`

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

काठमाडौँ, ३१ वैशाखः नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ । विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरु प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि संवाद आयोजना गर्न लागिएको हो ।

संवादको तयारी व्यापक रुपमा अगाडि बढिरहँदा केही सरोकारवालाहरु भने संवादले जलवायु सङ्कट व्यवस्थापनमा लगानीको जोहो हुनसक्ने भन्दै उत्साहित देखिन्छन् । तर केही सरोकारवालाहरुले भने प्रत्यक्ष रुपमा लगानीको प्रतिबद्धता नआए पनि कूटनीतिक सम्बन्ध बढ्नसक्ने र भविष्यमा नेपालले अन्तरराष्ट्रिय जलवायु कोषमा सहज पहुँच स्थापित हुन संवादले सहयोग गर्नसक्ने बताएका छन् ।

जलवायु न्यायको सुनिश्चितताका लागि ठोस लगानी आवश्यकपर्ने भन्दै नेपालले अन्तरराष्ट्रिय समुदायबाट लगानीको अपेक्षासमेत गरिरहेको छ । यसअघि पनि नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको शिखर सम्मेलन (कोप) जस्ता अन्तरराष्ट्रिय मञ्चहरुमासमेत जलवायु न्यायका पक्षमा आफ्नो आवाज उठाउँदै आएको छ ।

नेपालले कोपजस्ता महत्वपूर्ण सम्मेलनमा भाग लिनपूर्व नै तयार गर्ने एजेन्डाहरुमा जलवायु वित्तका एजेन्डालाई प्राथामिकताका साथ उठान गर्दै आइरहेको छ ।

जलवायुविद् मञ्जित ढकालले सगरमाथा संवादले प्रत्यक्ष रुपमा जलवायु वित्त व्यवस्थापन हुन नसके पनि संवादमा नेपालले भोगिरहेको जलवायुजन्य सङ्कटको चर्चा हुने, जलवायु न्यायका लागि आवाज उठाउने र संवादले कूटनीतिक सम्बन्ध बढाउने भएकाले अहिले नभए पनि भविष्यमा अन्तरराष्ट्रिय कूटनीतिक सम्बन्धका आधारमा जलवायु वित्त नेपालमा ल्याउन सहज भने हुने बताउनुभयो ।

“संवादमा कसैले जलवायुु वित्तीय प्रतिबद्धता जनाउने भन्ने हुँदैन, तसर्थ लगानीको जोहो हुन्छ भन्ने भ्रम हट्नुपर्छ”, उहाँले भन्नुभयो, “तर के हो भने भविष्यमा जलवायु वित्तमा पहुँच पु¥याउन संवादले सहज भने गर्छ ।”

ढकालले विश्वमा जलवायु वित्तको माग र व्यवस्थापनबीच ठूलो अन्तर देखिएको भन्दै कोपजस्ता अन्तरराष्ट्रिय सम्मेलनहरुमा जलवायु वित्त बढाउनुपर्नेमा नेपालजस्ता जलवायुको जोखिम भएका अतिकम विकसित मुलुुकहरुले धनी तथा विकसित मुलुकहरुलाई दबाब दिँदै आइरहेको बताउनुभयो । “विकासोन्मुख मुलुकहरूबाट वार्षिक १ दशमलव ३ ट्रिलियन अमेरिकी डलर आवश्यकपर्ने भनेर माग भएको छ । सानो अर्थतन्त्र भएका अतिकम विकसित मुलुकका समूह (एलडिसी) लाई वार्षिक २०० अर्ब अमेरिकी डलर आवश्यक पर्छ भनिएको छ”, उहाँले भन्नुभयो, “तर सन् २०२२ सम्ममा १२० अर्ब मात्रै उपलब्ध भएको देखिन्छ ।”

सगरमाथा संवाद सम्मेलनमा दिगो पहाडी अर्थतन्त्र, दिगो सहर र समुदायहरू, समावेशी भविष्य निर्माणः लैङ्गिक र अन्तरपुस्तागत समानता, हिमालमा हुने क्षति र त्यसको सम्बोधन, हिमाल जोखिम मूल्याङ्कन र अनुगमन, पहाडहरूमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण, भविष्यलाई सशक्त बनाउँदै स्वच्छ ऊर्जाको उपयोग, हिमालमा समुदायको नेतृत्वमा जलवायु पहलहरू, खाद्यसुरक्षा र जलवायु अनुकूल कृषि, उच्च पहाडी भू–भागलाई टापुहरूसँग जोड्दै, हिमनदी संरक्षणका लागि १ दशमलव ५ डिग्रीको महत्वाकाङ्क्षाको जरुरीलगायत विभिन्न विषगत सत्रहरु सञ्चालन हँुदैछन् ।

यी सत्रहरुमा नेपालमा जलवायु परिवर्तनका कारण परिरहेको असरका विभिन्न उदाहरणहरु प्रस्तुत गर्दै जलवायुजन्य सङ्कट समाधानका लागि आवश्यक लगानीका लागि पहलसमेत गरिने वन तथा वातावरण मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका सहसचिव तथा सगरमाथा संवाद सचिवालयका सदस्य सचिव डा महेश्वर ढकालले तत्कालका लागि जलवायु सङ्कट सामना गर्न अन्तरराष्ट्रिय जलवायु वित्तको प्रतिबद्धता नआए पनि भविष्यमा नेपालको कूटनीतिक क्षमता बढ्ने, अन्तरराष्ट्रिय समुदायसँगको सम्बन्ध राम्रो हुने र जलवायु वित्तमा पहुँच स्थापित गर्नका लागि सहज हुने बताउनुहुन्छ ।

“सगरमाथा संवादमा जलवायु न्यायका लागि आवाज उठाउने र विश्वव्यापी रुपमा हाम्रा पर्वतीय क्षेत्रमा जलवायुले पु¥याएको असरका बारेमा चर्चा हुन्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा अन्तरराष्ट्रिय आर्थिक तथा प्राविधिक सहयोग जुटाउन पनि संवादले पक्कै पनि सहज हुने विश्वास छ ।”

जलवायु परिवर्तनसँग जुधिरहेका देशहरू, विकास साझेदार, वैज्ञानिक र नीतिनिर्माताबीच जलवायु न्यायका लागि पैरवी अगाडि बढाउँदै जलवायुजन्य प्रभावको पीडा र मागलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर संवादले दिने ढकालको भनाइ छ ।

जलवायु वित्तका विज्ञ राजु पण्डित क्षेत्रीले प्रत्यक्ष रुपमा जलवायु लगानीको जोहो नभए पनि अन्तरराष्ट्रियस्तरमा नेपालले भोगिरहेको जलवायुजन्य सङ्कटका बारेमा जानकारी हुने र जलवायु न्यायका लागि आवाज उठ्ने बताउनुभयो ।

“जलवायु नीतिको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक स्रोतले पुग्दैन । आवश्यक रकमहरु वैदेशिक स्रोतहरुबाट खोज्ने हो । बहुपक्षीय, द्विपक्षीय, अन्तरराष्ट्रिय जलवायु कोषहरुबाट रकम ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “यस्ता कोषका पनि प्रमुखहरु र कोषमा सहयोग गर्ने दाताहरु पनि सगरमाथा संवादमा आउँदैछन् । नेपालले संवादमा जलवायुका समस्याहरु राखेर जलवायु न्यायको आवाज उठाउँदा परियोजनाहरु बनाउने क्रममा जलवायु वित्त सहयोगका लाागि उनीहरुको चासो बढ्न सक्छ ।”

जलवायु अभिभयन्ता गीता पाण्डेले संवादले स्थानीय अनुभव, वैज्ञानिक प्रमाण र समावेशी दृष्टिकोणको संयोजनमार्फत सगरमाथाबाट उठ्ने आवाजले जलवायु न्याय र विश्वव्यापी सहयोगका लागि नयाँ दिशा दिने बताउनुभयो ।

एनडिसीको लक्ष्य पूरा गर्न विदेशी लगानी आवश्यक

नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय रुपमा निर्धारण गरिएको योगदान (एनडिसी)ले लिएका लक्ष्य पूरा गर्न अन्तरराष्ट्रिय जलवायु वित्तीय सहयोग आवश्यकपर्ने देखिन्छ । एनडिसी कार्यान्वयनका लागि आवश्यक लागत व्यवस्थापनका लागि पनि सगरमाथा संवादजस्ता अन्तरराष्ट्रिय समुदायको भेलामा जलवायु वित्तका लागि आवाज उठाउन जरुरी रहेको विज्ञहरुको भनाइ छ । 

तेस्रो एनडिसी कार्यान्वयनका लागि लागत कूल ८८ दशमलव ६९ अर्ब अमेरिकी डलर आवश्यकपर्ने देखिएको छ । जसमध्ये २४ दशमलव ५ प्रतिशत अर्थात् २१ दशमलव ७३ अर्ब डलर नेपालको आफ्नै स्रोतबाट खर्च गरिने जनाइएको छ भने बाँकी ७५ दशमलव ५ प्रतिशत अर्थात् ६६ दशमलव ९६ अर्ब डलर अन्तरराष्ट्रिय जलवायु वित्तीय सहायता र प्रविधि हस्तान्तरणबाट अपेक्षित गरिएको छ ।

नेपालले तयार गरेको तेस्रो एनडिसीको मस्यौदामा अन्तरराष्ट्रिय जलवायु कोष, ऋण राहत कार्यक्रम, हरित ऊर्जा ऋणपत्र (बन्ड), तथा कार्बन बजार जस्ता स्रोतहरुबाट रकम सङ्कलन गर्ने रणनीति बनाएको छ । वैदेशिक जलवायु वित्त जुटाउन नसकेमा तेस्रो एनडिसीमा समावेश गरिएका जलवायुका लक्ष्यसमेत अधुरै रहने चिन्ता पनि छ ।

