`

नेपालमा भ्रष्टाचार गरेर विदेशमा सम्पत्ति जम्मा गर्ने प्रवृत्ति अत्यधिक बढ्यो : आयुक्त राई

काठमाडौँ, २४ वैशाख : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा भ्रष्टाचार गरेर विदेशमा सम्पत्ति जम्मा गर्ने प्रवृत्ति अत्यधिक बढेको बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ माथिको छलफलका क्रममा प्रमुख आयुक्त राईले भ्रष्टाचारजन्य गैरकानुनी क्रियाकलापबाट पुँजी पलायन बढेको बताउनुभयो ।

“भ्रष्टाचारको अन्तरराष्ट्रियकरण हुन थालेको छ । यसको जरो विदेशसम्म पुगेको छ । यहाँ भ्रष्टाचार गरेर आफ्ना छोराछोरी आफन्तलाई विदेशमा पैसा पठाएर त्यहाँबाट रेमिट्यान्सका रूपमा त्यो रकम नेपाल आइरहेको हुनसक्छ”, उहाँले भन्नुभयो । नेपालमा भ्रष्टाचार गरेको रकम विदेशमा पठाएको थाहा पाएर अख्तियारले संयुक्त अरब इमिरेटस्, सिङ्गापुरलगायत देशमा गएको पैसा फिर्ता ल्याउन प्रयास गरे पनि द्विपक्षीय सम्झौता नभएका कारण त्यो सम्भव नरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

“द्विपक्षीय सम्झौता हुन नसक्दा भ्रष्टाचारको पैसा विदेशबाट फर्काउन सकिएको छैन । सिङ्गापुरले त्यस्तो पैसा फर्काउने प्रतिबद्धतासमेत जनाएको छ । तर हामीले त्यस्तो खालको सम्झौता उसँग गरेका रहेनछौँ”, प्रमुख आयुक्त राईले भन्नुभयो, “सुनकाण्डबारे बुझ्न एउटा टोली हङकङ गएको थियो । त्यहाँ पनि दुईपक्षीय सम्झौता नभएकै कारण उक्त टोली घुमघाम मात्रै गरेर फर्कियो ।”

त्यस्तै, नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अनुसन्धानका लागि अमेरिकाले सहयोग नगरेको खुसाला पनि उहाँले गर्नुभयो । त्यस्तै, समितिको आजको बैठकमा सांसदहरूले अख्तियारले ठूला भष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको, राजनीतिक रूपमा पक्षपाती भएर निर्णय लिने गरेको, शक्तिशालीहरूको प्रभाव त्यहाँ रहेकालगायत विषय उठाएका थिए । जवाफमा प्रमुख आयुक्त राईले अख्तियार कसैको दबाब र प्रभावमा नपरेको दाबी गर्नुभयो । “विगतमा के हुने गरेको थियो मलाई थाहा छैन । तर मेरो कार्यकालमा कसैले पनि माथिबाट दबाब दिएको छैन”, उहाँले भन्नुभयो ।

त्यस्तै, भ्रष्टाचारका प्रकरणमा राजनीतिज्ञ उम्कने तर कर्मचारी मात्रै पर्ने गरेको सांसदहरूको भनाइमा पनि प्रमुख आयुक्त राईले विमती जनाउनुभयो । “अख्तियारमा ठूला माछा परेनन्, साना माछा मात्रै परे भन्ने सुनिन्छ । निर्णय गर्नका लागि दबाब दिने राजनीतिक नेतृत्व उम्कने तर कर्मचारीलाई बलिको बोको बनाउने गरेको आम बुझाइ छ”, प्रमुख आयुक्त राईले भन्नुभयो, “तर कर्मचारीले कसको निर्देशनमा गैरकानुनी काम गरेको भनेर नाम लिँदैनन् । बरू आफै स्वीकार्छन् र राजनीतिक नेतृत्वको नाम नलिँदा प्रमाण पुग्दैन ।”

यसवर्ष २९ हजारभन्दा बढीको सङ्ख्यामा उजुरी आइसकेको पनि राईको भनाइ छ । त्यस्तै, अख्तियारले बेनामे उजुरी लिन छाड्ने हो भने उजुरीको सङ्ख्या निकै कम हुने उहाँको तर्क छ । त्यस्तै, अख्तियारमा प्रशासनका कर्मचारी र प्रहरीहरू आउन रूचाउने गरेको तर प्राविधिक कर्मचारीलाई टिकाउनै गाह्रो रहेको पनि उहाँको भनाइ छ ।

जनतालाई अनावश्यकरूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री

ललितपुर, २४ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताउनुभएको छ ।‘लोकान्तर डटकम’ को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिनुभएको हो ।

मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरूमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही फेसबुक र युट्युब र आँखामा कालो पट्टी बाँधेर हेर्ने दृष्टिकोण भएकाहरूका कारण निराशा छ, भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।”

विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्त्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरूलाई निराश होइन, हामी आफँैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गर्नुभयो ।

“यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् । यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्त्वहरू छटपटाएका छन् । उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरू यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन् ।”

प्रधानमन्त्री ओलीको भनाइ थियो, “अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेका छन् । आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने भन्न पछि पर्दैनन् । यस्तो खालको असहिष्णुता र सङ्कीर्णता बोक्नेहरूले लोकतन्त्र पचाउन नसकेका हुन् । यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन, त्यसैगरी आशावादीता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन ।”

अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल

काठमाडौँ, २४ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी दिनमा राजनीतिको नेतृत्व नयाँ पुस्ता अर्थात् युवाले गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रज्ञा प्रतिष्ठानमा परिवर्तन अभियान नेपालले आज आयोजना गरेको ‘सामाजिक रूपान्तरणमा विद्यार्र्थी आन्दोलनको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री पौडेलले राजनीतिक परिवर्तनमा विद्यार्थी र युवाको भूमिका महत्त्वपूर्ण रहेकाले आगामी दिनमा पनि युवाले नै नेतृत्व लिने बताउनुभयो ।

“अब राजनीतिलाई पछिल्लो पुस्ताले नै बढाउने हो । केही समय लाग्न सक्छ, अफ्ठ्यारा हुनसक्छन् । यद्यपि आउँदो समयमा नेतृत्व लिन युवाले आफूलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ । तर, म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन । आफूलाई लायक बनाउनुपर्छ”, मन्त्री पौडेलले भन्नुभयो ।

पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै उहाँले आफ्नो क्षमता विस्तार गरेर युवाले नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिलाई सम्मानसमेत गरिएको उक्त कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले दलले गर्ने गलत कार्यमा विद्यार्थीले खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो । “अब मातृ पार्टीले केही गलत गरे खबरदारी गर्न डराउनु हुँदैन, खबरदारी गर्ने कसले हो ? तपाईंले होइन ? नभए विस्तारै युवाको विश्वास आफ्नै पुस्तासँग पनि गुम्दै जान्छ, त्यसैले आफ्नो कुरा भन्न हिच्किचाउनु हुँदैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे, नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया लगायतले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीको भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रम आयोजक संस्था परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिकाबारे चर्चा गर्दा त्यसलाई भुल्न नहुने बताउनुभयो । “हामीले हरेक आन्दोलनलाई केलाएर हेर्ने हो भने विद्यार्थी आन्दोलनको भूमिका महत्त्वपूर्ण थियो, छ र हुनेछ । देशको केन्द्रीय राजनीतिलाई विद्यार्थी राजनीतिले नै निर्देश गरेको देखिन्छ, त्यसकारण विद्यार्थीको भूमिकालाई नजरअन्दाज गर्नु गल्ती हुनेछ”, उहाँले भन्नुभयो ।

विपद् जोखिम न्यूनीकरणको लागि स्थानिय तहसँग सहकार्य गर्ने सरकारको तयारी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले तातो हावाको लहर ‘लु’ बाट बच्ने उपायका सन्देश पाँच वटा भाषामा तयार गरिने बताएका छन् ।

बुधवार सिंहदरबारमा आयोजित विपद् संवाद कार्यक्रममा बोल्दै उनले ‘लु’ बाट बच्ने सन्देश मूलक सामाग्रीहरुलाई छिटै पाँच वटा भाषामा अनुवाद गरिने बताएका हुन् । उनले भने, ‘अहिले पानी परिरहे पनि केही दिन पछि तातो हावाको लहर ‘लु’ को कुरा आउछ, त्यो आउदै गर्दा हाम्रा केही सामाग्री संन्देशहरु छन् । हामी त्यसलाई पाँच वटा भाषामा अनुवाद गर्दैछौ । हामी छिटै सन्देश मूलक सामाग्रीहरुको लाइब्रेरी बनाउने र त्यसमा सबै सामाग्री हुनेछन् ।’

