`

आजदेखि हेटौँडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर, २६ वैशाख : चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिगिँ्रदा आजदेखि उत्पादन बन्द भएको छ ।

सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन ।

चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन सुरु गरेकामा हाल आएर सो उद्योगको किलमिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण खरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगका निमित्त महाप्रबन्धकन विनकुमार कर्णले जानकारी दिनुभयो ।

हाल सो उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताउनुभयो । तत्कालीन सरकारले यस उद्योग विसं २०३३ मा हेटौँडाको लामसुरेमास्थापना गरेको थियो । उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

सरकारले उद्योग निर्माणका लागि रु एक अर्ब ५० करोड लगानी गरेको थियो । सो उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण हाल दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

उक्त उद्योगमा अहिले प्रशासन, लेखा भण्डारण, प्राविधिक र मजदुर कर्माचारी गरी करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन् । उद्योगले मकवानपुरको भैँसे, ओखरेखानी र धादिङको जोगिमाराबाट दैनिक चुन ढुङ्गा ढुवानी गरी ल्याउने गरेको छ ।

नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, २६ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपालस्थित चिनियाँ तथा बङ्गलादेश दूतावासका प्रतिनिधि तथा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएका दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासङ्घका अध्यक्ष ढकालले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारीसाधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेकाले लगानीको लागि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आइटीजस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरूलाई आग्रह गर्दछु ।”

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासङ्घ तयार रहेकोसमेत जानकारी गराउनुभयो । उहाँले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताका लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थल मात्र नभएर आपसी सहकार्य र व्यापार प्रवर्द्धनको उपर्युक्त माध्यम भएको बताउनुभयो ।

यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासङ्घमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ ।

छलफलका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्नुहुँदै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहेको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बनाउन आफूहरू सधैँ तयार रहेको बताउनुभयो ।

नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्स सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवसाय प्रवर्द्धन तथा चिनियाँ सहयोगका लागि दूतावास सधैँ सकारात्मक रहेको बताउनुभयो ।

छलफलका क्रममा महासङ्घका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवर्द्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्त्वपूर्ण योगदान दिने बताउँदै त्यसका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गर्नुभयो ।

यस्तै महासङ्घका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापति उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरूको सहभगिताका लागि थप सहयोग एवं सहकार्यका लागि चिनियाँ पक्षलाई आग्रह गर्नुभयो ।

यही वैशाख २५ गतेदेखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन यतिबेला चिनियाँ र बङ्गलादेशका व्यवसायीको समूह नेपालमा रहेको छ । आज करिब पाँच हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।

पिएम कप भलिबल अर्को महिना पोखरामा हुने

काठमाडौँ, २६ वैशाख : नेपाल भलिबल सङ्घको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ ।

प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । नियमित रूपमा प्रतियोगिता हुँदै आएको काठमाडौँको दशरथ रङ्गशालास्थित कभर्डहलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो ।

लिगमा महिलातर्फ छ र पुरूषतर्फ आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् ।

दुवैतर्फका विजेता टोलीले रु आठ लाख, उपविजेताले रु चार लाख र तेस्रो हुने टोलीले रु दुई लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार पाउँदा विधागत उत्कृष्टमा रु २५–२५ हजार राखिएको छ । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा हरेक टिमले तीन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ ।

नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश:मन्त्री पाण्डे

दोधारा चाँदनी (कञ्चनपुर), २६ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य र विविधतापूर्ण संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ ।

महेन्द्रनगरमा आज आयोजित ‘फारवेष्ट ट्राभल मिट’ को उद्घाटन गर्दै उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताउनुभएको हो । “यहाँ सानो ठाउँमा प्राकृतिक विविधता छ थोरै जनसङ्ख्यामा धेरै सांस्कृतिक विविधता छ”, मन्त्री पाण्डेले भन्नुभयो, “विविधतापूर्ण संस्कृति र प्रकृतिलाई विश्व माझ पुर्‍याउन सके पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ ।”

उहाँले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो । “अहिले हामीले एयरलाइन्सहरूसँग छलफल गरेर पोखराबाट सात वटै प्रदेशमा उडान भर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले यहाँको पर्यटन विकासमा टेवा पुग्छ ।”

मन्त्री पाण्डेले भन्नुभयो, “यहाँको सांस्कृतिक र प्राकृतिक विविधताबाट लाभ लिन सके आर्थिक समृद्धि धेरै टाढा छैन ।” उहाँले अहिले पुँजीगत खर्चमा चाप बढेका कारण २० प्रतिशत बजेट घटेको बताउनुभयो ।

उहाँले नेपाल ऐयरलाइन्स बलियो नहुँदा नीति एयरलाइन्सहरूले मनोमानी भाडा लिने गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरू भएको फारवेष्टर्न ट्राभल मार्टमा नेपाल भारतका ट्राभल ऐजेन्टहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने उक्त मार्टमा नेपाल–भारतका पर्यटन व्यवसायीबीच यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे छलफल हुनेछ ।

दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ : मन्त्री चौरसिया

काठमाडौँ, २६ वैशाख : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

जातीय छुवाछूत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयन सुनिश्चित गर्न जोड दिँदै ‘दलित लाइभ्स म्याटर ग्लोबल एलायन्स’ र ‘ग्लोबल लिगल डिफेन्स फन्ड’ यहाँ आज आयोजना गरेको ‘जस्टिस समिट २०२५’ कार्यक्रमा उहाँले भन्नुभयो, “छुवाछूत र जातीय विभेद अन्त्य गर्न सरकारले नीतिगत र कानुनी प्रतिबद्धता लिएको छ ।”

प्रतिनिधिसभाका सांसद सन्तोष परियारले संविधानले दलित समुदायका हक अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो उहाँले भन्नुभयो, “राज्य अझै पनि दलितका मुद्दामा गम्भीर देखिँदैन, हामी यो विभेद अन्त्य नभएसम्म लडिरहनेछौँ ।”

सांसद सीता मिजारले सङ्घ, प्रदेश र स्थानीय तहले दलित समुदाय लक्षित विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै कार्यान्वयनको कमजोरीले समस्या उत्पन्न भएको बताउनुभयो ।

दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियारले दलित तथा सीमान्तकृत समुदायमाथि हुने संरचनागत विभेद, अन्याय र हिंसाको अन्त्यका लागि अर्थपूर्ण संवाद र सृजनात्मक पहल गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संविधान, सङ्घीयता, समावेशीकरण, दलित महिला र न्याय, तथा जातभन्दा परको मोर्चाबन्दीजस्ता विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । ती कार्यपत्रमा कानुनविद्हरू, राजनीतिक दलका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूले टिप्पणी गर्दै जातीय विभेद अन्त्य गर्न राज्यका सबै संयन्त्र गम्भीर र उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

कास्की,२६ वैशाख : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जित्नुभएको छ ।

वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरूणा शाही घोषित हुनुभएको हो । यसँगै अरूणाले हालसम्म तीन पटक वर्ष उत्कृष्ट खेलाडी बन्न सफल हुनुभयो ।

यसैगरी पुरूषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बन्नुभयो । अवार्डका साथ उहाँहरू दुबैले टेलजी इलेक्ट्रिक स्कुटर पुरस्कार पाउनुभएको छ ।

वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरूङ समेत मनोनयनमा पर्नुभएको थियो । पुरूषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ हुनुहुन्थ्यो ।

उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरीले अवार्ड प्राप्त गर्नुभयो । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा हुनुहुन्थ्यो । टेनिसका निरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बन्नुभयो ।

उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल सङ्घले प्राप्त ग¥यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाउनुभयो । उत्कृष्ट बन्न सफल सबैले अवार्डसहित नगद रू ३५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

मञ्चले ‘लाइफटाइम अचिभेमन्ट अवार्ड’ बाट सुटीङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उहाँलाई चाँदीको करूवासहित अवार्ड प्रदान गरिएको हो ।

अवार्ड विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रूपमा स्थापित छ ।

सिन्धुपाल्चोकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक, २६ वैशाख : जिल्लाको लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा आज साँझ यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पु-याइएको थियो । अस्पताल पु¥याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बस चालक दोलखा कालिञ्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधवबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चीन–अमेरिका वार्ता कुशल व्यापार सम्बन्धतर्फ अघि बढ्ने राष्ट्रसङ्घको विश्वास

स्विट्जरल्याण्डमा हुने चीन र संयुक्त राज्य अमेरिकाबीचको वार्ताले दुई देशको कुशल र प्रभावकारी व्यापार सम्बन्धतर्फ अघि बढ्न मद्दत गर्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी रहेको राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका उपप्रवक्ता फरहान हकले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो “हामी आशा गर्छौँ, वार्ताले अमेरिका र चीनको व्यापार सम्बन्धमा थप सहजता र सरलतातर्फ अघि बढ्न मद्दत गर्नेछ ।”

संयुक्त राष्ट्रसङघका प्रमुख ‘विश्वव्यापी युद्धले विकासशील देशलाई असर गर्न सक्छ भन्ने विषयमा चिन्तित रहेकाले त्यसबाट बच्नको लागि कुनै पनि प्रयास स्वागतयोग्य हुने’ हकले बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा उपप्रधानमन्त्री हे लाइफेङले मे ९ देखि १२ सम्म स्विट्जरल्याण्डको भ्रमण गर्न कार्यक्रम तय भएको जनाइएको छ । स्विट्जरल्याण्डको भ्रमणको क्रममा उहाँले चीन–अमेरिका आर्थिक तथा व्यापार मामिलाका लागि चिनियाँ प्रतिनिधिको रूपमा अमेरिकी प्रतिनिधि स्कट बेसेन्टसँग भेटवार्ता गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गर्नुभएको छ ।