“सगरमाथा संवाद कस्तो बेलामा भएको छ भने तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) बनाइरहेका छाँै । विश्वको धेरै मुलुकहरुले एनडिसी बनाएर संयुक्त राष्ट्रसङ्घको महासन्धीमा बुझाउँदै छन् । त्यतिबेला यो संवाद हुँदा हाम्रा तेस्रो एनडिसीमा भएका लक्ष्य र आवश्यकपर्ने लागतको विषयमा विश्वको ध्यानाकर्षण हुन्छ”, जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले भन्नुभयो, “आवश्यकपर्ने लगानी व्यवस्थापनका लागिसमेत संवादले एउटा मार्गदर्शन देखाउनेछ ।”

हानिनोक्सानी कोषमा पहुँच पु¥याउन सहयोग

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले जलवायुजन्य सङ्कटले निम्त्याएको विषम परिस्थितिका उदाहरणहरु प्रस्तुत गर्दै त्यसले निम्त्याएको हानिनोक्सानीका सम्बन्धमा सगरमाथा संवादबाट अन्तरराष्ट्रियस्तरको ध्यानाकर्षण हुने र हानिनोक्सानी कोषमा नेपालको पहुँच स्थापित गर्न सहज हुने बताउनुभयो ।

“हानि नोक्सानीका जति पनि घटनाहरु छन् । त्यसलाई क्षतिपूर्ति गर्न अन्तरराष्ट्रिय हानिनोक्सानी कोष स्थापना भएको छ । त्यो कोषबाट नेपालले बढीभन्दा बढी फाइदा लिन सक्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यो रकममा सहज पहुँच स्थापित गर्न सगरमाथा संवादलाई अगाडि बढाउनु जरुरी थियो ।”

उप्रेतीले सन् २०२६ मा नेपाल अतिकम विकसति मुलुकहरुको समूह (एलडिसी)बाट स्तरोन्नति हुँदै जाने र यस्तो अवस्थामा सहयोग नपाउने अवस्था आउनसक्ने भन्दै अन्य जलवायु वित्तमा पहुँच बढाउन संवादले भूमिका निभाउनसक्ने बताउनुभयो ।

“जलवायुजन्य परिस्थितिका कारण हिमाल पग्लनुमा हाम्रो दोष छैन । हिमताल विस्फोटले ल्याउने बसाइँसराइका घटनाहरु हाम्रो बहसमा छैनन् । यस्तो अवस्थामा जलवायु न्यायको दृष्टिकोटबाट अन्तरराष्ट्रिय समुदायले सहयोग गर्नैपर्छ”, उहाँले भन्नुभयो । जलवायु अनुकूलन, दिगो कृषि, हरित ऊर्जा र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा पर्याप्त लगानी नभएसम्म नेपालले लिएको जलवायुका नीति कार्यान्वयन गर्न सम्भव नहुने उप्रेतीको बुझाइ छ ।

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु

लुम्बिनी ३१, वैशाख : लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हँुदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गर्नुभएको हो । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले राससलाई जानकारी दिनुभयो ।

आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।

परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता,महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त

काठमाडौँ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशनको मिति पर सारी पाउँ भनी सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिएको छ।

परराष्ट्र सचिव अमृत बहादुर राईले गैरआवासीय नेपाली संघको एकताको महाधिवेशन सम्पन्न गरी नयाँ कार्य समिति चयन गरेको भन्ने जानकारी मन्त्रालयमा मिति २०८१/१/२२ मा प्राप्त हुन आएकाले मन्त्रालयले दिएको निवेदनको औचित्य समाप्त भएको भन्दै यस अघिको निवेदन फिर्ता लिएको उल्लेख गरेका छन्।

यसबाट एकता महाधिवेशनद्वारा निर्विरोध निर्वाचित महेश श्रेष्ठ नेतृत्वको कमिटिलाई काम गर्न मार्गप्रशस्त भएको छ।

यसै बीच वैशाख २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले एनआरएनएमा जारी विवादको निरूपणका लागि पूर्ण इजलास पठाउने आदेश गरेको छ ।

परराष्ट्र मन्त्रालय र बद्री केसी पक्ष भएका दुई रिटमा सुनुवाई गर्दै सर्वोच्चले पूर्ण इजलासमा पठाएको हो । अव यो विवाद तीन न्यायाधीशको इजलासले दुवै पक्षको बहस सुनेर निर्णय गर्नेुपर्ने छ। तीन न्यायाधीशको इजलासले नै एकता महाधिवेशनले गरेको निर्वाचनको वैधानिकता र बद्री केसी नेतृत्वको भनिएको कार्यसमितिको आयु निर्धारण गर्ने छ। एकता महाधिवेशन अन्तर्गत गरिएको निर्वाचन बदरको माग केसीको रिटमा गरिएको थियो । तर सर्वोच्चले उक्त निर्वाचनलाई अवैध वा गैरकानुनी भनेन । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेश जारी गर्नु पर्ने केसी पक्षको माग अस्वीकार गरेको
संयुक्त इजलासले आदेशमा दुई पक्षको विवाद निरूपणका लागि पूर्ण इजलास पठाउन जरूरी देखिएको भनेको छ।

‘बद्री केसीले दिएको निवेदनलाई अन्तरिम आदेशका सन्दर्भमा पुरै बन्द गरेको र परराष्ट्र मन्त्रालयले आफनो निवेदन फिर्ता लिएको अवस्थामा एकताको महाधिवेशनका सम्बन्धमा अदालतले थप कुनै आदेश निर्देश गर्ने अवस्था रहेन । अतः एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठको नेतृत्वको समिति निर्विवाद हो, एघारौ महाधिवेशन लगायत एनआरएनएका पुराना विवादहरु अब पूर्ण इजलासमा गएका छन्,’ अधिवक्ता डा नारायण दत्त कडेलले भने।

यसै बीच एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमले सर्वोच्चले मंगलबार, १३ मे मा सर्वोच्चले गरेको फैसलाले एकता महाधिवेशनलाई अस्विकार गरेको तथा बद्री केसीको कार्य समितिलाई वैधानिकता दिएको भन्ने समाचार सरासर झुट्ठा भएको जनाएका छन्। उनले एकता महाधिवेशनले निर्विरोध निर्वाचित गरेको महेश श्रेष्ठले नेतृत्व गरेको टिम नै एनआरएनएको एक मात्र आधिकारिक कमिटी भएकाले कुनै पनि भ्रममा नपर्न एनआरएन समुदायलाई आग्रह पनि गरेका छन् ।

नव निर्वाचित एनआरएनए कार्यसमितिद्वारा परराष्ट्रमन्त्रीको ध्यानकर्षण

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छ । अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको टोलीले सिंहदबारमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर संस्थागत गतिविधिहरुबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको हो । अध्यक्ष श्रेष्ठले बन्दै गरेको एनआरएनए ऐनका बारेमा संस्थागत सुझावहरु हस्तान्तरण गरेका थिए ।

यसैगरी, एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पछिल्लो समयमा गरिरहेको कामबारे जानकारी गराउँदै मन्त्रालयले निर्वाचित कमिटीसँग सहकार्य गर्ने वातावरण बनाउने विषयमा पहल थाल्न पनि आग्रह गरेको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
एनआरएनएले एकता महाधिवेशनबाट पारित भएको काठमाडौं घोषण पत्र कार्यान्वयन र विदेशमा बस्ने नेपालीहरुका मुद्दाहरु समेट्नका लागि मन्त्रीको ध्यानकर्षण गराइएको महासचिव बाबुराम (बीआर) लामाले जानकारी दिए ।

यसैगरी, निर्वाचित कार्यसमितिको विवरण हस्तान्तरण गर्दै विभिन्न निकायहरुमा पत्राचार गरिदिन पनि आग्रह गरिएको थियो । जवाफमा मन्त्री राणाले एनआरएनएको वर्तमान कार्यसमितिसँग सरकारले सहकार्य गरेर अघि बढ्ने बताउँदै माग गरिएका विषयहरु सम्बोधन गर्नका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाइन् ।

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

काठमाडौं । इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ । आक्रमणबाट दर्जनौँ घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो । गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ । इजरायली सेनाले कुनै पनि अस्पतालमा आक्रमण गर्न छाडेको छैन ।

पछिल्लो १० सातमा त्यहाँ खानेपानी, औषधी र टेन्टको व्यवस्था पनि छैन । संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

न्यूयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरू माथि अवरोध सृजना गरेको आरोप लगाएका छन् ।उनले इजरायलले गाजामा राहत वितरणका लागि ल्याएको नयाँ सर्तमा पनि आपत्ति जनाएका छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ३१ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८५, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ६०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनिया प्रतिकिलो रु ९०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

बागलुङको तामाखानी उत्खननका लागि खोजतालस सुरु

ढोरपाटन (बागलुङ), ३१ वैशाखः बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ स्थानमा तामाखानी छन् ।

त्यहाँ रहेको तामाखानीहरु विसं १९८१ सम्म सञ्चालनमा थिए । सरकारले खानीलाई करको दायरामा ल्याएपछि बन्द भएका थिए । खानी तथा भूगर्भ विभागले अध्ययन तथा अनुसन्धानका लागि २०८४ असोज १४ गतेसम्मका लागि अनुमति दिएपछि खानीको खोजताल सुरु भएको हो । 

