`

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ३० वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७५, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु ९०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

गण्डकी, ३० वैशाखः नेपाल पे्रस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटअन्तर्गत सोमबार तेस्रो दिन अन्तरराष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहितको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला मुस्ताङमा आइपुगेको छ ।

पोखराको अन्नपूर्ण केबलकारमार्फत फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्दै यात्रा सुरु गरेको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

टोलीले म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाम, रुप्से झरनालगायत पर्यटकीय गन्तव्यको प्रवर्द्धनात्मक भ्रमण गर्दै मुस्ताङ आइपुगेको हो । यात्राका सहभागीलाई अन्नपूर्ण गाउँपालिकामा बाजागाजाका साथ गाउँपालिकाका तर्फबाट स्वागत गरिएको थियो ।

सहभागीलाई स्वागत गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनलाई केन्द्रित गदै नागरिकलाई सुशासनसहितको सेवा प्रवाहमा पालिका संवेदनशील भएर काम गरिरहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु पोख्रेलले गाउँपालिकाले गरिरहेको सेवा प्रवाह र विकास निर्माणका गतिविधिका बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

पर्वतको जलजला गाउँपालिकामा नेपाल प्रेस युनियन पर्वतले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाकोे कृषि, पर्यटनको सम्भावनाबारे पालिकाका सूचना प्रविधि अधिकृत सुदीप पौडेलले जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले ४१ प्रतिशत जमिन वनजङ्गलले ढाकेको जलजला गाउँपालिकाले न्यूनतम स्रोतसाधनमा पनि जडीबुटी, जमिन, जङ्गल र कृषिमा सम्भावना खोजिरहेको जानकारी दिनुभयो । दुवै कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले गाउँपालिकाको सम्भावनालाई सञ्चारमाध्यममार्फत उजागर गरिने विश्वास व्यक्त गर्नुभयो ।

ललितपुरको हिमालय होटेलमा औपचारिक उद्घाटन गर्दै राजधानीसहित पोखरामा विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव, प्रेस स्वतन्त्रता र नेपाली पत्रकारितालगायत विषयमा विभिन्न सत्रमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

मङ्गलबार मुस्ताङको जोमसोममा जलवायु परिवर्तन र यसको प्रभाव, चुनौतीलगायत विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गर्दै लोमन्थाङ घोषणापत्र जारी गरिने नेपाल प्रेस युनियनले जनाएको छ ।

पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै

काठमाडौँ, ३० वैशाखः आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक निःशुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना हुने भएको छ । भगवती मानवकल्याण सङ्गठनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पाशुपत क्षेत्रस्थित पार्किङ चौरमा कार्यक्रम हुने जानकारी गराइएको हो ।

कार्यक्रममा नशामुक्तिका लागि देशविदेशबाट ३० हजारभन्दा बढीको सहभागिता रहने सङ्गठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र मिश्रले जानकारी दिनुभयो । शिविरमा भगवती मानवकल्याण सङ्गठन एवं पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम ट्रष्टका संस्थापक-सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको सान्निध्यमा देशविदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने उहाँले दाबी गर्नुभयो ।

माता भगवती आदिशक्ति जगत् जननी जगदम्बासँग पूर्ण एकाकार ऋषि धर्म सम्राट युगचेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजद्वारा शक्ति–साधनाको रहस्यबारे शिविरमा अवगत गराइने सङ्गठनकी नेपाल शाखा प्रमुख डा मिनु सिग्देलले जानकारी दिनुभयो । एक ऋषिको सान्निध्यमा अष्टाङ्ग योग, नवदा भक्ति एवं कुण्डली शक्तिका माध्यमबाट साधना पथमा उध्र्वगामी बन्ने ऐतिहासिक एवं दुर्लभ अवसर प्राप्त हुने उहाँको भनाइ छ ।

शिविरमा उपस्थित जनसमुदायलाई सद्गुरुदेव श्री शक्तिपुत्रजी महाराजको आध्यात्मिक, जनकल्याणकारी एवं चेतनात्मक चिन्तन सुन्ने सौभाग्य प्राप्त हुने उहाँले बताउनुभयो ।

दुई दिवसीय कार्यक्रममा पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको सङ्गठनका प्रचारमन्त्री नारायण सेढाइँले जानकारी दिनुभयो । दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुने उहाँले बताउनुभयो ।

यसैगरी साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुने एवं कार्यक्रमको दोस्रो दिन बिहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुने सङ्गठनले जनाएको छ । साथै शिविरमा निःशुल्क रूपमा शक्तिजल वितरण गरिने छ ।

नशाको लतका साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने, नशासम्बन्धी समस्या परेकाहरूका लागि सहायक सिद्ध हुने जनाउँदै सेढाइँले शक्तिजल शिविरमा निःशुल्क प्राप्त गर्न सकिने बताउनुभयो । निःशुल्क रूपमा नशामुक्त हुन आह्वान गर्दै सङ्गठनले टोल फ्रि नम्बर १८१०५०००१४५ सार्वजनिक गरेको छ ।

भगवती मानवकल्याण सङ्गठन एक जनकल्याणकारी आध्यात्मिक संंस्था हो । यसले नशामुक्त, मांसाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवं पुरुषार्थी समाज निर्माणका साथै जातिभेद, छुवाछुतलगायत सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ । सङ्गठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ अन्तर्गत पाँच हजारभन्दा बढी व्यक्तिलाई नशामुक्त बनाइसकेको छ ।

यसैगरी गत साउनदेखि शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षरोपण अभियानअन्तर्गत ‘एक वृक्ष, राष्ट्रका नाममा’ आमजनसमुदायको सहयोगमा जारी रहेको सङ्गठनले जनाएको छ । यस्तै सङ्गठनले योग, ध्यान, साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न निःशुल्क रूपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

मलेसियामा भव्यताका साथ मनाइयो बुद्ध जयन्ती

काठमाडौँ, ३० वैशाखः नेपाली राजदूतावास, क्वालालम्पुरले मलेसियास्थित नेपाली समुदायको सहकार्यमा २५६९औँ बुद्धजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ ।

समारोहमा क्वालालम्पुरस्थित कूटनीतिक नियोग तथा व्यापारिक प्रतिष्ठानका प्रतिनिधि, बौद्धिक समुदाय तथा नेपाली समुदायको उपस्थिति रहेको थियो । करिब छ सय जनाको सहभागिता रहेको समारोहमा मलेसियाका बौद्ध विहारका प्रमुख भिक्षु दातुक केश्री धम्मारतनाले प्रमुख अथितिका रूपमा उपस्थित भई बुद्ध पूर्णिमाको महत्त्वका बारेमा उजागर गर्नुका साथै विश्वको शान्ति र समृद्धिका लागि बुद्ध दर्शनको महत्त्व र योगदानका बारेमा प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा नेपाली राजदूत डा नेत्रप्रसाद तिम्सिनाले नेपालको लुम्बिनीमा जन्मेका बुद्धले अहिंसा, करुणा, प्रेम र प्रज्ञामार्फत विश्वशान्ति र राष्ट्र निर्माणका लागि अह्म योगदान गरेको बताउनुभयो । बुद्ध जन्मेको देश नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै मलेसियाको क्वालालम्पुरमा आयोजना गरिएको यो कार्यक्रममा बुद्धका सन्देशका बारेमा चर्चा गर्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस भएको उहाँको भनाइ थियो ।

राजदूत तिम्सिनाले लुम्बिनी भ्रमण गर्न, लुम्बिनीको विकासमा सहभागी भई बुद्धका सन्देशलाई विश्वभर फैलाई विश्वशान्ति कायम गर्नेजस्तो महत्त्वपूर्ण विषयमा योगदान गर्न सबैलाई अह्वान गर्नुभयो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३० वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ आठ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५० पैसा र बिक्रीदर ९७ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रूपैयाँ ७८ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ २० पैसा र बिक्रीदर नौ रूपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ सात पैसा र बिक्रीदर चार रूपैयाँ नौ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६० पैसा र बिक्रीदर नौ रूपैयाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २८ पैसा र बिक्रीदर २० रूपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४९ पैसा र बिक्रीदर १७ रूपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

‘कलैयाका बासिन्दाले अब घरमा शुद्ध र स्वच्छ खानेपानी उपभोग गर्न पाउने : मन्त्री यादव

कलैया (बारा), ३० वैशाखः खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कलैया–८ स्थित खपरताता खानेपानी आयोजनाको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले लामो समयदेखि पानीको समस्या भोगिरहेका यहाँका नागरिकले अब घरमा शुद्ध र स्वच्छ खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालन गरेका छौँ । सेवा सञ्चालनपछि यहाँ रहेको खानेपानीसम्बन्धी समस्या समाप्त भएसँगै शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् ।”