पोप लियोलाई चीनको बधाई, ‘रचनात्मक संवाद’ का लागि पहल हुनेमा विश्वास व्यक्त

चीनले पोप लियो चौधौँ क्याथोलिक चर्चको प्रमुखमा निर्वाचित भएकामा शुक्रबार बधाई दिँदै भ्याटिकनसँग ’रचनात्मक संवाद’ जारी राख्ने आशा गरेको जनाएको छ ।

“नयाँ पोपको नेतृत्वमा भ्याटिकनले चीनसँग रचनात्मक संवाद जारी राख्ने र पारस्परिक चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूमा गहन संवाद सञ्चालन गर्ने आशा गरिएको छ,” विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो ।

बेइजिङ र भ्याटिकनले संयुक्त रूपमा सम्बन्धको निरन्तर सुधारलाई बढावा दिन र विश्व शान्ति, स्थिरता र विकास समृद्धिमा योगदान दिन सक्ने आशा लिनले व्यक्त गर्नुभयो ।

शिकागोमा जन्मेका रोबर्ट फ्रान्सिस प्रेभोस्टलाई सिस्टिन च्यापलमा आयोजित गोप्य सम्मेलनपछि विश्वका एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीको नेतृत्वका लागि चयन गरिएको छ ।

आधिकारिक रूपमा कुनै धर्ममा विश्वास नराख्ने (नास्तिक) चीन र भ्याटिकनबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ।

नयाँ कम्युनिस्ट व्यवस्थासँगै चीनले सन् १९५१ मा होली सीसँग सम्बन्ध विच्छेद गरेको थियो भने चिनिया क्याथोलिकहरूलाई राज्य द्वारा संचालित चिनियाँ क्याथोलिक प्याट्रियटिक एसोसिएशनको सदस्यता वा पोपप्रति वफादार गैर–स्वीकृत चर्चहरू मध्ये एक रोज्ने विकल्प दिएको थियो ।

हालै दिवङ्गत हुनुभएका फ्रान्सिसको (लियोका पूर्ववर्ती) को नेतृत्वमा बेइजिङ र भ्याटिकनले सन् २०१८ मा बेइजिङ र होली सी दुवैलाई पादरी प्रमुख नियुक्त गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेका थिए।

तर भ्याटिकनले सन् २०२२ र २०२३ मा बेइजिङले एकतर्फी रूपमा देशको सबैभन्दा ठूलो क्याथोलिक धर्मप्रांत साङ्घाईमा एक विशपसहित दुई पादरी प्रमुख नियुक्त गरेपछि खेद व्यक्त गरेको थियो ।

उनीहरु सन् २०२४ मा पुनः सम्झौता लम्ब्याउन सहमत भएका थिए।

फ्रान्सिसले चीनलाई ‘महान् देश’ को संज्ञा दिनुभएको थियो भने भ्रमण गर्ने इच्छा पनि व्यक्त गर्नुभएको थियो ।

अफगानिस्तानमा ‘थालासेमिया’ रोग बाट पीडित बालबालिकाको सङ्ख्यामा वृद्धि, सरकारद्वारा सहयोगको अपील

अफगानिस्तानमा ‘थालासेमिया’ रोग भएका जम्मा पाँच हजार ३७२ जना बालबालिका दर्ता भइसकेको स्वास्थ्य सेवाका उपमन्त्री मावलावी अब्दुल वली हक्कानीले बताउनुभएको छ ।

थालासेमिया एक आनुवंशिक रक्त विकार हो, जसमा शरीरले पर्याप्त मात्रामा स्वस्थ हेमोग्लोबिन उत्पादन गर्न सक्दैन । हेमोग्लोबिनले रगतमा अक्सिजन बोक्ने कार्य गर्छ र यसको कमीले एनीमिया (रक्तअल्पता) को समस्या उत्पन्न हुन्छ । थालासेमिया मुख्य रूपमा दुई प्रकारको हुन्छ । अल्फा र बेटा र यो बंशानुगत रूपमा आमाबुबाबाट सन्तानमा सर्छ । यस रोग भएका व्यक्तिहरूमा थकान, कमजोर शरीर, पीलो छाला, तथा हड्डी र अङ्गहरूको विकृति देखिन सक्छ र गम्भीर अवस्थामा नियमित रगत चढाउने आवश्यकता पर्न सक्छ ।

स्वास्थ्य मन्त्रालयले केही प्रान्तहरूमा परीक्षण केन्द्रहरू स्थापना गरेर यी बिरामीहरूको उपचारको व्यवस्था गरेको र सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोग गर्न आग्रह गरिरहेको छ ।

थालासेमिया रोग भएका गरिब परिवारका बालबालिकाले अफगानिस्तानमै उपचार गर्न सक्दैनन् ।

‘फजुल खर्च वा चालु खर्च घटाएर भए पनि पुँजीगत बजेट बढाउनुपर्छ’ – कांग्रेस सांसद यादव

काठमाडौँ, २६ वैशाखः नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले फजुल खर्च वा चालु खर्च घटाएर भए पनि पुँजीगत बजेट बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले शिक्षा, निजामती र प्रहरीसम्बन्धी अतिआवश्यक विधेयकहरू जतिसक्दो चाँडो ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “वास्तविक किसानको हातमा अनुदान पुगोस्, उत्पादन र उत्पादनकत्व बढाउने र देशलाई आत्मनिर्भर बनाउने खालको बजेट बनाउन सरकारलाई मेरो सुझाव छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद निर्मला कोइरालाले देश समृद्ध बनाउँदै नेपाली जनतालाई सुखी बनाउन सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सरस्वती सुब्बाले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासको समस्यालाई सरकारले व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का सांसद विजुला रायमाझीले सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रको आर्थिक अवस्था, स्रोतसाधन परिचालनको अवस्था र पुँजीअनुसार यर्थाथपरक रहेको टिप्पणी गर्नुभयो । एमालेका सांसद हर्कमाया विश्वकर्माले सरकारले सजिलै लागू गर्न सकिने गरी नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । प्रतिनिधिसभाको आगामी बैठक यही वैशाख २८ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।

टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त

काठमाडौं । टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा अभिनेता प्रदीप खड्का नियुक्त भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कन्सलटेन्सीका प्रमुख गजेन्द्रकुमार कार्की र प्रदीप खड्काले ब्राण्ड एम्बेस्डर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरपछि अभिनेता ख्डकाले विद्यार्थीहरुलाई बाहिर गएपछि एकदमै राम्रो हुन्छ भन्ने तरिकाले झुक्याइने परिपाटी एजुकेशन कन्सलटेन्सीमा रहेको बताए । सुरुमा यस कन्सलटेन्सीमा जोडिन केही शंका उत्पन्न भएतापनि बुझ्दै जाँदा विश्वासिलो लागेको कारण नै आफू जोडिएको उनले सुनाए ।

उनले भने, ‘विद्यार्थीहरुलाई एकदमै बाहिर गएपछि राम्रो हुन्छ जस्तो लाग्छ । त्यसरी नै झुक्याइने परिपाटी चाँही एजुकेशन कन्सलटेन्सीमा देखिन्छ । एउटा पढ्न भनेर गयो त्यो हुँदैन् । म टिसिएलसँग जोडिदै गर्दा मेरो एउटा मात्र सोच के थियो भने कत्तिको विश्वासिलो छ त म जोडिदै गर्दा तलमाथि भयो भने भोली मेरो पनि नाम जोडिने भएको कारणले सजक छु । त्यही क्रममा बुझ्दा सबैभन्दा मन परेको विश्वासिला भएर हो ।’

उनले टिसिएल ग्लोबलसँग जोडिने आफ्नो निर्णय सहि साबित भएको भन्दै निकै खुसी लागेको बताए । त्यस्तै, कन्सलटेन्सी प्रमुख कार्कीले विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउने र नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजिकरण गर्ने आफूहरुको उद्देश्य रहेको बताए । उनले अभिनेता ख्डकालाई एम्बेस्डरमा नियुक्त गरेसँगै उनको व्यापक लोकप्रियता, युवा माझको विश्वास योग्यता, जोस, संघर्ष र सफलताको यात्राले युवाहरुलाई अझ बढी प्रेरित गर्ने आशा व्यक्त गरे ।

उनले भने, ‘विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउनु र नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजिकरण गर्नु हाम्रो लक्ष्य हो । यही लक्ष्यलाई लिएर हामीले नेपाली चलचित्र उद्योगका ख्याति प्राप्त व्यक्तित्व प्रदीप खड्काज्यूलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेस्डरको रुपमा आज यस कार्यक्रम मार्फत नियुक्त गरेका छौं । उनको व्यापक लोकप्रियता, युवा माझको विश्वासयोग्यता, जोस, संघर्ष र सफलताको यात्राले युवाहरुलाई अझ बढी प्रेरित गर्ने आशा गरेका छौं ।’

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

काठमाडौँ, २६ वैशाखः यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिनुभयो ।

