`

गौतम बुद्धको २५६९औँ जयन्तीका अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम

लुम्बिनी, २९ वैशाखः भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध पूर्णिमा विशेष समारोह आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा कार्यक्रम हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताउनुभयो । विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय तथा प्रदेशमन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने उहाँले बताउनुभयो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथीमा परेकाले यस दिनलाई बुद्ध जयन्तीको रुपमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गरिएको छ ।

विकास कोषले पच्चीस सय ६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने जनाएको छ । विकास कोषले बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहमा वैशाख तीन दिनसम्म बुद्धजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले वैशाख २८, २९ र ३० गते तीनदिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताउनुभयो । उहाँले लुम्बिनीको विकासका लागि सुशासनको आवश्यकता पनि उत्तिकै अपरिहार्य बताउँदै बुद्धजयन्ती मुलुक र विश्वकै लागि गौरवको विषय भएको बताउनुभयो ।

गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्माणको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको उपाध्यक्ष लामाले बताउनुभयो । गौतमबुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले दक्षिण एसियाका दुई ठूला शक्तिशाली राष्ट्र भारत र पाकिस्तान युद्ध उन्मुख भइरहेका बेलामा बुद्धजयन्तीका दिन लुम्बिनीबाट शान्तिको सन्देश जाओस् भन्ने प्रयत्न लुम्बिनी विकास कोषले राखेको बताउनुभयो ।

तीनदिने कार्यक्रमअन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ सम्पन्न भएको छ । बुद्धजयन्तीको मुल कार्यक्रम अघि आज भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थनासभा र शोभायात्रा हुनेछ ।

यसका साथै बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तिधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने उहाँले बताउनुभयो ।

बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते हरेक वर्ष आयोजना हुने बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिनेगरी शोभायात्रा गरिने छ ।

अध्यक्ष दाहालद्वारा बुद्धजयन्तीको शुभकामना

काठमाडौँ, २९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हाँसिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ ।

गौतमबुद्धको जन्मजयन्तीको अवसरमा आज शुभकामना, व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो ।”

बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ, “शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको पच्चीस सय ६९औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतमबुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “गौतमबुद्धले व्यवहारबाटै दिनुभएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ, क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन् । बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ ।”

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

काठमाडौँ, २९ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।”

उहाँले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गर्नुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा बुद्धजयन्तीको शुभकामना

काठमाडौँ, २९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ ।

पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै सो कुरा बताउनुभएको हो । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।

राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गर्नुभएको छ

पच्चीस सय ६९औँ बुद्धजयन्तीको शुभ अवसरमा गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गर्नुभएको छ ।

बुद्ध पूर्णिमाः जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ

काठमाडौँ, २९ वैशाखः एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम सुनेरै मानिसहरू तर्सिन्थे । उनको क्रूरतालाई सदाका लागि बन्द गर्न कोशल देशको भारदारीसभाले अङ्गुलिमाललाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो । यसबाट व्यग्र बनेकी माता छोरोलाई अन्तिम चोटि आफ्नै आँखा सामुन्ने हेर्न चाहन्थिन् । तिनले भेट्न नपाउँदै बुद्ध अङ्गुलिमालको अगाडि देखा पर्नुभयो । श्रावस्तिमा भिक्षाटन पछि अङ्गुलिमाल भएकै जङ्गलको बाटोबाट फर्कन खोज्दा त्यहाँ खेतमा काम गरिरहेका किसानहरूले बुद्धलाई उक्त बाटो भई नजान सल्लाह दिएका थिए तर, उहाँले मान्नुभएन ।

अङ्गुलिमाल एक व्यक्तिको मात्रै प्रतीक्षामा थिए । जो कसैलाई मारेर एक औँठा मात्रै जुटाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नामा थिए र एक हजार औँठा जम्मा पार्ने उसको वर्षौंसम्मको अभियान सफल हुँदैथियो । बुद्धलाई देखेपछि आफ्नो उद्देश्य अब पूरा हुने भयो भन्ने ठानेर ऊ बुद्धलाई भेटाउन पछि पछि कुद्न थाल्यो । जति कँुदे पनि भेटाउन नसकेपछि त्यो पुरुष को होला भन्ने कूतुहल उसमा जाग्यो र सोध्यो – “तिमी को हौ ? अडिनू ।”

उनले अगाडि भने, “म देखेर अलि कति पनि डराएनौँ । म कुदेकोकुद्यै छु र थाकिसकेँ पनि । तिमी थाकेका छैनाँै । आत्तिएका पनि छैनाँै । यसअघि मेरो सामुन्ने कसैले उभिनसम्म हिम्मत गर्न सक्दैनथे ।” प्रत्युत्तरमा बुद्धले भन्नुभयो, “म कुदेको छैन । तिमी पो यो संसारमा लगातार कुदिरहेका छौँ । भागदौड गरिरहेका छौँ । क्षणिक सुखका लागि आफैँलाई दुःखको भूमरीमा धकेलिरहेका छौँ । सोच त, तिमी त वास्तवमै अहिंस्रक हौ नि !”

तीक्ष्ण बुद्धिका अङ्गुलिमाललाई तत्क्षण नै होस जाग्यो कि उसले मूर्खतावश यी सब नकाम गरिरहेको छु भनेर । उनलाई बुबाआमाले राखिदिएको नाम अहिंस्रक थियो । आफ्नो कुकर्मप्रति उनलाई भयङ्कर पश्चाताप र ग्लानि भयो । बिना विलम्ब उनले बुद्धसामु भिक्षु बन्न अनुनय गरे र उनी भिक्षु भए । उनकी आमा मारिनबाट बचिन् । जन्म दिने आमाको हत्या गर्नबाट अङ्गुलिमाल बच्यो । त्यसभन्दा ठूलो कुरा अङ्गुलिमालले हिंसालाई त्याग्यो र मुक्तिको मार्ग भेट्टायो ।

बुद्धले बुद्धत्व लाभ गर्नुभएपछि बहुजन हित बहुजन सुखका लागि ४५ वर्षसम्म गाउँ–गाउँ सहर–सहर घुम्नुभयो । विश्राम लिनु भएन । क्षणिक सुखका पछाडि नदौडेर स्थायी सुखको खोजीमा लाग्न दुःखीजनलाई उत्प्रेरणा दिँदै हिँड्नुभयो । बाटो देखाउँदै अघि बढिरहनुभयो । मेरो शरणमा आउ, म मुक्ति दिलाइदिन्छु भनेर बुद्धले आफूकहाँ आउने कसैलाई पनि कुनै आश्वासन दिनुभएन । 

 सांसारिक सुख, वैभव, पद वा प्रतिष्ठाका लागि दिनरात नभनी भागदौड गरिरहेका अज्ञानीजनलाई सांसारिक वस्तु सबै क्षणभङ्गुर छन्, नाशवान् छन्, परिवर्तनशील छन्, त्यसैले ती अनित्य हुन् भन्ने ज्ञान बाँड्नुभयो । जुन अनित्य हुन्, ती सुखकर हुँदैनन्, दुःखदायी हुन्छन् । अनित्य र दुःखदायी वस्तु ‘म’ र ‘मेरा’ हुन सक्दैनन्, त्यसकारण अनात्म हुन् । त्यसमाथि कसैको पनि वश चल्दैन । ती शाश्वत र अजर अमर भएर रहन सक्दैनन् । अनित्य, अनात्म र  दुःखदायी कुराहरू त्यसकारण त्याज्य छन् भन्ने जीवन दर्शनलाई उहाँले जीवनको अन्तिम क्षणसम्म पनि जनसाधारणलाई सम्झाउँदै बुझाउँदै हिँड्नुभयो । 

बुढ्यौलीले जर्जर भइसकेको आफ्नो शरीरलाई थोत्रो गाडाजस्तो ठान्नु हुने उहाँले आफ्नो शरीरलाई त्यागेर महाप्रस्थान गर्न लाग्दाको अन्तिम घडीसम्म पनि विश्राम लिनुभएन । यो दौड उहाँको बुद्धचर्या थियो, जुन मैत्री र करुणाले ओतप्रोत थियो । अशक्तावस्थामै सुभद्र नामका एक जिज्ञासु बुद्धलाई भेट्न पाउँ भनेर जिद्दी गर्दै थिए । उनले संसारमा बुद्धको दर्शन अत्यन्त दुर्भल हुन्छ भनेर आफ्नै गुरुको मुखबाट सुनेका रहेछन् । भिक्षुहरूले देह त्याग्ने अन्तिम घडीमा कष्ट हुन्छ भनेर बुद्धसामु जानबाट रोकिरहेका थिए । तर, आफूकहाँ आएर प्रश्न राख्ने उत्कट चाहना बोकेर आएका सुभद्रलाई बुद्धले नरोक्न भन्नुभयो । 