मन्त्री यादवले प्रत्येक नेपालीलाई शुद्ध र सुरक्षित खानेपानी प्रदान गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार अहिले मन्त्रालयले खानेपानीसम्बन्धी कामलाई तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी सोमबारदेखि आयोजना सञ्चालनमा ल्याएको खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार खपरताता खानेपानी आयोजना विधिवत् रूपमा सञ्चालन गरिएसँगै यहाँका नागरिकहरूमा खुशीयाली छाएको छ ।

कार्यक्रममा जसपा कार्यकारिणी सदस्य प्रमोद गुप्ता, प्रदेशसभाका पूर्वसांसद पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, सङ्घीय परिषद्का सदस्य असलम आलम, लालदेव यादव, कलैया–८ का वडाध्यक्ष रञ्जीत चौरसिया, नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, समाजवादी युवा सङ्घ बाराका जिल्ला अध्यक्ष सुजीत पाण्डेलगायत व्यक्तिहरूको उपस्थिति थियो ।

संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौँ, ३० वैशाखः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो ।

सिरीजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब ११ः०० बजेको समयमा करिब आठ हजार मिटरको उचाइमा पुगेका थिए । त्यही क्रममा मार्गेटाको श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फ्रान्सेली आरोही मार्गेटा मोरिङसँगै रहेका गाइड योगेन्द्र तामाङले जानकारी दिनुभएको प्रहरीले जनाएको छ । मृतकको शव समुद्री सतहदेखि करिब सात हजार ५०० मिटर उचाइमा रहेको जनाइएको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध

तनहुँ २९ वैशाखः यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्मको नौ महिनामा ती परिवारलाई रु तीन करोड ७९ लाख ६८ हजार २५६ उपलब्ध गराएको हो । वैदेशिक रोजगारीमा ज्यान गुमाएका, ठगीमा परेका र घाइते उपचारसहित कूल रु चार करोड ३४ लाख २० हजार २५६ क्षतिपूर्ति रकम उपलब्ध गराएको प्रशासन कार्यालयले जनाएको छ ।

ठगीमा परेका बाह्र जनालाई रु ५४ लाख दुई र दुर्घटनामा घाइते एक जनाको उपचारका लागि रु एक लाख रकम उपलव्ध गराइएको सामी कार्यक्रमका परामर्शकर्ता गोमा तिवारीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत १८१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ५४ वटा फर्छ्यौट भएका छन्भने १२७ वटा कारबाहीको प्रक्रियामा छन् ।

उहाँका अनुसार व्यास नगरपालिका ६३, भानुमा पन्ध्र, शुक्लागण्डकीमा २३, म्याग्देमा २१, भीमादमा १३, ऋषिङबाट १२, बन्दीपुर १७, देवघाट चार, घिरिङमा तीन र अन्य जिल्लाबाट नौ मुद्दा दर्ता भएका थिए ।

उहाँले भन्नुभयो “नौ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान लागेका नौ हजार १६० जनालाई सचेतनासम्बन्धी परामर्श दिइएको छ ।” सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

निजी क्षेत्रको सहयोगबिना देशको विकास हुँदैन: मन्त्री पाण्डे

नवलपुर (नवलपरासी ब सु पू), २९ वैशाख: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्र अगाडि नबढी कुनै पनि देशको विकास नभएको बताउनुभएको छ । जिल्लाको गैँडाकोटमा आइएमई ग्रुपको होटल इलाको आज उद्घाटन गर्दै उहाँले सरकारको प्रयासले मात्रै कुनै पनि देशलाई अगाडि बढाउन, विकसित गर्न र समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । “सरकारको पुँजी र प्रयासले मात्रै सम्पूर्ण कुरा सम्भव हुँदैन । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार, होटल बनाउन सरकारले सक्दैन”, मन्त्री पाण्डेले भन्नुभयो,“निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यमा देशको विकास गर्नुपर्छ भनेर संविधानमै तीनखम्बे अर्थनीतिलाई अङ्गिकार गरिएको छ । यसको पालना गरेर अगाडि बढौँ ।”

उहाँले हवाई सेवामा पनि निजी क्षेत्रको प्रवेश नभएको भए अहिलेको जस्तो विकासमा पुग्न नसकिने भन्दै निजी क्षेत्रले नै अवस्था सहज बनाएको बताउनुभयो । “यसै कारण हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । निजी क्षेत्रलाई ऐन, कानुन र नीतिमार्फत सहयोग पु¥याउन सरकारले सहजीकरण गर्ने हो । त्यसमा हामी तयार छौँ । लगानीमैत्री वातावरण बनाउन सम्पूर्ण सहयोग गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री पाण्डेको भनाइ थियो ।

उहाँले संस्कृति जोगाउनु र पुरातत्व जोगाउनु सबैको दायित्व भएको भन्दै इतिहास जोगाउने र आधुनिक विकासको नयाँ ढोका खोल्ने काम सँगसँगै गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले संस्कृति, पर्यटक, हवाई नीति समयसापेक्ष बनाउने विषयमा सरकारले तत्परता देखाएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं होटल सञ्चालक चन्द्रप्रसाद ढकालले आइएमई ग्रुप सातवटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबलकार र रिसोर्टका योजना बनाएर अगाडि बढेको बताउनुभयो । उहाँले नेपालमा पर्यटनको अपार सम्भावना रहेको र त्यसको उजागर गर्न सकेमा पर्यटनमा ठूलो फड्को मार्दै यसैबाट रोजगारी सृजना गर्न सकिने धारणा राख्नुभयो ।

आइएमई ग्रुपले आजदेखि सञ्चालनमा ल्याएको इला होटल तथा रिसोर्टमा स्वीट तथा डिलक्ससहित ६५ वटा कोठा रहेका छन्् । होटलमा एक हजार जना क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्वीमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधा उपलब्ध रहेको त्यस अवसरमा जानकारी दिइयो ।

प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल

काठमाडौँ, २९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेशसभा सदस्यसँग आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट ‘भर्चुअल’ बैठक गर्दै एमालेले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यसँग छलफल गरेको हो ।

बैठकमा पार्टी उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केन्द्र सरकारको तर्फबाट अवलम्बन गरिएका सोच र प्रदेशले बजेट तयार गर्दा ध्यान दिनुपर्ने विषयबारे धारणा राख्नुभएको थियो ।

बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले नीति तथा कार्यक्रम र बजेट परिमाणमुखी, जनमुखी बनाउन निर्देशन दिनुभयो । छलफलमा सातै प्रदेशका नेकपा एमाले प्रदेशसभा दलका नेता र मुख्यमन्त्रीहरूले विचार राख्नुभएको थियो ।

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

काँक्रेविहार (सुर्खेत), २९ वैशाखः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी गणतन्त्र निर्माणमा साथ दिन सबैलाई आग्रह गर्नुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आजदेखि सुरु भएको पार्टीको भातृ सङ्गठन वाइसीएल (योङ कम्युनिस्ट लिग)कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउनुभयो । सो अभियानलाई अझ तीव्र बनाउने घोषणा उहाँले गर्नुभयो ।

अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति अध्यक्ष दाहालले असन्तुष्टि जनाउनु भएको छ । उहाँले भन्नुभयो, “हामी सरकारको नेतृत्वमा रहँदा अन्तरराष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउने काम ग¥यौँ ।” पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि विभेद, अपमान र अन्याय गर्न खोजेको आरोप लगाउनुभयो ।

कर्णाली क्षेत्र नेपाली क्रान्तिको ऐतिहासिक केन्द्र भएकाले उहाँले प्रदेशको समृद्धिका लागि माओवादी नेतृत्वले सधैँ प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

पार्टीले जनता र आफ्नो वर्गसँग सम्बन्ध सुधारका लागि केन्द्रीय समितिबाट निर्णय गरेर जनतासँग माओवादी अभियान अघि सारेको उल्लेख गर्नुभयो । सोही अभियानअन्तर्गत तराई–मधेस अभियान सम्पन्न गरी ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको उल्लेख गर्दै दलित, महिला, मधेसी, थारू, मुस्लिम र आदिवासी जनजातिलाई समेट्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरूप चाहन्छौँ । अहिलेको निर्वाचन प्रणाली खर्चिलो, अपारदर्शी र जनविरोधी छ । यसले जनताको प्रतिनिधित्व होइन, पैसाको चलखेललाई संस्थागत गरिरहेको छ ।”

सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट वडास्तरका ७१८ प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा साङ्गठनिक सुदृढीकरण, राजनीतिक प्रशिक्षण, र भावी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।

खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी देशभरका खानेपानीका क्षेत्रमा काम भएको छ’

महेशपुर (बारा), २९ वैशाखः खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताउनुभएको छ ।
आज बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले देशभरका खानेपानीका समस्या समाधानमा सिङ्गो मन्त्रालयले काम गरीरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले योजना मात्रै होइन, परिणाम देखिने कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने काममा सरकार प्रतिबद्ध छ ।” पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री यादवले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो अबको प्राथमिकता भनेको तराई–मधेससहित देशका ग्रामीण बस्तीमा शुद्ध खानेपानी पु-याउने हो, यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा काम भइरहेको छ ।”