हाल विकप्लस मिनिलर प्रालीले नर्जाखानीका विभिन्न ठाउँमा खानीको खोजतलास गरिरहेको छ । उक्त क्षेत्रमा सतहमा तामा सामान्य रुपमा देखिएको विकप्लस मिनिलर प्रालीका भूर्गवशास्त्री बलराम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा तीन चरणका अनुसन्धान हुनेछ । त्यसबाट राम्रो नतिजा आयो भने उत्खनन गर्न सकिनेछ । अबको एक वर्षभित्रमा तीनै चरणको अध्ययन सकिने गरी काम भइरहेको कार्कीले बताउनुभयो । अहिले नर्जाखानी क्षेत्रमा प्राविधिक खटिएर धमाधम अध्ययन गरिरहेको छ ।

“अनुसन्धानका धेरै चरणहरु हुन्छन्, हामीहरु अहिले पहिलो चरणको अनुसन्धानमा छौँ, जुसलाई ‘जियोफिजिक सर्भे’ भन्छौँ, यसबाट राम्रो नतिजा आयो भने दोस्रो चरणको टेस्ट ड्रिलिङ गर्छौं र त्यसपछि फाइनल ड्रिलिङ गरी राम्रो नजिता आए, उत्खनन गर्छौं”, भूर्गवशास्त्री कार्कीले भन्नुभयो, “यसको उत्खनन गर्न रु २० देखि २२ अर्ब लाग्छ, यति रुकम लगानी गरेर खानी सञ्चालन गर्न सक्छौँ कि सक्दैनौँ भनेर खोजतलास गरिरहेका हौँ ।”

तमानखोलाको नर्जाखानी, भित्रीवन र पात्लेगाउँको धेरै स्थानमा तामाखानीका सुरुङ र अवशेष प्रशस्तै छन् । बन्द भएका खानी उत्खननका लागि अध्ययन हुँदा स्थानीय खुसी भएका छन् । तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्र छन्त्यालले बाउबाजेले खानेको खानी उत्खनन गर्नसके गाउँलेको जीवनस्तर उकासिने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यहाँका खानीहरुसँग हाम्रो पहिचान जोडिएको छ, हाम्रो समुदायका मानिसको इतिहास जोडिएको छ, अहिले पनि हाम्रो गाउँमा सयौँ ठाउँमा पहिले तामा निकालेको डोबहरु छन्, ती खानीहरुबाट तामा निकाल्न पाए, यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, आर्थिक रुपमा मजबुत हुने थिए भने युवाले गाउँमै रोजगार पाउने थिए ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले लामो समयको प्रयासपछि तामाखानीको अध्ययन गर्न थालिएको बताउनुभयो । तामानखानीको अध्ययन अहिलेसम्म सकारात्मक देखिएको अध्यक्ष बुढामगरले बताउनुभयो ।

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ यस्तै बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज डलरको भाउ १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा छ ।

यसैगरी आज युरो १ को खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा छ । त्यस्तै आज यूके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा छ ।त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा छ । यस्तै कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा छ आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा छ ।

साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

काठमाडौं । साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

समूह चरणको अन्तिम खेलमा जित निकालेको भारत समूह विजेता बन्न सफल भएको हो । पराजित भएसँगै नेपाल उप विजेता बनेको छ ।

भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो ।

पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । भारतले एकपक्षीय दबाब बनायो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे ।भारत यतिमा मात्र रोकिएन । ८४ औं मिनेटमा ड्यानी मिटेले अर्को एक गोल थपे। यो सँगै नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ ।

भारतले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो । आयोजक ६ अंक सहित समूह विजेता बन्न सफल रहयो । नेपालले यसअघि श्रीलंकालाई ५–० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ ।
अब सेमिफाइनलमा शुक्रवार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । केही भूभागमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भइरहेको छ ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभाग लगायत पहाडी भूभागका धेरै स्थानमा अधिकतम तापक्रम बढेको छ ।आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

चलचित्र ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न, तीजको अवसरमा रिलिजको तयारी

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को छायांकन सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा आयोजित इन्डक्ल्याप पार्टीमार्फत निर्माण पक्षले ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी दिएको हो।

निर्देशक हिमाल न्यौपानेको निर्देशनमा तयार भएको यो चलचित्र उनको डेब्यु निर्देशन हो। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोगेका अप्रत्याशित परिस्थिति र त्यसले ल्याएको जीवन परिवर्तनको कथा प्रस्तुत गर्नेछ। चलचित्रमा आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई पनि विशेष जोड दिइएको छ।

बलियो कलाकार阵 देखिएको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापा लगायतको अभिनय रहनेछ। असोसियट निर्देशकको रुपमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत रहेका छन्।

इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले विभिन्न प्रतिभाशाली कलाकारहरूसँग काम गर्ने अवसर मिलेको बताए। “यो चलचित्रले दर्शकको मन छोला भन्ने विश्वास छ,” उनले भने।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी छन्। चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

चलचित्रमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहनेछ भने नवीन गुरुङ डीओपी तथा कृष्ण परियार सिनेमाटोग्राफर रहेका छन्।तीजको अवसर पारेर भदौमा चलचित्र रिलिज गर्ने योजना रहेको भए पनि मिति भने हालसम्म तय भइसकेको छैन।

सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सगरमाथा संवादमार्फत नेपालमा जलवायु परिवर्तनले गरेका असर र भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गरिने बताएका छन् ।

नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्दैछ । साथसाथै संस्थाले हालै सोलुखुम्बुको थामेमा गरेको जलवायुसम्बन्धी कार्यक्रमको प्रतिवेदन बुझ्दै आज उनले संवादमा हिमालदेखि समुद्री टापुसम्म जलवायुका कारण उत्पन्न समस्याबारे साझा धारणा बनाएर अघि बढ्ने बताए ।

मन्त्री शाहीले थामेमा बाढीबाट भएको क्षति र पछिल्लो वस्तुस्थितिबारे ध्यानाकर्षण गराउन स्थलगत कार्यक्रम गरेकामा धन्यवाद दिँदै सुझावलाई सगरमाथा संवादमा छलफलका लागि समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसअवसरमा साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले थामे क्षेत्रमा जलवायुले गरेका असर तथा स्थानीयका अनुभवबारे जानकारी गराए ।

साथसाथै न्यूज डटकमका प्रधानसम्पादक एवं अन्तरराष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देलले नेपाल जस्तो हिमाली मुलुकमा जलवायु परिवर्तनले तुलनात्मक रूपमा बढी असर परेकाले जलवायुजन्य हानिको क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा प्रभावकारी रूपमा दाबी गर्नुपर्ने धारणा राखे ।

वायुसेवा निगमका दुई वटै ट्वीनअटर विमान नियमित उडानमा

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपले सञ्चालनमा आएको हुन् ।

निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए । ट्वीनअटर विमान नियमनकारी निकाय तथा विमान निर्माता कम्पनीेको मापदण्डअनुसार नियमित मर्मत सम्भार सम्पन्न गर्नुका साथै दुईवटै नयाँ इञ्जिन परिवर्तन गरिएको उहाँले जानकारी दिनुभयो । नियामकीय जाँच सम्पन्न भएपश्चात् वैशाख २९ गतेदेखि पूर्णरुपमा नियमित उडान तालिकाअनुसार सञ्चालनमा आएको निगमले डाँगीले बताउनुभयो ।

यस कार्यले दुर्गम भेगका नागरिकहरूमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा वृद्धि हुने निगमको विश्वास छ । आगामी दिनहरूमा पनि विगतमा झै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान सञ्चालन गर्न निगम सदैव प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

निगमका प्रवक्ता डाँगीले हरेक दिन एक विमानले कम्तीमा चार उडान गर्नेगरी नयाँ उडान तालिका बनाएर आन्तरिक उडानलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभएको छ ।

बीसबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट सम्पन्न

लोमान्थाङ (मुस्ताङ), ३० वैशाखः लोकतन्त्र, प्रेस स्वतन्त्रता एवं जलवायु सङ्कटलगायत महत्त्वपूर्ण विषयसँग जुध्न योगदान गर्ने सबैको प्रयासको कदर एवं प्रतिबद्धतासहित नेपाल प्रेस युनियनको ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया सम्मेलन २०२५’ सम्पन्न भएको छ ।

‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटका विषयमा यही वैशाख २७ गते सुरु भएर आज सम्पन्न भएको सम्मेलनले २० बुँदे ‘लोमान्थाङ घोषणा–पत्र’ जारी गर्दै लोकतन्त्र, स्वतन्त्र प्रेस र जलवायु सङ्कट मानवता र पृथ्वीसँग अन्तरसम्बन्धित विषयमा भएको उल्लेख गरिएको छ ।

आज जारी भएको ‘लोमान्थाङ घोषणा–पत्र’मार्फत प्रेस युनियनले बढ्दो लोकप्रियवाद, सबै प्रकारका उग्रवाद र प्रतिगामी शक्तिहरू तथा सङ्घीयताको कार्यान्वयनप्रतिको उदासिनता र कुशासनले लोकतन्त्रलाई दिएको खतराप्रति सचेत रहनुपर्नेमा जोड दिएको छ । त्यसैगरी अभिव्यक्ति तथा विचारको स्वतन्त्रता, विशेषगरी प्रेस स्वतन्त्रता, सञ्चार र सूचनाको अधिकारसम्बन्धी संवैधानिक तथा कानुनी प्रावधानहरूको कार्यान्वयनमा जोड दिइएको छ ।

राजनीतिक नेतृत्वप्रति निराशा र आक्रोश तथा राजनीतिक प्रणालीप्रति बढ्दो उपेक्षाका कारण लोकतन्त्रलाई जनउत्तरदायी र परिणाममुखी बनाउन सुधार आवश्यक रहेको औँल्याउँदै नेपाल प्रेस युनियनले लोकतन्त्रलाई सशक्त बनाउन र चुनौतीहरूप्रति ठोस जवाफ दिन सहयोग पु¥याने विश्वास व्यक्त गरिएको छ ।