उनले अन्य विपद्बाट बच्ने सन्देश मूलक सामाग्री बनाइने जानकारी दिदै यस क्षेत्रमा स्थानीय तहले सहयोग गर्नुपर्ने पनि बताए ।
यस्तै, कार्यक्रममा सह सचिव ई. अजूर्न कुमार बमले हरेक संस्थाले आफ्नो कार्यक्षेत्र छुट्टाएर काम गर्नुपर्ने बताए । उनले ‘लु’ लाग्ने समयमा संस्थाहरुले आफ्नो कार्यक्षेत्र तोकेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सूचना दिदा स्थानीय तहसँग सहकार्य गर्न सहज हुने पनि बताए ।

सरकार परिवर्तनको सम्भावना छैन, कांग्रेसबाट गठबन्धनमा धोका हुँदैन : कृष्णप्रसाद सिटौला

रामेछाप । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्नेपाली कांग्रेस रामेछापको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई बुधबार रामेछापमा सम्बोधन गर्दै सिटौलाले बाहिर हल्ला भए जस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए । ‘बाहिर आएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा कांग्रेसको ध्यान गएको छैन, हाम्रो तर्फबाट गठबन्धनमा कुनै धोका हुँदैन’, उनले भने ।

दुईवटा पार्टीको सरकार भएको कारण सानातिना कुरामा कहिले काहीँ समस्या हुने कुरा भने सामान्य भएको सिटौलाले बताए । ‘दुईवटा पार्टीको सरकार रहेकाले अलि अलि समस्या त हुन्छ नै, त्यसलाई शीर्ष नेताहरू बसेर मिलाउँदै जानुहुन्छ, मिल्छ’, उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक पटक धोका दिएको कारण कांग्रेस र एमालेको सरकार बनेको उनले स्पष्ट पारे । त्यसैले कांग्रेसका कारण अहिलेको गठबन्धन सरकारमा कुनै समस्या नहुने सिटौलाले बताए । ‘हामी सानोतिनो समस्याबाट अहिलेको सत्ता गठबन्धनबाट भाग्नेवाला छैनौँ’, सिटौलाले भने ।

सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए । त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ। सिटौलाले पार्टी सदस्यताको नवीकरण र वितरणको लागि पार्टीमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । पदमा रहेकाले मात्र सदस्यता वितरण गर्ने भन्दा पनि सामूहिक प्रयासबाट सो काम हुनु पर्ने उनको धारणा छ ।

सिटौलाले यतिबाट कांग्रेस पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । ‘हाम्रो एकताले नै अरूलाई पनि राष्ट्रिय एकतामा ल्याउन सकिन्छ, अब शैलीका साथ पार्टीको संगठनमा जुट्नु पर्ने बेला भएको छ’, उनले भने । २०४६ को परिवर्तन पछि मुलुकमा धेरै कुरामा विकास भएको बताउँदै सिटौलाले केही भएको छैन भन्ने कुरा स्वीकार गर्न नसकिने बताए । यस बिचमा पूर्वाधार निर्माणमा देशले उल्लेख्य प्रगति गरेको उनले सुनाए ।

नेपाली कांग्रेस रामेछाप नगर समितिका सभापति कमलविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, कार्यवाहक जिल्ला सभापति लेखबहादुर कार्की, निवर्तमान जिल्ला सभापति लबश्री न्यौपाने, महासमिति सदस्य रत्न कार्की, जिल्ला सचिव दीपक खड्का, प्रवक्ता कुमार श्रेष्ठ, प्रदेश सभापति राजेश श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की लगायतले समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए ।

काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

काभ्रेपलाञ्चोक, २४ वैशाखः यहाँको धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ ।

स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो ।

यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका–३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिङ्ग्या शरणार्थीले टहरा बनाएर बसेका थिए । एक सय ४० जना शरणार्थी बस्नेगरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरु उक्त ठाउँ छाडेर लसुनटार फर्किएका थिए ।

काठमाडाँैको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् । ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ ।

कोशी प्रदेश सरकारले नागरिकका नाममा लगानी गर्ने

मोरङ, २४ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत् परियोजनामा नागरिकका नाममा लगानी गर्ने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागद्वारा आज यहाँ आयोजित प्रदेशको ‘समृद्धिका लागि जलस्रोत एवं ऊर्जा’ विषयक कार्यशाला गोष्ठीमा उहाँले प्रदेश सरकारले नीति एवं कानुन निर्माण गरी कोषमार्फत यस क्षेत्रका गरिबीका रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेश सरकार यस क्षेत्रका जनतालाई धनी बनाउने र ठूलठूला परियोजनामा नागरिकलाई प्रत्यक्ष सहभागी बनाउने काम गरिरहेको छ ।”

उहाँले सुनसरी, मोरङ, झापा र इलामको दक्षिण क्षेत्रको महत्त्वपूर्ण योजना ‘तमोर चिसाङ डाइभर्सन’ रहेको र यसमार्फत यहाँका नागरिकले विद्युत्, खानेपानी, सिँचाइ प्राप्त गर्नुकासाथै पर्यटक आवागमन वृद्धि हुने भएकाले निर्माण चाँडै अगाडि बढाउने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकको समृद्धिको मुख्य आधार रहेको जलविद्युत् परियोजनाका निर्माणका लागि बाटो निर्माण, जग्गा प्राप्तिलगायतका कार्यमा स्थानीय तह, राजनीतिक दलहरुले सहजीकरण गर्न आग्रह गर्नुभयो ।

प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले चैते धान उत्पादन वृद्धिका लागि सिँचाइको प्रबन्ध गरिरहेको बताउनुभयो । उहाँले सिँचाइका लागि प्रदेश सरकारले मोरङ, सुनसरी, झापा र इलाममा ८०० स्यालो ट्युबवेल वितरणको योजना रहेको जानकारी दिनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशमा निर्माण हुने जलविद्युत् परियोजना छिटो सम्पन्न गर्न पार्टीले सहजीकरण गरिरहेको जानकारी दिनुभयो ।

पार्टीका ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग प्रमुख मोहनकुमार डाँगी, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जलस्रोतको विकासले मुलुकमा समृद्धि र रोजगार सिर्जना हुने धारणा राख्नुभयो ।

कार्यक्रममा विभाग प्रमुख डाँगीले कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत र ऊर्जा, विभागका सचिव पुष्पज्योति ढुङ्गानाले जलविद्युत् उत्पादनमा प्रदेश सरकारको सहजीकरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।प्रस्तुत कार्यपत्रअनुसार कोशी प्रदेशमा विभिन्न ४१ वटा निर्माणाधिन जलविद्युत् परियोजनाबाट दुई हजार ३६५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

रोजगारीलाई सिपसँग जोड्न सके आन्तरिक रोजगार प्रवर्द्धन :मन्त्री भण्डारी

काठमाडौँ, २४ वैशाखः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बजारको मागअनुसार सिपयुक्त जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

आज यहाँ नेपाल ट्रेड युनियन कांग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनद्वारा संयुक्तरुपमा ललितपुरमा आयोजित ‘औद्योगिकसम्बन्ध र श्रमनीतिसम्बन्धी’ गोष्ठीमा उहाँले रोजगारीलाई सिपसँग जोडन सके आन्तरिक रोजगार प्रवर्द्धन हुने बताउनुभयो ।

मन्त्री भण्डारीले बजारको माग अनुसार सिपयुक्त जनशक्ति तयार गर्ने मन्त्रालयको प्रयाससँगै निजी क्षेत्रको अग्रसरताबारे चर्चा गर्नुभयो । । उहाँले श्रम क्षेत्रमा देखिएको चुनौतीसँग मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बजारको माग अनुसार सिपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषय सिपयुक्त श्रमशक्ति हो ।”

सरकारसँगै टे«ड युनियन र निजी क्षेत्रले सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनलगायतका विषयमा सहमतिका साथ अघि बढ्न उहाँले आह्वान गर्नुभयो । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक ऐन, कानुन संशोधन गरिने जानकारी दिनुभयो ।

“सरकारले ल्याएको यस नीति औपचारिक र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकको हकमा लागू हुनेछ । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो ।

नेता नेपालको निधनले एमाले अत्यन्त दुःखित

काठमाडौँ, २४ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता प्रदीप नेपालको निधनले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रका लागि अपुरणीय क्षति भएको जनाएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गरी नेता नेपालको निधनबाट पार्टी अत्यन्त दुःखित भएको बताउनुभयो । उहाँले स्वर्गीय नेता नेपालका असल गुणहरु, योगदान र आदर्शबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्पसमेत पार्टीले लिएको बताउनुभएको छ ।

केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा मङ्गलबार साँझ निधन भएको थियो । “युवा पुस्तामाझ एकदमै लोकप्रिय कमरेड प्रदीप नेपाल धेरै कार्यकर्ताहरुका निम्ति ऊर्जा र प्रेरणाको स्रोत हुनुहुन्थ्यो”, महासचिव पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण, लोकतान्त्रिक र लोकप्रिय धारको अगुवाका रुपमा स्थापित गर्न र जनताको बहुदलीय जनवादको विकास र कार्यान्वयनमा महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।”

सिर्जनात्मकता, अथक क्रियाशीलता र ऊर्जा कमरेड प्रदीप नेपालको व्यक्तित्वका विशेषताहरु रहेको उल्लेख गर्दै मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्षका रुपमा उहाँले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितका विचार, आदर्शलाई स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको महासचिव पोखरेलले बताउनुभएको छ ।

महासचिव पोखरेलले पटकपटक संसद् सदस्यका रुपमा जनप्रतिनिधिको भूमिकामा रहनुभएका प्रदीप नेपालले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोतलगायत विभिन्न मन्त्रालयको कुशल नेतृत्व गरेको उल्लेख गर्नुभएको छ ।

विसं २०१० पुस २८ मा भोजपुर गोगनेमा जन्मिनुभएका प्रदीप नेपाल त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दैगर्दा स्वतःस्फूर्त रुपमा विद्यार्थी आन्दोलनमा सहभागी हुँदै हिरासत र जेलजीवनको सामना गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

झण्डै १४ वर्ष लामो भूमिगत जीवनमा नेता नेपालले लुम्बिनी, मेची, प्रवास र काठमाडौँको पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका र अस्वस्थताका कारण सक्रिय सङ्गठनात्मक जीवनबाट विश्राम लिनुअघि उहाँ एमाले स्थायी कमिटीको सदस्य र पार्टी प्रवक्तासमेत रहनुभएको थियो ।

सञ्जय थापाका नाममा सिर्जनात्मक लेखनमा संलग्न उहाँ प्रगतिवादी साहित्यिक आन्दोलनका अत्यन्त लोकप्रिय र प्रेरणादायी स्रष्टा रहनुभएको महासचिव पोखरेलले बताउनुभएको छ ।

साना विमानस्थलमा भएको इजरायली आक्रमणबाट ५० करोड अमेरिकी डलरको क्षति

यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको आक्रमणले टर्मिनल भवनहरु ध्वस्त हुनुका साथै ५० करोड अमेरिकी डलरबराबरको क्षति भएको विमानस्थलका महानिर्देशकलाई उद्धृत गरी हुथी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

इजरायली आक्रमणमा ‘गम्भीर क्षति’ भएपछि विमानस्थलले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगन गरेको निर्देशक खालिद अल शैफले बताउनुभएको छ । आइतबार तेल अभिभको बेन गुरियन विमानस्थल नजिकै हुथी क्षेप्यास्त्र प्रहार भएको बदलामा इजरायलले सानास्थित विमानस्थलमा आक्रमण गरेको थियो ।

“साना विमानस्थलमा इजरायली आक्रमणका कारण करिब ५० करोड अमेरिकी डलरको क्षति भएको छ,” विमानस्थलका महानिर्देशक खालिद अल शैफले यमनी विद्रोही निकट मानिने अल–मसिराह टेलिभिजनसँग बताउनुभयो ।

“शत्रुले साना विमानस्थलका टर्मिनलहरू ध्वस्त पारिदिएको छ, जसमा सबै उपकरण र सामग्रीहरू समावेश छन्,“ उहाँले भन्नुभयो, “गोदाम पनि ‘पूर्ण रूपमा भ्वस्त’ गरिएको छ।”यमेनिया एयरवेजका तीन वटा विमान जलेको र छ वटामा आंशिक क्षति पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्थायी रुपमा विमानस्थल खोल्ने विकल्पहरु छन् र यसलाई पुनस्र्थापना गर्न र पुनः सञ्चालन गर्न हामीलाई लामो समय चाहिएको छ ।”सन् २०२२ मा छ वर्षको अन्तरालपछि सानाको विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पुनः खोलिएको थियो, जसले जोर्डनको राजधानी अम्मानलाई नियमित रूपमा यमनिया एयरलाइनमा नियमित सेवा प्रदान गरेको थियो।

सानाबाट उडान भर्नेहरूमा विदेशमा आपतकालीन उपचारको खोजीमा रहेका यमनीहरू पनि सामेल छन्।हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले एएफपीसँग भन्नुभयो, “यो आक्रमणले ‘उपचारका लागि विदेश जानुपर्ने बिरामीका लागि मानवीय पीडा बढाउनेछ’ र स्वास्थ्य सामग्री ल्याउन कठिन हुन सक्छ।”

मङ्गलबार हुथी विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्धविरामका लागि सहमति भएको र यसले रेड सीमा जहाजको स्वतन्त्रता सुनिश्चित गर्ने मध्यस्थ ओमानले जनाएको छ ।

घोषणा गरिएको सम्झौतामा इजरायलको बारेमा उल्लेख गरिएको छैन, हुथी विद्रोहीहरूले मङ्गलबारको आक्रमणको उचित जवाफ दिने बताएका छन् । हुथी विद्रोहीहरूले सन् २०२३ को अन्त्यदेखि रेड सी र एडेनको खाडीमा इजरायल र व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्।

कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई सात हजार डलर जरिवाना

केन्याको एक अदालतले बेल्जियमका दुई किशोरसहित चार जनालाई हजारौँ जीवित कमिलालाई देशबाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा सात हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ ।

केन्याली वाइल्डलाइफ सर्भिस (केडब्लुएस) ले चारै जनालाई ‘बायो पाइरेसी’मा संलग्न भएको आरोप लगाएपछि यो मुद्दाले निकै चर्चा पाएको छ ।बेल्जियमका १८ वर्षीय डेभिड लोर्नोय र सेप्पे लोडेविजक्स, भियतनामका दुह हुङ गुयेन र केन्याका डेनिस न्गाङ्गाले कमिलाहरू राखेको स्वीकारेका छन् तर तिनीहरू तस्करी गर्न लागिएको भने नभएको बताएका छन् ।

राजधानी नैरोबीबाट करिब १६० किलोमिटर टाढा रहेको नाकुरु काउन्टीमा दुई हजार २४४ वटा ट्युबमा प्याक गरिएका पाँच हजार रानी कमिलासहित लोर्नोय र लोडेविजक्क्सलाई पक्राउ गरिएको हो ।

एएफपीले देखेको आरोपपत्रअनुसार दुह र एनगाङ्गामा कपासको ऊनले भरिएको १४० वटा सिरिन्ज र दुई कन्टेनरमा कमिलाहरू राखिएको अवस्थामा फेला परेका थिए।

यी दुई मुद्दा छुट्टाछुट्टै थिए तर चारै जनाविरुद्ध एकसाथ मुद्दा चलाइएको थियो ।बेल्जियममा लोर्नोयलाई ‘कमिला प्रेमी’ को रूपमा वर्णन गरिएको छ भने उहाँले घरमा कमिलाका समूहहरूको भण्डारण गरेका छन् । उनी ‘कमिला र कमिला पालन’ नामक फेसबुक समूहको सदस्य हुन् ।

उनले अनुसन्धानकर्ताहरूलाई कमिलाको ओसारपसार गैरकानुनी हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्।
नैरोबीको प्रहरीले बेल्जियनहरूले लगेको कमिलाको मूल्य १० लाख शिलिङ (सात हजार ७४० अमेरिकी डलर) मूल्य बराबरको रहेको बताएको छ ।

अदालतको प्रतिवेदनअनुसार उक्त चोरीमा दुर्लभ ‘मेसोर सेफालोट्स’ प्रजातिको कमिला पनि समावेश छ, जसमध्ये एक रानी कमिला हाल कम्तीमा ९९ अमेरिकी डलरमा बिक्री भइरहेको छ ।

अनुमति बिना कुनै पनि वन्यजन्तुको नमूना वा ट्रफी राख्नुलाई केन्याको कानुनले एक आपराधिक घटना मान्छ । घटनामा संलग्न व्यक्तिहरूलाई सामान्यतया १० हजारसम्म जरिवाना र पाँच वर्ष वा त्यो भन्दा बढी जेल सजाय हुनसक्छ ।

अदालतले अन्ततः चारै जनालाई १० लाख शिलिंग (सात हजार ७४० अमेरिकी डलर) जरिवाना वा भुक्तानी गर्न नसकेमा एक वर्षको जेल सजाय सुनाएको छ ।अदालतले लोर्नोय र सेप्पेलाई ‘सामान्य शिकारीको रूपमा नदेखिने’ तर उनीहरू कानुनबारे अनभिज्ञ रहेको पाइएको पनि बताएको छ।

