`

बाढीले कमला नदीको काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ । मंगलबार बिहान आएको बाढीले पुल बगाएको हो ।

बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीयवासी ओहोरदोहोर गर्ने गरेका थिए । करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरो छ ।

यहाँ छ महिनाअघि सिरहा नगरपालिकाले करिब दुई लाख खर्चेर अस्थायी काठेपुल निर्माण गरेको थियो । नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बाढीले पुल बगाएपछि आवागमनमा समस्या भएको बताए ।

“बाढीले काठको पुल बगाएपछि यहाँ आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्याङबाट जोखिम मोल्दै आवतजावत गरिरहेका छन्”, वडाध्यक्ष यादवले भने, “हाल पानीको बहाव बढी रहेको र कम भएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्छौैं ।”

यहाँ विसं २०६८ जेठ ३१ बाट तीन वर्षमा सक्ने गरी चार सय ६९ दशमलव दुई मिटर लामो पुलको निर्माण सुरु भएको थियो । पटक–पटक म्याद थप गरेर १० वर्षमा निर्माणको अन्तिम काम भइरहेका बेला विसं २०७८ असारमा आएको सामान्य बाढीले पुल भासिन पुग्यो ।

आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी फेरि अन्तिम पटक म्याद थप गरिए पनि निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ ले बीचमै काम छोडेको छ ।

लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुनसक्दैन: महासचिव पोखरेल

भजनी (कैलाली), २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुननसक्ने बताउनुभएको छ । एमालेसम्बद्ध भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको आज टीकापुरमा उद्घाटन गर्दै उहाँले जनताको अधिकार स्थापना र जनचाहनाअनुसार विकास गर्न लोकतन्त्रको विकल्प नरहेको बताउनुभयो ।

महासचिव पोखरेलले हाल केही व्यक्तिले लोकतन्त्रको विकल्प राजतन्त्र भनेर चर्चा गरिरहेकामा त्यो परिवर्तित समय र चेतनाको आवाज नभएको जिकिर गर्नुभयो । “लोकतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन । हाल जति पनि परिवर्तन भएको छ, त्यसको प्रमुख जग लोकतन्त्र नै हो”, उहाँको भनाइ थियो,“राजनीतिक स्थायित्व हुन नसक्दा प्रतिक्रियावादी शक्ति सलबलाउन थालेका छन् । अब देश विकासका लागि स्थिरताको खाँचो छ ।”

महासचिव पोखरेलले राजनीतिक स्थिरता भएका देशले नै छिटो प्रगति हासिल गरेको उदाहरण पेस गर्दै अगाडि भन्नुभयो,“यहाँ स्थिर सरकार बन्न सकेको छैन । पाँच वर्षमा पाँच वटाभन्दा बढी सरकार बन्छन् । सयौँ मन्त्री हुन्छन् । हामीकहाँ पनि पाँच वर्ष एउटै पार्टी र नेतृत्वमा सरकार बन्नेको भए समृद्धिका लागि देखेका सपना पूरा गर्न सहज हुन्थ्यो ।” हाल संसद्का दुई ठूला पार्टी मिलेर स्थिरताको प्रयास भएको र यो सहमतिअनुसार नै अगाडि बढ्ने उहाँको भनाइ छ ।

देशमा रहेका सम्पूर्ण भूमिविहीनलाई जग्गाको मालिक बनाउने काम वर्तमान सरकारले पूरा गर्ने भन्दै महासचिव पोखरेलले दुई वर्षभित्र सबै भूमिसम्बन्धी समस्या समाधान गर्ने गरी भूमि आयोगले काम गरिरहेको उल्लेख गर्नुभयो ।
भोलिसम्म सञ्चालन हुने महाधिवेशनमा देशका विभिन्न ६४ जिल्लाबाट छ सय प्रतिनिधिको सहभागिता रहेको छ ।

ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनएलाई ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौँ, २३ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गर्नुभएको छ । मन्त्री खड्काले आज ऊर्जा मन्त्रालयमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठसहितको टोलीलाई बधाई तथा शुभकामना दिँदै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