आज शिलान्यास गरिएको उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेसङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगञ्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिनुभयो ।

खैजेडीको घेरो भन्दै गर्दा भेटीए दिलिप रायमाझी

काठमाडौं – आगामी जेठ २ गते अर्थात केहि दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रमा समावेश अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ । दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीरामको यस गीतमा दिएको प्रस्तुती सुनिराखौं जस्तो छ ।

बुढासुव्वा डिजिटल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक २ मिनेट ५२ सेकेण्डको छ । यस गीतमा संगीत सम्योजन विपिन आचार्यले गरेका छन् भने रेकर्डिङ एम.बी. म्युजिक स्टुडियोमा गरिएको हो। यो गीतमा समावेश शव्द अनुसार समग्रमा चलचित्र ‘हेल्लो काँशीराम’ कमेडी शैलीमा देशको परिस्थितीलाई चित्रण गरेको बु्झ्न सकिन्छ ।

आर.आर. फिल्म वितरणमा ल्याउन लागेको यस चलचित्रमा चर्चित अभिनेता दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल, लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।चलचित्रको छायांकन यम आले मगरले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन मित्र डी. गुरुङले गरेका छन्। चलचित्रमा समावेश विभिन्न गीतमा नृत्य निर्देशन चर्चित कोरियोग्राफर कविराज गहतराजको रहेको छ भने द्वन्द निर्देशन शंकर महर्जनले गरेका छन्। पि.बी. थापाको लगानीमा तथा रिम विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका सह–निर्माता शान्ता ढकाल हुन् ।
सहायक निर्देशकको भूमिकामा जीवन गौतम, सावन शर्मा र सुमन खाँण रहेका छन् । पार्श्व संगीत साश्वत श्रेष्ठले तयार पारेका छन्। श्रृंगारमा दीपेन्द्र हमाल र भेषभुषामा करण बस्नेतले काम गरेका छन्।

रेडलाइन्स फिल्म प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्रको मिडिया तथा सोसल मिडिया व्यवस्थापन सेलिब्रेटी टाइम्स प्रा.लीले गरेको हो ।फस्टलुक पोस्टर सार्वजनिक गरेर एकाएक धेरैको ध्यान तानेको चलचित्रका अन्य सामाग्री टिजर, गीत लगायतले पनि दर्शकलाई फरक स्वाद दिइरहेको र दर्शकको ध्यान खिचिरहेको निर्देशक तथा लेखक रिम विश्वकर्माले जानकारी दिए । उनले भने, –‘टेक्निकल्ली रुपमा हामी केहि कमजोर देखिएका छौं होला तर समग्र चलचित्र हेर्नेले पुर्ण रुपमा रमाइलो मानेर घर फर्किनेछन् । त्यो हाम्रो ग्यारेन्टी हो ।’

इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद गुज्रिएको गोलीगठ्ठा नष्ट गर्ने क्रममा भएको एक दुर्भाग्यपूर्ण विस्फोटमा कम्तीमा १३ जनाले ज्यान गुमाएका छन्, जसमध्ये चार जना सैनिक र नौ जना स्थानीय बासिन्दा रहेका छन् ।

इन्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भन्नुभयो, “दुईवटा खाल्डाहरूमा विस्फोट सफलतापूर्वक गराइएको थियो, तर तेस्रो खाल्डामा विस्फोटकको तयारी भइरहेको बेला एक्कासि आकस्मिक विस्फोट भएको थियो, जसले गर्दा यो दुःखद घटना घट्न पुग्यो ।”

उहाँका अनुसार, विस्फोट हुनु अघि प्रयोगमा ल्याइएका सबै उपकरणहरूको सुरक्षा जाँच गरिएको थियो र सो स्थल लामो समयदेखि विस्फोटक पदार्थ नष्ट गर्ने प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो ।

दुर्घटनामा परेका सबै व्यक्तिहरूलाई पामेउङपेउक जनरल अस्पतालमा पु¥याइएको छ ।

उक्त घटनाको कारणबारे विस्तृत अनुसन्धान अगाडि बढाइने जनाइएको छ ।

शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी–इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ । सोही क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी सैन्य कारबाहीलाई अझ सघन बनाउने योजना रहेको स्पष्ट गर्नुभएको छ ।

हमासले आइतवार जानकारी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्षेत्रीय भ्रमणअघि एडन अलेक्ज्याण्डरको रिहाइ गरिने र अमेरिकी पक्षसँग युद्धविरामका विषयमा प्रत्यक्ष वार्ता चलिरहेको जानकारी गराएको थियो ।

हमासको सैन्य शाखा इज्जेद्दिन अल–कस्साम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले सोमबार एक सन्देशमार्फत् भनुभयो, “आज हामी अमेरिकी नागरिकता भएका इजरायली सैनिक एडन अलेक्ज्याण्डरलाई रिहा गर्ने निर्णयमा पुगेका छौं ।”

इजरायली प्रधानमन्त्री नेतन्याहूले यसअघि भन्नुभएको थियो, “इजरायलले कुनै युद्धविराम वा कैदीहरूको रिहाइमा सहमति जनाएको होइन, केवल एडन अलेक्ज्याण्डरलाई सुरक्षितरूपमा रिहा गर्नका लागि आवश्यक मानविय मार्ग उपलब्ध गराएको हो ।”

एक इजरायली अधिकारीका अनुसार, एडन अलेक्ज्याण्डरको स्वागतका लागि गाजाको दक्षिणी सिमानास्थित रे इम क्षेत्रको प्रारम्भिक केन्द्रमा विशेष सैन्य टोली तैनाथ गरिएको छ ।

हमासले सो बन्धकको रिहाइलाई युद्धविराम र मानवीय सहायता पुनः सुचारु गर्ने पहलसँग जोडिएको सकारात्मक संकेतका रूपमा लिएको छ ।

हमास निकट स्रोतले एएफपीलाई जानकारी दिँदै भन्यो, “इजरायलले सोमबार बिहान ९ः३० बजेबाट आफ्नो हवाई गस्ती, ड्रोन गतिविधि र सैन्य कारबाही स्थगित गरेको जानकारी दिएको छ, जसले सुरक्षित मार्ग सुनिश्चित गरेको छ ।”

स्थानीय नागरिकहरूका अनुसार, यो अस्थायी शान्तिले गाजा क्षेत्रमा केही राहत प्रदान गरेको छ ।

गाजाको दक्षिणी सहर खान युनिसमा विस्थापित भएकी ३४ वर्षीया सोमाया अबु अल–कासले भन्नुभयो,“थप केही समयअघि यहाँ शान्ति महसुस भयो, कुनै बमबारी भएन, विमानको आवाज पनि थिएन, जुन गाजाका लागि निकै दुर्लभ अवस्था हो ।”

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।

ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।

ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन सङ्ख्याको तत्काल पुष्टि गर्न सकेनन् । बङ्गलादेशमा यस्तो समयमा चट्याङ लागेर मृत्यु हुनु सामान्य हो ।

यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौ जनाको चट्याङका कारण मृत्यु भएको थियो । विगत केही वर्षयता बङ्गलादेशमा चट्याङ लागेर हुने मृत्युको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बङ्गलादेश यस्ता प्राकृतिक विपत्तिहरूको लागि अझ बढी संवेदनशील बनेको छ ।

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम, २९ वैशाख : सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको हो ।

यसअघि आजै दिउँसो लुप्र०२००१च ०१७७ नम्बरको जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुने श्रीमान्श्रीमती हुन् ।

दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार जीपचालक दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ४४ वर्षीय लीलामणि भण्डारी र सोही स्थानका ५० वर्षीया दुर्गा ओली हुनुहुन्छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ’: अध्यक्ष उपेन्द्र यादव

मोरङ, २९ वैशाखः जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको प्रथम जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले ठूलो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, नागरिकको मौलिक हकलाई संस्थागत गर्नु आजको आवश्यक्ता भएको प्रष्ट पार्नुभयो ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका यादवले मुलुकमा भ्रष्टाचार, कमिशनतन्त्र, विचौलियाको चलखेल नियन्त्रण गरी सुशासन कायम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पार्टीले संविधान संशोधन गर्ने स्पष्ट धारणाअनुसार मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न सुझाव दिनुभयो ।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङले बितेर गएको राजतन्त्र पुनःफर्केर नआउने बताउनुभयो । पार्टीका महासचिव रेखा यादव, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जयराम यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव, नेपाली कांग्रेका प्रदेश कोषाध्यक्ष राजेश गुप्तालगायतले लोकतान्त्रिक व्यवस्थाको विकल्प निरङ्कुश शासन व्यवस्था नहुने धारणा राख्नुभयो । अधिवेशनले आजै जिल्ला नेतृत्व चयन गर्ने छ ।

