`

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै

काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु

काभ्रेपलाञ्चोक, २८ वैशाख : मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

 गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा ‘अनलोड’ गर्न ‘टिपर’ ‘ब्याक’ गर्ने क्रममा बा२क ३४६४ नम्बरको ‘टिपर’ डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो । 

आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुने

काठमाडौँ, २८ वैशाख : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गणडकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

भरतपुर (चितवन) २८ वैशाख : चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् ।

पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो ।”

राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्रयाक्टर कान्दा पुर्याएका हुन् । हाते ट्रयाक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए ।

यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो । त्यसपश्चात यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् । जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास अध्यक्ष सीताबहादुरको छ ।

स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताउनुभयो । उहाँले सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो गर्नुभयो ।

कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा विकट कान्दामा हाते ट्रयाक्टर पुगेको हो । पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन् । यस्तै सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ ।

त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ । हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताउनुभयो । उहाँले यहाँका किसानलाई हाते ट्रयाक्टर उपलब्ध भएपछि बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने बताउनुभयो । “कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएको छ ।”

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले राज्य र निजी क्षेत्रको सहकार्य र सहयोगबाट नै चेपाङ समुदायमा रुपान्तरण ल्याउन सकिने बताउनुभयो ।

कान्दामा लामो समयदेखि काम गरिहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुरमार पौडेलले हाते ट्रयाक्टर पुर्याउनका लागि सहजीकरण गर्नुभएको थियो । उहाँले चेपाङ समुदायले लामो समयदेखि परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्धताका लागि पहल गरिएको बताउनुभयो । “किसानले चाहना गरे पनि आर्थिक अवस्थाले भ्याउने थिएन, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी हात खोजेका हौँ”, उहाँले भन्नुभयो ।

यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन् । हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ ।

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

ढोरपाटन (बागलुङ), २८ वैशाख : गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ ।

दुईवटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो । दुदिलाभाटी स्वास्थ्य चौकी २०८० मङ्सिरमा सम्झौता गरी काम सुरु भएको थियो । विष्णु निर्माण सेवाले रु एक करोड ८१ लाख ५८ हजार ६८० लागतमा निर्माणको जिम्मा पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । उक्त भवन गत माघमा सम्पन्न भएको थियो ।

मल्म स्वास्थ्य चौकी २०८० असारमा सम्झौता भई काम सुरु भएको थियो । जयकालिका भगवती÷केसी निर्माण सेवा जेभीले रु दुई करोड ३१ लाख ३६ हजारको लागतमा निर्माण गर्नेगरी जिम्मा पाएको उक्त भवन गत वर्ष पुसमा सम्पन्न भएको थियो । प्रवक्ता भण्डारीका अनुसार, गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । पालिकाका सबै स्वास्थ्य चौकीको सुविधायुक्त भवन बने, यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ । आम नागरिकले विश्वास गर्नेगरी स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ । कोही बिरामी भए गाउँमै उपचार पाउने भएका छन् ।

दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताउनुभयो । एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नुपर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उहाँको भनाइ छ ।

पालिकाको ११ वटै वडामा नगरपालिकाले स्वास्थ्य सेवा पुर्याएको छ । गलकोटमा एउटा नगर अस्पतालसहित १४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र र तीन आधारभूत स्वाथ्य सेवा केन्द्र छन् ।

नगरपालिकाले नौ स्थानमा बर्थिक सेन्टर र पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा दिँदै आएको छ । गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गरी बर्थिङ सेन्टर सञ्चालन गरेपछि दूरदराजका नागरिकले सहज रूपमा सेवा पाउनुका साथै घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २८ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १९०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ३०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु ८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

‘खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ’ : मन्त्री यादव

नगवा (पर्सा-खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताउनुभएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ मा नागवामा खानेपानी ट्याङ्कीको शिलान्यास कार्यक्रममा मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नागरिकलाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी वितरण गर्नु सरकारको प्रमुख लक्ष्य हो । खानेपानीका क्षेत्रमा प्रयाप्त बजेट विनियोजन हुन्छ । सबै नागरिकलाई सुरक्षित पानी वितरण गर्ने योजनासहित कार्य भइरहेको छ ।”

आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासका लक्ष्य हासिल गरिने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वर्ष तराई–मधेस, हिमाल र पहाडका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पु¥याउने उद्देश्यले सिङ्गो मन्त्रालय लागिपरेको छ । खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रूपमा सञ्चालन गर्नेछौँ ।”

नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै आफूले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने एउटा ऐतिहासिक आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व महसुस गरिरहेको छु । गाँस, बास, कपडा जस्तै पानी पनि मानव जीवनको आधारभूत आवश्यकता हो र आज हामी त्यो आधारभूत हक सुरक्षित गर्न एक कदम अघि बढेका छौँ ।”

यस आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई उक्त आयोजना सम्पन्न पश्चात् सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास लिइएको छ ।

खानेपानी वितरणका लागि करिब रु तीन करोड ५० लाखको लागतमा उक्त ओभरहेड ट्याङ्की निर्माण सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ । आजको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, वीरगञ्ज–१६ का वडासदस्यद्वय लवङ्गी देवी र प्रमोद यादव, वीरगञ्ज–१५ का वडाध्यक्ष रमेश यादव, जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगरप्रमुख सिङ्घासनसाह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्यद्वय जन्नत अन्सारी र पुरुषोत्तमलाल झालगायतको सहभागिता थियो ।

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा- सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा एक सुत्केरीको मृत्यु प्रकरणमा छानबिनका लागि अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएर सोधपुछ गरेको छ ।

मिर्चैया नगरपालिका–११ सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । 

शुक्रबार शल्यक्रिया गरेर बच्चा जन्माएकी यादवको अत्यधिक रक्तश्रावका कारण ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाही भन्दै विरोध जनाइरहेका छन् । “सुत्केरीको अवस्था नाजुक हुँदै गएपछि हामीले अन्यत्र पठाउन पटकपटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भन्दै अल्झाएर राखियो”, मृतकका श्रीमान् सन्त यादवले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर भएपछि आज बिहान करिब दुई बजेतिर मात्र विराटनगरका लागि रेफर गरिदियो । यतिबेलासम्म ढिलो भइसकेको थियो, विराटनगर लैजाँदै गर्दा बाटोमै मेरो श्रीमतिको मृत्यु भयो ।”

घटनापछि मृतकका आफन्त र परिवारजनले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका डा तेजशङ्कर यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
हाल शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र त्यसको प्रतिवेदनअनुसार थप कारबाही अघि बढाउने गरी आफन्तसँग कुरा भएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो।

जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ, २८ वैशाख : जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् ।

लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्रका अनुसार जिल्लामा सबैभन्दा बढी मस्र्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मस्र्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।

त्यसैगरी चार–चार मेगावाट क्षमताको खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, दुई दशमलव चार मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रो हाइड्रो र ८० किवाको मिदिम माइक्रो हाइड्रोबाट विद्युत् उत्पादन भइरहेको छ ।

जिल्लामा ४० हजार ५४२ ग्राहक रहेको उक्त केन्द्रले जनाएको छ । केन्द्रीय विद्युत् लाइन केहीकेही भागबाहेक जिल्लाको अधिकांश भागमा पुगेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म दुई करोड ३९ लाख, आठ हजार ९२५.९० युनिट बिजुली बिक्री भएको छ । सोबाट रु १९ करोड ५३ लाख ५४ हजार उठेको छ । केन्द्रका अनुसार जिल्लामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