सुभद्रको प्रश्न थियो, “संसारमा सबैले आ–आफ्नै धर्म–सम्प्रदाय सर्वश्रेष्ठ छ भन्ने गर्छन् । सर्वश्रेष्ठ धर्म–सम्प्रदाय छुट्याउने कसी के होला ?” बुद्धको जवाफ थियो, “जुन धर्म विनयमा आर्य अष्टांगिक मार्ग हुुँदैन, त्यस धर्म विनयमा श्रमण (भिक्षु) हरू हुँदैनन् । जुन धर्म विनयमा आर्य अष्टाङ्गिक मार्ग हुन्छ, त्यहाँ श्रमणहरू हुन्छन् । अरु धर्म विनयमा श्रमणहरू छैनन् । श्रमणहरूले राम्रो धर्माचरण गरी बसे भने यस लोकमा अर्हत (मुक्त पुरुष)हरू बिलाउने छैनन् ।” 

बुद्धले वैराग जगाउने धर्म–सम्प्रदाय श्रेष्ठ हुन्छ भनी आफ्नो अभिमत जाहेर गर्नुभएको हो । धर्मको नाममा गरिने नाना थरिका व्रत, यज्ञ, उपवास, मूर्ति पूजा वा ईश्वरको शरणले मुक्ति नदिने बरु मुक्तिका लागि कसैको भर नपरी आफ्नो ज्योति आफैँ बन्ने, होसपूर्वक जिउने दर्शन अँगाल्न त्यतिखेरको समाजलाई बुद्धले उत्प्रेरणा दिनुभएको हो । यही धर्माचरणले मुक्ति दिलाउने हो । त्यो दर्शन मार्ग आर्य अष्टाङ्गिक मार्ग हो, जसमा शील, समाधि र प्रज्ञा समाहित छ । बुद्धका अनुसार सुख र स्वर्गको कामना नगर्ने वितरागी नै सच्चा श्रमण हुन् । 

बुद्धको यस उपदेशबाट सुभद्र मुक्त पुरुष भए । उनी बुद्धसँग अन्तिम संवाद गरी अर्हत लाभ गर्ने सौभाग्यशाली अनुयायी बने ।  “म निर्वाण भएपछि अब हामीलाई सिकाउनु हुने गुरु रहेनन् भन्ने तिमीहरूलाई लाग्न सक्छ । अलमल नहुनू । आजसम्म मैले धर्म र विनयका बारे जे जति प्रज्ञप्ति गरेको छु ती सबै नै तिमीहरूका शास्ता हुन् भनेर सम्झिनू” उहाँले भिक्षु सङ्घलाई यसरी मार्गनिर्देश गर्नुभयो । यसअघि पनि उहाँले आफ्ना सेवक भिक्षु आनन्दसँगको संवादमा “अब मैले बताउन बाँकी कुनै विषय रहेन, मसँग आचार्यमुष्ठि छैन” भनेर भन्नुभएको थियो । आफूले तीन महिनापछि देहत्याग गर्नेछु भनेर घोषणा गरेको दिन उहाँले यो भेद खोल्नुभएको थियो । बुद्धको यस कथनबाट आफ्ना अनुयायी भिक्षुहरूलाई कस्तो प्रकारबाट ज्ञान बाँड्ने वा मार्ग निर्देशन दिने गर्नुहुन्थ्यो भन्ने थाहा लाग्छ ।  

निर्वाणमा जान अब धेरै समय बाँकी नरहेको भाव प्रकट गर्दै उहाँले धर्म र विनयबारे कुनै दुविधा वा शङ्का भए सोध्न एकत्रित भिक्षु सङ्घलाई भन्नुभयो । कसैबाट प्रश्न आएन । दोस्रो र तेस्रो चोटि पनि उहाँले यही कुरा दोहो¥याउनुभयो । तर, सबै भिक्षु मौन बसे, कसैले प्रश्न सोधेन । तत्पश्चात् उहाँले भिक्षुहरूलाई सम्बोधन गर्दै अन्तिम उपदेश दिनुभयो,  “सबै संस्कार अनित्य भएको बुझेर अप्रमाद भई कुशल धर्म सम्पादन गर्नू ।”

बुद्धले सदैव होशपूर्वक जीवन जिउन सम्झाउनुभयो । काय, वाक् र चित्तको विशुद्धिमा जोड दिनुभयो । मानसिक विकार र क्लेश क्षय गर्न घच्घच्याई रहनुभयो । कुशल कार्य गरी पुण्य सञ्चय गर्न र मानसिक सन्ताप एवं दौर्मनस्य उत्पन्न गर्ने अकुशल कर्मबाट बचेर रहन सचेत गरिरहनुभयो । त्रिविष (लोभ, द्वेष र मोह)मा  लिप्त नभई अलोभ, अद्वेष र अमोह (प्रज्ञा चक्षु) को आश्रय लिन उपदेश दिइरहनुभयो । सांसारिक भोगविलाशमा लिप्त रहने मानिसलाई फलामलाई उसैबाट उब्जेको खियाले खाए जस्तै दुर्गतितिर धकेल्ने बुद्धोपदेश सबैका लागि मननीय छ । उहाँको अर्को उपदेश थियो, शरीरलाई कष्ट दिएर हठचर्या नगर्नू ।  

लोभले लालायित, द्वेषले दग्ध र वासनाले वसिभूत अनार्य पृथग्जनलाई बुद्धले आफ्नो जीवनकालमा मूलतः दुई कुरा सिकाउनुभयो– दुःख र दुःखबाट मुक्ति । जन्मनु, बुढो हुनु, रोगी हुनु, मर्नु, अप्रियसँगको सहबास, प्रियसँगको विछोड, इच्छित वस्तुको अप्राप्ति सबै दुःख हुन् । यो चतुर्महाभूतले बनेको हाडछालाको शरीर रहेसम्म यी दुःखकष्टले सताइरहन्छ । यो शरीर रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानको पुञ्ज हो । यो पुञ्ज नश्वर छ र व्याधि तथा दुःखको खानी हो । शरीर (रूप)मा उत्पन्न हुने दुःखद् वा सुखद् वेदनाहरू अनित्य प्रकृतिका छन्, दुःखदायी छन् । चित्त (विज्ञान) चञ्चल र अनित्य प्रकृतिको छ र यसले हरपल सताइरहन्छ । अविद्याले मूढ र तृष्णाले अन्धो बनेका मानिस क्षणिक सुखका लागि रातदिन भौँतारिरहेका हुन्छन् । दुःखैदुःखले भरिएको यो संसार देखेर उ वाक्कदिक्क छ तर अनित्यतालाई बुझ्न चाहँदैन, चाहे पनि उसलाई फुर्सद छैन । 

शारीरिक कष्ट, मानसिक तनाव, वेदना–विरह, अहंकार, जलन, इष्र्याले उकुसमुकुस यो संसारको दुःख स्वभाव र अनित्य स्वभावलाई बुझेर यसबाट मुक्ति पाउने उपाय खोजी हिँड्ने मानिसलाई तृष्णाले सताउँदैन, वासनाले अँठ्याउँदैन, सोही प्रज्ञानका कारण उ शान्त र धैर्यवान् हुन्छ । मानिस सुखद् अनुभूतिको चाह राख्छ, अप्रिय अनुभूतिको तिरस्कार गर्छ । जतिसुकै सुन्दर रुप होस्, जतिसुकै कर्णप्रिय आवाज होस्, जतिसुकै सुगन्धित बास्ना होस् वा स्वादिलो भोजन होस् ती सबै उत्पत्ति भई निरोध भएर जाने धातु स्वभाव मात्रै हुन्, सधैंभरि रहिरहने होइनन् । त्यसकारण अनित्य स्वभावका त्यस्ता वस्तुसँग टाँस्सिएर बस्नु व्यर्थ छ । मानव देह, वेदना र चित्तलाई यसरी नै फारिफारिकन हेर्न र बुझ्न सकियो भने ‘म’ र ‘मेरो’ भन्ने दृष्टि विलुप्त भएर जान्छ । परमार्थ सत्य साक्षात्कार हुन्छ । यस्तो सत्य अन्यत्र खोज्नु आवश्यक छैन, आफ्नो शरीरमै नियाल्ने हो भनेर भन्नु हुने बुद्धलाई त्यसकारण ‘विभज्जवादी’ भनेर पनि सम्बोधन गर्ने गरिन्छ ।

यो शरीर म हुँ, यी मेरा हातखुट्टा हुन्, यी मेरा सन्तान हुन्, यी मेरा जमिन जायदात हुन्, यी मेरा दुश्मन हुन् भन्ने आत्मभाव (सत्काय दृष्टि) लाई हामी जहिलेसम्म बोकिरहन्छौँ, दुःखका शृङ्खला टुट्दैन । यस्तो मिथ्या दृष्टि रहेसम्म भवमा प्राणीको आवागमन निरन्तर चलिरहन्छ । बुद्धका सच्चा अनुयायीहरू प्रथमतः सत्काय दृष्टिलाई जरैदेखि उखेलेर फ्याँक्न प्रयत्नशील रहन्छन् । जो छँदै छैन, प्रज्ञप्ति मात्रै हुन्, पञ्चस्कन्ध (नाम र रूप) को पुञ्ज मात्रै हुन्, लाई अज्ञानता र तृष्णाको जालोमा फँसेका मानिस ‘म’ र ‘मेरो’ भन्दै बलियोसँग पक्डेर बसेका छन् । सम्यक दृष्टि वा ज्ञानचक्षु नभएर मानिस त्यसरी दिग्भ्रमित भएका हुन् । ज्ञानचक्षु उदय भएमा मात्रै मानिस बुँख्याचालाई मानव हैन बुँख्याचा मात्रै हो भनेर ठम्याउन समर्थवान् हुन्छ ।