“राजनीतिक दलहरू र नागरिक समाज संस्थाहरू लोकतन्त्रका पूरक हुन् । यिनीहरूबीचको सहयोग र सन्तुलनले राज्यलाई जवाफदेही, लोकतान्त्रिक र उत्तरदायी बनाउन सहयोग गर्छ । त्यसैले नेपाल प्रेस युनियन राजनीतिक प्रणालीमा निरन्तर सुधारका लागि नेतृत्वदायी भूमिका प्रदर्शन गर्न सबैलाई आह्वान गर्दछ”, घोषणा–पत्रमा भनिएको छ ।

घोषणा–पत्रमार्फत पत्रकारिता, राजनीतिक दल र नागरिक समाजबीच परस्पर सहकार्य प्रवर्द्धन गर्न, लोकतन्त्र र राजनीतिक प्रणालीप्रति जनविश्वास बलियो बनाउन सहकार्यात्मक र निरन्तर संवादको प्रवर्द्धनको आह्वान गरिएको छ ।

त्यसैगरी प्रेस स्वतन्त्रताको सन्दर्भमा नेपाल प्रेस युनियनले संसारभर (गाजालगायत) हत्या, डर, धम्की र उत्पीडनको सिकार भएका पत्रकार र स्वतन्त्र अभिव्यक्तिको पक्षमा ओकालत गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारहरूको सुरक्षा र संरक्षणप्रति ऐक्यबद्धता जनाएको छ ।

स्थानीय मिडिया प्रणाली र संरचना सुदृढ पार्ने, प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने, र जलवायु सङ्कटसँग जुध्न सक्ने क्षमताको विकास गर्न आह्वान गर्दै प्रेस युनियनले दक्षिण एसियाली मुलुकहरूमा र विश्वभर ‘डिजिटल स्पेस’ नियमनको नाममा बढ्दो प्रेस स्वतन्त्रता माथिको आक्रमणको प्रतिकार गर्न आग्रह गरेको छ ।

बहुआयामिक असहिष्णुताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खतरा बढाएको, विश्वव्यापी लोकप्रियतावाद, आतङ्कवाद, उग्रवाद, अधिनायकवाद र ठूला प्रविधि कम्पनीहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरिरहेको उल्लेख गर्दै घोषणा–पत्रमा कुनै पनि बहानामा स्वतन्त्र प्रेसमाथि आक्रमण हुनुहुँदैन भनिएको छ ।

सूचना प्रवाहको डिजिटल विस्तारसँगै तीनै तहका सरकारहरूले अनुकूल नीति र कानुनमार्फत सकारात्मक हस्तक्षेप गर्नुपर्नेमा जोड दिँदै घोषणा–पत्रमा पत्रकारहरूको अधिकार, डिजिटल साक्षरता र परस्परसम्बद्ध मिडियाको माध्यमबाट लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षा तथा जलवायु सङ्कटसँग जुध्न सक्ने वातावरण निर्माण गर्न सचेतना अभिवृद्धि गर्न आह्वान गरिएको छ ।

बलियो सूचना प्रणाली र सत्यनिष्ठासहितको सार्वजनिक हितमा आधारित विश्वसनीय मिडिया विकासबाट लोकतन्त्र, मानव अधिकार र जलवायु सङ्कटबारे जनतासम्म यथार्थपूर्ण सूचना पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

पर्यावरणमैत्री, समावेशी र दिगो विकासको अवधारणाअनुसार नीति, योजना, दृष्टिकोण र पूर्वाधार निर्माणको आह्वान गर्दै प्रेस युनियनले जलवायु सङ्कट क्षेत्रीय प्रमुख एजेन्डा भएकाले यहाँका राजनीतिक दलहरूले यसलाई प्राथमिकतामा राख्नुपर्ने र राजनीतिक तहबाट यसप्रति ऐक्यबद्धता प्रकट गर्नुपर्नेमा जोड दिएको छ ।

काठमाडौँ, पोखरा र लोमान्थाङमा सम्पन्न अन्तरराष्ट्रिय मिडिया सम्मेलनमा सहभागी पत्रकारहरू, सञ्चारकर्मीहरू, नागरिक समाजका सदस्यहरू, सङ्घीय सरकारका मन्त्रीहरू, श्रमिक सङ्गठनका नेताहरू, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू, स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू, राजनीतिक अभियन्ता, विकासकर्मी, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र जलवायु सङ्कट न्यूनीकरणका अभियन्ताहरू, अन्तरराष्ट्रिय पत्रकारका सङ्घसंस्थाका प्रतिनिधि तथा विभिन्न देशहरूका प्रतिनिधिहरूले सहभागिता रहेको थियो । 

नेपालको संविधानद्वारा प्रदान गरिएका अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टी, विशेषगरी धारा १७ (विचार तथा अभिव्यक्तिको स्वतन्त्रता), धारा १९ (सञ्चारको अधिकार) र धारा २७ (सूचनाको हक) को पालना गर्ने सम्मेलनमा प्रतिबद्धता जनाएको छ ।

दिगो विकासका लागि सन् २०३० को एजेन्डा (दिगो विकास लक्ष्य) तथा पेरिस घोषणाले सुशासन, जवाफदेहिता, गरिबी उन्मूलन र जलवायु परिवर्तनविरुद्ध तत्काल कदम चाल्न आवश्यक रहेको उल्लेख गरेको तथ्यलाई मान्यता दिएको उल्लेख गर्दै यसमा प्रेस स्वतन्त्रता र जान्न पाउने अधिकार लोकतन्त्र प्रवर्द्धन तथा मानव अधिकार र मौलिक स्वतन्त्रताको सुनिश्चितताका लागि अत्यावश्यक छन् भन्ने विषयलाई स्वीकार गरिएको छ ।

त्यस्तै हिमाली जिल्ला ‘मुस्ताङ’को सांस्कृतिक, प्राकृतिक विशेषता र व्यापारिक सम्भावनाका बारेमा उल्लेख गर्दै घोषणा–पत्रमा मुस्ताङको संरक्षण र सम्बद्र्धनका विषयमा निरन्तर संवाद र विचार–विमर्श हुनुपर्नेमा जोड दिइएको छ ।

त्यसैग्री नेपाल–चीनबीचको कोरला नाका सहज सञ्चालन र कालीगण्डकी करिडोरको पूर्णता सुनिश्चित गर्न सङ्घीय सरकारलाई आह्वान, जसले क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रेस युनियनले विश्वास व्यक्त गरेको छ ।

मुस्ताङ, मुक्तिनाथ, दामोदर कुण्ड र कैलाश मानसरोवरबीचको धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने तथा आपसी सहयोग एवं हितमा प्रयोग गर्ने सम्भावनाको यथार्थपरक कार्यान्वयनतर्फ सबै सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

घोषणा–पत्र जारी गर्न आयोजित कार्यक्रममाा लोमान्थाङ गाउँपालिका अध्यक्ष टासी नोर्वु गुरुङले राजनीति नीतिगत अस्पष्टताका कारण हिमाली जिल्लाा जलवायु परिवर्तनको मारमा परेको बताउनुभयो । सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, हरिहर वीरहीलगायत वरिष्ठ पत्रकारहरूको उपस्थिति रहेको थियो ।

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौँ, ३० वैशाखः उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको ठहर गरेको छ ।

 न्यायाधीशद्वय मुनेन्द्र अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले आज काउन्सिललाई अनलाइन न्यूजपोर्टल र युट्युबसहित सामाजिक सञ्जालमार्फत सञ्चालन हुने मिडिया काउन्सिलको अनुगमनको क्षेत्राधिकारमा पर्ने ठहर गरेको हो ।

 काउन्सिलले गत मङ्सिर २७ गते दियो पोष्टडटकमसहितका विभिन्न डिजिटल मिडियालाई कालो सूचिमा राख्ने कारबाहीविरुद्ध परेको रिटमा आज यस्तो फैसला गरिएको हो । 

“यो फैसलाले डिजिटल मिडियाले पनि पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्छ भन्ने प्रष्ट व्याख्या गरेको छ”, फैसलापश्चात् काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रतिक्रिया छ, “अबका दिनमा अनलाइन मात्र नभई युट्युब, फेसबुक पेजसहित प्रयोग गरी चलेका डिजिटल मिडियाको अनुगमनसमेत काउन्सिलको दायरामा परेको सम्मानित अदालतबाट व्याख्या भएको छ ।”

काउन्सिलले डिजिटल मिडिया अनुगमन र कारबाहीका लागि एक वर्षअघि नै कार्यविधि बनाई नियमन गरिरहेको छ । काउन्सिलका तर्फबाट कानुनी सल्लाहकार अधिवक्ताहरू अनन्तराज लुइँटेल र अधिवक्ताहरू झबिन्द्र भुसाल, लिलाधर उपाध्याय, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती र विशाल थापाले बहस गर्नुभएको थियो ।

काउन्सिलले कालोसूचीमा राखेका नेपाल आजसहितका अनलाइनका सम्बन्धमासमेत उच्च अदालतल पाटनले काउन्सिलको नियमनको अधिकारलाई सदर गरेको थियो ।

‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’

मोरङ, ३० वैशाखः नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले आफ्नो पार्टी जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील रहेको बताउनुभएको छ । कांग्रेस मोरङले आज साँझ विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेला एवं अन्तरक्रियामा उहाँले सबै नेपालीको आस्था र भरोसाको पार्टीले आफूहरूमाथि मुलुकलाई समृद्धितर्फ डो¥याउने जिम्मेवारी रहेको बताउनुभयो ।