१५ दिनसम्म कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द

सुर्खेत । कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिएको छ । उक्त सडक खण्डको निर्माणको काम भइरहेकोले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो । कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

रामाघाट–साईगाउँ खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पार गर्नु पर्नेछ । कालोपत्रे सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनिबगर र साईगाउँ क्षेत्रमा निकै सास्ती भएपछि सडक निर्माणको काम थालिएको हो ।

सडक डिभिजन कार्यालय खड्का के एस के शिशिर बसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर निर्माणको काम थालेको थियो । सडक निर्माणको क्रममा सवारी चापले काम गर्न समस्या भएपछि असार अघिसम्म काम सक्नेगरी बैकल्पिक रुट दिनु परेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिए । ‘दैनिक आवतजावत हुने उच्च सवारी चापले निर्माणमा अवरोध भयो,’ उनले भने, ‘निर्माणले अपेक्षाकृत गति लिन नसकेको र दुर्घटनाको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनलाई सुरक्षा मिलाइदिन पत्राचार गरिएको हो ।’

राजमार्ग जेठ ११ गतेसम्म दैनिक विहान ८ बजेदेखि १२ र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म बन्द हुनेछ । लामो समयसम्म सवारी रोक्नुभन्दा बैकल्पिक सडकबाट सवारी आवागमन मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । नागरिकलाई दुःख दिनेभन्दा पनि वर्षात अगावै साईगाउँ–सिस्ने खण्डको सडक सुधार गरेर सहज आवागन गराउने लक्ष्य रहेको भण्डारीले बताए ।

२०८३ असारमा काम सम्पन्न गर्ने गरी खड्का के एस के शिशिर बसन्त जेभीले पाली–रामाघाट १२ र सिस्ने–साईगाउँ १२ गरी २४ किलोमिटर सडक निर्माण सम्झौता गरेको छ । कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डको आठ किलोमिटर सडकसहित जेभीसँग २४ करोडमा सम्झौता गरिएको भण्डारीले जानकारी दिए । बिग्रिएको सडक सुधार, नाला निर्माण र असारसम्म वेश विछ्याएर भदौसम्ममा सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।

भारत–पाकिस्तानको युद्धविरामको घोषणापछि कश्मीरमा चहलपहल बढ्यो

एजेन्सी । भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेपछि भारत प्रशासित कश्मीरका बासिन्दाहरूले राहत महसुस गरेका छन् । आणविक हतियार सम्पन्न छिमेकी भारत र पाकिस्तानले चार दिनसम्म सैन्य हमलापछि शनिबार युद्धविरामको घोषणा गरेका थिए ।शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ । विशेष गरी नियन्त्रण रेखा (एलओसी) नजिकै बस्नेहरूले सहज महसुस गरेका छन् ।

दुई हप्ताभन्दा बढी समयदेखि तनावमा विताएका स्थानीयहरू आफ्नो नियमित जीवनमा फर्किरहेका छन्। भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरका बजार र पसलहरू थप तनाव बढ्ने डर घटेपछि खुल्न थालेका छन् ।

‘यहाँ कश्मीरमा, वातावरण तनावपूर्ण छ, र व्यापार ठप्प भएको छ। त्यसैले अब आशा छ कि अवस्था राम्रो हुनेछ,’ एक बासिन्दा आसिफ शफिकले भने।बुधबार नयाँ दिल्लीले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर भित्र घातक हवाई हमला गरेपछि दुई देशहरू बीच लडाईं सुरु भएको थियो ।

श्रीनगरबाट लगभग ८९ किलोमिटर पूर्वमा रहेको पहलगाममा गत महिना बन्दुकधारीहरूले २६ जनाको हत्या गरेको बदला लिन हवाई हमला गरिएको थियो।भारतले पाकिस्तानलाई बन्दुकधारीहरूलाई सहयोग गरेको आरोप लगाएको तर उक्त आरोप पाकिस्तानले अस्वीकार गर्दै आइरहेको छ ।(

चलचित्र “तुलसीराम” निर्माण घोषणा

काठमाण्डौ : बुद्ध जयन्तीको अवसर पारेर चलचित्र “तुलसीराम” निर्माण घोषणा गरिएको छ। चलचित्र आगामी जेष्ठको अन्तिम साता बाट छायाङ्कनमा जाने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन काठमाण्डौ, चित्लाङ्ग र हेटौडाको बिभिन्न ठाउँमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ।

एल आरआरको ब्यानरबाट निर्माण हुन् लागेको चलचित्रको निर्देशक तथा निर्माता बाबु शाहेब बलामी हुन भने चलचित्रमा बलामीकै कथा रहने छ। चलचित्रको लेखक शंकर अधिकारी घायल हुन । चलचित्रको कार्यकारी निर्माता तथा द्वन्द निर्देशक देव महर्जनको रहने छ भने चलचित्रमा बिकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहने छ ।

पछिल्लो समयका चल्तीका कलाकारहरु राखेर निर्माण हुन लागेको चलचित्रमा पारिवारिक कथालाई जोड दिईने छ भने तुलसी र रामको कथालाई विशेष प्राथमिकता दिएर अगाडी बढाउने निर्माण पक्षले जानकारी दिएको छ ।

भदौ २७ मा दयाहाङ र रिश्माको ‘रिमै’ रिलिज घोषणा

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्ती अवसर पारेर सार्वजनिक तीन पोस्टर मार्फत् यो सिनेमा आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

सिनेमाको सार्वजनिक तीन पोस्टर मध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन् । दोस्रो पोस्टरमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ । तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकारहरु पोस्टरमा अटाइएका छन् । सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरुलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ । यी तीन पोस्टरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

कास्की । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम सहित धार्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएको छ ।

महायज्ञको आठौँ दिनमा १०० जना बटुकहरुको समुहिक ब्रतबन्ध सम्पन्न भएको छ भने हालसम्म करिब ५०० जना बटुकहरुको ब्रतबन्ध गरिसकिएको छ ।

त्यसैगरी, १०० जना जेष्ठ नागरिक आमा–बुवाहरूको चौरासी पूजासमेत विधिपूर्वक सम्पन्न गरिएको छ । चौरासी पूजामा सहभागी जेष्ठ नागरिकहरूको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै वैदिक विधिअनुसार पूजापाठ गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देल, बिशेष अतिथिमा किरात धर्मगुरु चन्द्रकुमार शेर्मा रहेका थिए । महायज्ञलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिन्देलले धर्मको नाममा राजनीति गर्नु आमाको रगत खानु सरह भएको कडा टिप्पणी गरेका छन्। उनले धर्मलाई संकीर्णताको रुपमा नबुझ्न र समाज रुपान्तरणको माध्यमका रुपमा लिनुपर्नेमा जोड दिए ।
लिन्देलले भने, ‘धर्म भनेको जीवनशैली हो, यसलाई शक्ति, पद र स्वार्थको हतियार बनाउनु दुर्भाग्यपूर्ण हो ।’
कोटिहोममा प्रतिनिधी सभा संघीय संसद अन्तर्गतका महिला तथा सामाजिक मामिला समितिका सभापति तथा संस्कृत भाषामा सपथ लिने एकमात्र सांसद किरण कुमार शाहको पनि उपस्थिति रहेको थियो । उनले धार्मिक शिक्षा र संस्कारको प्रवद्र्धनमा यस्तो यज्ञले सकारात्मक भूमिका खेलेको बताउँदै महिलाहरूको समेत सक्रिय सहभागिता प्रशंसनीय रहेको उल्लेख गरिन् ।

यसैक्रममा, गण्डकी प्रदेश सरकारकी सचिव कमला दाहालले विशेषगरी वृद्धवृद्धा, बालबालिका र अपांग व्यक्तिका लागि संरक्षित आवासका रुपमा यो आश्रम सञ्चालन गरिने बताउँदै सामाजिक उत्तरदायित्वका कार्यमा सरकार प्रतिबद्ध रहेको प्रस्ट पारिन् ।
कास्की जिल्लामा १३ रोपनी जग्गामा ‘मामाघर आश्रम’ स्थापना गरिने विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जीले समेत जानकारी दिएका छन् ।

श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबार देखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन सुरु गरेका छन्। उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

नियमित हुने रक्तदान कार्यक्रममा सोमबार २८ यूनिट संकलन भएको छ भने आज सम्म जम्मा २७५ यूनिट रगत संकलन भएको छ। आजका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देलले पनि रक्तदान गरेका छन् ।

कोटिहोम आउने भक्तजनले आफू सक्ने सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको मानब सेवा फाउण्डेशनका प्रचार–प्रसार संयोजक लेखाराज ढकालले जनाएको छ । संयोजक ढकालका अनुसार आज मात्रै करिब २० हजार भक्तजनको सहभागिता भएको समेत जानकारी दिएका छन्।

