‘एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’ – राजेन्द्र लिङ्देन
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबैले जित्ने दिशामा मुलुुकलाई लैजानुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनसभामा उहाँले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकाले देशले जित्ने खालको निर्णय गर्न र मुलुकको उपलब्धिलाई संरक्षण गर्दै जनताको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिुनभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रक चन्द विप्लवले देशको स्वाधिनता र प्राप्त उपलब्धिको रक्षा गर्न सम्पूर्ण कम्युनिष्ट विचारधारका पार्टी एकताबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विगतमा ठूलो सङ्घर्ष गरेर मुलुकलाई यहाँसम्म दलले ल्याएका स्मरण गर्दै वर्तमान परिस्थितिमा जनताले एमालेलाई नजिकबाट हेरिरहेका बताउनुभयो ।
महासचिव चन्दले देशको स्वाधिनताका लागि एमालेसँग सहकार्य गरेर जाने बताउँदै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर नयाँ युगलाई सम्बोधन गर्न सक्ने गरी एउटै रातो झण्डामुनि सबै कम्युनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रकाश अधिकारीले एमालेको नयाँ नेतृत्वले नेपालको रक्षा गर्ने किसिमको निर्णय गर्ने बताउँदै एमालेको समृद्ध नेपालः सुखी नेपालीको नारा सफल होस् भन्ने कामना गर्नुभयो ।
उहाँले गत भदौ २३ र २४ गते सिंहदरबार, सर्वोच्च अदालत, देशभरका सार्वजनिक कार्यालय, व्यक्तिका घर जलाइनु दुखःद् भएको बताउनुभयो । जेनजी आन्दोलनमा महत्वपूर्ण दस्ताबेज जलाइएको अवस्थामा देशलाई सही मार्गमा एमालेले लैजानुपर्नेमा जोड दिनुभयो ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहाले एमालले जनमत पार्टीप्रति सकारात्मक सद्भाव देखाएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले एमालेले अहिलेको विषम परिस्थितिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका महसचिव डा सुरेन्द्र झाले एमालेको महासहाधिवेशनले सम्पूर्ण नेपाली जनतामा ऊर्जा प्रदान गर्ने काम गरेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले देशलाई समृद्ध बनाउन राजनीतिक शक्तिबीच उन्नत र मजबुद खालको सहकार्य जरुरी रहेको बताउँदै सम्पूर्ण राजनीतिक दल एकताबद्ध वर्तमान परिस्थितिबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।
उद्घाटन समारोहमा स्वागत गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी नेपाली जनताको मनमा बसेकाले मुलुकको विकास गर्ने बताउनुभयो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । एमाले महाधिवेशन सफलतालका लागि देशविदेशबाट शुभकामनासमेत प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले भक्तपुर कमिटीले नेपालको चुच्चे नक्सासहितको फ्रेम र भक्तपुरको भाँदगाउँले टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको थियो । कार्यक्रम विभिन्न जातजाति, भाषाभाषीले सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेका थिए भने विभिन्न गीतसङ्गीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । यो महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
