`

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, ४ जेठ : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ ।

यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना

भक्तपुर, ३ जेठः भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ । बाल क्यान्सरका बिरामी बढ्दै गए पनि छुट्टै वार्ड नहुँदा उपचारमा समस्या आएकाले चार शय्याको आइसियू, सात शय्याको डे केयर र वार्डसहित १५ शय्याको वार्ड सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेले जानकारी दिनुभयो ।

क्यान्सर अस्पतालमा दैनिक एक हजार जना बिरामी बहिरङ्ग सेवा (ओपिडी) का लागि आउने गरेको बताउँदै उहाँले १३० शय्यामा सञ्चालन अस्पताल हाल आधा घण्टाका लागिसमेत शय्या खाली नहुने अवस्था आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत तजेलले बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि एक महिनादेखि १४ वर्षमुनिका बच्चालाई निःशुल्क उपचार, केमोथेरापीसहितको निःशुल्क औषधि वितरण भइरहेको जानकारी दिँदै एक वर्षमा १५० जना क्यान्सर रोग लागेका बालबालिकाको उपचार भएको बताउनुभयो ।

अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेले बाल क्यान्सर बढ्दो अवस्थामा रहेका र हाल अस्पतालमा दैनिक २० देखि ३० जना बालबालिका क्यान्सरको बहिरङ्ग सेवा लिन आउने गरेको बताउनुभयो । उहाँले बाल क्यान्सरका बिरामी राख्ने ठाउँ नभएर छुट्टै वार्ड सञ्चालनमा ल्याउनु परेको बताउनुभयो ।

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’: अध्यक्ष केसी

गोदावरी (कैलाली), ३ जेठः राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न’ विषयक अन्तरक्रियामा उहाँले देशका जनताले लडेर ल्याएको गणतन्त्र फालेर राजतन्त्र ल्याउन कसैले नसक्ने धारणा राख्नुभयो ।

अध्यक्ष केसीले गणतन्त्र पक्षधर पार्टीबीच मतभेद् र अन्तरविरोध भइरहे पनि लोकतन्त्र र गणतन्त्र जोगाउन एक ठाउँमा आउन जरुरी रहेकामा जोड दिनुभयो । उहाँले जनताको साथमा आन्दोलनका बलमा फालिएको पुरानो राजतन्त्रात्मक व्यवस्था पुनःल्याउने योजना आमनागरिकको नभएको धारणा राख्नुभयो ।

अध्यक्ष केसीले दलका नेताहरूमा भएका कमजोरी सुधार गर्दै देश र जनताका पक्षमा सबै एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । गणतन्त्र स्थापनापश्चात् जनतामा देशको विकास, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सकारात्मक परिवर्तन महसुस हुँदै गएको जनाउँदै गणतन्त्रमा पनि दलहरूले जनचाहनाअनुसार काम गर्न नसके जनतामा निराशा उत्पन्न हुने बताउनुभयो ।

अध्यक्ष केसीले नेपालको शिक्षा प्रणाली सुधार नगर्ने हो भने देशका विश्वविद्यालयले विद्यार्थी पाउन मुस्किल हुने बताउनुभयो । देशमा पढेलेखेका विद्यार्थी विदेश पलायन हुने क्रमलाई रोक्न वर्तमान शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशमा भ्रष्टाचार बढ्दै गएकाले त्यसलाई रोक्न सबै दल, नागरिक समाज र सरोकार भएकाबीच सहकार्य र समन्वय आवश्यक पर्ने धारणा राख्नुभयो । सरकारले सहकारीको रकम अपचलन गर्नेलाई यथाशीघ्र कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो

गोरखा, ३ जेठः जिल्लाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको हो ।

छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो । त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो । अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ ।

“हामीले नौ दिन लगाएर उत्खनन ग¥यौँ”, विभागका अधिकृत अधिकारीले भन्नुभयो, “यहाँ भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुङ्गा, जगको ढुङ्गा, ठाउँठाउँमा नासिएको, ठाउँठाउँमा बचेको भेटियो । तामाको दियो, सिक्काहरू पनि भेटिएका छन्, धातुका वस्तु पछिका हुन सक्छन् । इँटा, ढुङ्गा, मन्दिरको डिजाइनलगायत अध्ययन गर्दा यो सत्रौँदेखि अठारौँ शताब्दीमा बनेका हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ ।” यसपटक समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उहाँले बताउनुभयो ।

सो स्थानमा २०३४ सालमा राममन्दिर बनाउँदा पनि केही भग्नावशेष नष्ट भएका थिए । “गत वर्ष पनि यहाँ एक्साभेटर लगाएर जग्गा सम्याउँदा, पीपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको कतिपय भाग नष्ट भएको छ । त्यसैले यसको अध्ययन गर्न कठिन भइरहेको छ”, अधिकारीले भन्नुभयो, “अहिलेको कार्यादेशअनुसार उत्खननको समय र सीमा समाप्त भइसकेको छ तर, अझै सकिएको छैन । अब अर्को वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने छौँ ।”

उहाँका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ । “जग हेर्दा इँटा, ढुङ्गाबाट निर्माण भएको र झिङ्गटीले छाएको कम्तीमा दुई तलाको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने यकिन हुन्छ”, उहाँले भन्नुभयो ।

विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने अधिकारीले जानकारी दिनुभयो । “दक्षिण–पूर्वतर्फको राममन्दिर पनि भग्नावशेषमाथि बनाइएको हामीले अनुमान गरेका छौँ । यसको पूरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने विभागले निर्णय गर्छ”, उहाँले भन्नुभयो ।

हाल अध्ययन भएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उहाँले जानकारी दिनुभयो । तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रहसमेत गरेको छ ।

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता सम्भव हुने बताएको छ ।मस्को र किएभबी तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको एक दिनपछि शनिबार क्रेमलिनले जेलेन्स्कीद्वारा माग गरिएको दुई राष्ट्रपति स्तरीय वार्ताका लागि दुई देशका प्रतिनिधिमण्डलबीच पहिलो चरणको सहमति आवश्यक रहेको बताएको हो ।

वार्ताको भोलिपल्ट बिहान पूर्वी सुमी क्षेत्रमा उद्धार गरिएका सर्वसाधारण बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमणमा परी नौ जनाको मृत्यु भएको र सोही घटनामा अन्य पाँच जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

“हिजो, यो युद्धको कुनै पनि दिन जस्तै, त्यहाँ पनि युद्धविरामको अवसर थियो,” राष्ट्रपति जेलेन्स्कीले आक्रमणपछि सामाजिक सञ्जालमा लेख्नुभएको छ, “रुसले हत्या जारी राख्ने अवसर मात्र सुरक्षित गरेको छ।”उहाँले युक्रेनका मित्र राष्ट्रहरुलाई मस्कोमाथिको प्रतिबन्ध बढाउन आग्रह गर्नुभएको छ । युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले भन्नुभयो, “रुसमाथि कडा दबाब वा कडा प्रतिबन्ध बिना त्यहाँ वास्तविक कूटनीति हुनेछैन।”

