`

चलचित्र‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

काठमाडौँ, ५ जेठः सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको निर्देशक दिनेश राउतले बताउनुभएको छ । आइतबार दरबारमार्गस्थित राइजिङ मलस्थित चलचित्र भवनमा ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले समाचारमा आएका घटनाक्रम र सहकारी पीडतको विषय बुझेर चलचित्र तयार गरेको जानकारी दिनुभयो ।

“सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवारसँगै समाजमा पार्ने असरलाई देखाएका छौँ । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । यद्यपी यो सहकारीको विषयमा मात्र केन्द्रित छैन”, उहाँले भन्नुभयो ।

विदेश र काठमाडौँबाट गाउँ फर्किएका युवा र गाउँमै रहेका युवाको सोचलाई पनि चलचित्रमा प्रस्तुत गरिएको छ । सार्वजनिक गरिएको श्रव्यदृश्यमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्त रूपमा उठाइएको उहाँले बताउनुभयो ।

चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गर्नुभएको छ । ट्रेलरमा देखाइएझैँ, सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नु परेको अभिनेत्री भुसालले बताउनुभयो ।

“म आफैँ सहकारी पीडित हुँ, मैले यसका विरुद्धमा आवाज उठाएँ, आन्दोलन गरँ,े तर न्याय अझैँ पाएकी छैन । यो चलचित्र हामीजस्ता अन्यायमा परेका पीडितको आवाज बनेको छ । यसले एउटा बुलन्द आवाज उठान गर्छ भन्ने मैले विश्वास लिएकी छु”, अभिनेत्री भुसालले भन्नुभयो ।

पत्रकार सम्मेलनमा सहभागी कलाकारले सहकारीसँग जोडिएको आफ्नो अनुभव सुनाएका थिए । विकास सुवेदीद्वारा लिखित कथा तथा पटकथामा तयार पारिएको चलचित्रलाई क्लकवर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रूपमा निर्माण गरेको हो । उक्त चलचित्र यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो सम्भावित कार्यसूची

काठमाडौँ, ५ जेठः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।

त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नुहुनेछ । नेपालको चलचित्र उद्योगलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने लक्ष्यका साथ सरकारले सो विधेयक ल्याइएको बताउँदै आएको छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रधस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्राल र युवा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसची छ ।

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ५ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४३ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ५९ पैसा र विक्रीदर ३५६ रुपैयाँ १५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अझै बनेन दुई वर्षअघि भासिएको झापा बिरिङको पुल,जोखिम मोलेर साना सवारी आवतजावत

झापा, ५ जेठः यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।

स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।”

हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ ।

अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताउनुभयो । “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ ।” उहाँले भन्नुभयो, “उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं ।”

नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताउनुभयो । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उहाँको भनाइ छ ।

विसंं २०६५ सालमा भारत सरकारको रु दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताउनुभयो ।

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

खोटाङ, ५ जेठः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गर्नुभएको हो ।

दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छभने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको छ ।

दिव्यज्योति कन्ट्रक्सन प्रालिले रु ४२ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ चैत १७ गते तथा रायमाझी कन्ट्रक्सन प्रालिले रु ४४ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ माघ २ गते सम्झौता गरेको हो ।

दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएका छन् । फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वीतराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । “यो सडक तपाईँको व्यावसायिक काममात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो । तपाईले यो सडक कालोपत्र समयमा सम्पन्न गर्नुहुनेछ । यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन्”, उहाँले भन्नुभयो, “कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । यो सडक दुई लेनको बन्ने छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको छ ।”

मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनःनिर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताउनुभयो । गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले रु ३५ करोड बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनःनिर्माण हुने उहाँको भनाइ छ ।

यस सडक यसअघि पनि कालोपत्र सुरु गरिएको थियो । ठेकेदारको चरम लापरबाहीले समयमा सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्र सुरु गरेको हो ।

विराटनगरमा अनियन्त्रित भई स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ, ४ जेठ : विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कोशी प्रदेश १–०२–०५०प ९७९६ नंको स्कुटर आज अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर–८ का ५५ वर्षीय मोहम्मद.अब्दुल कलाम घाइते भएका थिए ।

उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यात्रुको सुरक्षालाई प्राथमिकता दिएर राइड सेयरिङ नियमावली : मुख्यमन्त्री

गण्डकी, ४ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिएर राइड सेयरिङ नियमावली जारी गरेको बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेसँगै आज सरकारलाई धन्यवाद दिन पुगेका राइडर्स र सेल्फ ड्राइभ सञ्चालकहरूसँगको भेटमा उहाँले यात्रुको सुरक्षा र सुविधा नै सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । राइड सेयरिङले यातायात सञ्चालन गरिरहेका व्यवसायीलाई पनि घाटा नहुने उल्लेख गर्दै उहाँले भाडाका सवारीसाधन सञ्चालन गर्दै आएका कम्पनीलाई प्रोत्साहित गर्न दर्तामा छुट दिने नीति लिएको बताउनुभयो ।

राइड सेयरिङमा दर्ता हुने कम्पनी र एप्सले सुरक्षाको सबै मापदण्ड पूरा गरेको हुनुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले यात्रु र राइडर्सको पनि सुरक्षा हुने गरी नियमावलीमा व्यवस्था गरिएका कारण यसको पूर्ण पालना गर्न सुझाउनुुभयो । यसले नागरिकले पनि सुविधा पाउने, थप रोजगारी सिर्जना हुने, अहिले कानुनी रुपमा अवैध रहेर सञ्चालन भइरहेको सेवाले कानुनी मान्यता पाउने र सरकारलाई पनि राजस्व बढ्ने उहाँको भनाइ थियो ।

राइड सेयरिङ नियमावलीले कसैलाई घाटा नरहेको बताउँदै उहाँले प्रक्रिया पूरा नगर्नेहरूलाई जरिवाना धेरै रहेको स्मरण गराउनुुभयो । अटेर गर्नेलाई छुट नहुने र सबैले नियम पालना गर्नुपर्ने उहाँको भनाइ छ ।

राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले नेपालमै पहिलोपटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ‘ग्यारेन्टी’ गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

“यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौँ व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिइरहेका थियौँ”, उहाँले भन्नुुभयो, “यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाऊन् र हामीजस्ता युवाहरूको रोजीरोटीको पनि गण्डकी सरकारको यो निर्णयले ग्यारेन्टी गरेको छ ।”

सेल्फ ड्राइभ सञ्चालक रमेशराज पाण्डेले नियमावलीले आफूहरूलाई व्यवसाय गर्न सहज हुने र अब पहिलेजस्तो दुःख भोग्नु नपर्ला भन्नेमा खुसी भएको बताउनुुभयो । सरकारले ल्याएको मापदण्डभित्र रहेर सेवा दिन तयार रहेको बताउँदै उहाँले पर्यटकीय राजधानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई नियम कानुनभित्र रहेर सेवा दिन पाउने ढोका खुलेको बताउनुुभयो ।गण्डकी प्रदेश सरकारले वैशाख ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ नियमन र व्यवस्थापनसम्बन्धी छुट्टै नियमावली जारी गरेको थियो ।

रसुवागढी नाकाबाट सात किलो ६५३ ग्राम सुन सुनसहित एकजना नियन्त्रणमा

रसुवा, ४ जेठ : चीनबाट अवैध तरिकाले लुकाई–छिपाई नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट आज बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार वा४ख ६२०१ नंको स्याउ बोकेको ट्रकमा लुकाई–छिपाई ल्याएको अवस्थामा सात किलो ६५३ ग्राम सुन बरामद गरिएको हो । ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको सुनको बजार मूल्य रु ११ करोड ११ लाख ६४ हजार रहेको प्रहरीले जनाएको छ ।

सुन ल्याउने भुजेल जिल्ला बाहिरबाट बसाइँ सरिआएका व्यक्ति भएको बताइएको छ । सुनसहित पक्राउ परेका भुजेललाई कानुनी प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिनुभयो । विसं २०७२ मङ्सिर यता सुरक्षा निकायले यहाँबाट ६५ किलो ६९७ ग्राम सुन बरामद गरी कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ ।

‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सभामा पेस

विराटनगर, ४ जेठ: कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सभामा पेस गरिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले उक्त अध्यादेश प्रस्ताव गर्दै सदन सञ्चालनमा नरहेको अवस्थामा नचलेको अवस्थामा सरकारले अत्यावश्यक कामकाज गर्न आठ वटा अध्यादेश ल्याएको जानकारी दिनुभयो ।

उहाँले जनताको चाहना र आवश्यकतालाई परिपूर्ति गर्न एवं प्रदेश सरकारले सम्पन्न गरेको लगानी सम्मेलनसँग सम्बन्धित कानुनलाई संशोधन नगरी नहुने अवस्थामा बाध्य भएर अध्यादेशबाट विधेयक ल्याएको बताउनुभयो । “उद्योग, व्यापारमा देखिएका कठिनाइ र लगानी सम्मेलनमा लगानीकर्तालाई आकर्षित गराउन अध्यादेशबाट आएका विधेयकले लगानी सम्मेलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दियो”, मन्त्री भण्डारीले भन्नुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बो लिम्बूले सरकार सीमित साधनस्रोतको उच्चतम उपयोग गरी जनताको चाहना र आवश्यकतालाई पूरा गर्न इमान्दार भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताले सरकारसँग निकै आशा र अपेक्षा गरेकाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्नेगरी चालु अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अर्थतन्त्र बलियो भए मात्र देशलाई विकास र समृद्धिमा लैजान सकिने भन्दै लगानी सम्मेलनले कोशी प्रदेश सरकारलाई ठूलो सफलता मिलेको बताउनुभयो । उहाँले उद्योग र व्यापारलाई फस्टाउन तथा निजी क्षेत्रलाई लगानीका लागि प्रेरित गर्न आवश्यक पर्ने सबै कानुन संशोधन गर्न सरकारलाई सुझाव दिनुभयो । यस्तै, किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन माग गर्नुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र¬) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजतान्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै सरकारले सबैको गरिमा राख्ने गरी बजेट बनाउनुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो ।