सोमध्ये मस्र्याङ्दी बेँसी ५० मेगावाट, सुपर न्यादी हाइड्रो ४० दशमलव २७, अपर खुदी २१ दशमलव २१, न्यादी फिदी २१ मेगावाट, मिदिमखोला–१ आयोजनाबाट १३ दशमलव ४२४, १२ दशमलव छ मेगाावट क्षमताको लोयर न्यादी, छ दशमलव ८२ मेगावाट क्षमताको हिदीखोला, चार दशमलव आठ मेगावाट क्षमताको मिडिल मिदिम, दुई मेगावाट क्षमताको चेपेखोला क्यास्केड, एक दशमलव छ मेगावाटको लोदोखोला साना आयोजना र शून्य दशमलव ९९६ मेगावाट क्षमताको लोअर मिदिम आयोजना निर्माणाधीन छन् । लमजुडमा दुई हजार ५०० मेगावाट क्षमता विद्युत् उत्पादन हुनसक्ने अनुमान छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २८ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एक खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवाद : मन्त्री शाही

काठमाडौँ, २८ वैशाख : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको प्रभावबाट मुलुकले भोग्नुपरेका असरबारे विश्वको ध्यानाकर्षण गराउन र समाधानका लागि साझा धारणा बनाउन ‘सगरमाथा संवाद’को आयोजना गर्न लागिएको बताउनुभएको छ ।

मन्त्री शाहीले नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि संवाद उपयोगीसिद्ध हुने उल्लेख गर्नुभयो । सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्दैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ ।

संवादको तयारी सम्बन्धमा रासससँग कुरा गर्दै मन्त्री शाहीले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । यस वर्ष आयोजना हुने संवादको प्रमुख विषय ‘जलवायु परिवर्तन, पर्वत र मानव भविष्य’ रहेको छ । उहाँले भन्नुभयो, “संवादमा छिमेकी मित्र राष्ट्रहरुलगायत कोप–२९ का अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिसकेका छौँ र अधिकांश आउने विदेशी पाहुनाहरूको निश्चित पनि भइसकेको छ ।” यस कार्यक्रममा धेरै देशका मन्त्री, नेता, नीति निर्माता, उच्च सरकारी अधिकारी, दातृ निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, शैक्षिक व्यक्तित्व, जलवायु विज्ञहरूका साथै वन वातावरणमा ख्यातिप्राप्त ३५ भन्दा बढी राष्ट्रका विदेशी पाहुनाको सहभागिता रहने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।

संवादमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी करिब तीन सय बढी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ । यस कार्यक्रममा पहिलो दिनको साँझ विदेशी पाहुनाहरूका लागि प्रधानमन्त्रीको समुपस्थितिमा गाला डिनर कार्यक्रमको तयारी गरिएको छ । उहाँले संवादको अवधिमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक प्लेनरी छलफल हुने र विभिन्न विषयमा १२ वटा समानान्तर सत्र तथा केही ‘साइड इभेन्ट’हरू पनि हुने जानकारी गराउनुभयो । तेस्रो तथा अन्तिम दिन हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ ।

संवादमा हिमालदेखि समुद्रसम्मका विषय उठान हुने

संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइने छन् । संवादमा खासगरी हिमालदेखि समुद्रसम्म परिरहेका असरहरू दिगो हरित अर्थ व्यवस्था, जलवायु हानिनोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा छलफल गरिने मन्त्री शाहीले बताउनुभयो ।

“संवादको तेस्रो दिन काठमाडौँ घोषणा हुने छ । हामीले संवादमा हुने छलफल, मन्थन, संवादबाट निस्किने निचोड तथा निष्कर्षलाई नीति निर्माणमा समेट्ने प्रयास गर्नेछौँ”, उहाँले भन्नुभयो, “हामीले आउँदो बजेटबाटै हिमाली क्षेत्रमा रहेका पालिकाहरूमा परिरहेको सङ्कटलाई मध्यनजर गरेर केही बजेट विनियोजनका लागि पहल लिने छौँ ।” साथै यस मञ्चबाट निस्केका निचोड र विषय अन्तरराष्ट्रिय मञ्चहरू जस्तै कोप, संयुक्त राष्ट्रसङ्घको साधारणसभासमेतमा मुखरित गर्ने उहाँको भनाइ थियोे ।

उक्त घोषणामा टेकेर कतिपय जलवायु कोष, हरित कोष, हानि तथा नोक्सानी कोषहरूमा पहुँच वृद्धि गर्नेलगायत काम गर्ने मन्त्री शाहीले उल्लेख गर्नुभयो । त्यस्तै नेपालले विश्व रूपमा स्थापित जलवायु कोषहरु विश्व जलवायु कोष, अनुकूलन कोष, हानिनोक्सानीको क्षतिपूर्ति कोष, विश्व वातावरण कोष, जलवायु लगानी कोषमा पुहँच प्रस्ताव गरिने छ ।

हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य रहेको उल्लेख गर्दै मन्त्री शाहीले भन्नुभयो, “हामी जलवायु परिवर्तनको कारक होइनौँ । विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा हाम्रो भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेका छौँ । बढ्दो जलवायु परिवर्तन, वायु प्रदूषणलगायतका विश्वव्यापी सङ्कटले हाम्रोजस्तो अल्पविकसित, हिमाली देश र यहाँका नागरिक आक्रान्त छन् ।”

विश्वमा विकसित राष्ट्रहरु जहाँ ठूलाठूला उद्योगधन्दा, कलकारखाना रहेका छन्, यातायात, खानीहरू अत्यधिक छन्, त्यहाँ जैविक इन्धन, ग्यास तथा कोइलाको दोहन अत्यधिक छ । जसले गर्दा हरित गृह ग्यास उत्सर्जन बढ्दो गतिमा छ । पृथ्वीको तापक्रम बढ्दै छभने जलवायु परिवर्तन निरन्तर असामान्य हँुदै गइरहेको छ । अझ हिमाली क्षेत्रमा विश्व तापमान वृद्धिको असर बढी परेको उहाँले बताउनुभयो ।

“नेपाललाई त नखाएको विष लागेजस्तो भएको छ । खासगरी जलवायु परिवर्तनका असरबाट हिमाली क्षेत्र बढी प्रभावित भइरहेको छ । केही दशक अगाडिसम्म सेताम्य रहने हिमाल हाल कालापहाड बन्ने खतरा बढेको छ”, उहाँले भन्नुभयो, “हिमालमा हिउँ पग्लिने क्रम बढ्दै जाने हो भने हिमताल फुट्दै जाने देखिन्छ । हामीले गत वर्ष सोलुखुम्बुस्थित थामेको उदाहरण लिन सक्छौँ । जहाँ एउटा हिमताल फुट्दा पूरै गाउँको अस्तित्व मेटिने डरलाग्दो अवस्था बनेको छ ।”

गत वर्ष नै कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा हालसम्मको अधिक वर्षा भएको रेकर्ड गरिएको थियो । त्यस्तै गत असोजको दोस्रो साता काठमाडौैँ र आसपासका क्षेत्रमा समेत अत्यधिक वर्षा भएको तथा त्यसले ठूलो जनधनको नोक्सानी व्यहोर्नुपरेको थियो । यी विपद् र अस्वाभाविक मौसमी उदाहरणले आउने भविष्यको खतराप्रति इशारा गरेको बताउँदै उहाँले जलवायुको खतराको घण्टी बजिसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेपालको आफ्नै स्रोत साधनले मात्र ठूलाठूला विपद्का घटना, बाढीपहिरो, मरुभूमिकरण, हिमताल फुटने, भूक्षय, पानीका स्रोत सुक्ने, कतिपय ठाउँमा त बसाइँसराइ पनि हुनेजस्ता विषय सम्बोधन गर्न गाह्रो छ ।