सन् २०२२ को वसन्त ऋतुपछि पहिलो पटक इस्तानबुलमा युक्रेन र रुसबीच मस्कोले पूर्ण आक्रमण गरेको केही समयपछि इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्तामा एक–एक हजार कैदी आदानप्रदान गर्ने ठोस सहमति भएको थियो ।युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तम उमरोभले ‘अर्को कदम’ जेलेन्स्की र पुटिनबीच भेटवार्ता हुने बताउनुभएको छ ।

रूसले उक्त अनुरोधलाई ध्यानदिएको बताएको छ ।क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “दुई पक्षबीच सम्झौताको रूपमा निश्चित परिणाम प्राप्त गरेपछि मात्र हामी राष्ट्रपति स्तरको वार्तालाई सम्भव ठान्छौँ ।”

रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्को र किएभले युद्धबन्दीको आदानप्रदानपछि दुबै देशले भविष्यमा हुने सम्भावित युद्धविरामको आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने बताउनुभएको छ ।क्रेमलिनले भनेको छ, “पहिले युद्धबन्दीको अदलाबदली पूरा गर्नु पर्दछ र दुबै पक्षले अर्को चरणको वार्ता तय गर्नुअघि युद्धविरामको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु आवश्यक छ।”

टर्कीएमा प्रवक्ता पेस्कोभले भन्नुभयो, “अहिलेका लागि हामीले प्रतिनिधिमण्डलले हिजो सहमति गरेको एक एक हजार युद्धबन्दीलाई आदानप्रदान गर्ने सहमतिको कार्यान्वयन गर्न आवश्यक छ।”युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभले प्रसारणकर्ता टीएसएनसँग कुरा गर्दै आगामी हप्ता यो आदानप्रदान हुने अपेक्षा व्यक्त गर्नुभयो ।

मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद सान्र्दभिक : प्रवक्ता महत

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले जननेता मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद अहिलेको समय सान्र्दभिक भएको बताएका छन् ।
शनिबार जननेता मदन भण्डारी र कुशल सङगठन जीवराज आश्रितको स्मृतिमा आयोजित परिसंवाद कार्यक्रममा बोल्दै उनले बहुदलीय जनवादले पार्टी पङत्तिमा सहकार्य निर्माण गर्न सकेको भन्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘जननेता मदन भण्डारीले बहुदलीय जनवाद भनेर अगाडि सार्नुभयो, त्यो समय सान्र्दभिक, बदलिदो विश्व परिस्थितीमा खुल्ला प्रतिस्पर्धी राजनीतिक गरेर सत्तामा जान सकिन्छ र लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यता नेपालमा प्रवेश गराउनु भयो । त्यसले मलाई लाग्छ पार्टी पङित्तमा सहकार्य र एकअर्कालाई बुझ्ने परिस्थिती निर्माण भएको मलाई लाग्छ,’ उनले भने । उनले विगतको प्रतिस्पर्धी राजनीतिक र एकअर्काको अस्तित्व नस्विकार्ने परिस्थितीमा परिवर्तन भई आज एकअर्कामा प्रतिस्पर्धा गरेपनि संयुक्त्तरुपमा प्रतिगामीलाई परास्त गर्न सक्ने बताए ।

यसैगरी उक्त कार्यक्रममा बोल्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले पार्टीलाई सहि दिशामा डोर्याउने काम जननेता मदन भण्डारीले गरेको बताए । स्व.नेता भण्डारीले झापाकालीन लक्ष्यवादी आन्दोलनको प्रभाव र मान्यताबाट निर्देशित हुने परम्पराबाट वैचारीक अगुवाई गरी पार्टीलाई आजको अवस्थामा ल्याउने काम गरेको पनि उनले बताए ।

एकै दिन झन्डै एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिबार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यतिबेला पोखरामा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय बनेको छ ।

पोखरामा भएको यो कोटिहोम सुरुवात मात्र भएकोले अव नेपालका ५ वटै प्रदेश तथा देश विदेशमा यस्तै कोटिहोम हुने हुदाँ यहाँका जस्तै सद्भाव र माया देखाइदिन आयोजकले आग्रह गरेको छ । कोटिहोममा विभिन्न ठाउँमा राखिएको सहयोग कक्षमा सहयोग गर्ने भक्तजनको भिड व्यवस्थापन गर्न व्यवस्थापकलाई हम्मे हम्मे भएको थियो ।

कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । कोटिहोममा शनिवार सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजले कथा वाचन तथा शुभकामना सन्देश दिएका थिए । जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । यसै गरी शनिवार नै विन्ध्यवासिनी पिठाधिस वाल सन्त निषेशानन्द गुरु महाराजले पनि प्रवचन तथा सन्देश दिएका थिए ।

शनिवार वाचन प्रवीण पं. दिनबन्धु पोखरेललाई बिदाइ गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता, बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले शनिवार विशेष कार्यक्रमका बिच पोखरेललाई बिदाइ गरेका हुन् । उनले ७ दिन सम्म महायज्ञमा कथा वाचन गरेका थिए ।

भोलि आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले कथा वाचन गर्ने भएका छन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी दिउसो २ बजे देखि ६ बजे सम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

भोलि नवलपुरबाट थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहभागि हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।

कांग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल

काठमाडौँ, ३ जेठः नेपाली कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आगामी बजेटलगायत विविध विषयमा छलफल भएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

बैठकपछि उहाँले भन्नुभयो, “बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढङ्गले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गर्नुभयो ।”बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिनुभएको थियो ।

सञ्चारकर्मीले राखेको एक प्रश्नको जवाफमा प्रमुख सचेतक घिमिरेले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा नरहेको प्रस्ट पार्नुभयो । उहाँले सरकार परिवर्तनबारे कांग्रेसले कुनै सोच र योजना नबनाएको उल्लेख गर्नुभयो ।

अब केही दिनभित्रै गभर्नर नियुक्ति हुने जानकारी दिँदै प्रमुख सचेतक घिमिरेले बैठकमा प्रतिनिधिसभा सदस्यद्वय माया राई र मोहनबहादुर बस्नेतका विषयमा पनि कुरा उठेको बताउनुभयो ।

बैठकले प्रतिनिधिसभा सदस्य एवं नेता डा चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै, सांसद नागिना यादवका पिताको स्वर्गारोहण र नेपाली कांग्रेस ओखलढुङ्गा र तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति महेश कर्माेचाको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौँ, ३ जेठ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आउनुभएका उहाँले आज यहाँ मन्त्री डा राणासँग ‘साइडलाइन’ भेट गर्नुभएको हो । त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो । मन्त्री डा राणाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

यसैगरी मन्त्री डा राणासँग किर्गीस्थानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज शिष्टाचार भेटवार्ता गर्नुभयो ।

सगरमाथा संवादका लागि नेपालमा रहनुभएकी निदाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा मन्त्री डा राणाले उहाँलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त भेटमा किर्गीस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

राजेश नाथ अर्थात बैतडी बाजेको १० वर्षपछि अभिनयमा कमव्याक, मिस पवी र दीपासँग गरे रोमान्स

काठमाडौँ । गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको लजाउने हैछौनी बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत देउडा संकृतिमा आधारित रहेको छ ।
गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा श्याम श्वेत रसाईलीको मिक्सिगं मास्टरिगं रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश नाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् ।

भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेश नाथ अर्थात बैतडी बाजेको पनि यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् ।

सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् । गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, ३ जेठः काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र–०३–००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उहाँको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर पोडेपाटी नजिक रहेको गोपाल न्यौपानेको गाई–बाच्छा मठमन्दिर बचाउ तथा समाज विकास अभियानको टहरामा विद्युत् चुहावट भई आगलागी हुँदा गएराति करिब रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ नरकटे उखुटोलस्थित काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने चरण चौधरीको नर्भिक इन्स्टिच्युट अफ टेक्नोलोजी नेपाली प्राइभेट लिमिटेड कम्पनीको गोदाममा समेत विद्युत् चुहावट भई आगलागी प्रहरीले जनाएको छ । आगलागी हुँदा १२ वटा एलिग्रेटर ड्राफ्ट मेसिन जलेर करिब रु ७७ लाख बराबरको धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैनः सभापति देउवा

काठमाडौँ, ३ जेठः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वार्षिकोत्सव तथा २७औँ साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अहिलेको व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गरेर सहकार्य र समन्वयका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

मुलुकमा समावेशी समानुपातिक निर्वाचन प्रणाली भएकाले कुनै दलको पनि बहुमत नआएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले संयुक्त सरकारको अभ्यासका क्रममा संसद्को पहिलो र दोस्रो ठूला दलको संयुक्त सरकार गठन भएको बताउनुभयो । उहाँले वर्तमान सरकारबाट भएका कमीकमजोरीलाई सुधार गर्दै जनता केन्द्रित विकासमा लागिपरेको उल्लेख गर्नुभयो ।

“नेपालमा प्रजातन्त्रको पुनःस्थापना भई २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि सडक, सिँचाइ, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा काम अघि बढेका हुन् । लोकतान्त्रिक शासन व्यवस्थामा विकास निर्माणले गति लिन थालेका छन्”, उहाँले भन्नुभयो । विश्व तापमानले खानेपानी, हिमाललगायत क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणका लागि काम गर्न सरकारले सगरमाथा संवाद आयोजना गरेको सभापति देउवाले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विप्रेषणका नाममा आइरहेको रकम के हो? भनी सरकारले अध्ययन गर्नुपर्ने बताउँदै ‘फाइनान्सियल टास्क फोर्सको खैरो सूची (ग्रे लिस्ट) मा नेपाल परेको विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा विप्रेषणबाट नेपाल भित्रिने रकम त कारण होइन भनी अध्ययन, अनुसन्धान गर्नुपर्ने अवस्था देखिएकाले यसतर्फ उहाँले अर्थशास्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

गभर्नर नियुक्तिका विषयमा संविधान र कानुन मिचिएको भन्दै नेता कोइरालाले कुशासन, दण्डहीनता, बेरोजगारी वृद्धि भइरहँदा सरकारले यसको न्यूनीकरण गर्नेगरी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । धार्मिक, आध्यात्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपालमा रोजगारी सृजना गर्न सकिने जनाउँदै उहाँले यसतर्फ सरकारले विशेष योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले लोकतन्त्रमा विधिको शासन हुनुपर्ने उल्लेख गर्दै विधिको शासनबिना सुशासन हुन नसक्ने धारणा राख्नुभयो । हालै विश्व न्याय मञ्चले प्रकाशन गरेको तथ्याङ्कमा नेपाल माइनस ४८ प्रतिशतको अवस्थामा रहनु र हरेक वर्ष सार्वजनिक हुने भ्रष्टाचारको सूचकाङ्कमा पनि नेपाल एक अङ्कले तल पर्दै जानुले भ्रष्टाचार बढेको पुष्टि हुने उहाँले बताउनुभयो ।

पूर्वमन्त्री डा सुरेश मल्लले प्रजातान्त्रिक विचार समाजले सत्यका पक्षमा वकालत गर्नुुुपर्नेमा जोड दिनुभयो । समाजका पूर्वअध्यक्ष हरिहर दाहालले २०५३ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पजेरो संस्कृति भित्र्याएर राजनीतिलाई विकृत बनाउन खोजिएको भन्दै समाजले निर्णय गरेर विरोध भएकाले गलत काम गर्ने छुट कुनै सरकारलाई नभएको स्पष्ट पार्नुभयो ।

समाजका अर्का पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासका लागि समाज लागिपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले राजनीतिक नेतृत्वमा एउटै व्यक्तिलाई निरन्तरता दिन नहुने धारणा राख्नुभयो ।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले व्यवस्थाले अवस्थामा परिवर्तन ल्याएको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ईश्वरीराज लौडारी, महासचिव वासुदेव भण्डारीलगायत वक्ताले विसं २०५२ जेठ ३ गते स्थापना भएको समाजले प्रजातन्त्रको संस्थागत विकासका पक्षमा पैरवी गर्दै आएको बताउनुभएको थियो ।

फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छः खेलकुदमन्त्री चौधरी

धरान (सुनसरी), ३ जेठः नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबल खेलले नेपाली समाजमा आशा, उत्साह र एकताको सन्देश फैलाउँदै राष्ट्रिय विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताउनुभएको छ ।

आज यहाँ पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले धरान फुटबलको सहरका रूपमा पनि परिचित रहेको भन्दै हाल यहाँ विभिन्न तहका फुटबल प्रतियोगिताहरू सञ्चालन भइरहेकामा खुसी व्यक्त गर्नुभयो । यहाँको सक्रियता र फुटबलप्रतिको जनस्तरको आकर्षणलाई मध्यनजर गर्दै सरकारले धरानमा सञ्चालन भइरहेको फुटबल एकेडेमी तथा आगामी लिगहरूमा थप बजेट वृद्धि गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खेलकुदमन्त्री चौधरीले भन्नुभयो, “धरानमा भइरहेका फुटबल गतिविधि देशका लागि अनुकरणीय छन् । जहाँ बुढासुब्बा गोल्डकपदेखि विभिन्न फुटबल लिग सञ्चालन हुने गरेका छन् । विगतदेखि नै हामीले अपेक्षा गरिएको भन्दा बढी बजेट विनियोजन गरेर सहयोग गरिरहेका छौँ । आगामी वर्षहरूमा यसलाई थप सुदृढ र व्यवस्थित बनाउन सहयोग गर्नेछौँ ।”

मन्त्री चौधरीले एकेडेमीको पूर्वाधार, तालिम तथा प्रतियोगिता सञ्चालनका लागि मात्र बजेट नभएर प्राविधिक सहयोग र आवश्यक स्रोतसाधनको व्यवस्थापनमा पनि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारअन्तर्गत रहेका १० वटा रङ्गशाला प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ ३ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्दा बनेको जलवायुु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिनुभयो । उहाँले हिमालदेखि समुद्रसम्मको अवधारणामा ठूला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास अगाडि बढाउनुपर्ने बताउनुभयो ।

सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आउनुुभएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरू विश्व समुदायसमक्ष पु¥याउने बताउनुभयो ।भेटका अवसरमा नेपालका लागि अजरवैजानका गैह्रआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई श्रम ऐनले विभेद गरेको छैनः श्रममन्त्री भण्डारी