महायज्ञमा गण्डकी प्रदेशका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत लगायत अन्य देशबाट समेत हजारौँ श्रद्धालुहरूको उपस्थित रहेको छ। महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन भएको थियो । यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले उपस्थिति रहेको थियो।

विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन्।

वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यानदिन जरुरी छ : वनमन्त्री शाही

काठमाडौँ, २९ वैशाख : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय गोष्ठी उद्घाटन कार्यक्रममा उहाँले वनमा काठ सड्ने तर उपभोक्ताले नपाउने समस्या समाधान गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री शाहीले भन्नुभयो, “यीलगायत विविध समस्या छन्, यसमा के–कस्ता उपायहरू अवलम्बन गरी वनको संरक्षण र काठको सदुपयोग बढाउन सकिन्छ भनेर यो गोष्ठीमा छलफल होस् र निष्कर्ष निस्कियोस् ।”

उहाँले सङ्घीय शासन प्रणालीअनुसार वन व्यवस्थापनको प्रमुख जिम्मेवारी प्रदेश तहमा पुगेको भए पनि समग्र नीति निर्माण, प्राविधिक मापदण्ड निर्धारण र अन्तरसरकारी समन्वय भने सङ्घीय सरकारको दायित्व भएको उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले गोष्ठीले विगतका उपलब्धिहरूको समीक्षा गर्दै वर्तमान चुनौतीहरूमा गहिरो छलफल गर्ने अपेक्षा गर्नुभयो । “यसका साथै दिगो वन व्यवस्थापन, स्थानीय समुदायको सक्रिय सहभागिता, वन पैदावारको आन्तरिक उत्पादन वृद्धि गरी काठ तथा फर्निचरको आयात प्रतिस्थापन गर्ने उपायबारे छलफल आवश्यक छ”, उहाँले भन्नुभयो, “गोष्ठीले सबै नागरिकले वन पैदावार उपयोग गर्न सक्ने पहुँच सुनिश्चित गर्ने उपाय तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मार्गदर्शन गर्नेगरी निष्कर्ष निकाल्ने अपेक्षा गरेको छु ।”

वन क्षेत्रको जमिन अन्य प्रयोजनका लागि प्रयोग गर्न पर्दा सम्भव भएसम्म वैकल्पिक उपाय अपनाउनुपर्ने र यसमा विकास र वातावरण सन्तुलनको सिद्धान्त पालना गर्दै प्रदेश सरकार तथा डिभिजनल वन कार्यालयले सहजीकरण गर्नुपर्ने मन्त्री शाहीको जोड थियो ।

बुद्धका अहिंसा तथा शान्तिका शिक्षा अहिले पनि उत्तिकै सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, २९ वैशाखः पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बुद्धका शिक्षामध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै नेता खनालले बुद्ध दर्शनको गहन अध्ययन गरी त्यसभित्रका सकारात्मक र सान्दर्भिक पक्षलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले शान्तिपूर्ण सहअस्तित्व, सम्पूर्ण जीवन र जगतमा हुने परिवर्तन, लैङ्गिक समानता, छुवाछुत तथा उच्च र निचको वर्णवादी सिद्धान्त, सामूहिकताको सिद्धान्तजस्ता नीति र सिद्धान्तले समाजको विकास र रूपान्तरणको प्रक्रियाका निम्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

बौद्ध दर्शनका अध्येतासमेत रहनुभएका नेता खनालले विश्व शान्तिका अग्रदूत तथा महान् दार्शनिक गौतम बुद्धप्रति सम्मान र श्रद्धा अर्पण गर्दै सम्पूर्ण बौद्धजनलाई शान्ति, सद्भाव र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले किरात समुदायको उभौली पर्वको अवसरमा पनि सम्पूर्ण नेपालीलाई सुख शान्ति तथा समृद्धिको शुभकामना प्रकट गर्नुभयो ।

सुन्धारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

काठमाडौँ, २९ वैशाखः काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर १८ वर्षीय कुमारको मृत्यु

चितवन, २९ वैशाखः नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन् ।

मझुवास्थित नदीमा डुबेर बेहोस भएका उहाँलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ २९ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षालाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताउनुभएको छ ।

छब्बीस सय ४९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा उहाँले आफू पहिले प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्म क्षमताको अन्तरराष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताउनुभयो ।

उहाँले बुद्धको जन्मका आधारमा २६४९औँ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गर्नुभयो । “बुद्धका शिक्षाहरू सरल र स्पष्ट छन् । विश्वमा शान्ति छाउनुपर्छ । बुद्धका शिक्षाहरू शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, असल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पनि बुद्धका मुख्य उपदेशहरूमा भिन्नता छैन । बुद्धका ज्ञानहरू विस्तारका क्रममा त्रिपिटक (विनयपिटक, सूत्रपिटक र धम्मपिटक)मा बाँढियो । पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरू अहिले पनि सुरक्षित छन् । हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरू गर्दै जानुपर्ने छ ।”

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपालका लागि म्यान्मारका राजदूत र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिलगायतले बुद्धजयन्तीका अवसरमा शुभकामना दिनुभएको थियो । बुद्धजयन्तीका अवसरमा यसअघि प्रधानमन्त्री ओली आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भई काडमाडौँ फर्कनुभएको थियो ।

निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्ः अर्थमन्त्री पौडेल

काठमाडौँ, २९ वैशाख: उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक बर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट तर्जुमाका लागि प्रस्तुत सुझाव ग्रहण गर्दै आज उहाँले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्व राम्रोसँग बुझेकै कारण सरकारले अधिकतम सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो,“वर्तमान सरकार गठन भएलगत्तै निजी क्षेत्रले लामो समयदेखि भनिरहेका समस्या अन्त्य गर्न कानुन संशोधनलगायतका महत्वपूर्ण प्रयास भएका छन् । त्यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय लिएर अघि बढिरहेका छौँ । आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनलाई सरकारले आत्मसात गर्नेछ ।”

आमउपभोक्ताको आम्दानी, रोजगारी, उत्पादन र उत्पादकत्वसहित समग्र राष्ट्रिय आयआर्जन बढाउने सिलसिलामा सरकारले एकपछि अर्काे सुधारका कदम अघि बढाएको भन्दै उहाँले अर्थतन्त्रका क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकार गम्भीर र सजग रहेको बताउनुभयो । वर्तमान सरकार गठन भएयता अर्थतन्त्रका प्रयास र सबैजसो परिसूचकमा सकारात्मक प्रगति भएको तथ्यले बताएको उहाँ अर्थमन्त्री पौडेलको भनाइ थियो । “सरकार हाल प्राप्त उपलब्धिमै चित्त बुझाएर बस्दैन, थप उपलब्धि हासिल गर्नपर्छ भन्ने मान्यताका साथ आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागेका छौँ”, उहाँले भन्नुभयो ।
निजीक्षेत्र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले यसको आत्मबल र विश्वासलाई प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको जनाउँदै अर्थमन्त्री पौडेलले चेम्बरले दिइएका उचित सुझावलाई आवश्यकताका आधारमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारबाट निजी क्षेत्रले ठूलो अपेक्षा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको वार्षिक नीति तथा कार्यक्रमले पनि आगामी दिनमा अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने देखिन्छ । निजी क्षेत्र सम्मिलित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले महत्पवूर्ण सुझाव दिएको छ । त्यसको कार्यान्वयनले आर्थिक क्षेत्रमा आशाको संकेत देखिनेछ ।”

आर्थिक समृद्धिका महत्वपूर्ण आधार कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास, रोजगारी सृजना, व्यावसायिक र औद्योगिक लगानीको वातावरण तथा उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राखेर आगामी बजेट निर्माण हुनुपर्नेमा जोड दिदै चेम्बरले गैरकर, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, राजश्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण, भन्सारलगायत विषयमा सुझाव प्रस्तुत गरेको छ ।

यस्तै, विद्युतीय सवारीसाधनमा कर वृद्धि गर्न नहुने तथा आयातित सामानमा अति आवश्यक वस्तुबाहेक एमआरपी अनिवार्य हुन नहुने, आगामी बजेटमा बैङ्क, वित्तीय तथा बिमा, कृषि जडिबुटी तथा वनजन्य उत्पादन, ऊर्जा र उद्योग वाणिज्य तथा आपूर्तिका विषयमा समेट्न र सम्बोधन गरिनुपर्नेलगायत एक सय एक विषयमा दिइएको छ ।

घर भाडामै काठेखोला गाउँपालिकाको ६० लाख खर्च

गलकोट (बागलुङ), २९ वैशाखः यहाँको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ । मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ ।

लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन् । जिल्लाका सात पालिकाको आफ्नै भवन छभने दुई पालिकाको भवन निर्माणको चरणमा छन् । तर काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुङ्गो लगाउन नसकेको हो ।

गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका–२ अछेतेका स्थानीय गणेशबहादुर भण्डारीले बताउनुभयो । उहाँले गाउँपालिकाले नौ वर्षसम्म जग्गा र भवनको टुङ्गो लगाउन नसकेको बताउनुभयो ।

“जबसम्म गाउँपालिकाले पायक पर्ने स्थानमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छाड्दैनौँ, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा समेत काठेखोला गाउँपालिका अझै भाडाकै घरमा छ”, भण्डारीले भन्नुभयो, “गाउँपालिकालाई स्थानीयले देखाएको जग्गामा भवन बनाउन कस्ले रोक्यो, अछेते बजार नजिकै भवन बनाउँदा सबैलाई पायक पर्दछ, सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिलेसम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ ।”

गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । काठेखोलाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो ।

नौ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । अघिल्लो पटक कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो । सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर रु एक करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताउनुभयो । भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्निसिङको काम गरिरहेको बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुङ्गो लगाउन सकेको छैन ।

त्यहाँका केही स्थानीयले सुलडाँडा र केहीले अक्षतेमा केन्द्र राख्ने विषयमा स्थानीयबीच विवाद भइरहेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्नाले भवन निर्माणमा ढिलाइ भएको हो ।

आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी उँभौली पर्व मनाईँदै

काठमाडौँ, २९ वैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङ्को ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको छ ।–––

बुद्ध जन्मभूमि लुम्बिनीे गौरवको केन्द्रः मुख्यमन्त्री आचार्य

लुम्बिनी, २९ वैशाखः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताउनुभएको छ । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली जनताको सक्रिय सहभागिता र सहकार्यमा मात्र लुम्बिनीको दीर्घकालीन र दिगो विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भगवान् बुद्धका उपदेशहरूबाट प्रेरणा लिएर सामाजिक सद्भाव, सहिष्णुता, एकता र समर्पणको भावना फैलाउन आग्रह समेत गर्नुभएको छ ।

लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यका साथ प्रदेश सरकार अघि बढिरहेको समेत उहाले उल्लेख गर्नुभएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रविन्दुमा राखी कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर ‘बुद्ध सर्किट’ निर्माण गर्ने र समग्र १२ जिल्लालाई समेट्ने ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणालाई कार्यान्वयन गर्ने सङ्कल्प गरिएको उहाँले उल्लेख गर्नुभयो ।

“लुम्बिनीको समग्र विकासका लागि तयार पारिएको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित छ”, मुख्यमन्त्री आचार्यले सन्देशमा भन्नुभएकोे छ, “ बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा, सदाचार र शान्तिको मार्गदर्शनले व्यक्ति, समाज, राष्ट्र र विश्वकै कल्याणमा सकारात्मक प्रभाव पार्ने छ भन्ने दृढ विश्वास लिएको छु ।”

उहाँले लुम्बिनीको पूर्वाधार, पहुँच, पर्यटन प्रवद्र्धन र विश्व समुदायसँगको सहकार्यका माध्यमबाट लुम्बिनीलाई विश्वस्तरीय गन्तव्यस्थल बनाउन तीव्र प्रयास भइरहेको जानकारी दिनुभयो ।

गौतम बुद्धको २५६९औँ जयन्तीका अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम

लुम्बिनी, २९ वैशाखः भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध पूर्णिमा विशेष समारोह आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा कार्यक्रम हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताउनुभयो । विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय तथा प्रदेशमन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने उहाँले बताउनुभयो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथीमा परेकाले यस दिनलाई बुद्ध जयन्तीको रुपमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गरिएको छ ।

विकास कोषले पच्चीस सय ६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने जनाएको छ । विकास कोषले बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहमा वैशाख तीन दिनसम्म बुद्धजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले वैशाख २८, २९ र ३० गते तीनदिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताउनुभयो । उहाँले लुम्बिनीको विकासका लागि सुशासनको आवश्यकता पनि उत्तिकै अपरिहार्य बताउँदै बुद्धजयन्ती मुलुक र विश्वकै लागि गौरवको विषय भएको बताउनुभयो ।

गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्माणको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको उपाध्यक्ष लामाले बताउनुभयो । गौतमबुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले दक्षिण एसियाका दुई ठूला शक्तिशाली राष्ट्र भारत र पाकिस्तान युद्ध उन्मुख भइरहेका बेलामा बुद्धजयन्तीका दिन लुम्बिनीबाट शान्तिको सन्देश जाओस् भन्ने प्रयत्न लुम्बिनी विकास कोषले राखेको बताउनुभयो ।

तीनदिने कार्यक्रमअन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ सम्पन्न भएको छ । बुद्धजयन्तीको मुल कार्यक्रम अघि आज भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थनासभा र शोभायात्रा हुनेछ ।

यसका साथै बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तिधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने उहाँले बताउनुभयो ।

बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते हरेक वर्ष आयोजना हुने बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिनेगरी शोभायात्रा गरिने छ ।

अध्यक्ष दाहालद्वारा बुद्धजयन्तीको शुभकामना

काठमाडौँ, २९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हाँसिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ ।

गौतमबुद्धको जन्मजयन्तीको अवसरमा आज शुभकामना, व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो ।”

बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ, “शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको पच्चीस सय ६९औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतमबुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “गौतमबुद्धले व्यवहारबाटै दिनुभएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ, क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन् । बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ ।”

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

काठमाडौँ, २९ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।”

उहाँले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गर्नुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा बुद्धजयन्तीको शुभकामना

काठमाडौँ, २९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ ।

पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै सो कुरा बताउनुभएको हो । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।

राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गर्नुभएको छ

पच्चीस सय ६९औँ बुद्धजयन्तीको शुभ अवसरमा गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गर्नुभएको छ ।

बुद्ध पूर्णिमाः जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ

काठमाडौँ, २९ वैशाखः एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम सुनेरै मानिसहरू तर्सिन्थे । उनको क्रूरतालाई सदाका लागि बन्द गर्न कोशल देशको भारदारीसभाले अङ्गुलिमाललाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो । यसबाट व्यग्र बनेकी माता छोरोलाई अन्तिम चोटि आफ्नै आँखा सामुन्ने हेर्न चाहन्थिन् । तिनले भेट्न नपाउँदै बुद्ध अङ्गुलिमालको अगाडि देखा पर्नुभयो । श्रावस्तिमा भिक्षाटन पछि अङ्गुलिमाल भएकै जङ्गलको बाटोबाट फर्कन खोज्दा त्यहाँ खेतमा काम गरिरहेका किसानहरूले बुद्धलाई उक्त बाटो भई नजान सल्लाह दिएका थिए तर, उहाँले मान्नुभएन ।

अङ्गुलिमाल एक व्यक्तिको मात्रै प्रतीक्षामा थिए । जो कसैलाई मारेर एक औँठा मात्रै जुटाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नामा थिए र एक हजार औँठा जम्मा पार्ने उसको वर्षौंसम्मको अभियान सफल हुँदैथियो । बुद्धलाई देखेपछि आफ्नो उद्देश्य अब पूरा हुने भयो भन्ने ठानेर ऊ बुद्धलाई भेटाउन पछि पछि कुद्न थाल्यो । जति कँुदे पनि भेटाउन नसकेपछि त्यो पुरुष को होला भन्ने कूतुहल उसमा जाग्यो र सोध्यो – “तिमी को हौ ? अडिनू ।”

उनले अगाडि भने, “म देखेर अलि कति पनि डराएनौँ । म कुदेकोकुद्यै छु र थाकिसकेँ पनि । तिमी थाकेका छैनाँै । आत्तिएका पनि छैनाँै । यसअघि मेरो सामुन्ने कसैले उभिनसम्म हिम्मत गर्न सक्दैनथे ।” प्रत्युत्तरमा बुद्धले भन्नुभयो, “म कुदेको छैन । तिमी पो यो संसारमा लगातार कुदिरहेका छौँ । भागदौड गरिरहेका छौँ । क्षणिक सुखका लागि आफैँलाई दुःखको भूमरीमा धकेलिरहेका छौँ । सोच त, तिमी त वास्तवमै अहिंस्रक हौ नि !”