श्रेष्ठ वैशाख २० गते काठमाडौँमा भएको एनआरएनए महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रबाट मुलुकको विकास सम्भव भएकाले विश्वभर रहेका एनआरएनएलाई समेटेर नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई एनआरएनएलाई एकताबद्ध बनाएर अगाडि बढाउन सुझावसमेत दिनुभयो ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनए तयार रहेको र त्यसका लागि आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । सरकारले राम्रो आयोजना दिए आफूहरू लगानी गर्न तयार रहेको उहाँको भनाइ थियो ।

सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरुरी छ : मन्त्री गुरुङ

काठमाडौँ, २३ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यकपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको सहकार्य र नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तर्क्रियामा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गरुङले सरकारको ध्यान केन्द्रीत गराउने खालका खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता भएको तर्क गर्नुभयो ।

सम्पूर्ण सरोकारवालामाझ छलफल गरेर आमसञ्चार विधेयक ल्याइने जानकारी दिँदै मन्त्री गुरुङले आवश्यक सुझाव दिएर कानुन निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभयो । पत्रकारिताको गुणस्तरीयता सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले पत्रकारलाई प्रशिक्षण दिन तालिम केन्द्र तत्काल आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “हामीलाई गुणस्तरीय पत्रकारिताको खाँचो छ । त्यसका लागि तालिम केन्द्र आवश्यक छ ।” उहाँले मुलुकमा सुशासन कायम गर्न सरकारको काममा पारदर्शीता जरूरी रहेको र सूचनाको हकले सरकारलाई जनताप्रति थप जवाफदेही बनाउने धारणा राख्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेशप्रसाद आर्चायले सूचनाको हक प्रत्येक नागरिकले पाउनुपर्ने भए पनि पत्रकारले यस हकलाई अझै नागरिकमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सूचनाको हक पर्यावाची जस्तै भएकाले यसको महत्त्व उच्च रहँदै आएको बताउनुभयो । उहाँले सञ्चार मन्त्रीलाई पत्रकार महासङ्घसँग सहकार्य गरेर नीति तथा सञ्चार योजना बनाउन अनुरोध गर्नुभयो ।

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

काठमाडौँ, २३ वैशाखः नेपाल सरकार, खानेपानी मन्त्रालय र कर्णाली प्रदेश, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत लागत सहभागितासम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज यहाँ आयोजित कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव ई रमाकान्त दुवाडी र ऊर्जा विकास मन्त्रालयका तर्फबाट प्रदेश सचिव इन्द्रदेव भट्टले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादवले यस सम्झौतामार्फत सङ्घीय र प्रदेश सरकारबीच आपसी समन्वय, पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा प्रभावकारिता सुनिश्चित गरिने बताउनुभयो । उहाँले कर्णाली प्रदेशभित्र खानेपानी क्षेत्रको सुशासन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि लागत साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने साझा प्रतिबद्धता गरिएको बताउनुभयो ।

मन्त्री यादवले कर्णाली प्रदेशमा खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन गरिने आश्वासन दिनुभयो ।

प्रदेशका ऊर्जा विकासमन्त्री विजया बुढाले सम्झौताअनुसा् बन्ने आयोजनाले कर्णालीमा खानेपानीको क्षेत्र विकासमा निकै सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन गर्ने सम्बन्धमा अन्तरराष्ट्रिय विकास संस्था (आइडिए) र नेपाल सरकारबीच १३ जुलाई २०२२ मा वित्तीय सम्झौता भएको थियो । यो आयोजनाको अवधि जुलाई १५, २०२८ सम्म रहेको छ ।

आयोजना कार्यान्वयनमा लगानी सहभागिता जनाउन तथा आयोजना कार्यान्वयनको अनुगमन गर्न सङ्घीय सरकारको खानेपानी मन्त्रालय र प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच ‘सहभागिता सम्झौता’ गरिएको सहसचिव दुवाडीले बताउनुभयो ।