विभागका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन् । अशोक लामाले नेतृत्व गर्नुभएको सो टिममा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । 

“सगरमाथाको चुचुरमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । अब अरु आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने छन्”, निर्देशक अवस्थीले भन्नुभयो ।

मनाइयो कानुन दिवस, छिटो–छरितो न्याय प्रदान गर्न जोड

काठमाडौँ, २६ वैशाख : विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय ऐन, २००८ ले स्वतन्त्र न्यायपालिकाको स्थापनाका अवसरमा आज ७३औँ कानुन दिवस मनाइएको छ ।

सर्वोच्च अदालतद्वारा ‘कानुन दिवस–२०८२’ का अवसरमा आयोजना गरेको चियापान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका समाभुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुभएको थियो ।

समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, पूर्वप्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक निकायका प्रमुख, न्याय परिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, वरिष्ठ अविधक्ताहरूको उपस्थिति रहेको थियो ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले उक्त समारोहमा उपस्थितहरूलाई स्वागत गर्दै विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय ऐन, २००८ ले स्वतन्त्र न्यायपालिकाको स्थापनाको सम्झनामा यो दिवस मनाउन थालिएको जानकारी गराउनुभयो ।

विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय ऐन, २००८ ले स्वतन्त्र न्यायपालिकाको स्थापनासँगै शक्ति पृथकीकरणको अभ्यासलाई आत्मसात् गरेको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई न्यायपालिकाले कानुन दिवसका रूपमा हर्षोल्लासपूर्वक मनाउँदै आएको छ ।

‘छिटो छरितो न्याय : सबैका लागि न्याय’ भन्ने नाराका साथ मनाइएको कानुन दिवसका अवसरमा न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिँदै आज कानुन दिवस मनाइएको छ ।

कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।

उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो । न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको श्रीगणेश सोही दिनदेखि भएको मानिन्छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौँ, २६ वैशाख : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिनुभएको छ । मन्त्री डा राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो ।

उहाँले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा वर्षेनी आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रूपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मेहनत गरिरहेको बताउनुभयो ।

जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री डा राणाले दिनुभयो ।

उहाँले भन्नुभयो, “जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रूपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ ।”

उहाँले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्त्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रूपमा सगरमाथा संवादको सुरुआत गरेको र यस वर्षको यो पहिलो संस्करण रहेको पनि स्पष्ट गर्नुभयो ।

मन्त्री डा राणाले यस संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको पनि बताउनुभयो ।

सगरमाथा संवादको पहिलो संस्करणको व्यवस्थापन समिति संयोजक रहनुभएकी मन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरिएको र उत्साहजनक रूपमा उहाँहरुले सहभागिताको सुनिश्चित पनि गर्नुभएको जानकारी दिनुभयो ।

मन्त्री डा राणाले यस स्तरको कार्यक्रम नेपालका लागि एउटा ठूलो अवसर भएकाले आआफ्ना स्थानबाट सक्दो योगदान गर्न परराष्ट्र तथा सम्बद्ध सबै मन्त्रालयका कर्मचारी, निजी क्षेत्र तथा विश्वमा रहेका सबै नेपाली नियोगहरूलाई निर्देशन दिनुभयो ।

त्यस बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पनि आफ्ना मन्त्रालयले सगरमाथा संवादको अन्तिम तयारी गरिरहेको जानकारी गराउनुभएको थियो । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइले सगरमाथा संवादको तयारीका लागि भइरहेका कामहरूका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्म करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूले सहभागिताको सुनिश्चितता गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफल जारी

काठमाडौँ, २६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शान्ति श्रेष्ठले बालबालिकाको समग्र पक्षको विकासका लागि सरकारले छुट्टै बजेट व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले भन्नुभयो, “हजारौँ सडक बालबालिका, अभिभावकविहीन बालबालिका, हजारौँ नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले जन्मदर्ता पाएका छैनन्, तिनीहरूका बारेमा पटकपटक सदनमा कुरा उठेको छ, तर अझै पनि नेपाली बालबालिकालाई नेपाली नागरिक हो भन्ने पहिचानसमेत दिन सकिएको छैन ।”

उहाँले नीति तथा कार्यक्रमको ८१ नम्बर बुँदामा ‘बालबालिकाको शारीरिक तथा मानसिक विकास र संरक्षण गरिने छ । सडक बालबालिकाका लागि पारिवारिक पुनर्मिलन, सामाजिक पुनस्र्थापना र वैकल्पिक हेरचाहको व्यवस्था मिलाइने छ । बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोडिनेछ’ भनिए पनि त्यसका लागि छुट्टै नीतिको आवश्यकता पर्नेमा जोड दिनुभयो ।

सरकारले बालबालिकासम्बन्धी सही तथ्याङ्कसमेत राख्न नसकेको उल्लेख गर्दै सांसद श्रेष्ठले सडक बालबालिका, अभिभावकविहीन बालबालिका, नेपाली आमाबाट जन्मिएका बालबालिकाको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति बनाएर जन्मदर्ता र नागरिकता वितरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै बालबालिका लागुऔधष दुव्र्यसनबाट प्रभावित छन्, बाल सुधारगृहमा अघिल्लो वर्ष घटेका घटनाबारे हामी सबैलाई सर्वविदितै छ, विभिन्न समूहका बालबालिकाको जिम्मा दिए पनि आवश्यक कार्यक्रम बनाएर सुधार गर्न र सुरक्षित राख्नुपर्ने देखिन्छ ।”

उहाँले संविधानको धारा ३९ मा उल्लेख ‘प्रत्येक बालबालिकालाई परिवार तथा पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ’ भन्ने व्यवस्थालाई सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्नुपर्ने माग गर्नुभयो । बालबालिकालाई दिइँदै आइएको पोषण भत्तालाई रु ५३२ बाट बढाएर रु एक हजार बनाउनुपर्ने माग पनि उहाँले गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद चन्द्रबहादुर विश्वकर्माले सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति ५ मिनेट मौन बसेर असहमति जनाउनुभएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा समामुखले उपलब्ध गराउनुभएको ५ मिनेटको समयभरि रोस्टममा मौन रहेर उहाँले असहमति जनाउनुभएको हो ।

नेपाली कांग्रेसका सांसद सीताकुमारी रानाले नीति तथा कार्यक्रमलाई पूर्णरूपमा कार्यान्वयन गर्न उचित बजेटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमले सामाजिक रुपान्तरण, सुशासन र सामाजिक न्याय, सुखी नेपाली, समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न विभिन्न कार्यक्रम गरेको देखिन्छ, जुन आफैँमा सकारात्मक छन् ।”

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश ‘रोजगारीका अवसर सिर्जना र गरिबी निवारणका लागि सार्वजनिक, सहकारी र निजी क्षेत्रबीच सहकार्य प्रवर्द्धन गरिनेछ । उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्नुका साथै वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गरिनेछ’, भन्ने विषयलाई बजेटमाफर्त व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रानाले भूमिहिन दलित र सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई वितरण गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिए पनि कार्यान्वयन हुने÷नहुनेमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “२०५१ सालदेखि अहिलेसम्म सुकुम्वासी समस्या समाधन आयोग, राष्ट्रिय भूमि आयोग र भूमि समस्या समाधन आयोग गरी नाम बदल्दै आठ वटा आयोग बनिसके, आयोग बन्ने तर समस्या समाधान नहुने स्थितिले सुकुम्वासी नागरिकमा विश्वास हराएको छ ।”

ऐतिहासिक पुरातत्त्व र सांस्कृतिक महत्त्व बोकेका सम्मपदाहरूलाई विश्व सम्पदा सूचीमा समावेश गर्दै उचित प्रवर्द्धन गर्ने विषय नीति तथा कार्यक्रममा सधैँ राखिएपनि बजेटको व्यवस्था हुन नसकेको उहाँको भनाइ छ ।

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी, (ललितपुर) २६ वैशाखः ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि बढाएको छ । नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा नमूना परियोजनाका रूपमा पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेको हो ।

गोदावरी नगरपालिका–२ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिमयुक्त पहिरोमा आज भेटिभर बिरुवाको रोपण गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले भेटिभरजस्ता जैविक प्रविधिमार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएकाले पालिकाको यसको प्रयोगलाई विस्तार गर्दै जाने बताउनुभयो ।

गोदावरी–२ का वडाध्यक्ष मनोहर सिलवालले हरित पूर्वाधार निर्माण गर्ने योजनासहित नेपालको पहिलो कार्बन नेगेटिभ पालिकाका रूपमा गोदावरीलाई स्थापित गराउन सकिने धारणा राख्नुभयो । भेटिभर प्रविधि अन्तरराष्ट्रियस्तरमा प्रभावकारी देखिएको भन्दै हाम्रोजस्ते पहिरोको उच्च जोखिम रहेको देशमा यसको प्रयोगलाई विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौँ उपत्यकासहित गोदावरीमा पछिल्लो समय पहिरोको जोखिम बढ्दै गएकाले त्यसको प्राकृतिक समाधानका रूपमा भेटिभरलाई लिइएको वडाध्यक्ष सिलवालले बताउनुभयो । उहाँका अनुसार संयुक्त राष्ट्रसङ्घले सन् २०२० देखि २०३० को दशकलाई पारिस्थितिक प्रणाली पुनःस्थापनाको दशकका रूपमा घोषणा गरेको सन्दर्भमा यो प्रणाली पुनःस्थापनामा भेटिभरको प्रयोगलाई जोड दिइएको हो ।

