`

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

गण्डकी, २५ वैशाख- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली जनतालाई खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको पोखरामा आगामी जेढ ९ देखि ११ गतेसम्म हुने दशौ महाधिवेशनको पूर्व सन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै उहाँले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताउनुभयो । नेकपा एमालेले पार्टीका सवै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाई रहेको बताउँदै उहाँले यसबाट नयाँ चिन्तन भएका युवा पुस्ताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई आधुनिक एवम् प्रविधिमैत्री बनाउँदै युवा वर्गको आकर्षण बढाउनु पर्नेमा उहाँको जोड थियो ।

मुलुकमा राजनीतिक अस्थिरताको कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भन्नुभयो देशलाई अव राजनीतिक स्थायित्वको दिशामा अघि वढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ ।मुलुकको समग्र विकासको पक्षमा उभिएको कारण अहिले एमाले माथि चौतर्फी आक्रमण भएको वताउँदै उहाँले एमाले सरकारमा आएपछि रोकिएका विकास निर्माणका काम अघि वढेको बताउनुभयो ।

सुचना तथा सञ्चार प्रविधि मन्त्री एवम् नेकपा एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले युवाले राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक लगायतका क्षेत्रमा अग्रसरता देखाउँदै नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले मुलुक मौलाएको व्यथितिको अन्त्यका लागि दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार मुलुकमा सुशासन सहित विकास निर्माणमा जुटेको बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को निती तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपाली संकल्पलाई अघि बढाएको बताउँदै उहाँले उक्त अभिभारा पुरा गर्न युवा वर्ग सचेत र जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनुभयो । युवा वर्ग उद्यमशिल बन्नु पर्नेमा उहाँको जोड थियो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् जन संगठन प्रमुख भानुभक्त ढकालले युवा शक्ति संगठित र संयमित भएर पार्टी निर्माणमा जुट्नु पर्नेमा जोड दिंदै कार्य मुल्याङ्कन र क्षमताका आधारमा पार्टीको जिम्मेवारी दिइने बताउनुभयो । जनवर्गीय संगठनलाई चुस्त र दुरुस्त बनाउँदै मिसन ८४ पार्टीलाई वहुत ल्याउने तयारीमा जुट्न आग्रहण गर्नुभयो ।

नेकपा एमाले केन्द्रिय सदस्य एवम् युवा संघ नेपालका इञ्चार्ज राजिव पहारीले पर्यटकीय राजधानी पोखरामा हुन गैरहेको दशौ राष्ट्रिय महाधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

सुशासन, समृद्धि, राष्ट्रियता, नविनता, सिर्जनशिलता र गतिशिलता भन्ने नारा सहित आगामी जेठ महिनाको ९ देखि ११ गतेसम्म पोखरामा हुन गहिरेको दशौ राष्ट्रिय महाधिवेशनमा एक हजार ७९२ जना प्रतिनिधिको सहभागिता रहने युवा संघ नेपालका केन्द्रीय अध्यक्ष थितिज थेवेले जानकारी दिनुभयो ।

कार्यक्रममा संघ केन्द्रिय उपाध्यक्ष प्रकाश गौतम र महासचिव सुमन पुरीले विशेष गरि महाधविेशन संगठन सुदृढिकरण, जववायु परिवर्तन र उद्यमशीलता एवम् उत्पादनलाई जोड दिनमा केन्द्रित रहने बताउनुभयो । अधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

डडेल्धुरामा अटोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

अमरगढी (डडेल्धुरा), २५ वैशाख – आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।भीनपा. ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो । बालकको मृत्यु भएको पुष्टि जोगबुढा अस्पतालले गरेको छ ।

बुडरबाट जोगबुढा जाँदै गरेको अटोले बालकलाई आमा ज्योति श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो । ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा थप दुई जना घाइते भएका छन् । घाइतेको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ । अटो चालक भने अहिले फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

काठमाडौँ, २५ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा पाटन सङ्ग्रहालयमा आज अपराह्न आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा उहाँलाई नेपालका लागि युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिक लरेन्जो तथा यहाँस्थित युरोपेली मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

त्यस अवसरमा रावदूत लरेन्जोले युरोपेली सङ्घमा आबद्ध देशहरुको नेपालसँग सुमधुर सम्बन्ध रहेको चर्चा गर्र्दै शान्तिका लागि नेपाल बलियो आवाज बनेको बताउनुभयो । नेपाललाई युरोपेली सङ्घको उच्च प्राथमिकता प्राप्त विश्वसनीय साझेदारका रुपमा प्रस्तुत गर्दै उहाँले हाम्रा सदस्य राष्ट्रहरूसँग मिलेर ‘टिम युरोप दृष्टिकोण’अन्तर्गत मेलमिलाप र स्थायी शान्तिको भावनामा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउने नेपालको प्रयासमा युरोपेली सङ्घको साथ तथा सहयोग रहने बताउनुभयो ।

हामी जलवायु सङ्कट नियन्त्रण तथा प्राकृतिक प्रकोपविरुद्धका प्रतिकार्यमा पनि सङ्घले नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै राजदूत लरेन्जोले समृद्धिको चुनौतीपूर्ण यात्रामा रहेको नेपाललाई अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुन, आर्थिक वृद्धिलाई बढाउन तथा लगानी आकर्षित गर्न सघाउने बताउनुभयो ।

सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

सुदूरपश्चिम, २५ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तह अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तरक्रिया तथा नीति, कार्यक्रम बजेटसम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासनका बारेमा अझैँ पनि धेरै नीतिनियम बनाउन जरुरी रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले स्थानीय तह र प्रदेश सरकार आपसमा सहकार्य तथा सहअस्तित्वलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, नेकपा (एकीकृत समाजावादी) का दीर्घबहादुर सोडारी, सत्तापक्ष नेकपा (एमाले) का राजेन्द्रसिंह रावल र नेपाली कांग्रेसका विक्रमसिंह धामीले आ–आफ्नो धारणा राख्नुभयो । उहाँहरुले विभिन्न पालिका तहका प्रमुख एवं प्रतिनिधिले योजनाको छनोट र कार्यान्वयनमा स्पष्ट नीति बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

सहभागीहरुले योजना कार्यान्वयनमा लैजाँदा समन्वय गर्ने पाटोलाई प्रभावकारी बनाउनुपर्ने, ठेक्का प्रक्रिया सरलीकरण गरी नीतिगत सुधार गर्नुपर्ने, काम गरेको छोटो अवधिमै प्रदेशका सचिव र प्रशासकीय अधिकृतको सरुवा गर्ने चलन हटाउनुपर्ने, प्रदेश नीति तथा योजना आयोगलाई थप जिम्मेवारी दिनुपर्नेलगायत सुझाव दिनुभयो ।

डेडिकेटेड र ट्रङ्कलाइन विवाद छिनोफानो गर्ने जिम्मेवारी आयोगको हो : मन्त्री खड्का

काठमाडौँ, २५ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड र ट्रङ्कलाइन’मा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी विद्युत् नियमन आयोगको भएको बताउनुभएको छ ।

विद्युत् नियमन आयोगको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री खड्काले ‘टिओडी मिटर’का आधारमा विद्युत् महसुल उठाउनुपर्ने बताउनुभयो ।

“टिओडी मिटरका विषयलाई लिएर धेरै विवाद भयो, तिर्नुपर्ने रकम नतिर्ने, विद्युत् प्राधिरकणले बक्यौता उठाउन नसक्ने, यसको छिनोफानो गर्ने जिम्मेवार निकाय आयोग हो”, उहाँले भन्नुभयो– “बिल ठीक छ की छैन भनेर हेर्ने निकाय विद्युत् नियमन आयोग नै हो ।”

ऊर्जा क्षेत्रमा फैलिएको विचौलिया संस्कृति, कानुनी छिद्र प्रयोग गर्ने प्रवृत्ति र प्रशासनिक ढिलासुस्तीले समस्या भएको उहाँले बताउनुभयो । “हिजो झोलामा खोला भन्ने प्रचलन थियो, अहिले त्यो मोडिफाइ भएको छ, १०० मेगावाट उत्पादन हुने आयोजना पाँच मेगावाटको दर्ता गरी थोरै पैसा तिरेर कानुनी छिद्र खोज्ने प्रवृत्ति देखिन्छ, अब यस्ता प्रवृत्तिमाथि निर्मम हुनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो ।

नियमन आयोगले गर्नुपर्ने थुप्रै काम रहेको भन्दै मन्त्री खड्काले उक्त कामलाई पूरा गर्न विज्ञ, निजी क्षेत्र र सम्बन्धित सबै निकायको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढेमात्र देशको विकास हुने उहाँको भनाइ थियो ।

ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई कार्यान्वयन गर्दैगर्दा आगामी १० वर्षमा ऊर्जा क्षेत्रमा रु ६४ खर्ब सम्म लगानी परिचालन हुने भएकाले उक्त लगानीले पुल, विद्यालय, मोटरबाटो, निर्माण सामग्री, श्रमिकदेखि इञ्जिनियरसम्म सबैले रोजगारी पाउने मन्त्री खड्काले बताउनुभयो । उहाँले विचौलियाको संलग्नता र स्वार्थ नमिल्दा मिडियाबाजी गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता थपिँदै गएको बताउनुभयो ।

“सबै क्षेत्रमा विचौलिया छन्, नकारात्मक प्रचारवाजीसँग डराउनु हुँदैन, हामीले कानुनसम्मत रूपमा काम गर्नैपर्छ”, उहाँले भन्नुभयो । अबको दशकलाई परिवर्तनको दशक बनाउन सबैपक्ष जिम्मेवार हुनुपर्ने मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जा सचिव सुरेश आचार्यले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न आयोगको भूमिका अझ बढेर गएको बताउनुभयो । उत्पादक, प्रसारक र उपभोक्तालाई नियामक गर्न आयोगले अझै प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले आयोगले नेपालको विद्युत् क्षेत्रको दिगो विकासका लागि पारदर्शी, स्वतन्त्र ढङ्गले काम गर्दै आएको बताउनुभयो । उहाँले विद्युत् विकासका क्षेत्रमा देखिएको समस्या समाधान गर्दै आयोग अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोगले एक वर्षमा धेरै उपलब्धिमूलक काम गरेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । डेडिकेटेड तथा ट्रङ्कलाइन विवादलाई आयोगले निक्र्यौल गरिनसमेत उहाँले आग्रह गर्नुभयो ।