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

मलङ्गवा (सर्लाही), ४ जेठ : काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन् । यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो । छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो । घारिबथानमा उहाँको घरबाहेक कसैको पनि क्षति भएको छैन ।

मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुुग्नुभएको छ । घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आज बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन् ।

शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिनुभयो । “यही घडेरी र घरबाहेक उज्ज्वल परिवारको केही छैन, कमाएर परिवारको गुजारा चलाउने मुख्य मान्छेसमेत गुमाएपछि यो परिवारको साहरा र आधार केही बाँकी रहेन”, उहाँले भन्नुभयो,“यो परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत सम्भार तथा छानो हाल्ने काम गरिदिएका छौँ ।”

मृतकका आफन्त भैरब परियारले परिवारको मुख्य सहारा गुमेपछि निकै समस्या भएको बताउनुभयो । “आमा दुवै आँखा देख्दिनन्, बुबाको बुताबाट कुनै आम्दानी हुने अवस्था छैन् । श्रीमतीले घर हेरेर बसिदिँदा उज्ज्वलले कमाएको पैसाले परिवार चलिरहेको थियो”, परियारले भन्नुभयो, “उज्ज्वलको प्राण गएसँगै यो परिवारको त बिचल्ली हुने अवस्था आएको छ ।”

परिवारले दिएको जानकारीअनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहनुभएको थियो । शनिवार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत् लाइन छोड्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उज्ज्वलको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताउनुभयो । नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गरिने उहाँले बताउनुभयो ।

लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र

जनकपुर । उद्योगी व्यवसायीलाई लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।आईतबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित संघका पदाधिकारी, सदस्य र व्यापारीहरुले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।संघले शनिबार धनुषाको रमदैयास्थित वान्डरल्याण्ड वाटरपार्कमा भएको घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारबाही गर्न मागसमेत गरेको छ ।

त्यस्तै, जनकपुरधाममा रहेका उद्योग, कलकारखाना, व्यपारीक प्रतिष्ठान, व्यवपारिक वर्गसमेतलाई आवश्यक सुरक्षा प्रदान गरी लगानिको वातावरण सुनिश्चित गरिदिन ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

त्यस्तै, व्यवसायीहरुको सुरक्षाका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाईसमेत ध्यानाकर्षण गराउने संघका अध्यक्ष भण्डारीले जानकारी दिए ।

शनिबार धनुषाको रमदैयास्थित वान्डरल्याण्ड वाटरपार्कमा विद्यार्थी, व्यवस्थापन र प्रहरीबीच झडप भएको थियो । सो क्रममा पार्कमा लाखौंको क्षतिसमेत भएको थियो । उक्त घटनाले जनकपुरधामका व्यापारीहरुमा सुरक्षाको दृष्टिकोणले यहाँ लगानि सुनिश्चित नभएको आशंका उम्रिएको छ ।

निसानले कर्मचारीका लागि शीघ्र अवकाश योजना ल्याउने

निसान मोटर कम्पनीले जापानका प्रशासनिक कर्मचारीहरूबाट जुलाईदेखि अवकाशका लागि आवेदन माग गर्ने योजना बनाएको छ ।

कम्पनीले विश्वव्यापी रूपमा करिब २० हजार रोजगारी कटौती गर्ने योजना अन्तर्गत अवकाश हुन चाहने कर्मचारीको नाम अफिसमा दर्ता भनेको स्थानीय सञ्चार माध्यमहरूले आइतबार जनाएका छन् ।

जापानी अटोमेकर (कार कम्पनी) निसानले पहिले नै बिक्री र लेखामा काम गर्र्ने लक्षित कर्मचारीहरूलाई प्रारम्भिक सेवानिवृत्ति प्याकेजहरूको बारेमा सूचित गरिसकेको छ ।

“यसले बिक्री र लेखामा काम गर्नेहरूलाई लक्षित गर्नेछ भने विकास र उत्पादन शाखाहरूमा काम गर्ने कर्मचारीहरूका लागि यो योजना आकर्षित हुने छैन,” क्योदो न्यूजले यस मामिलामा नजिकको स्रोतलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

कम्पनीले ४५ देखि ६४ वर्ष उमेर समूहका श्रमिकलाई समेट्ने यो योजना जुलाई र अगष्टमा उपलब्ध गराइने जनाएको छ तर अवकाश स्वीकार गरिने आवेदनको सङ्ख्या भने खुलाएको छैन ।

कमजोर बिक्रीसँग जुधिरहेको जापानको तेस्रो ठूलो अटोमेकरले मङ्गलबार आर्थिक वर्ष २०२४ मा ६७०.८ अर्ब येन (करिब ४.५४ अर्ब अमेरिकी डलर) को भारी खुद घाटा भएको रिपोर्ट गर्दै पुनर्संरचना उपायहरूको घोषणा गरेको छ।

आर्थिक वर्ष २०२७ सम्ममा आफ्नो विश्वव्यापी श्रमशक्तिमा करिब १५ प्रतिशतले कटौती गर्नुका साथै योकोहामास्थित अटोमेकरले सोही अवधिमा विश्वव्यापी रूपमा आफ्ना सवारी प्लान्टहरू १७ बाट १० मा झार्ने योजना बनाएको छ।

गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार : प्रधानमन्त्री नेतन्याहुको कार्यालय

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार सङ्केत गर्नुभएको छ ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “सम्झौताले सबै बन्धकहरूको रिहाई, हमास ‘आतङ्ककारी’ हरूको निर्वासन र गाजा पट्टीको निःशस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ ।”

पोर्चुगलमा आइतबार मध्यावधि निर्वाचन, मध्य–दक्षिणपन्थीको अग्रता

पोर्चुगलमा तीन वर्षयता तेस्रो पटक हुन लागेको आमनिर्वाचनका लागि आइतबार मतदाताले आफ्नो मन परेको पार्टीलाई सरकारको नेतृत्वका लागि मतदान गर्नेछन् भने निर्बाचनमा प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले पर्याप्त बहुमत प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।

अन्तिम जनमत सर्वेक्षणले उहाँको मध्य दक्षिणपन्थी डेमोक्रेटिक एलायन्स (एडी) सोसलिस्ट पार्टी (पीएस) भन्दा अगाडि रहेको देखाएको छ र उहाँले सन् २०२४ को चुनावमा भन्दा बढी मत प्राप्त गर्ने सम्भावना छ ।

पोर्चुगलको २३० सदस्यीय संसद्मा बहुमत प्राप्त गर्न आवश्यक पर्ने ११६ सिट भने कुनै पनि पार्टीलाई प्राप्त नहुने अनुमान गरिएको छ ।

अति दक्षिणपन्थी चेगा पार्टी फेरि एक पटक तेस्रो स्थान हासिल गर्ने बाटोमा छ । यो स्थानले उसलाई सरकार गठनका लागि सम्भावित किङमेकर बनाउँने आँकलन गरिएको छ यद्यपि, मोन्टेनेग्रोले पपुलिस्ट आन्दोलनसँग शासन गर्न इन्कार गर्नुभएको छ । ्

करिब एक करोड जनसङ्ख्या रहेको युरोपेली सङ्घ (इयू) सदस्य राष्ट्रमा निर्वाचन हुन लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नेटो सहयोगीहरूको सुरक्षा नगर्न सक्ने चेतावनी दिएपछि इयू राष्ट्रहरूले आफ्नो प्रतिरक्षालाई बलियो बनाउन खोजिरहेका छन् ।

शुक्रबार लिस्बनमा आयोजित अन्तिम ¥यालीमा मोन्टेनेग्रोले पोर्चुगलले यो ’भूराजनीतिक उथलपुथल’को सामना गर्न सक्षम बनाउनका लागि मतदातालाई आफूलाई बलियो जनादेश दिन आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले आफ्नो भूमिका स्वदेशमा गर्नुपर्छ र हामीले विदेशमा, युरोप र विश्वमा समाधानको हिस्सा बन्नुपर्छ। त्यसका लागि हामीलाई बलियो सरकार चाहिएको छ।”

उत्तरी शहर एस्पिन्होमा मतदान गरेपछि मोन्टेनेग्रोले चुनावले अझ बढी स्थिरता ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

स्थानीय परिषद्मा कार्यरत ६३ वर्षीया मारिया लोपेजले यो मतदानले अर्कै परिणाम ल्याउँछ भन्नेमा आफू आशावादी नभएको बताउनुभयो ।

“यो कठिन हुनेछ। दुर्भाग्यको कुरा मतदानले सरकारको संरचना परिवर्तन गर्नेछ भन्ने मलाई लाग्दैन,” लिस्बनको दक्षिणमा रहेको अल्माडा शहरमा मतदान गर्दै उहाँले भन्नुभयो ।

– कठोर आप्रवासन नियम–

गत मार्चमा, ५२ वर्षीय वकिल मोन्टेनेग्रोले संसदीय विश्वासको मत गुमाएपछि आइतबारको निर्वाचनको घोषणा गरिएको थियो ।

कन्सल्टेन्सी व्यवसायबाट उत्पन्न स्वार्थको द्वन्द्वको आरोप लागेपछि उहाँले आफैंले विश्वासको मतको प्रस्ताव गर्नुभएको थियो ।

मोन्टेनेग्रोले कन्सल्टेन्सी संचालनमा आफू संलग्न नभएको भन्दै गलत काम गरेको आरोप अस्वीकार गरेका छन् । उहाँले भन्नुभयो, “कम्पनीसँग धेरै ग्राहकहरू थिए जसले सरकारी सम्झौताहरू गर्छन् ।”