हरेक श्रमिकलाई सिप सिकाएर पठाउने सरकारको तयारी छ : मन्त्रि भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा एन्टियुसि र जेआइएलएएफको सहकार्यको तीन दशकको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी १० वर्षमा जापानलाई विभिन्न विधामा १ करोड जनशक्तिको आवश्यकता भएको भन्दै त्यसकारणले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताए ।

उनले भने, ‘जापान एउटा विकसित, प्राविधिक रुपमा बलियो र अत्यन्तै मेहेनत गर्ने देश हो । त्योसँग हामीले सहकार्य गर्दा प्राविधिकसँगै संस्कार पनि सिकाउछ । जुन अहिले हाम्रो लागि धेरै आवश्यकता छ । जापानको यथार्थ भनेको आगामी १० वर्षमा जापानलाई १ करोड जनशक्तिको आवश्यकता छ । विभिन्न विधामा आवश्यकता छ । त्यसकारणले पनि जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्छ ।’

यस्तै, उनले नेपालबाट वैदेशिक रोजगारमा जाने हरेक श्रमिक नेपाली भएको भन्दै उनीहरुको सुरक्षाको लागि सबै जना मिलेर काम गर्नुपर्ने बताए । उनले भने, ‘नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिक नेपाली नै हो नी, नेपाली जो छन् जहाँ छन् त्यो नेपाली नै हुन् उनीहरुलाई नेपालले हेर्नै पर्छ । ४५ देखि ४८ हजार महिला कुवेतमा बिना सूचना र श्रम स्विकृती बसि रहेका छन् । कसरी गए, महिला कामदार जान पाइदैँन् भनेर कानूनी हिसाबमा रहेको छ ।

अब ती महिलाहरु समस्यामा परे भने के गर्ने त । त्यही हामी सबै बसेर यस बारेमा छलफल गर्नुपर्छ, नेपालीले कसरी दुख पाउदैन्न भनेर हामी लाग्नु पर्छ ।’श्रमबिनाको श्रमिकको कुनै काम नभएको भन्दै नेपालबाट जाने हरेक श्रमिकलाई सिप सिकाएर पठाउने नेपाल सरकारको तयारी रहेको पनि उनको भनाई छ ।

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णाली, २६ वैशाख : कर्णाली प्रदेश सरकारले तीनवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकले विसं २०८१ चैत ११ गतेको पत्रबमोजिम कर्णाली प्रदेशसभामा दर्ता भएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ कर्णाली प्रदेशसभामा पेस गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, ‘कर्णाली प्रदेश सशर्त अनुदानसम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

त्यसैगरी, ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेशसभामा पेस गर्न आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको प्रवक्ता शाहले बताउनुभयो ।

यही वैशाख २१ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभाको बैठक वैशाख २८ गते आह्वानको सिफारिस गर्ने निर्णय गरेको थियो ।

युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन

काठमाडौँ, २६ वैशाख : दुबईमा उत्पादित घरायसी विद्युतीय सामग्रीको आधिकारिक बिक्री नेपालमा सुरू भएको छ । नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरूआत गरेको हो । यो ब्राण्ड दक्षिण एसियामा पहिलोपटक नेपाल भित्रिएको कम्पनीले उल्लेख गरेको छ ।

नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले काठमाडौँ बत्तीसपुतलीमा सुरू भएको बिक्रीकक्षको आज उद्घाटन गर्दै नेपाली उपभोक्तामाझ दुबईको घरायसी विद्युतीय सामग्री भित्रिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले घरायसी इलेक्ट्रोनिक्स एप्लायन्सको गुणस्तर सुनिश्चित र उपभोक्ताको पहुँच अभिवृद्धि गर्न कम्पनीले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

काठमाडौँमा मुख्य ‘बिक्री कक्ष’ र विराटनगरमा शाखा खोलिएको कम्पनीले जनाइएको छ । विशेषगरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट–इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ । यो ब्राण्ड २६ भन्दा बढी देशहरूमा विस्तार भएको छ । उपभोक्तालाई गुणस्तर र भरपर्दो सेवामा नयाँ मापदण्ड स्थापित गर्दै आएको कम्पनीको दाबी छ ।

उपभोक्ताको सन्तुष्टिका लागि गुणस्तरीय र भरपर्दो सेवा दिने उद्देश्यले नोबेल ब्राण्ड नेपाल भित्र्याइएको कम्पनीका महाप्रबन्धक सञ्जिता कार्कीले बताउनुभयो । “हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेसमार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो, “हाम्रो उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्छ ।”

यो ब्राण्डले युरो, चीन, भारत, टर्कीलगायतका विश्वका उत्कृष्ट कारखानाबाट सामग्री सङ्कलन गरेर भरपर्दो र अत्याधुनिक उत्पादनहरू बजारमा पुर्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नोबेलले आफ्ना सम्पूर्ण उत्पादनहरूमा विशेष प्रारम्भिक अवसरहरू दिएको जनाएको छ । नोबेलका रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिस्नर, माइक्रोवेभ, टिभी, आइरनलगायत उत्पादन रहेका छन् । सबै प्रकारका उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराइएको जनाइएको छ ।

दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।

सेनाले व्यास गाउँपालिका-१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका-३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो ।

दार्चुला-टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका-३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०/०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ । चालु आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा एक दशमलव दुई किलोमिटर स्तरोन्नति भएको छ ।

बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन । चालु आवमा रु नौ करोड मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप रु पाँच करोड व्यवस्था गरेको उनले जानकारी दिए ।

पछिल्लोपटक प्राप्त बजेटबाट व्यास गाउँपालिका-१ छाङरुमा क्याम्प निर्माण, स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिनलगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ ।

नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा २०० मिटर ट्रयाक खोलेको छ । व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ ।

अझै तल्लो क्षेत्रमा यो वर्ष तम्बाकु क्षेत्र जोड्ने गरी २०० मिटर ट्याक खुलाउने काम भइरहेको सैनिक प्रवक्ताले जानकारी दिए । “दुवैतर्फबाट सडक जोड्ने गरी निर्माण भइरहेको छ” उनले भने, “छाङ्गरुबाट यो वर्ष दुई किलोमिटर ट्रयाक खुल्छ । माथिल्लो क्षेत्रमा कडा चट्टान नभएका कारण ट्रयाक खोल्न तुलनात्मक रूपमा सहज हुन्छ । ”

व्यास गाउँपालिका–३ तुसारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको बताइएको छ । सेनाले सडक निर्माणको जिम्मा लिएको सडकखण्डको शून्यविन्दुदेखि पाँच किलोमिटर सडकमा माघ अन्तिम सातादेखि सवारी साधन सञ्चालन भएका छन् । योे सडकअन्तर्गत तुसारपानीदेखि मालगाउँसम्म गाडीमा यात्रा गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७७/७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर मात्र ट्रयाक खोलेको छ । बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इञ्जिनियरले बताए ।

उपकरण ढुवानी नहुञ्जेल व्यास गाउँपालिका-२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ । तीनचार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन् ।

व्यास गाउँपालिका-१ का टिङ्करका वडासदस्य हितेश बुढाथोकी सेनाले ढिलै भए पनि दुवैतर्फबाट काम थालेकोमा खुसी व्यक्त गरे । पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा उनको जोड छ । उक्त वडाका अध्यक्ष अशोकसिंह बोहराको पनि यही माग छ । गत फागुनमा प्राप्त रु पाँच करोड अपर्याप्त भएको उनले बताए । प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन गरेर यो सडक बनाउनुपर्ने उनले बताए ।

यसैबीच, यही वैशाख २२ गते पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुसारपानी-टिङ्कर सडकका निम्ति कम्तीमा रु ५० करोड बजेट विनियोजन हुनुपर्ने माग गरेको छ ।

भारतले लिपुलेक-कालापानी सडकलाई दुई लेन बनाइरहेका बेला हाम्रातर्फ ट्रयाक खुलाउन बजेटको सुनिश्चिता हुनुपर्नेमा जोड दिइएको नेता ठगुन्नाले बताए ।

कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शुक्रबार साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ ।

कोटिहोममा भारतको हरियाणा बाट श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् ।कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
उनीहरूसँगै आजै नै पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीसँगै लोकदोहोरी गायिका पार्वती जिसीको पनि उपस्थिति रहनेछ जसले आज कोटिहोम सङ्गीतमय हुनेछ ।

शुक्रबार नै टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट व्यक्ति
र १ सय जना विद्यार्थी स्वयंसेवीको रूपमा कोटिहोममा आउँदैछन् ।कोटिहोममा यही वैशाख २७ गते शनिबार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । उक्त अवसरमा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको ढकालले जानकारी दिए ।

संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई बिहान १० बजे सम्मान गर्ने तयारी भएको छ ।

शनिवार चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष साड्डीतिक कार्यक्रम र आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् ।आर्टमाण्डू प्रालिको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको सामाजिक कथा हो ।

सुजन चापागाईं र झुमा लिम्बूको संगीत र नवीन चौहानको लेखन रहेको चलचित्रले सांस्कृतिक विविधता र सामाजिक अन्तर्विरोधलाई देखाएको छ ।‘ऊनको स्वीटर’मा विपीन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बू, सुनील पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