सरकारका पूर्वमुख्यसचिव विमल कोइरालाले निजी क्षेत्र ढिलै भए पनि विद्युत् विकासमा संलग्न हुनु खुसीको कुरा भएको बताउनुभयो । विद्युत् नियमान आयोग र विद्युत् प्राधिकरणमा व्यापक सुधारको खाँचो रहेको उहाँको भनाइ थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले सरकारले राखेको समृद्ध मुलुकको लक्ष्यलाई पुरा गर्न उर्जा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले २३ महिनादेखि जलविद्युत्को आइपिओ रोकिँदा व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । वर्तमान सरकारले नेपालको ऊर्जा क्षेत्रमा धेरै राम्रो काम गरेको उहाँको भनाइ थियो ।

नाइजेरियामा सैनिक कारबाहीमा ११ जना लडाकु मारिए

नाइजेरियामा सरकारद्वारा सञ्चालित आतङ्कविरोधी अभियानहरू तीव्र बन्दै गएका छन्, जसअनुसार हालैका दिनमा कम्तीमा ११ जना आतङ्ककारी नेताहरू मारिएको जानकारी प्राप्त भएको छ। यो विवरण नाइजेरियाका रक्षामन्त्री मोहम्मद बडारुले बुधबार राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो।

उहाँले जानकारी दिनुहुँदै भन्नुभयो ,”देशको उत्तरी क्षेत्रमा सक्रिय तथा निकै खतरनाक मानिएका आतङ्ककारी समूहका एकजना प्रमुख नेता बेल्लो टुर्जि हाल सुरक्षाबलको कारबाहीका कारण फरार अवस्थामा छन्।” मन्त्रीका अनुसार हाल देशका विभिन्न भागमा सञ्चालन भइरहेका अभियानहरू उल्लेखनीय रूपमा सफल भइरहेका छन्, विशेषतः उत्तरपूर्वी क्षेत्रमा सुरक्षाबलले उल्लेख्य उपलब्धि हासिल गरेका छन्।

“हाम्रो सुरक्षाबलले आतङ्ककारीहरूका हरेक चुनौतीको साहसपूर्वक सामना गर्दै उनीहरूलाई महत्वपूर्ण क्षति पुर्‍याएका छन्,” मन्त्री बडारुले बताउनुभयो।

उहाँले थप जानकारी दिँदै भन्नुभयो कि सरकारद्वारा गुप्तचर प्रणालीमा पनि सुधार गरी सुरक्षालाई अझ सुदृढ बनाइएको छ, जसले गर्दा आतङ्कवादी आक्रमणहरूलाई समयमै नियन्त्रणमा लिन सकिने अपेक्षा गरिएको छ।

मन्त्रीले देशमा विद्यमान सुरक्षा चुनौतीहरू सामाजिक र राजनीतिक विभाजन, आर्थिक कठिनाइ, सीमापार समस्या तथा अन्तर्राष्ट्रिय आतङ्क गतिविधिहरूसँग सम्बन्धित रहेको बताउँदै यस्ता समस्याको समाधानका लागि केवल सैन्य उपाय मात्र नभई समग्र विकास, सामाजिक समावेशिता तथा क्षेत्रीय सहकार्य आवश्यक हुने धारणा राख्नुभयो।

यसअघि, अप्रिल २३ मा राष्ट्रपति बोला टिनुबुले देशको बढ्दो हिंसा र सुरक्षाजन्य चुनौतीहरूको गम्भीर मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा रणनीतिमा व्यापक पुनरावलोकन तथा सुधारको निर्देशन दिनुभएको थियो। “अब यथेष्ट भयो,” भनी उहाँले अबुजामा आयोजित सुरक्षा प्रमुखहरूको बैठकमा भन्नुभएको थियो।

मन्त्रीले राष्ट्रपतिको स्पष्ट निर्देशनले सुरक्षाबलमा नयाँ ऊर्जा थपिएको र आतङ्कविरोधी अभियानमा अझ दृढताका साथ अघि बढ्न प्रेरणा प्राप्त भएको उल्लेख गर्नुभयो।

“जलवायु संकट समाधानमा आसियानको भूमिका निर्णायक”

विश्वव्यापी जलवायु कार्यक्रम अस्थिर र विभाजित बन्दै गइरहेको सन्दर्भमा, दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान) ले दिगोपनका लक्ष्यहरू हासिल गर्न अग्रसर भूमिका लिनुपर्ने मलेसियाका प्राकृतिक स्रोत तथा वातावरणीय स्थायित्व मन्त्री निक नज्मी निक अहमदले बताउनुभएको छ।

उहाँका अनुसार अमेरिकाले दक्षिणपूर्वी एशियाली मुलुकहरूबाट आउने सौर्य उपकरणहरूमा शुल्क लगाउनु र पेरिस जलवायु सम्झौताबाट अलग हुनु जस्ता कारणहरूले विश्वव्यापी जलवायु कार्ययोजनामा अवरोध पैदा गरेको छ। यस्तो अवस्थामा क्षेत्रीय सहकार्य नै स्थायीतर्फको उत्तम बाटो भएको उहाँको भनाइ छ।

निक नज्मीले हालै आयोजित एक छलफल कार्यक्रममा आसियान सदस्य राष्ट्रहरूबीच सहकार्य गर्दै स्रोत र क्षमताहरूलाई एकीकृत गरी जलवायु संकटको सामना गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। “हामीसँग वन, जल, युवा जनशक्ति, विस्तारोन्मुख बजार र साझा भविष्य छ ।यसैले हामीले सँगै अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

मलेसियाले सन् २०५० सम्ममा हरितगृह ग्यास उत्सर्जन पूर्ण रूपमा शून्य बनाउने लक्ष्य राखेको छ। त्यसअगाडि, सन् २०३० भित्र उत्सर्जन उच्च बिन्दुमा पुर्‍याउने र त्यसपछि तीव्र रूपले घटाउने योजना रहेको पनि मन्त्रीले जानकारी दिनुभयो। सन् २००५ को तुलनामा २०३० सम्म प्रति राष्ट्रिय उत्पादन एकाइमा उत्सर्जन ४५ प्रतिशतले घटाउने लक्ष्य लिइएको छ।

उहाँले क्षेत्रीय ऊर्जा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले अघि बढाइएको ‘आसियान विद्युत् जाल’ परियोजनालाई विशेष रूपमा उल्लेख गर्नुभयो। यस योजनाले विभिन्न देशका विद्युत् प्रणालीहरूलाई आपसमा जोड्ने र शुद्ध तथा भरपर्दो ऊर्जाको प्रवाह बढाउने लक्ष्य लिएको छ।

“हामी केवल विद्युत् होइन, स्वच्छ विद्युत् साटासाट गर्न चाहन्छौँ। यो हाम्रो क्षेत्रको ऊर्जा प्रणालीलाई प्रदूषणमुक्त बनाउने प्रमुख उपाय हो, किनकि यही क्षेत्र सबैभन्दा ठूलो प्रदूषक हो,” मन्त्रीले प्रष्ट पार्नुभयो।

गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत : रेड क्रस

अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजामा जारी द्वन्द्वका कारण उत्पन्न भइरहेको मानवीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै इजरायलद्वारा सबै प्रकारका मानवीय सहायता प्रवेशमा लगाइएको प्रतिबन्धलाई ‘अस्वीकार्य’ भएको बताएको छ ।

रेड क्रसका महासचिव पिएर क्राहेनबुहले जेनेभामा पत्रकार सम्मेलनमार्फत भन्नुभयो, “गाजा पट्टीमा मानवीय सहायता प्रवेश गर्न नदिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत हो र यो तत्काल परिवर्तन आवश्यक रहेको विषय हो ।”

उहाँले वर्तमान परिस्थिति अत्यन्तै नाजुक रहेको जनाउँदै भन्नुभयो,“अबको केही दिन अत्यन्त निर्णायक छन् । हाम्रोमा सीमित औषधि तथा आवश्यक सामग्री रहेका छन्, जुन चाँडै समाप्त हुन सक्छ ।”

इजरायलले मार्च १८ देखि पुनः सैन्य कारबाही सुरु गरेपछि सहायता आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको हो । इजरायलले भने गाजामा मानवीय सङ्कटको अवस्थालाई अस्वीकार गर्दै हमासविरुद्ध थप कारबाहीको योजना बनाइरहेको बताइएको छ ।

महासचिव क्राहेनबुहले भन्नुभयो,“यदि अहिलेको अवस्था भविष्यको युद्धको नमूना हो भने, यसले हाम्रो मानवता र अन्तर्राष्ट्रिय मूल्यहरूमा गम्भीर प्रश्न खडा गर्छ । सबैले यस अवस्थालाई गम्भीरतापूर्वक लिनु जरुरी छ ।”

उहाँले सबै प्रकारका सहायता प्रयासहरूलाई सकारात्मक रूपमा हेर्न र सहयोग पुगोस् भन्ने आशयले अवरोध हटाउन आग्रह गर्नुभयो । “गाजाको सिमानामा ठूलो परिमाणमा सहायता सामग्री तयार अवस्थामा रहेको छ, जुन तत्काल प्रवेश गराउन सकिनेछ,” उहाँले स्पष्ट गर्नुभयो ।

सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह थिएन : गृहमन्त्री लेखक

काठमाडौँ, २५ वैशाख : गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे सदनलाई जानकारी दिनुभएको छ । उहाँले संरक्षक चौधरीलाई पक्राउ गरिएको सम्बन्धमा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री लेखकले यसअघि अदालतबाट हुने गरेका पत्राचारलाई कार्यान्वयन गरे जस्तै चौधरीलाई पक्राउ गरिएको घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गरिएको बताउनुभयो । भविष्यमा यस प्रकारका घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको उहाँको भनाइ थियो ।

सर्वोच्च अदालतमा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले आफ्नो विवेक बाहिर गएर अनधिकृत पत्र लेखेका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ परेको घटनाप्रति गृहमन्त्री लेखकले दुःख व्यक्त गर्नुभयो । “घटनाबारे प्रहरी महानिरीक्षकबाट जानकारी प्राप्त हुनासाथ सर्वोच्च अदालतका रजिष्ट्रारसँग सोधपुछ गर्दा पत्र अदालतको आधिकारिक नभएको र अदालतबाट थप छानविन भइरहेको जानकारी पायौँ, उक्त पत्र आधिकारिक नभएको जानकारी प्राप्त हुनासाथ रेशम चौधरी रिहा हुनुभएको छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले शाखा अधिकृत विष्टलाई तत्काल पक्राउ गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

यसैगरी गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका सम्बन्धमा अधिकार प्राप्त निकायबाट अनुसन्धान भइरहेको उल्लेख गर्दै उक्त घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कुनै पूर्वाग्रहबिना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको सदनलाई जानकारी दिनुभयो ।