बुँख्याचालाई मानव सम्झेर गर्ने यही महाभूलले मानिसलाई भव चक्रमा धकेल्छ । यस्तो बुझाइ नै मिथ्या दृष्टि हो भनेर बुद्ध दर्शनले हामीलाई सिकाउँछ । मानिसलाई भव चक्रमा बाँधिराख्ने दश भव संयोजनमध्ये सत्काय दृष्टि पहिलो र सबैभन्दा बलशाली बन्धन हो । ‘अर्हत’ भनेका यिनै दश संयोजन वा बन्धनलाई चुँडालिसकेका मुक्त पुरुष हुन् । विचिकित्सा (अनावश्यक शङ्का), शीलव्रतपरामर्श (अन्धविश्वास), कामराग (वासना), पटिघ (अरुप्रतिको दुर्भावना), रूपराग (रुप भुवनको चाहना), अरूपराग (अरुप भुवनको चाहना), मान (घमण्ड), औद्धत्य (चित्तको चञ्चलता), अविद्या (अज्ञानता) बाँकी नौ बन्धन हुन् । 

ममकार र अहंकारले सिर्जना गर्ने यो लोभी संसारलाई यही साढे तीन हातको शरीरभित्र राम्ररी नियालेर बुझ्ने प्रयास गर्न महामानव बुद्धले सिकाएर जानुभएको छ । कसैको लहलहैमा नलागी आफ्नै विवेकको कसीमा घोटेर हेर्दा सही जँचे मात्रै कुनै वाद वा सिद्धान्तलाई स्वीकार्नु भन्ने उहाँको उपदेशमा त्रास, धम्की र प्रलोभन फेला पर्दैन, बरु चिन्तन–मन्थनमा त्यो हदसम्मको स्वतन्त्रता प्राप्त छ । बेहोशीमा हजारौँ हजार वर्ष जिउनुभन्दा होशपूर्वक एक दिन जिउनु उत्तम हो भनेर सिकाउनु हुने उहाँ महामानव बुद्धको परिनिर्वाण मात्र हैन, लुम्बिनी उपवनमा राजकुमार सिद्धार्थको जन्म र उरुबेला बुद्धगयामा उहाँलाई बोधिज्ञान लाभ पनि  वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) कै दिन भएकाले विश्वभरका बौद्धहरूको लागि यो दिनको अत्यन्तै ठूलो महत्व छ । (लेखक राससका नायब महाप्रबन्धक हुनुहुन्छ)

स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

काठमाडौं । आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ ।

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।

स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ ।

स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए ।

बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ । दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ । स्वयम्भूनाथ क्षेत्रमा विभिन्न पूजाआजा, रक्तदान तथा प्रसाद वितरणका कार्यक्रम हुने जनाइएको छ ।

यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व सङ्कलन

सिमकोट (हुम्ला), २९ वैशाखः यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले रु सात लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु सात लाख रुपैयाँ राजस्व सङ्कलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । कार्यालयको यो आर्थिक वर्षमा रु ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको भए पनि हालसम्म रु सात लाख सङ्कलन भइसकेको प्रमुख जैसीले बताउनुभयो । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लाङ्केट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व सङ्कलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताउनुभयो । चालु आर्थिक वर्षभित्र अझै राजस्व थप हुने अनुमान गरिएको छ ।

हिल्सा नाका भएर विभिन्न सामग्री आयात गर्ने यहाँका नियमित दश जना व्यापारी छन् । उनीहरुले एक वर्षमा दुई पटकसम्म चीनबाट सामान ल्याउने गरेका छन् । व्यापारीहरुले एक पटक ल्याएको विभिन्न सामानबाट रु ४५ हजारसम्म राजस्व तिर्ने गर्ने गरेका छन् ।

चीनमा काम गर्न गएका कामदारले रु १५ हजारसम्मको घरायसी सामान ल्याउनेलाई राजस्व छुट दिइएको छभने त्यसभन्दा माथिको मूल्यका सामान ल्याउनेबाट राजस्व लिने गरिएको छ । चीनबाट हिल्सासम्म सामान ल्याउन साना व्यापारीले कामदार पठाउने गरेका छन् । ठूला व्यापारीले उतैबाट सामान सिल गरेर गाडीमार्फत हिल्सासम्म ल्याउने गरेको उहाँले बताउनुभयो ।

यस नाकाबाट आर्थिक वर्ष २०८०/८१ मा रु २२ लाख राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा भने रु १४ लाख राजस्व सङ्कलन भएको थियो । यारी नाका भन्सार कार्यालय वर्षको छ महिना मात्रै सञ्चालन हुने गरेको छ । हिउँदयाममा हिमपात भएर नाका छ महिना बन्द हुने र छ महिना खुल्ने गरेको छ । यही वैशाख १३ गतेदेखि यारी नाका भन्सार कार्यालय सञ्चालनमो छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २९ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३५, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ३०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौँ, २९ वैशाख : चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको छ ।

त्यसैगरी समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु सात अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु चार अर्ब ७८ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु आठ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब ४९ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चिति १८ दशमलव नौ प्रतिशतले वृद्धि भई चैत मसान्तमा रु २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलर सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव चार प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव छ प्रतिशतले वृद्धि भई रु २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा २०८१ चैत मसान्तमा ५० दशमलव आठ प्रतिशतले वद्धि भई रु दुई खर्ब ९० अर्ब ३८ करोड कायम भएको छ । गत चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दशमलव चार प्रतिशत छ ।

पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै मुस्ताङको ‘ढुम्बाताल’

मुस्ताङ, २९ वैशाखः नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

जोमसोम—कोरला राष्ट्रिय राजमार्गदेखि तीन किलोमिटर दूरीमा पर्ने ढुम्बातालसम्म सडकको पहुँच जोडिएसँगै आन्तरिक तथा पर्यटकको उपस्थिति वृद्धि हुन थालेको हो । मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलानाका पुगेर फर्किएका पर्यटकले ढुम्बातालको अवलोकन गर्न छुटाउँदैनन् । गण्डकी प्रदेश सरकारले ढुम्बाताल जोड्नेगरी घरपझोङ रिङरोड सडक स्तरोन्नति गरेकाले पर्यटकलाई ढुम्बाताल पुग्न सहज भएको हो ।

ताल छेउ रेष्टुरेन्ट सञ्चालन गर्नुभएकी सनी थकालीले पर्यटकीय याममा दैनिक २०० देखि ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटक ढुम्बातालको अवलोकन गर्न आउने गरेको जानकारी दिनुभयो । “विशेषगरी दसँैतिहार र आँैसी तिथिमा धेरै पर्यटक यहाँ आउनुहुन्छ, अन्य समयमा औसत ४०÷५० जनाको हाराहारी पर्यटक आउँछन्”, उहाँले भन्नुभयो, “बर्सेनि सडक सुविधा सहज हुँदै गएकाले पर्यटक सङ्ख्या वृद्धि भइरहेकोे छ ।”

यो ताल पछिल्लो समय ‘पान बुट्टे’ तालका रुपमा पनि परिचित छ । ढुम्बाताल माथिको अग्लो स्थानमा अवलोकन गर्दा ढुम्बाताल प्रेम चिह्नका आकारमा देख्न सकिन्छ । यसैका कारण ढुम्बाताललाई पान बुट्टे ताल भन्ने गरिएको हो । करिब १३० मिटर दूरीमा फैलिएको नीलो रङ्गको ढुम्बाताल अग्लो स्थानको जङ्गलको फेदमा छ । नीलगिरि हिमालको फेदमुनिको मूलको पानी सिञ्चित भएर यो ताल बनेको स्थानीयको भनाइ छ ।

ढुम्बातालबाट नीलिगिरि र धौलागिरि हिमाललगायत आसपासका डाँडाकाँडा मनमोहक देखिन्छन् । ढुम्बातालमा कुछ्प तेरङ्गा गुम्बा, कालीगण्डकी करिडोरलगायत जोमसोम, ठिनी, स्याङ, मार्फा, सम्लेलगायत गाउँ आकर्षक देखिन्छन् । यसका अलावा ढुम्बातालबाट मार्फा, जोमसोम, स्याङ, ठिनी र सम्ले गाउँलगायतका स्थानका स्याउबारी तथा उवाखेतीले त्यहाँ पुग्ने पर्यटकलाई झनै मोहित तुल्याउने गर्छ ।