यस्तै ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको चलचित्र हो । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यो सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

आवश्यकता र प्रक्रियाबाट योजना तयार छनौट हुन्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले तजविजका आधारमा नभई आवश्कताका आधारमा योजना छनौट गर्न लागिएको बताएका छन् ।

कर्णाली प्रदेश समन्वय परिषद बैठकलाई संवोधन गर्दे मुख्यमन्त्री कँडेलले सरकारले तजविजीको आधारमा बजेट बाँडने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणाली समेत व्यवस्थित हुने बताएका हुन् ।

बजेट पारित गर्ने निकाय प्रदेश सभा हो, प्रदेशसभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ, मुख्यमन्त्री कँडेलले भने, ‘सरकारले तजविजीका आधारमा बजेट बाँडने काम गर्देन । प्रदेशसभाबाट पारित कार्यक्रममात्र कार्यान्वयन गर्छ । ’
मुख्यमन्त्री कँडेलले बजेट र योजना बाँडफाँडमा धेरै नै नकारात्मक टिकाटिप्पणी उठन थालेपछि यस वर्षदेखी आयोजना छनौट गर्न कार्यविधि बनाएको र योजना छनौटमा पक्षधरता वा झस्केलाबाट जान्छन भन्ने विषयलाई समाप्त गर्ने अभियानमा सरकार लागिरहेको दावी गरे ।

स्थानीय तहबाट योजनाको बारेमा प्रदेश सरकारलाई सुझाव दिँदै आएपनि यसपटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउमा बसेर पहिलो पटक आयोजनावारे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास शुरु भएको पनि मुख्यमन्त्री कँडेलले जानकारी गराए ।

उनले भने, योजना जाने सबै स्थानीय स्तरमै हो, लाभान्वित हुने त्यही नै हो, तपाईहरुलाई सहभागी बनाउँदा त्यसको प्रभाव अझ बढछ भने किन एक्लै हिडनु ?
आयोजना छनौट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने बताउँदै मुख्यमन्त्री कँडेलले यस बर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादन आधारित आयोजनाका रुपमा विशिष्टकृत गरिने जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले प्रदेश स्थापना भएको ७ वर्षमा कतिपय राम्रा र महत्वपूर्ण कामहरु भएपनि एक आध कामका कारण आलोचना भइरहेको प्रति असन्तुष्टी पोखे, उनले भने, ‘धेरै राम्रा कामको लेखाजोखा हुँदो रहेनछ, एकआध कामले गर्दा आलोचित भइदो रहेछ त्यसैले जनप्रतिनिधि सदैब ईमानदार बन्नु पर्दछ ।’

स्थानीय तहलाई आफ्नो तहमा आम्दानी बढाउन योजना बनाउने काममा लाग्न पनि मुख्यमन्त्री कँडेलले आग्रह गरे । उनले आफ्नो कार्यक्षेत्रमा संचालनमा रहेका कार्यक्रम, आयोजनाहरु संघ, प्रदेश वा विकास साझेदार जसको भएपनि अनुगमन गरेर समयमै र गुणस्तरिय बनाउने काममा ध्यान दिन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

दलिय व्यवस्थामा विकासको काममा जननिर्वाचित र सरकारी कर्मचारीले मात्र गर्न सकिन्छ कि भन्ने भावना लिएर अघि बढ्दा समस्या आउने बताउँदै मुख्यमन्त्री कँडेलले स्थानीय स्तरमा सबै दलहरुसँग छलफल र परामर्श गरेर काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

चलचित्र ‘महाराजधिराज’ मा वर्षाको प्रवेश

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माण पक्षले निरन्तरता दिएको छ ।नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो ।

यो लाइनअपसँगै निर्माणपक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनेको सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।

यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । हाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।

चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ ।
आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।

गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको ब्योहोरासमेत जानकारी गराइने छ ।

आज ७३ औँ कानुन दिवस मनाइँदै

काठमाडौँ, २६ वैशाखः आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ ।

कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो । न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको श्रीगणेश सोही दिनदेखि भएको मानिन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सर्वोच्च अदालतको आयोजनामा आज अपराह्न यहाँ विशेष कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

जथाभाबी फोहर गर्नेदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई पाँच लाखसम्म जरिवाना

सिरहा – सिरहाको नवराजपुर गाउँपालिकाले आफ्नै आर्थिक विधेयक, २०८१ बुधबारदेखि लागू गर्दै जथाभाबी फोहर गर्नेदेखि सार्वजनिक जग्गा अतिक्रमण आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ ।

गाउँपालिकाले सार्वजनिक जग्गा, पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गर्ने, जथाभाबी फोहर फाल्ने, पशुचौपाया छाडा छाड्ने, सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने तथा अन्य कानुनविपरीतका कार्य गर्नेलाई जरिवाना र दण्ड सजायको व्यवस्था गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै आर्थिक विधेयक, २०८१ को अनुसूची १३ अनुसार, सार्वजनिकस्थल तथा सडकमा जथाभाबी फोहरमैला फालेमा रु पाँच सयदेखि रु दुई हजार ५ सयसम्म, छाडा छाडिएका पशुचौपायाले हानी नोक्सानी पु¥याएमा सो बराबरको क्षतिपूर्ति तिराउने व्यवस्था गरिएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेमा प्रथम पटक रु १० हजार र अर्कोपटक रु १० हजारदेखि रु ५० हजारसम्म जरिवाना लाग्ने उक्त सूचनामा उल्लेख छ । साथै सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेमा सो हटाउने खर्च सम्बन्धित व्यक्तिबाटै भराउने व्यवस्था गरेको छ ।

उनीहरुको आवास व्यवस्थापन नहुन्जेलसम्म बसोबास स्थलबाट नहटाउने अनुसूचीमा उल्लेख गरिएको छ । सार्वजनिक पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गरेमा र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएमा रु ५० हजारदेखि रु ५ लाखसम्म जरिवाना तोकिएको छ ।

गाउँपालिकाले व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गराउँदा निःशुल्क हुने र समय नाघेर दर्ता गराउनेलाई रु ५० जरिवाना गरिने व्यवस्था गरेको छ । गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या बढी भएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले लागू गरिएको यस आर्थिक कार्यविधिले यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २६ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ४५, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु २४०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ६४० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७५, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

दोधारा चाँदनी (कञ्चनपुर), २६ वैशाख : दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आउनुभयो । डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आउनुभएको छ ।

सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग खुल्ने सुनेका उहाँमा स्थानीयस्तरमै रोजगारी पाउने आशा पलाएको छ । घर छेउमै सुक्खा बन्दरगाह निर्माणको थालनी भएपछि यहाँका युवाले रोजगारीका लागि भारतीय सहर जानुनपर्ने बाध्यता हट्ने आशा छ । “त्यसबेला सडक, बिजुली बत्ती केही थिएन, जङ्गली जनावर र भारतीय लुटेराको डर हुन्थ्यो”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “यसरी घर छेउमै सुक्खा बन्दरगाह निर्माण होला भनेर सोच्न पनि सकेका थिएनौँ ।” दोधारा चाँदनीमा बन्दरगाह निर्माणका लागि रुख कटानको काम सुरू भएको छ । बन्दरगाहकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्वपश्चिम राजमार्गको गड्डाचौकीबाट सुक्खा बन्दरगाह निर्माणस्थलसम्म छ लेनको सडक बनेको छ ।

उहाँका छोरा महाकाली चार लेन पुल निर्माण कम्पनीको टिपर चलाउँथे । पुलको काम सम्पन्न भएपछि अहिले घरमै बेरोजगार छन् । बन्दरगाह निर्माण सुरू भएपछि छोराले पुनः घर नजिकै रोजगारी पाउने आशा उहाँको छ । “बन्दरगाह बनेपछि घर नजिकै हामीले पनि रोजगारी पाउने आशा गरेका छौँ”, उहाँले भन्नुभयो, “धेरै पहिलादेखि बन्छबन्छ भन्थे अहिले बन्दरगाह निर्माणका लागि रुख कटान गर्न थालेपछि यहाँका स्थानीयमा रोजगारी पाउने आशा जागेको छ ।” उहाँले महाकाली नदीमा पुल र चाँदनीसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँको मुहार परिवर्तन भएको बताउनुभयो । “दुई बिघा जग्गा छ, पहिलेको जस्तो उत्पादन पनि हुँदैन”, खड्काले भन्नुभयो, “बन्दरगाह निर्माणले यहाँको आर्थिक अवस्था परिवर्तन होला भन्ने पर्खाइमा छौँ ।”

यहाँ सुक्खा बन्दरगाह बन्ने भएपछि दोधारा चाँदनीको स्वरूप परिर्वतन भएको छ । “विगतमा महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो,” चाँदनीका स्थानीय नीरज भट्टले भन्नुभयो, “पक्की पुल र सुक्खा बन्दरगाह बन्ने भएपछि आवतजावतमा सहज त भयो नै जग्गाको मूल्यवृद्धि र रोजगारीको बाटा खुलेका छन् ।” दोधारा चाँदनीका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता रहेको बताउँदै सुक्खा बन्दरगाह बनाउँदा स्थानीयलाई रोजगारीको सबैभन्दा ठूलो आशा रहेको उहाँको भनाइ छ ।

सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लको बुझाइ छ । उहाँले भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रुद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने बताउनुभयो । “रुद्रपुर भारतकै ठूलो औद्योगिक क्षेत्र हो, नेपालको गड्डाचौकीनाकाबाट भारतको औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ तर यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन”, उहाँले भन्नुभयो, “सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्छ र रोजगारीको अवसर सृजना हुन्छन् ।”

नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणका लागि गौरीशङ्कर सामुदायिक वनमा रुख कटानको काम सुरू गरेको छ । समितिका इञ्जिनियर अनिश केसीले बन्दरगाह निर्माणका लागि एक हजार ५९३ रुख काट्नका लागि रु ४१ लाखमा ठेक्का सम्झौता भएर रुख कटानको काम भइरहेको जानकारी दिनुभयो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार दुवैतर्फबाट काम भइरहेको छ । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा बोलपत्र आह्वान गरिसकेकोे छ । सुक्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निर्माणको काम सुरु हुने छ ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुईवटा गोदाम भवन, भन्सार चेकजाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

म्याग्दी, २६ वैशाख : राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् ।

जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका हुन् ।

रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा उत्तरबाट दक्षिणतर्फ आउने आयोजनाको र पश्चिमबाट पूर्व दिशातर्फ जाने डाँडाखेत–राहुघाटको प्रसारण लाइन एकापसमा ‘क्रसिङ’ हुन्छ । प्राविधिक हिसाबले बढी क्षमताको प्रसारण लाइनको तार कम क्षमताको लाइनभन्दा माथि हुनुपर्छ । क्रसिङ हुने ठाउँमा १३२ केभीको लाइनको माथिल्लो तारदेखि २२० केभीको तलको तार बीचको दूरी चार दशमलव पाँच हुनुपर्ने मापदण्ड छ ।

म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पुर्याएको छ ।

डाँडाखेत–राहुघाट प्रसारण लाइनको ‘एपीटु’ र ‘एपीथ्री’ नम्बरको टावरको बीचमा जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइन क्रसिङ हुन्छ । सन् २०२१ देखि निर्माण सुरू भएको डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि एक सय ३० दशमलव आठ मेगावाट क्षमताका चारवटा आयोजनाले अम्बाङको सबस्टेशनका विकल्पमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न पिप्लेबाट तिल्केनीचौरसम्म वैकल्पिक प्रसारण लाइन बनाएका हुन् ।

राहुघाट बेसिनमा ३७.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छन् । डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जलविद्युत् आयोजनाहरूले समन्वय नगरी मापदण्डविपरीत जथभावी टावर बनाएर प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका बताउनुभयो ।

“जलविद्युत् आयोजनाले हाम्रो लाइन मुनि बनाएको लाइन हटाउन नौ महिनादेखि पत्राचार गरे पनि अटेरी र बेवास्ता गरेका छन्”, उहाँले भन्नुभयो, “१३२ केभीभन्दा माथि तार पर्ने गरेर अर्को टावर बनाएर लाइन तान्ने सहमति पनि कार्यान्वयन नगर्दा उनीहरूलाई समस्या पर्ने अवस्था आएको हो ।”

यस विषयमा प्रतिक्रिया लिन ठूलोखोलाका प्रतिनिधि गोपाल निउरे, अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुदी पावरका प्रतिनिधि इन्द्र ढकाललाई सम्पर्क गर्दा उहाँहरूले फोन उठाउनु भएन । तुदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले सहमतिअनुसार १३२ केभीको भन्दा २२० केभीको तार माथि पर्ने गरेर अग्लो टावर बनाउने तयारी गरेको प्रतिक्रिया दिनुभयो ।

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ, २६ वैशाख : जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आज मोबाइल हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । एक समय सम्पर्कको माध्यममात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ । दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन् । ‘झिल्को’ले यही ज्वलन्त समस्यालाई उजागर गरेको छ ।

निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई चलचित्र ‘झिल्को’मार्फत उजागर गर्नुभएको छ । आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा ‘भिडियो’हरू हेर्ने बानी बालबालिकाका लागि सामान्यजस्तै भइसकेको छ ।

चलचित्रमा यिनै विषयवस्तु र त्यसले पार्ने नकारात्मक असरलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेलजस्ता कलाकारले सशक्त अभिनय गर्नुभएको छ, जसले कथालाई जीवन्त बनाएको छ ।

अभिभावकहरूले पनि बालबालिकाको मोबाइल प्रयोगलाई सामान्य ठानेर बेवास्ता गर्दा भविष्यमा यसले कस्तो गम्भीर रूप लिन सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले चित्रण गरेको छ । चलचित्रमा एक पत्रकारको सुखी र खुसी परिवारको कथा छ, जहाँ उहाँको श्रीमती र छोरी छिन् । तर, यही सुखी परिवारमा डिजिटल कुलतको सानो ‘झिल्को’ कसरी सल्किन्छ र त्यसले कस्तो असर पुर्याउँछ भन्ने कुरालाई चलचित्रमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । यसले समयमै सचेत नभए परिवारमा आउन सक्ने सम्भावित खतरालाई उजागर गर्छ ।

प्रविधिमैत्री यो समयमा डिजिटल कुलतबाट आफू जोगिनु र आफ्ना बालबालिकालाई जोगाउनु एउटा ठूलो चुनौती बनेको छ । सुरूमा सामान्य लाग्ने यो लतले भविष्यमा परिवारमात्र नभई सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले स्पष्ट रूपमा देखाएको छ । टेलिशृङ्खलाबाट चलचित्रमा प्रवेश गर्नुभएका अभिनेता पोखरेलले यस चलचित्रमा काम गर्दा आफूले डिजिटल कुलतजस्तो महत्त्वपूर्ण विषयमा नयाँ ज्ञान प्राप्त गरेको बताउनुभयो ।

“अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको छ । यो चलचित्रमा अभियन गर्नु अगाडि र अहिलेको सोचमा निकै परिवर्तन आएको छ । यसबाट हामीभन्दा नयाँ पुस्ता र विशेषगरी बालबालिकालाई बचाउनु जरूरी छ । म आफैँले पनि पछिल्लो समय दैनिकीमा परिवर्तन ल्याएको छु”, उहाँले भन्नुभयो ।

अभिनयको सुरू समयमा अभिनेता पोखरेलले ‘जीवनचक्र’ जस्तो स्वास्थ्य विषयमा आधारित टेलिशृङ्खलामा काम गर्नुभएको थियो । तर, डिजिटल कुलतको विषयमा उहाँले समेत बुझ्नुभएको रहने छ । टेलिशृङ्खलासँगै केही चलचित्रमा काम गरिसक्नुभएका अभिनेता पोखरेललाई निर्देशक यादव भट्टराईसँग भेट्ने प्रस्ताव आयो । अभिनेता पोखरेल भने सानो पर्दा अर्थात् टेलिशृङ्खलामा काम नगर्ने सोचका साथ भेट्ने उद्देश्यले मात्र पुग्नुभयो ।

“मलाई टेलिशृङ्खला वा आफू देखिनमात्र काम गर्नु थिएन । किनकि मैले धेरै काम गरिसकेको थिएँ । तर, निर्देशक भट्टराईले डिजिटल कुलतको विषयमा चर्चा गर्नुभएपछि म नै उक्त विषयमा सोच्न बाध्य भएँ । किनकि यस्तो विषयलाई अनुसन्धान गरेर चलचित्रमा ल्याइएको छैन”, अभिनेता पोखरेलले भन्नुभयो ।

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । मोबाइल चलाउनु दैनिकीको हिस्सा बनिसकेको छ । अहिले सामाजिक सञ्जालमा ‘झिल्को’ बनेर फैलिने खबरले न्यायालयभन्दा अगाडि फैसला सुनाइसक्छ । एउटा सानो श्रव्यदृश्य वा कसैले केही लेखेकै भरमा डिजिटल माध्यमले मानिसलाई गर्ने असरलाई पनि चलचित्रले समेटेको छ । यी सबको विषयमा जानकारी पाएपछि अभिनेता पोखरेलले आफैँ सामाजिक सञ्जालमा उपस्थिति कम गर्नुभयो । आफ्नो घरमा बच्चालाई डिजिटल उपकरणसँग निकै कम पहुँच दिन थाल्नुभयो । यसले विस्तारै आएको परिवर्तनलाई उहाँले महसुस गर्नुभएको छ ।

“अहिले मेरो घरमा राति सुत्ने बेलामा लगभग ११ बजे ‘वाइफाइ राउटर’ बन्द हुन्छ । त्यो बिहानमात्र खुल्छ । मैले सुरूमा बच्चालाई मनाउन कठिनाइको सामना गर्नुपरे पनि विस्तारै उनीहरूको दिनचर्या र शैलीमा परिवर्तन आउन थालेको छ । यो चलचित्रको उद्देश्य ‘भर्चुअल संसार’ बाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु हो । यसका लागि बालबालिकामात्र दोषी छैनन् किनकि उनीहरूलाई मोबाइलको पहुँच दिलाउने हामी अभिभावक नै हौँ”, अभिनेता पोखरेलले भन्नुभयो ।

कोभिड–१९ का कारण भएको बन्दबन्दीमा बालबालिकाले प्रविधिको सहायताले कक्षा लिए । ‘अनलाइन क्लास’का कारण धेरै बालबालिकासम्म मोबाइल पुग्यो । तर, त्यसबाट फिर्ता ल्याउन वा मोबाइलको लत छुटाउन अभिभावकले ध्यान दिएनन् । जसकारण त्यो विस्तारै लतमा परिणत भएको बुझाई अभिनेता पोखरेलले सुनाउनुभयो ।