जलवायु सङ्कट समाधानका लागि नीतिगत पहल

मन्त्री शाहीले मन्त्रालयले लामो समयदेखि रोकिएका नीति, कानुन निर्माण, तथा अन्तरराष्ट्रिय जलवायु पैरवीमार्फत मन्त्रालयले गत वर्षमा थुप्रै नीतिगत सुधार र विकासका दिशामा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । सरकारले तयार गरिरहेको राष्ट्रिय निर्धारण योगदान (एनडिसी) तेस्रोलाई वातावरणमैत्री बनाउँदै विश्वकै उदाहरणीय तथा अनुकरणीय दस्तावेज बनाउने प्रयास भइरहेको मन्त्री शाहीले जानकारी गराउनुभयो ।

यसको तयारीका क्रममा विकास साझेदार संस्थाहरूसँग सहकार्य गरी सातवटै प्रदेशमा छलफल र सुझाव सङ्कलन गरिएको छ । झण्डै एक हजारभन्दा बढी विज्ञ तथा सरोकारवालाको प्रत्यक्ष सहभागिता रहेको छ र, उनीहरूको चासो र विचार समेटिएको छभने मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको एनडिसी तेस्रोको मस्यौदामा प्राप्त सुझावहरू पनि समावेश गरी थप परिष्कृत गरिने उहाँको भनाइ छ । नेपालले सञ्चित गरेको कार्बनलाई अन्तरराष्ट्रिय र स्थानीय समुदायमा बिक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यले कार्बन नियमावली, २०८२ को मस्यौदा तयार पारिएको उहाँले जानकारी गराउनुभयो । साथै नेपालको कार्बन उत्सर्जनलगायतका विषय समेटिएको दुईवर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ, २८ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने गरी सम्भावित कार्यसूची तय भएको छ ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । त्यसैगरी राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ । प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची तय भएको छ ।

राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ ।

जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

गाईघाट (उदयपुर), २७ वैशाखः पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । आज गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।

प्रदेश २ –०१–००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यहाँको त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा आज बिहान कामविशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उहाँका १४ वर्षीया छोरी घाइते हुनुभएको छ ।

दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे

मोरङ, २७ वैशाखः नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले जनताले ठूलो सङ्घर्षबाट हटाएको निरङ्कुश राजतन्त्र पुनः फर्कने कुनै सम्भावना नरहेको ठोकुवा गर्नुभएको छ ।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वका अधिकांश मुलुकमा राजसंस्था निरङ्कुश रहेको चर्चा गर्दै व्यापारी पूर्वराजालाई जनताले कुनै पनि हालतमा स्थापना नगर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले वर्तमान सत्ताधारी पार्टीहरूले निर्वाचनका समयमा सार्वजनिक गरेको घोषणापत्रअनुसार कार्य गरी जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम पुरानै परम्परावादी भएकाले त्यसले जनताको जीवनस्तर उकास्ने र मुलुकको आर्थिक चलायमान कायम गर्न नसक्ने दाबी गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेले जनताले पार्टीलाई दिएको मताधिकार सरकारमा सहभागी हुन होइन प्रतिपक्षमा बस्न र जनताको समस्या उठाउन दिएको बताउनुभयो । उहाँले सरकारले विगत एक महिनामा पनि नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्न नसक्नु लाजमर्दो भएको चर्चा गर्नुभयो ।

नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छः मन्त्री गुरुङ

काठमाडौँ, २७ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले सबै जातिको अधिकारको सुनिश्चित गरेको बताउनुभएको छ । आज यहाँ नेपाल शेर्पा सङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशनमा मन्त्री गुरुङले संविधान संशोधन गर्ने भनिए पनि बाहिर हल्ला भएजस्तो कुनै पनि विषयमा टुङगो नलागेको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो,“संविधान संशोधन गर्ने भनेका छौँ तर कुनै समुदायलाई हानी गर्ने किसिमले त्यो गरिँदैन, गरिनुहुँदैन । संविधानसभामार्फत निर्माण भएको संविधानले जसरी सबै जातजाति र समुदायको भावनालाई समेटेको छ, त्यही नै कायम रहन्छ । केही राजावादीले गरिरहेको हल्लामा सत्यता छैन, उनीहरूले राजा ल्याएर एउटा धर्मको राज्य बनाउने सपना नदेख्दा हुन्छ ।”

उहाँले समानुपातिक प्रणालीकै कारण सबै जातजातिको प्रतिनिधित्वसुनिश्चित भएको भन्दै यो प्रावधानले राज्य सञ्चालनमा अस्थिरता ल्याएको भन्ने तर्क सही नरहेको धारणा राख्नुभयो । “धर्मनिरपेक्षता हटाउने, निर्वाचन प्रणालीमा फेरबदल गर्ने जस्ता कुराका विषयमा खबरदारी गर्न सक्नुपर्छ । शेर्पा सङ्घ वा जनजाति महासङ्घले आफ्ना हकअधिकार खोसिन लागेको महसुस भएमा आवाज उठाउन सक्नुपर्छ, किनकि अहिलेको संविधानले सबैको अधिकारको सुनिश्चित गरेको छ”, मन्त्री गुरुङले भन्नुभयो । 

उहाँले शेर्पा समुदायले आफ्नो परम्परागत पेसासँगै अन्य क्षेत्रमासमेत आफ्नो उपस्थिति बढाउँदै लानुपर्नेमा जोड दिनुभयो ।

नेपाल शेर्पा सङ्घका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले पछिल्लो समय सङ्घमा सक्रिय सहभागिता बढिरहेको बताउनुभयो । “हामीले वडा र गाउँबाट प्रतिनिधि पाएँका छौँ, विस्तारै राजनीतिक चेतना बढेको छ, तर सङ्घमा आउने पदाधिकारीले समुदायको हितमा काम गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा शेर्पा सङ्घका बागमती प्रदेश अध्यक्ष आङछिरी शेर्पाले अधिवेशनबाट सहमतिकै आधारमा बन्ने नयाँ समिति बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, पूर्वमन्त्री कृपासुर शेर्पा, पूर्वराजदूत लक्की शेर्पालगायत उपस्थित हुनुहुन्थ्यो ।

‘भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत’

भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् ।

मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ ।

विदेशमन्त्री मिश्रीले भन्नुभयो, “पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) र भारतीय डीजीएमओबीच आज अपराह्न फोनवार्ता भएको र उनीहरुबीच भारतीय समय अनुसार साँझ पाँच बजेदेखि जमिन, आकाश र समुद्रमा सबै प्रकारका गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।”

उहाँले भन्नुभयो, “दुवै पक्षलाई आजैदेखि यो समझदारीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । सैन्य अपरेसनका महानिर्देशकहरूबीच मे १२ मध्यान्न १२ ः०० बजे फेरि कुरा गर्नेछन् ।”

यसअघि शनिबार एक प्रेस ब्रिफिङका क्रममा मिश्रीले पाकिस्तानले भारतविरुद्ध गरिरहेको कारबाहीलाई ‘उत्तेजक’ प्रकृतिको रूपमा हेरिएको बताउनुभएको थियो ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि युद्धविरामको पुष्टि गर्दै भन्नुभयो, “पाकिस्तान र भारत तत्काल लागू हुनेगरी युद्धविराम गर्न सहमत भएका छन् ।”

उहाँले भन्नुभयो, “पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि सधैं प्रयास गर्दै आएको छ।”

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देश तटस्थ स्थलमा व्यापक विषयमा वार्ता सुरु गर्न सहमत भएको बताउनुभएको थियो ।

अमेरिकी विदेशमन्त्री रूबियोले भन्नुभयो, “बितेका ४८ घण्टामा उपराष्ट्रपति भान्स र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतका विदेशमन्त्री सुब्रमण्यम जयशङ्कर, सेनाप्रमुख असिम मुनीर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र असिम मलिकलगायत भारत र पाकिस्तानका वरिष्ठ अधिकारीसँग कुराकानी गरेका छौँ ।”