काठमाडौँबाट ढुम्बाताल आइपुग्नुभएकी सोनी अवालले कोलाहल मुक्त स्थानमा रहेको तालमा आइपुग्दा बेग्लै अनुभूति भएको सुनाउनुभयो । तालतलैया त बेंसीमा छन्, तर त्यहाँ निकै नै कोलाहल हुन्छ”, अवालले थप्नुभयो, “यहाँको प्राकृतिक सौन्दर्यता र रमणीय कोलाहल मुक्त स्थानले बेग्लै संसारमा आइपुगको महसुस भएको छ ।”

ढुम्बाताल नजिकै रहेको कुछप तेरङ्गा गुम्बाको इतिहाससँग जोडिएको थकालीको भनाइ छ । उहाँका अनुसार परापूर्वकालमा ठिनी गाउँका स्थानीय लामा उर्गेन पाल्साङले तिब्बत पुगेर बौद्ध शिक्षा प्राप्त गरेका थिए । त्यस क्रममा लामा पाल्साङलाई बुद्ध धर्म फैलाउन गुरु दक्षिणा स्वरुपमा गुरुले पद्यसम्भव (गुरु रिन्र्पोछे)को पाँच रत्न उपहार दिएका थिए । गुरुले पाँच रत्न दिने क्रममा त्यसलाई विशाल हात्तीको सुँढ आकारको पहाड र त्यसको देब्रे दाहिने हिमाल देख्न सकिने, त्यसको तल कालीगण्डकी नदी र उत्तरतर्फ ताल भएको ठाउँमा विराजमान गराउनु भन्ने आदेश दिनुभयो । सोही अनुसार ढुम्बातालको छेउमा गुरु पद्यसम्भवको पाँच रत्न कुछ्प तेरङ्गा प्रतिस्थापन गर्नुभएको भन्ने किंवदन्ती छ ।

बौद्ध धर्मको चार हाँगामध्ये निङ्पा धर्मसँग कुछ्प तेर्ङगा गुम्बा र ढुम्बाताल सम्बन्धित रहेको स्थानीय थकालीको भनाइ छ । बर्सेनि कुछ्प तेरङ्गा गुम्बामा विशेष धार्मिक पूजाआजा चल्दा ढुम्बातालको जल चढाउने गरिन्छ ।

ढुम्बाताल कुछ्प तेर्गा गुम्बा व्यवस्थापन समितिको स्वामित्वमा छ । ताललाई एक्यापअन्तर्गत स्थानीय जोमसोम, ठिनी र सम्ले संरक्षण व्यवस्थापन समितिले संरक्षण गर्दै आइरहेका छन् । गुरु पद्यम सम्भवको पाँच रत्न प्रतिस्थापित गुम्बामा विशेष पूजापाठ हुँदा तालमा माछाको भुरा छाड्ने गरेको छ । तालको उत्तरतर्फको भागमा ठूलो सेतो ढुङ्गा अवस्थित छ । त्यहाँ नागदेवताको थान रहेको बताइन्छ । तालमा माछा मार्न प्रतिबन्ध गरिएको छ । तालमा माछा खानका लागि लोपोन्मुख पानी हाँसहरु जम्मा हुने गर्छन् ।

पछिल्लो समय प्रदेश, स्थानीय सरकार, एक्याप, संरक्षण व्यवस्थापन समिति, गुम्बा संरक्षण व्यवस्थापन समिति र स्थानीयवासीको पहलमा ढुम्बातालमा पूर्वाधार विकासमा समेत जोड दिइएको छ । ढुम्बाताल वरिपरि रेलिङसहितको सिँढी बाटो, विश्राम स्थल, हट रुमलगायत विभिन्न सूचनामूलक साइनबोर्डहरुको व्यवस्थापन गरिएको छ ।

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे

काठमाडौँ, २९ वैशाखː सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताउनुभएको छ । २५६९औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै विश्वभर फैलिएको बुद्ध धर्मको मूल उद्गम थलो नेपाल हो भन्ने तथ्यले नेपालीलाई गौरवको अनुभूति हुने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने बुद्ध जयन्तीले हामीलाई शान्ति, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्ध जयन्तीले विश्वभरका करोडौँ मानिसहरूलाई सुमार्गमा लम्कन उत्प्रेरित गरेको छ ।” नेपालमा बौद्ध धर्म मात्र एक धार्मिक आस्था नभई हाम्रो सभ्यता, संस्कार र परम्परासँग पनि गहिरो रूपमा जोडिएको उहाँको भनाइ छ ।

“नेपाललाई ‘शान्तिको भूमि’ भनिनुका पछाडि यही ऐतिहासिक तथा आध्यात्मिक पृष्ठभूमि प्रमुख कारण हो, बुद्ध धर्मको मूल आधार पञ्चशीलले व्यक्ति, समाज र राष्ट्रलाई शुद्ध आचरणतर्फ डोरÞ्याउने मार्ग देखाउँछ”, सभामुख घिमिरेले भन्नुभएको छ । बुद्धका उपदेशहरू मेलमिलाप, विश्वास, समता र करुणामा आधारित भएको र ती शिक्षाहरूलाई जीवनशैलीमा आत्मसात् गर्नु नै आजको विश्वका लागि मानवता, सहिष्णुता र सहअस्तित्वको मार्ग भएको उहाँको भनाइ छ । 
उहाँले भन्नुभएको छ, “शान्ति, सत्य र अहिंसाका प्रतीक भगवान बुद्धको जन्मजयन्तीले सम्पूर्ण मानव समुदायलाई आपसी सम्मान, संयमता र सुदृढ सहकार्यतर्फ प्रेरित गरोस् भन्ने कामना गर्दै पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।” 

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष

काठमाडौँ, २९ वैशाखः राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन सबैले पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । २५६९औँ बुद्ध जयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउँदै आन्तरिक पर्यटनलाई सुदृढ गर्न सरकारले उचित पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, “विश्वशान्तिका अग्रदूत गौतम बुद्ध २५ सय वर्षअघि नेपालको लुम्बिनीमा जन्मिनुभएको थियो । उहाँले शान्ति र मानव कल्याणका लागि गृहत्याग गरी कठोर साधनाबाट ज्ञान प्राप्त गर्नुभयो । उहाँले पहिल्याउनु भएको ज्ञानले आज विश्वलाई शान्ति,अहिंसा, सत्मार्ग र मानव कल्याणको बाटोमा हिँड्न प्रेरित गरिरहेको छ ।” नेपालको लुम्बिनी बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गम थलो भएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस स्थललाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र एवम् उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरी विश्वभरका बौद्ध मार्गीहरूलाई नेपाल भित्र्याउन सके देशको आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रको विकासमा ठूलो योगदान हुन सक्ने बताउनुभयो ।  

उहाँले बुद्धको दर्शन, उहाँले दिनुभएको शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुने उहाँले उल्लेख गर्नुभएको छ । त्यसैगरी किरात समुदायको महान पर्व उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सो पर्वले सांस्कृतिक एवं सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रूपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रूपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ र बिक्रीदर १०५ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७६ पैसा र बिक्रीदर नौ रूपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १४ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५५ पैसा र बिक्रीदर २० रूपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ३० पैसा र बिक्रीदर ४४६ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ०५ पैसा रहेको छ । यसैगरी भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडौँ, २९ वैशाख : यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।

सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् ।

 विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा  नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन् ।

 वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । आरोहण अनुमति  जारी रहेकाले अझै सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ ।

आज २५६९औँ बुद्धजन्मजयन्ती, सभापति देउवाद्धारा शुभकामना व्यक्त

काठमाडौँ, २९ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताउनुभएको छ ।

बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले नेपाली भूमिमा जन्मनुभएका बुद्धका ज्ञान र आदर्शले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताउनुभएको हो । सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

अशान्ति, हत्या र हिंसाको विरोध गरी देशमा शान्ति कायम र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना गर्दै उहाँले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमीमा शुभकामना गर्नुभएको छ ।

यसैगरी, सभापति देउवाले प्रकृतिका पुजारी किरात समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ । उहाँले पृथ्वीमा कहीँकतै खाद्यान्नको अभाव नहोस्, अन्नबाली राम्रो होस् भन्दै वैशाख पूर्णिमाका दिन किरात समुदायले मनाउने उभौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौँ, २९ वैशाख : विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले वृद्धि भई आठ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही प्रकृतिको आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब एक अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६५२ रहेको छ ।

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ, २८ वैशाखः विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १० जना पर्वतारोहीले आरोहण गरेका छन् । आठ हजार ५८६ मिटर उचाइको यो शिखर चुम्नेमा पाँचजना अन्तरराष्ट्रिय पर्वतारोही तथा पाँचजना नेपाली छन् ।

आरोहण गर्नेहरूमा कोसोभोकी फ्लुतुरा इब्राहिमी, बेलायती नागरिक एड्रियन माइकल हेस, इरानका अलिरेजा बेहपुर र सेयदमिदरजा हाशेमी तथा संयुक्त अरब इमिरेट्सका सइद अल्मेमारी रहेका छन् । 

यसैगरी, नेपाली शेर्पाहरू ल्हाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पाले पनि सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागार्इंले जानकारी दिनुभयो । आरोही सबै जना सेभेन समिट ट्रेक्सबाट गएका थिए । उहाँका अनुसार शनिबार दिउँसो टोलीले शिखर मार्ग सुरक्षित गर्दै सफलतापूर्वक आरोहण सम्पन्न गरेको हो ।