केडब्लुएसले उनीहरूको कार्य ‘वन्यजन्तु अपराध मात्र नभई जैविक चोरी’ पनि भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
“उनीहरूले कमिलालाई दुर्लभ कीराप्रजातिको माग बढिरहेको युरोप र एसियाका उच्च मूल्यका विदेशी घरपालुवा जनावरको बजारमा तस्करी गर्ने उद्देश्य राखेको थिए,” विज्ञप्तिमा भनिएको छ।

केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने

काठमाडौँ २४ वैशाखः गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो ।
भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।

मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताउनुभयो ।

 भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित   घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।  

“आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ”, प्रवक्ता तिवारीले भन्नुभयो, “सीमानाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल भएको छ ।”

गोरखापत्रलाई ‘पिएसपी’ ढाँचामा लैजान्छौँः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २४ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखापत्र संस्थानलाई सार्वजनिक सेवा प्रकाशन (पिएसपी) ढाँचामा रुपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री गुरुङले गोरखापत्रलाई समयाअनुकूल बनाउन परम्परागत ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले गोरखापत्रले राणा शासनकालदेखि राजतन्त्र, पञ्चायत व्यवस्थाका सास्ती झेल्दै आएको स्मरण गर्दै लोकतन्त्र र सङ्घीय शासन व्यवस्थामा जनता केन्द्रित भएर सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले यति ठूलो इतिहास बोकेको संस्थानको आफ्नै भवन आवश्यक पर्ने भएकाले सुविधा सम्पन्न भवन निर्माण गर्ने, नयाँ ऐन ल्याउने, कर्मचारी व्यवस्थापनका लागि विनियमावली ल्याउनेलगायत कार्य मन्त्रालयले यथाशीघ्र पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मन्त्रालयले यसबाहेक दूरसञ्चार प्राधिकरणको भवन निर्माण गर्ने, पुराना सबै संस्थानका ऐन र कानुन परिमार्जन गर्ने, ‘एआई पोलिसी’ ल्याउनेलगायत योजना बनाएकाले यथाशीघ्र कार्यान्वयन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चालु वर्षमा ‘फाइभ जी नेटर्वक’को सुरुआत हुनेछ ।”

गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रलाई बासको खाँचो भएकाले आगामी बजेटमा भवन निर्माणका लागि बजेट विनियोजन गर्न मन्त्री समक्ष अनुरोध गर्नुभयो ।

संस्थानका महाप्रवन्धक लालबहादुर ऐरिले गोरखापत्रलाई समयसापेक्ष बनाउन सम्पादकीय विषय छनोटमा फरकपन ल्याइएको दाबी गर्नुभयो । उहाँले समाचारका साथै भाषा र विषय छनोटमा पनि समावेशीतालाई महत्त्व दिँदै आइएको जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण व्यावसायिक पत्रकारिता पेसाप्रति अविश्वास सिर्जना हुँदै गएको बताउँदै यसलाई मर्यादित बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।

राष्ट्र बैंकद्वारा पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

काठमाडौँ, २४ वैशाखः नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२ / ८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनुभएको हो । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो ।

सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्नः राष्ट्रपति

काठमाडौँ, २४ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगत्को भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आज आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको सशक्त तथा प्रभावकारी माध्यम भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएकाले पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो ।

“त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो, संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो”, उहाँले भन्नुभयो, “त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्ने जिम्मेवार प्रेसको धर्म हो, यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेनै छ भन्ने मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्नसक्ने खतराको सामना गर्नु वर्तमान आम सञ्चारमाध्यमको चुनौती भएकाले यस्ता चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै जनताले अपेक्षा गरेको सुशासन, विकास र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझ प्रभावकारी ढङ्गले काम गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक कानुन बनाउने र परिमार्जन गर्ने कार्य सरकारबाट भइरहेको जानकारी दिनुभयो । “कानुनी हिसाबले पनि सङ्क्रमणकालीन अवस्था नै छ, कानुन बनाउने क्रम जारी छ”, मन्त्री गुरुङले भन्नुभयो, “पत्रकारिता पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन जरुरी छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा आर्थिक सङ्कटका साथै व्यावसायिक चुनौती बढ्दै गएको र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले संसारकै सक्षम र दक्ष पत्रकार उत्पादन गर्नुपर्ने, त्यसका लागि सूचना प्रविधिको प्रयोगसँगै पत्रकारितालाई अझ व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान–२०८१ प्रदान गरियो । राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विमल गौतम (बाग्लुङ), दीपेन्द्र श्रेष्ठ (कास्की), लोग्शरी कुँवर (कैलाली), दीपेन्द्र बान्तवा (सङ्खुवासभा), डिल्लीराम खतिवडा (उदयपुर) र सागर पण्डित (तनहुँ) लाई प्रदान गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । वरिष्ठ पत्रकार सम्मान–२०८१ को राशि रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ रु एक लाख राशि रहेको थियो ।

बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्।

गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो। यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् टोली ल्याएर अनुसन्धान अघि बढाएको छ।

मङ्गलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भएको हो। टोलीमा भूगर्भविद् कृष्ण पाण्डे, मणी खनालसहित चार जना विशेषज्ञ समावेश छन्। उनीहरूले दिनभरि अध्ययन गर्दै बेलुका ७ बजेसम्म विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरेर घटनास्थलको विश्लेषण गरेका छन्।

अध्ययन टोलीले विशेष रूपमा ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ नामक प्रविधिको प्रयोग गरेको छ। म्याग्नेटो मिटर चुम्बकीय क्षेत्रका आधारमा फलामजन्य वस्तुहरू पहिचान गर्न प्रयोग गरिन्छ, भने पावर अगर विधि जमिनमा सानो सुरुङ खनेर भित्री बनावट पत्ता लगाउने ड्रिलिङ प्रणाली हो। प्रारम्भिक अध्ययनमा भूगर्भविद्ले जमिनको सतह, माटोको प्रकृति, भूगर्भिक बनावट, जमिनको शक्ति र दलदल हुने सम्भाव्यता समेत परीक्षण गरेका थिए।

भूगर्भविद् अधिकारीका अनुसार सो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ। जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ। त्यस्तै, पाँच मिटर तलैदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भूगर्भिक दृष्टिले जोखिमयुक्त मानिन्छ।

त्यहाँको माटोमा प्रेसर उत्पन्न हुँदा जमिन तरल हुने अवस्था सिर्जना भएको अनुसन्धानमा खुलेको छ। वैज्ञानिक भाषामा यस्ता क्षेत्रलाई “सेयर स्ट्रेन्थ” शून्य हुने स्थान मानिन्छ, जसमा कुनै पनि प्रकारको गतिशील लोड या दबाब परेमा माटो ठोस नहुन सक्छ र तरल अवस्थामा परिणत हुन सक्छ। यही प्रकृतिका कारण गाडी जमिनमा भासिएको हुनसक्ने भूगर्भविद्को अनुमान छ।

गाडीको सटीक लोकेसन पत्ता लगाउन म्याग्नेटो मिटरमार्फत अनुसन्धान गर्दा खाल्डो परेको स्थानभन्दा केही पूर्वतर्फ चुम्बकीय आकर्षण तीव्र पाइएको थियो। उक्त क्षेत्रफलमा फलामजन्य वस्तु रहेको अनुमान गरिएको छ। म्याग्नेटो मिटर प्रत्यक्ष रूपमा गाडी देखाउने उपकरण नभए पनि यसले फलामको उपस्थिति संकेत गर्न सक्छ। त्यसैले, अनुसन्धानलाई थप पुष्टि गर्न तीन स्थानमा पावर अगर प्रविधिबाट ड्रिलिङ गरिएको थियो। तीमध्ये दुई स्थानमा करिब ५.४० र ५.६० मिटरको गहिराइमा कडा फलामजन्य वस्तु भेटिएको भूगर्भविद्को भनाइ छ।

उक्त परीक्षणका क्रममा एक स्थानमा प्रयोग गरिएको रड सजिलै ८ मिटर गहिराइसम्म गयो भने बाँकी दुई स्थानमा मात्र करिब ६ मिटरसम्म धस्न सकेको थियो। यसले त्यहाँ कुनै कडा वस्तु वा संरचना रहेको स्पष्ट सङ्केत गरेको छ। यद्यपि, भूगर्भविद्हरूले त्यो वस्तु हराएको गाडी नै हो भन्ने निश्चित निष्कर्ष दिन सकेका छैनन्। उनीहरूले गाडीका पाटपूर्जाहरू भेट्ने हिसाबले खोजी नगरेको र विज्ञानको आधारमा म्याग्नेटिक लोकेसन पहिचान गरिएको स्पष्ट पारेका छन्।