अर्थशास्त्री तथा समाजवादी नेता ४८ वर्षीय पेड्रो नुनो सान्तोसले मोन्टेनेग्रोले संसदीय जाँचमा आफ्नो फर्मको बारेमा ‘आफूलाई व्याख्या गर्नबाट बच्न’ चुनाव गराएको आरोप लगाउनुभएको छ ।

तर लिस्बनको क्याथोलिक युनिभर्सिटीले गरेको चुनावपूर्वको अन्तिम जनमत सर्वेक्षणअनुसार पाँचमध्ये एक जना मतदाताले मात्र यो मुद्दालाई ‘अति महत्वपूर्ण’ ठान्छन् भने २९ प्रतिशत मतदाताले यसको कुनै महत्व नरहेको बताएका छन् ।

युनिभर्सिटी अफ लिस्बनका राजनीतिशास्त्री फेलिपा राइमुन्डोका अनुसार पोर्चुगाली मतदातामा स्वार्थको टकरावका घटनामा ‘निश्चित सहनशीलता’ छ ।

उहाँले भन्नुभयो, “यो अभियानमा प्रतिपक्षले अपेक्षा गरेको जस्तो आयाम अहिलेसम्म देखिएको छैन ।”

मोन्टेनेग्रोले युवाहरूका लागि आय कर कटौती गरेको छ, पेन्सन बढाएको छ र आप्रवासन नीतिलाई कडा बनाएको छ । यसलाई उहाँले ‘फराकिलो–खुला ढोका’ को नीतिको रूपमा व्याख्या गर्नुभएको छ ।

अघिल्लो समाजवादी सरकारको शासनकालमा पोर्चुगल आप्रवासीहरूका लागि युरोपको सबैभन्दा खुला देशमध्ये एक बनेको थियो।

सन् २०१७ देखि २०२४ को बीचमा पोर्चुगलमा बसोबास गर्ने विदेशीको सङ्ख्या चार गुणाले बढेर कुल जनसङ्ख्याको करिब १५ प्रतिशत पुगेको छ ।

मोन्टेनेग्रोको सरकारले अभियानको क्रममा लगभग १८ हजार अनियमित आप्रवासीहरूलाई निष्कासन गर्ने घोषणा गरेको थियो, जसले गर्दा यसले अति दक्षिणपन्थी मतदाताहरूलाई उक्साएको आरोप लागेको थियो ।

युरोपभरि नै आफ्नो पकड जमाएका अन्य अति दक्षिणपन्थी पार्टीहरूजस्तै चेगाले पनि आप्रवासनप्रतिको शत्रुता र अपराधप्रतिको चिन्तालाई बढावा दिनुभएको छ । चेगाले आफ्ना एक सांसदले विमानस्थलको क्यारोसेलबाट सामान पटक–पटक चोरेको आरोपसहित लज्जाको सामना गर्नुपरेको छ ।

यसका नेता, ४२ वर्षीय पूर्व फुटबल कमेन्टेटर आन्द्रे भेन्टुराले अभियानको अन्तिम हप्तामा अचानक विरामी भएका कारण दुई ¥यालीहरूमा सहभागिता हुन सक्नुभएको थिएन । उहाँको दललाई उहाँको सहभागिता महत्वपूर्ण मानिएको छ ।

उनलाई दुवै दिन अस्पताल लगिएको थियो तर शुक्रबार पार्टीको अन्तिम कार्यक्रममा भने उहाँ आश्चर्यजनक रूपमा उपस्थित हुनुभएको थियो ।

अर्का ६६ वर्षीया वकिल ग्रासिन्डा ब्यारेरोसले आइतबारको मतदानले ‘निष्क्रियताको अवधि’ अन्त्य गर्न र जीवनस्तर उकास्न कदम चाल्न सक्षम बहुमतको सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

लिस्बनको एक विद्यालयमा मतदान गरेपछि उहाँले भन्नुभयो, “पोर्चुगाली जनता वास्तवमै यसको हकदार छन् ।”

युरोपसँग ‘आपसी विश्वास’ पुनर्निमाण गर्न तयार रहेको इरानको भनाइ

इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार उहाँको देश सन् २०१५ को आणविक सम्झौताअन्तर्गत इरानमाथि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्ध पुनः लागू गर्ने विचार गरिरहेका युरोपेली शक्तिहरूसँग विश्वास पुनर्निर्माण गर्न तयार रहेको बताउनुभएको छ ।

“युरोपेली पक्षबाट वास्तविक इच्छाशक्ति र स्वतन्त्र दृष्टिकोण देखेमा इरान युरोपसँगको सम्बन्धमा नयाँ अध्याय सुरु गर्न तयार छ”, विदेशमन्त्री अराघचीले तेहरानमा आयोजित एक कूटनीतिक मञ्चमा भन्नुभयो, “यदि युरोपसँग यो मार्ग सुधार्ने आवश्यक इच्छाशक्ति छ भने इरानले पारस्परिक विश्वास पुनर्निर्माण गर्न र सम्बन्ध विस्तार गर्नमा कुनै बाधा देख्दैन ।”

शुक्रबार वरिष्ठ इरानी कूटनीतिज्ञहरूले अमेरिका–इरान आणविक वार्ताको स्थितिबारे वार्ताका लागि बेलायत, फ्रान्स र जर्मनीका समकक्षीहरूसँग भेट गरेका थिए ।

तेहरानले वासिङ्टनसँग ओमानको मध्यस्थतामा आणविक वार्ताको चार चरण सम्पन्न गरेको छ । यो अमेरिकाले सन् २०१५ को आणविक सम्झौता त्यागेपछि दुई शत्रुबीचको उच्च–स्तरको सम्पर्क हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा सन् २०१५ को आणविक सम्झौताबाट एकतर्फी रूपमा हट्दै र इरानको तेल निर्यात र बैंकिङ क्षेत्रमा प्रतिबन्ध फेरि लगाएर प्रभावकारी रूपमा सम्झौतालाई विफल पार्नुभएको थियो ।

एक वर्षपछि इरानले सम्झौताप्रतिको आफ्नो प्रतिबद्धताहरू कम गर्न थाल्यो । उक्त सम्झौताले आणविक गतिविधिहरूमा संयुक्त राष्ट्र–अनुगमन प्रतिबन्धको बदलामा प्रतिबन्ध राहत प्रस्ताव गरेको थियो ।

सन् २०१५ को सम्झौताका पक्षमा रहेका तीन युरोपेली शक्तिले इरानी गैर–अनुपालनको जवाफमा संयुक्त राष्ट्र प्रतिबन्धहरू पुनः लागू गर्ने ‘स्न्यापब्याक’ प्रक्रिया सुरु गर्ने विचार गरिरहेका छन् । यो विकल्प अक्टोबरमा समाप्त हुन्छ ।

अराघचीले यस महिनाको सुरुमा बेलायत, फ्रान्स र जर्मनीले प्रतिबन्ध पुनः लगाउने कदम चाले ‘अपरिवर्तनीय’ परिणामहरू हुने चेतावनी दिनुभएको थियो ।

उहाँले यसअघि आणविक मुद्दाका साथै ‘पारस्परिक हित र चिन्ताका’ क्षेत्रहरूमा छलफल गर्न लन्डन, पेरिस र बर्लिन भ्रमण गर्ने प्रस्ताव राख्नुभएको थियो ।

आइतबार आफ्नो भाषणमा उहाँले युरोपेलीहरूलाई मतभेदभन्दा साझा हितमा बढी ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

हरित यातायातलाई टेवाः टेस्ला चार्जिङमा जापानको सम्भावित अनुदान

जापान र संयुक्त राज्य अमेरिकाबीच भइरहेको भन्सार सम्बन्धी छलफलको क्रममा जापानले टेस्ला कम्पनीका विद्युत् सवारी साधन चार्ज गर्ने स्थानहरू निर्माणका लागि अनुदान दिन सक्ने सङ्केत गरेको छ ।

जापानी समाचार संस्था टि.बी.एस.ले दिएको जानकारी अनुसार अमेरिकाका व्यापार प्रतिनिधि जेमिसन ग्रियरले जापानको हालको अनुदान नीतिप्रति चिन्ता व्यक्त गर्दै टेस्लाको चार्ज गर्ने सञ्जाललाई पनि अनुदानमा समावेश गर्न आग्रह गर्नुभयो ।

अहिले जापानी सरकारले केवल आफ्नै प्रविधि ‘चाडेमो’ प्रयोग गरेर बनाइएका चार्ज गर्ने स्थानहरूलाई मात्र आर्थिक सहयोग दिँदै आएको छ । यद्यपि, टेस्लाका सवारी साधनले चाडेमो चार्ज गर्ने स्थानमा विशेष यन्त्रको सहयोगमा चार्ज गर्न सक्छन्, तर चाडेमो प्रविधि भएका सवारी साधनले टेस्लाको चार्ज गर्ने स्थान प्रयोग गर्न सक्दैनन् ।

जापान र अमेरिका तेस्रो चरणको भन्सार वार्ताको तयारीमा छन् । जापानका प्रमुख वार्ताकार र्योसेई अकाजावा छिट्टै अमेरिका जाने तयारीमा रहेको बताइएको छ ।

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ५० पुग्यो

इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको बताएको छ ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले दक्षिणी गाजा पट्टीको अल–मवासीमा विस्थापित प्यालेस्टिनीहरूलाई शरण दिने पालहरूमा भएको बिहानको आक्रमणमा ५० जनाको मृत्यु भएको र कम्तीमा एक सय जना घाइते भएको बताउनुभयो ।

उत्तरी गाजाको जबालियाको एउटा घरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । सोही क्षेत्रको अल–अवदा अस्पतालमा क्षति भएको बताइएको छ ।

बासलका अनुसार अल–जवायदाको केन्द्रीय क्षेत्र र दक्षिणमा खान युनिसमा पनि मृत्यु भएको रेकर्ड गरिएको छ ।

इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकूहरूलाई परास्त गर्न गाजाभरि आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको छ ।