टोलीले शुक्रबार साँझ शिविर ४ बाट शिखरतर्फको अन्तिम यात्रा सुरु गरेको थियो । अन्तिम खण्डमा करिब ३५० मिटरभन्दा बढी डोरी फिक्स गर्दै टोलीले चुचुरो पुग्ने मार्ग तय गरेको थियो । यसअघि एलिट एक्सपेडको आठ सदस्यीय फिक्सिङ टोलीले आधार शिविरदेखि करिब आठ हजार ४०० मिटर उचाइसम्मको मार्गमा डोरी फिक्स गर्दै शिखर मार्ग सुरक्षाको जिम्मेवारी पूरा गरेको थियो । सोही तयारीपछि मुख्य आरोहण टोलीले अन्तिम प्रयासमार्फत कञ्चनजङ्घाको चुचुरोमा पाइला टेक्न सफल भएको हो ।

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी झकिझकाउ

भैरहवा (रूपन्देही), २८ वैशाखः दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।

मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

भोलि बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति ¥यालीको आयोजना गरिने र मूल कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने प्रचारप्रसार समिति ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । त्यस अवसरमा देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला हुने अनुमान गरिएको छ । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ, भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको भट्टराईले बताउनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्षसमेत रहनुभएका भट्टराईका अनुसार, बुद्ध जयन्तीको मुख्य समारोह अन्तरराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुनेछ । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ ।

लुम्बिनीको यो झकिझकाउले यहाँ आउने हरेक आगन्तुकलाई शान्ति र आनन्दको अनुभूति गराएको प्रतिक्रिया दिएका छन् । भोलिको बुद्ध जयन्तीलाई सफल बनाउन तथा दीप प्रज्वलन गर्न स्थानीय प्रशासन र लुम्बिनी विकास कोषले सबैलाई समेत आह्वान गरेको छ ।

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती, २८ वैशाख ः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभएको छ ।

हेटौँडामा आजदेखि सुरु भएको बागमती प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवा शक्तिलाई सीप र उद्यमशीलतासँग जोड्न सकिए मात्र मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले युवाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिनुभयो । युवा रोजगारीकै लागि विदेसिँदा मुलुकमा युवा जनशक्तिको अभाव बढ्दै गएको उल्लेख गर्दै उहाँले युवालाई स्वदेशमै रोजगारी सृजना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागार्इंले सरकार र युवालाई जोड्न परिषद्ले पुलको भूमिका निर्वाह गरिरहेको बताउनुहुँदै युवालाई बजेट निर्माण, कानुन निर्माण र अन्य सरकारी कार्यहरुमा समावेश गराउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रदेश सरकारले युवा सशक्तिकरणमा कानुन निर्माण गरेर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष चौलागार्इंले युवाहरुलाई कृषि, शिक्षा, व्यवसायलगायत क्षेत्रमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने युवा सम्मेलनमा उद्यमशीलता, साइबर सुरक्षा चुनौती, दिगो विकास तथा जलवायु परिवर्तनमा युवाको भूमिका, रोजगार सिर्जना, कृषि, शिक्षा, सीप तथा नवप्रवर्तन, सम्पदा भ्रमणलगायतका विषयमा समूहगत छलफल गरिने बताइएको छ ।

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

देउखुरी (दाङ), २८ वैशाख : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्यले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आए मात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने बताउनुभएको छ ।

पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै समाज रुपान्तरणको अभियान सुदृढ हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “क्रान्ति अझै अधुरो छ । कम्युनिष्ट आन्दोलनमा विभाजन छ । सङ्घीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने अभियान पूरा गर्न सबै कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्छ ।” 

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेलले केही कम्युनिष्ट पार्टीहरु सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाउनुभयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्यहरु चन्द्रहरि सुवेदी, क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष अम्विका मुडवरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

गाजामा मानवीय संकट: दैनिक पाँच लिटरभन्दा कम पानी पाउँदै नागरिक

प्यालेस्टाइनी जल प्राधिकरणले गाजा क्षेत्रमा गम्भीर जल संकट उत्पन्न भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। इजरायलसँग जारी द्वन्द्वका कारण गाजाको खानेपानी र सरसफाइ सम्बन्धी सेवा लगभग पूर्ण रूपमा बन्द भइसकेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले इजरायली सैनिक कारबाही, संरचना ध्वस्त, विद्युत् आपूर्ति अवरुद्ध, इन्धन र अत्यावश्यक सामग्रीमा रोक लगाइएका कारण पानी आपूर्ति ठप्प भएको जनाएको छ । अहिले गाजावासीले प्रतिदिन औसतमा केवल ३ देखि ५ लिटर पानी मात्र पाउँदै आएका छन्, जुन स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार न्यूनतम १५ लिटर हुनु पर्ने हो।

सफा पानी नपाउँदा र ढल फाल्ने व्यवस्था विफल हुँदा गम्भीर रोगहरू फैलने खतरा रहेको प्राधिकरणले चेतावनी दिएको छ। स्थानीय बासिन्दाहरू पिउन नमिल्ने नुनिलो पानी प्रयोग गर्न बाध्य भएका छन्।

प्राधिकरणले इजरायललाई मानव अधिकारको उल्लंघन गरेको आरोप लगाउँदै तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

यता, गाजा क्षेत्रको प्रशासनले इजरायलमाथि दुई लाखभन्दा बढी जनसंख्यालाई योजनाबद्ध रूपमा पीडा दिएको आरोप लगाउँदै ७० दिनदेखि नाकाबन्दी जारी राखेर करिब ३९ हजार सहायता सामग्री बोकेका गाडीहरूलाई प्रवेश गर्न नदिएको जनाएको छ।

गाजा प्रवेश मार्गहरू गत मार्च २ गतेदेखि बन्द छन्। हमाससँग भएको युद्धविरामको पहिलो चरण सकिएपछि दोस्रो चरण अझै कार्यान्वयनमा आइसकेको छैन।

रूसले ३० दिने युद्धविराम माने मात्र वार्ता सम्भवः युक्रेन

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्तिपूर्ण समाधानको पक्षमा बोल्दै भन्नुभयो,“यदि रूसले सोमबारदेखि लागू हुने ३० दिनको युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार हुनेछ ।” उहाँले मे १५ मा इस्तानबुलमा वार्ता हुन सक्ने सङ्केत दिनुभयो ।

राष्ट्रपति जेलेन्स्कीले तीन वर्षअघि सुरु भएको युद्धयता पहिलोपटक रूसबाट केही सकारात्मक सङ्केत देखिएको बताउनुभयो । उहाँले यसलाई शान्तिको दिशामा प्रारम्भिक पाइला भएको उल्लेख गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभयो,“एक दिनका लागि पनि हिंसा जारी राख्नुको अर्थ छैन । यदि रूसले पूर्ण, विश्वसनीय र स्थायी युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार छ ।”

राष्ट्रपति जेलेन्स्कीका प्रमुख सल्लाहकार एन्ड्री यर्माकले पनि वार्ताका लागि पहिलो शर्त युद्धविराम भएको स्पष्ट पार्दै भन्नुभयो,“पहिला ३० दिनको युद्धविराम, त्यसपछि मात्र अन्य विषयमा छलफल हुनेछ ।”

यता, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि वार्ताका लागि मे १५ को मिति प्रस्ताव गर्नुभयो । तर, उहाँले युक्रेन र उसका पश्चिमी सहयोगीहरूद्वारा प्रस्तावित ३० दिने युद्धविरामको मागबारे कुनै प्रत्यक्ष प्रतिक्रिया जनाउनुभएको छैनन् ।

अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी

महोत्तरी, २८ वैशाख : वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।

बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका उपचार टोली प्रमुख सैनिक प्राविधिक भोला चौधरीले वैशाख पहिलो सातामा दुई पटक वर्षा भएपछि त्यसयता गर्मी बढेसँगै सर्पदंशका घटना बढेका बताउनुभयो । “सर्पदंशका घटना सबै महिनामा धेरथोर हुन्छन्, यहाँ साउनमा बढी हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो । 

केन्द्र सञ्चालन भएयता विगत १० वर्षको तथ्याङ्कअनुसार साउनमा बढी पानी परेकाले सर्पको बिगबिगी पनि बढ्छ । यहाँ २०७१ साउन ३१ गते स्थानीयको पहलकदमीमा सर्पदंश उपचार केन्द्र स्थापना भएको हो । नेपाली सेनाको गौरीडाँडास्थित रेडियो नेपाल सुरक्षा वेसमा खटिएको नेपाली सेनाको क्याम्पले उपचारकार्यका लागि तालिम प्राप्त ६ दक्ष प्राविधिकलाई केन्द्रमा खटाएको छ । व्यवस्थापन भने सर्पदंश उपचार केन्द्र बर्दिबासको कार्यसमितिले गर्दै आएको छ ।

वर्षेनी सर्पदंशबाट मानवीय क्षति बढ्दै गएपछि स्थानीयको पहलकदमीमा संस्था नै दर्ता गरेर उपचार प्रबन्ध थालिएको हो । “प्रारम्भमै नेपाली सेनासँग उपचार गर्ने प्राविधिक टोली माग ग¥यौँ, सैनिक मुख्यालयले नै प्राविधिक टोली उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि उपचार थालिएको हो”, केन्द्र सञ्चालनको व्यवस्थापन गर्ने कार्यसमितिका अध्यक्ष कृष्ण देवकोटा भन्नुहुन्छ, “प्रतिबद्धताअनुसार सेनाको साथ पाएपछि केन्द्रलाई व्यवस्थित गरेका छौँ ।” 

केन्द्रले २०७१ साउन ३१ यता हालसम्म ३१ हजार १४७ जनाको उपचार गरिसकेको छ । आर्थिक वर्ष २०८०/८१ सम्ममा ३० हजार ८४७ जनाको तथा चालू आव २०८१/८२ को हालसम्म ३०० जनाको केन्द्रले उपचार गरेको छ । वैशाख महिनाको हालसम्ममा मात्र ४७ जनाको उपचार गरिएको प्राविधिक टोली प्रमुख चौधरीले बताउनुभयो । 

केन्द्रमा महोत्तरीका अतिरिक्त सिन्धुली, सर्लाही, धनुषा, रामेछापलगथायतका जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन् । केन्द्रले औषधि, कार्यालय सञ्चालन र व्यवस्थापनको चाँजोपाँजो मिलाउने र नेपाली सेनाले उपचार गर्ने दक्ष प्राविधिक टोली उपलब्ध गराएपछि उक्त सेवाले निरन्तरता पाउँदै आएको छ ।

“नजिकमा भरपर्दो उपचार पाएर नयाँ जीवन पाइयो”, गोमन सर्पले डसेर केन्द्रमा उपचार गराइरहनुभएका गौशाला–१ रामनगरका ४२ वर्षीय सुरेशकुमार महतो भन्नुहुन्छ । आर्थिक वर्ष २०८०/८१ मा ८८४, आव २०७९/८० मा ८७८, आव २०७८/७९ मा दुई हजार ९३१, आव २०७७/७८ मा चार हजार १९१, आव २०७६/७७ मा तीन हजार ९४७, आव २०७५/७६ मा तीन हजार ६४१, आव २०७४/७५ मा तीन हजार ५४२, आव २०७३/७४ मा तीन हजार ३९४, आव २०७२/७३ मा तीन हजार ३१० तथा आव २०७१/७२ मा तीन हजार १२८ सर्पदंशका बिरामीले उपचार लिएका केन्द्रले जनाएको छ । 

आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको छः मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), २८ वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले जनतालाई निराश नहुने गरी काम गर्नुपर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनमा उहाँले यही नीतिका साथ आफू नेतृत्वको सरकारले काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो पटक स्थानीय तहसँग बजेट निर्माणका सवालमा छलफलको सुरुआत गरेको र यसले सकारात्मक प्रभाव परिरहेको बताउनुभयो । उहाँले आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । “हामी आन्तरिक सुधारमा केन्द्रीत भएर लागिरहेका छौँ । बजेट कार्यान्वयनमा सुधार ल्याउने गरी छलफल भइरहेको छ । अझै केही महिना बाँकी रहेकाले यसमा ध्यान दिनुपर्ने आवश्यकता छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा थप सुधार आउने गरी काम गर्छौं”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री कँडेलले हाल योजना बैङ्कमा आधारित रहेर योजना छनोट भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जसरी अहिले हामीले काम गरिरहेका छौँ, त्यसले आगामी बजेटमा सुधार गर्नेछ । विविध समस्याका बाबजुद सकारात्मक सन्देश दिनेगरी काम गरिरहेका छौँ । नकारात्मक कुराबाट बँच्नका लागि सबैले जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता छ ।”

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

गौरीटाप (सोलुखुम्बु), २८ वैशाख : बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेस्र्याएका थिए । कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो क्यामेरा र मोबाइलमा कैद गर्दै थिए ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए ।

‘स्पार्क कार’को आयोजनामा सञ्चालित ‘स्पार्क एड्भेञ्चर’ कार्यक्रमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई यहाँसम्म ल्याएको थियो । प्रचूर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि काठमाडौँबाट करिब ५०  विद्युतीय सवारीसाधनमा उनीहरु सोलुुखुम्बु आइपुगेका थिए ।

“स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवर्द्धन गर्नु हो, पहिलो संस्करण लम्जुङको भुजुङ र दोस्रो संस्करण दोखलाको शैलुङमा आयोजना गरिएको थियो, यसपटक गौरीटाप रोजाइमा प¥यो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भन्नुभयो ।

निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो । कालोपत्र सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचारप्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नकसेको उहाँको भनाइ छ ।

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थान भएको लामो समयदेखि गौरीटापमा रहनुभएका लौरेश्वर बाबाले बताउनुभयो । 

“माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा ‘गौरी’ नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको र सो क्रममा गाईको टाप (खुर) ढुङ्गामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ”, उहाँले भन्नुभयो ।  

चारपाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरीटापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर र शिव पञ्चायन मन्दिर छन् । 

नेपाली चलचित्रका अभिनेता राजेश हमालले गौरीटाप अत्यन्तै सुन्दर र रमणीय स्थान रहेको उल्लेख गर्दै यहाँ आउनपाउँदा खुसी लागेको बताउनुभयो । “काठमाडौँदेखि गौरीटापसम्म सहज यात्रा गर्दै यहाँ आइपुगेका थियौँ, यहाँबाट देखिने सगरमाथालगायतका हिमाल र सूर्योदयको दृश्य निकै सुन्दर लाग्यो, यहाँको पर्यटन प्रवद्र्धन गर्न आवश्यक सहयोगका लागि म सबैलाई आह्वान गर्दछु”, उहाँले भन्नुभयो ।

गौरीटापमा अघिल्लो टेन्टक्याम्पिङ गर्दै रमाइलो गरेपछि शनिबार दिउँसो उक्त टोली ओखलढुङ्गाको रुम्जाटार झरेको थियो । उक्त टोलीलाई रुम्झाटारमा स्थानीय पालिकाका जनप्रतिनिधिका साथै गुरुङ, राई, नेवारलगायतका समुदायले स्वागत गरेका थिए । रुम्जाटारस्थित बौद्ध गुम्बामा स्वागत गरिनुका साथै गुम्बाबारे आवश्यक जानकारी दिइएको थियो ।

शनिबार साँझ कलाकारहरु विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मंगोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवद्र्धन गर्न आग्रह गरे । उनीहरुले ‘घुमिफिरी रुम्जाटार’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित रहेको उल्लेख गर्दै यसैमार्फत यहाँको प्रचारप्रसार गर्न सकिने बताए ।

बिबिसी मास्टरसेफ सन्तोष साहले यहाँको रैथाने परिकार खान पाउँदा निकै खुसी लागेको बताउनुभयो । “विशेष गरी गुन्द्रुक र न्यूरोको अचारको स्वाद निकै मीठो लायो, यहाँसम्म आएर यहाँको कला र संस्कृति, भूगोल जान्न पाउनुलाई मैले ठूलो उपलब्धि मानेको छु”, उहाँले भन्नुभयो ।

गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीपाखीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडीपाखी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पु¥याइन्थ्यो ।

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला, २८ वैशाखः जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जित्नुभएको छ । सदरमुकाम खलङ्गा बजारबाट सुरु भएको प्रतियोगितामा तातोपानी गाउँपालिका–७ का कुँवर पहिलो हुनुभएको आयोजकले जनाएको छ ।

कुल ५१ किलोमिटर लामो दूरी कुँवरले पाँच घण्टा ५३ मिनेट १७ सेकेन्डमा पूरा गर्नुभयो । दोस्रो हुनुभएका त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले उक्त दूरी छ घण्टा सात मिनेट ५५ सेकेन्डमा र तेस्रो हुनुभएका सोमबहादुर रावतले छ घण्टा १० मिनेट चार सेकेन्डमा दौड पूरा गर्नुभएको कर्णाली स्पोर्टस क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

महिलातर्फ सात घण्टा ५१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गरी कल्पना बुढा विजयी हुनुभयो । दोस्रो हुनुभएकी राज्यलक्ष्मी रावलले आठ घण्टा ४८ मिनेट ४१ सेकेन्ड र तेस्रो हुनुभएकी सन्दिभा बुढाले आठ घण्टा ४६ मिनेट दुई सेकेन्डमा दौड पूरा गर्नुभयो ।

अल्ट्रा म्याराथनका पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले रु एक लाख, प्रमाणपत्र र पदक प्राप्त गर्नुभयो । दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार र रु ५० हजार, प्रमाणपत्र र पदक प्राप्त गर्नुभएको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