काठमाडौँ, ३ जेठः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई श्रम ऐनले विभेद नगरेको बताउनुभएको छ ।
गैरसरकारी संस्था मितिनी नेपालद्वारा आज यहाँ आयोजित ‘होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया’ विरुद्धको अन्तरराष्ट्रिय दिवस २०२५ समारोहमा उहाँले केही चुनौती भने रहेकाले श्रम ऐन समयसापेक्ष परिमार्जन भइरहेको बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “यो समुदायले श्रममा जाँदा पहिचानकै आधारमा विभेद भोग्नु परेको छ । भएका कानुनलाई कसरी पूर्णता दिने, सामाजिक मान्यतालाई कसरी स्थापित गर्ने र सर्वोच्च अदालतले जति पनि फैसला गरेको छ त्यसलाई सम्मान गर्दै नीति तथा कानुनमा आवश्यक परिमार्जन हुनुपर्छ ।”

उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकोे पहिचानका मुद्दा महत्वपूर्ण रहेका र त्यसको सुनुवाइ नभएसम्म समस्या समाधान नहुने धारणा राख्नुभयो । “प्रकृतिले कसैलाई भेदभाव गरेको छैन । परिवारले स्वीकार गर्यो भने समाजले पनि गर्छ । हाल सङ्गठित भएर आफ्नो अधिकारको कुरा गर्न थालिएको छ । सङ्गठित भएमा शक्ति हुन्छ र त्यसले आवाज थप सशक्त बनाउँछ”, मन्त्री भण्डारीले भन्नुभयो ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकोे अधिकार स्थापित गर्न महिला समितिले विशेष भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको क्षेत्रमा यो समुदायलाई समावेश गराउनु राज्यको दायित्व हो । समितिले यसमा ध्यान दिनेछ र कानुनी जटिलताबारे पनि पहल गर्नेछौँ ।”

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले यो समुदायको वैवाहिक अधिकारलाई मान्यता दिन सकरात्मक भएर कानुन बनाउन आयोगका तर्फबाट पनि सकारात्मक भूमिका खेलेको बताउनुभयो ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले यस दिवसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्दै आइरहेका चुनौती र असमानतालाई सम्बोधन गर्ने उद्देश्य राखेको बताउनुभयो । हरेक व्यक्तिलाई सम्मानजनक जीवन जिउन पाउने अधिकार रहेकाले कसैलाई पनि लैङ्गिकता र यौनिकताका आधारमा मूल्याङ्कन गर्न नहुने भन्दै उहाँले भेदभाव र डरबिना आफ्नो पहिचान सार्वजनिक गर्ने तथा निर्णय लिन पाउने अधिकारको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका जोडीबारे ११ प्रेरणादायक कथा समेटिएको पुस्तक ‘समुदायको शक्ति’ पनि लोकार्पण गरिएको थियो । पुस्तकमा ती जोडीहरूको साहस, सङ्घर्ष, धैर्यता र प्रेरणालाई चित्रण गरेको छ ।

होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तरराष्ट्रिय दिवस हरेक वर्ष मे १७ मा विश्वव्यापी रूपमा मनाउने गरिएको छ । सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले समलैङ्गिकतालाई मानसिक रोगको सूचीबाट हटाई यसलाई प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरेको दिनको स्मरण गर्दै दिवस मनाउने गरिन्छ ।यहाँ आयोजित कार्यक्रममा सातैवटै प्रदेशबाट गरी करिब ३०० अधिकारकर्मी, सम्बन्धित विषयका अभियन्ता तथा सरोकारवाला निकायको उपस्थिति थियो ।

सगरमाथा आधारशिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण

काठमाडौं । सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ ।नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार विशेष संवादको आयोजना गरेका हुन् ।महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सगरमाथामा आधारशिविर पुगेर संवादमा सहभागी भएका हुन् ।

३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर विशेष संवाद सुरु गरिएको थियो । स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले सरकारले जलवायु परिवर्तनको असर नियन्त्रण एवं पर्यावरण जोगाउनेसहितका तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे प्रस्तुतिकरण दिए ।

लुक्लादेखि पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा आधार शिविर पुगेका महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए । शर्माले कार्बन उत्सर्जन बढी गर्ने ठुला राष्ट्रमाथि दबाब बढाउन साना राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने बताए ।

१६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताएको छन् ।पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा.आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले बिशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
महामन्त्री शर्माले हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन् ।

क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुन माधव नेपालको आब्हान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई आफ्ना कमी कमजोरी सुधार गरी एकतावद्ध भई अगाडि बढ्न आग्रह गरेका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी) सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई कमी कमजोरीबाट मुक्त एकतावद्ध हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई म भन्न चाहन्छु सबैखालका संकिर्णबाट मुक्त हुनुस् । आफ्ना कमीकमजोरीलाई सुधार्ने आँट गर्नुहोस । सबैलाई एकतावद्ध बनाएर अघि बढ्ने फराकिलो दृष्टिकोण राख्नुहोस । कुनै आग्रह पाल्नुपर्ने छैन्, कुनै पूर्वाग्रह राख्नुपर्ने छैन र कमी कमजोरीबाट मुक्त हुनैपर्छ ।’नेपालले विगतमा भएका आन्दोलनको सफलतालाई उपयोग गर्न नसकेर गल्ती गरेको भन्दै आफ्नो देशको विशेषतालाई बुझेर अगाडि बढ्नुपर्ने बताए ।

आईपीएल आजदेखि पुन सुरु हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुन सुरु हुँदैछ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो । जारी आईपीएल मे ८ देखि रोकिएको थियो ।

आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो । आईपीएलका बाँकी खेलहरू बैंगलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् ।

सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले यस्तो आग्रह गरेकी हुन् ।

परराष्ट्रमन्त्री डा राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।

मन्त्री राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी थिइन् । यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी थिइन् ।

सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छन् । साथै शुक्रबारको भेटका क्रममा मन्त्री राणाले सगरमाथा संवादमा भएको कतारको सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्नका लागि गर्न सकिने सहकार्यका बारेमा पनि कुराकानी गरेकी थिइन् ।

मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री

काठमाडौँ, ३ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा (एमाले)का महासचिव एवं जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत मदन – आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्नुभएको हो । “मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं । उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ । मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले लेख्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ३२ वर्ष अगाडि आजको दिन आफूहरूले जननेता भण्डारी र कुशल सङ्गठक आश्रितलाई गुमाएको बताउनुभएको छ । “जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो”, प्रधानमन्त्रीले भन्नुभएको छ ।

तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा निधन भएको थियो ।

आज ३२ औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कीर्तिपुर (काठमाडौँ), ३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गर्नुभएको थियो ।

विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो ।

विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो । उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ ।

त्यसपछि एमाले कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारिएको थियो । हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ । मदन आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित सोही कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागिएको हो ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ३ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ३८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १२०, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १००, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, भारतीय सुन्तला रु १५०, दरभुजा (हरियो) प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

आज ‘विश्व दूरसञ्चार दिवस’ विभिन्न कार्यक्रम गरि देशभर मनाइँदै

काठमाडौं । आज विश्व दूरसञ्चार दिवस विभिन्न कार्यक्रम गरि देशभर मनाइने गरिन्छ । हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ । यस वर्षको दूरसञ्चार दिवसको नारा ‘दिर्घकालिन विकासका लागि डिजीटल नवप्रवर्तन’ भन्ने रहेको छ ।

सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएको एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो । नेपालमा पहिलो पटक सन् १९९९ मा मोबाइल फोनको शुरुवात भएको थियो भने २००० बाट इन्टरनेटको व्यवसायिक शुरुवात भएको हो । त्यसपछि विस्तारै विकास हुदैँ गएको सञ्चार क्षेत्र वर्तमान अवस्थासम्म आई पुगेको छ ।

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप

जनकपुर । सत्तारुढ नेपाली कांग्रेसले मधेश प्रदेश सरकारको पूर्वाग्रहीका कारण स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ख्याल नगरेको भन्दै मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्री सतीशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहलाई ज्ञापन पत्र बुझाउँदै तत्काल अस्पताल सञ्चालनका लागि काम अघि बढाउन मागसहित ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सरकारले २०८० मंसिर १८ गतेको मन्त्रिपरिषद् बैठकबाट ६ वटा जिल्ला अस्पताललाई १०० शैय्याको बनाउने र ५ वटा ५० शैय्याका नयाँ अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि सो निर्णय कार्यान्वयन गर्न पूर्वमन्त्रीसमेत रहेका उपनेता वीरेन्द्र प्रसाद सिंहले माग गरेका छन् । सो निर्णय अनुसार आवश्यक जनशक्तिका लागि अस्थायी दरबन्दी स्वीकृत गरी विज्ञापनमार्फत कर्मचारी छनोट प्रक्रिया समेत पूरा हुँदा पनि अस्पताल सञ्चालनका लागि चासो नदिएको उनको आरोप छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाही र अस्पताल सञ्चालन नगर्ने नियतका कारण अहिलेसम्म सो अस्पतालहरू सञ्चालनमा आउन नसकेको उनको दाबी छ ।

सो ज्ञापनपत्रमा उपनेता सिंहले, ‘दरबन्दीअनुसारको जनशक्ति सम्बन्धित अस्पतालहरूमा खटाई यथाशीघ्र ती अस्पताल सञ्चालन गरिनुपर्छ ।’ यससाथै उनले मन्त्रालयले देखाएको लापरवाहीको कारण स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकको हकमा गम्भीर अन्याय भएको उल्लेख गरेका छन् ।सञ्चालनमा नआएका ती अस्पतालहरूका कारण दूरदराजका जिल्लाहरूमा स्वास्थ्य सेवा पहुँचमा समस्या भइरहेको भन्दै सरोकारवालाहरूले तत्काल गम्भीर हुन प्रदेश सरकारसंग कांग्रेसले आग्रह गरेको छ ।

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष दाहाल

अमरगढी (डडेल्धुरा-नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताउनुभएको छ । बैतडीको पाटनबाट ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरी यहाँ आइपुग्नुभएका उहाँले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।

“बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “विशेषतः तराईका मजदुर र किसानका माग सम्बोधन गर्न सरकारलाई पहिले नै आग्रह गरिसकेको छु ।”

उहाँले मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादीको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै वर्तमान सत्तालाई जनमुखी बनाउन पहल आवश्यक रहेको बताउनुभयो । अध्यक्ष दाहालले परशुराम, अजमेरु कोट क्षेत्रको पर्यटन विकास, डडेल्धुरा–भारत सिमानामा भन्सार स्थापनाजस्ता विषयलाई राष्ट्रिय मुद्दा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका महासचिव देव गुरुङले सहिदहरूको योगदानलाई स्मरण गर्दै जनआन्दोलन र सङ्घर्षले ल्याएको परिवर्तनलाई संस्थागत गर्न सबै क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति

गाईघाट (उदयपुर- वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आज बिहान वर्षासँगै हावाहुरी र आँधी आउँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय तथा घरमा क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जिल्लाको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडामा हावाहुरीका कारण स्थानीय हर्क श्रेष्ठको घर, ध्रुव खत्री, सम्भव अधिकारीको घरको छानो उडाएको जानकारी दिनुभयो ।

उदयपुरगढी गाउँपालिका–६ को जगेटारस्थित माध्यमिक विद्यालयको सबै छानो हावाहुरीले उडाएको छ । त्रियुगा नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीका कारण करिब रु २२ लाख ६० हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक दोङले बताउनुभयो । जिल्लाको अन्य स्थानमा थप क्षति भएका हुनसक्ने भन्दै तथ्याङ्क सङ्कलन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी

गण्डकी, ३ जेठः पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ । विगतमा तराई र भारतका स्थानबाट आएका तरबुजा मात्र खाएका पोखरेली यतिखेर आफ्नै गाउँठाउँमा फलेका स्वादिलो तरबुजाको स्वाद लिन पाउँदा दङ्ग छन् ।

सुरौदीको तिखे ढुुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले संयुक्त रूपमा गरेको तरबुजा खेती होस् वा आर्वाको ढाँडबेसीमा ई विक्रम बरालसहित युवा रवि, अर्जुन, मनिशलगायतले संयुक्त रूपमा लगाएको तरबुजा यतिखेर रोजगारीकै खोजीमा विदेशिएका युवाका लागि पनि दरिलो पाठ बनेको छ ।

रुद्रगङ्गा कृषि बहुउद्देश्यीय कृषि फर्ममार्फत ढाँडबेसीको १५ रोपनी क्षेत्रफलमा गरिएको तरबुजा खेतीबाट लगाएको चार महिनाको अवधिमा नै १५ लाख रूपैयाँ आम्दानी गरिसकिएको ई बरालले जानकारी दिनुुभयो ।विगतमा तराई र भारतबाट मात्रै तरबुजा आउने र खाने गरिएकोमा यही क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनिएको उहाँले बताउनुुभयो ।

“हामीले लगाएको तरबुजा लटरम्म फलेको छ”, उहाँले भन्नुुभयो, “हामीले तीन हजार पाँच सय किलोग्राम तरबुजा उत्पादन गरिसकेका छौँ ।” पोखरा महानगरपालिका–३३ सुरौदी फाँटको तिखेढुुङ्गामा अगुवा कृषकद्वय ज्ञानबहादुर कार्की र रमेश आचार्यले ३५ रोपनी क्षेत्रफलमा तरबुजा लगाउनुुभएको छ ।

उहाँहरूले लगाएको तरबुजा अबको केही दिनमा नै बजारमा आउने कृषक रमेश आचार्यले बताउनुुभयो । उहाँहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाउनुुभएको छ ।

पोखरा–१३ पाटनवेशीका बुद्धप्रसाद बरालले तीन रोपनी क्षेत्रफलमा तरबुजा लगाउनुुभएकोमा झण्डै ६०० किलोग्राम बिक्री गरिसक्नुुभएको छ । उहाँको लक्ष्मी बराल एग्रोफर्ममा फलेको तरबुजा बजारमा माग अत्याधिक रहेको उहाँले जानकारी दिनुुभयो ।

पोखराकै हेमजामा द अम्मट बिचमा रमेश कार्कीले तीन रोपनी क्षेत्रफलमा लगाउनुुभएको तरबुजा राम्रो फलेको छ । उत्पादन हेर्दा यस क्षेत्रमा राम्रै तरबुुजा फलाउन सकिने देखिएको कार्कीले जानकारी दिनुुभयो ।

विगतका वर्षमा सामान्य परीक्षणको रूपमा १०÷१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको तरबुजा खेती यस वर्ष भने २०० रोपनी क्षेत्रमा विस्तार गरिएको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो ।