गाडी हराएको स्थानको थप परीक्षण बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ। पावर अगर विधिबाट लोकेट गरिएको स्थानमा पुनः ड्रिलिङ गरी थप पुष्टि गरिने छ। साथै, त्यस क्षेत्रको माटोको नमूना संकलन गरी भूमिगत जलको अवस्थितिबारे समेत अध्ययन गरिने तयारी छ। अनुसन्धानका क्रममा माटोको परीक्षणले पनि भूगर्भीय दृष्टिकोणबाट उक्त क्षेत्र जोखिमयुक्त रहेको पुष्टि गरिरहेको छ।

गत शुक्रबार भएको घटनामा, गाडी घाँस काट्ने मेसिन लोड गरेर गैरीगाउँ पुगेको थियो। उक्त गाडीको अगाडिको पाङ्ग्रा भासिएपछि त्यसलाई निकाल्ने प्रयास भइरहेका बेला अचानक सम्पूर्ण गाडी जमिनमा भासिएर बेपत्ता भएको थियो। लगातार तीन दिनसम्म स्थानीय निकाय र सुरक्षाकर्मीको पहलमा खोजी गर्दा पनि गाडी भेट्टाउन नसकिएपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भ विभागसँग समन्वय गरेर विज्ञ टोली खटाएको हो।

घटनाले हेटौँडाको भूगर्भीय संवेदनशीलता र जमिनको बनोटसम्बन्धी गम्भीर प्रश्नहरू उठाएको छ। स्थानीय बासिन्दा त्रसित छन्, किनकि यस्तो घटना भविष्यमा फेरि दोहोरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। अहिलेको अध्ययनले उक्त स्थानको भूगर्भीय अवस्था कस्तो छ र भविष्यमा कसरी त्यस्ता जोखिमबाट जोगिने भन्ने दिशामा स्पष्ट संकेत दिन सक्ने अपेक्षा गरिएको छ।
गाडीको वास्तविक अवस्था, त्यसको स्थान, र भूगर्भीय कारणबारे अझ विस्तृत अनुसन्धान भइरहेको छ।

मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर

भीमफेदी (मकवानपुर), २४ वैशाखः राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।

मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उहाँकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानमा भारतको हवाई आक्रमण,८ जनाको मृत्यु ३५ जना घाइते

नयाँ दिल्ली । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ।
भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ

भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो आक्रमणबाट आठजनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ

पाकिस्तानी सैन्य प्रवक्ताले रोयटर्स र एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुने नागरिकको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन् । दुईजना हराइरहेको बताइएको छ ।
पाकिस्तानी सेनाले दुई बालबालिकासहित आठजनाको मृत्यु भएको बताएको छ

प्रवक्ताले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरिएको जानकारी दिएका छन् ।आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्।

पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी समेत दिए । पाकिस्तानले कम्तीमा दुई भारतीय जेट तथा ड्रोन खसालेको बताएको छ।

बागलुङ तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

गलकोट (बागलुङ), २४ वैशाखः बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः सांसद कोइरी

काठमाडौँ, २४ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लक्ष्मी महतो कोइरी मुलुकमा देखापरेका सबै समस्या समाधानको निम्ति सबैभन्दा पहिला देशको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिनुहुन्छ । महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद कोइरीले आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । सांसद कोइरीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंशः

संविधानको कार्यान्वयन भइरहेको छ । संविधान एकैपटक कार्यान्वयन हुने होइन । यो विस्तारै कार्यान्वयन हुने कुरा हो । यो दश वर्षमा दुईवटा निर्वाचन सम्पन्न भएको छ । त्यसलाई पनि संविधान कार्यान्वयनको बाटोका रूपमा हेर्नुपर्छ । संविधानमा भएको विषय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको छ । स्थानीय, प्रदेश र सङ्घीय गरी तीन तहको सरकारमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित र सबै क्षेत्र तथा समुदायको प्रतिनिधित्व भएको छ । हामी नकारात्मकमात्र पनि हुनु हुँदैन ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना क्रमशः संविधान कार्यान्वयन भएको छ । अपेक्षानुसार भएको छैन । संविधानको कार्यान्वयन रातारात हुन्छ भन्ने पनि होइन । काम गर्दैगर्दा संवैधानिक व्यवस्थाको आवश्यकता खड्किएको हुन्छ, त्यसको आधारमा संशोधन गर्ने हो । समय, परिस्थितिअनुसार संशोधन गर्नुपर्ने आवश्यकता हुन्छ । संसद्मा जनताका सवाल पर्याप्त मात्रामा उठेका छन् ।

तर संसद्मा उठेका सबै विषयवस्तु सरकारले कार्यान्वयन गर्न सक्दैन । सबै सांसदको चाहना हुन्छ कि सरकारले काम गरिदेओस् । तर ती माग पूरा गर्न सरकारको आर्थिक अवस्था कस्तो छ भन्ने मुख्य कुरा हो । यदि सरकारको आर्थिक अवस्था कमजोर छभने कसरी माग पूरा गर्न सकिन्छ ? त्यसकारण संसद्मा सांसदले जति माग उठाए पनि देशको आर्थिक अवस्था कमजोर छभने जति बोले पनि अर्थ हुँदैन ।

मधेसी समुदायले पहिलेको तुलनामा अधिकार पाएको छ । मधेसी समुदायका निम्ति निजामतीमा आरक्षणको व्यवस्था गरिएको छ । मधेसी समुदायबाट राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्री र प्रदेशको मुख्यमन्त्री पनि बनेका छन् । मधेसी समुदायका निम्ति धेरै विषय संविधानमै व्यवस्था गरिएको छ । तर पनि मधेसका किसानका लागि सिँचाइको समस्या छ । बीउ र मलको अभाव छ । त्यसका लागि सरकारले ध्यान दिनुपर्छ ।

अहिलेको सङ्घीय व्यवस्था नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र मधेसवादी दलहरूको लामो सङ्घर्षबाट ल्याइएको हो । यो सङ्घीयतालाई कम आकलन गर्नु हुँदैन । जुन माननीयले संसद्मा सङ्घीयताको विरोधमा बोलेको हुन्छ, त्यसलाई कारबाही हुनुपर्छ । संविधानविपरीत बोल्ने सांसदलाई कारबाही हुनुपर्छ । सङ्घर्षबाट प्राप्त संवैधानिक अधिकारका विरुद्ध बोल्नेविरुद्ध कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । त्यही संविधानअन्तर्गत चुनाव लड्ने, अनि त्यही संविधानको विरोध गर्ने भन्ने हुँदैन । संवैधानिक अधिकार पनि प्राप्त गर्ने, अनि त्यही संविधानको विरोध गर्ने ? अब हामीले संसद्मा यही कुरा उठाउने पक्षमा छौँ ।

युवा पलायन रोक्न देशभित्र रोजगारी र विदेशी लगानीको वातावरण बनाउनुपर्छ । विदेशी लगानीमा देशभित्र उद्योग र कलकारखाना खोल्नुपर्छ । त्यसपछि रोजगारीका निम्ति विदेश जाने युवालाई रोक्न सकिन्छ । देशको आफ्नै स्रोतसाधनबाट रोजगारी सृजना गर्न सकिन्छ । त्यसतर्फ सरकारको ध्यान जानुपर्छ । द्वन्द्वकालमा देशको धेरै संरचना ध्वस्त भएका छन् ती संरचनाको विकास गर्नुपर्ने छ । जनयुद्धमा तोडफोड भयो, देशको ठूलो क्षति भयो । तर माओवादीले पटकपटक सरकारको नेतृत्व गर्दा पनि भत्किएका संरचना बनाउन सकेको छैन ।

अहिले मुलुकका मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वमा सरकार बनेको छ । यो सरकारले ठिक ढङ्गबाट काम गरिरहेको छ । सुशासनको निम्ति भ्रष्टाचार अन्त्य गर्नेगरी काम गरेको छ । जनतालाई द्रूतगतिमा सेवा दिँदै आएको छ । सरकारले अहिले जे काम गरिरहेको छ, त्यो जनताका पक्षमा राष्ट्र र राष्ट्रियताको निम्ति काम गरिरहेको छ । सरकारका कामप्रति जनता सन्तुष्ट छन् । काम गर्दैगर्दा विरोध हुनु स्वाभाविक हो । तर सरकारले काम गर्न छाड्नु हुँदैन ।