उहाँले अगाडि भन्नुभयो, “भारत र पाकिस्तानका सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थलमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ। हामी प्रधानमन्त्री मोदी र सरिफलाई शान्तिको बाटो रोज्ने बुद्धिमत्ता, विवेक र राजनेताको प्रशंसा गर्दछौँ ।”

यसअघि गत मे २ मा पहलगाममा भएको आतङ्ककारी हमलाको जवाफमा भारतले मे ७ मा अप्रेसन सिन्दूर चलाएको थियो । उक्त आक्रमणमा परी २६ जनाको मृत्यु भएको थियो भने पाकिस्तानले पनि जवाफी कारबाही चलाएको थियो जसका कारण भारतीय सर्वसाधारणसहित केही सुरक्षाकर्मीको हताहत भएको थियो ।

कावासोतीमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु

मध्यविन्दु (नवलपरासी ब सु पू), २७ वैशाख: यहाँको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ ।

यहाँको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

‘भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ’ : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), २७ वैशाखः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि निरन्तर रूपमा लागिरहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीको १०औँ अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनबारे आयोजित गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले संस्थागत रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफू लागिरहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको र सङ्गठित आवाजलाई बलियो बनाउन सके यसमा थप सघाउ पुग्ने उल्लेख गर्नुभयो ।

संविधानविद् प्राडा विपीन अधिकारीले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रशासनिक निकाय चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिनुभयो । नेपालको न्यायप्रणालीमा ढिलासुस्ती हुँदा नेपाली जनतामा न्यायालयप्रति निराशा देखिने गरेको उहाँको भनाइ थियो । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देशमा आर्थिक र नैतिक रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा जनता नै प्रमुख हुन्छन् भन्ने मनन गरेर सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता सोवियतबहादुर अधिकारीले समाजमा सुशासन स्थापना गर्न सके मात्र दलहरूले जनताको मन जित्न सक्ने बताउनुभयो । कार्यक्रममा संस्थामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रजातान्त्रिक विचार समाजका केन्द्रीय उपाध्यक्ष वासुदेव भण्डारीलाई सम्मान गरिएको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने विचार समाज कास्कीका अध्यक्ष वीरबहादुर कार्कीले जानकारी दिनुभयो ।

पोखरा कोटिहोममा जेठ दोस्रो साता कथा वाचिका राधिका दासी आउने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवी भागवत कथा वाचिका तथा समाजसेवी राधिका दासी आउने भएकी छन् ।

ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १४ गते देखि जेठ २२ गतेसम्म प्रवचन गर्न राधिका दासी आउने कार्यक्रम तय भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोममा सहभागी हुन समस्त भक्तजनलाई आयोजकले आग्रह गरेको छ । नौ दिनको महायज्ञमा श्रीमद देवी भागवत कथा वाचन गर्ने राधिका दासीले बताइन् ।

‘पोखरामा यति भव्य र सव्य रूपमा कोटिहोम चलिरहेको छ’ राधिका दासीले भनिन्, कोटिहोम सम्पन्न गर्न देशभरबाटै पाल्नु होला, यस्तो समय फेरी जीवनमा विरलै आउन सक्छ शतकुण्डीय गायत्री कोटिहोममा सबैलाई चल्लै निम्ता छ ।’कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

सङ्घीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छः नेता सिटौला

इटहरी (सुनसरी), २७ वैशाखः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएका कारण समस्या भइरहेको बताउनुभएको छ । आज यहाँ नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशको पाँचौँ प्रदेश सम्मेलनमा उहाँले अझै केन्द्रीकृत एकात्मक मानसिकता कायम रहेको बताउनुभयो ।

कांग्रेस राष्ट्रियसभाका नेता सिटौलाले व्यवस्थाअनुसारको सोच र सामन्तवादी संस्कार बदल्न आवश्यक रहेको धारणा राख्नुभयो । “सङ्घीयतामा जानु भनेको सङ्घीयताको मर्मअनुसारका व्यवस्था इमानदारीका साथ कार्यान्वयन गर्नु हो तर हरेक क्षेत्रमा समस्या छ । भएकै अधिकारको पनि विकेन्द्रीकरण गर्न सकेका छैनौँ । यसर्थ हाम्रो संस्कारलाई नबदलेसम्म राज्य संरचना राम्रोसँग चल्दैन”, उहाँले भन्नुभयो ।

नेता सिटौलाले दुई ठूला पार्टी नेकपा (एमाले) र कांग्रेसले संविधान संशोधनको मुद्दा उठाएर सरकार गठन गरे पनि हालसम्म यस विषयमा कुनै ठोस छलफल नगरेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब सबै दलहरूले एकपटक छलफल गर्ने बेला आएको छ । सङ्घीय राज्य व्यवस्थाले जनताको अपेक्षालाई कतिको सम्बोधन गर्न सकेको छ भन्ने कुरा सबै दलले एकपटक सोच्न आवश्यक छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, राजीव कोइराला, राजीव ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।

‘व्यावसायिक योजनाबिनै दुईवटा अन्तरराष्ट्रिय विमानस्थल बनाइयो’ : अध्यक्ष लिङ्गदेन

भैरहवा (रूपन्देही)। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले विमानस्थल सञ्चालनका लागि शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार र विमानस्थल सञ्चालनको मुद्दासँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष लिङ्गदेनले मुआब्जा वितरणमा अनियमितता भएको संकेत गर्दै चर्को मूल्यमा आवश्कयताभन्दा बढी जग्गा अधिग्रहण गरिएको दाबी गरे।

‘४१ अर्ब लगानी गरेर यो नचल्ने एयरपोर्ट कसले बनायो ? उद्घाटन भएको यतिका वर्ष हुँदा पनि दुवै विमानस्थल किन सञ्चालनमा आउन सकेन? यस विषयले संसद्मा प्रवेश गरेको छ’ उनले भने, ‘यसै विषयमा पनि सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन उपसमिति बनेको र त्यो समितिको काम अनियमितताको छानबिन गर्नाका साथै विमानस्थल कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने पनि रहेको छ। सोहीअनुसार प्रतिवेदन तयार भइसकेको छ।’

अध्यक्ष लिङ्गदेनले पोखरा विमानस्थल प्राविधिक रूपमा सञ्चालनमा आउन कठिनाइ रहे पनि भैरहवा विमानस्थल सञ्चालनमा आउन धेरै समस्या नरहेको बताए।

श्रम, मेनपावर, भिसा सेन्टरलगायतका आवश्यक पूर्वाधार सरकारको एउटै निर्णयमा यहाँ आउन सक्ने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउने लिङ्गदेनले  प्रतिबद्धता जनाए।

यसअघि अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले भैरहवा तथा यस आसपासका जनताले विमानस्थल सञ्चालनका लागि पटकपटक प्रयास गरे पनि असफल भएको भन्दै निराशा व्यक्त गरे। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले राजनीतिक दलको होडबाजीमा विमानस्थल निर्माण भएको बताए। उनले सरकारले गरेको आग्रहअनुसार उद्योगी व्यवसायीले पूर्वाधारमा करिब रु ८० अर्ब लगानी गरे पनि लगानी डुब्ने खतरा बढेको बताए।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यावसायिक सम्भाव्यता अध्ययन नै नगरी विमानस्थल निर्माण गरिएको जस्तो भएको जिकिर गरे।

सिद्धार्थ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवावासीका लागि विमानस्थलमा भएको भ्रष्टाचारभन्दा पनि विमानस्थल सञ्चालनको विषय नै प्रधान रहेको बताए। उनले विमानस्थल सञ्चालनको विषयलाई विषयान्तर गर्नका लागि भ्रष्टाचारको मुद्दा उठान गरिएको जिकिर गरे।

पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गर्न राष्ट्रियसभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, २७ वैशाखः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड पालना गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय निकुञ्जसम्बन्धी नीतिगत समस्या तथा सुझावको मस्यौदा प्रतिवेदनमाथि सरोकार भएका निकायका प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो, “मापदण्ड पालना नगर्दा अहिले देशभरि बाढीपहिरो, बेमौसमी अतिवर्षा, खडेरीलगायत प्राकृतिक विपद्बाट पीडित हुनुपरेको यथार्थ हामीसामु भएकाले मापदण्ड पालनाका लागि आग्रह गर्दछु ।”

उहाँले प्रकृतिको संरक्षण गरियो भने भावी पिँढीका लागि दिगो योजना निर्माण गर्न सहज हुने उल्लेख गर्दै भन्नुभयो, “हामीलाई वन र वन्यजन्तुको संरक्षण गर्नुपर्ने अतिआवश्यक हुन्छ, फेरि प्रविधिमा आएको परिवर्तनले मानिसलाई सुविधाभोगी बनाएको छ । तसर्थ पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड पालना गर्नुपर्ने आवश्क छ ।” ती सुविधाहरूको उपभोग गर्न विकास अनिवार्य हुने बताउँदै अध्यक्ष दाहालले मापदण्ड पालन गर्दै विकास निर्माणलाई तीव्रता दिनपर्नेमा जोड दिनुभयो ।

विकासको नाममा निम्तिने विनाश र संरक्षणलाई ठिक सन्तुलन मिलाउन सकिएन भने प्राकृतिक विपद्ले मुलुकलाई क्षतविक्षत् बनाउन सक्ने उहाँको भनाइ छ । “त्यसैले हामीले विकासका कार्य गर्दा विकासलाई दिगो र परिणाममुखी बनाएर संरक्षणसहितको विकासको ढाँचा बनाएर अघि बढ्नुपर्ने हुन्छ”, उहाले भन्नुभयो ।

अध्यक्ष दाहालले संरक्षणको कुरा गर्दा निरपेक्ष रूपमा विकासका कामलाई अगाडि बढाउँदा उपयोग र विकाससहितको संरक्षणमा ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो । संरक्षणलाई मानव जाति, वन तथा वातावरण र वन्यजन्तु सबैको हित हुनेगरी अगाडि बढाउन जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।

“आज जलवायु परिवर्तनको भयावह प्रभाव हामीले भोगिरहेका छौँ । साथै विकासका नाममा काम गर्दा हामीले ती विषयलाई पनि बिर्सनु हुँदैन”, अध्यक्ष दाहालले भन्नुभयो । चुरेमा पहिरो र मेलम्चीको बाढी मात्रै नभई गत वर्ष असोजमा काठमाडौँ उपत्यकालगायतका विभिन्न क्षेत्रमा आएको बाढी र त्यसबाट हामीले भोगेका क्षतिलाई बिर्सेर विकासका नाममा प्राकृतिक सुन्दरता, वनजङ्गल र पहाडलाई कुरुप बनाउने गरी गतिविधि गरिरहे भविष्यमा त्योभन्दा ठूलाठूला विपद्को सामना गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

“हाम्रोजस्तो विकासोन्मुख देशमा वनजङ्ल, वन्यजन्तु र प्रकृतिको संरक्षण गर्ने नाममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डलाई आधार मानेर अतिआवश्यक विकास निर्माणका काममा दिगो नतिजा आउने गरी कार्यक्रम गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । उहाँले अनिवार्य रूपमा गर्नुपर्ने पूर्वाधार निर्माणमा दिगो विकासका अवधारण कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले अबको वन व्यवस्थापन नगद आम्दानी, डिजिटल प्रविधि, बजार पहुँच, मूल्य श्रृखला र स्थानिय रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संंवद्र्धन गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको वन व्यवस्थापनको इतिहास महत्वपूर्ण भएकाले स्थानिय रोजगारी सिर्जनासँग जोड्न प्राविधिक दृश्टिकोणको आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको वन व्यवस्थापनको इतिहास महत्वपूर्ण छ । अबको वन व्यवस्थापन नगद आम्दानी, नव प्रवद्धन, डिजिटल प्रविधि, बजार पहुँच, मूल्य श्रृखला र स्थानिय रोजगारी सिर्जनासँग जोड्नुपर्दछ । तर यस्तो रुपान्तरण केवल राजनीतिक ईच्छा शक्तिले मात्रै सम्भव हुँदैन । यसलाई प्राविधिक दृश्टिकोणबाट पनि मार्गदर्शन गर्न आवश्यक छ ।’

साथै उनले अबको प्राथमिकता प्रविधिमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जनामुखी वन व्यवस्थापन हुनुपर्ने बताए । उनले वन क्षेत्रको वर्गिकरण वैज्ञानिक विधिको प्रयोगद्वारा गर्दा उत्पादनशिलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिने बताए ।

उनले भने, ‘वन क्षेत्रको वर्गिकरण, विभिन्न कटानी, प्रजातिको सन्तुलन तथा रोटेसन जस्ता वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशिलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ । अबको प्राथमिकता प्रविधिमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जनामुखी वन व्यवस्थापन हुनुपर्दछ ।’

खोटाङमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आजदेखि

खोटाङ, २७ वैशाख : नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदैछ ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिला/पुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) खुला महिला/पुरूष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

खुला महिला/पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावकगरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौँ र सातौँ हुनेले क्रमशः रु ७७ हजार सात सय ७७, रु ५५ हजार पाँच सय ५५, रु २५ हजार पाँच सय ५५, रु १५ हजार पाँच सय ५५, रु ११ हजार एक सय ११, रु सात हजार सात सय ७७ र रू पाँच हजार पाँच सय ५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा १० वर्षमूनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमूनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला÷पुरूषका लागि १० किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूको लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमूनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब सात सय धावकहरू जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ ।

दश वर्षमुनिका छात्रछात्रा एक माईल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले रु तीन हजार, रु दुई हजार, रु एक हजार, बाह्र वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रु चार हजार, रु तीन हजार र रु एक हजार पाँच सय, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु पाँच हजार पाँच सय, रु तीन हजार पाँच सय र रु दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु सात हजार पाँच सय, रू छ हजार पाँच सय र रू पाँच हजार पाँच सयको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु १० हजार र रु सात हजार पुरस्कार पाउनेछन् । १५ वर्षमाथिका महिला/पुरूष १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु १० हजार, रु रू सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । महोत्सवको चौथो र पाँचौँ दिन (वैशाख–३० र ३१ गते) खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

खुला सिनियर पुरूष टेबलटेनिस प्रतियोगिताअन्तर्गत प्रथम, द्वितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार पाँच सय र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार दुई सय ५० का दरले पुरस्कार प्राप्त गर्नेछन् । खुला जुनियर पुरूष टेबलटेनिसमा प्रथम, द्वितीय र सेमिफाइनष्टिले क्रमशः रु १५ हजार, रु सात हजार पाँच सय र सेमिफाइनलिष्ट दुई जनाले रु तीन हजार सात सय ५० का दरले नगद प्राप्त गर्नेछन् ।

खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले रु १० हजार, रु पाँच हजार र सेमिफाइनष्टिले दुई जनाले क्रमशः रु दुई हजार पाँच सयका दरले नगद पुरस्कार पाउनेछन् । उनीहरूका लागि ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार र रु चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एक जना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । दिक्तेल बजारस्थित सिँचाइगेटबाट सुुरु हुने हाफ म्याराथन तथा दौड प्रतियोगितामा सहभागी हुने विभिन्न जिल्लाका धावक तथा दर्शकले जिल्लामा माहोल बनेको छ ।

छ दिनसम्म सञ्चालन हुने महोत्सवको अवसरमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । महोत्सवका लागि रु ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभयो ।

दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

काठमाडौं । दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले क्षेत्रीय अशान्ति, स्थायित्व र विकासमा असर पार्ने खतरा देखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले चासो र चिन्ता व्यक्त गरेको छ ।

जसपा नेपालले भारतको जम्मु–कश्मिरस्थित पहलगाममा नेपाली नागरिकसहित २८ जना पर्यटकहरुको ज्यान जाने गरी भएको हिंसात्मक, आतङ्कवादी र मानवता विरोधी घटनाको भत्र्सना गर्दै विकसित घटनाक्रमका सन्दर्भमा दक्षिण एसियाली मुलुकहरुलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरको प्रचार प्रसार तथा प्रकाशन प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

‘आतङ्कवादको कुनै जात, धर्म र राष्ट्रियता हुँदैन । आतङ्कवाद विरुद्धको लडाइमा पार्टीको समर्थन र ऐक्यबद्धता रहन्छ,’ बस्नेतले भने । जसपा नेपाल शान्तिपूर्ण सह–अस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा प्रतिबद्ध रहेको र आगामी दिनहरुमा पनि यस्तै मान्यताहरुका साथ अगाडि बढ्ने पार्टीको प्रतिबद्धता रहेको उनको भनाइ छ ।

जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

मुगु । जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु भएको छ ।
आज (शनिबार) बिहान ६ बजे जुम्लाको सदरमुकाम खलाङ्गामा रहेको कृष्ण मन्दिरबाट रारासम्मको लागि म्याराथन शुरु भएको छ ।

म्याराथनमा ५१ किलो मिटर दौडमा भाग लिने तर्फ ७४ जना र १० किलोमिटर दौड तर्फ ३५४ जना गरि जम्मा ४२८ जना सहभागि छन् ।

निर्माणको अन्तिम चरणमा पुगेको तामाकोसी नदी माथिको पक्की पुल भाँचियो

रामेछाप । निर्माणको करिब अन्तिम चरणमा पुगेको मन्थलीको तामाकोसी नदी माथिको पक्की पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदी माथिको ठेडिखोला पुल शुक्रबार अपराह्न भाँचिएको हो । सो पुलको अन्तिम स्पानको ढलान सकिएको केही दिनमा नै पुल भाँचिएको हो ।

कूल २ सय ३० मिटर लामो र ११ मिटर चौडा सो पुलमा ४ वटा स्पान छन् । दुईवटा स्पान यस अघि नै तयारी भइसकेको सो पुलको बिचको स्पान अन्तिम ढलान गरिएको थियो । ढला सकिएको केही दिनमा पुल क्रर्याक भएको छ ।

संघीय सरकार सडक विभाग पुल महाशाखा मार्फत सो पुल निर्माण भएको हो । यो वर्षा अगाडि नै पुल सञ्चालन गर्ने तयारी थियो । तर अन्तिम समयमा आएर पुल नै भाँचिए पछि निर्माणकार्यमा अन्यौलता थपिएको छ ।सो पुल निर्माणका लागि २०७८ सालमा कालिका–कल्पवृक्ष जेभिले ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणका लागि भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैँयामा ठेक्का सम्झौता भएको थियो ।

पुल भाँचिनुको कारण खुलेको छैन । निर्माण कम्पनीले तत्काल विज्ञ टोली ल्याएर क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने भएको छ । त्यस पछि पुल पुरै भत्काएर बनाउनु पर्ने वा रिपेयरिङ गर्न सकिने खुल्ने छ ।यो पुल रामेछापबाट खाँडादेवी गाउँपालिकाको सित्खा हुँदै काठमाडौं जाने सबैभन्दा छोटो बाटोको पुल हो । मन्थलीबाट खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिका जान पनि यो पुलबाट छोटो दुरी पर्दछ ।

आजदेखि रुरु क्षेत्रमा दुई दिने ‘शालिग्राम महोत्सव’

तानसेन (पाल्पा), २७ वैशाखः पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ ।
कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो ।

पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग रहेको छ ।

महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभारम्भ गर्नुहुँदै रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको हुँदा ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशलाई तपोभूमिका रूपमा उल्लेख गर्दै यस्ता महोत्सवबाट धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका चार प्रमुख धार्मिक धाममध्ये एक मानिने रुरु क्षेत्रमा शालिग्राम दिवसको अवसर पारेर आयोजना गरिएको यस महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटन मूलक कार्यक्रम समावेश गरिएका छन् । महोत्सवमा शालिग्रामका विषयमा प्रचारप्रसार, प्रवर्द्धन, महत्वलगायतका विषयमा जानकारी दिइने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिनुभयो । महोत्सवमा एक हजार आठ शालिग्रामको पुजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी ¥यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गर्ने कार्यक्रम छ ।

हिन्दू धर्मशास्त्रमा शालिग्रामलाई भगवान् विष्णुको शिला स्वरूपका रूपमा वर्णन गरिएकाले यसको धार्मिक महत्वका साथै अनौँठो बनोटका कारण पनि शालिग्राम सबैको चासोको विषय बन्दै आएको छ । श्रीस्वस्थानी व्रतकथामा विष्णु भगवानले जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गरेर महादेवले जालन्धरको वध गरेपछि विष्णुलाई वृन्दाले दिएका चार श्रापमध्ये एक शिला हुनुपरोस् भनी श्राप दिएकीले शालिग्राम स्वरूपमा रहनुपरेको उल्लेख छ । शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व भएकाले यसकोे खोजी गर्ने बर्सेनि बढ्दै गएका पाइन्छन् ।

सोह्रौँ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरको भन्ने किवंदन्ती रहेको छ । कालीगण्डकीमा नुहाउन र ऋषिकेशव, गायत्रीमाता लगायत विभिन्न देवालयको दर्शन गर्न भक्तजन आउने गर्छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २७ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ६०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु २५, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ३०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ७५, हरियो धनिया प्रतिकिलो रु ७०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

२५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न

काठमाडौँ, २७ वैशाखः कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ ।

विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्र्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो ।

विसं २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ । आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्र्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सवस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

झण्डै रु छ अर्ब लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट सुरुको वर्षमा वार्षिक रू ८७ करोड आम्दानी गर्नेछ । आयोजनामा एनएमबि बैङ्कको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कको ऋण लगानी रहको छ ।

आयोजनाका लागि बैङ्ककातर्फबाट तत्कालिन अवस्थामा अनुमानीत कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानीकर्ताको स्वपूजी लगानी रहेको छ । कम्पनीले आज यहाँ एक उद्घाटन समारोहको आयोजना गरेको थियो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायतले ऊर्जा उत्पादनमा भिजन लुम्बिनीले स्थापना गरेको मानक उदाहरणीय रहेको बताउनुभयो । 

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २७ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रूपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रूपैयाँ ८१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रूपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३९ पैसा र बिक्रीदर नौ रूपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १८ रूपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७४ पैसा र बिक्रीदर नौ रूपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १४ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५६ पैसा र बिक्रीदर २० रूपैयाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा

काठमाडौँ, २७ वैशाख : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

गण्डकी, २७ वैशाखः नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उहाँलाई अवार्ड हस्तान्तरण गर्नुभयो ।

यसअघि अवार्ड छनोट समितिले उक्त अवार्डका लागि केसीको नाम सिफारिस गरेको थियो । नेपाल सुटिङ सङ्घका उपाध्यक्ष केसीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसक्नुभएको छ । बागलुङकी उहाँ सन् २००० मा सिड्नीमा भएको २७औँ ओलम्पिक खेलमा नेपालका तर्फबाट भाग लिई राष्ट्रिय कीर्तिमान राखनुभएको थियो ।

उहाँले इन्डोनेसियामा सन् १९९५ मा सम्पन्न आठौँ एसियन सुटिङ च्याम्पियनसिप, सन् १९९५ मा भारतको मद्रासमा भएको सातौँ साफ गेम, सन् १९९७ मा भारतको न्यू दिल्लीमा सम्पन्न दोस्रो साफ सुटिङ च्याम्पियनसिप, थाइल्यान्डको बैंककमा सन् १९९८ मा सम्पन्न १३औँ एसियन गेम, काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ गेम, पाकिस्तानमा सन् २००० मा सम्पन्न नवौँ साउथ एसियन सुटिङ च्याम्पियनसिप, कोलम्बोमा सन् २००६ मा सम्पन्न १०औँ साउथ एसियन गेममा सहभागिता जनाउनुभएको थियो ।

केसीले नवौँ राष्ट्रिय महिला सुटिङ प्रतियोगिता प्रथम, शुभजन्मोत्सव आठौँ सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, १२औँ राष्ट्रिय सुटिङ प्रतियोगिता २०५३ मा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, चौथौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०५५ मा प्रथम र पाँचौ राष्ट्रिय प्रतियोगिता दोस्रो स्थान हासिल गर्नुभएको थियो । २०५७ मा गोरखा दक्षिण बाहुबाट सम्मानित उहाँलाई सरकारले २०६३ उत्कृष्ट खेलाडी घोषित गरेको थियो ।

अवार्ड पाउँदा आफूले खेलका लागि बिताएको विगतप्रति गौरवको महसुस भएको उहाँले बताउनुभयो । केसीले खेलकुदमार्फत देशलाई चिनाउन आफूले सक्दो भूमिका निर्वाह गरेको बताउनुभयो । उचित प्रशिक्षण र वातावरण पाएमा नेपाली खेलाडीले सुटिङमा अन्तरराष्ट्रिय पदक जित्न सक्ने उहाँको भनाइ छ ।

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

काठमाडौँ, २७ वैशाखः “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भ¥याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले रासससँग भन्नुभयो । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।

सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक लीलाधर अवस्थीले भन्नुभयो, “सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन् ।” मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उहाँले बताउनुभयो ।

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो । आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्द निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उहाँले उल्लेख गर्नुभयो ।

एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशकसमेत रहनुभएका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम अनुकूल छ । आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ । अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।”

सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवत जावत गरिरहेका हुन् । मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुनसक्ने जनाइएको छ ।

सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ्गको जिम्मेवारी पाएको एटके कम्पनीका प्रवन्ध निर्देशक शेर्पाले भन्नुभयो, “यो पटक सगरमाथामा बाक्लो हिउँले डोरी टाग्न गाह्रो भएको छ । पहिलो वीन्डोमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ ।”

अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो । उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । यो पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ ।

सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ । जलवायु परिवर्तनको प्रभावले आरोहक्षण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउनेकार्य कठिन भएको शेर्पाले जनाएका छन् । खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए ।

“बाटो राम्रो छ, मौसम सफा छ । सयौ आरोही आरोहणका लागि प्रतिक्षरत छन्”, आरोही शेर्पाले भन्नुभयो, “मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ । अर्को वेवदर वीन्डो मे १९ देखि २४ सम्म रहेको छ ।”

यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा हुनुहुन्छ । टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुग्नुभएको छ । त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा जानुभएको छ । आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गर्नुभएका उहाँले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान फङ्ग गर्ने योजनामा हुनुहुन्छ । भारतकी सबैभन्दा जेष्ठ नागरिकले आरोहण गर्ने तयारीमा हुनुहुन्छ । यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन् ।

समुद्री सतहदेखि पाँच हजार ३६४ मिटरको उचाइको आधार शिविरमा अध्याधिक चिसो रहेको शेर्पाले जानकारी दिनुभयो । माइनस २० डिग्रिको चिसोको प्रवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लिन छन् । शिविरमा चहलपहल छ । शेर्पा ‘हाइ क्याप्स सेट’ (तेस्रो र चौथो शिविर व्यवस्थापन) मा छन् भने आरोही लुक्ला नाम्चे, वेसक्याम्पमा छन् । आधा जसो आरोही तेस्रो शिविरतिर पुगेका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको प्रवन्ध निर्देशक शेर्पाले बताउनुभयो । यो पटक धेरै आरोहीलाई सहज होस भनेर चाँडो सगरमाथाको आरोहण खुलाइएको उहाँको भनाइ छ । सन् २०१३ र २०१७ मा सगरमाथाको रोप फिक्सिङ्ग गर्नुभएका लाक्पा शेर्पाले जलवायु परिवर्तनका कारण हिउँ पक्लिएर पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढी रक भेटिएको छ । हिउँ भएको ठाउँमा बाक्लो हिउँ परेको छ ।

खुम्बु आइसफलमा बढी रक देखिएकोले सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसिसी) ले मे २९ मै बाटोका भ¥याङ उठाउने जनाएको छ । पर्यटन विभागबाट ७५ दिनको आरोहण अनुमति लिएर आरोही सगरमाथा गएका छन् ।

सगरमाथा आरोहण ४० दिनको हुन्छ । आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन् । उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन् ।

सभेने समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो मौसम अनुकूल रहेकाले यो पटक उत्साहवर्द्धक रूपमा सगरमाथा आरोहण हुने अनुमान गरिएको बताउनुभयो । उहाँको कम्पनीमार्फत यो पटक पनि १०० भन्दा धेरै आरोही सगरमाथा आरोहणमा गएका छन् ।

एक्सपीडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ्ग गरेको छ । सपीसिसीले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो बनाएको थियो ।

सगरमाथा चढ्न ४२१ लाई अनुमति
पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक÷दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ ।

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र मन्त्रालय

काठमाडौँ, २७ वैशाखः परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ । पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेको विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ ।

मन्त्रालयले तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावकले इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनेको छ ।

त्यस्तै, भारतमा अवस्थित नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । दूतावासले एक विज्ञप्तिमार्फत संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको हो ।

भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले आवश्यक सर्तकता अपनाउन ध्यानाकर्षण गराएको हो ।

दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालनासमेत गर्न भनेको हो । नेपाली नागरिकले नेपाली दूतावस र महावाणिज्यदूतावास कोलकातामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

काठमाडौँ, २७ वैशाखः भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपालाई धन्यवाद दिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौँस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी यहाँका समग्र नागरिक समाज र विशेषगरी आमसञ्चार क्षेत्रबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

काश्मीरको पहलगाममा एक नेपालीसहित २६ जना निर्दाेष मानिसको ज्यान लिनेगरी भएको आतङ्वादी हमला र त्यसपछि विकासित घटनाक्रमका बारेमा जानकारी दिँदै राजदूत श्रीवास्तवले पहलगाम हमलामा पाकिस्तान जिम्मेवार रहेको बताउनुभयो ।

पाकिस्तानको ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ)’ले गत ‘२२ अप्रिल’मा पहलगाममा २६ जना सर्वसाधरण मानिसको ज्यान लिने गरी हमला गरेको बताउँदै उहाँले त्यसपछि पनि जम्मु–काश्मीर क्षेत्रका सर्वसाधरण जनतासहित धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदालाई लक्षित गरी लगातार आक्रमण गरिहेको र जसरी हुन्छ दुई देशबीच द्वन्द्व चर्काउन खोजिरहेको भनी खेद व्यक्त गर्नुभयो ।