तीक्ष्ण बुद्धिका अङ्गुलिमाललाई तत्क्षण नै होस जाग्यो कि उसले मूर्खतावश यी सब नकाम गरिरहेको छु भनेर । उनलाई बुबाआमाले राखिदिएको नाम अहिंस्रक थियो । आफ्नो कुकर्मप्रति उनलाई भयङ्कर पश्चाताप र ग्लानि भयो । बिना विलम्ब उनले बुद्धसामु भिक्षु बन्न अनुनय गरे र उनी भिक्षु भए । उनकी आमा मारिनबाट बचिन् । जन्म दिने आमाको हत्या गर्नबाट अङ्गुलिमाल बच्यो । त्यसभन्दा ठूलो कुरा अङ्गुलिमालले हिंसालाई त्याग्यो र मुक्तिको मार्ग भेट्टायो ।

बुद्धले बुद्धत्व लाभ गर्नुभएपछि बहुजन हित बहुजन सुखका लागि ४५ वर्षसम्म गाउँ–गाउँ सहर–सहर घुम्नुभयो । विश्राम लिनु भएन । क्षणिक सुखका पछाडि नदौडेर स्थायी सुखको खोजीमा लाग्न दुःखीजनलाई उत्प्रेरणा दिँदै हिँड्नुभयो । बाटो देखाउँदै अघि बढिरहनुभयो । मेरो शरणमा आउ, म मुक्ति दिलाइदिन्छु भनेर बुद्धले आफूकहाँ आउने कसैलाई पनि कुनै आश्वासन दिनुभएन । 

 सांसारिक सुख, वैभव, पद वा प्रतिष्ठाका लागि दिनरात नभनी भागदौड गरिरहेका अज्ञानीजनलाई सांसारिक वस्तु सबै क्षणभङ्गुर छन्, नाशवान् छन्, परिवर्तनशील छन्, त्यसैले ती अनित्य हुन् भन्ने ज्ञान बाँड्नुभयो । जुन अनित्य हुन्, ती सुखकर हुँदैनन्, दुःखदायी हुन्छन् । अनित्य र दुःखदायी वस्तु ‘म’ र ‘मेरा’ हुन सक्दैनन्, त्यसकारण अनात्म हुन् । त्यसमाथि कसैको पनि वश चल्दैन । ती शाश्वत र अजर अमर भएर रहन सक्दैनन् । अनित्य, अनात्म र  दुःखदायी कुराहरू त्यसकारण त्याज्य छन् भन्ने जीवन दर्शनलाई उहाँले जीवनको अन्तिम क्षणसम्म पनि जनसाधारणलाई सम्झाउँदै बुझाउँदै हिँड्नुभयो । 

बुढ्यौलीले जर्जर भइसकेको आफ्नो शरीरलाई थोत्रो गाडाजस्तो ठान्नु हुने उहाँले आफ्नो शरीरलाई त्यागेर महाप्रस्थान गर्न लाग्दाको अन्तिम घडीसम्म पनि विश्राम लिनुभएन । यो दौड उहाँको बुद्धचर्या थियो, जुन मैत्री र करुणाले ओतप्रोत थियो । अशक्तावस्थामै सुभद्र नामका एक जिज्ञासु बुद्धलाई भेट्न पाउँ भनेर जिद्दी गर्दै थिए । उनले संसारमा बुद्धको दर्शन अत्यन्त दुर्भल हुन्छ भनेर आफ्नै गुरुको मुखबाट सुनेका रहेछन् । भिक्षुहरूले देह त्याग्ने अन्तिम घडीमा कष्ट हुन्छ भनेर बुद्धसामु जानबाट रोकिरहेका थिए । तर, आफूकहाँ आएर प्रश्न राख्ने उत्कट चाहना बोकेर आएका सुभद्रलाई बुद्धले नरोक्न भन्नुभयो । 

सुभद्रको प्रश्न थियो, “संसारमा सबैले आ–आफ्नै धर्म–सम्प्रदाय सर्वश्रेष्ठ छ भन्ने गर्छन् । सर्वश्रेष्ठ धर्म–सम्प्रदाय छुट्याउने कसी के होला ?” बुद्धको जवाफ थियो, “जुन धर्म विनयमा आर्य अष्टांगिक मार्ग हुुँदैन, त्यस धर्म विनयमा श्रमण (भिक्षु) हरू हुँदैनन् । जुन धर्म विनयमा आर्य अष्टाङ्गिक मार्ग हुन्छ, त्यहाँ श्रमणहरू हुन्छन् । अरु धर्म विनयमा श्रमणहरू छैनन् । श्रमणहरूले राम्रो धर्माचरण गरी बसे भने यस लोकमा अर्हत (मुक्त पुरुष)हरू बिलाउने छैनन् ।” 

बुद्धले वैराग जगाउने धर्म–सम्प्रदाय श्रेष्ठ हुन्छ भनी आफ्नो अभिमत जाहेर गर्नुभएको हो । धर्मको नाममा गरिने नाना थरिका व्रत, यज्ञ, उपवास, मूर्ति पूजा वा ईश्वरको शरणले मुक्ति नदिने बरु मुक्तिका लागि कसैको भर नपरी आफ्नो ज्योति आफैँ बन्ने, होसपूर्वक जिउने दर्शन अँगाल्न त्यतिखेरको समाजलाई बुद्धले उत्प्रेरणा दिनुभएको हो । यही धर्माचरणले मुक्ति दिलाउने हो । त्यो दर्शन मार्ग आर्य अष्टाङ्गिक मार्ग हो, जसमा शील, समाधि र प्रज्ञा समाहित छ । बुद्धका अनुसार सुख र स्वर्गको कामना नगर्ने वितरागी नै सच्चा श्रमण हुन् । 

बुद्धको यस उपदेशबाट सुभद्र मुक्त पुरुष भए । उनी बुद्धसँग अन्तिम संवाद गरी अर्हत लाभ गर्ने सौभाग्यशाली अनुयायी बने ।  “म निर्वाण भएपछि अब हामीलाई सिकाउनु हुने गुरु रहेनन् भन्ने तिमीहरूलाई लाग्न सक्छ । अलमल नहुनू । आजसम्म मैले धर्म र विनयका बारे जे जति प्रज्ञप्ति गरेको छु ती सबै नै तिमीहरूका शास्ता हुन् भनेर सम्झिनू” उहाँले भिक्षु सङ्घलाई यसरी मार्गनिर्देश गर्नुभयो । यसअघि पनि उहाँले आफ्ना सेवक भिक्षु आनन्दसँगको संवादमा “अब मैले बताउन बाँकी कुनै विषय रहेन, मसँग आचार्यमुष्ठि छैन” भनेर भन्नुभएको थियो । आफूले तीन महिनापछि देहत्याग गर्नेछु भनेर घोषणा गरेको दिन उहाँले यो भेद खोल्नुभएको थियो । बुद्धको यस कथनबाट आफ्ना अनुयायी भिक्षुहरूलाई कस्तो प्रकारबाट ज्ञान बाँड्ने वा मार्ग निर्देशन दिने गर्नुहुन्थ्यो भन्ने थाहा लाग्छ ।  

निर्वाणमा जान अब धेरै समय बाँकी नरहेको भाव प्रकट गर्दै उहाँले धर्म र विनयबारे कुनै दुविधा वा शङ्का भए सोध्न एकत्रित भिक्षु सङ्घलाई भन्नुभयो । कसैबाट प्रश्न आएन । दोस्रो र तेस्रो चोटि पनि उहाँले यही कुरा दोहो¥याउनुभयो । तर, सबै भिक्षु मौन बसे, कसैले प्रश्न सोधेन । तत्पश्चात् उहाँले भिक्षुहरूलाई सम्बोधन गर्दै अन्तिम उपदेश दिनुभयो,  “सबै संस्कार अनित्य भएको बुझेर अप्रमाद भई कुशल धर्म सम्पादन गर्नू ।”

बुद्धले सदैव होशपूर्वक जीवन जिउन सम्झाउनुभयो । काय, वाक् र चित्तको विशुद्धिमा जोड दिनुभयो । मानसिक विकार र क्लेश क्षय गर्न घच्घच्याई रहनुभयो । कुशल कार्य गरी पुण्य सञ्चय गर्न र मानसिक सन्ताप एवं दौर्मनस्य उत्पन्न गर्ने अकुशल कर्मबाट बचेर रहन सचेत गरिरहनुभयो । त्रिविष (लोभ, द्वेष र मोह)मा  लिप्त नभई अलोभ, अद्वेष र अमोह (प्रज्ञा चक्षु) को आश्रय लिन उपदेश दिइरहनुभयो । सांसारिक भोगविलाशमा लिप्त रहने मानिसलाई फलामलाई उसैबाट उब्जेको खियाले खाए जस्तै दुर्गतितिर धकेल्ने बुद्धोपदेश सबैका लागि मननीय छ । उहाँको अर्को उपदेश थियो, शरीरलाई कष्ट दिएर हठचर्या नगर्नू ।  