तरबुुजा खेतीका लागि महानगरपालिकाले बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको उहाँले जानकारी दिनुुभयो । महानगरपालिका–१३, २३, ३०, ३२, ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको जानकारी दिँदै उहाँले स्थानीय रूपमा उत्पादित तरबुजाको स्वाद पनि निकै मीठो रहेको बताउनुुभयो । पोखरामा यस वर्ष करिब ४०० टन (लगभग दुई करोड रूपैयाँ बराबर) को तरबुजा उत्पादन भएको उहाँले जानकारी दिनुुभयो ।

महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको कडरियाले जानकारी दिनुुभयो ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न तरबुजा मेला
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ पोखरामा बिहीवार तरबुजा मेला २०८२ गरिएको छ ।वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापन र पोखरा महानगरपालिकाको कृषि विकास शाखाको सहकार्यमा सञ्चालित मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदान–प्रदान, सफल किसानका अनुभव साझा, परिकार प्रदर्शनी तथा बाली उपचार शिविरसमेत सञ्चालन गरिएको पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बरालले जानकारी दिनुुभयो ।

कृषकको मेहनत र पसिनाको फललाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको बताउँदै उहाँले कृषि उत्पादनमा प्रोत्साहन गर्दै आत्मनिर्भरता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताउनुुभयो ।

पोखरामा नै फल्यो करिब आठ किलो तौलको तरबुजा
मेलाका अवसरमा ल्याइएका तरबुजामध्ये पोखरा–३३ सुरौदीको तिखेढुङ्गमा लगाइएको तरबुजा एउटैको सात किलो ८६० ग्राम तौलको पाइएको छ । प्रदर्शनीमा कृषि फर्म तथा व्यक्तिगत रूपमा तरबुजा खेती गर्नेहरूका उत्पादनलाई तौल गरिएकोमा रमेश आचार्य र ज्ञानबहादुर कार्कीले तिखेढुङ्गामा लगाउनुुभएको तरबुजा सबैभन्दा बढी तौलको प्रमाणित गरिएको हो । मेलाका अवसरमा ठूलो तौलको फलाएवापत उहाँहरूलाई पाँच हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै मेलामा गरिएको तरबुजा खाने प्रतियोगितामा रवि बराल र विमला श्रेष्ठ पहिलो र दोस्रो बन्नुुभएको छ । उहाँहरूलाई पुरस्कारस्वरूप नौ किलोग्राम र छ किलोग्राम तरबुजा पुरस्कारस्वरूप प्रदान गरिएको थियो ।

त्यस्तै प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने मणिद्विप कृषि फर्म पोखरा १३ आर्वाका श्रीधरलाल बराल र रोशन बराल प्रथम बन्नुुभयो भने पिपलडाली पशु तथा कृषक समूह पोखरा २८ का शोवितबहादुर अधिकारी दोस्रो बन्नुुभयो । त्यस्तै सूर्यचन्द्र कृषक समूह पोखरा १३ दुुइकुलाको मुहानका विश्वराज सापकोटा तेस्रो र चण्डेश्वरी कृषि सहकारी संस्था लिमिटेड पोखरा १३ साझाका रामकाजी बरालले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने फर्मलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजार रूपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो ।

मनसुन सुरु हुनु अगावै एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

झापा, ३ जेठ : मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।एशियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताउनुभयो ।

मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको उहाँको भनाई छ । “डाइभर्सन बनाइएका स्थानमा खाल्डाखुल्डी भएकाले बर्षाको समयमा विपद् र दुर्घटना निम्तिने ठूलो जोखिम हुन सक्छ,” उहाँले भन्नुभयो, “राजमार्गका साना पुल र कल्भर्टका काम चाँडो सकेर मुख्य राजमार्गबाटै यातायात सञ्चालन गर्नुपर्छ भनेर हामीले भनिरहेका छौं ।”

बर्खामा पूर्वपश्चिम राजमार्गमा आजतजावत नरोकिने गरी मुख्य सडकबाटै यातायात सञ्चालन गर्न सकिने वातावरण तयार पारिने जनाउँदै उहाँले निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले गरिरहेको कामको प्रगति अनुगमन भइरहेको बताउनुभयो । हालसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माणमा विलम्ब नगर्न पटकपटक पत्राचार गरिरहँदा समेत निर्माण कम्पनीको प्रगति सन्तोषजनक नरहेको उहाँले बताउनुुभयो ।

सडक निर्माणमा ढिलासुस्ती भइरहेको र वर्षात्मा यातायात नै अवरुद्ध हुनसक्ने जोखिम बढेको भनेर जनगुनासो समेत आइरहेको छ । काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख पन्तले वर्षात्को अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा र्यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्याको निरुपण गर्ने तयारी रहेको बताउनुभयो । उहाँले वर्षात्को समयमा पनि सडकको काम नरोकिनु जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपैयाँ ५० पैसा र बिक्री दर २० रुपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ १७ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६२ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुयैयाँ ६२ पैसा र विक्रिदर तीन सय ५६ रुपैयाँ १८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरण सुरु

काठमाडौँ, ३ जेठ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।

काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिनुभयो ।उहाँले भन्नुुभयो, “काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बितरण गर्ने अभियान र मन्त्री ज्युको निर्देशन पश्चात हामीले उक्त कार्यका लागि बोलपत्र समेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो ।”
वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ । बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ले जनाएको छ ।

उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौँ उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पु¥याउने खानेपानी मन्त्रालयले जनाएकोे छ । उक्त प्रक्रिया सूचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनहरूमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन् ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तेस्रो जनकपुरधाम मेयरकपमा बारालाई हराउँदै लखनउले जित्यो उपाधी

जनकपुर । तेस्रो जनकपुरम मेयरकप २०८२ को उपाधी भारतको लखनउले हासिल गरेको छ ।जनकपुरधामको निर्माणधिन रामजानकी बहुउद्देशिय क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न फाइनल खेलमा बारालाई ८ विकेटले पराजित गर्दै लखनउ टिमले उपाधी हात पार्न सफल भएको हो ।

आजको अन्तिम खेलमा बारा टिमलाले पहिलो ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । बाराका लागि रवि साहले ५४, आदिल अंसारीले ५०, विवेक यादवले २२, पवन सर्राफलले १६, त्रित दासले ९ र निरंजन यादवले ७ रन जोडेका थिए भने अरनिको यादव सुन्य रनमै आउट भएका थिए ।
यता, लखनउका लागि सुभम यादव र मनिष सिंलेह २÷२ तथा शैलेन्द सिंह र अस्मित मिश्राले १÷१ विकेट लिएका थिए । १६९ रनको विजयी लक्ष्य सहित व्याटिङ्ग गर्न मैदानमा ओर्लेका लखनउ टिमले १७ ओभर ४ बलमा २ विकेट गुमाएर १७३ रन बनाएको थियो । लखनउका लागि हर्षित यादवले ९८, सुमित पाठकले ५३ , अंकित सिंहले १९ र सोमन महन्तीले २ रन जोडेका थिए ।
बाराका पवन सर्राफ र साहब आलम १÷१ विकेट लिएका थिए । कप विजेता लखनउ टिमलाई दुई लाख नगद र ट्रफी तथा उपविजेता बारा टिमलाई एक लाख २५ हजार नगद तथा ट्रफि प्रदान गरिएको छ ।

कुनै पनि अपराध गरेको छैन, तर राज्य मेरो विरुद्ध लागेको छ : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्य विरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह आफूबाट नभएको बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै सञ्चारकर्मीहरुसंग कुरा गर्दै मिश्रले कुनै पनि अपराध नगरेको भए पनि राज्य आफू विरुद्ध लागेको बताएका हुन् ।

उनले भने, ‘राज्य विरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह म बाट केही पनि भएको छैन मैले आज त्यति मात्रै टिप्पणी गरे । म हाजिरी जमानीमाछुटेको हुँ । त्यसमा म धेरै खुसी हुने पक्षमा छैन । किनभने राज्य म विरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरुले पनि भनिसक्नु भएको छ ।’साथै उनले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले जति जनधनको क्षति भयो त्यसमा समेत दुख व्यक्त गरे ।

उनले भने, ‘सबैभन्दा पहिले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जति जनधनको क्षति भयो त्यसमा दुख व्यक्त गर्न चाहन्छु । ’गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो ।

राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौँ, २ जेठ : हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् । “अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाडौँबाट पश्चिमतर्फ उडेका विमान काठमाडौँनै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भन्नुभयो ।

उहाँका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् । श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौँ उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर–काठमाडौँ उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौँबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौँ नै फर्किएको छ ।

त्यसैगरी काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्किएको छ । श्री एयरलाइन्सकै काठमाडौँ भैरहवा उडानको विमान पनि काठमाडौँ फर्किएको छ । सोही एयरलाइन्सको काठमाडौँबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौँ फर्किएका छन् । बुद्ध एयरको काठमाडौँ–नेपालगञ्ज उडानको विमान पनि काठमाडौँ फर्किएको छ । काठमाडौँमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।

जापानले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

काठमाडौँ, २ जेठः ‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना’ का लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ ।

आज अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर गरिएको हो ।

थप अनुदानका लागि अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरु रेले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गर्नुभयो । अर्थ मन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा र नेपालस्थित जाइकाका प्रतिनिधिबीच पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकारको तर्फबाट अर्थमन्त्री पौडेल र जापान सरकारको तर्फबाट सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आउनुभएका संसदीय उपविदेशमन्त्रीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले नेपाल-जापानबीच स्वार्थरहित सम्बन्ध रहेको बताउँदै जापान नेपालको अत्यन्तै घनिष्ट मित्रराष्ट्र रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको विकासमा जापानबाट महत्त्वपूर्ण सहयोग प्राप्त गर्दै आएका छौँ, आगामी दिनमा जापानको सहयोग अझ फराकिलो हुनेछ भन्ने विश्वाससहित सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ ।”

उपप्रधानमन्त्री पौडेलले सगरमाथा संवादको क्रममा नेपाल भ्रमणमा आउनुभएका जापानी उपविदेशमन्त्रीलाई धन्यवाद दिँदै गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि निमन्त्रणा दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीलाई यो पटक गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि निवेदन गर्दछु । यो पटक सम्भव नभए अर्को पटक भए पनि लुम्बिनी पुग्नुहोस् भनेर निम्ता गर्न चाहन्छु ।”

अर्थमन्त्री पौडेलले जापालले नेपाललाई विविध क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको स्मरण गर्दै धुलिखेल अस्पतालका लागि महत्त्वपूर्ण सहयोगका लागि नेपाल सरकारको तर्फबाट जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट रु तीन अर्ब दुई सय ९६ करोड येनसम्मको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप ५७ करोड ३० लाख येन थप अनुदान उपलब्ध गराइएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

आर्थिक विकास, सडक सञ्जाल विस्तार, यातायातका साधनको बढ्दो प्रयोगलगायत कारण ट्रमाका बिरामीको सङ्ख्यामा वृद्धि हुनुका साथै स्ट्रोक, मुटुजस्ता नसर्ने रोगका बिरामीको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै जाँदा बिरामीको चाप बढेकाले नेपालका स्वास्थ्यसंस्थामा शय्या र चिकित्सा उपकरणको अभाव भएको भन्दै उक्त सहायता दिइएको जनाइएको छ ।

यस सहायताले देशको सबैभन्दा ठूलो चिकित्सा सुविधा र बृहत क्षेत्रको चिकित्सा सेवाको हबका रूपमा रहेको धुलिखेल अस्पतालमा ट्रमा र आपत्कालीन केन्द्र र सम्बन्धित उपकरण निर्माण गरी नेपालको चिकित्सा सेवालाई सुदृढ पार्ने, स्वास्थ्य तथा चिकित्सा सेवाको गुणस्तरमा सुधार ल्याउने र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग उपलब्ध गराइएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

काठमाडौँ, २ जेठ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जीले भेटवार्ता गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका उपाध्यक्ष जीले आज सङ्घीय संसद् भवन बानेश्वरमा भेटवार्ता गर्नुभएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्ध मानव सभ्यताको विकाससँगै सुरू भएको चर्चा गर्दै पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध झन निकट र प्रगाढ रहेको बताउनुभयो । “दुई देशबीचको पुरानो सम्बन्ध र सभ्यतासँगै विकसित हुँदै आएको छ । भृकुटी र अरनिको जस्ता ऐतिहासिक व्यक्तित्वले निर्माण गरेको हाम्रो सम्बन्ध निरन्तर विकास र सुदृढ हुँदै गएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “भविष्यमा हाम्रो मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने कुरामा म विश्वस्त छु ।”

राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक एवम् संसदीय भ्रमणहरूले दुई देशको सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष दाहालले बताउनुभयो ।

नेपालले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन आएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले सगरमाथा संवादले सरोकारवाला सबैलाई एकै ठाउँमा ल्याएर अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय मुद्दा एवम् चुनौतीहरू सम्बोधन गर्नका लागि सहमति र सहकार्य अघि बढाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

सो अवसरमा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीले नेपाल चीनको असल छिमेकी देश भएको बताउनुभयो । उहाँले नेपाल रणनीतिक, सांस्कृतिक तथा सामाजिक हिसाबले निकै महत्त्वपूर्ण छिमेकी भएको भन्दै दुई देशले क्षेत्रीय तथा पारस्पारिक विकासमा सहयोगमा गरिरहेको बताउनुभयो ।

नेपाल विगतदेखि नै एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै उहाँले चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने नीतिको प्रशंसा गर्नुभयो । जलवायु परिवर्तनको अवसर न्यूनीकरणका लागि नेपालले गरेको प्रयास निकै सह्रानीय रहेको भन्दै उपाध्यक्ष जीले नेपाल र चीन दुवै देश ट्रान्स हिमालयन राष्ट्र भएकाले यसका चुनौती र अवसर पनि साझा भएको बताउनुभयो ।

भेटमा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्याल, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी हुनुहुन्थ्यो । चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूत छेन् सोङसहित उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष दाहाल

दशरथचन्द (बैतडी), २ जेठ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताउनुभएको छ । उहाँले चाँडो उक्त पदमा नियुक्तिको टुङ्गो लगाउन आग्रह गर्नुभयो ।

आज बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका उहाँले राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने भए पनि ढिलाइ भइरहेकोप्रति विरोध जनाउनुभयो ।

“गभर्नर तुरन्तै नियुक्त हुनुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन, यो जनताको हितविपरित छ”, उहाँले भन्नुभयो । तराईपहाड, हिमाललाई एकताबद्ध रुपमा जोड्न र आर्थिक समृद्धिमा टेवा पु¥याउन मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

पहाडका जनताका समस्या समाधान गर्न सरकारलाई खबरदारी गरिने उहाँको भनाइ छ । यसैगरी सुदूरपश्चिमको विकास नभइ देशको विकास सम्भव नहुने धारणा उहाँले राख्नुभयो ।

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौडेल

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता मुलुकको वर्तमान आर्थिक अवस्था र स्रोत व्यवस्थापनको क्षमताका आधारमा तय गरिएको स्पष्ट पार्नुभएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा उहाँले यर्थाथलाई आत्मसात गरेर सरकार अगाडि बढ्न लागेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद र समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने गरी बजेटको दिशा तय गरिने स्पष्ट पार्नुभयो ।

उहाँले न्यायपूर्ण पहुँचसहित उत्पादन वृद्धिलाई प्राथमिकता दिइएको उल्लेख गर्दै गरिबी न्यूनीकरणमा केन्द्रित योजनाहरू प्रस्तुत गरिने बताउनुभयो । “सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि विशेष दृष्टिकोणसहित अगाडि बढ्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

अर्थमन्त्री पौडेलले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रको मनोबल वृद्धि गर्ने, आत्मविश्वास बढाउँदै लैजाने, रोजगारी सृजना गर्ने तथा उत्पादनशीलता र प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने अपरिहार्य रहेको उल्लेख गर्नुभयो । आगामी बजेटले दिगो र तीव्र गतिको आर्थिक विकासलाई केन्द्रमा राखेको र त्यसकै आधारमा संविधानमा उल्लिखित मौलिक हकहरू पूर्ण कार्यान्वयन हुने सुनिश्चितता गरिने बताउनुभयो ।

उहाँले तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यलाई विशेष ध्यान दिइएको उल्लेख गर्दै बजेट अनुशासन र सार्वजनिक वित्त सन्तुलनलाई पनि केन्द्रमा राखिएको जानकारी दिनुभयो । नागरिकले सरल र प्रविधिमैत्री सेवा प्राप्त गर्न सकून् भन्ने लक्ष्यसहित प्रविधिको पहुँच विस्तार, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिइएको उहाँको कथन छ ।

बेरोजगारी अन्त्य, गरिबीको रेखामुनि रहेका वर्गको स्तरोन्नति र स्वरोजगार प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू ल्याइने जानकारी दिँदै उहाँले कानुनी सुधारमार्फत लगानी विस्तार, उत्पादन अभिवृद्धि र राष्ट्रिय आयमा वृद्धि गर्ने नीति लिइएको स्पष्ट पार्नुभयो । कृषि क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न यान्त्रिकीकरणलाई जोड दिइएको र कृषिमा स्वतन्त्र ढङ्गले युवालाई संलग्न हुन सक्ने वातावरण बनाइने विश्वास दिलाउनुभयो ।

मुलुकको पर्यटन क्षेत्रको सम्भावनालाई पूर्णरूपमा सदुपयोग गर्ने लक्ष्यका साथ सरकारले आवश्यक पहलकदमी लिने उहाँको भनाइ छ । यस्तै, औद्योगिक विकास, नयाँ प्रविधिको प्रयोग गर्दै डिजिटल अर्थतन्त्रको विस्तारमा जोड दिइएको अर्थमन्त्रीले उल्लेख गर्नुभयो ।

उहाँले पूर्वाधार निर्माणलाई तीव्रता दिन वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक तयार गरिएको र सो विधेयकमार्फत अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । उहाँले संसद्लाई उक्त विधेयक छिटो अघि बढाइदिन आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले लोकप्रियतावादबाट बच्न सांसदहरूले दिनुभएको सुझावलाई आत्मसात गरिने बताउनुभयो ।

फरक एक प्रसङ्गमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आसेपासे पूँजीवादलाई सरकारले नचिन्ने स्पष्ट पार्नुभयो । सरकारले पूँजीगत खर्चमा वृद्धि गर्न आवश्यक पहल गर्ने, योजनाहरू समयमै सम्पन्न गर्ने र वातावरण निर्माण गर्ने उहाँले विश्वास दिलाउनुभयो । अर्थमन्त्रीले बजेटमा सन्तुलन र अनुशासनलाई ध्यान दिइने एवं कार्यान्वयनमा समेत उत्तिकै ख्याल गरिनेछ भन्नुभयो ।

प्रि–बजेट छलफलका क्रममा संसद्मा उठेका विषय र सांसदहरूले राख्नुभएका चासो यही जेठ १५ गते प्रस्तुत हुने बजेटमा व्यक्त हुने अर्थमन्त्री पौडेलको प्रष्टोक्ति छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते बिहान ११ः०० बजे बस्नेछ ।

सांसद भट्टराईको सुझाव : ८० प्रतिशत बजेट ठूला आयोजनामा केन्द्रित गरौँ

काठमाडौँ, २ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसद योगेश भट्टराईले पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले कम बजेटबाट पनि प्रतिफल दिने आयोजना तयार गर्न सकिने उल्लेख गर्दै ठूला परियोजनामा प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । भट्टराईले भन्नुभयो, “८० प्रतिशत बजेट ठूला आयोजनामा लगाऔँ, बाँकी रकम अन्य प्रभावकारी परियोजनामा विनियोजन गरौँ । सङ्घीय सांसदलाई पनि यस प्रक्रियामा संलग्न गरौँ । यसले बजेट कार्यान्वयन र जवाफदेहिता सुनिश्चित गर्छ ।”

उहाँले काम सम्पन्न भइसकेका आयोजनाहरूको भुक्तानी नहुनु निर्माण व्यवसायीका लागि चुनौती भएको उल्लेख गर्दै सार्वजनिक खरिद ऐनलाई व्यावहारिक बनाउँदै आवश्यक संशोधन गर्नुपर्ने बताउनुभयो । “बजेट हुँदाहुँदै पनि काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद भट्टराईले संसद्, न्यायालय र अख्तियारजस्ता संवैधानिक निकायहरू विकासमा सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो । उत्पादन र वितरणमा समानुपातिकता नआएसम्म दिगो आर्थिक वृद्धि सम्भव नहुने बताउँदै उहाँले भन्नुभयो, “व्यापक उत्पादन र न्यायोचित वितरण नै समाजवादको मूल आधार हो । अहिले नै कृषियोग्य जमिनको संरक्षण र उपयोगमा ध्यान दिएनौँ भने आगामी पुस्तालाई के देखाउने ?”

सहकारीपीडितको न्यूनतम लगानी फिर्ता गर्न सरकारलाई विशेष कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिँदै, उहाँले हिनामिना गर्ने सञ्चालकहरूको सम्पत्तिबाट असुल गर्नुपर्ने र लघुवित्त तथा मिटरब्याजपीडितहरूको रकम तुरुन्त फिर्ता गरिनुपर्ने माग गर्नुभयो । उहाँले आगामी बजेटले राजनीतिक दलहरूबीच सहकार्यलाई सुदृढ बनाउने र नेपाली जनतामा आशावाद र विश्वास जगाउने उल्लेख गर्नुभयो ।