“संविधान र व्यवस्था विरोधी अराजक गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अधिकार निर्वाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । संविधान विरोधी गतिविधि सह्य नहुने गृहमन्त्री लेखकको भनाइ थियो ।

“आफ्ना असहमति शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ । तर अराजक शैलीमा लुटपाट, तोडफोड, आगजनी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मका कार्य अक्षम्य र भत्र्सनायोग्य छन्”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले पश्चिम नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिको राहत, पुर्नस्थापनालाई पछिल्ला दिनमा प्राथमिकता दिएर काम भइरहेको सदनलाई जानकारी दिनुभयो । अस्थायी आवास निर्माण गर्न जाजरकोटमा रु एक अर्ब ९१ करोड ९१ लाख ७५ हजार, रुकुम पश्चिममा रू एक अर्ब ६१ करोड २२ लाख, सल्यानमा रु सात करोड, बाजुरामा रु १० करोड ५० लाख, बझाङमा रु २५ करोड र जुम्लामा रु एक लाख ७५ हजार उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

प्रभावित जिल्लामा विस्तृत क्षति आंकलनको काम अगाडि बढाएको उल्लेख गर्दै गृहमन्त्री लेखकले हालसम्म ३७ हजार ९३८ घरको विस्तृत क्षति आंकलन गर्ने कार्य सम्पन्न भएको बताउनुभयो । प्रभावितलाई सरकारकातर्फबाट गराइने सेवा सुविधा उपलब्ध गराइरहेको र बाँकी काम छिटट्ै सम्पन्न गरिने उहाँले बताउनुभयो । डोटी केन्द्रविन्दु भई गएको भूकम्पका कारण क्षति भएका डडेल्धुराका ८५, डोटीका एक हजार ३६५, बझाङ्गका एक हजार ७४० तथा अछामका पाँच हजार ४४१ घरधुरीको विस्तृत क्षति आंकलन गर्ने कार्य सम्पन्न गरी एक हजार ८५६ परिवारसँग सम्झौता भइसकेको तथा छुट भएका १३ हजार ५७६ घरधुरीको विस्तृत क्षति आंकलन गर्न सुदूरपश्चिम विश्वविद्यालयसँग प्रस्ताव माग भई सम्झौता प्रकृया अगाडी बढेको गृहमन्त्री लेखकले सदनलाई जानकारी गराउनुभयो ।

त्यसैगरी गत असोजको मनसुनका कारण क्षति भएका निजी आवासको सम्बन्धमा संकटग्रस्त क्षेत्र घोषणा भएका २० जिल्लाका ६ हजार २५४ घरधुरी अस्थायी आवासका लाभग्राही कायम भएका उहाँले जानकारी दिनुभयो । पाँच हजार ८६१ लाभग्राहीसँग सम्झौता भई ३ हजार ७५५ जनाले पहिलो किस्तावापतको अस्थायी आवासको रकम रू ९ करोड ३८ लाख ७५ हजार प्राप्त गरिसकेको उहाँले बताउनुभयो । काभ्रेपलाञ्चोकमा ५४९ घरधुरीको विस्तृत क्षति आंकलन कार्य सम्पन्न भइसकेको र बाँकी घरधुरीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तालिम प्रदान गरी प्राविधिक खटाउने तयारी भइरहेको उहाँको भनाइ थियो ।

वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले वर्षाका कारण हुनसक्ने सम्भावित क्षति कम हुने गरी सबै जिल्लामा यस सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य योजना बनाइएको बताउनुभयो ।

गृहमन्त्री लेखकले नेपाल सरकारले सबै जातजाति, धर्म, संस्कृती र परम्परालाई सम्मान तथा प्रबद्र्धन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा सार्वजनिक बिदालाई पुनरावलोकन गरी वस्तुनिष्ठ बनाइने बताउनुभयो । विवाह गर्ने उमेरका सम्बन्धमा बहस भइरहेको जिकिर गर्दै उहाँले उक्त विषयलाई गम्भिरताका साथ सोच्न आवश्यक रहेको र सरकार विभिन्न कोणबाट उठेका आवाजबारे छलफल गर्न तयार रहेको बताउनुभयो ।

नागरिकता समस्या समाधान गर्न, नागरिकता पाउनु पर्ने व्यक्ति नछुटुन् र नपाउनुपर्ने व्यक्तिले नपाउन् भन्ने मनसायका साथ नागरिकता ऐन दोश्रो संशोधन विधेयक सदनमा पेश भएको गृहमन्त्री लेखकले बताउनुभयो । यस विषयमा सघन छलफल गरी छिट्टै पारित गर्न उहाँले आग्रह गर्नुभयो । विभिन्न अपराधका घटना घट्न नदिने र घटिहालेमा त्यसको निस्पक्ष छानबीन गरी दोषीलाई कारवाही गर्ने गरी गृह मन्त्रालय तथा त्यसअन्तर्गतका संयन्त्रले काम गरिरहेको उहाँले सदनलाई जानकारी दिनुभयो ।

‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी’ को केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना गरिएको ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ केन्द्रिय कार्यालयको उद्घाटन गरिएको छ । बिहीबार एक विशेष समारोहकाबीच ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’को कार्यालय उद्घाटन गरिएको हो ।

उक्त उद्घाटन समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको बताए । उनले अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर रहेको समेत बताए ।

उनले भने, ‘अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर छन् भने १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको छ । लगानीकर्तालाई पनि उचित प्रतिफल दिन सकेको छ । कर्मचारीहरुलाई पनि उचित वातावरण निर्माण गरेको छ र विमकहरुलाई पनि सन्तोषजनक नै सेवा प्रदान गरिरहेको छ ।’साथै, उनले नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट कम्पनी हुनुमा विमित, एजेण्ड, लगानीकर्ता, कर्मचारी, सञ्चालक समिति सबैको ठूलो योगदान रहेको बताए ।

उनले भने, ‘नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट कम्पनीको रुपमा यो स्थापित भैइसकेको छ । यसमा सबैभन्दा ठूलो योगदान, विमित, एजेण्ड, लगानीकर्ता, कर्मचारी, सञ्चालक समिति सबैको ठूलो योगदान रहेकोले यो आज उत्कृष्ट विमितहरुलाई पनि उचित प्रतिफल दिन सकेको छ ।’ नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड नेपालको बीमा तथा वित्तीय क्षेत्रमा थप योगदान दिने उद्देश्यले स्थापना गरिएको हो।

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै गएको छ ।महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ । जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान गरेर पुण्य लाभ लिन आउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक सहयोग गर्नेले आर्थिक, आर्थिक नसक्नेले महायज्ञ परिसरमा चाहिने दैनिक सामाग्री पनि सहयोग गर्ने सक्ने व्यवस्था कोटिहोममा मिलाईएको छ ।

बिहीबार पनि कोटिहोममा दान गर्ने भक्तजनको सङ्ख्या उल्लेख्य रहेको थियो । कोटिहोममा देशभरका जिल्लाबाट विभिन्न सङ्घ संस्था, आमा समूह व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ । यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकार पूर्व मन्त्री पञ्चराम गुरुङले ५१ हजार, पोखरा–१५ का दिननाथ तिमिल्सिनाले २५ हजार ५, पोखरा– १५ प्रतिभाटोलकी राधिका खत्रीले २५ हजार २५ दान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री पञ्चराम गुरुङले पोखरा जारी कोटिहोम तपो भूमि र देवभूमिको रूपमा रहेको बताएका छन् ।महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीले हरेक तनावका बीचमा पनि ऐतिहासिक कोटिहोम गरेर सफलता हात पारेको उनको भनाई थियो ।

‘आफ्नो जीवन बुद्धिमानपूर्वक जिउछ उ व्यक्ति मृत्युसँग कहिल्यै पनि डराउँदैन । यस्तो व्यक्ति हो वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति महाराज’ उनले भने, ‘विभिन्न आरोप प्रति आरोप कष्ट पार गर्दै विशाल महायज्ञ गर्न सफल हुनु भयो यहाँ प्रति हामी आभारी छाँ ।’
उनले शास्त्र हराए संस्कार हराउने, संस्कार हराए परम्परा हराउने र परम्परा हराए हामी नै हराउने स्थिति सृजना हुने बताउँदै तपाई हामी मिलेर नै यो देशलाई हिन्दु राष्ट्र बनाउनु पर्ने तर्क गरे । उनले महायज्ञमा ५१ हजार रुपैयाँ सहयोग गरे ।

कोटिहोममा बिहीवार नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शारदा पौडेल, प्रदेश सभाका सदस्य सुनिता थापा विशेष आकर्षणको रूपमा हास्य कलाकार जोगिन्दर पानवाला शिव शङ्कर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका, एनआरएन उत्तर–दक्षिण अमेरिका क्षेत्रका उपसंयोजक विश्व बास्तोला लागयतको उपस्थिति रहेको थियो ।
यस्तै कोटिहोममका भोलि शुक्रबार चर्चित गायिका समीक्षा अधिकारी र शनिवार चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन प्रस्तुति तथा विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार आइतबार लोकदोहोरी गायिका अस्मीता ढल्लाकोटीको पनि सहभागिता रहने छ ।

कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तित्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पीकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तित्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसईई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।

कोटिहोममा यही वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । उक्त अवसरमा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

कोटिहोममा यही वैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिङको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवद मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध भएको छ ।

कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं.दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा, ४८ घण्टामा एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

काठमाडौँ, २५ वैशाखः गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको छ ।

वैशाख २३ गते मङ्गलबार बिहानदेखि बिहीबारसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पट्रोलिङ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शेलेन्द्र थापाले जानकारी दिनुभयो ।

भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोलिङ वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको जनाइएको छ ।

सोही अवधिमा सीमा इलाकाका एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको छ । वैैशाख २३ गते ५६४, वैैशाख २४ गते ६४० र वैैशाख २५ गते ६४० ठाउँमा गरी एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा सुरक्षा जाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

उक्त क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्यसमेत कडाइका साथ गरिएको छ ।

नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको छ । यसैगरी सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाइएको सशस्त्र प्रहरीबल नेपालले आज जानकारी गराएको छ । 

‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’ : मन्त्री भण्डारी

काठमाडौँ, २५ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना एवं ललितपुर उद्योग वाणिज्य सङ्घ र घरेलु तथा साना उद्योग महासङ्घको सहआयोजनामा आजदेखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को दशौँ संस्करणलाई उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।

मन्त्री भण्डारीले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले रुग्ण उद्योगको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौँ । यो मेलाले यस्ता अवसरको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।”

मन्त्री भण्डारीले निजी क्षेत्रले भनेअनुसार नीतिगत सुधारका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै नेपाली उद्योगी व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले हालै संसद्मा पेस भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवद्र्धनलाई प्राथकितामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रका साथमा रहेको बताउनुुभयो ।

नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्वबजारमा स्थापित गर्न र स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मेलाले सहयोग पु¥याउने बताउनुहुँँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गर्नुभयो ।

सोही अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजार प्रवर्द्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उहाँको भनाय थियो । उहाँले भन्नुभयो, “मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।”

नेपालमा अन्तरराष्ट्रियस्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेलास्थलको अभाव एउटा प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित मेला तथा प्रदर्शनीस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद् विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताउनुभयो ।

नेपाल, चीन र बङ्गलादेशका गरी १२० बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासङ्घका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिनुभयो ।

लेखकहरू विचार उत्पादनका केन्द्रः राष्ट्रपति पौडेल

काठमाडौँ, २५ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गर्नुभएको छ ।

नेपाली लेखक सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आज राष्ट्रपति कार्यालयमा बधाई तथा शुभकामना दिँदै उहाँले भन्नुभयो, “लेखक स्वयंमा सत्ता हो, सङ्गठन, विचार र आफैँमा अभियान पनि हो ।”

मुलुकभरका ३०१ प्रतिनिधि सहभागी सङ्घको गत चैत १६ र १७ गते लुम्बिनीमा आयोजित आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । उक्त कार्यसमितिलाई राष्ट्रपतिले आज एक कार्यक्रमबीच बधाई तथा शुभकामना दिनुभएको हो । उहाँले सङ्घले लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएको इतिहाससमेत रहेको स्मरण गर्नुभयो ।

लेखक सङ्घले स्थापनाकालदेखि नै लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले सर्जकहरूको सामूहिक प्रयत्नलाई आफ्नो आदर्श मानेको उहाँको राष्ट्रपतिको भनाइ थियो । उहाँले भन्नुभयो, “यी कुराहरु लोकतान्त्रिक व्यवस्थाको आर्दशका लागि पूर्वसर्त हुन् ।”

राष्ट्रपति पौडेलले भर्खरै जन्मेको शिशु प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने ऐतिहासिक आवश्यकताका खातिर सर्जकहरूले आफ्नो सामाजिक दायित्व लेखक सङ्घमार्फत पूरा गर्न खोजेको यसका पुराना दस्तावेजहरूले देखाएको बताउनुभयो ।

लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समजस्ता साहित्यिक महारथीहरू सङ्गठित भएको लेखक सङ्घमा विश्वेश्वरप्रसाद कोइराला र हृदयचन्द्रसिंह प्रधानलगायतका हस्तीहरु पनि एकबद्ध भएको उहाँले चर्चा गर्नुभयो । लोकतन्त्रवादी लेखकहरु लोकतान्त्रिक प्रणालीका पक्षधर भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सात दशक लामो प्रक्रियामा लोकतन्त्रका आदर्शहरु धेरै सन्दर्भमा विशिष्टिकृत भएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष वियोगी बुढाथोकी, सहअध्यक्ष मनोज न्यौपाने, उपाध्यक्षहरु डा शशि थापा पण्डित, डा विष्णु केसी, उपमहासचिव नारायण सापकोटाका साथै केन्द्रीय सदस्यहरु महेन्द्र वाग्ले, इन्द्र लम्साल, सन्तोष बोहरा, शोभा अधिकारी, इन्दिरा निरौला, राजन बस्नेतसँगै सङ्घका सल्लाहकारहरु डा विष्णुविभु घिमिरे, सन्ध्या पहाडी, शेखर गिरीलगायतको उपस्थिति थियो ।

नेपाली लेखक सङ्घको स्थापना २००८ सालमा भएको हो । नेपालको पहिलो प्रजातान्त्रिक परिवर्तनपछि स्वतन्त्र विचारधारा भएका लेखकहरू सङ्गठित भएर सङ्घको स्थापना गरेको इतिहास छ । विसं २०१७ पछिको पञ्चायती कालखण्डमा निष्क्रिय रहेको सङ्घ, २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भएपछि नयाँ संरचनासहित पुनःक्रियाशील बनेको हो ।

नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि विविध भाषा र संस्कृतिका लेखकहरूलाई समान अवसर प्रदान गरी अघि बढ्न प्रेरित गर्नु, लेखकहरूको हकअधिकारको रक्षाका निम्ति सिर्जनात्मक स्वतन्त्रतालाई कानुनी र संस्थागत रूपमा सुरक्षित राख्नु यसको ध्येय रहेको छ ।

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि अध्ययन शुरु

मुगु । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनका लागि संभाब्यता अध्ययन शुरु भएको छ ।
अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्था गायत समग्र यात्राको स्थिति बुझ्न नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट राराका लागि बससहित एक टोली प्रस्थान गरेको हो ।

भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएको बताए । उनले भने,‘काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएकोमा निकै खुसी लागेको छ । पर्यटकलाई काठमाडौँबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको प्रयास सफल हुने विश्वास लिएका छौँ ।’

भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउने र पर्यटन प्रवद्र्धनमा पनि योगदान दिने उनले बताए । टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले काठमाडौँदेखि रारासम्मको यात्राको सम्भावना र व्यवस्थापनको अध्ययन गर्न यात्रा उपयोगी हुने बताए ।

टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताए । काठमाडौँदेखि रारा जाने यो उपयुक्त सिजन हो । काठमाडौँबाट बस यात्रा गराएर रारा पुर्याउन सक्यौँ र यसका लागि थप प्याकेज बनाउन सक्यौँ भने रारामा पर्यटकको सङ्ख्यामा वृद्धि हुनेछ रारालगायत कर्णाली प्रदेशका धार्मिक, सांस्कृतिक, रितिरिवाज, मठ मन्दिर, गुम्बा, स्थानीय रैथाने अन्नबाली हिमाल, ताल, जडिबुटीलगायतका अन्य क्षेत्रलाई पर्यटनमार्फत प्रचार प्रचार गरि पर्यटनको संख्याको गर्ने विश्वास लिइएको छ ।

अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको पर्यटक ब्यावसाय राजु कार्कीले बताएका छन् ।

गण्डकी कोटिहोममा राष्ट्रव्यापी वक्तृत्वकला र एक हजार कन्याको पूजा गरिने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।

प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए ।
उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनिषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्यांकन हुने खनालले जानकारी दिए ।

कास्की बाहिरका सहभागीलाई आतेजाते भाडा र बस्नको व्यवस्था साथै वैशाख मसान्तसम्म नाम दर्ता गरिसक्नु पर्नेछ ।
अहिलेसम्म काठमाडौँ, जुम्ला, रुकुम, रोल्पा, वाके, बर्दिया, झापा, धादिङ लगायत देशभरका जिल्लाबाट ५० जना बढीले नाम दर्ता गराएको खनालले जानकारी दिए ।

प्रतियोगिताको समय ७ मिनेट रहेको छ भने वक्ताले सकारात्मक सन्देश दिने खालको हुनुपर्ने छ । प्रतियोगितामा एउटा विद्यालयबाट जतिपनि सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।कोटिहोममा धर्म र संस्कृति मात्रै नभइ शिक्षालाई जोड्न पनि यो प्रतियोगिता आयोजना गरेको उनले बताए ।

‘हाम्रा परम्परा, धर्म संस्कृतिलाई आजका युवामा जोड्ने ध्येयले नै यो प्रतियोगिता आयोजना गरिएको हो’ उनले भने,‘कोटिहोममा धर्म संस्कृतिसँगै शिक्षालाई पनि जोडेर सबैको अपनत्व बनाउन यो प्रतियोगिता कोशेढुंगा साबित हुनेछ ।’महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले अध्यात्म, विज्ञान र सेवाको सङ्गम गण्डकी कोटिहोम भएकोले यो पुण्य ठाउँको दर्शन गर्न कोही नछुट्न आग्रह गरे ।

कोटिहोममा यही वैशाख २७ गते शनिवार एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । उक्त अवसरमा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।
साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको बताएकी हुन् ।

‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म चलचित्र हो जार,’ झुमा भन्छिन्, ‘मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसैले जारमा काम गरेँ ।’

आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ । ‘२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ । पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,’ झुमा भन्छिन्, ‘जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ ।’चलचित्र जारका पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएको उनको भनाइ छ ।

प्रिमियरमा चलचित्र ‘जार’ हेर्ने अधिकांशले यसको गीत र संगीतको खुलेर तारिफ गरेका छन् । लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति र संस्कार, लय र तालमा झुमाले यसको गीत र संगीत तयार पारेकी छन् । जसको सिनेमा हेर्ने दर्शकले खुलेर प्रशंसा गरेका हुन् ।‘जार’मा गीतसँगै पात्रको यात्रामा गीत छन्, जसलाई तयार पार्ने र गाउने काम झुमाले गरेकी छन् ।

१८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र यही शुक्रबार (वैशाख २६ गते)बाट देशभर प्रदर्शनमा आउँदैछ ।
‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।

बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

कञ्चनपुर, २५ वैशाखः कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन् ।

बगरमा १०० बढी परिवारले उत्पादन गरेका तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन् । यी टहराबाट उनीहरुले तरबुजालगायत फल बिक्री गर्दै आएका छन् । साँझबिहान राजमार्गमा निकै भीडभाड हुने गरेको छ । यो भीड तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकको हो ।

छ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल रानाले राजमार्ग छेउको कारोबारले वर्षभरिको घरको खर्च चल्ने बताउनुभयो । तरबुजालगायत फल बिक्री गरेर दैनिक रु दुई हजारदेखि रु तीन हजार ५०० सम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

वैशाखदेखि असारसम्म रु तीन लाखदेखि रु पाँच लाखसम्मको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो । “बढी उत्पादन गर्ने परिवारले बढी आम्दानी गर्छन्”, उहाँले भन्नुभयो, “थोरै उत्पादन गर्नेको थोरै आम्दानी हुन्छ ।”

पन्ध्र वर्षदेखि बगरखेतीमा संलग्न बिरा रानाले बगरमा उत्पादन भएको लौका, तरबुजा बिक्री गरी सकेपछि पुनः स्थापना गरिँदा पाइएको जग्गामा पनि खेती गरेकाले तीन महिना सडकमा बसेर तरबुजाको कारोबार गर्दै आएको बताउनुभयो ।

“कमैयामुक्तिको घोषणापछि वनहरा नदी छेउको जग्गामा पुनः स्थापना गरिँदा घर निर्माण र खेतीका लागि दश कट्ठा जग्गा उपलब्ध गराइएको थियो”, उहाँले भन्नुभयो, “जग्गामा लगाएको अन्नबालीले चार महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ ।”

“अन्य नदी बगरमा तरबुजा, काँक्रो रोपेको देख्यौँ, हामीले पनि सिक्यौँ, त्यसपछि मजदुरी गर्न छाडेर यसमै भविष्यका सपना बुन्न थाल्यौँ, तरबुजा फलेका छन् । यो खेतीलाई निरन्तरता दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । घर खर्च सहज रुपमा चलेकाले अरुसँग ऋण लिनुपर्ने अवस्था अन्त्य भएको उहाँ बताउनुहुन्छ ।

राजमार्ग छेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आउनुभएको छ । “बिहान विद्यालय जान्छु”, उहाँले भन्नुभयो, “त्यसबेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म बेच्छु ।”

टहरामा बसेर तरबुजा बेचेर आउने आम्दानीको केही हिस्सा घर खर्चका लागि राखेर अरु पैसा विद्यालयमा आवश्यक पर्ने पोसाक, कापी कलमलगायतमा खर्च हुने गरेको उहाँले उल्लेख गर्नुभयो । वनहरा मुक्तकमैया बस्तीकै ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्ग छेउमा तरबुजालगायत बिक्री गर्दै आउनुभएको छ ।

वनहरा नदीको बगरमा उहाँले दश कट्ठा जग्गामा तरबुजाखेती गर्नुभएको छ । “वैशाख महिनाको पहिलो हप्तादेखि बेच्न सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म रु ६५ हजारभन्दा बढीको बिक्री गरिसकेका छौँ ।” उहाँका अनुसार प्रतिकिलो तरबुजा रु ३० देखि रु ४० सम्ममा बिक्री हुने गरेको छ ।

बीउबिजन र रासायनिक मलमा गरेर रु ३० देखि ४० हजार तरबुजाखेतीमा भएको थेग्रा राना बताउनुहुन्छ । रानाले बर्सेनि रु पाँच लाख बढी मुनाफा आर्जन गर्दै आएको बताउनुभयो । उहाँले यो महिनामा २० क्विन्टल काँक्रो र ६० क्विन्टल तरबुजा बिक्री गरिसक्नुभएको छ ।

“बिहान बगरबाट टिपेर राखेको तरबुजा तथा साजसब्जी साँझ नपर्दै सकिन्छ”, नन्दलाल रानाले भन्नुभयो, “बढ्दो गर्मीका कारण ग्राहकले बढी माग गर्ने गरेका छन् ।” “अरु क्षेत्रमा बेच्न लैजाँदा ढुवानी खर्च लाग्छ, निकै श्रम गर्नुपर्छ, घर नजिकैको राजमार्गमा सहजै बिक्री हुने भएपछि त्यहीँ टहरा बसेर बच्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।

 पहिले इँटाभट्टामा काम गर्दै आएका तौला राना बगरखेतीबाट मनग्गे  आम्दानी हुने थाहा पाएपछि मजदुरी गर्न छाडेर तरबुजाको खेतीमा संलग्न भएको बताउनुहुन्छ । वनहराबाहेक अन्य क्षेत्रका व्यापारीलाई भने त्यस क्षेत्रमा तरबुजा बेच्न भने नपाइने नियम मुक्तकमैयाले बनाएका छन् ।

 तरबुजा खरिद गर्न राजमार्ग छेउ पुगेका अमरपुरका अमरबहादुर ऐर वनहराका तरबुजा रसिला हुने हुँदा प्रत्येक वर्ष खरिद गरेर लैजाने गरेको बताउनुहुन्छ ।

“अरु ठाउँको भन्दा यहाँका तरबुजा मीठा र सस्ता छन् । त्यसैले हामी तरबुजा खरिद गर्न हरेक वर्ष यहाँ आउँछौँ”, उहाँले भन्नुभयो ।

रेबिज लागेर ३२ वर्षीय प्रजाको मृत्यु,केही महिनाअघि टोकेको थियो कुकुरले

चितवन, २५ वैशाखः रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उहाँ उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना हुनुभएको थियो ।

४० करोडको लागतमा हरिचौर–मल्म–पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै

ढोरपाटन (बागलुङ), २५ वैशाखः ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।

चालु आर्थिक वर्षमा आठ किलोमिटर स्तरोन्नति गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट प्राप्त रु ४० करोडको लागतमा स्तरोन्नति थालिएको हो ।

हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको उक्त कार्यालयका इञ्जिनियर सागर भण्डारीले राससलाई बताउनुभयो । आठ किलोमिटरमध्ये चार किलोमिटर कालोपत्रका लागि तयार भएको छ । बाँकी भागमा सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण, टोव पर्खाल लगाउनेलगायत काम जारी छ ।

गलकोटकोे हरिचौरदेखि सुरु भएको सडक मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीखोला हुँदै प्युठान जोडिन्छ । यो सडक ४० किलोमिटर लामो छ । सडकको सुरु विन्दुबाट काम थालिएको हो ।

भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवा सिरहाबाट पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका–१७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

बैशाख २४ गते बिहान करिब ४ः३० बजे भारतबाट लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट इल्भ्च्भ्ह्–१०० एमएल लेखिएको ४४३ बोतल लागुऔषध बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट लागुऔषध राखिएको दुईवटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ। त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ।

प्रहरीले उनीहरुको साथबाट मोटरसाइकल दुई थान (म.प्र. ०१–००४ प ५९८५ र स ३ प १७२) र मोबाइल दुई थान (रेडमी र रियलमी) समेत बरामद गरेको जनाएको छ।पक्राउ परेका दुवैजनालाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिनिधिसभाको बैठक आज पनि जारी,सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।बैठकमा आज पनि सांसदहरूले आफ्नो धारणा राख्दै सरकारको नीति तथा कार्यक्रमबारे बोल्नेछन्।

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

काठमाडौँ, २५ वैशाखः ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ ।
रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ ।

बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वको वर्तमान विश्वमा मानवीय आदर्शलाई कायम कठिन छ । यस्तो अवस्थामा मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्वसमुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने विश्वास रेडक्रसका स्वयंसेवीहरुले व्यक्त गरेका छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २५ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु २५, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ९०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु १९०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु २४०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु ८०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ६४० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

जुम्लाको गुठीचौरमा तीन महिनादेखि विद्युत् सेवा बन्द, ४८० घरधुरी अन्धकारमा

जुम्ला, २५ वैशाख : यहाँको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिनुभयो ।

गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताउनुभयो

आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको बताउनुभयो । गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले रु तीन लाख विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने बताउनुभयो । अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उहाँको भनाइ छ ।

एडिबीको सहयोगमा महेन्द्रनगरमा अपाङ्गमैत्री पैदलमार्गसहितको १४ किलोमिटर सडक निर्माण

दोधारा चाँदनी (कञ्चनपुर), २५ वैशाखः एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा महेन्द्रनगरमा अपाङ्गमैत्री पैदलमार्गसहितको १४ किलोमिटर सडक निर्माण गरिएको छ । महेन्द्रनगर बजारका पाँचवटा गल्ली आठ मिटर चौडा गरिएका छन् । जसमा अपाङ्गमैत्री पैदलमार्ग र साइकल लेन निर्माण गरिएको छ ।

गुरुयोजनाअनुसार सहरलाई व्यवस्थित र सुन्दर बनाउन एडिबीको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारलाई आधुनिकीकरण गरेको हो । आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लगानीमा १४ किलोमिटर सडक कालोपत्र गरिएको भीमदत्त नगरपालिकाका सब–इन्जिनियर पवन लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ २२ किमी ढल निकास, बजार क्षेत्रमा चार किलोमिटर रेलिङ र ७७६ वटा लाइट तथा आठवटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन् ।

“बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौ, १४ किलोमिटर कालोपत्र सडकमा अपाङ्गमैत्री पैदलमार्ग निर्माण भएको छ”, सब–इन्जिनियर लेखकले भन्नुभयो, “बजारका विभिन्न स्थानमा सौन्दर्यका लागि पार्कसमेत निर्माण गरिएका छन् । बिजुलीका पोल र टेलिफोन तार व्यवस्थित गरिएको छ । पार्किङ व्यवस्थापन गरिएको छ ।” पहिलो चरणको काम सम्पन्न भइसकेको र समस्या देखिएका केही स्थानमा निर्माण कम्पनीले मर्मत गरिरहेको उहाँले जानकारी दिनुभयो ।

लेखकका अनुसार अब दोस्रो चरणअन्तर्गत आठ किलोमिटर सडक र दश किलोमिटर ढल निकासका लागि रु ६६ करोड बजेट स्वीकृत भएको छ । आधुनिक सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ ।

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार महेन्द्रनगर बजारको निर्माण गरेको यहाँका जानकारहरु बताउँछन । विसं २०१८ मा उहाँले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए । त्यतिबेला बेलौरीमा रहेको सदरमुकाम पनि महेन्द्रनगर सारिएको थियो ।

स्थानीय पर्यटन व्यवसायी जगदीशचन्द्र भट्ट बजारलाई थप व्यवस्थित गर्न सके यो सहर हेर्न लायक बन्ने बताउनुहुन्छ । “महेन्द्रनगर बजार आकर्षक, व्यवस्थित र सुरक्षित छ, यसले गर्दा यहाँ लगानीकर्ताहरू पनि आकर्षित भइरहेका छन्”, उहाँले भन्नुभयो, “हाल निर्माण भएको अपाङ्गतामैत्री पैदलमार्ग र साइकलन लेनले बजारको सुन्दरता थपेको छ । यसले व्यापार व्यवसायमा समेत थप टेवा पुगेको छ ।”

महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली र व्यापारिक केन्द्र भएकाले यसलाई नगरपालिकाले थप व्यवस्थित गर्नुपर्ने यहाँका व्यवसायीहरूको माग छ । “हाल आधुनिक बजार बनेको छ, यहाँ निर्माण भएका गल्लीहरू पर्यटकहरुका लागि आकर्षक छन्”, व्यवसायी कृष्णानन्द भट्टले भन्नुहुन्छ, “अब बजार क्षेत्रमा भएका पोल व्यवस्थापन गरी तारलाई भूमिगत गर्न सकिए सुन्दरता थपिने छ । सडक किनारामा हरियाली र थप लाइटिङ व्यवस्थापन गर्न सके महेन्द्रनगर बजार थप राम्रो हुनेछ ।”

स्थानीय इन्द्र साउद परम्परागत स्वरप नबिर्गिने गरी गुरुयोजनाअनुसार बजार व्यवस्थापन गरिनुपर्ने र सौन्दर्य बिगार्ने गरी बनाइने संरचना र अतिक्रमणमा कडाइका साथ प्रास्तुत हुनुपर्ने धारणा राख्नुहुन्छ ।