इजरायली सहायता नाकाबन्दीका कारण प्यालेस्टिनी क्षेत्रमा मानवीय अवस्था बिग्रँदै गएकोमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ताका बीचमा यो अभियान अघि बढेको हो ।

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ ।कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो ।

कोटिहोममा आजदेखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन गर्न चाहेमा आयोजकलाई सम्पर्क गर्न सक्नेछन् ।

कोटिहोममा आइतबार नवलपुरबाट मध्य विन्दु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मान बहादुर महतो, जिल्ला समन्वय समिति नवलपुरका सदस्य लोक नाथ अर्याल, थारु संस्कृतिका अनुसन्धानकर्ता हरिमाया चौधरी सहितको १ सय जनाको समूह कोटीहोम दर्शन र थारु संस्कृतिको प्रदर्शनका गरेका थिए । उनीहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गरेका थिए ।

त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।

कोटिहोममा प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुति दिनहुँ रहेको छ । कार्यक्रममा अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजलाई कोटिहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले स–सम्मानका साथ विदाइ गरेका छन् ।

बौद्धिक धर्म परिषद्का मठाधिश स्वामी जगन्नाथ आचार्यले मानव सेवा फाउन्डेसनले सेवा सँगै सनातन धर्मको जगेर्ना गर्ने काम गरेको बताउँदै महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको यो सतत कार्यमा सबै जुट्नु पर्ने उल्लेख गरे ।

महन्त आदियोगि गौतम स्वामीले कोटिहोममा कथा प्रवचन तथा सन्देश दिएका थिए । कोटिहोममा आज भजन गायक रेसम सापकोटा, लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए ।
कोटिहोममा भोलि सोमवार वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोममा आइतबार पोखरा–१७ बिरौटा सृजनशील आमा समूहबाट ४३ हजार ५५, अर्जुन चौपारी गाउँ पालिका वडा नं ५ स्याङ्जाका नरेश्वर सापकोटाले ३५ हजार ५ सय २५, वासगढि नगरपालिका वडा नं. ३ बर्दियाका नारायण प्रसाद पहाडीले २५ हजार ५ सय २५, पूर्व कर्मचारी सेवा परिषद् गण्डकी प्रदेशबाट २५ हजार ५ सय ५५, नारायण फर्निचर उद्योगका विश्वेश्वर प्रसाद अर्याल र अणकुमारी अर्याल ले २५ हजार ५ सय ५५, सिद्धगंगा नगरपालिका अर्घाखाँची मोदिखोला जलविद्युत् आयोजनबाट ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

कार्यक्रममा रास्वपा कास्कीका सहसचिव टेकराज सापकोटा र मानव सेवा फाउन्डेसनका आजीवन सदस्य वनेका दिनेश आचार्यले कोटिहोममा आएर केही न केही सहयोग गर्न आग्रह गरे। कोटिहोममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेस

काठमाडौँ, ४ जेठ: प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ ।आज समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा समिति सभापति अमरबहादुर खड्कालाई उपसमिति संयोजक छविलाल विश्वकर्माले प्रतिवेदन बुझाउनुभएको हो ।

उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा विद्यालय सुधारका विषय समेटिएको बताउनुभयो । “प्रतिवेदनमा प्रधानाध्याकलाई जिम्मेवार र जवाफदेही बनाउने हो भने विद्यालय सुधार गर्न सकिन्छ भन्ने कुरा समेटेका छौँ”, उहाँले भन्नुभयो, “चाँडै चाँडै गरिने सरुवालाई नियन्त्रणको व्यवस्था प्रतिवेदनमा समावेश गरिएको छ ।” उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा अपुरा रहेका कुरालाई समितिमा छलफल गरेर अगाडि बढ्नेसमेत बताउनुभयो ।

उहाँका अनुसार १६३ दफामा रहेको विधेयकमा उपसमितिले १७२ दफा बनाएको छ । यस्तै, १०१ वटा दफा संशोधन गरिएका छन् । १३ दफा थपिएका, चार वटा दफा हटाइएका र १३ दफा सट्टामा राखिएका छन् ।

समितिको गत चैत ८ गतेको बैठकले विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । समितिका अन्य सदस्यमा डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रेखा शर्मा, विना जैसवाल, देवेन्द्र पौडेल, रामप्रकाश चौधरी, विनिताकुमार सिंह, सरिता भुसाल, सुमना श्रेष्ठ र दशरथ धमला रहनुभएको थियो । उपसमितिले ३५ दिनमा ३९ वटा बैठक बसी विधेयकलाई दफावार छलफल गरेको थियो ।

‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’ : उपाध्यक्ष पोखरेल

लमजुङ, ४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–कांग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताउनुभएको छ ।
आज लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित एमाले लमजुङको ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “देश र जनताको हितका लागि दुई पार्टीको गठबन्धन सरकार बनेको हो । कांग्रेस वा एमालेबाट बेइमान भएमा मात्रै गठबन्धन टुट्ने हो नत्र पूरा अवधिसम्म दुई पार्टीको समीकरण रहन्छ ।”

उहाँले सरकार ढल्छ, टिक्दैन भनेर हल्ला फैलाउने गरिएको भन्दै यस्तो कुनै समस्या नरहेको बताउनुभयो । “यसअघि पनि पटक÷पटक विभिन्न कालखण्डमा कांग्रेस—एमाले मिलेर अघि बढ्दै देशलाई सङ्कटबाट जोगाउने काम गरेका छौँ । यसपटक पनि स्थिर सरकार र विकासको चाहना पूरा गर्न दुई पार्टी एकठाउँमा आएका हौँ, सोहीअनुसार काम गर्नुपर्छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

एमाले पार्टीमा निरन्तर क्रियाशील हुने र धर्य गर्न सक्ने क्षमता भएका व्यक्ति मात्रै टिक्ने भन्दै उहाँले अवसरवादी व्यक्तिहरू अवसरको खोजीमा सबैतिर चाहार्दै हिँड्ने धारणा राख्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने र त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरूरी रहेको बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमाल, प्रदेश कमिटी सचिव धनञ्जय दवाडीलगायतले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

दमौली (तनहुँ), ४ जेठ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ ।

अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालको स्तरोन्नति प्रक्रियाअन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण गर्न लागिएको र त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले सूचना जारी गरेको उहाँले बताउनुभयो ।

उपचार केन्द्रको अस्पताल भवनको स्तरोेन्नति, आयोजना निर्माण तथा सञ्चालन गर्न, प्रस्तावित आयोजनाको संरचनामा अस्पताल भवन, आकस्मिक सेवा भवन, बहिरङ्ग विभाग, प्रशासनिक भवन, व्यावसायिक भवन, कुरुवा घर, कर्मचारी आवास, खानेपानी ट्याङ्की, अक्सिजन प्लाण्ट, फोहर व्यवस्थापन कक्ष, शवगृह, खेलमैदान, पार्किङ, बहुउद्देश्यीय भवन, पार्क र हेलिप्याड प्रस्ताव गरिएको छ । त्यसका लागि पाँच सय ४७ रोपनी जग्गा आवश्यक पर्ने देखिएको डा श्रेष्ठले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी विशिष्टिकृत अस्पतालमा हाल पचास जनरल वार्ड मात्र रहेकाले श्वासप्रश्वासका बिरामीको उपचारमा समस्या भइरहेको छ । सरकारले विसं २०६७ मा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ ।

पचास शैय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेबाहेक झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा तनहँुको शुक्लागण्डकी, भीमाद नगरपालिका र म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाबाट सेवाग्राही आउने गरेका छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रयोगशाला, भिडियो एक्सरे, माइनर अप्रेसनलगायत सेवा दिइरहेको छ ।

अस्पतालमा दैनिक दुई सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा तीमध्ये करिब ५० जना बिरामी श्वासप्रश्वाससम्बन्धीका रहेका अस्पतालले जनाएको छ ।

नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् । आइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए ।

उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने हो । र त्यो बाट राज्य सञ्चालन गर्ने हो । म अहिले यहाँको मुख्यमन्त्री छु । मैले भन्दा राम्रो गर्न सक्ने, इच्छा राख्ने हिम्मत हुनेहरुले मलाई विस्थापित गरेर आउनु हुन्छ मेरो ठाउँमा । यहाँ व्यक्ति र राजनीतिलाई गालि गरेर केवल व्यक्तिगत कुरा मात्रै गरेर केहि कुरा सुधार्न सकिँदैन । सक्षम र गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्छ । नभएका कामहरु गरेर देखाउनुपर्ने अहिलेको आवश्यकता हो । तब मात्रैa नेपाल बन्न सक्छ।’
त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने पनि धारणा राखे ।

सबै सकारात्मक कामहरु गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ ।उनले भने, ‘नकारात्मक कुराले नेपाल बनाउन सकिँदैन । नेपाल बनाउनको लागि यसमा सबैको सकारात्मक सोचका साथ अगाडि बढ्न सक्यौं भने मात्रै हामीले गर्न सक्छौं । हाम्रै पालामा राम्रो गर्न सक्छौं । हामी सबै सकारात्मक कामहरु गर्दै गयौं भने स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सक्छौं ।’

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष दाहाल

दैलेख, ४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताउनुभएको छ । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उहाँले बताउनुभयो ।

जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गर्नुभयो । यसबारे निरन्तर खबरदारी गरिरहेको उहाँको भनाइ थियो ।

“बजेट अगाडि नै यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकार समक्ष राख्न चाहन्छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दैआएको छु ।” तराइ मधेस जागरण अभियान सफल भएको उल्लेख गर्दै उहाँले मध्यपहाडी लोक मार्ग यात्रा पनि सफल हुने बताउनुभयो ।

मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताउनुभयो । मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको बताउनुभयो ।

राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान सुरुवात गर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ की भन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघि बढाएको अध्यक्ष दाहालले बताउनुभयो । माओवादी केन्द्रलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पु¥याएको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “जनताले नै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पु¥याएका र जनताका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताउनुभयो । उहाँले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पु¥याउने लक्ष्य लिएको उहाँको भनाइ थियो । मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा परिवर्तन ल्याउने अध्यक्ष दाहालले बताउनुभयो ।

दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उहाँले बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिनुभयो । पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरुको उपस्थिति रहेको थियो । यही जेठ २ गतेदेखि बैतडीको पाटनबाट जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान सुरु भएको हो ।

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल

काठमाडौँ, ४ जेठ : नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक संवादको पहिलो संस्करण यही जेठ २ देखि ४ गतेसम्म भएको थियो ।

संवादले जलवायु परिवर्तनको जोखिममा रहेका देशहरूलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट, वित्तीय संयन्त्रका सञ्चालन निकाय, युएनएफसीसीसी तथा पेरिस सम्झौता अन्तर्गतका कोषसहित अन्तरराष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासलाई प्रोत्साहित गर्न आह्वान गरेको छ ।

संवाद हिमालका मुद्दालाई थप अन्तरराष्ट्रियकरण गर्न तथा विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकासका सवालमा उपयोगी भएको सरकारको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवादको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबाबपूर्ण चुनौतीको सामना गरिरहेको बेला यसको महत्व प्रस्तुत गर्नुभएको थियो । उहाँले चुनौतीलाई सम्बोधन गर्न ‘संवादको शक्ति’ मा जोड दिनुभएको थियो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संवादले जलवायुका सन्दर्भमा हिमालदेखि टापुसम्मका आवाजलाई जोडन र उजागर गर्ने सन्दर्भमा सफलता हासिल गरेको बताउनुभयो । उहाँले संवादको यो संस्करणले हिमालदेखि टापुसम्मका नेता, नीति निर्माता, विज्ञ, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको उल्लेख गर्नुभयो ।

सरकारले संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठाइने जनाएको छ । उक्त विषयहरु यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तरराष्ट्रिय सम्मेलन–२०२५, जुलाईमा हुने उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकास लक्ष्यहरूको समीक्षा र सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र महासभाको ८०औँ सत्र, ब्राजिलमा हुने कोप–३० लगायत मञ्चमा उठाउने बताइएको छ । सरकारले अर्को निर्णायक मुद्दामा सन् २०२७ मा सगरमाथा संवादको दोस्रो संस्करण गर्ने घोषणा गरेको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा परेका जलवायुका असर बारेमा विश्व समुदायलाई जानकारी गराउन संवाद फलदायी भएको बताउनुभयो । उहाँले संवादमार्फत नेपालले सरंक्षणमा गरेको उपलब्धिका बारेमा विश्वलाई जानकारी गराउन र जनवायुजन्य हानिनोक्सानीको क्षतिपूर्तिमा दाबी गर्ने सन्दर्भमा संवाद उपलब्धिमूलक भएको उल्लेख गर्नुभयो ।

कार्बन उत्सर्जनमा नगन्य योगदान हुँदाहुँदै जलवायु संकटसँग जुध्न अथक प्रयास गरिरहेका नेपालजस्ता मुलुकका समस्या समाधानमा सामूहिक प्रयासको खोजीका लागि संवाद सफल भएको ठानिएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईले संवादमार्फत हिमालका विषय थप उजागर गर्न सफल भएको बताउनुभयो । उहाँले संवादमा हिमालको विषय व्यापक रुपमा उजागर गरिएको बताउँदै यो विषय हिमाली क्षेत्रको मात्र नभई टापुसम्मका समुदायकोे चासोको विषय भएको सम्बन्धमा विभिन्न दृष्टिकोणले छलफल भएको बताउनुभयो । जलवायुका विषयमा क्षेत्रीय र विश्वव्यापी रुपमा साझेदारीका साथ अघि बढ्ने विषयमा संवादमा अर्थपूर्ण छलफल भएको उल्लेख गर्दै उहाँले संवादबाट नेपालले विश्वमा आफ्नो छवि उचाइमा पु¥याउने र जलवायुका क्षेत्रमा भइरहेको चुनौती र विषयलाई थप उजागर गर्ने सफलता प्राप्त भएको बताउनुभयो ।

संवादको पूर्ण सत्रमा बोल्नुहुने १९ देश र निकायका प्रतिनिधिले जलवायु सङ्कट समाधानमा एकता र ऐक्यबद्धताका लागि आह्वान गर्नुभएको थियो । संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी र त्यति नै सङ्ख्यामा नेपाली सरकारी अधिकारी तथा विज्ञसहित तीन सय ५० विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।

संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भएका थिए । उक्त सत्रहरुमा विभिन्न मुलुकबाट आउनुभएका र नेपालका सरकारी निकायका सम्बन्धित अधिकारी तथा विज्ञहरुले आफ्ना अनुभव आदानप्रदान गर्नुभएको थियो । संवादकै दौरान हिन्दु कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रीस्तरीय बैठक सम्पन्न भएको थियो । बैठकले हिन्दू कुश हिमालय क्षेत्रका मुलुक जलवायुको बढी जोखिमा रहेकाले यस क्षेत्रको पारिस्थितिकीय प्रणाली बचाउन थप सहकार्यका विषय पहिल्याउनुपर्नेमा जोड दिएको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं संवादको प्रचारप्रसार समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै विश्वव्यापी सहयोग र साझेदारी निर्माणका सवालमा संवाद उपयोगी सिद्ध भएको बताउनुभयो । संवादमा हिमालबाट समुद्रसम्म परिरहेका असर, दिगो हरित अर्थ व्यवस्था, जलवायु हानि नोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा अर्थपूर्ण छलफल भएको उहाँले बताउनुभयो ।

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरेको छ ।

संवाद सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले संवादमार्फत नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन सफल भएको बताउनुभयो । त्यस्तै जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्न समेत संवाद उपयोगीसिद्ध भएको उहाँले उल्लेख गर्नुभयो ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून रहे पनि जलवायुका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । यस परिस्थितिमा संवाद हिमालका मुद्दामा विश्व समुदायको ध्यानाकर्षण गराउन र जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सफल भएको ठानिएको छ ।

सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ

सिरहा । सिरहामा लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।प्रहरीले गोप्य सूचनाको आधारमा विशेष अपरेशन संचालन गर्दै ठूलो मात्रामा खैरो हिरोइन, अवैध नगद तथा मोबाइल बरामद गरेको हो ।

लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट जेठ २ गते साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव (३२) र उनकी बहिनी किरण कुमारी यादव (२६) लाई नियन्त्रणमा लिएको हो ।चेकजाँचका क्रममा दिनेशको साथबाट २२.९० ग्राम खैरो हिरोइन, रु ५१,४५० नगद, र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।त्यसपछि दिनेशको लहान–२२ स्थित घरमा गरिएको खानतलासीमा थप १८६ ग्राम खैरो हिरोइन, रु ५४,१४,२८५ नेपाली रुपैयाँ, रु ३५,७८० भारतीय रुपैयाँ, चार थान मोबाइल र एक थान डिजिटल तराजु फेला परेको थियो ।

त्यसैगरी जेठ ३ गते दिउँसो १ः३० बजे बरियारपट्टी गाउँपालिका–३ चमार टोलबाट चेकिङ्गका क्रममा प्रहरीले भारतको लदनियाबाट आएका दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । कृष्ण कुमार यादव (२०) र निरज राय (१९) को साथबाट ७१० मिलिग्राम खैरो हिरोइन फेला परेको हो ।
उक्त दिन साँझ ३ बजे सिरहा नगरपालिका–२ स्थित महाबिर चोक नजिक भारतको जयनगरबाट आएका सञ्जय कारक (४५) लाई समेत प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको कम्मर र घुँडामा लुकाइ ल्याइएको रु १६,३८,००० नेपाली रुपैयाँ र रु २३० भारतीय रुपैयाँ (ने.रु.३७० बराबर) सहित एक थान मोबाइल फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ती सबै व्यक्तिहरूमाथि लागुऔषध कारोबार र अवैध सम्पत्तिसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले लागुऔषध कारोबारविरुद्ध निगरानी र निगरानी कडा पारिएको जनाएको छ ।

राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो जिल्ला अधिवेशन आगामी असोज मसान्तसम्म सक्ने निर्णय गरेको छ । आइतबार राप्रपाको केन्द्रिय कार्यसम्पादनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वनिर्धारित जिल्ला अधिवेशन असोज मसन्तासम्ममा सक्ने निर्णय भएको जानकारी दिए ।

उनले जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा उपत्यका बाहिरका जिल्लाहरु पनि सहभागिता गराउने जानकारी दिएका छन् । उनले कम्तिमा सात दिनका लागि उपत्यका बाहिरका जिल्ला कार्यकर्ताहरुलाई पनि बोलाउने निर्णय भएको बताए ।

उनले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकले पार्टीको पूर्वनिर्धारित जिल्ला अधिवेशन सम्पन्न गर्न अलिहे समय परिमार्जन गरेर असोज मसान्तसम्मको म्याद बनाएका छौँ । असोज मसान्त सम्ममा सबै जिल्ला अधिवेशन सक्ने निर्णय भएको छ,’ उनले अगाडि भने,‘जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुपनि सहभागिता गराउने र कम्तिमा सात दिनकालागि उपत्यका बाहिरका जिल्लाका कार्यकताहरुलाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ ।

साथै रबिन्द्र मिश्रलगायतका आस्थाका बन्दीहरुको लागि कानुनी सहायता र शुभेक्षा प्रकट गर्ने सबैलाई धन्यवाद दिने साथै मिश्रलाई अदालतमा निशुल्क एवम स्वतस्फूर्त रुपमा बहस गर्न सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको छ ।’