“हामीले पनि घरमा हुँदा वा बालबालिकासँग हुँदा ‘भर्चुअल वल्र्ड’ त्यागेर उनीहरूसँग रमाउन सक्नुपर्छ । हामी मोबाइल चलाउने अनि बालबालिकालाई हुँदैन भन्ने भो भने त्यसले समाधान दिँदैन, त्यसैले हामी अभिभावक पनि सच्चिनु जरूरी छ । सुरूआत हामीबाट हुनुपर्छ अनि त्यसको नतिजा राम्रो आउँछ”, उहाँले भन्नुभयो ।

मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन भइरहेको छ । उक्त चलचित्रमा निर्देशक भट्टराईसँगै अरूणदेव जोशी र देव व्रतले कथा लेखनको काम गर्नुभएको छ ।

डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिकसम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको दर्शकको भनाइ छ । चलचित्र हेराउन केही अभिभावक बालबालिका लिएर चलचित्र भवन पुगिरहेका छन् । अर्थात् चलचित्र निर्माणको उद्देश्य केही हदसम्म पूरा हुँदैछ ।

“चलचित्र हेरिसक्नुभएकाले यसलाई सपरिवार हेर्नुपर्ने धारणा राख्दै केही आफ्नो परिवार नै लिएर चलचित्र भवनमा आउनुभएको पाएका छौँ । हाम्रो उद्देश्य नै यही हो । डिजिटल कुलतका बारेमा अभिभावकले बुझेमात्र बालबालिकालाई जोगाउन सकिन्छ । यसको विषयवस्तु विशेषगरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरूपयोग र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ । त्यसकारण यो अभिभावक र बालबालिका दुवैका लागि उपयोगी बनेको छ”, उहाँले भन्नुभयो ।

नेपाली समाजका गम्भीर समस्यालाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले यसअगाडि ‘झोला’ र ‘भोर’ चलचित्र तयार गरिसक्नुभएको छ । नेपाली समाजमा एक समय विद्यमान अमानवीय सति प्रथालाई केन्द्रमा राखेर तयार भएको ‘झोला’ र मधेस क्षेत्रको सामाजिक यथार्थमा आधारित कथामा तयार गरिएको ‘भोर’ले निर्देशक भट्टराईलाई फरक निर्देशकका रूपमा चित्रण गरिसकेको छ ।

“डिजिटल कुलतले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको छ । मानिसहरू परिश्रमभन्दा सजिलो मार्ग खोज्दै ‘भर्चुअल’ दुनियाँमा हराइरहेका छन् । हामी चलचित्रकर्मीको दायित्व मनोरञ्जनसँगै समाजमा असर गरिरहेको गलत प्रवृत्तिमा प्रश्न गर्नु पनि हो । मैले आफ्नो दायित्वलाई बुझेर डिजिटल कुलतको विषय चलचित्रमा उठाएको हुँ”, निर्देशक भट्टराईले भन्नुभयो ।

यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखले समेत हेर्नुपर्ने दर्शकले विश्लेषण गरेका छन् । चलचित्र हेरिसक्नुभएकाले दिइरहनुभएको प्रतिक्रियाले कलाकारिता यात्रामा ‘झिल्को’ ले आफूलाई सन्तुष्टि दिएको अभिनेता पोखरेलले बताउनुभयो ।

“मैले अभिनय गर्न खोजेको चलचित्र यही हो । किनकि मैले जसरी टेलिशृङ्खलामार्फत जनचेतना फैलाउने काम गरेको थिएँ, यो चलचित्र आउँदा केही वर्षसम्म देखाउन र चर्चा गर्न सकिने बनेको छ । मैले कलाकारिता यात्रामा के गरेभन्दा ‘झिल्को’जस्तो चलचित्रमार्फत डिजिटल कुलतको विषय उठाएको थिएँ भन्न सक्छु । यो चलचित्रलाई विस्तारै हामीले विद्यालय र स्थानीय तहसम्म लाने छौँ”, अभिनेता पोखरेलले भन्नुभयो ।

‘झिल्को’ चलचित्रले विशेषगरी डिजिटल कुलतका कारण र त्यसले निम्त्याउने नकारात्मक असरलाई उजागर गरेको छ । यही कारणले पनि अभिभावकले आफ्ना बालबालिकालाई यो चलचित्र देखाउन चलचित्र भवनसम्म पुग्नु आवश्यक छ । के थाहा, चलचित्रमा देखाइएजस्तै डिजिटल कुलतको सानो ‘झिल्को’ कतै तपाईँको परिवारमा त पनि सल्किरहेको छैन ? यो चलचित्रले समयमै सचेत हुन र आवश्यक कदम चाल्न प्रेरित गर्छ ।

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन्।

श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्।

उनले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, शीतलहर, चट्याङ, हिमताल विस्फोटजस्ता घटनाका कारण ठूलो क्षति, पूर्वाधारको विनास र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताए।

मन्त्री अधिकारीको सचिवालयका अनुसार सो अवसरमा उहाँले जोखिमसम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, सस्ंथागत क्षमता अभिवृद्धि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुर्याउने कार्यमा नेपाल प्रतिबद्घ रहेको बताए।

‘जलवायु परिवर्तनले जोखिमहरूको आवृत्ति र अनिश्चितता झन् बढाएको उल्लेख गर्दै यसको बढी मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ,’ उनले भने।

जलवायु उत्थानशील तथा प्रभावकारी पूर्वसूचना प्रणालीका लागि सदस्य राष्ट्रहरुबीच साझा दृष्टिकोण र सहकार्यमा नेपालले जोड दिएको उनको भनाइ थियो। श्रीलङ्का सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरूमा जोखिम र जोखिमपूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा सम्मेलनमा छलफल भएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रूपैयाँ २२ पैसा र बिक्रीदर १८३ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रूपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८ रूपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १७ पैसा र बिक्रीदर चार रूपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रूपैयाँ १० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ७७ पैसा र बिक्रीदर नौ रूपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १६ पैसा र बिक्रीदर १४ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७१ पैसा र बिक्रीदर २० रूपैयाँ ८० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ २७ पैसा र बिक्रीदर ४४८ रूपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूयैयाँ ४४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०० पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

“दक्षिण सुडानमा मानवीय सङ्कट चुलिँदै, बालबालिकाका जीवन जोखिममा”

दक्षिण सुडानमा पछिल्ला केही हप्तादेखि जारी भिडन्तका कारण करिब ६० हजार कुपोषित बालबालिकाले आवश्यक खाद्य तथा पोषण सामग्री पाउन नसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

विगतदेखि नै अशान्ति र राजनीतिक अस्थिरताबाट पीडित रहेको यो राष्ट्रको माथिल्लो नाइल प्रदेशमा राष्ट्रपति साल्वा किइर र उपराष्ट्रपति रिएक माचार समर्थक सुरक्षाकर्मीहरूबीचको पछिल्लो झडपले अवस्था थप बिग्रिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रम र बालबालिका कोषले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा, देशको उत्तरतर्फको क्षेत्रमा झन्डै एक महिनादेखि राहत सामग्री नपुगेको जनाइएको छ । यो क्षेत्र विगत एक वर्षभित्र तीन लाखभन्दा बढी बालबालिकामा मध्यमदेखि गम्भीर कुपोषण देखिएको क्षेत्र हो ।

खाद्य कार्यक्रमकी दक्षिण सुडान प्रतिनिधि मेरी एलेन म्याकग्रोर्टीले भन्नुभयो,“कुपोषणको चपेटामा परेका बालबालिकाका लागि हरेक दिन अमूल्य हुन्छ ।”

युद्धको चर्को अवस्थाका कारण करिब दुई हजार पोषण सामग्रीका बक्सहरू लुटिएको जानकारी दिइएको छ ।

बालबालिका कोषकी प्रतिनिधि ओबिया अचिएङले भन्नुभयो,“नदी मार्ग बन्द, लुटपाट र झडपका कारण राहत आपूर्ति पुरै अवरुद्ध भएको छ । यदि अवस्था यस्तै रह्यो भने अधिकांश जिल्लामा सामग्री सकिनेछ, जसको गम्भीर असर बालबालिकामा पर्न सक्छ ।”

दक्षिण सुडानले सन् २०११ मा सुडानबाट स्वतन्त्रता पाएपछि लगातार अस्थिरता झेल्दै आएको छ । किइर र माचारबीच पाँच वर्ष लामो गृहयुद्ध भएको थियो, जसमा करिब चार लाख मानिसको ज्यान गएको थियो । सन् २०१८ मा भएको शक्ति बाँडफाँडको सहमति पछिल्ला महिनामा लगभग निष्क्रिय भएको बताइएको छ ।

“चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताउनुभएको छ।

उहाँले हालको विश्व परिदृश्यमा एकपक्षीयता, शक्तिको राजनीति र दादागिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताउनुभयो।

सीले चीन–रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने बताउनुभयो।

उहाँले द्वितीय विश्वयुद्धको ८०औं वार्षिकोत्सवको सन्दर्भमा ऐतिहासिक तथ्यको रक्षा, विकासशील देशहरूको अधिकारको संरक्षण र समावेशी तथा समान विश्व व्यवस्था निर्माणमा चीन–रसिया मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