म्याराथनतर्फ १० किलोमिटरको दौडमा पुरुषतर्फ हरि बोहोरा पहिलो, दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो हुनुभयो । दश किलोमिटरको दौडमा महिलातर्फ सङ्गीता बुढा पहिलो, सुरेशा बुढा दोस्रो र हिमाली भण्डारी तेस्रो हुनुभयो ।

पाँच किलोमिटरको दौडमा पुरुषतर्फ पदमराज धिताल पहिलो, नवीन चौधरी दोस्रो र सरोज कटुवाल तेस्रो हुनुभएको क्लबले जनाएको छ । यस वर्षको दौडमा स्वदेशी तथा विदेशी गरी ५९१ जना धावक सहभागी भएका थिए । साहसिक खेल पर्यटनको विकासका लागि प्रत्येक वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथनको प्रतियोगिता हुँदै आएको छ ।

गण्डकी कोटिहोममा सोमबार राप्रपा अध्यक्ष लिङ्देन जाने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ । सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहनेछ । आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिने छ ।

महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ । यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले मन्तव्य दिने कार्यक्रम पनि तय गरिएको छ ।

यो विराट ज्ञान महायज्ञ धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति, र सांस्कृतिक एकताको प्रतिकको रूपमा आयोजना गरिएको छ ।
आजदेखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन् । पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन गर्ने छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न मन्त्री पौडेलद्वारा कार्यदल गठन

काठमाडौं । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् ।

गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो ।

सोही अनुसार सुझाव दिनका लागि भन्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोकजत्वमा कार्य दल गठन गरेका हुन् ।

गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा सुजनबाबु मरहट्टा , यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन् ।
यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्राडा लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डीन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव छन् ।

कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ ।यसैगरी, यससम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गर्न र सुधारका लागि कार्यान्वयनयोग्य सिफारिसहरू तयार पार्न कार्य दललाई कार्यादेश दिइएको छ ।

कार्यदललाई दुई साताभित्र प्रतिवेदन मन्त्रालयलाई दिन भनिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘आवासीय चिकित्सकसँग मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन गर्न कार्यदलको प्रतिवेदन महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ प्रवक्ता बुढाथोकीले भने ।

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

मकवानपुर २८ वैशाखः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६ औँ अधिवेशन आह्वान गर्नुभएको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ः०० बजे बैठक बस्नेगरी आज उहाँले अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिनुभयो ।

सोहीअनुसार प्रदेशसभा सचिवालयले तोकिएको समयमा सभामा उपस्थितिका लागि प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरेको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलले एक सूचना जारीगरी त्यस्तो जानकारी दिनुभएको हो ।

पूर्वतयारी र लगानी ढाँचा तय भएका आयोजनामा मात्रै बजेट हाल्छौंः अर्थमन्त्री पौडेल

काठमाडौँ, २८ वैशाखः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा पूर्वतयारी सकिएका र नतिजायोग्य आयोजनाका लागि मात्रै बजेट विनियोजन गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्नुहुँदै उहाँले आयोजनाको पुनः प्राथमिकीकरण गरेर मात्रै बजेट विनियोजन गरिने बताउनुभएको हो ।

“सार्वजनिक वित्तका क्षेत्रमा विगतदेखि झाङ्गिदै आएका विकृति तथा विसङ्गतिको अन्त्य गर्दै पूर्वतयारी र लगानीको ढाँचा तय भएका आयोजनामा पुँजीगत विनियोजन केन्द्रित गरिनेछ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “राष्ट्रिय प्राथमिकताका उच्च प्रतिफल हासिल हुने आयोजनामा सार्वजनिक ऋणको उपयोग र दिगोपना सुनिश्चित गरिनेछ । सार्वजनिक वित्त सन्तुलन कायम गर्न राजस्व परिचालनलाई प्रभावकारी बनाइनेछ ।”

सन्तुलित र समावेशी विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह तथा सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रबीचको समन्वय र सहकार्यलाई सुदृढ बनाइने पनि अर्थमन्त्री पौडेलको भनाइ छ । त्यस्तै, निजी क्षेत्रको समग्र विकासका लागि कानूनी, संस्थागत र प्रक्रियागत सुधारलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

“लगानीमैत्री व्यावसायिक वातावरण सृर्जना गर्न एकद्वार सेवा प्रणालीलाई प्रभावकारी बनाइनेछ । जग्गाको हदबन्दी, वनक्षेत्रको प्रयोग, कर सहुलियत र नाफा फिर्ता प्रक्रियामा देखिएका कठिनाई र बेमेलको निराकरण गरिनेछ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

सामाजिक सुरक्षाका कार्यक्रमलाई आर्थिक र सामाजिक विपन्नताका आधारमा लक्षित वर्ग केन्द्रित र समन्यायिक बनाइने पनि बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ । यस्ता कार्यक्रममा लाभग्राहीको समेत योगदान हुने व्यवस्था मिलाइने र सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी दोहोरोपना हटाइने जनाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

सगरमाथा संवादका लागि भारत सरकारबाट १५ वटा विद्युतीय सवारीसाधन सहयोग

काठमाडौँ, २८ वैशाखः नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गर्नुभयो । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् ।

त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उपाय खोजीका लागिसमेत सामूहिक प्रयत्नको ‘मोडल’ तय गर्ने जानकारी दिँदै उहाँले यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताउनुभयो । मन्त्री डा राणाले संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्व तथा पाहुनाको स्वागतको प्रतीक्षामा रहेको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा पु¥याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनका साझा चुनौती समाधानमा अवलम्बन गरिने उपायमा भारत सरकार नेपालको साथमा रहेको बताउनुभयो ।

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

कञ्चनपुर, २८ वैशाख : काम गर्न उमेरले छेक्दो रहेन छ । काम गर्ने दृढ इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले सिद्ध गरिदिनुभएको छ ।

उहाँले चुरे क्षेत्रका खोलाबाट ढुङ्गा सङ्कलन गरी मूर्ति निर्माण गर्दै आउनुभएको छ । ढुङ्गाबाट बनाइएका मूर्ति बिक्री गरी उहाँको घरखर्च चल्ने गरेको छ । अन्य व्यक्तिले ढुङ्गाबाट बनाइएका मूर्ति हेर्दाहेर्दै बनाउन सिकेको विष्टले बताउनुभयो ।

ढुङ्गाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिङ्ग, नन्दीलगायतका मूर्ति उहाँले बनाउँदै आउनुभएको छ । एक दशकको अवधिमा एक सय ५० बढी मूर्ति निर्माण गरिसकेको उहाँ बताउनुहुन्छ । एक मूर्ति निर्माण गर्न एकदेखि तीन महिनासम्म लाग्ने गरेको छ ।

मूर्ति बनाएबापत प्रतिमूर्ति रु ३० देखि रु ५० हजारसम्म पारिश्रमिकका रूपमा विष्टले लिने गर्नुहुन्छ । “मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लगेर चुरे फेदीका खोलामा पुग्छु”, उहाँले भन्नुभयो, “मूर्ति बन्न सक्ने ढुङ्गा खोजेर घरमा ल्याउने गर्छु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार गर्छु ।”

मूर्ति बनाएबापत आउने रकमले घरपरिवारको खर्चसँगै लुगाफाटो, अन्न खरिद गरिँदै आएको उहाँको भनाइ छ । तन्नेरीहरूको जस्तै विष्ट बिहानीदेखि साँझसम्म मूर्ति बनाउनमा खटिएका हुन्छन् । दुई–तीन महिनामा मूर्ति बनाउने माग आउने गरेकाले घर खर्चमै पारिश्रमिकबापत पाइने रकम सिद्धिने गरेको उहाँ बताउनुहुन्छ । “तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउने गरेको छ”, उहाँले भन्नुभयो, “काम नगरे भोकै बस्नुपर्छ, त्यहीँ भएर सीप सिक्दा जीविका चलाउन सहज भएको छ ।”

योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपर्छ : सांसद जगतबहादुर पार्की

काठमाडौँ, २८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा राष्ट्रियसभाका सांसद जगतबहादुर पार्कीले सरकारले ल्याएको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा दलित समुदायका समस्या सम्बोधन नभएको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “ नीति तथा कार्यक्रममा दलित, मधेसी समुदाय, थारू र मुस्लिमलगायत पिछडिएका क्षेत्रहरू सुदूरपश्चिम र कर्णालीलाई अग्र स्थान दिएको छैन ।” सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्वि गर्नुभएका सांसद पार्कीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंशः

संविधान जारी भएको एक दशक हुन लाग्यो । तर दलित समुदायबारे संविधानको धारा २४ र ४० अहिलेसम्म प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । दलित समुदायको उत्थानका विषयमा राज्यको ध्यान नपुगेको पक्कै होइन होला । नीति कार्यक्रममा दलितको विषयलाई प्राथमिताका साथ सम्बोधन गर्नुपर्ने हो, तर गरेको छैन । हरेक राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा दलित समुदायको योगदान र सहभागीता उच्च छ । तर उनीहरूको सवाललाई सरकारले नीति निर्माण र बजेटमा अग्रस्थानमा समावेश गर्न सकेको छैन ।