सभामुख घिमिरेद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन

भक्तपुर, ४ जेठ : सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माणको आवश्यकता औँल्याउनुभएको छ । आज भक्तपुरको गठ्ठाघरमा सनातन पितृमुक्ति समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभयो ।

सभामुख घिमिरेले समाजमा हुने धार्मिक कार्यले नै संस्कृति र परम्पराको महत्व दर्शाउँदै समाजलाई सुव्यवस्थित एवं सरल ढङ्गले अघि बढाउन टेवा पु¥याउने चर्चा गर्नुभयो । “हाम्रै पूर्वीय दर्शनमा आधारित रहेर नै पश्चिमा दर्शन बनेको हो । त्यसैमा टेकेर उनीहरूले विज्ञानलाई प्रयोग गर्दै चमत्कार गरिरहेका छन् । नयाँ पुस्ता यही प्रगति र चमत्कार देखेर पश्चिमा दर्शनप्रति बढी आकर्षित भएका छन् तर त्यसको जग पूर्वीय दर्शन र संस्कृति नै हो भनेर बुझ्न आवश्यक छ”, उहाँले भन्नुभयो । हाल अमेरिकामा समेत वेदको अध्ययन र अनुसन्धान हुन थाल्नु त्यसैको थप प्रमाण भएको उहाँको भनाइ थियो ।

सभामुख घिमिरेले समाजले यसअघि निर्माण गरेको पितृमुक्ति समाज र अग्रज जेष्ठ नागरिक भवनको उद्घाटन गर्नुभयो । समाजका अध्यक्ष खेमप्रसाद सुवेदीले पितृमुक्तिका लागि १३ दिनसम्म क्रियाकर्म गर्न किरियापुत्रीसहितको सामुदायिक बहुउद्देश्यीय भवनका केही काम बाँकी रहेकाले त्यसलाई पूर्णता दिन रुकम सङ्कलन गर्ने उद्देश्यले महायज्ञ सुरु गरिएको बताउनुभयो ।

महायज्ञ प्रचार समितिका संयोजक एवं समाजका महासचिव नारायणप्रसाद न्यौपानेले समाजले विसं २०६९ को पुराणबाट सङ्कलित रकमबाट निर्माण सुरु गरेको सामुदायिक भवन निर्माण कार्य पूरा गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो । महायज्ञ १० गते सम्पन्न हुने र यस अवधिभर वाचिका राधिका दासीबाट कथा प्रवचन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको अधुरो भवन पूरा गर्ने उद्देश्यले महायज्ञबाट रु दुई करोड रकम सङ्कलन गर्ने लक्ष्य लिएका छौँ । सङ्कलित रकमबाट बहुउद्देश्यीय भवन निर्माण पूरा गरी पुस्तकालाय स्थापना तथा अक्षयकोष निर्माण गर्ने लक्ष्य छ ।”

पाँच आना दुई पैसा क्षेत्रफल रहेको जग्गामा तीनतले भवन निर्माण भइसकेको जानकारी दिँदै समाजका उपाध्यक्ष सीता अधिकारीले शौचालय, ढिकोरो उठाउने ठाउँ निर्माणलगायत विभिन्न संरचना निर्माणमा रु एक करोड ६३ लाख खर्च भई रु १६ लाख ऋण अझै रहेको बताउनुभयो ।

माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश

दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।

बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेका छन् ।

कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष ‘प्रचण्ड’ सहितको टोलीलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गर्दै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेका हुन् ।

बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

बागमती, ४ जेठ : चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आव को दश महिनामा प्रदेश सरकारले पुँजीगततर्फ रु १३ अर्ब दुई करोड ७३ लाख ४७ हजार र चालुतर्फ रु १२ अर्ब आठ करोड ७३ लाख ९५ हजार गरी रु २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आव का लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएका बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उहाँको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८ दशमलव ९२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४९ दशमलव ५२ प्रतिशत खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६ दशमलव ४८ प्रतिशत खर्च गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारका धेरैजसो योजना बल्ल कार्यान्वयनमा जान थालेकाले अब विस्तारै पुँजीगत खर्च बढ्दै जाने सूचना अधिकारी सञ्ज्यालले बताउनुभयो ।

यस्तै बागमती प्रदेश सरकारले बाँडफाँटबाट विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्व तथा दस्तुरमा पनि कमी आएको छ । प्रदेश सरकारले चालु आव मा बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख प्राप्त हुने अनुमान गरिएकामा दश महिनामा त्यसको ६२ दशमलव ७३ प्रतिशत अर्थात् रु १८ अर्ब ५४ करोड १७ लाख २१ हजार राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १५ अर्ब एक ५७ करोड ५६ लाख प्राप्त हुने अनुमान गरिएकामा दश महिनामा रु आठ अर्ब ४७ करोड १७ लाख ३० हजारमात्र प्राप्त भएको सूचना अधिकारी सञ्ज्यालले बताउनुभयो ।

त्यसैगरी, चालु आव २०८१/८२ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार प्राप्त हुने अनुमानमा रु तीन अर्ब सात करोड ३८ लाख ७७ हजारमात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्री कारोबारमा आएको गिरावटका कारण प्रदेश सरकारको राजस्व सङ्कलन प्रभावित भएको सूचना अधिकारी सञ्ज्यालकोे भनाइ छ ।

संविधान कार्यान्वयन गर्न पार्टीहरु इमान्दार हुनुपर्छ : कृष्णगोपाल श्रेष्ठ(अन्तरवार्ता)

काठमाडौँ । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले संविधान संशोधनमा सबै राजनीतिक दलको सहमति हुनुपर्ने आवश्यकता औँल्याएका छन् । सबै जनताका सुझाव र आवश्यकताका आधारमा मात्र संविधानमा संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

पूर्वमन्त्री श्रेष्ठले भनेका छन्, ‘संविधान संशोधन गर्न राष्ट्रिय सहमति नै चाहिन्छ, कुन विधिबाट राजनीतिमा स्थायित्व, स्थिरता र दिगोपन हुन्छ, त्यही विधिका लागि आवश्यकताअनुसार संशोधन गर्नुपर्छ । संवाद र सहमतिबाट मात्र संविधान संशोधन गर्नु अहिलेको आवश्यकता हो ।’

प्रतिनिधिसभाका सदस्य श्रेष्ठसँग राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

मुख्य पार्टीको जिम्मेवारी छ । साथसाँथै म काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुँ । मेरो पहिलो काम भनेको कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हो । जुन गरिरहेको छु । अर्को, मेरो निर्वाचन क्षेत्रका जनताका विषयलाई संसद्मार्फत सरकारसम्म पुर्याउने र त्यसको समाधानको उपाय खोज्ने काम पनि गर्दै आएको छु । मुख्यगरी मलाई मत दिएर निर्वाचित गर्नुहुने जनताका हरेक समस्यालाई समाधान गर्ने कार्यमै केन्द्रित भएर लागेको छु ।

अहिलेको संसदीय अभ्यासलाई कसरी हेर्नुभएको छ ?

संसद् एउटा प्रणाली हो । संवैधानिक व्यवस्थाअनुसार संसद् अगाडि बढ्ने हो । यसको सञ्चालन सभामुख र उपसभामुखले गर्नुहुन्छ । उहाँहरुको विशेष रचनात्मक र सृजनात्मक पहलले नियम, विधि र प्रक्रियाबाट संसद्ले सही ढङ्गले काम गरि नै रहेको छ । मेरो २०४७ सालदेखिको विधायिकाको अनुभव छ । अहिले दलीयअन्तर्गतको संसदीय व्यवस्थापिकाको जगबाट कार्यपालिका (सरकार) बनाउने हो । यसको आधार भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष हो । अहिलेको हाम्रो संसदीय व्यवस्थाअुनुसार कुनै पनि पार्टीले बहुमत ल्याउन सक्दैन ।

अहिलेको शासन व्यवस्थालाई कसरी हेर्नुभएको छ ?

विसं २०७९ को निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याएनन् । विगतमा २०४७/४८ सालको चुनावमा नेपाली कांग्रेसले एकल बहुमत ल्याएको थियो । प्रमुख प्रतिपक्ष दलका रूपमा एमाले थियो । त्यसपछि एकल पार्टीको बहुमत आएको छैन । विसं २०४७ भन्दा पछि दलहरूबीच गठबन्धनको सरकार बन्दै आएको छ । दुर्भाग्य नै भन्नुपर्छ, कुनै पनि दलले बुहमत ल्याउन नसकेका कारण हाम्रो मुलुकमा राजनीतिक अस्थिरता हुँदै आएको छ । राणा शासनको अन्त्यपछिको शासन प्रणालीमा एउटै प्रधानमन्त्रीले पाँच वर्षसम्म देश चलाउन पाएका छैनन् । अहिले पनि संसदीय प्रणालीअन्तर्गत गणितीय हिसाबमा सरकार बनाउने काम हुँदै आएको छ । अहिले परिस्थितिले कांग्रेस र एमालेलाई एकै ठाउँमा बसेर सरकार चलाउने अवस्था सृजना भएको छ ।

राजनीतिक स्थिरताको निम्ति के गर्नुपर्छ ?

स्वाभाविक रूपले अहिलेको राजनीतिक प्रणाली यसरी नै जान्छ । स्थानीय, प्रदेश र सङ्घीय गरी तीन तहको सरकारको प्रावधान संविधानले गरेको छ । पहिलो कुुरा, सङ्घ र प्रदेशका सांसदको सङ्ख्या घटाउनुपर्छ । धेरै दल भएका कारण पनि विकासमा समस्या छ । स्थिरताका निम्ति जनताले अबको निर्वाचनमा कुनै एउटा पार्टीलाई बहुमत दिनुपर्छ । यसका आधारमा पाँच वर्ष एउटै पार्टी वा एउटै सरकारले काम गर्न पाउँछ । संविधान कार्यान्वयन गर्ने सबैको दायित्व र जिम्मेवारी हो । त्यसमा पनि देशको पुरानो र संसद्को पहिलो र दोस्रो पार्टी कांग्रेस र एमालेको प्रधान भूमिका हुन्छ । त्यससँगै संसद् र संसद् बाहिर रहेका सबै पार्टी इमान्दार हुनुपर्छ । एकले अर्काको विपक्षमा दाउपेच गर्नु हुँदैन ।

संविधान संशोधनलाई कसरी विश्लेषण गर्नुभएको छ ?