सीले ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष, कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै, बेल्ट एण्ड रोड पहल र यूरेशियन आर्थिक संघबीच सहकार्यमार्फत उच्चस्तरीय पूर्वाधार विकास गर्नुपर्ने बताउनुभयो।

साथै, शिक्षा, संस्कृति, पर्यटन, चलचित्र, खेलकुदजस्ता जनस्तरका आदानप्रदानहरू बढाएर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाइने उल्लेख गर्नुभयो।

चीन, चाहे जस्तोसुकै अन्तर्राष्ट्रिय परिस्थिति आए पनि आफ्ना कार्यहरू दृढताका साथ अघि बढाउने र रसियासँग मिलेर अन्तर्राष्ट्रिय प्रणाली सुधार गर्ने दिशामा काम गर्नेछ।

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

काठमाडौँ, २६ वैशाख : नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ ।

भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो । यस दुःखद् घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमा उल्लेख छ ।

नेपालले सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र निःसन्देह रूपमा भत्र्सना गरेको थियो । “आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रूतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन”, मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्र्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

बरहथवा (सर्लाही) । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् ।

हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनासो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् । हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताए।

उनले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गरे । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत छन् । हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने, आए पनि कक्षामा नजाने समस्या रहेको उनको भनाइ थियो ।

“विद्यालय विद्यालयजस्तो छैन”, छात्र भण्डारीले भने, “विद्यालय नै तर्साउने घरजस्तो भएको छ । हामी कसरी उत्साहित भएर पढ्नु रु”, स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको उनको गुनासो छ । लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५ श्री जनता मावि गोनाहाका पढ्न जाने गरेको उनको भनाइ छ ।

गाउँमा विद्यालय नियमित नचलेका कारण बालबालिका स्कुल नियमित जाँदैनन् । यसले गर्दा कुलतमा लाग्ने, बीचैमा पढाइ छाडेर हिँड्नेजस्तो समस्या बढ्दै गएको छ । यसले गर्दा बालबालिकाको पठनपाठन पूरा हुँदैन । धेरै बालबालिका अहिले पनि पूर्ण रूपमा कुलतमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे। विद्यालय नियमित गरिदिन र आवश्यकताअनुसार शिक्षक र भौतिक संरचनाको प्रबन्ध गरिदिन भण्डारीले नगरप्रमुख साहसँग माग गरे ।

हरिपुर्वा नगरपालिका–६, श्री केश्वर गरिब जनता नमूना माविमा अध्ययनरत छात्रा निलमकुमारी साहको गुनासो पनि उस्तै छ । विद्यालय पठनपाठनमा नभई भद्रगोलमा नमूना भएको उनको गुनासो छ । शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा धेरैमा ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था छ । तर यस विद्यालयमा एउटै कक्षामा एक सय ५० जनासम्म विद्यार्थी राख्ने गरेको उनले दु:खेसो पोखिन् ।

यसरी सञ्चालन गरेको कक्षामा पढ्ने माहोल नभएको अर्का छात्रा रीता महतोले बताइन्। “विद्यालयमा कक्षाकोठा पर्याप्त नहुँदा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन्, अगाडि बसेर शिक्षकले पढाएको पछाडि बस्ने विद्यार्थीले सुन्दैनन्”, उनले भनिन्, “हामीले बारम्बार विद्यालय तथा बाल क्लबको सहायता माग राख्दा सुनवाइ भएन ।” साह यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् ।

नगरका अधिकांश विद्यालयको हालत उस्तै रहेको सहभागी बालबालिकाको भनाइ थियो । छात्रछात्रा नभएको विद्यालयमा भौतिक संरचना पर्याप्त हुने तर आवश्यक परेका स्थानका बालबालिकाले सुविधा नपाउने अवस्था भोगिरहेको साहले बताइन् । स्थानीय सरकारको दोस्रो कार्यकालको तीन वर्ष सकिन लाग्दा पनि स्कुल वर्षात्मा तलाउ बन्ने र हिउँदमा धुलो उडेर बस्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।

अर्कातर्फ विद्यालयमा बेलाबेलामा हुने विवादका कारण सम्पूर्ण पठनपाठन नै अवरुद्ध हुने गरेको छ । यस्तो अवस्थामा सबै विद्यार्थी प्रभावित बनिरहेका सहभागी छात्र राजु रामले बताए । गत शैक्षिकसत्रमा पनि विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद भएको थियो । सोही विवादले निकै समय विद्यालय बन्द रह्यो । परीक्षाको केही दिनअघि मात्र पनि एक हप्ता पठनपाठन रोकियो । यसले परीक्षाको समयमा धेरै समस्या भएको उनको अनुभव छ ।

हरिपूर्वा नगरपालिका–१ निवासी सिम्कनु खातुनले किशोर किशोरीमा क्यान्सरजस्तै गरी फैलिरहेको लागूपदार्थ दुर्व्यसनी नियन्त्रण गरिदिन आग्रह गरिन् । विपन्न परिवारका किशोरकिशोरी परिवारका सदस्यलाई समेत दुःख दिएर यस्ता गतिविधिमा संलग्न हुने क्रम दिनप्रतिदिन बढ्दो रहेको उनको अनुभव छ । यस्ता गतिविधि रोक्न स्थानीय सरकार उदासीन भएको उनको आरोप छ ।

कार्यक्रममा नगरप्रमुख साहले छात्रछात्राको प्रश्न तथा जिज्ञासा सुनिसकेपछि उनले पनि आफ्ना गुनासो सुनाए । निर्वाचित भएको दुई वर्षसम्म प्रशासकीय अधिकृत खोज्न सिंहदरवार धाउँदैमा व्यस्त भएको उनको भनाइ छ ।

“बाँकी समयमा आफ्नो एजेण्डाअनुसार शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु,” नगर प्रमुख साहले भने, “ लागुऔषध, बालविवाहलगायत अवाञ्छित गतिविधिमा संलग्न जोकोहीलाई कारबाहीका लागि पहल गरिरहेका छौँ ।”

प्रशासनले तुरुन्त कारबाही प्रक्रिया अगाडि नबढाउने र गाउँ समाजले समेत परिवेश र संरचनालाई दोष दिएर उम्किने गरेको उनको भनाइ छ । पालिका तथा वडावडामा बालमैत्री पुस्तकालय, कम्प्युटरसहितका कक्षा सञ्चालन गर्न बालबालिकाको आग्रह थियो । नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायतका योजना प्राथमिकताका साथ सुरु गर्नुपर्ने सहभागी छात्रछात्राले माग छ ।

देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौँ, २६ वैशाखः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।

विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ मा भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँविरुद्ध राजस्व चुहावटसम्बन्धी कसुरमा आज मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलको अनुसन्धानका आधारमा कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिका–६, बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जङ्गबहादुर वर्मा (सोनार) र कपिलवस्तुको मायादेवी गाउँपालिकाका–१, इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा २१ लाख, ३८ हजार बरामदित भारतीय मुद्रा अवैध रुपमा भारतबाट नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको थियो ।

उनीहरुलाई विदेशी भारतीय मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान सम्पन्न गरी कपिलवस्तु जिल्ला अदालत, तौलिहवा, कपिलवस्तुमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधनसहित) दफा १८ क(१) बमोजिम मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

उक्त कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधनसहित) को दफा ३, ४ र ५ तथा सोही ऐनको दफा १२ को अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०७८/०९/२३ मा जारी गरेको एकीकृत परिपत्र–२०७८ को दफा (७) मा भएको व्यवस्थाले विदेशी विनिमय अपचलन गर्ने गरेको अनुसन्धानबाट देखिएकाले मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

प्रतिवादीहरुका साथबाट बरामद भारतीय मुद्राको नेपाली ३४ लाख २४ हजार सात बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७(१) बमोजिम हदैसम्मको जरिवाना गरी पाउन र बरामद भएको प्रतिबन्धित भारतीय रुपैयाँ जफत गरी पाउन माग गरिएको छ ।

साथै उक्त रकम ओसारपसार गर्न प्रयोग गरिएको युपि ५५ एएम ०४५९ नम्बरको भारतीय गाडीसमेत नियन्त्रणमा लिइएकाले जफत गरी हदैसम्मको कारबाहीको माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

यस्तै बुटवल उपमहानगरपालिका–७ स्थित भाञ्जा स्टोसएण्ड हाउसका सञ्चालक मियाविरुद्ध आज नै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २०(६) बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

उनले मूल्य अभिवृद्धि कर असुल नगरेको, बिक्रीबिजक जारी नगरी बिक्री गरेका साथै कस्मेटिक्सजन्य मालवस्तुहरुको खरिद बिलबिजक तथा भन्सार पैठारीको स्रोतबिना चोरीपैठारी गरी ल्याइएका मालवस्तु बिक्रीवितरण गरेका साथै गैरविजक जारी गरी मालवस्तु बिक्री गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (ख), (छ) र (झ) बमोजिम कसुर गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको उनले जानकारी दिए ।

उनले भन्सार चोरीपैठारी, मूल्य अभिवृद्धि कर छलि र आयकरतर्फ गरी एक करोड ५५ लाख ६६ हजार बिगो असुल उपरगरी बिगोको शतप्रतिशत जरिवानासमेत गरी तीन करोड ११ लाख ३२ हजार असुलउपर र हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ ।