पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने
जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाकोे एक समूह पोल्याण्डमा पठाउने बताएको छ ।मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्यान्डले गत वर्ष मे महिनामा बेलारुस र कालिनिनग्रादको रूसी भू–भागलाई समेट्ने गरी आफ्नो सीमाको लामो भागलाई बलियो बनाउने योजना घोषणा गरेको थियो ।
बर्लिनस्थित रक्षा मन्त्रालयका प्रवक्ताले पोल्याण्डमा जर्मन सैनिकको मुख्य जिम्मेवारी ‘इन्जिनियरिङ गतिविधि’ हुने बताएका छन् । यसमा ‘किल्लाहरू निर्माण, खाडलहरू खन्ने, काँडेतार बिछ्याउने वा ट्याङ्क अवरोधहरू खडा गर्ने’ समावेश हुन सक्छ ।
जर्मन रक्षा मन्त्रालयले भनेको छ, “सहयोगस्वरूप जर्मन सैनिकहरूले प्रदान गरेको सहयोग केबल इन्जिनियरिङ् गतिविधिहरूमा सीमित रहनेछ।”प्रवक्ताले संलग्न सैनिकहरूको यकिन सङ्ख्या भने बताउनुभएन । यो केवल दुई अङ्कको सङ्ख्या हुनेछ।उनीहरूले सन् २०२६ को दोस्रो त्रैमासिकदेखि सन् २०२७ को अन्त्यसम्म परियोजनामा भाग लिने अपेक्षा गरिएको छ ।
“तैनातीका लागि संसदीय अनुमोदन आवश्यक छैन किनकि ‘सैन्य संघर्षबाट सैनिकहरूलाई तत्काल कुनै खतरा छैन’,” जर्मन प्रवक्ताले बताउनुभयो । केही अपवादात्मक अवस्थाहरू बाहेक, जर्मन संसदले विदेशमा देशको सशस्त्र बलको तैनातीलाई अनुमोदन गर्नुपर्दछ।
सन् २०२२ मा रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि वार्साले किएभलाई दृढतापूर्वक समर्थन गरेको छ र युक्रेनका पश्चिमी सहयोगीहरूले आपूर्ति गरिरहेका हतियारहरूको लागि ट्रान्जिट मार्ग बनेको छ।वार्साले आफ्नो सेनालाई पनि आधुनिकीकरण गरेको छ र रक्षा खर्च बढाएको छ ।
जर्मनी संयुक्त राज्य अमेरिकापछि युक्रेनको दोस्रो ठूलो सैन्य सहायता आपूर्तिकर्ता हो र उसले किएभलाई सहयाग गर्न हवाई रक्षा प्रणालीदेखि बख्तरबन्द गाडीसम्मका उपकरणहरू पठाएको छ ।