लोकतन्त्रमा फरक मत राख्न पाइन्छ । आफ्ना विभिन्न माग राख्न पाइन्छ । राजसंस्था पक्षधरले पनि आफ्ना माग राख्न पाउँछन् । तर असम्भव कुरा गर्नु हुँदैन । हामी अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अगाडि बढिसकेका छौँ । यो व्यवस्थाबाट फेरि पछाडि फर्कने कुरा हुँदैन । दुईचार जना सडकमा उर्फिँदैमा केही हुँदैन । दलहरूले अहिलेको व्यवस्थालाई अझ बलियो बनाउँदै लैजानुपर्छ । यसैलाई सुधारेर लैजानुपर्छ । देशको विकासका लागि सानादेखि ठूलासम्मका सबै दल एक ठाउँमा आउनुपर्छ । हिजो चुनावमा नेताहरू लड्नु स्वाभाविक हो ।

चुनाव जितिसकेपछि देश विकासका निम्ति एकताबद्ध हुनुपर्छ । सरकारले गरेका राम्रा कामको समर्थन गर्न सक्नुपर्छ । अहिलेको सरकार सही ‘ट्रयाक’मा छ । देशमा देखिएका सबै समस्या समाधान गर्ने होभने देशको आर्थिक अवस्था बलियो हुनुपर्छ । देश आर्थिक रूपमा सम्पन्न हुनसकेको छैन । अनि सबैले मागमात्र उठाइरहेका छन् । यदि सरकारसँग पैसा छैन भने सबै योजना असफल हुन्छन् । योजना सफल बनाउन देशको अर्थतन्त्र बलियो हुनुपर्छ ।

कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।

सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै ‘ओभरपास’ निर्माण थालिएको हो ।

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा)का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभरपास निर्माण हुने छन् । मिर्चैयाको चोकमा पनि ‘ओभरपास’ निर्माण प्रारम्भ भएको छ । यो सडक खण्डमा पाँचवटा ‘अण्डरपास’ निर्माण हुने छन् । लहानमा अण्डरपास पनि धमाधम बन्दैछन् ।

आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ हजार ९८३ छ । पूर्वीखण्ड (सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न सात अर्ब २७ करोडमा ठेक्का लागेको छ । यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको जानकारी उनले दिए ।

बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै

नेपालगञ्ज- भूमि समस्या समाधान आयोगले बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको छ ।

आयोगको कार्यालय, नेपालगञ्जमा आज बसेको सर्वपक्षीय बैठकले दोस्रो चरणमा विभिन्न स्थानीय तहमा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको हो । आयोगका अध्यक्ष घननाथ खनालले जेठको पहिलो सातासम्म कोहलपुर नगरपालिका वडा नं २, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ र २०, राप्तीसोनारी गाउँपालिका वडा नं ७ र वैजनाथ ६ मा जग्गाधनी प्रमाणपत्र वितरण गरिने जानकारी दिनुभयो । 

उहाँले पहिलो चरणमा कोहलपुर नगरपालिकाका तीन वडामा ११८ जनालाई लालपुर्जा वितरण कार्य सम्पन्न भएको र थपलाई वितरणका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । “आज बसेको राजनीतिक दलसहितको सर्बपक्षीय बैठकले नौवस्ता औद्योगिक क्षेत्रमा रहेको आवास क्षेत्रका लागि लालपुर्जा वितरणका लागि पहल गर्ने निर्णय भएको छ । स्थानीय तहमा आयोगलाई चाहिने स्रोतसाधनको व्यवस्थापन पालिकाले गर्ने निर्णय भएको छ”, अध्यक्ष खनालले भन्नुभयो ।  

केही दिनअघि मात्रै जिल्लाको कोहलपुर नगरपालिका वडा नं १ बाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको थियो । हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य रहेका अध्यक्ष खनालले बताउनुभयो ।  

इन्जिनियर पुनलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ, २४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्ल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनसमेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

स्थानीय शारा नगरपालिका वडा नं १५ स्थित सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माणमा सम्झौताबमोजिमको काम नभएको जनाउँदै आयोगले इञ्जिनियर पुनविरुद्ध रु सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गर्दै दायर गरेको मुद्दामा विशेषले सफाइ दिएकामा त्यसविरुद्ध आयोगले मङ्गलबार पुनरावेदन गरेको हो ।

यसैबीच, आयोगले बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्करकुमार सिंह नेपाल मिडिया हाउस प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक नवराज निरौलासमेत तीन जना र उक्त हाउसउपर गैरकानुनी लाभ तथा राज्यलाई हानि पुर्याएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

फेटा गाउँपालिकाको विद्युत् पोल गाड्ने तथा तार तान्ने कामका निम्ति खरिद प्रक्रियासम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशनमा झुठा विवरण पेश गरी भुक्तानी लिने र दिने दुवैलाई विपक्षी बनाएर मङ्गलबार आरोपपत्र दायर गरिएको हो ।

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्बिर ‘फेसबुक’मा ‘पोष्ट’ गर्दै प्रधानमन्त्री ओलीले “आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ । सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना”, लेख्नुभएको छ ।

संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौँ, २४ वैशाखः प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् ।

राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले राससलाई बताउनुभयो ।

आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदै

काठमाडौँ, २४ वैशाखः आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौैँ पत्रकारिता दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास प्रवर्द्धन र यसमा लागेकालाई हौसला प्रदान गर्न पत्रकारिता क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेर राज्यले कदर गरेको उल्लेख गर्नुभयो ।

‘विश्वसनीय सूचनाको आधार ः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना हुँदैछ । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्नुहुने कार्यक्रम छ ।

मन्त्रालयका अनुसार सो समारोहमा नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुुई जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिने छ । पुरस्कारको राशि रु दुई लाख र कदरपत्र रहेको छ ।

यस्तै रु एक लाख र कदरपत्रसहित छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।

पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकारलाई प्रोत्साहन र सम्मान स्वरुप हरेक वर्ष प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट यसवर्ष सम्मानित व्यक्तिहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कार एवं सम्मान प्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रमको आयोजना गर्दैछ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २४ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४४, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ९०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु १९०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु २४०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु ८०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ६४० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित, दोस्रो चरणको मतदानमा जित

फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर)को रूपमा निर्वाचित हुनुभएको छ। मंगलबार भएको दोस्रो चरणको मतदानमा उहाँले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन हुनुभएको हो। यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उहाँले अपेक्षित मत नपाई पराजय व्यहोर्नुभएको थियो।

पहिलो चरणमा उहाँले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गर्नुभएको थियो। दोस्रो चरणमा भने उहाँले ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित हुनुभयो।

उनन्सत्तरी वर्षको उमेरमा यो पद सम्हाल्नु भएका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गर्नुभएको थिएन ।उहाँ न संघीय मन्त्री हुनुहुन्थ्यो, न राज्य प्रमुख, न त सानो नगरपालिकाको प्रमुख (मेयर) नै। कोनराड एडेनाउरपछि उहाँ यस्ता सबैभन्दा ज्येष्ठ व्यक्ति हुनुहुन्छ, जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हाल्नुभएको हो।

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नव निर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै, युरोपसँगको साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गर्नुभएको छ। जर्मनी, संयुक्त राज्यपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो।

नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

यसैबीच, संसदमा प्रमुख विपक्षी शक्तिका रूपमा रहेको ‘वैकल्पिक जर्मनीका लागि’ नामक दलले प्रारम्भिक नतिजालाई लिएर आलोचना गरे पनि निर्वाचन प्रक्रियाको मर्यादा र लोकतान्त्रिक परम्पराको सम्मान कायम गरिएको देखिएको छ।

देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, २४ वैशाख: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशलगायत मुलुकका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ वैशाख : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ १४ पैसा र बिक्रीदर १८० रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४० पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४३ पैसा र बिक्रीदर नौ रूपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रूपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७० पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ९९ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७६ पैसा र बिक्रीदर नौ रूपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १४ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४६ पैसा र बिक्रीदर २० रूपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १७ रूपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रूपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रूपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ १३ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६९ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

नीति तथा कार्यक्रममा स्पष्ट नभएको जनमोर्चाको टिप्पणी

काठमाडौँ, २४ वैशाखः राष्ट्रिय जनमोर्चा नेपालले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान गर्ने कुनै पनि विषय समावेश नभएको टिप्पणी गरेको छ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत दशकौँदेखि वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिँदै आएका तर कार्यान्वयन नगरिएका नीतिहरूको पुनरावृत्ति भएको बताउनुभएको छ ।

सो पार्टीले वार्षिक नीति तथा कार्यक्रम ल्याउँदा सरकारका प्राथमिकताका क्षेत्र छुट्याउने गरेको, प्राथमिकता क्षेत्रको स्पष्ट खाका ल्याउने गरिएपनि यसपटक कुनै प्राथमिकताको क्षेत्र नतोकिएको उल्लेख गरेको छ ।