विदेशमा गएका युवालाई स्वदेश फर्काउन नीति तथा कार्यक्रमले प्रोत्साहन गर्नुपर्दथ्यो । नीति तथा कार्यक्रम माथि सांसदहरूले राखेका धारणालाई समेटेर पुनःलेखन गर्नुपर्छ । यसैले सरकारले संसद् र सांसदलाई विश्वास गर्नुपर्छ । नीति तथा कार्यक्रममा ‘योजनाको प्राथमिकीकरण गर्ने’ भनी उल्लेख गरिएको छ । सरकारले योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपदथ्र्याे । आजको हाम्रो देशको विशिष्ट अवस्थामा देश र जनताको समस्या के हो ? राज्यले लिनुपर्ने नीति के हो ? त्यसका आधारमा नीति तथा कार्यक्रम आउनुपर्ने हो ।

नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न कुशल व्यवस्थापकको आवश्यकता पर्छ । समग्र समस्यालाई सत्तामा रहेको राजनीतिक नेतृत्वले हल गर्न चाहेको खण्डमा समाधान गर्न सक्छ । नीति तथा कार्यक्रममा देशलाई आत्मनिर्भर बनाउने भनिएको छ । देशलाई आत्मनिर्भर बनाउन धैरै कुरा गर्नै पर्दैन । यदि राज्यले इमानदारीपूर्वक चाहने होभने धेरै उत्पादन गर्नै पर्दैन । नेपालमा काठ प्रशस्त छ । तर हामीले विदेशबाट काठ आयात गरिरहेका छौँ । नेपालमा भएको काठलाई वन तथा वातावरण मन्त्रालयले राम्रोसँग सदुपयोग गर्ने हो भने विदेशमा निर्यात गर्न सक्छौँ । यो विषयमा पटकपटक मन्त्रालय र संसदीय समितिमा छलफल भएको छ । विज्ञहरूले पनि धारणा राखिरहेका छन् । तर कार्यान्वयन हुँदैन । हामीले आफ्नो काठ विदेशमा निर्यात गरेर डलर भित्र्याउन सक्छौँ । के राज्यले त्यतातिर ध्यान दिएको छ ?

हामीसँग काठ पर्याप्त छ । बिद्युत् वा कृषिमा उत्पादन गर्नुपर्छ । तर काठ हामीले उत्पादन गर्नु पर्दैन । जस्तोः पर्यटक भित्र्याउनका लागि पर्यटकीयस्थलको पूर्वाधारको विकास गर्नुपर्छ । तर काठका लागि अहिले बिरुवा लगाउनु पर्दैन । हाम्रो नेपालमा भएको वनजङ्गललाई सही ढङ्गबाट सदुपयोग गर्ने हो भने देश आत्मनिर्भर भन्ने प्रक्रिया सुरु हुन्छ । हाम्रै देशमा उत्पादन गर्न सकिने लसुन र प्याजलगायत सामान्य वस्तु पनि विदेशबाट आयात गर्नुपरेको छ । यदि राज्यले सही नीति तर्जुमा गरेर कार्यान्वयन गर्ने हो भने हामी आत्मनिर्भर हुने सम्भावना छ । नेपाल आफ्नै स्रोतसाधनबाट आत्मनिर्भर बन्ने सम्भावना पर्याप्त छ ।

सरकारले योजना बनाएर कार्यान्वयन गर्ने हो भने हामी कृषिमा एक वर्षभित्रै आत्मनिर्भर बन्न सक्छौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबैभन्दा बढी समस्या भएको क्षेत्र, समुदायलाई समेट्नुपर्ने हो । तर समेटिएन । यदि संविधान संशोधन गर्ने हो भने दलित, मेधसी, थारू समुदायको निम्ति हुनुपर्छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै

काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु

काभ्रेपलाञ्चोक, २८ वैशाख : मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

 गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा ‘अनलोड’ गर्न ‘टिपर’ ‘ब्याक’ गर्ने क्रममा बा२क ३४६४ नम्बरको ‘टिपर’ डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो । 

आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुने

काठमाडौँ, २८ वैशाख : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गणडकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

भरतपुर (चितवन) २८ वैशाख : चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् ।

पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो ।”

राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्रयाक्टर कान्दा पुर्याएका हुन् । हाते ट्रयाक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए ।

यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो । त्यसपश्चात यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् । जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास अध्यक्ष सीताबहादुरको छ ।

स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताउनुभयो । उहाँले सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो गर्नुभयो ।

कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा विकट कान्दामा हाते ट्रयाक्टर पुगेको हो । पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन् । यस्तै सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ ।

त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ । हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताउनुभयो । उहाँले यहाँका किसानलाई हाते ट्रयाक्टर उपलब्ध भएपछि बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने बताउनुभयो । “कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएको छ ।”

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले राज्य र निजी क्षेत्रको सहकार्य र सहयोगबाट नै चेपाङ समुदायमा रुपान्तरण ल्याउन सकिने बताउनुभयो ।

कान्दामा लामो समयदेखि काम गरिहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुरमार पौडेलले हाते ट्रयाक्टर पुर्याउनका लागि सहजीकरण गर्नुभएको थियो । उहाँले चेपाङ समुदायले लामो समयदेखि परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्धताका लागि पहल गरिएको बताउनुभयो । “किसानले चाहना गरे पनि आर्थिक अवस्थाले भ्याउने थिएन, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी हात खोजेका हौँ”, उहाँले भन्नुभयो ।

यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन् । हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ ।

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

ढोरपाटन (बागलुङ), २८ वैशाख : गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ ।

दुईवटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो । दुदिलाभाटी स्वास्थ्य चौकी २०८० मङ्सिरमा सम्झौता गरी काम सुरु भएको थियो । विष्णु निर्माण सेवाले रु एक करोड ८१ लाख ५८ हजार ६८० लागतमा निर्माणको जिम्मा पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । उक्त भवन गत माघमा सम्पन्न भएको थियो ।

मल्म स्वास्थ्य चौकी २०८० असारमा सम्झौता भई काम सुरु भएको थियो । जयकालिका भगवती÷केसी निर्माण सेवा जेभीले रु दुई करोड ३१ लाख ३६ हजारको लागतमा निर्माण गर्नेगरी जिम्मा पाएको उक्त भवन गत वर्ष पुसमा सम्पन्न भएको थियो । प्रवक्ता भण्डारीका अनुसार, गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । पालिकाका सबै स्वास्थ्य चौकीको सुविधायुक्त भवन बने, यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ । आम नागरिकले विश्वास गर्नेगरी स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ । कोही बिरामी भए गाउँमै उपचार पाउने भएका छन् ।

दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताउनुभयो । एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नुपर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उहाँको भनाइ छ ।

पालिकाको ११ वटै वडामा नगरपालिकाले स्वास्थ्य सेवा पुर्याएको छ । गलकोटमा एउटा नगर अस्पतालसहित १४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र र तीन आधारभूत स्वाथ्य सेवा केन्द्र छन् ।

नगरपालिकाले नौ स्थानमा बर्थिक सेन्टर र पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा दिँदै आएको छ । गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गरी बर्थिङ सेन्टर सञ्चालन गरेपछि दूरदराजका नागरिकले सहज रूपमा सेवा पाउनुका साथै घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २८ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १९०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ३०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु ८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

‘खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ’ : मन्त्री यादव

नगवा (पर्सा-खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताउनुभएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ मा नागवामा खानेपानी ट्याङ्कीको शिलान्यास कार्यक्रममा मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नागरिकलाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी वितरण गर्नु सरकारको प्रमुख लक्ष्य हो । खानेपानीका क्षेत्रमा प्रयाप्त बजेट विनियोजन हुन्छ । सबै नागरिकलाई सुरक्षित पानी वितरण गर्ने योजनासहित कार्य भइरहेको छ ।”

आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासका लक्ष्य हासिल गरिने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वर्ष तराई–मधेस, हिमाल र पहाडका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पु¥याउने उद्देश्यले सिङ्गो मन्त्रालय लागिपरेको छ । खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रूपमा सञ्चालन गर्नेछौँ ।”

नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै आफूले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने एउटा ऐतिहासिक आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व महसुस गरिरहेको छु । गाँस, बास, कपडा जस्तै पानी पनि मानव जीवनको आधारभूत आवश्यकता हो र आज हामी त्यो आधारभूत हक सुरक्षित गर्न एक कदम अघि बढेका छौँ ।”

यस आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई उक्त आयोजना सम्पन्न पश्चात् सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास लिइएको छ ।

खानेपानी वितरणका लागि करिब रु तीन करोड ५० लाखको लागतमा उक्त ओभरहेड ट्याङ्की निर्माण सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ । आजको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, वीरगञ्ज–१६ का वडासदस्यद्वय लवङ्गी देवी र प्रमोद यादव, वीरगञ्ज–१५ का वडाध्यक्ष रमेश यादव, जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगरप्रमुख सिङ्घासनसाह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्यद्वय जन्नत अन्सारी र पुरुषोत्तमलाल झालगायतको सहभागिता थियो ।