पहलगाम हमलापछि पनि पाकिस्तानले सीमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमणलाई तीव्रता दिइरहेको, काश्मीर क्षेत्रस्थित ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्ट ध्वस्त बनाएको र १६ जना भारतीयको मृत्यु भएको जानकारी दिँदै राजदूत श्रीवास्तवले यसकिसिमको अपूरणीय क्षतिका बावजुद् भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारवाही मात्र गरेको स्पष्ट गर्नुभयो ।

पाकिस्तान सरकारकातर्फबाट छिमेकी दुई देशबीचको द्वन्द्वलाई बढवा दिने गरी नियोजित रूपमा लगातार गलत र भ्रामक सूचना सम्प्रेषण भइरहेकामा खेद व्यक्त गर्दै राजदूत श्रीवास्तवले भन्नुभयो, “भारत द्वन्द्व चर्कियोस् भन्ने पक्षमा छैन तर देश र जनताको रक्षाको पक्षमा भने कोहीकसैसँग सम्झौता गर्ने पक्षमा छैन । यता पाकिस्तानी जनतासमेत शान्तिका पक्षमा देखिन्छन्, सम्पूर्ण विश्व समुदाय आतङ्कवादको विरुद्धमा उभिएको अवस्था छ, यसतर्फ पाकिस्तानी सरकार र त्यहाँका सेनाको ध्यान जान जरुरी छ ।” पाकिस्तानी पक्षबाट भ्रम फैलाइएजस्तो सीमा क्षेत्रमा जारी द्वन्द्वमा भारतीय पक्षको क्षति नभएको पनि उहाँले जानकारी दिनुभयो ।

भारतका जिम्मेवार आमसञ्चारमाध्यम र निकायबाट युद्धलाई प्रश्रय दिने काम नभएको स्पष्ट गर्दै उहाँले जारी द्वन्द्वसम्बन्धी यथार्थ एवं वास्तविक समाचारका लागि राज्यका आधिकारिक निकायसँग भर पर्न अनुरोध गर्नुभयो ।

उहाँले आतङ्कबाद, आतङ्कवादी हमलासहित काश्मीर क्षेत्रमा जारी द्वन्द्वबाट भारत र पाकिस्तान मात्र नभई सार्क क्षेत्रसहित समग्र विश्व नै प्रभावित हुने भएकाले आतङ्कबादका विरुद्ध डटेर सामना गर्दै विश्व शान्तिका पक्षमा अन्तरराष्ट्रियजगत एक हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सञ्चारकर्मीको जिज्ञासामा राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको जानकारी दिँदै आतङ्कवादको विरोधसहित त्यसका विरुद्ध हुने कदमप्रति प्रधानमन्त्रीबाट ऐक्यबद्धता प्रकट भएकामा खुशी व्यक्त गर्नुभयो । यसैगरी विश्व शान्तिको पक्षमा दृढ रहेको नेपालको कुनै पनि भूमि आतङ्कवादको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको पनि उहाँले जानकारी गराउनुभयो ।

अर्काे एक प्रश्नको जवाफमा राजदूत श्रीवास्तवले भारतस्थित संवेदनशील क्षेत्रका केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको बताउँदै छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा भने कुनै पनि किसिमको समस्या नआउने विश्वास दिलाउनुभयो । उहाँले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन अनुरोध गर्दै विद्यमान असहज परिस्थितिलाई मध्यनजर गरी घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, २६ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको दाहालको सचिवालयले जनाएको छ । भेटमा देशको वर्तमान राजनीतिलगायत समसामयिक विषयमा छलफल भएको सचिवलयको भनाइ छ ।

समाजवादीका कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी

काठमाडौँ, २६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले नेपाली विशेषतासहित समाजवादीका कार्यदिशाबारे बृहत् बहस एवं समीक्षा गर्ने भएको छ । यही वैशाख २७ गते दाङमा गर्न लागिएको लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनका अवसरमा त्यस्तो समीक्षा गर्न लागिएको सो पार्टीले जनाएको छ ।

पार्टीको गत वर्ष सम्पन्न १०औँ महाअधिवेशनले पारित गरेको विधान र कार्यक्रमअनुसार प्रदेश अधिवेशन गर्न लागिएको हो । अधिवेशनले लुम्बिनीका १२ वटै जिल्लाको पछिल्लो अवस्थाको रिपोर्टिङ, जिल्ला अधिवेशनको समीक्षाका साथै नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टी उपमहासचिव एवं लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज मेटमणि चौधरीले जानकारी दिनुभयो ।

अधिवेशनले संविधानमा लेखिएअनुसार नेपालमै पहिलोपटक नेपाली विशेषतासहित समाजवादीका कार्यदिशा, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे, जनवर्गीय सङ्गठनका कार्य प्रगतिको प्रतिनिधिले समीक्षा गर्ने कार्यक्रम छ ।

अधिवेशनमा राजनीतिक, साङ्गठनिक, आर्थिकलगायत अन्य प्रतिवेदन पारित गरिने छ । नेपालका कम्युनिष्ट पार्टीहरूमध्ये समाजवादी पार्टीले नै पहिलोपटक कार्यक्रम, नीति र स्पष्ट कार्यदिशासहितको कार्यक्रम ल्याएको जनाइएको छ ।

पार्टीको १०औँ महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरी समाजवादी कार्यदिशा बोकेर गाउँगाउँमा खटिनसमेत नेता, कार्यकर्तालाई निर्देशन दिइएको छ ।

आजदेखि हेटौँडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर, २६ वैशाख : चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिगिँ्रदा आजदेखि उत्पादन बन्द भएको छ ।

सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन ।

चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन सुरु गरेकामा हाल आएर सो उद्योगको किलमिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण खरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगका निमित्त महाप्रबन्धकन विनकुमार कर्णले जानकारी दिनुभयो ।

हाल सो उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताउनुभयो । तत्कालीन सरकारले यस उद्योग विसं २०३३ मा हेटौँडाको लामसुरेमास्थापना गरेको थियो । उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

सरकारले उद्योग निर्माणका लागि रु एक अर्ब ५० करोड लगानी गरेको थियो । सो उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण हाल दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

उक्त उद्योगमा अहिले प्रशासन, लेखा भण्डारण, प्राविधिक र मजदुर कर्माचारी गरी करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन् । उद्योगले मकवानपुरको भैँसे, ओखरेखानी र धादिङको जोगिमाराबाट दैनिक चुन ढुङ्गा ढुवानी गरी ल्याउने गरेको छ ।

नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, २६ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपालस्थित चिनियाँ तथा बङ्गलादेश दूतावासका प्रतिनिधि तथा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएका दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासङ्घका अध्यक्ष ढकालले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारीसाधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेकाले लगानीको लागि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आइटीजस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरूलाई आग्रह गर्दछु ।”

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासङ्घ तयार रहेकोसमेत जानकारी गराउनुभयो । उहाँले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताका लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थल मात्र नभएर आपसी सहकार्य र व्यापार प्रवर्द्धनको उपर्युक्त माध्यम भएको बताउनुभयो ।

यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासङ्घमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ ।

छलफलका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्नुहुँदै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहेको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बनाउन आफूहरू सधैँ तयार रहेको बताउनुभयो ।

नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्स सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवसाय प्रवर्द्धन तथा चिनियाँ सहयोगका लागि दूतावास सधैँ सकारात्मक रहेको बताउनुभयो ।

छलफलका क्रममा महासङ्घका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवर्द्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्त्वपूर्ण योगदान दिने बताउँदै त्यसका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गर्नुभयो ।

यस्तै महासङ्घका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापति उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरूको सहभगिताका लागि थप सहयोग एवं सहकार्यका लागि चिनियाँ पक्षलाई आग्रह गर्नुभयो ।

यही वैशाख २५ गतेदेखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन यतिबेला चिनियाँ र बङ्गलादेशका व्यवसायीको समूह नेपालमा रहेको छ । आज करिब पाँच हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।