जनमोर्चाले भनेको छ, “नीति तथा कार्यक्रमको लक्ष्य र गन्तव्य नै स्पष्ट छैन ।” जनमोर्चाले गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशीतालाई रक्षा गर्दै संविधानको संशोधनको आवश्यकतामाथि जोड दिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ “भूमिमाथि सामन्ती स्वामित्व कायम राखेर, निजीकरण, उदारीकरणमा जोड दिएर समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण हुन सक्दैन । समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणका लागि सामन्ती भूस्वामित्वको अन्त्य हुनुपर्छ ।”

सरकारको नीति र कार्यक्रमले दलित समुदायलाई आर्थिक सामाजिक तथा शैक्षिक क्षेत्रमा बलियो बनाउन कुनै नीति अगाडि नसारेको पनि जनमार्चाले उल्लेख गरेको छ । सो पार्टीले प्रवासी नेपालीहरूको मताधिकारको प्रत्याभूति, उपभोक्तासम्बन्धी हक अधिकारको संरक्षण, कालोबजारी, कृत्रिम अभावका विरुद्ध कडा कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।

यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।

भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।”

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गर्नुभयो र बलियो जवाफ दिने चेतावनी दिनुभएको छ।

संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, “दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।”

स्रोत नखुलेको १७ लाख ४६ हजारसहित दुई जना पक्राउ

अत्तरिया (कैलाली), २३ वैशाखः कैलालीमा स्रोत नखुलेको रु १७ लाख ४६ हजार ९०० नगदसहित दुई जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट सो रकमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको भजनी नगरपालिका–५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनियाका ३२ वर्षीय अमनकुमार गर्गलाई स्रोत नखुलेको रु आठ लाख ९६ हजार ६६० नेपालीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्गले चलाइरहेको युपी ३२ एचएच ६७५३ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्दा निजले सुर्केथैलीमा कम्मरमा बाँधेर राखेको अवस्थामा उक्त रुपैयाँ फेला पारिएको हो । उक्त रुपैयाँ, मोटरसाइकलसहित निजलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सत्ती पठाइएको छ ।

यस्तै, टीकापुर नगरपालिका–१ का १९ वर्षीय अर्मन चौधरीलाई स्रोत नखुलेको पाँच लाख ३१ हजार ४०० भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

अवैध भारतीय रुपैयाँ लुकाइछिपाइ राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटी गएको प्रहरी टोलीले निज चौधरीले सञ्चालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स पसलमा जाँच गर्दा उक्त रुपैया फेला पारेको हो । निज चौधरीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

भाटभटनीबाट दुई लाख १८ हजारको मदिरा र काजु पिस्ता चोरी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौँ, २३ वैशाख : नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट रु दुई लाख १८ हजार बराबरको मदिरा र खाद्यवस्तु चोरी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् ।

यही वैशाख २० गते भाटभटेनी सुपर मार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका मदिरा, चुरोट, काजु र पिस्तालगायत उच्च मूल्यका खाद्यवस्तु चोरी गरी भागेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले भक्तपुरको थिमीबाट नियन्त्रणमा हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज उनलाई सार्वजनिक गरेको छ । श्रेष्ठलाई जिल्ला अदालत काठमाडाँैबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको काठमाडाँै परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

यसैबीच, प्रहरीले रु एक करोड ५० लाख रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँबाट झण्डै दुई वर्षअघि बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र रु एक करोड जरिवाना ठहर भएका ४७ वर्षीय अमित अग्रवाललाई प्रहरीले आज स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि अदालतसमक्ष बुझाइएको प्रहरीले जनाएको छ ।

एकै महिनामा साढे ४४ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी, २३ वैशाख : दोस्रो मुख्य पर्यटकीययाममा यहाँको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको छ । गत अप्रिलमा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

जुन गत वर्ष सोही महिनाको तुलनामा १० हजार आठ सय ५२ ले बढी हो । सन् २०२४ को अप्रिलमा ३३ हजार नौ सय ११ जना पर्यटकले उक्त क्षेत्रमा भित्रिएका थिए । ‘एक्याप’ को आँकडाअनुसार पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि भइरहेको छ ।

कोभिड–१९ महामारीका बेला थलिएको यस क्षेत्रको पर्यटन पुनः पुरानै लयमा फर्किएको ‘एक्याप’ का प्रमुख डा रविन कडरियाले बताउनुभयो । मार्चदेखि मे महिनासम्म धार्मिक भ्रमणदेखि पदयात्राका लागि उल्लेख्य मात्रामा पर्यटक यस क्षेत्रमा आउने गरेको उहाँको भनाइ छ । गत मार्चमा ३६ हजार आठ सय ३४ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

त्यसअघि फेब्रुअरीमा १२ हजार ६८ र जनवरीमा नौ हजार तीन सय ५९ पर्यटक मात्र उक्त क्षेत्रमा आएका थिए । सन् २०२५ लागेयता अघिल्ला वर्षहरूको तुलनामा पर्यटक आगमन दर बढेको प्रमुख डा कडरियाले बताउनुभयो । सन् २०२४ को पहिलो चार महिनामा ७८ हजार नौ सय ६८ पर्यटक भित्रिएकामा यो वर्षको पहिलो चार महिनामा एक लाख तीन हजार २४ पर्यटक आएका हुन् ।

सन् २०२३ को सोही अवधिमा जम्मा ६८ हजार सात सय ५६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य हो । वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ ।

सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढेको आयोजना कार्यालयले जनाएको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ ।

पशु कल्याणबारे सोच्न बाध्य पार्ने गर्भवती ‘काली भैंसी’ घटना

गण्डकी, २३ वैशाखः भैँसी गुनिलो थियो र दूधालु पनि । घरमुलीले उसलाई मायाले ‘काली’ भन्थे । भैँसी अर्को महिना ब्याउने थियो । यो भैँसी बागलुङ, ताराखोला गाउँपालिका–१ भुस्कातकी माया विकले ऋण काढेर किन्नुभएको थियो । गोठमा उसैले जन्माएको डेढ वर्षको राँगो पनि थियो । गत बुधबार मध्यराति गोठमा अचानक आगलागी भयो ।

राँगो उतिबेलै जलेर म¥यो । गम्भीर घाइते भएको गर्भवती भैँसीलाई परिवार र छिमेकी मिलेर उद्धार गरे । भैँसीको अधिकांश बाहिरी भाग जलेको थियो । दुवै आँखा फुटेका थिए । भैँसी न खान सक्ने न कराउन सक्ने अवस्थामा थियो । नाक र मुखबाट फिँज आइरहेको थियो । एकातिर जलनको पीडा र अर्कातिर पेटमा हुर्किरहको गर्भ । त्यो अवोध भैँसीले त्यति कष्टसाध्य क्षण कसरी गुजा¥यो होला ! मानवीयता भएका जो कोहीका लागि त्यो दृश्य हृदयविदारक थियो ।

आगलागीको घटना थाहा पाएपछि पोखरामा बस्ने विकका छोरा सनम अर्कोदिन घर पुग्नुभयो । उहाँ गाउँ पुग्दा गोठ खरानी भएको थियो । आमाको प्रिय भैँसी ‘काली’ अतिसय पीडा सहेर बाँचिरहेको थियो । उसलाई बचाउन परिवारले सक्दो प्रयास गरे । पशु चिकित्सकलाई बोलाएर देखाए । बाँच्ने सम्भावना नभएपछि चिकित्सकले भैँसीलाई ‘युथोनाइज’ दिएर पीडारहित तरिकारले मृत्युवरण गराए । पेटमा भएको पाडोलाई चिरेर निकाले । धड्कनको चाल महसुस गर्दागर्दै पाडोको पनि मृत्यु भयो ।

गोठ नजिकै बारीमा खाल्डो खनेर ‘काली भैँसी’ र उसको गर्भबाट निकालिएको पाडोलाई सँगै राखेर अन्त्येष्टि गरियो । यसरी निर्दोष पशुको जीवन आगलागीमा परी समाप्त भयो । सनमले यही दर्दनाक घटनाको भिडियो फेसबुकमा साझा गर्नुभयो । जसले धेरैको ध्यान खिच्यो । फेसबुकमा लाखौँले उक्त भिडियो हेरेका छन् । फेसबुकमा साझा गर्ने र टिप्पणी गर्नेको सङ्ख्या पनि सयौँ छ ।

आगलागीबाट गोठ र पशुधन गुमाएका विक परिवारप्रति कैयनले सहानभूति प्रकट गरेका छन् । कतिपयले पशुप्रेम र पशु कल्याणका पक्षमा धारणा राखेका छन् ।