नेता लेखकले कांग्रेसको नेतृत्वमा निर्माण गरिएको वर्तमान समावेशी संविधानकै कारण देशमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश हुन सफल हुनुभएको चर्चा गर्नुभयो । राजनीतिमा वादविवाद, आलोचना, समालोचना, प्रतिवाद हुन्छ भन्दै उहाँले वर्तमान संविधानअनुसार एउटै पार्टीको सरकार निर्माण हुन नसक्नाले गठबन्धन सरकार निर्माण गर्नुबाहेक अन्य विकल्प नरहेको धारणा राख्नुभयो ।
“मुलुकमा राजनीतिक स्थिरता दिन वर्तमान संयुक्त सरकार निर्माण गरिएको हो । नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनका आधारमा १० महिनाको अवधिमा सरकारले वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि, मूल्यवृद्धिमा नियन्त्रण, राजस्व सङ्कलनमा सुधार, आयात घटाएर निर्यात वृद्धि गरेको छ । हामी इमान्दारिताका साथ देश विकासमा लागिरहेका छौँ”, मन्त्री लेखकले भन्नुभयो ।

उहाँले प्रतिनिधिसभामा दुईदेखि पाँच वर्षसम्म थातिरहेका पुराना विधेयक पारित हुने अवस्थामा पुगेको जानकारी दिँदै शिक्षा विधेयक आगामी असार १५ गते प्रतिनिधिसभाबाट पारित हुने बताउनुभयो । यस्तै संविधान संशोधन गर्न कार्यदल गठन प्रक्रिया अगाडि बढेको बताउँदै गृहमन्त्री लेखकले बढीभन्दा बढी दलको सहमतिको आधारमा संविधान संशोधन गरिने उल्लेख गर्नुभयो ।

कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्ति माझी, सचिव मोदराज घिमिरेले जनताका समस्या समाधानतर्फ सरकार क्रियाशील हुनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा विभिन्न पालिकाका अध्यक्ष, कार्यकर्ताले कृषि आँैजार कारखाना सञ्चालनमा अनुदान, महिला हिंसा नियन्त्रण, ग्रामीण क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना, सुकुम्वासी समस्या समाधान गर्नुपर्नेलगायत विषयमा सुझाव दिएका थिए ।

खेलकुद, साहित्यक तथा पर्यटन महोत्सव–२०८२ : टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू

खोटाङ, ३० वैशाख : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत आजदेखि खुला राष्ट्रिय टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू भएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

दिक्तेल बजारस्थित खोटाङ बहुेउद्देश्यीय कभर्डहलमा टेबलटेनिस तथा जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ । खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा ५२ तथा बुद्धिचाल प्रतियोगितामा ४१ जना राष्ट्रिय तथा अन्तरराट्रियस्तरका खेलाडी सहभागी रहेको संयोजनकर्ता जिल्ला बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिनुभयो ।

कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव पर्शुराम बस्नेतले महोत्सवको दोस्रोचरणमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गर्नुभयो । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । खुला सिनियर पुरुष टेबलटेनिस प्रतियोगिताअन्तरगत प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, खुला जुनियर पुरुष टेबलटेनिसमा प्रथम, द्धिर्तीय र सेमिफाइनष्टिले क्रमशः रु १५ हजार, रु सात हजार ५०० र सेमिफाइनलिष्ट दुईजनाले रु तीन हजार ७५० का दरले नगद प्राप्त गर्नेछन् । खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र तृर्तीय हुनेले रु दश हजार, रु पाँच हजार र सेमिफाइनष्टिले दुईजनाले क्रमशः रु दुई हजार ५०० का दरले नगद पुरस्कार प्रदान गरिने नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।

यस्तै, खुला महिला/पुरुष टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र सेमिफानलिस्ट हुने प्रतियोगीले क्रमशः रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाईनलिस्ट दुईवटा टिमले जनही रु छ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्धितीय, तृर्तीय, चौँथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु आठ हजार, रु सात हजार र रु चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

वैशाख–२७ गतेबाट सुरु भएको महोत्सवअन्तरगत पहिलो दिन आयोजना गरिएको खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको महोत्सवको पहिलो दिन गत शनिबार सम्पन्न २१ किलोमिटर लामो हाफ म्याराथनअन्तरगत महिलातर्फ न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेण्ड तथा पुरुषतर्फ श्रेष्ठले एक घण्टा आठ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जित्नुभएको हो ।

खुला महिला/पुरुष हाफ म्याराथनमा प्रथम हुने दुवै धावकले रु ७७ हजार ७७७ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगिताका द्धितीय, तृर्तीय, चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ हुने धावकलाई क्रमश : रु ५५ हजार ५५५, रु २५ हजार ५५५, रु १५ हजार ५५५, रु ११ हजार १११, रु सात हजार ७७७ र रु पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजयी धावकलाई कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथ्लेटिक्स विद्याका खुला महिला/पुरुष हाफ म्याराथनसहित खुला दौड, खुला महिला/पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको छ । महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एकजना महिला साहित्यकारलाई नगदसहित सम्मान गरिने जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

महोत्सवका लागि रु ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभयो ।

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

काठमाडौँ, ३० वैशाख: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरियालाई आग्रह गर्नुभएको छ ।

आज दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उहाँले रेल सेवा नेपाल सरकारको पनि प्राथमिकताको विषय भएका भन्दै लगानीका लागि आग्रह गर्नुभएको हो ।

मन्त्री दाहालले यहाँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूलाई लक्षित गरी रेल सेवाको विस्तारको अध्ययन, अनुसन्धानका लागिसमेत आग्रह गर्नुभयो । लामो तथा छोटो दूरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाइरहेको उल्लेख गर्दै उहाँले लगानीका ‘मोडल’ बारे छलफल गर्न सकिने उल्लेख बताउनुभयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेलमार्ग विस्तार उपयोगी हुने बताउनुभयो ।

लगानी बोर्डका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरू मिलेर विभिन्न मोडलमा अध्ययन गरिने बताउनुभयो । त्यसका लागि केहि दिनभित्रै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उहाँले जानकारी दिनुभयो ।

छलफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेलमार्ग विकासका लागि विभिन्न साझेदारहरूसँग छलफल भइरहेको बताउनुभयो ।

कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १२६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेलमार्ग विकास र विस्तारका लागि कार्य गर्दै आएको बताउनुभयो । नेपालमा अध्ययन तथा लगानीका लागि नेपाली पक्ष र कोरेलबीच विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उहाँको भनाइ थियो ।

चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ

काठमाडौँ, ३० वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नयाँ युगलाई सम्बोधन गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० र १३ मा निर्माण हुने ‘सिनेपाः’ नामक चलचित्र छायाङ्कन स्टुडियोको निर्माणको शिलान्यास गर्ने कार्यक्रममा मन्त्री गुरुङले नयाँ बन्ने ‘चलचित्र ऐन’ ले अहिले चलचित्र क्षेत्रमा देखिएका र सुनिएका समास्यालाई न्यूनीकरण गर्ने बताउनुभयो ।

“चलचित्रकर्मीको शैली र सोचमा परिवर्तन आइसकेको छ, यद्यपि हामी विसं २०२६ कै कानुनअनुसार चलचित्र क्षेत्रलाई अगाडि बढाइरहेका छौँ, त्यो छिट्टै परिवर्तन भएर समयानुकूल कानुन आउनेछ । हामीले चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्न यो सुरूआत गरेका हौँ, अगाडि धेरै काम गर्न बाँकी छ । तर, हामीले सुरू गरेका कामले विस्तारै नतिजा दिनेनै छ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले विसं २०२६ को चलचित्र ऐनलाई प्रतिस्थापन गर्नेगरी ल्याउन लागिएको उक्त विधेयकको मस्यौदा ‘चलचित्र ऐन’ बनेर आइसकेपछि पनि संशोधन गर्नुपर्ने विषयमा छलफल गर्न सकिने बताउनुभयो ।

विसं २०२२ देखि नै नेपालमा चलचित्र निर्माणको क्रम सुरू भए पनि ६ दशकपछि स्टुडियो बनाउन ढिलाइ भए पनि आगामी दिनमा त्यस कार्यलाई अझ प्रभावकारी एवं द्रुतगतिमा अगाडि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विगत ६० वर्षदेखिको माग र आशा बल्ल पूरा हुँदैछन् । गफ गर्नेभन्दा पनि रफ्तारमा काम अगाडि बढायौँ भने गन्तव्यमा छिट्टै पुग्छौँ । मैले नेतृत्व गरिरहेको मन्त्रालय अन्तर्गतका सञ्चारसँग जोडिएका संस्थामा कानुन संशोधनको आवश्यकता छ । पञ्चायतीकालको कानुनमा चलेर हामीले अहिलेको समयमा योजना अनुरूपको सफलता हासिल गर्न सक्दैनौँ । त्यसकारण हामीले सार्वजनिक सेवा प्रसारण नेपालपश्चात चलचित्र ऐनलाई ल्याउन प्रक्रिया अगाडि बढाएका हौँ”, मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले चलचित्र क्षेत्रमा देखिएका समस्यालाई एकपछि अर्को गर्दै समाधान गर्ने जनाउँदै ‘चलचित्र ऐन’ सँगै ‘मिडिया काउन्सिल विधेयक’, ‘सामाजिक सञ्जाल विधेयक’ संसद्मा पुगेको र पञ्चायती कानुनमा चलेका कानुनलाई समयसापेक्ष सुधार गर्न लागिएको बताउनुभयो ।