लोभले लालायित, द्वेषले दग्ध र वासनाले वसिभूत अनार्य पृथग्जनलाई बुद्धले आफ्नो जीवनकालमा मूलतः दुई कुरा सिकाउनुभयो– दुःख र दुःखबाट मुक्ति । जन्मनु, बुढो हुनु, रोगी हुनु, मर्नु, अप्रियसँगको सहबास, प्रियसँगको विछोड, इच्छित वस्तुको अप्राप्ति सबै दुःख हुन् । यो चतुर्महाभूतले बनेको हाडछालाको शरीर रहेसम्म यी दुःखकष्टले सताइरहन्छ । यो शरीर रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानको पुञ्ज हो । यो पुञ्ज नश्वर छ र व्याधि तथा दुःखको खानी हो । शरीर (रूप)मा उत्पन्न हुने दुःखद् वा सुखद् वेदनाहरू अनित्य प्रकृतिका छन्, दुःखदायी छन् । चित्त (विज्ञान) चञ्चल र अनित्य प्रकृतिको छ र यसले हरपल सताइरहन्छ । अविद्याले मूढ र तृष्णाले अन्धो बनेका मानिस क्षणिक सुखका लागि रातदिन भौँतारिरहेका हुन्छन् । दुःखैदुःखले भरिएको यो संसार देखेर उ वाक्कदिक्क छ तर अनित्यतालाई बुझ्न चाहँदैन, चाहे पनि उसलाई फुर्सद छैन । 

शारीरिक कष्ट, मानसिक तनाव, वेदना–विरह, अहंकार, जलन, इष्र्याले उकुसमुकुस यो संसारको दुःख स्वभाव र अनित्य स्वभावलाई बुझेर यसबाट मुक्ति पाउने उपाय खोजी हिँड्ने मानिसलाई तृष्णाले सताउँदैन, वासनाले अँठ्याउँदैन, सोही प्रज्ञानका कारण उ शान्त र धैर्यवान् हुन्छ । मानिस सुखद् अनुभूतिको चाह राख्छ, अप्रिय अनुभूतिको तिरस्कार गर्छ । जतिसुकै सुन्दर रुप होस्, जतिसुकै कर्णप्रिय आवाज होस्, जतिसुकै सुगन्धित बास्ना होस् वा स्वादिलो भोजन होस् ती सबै उत्पत्ति भई निरोध भएर जाने धातु स्वभाव मात्रै हुन्, सधैंभरि रहिरहने होइनन् । त्यसकारण अनित्य स्वभावका त्यस्ता वस्तुसँग टाँस्सिएर बस्नु व्यर्थ छ । मानव देह, वेदना र चित्तलाई यसरी नै फारिफारिकन हेर्न र बुझ्न सकियो भने ‘म’ र ‘मेरो’ भन्ने दृष्टि विलुप्त भएर जान्छ । परमार्थ सत्य साक्षात्कार हुन्छ । यस्तो सत्य अन्यत्र खोज्नु आवश्यक छैन, आफ्नो शरीरमै नियाल्ने हो भनेर भन्नु हुने बुद्धलाई त्यसकारण ‘विभज्जवादी’ भनेर पनि सम्बोधन गर्ने गरिन्छ ।

यो शरीर म हुँ, यी मेरा हातखुट्टा हुन्, यी मेरा सन्तान हुन्, यी मेरा जमिन जायदात हुन्, यी मेरा दुश्मन हुन् भन्ने आत्मभाव (सत्काय दृष्टि) लाई हामी जहिलेसम्म बोकिरहन्छौँ, दुःखका शृङ्खला टुट्दैन । यस्तो मिथ्या दृष्टि रहेसम्म भवमा प्राणीको आवागमन निरन्तर चलिरहन्छ । बुद्धका सच्चा अनुयायीहरू प्रथमतः सत्काय दृष्टिलाई जरैदेखि उखेलेर फ्याँक्न प्रयत्नशील रहन्छन् । जो छँदै छैन, प्रज्ञप्ति मात्रै हुन्, पञ्चस्कन्ध (नाम र रूप) को पुञ्ज मात्रै हुन्, लाई अज्ञानता र तृष्णाको जालोमा फँसेका मानिस ‘म’ र ‘मेरो’ भन्दै बलियोसँग पक्डेर बसेका छन् । सम्यक दृष्टि वा ज्ञानचक्षु नभएर मानिस त्यसरी दिग्भ्रमित भएका हुन् । ज्ञानचक्षु उदय भएमा मात्रै मानिस बुँख्याचालाई मानव हैन बुँख्याचा मात्रै हो भनेर ठम्याउन समर्थवान् हुन्छ ।

बुँख्याचालाई मानव सम्झेर गर्ने यही महाभूलले मानिसलाई भव चक्रमा धकेल्छ । यस्तो बुझाइ नै मिथ्या दृष्टि हो भनेर बुद्ध दर्शनले हामीलाई सिकाउँछ । मानिसलाई भव चक्रमा बाँधिराख्ने दश भव संयोजनमध्ये सत्काय दृष्टि पहिलो र सबैभन्दा बलशाली बन्धन हो । ‘अर्हत’ भनेका यिनै दश संयोजन वा बन्धनलाई चुँडालिसकेका मुक्त पुरुष हुन् । विचिकित्सा (अनावश्यक शङ्का), शीलव्रतपरामर्श (अन्धविश्वास), कामराग (वासना), पटिघ (अरुप्रतिको दुर्भावना), रूपराग (रुप भुवनको चाहना), अरूपराग (अरुप भुवनको चाहना), मान (घमण्ड), औद्धत्य (चित्तको चञ्चलता), अविद्या (अज्ञानता) बाँकी नौ बन्धन हुन् । 

ममकार र अहंकारले सिर्जना गर्ने यो लोभी संसारलाई यही साढे तीन हातको शरीरभित्र राम्ररी नियालेर बुझ्ने प्रयास गर्न महामानव बुद्धले सिकाएर जानुभएको छ । कसैको लहलहैमा नलागी आफ्नै विवेकको कसीमा घोटेर हेर्दा सही जँचे मात्रै कुनै वाद वा सिद्धान्तलाई स्वीकार्नु भन्ने उहाँको उपदेशमा त्रास, धम्की र प्रलोभन फेला पर्दैन, बरु चिन्तन–मन्थनमा त्यो हदसम्मको स्वतन्त्रता प्राप्त छ । बेहोशीमा हजारौँ हजार वर्ष जिउनुभन्दा होशपूर्वक एक दिन जिउनु उत्तम हो भनेर सिकाउनु हुने उहाँ महामानव बुद्धको परिनिर्वाण मात्र हैन, लुम्बिनी उपवनमा राजकुमार सिद्धार्थको जन्म र उरुबेला बुद्धगयामा उहाँलाई बोधिज्ञान लाभ पनि  वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) कै दिन भएकाले विश्वभरका बौद्धहरूको लागि यो दिनको अत्यन्तै ठूलो महत्व छ । (लेखक राससका नायब महाप्रबन्धक हुनुहुन्छ)

स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

काठमाडौं । आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ ।

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।

स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ ।

स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए ।

बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ । दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ । स्वयम्भूनाथ क्षेत्रमा विभिन्न पूजाआजा, रक्तदान तथा प्रसाद वितरणका कार्यक्रम हुने जनाइएको छ ।

यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व सङ्कलन

सिमकोट (हुम्ला), २९ वैशाखः यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले रु सात लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु सात लाख रुपैयाँ राजस्व सङ्कलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । कार्यालयको यो आर्थिक वर्षमा रु ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको भए पनि हालसम्म रु सात लाख सङ्कलन भइसकेको प्रमुख जैसीले बताउनुभयो । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लाङ्केट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व सङ्कलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताउनुभयो । चालु आर्थिक वर्षभित्र अझै राजस्व थप हुने अनुमान गरिएको छ ।

हिल्सा नाका भएर विभिन्न सामग्री आयात गर्ने यहाँका नियमित दश जना व्यापारी छन् । उनीहरुले एक वर्षमा दुई पटकसम्म चीनबाट सामान ल्याउने गरेका छन् । व्यापारीहरुले एक पटक ल्याएको विभिन्न सामानबाट रु ४५ हजारसम्म राजस्व तिर्ने गर्ने गरेका छन् ।

चीनमा काम गर्न गएका कामदारले रु १५ हजारसम्मको घरायसी सामान ल्याउनेलाई राजस्व छुट दिइएको छभने त्यसभन्दा माथिको मूल्यका सामान ल्याउनेबाट राजस्व लिने गरिएको छ । चीनबाट हिल्सासम्म सामान ल्याउन साना व्यापारीले कामदार पठाउने गरेका छन् । ठूला व्यापारीले उतैबाट सामान सिल गरेर गाडीमार्फत हिल्सासम्म ल्याउने गरेको उहाँले बताउनुभयो ।

यस नाकाबाट आर्थिक वर्ष २०८०/८१ मा रु २२ लाख राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा भने रु १४ लाख राजस्व सङ्कलन भएको थियो । यारी नाका भन्सार कार्यालय वर्षको छ महिना मात्रै सञ्चालन हुने गरेको छ । हिउँदयाममा हिमपात भएर नाका छ महिना बन्द हुने र छ महिना खुल्ने गरेको छ । यही वैशाख १३ गतेदेखि यारी नाका भन्सार कार्यालय सञ्चालनमो छ ।