सनमले “तिमीले मेरा लागि दिएको यो बलिदान खेर जाने दिने छैन काली, हार्दिक श्रद्धाञ्जलि ! अपराधी नबचाऔँ” भन्दै उक्त भिडियो ‘पोस्ट’ गर्नुभएको थियो । सनमले ‘काली’ भैँसीलाई आमासँग तुलना गर्दै उ पनि गर्भमा रहेको बच्चाका लागि अन्तिम प्रहरसम्म बाँचेको उल्लेख गर्नुभएको छ । “उनी पनि एउटी आमा हुन् । उनको श्राप र आँशु अवश्य लाग्नेछ”, सनमले भन्नुभएको छ ।

आगलागी अरु कसैले जानाजानी लगाइदिएको विक परिवारको आशङ्का छ । “घरमा बुबाआमा मात्र हुनुहुन्थ्यो, उहाँहरू सुतेको बेला राति ११.३० बजेतिर गोठमा आगलागी भएको हो”, सनमले भन्नुभयो, “दुर्घटना या लापरबाहीका कारण नभई यो मान्छेले जानजानी नियतवश लगाएको हो, हामीले प्रहरी र वडा कार्यालयमा उजुरी दिएका छौँ, घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ ।”

‘काली भैँसी’को मृत्युपछि आमा बिह्वल बनेको सनमले सुनाउनुभयो । भैँसीको अन्त्येष्टिका बेला उहाँकी आमा छेउमा बसेर रोइरहेको दृश्यले सबैलाई स्तब्ध पारेको थियो । वरिपरि जम्मा भएका मानिस त्यो बेला निःशब्द बनेका थिए ।

माया र स्याहारसुसारले पालेहुर्काएका पशुचौपायाको अनाहकमा मृत्यु हुँदा कस्को पो मन नरुँदो हो ! माया र उहाँको परिवारलाई पनि आज त्यही पीडाले सताएको छ । उक्त घटनाले पशुपक्षीप्रतिको मानवीय प्रेम र संवेदनालाई समेत उजागर गरिदिएको छ । पशु कल्याणबारे सोच्न मानिसलाई बाध्य पारेको छ ।

उक्त घटनाका प्रत्यक्षदर्शी र सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त घटनामा दुःख व्यक्त गरेका छन् । नियतवश आगलागीको घटना भएको भए छानबिन र न्यायका लागि उनीहरूले आवाज उठाएका छन् । घटना सार्वजनिक भएपछि विभिन्न ठाउँबाट सहयोग र सहानुभूति प्राप्त भइरहेको सनमले बताउनुभयो ।

वडा र गाउँपालिका कार्यालयले राहतका लागि पहल अगाडि बढाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताराखोला गाउँ कमिटीले विक परिवारलाई भैँसी किनिदिन लागेको अध्यक्ष दिवस खत्रीले बताउनुभयो । “आफन्त, शुभेच्छुकलगायतबाट आर्थिक सहयोग आउने क्रम पनि सुरु भएको छ, यो घटनाले धेरैलाई छोएको छ । आगलागीका बारेमा छानबिन हुनुपर्छ”, उहाँले भन्नुभयो । पशुचौपायाले सुरक्षित बाँच्न पाउने अधिकारप्रति सचेत हुन पनि यो घटनाले मानिसलाई सचेत गराएको छ । गण्डकी प्रदेशमा गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याइए पनि पशु कल्याणको पूर्ण सुनिश्चितता भने हुन सकेको छैन ।

घरायसी प्रयोजनका लागि पालिने गाईबस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट हुने भएकाले ठूला व्यावसायिक गाईभैँसी फार्मलाई लक्ष्य गरी मापदण्ड बनाइएको हो । उक्त मापदण्डले गाईभैँसीलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव हुन नदिने, पीडा, चोटपटक र रोगव्याधिबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको छ । गाईभैँसीलाई गरिने निर्दयी व्यवहार रोक्ने र उनीहरूप्रति मानिसले निभाउनुपर्ने जिम्मेवारी र उत्तरदायित्वलाई मापदण्डले समेटेको छ ।

मापदण्डमा आहार, गोठ व्यवस्थापन, ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषय उल्लेख छन् । नवजात पाडापाडी र बाच्छाबाच्छीलाई मार्ने नियतले सुकेनास गराउने, भोकै राख्ने, फाल्ने आदि गरेमा पशुप्रति निर्दयी व्यवहार भएको ठहर्ने मापदण्डमा जनाइएको छ । गाईभैँसीलाई घाउचोट लाग्ने गरी हिर्काउन, नाक, खुट्टा बाँध्न, पुच्छर बटार्न र छाडा छोड्न नपाइने मापदण्डमा उल्लेख छ ।

गाईभैँसीलाई तापजन्य असुविधा हुन नदिन गर्मीयाममा पङ्खा या ‘फोगर’ र जाडोयाममा थप सोत्तरको व्यवस्था गर्नुपर्ने उल्लेख छ । पशुपक्षीलाई पनि मानवताको व्यवहार चाहिनेमा पशु अधिकारकर्मीले जोड दिँदै आएका छन् । खुसी र स्वतन्त्रतापूर्वक बाँच्न पाउने पशुपक्षी अधिकारको संरक्षण हुनुपर्नेमा उनीहरूले जोड दिइरहेका छन् । कानुनी प्रबन्ध नभएका कारण पनि हिंसा र अत्याचारमा परेका पशुपक्षीको न्याय चुनौतीपूर्ण बन्दै जानकारहरू बताउँछन् ।

राजनीतिज्ञ एवं सिर्जनशील लेखक नेपालको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौँ, २३ वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ वामपन्थी नेता एवं प्रसिद्ध प्रगतिवादी लेखक तथा साहित्यकार प्रदीप नेपालको असामयिक निधनको खबरले मर्माहत तुल्याएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिज्ञ नेपालको निधनबाट देशले एक इमान्दार राजनीतिज्ञ, सिर्जनशील लेखक तथा साहित्यकारलाई गुमाएको बताउनुभएको छ ।

उहाँले लेख्नु भएको छ, “नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनका साथै नेपाली प्रगतिवादी साहित्यको क्षेत्रमा उहाँले पुर्‍याउनु भएको योगदान चीरकालसम्म हामी सम्झरहने छौँ, दिवङ्गत नेता तथा साहित्यकार नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदान प्रकट गर्दछु ।”

पूर्वमन्त्री नेपालको निधनले देशले वामपन्थी आन्दोलनका प्रखर नेता गुमाएको छः अध्यक्ष दाहाल

काठमाडौँ, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता प्रदीप नेपालको निधनले नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गरी उहाँको निधनले मर्माहत बनाएको उल्लेख गर्नुभयो ।

“नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद् निधनले मर्माहत भएको छु । निरङ्कुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, दाहालले भन्नुभएको छ,“ नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ ।”

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको ७१ वर्षको उमेरमा आज दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेता नेपालको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

‘ललितपुर फिस टनेल एक्स्पो २०८२’को समयावधी थपिने

काठमाडौँ। ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ भव्य बन्दै गएको छ । ललितपुरको चिडियाखाना सँगै रहेको फुटबल ग्राउन्डमा वैशाख १ देखि सुरु भएको एक्स्पो आगामी २९ गतेसम्म चल्ने छ । उद्यपि, दर्शकको चाप बढेसँगै एक्स्पोको समयावधि थप गर्ने तयारीमा आयोजक पुगेको छ ।

एक्स्पोमा फिस टनेल र सुनामी राइडको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै समयावधी थप्ने मनस्थितीमा पुगेको व्यवस्थापक दीपक दाहालले बताए। ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’मा सुनामी राइड नेपालमा पहिलो पटक परीक्षण गरिएको हो । सामुन्द्रिक सुनामीकै अनुभूति हुने गरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ।

यसअघि बुटवल र नेपालगन्जमा सुनामी राइड गर्नेहरूको भीड थाम्न हम्मे परेको आयोजकको दाबी रहेको छ । यद्यपी काठमाडौँ उपत्यकामा भने पहिलो पटक सञ्चालनमा ल्याइएको उनले बताए । त्यस्तै एक्स्योमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिने छ।

जहाँको मुख्य आर्कषणका रुपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको एक्स्पो व्यवस्थापक प्रभाकर लामिछानेले जानकारी दिए। राजधानी अम्यूजमेन्ट राइड्स नेपालले व्यवस्थापन गरेको एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहने छ । प्रवेश निःशुल्क मिलाइएको एक्सपो सञ्चालनमा जाउलाखेल युवा क्लबले सहयोग गरेको छ। चिडियाखानासँगै रहेकाले यहाँ दुवैतर्फको मनोरञ्जन लिन सकिनेछ।

नेता नेपालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहनुभएका नेता नेपालको निधनले पीडाबोध भएकासमेत बताउनुभएको छ । “नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनुभएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन् ।”

प्रधानमन्त्री ओलीले प्रदीप नेपाल र उहाँको योगदानलाई आफूहरूले सधैँ सम्झिरहने बताउनुभएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।