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो । कुल ४२ रोपनी क्षेत्रफलमा बन्ने उक्त अत्याधुनिक स्टुडियोको कूल लागत रु ३७ करोड अनुमान गरिएको छ ।

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, ३० वैशाख : वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो ।”

पक्राउ परेकामध्ये साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै रु ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके पठाउने भन्दै रु दश लाख लिई ठगी गरेको खुल्नमा आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

दक्षिण सुडानमा पाँच लाख ६० हजार शरणार्थीको बसोबास : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण सुडानमा हाल पाँच लाख ५९ हजार ६१५ जना शरणार्थीहरू बसोबास गरिरहेका छन्। ती सबैजना देशभरका २९ स्थानहरूमा रहेका छन्।

उक्त प्रतिवेदनमा पाँच लाख ५५ हजार ८१४ जना व्यक्ति औपचारिक रूपमा दर्ता गरिएका शरणार्थीको रूपमा रहेका छन् भने तीन हजार ८०१ जना व्यक्ति अझै शरणको खोजीमा छन्।

शरणार्थीहरूमध्ये सबैभन्दा ठूलो सङ्ख्या छिमेकी देश सुडानबाट आएका छन्, जसको संख्या पाँच लाख २७ हजार ९५१ रहेको छ। त्यसपछि कङ्गो, इथियोपिया, इरिट्रिया, र मध्य अफ्रिकी गणराज्यलगायतका अन्य देशका नागरिकहरू रहेका छन्।

शरण खोज्ने व्यक्तिहरूको विवरण अनुसार, ३५ दशमलव एक प्रतिशत इरिट्रियाली र ३४ प्रतिशत इथियोपियाली नागरिक छन्। त्यस्तै, युगान्डा, बुरुन्डी र कङ्गोका नागरिकहरू पनि उल्लेखनीय सङ्ख्यामा सङ्ख्यामा रहेका छन्।

सुडानमा जारी हिंसात्मक द्वन्द्वका कारण प्रभावित व्यक्तिहरू ज्यान जोगाउँदै भाग्न बाध्य भएका छन्। उनीहरूलाई दक्षिण सुडानले अस्थायी रूपमा शरण दिँदै आएको छ।

प्रतिवेदनअनुसार ती शरणार्थीहरूमध्ये ५१ प्रतिशत महिला छन् भने कूल ७८ प्रतिशत महिला र बालबालिका रहेका छन्, जसले महिला तथा बालमैत्री सेवा तथा सुरक्षाको विशेष आवश्यकता औंल्याएको छ।

भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।

भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ ।

उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए ।

जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

पञ्जाब प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै घटनाको विस्तृत छानबिन भइरहेको र दोषीहरूलाई कानूनी दायरामा ल्याइने जनाएको छ ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिनुभयो ।

गत वर्ष मात्रै पनि भारतको दक्षिणी राज्य तामिलनाडुमा यस्तै घटनामा ५३ जनाको मृत्यु भएको थियो ।

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन, विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त बनाउन निर्देशन

जनकपुर, ३० वैशाखः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ ।

उहाँले आज धनुषाको हङ्सपुर नगरपालिकाका दुई सामुदायिक विद्यालयको अनुगमन गरी विद्यमान बेथिति तथा विसङ्ति हटाउन पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा उक्त नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौँडामा निजी विद्यालयमा अध्ययनरत रहेका विद्यार्थीको नाम देखाएर तिनका नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा उपलब्ध गराइएको फेला परेको बताउनुभयो । विद्यार्थी सङ्ख्याका आधारमा सामुदायिक विद्यालयलाई सरकारले आवश्यक छात्रवृत्ति र खाजा खर्च उपलब्ध गराउने गरेको छ ।

शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी कायम गरेर विद्यालयले छात्रवृत्ति, खाजालगायत विभिन्न छ–सातवटा शीर्षकमा सरकारबाट प्राप्त रकम दुरुपयोग भइरहेको बताउनुभयो । उहाँले नक्कली विद्यार्थीको विवरण विद्यालय शिक्षा व्यवस्थापन सूचना प्रणालीमा राखेर रकम निकासा गराउनु भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्नलाई कारबाहीका माग गर्नुभयो ।

मुख्यमन्त्री सिंहले नक्कली विद्यार्थी कायम गरेर सरकारी साधनस्रोतको दुरुपयोग गम्भीर विषय भएकाले यसलाई नियन्त्रण तथा नियमन गर्न सम्बन्धित निकायमा पत्राचार गर्न प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई निर्देशन दिनुभयो ।

यसैगरी मुख्यमन्त्री सिंहले आजै सोही नगरपालिका–८ झटियाहीस्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको समेत अनुगमन गर्नुभएको छ । विद्यार्थीको अत्यधिक चाप रहने माध्यमिकस्तरको विद्यालयमा शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद भएको भन्दै उहाँले व्यवस्थापनका लागि तत्काल पहल गर्न नगर उपप्रमुख दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराउनुभयो ।

उपप्रमुख मण्डलले शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र यसै आर्थिक वर्षमा शौचालय निर्माण गरिने जानकारी गराउनुभयो ।

मधेश प्रदेश, शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशका एक सय ३६ वटै पालिकालाई एक महिना अगाडि पत्राचार गरी सामुदायिक विद्यालयको शिक्षण प्रणालीमा सुधार ल्याउन सुझावसहित ध्यानाकर्षण गराएको थियो ।

औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि उपलब्ध गराउन सहजीकरण समिति गठन

काठमाडौँ, ३० वैशाखः नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन सहजीकरण समिति गठन गरिएको छ ।

लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजललगायतका औषधि बिक्री नभएको गुनासोपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यक छलफल गरी समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले सरकारी नियमअनुसार तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका लागि आवश्यक पहलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीसँग आज छलफल गर्नुभएको थियो । उक्त बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेडलगायतका अधिकारी रहने गरी समिति गठन गरिएको हो । अब समितिको सुझावका आधारमा आवश्यक निर्णय गरेर अघि बढिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

यसअघि छलफलका क्रममा स्वास्थ्यमन्त्री पौडेलले आमनागरिकलाई सुपथ मूल्यमा उपलब्ध गराउन लिमिटेडबाट निरन्तर उत्पादन हुन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारी स्वास्थ्य संस्थामा अनिवार्य उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधिका लागि उद्योगबाट खरिद गर्न सकिने विकल्पबारे गृहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, महाप्रबन्धक कैलाशकुमार पनेरुसमेत सहभागी हुनुहुन्थ्यो ।

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

मोरङ, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गर्नुभयो ।

उहाँले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताउनुभयो । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग एवं बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरङ्कुश व्यवस्था व्यवस्था हुन नसक्ने बताउनुभयो ।

गृहमन्त्री लेखकले वर्तमान सरकारले १० महिनामा गरेको उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकाङ्क र अर्थतन्त्र सवलीकरणतर्फ अगाडि बढिरहेको जानकारी दिनुभयो ।

संविधान कार्यान्वयन र सङ्घीयताको सुदृढीकरण हुनेगरी बजेट ल्याइनुपर्ने सांसदहरूको माग

काठमाडौँ, ३० वैशाखः संसद्मा विचाराधीन आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले संविधानको प्रभावकारी कार्यान्वयन र सङ्घीयताको सुदृढीकरण हुनेगरी बजेट ल्याइनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्नेक्रममा सांसद अम्बरबहादुर रायमाझीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता नीतिगत र व्यवहारिक रूपमा समग्र मुलुकको आर्थिक समृद्धिको दिशातर्फ उन्मुख रहेको बताउनुभयो । नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रताका साथ आर्थिक सुधारको मार्गचित्रका साथ उक्त सिद्धान्त र प्राथमिकता आएको उहाँले दाबी गर्नुभयो ।

सांसद नारायणी शर्माले आगामी आवको बजेटले मुलुकका विद्यमान समस्या र अन्तरविरोधलाई हल गर्नसक्छ वा सक्दैन भन्ने मुख्य प्रश्न रहेको बताउनुभयो । उहाँले नेपाली नागरिकका विकास आकांक्षा पूरा गर्न हालसम्मका सरकारले गरेका कामको समीक्षा गरेर नयाँ ढङ्गले जान सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । संविधान कार्यान्वयन गर्ने कुरालाई प्राथमिकतामा राखेर बजेट ल्याइनुपर्नेमा शर्माले जोड दिनुभयो ।

सांसद किरणकुमार साहले आगामी आवको बजेटले स्थायित्व, समृद्धि र सामाजिक न्यायको प्रत्याभूतिका साथै समावेशी विकास अगाडि बढाउन सक्नुपर्ने बताउनुभयो । यस्तै, सङ्घीयताको कार्यान्वयनका लागि आवश्यक कानुनी, वित्तीय र प्रशासनिक संयन्त्र निर्माणमा बजेट केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद लेखनाथ दाहालले नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकतामा संशोधन एवं परिमार्जन नगर्ने हो भने संसद्मा छलफल गर्नुको अर्थ नहुने बताउनुभयो । संसद्बाट आएका जायज र राम्रा सुझाव पनि सरकारले नसमेट्ने हो भने संसद्मा आफ्ना कुरा राख्नु निरर्थक बहस मात्रै हुने उहाँको भनाइ छ ।

अर्का सांसद दामोदर पौडेल वैरागीले सिद्धान्तमा स्पष्टता, तथ्यमा सत्यता, विनियोजनमा प्राथमिकता र कार्यान्वयनमा तदारुकताका साथ अघि बढ्न सक्यो भने बजेटले नतिजा दिनसक्ने बताउनुभयो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा पर्नु सकारात्मक रहेको उहाँको भनाइ छ ।