संविधानको कार्यान्वयन गर्दैगर्दा कुनैकुनै विषयमा संशोधनको आवश्यकता भइरहेको छ । संविधान संशोधन गर्ने नै हो भने बहुमतका आधारमा कांग्रेस र एमाले मात्र मिल्दा पनि हुन्छ । तर सबैभन्दा ठूलो इमान्दारिता र विश्वासको कुरा हो । संविधान संशोधनमा सबै राजनीतिक दलको सहमति हुनुपर्छ । सबै जनताको सुझाव र आवश्यकताका आधारमा संशोधन गर्नुपर्छ । त्यसकारण संविधान संशोधन कुनै एकल पार्टीले चाहेर हुँदैन । यसका लागि राष्ट्रिय सहमति नै चाहिन्छ । कुन विधिबाट राजनीतिमा स्थायित्व, स्थिरता र दिगोपन हुन्छ, त्यही विधिका लागि आवश्यकतानुसार संशोधन गर्नुपर्छ । संवाद र सहमतिबाट मात्र संविधान संशोधन सम्भव छ । त्यो अहिलेको आवश्यकता पनि हो ।

शिक्षा प्रणालीलाई कसरी हेर्नुभएको छ ?

शिक्षा प्रणाली ठिक हुन मुख्य कुरा देशको आन्तरिक राजीतिक कारण नै हो । जुन गतिमा हामीले मुलुकलाई स्थिरता, दिगोपन र स्थायित्व दिनुपर्ने हो, त्यो दिन सकेका छैनौँ । देशको राजनीति अस्थिर भएपछि शिक्षामा मात्र होइन अरु क्षेत्रमा पनि प्रभाव पारेको हुन्छ । मैले शिक्षामन्त्रीको कार्यभार सम्हाल्दा हुँदा शिक्षा क्षेत्रमा सुधार गर्नकन लागि धेरै कोसिस गरेको थिएँ । तर, अस्थिर राजनीतिका कारण मन्त्रालयमा धेरै बस्न पाइनँ । काम गर्दागर्दै सरकारबाट बाहिरिनुपर्यो । यो युवा पलायनसँग पनि जोडिएको छ । हामीले राम्रो शिक्षा र त्यहीअनुसारको रोजगारी दिन सकियो भने कोही पनि युवा विदेश जाँदैन । नेताहरूले भाषण गरेर मात्र हुँदैन । त्यसका लागि काम नै गर्नुपर्छ । हामीले परिणाममुखी काम गर्न सक्नुपर्छ । जनताको निराशा चिर्नका निम्ति आन्दोलन र ठूला भाषण गरेर होइन, परिणाम दिन सक्नुपर्छ । बेरोजगार उत्पादन गर्ने शिक्षा हुनुहुँदैन ।

व्यवस्था परिवर्तन आफैँमा ऐतिहासिक छ । यो उपलब्धिलाई रक्षा गर्ने सबै दलको भूमिका हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन । यसैलाई थप सुदृढ बनाउँदै लैजानुपर्छ । नेताहरू सबैले आफूलाई समीक्षा गर्दै जनताको अवस्था सुधार गर्न लाग्नुपर्छ । त्यसका लागि देशभित्र नै रोजगारीको व्यवस्था गर्नुपर्छ । जनतालाई विश्वास दिन सक्ने ढङ्गले जनताको पक्षमा काम गर्न सक्नुपर्छ ।

सङ्घीयतालाई अझै बलियो बनाउन के गर्न सकिन्छ ?

कुनै पनि व्यवस्था आफैँमा बेठिक हुँदैन । त्यो व्यवस्था चलाउने कुरामा भर पर्छ । तत्कालीन पञ्चायत व्यवस्था आफैँमा नराम्रो होइन । तर व्यक्तिको अहमताका कारण व्यवस्था नै गयो । राजासहितको बहुदललाई पनि हामीले मानेकै हो । त्यो पनि आफैँमा बेठिक थिएन । त्यसपछि गणतन्त्र हुँदै हामी अहिले सङ्घीयतामा छौँ । सङ्घीयता पनि आफैँमा बेठिक होइन । तर सञ्चालन गर्ने व्यक्ति ठिक हुनुपर्छ । कुनै पनि प्रणालीको अङ्गिकार गरेपछि त्यहीअनुसार सञ्चालन गर्न सकियो वा सकिएन भन्ने मुख्य कुरा हो । सबै तहका सरकारको अधिकारको प्रष्ट परिभाषा गर्दै कार्यान्वयन गर्नुपर्छ । प्रदेश र स्थानीय सरकारलाई संवैधानिक व्यवस्थाअुनसार स्वतन्त्र छाडिदिनुपर्छ ।

नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल

म्याग्दी, ४ जेठ : नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन् ।

गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताउनुभयो । रु एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ । यो योजनाका लागि रु दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो ।

म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताउनुभयो ।

जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको रु ५० लाख बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ । यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताउनुभयो ।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।

यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको रु १० करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ४ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ६०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १००, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ६००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, भारतीय सुन्तला रु १५०, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

गलत काम र गलत निर्णय गर्ने छुट कांग्रेसभित्र कसैलाई छैन’ : महामन्त्री थापा

वालिङ (स्याङ्जा),- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको धारणा राख्नुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई पुतलीबजारमा सम्बोधन गर्दै उहाँले कांग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताउनुभयो ।

आगामी निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै थापाले कांग्रेस एक्लै आगामी निर्वाचनमा जानेगरी जनताका पक्षमा काम गर्दै पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । “वर्तमान अवस्थामा नागरिकमा निराशा बढिरहेकाले दुई ठूला दलबीच सहमति भई सरकार गठन भएको छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार जनता केन्द्रित भई काम गरिरहेको छ ।”

“पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ, धेरै पछाडि लैजानुहुँदैन”, उहाँले भन्नुभयो, “२०८४ को निर्वाचनभन्दा पछाडि अधिवेशन गर्न हुँदैन, २०८३ मङ्िसरमा पार्टीको अधिवेशन गर्नुको विकल्प छैन ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ । केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १४ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताउनुभएको छ ।

केन्टुकीको दक्षिणपूर्वमा रहेको लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान आँधी आएको थियो । अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।मिसौरीका अधिकारीहरूले शुक्रबारको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको बताएका छन् । क्षतिग्रस्त घरका छाना उडेका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ ।

सेन्ट लुइसमा करिब एक लाख घरहरु विद्युत कटौतीका कारण प्रभावित भएका छन् । हावाहुरीले बढी प्रभाव पारेका स्थानहरुमा घरघरमा गएर निरीक्षण भइरहेको अग्नी नियन्त्रण विभागले जनाएको छ ।

गण्डकीमा बजेटको आकार घट्ने, यस्तो छ कारण

ण्डकी, ४ जेठ – समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२÷८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको छ ।

आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालका अनुसार मन्त्रालयगत रूपमा बजेटको ‘सिलिङ’ घटेको जानकारी दिनुभयो । “झण्डै तीन अर्बले बजेट घट्ने अनुमान गरिएको छ, समानीकरण र समपूरकतर्फको बजेट कटौती हुँदा बजेट निर्माणमा दबाब बढेको हो, प्रदेशको आन्तरिक स्रोत पनि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो ।

आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा लक्ष्यको जम्मा ५२ प्रतिशत राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । चालु आवमा लक्ष्यको झण्डै ७० प्रतिशतमात्र राजस्व उठ्ने देखिएको उहाँको भनाइ छ । प्रदेश नीति तथा योजना आयोगले सङ्घ सरकारले ल्याउने बजेटका आधारमा प्रदेशको बजेट केही थपघट हुनसक्ने जनाएको छ ।

अहिलेकै अवस्थामा भने प्रदेश सरकारले ल्याउने बजेट घटेर आउने आयोगको भनाइ छ । आयोगले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई मात्र रु नौ अर्ब ४८ करोडको ‘सिलिङ’ तोकेर पठाएको छ । चालु आवमा उक्त मन्त्रालयमा रु १२ अर्ब ७० करोड बजेट थियो ।

ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको ‘सिलिङ’ रु तीन अर्ब ९० करोड तोकिएको छ । चालु आवमा उक्त मन्त्रालयका लागि रु चार अर्ब चार करोड ५३ लाख बजेट विनियोजन गरिएको थियो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पनि चालु आवको भन्दा कम जम्मा रु एक अर्ब ९० करोडको बजेट ‘सिलिङ’ तोकिएको छ । चालु आवमा दुई अर्ब बढीको बजेट उक्त मन्त्रालयलाई छुट्टिएको थियो ।

यस्तै स्वास्थ्य मन्त्रालयका लागि रु ती अर्ब दुई करोड ६७ लाख, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलाई रु एक अर्ब ३५ लाख, वन तथा वातावरण मन्त्रालयका लागि रु ९० करोड, उद्योग तथा पर्यटन मन्त्रालयतलाई रु ६५ करोडको ‘सिलिङ’ तोकेर बजेट निर्माणको काम भइरहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि रु एक अर्ब १५ लाख, आर्थिक मामिला मन्त्रालयतर्फ रु १३ करोड ३६ लाखको ‘सिलिङ’ तोकिएको छ । प्रदेश सरकारले आगामी बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिनेगरी बजेट बाँडफाँटको तयारी अगाडि बढाएको छ ।

प्रदेशको दास्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेटका प्राथमिकता निर्धारण गरिने भएको हो । आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयसँग बजेट निर्माणबारे छलफल सुरु गरेको छ । यसअघि स्थानीय तह, निजी क्षेत्रलगायतसँग बजेटका विषयमा छलफल गरिएको थियो ।

प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा नीतिगत सुधारका विषयलाई बढी जोड दिइने जनाएको छ । कार्यान्वयनयोग्य र प्रदेशको यर्थाथअनुसारको बजेट ल्याइने तयारी गरिएको हो । बजेट तर्जुमा र समन्वयका विषयमा विषयगत मन्त्रालयय र मातहतका निकायसँग छलफल भइरहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम

खोटाङ, ४ जेठ : खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पका रूपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम सुरु गरिएको हो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोड २० लाखमा पूरा हुनेउक्त सडकको पहिलो चरणमा रु ४५ लाखबाट निर्माण सुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले वैकल्पिक सडकको शिलान्यास गर्नुभएको छ ।

गत असोज १२ गते आएको भीषण बाढीले बगाएको फोक्सिङटारको पुल पुनर्निर्माण गर्न समय लाग्ने र धाप्लाङघाटको पुल चाँडै बन्ने भएकाले वैकल्पिक सडकका रूपमा फोक्सिङटार–धाप्लाङघाट सडकको ट्रयाक खोल्न सुरु गरिएको मन्त्री राईले बताउनुभएको छ । उपभोक्ता समितिबाट काम गर्नेगरी उक्त सडकको औपचारिक रूपमा शिलान्यास गरेर निर्माणको काम सुरु गरिएको छ ।

सडक निर्माणका लागि पहिलोपटक विनियोजन गरिएको बजेट मन्त्रालयले बराहपोखरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको जनाइएको छ । बाँकी बजेटको काम भने, मन्त्रालयबाट ठेक्का आह्वान गरेर ठेकेदारमार्फत गर्नेगरी प्रक्रिया अगाडि बढाइएको मन्त्री राईको सचिवालयले जानकारी दिएको छ ।

वैकल्पिक सडक निर्माणको काम सम्पन्न भएपछि खोटाङका नागरिकले सुनकोशी नदीको किनारैकिनार फोक्सिङटारबाट साउनेचउर, बङदुवा, आसाबाला, अजिङगरे, भोर्मा हुँदै धाप्लाङघाटसम्म यात्रा गर्न पाउनेछन् । धाप्लाङघाटबाट उदयपुरको साउने हुँदै तराई झर्नका लागि सबैभन्दा छोटो मार्ग हुने जनाइएको छ ।

फोक्सिङटारबाट नयाँ सडक जोड्न लागिएको धाप्लाङघाटस्थित सुनकोशी नदीमा समेत मोटरेबल पक्की पुल निर्माणको काम भइरहेको छ । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि भौतिक पूर्वाधार विकासमन्त्री राईले गत माघ १२ गते वैकल्पिक मार्ग खोल्नका लागि सम्भाव्यता अध्ययन पैदलयात्रा गर्नुभएको थियो ।

निर्माण सम्पन्न भएको वर्ष दिन नबित्दै बाढीले बगाएको फोक्सिङटार पुलको विकल्पमा अहिले अस्थायी बेलिब्रिज सञ्चालन गरिएको छ । सुनकोशीमा बाढी आउन थालेकाले यही जेठ ५ गतेदेखि उक्त बेलिब्रिज झिक्ने योजना बनाइएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीले बताउनुभएको छ ।

खोटाङवासीले भने, जेठ १५ गतेसम्म बेलिब्रिज नहटाउन सडक विभागसँग आग्रह गरेका छन् । असोजदेखि कष्टकर जीवन बिताएका खोटाङवासीलाई सुविधा दिने उद्देश्यले सरकारले गत पुस २७ गतेदेखि फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो ।

फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि सुनकोशीमा रु एक करोड दुई लाख ९४ हजार ६७७ लागतमा बेलिब्रिज जडानको काम सम्पन्न गरिएको थियो । करिब छ महिनाअघि जडान गरिएको ५० मिटर लम्बाइ र साढे छ मिटर चौडाइ रहेको बेलिब्रिजबाट एकतर्फी यातायातका साधन सञ्चालन हुँदै आएका छन् ।

फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङको दिक्तेल बजारबाट गाईघाट, बेलटार, धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडसम्म यातायातका साधन सञ्चालनमा आएका थिए । बेलिब्रिज झिकेपछि खोटाङ–उदयपुर सिधा सम्पर्क टुट्ने र जिल्लावासीलाई तराईका जिल्ला झर्न ठूलो समस्या हुने निश्चित छ ।

अस्थायी बेलिब्रिज हटाएपछि सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकमा यातायातका साधन पूर्ण रूपमा सञ्चालन बन्द हुने भएका छन् । जसका कारण जिल्लावासीलाई दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री खरिद र उपचारका लागि धरान, विराटनगरलगायत अस्पतालसम्म जान समस्या हुने भएको छ ।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको फोक्सिङटारको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । हस्तान्तरण नहुँदै बाढीले बगाएका कारण सम्बन्धित निर्माण कम्पनीले नै उक्त फोक्सिङटारको मोटरेबल पक्की पुल पुनर्निर्माण गर्नुपर्ने जिल्लामा हुने हरेक कार्यक्रममा बहस चल्ने गरेको छ ।

दिक्तेल–गाईघाट १०१ किलोमिटर लामो सडकखण्डको फोक्सिङटारमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको जनाइएको छ । फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालयले रु ३५ करोड बजेट सुनिश्चित गरेको संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले जानकारी दिनुभएको छ ।

आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ, ४ जेठ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ¬्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भागका केही स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भानवा रहेको महाशाखाले जनाएको छ ।

एक दशकपछि ८८ वर्षीय रामबहादुरको मुहारमा फिरेको खुसी

गोरखा, ४ जेठ : गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाल्नुभयो । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाउनुभएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउनुभएको थियो । उहाँजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थाल्नुभएको छ ।

आफ्नै गाउँमा गत म¬ङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उहाँको पालो सबैभन्दा पछि थियो ।

जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोल्नुभयो, उहाँ बसिरहेको कुर्चीबाट उठ्न्भयो र विस्तारै आँखाका परेला खोल्न थाल्नुभयो । “एक दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ । ऊ, मेरो ज्वाइँ”, घरबाट बोकेर ल्याएका कर्णमाहिलातिर देखाउनुभयो । सबैतिर हेर्न हतार नगर्न चिकित्सक गुरुङले सुझाव दिनुभयो । उहाँले आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिनुभयो ।

दुर्गम भेगमा रहेको गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ८८ वर्षीय रामबहादुर गुरुङले दुवै आँखाको ज्योति गुमाएको १० वर्ष पुग्यो । “२०६८ सालमा बारी जोत्दा हलोको फालीले लागेर दाहिने आँखा गुमाएको थिएँ, त्यसको चार वर्षपछि देब्रे आँखा पनि देख्न छाडेँ”, गुरुङले भन्नुभयो ।

त्यसयता गुरुङलाई आफ्नो घरआँगन परदेश लाग्न थाल्यो, आफन्तहरू परायाजस्ता । आफैँ हिँड्न नसक्ने भएपछि उहाँलाई परिवारले सुताउने, उठाउने, खाना खुवाउने र शौचालयसम्म लैजाने, ल्याउने गर्नुपथ्र्यो ।

“पहिले त स्वरले चिन्थेँ । स्वर पनि र्बिसिएर विस्तारै चिन्न छाडेको थिएँ । म फलानो हुँ भन्यो भने बल्ल याद आउँथ्यो”, गुरुङले भन्नुभयो, “घरमा बूढी पनि रोगी, छोरा बाहिर विदेशमा छ । एउटा बुहारीले घरबारीको काम, हामी बुढाबूढीको स्याहार, नातानातिनीको स्याहार सबै हेर्नुपर्छ । बुढेसकालमा अरु केही गर्न नसके पनि आफ्नो काम चाहिँ आफँै गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो सपना आज पूरा भयो”, शल्यक्रियापछि आँखाको ज्योति पाउनुभएका गुरुङले भन्नुभयो ।

शल्यक्रियापछि ससुरा आफैँ हिँड्डुल गर्न सक्ने भएपछि कर्णमाइलालाई पनि सन्तोष मिलेको छ । “बुढो मान्छे, त्यसमाथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुनेरहेछ”, उहाँले भन्नुभयो, “अब त सबै देखेँ, हिँड्छु भनेका छन् । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।”

धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग तथा मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा गुम्दामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा धार्चेको गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँलगायत आसपास क्षेत्रका चार सय सात जनाले सेवा लिएका थिए । शिविरमा रामबहादुरसहित ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखारोग विषेशज्ञ डा कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएको थियो । विकट ठाउँमा आएर वृद्धवृद्धालाई सेवा दिन पाउँदा खुसी लागेको डा खड्काले बताउनुभयो । “गाउँघर यस्तै हो, कति दुःख कति सुख । जे होस् यति टाढा आएर सेवा दिने मौका मिल्यो । खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

ढकमक्क फुलेका गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्यायो

झापा, ४ जेठ : बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् ।

गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । “कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भन्नुभयो । पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ ।

झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ । शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका अध्यक्ष प्रसाईँले बताउनुभयो । पालिकाले गत वर्ष त्यस वरपर दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ ।

पालिकाले गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ । पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् । इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् ।

यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं ६ मा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल रहेको छ । झोलुङ्गे पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन् । गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनहरुमा यात्रुको चाप बढाएका छ ।

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४ जेठ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर ३६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७४ पैसा तथा ओमानी रियाल एकको खरिददर ३५४ रुयैयाँ ६२ पैसा र विक्रीदर ३५६ रुपैयाँ १८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।