तत्कालीन राजा महेन्द्रले बसाएका कारण यस बजारको नाम महेन्द्रनगर नामकरण गरिएको हो । महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । पहिलोगल्ली नं एकमा मेडिकल, हार्डवेयर पसलहरू बढी छन्भने गल्ली नं २ मा बैङ्क, छापाखाना, इलेक्ट्रोनिक र किराना पसलहरू छन् । यस्तै, गल्ली नं ३ मा अधिकांश मेडिकल छन्भने केही होटल र बैङ्क पनि छन् । यसैगरी, गल्ली नं ४ मा होटल, मेडिकल र बैङ्क तथा गल्ली नं ५ मा पुस्तक पसल तथा बङ्कहरू बढी छन् ।

यहाँको मदन चोकदेखि बसपार्क मञ्चलाइनमा होटल तथा फैन्सी पसलहरू छन् । महेन्द्रनगरको गल्ली नं ५ सबैभन्दा बढी भीडभाड हुने क्षेत्र हो । यसलाई क्याम्पस रोड समेत भनिन्छ । यहाँका हरेक गल्ली विपद्का बेला सहजै दमकल र एम्बुलेन्स आवतजावत गर्न सक्नेगरी निर्माण गरिएका छ ।

यहाँ बजारको छेउमा खुलामञ्च छ, जहाँ विभिन्न कार्यक्रम र खेलकुद सञ्चालन हुन्छन् । यहाँको व्यापार–व्यवसाय प्रमुख राजमार्ग र ग्रामीण बस्तीसम्म विस्तार भएको छ । व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने महेन्द्रनगर भारतका ठूला औद्योगिक सहर नजिक रहेकाले पनि बढी महत्वको छ । एडिबीले सहर सौन्दर्दीकरणका लागि परेको सहयोगले बजारलाई थप आकर्षक र व्यवस्थित बनाउने काम भएपछि स्थानीय व्यापारी उत्साहित भएका छन् ।

स्थापनाको ६५ बर्षपछि शिर मेमोरियल अस्पतालमा सिटी स्क्यान सेवा

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको सबैभन्दा पुरानो शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा ‘सिटी स्क्यान मेसिन’बाट सेवा दिइने भएको छ । यसका लागि एक कार्यक्रमबीच अस्पताल स्थापनाको ६५ वर्षपछि १२८ स्लाइटको सिटी स्क्यान मेसिन राखिएको हो ।

उक्त मेसिन चार लाख ६० हजार अमेरिकी डलरमा खरिद गरी जडान गरिएको छ । जेनेटरसहित सिटी स्क्यान मेसिनको मूल्य नेपाली रु सात करोड ५० लाख खर्चिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टर गायरसले जानकारी दिनुभयो । 

रोटरी फाउन्डेसन, रोटरी क्लब अफ कुपन्डोल र रोटरी क्लब अफ काभ्रेपलाञ्चोकको विशेष समन्वय र सहयोगमा ग्लोबल ग्रान्ड फन्डमार्फत रोटरियन तथा विभिन्न क्लब, सङ्घसंस्था र व्यक्तिको सहयोगबाट मेसिन खरिद गरिएको उहाँले बताउनुभयो । यसअघि रोटरीमार्फत उक्त अस्पतालमा डाइलासिस मेसिन उपलब्ध गराइएको थियो । अस्पताल १५० शय्या क्षमताको हो

उक्त मेसिन सञ्चालनमा आवश्यक व्यवस्थापनका लागि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीबाट अस्पताललाई एक महिनाको पारिश्रमिकसमेत उपलब्ध गराइएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा गायरसले सिटी स्क्यान मेसिन बिरामीको उपचार सेवामा अस्पतालका लागि अत्यावश्यक तथा महत्वपूर्ण हुने र अब पैसा नहुने बिरामीलाई पनि सेवा प्रदान गरिने बताउनुभयो ।      बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले आज सिटी स्क्यान मेसिनको शुभारम्भ गर्नुभयो ।

हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो

मकवानपुर- हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरी गाउँको सडकमा गत वैशाख १९ गते बलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि आएको टोली काठमाडौँ फर्किएको छ ।भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी सङ्कलन गरी ल्याब परीक्षणका लागि काठमाडौँमा फर्किएको हो ।

टोली प्रमुख नारायण अधिकारीले उक्त स्थानवरिपरिको जमिनको अवस्था झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध देखिएकाले पानीको ल्याब परीक्षणबाट आएको ‘रिपोर्ट’ अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलास गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभयो ।

टोलीले उक्त स्थान वरिपरि खोजतलास गरिए पनि हालसम्म जिप फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार भासिएको स्थान वरिपरि आवतजावत गर्न रोकी थप मानवीय र अन्य सवारीसाधनको क्षति हुन नदिन प्रहरीले सुरक्षा घेरामा राखेको छ ।

देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौँ, २५ वैशाखः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।

वैशाख शुक्ल एकादशी: मोहिनी एकादशीको व्रत गरिँदै

काठमाडौँ, २५ वैशाख: दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गर्नुभएको बताइन्छ । सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्र गुरु वशिष्ठसँग जिज्ञासा राखेपछि यसको महत्वबारे उहाँले प्रस्ट पार्नुभएको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको छ ।

गुरु वशिष्ठले सरस्वती नदी किनारको सुमना भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतबारे प्रस्ट पार्नुभएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आजका दिन व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २५ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १५ पैसा र बिक्रीदर चार रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ११ पैसा र बिक्रीदर १४ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६३ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४३ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ २० पैसा र बिक्रीदर ३६० रुपैयाँ ७९ पैसा, ओमनी रियाल एकको खरिददर ३५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बाँकेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

नेपालगञ्ज, २४ वैशाखः बाँकेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ ।राप्तीसोनारी गाउँपालिका– १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको र मोटरसाइकल चालक एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नं को मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको बा ०१–०६ ख ३५९३ नं को बसले ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका–९ ढकेरी निवासी ३२ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

सो दुर्घटनामा मोटरसाइकल चालक ढकेरीका ३७ वर्षीय हीरासिंह ओली गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो । घाइते ओलीलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु-याएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि करिब ढेड घण्टा पूर्व–पश्चिम राजमार्गको ढकेरी खण्ड अवरुद्ध भएको थियो । स्थानीयसँग क्षतिपूर्तिका विषयमा बिहीबार छलफल गरेर टुङ्गो लगाउने सहमति गरी शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।

डिजिटल कुलतले पारेको प्रभावमा बन्यो चलचित्र ‘झिल्को’

काठमाडौँ, २४ वैशाख : गत शुक्रबारदेखि देशभर प्रदर्शनरत नेपाली चलचित्र ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिकसम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको प्रतिक्रिया प्राप्त भइरहेको अभिनेता विशाल पोखरेलले जानकारी दिनुभयो ।

“चलचित्र हेरिसक्नुभएकाले यसलाई स–परिवार हेर्नुपर्ने धारणा राख्दै केही आफ्नो परिवारनै लिएर चलचित्र भवनमा आउनुभएको पाएका छौँ । यसको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरूपयोग र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक बिखण्डनसँग जोडिएको छ । त्यसकारण यो अभिभावक र बालबालिका दुवैका लागि उपयोगी बनेको छ”, उहाँले भन्नुभयो ।

चलचित्रमा अभिनेता पोखरेलसँगै आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभिश श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र ‘झिल्को’ हेरेपछि निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याबसन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले चलचित्रमा अहिले समाजको चित्रण पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो अहिले हरेक परिवार वा घरको कथा हो । अभिभावक र शिक्षक गम्भीर बन्न नसकेको अवस्था र त्यसले विद्यार्थीमा पार्ने असर, सीप र संस्कारसँग शिक्षालाई जोड्नुपर्ने आवश्यकता चलचित्रले स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।” समग्रमा चलचित्र ‘झिल्को’ ले शैक्षिक क्षेत्र, अभिभावकत्व र प्रविधिको प्रयोगबीचको जटिल सम्बन्धमाथि गहिरो बहस गराएको चलचित्र हेरिसकेकाले प्रतिक्रिया दिएका छन् ।

यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखले समेत हेर्नुपर्ने दर्शकले विश्लेषण गरेका छन् । ‘झोला’ निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईद्वारा निर्देशित यस चलचित्रलाई मिडिया फर कल्चर प्रालिले निर्माण गरेको हो । उक्त चलचित्रमा दीपक बज्राचार्यले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, निर्देशक भट्टराईसँगै अरूणदेव जोशी र देव व्रतले कथा लेखनको काम गर्नुभएको छ ।

अध्यक्ष नेपालद्वारा समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्धता

काठमाडौँ, २४ वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा वामवन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

विभिन्न टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत तथा लोकप्रिय बनाउने कठीन एवम् लामो सङ्घर्षका क्रममा दिवङ्गत नेता नेपालको योगदानको स्मरण गर्नुभयो ।

प्रदीप नेपाल बौद्धिकता, लेखन, तिक्ष्णता र सङ्गठन क्षमताका कारण बहुआयामिक नेता भएको बताउँदै उहाँले दुःखद् निधनप्रति सिङ्गो पार्टी स्तब्ध भएको उल्लेख गर्नुभयो । नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष नेपालले शोकमा पर्नुभएका उहाँकी धर्मपत्नी झुमा देवान नेपाल र छोरी डा समीक्षा नेपालसहित शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो ।

प्रदीप नेपाल २०२६ मा विद्यार्थी राजनीतिमा संलग्न हुँदै प्रगतिशील तथा वामपन्थी आन्दोलनमा क्रियाशील भएर छोटो समयमा नै नेतृत्व क्षमताको विकास गर्दै पार्टीका विविध जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्नुभएको स्मरण गर्नुभयो ।

अध्यक्ष नेपालले साहित्यकारका रूपमा विभिन्न कृति प्रकाशित गर्दै लेखकको समेत पहिचान बनाउनुभएका दिवङ्गत नेता नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरी समाज रूपान्तरणमा गर्नुभएको योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँको शोषणरहित न्यायपूर्ण समाज निर्माणको सपनालाई पूरा गर्न र समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्ध उहाँले व्यक्त गर्नुभयो ।

आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित

कीर्तिपुर (काठमाडौँ), २४ वैशाखः सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित हुनुभएको छ । न्यु विजिनेस एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ ‘न्यु विजनेश एज समिट एण्ड अवार्डस्–२०२५’ मा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

छनोटअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशबाट चप्पल उद्यमी इन्दिरा रेग्मी, कर्णाली प्रदेशबाट ‘कर्लाणी एग्रो उद्योग’की कलशा देवी चौलागाईं, लुम्बिनी प्रदेशबाट ‘प्रेमनिशा अल्लो धागो उद्योग’की प्रेमकुमारी पुन, गण्डकी प्रदेशबाट ‘रक्षा चापागाईं स्टोर’की रजनी शर्मा चपाईं, बागमती प्रदेशबाट नुवाकोटको ‘अमात्य स्टोर’की गीता अमात्य, मधेस प्रदेशबाट पर्साको ‘मध्य नेपाल प्रेस’की कविता खड्का, साथै कोशी प्रदेशबाट ‘ग्रीन सिटी इलाम ललीपप उद्योग’की दीपा गुरुङले उत्कृष्ट महिला उद्यमीको पुरस्कार प्राप्त गर्नुभएको छ ।

यो अवार्ड उद्यमशीलतामा सक्रिय महिला उद्यमीलाई प्रोत्साहन गर्न सन् २०२१ देखि विभिन्न छ विधामा प्रदान गरिँदै आएको छ । यस वर्षको प्रविधि महिलातर्फको अवार्ड ‘जनरल टेक्नोलोजी प्राली’की सुनयना पाण्डेले प्राप्त गर्नुभएको छ ।

त्यसैगरी व्यवसायी महिलातर्फको अवार्ड ‘सिद्धार्थ आर्ट ग्यालरी’की सङ्गीता थापाले र युवा महिला व्यवसायी विधामा एबी एग्रो कि केश्मा थापाले, प्रेरणादायी महिला उद्यमीतर्फ ‘युनिक सेवा गार्मेन्टस्’की गङ्गा छन्त्यालले अवार्ड प्राप्त गर्नुभएको छ ।

‘नमुना सिलाइ’की संस्थापक ज्ञानी शोभा तुलाधरले महिला उद्यमतर्फ लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभयो । आयोजक संस्थाका अनुसार विभिन्न मापदण्डका आधारमा देशभर सक्रिय दुई हजार बढी महिला उद्यमीमध्येबाट पाँच सदस्यीय निर्णायक मण्डलमार्फत उत्कृष्ट महिला उद्यमी छानिएका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले कानुन बनाएर मात्र महिला र पुरुषबीच समानता नहुने बताउनुभयो । व्यावसायिक क्षेत्रमा लैङ्गिक समानता प्राप्त गर्नमा बाधा रहेको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्यममा महिला सहभागिता बढाउन तीन तहकै सरकारमार्फत महिला मैत्री नीति तथा व्यवस्थापन गर्न थालिएको बताउनुभयो । कार्यक्रममा महिला उद्यमका समग्र अवस्था, चुनौती र भविष्यका विषयमा छलफल गरिएको थियो ।

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

भक्तपुर, २४ वैशाख : सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ डाँडा । डाँडासँगै जोडिएका झपक्कै हरिया सामुदायिक वन । एक महिना अगाडिसम्म सानो बस्ती देखिन्थो तर अहिले जङ्गलको मुहानबाट स्थानीयले खानेपानीका लागि ल्याएका धारा, हरिया जङ्गल उराठ देखिन थालेका छन् ।

यहाँको दृश्य देख्दा त्यहाँ पुग्ने जोकोही सच्चा नेपालीको मन कटक्क खान्छ । तर एक महिनादेखि दुई दर्जन डोजरले यहाँको प्रकृति दोहोन गरिँदा नजिकैको स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सबै सरोकारवाला निकाय बेखबर झै भए । जैविक विविधता र प्रकृतिमाथि दोहोन भइरह्यो ।

यतिखेर यहाँको करिब चार सय ५० रोपनी ठारो भीर डोजरले कटान गरी उजाड बनाएको छ । निक भुजिकिक हाउजिङ प्रालिले जग्गा खण्डिकरण गरी आवास निर्माणका लागि भन्दै स्थानीय लामा बस्तीका बासिन्दासँग खरिद गरेको जग्गामा डोजर मात्रै चलाएन यहाँको प्रकृति, कुलो, सार्वजनिक बाटो, सानो लामा बस्ती, सार्वजनिक जग्गा र वन क्षेत्रसमेत मासेको छ ।

स्थानीयले गुनासो गरेसँगै भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक, नापी कार्यालय, उपत्यका विकास प्राधिकरण भक्तपुर शाखा, डिभिजन वन कार्यालय, सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख, वडा अध्यक्ष र पत्रकारको टोलीसहित स्थलगत अनुगमन गरेको छ ।

प्रजिअ अर्यालले भन्नुभयो, “यहाँ प्रक्रिया पूरा गरेर काम गरेको देखिएन, सम्बन्धित निकायसँग अनुमति नलइ नआधिकृत रूपमा डोजर चलाएको पाइयो । त्यसैले सार्वजनिक जग्गा, वन क्षेत्र कति अतिक्रमण भएका छन्, सबैको आधिकारिक प्रतिवेदन तयार पार्नेछौँ । गैरकानुनी भए हामी कारबाही गर्छौँ । प्रक्रिया पूरा गरेर नआएसम्मका लागि आजैदेखि यहाँ डोजर चलाउन र काम गर्न रोक्न निर्देशन गर्नेछु ।”

यस क्षेत्रमा समस्या अइसकेपछि यहाँका विषयतगत कार्यालयसँग छलफल गरी यथार्थ विवरण लिने र कम्पनीलाई बोलाएर सोधपुछ गर्ने बताउँदै उहाँले सार्वजनिक जग्गा र वन क्षेत्र छुट्याएर सम्पूर्ण प्रक्रिया पूरा गरेर नआएसम्मका लागि कुनै पनि काम नगर्न कम्पनीका नाममा आजै लिखित पत्राचार गर्ने उहाँले बताउनुभयो ।

स्थानीयले साविक नंखेल गाविस वडा नं–४ ‘क’ र ‘ख’ मा पर्ने उक्त क्षेत्रमा प्लटिङका नाममा जङ्गल क्षेत्र, खानेपानीको मूल, पाटी, कुलो, बाटो, पाइपलाइन, खोलालगायत संरचना मासिएको र जोखिममा रहेका ६ घर लामा टोलका घरहरू भत्काएर बस्ती सारिएको छ । सुनपा–९ का वडाध्यक्ष भगवान् खत्रीले जग्गा प्लटिङ कम्पनीले दुई महिना अगाडि सार्वजनिक सुनुवाइ गर्दा यहाँका स्थानीयवासी, चार वटा गुठीसमेतको सहमति भएपछि मात्रै वडा कार्यालयले सूर्यविनायक नगरपालिकालाई सिफारिस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि म आउँदा सार्वजनिक जग्गा र वन क्षेत्र मिचिएको थिएन, तर अहिले आउँदा १२ रोपनी सार्वजनिक जग्गा र १९ रोपनी वन क्षेत्र मिचिएको पाइयो ।”

अनुगमन टोलीमै रहनुभएका सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगपालिकाले उपत्यका विकास प्राधिकरणलाई सिफारिसम्म दिने बताउँदै यसलाई स्वीकृत दिने निकाय नगरपालिका नभइ प्राधिकरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा जग्गा सम्याउने भनेर कम्पनीको तर्फबाट निवेदन आएको थियो । नगरपालिकाले अनुमति दिइसकेको छैन । साइड क्लिरियन्सको नाममा स्वीकृत नै नलिइ धेरै काम भइसके छ । यहाँको बस्ती नै हटेछ, हामी पनि छक्क परेका छौँ । अब थप काम अगाडि बढाउन पाइँदैन ।”

काठमाडौँ उपत्यका विकास प्राधिकरण भक्तपुर शाखाका प्रमुख सफल श्रेष्ठले ५० रोपनीभन्दा माथिको जग्गा प्लानिङका लागि प्राधिकरणको केन्द्रीय कार्यालयसँग अनुमति लिनुपर्ने भएकाले यसबारेमा जिल्ला कार्यालयलाई कुनै जानकारी नभएको बताउनुभयो । डिभिजन वन कार्यालयका कर्मचारी दिनेश थापामगरले नापी कार्यालयको टोली बोलाएर वन क्षेत्र छुट्याएर किला ठोके पनि करिब १९ रोपनी वन क्षेत्रफलमा डोजर चलाएको बताउँदै यहाँको सल्लाको रूख कटान भएको बताउनुभयो ।

काँक्रबारी भित्री सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण तामाङले सामुदायिक वनको करिब १९ रोपनी क्षेत्रफलमा रहेको बुट्यान र सल्लाका रूख कटान भएको बताउँदै यहाँबाट गढी जाने पदमार्ग, घाँस दाउरा गर्न जाने बाटोे, कुलो र पानीको पाइप मासिएको बताउनुभयो । नापी कार्यालयका सर्वेक्षक राजीव श्रेष्ठले नापी कार्यालय सिमाङ्कनसम्म गरिदिने बताउँदै भूउपयोग नियमावली बमोजिम कित्ताकाट गरेर राजीनामा लिखित गरी मालपोतबाट आएपछि मात्रै नापीले काम गर्ने बताउनुभयो ।

सङ्घर्ष समिति अध्यक्ष स्थानीयले प्रेमबहादुर तामाङ, उपाध्यक्ष एकराज तामाङ, सचिव सुनिल तामाङ डोङलगायतले एक महिनासम्म डोजर चलेर प्रकृति विनाश भइरहँदा पनि सरोकारवाला मौन बस्नुको रहस्य खोज्नुपर्ने बताउनुभयो । समितिका अध्यक्ष तामाङले यहाँका करिब ६० घरधुरीले प्रयोग गर्दै आएको खानेपानी बन्द भएको, २० रोपनीभन्दा बढी वन तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको बताउनुभयो ।

हाउजिङ कम्पनीका अध्यक्ष पूर्णबहादुर लिम्बूले भने कम्पनीमाथि लागेको आरोप निराधार भएको दाबी गर्नुभयो । उहाँले प्रेस विज्ञप्ति नै जारी गर्दै वडा कार्यालयबाट सिफारिस प्राप्त भई नगरपालिकामा फाइल पेस गरी नगरपालिकाबाट निर्णयको अन्तिम चरणमा रहेको, आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया पूरा गरी सम्बन्धित सरकारी निकायबाट स्वीकृति प्राप्त गरिसकिएको दाबी गर्नुभयो ।

माटोको गुणस्तर परीक्षण गरिएको, खहरे खोल्सीहरूको हकमा पानीको बहावमापन तयार गरिएको, आयोजना क्षेत्रभित्र पर्ने सरकारी जग्गा, गोरेटो, कुलो खोल्सीको हकमा उपत्यका विकास प्राधिकरणको नियमअनुसार नै सार्वजनिक सम्पत्तिको संरक्षण गरिने, प्राधिकरणबाट निर्णय प्रक्रियाको चरणमा रहेको बताउनुभयो । कम्पनीले पहिलो चरणमा करिब रू एक अर्ब लगानीमा चार सय रोपनी क्षेत्रमा प्लटिङ आयोजना सञ्चालनमा रहेको बताइएको छ ।