सांसद रुपा सोशी (चौधरी)ले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा मौलिक हक र राज्यका निर्देशक सिद्धान्त कार्यान्वयनमा केन्द्रित हुने भनिएकामा समन्वय के–कति रहन्छ भन्ने स्पष्ट पारिनुपर्ने बताउनुभयो । सिद्धान्त एकातिर र प्राथमिकता अर्कोतिर भएको हो कि भन्ने अस्पष्टता देखिएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ ६ गतेका लागि निर्धारण गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिनुयभो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३१ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

कर्णालीका १४ स्थानीय तहसँग अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम

कर्णाली, ३० वैशाख : कर्णाली प्रदेश सरकारले १४ स्थानीय तहहरूसँग अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि साझेदारी गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको उपचार, रोकथाम तथा पुनःस्थापनाका लागि स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा ‘स्थानीय तहका पदाधिकारी तथा सरोकारवालासँगको अभिमुखीकरण’मा कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र स्थानीय तहहरूबीच साझेदारी गरिएको छ ।

साझेदारी कार्यक्रम सञ्चालनका निम्ति मन्त्रालयले सबै स्थानीय तहहरूबाट प्रस्तावना आह्वान गरेको थियो । जसमा कर्णालीका ७९ स्थानीय तहमध्ये १४ वटा प्रस्ताव पेस भएको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतका भेरीगङ्गा, पञ्चपुरी नगरपालिका, चौकुने, सिम्ता गाउँपालिका, कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी र शुभकालिका गाउँपालिकासँग साझेदारी गरिएको छ ।

यस्तै, रूकुमपश्चिमको चौरजहारी र मुसिकोट नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र हुम्लाको सिमकोट गाउँपालिका रहेका छन् । ती स्थानीय तहमा करिब १० हजार अपाङ्गता भएका व्यक्तिहरू यसबाट लाभ लिनसक्ने अनुमान गरिएको यद्यपि कार्यक्रम सञ्चालन भने स्थानीय तहहरूले प्रस्ताव गरेअनुरूप हुने जनाइएको छ ।

मन्त्रालयले जारी गरेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिम कार्यक्रम सञ्चालन हुनेछ । सोहीअनुरूप अपाङ्गता रोकथाम तथा सहजीकरणसम्बन्धी कार्यक्रम, अपाङ्गता पहिचान र उपचार, अपाङ्गता भएका व्यक्ति र परिवारको जीवनस्तर सुधार लक्षित कार्यक्रम, संस्थागत सुदृढीकरणलगायतका कार्यक्रमको मुख्य क्रियाकलाप समावेश हुने जनाइएको छ ।

निर्देशिकाबमोजिम क्रियाकलाप सञ्चालनका लागि विभिन्न अन्तरराष्ट्रिय तथा राष्ट्रिय सङ्घ, संस्थासँग प्राविधिक सहकार्य गर्ने सक्ने व्यवस्थाअनुसार करूणा फाउण्डेसन नेपाल, एनएफडी–एन र युनिसेफसँग समन्वय सहकार्य गर्ने मन्त्रालयले जनाएको छ ।

टिपरको ठक्करबाट महराको घटनास्थलमै मृत्यु,चालक फरार

सिरहा, ३० वैशाखः यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चुनढुङ्गा बोकेको टिपरको ठक्करबाट स्थानीय ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

उदयपुरबाट चुनढुङ्गा बोकेर तीव्र गतिमा आएको बा प्र ०१–००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिँदा महराको घटनास्थलमै मृत्यु भएको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राज पुरीले जानकारी दिनुभयो । ठक्कर दिएको टिपर असन्तुलित भएर सोही स्थानबाट सडकमुनि पल्टिएको छ । टिपर चालक भने फरार भएका छन् ।

महिला टी–ट्वान्टी क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौँ, ३० वैशाख: आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायर क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा हङकङले नेपाललाई सात विकेटले पराजित गरेको हो । नेपालले जितका लागि ३० रनको लक्ष्य दिएकामा हङकङले ४ दशमलव ३ ओभरमा ३ विकेटको क्षतीमा उक्त लक्ष्य पूरा गर्यो ।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनायो । नेपालका लागि सम्झाना खड्काले १० रन बनाइन् । कप्तान इन्दु बर्माले ९ र रुबिना क्षेत्रीले चार, पूजा महतोले तीन र कविता कुँवरले दुई रन बनाइन् । बलिङतर्फ हङकङका लागि एलिसन सिउले तीन विकेट लिइन् ।

यसअघि नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले दोस्रो खेलमा बहराइनलाई ९ विकेटले हरायो । प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भूटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् । नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ छ्न । समूह ‘ए’ मा भूटान, कुवेत र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र युएई छन् ।

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै भुजेल, वार्षिक १८ लाखभन्दा बढी बचत

धरान (सुनसरी), ३० वैशाख : तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किनुभएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहनुभएको छ । दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उहाँ अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहनुभएको छ ।

अजितले दुबईमा काम गर्दा महिनाको रु ३५–४० हजार कमाउनुहुन्थ्यो तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन । आफूलाई खाना खर्च अनि घरखर्च पठाउँदै सकिन्थ्यो । बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो । उहाँ भन्नुहुन्छ, “गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनभित्र एउटा आँट र अनुभव भने थियो । अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ ।”

उहाँले भन्नुभयो, “सुरुका दिनमा दुःख र चुनौती भए पनि अहिले व्यवसायले फन्को मार्यो । विसं २०७० मा दुईवटा टनेलमा रु दुई लाख २७ हजारको लगानीमा सुरु गरेको थिएँ । सुरुमा च्याउ बिक्री गर्न बजारको समस्या निकै थियो, उत्पादन हुन्थ्यो तर बिक्रीका लागि बजारको समस्या, प्रविधिको अभाव, सीप नहुनु र रोगको समस्या आयो । तर, तालिम र अनुभवले समस्या पार गरेँ । विस्तारै बिक्रीका लागि बजारको समस्या पनि हट्यो, अहिले सबै राम्रो छ ।”

अहिले उहाँले १२ टनेलमा च्याउखेती गर्दै आउनुभएको छ । ती टनेलबाट अफसिजनमा दिनहुँ करिब तीन सय केजी बढी च्याउ उत्पादन हुने गरेको छभने सिजनमा छ सय केजीसम्म च्याउ उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ ।

पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो । उहाँ भन्नुहुन्छ, “त्यो समय राम्रो उत्पादन भए पनि बजारमा मूल्य भने कम हुन्छ, जुन समय प्रतिकेजी रु ६० देखि रु ८० मा बिक्री गर्नुपर्छ । अहिले भने मैले प्रतिकेजी रु एक सय ६० देखि रु एक सय ७० सम्ममा बिक्री गरिरहेको छु । अहिले यही च्याउखेतीले दिएको राम्रो आम्दानीबाट घरखर्च धनेर वर्षमा रु १८ लाख बढी मज्जाले बचत हुने गरेको छ ।” अहिले वर्षमा र २२ देखि २४ लाखसम्मको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर रु १८ लाख बचत गर्ने गरेको उहाँले बताउनुभयो ।

अहिले उत्पादन गरेको च्याउ बिक्रीका लागि बजारको समस्या छैन । सुरुमा बजार अभाव भए पनि अब त्यो समस्या छैन । व्यापारी आफैँ फार्ममा च्याउ खोज्दै आउनुहुन्छ भने केही व्यापारीले हामीलाई दिने च्याउ बाँकी छ कि छैन भनेर फोन गर्छन् । उहाँ भन्नुहुन्छ, “व्यापारी फार्ममै च्याउ खरिद गर्न आउँदा हामीले रु २० देखि रु ३० कम मूल्यमा दिने गरेका छौँ । आफैँले बजार पुर्याउन सके हामीलाई नाफा हुन्छ । धेरैजसो धरान इटहरी चक्रघटी, कालाबन्जरलगायत स्थानीय बजारमा भने म आफैँले पुर्याउने गरेको छु भने विराटनगर, राजविराजलगायत ठाउँबाट व्यापारी आफँै लिन आउने गरेका छन् ।”

अहिले उहाँले टनेलमा दुई जना युवालाई रोजगारी दिनुभएको छभने बाँकी परिवारलाई पनि यही च्याउखेतीमा रोजगारी मिलेको उहाँ सुनाउनुहुन्छ । देशमा केही छैन भन्ने कुरा त अब पुरानो भयो, काम गर्ने मान्छे अनि इच्छा भयो भने आफ्नै देशमा मनग्य पैसा कमाउन सकिने उहाँको भनाइ छ ।

परदेशको कमाइ परदेशमै सकिन्छ । तर केही व्यापार गर्दा सिकेर गरियो भने आम्दानी मनग्य छ । उहाँले भन्नुभयो, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता पर्छ भने सधैँ एकनासको व्यापार हुँदैन, तर च्याउखेती कम जग्गा र थोरै लगानीमा पनि राम्रै आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

च्याउखेतीका लागि विशेषगरी पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लाष्टिक र झुल पनि चाहिन्छ । च्याउखेतीमा चार–पाँच दिन मज्जाले खटेर काम गरियो भने एक महिनासम्म ढुक्क हुन्छ । उहाँले अहिले कन्य जातको च्याउखेती गरिरहनुभएको छ । यसमा विषादीको प्रयोग नगरी उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ अनि बजारमा यसको माग पनि बढ्दो रहेको भुजेलले बताउनुभयो ।

गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

त्रिवेणी (नवलपरासी), ३० वैशाख -पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन् ।

गए राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

पश्चिमतर्फ छुटेका सवारी चोरमारा बजारबाट दक्षिणतर्फ लागी तम्सरिया गाउँ हुँदै खोला तरेर रानीटारबाट फूलबारी–भिउरान हुँदै अरुणखोलास्थित राजमार्ग निस्किरहेका छन् । खोलामा पानी नभएका कारण सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालनमा समस्या नभएको उहाँले बताउनुभयो ।

पश्चिमबाट पूर्वका लागि छुटेका सवारी चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ लागी रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारास्थित राजमार्गमा निस्कन सक्ने उहाँले बताउनुभयो । ठूला लरीहरू भने मोड नपुग्ने कारण उक्त बाटोबाट सञ्चालनमा रोक लगाइएको छ । भाँचिएको पुलबाट समेत पूर्ण रूपमा सवारी आवतजावत गर्न रोक लगाइएको छ । पुल तत्काल सञ्चालन हुने सम्भावना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो । गए राति क्लिङकर बोकेको ट्रक पुलबाट पार गर्दै गर्दा पुल भाँचिएको हो ।

‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौँ, ३० वैशाख : ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका शहरमा भिड्ने भएका छन् । नेपाल र जापानबीच हुने ‘के वन क्रस १७५’ प्रतियोगिता यही जेठ ४ गते जापानको ओशाका शहरमा आयोजना हुँदैछ । ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । प्रतियोगिताका लागि बक्सर अविरले थाइल्याण्डको फुकेट शहरस्थित टाइगर मोथाई क्लवमा करिव डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएर फर्किनुभएको पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरे जानकारी दिनुभयो ।

किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्काे ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका बक्सर अविरलले हालै ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुम्नुभएको थियो । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वाराजापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियम गत माघको अन्तिम साता आयोजित सो प्रतियोगितामा उहाँले जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुन सफल हुनुभएको थियो ।

यसैगरी गत कात्तिक ११ मा इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एशोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा ‘हिमचितुवा’ले विश्वप्रसिद्ध फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल हुनुभएको थियो ।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी अविरलले अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको छ ।

बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आउनुभएको छ । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति

म्याग्दी, ३० वैशाख : बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ । बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बेनी–पाखापानी म्याग्दीको प्राथमिकताप्राप्त र रणनीतिक महत्वको सडक योजना हो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले सञ्चालन गरेको बेनी–अर्थुङ्गे– तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशविन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति भएको हो ।

सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको बेनी नगरपालिका–९ काउराका विनोद चोखालले बताउनुभयो । “नेप्टेचौरबाट तोरीपानी–ओखले–पात्लेखेत हुदै झिँ जोड्ने मूलसडक घुमाउँरो भएपछि १५ वर्षअघि छोटो दूरीको वैकल्पिक सडक निर्माण भए पनि प्राथमिकतामा परेको थिएन”, उहाँले भन्नुभयो, “स्तरोन्नति भएको ठाउँमा यसअघि साँघुरो सडक थियो । ग्रेड तथा घुम्ती मिलेको थिएन ।”

ढलान गरेपछि सडकमा यात्रा गर्न सहज भएको चोखालले बताउनुभयो । बेनी नगरपालिकाको प्राविधिक शाखाका प्राविधिक मिलन केसीका अनुसार विभिन्न ठाउँमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण र ढलान भएको छ ।

रु तीन करोड बजेट विनियोजन भएको योजना कार्यान्वयन गर्न २०८१ पुस १९ गते रु दुई करोड नौ लाखमा विकेश–दुप्चेश्वर–शुभम् जेभीले ठेक्का सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म ठेक्काको म्याद भएको योजना तीन महिनाअघि नै सम्पन्न भएको हो ।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताउनुभयो । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ ।

पहिलो चरणको ठेक्काबाट बचेको रु २० लाख बजेट बराबरको थप काम गर्न अर्को ठेक्का लगाएर काम थालिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । आव २०८१/८२ मा बेनी नगरपालिकाले सबैभन्दा धेरै बजेट यही योजनामा विनियोजन गरेको थियो ।

बेनी–पाखापानी सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ । किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरेको छ । प्रदेश सरकारले मुख्य सडक स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेकाले नगरपालिकाले वैकल्पिक सडक स्तरोन्नतिको काम थालेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

विश्वकप छनोटमा नेपाल र हङकङ भिड्दै

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज हङकङसँग समूह चरणको तेस्रो खेल खेल्दैछ  । टेर्डथाई क्रिकेट मैदान, बैंककमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने संकेत देखिएको छ । नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान सुरक्षित गर्नेछ । हार भएमा भने नेपालका लागि विश्वकप छनोटको यात्रा लगभग समाप्त हुने सम्भावना छ । त्यसैले नेपाली टोलीका लागि यो ‘डु–ओर–डाइ’ स्थिति भएको छ ।

नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । हालसम्म भएको ९ भेटमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ ।

दुवै टोलीबीचको अन्तिम प्रतिस्पर्धा यसै वर्ष युगान्डामा भएको चारदेशीय सिरिजमा भएको थियो । उक्त सिरिजको पहिलो खेलमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले ६ विकेटको सानदार जित निकाल्दै राम्रो पुनरागमन गरेको थियो ।

नेपालले अहिले समूह ‘बी’ को अंक तालिकामा शीर्ष स्थानमा कब्जा जमाएको छ । पहिलो खेलमा हङकङसँग भिडन्त वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए । दोस्रो खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी बहराइनलाई ९ विकेटले पराजित गरेको थियो ।

हङकङले दुवै खेलमा वर्षाको कारण अंक बाँडेको छ । त्यसैले हङकङ पनि जितको खोजीमा रहनेछ, विशेषगरी नेपालसँगको जितले ऊ पनि सुपर ३ प्रवेशको सम्भावना बलियो बनाउनेछ ।

नेपालका लागि कप्तान इन्दु बर्मा, कविता कुँवर, पूजा महतो, रुबिना क्षेत्रीजस्ता खेलाडीको प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ । अघिल्लो खेलमा ब्याटिङमा उत्कृष्ट देखिएको नेपाली टोलीले आज पनि सोही लय निरन्तरता दिन सकेमा हङकङमाथि नियन्त्रण राख्न सक्नेछ ।

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीले रोशी गाउँपालिका-१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन।

प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताए। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ।

यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ। साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्।

मेला गएर फर्किने क्रममा खोलामा आएको बाढीले उनलाई बगाएको हो। कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजी स्थगित गरिएको थियो। आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजी शुरु गरेको घलेले जानकारी दिए।

सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो।

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । पाकिस्तानसँग चारदिने सैन्य टकराब अन्त्य भएपछि राष्ट्रका नाममा सोमबार राति सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको हवाई आक्रमण र प्रत्याक्रमणको श्रृखंला र दुवै पक्षबीच सीमापार भारी गोलाबारीपछि पहिलो पटक जनतालाई सम्बोधन गर्दै मोदीले भने, ‘यो युद्धको युग होइन । तर, यो आतंकको युग पनि होइन ।’
भारत नियन्त्रित कश्मीरमा आतंककारी हमलामा २६ जना पर्यटकको हत्यामा भारतले पाकिस्तानको हात रहेको बताएको थियो । पाकिस्तानले यसलाई खारेज गर्दै आएको छ ।

परमाणु हतियार भएका यी दुई छिमेकी देशबीच अमेरिकाको मध्यस्थतामा शनिबार युद्धविराम गर्ने सहमति भएको थियो । सो सहमति अहिलेसम्म कायम रहेको छ । दुवै राष्ट्रले सतर्क रहने बताएका छन् ।
सम्बोधनमा मोदीले भने, ‘यदि, भारतमा फेरि आतंकवादी हमला भएमा कडा प्रतिर गरिनेछ । आतंक र व्यापारको विषयमा सौदावाजी हुन सक्दैन ।’

मोदीको यो टिप्पणी युद्ध नरोके भारत–पाकिस्तानसँग अमेरिकाले व्यापारिक कारोबार बन्द गर्ने बताएपछि दुईदेशहरू युद्धविराम गर्न सहमत भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइतर्फ इंगित थियो ।

सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको र देश वैदेशिक तथा आन्तरिक ऋणमा चुर्लम्म डुबेको बताएका छन् ।

नेपालमा वाह्य र आन्तरिक ऋण गरी करिव २६ खरब मध्ये आधा आन्तरिक र आधा वैदेशिक ऋण रहेको साथै नेपाल सरकारले प्रत्येक वर्ष साँवा र व्याज गरी करिब ३ खरब भुक्तानी गर्दै आएको तथ्यले मुलुकको वर्तमान अवस्थाको उजागर गर्ने बस्नेतको भनाइ छ ।

सरकारको गलत नीति र नियतले गर्दा बजेट समयमै खर्च नहुने, विकास निर्माणका परियोजनाहरु समयमा सम्पन्न नहुने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका महत्वपूर्ण लगानीहरुले समयमा खोजेको परिणाम दिन नसक्ने अवस्था रहेको उनले बताए ।

‘संघ तथा प्रदेश सरकारले प्रत्येक वर्ष ७० देखि ८० प्रतिशतको बीचमा मात्र खर्च गर्ने गरेको देखियो । नेपाल सरकारको सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधानअनुसार खर्च गर्नुपर्ने कारणले खर्च गर्ने प्रक्रियामा संलग्न पदाधिकारीको ढिलासुस्ती, समयमा प्रक्रिया नबढाउने तथा कमिशनको खेलको कारणले सञ्चालित परियोजनाहरु अधुरै रहने गरेको पार्टीको ठहर छ,’ उनले भने ।

मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।