिएका छन् । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदश र ७७ वटै जिल्लाका सुरक्षा समितिसंग बैठक छलफल गरि प्रिमनसुन पूर्व नै तयारी ध्यान दिन अनुरोध गरेका हुन् । बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

सर्लाहीको रानिगन्जमा बस र म्याजिक ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु

रौतहट । सर्लाहीको रानिगन्जमा बस र म्याजिक ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै २२ वर्र्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए । मृतक युवतीको शव सोही अस्पतालमा रहेको दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

कोशी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर, ५ जेठः कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको छ । उहाँले राष्ट्रहित, लोकतन्त्र र अधिकार प्राप्तिका लागि अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति श्रद्धासुमन अर्पण गर्दै घाइते र बेपत्ता योद्धाले पु¥याउनु भएको योगदानको स्मरण गर्नुभयो ।

प्रदेश प्रमुख खापुङ्गले सबै आन्दोलन तथा सङ्घर्षको नेतृत्व गर्ने अग्रप्रति उच्चसम्मान व्यक्त गर्दै ‘स्वच्छ, सुखी र समुत्रत प्रदेश’ निर्माण गर्ने लक्ष्यका साथ प्रदेशमा नीतिगत, कानुनी तथा संस्थागत आधार तयार भइ प्रदेशबाट सम्पादन गर्नु पर्ने कार्यले निरन्तरता पाएको बताउनुभयो । “प्रदेश सरकारले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै सङ्घीयताको मर्मअनुरूप नागरिकमा थप आशा र भरोसा पैदा गर्न, आर्थिक सामाजिक रूपान्तरणको गतिशीलतालाई बढाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न यो सरकार प्रतिबद्ध रहेको छ”, उहाँले भन्नुभयो,“नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिकारका सूचीको कार्यान्वयनका लागि सरकारले गरेका दीर्घकालीन महत्वका निर्णय, सोह्रौँ योजना, प्रदेशको दोस्रो आवधिक योजना एवं दिगो विकासका लक्ष्य, विकाशील राष्ट्रमा स्तरोत्रति भएपछि त्यसलाई दिगो बनाउने रणनीति, राजनीतिक दलले जनतासमक्ष प्रस्तुत गरेका प्रतिबद्धता र सरकारको न्यूनतम साझा कार्यक्रमलाई आधार लिँदै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ ।”

नीति तथा कार्यक्रममा प्रदेश संरचनाको महत्व र आवश्यकतालाई केन्द्रमा राखी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्ने, आन्तरिक राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने, भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत अन्य पूर्वाधार र नीतिगत संरचना निर्मणलाई उच्च प्राथमिकता दिइ प्रदेशको दिगो विकासमा जोड दिने उल्लेख छ । यस्तै, प्रदेश लगानी सम्मेलनका उपलब्धिलाई संस्थागत गर्दै सार्वजनिक निजी सहकारी साझेदारीको अवधारणाअनुसार परियोजना विकास र निर्माण गर्न संस्थागत एवं नीतिगत सुधारमा जोड दिने, कोशी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रूपमा लिई नीतिगत, संरचनागत, पर्यटकीय पूर्वाधार विकास र एवं प्रवर्द्धन गर्दै राष्ट्रिय पुँजी निर्माणमा योगदान पु¥याउने भनिएको छ ।

नीति तथा कार्यक्रममा सुशासन प्रवरद्धन तथा शासकीय सुधारमा जोड दिई प्रदेश केन्द्रित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन, गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाइने, प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवासम्बन्धी कानुनमा समसामयिक सुधार गरी प्रदेश र स्थानीय तहका कर्मचारीको मनोबल उच्च बनाइने, उच्चस्तरीय प्रशासन सुधार कार्यदल र सङ्घीयता कार्यान्वयन तथा कानुन निर्माण अध्ययन कार्यदलले पेस गरेका प्रतिवेदनलगायत अन्य विषयगत प्रतिवेदन क्रमशः कार्यान्वयमा लैजाने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी शासन व्यवस्थालाई चुस्तदुरुस्त बनाउन प्रदेशको शान्ति सुरक्षा तथा अमनचयनलाई उच्च प्राथमिकता राखिने, जनताको जिउधनको सुरक्षाका लागि प्रदेशस्तरीय सुरक्षा निकायसँगको समन्वयमा थप कार्ययोजना बनाई कार्यान्वयन गरिने र सुरक्षा निकायको भौतिक तथा संस्थागत क्षमतालाई सुदृढीकरण गरिनेसमेत भनिएको छ ।

नीति तथा कार्यक्रममा लागुऔषध दुव्र्यसन र मानव बेचबिखनविरुद्ध स्वयंसेवकका रूपमा ‘म अघि बढ्छु’ भत्रे नारासहित असल नागरिक निर्माणका लागि अभियान आगाडि बढाइने, मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई ‘कोशी अत्यावश्क सेवा केन्द्र’मा रूपान्तरण गरिने, हरित ऊर्जाको प्रयोग गरी वातावरणमैत्री सवारीसाधन सञ्चालन हुने गरी आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिने, साना तथा मझौला उद्यम व्यवसाय गर्न उद्यमशीलता विकासका लागि बैंकिङ कर्जामा आधारित कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख छ ।