क्यान्सर औषधि आयातमा अनियमितता, लिबियामा मन्त्रीसहित पाँच जना पक्राउ

लिबियाका स्वास्थ्य मन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशङ्कामा पक्राउ गरिएको छ । त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएनयु) अन्तर्गतका यी अधिकारीहरूलाई कानूनी, आर्थिक र प्राविधिक प्रक्रियाहरूको पालना नगरी औषधि आयात गरेको अभियोग लागेको हो ।

लिबियाको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार, औषधि खरिदका लागि आवश्यक सरकारी प्रक्रिया नअपनाई सार्वजनिक ठेक्कासम्बन्धी नियम उल्लङ्घन गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रधानमन्त्री अब्दुलहामिद डेबाइबहको कार्यालयले केही समयअघि मन्त्री बुजेनाहसहित चार अधिकारीलाई निलम्बन गर्नुभएको थियो । हाल मन्त्रालयका पूर्व उपसचिव मोहम्मद अल–घोज कार्यवाहक स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त हुनुभएको छ ।

क्यान्सर उपचारका लागि राज्य अनुदानित औषधिको पहुँच सीमित रहँदा र निजी उपचार महँगो हुँदा यो भ्रष्टाचारसम्बन्धी घटना प्रति जनतामा गम्भीर चिन्ता देखिएको छ । सार्वजनिक अस्पताल र विशेषज्ञ केन्द्रहरू प्रायः विदेशी कम्पनीहरूबाट आयातित औषधिमा निर्भर छन् ।

बुजेनाह सन् २०२२ को जनवरीमा मन्त्री नियुक्त हुनुभएका थिए, जब उहाँका पूर्ववर्ती अली जेनेटीलाई पनि यस्तै अनियमितता प्रकरणमा बर्खास्त गरिएको थियो । डेबाइबहको नेतृत्वमा यो चौथो पटक मन्त्रीहरू भ्रष्टाचार प्रकरणमा तानिएका हुन् । यसअघि शिक्षा मन्त्रीलाई पाठ्यपुस्तक अभावसम्बन्धी घोटालामा तीन वर्षको जेल सजाय सुनाइएको थियो भने २०२१ मा संस्कृति मन्त्रीसमेत भ्रष्टाचार आरोपमा निलम्बनमा परेका थिए ।

सरकारले सार्वजनिक स्रोतमा पारदर्शिता र जवाफदेहिताका लागि प्रतिबद्धता जनाउँदै यस्ता घटनाहरूको निष्पक्ष छानबिन जारी राख्ने बताएको छ ।

गण्डकी कोटिहोममा भक्तजनको घुँइचो, एक सय बढीको सामूहिक व्रतबन्ध

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ । हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध ९उपनयन० संस्कारलाई पुरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध गराएका हुन् । सामूहिक व्रतबन्धमा देशभरका विभिन्न जिल्ला बाट एक सय जना बढीले सामूहिक व्रतबन्ध गरेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोम नेपालकै तिर्थस्थलको रूपमा रहेकोले पनि आफ्ना सन्तानको व्रतबन्ध गर्न कोटिहोम स्थल रोजेको अभिभावकको भनाई थियो।

व्रतबन्ध कार्यक्रम दक्ष पण्डित गुरुजनको निर्देशनमा विधिपूर्वक गरिएको थियो । कार्यक्रमको विशेषता स्वरूप प्रत्येक बालकलाई यज्ञोपवीत धारण गराइ शास्त्रोक्त विधिबाट संस्कार गरी संस्कार पश्चात् बालकहरूलाई ब्राह्मणका तीन ऋण—देवगण, ऋषिगण, र पितृगण—को जानकारी दिएको सम्पूर्ण कर्मकाण्डका व्यवस्थापक पं।चूडामणि पाण्डेले जानकारी दिए । यस अवसरमा ग्रहशान्ति, वेद पाठ, मन्त्रोच्चारण, र विशेष हवनको समेत गरिएको थियो ।

सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक महत्त्व त छँदै छ, साथै समय, खर्च र व्यवस्थापनमा पनि सहजीकरण भएको आफन्तको बुझाइ छ । यस अघि दर्जनौँ बालकहरूको व्रतबन्ध भइसकेको छ ।

धेरै अभिभावकहरूले महायज्ञको पावन अवसरलाई उपयोग गर्दै आफ्ना सन्तानको व्रतबन्ध गराउने तयारी गरिरहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए।

कोटिहोममा ४ वेद, १८ पुराण र १०८ श्रीमद्भगवत पाठ पारायणको श्रवण, हवन, पार्थिव शिवलिड्ड पूजा, रुद्राभिषेक, तुला दान, शुभ विवाह, भूमि पूजन, व्रतबन्ध, चौरासी पूजन लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।

कोटिहोममा देशभर बाट ४ सय बढी ब्राह्मण जम्मा भएर दैनिक दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित सतकुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौं, तिल, घिउ आदि हवन सामग्री दान गरी सेवा गर्ने पावन अवसरलाई सदुपयोग गर्न भक्तजनहरूमा आयोजकले निमन्त्रणा गरेको छ ।

यो पुण्य कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले आग्रह गरेका छन् ।‘यो हवन कार्य ४२ दिन सम्म निरन्तर चल्ने छ’ उनले भने, ‘हवनमा चाहिने सामग्री ल्याई आफूलाई पनि यो हवन कार्यमा सहभागिता जनाउने अवसर नगुमाउनुहोस् ।’भक्तजनले हवन कार्यमा आ–आफ्नो घर वा क्षेत्रमा उपलब्ध हुने सक्ने घ्यु, तिल, जौ, तेल, सवौंषधी, खुदो, पीपल, वर, आँप, समी, डुम्री, तीतेपाती, खयर, साल, बयर, गिँदर, बेल, साल सल्ला, देवदारु रुदिलो, श्रीखण्ड र सुगन्धित द्रव्यलगायत हवनमा प्रयोग गरिने विशेष जडीबुटीहरू तथा अन्य दाउराहरू ल्याएर सहयोग गर्न सकिने आयोजकले जनाएको छ । यही वैशाख १९ गते सुरु भएको हवन जेठ २६ गते सम्म चल्ने छ ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका छन् ।

हवन कुण्डको मुल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनिराम भण्डारी र आमा जानका भण्डारी रहेका छन् भने अरू मण्डपमा ३÷३ जना ब्राह्मणले नृत्य हवन गरिरहेका छन् ।

कोटिहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं। दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ । कोटिहोममा संघिय तथा प्रदेश सांसद जनप्रतिनिधि, राजनितिकदलका नेता, सञ्चारकर्मीको उपस्थिति दिनउ बढ्दै गएको छ ।

‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’ : अभिनेत्री कोइराला

काठमाडौँ, २४ वैशाखः अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताउनुभएको छ । चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उहाँले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक विधाको तारिफ गर्नुभयो ।

“मलाई गर्व लाग्छ की हामीले पछिल्लो समय एकपछि अर्को राम्रो चलचित्र बनाएका छौँ । यी चलचित्रले नेपालको कुनै एक कालखण्डको दस्तावेजसँगै साहित्य र चलचित्रलाई एक आपसमा जोडेको छ । कलाकारको काम प्रसंशायोग्य छ”, उहाँले भन्नुभयो, “यसको छायाङ्कन, पाश्र्वसङ्गीत, निर्देशन हेर्दा हामी विश्वका चलचित्र भन्दा कमजोर छैनाँै भन्ने लाग्छ ।”

साहित्यकार इन्द्रबहादुर राईको कथालाई चलचित्रमा न्यायपूर्ण तरिकाले प्रस्तुत गरेको अभिनेत्री कोइरालाले बताउनुभयो ।

निर्देशक फुर्वाछिरिङ लामाले कथा पढेकालाई चलचित्र हेर्दा नबिझाउने किसिमले निर्माण गरिएको गरिएको बताउनुभयो । “मैले यसलाई चार वर्ष लगाएर तयार गरेको हुँ । सबैले रुचाएको कथालाई चलचित्रमा प्रस्तुत गर्न मैले सक्दो कोसिस गरेको छु”, निर्देशक लामाले भन्नुभयो ।

चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही, अभिनेत्री गिताञ्जली थापा केन्द्रीय भूमिकामा हुनुहुन्छ । अभिनेता शाहीले आफूले प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल प्राप्त भएको आभास भएको बताउनुभयो ।

“मैले कलाकारिताको यात्रामा यस्तो मेहनत कुनै चलचित्रमा गरेको थिइँन । किनकि यो सबैको प्रिय कथा थियो र त्यो पात्रलाई पाठकले ‘इम्याजिन’ गर्नुभएकै रुपमा प्रस्तुत गर्नुथियो । अर्को तर्फ म अभिनेता मल्लसँग काम गर्दै थिएँ, जो अभिनयमा अब्बल हुनुहुन्छ”, उहाँले भन्नुभयो ।दुईसय वर्षअघिको नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित उक्त चलचित्र यही वैशाख २६ देखि नेपालभर प्रदर्शन हुँदैछ ।

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

महेन्द्रनगर (धनुषा), २४ वैशाखः भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् ।

पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिनुभयो ।

धनुषाको जटही सीमा क्षेत्रमा खटिनुभएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भन्नुभयो, “हामीले सुरक्षा सतर्कता बढाएका छौँ । भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ ।”

विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उहाँको भनाइ छ । स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन् । सिमाना आसपासका बजार पनि प्रभावित भएको छ । सीमावर्ती सुरक्षाकर्मी र प्रशासनले स्थानीयवासीलाई संयमता अपनाउन आग्रह गरेको धनुषा प्रहरी प्रमुख नरहरि रेग्मीले बताउनुभयो ।

तालिम प्राप्त कुकुरद्वारा चेकजाँच

त्यसैगरी छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर रुपन्देहीका सीमामा पनि निगरानी बढाइएको छ ।
जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवान्पुरलगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ ।

सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको हो ।

‘डेजी’ र ‘साया’ तालिम प्राप्त कुकुर हुन् । तीन महिनाको हुँदा भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातिको ‘डेजी’ ले हातहतियार तथा विष्फोटक पदार्थका सामग्री सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसपी)सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रुपमा गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो ।

यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरुले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको थापाले बताउनुभयो ।

सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने र निगरानी एवं जाँच तथा सुक्ष्म रुपमा खबर सङ्कलन गरिराखेको उहाँले बताउनुभयो ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेगरी वारपार गर्नेलाई कडा निगरानी गरिएको हो ।