यस्तै, भाषा आयोगबाट सिफारिस भइ आएका मैथिली र लिम्बू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन आवश्यक व्यवस्था मिलाउने, बृहत् बराह क्षेत्र, हलेसी, पाथिभरा र केचना कञ्चनजङ्घा विकास समितिलाई एकीकृत नीतिगत व्यवस्था गरी थप सुदृढीकरण गरिने, प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गरिने, हिमाली र पहाडी क्षेत्रका विद्यालयको भौतिक संरचना सुदृढ गरिने नीति तथा कार्यक्रम स्पष्ट गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवार’, ‘स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय’, ‘खोज र खोप’ जस्ता नारामा आधारित कार्यक्रम एवं व्यवस्थापनका लागि आवश्यक कार्यनीति तथा कार्यक्रम उल्लेख गर्दै पदमार्गमा आधारित पर्यटन विकासलाई थप विस्तार गर्ने सरकारको योजना रहेको उल्लेख छ ।

‘कृषक सबैभन्दा आगाडि’ भत्रे अवधारणलाई कार्यान्वयन गर्न कृषक केन्द्रित अभियान सञ्चालन, स्थानीय कच्चापदार्थमा आधारित वस्तु र सेवाको उत्पादन प्रवर्द्धन, प्रयोग र बजारीकरणमा जोड दिइने, उपभोक्ताको अधिकारक संरक्षण र स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको निर्माण गरिनेसहित ११० वटा बुँदा समेटिएका छन् । नीति तथा कार्यक्रमको सफल कार्यान्वयबाट ‘स्वच्छ, सुखी र समुत्रत नेपाल’ निर्माण तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्ने विश्वास नीति तथा कार्यक्रमले लिएको छ ।

नीति तथा कार्यक्रमपछि १५ मिनेटका लागि स्थगन भएको सदन पुनः सञ्चालन भएपछि प्रदेश प्रमुख खापुङ्गले सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रमका लागि सदनमा धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।
अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

जनतामा क्रान्तिको चेत अझै उस्तै छ : अध्यक्ष दाहाल

काँक्रेविहार (सुर्खेत), ५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताउनुभएको छ ।
छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले जनयुद्धमा जाजरकोटले पु-याएको योगदानको प्रशंसा गर्नुभयो ।

जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उहाँको भनाइ थियो । १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उहाँले बताउनुभयो ।

अब फेरि जनताले माओवादीलाई बलियो बनाए मात्र सबै जनता बलियो हुने उहाँको भनाइ छ । “हामीले गरेका गल्ती कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब फेरी हामीलाई तपाईँहरुले साथ दिनुभएमा जनता बलियो जनसाधारण बलियो हुनेछ ।” मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनतासँग जोडिने भएको उहाँले बताउनुभयो ।

जाजरकोटका जनताले उठाएका कुरा सदनदेखि सरकारम्म राख्ने उहाँले प्रतिबद्धता गर्नुभयो । मध्यपहाडी राजमार्गको मन्ताभिरको अवरोध हटाउन प्रयास गर्ने आश्वासन दिनुभयो । जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण तथा नलगाड जलविद्युत् आयोजना निर्माणका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

‘कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न सकेन’ : प्रकाशशरण महत

लेखनाथ (कास्की), ५ जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता प्रकाशशरण महतले सरकारमा रहँदा गरेका कामको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उहाँले विसं २०४८ यता स्वास्थ्य, शिक्षा, सञ्चार, सडक, पुल र विद्युत् जस्ता विकास निर्माणले तीव्रता पाए पनि त्यस्ता कार्यको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताउनुभएको हो ।

व्यक्तिगत गालीगलौज र प्रतिस्पर्धाभन्दा कांग्रेस सरकारमा हुँदा गरेका कामको सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न सकेमा कांग्रेसलाई कसैले पराजय गर्न नसक्ने भनाइ उहाँको छ । सङ्गठन निर्माण र आफूले गरेका कामको बिक्री गर्न नसक्दा काँग्रेसको प्रगति जुन रुपमा हुनुपर्ने थियो, त्यसरी हुन नसकेको निष्कर्ष उहाँको छ ।

“कांग्रेसको नीति र विचार ठीक भएकै कारण अन्य पार्टीहरु पनि लोकतान्त्रिक बाटोमा आएका छन्,” उहाँले भन्नुभयो, “बिपीको नीतिलाई आत्मसात गर्दै देश र जनताप्रति प्रतिबद्ध भएर कांग्रेसका नेता तथा कार्यकर्ता अगाडि बढ्नुपर्छ ।” सत्तामा रहँदा मात्र जनताका काम गर्न सकिने भएकाले कांग्रेस गठबन्धनको सरकारमा संलग्न भएको उहाँले बताउनुभयो । मिश्रित निर्वाचन प्रणाली भएसम्म कुनै पार्टीको बहुमत आउन नसक्ने धारणा उहाँको छ । राष्ट्र बैंकको गर्भनरमा सक्षम व्यक्ति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले नेपाली जनताका चाहना पूरा गर्न कांग्रेस सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ आउने पार्टीले नेपाली जनतालाई सेवा गर्न नसक्ने बताउनुभयो । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल, पूर्वमन्त्री यज्ञबहादुर थापा, मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।

देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्नेगरी काम गर्नुको विकल्प छैनः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्न र युवा पुस्तामा टुटेको विश्वास पुनर्जागृत गराउन काम गर्नुको विकल्प नरहेको बताएका छन् ।

बिपी कोइरालाको जीवनकथामा आधारित रहेर लेखक शुभाष घिमिरेले लेखेको उपन्यास ‘सान्दाजु’ को सोमबार लोकार्पण समारोहमा महामन्त्री थापाले विश्वास जगाउने गरी कांग्रेसले नै काम गर्नुको विकल्प नरहेको बताए ।

महामन्त्री थापाले भने, ‘युवा विदेशिनु नौलो कुरा होइन, आउने जाने क्रम चलिरहन्छ तर देश बन्दैन भन्ने भाष्य निर्माण भएर बाहिरिनु डरलाग्दो हुनसक्छ । त्यसैले अब सानातिना कुरामा अल्झिनुभन्दा पनि यो अफ्ठ्यारोबाट निकास दिन हामीले आफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीलाई भाग्ने सुविधा छैन, निकास दिनुको विकल्प अन्य कुनै बहाना हुनसक्दैन ।’

उनले कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो रहेको उल्लेख गरे । ‘नेपाली कांग्रेसका लागि महत्वपूर्ण कुरा सत्ता वा शक्ति रहेनछ किनकि देशकै ठूलो पार्टी बन्दा खै त हामी उत्साहित भएको ? त्यसकारण अब राष्ट्रिय शक्ति बन्नुपर्छ । राष्ट्रिय शक्ति भनेको राष्ट्रको समस्या बुझ्ने, थाहा पाउने र त्यसलाई सम्बोधन गर्न सामथ्र्य राख्ने हुनुपर्छ’, महामन्त्री थापाले भने ।

उनले बिपी कोइरालाको विषयमा धेरै पुस्तक आइसकेकाले नयाँ उपन्यास लेख्नु आफैँमा चुनौती रहेको भन्दै लेखक घिमिरेको प्रयासलाई धन्यवाद दिए ।

‘साहित्य जगतमा बिपीबारे धेरै लेखिएका छन् तर उहाँको जीवनकथालाई काल्पनिक पात्रसँग जोडेर उपन्यास तयार गर्नु चुनौतीपूर्ण नै थियो । पुस्तकले लोकतान्त्रिकसँगै अन्य विचार राख्नेलाई पनि विविध कुराहरू बारेमा जानकारी दिन्छ’, महामन्त्री थापाले भने ।

यातायात र ऊर्जा क्षेत्रमा उच्च प्राथमिकतासहित बङ्गलादेशको विकास कार्यक्रम स्वीकृत

बङ्गलादेश सरकारको उच्च आर्थिक नीतिनिर्माण निकायले आगामी आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जूनसम्म का लागि २.३ ट्रिलियन टाका (करिब १९ अर्ब अमेरिकी डलर) बराबरको वार्षिक विकास कार्यक्रम (एडीपी) स्वीकृत गरेको छ।

यो रकम चालु आर्थिक वर्ष सन् २०२४–२५ को संशोधित एडीपीभन्दा ६.५८ प्रतिशतले बढी हो।

नयाँ एडीपी आइतवार अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा राष्ट्रिय आर्थिक परिषद्का अध्यक्ष मुहम्मद युनुसको अध्यक्षतामा बसेको बैठकमा स्वीकृत गरिएको हो।

बैठकपछि योजना सल्लाहकार वाहिदुद्दिन महमुदले पत्रकारहरूसँग कुरा गर्दै जानकारी गराए अनुसार आगामी आर्थिक वर्षको एडीपीमा समावेश २.३ ट्रिलियन टाकामध्ये १.४४ ट्रिलियन टाका आन्तरिक स्रोतबाट जुटाइनेछ भने बाँकी ८६० अर्ब टाका विदेशी परियोजना सहायता स्वरूप प्राप्त गरिनेछ।

यस एडीपीमा यातायात, सञ्चार, ऊर्जा तथा विद्युत् क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। साथै, सार्वजनिक कोषको दुरुपयोग रोक्दै त्यसको अधिकतम उपयोग सुनिश्चित गर्ने कुरामा पनि जोड दिइएको छ।आगामी वर्ष कार्यान्वयनका लागि कुल एक हजार१४३ परियोजनाहरू समावेश गरिएको जानकारी दिइएको छ।

हुम्ला विपद् : तत्काल राहतका लागि पहल गरिने

काठमाडौँ, ५ जेठः हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोबाट पीडितलाई तत्काल राहतका लागि पहल गरिने भएको छ । आज गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले तत्काल राहत सामग्री प्रदान तथा उद्धार गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पहिरो जानुको कारणबारे अध्यायन टोली गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । “हिमताल विस्फोट भएको भनिए पनि हिमताल नै विस्फोट भएको हो या हैन भन्ने यकिन छैन । भिडियो, फोटो हेर्दा हिउँ पग्लिएर जमिन भित्रभित्रैबाट पानी बगेको हुन सक्ने अनुमान छ । तर के भएको हो ? भन्ने विस्तृत अध्ययन गरिने आजको निर्णय छ,” उहाँले भन्नुभयो, “यस्तै अन्य हिमाली क्षेत्र पनि जोखिममा छन् । जोखिममा भएका क्षेत्रको पहिचान गर्दै जोखिम मूल्याङ्कन गर्ने निर्णय भएको छ ।”

जलवायुविद् मञ्जित ढकालले हालको अवस्था हेर्दा हिमताल फ्ट्ने खतरा बढिहरहेकाले अनुसन्धानमा ध्यान दिनुपर्ने र पूर्वसुचना प्रणाली जडानमा लगानी गर्नुपर्ने सुझाव दिनुभयो । “हुम्लाको घटनामा अहिले हिमताल विस्फोट भएको हो या होइन भन्ने राम्रोसँग तथ्य बाहिर नआउन्जेल केही भन्न मिल्दैन, तर हिमताल फुट्ने जोखिम हिमाली भेगमा बढ्दो छ । सतर्कता र पूर्वतयारीमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो ।

सरकारले ढुवानी विक्रि वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भयो :मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट टे«डिङलाई सरकारले दिएको ढुवानी विक्रि वितरणको जिम्मेवारी अब निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भएको छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ढुवानी विक्रि वितरणको अधिकार साल्ट टे«डिङ कर्पोरेशनलाई दिने भन्ने कुरा अझै पनि कायम नै रहेको भन्दै निजी क्षेत्रलाई दिने भन्ने खालको निर्णय कतैबाट पनि नभएको बताए ।

उनले भने, ‘नेपाल सरकारको समेत केही हिस्सा यो संस्थासँगको आवद्धता र त्यसलाई अलि बढि विश्वसनिय तवरबाट ढुवानीको कार्य गर्दै आई रहेको छ । हिजो केही मिडियामा साल्ट टे«डिङसँग सरकारले ढुवानी विक्रि वितरणको जुन जिम्मेवारी दिएको थियो । त्यो अब निजी क्षेत्रलाई दिने भन्ने खालको कुरा आयो, यो कसरी र किन आयो त्यो जानकारी भएन तर सुन्नमा आएको छ ।
अहिलेसम्म ढुवानी विक्रि वितरणको अधिकार साल्ट टे«डिङ कर्पोरेशनलाई छ । धेरै वर्षसम्म छ । आगामी आर्थिक वर्षको मन्त्रालयको नियमित कार्यक्रम र सिलिङ् जे आउछ त्यो आज पनि कायम छ । निजी क्षेत्रलाई दिने भन्ने खालको निर्णय कतैबाट भएको छैन् ।’

यस्तै, उनले आपूर्ति श्रृंखलालाई व्यवस्थित गर्न र आइपर्ने विविध खालका समस्याहरुमा सहजीकरण गर्न योजना बनाई अगाडि बढ्ने बताए । उनले भने, ‘आपूर्ति श्रृंखलालाई व्यवस्थित गर्न हामी धेरै नजिकबाट साल्ट टे«डिङ कर्पोरेशनसँग छलफल गरेर आई पर्ने विविध खालका समस्याहरुमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुरामा पनि हामी योजना बनाई रहेका छौ, छलफल गरिरहेका छौ ।’

प्रधानमन्त्रीद्वारा पहिलो पटक ‘ग्लोबल’ छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई

काठमाडौँ, ५ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ‘ग्लोबल’ छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको हो ।

“नेपाली छोरीहरुलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि । २०२६ महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ । नेपालका लागि गर्वको क्षण हो । हार्दिक बधाई तथा शुभकामना”, प्रधानमन्त्री ओलीले लेख्नु भएको छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो ।

तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छः मन्त्री दाहाल

काठमाडौँ, ५ जेठः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग रहेको बताउनुभएको छ । राष्ट्रियसभामा आज भएको मौखिक प्रश्नोत्तरका क्रममा उहाँले आयोजनाहरू तोकिएको गुणस्तर, समयावधि र लागतमा सम्पन्न गर्न मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा सजग रहेको बताउनुभयो ।

मन्त्री दाहालले कतिपय आयोजनाहरू समयसीमा र तोकिएको गुणस्तरमा सम्पन्न भएका र केही आयोजना समयमा सम्पन्न हुन नसकेकामा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्रालयले हाल सम्पूर्ण आयोजनाको कार्ययोजना निर्माण गरी समयतालिका, समस्या तथा जोखिम र जिम्मेवार पदाधिकारी तोकी प्रभावकारी अनुगमन गर्ने र हरेक महिना समीक्षा गर्ने परिपाटी लागू गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री दाहालले कैलालीको टिकापुर÷दुर्गौलीदेखि साँफेबगर हुँदै बझाङको चैनपुरसम्म कार्यक्षेत्र रहेको सेती लोकमार्गको कुल लम्बाइ २०४ किलोमिटर रहेकामा हालसम्म १२८ किमी मात्र ‘ट्र्याक’ खुलेको र बाँकी ७६ किमी ट्र्याक खुल्न बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँसँग सांसदहरू मदनकुमारी साह र भुवनबहादुर सुनारले सो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोध्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०८०÷८१ सभासमक्ष पेस गर्नुभयो । उहाँले ‘चलचित्र विधेयक, २०८१’ समेत पेस गर्नुभयो ।

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

रामपुर (पाल्पा), ५ जेठः पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चितभएसँगै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।

योसँगै जिल्लाका आठवटा पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा जिल्लाखोप समन्वय समिति पाल्पाले प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक टङ्कनाथ खनाल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोख्रेलले, रामपुर नगरप्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्रप्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।

यसवर्ष रामपुर नगरपालिकासँगै आठ पालिका पूर्ण खोप सुनिश्चित पालिका भइसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ ६ गते भित्र बाँकी दुई पालिकालाई पनि घोषणा गरिनेछ ।

जिल्लामा चालु आर्थिक वर्षभित्र कुनै पनि महिला घरमा प्रसूति हुनु नपरेको तथ्याङ्क प्रस्तुतगर्दै जिल्लालाई पहिलो संस्थागत सुत्केरीयुक्त जिल्ला घोषणाको तयारी भइरहेको पोखरेलले जानकारीदिनु भयो । सङ्घीयता पश्चात् २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्षसम्म पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका पाँच सय ५७ र १६ महिना देखि ५९ महिना सम्ममा एक हजार नौ सय ७३ जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा नगरभित्रका दशवटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा र वडा नं १ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ । पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चितजिल्ला घोषणा गरिएको थियो ।

‘सरकारले सांसदले उठाएका जनताका मागलाई सम्बोधन गर्नुपर्छ ’ : तिमिल्सिना

काठमाडौँ, ५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेत्री गोमादेवी तिमिल्सिनाले सबै प्रकृतिका हिंसाको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । पछिल्लो समयमा महिला मात्रैभन्दा पनि पुरुषपनि बढी हिंसामा पर्ने गरेको उहाँको भनाइ छ ।

राष्ट्रियसभा सदस्य तिमिल्सिनाले भन्नुभयो, “लिभिङ टुकेदर बस्ने तर, आफूले भनेको जस्तो भएन वा कुनै कुरामा कुरा नमिल्दा बलात्कार भयो भन्ने कुरालाई हामीले कसरी हेर्ने? ” ‘सार्वजनिक नीति तथा प्रत्यायोजित’ समिति सदस्य सांसद तिमिल्सिनासँग राष्ट्रियसभाको अनुभव, सङ्घीय संसद्का गतिविधि, संविधान कार्यान्वयन र संशोधन र युवा पलायनलगायत मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले लिनुभएको अन्तरर्वार्ताकोे सम्पादित अंश ।

महिला हिंसा अन्त्यको निम्ति के गर्नुपर्छ होला ?

हिंसामा महिला मात्रै होइन, पुरुषपनि हिंसामा परेका छन् । हामीले सबै खालका हिंसाको अन्त्य गर्न जरुरी छ । यद्यपि, महिलामात्रै होइन, बालिका र वृद्धा पनि हिंसाको जोखिममा पर्ने गरेका छन् । अपाङ्गता भएका किशोरी वा बालिकापनि हिंसाको सिकार हुने गरेका छन् । यसलाई अन्त्य गर्न मुख्य भनेको कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्दैै नीतिगत प्रतिकार गर्नुपर्छ । अर्को, सचेतना पनि आवश्यक छ ।

तपाई निर्वाचित प्रदेश र पालिकाका सवालप्रति कति जिम्मेवार हुनुहुन्छ ?

विकासको सवालमा राष्ट्रियसभामा बजेटको व्यवस्था हुँदैन । तरपनि हामीले जनतासँग जोडिएका समसामयिक विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने काम गर्दै आएका छौँ । राष्ट्रियसभाको प्रादेशिक समयमा सबै सदस्यहरुले आफू निर्वाचित प्रदेश र स्थानीय तहका समस्यालाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ । तर फेरि पनि मुख्य कुरा कार्यान्वयन हो । सरकारले सांसदले उठाएका विषयलाई कार्यान्वयनमा ध्यान दिएको देखिँदैन ।

तपाईको राष्ट्रियसभाको अहिलेसम्मको अनुभव कस्तो रह्यो ?

राष्ट्रियसभाको सदस्य भएको तीन वर्ष भयो । मेरो संसदीय अनुभव पहिलो हो । सभामा जाँदैगर्दा केही समय मलाई बुझ्नै लाग्यो । संसद् भनेको मुख्य गरी कानुन निर्माण गर्ने हो । प्रतिनिधिसभाबाट आएका विधेयकलाई हामीले प्रर्याप्त छलफल गरेर राष्ट्रियसभाबाट पारित गछौँ । राष्ट्रियसभा अन्तरगत चार वटा समिति छन् ।

ती समितिमा पनि सरकारले ल्याएको विधेयको बारेमा गहिरो छलफल हुन्छ । तर, सरकार बहुमतको छ । सरकारले ल्याएका विधेयकमाथि जति छलफल भए पनि परिवर्तन हुँदैन । संसद्बाट बहुमतका आधारमा विधेयक पारित हुन्छ । म राष्ट्रिय सभाप्रति सन्तुष्ट छु । किनभने राष्ट्रियसभा भनेको प्रतिनिधिसभा भन्दा फरक छ । राष्ट्रिय सभामा सम्बन्धित मन्त्रालय, सरोकारवाला विज्ञसँग प्रर्याप्त छलफल गरेर मात्रै विधेयक अगाडि बढाउने गरेका छौँ ।

युवा पलायन रोक्नका लागि के गर्न सकिन्छ होला ?

अहिले देशको लागि युवा पलायन गम्भीर समस्याको रुपमा देखा परेको छ । यो बढ्दैपनि गइरहेको छ । समस्या समाधान गर्न सबैभन्दा पहिला बन्द भएका र रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गर्नुपर्छ । मैले यो कुरा पटक–पटक संसद् र सार्वजनिक फोरममा उठाउँदै आएकी छु । तर मैलेयता संसद्मा बोल्दैगर्दा उता सरकारले ती उद्योगलाई निजीकरणमा हालिसकेको हुन्छ । कम्तीमा सङ्घीय सांसदले उठाएका विषयमा सरकारले छलफल गर्नुपर्ने हो । तर त्यो पाएको छैन ।

महिलाको सवालमा संवैधानिक व्यवस्थाको कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ?

महिला मात्रै नभएर संविधानले बालबालिका, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिलगायत सबैको अधिकार सुनिश्चित गरेको छ । तर, पूर्ण रुपमा कार्यान्वयन हुनसकेको छैन । विशेष गरी पछाडि परेका समुदायको संवैधानिक अधिकार कार्यान्वयन गर्न सरकारले कोसिस नै गरेको छैन । महिलाको सवालमा सहभागिताको हिसाबले संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता भएको छ । योसँगै आर्थिक, सामाजिकलगायत महिलाको संवैधानिक अधिकारलाई व्यवहारिकरुपमै पूर्णमा कार्यान्वयन गर्नुपर्छ ।

संविधान संशोधनप्रति तपाईको धारणा के छ?

संविधान संशोधन हुनुभन्दा पहिला कार्यान्वयन जरुरी छ । संविधान कार्यान्वयन गर्दैगर्दा संशोधन गर्नुपर्ने आवश्यकता भएको खण्डमा संशोधन गर्नुपर्ने हुन्छ । तर संविधानको पूर्ण कार्यान्वयन हुन सकेको छैन । मुख्य कुरा, सरकारले महिला, बालबालिका वा पछाडि परेका समुदायको हितमा अधिकारलाई कार्यान्वयन गर्नुपर्छ ।

अहिले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गरी दुई ठूला पार्टीको सरकार छ । तर, सरकारमा दुई जना मात्रै मन्त्री छन् । एक जना ‘क्याविनेट’ मन्त्री, अर्को राज्यमन्त्री । मन्त्रिपरिषद्लाई महिलासहितको समावेशी बनाउनका लागि सबैभन्दा लोकतान्त्रिक भनिएको पार्टी कांग्रेस र क्रान्तिकारी भनिएको पार्टी एमालेले विचार गर्नुपर्ने हो । तर उहाँहरुको त्यसतर्फ ध्यान पुगेको छैन । त्यसकारण मन्त्रिपरिषद्लाई महिलासहितको समावेशी बनाउन संवैधानिक व्यवस्था हुनुपर्छ ।

ऐन÷कानुन र नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । अर्को कुरा, महिला नेत्रीले आ–आफ्नो पार्टीभित्र महिला सहभागिताको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्छ । पार्टीभित्र आफ्नो निम्ति अधिकार खोज्नुपर्छ ।

तपाईको पार्टीको संसदीय भूमिकालाई कसरी हेुर्नुभएको छ?

हाम्रो पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । तर हामी सानो पार्टी भए पनि संसद्मा सशक्त छौँ । हामीलाई सानो पार्टी भनेर कहिलेकाहीँ तुच्छ रुपमा पनि हेर्ने र अपहेलना गरेको जस्तो लाग्छ । तर, यर्थात त्यस्तो होइन । हामी कोहीभन्दा कमि छैनौँ ।

हाम्रो राष्ट्रियसभामा आठ जना र प्रतिनिधिसभामा १० सांसद जना छौँ । तर कानुन निर्माणदेखि जनताका समसामयिक विषयमा सशक्त आवाज उठाउँदै आएका छौँ । प्रतिनिधिसभामा रहनुभएका १० जना सांसदले आफ्नै ढङ्गले गर्नुभएको होला । तर, हामी राष्ट्रियसभामा रहेका आठजना सांसदले एक आपसमा समन्वय र सहकार्यको आधारमा सक्रिय रहँदै आएका छन् । ठूला पार्टीको भन्दा संसद्मा हाम्रो योगदान कमजोर छैन । हामी सैद्धान्तिक र व्यवहारिक रुपमा बफादार र इमानदारीका साथ अगाडि बढेका छौँ ।

सङ्घीयतालाई अझै सुदृढबनाउन तपाईको सुझाव के छ ?

एकातिर सङ्घीयता हटाउनुपर्छ भन्नेपनि सुनिन्छ भने अर्कोतिर सङ्घीयताको आकार सानो बनाउनुपर्छ भन्ने पनि सुनिँदै आएको छ । अर्को कुरा, यो सङ्घीयतालाई अझै सुधारेर लैजानुपर्छ भन्नेपनि बह्स छ । सबैभन्दा पहिला सङ्घीय, प्रदेश र स्थानीय तहले इमान्दारिताका साथ काम गर्नुपर्छ । तीनै तहका सरकारले घुस खाएर काम गर्नुभएन । बिना स्वार्थ काम गरेको खण्डमा सङ्घीयता आफैँ बलियो हुन्छ । वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मले निश्कलङ्क भएर काम गर्नुपर्छ ।

आफ्नो प्रदेशभित्रका, आफ्नो पालिका र वडाभित्रका जनतालाई कसरी सर्वसुलभ सेवा दिने भन्ने बारेमा सोच्न जरुरी छ । खाली एउटा सरकारले अर्को सरकारलाई दोसारोपण गरेर मात्रै हुँदैन । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । अनि मात्रै सङ्घीयता बलियो हुन्छ ।

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

काठमाडौँ, ५ जेठः नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् ।

बक्सर घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्व प्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल हुनुभएको हो । अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उहाँले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बन्नुभएको हो ।

‘च्याम्पियन’ जिन्कलाई रिङ्मा ढाल्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी बन्नुभएको बक्सर अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । सो अन्तरराष्ट्रिय खेल हेर्ने जापानमा रहेका नेपाली तथा जापानीको उल्लेखनीय सहभागीता रहेको कराँते खेलाडी देवले बताउनुभयो ।

प्रतियोगिताका लागि बक्सर अविरलले थाइल्याण्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढमहिना आफ्नै खर्चमा बन्द प्रशिक्षणसमेत लिनुभएको थियो । ‘के वन क्रस १७५’को उपाधि हात पारेपछि बक्सर अविरलले भन्नुभयो, “ ‘के वन क्रस १७५’को उपाधि हात पार्नु नेपाल र मेरो लागि ऐतिहासिक क्षण हो । यसका लागि मेरा पिता एवं प्रशिक्षक कराँते खेलाडी देवलाई विशेष धन्यवाद दिन चाहन्छु । मेरो खेल हेर्न हलमा सहभागी भएका नेपाली र जापानी खेलप्रेमीलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो खेलयात्रा जारी रहने छ । ”

किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका बक्सर अविरलले हालै ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुम्नुभएको थियो । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वाराजापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियम गत माघको अन्तिम साता आयोजित सो प्रतियोगितामा उहाँले जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुन सफल हुनुभएको थियो ।

यसैगरी गत कात्तिक ११ मा इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा ‘हिमचितुवा’ले विश्वप्रसिद्ध फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल हुनुभएको थियो ।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी अविरलले अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको छ ।

बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आउनुभएको छ । कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।

अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा), ५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका १२ वटा जिल्लाका स्थानीय तहमा चालु आर्थिक वर्षको वैशाखसम्मको अवधिमा एक हजार पाँच सय ६४ उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले कार्यालय मातहतका जिल्लामध्ये रौतहट, बारा र पर्सा जिल्लाका स्थानीय तहमा सबैभन्दा धेरै उजुरी आउने बताउनुभयो ।

‘‘चालु आवको १० महिनामा रौतहटका स्थानीय तहसम्बन्धी चार सय ३० उजुरी दर्ता भएका छन्,’’ उहाँले भन्नुभयो,‘‘दोस्रो धेरै उजुरी पर्नेमा बारामा तीन सय ९७ र पर्सा जिल्लामा तीन सय ५२ वटा उजुरी परेका छन् । ’’ कार्यालय मातहत चालु आवमा सबैभन्दा कम उजुरी भने रामेछाप र रसुवा जिल्लामा परेको छ । जहाँ १० महिनामा तीन–तीन वटा मात्रै उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले स्थानीय तहमा विधिको शासन र सुशासन कायम राख्न जरुरी रहेको बताउनुभयो । ‘‘मधेश प्रदेशका स्थानीय तहमा भएका विकृतिको उजुरीको सङ्ख्या उच्च रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘स्थानीय तहले सुशासन कायम गर्दै यहाँ देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्न आवश्यक भइसकेको छ ।’’ उहाँले अख्तियारमा उजुरी पर्दैमा डराउन नपर्नेसमेत धारणा राख्नुभयो ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरै खालका उजुरी आउने गरेको बताउनुभयो । ‘‘स्थानीय तहमा विशेष गरेर सार्वजनिक खरिद र निर्माण प्रक्रियामा उजुरी धेरै आउने गरेका छन्,’’ उहाँले भन्नुभयो,‘‘ गलत इष्टिमेट तयार पार्ने । खरिद प्रक्रिया र कानुनको परिपालन गर्ने संस्कारको निकै कम देखिएको छ,’’ उहाँले भन्नुभयो,‘‘ उपभोक्ता समितिले जिम्मा लिएको काम अर्काे ठेकेदारमार्फत काम गराउने गलत प्रवृत्तिको पनि विकास भइरहेको छ ।’’ गत आवमा कार्यालय मातहतका १२ जिल्लामा नौ सय १८ वटा उजुरी अख्तियारमा परेका थिए ।

नायब प्रहरी उपरीक्षक श्रेष्ठले अख्तियार कार्यालय हेटौँडाले चालु आवको १० महिनामा एक हजार ३९ वटा उजुरी फछ्र्याैट गरेको जनाएको छ । जबकी गत आवभरिमा भने चार सय ५४ वटा उजुरी फछ्र्याैट गरेको थियो । कार्यालयका अनुसार चालु आवको १० महिनामा पाँच सय २५ उजुरी फछ्र्याैट गर्न बाकीँ छ, भने गत आवको पनि चार सय ६४ उजुरी फछ्र्याैट गर्न बाँकी छ ।

हेटौँडा कार्यालय मातहत मधेश प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका नौ जिल्ला पर्ने गर्छन् । जसमा रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपालाञ्चोक, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट र रामेछाप जिल्ला पर्दछ ।

‘डाइभर्सन’ बगाउँदा हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध

बागमती, ५ जेठः हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।

वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

काठमाडौं । लामिन यामाल र फर्मिन लोपेजले सानदार गोल गरे पनि बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित भएको छ ।यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना घरेलु मैदानमा अग्रता जोगाउन सकेन ।

लिग र कप डबल जितेको बार्सिलोनाले यो सिजन सबै प्रतियोगितामा गरी २० खेलमा पहिलो गोल खाएको छ । तर तीमध्ये नौ खेलमा जित र दुई खेलमा बराबरी निकालेको छ ।

भिल्लारियल पहिलो हाफको धेरै समय दबाबमा रह्यो, तर दोस्रो हाफको पाँचौं मिनेटमा सान्ती कोमेसानाले येरेमी पिनोको उत्कृष्ट थ्रु बलमा दौडँदै आएर गोलकिपर मार्क–आन्द्रे टर स्टेगनलाई छलेर बराबरी गरे । परिवर्तित ताजोन बुकेननले ८० औं मिनेटमा निर्णायक गोल गरे ।३८ औं मिनेटमा यामालले आफ्नो ट्रेडमार्क शैलीमा नवौं लिग गोल गरे । फर्मिनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

पुनरागमन जितसहित भिल्लारियल शीर्ष पाँचमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगको सुनिश्चितता गर्यो ।हान्सी फ्लिकको टोलीले बिहीबार प्रतिद्वन्द्वी एस्पानियोलमाथि २–० को जित निकालेर आफ्नो २८औं शीर्ष डिभिजनको उपाधि जितेको थियो ।

आयोजे पेरेजले निकोलस पेपेको क्रसलाई चौथो मिनेटमै गोलमा परिणत गर्दै भिल्लारियललाई अग्रता दिलाए ।‌ तर घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफको अन्त्यसम्म अग्रता लिन सफल भयो ।

बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

म्याग्दी, ५ जेठ : विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बताउनुभयो ।

“बन्द भएका जगन्नाथ र ओखले आधारभूतलाई विद्यार्थी सङ्ख्या न्यून भएकाले गत शैक्षिक सत्रमा १–३ बाट कक्षा घटुवा गरेर बालकक्षा मात्र सञ्चालन भएको थियो,” उहाँले भन्नुभयो “यसपाली बालकक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द भएका हुन् ।”

गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी थिए । ओखलेका बालविकास सहयोगीलाई दिपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूतमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ । नगर प्रमुख सुरत केसीका अनुसार कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।

तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने, विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको नगर प्रमुख केसीले बताउनुभयो ।

टी–२० विश्वकप छनोटमा नेपाली महिला टिम यूएईसँग भिड्दै

काठमाडौं । महिला टी–२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ ।आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।

प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् ।प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ५ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १००, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ६००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु २००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, भारतीय सुन्तला रु १५०, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, मेवा स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु २५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु

काभ्रेपलाञ्चोक, ५ जेठः स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।

अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको हो । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेल खण्ड कालोपत्र सुरु गरिएको हो । धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक हाल कालोपत्र सुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताउनुभयो ।

हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ । खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ । पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमीको ‘क्र्याक–रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमीको ‘डिबिएम’ गरी त्यसमाथि ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको हो ।

सूर्यविनायक–धुलिखेलसम्म १६ किमी छ । जसमा सूर्यविनायक–साँगा ७ दशमलव ५ किमी र साँगा–धुलिखेल ८ दशमलव ५ किमी छ । उक्त दुरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो । सूर्यविनायक–साँगासम्मको ठेक्का विसं २०७९ मङ्सिर र साँगा–धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो ।

सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ । इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ । हाल सुरु गरिएको तीन किमी कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य आयोजनाको छ ।

उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।

साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटोदूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वीतराईका लामा दुरीका सवारी मात्र दैनिक दुई हजार ५०० भन्दा बढी गुड्ने गरेका छन् ।

आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ ।आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो ।

साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८ रन बनाउँदा कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोडे ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो ।

दिल्लीका लागि ६५ बलको सामना गरेका उनले १४ चौका र चार छक्का प्रहार गरे । अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन जोडेका थिए । लोकेश राहुलले अविजित रहँदै ११२ न जोडे ।यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेस्रो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन् ।

मौसम पूर्वानुमान : केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेसलगायत कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

वर्षा र हावाहुरी र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।