आयोजनामा रहेका विभिन्न क्षेत्रगत अवयवमध्ये खानेपानी मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागलाई अवयव १ देखि ४ का कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । अवयव—१ अन्तर्गत खानेपानी तथा सरसफाइ क्षेत्रको संस्थागत सुधार, अवयव—२ मा पालिकास्तरमा रहने आयोजना कार्यान्वयन एकाइमार्फत आयोजनाका गतिविधिहरू कार्यान्वयन गर्न सहभागी पालिकालाई निरीक्षण र कार्यान्वयनमा सहयोग उपलब्ध हुनेछ । यस्तै, अवयव ३ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र एकीकृत जलस्रोत व्यवस्थापन र जलाधार व्यवस्थापनका माध्यमबाट खानेपानी र सरसफाइ पूर्वाधारमा जलवायु जोखिम तथा त्यसबाट पर्नसक्ने प्रभावको न्यूनीकरणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

आयोजना कार्यान्वयनका लागि चाहिने कूल १०० मिलियन अमेरिकी डलर (रु १३ अर्ब ३८ करोड ७० लाख) मध्ये आइडिएबाट नेपाल सरकारलाई प्राप्त हुने ऋण ८० मिलियन अमेरिकी डलर र समपूरक कोषको व्यवस्था गर्न आवश्यक पर्ने २० मिलियन अमेरिकी डलरको लागत सहभागितामा नेपाल सरकारका तर्फबाट तीन दशमलव ७०, प्रदेश सरकारहरू (कर्णाली र सुदूरपश्चिम) का तर्फबाट १० दशमलव ५७, र सरोकार भएका विभिन्न छ पालिकाका तर्फबाट पाँच दशमलव ७० मिलियन अमेरिकी डलर तय गरिएको छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकाल (भण्डारी), शारदा नगरपालिका सल्यानका प्रमुख प्रकाश भण्डारी, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

पूर्वमन्त्री नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ गुमाएको छ : सभामुख घिमिरे

काठमाडौँ, २३ वैशाख : सभामुख देवराज घिमिरेले वामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ एवं प्रखर चिन्तकको अपूरणीय क्षति बेहोर्नुपरेको उल्लेख गर्नुभएको छ ।

नेता नेपालको असामयिक निधनप्रति आज शोक वक्तव्य जारी गर्दै उहाँले “नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ”, भन्नुभएको छ ।

नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने बताउँदै सभामुख घिमिरेले उहाँको पूर्वी नेपालका गाउँगाउँमा जनतासँगको सामीप्यता र आत्मीयता प्रगाढ रहेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभएको छ, “स्व नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।”

बाढीमा फसेकी वृद्ध महिलाको सकुशल उद्धार

सिरहा, २३ वैशाखः यहाँको मिर्चैया नगरपालिका–५ स्थित बतहा खोलामा आएको बाढीमा फस्नुभएकी एक वृद्ध महिलाको सकुशल उद्धार गरिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोली र स्थानीयको सहयोगमा बाढीमा फस्नुभएकी ६० वर्षीया रामदुलारी ठाकुरको आज उद्धार गरिएको वडाध्यक्ष प्रदीपकुमार साहले जानकारी दिनुभयो ।

“खेतमा भएको बाली हेर्न जाने क्रममा खोलाको बीच भागमा पुगेर उहाँ फस्नुभएको रहेछ । खबर पाउनासाथ इलाका प्रहरी कार्यालयको टोली र स्थानीय मिलेर करिब दुई घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको हो”, उहाँले भन्नुभयो ।

अध्यक्ष साहका अनुसार यस स्थानमा पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुल समयमै सम्पन्न नहुँदा वर्षामा स्थानीयलाई आउजाउ गर्न समस्या हुँदै आएको छ ।

डिजिटल प्रविधिमा आधारितरहि सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन

काठमाडौँ, २३ वैशाख : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित छलफलमा उहाँले ‘श्रम संसार’ पोर्टलमा वैदेशिक रोजगार, सीप विकास, श्रम तथा रोजगार सम्बद्ध सेवालगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाको विवरणसमेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । अन्तरराष्ट्रिय श्रमिक दिवसदेखि यो पोर्टल सञ्चालनमा आएको हो ।

सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास एवं विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन केकसरी सकिन्छ भन्ने विषयमा भएको उक्त छलफलमा मन्त्री भण्डारीले मन्त्रालयले श्रम बजार सूचना प्रणालीको निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशन दिनुभयो । उहाँले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकलपर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिनुभयो ।

मन्त्री भण्डारीले आगामी वर्षदेखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा राष्ट्रिय व्यावसायिक सीप प्रतिष्ठानलगायत सम्पूर्ण श्रम तथा सेवा रोजगार सेवा केन्द्रमार्फत सेवा प्रवाह हुने जानकारीसमेत दिनुभयो ।

छलफलमा मन्त्रालय तथा मातहतका कर्मचारी, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अली, श्रममन्त्रीको विज्ञ सल्लाहकार युवराज बस्नेत, स्वीस कन्ट्र्याक्टका निर्देशक, विश्व बैंक, सामी र रेमी आयोजनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसै क्रममा मन्त्रालय मातहत रहेका सूचना प्रणालीको स्तरोन्नती गर्नमा भएको ढिलाइ र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतीहरूलाई विश्लेषण गरिएको थियो ।

स्वर्गीय नेपाललाई पशुपति लगियो, उपप्रधानमन्त्रीद्वारा नेपालप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, २३ वैशाख : मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उहाँको अन्त्यष्टि गरिनेछ ।

यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा (एमाले)भित्र निर्णायक र प्रभावशाली हुनुहुन्थ्यो ।

जनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गर्नुभएका उहाँ नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित हुनुहुन्थ्यो । उहाँ आख्यानकार, कवि र उपन्यासकार हुनुहुन्थ्यो ।

उहाँले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । एमालेको सचिवालयसदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गर्नुभएका नेता नेपालले पार्टी सुदृढीकरण र स

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत बासको शिष्टाचार भेट

काठमाडौँ, २३ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

यहाँस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत विभिन्न विषयमा महत्वपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाइएको छ ।

उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजरायलबीच मित्रता, सद्भाव, समझदारी तथा सहयोगपूर्ण सम्बन्ध कायम रहिआएको बताउनुभयो । उहाँले दुई मुलुकबीच विभिन्न सम्झौताहरू भएका र केही प्रक्रियामा रहेका जानकारीमा आएको उल्लेख गर्दैै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । “नेपाल र इजरायलबीच आर्थिक, व्यापारिक, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य गर्ने प्रमुख सम्भावना छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “यी क्षेत्रहरूमा अवसरको खोजी गरी दुवै मुलुकले लाभ लिन सक्छन् ।”

उहाँले इजरायलमा उल्लेख्य सङ्ख्यामा महिला कामदारसहित चार हजार ५०० नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरूको तलब, बिमा, बिदालगायत सुविधा सुनिश्चित गराउने सन्दर्भमा इजरायल सरकारको सकारात्मक पहल अपेक्षित रहेको बताउनुभयो । उपराष्ट्रपति यादवले नेपाल र इजरायलले संयुक्त राष्ट्र सङ्घलगायत अन्तरराष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा आपसी सहयोग र सहकार्य गर्दै आएकामा यसको निरन्तरतामा आफू विश्वस्त रहेको बताउनुभयो ।

नेपालका लागि इजरायलका राजदूत बासले दुई मुलुकबीच सहयोग र सहकार्य निरन्तर जारी रहने उल्लेख गर्दै इजरायलमा रहेका नेपाली कामदाहरूसँग भएको सम्झौताबमोजिम सुविधा पाए÷नपाएकाबारे विभिन्न सङ्घ÷संस्थाहरूले अनुगमन गर्ने गरेको बताउनुभयो । “दुई मुलुकबीच केही सम्झौताहरू भइसकेका र केही प्रक्रियामा रहेकाले ती सम्झौताले पनि पूर्णतथा पाउने विश्वास गर्दछु”, उहाँले भन्नुभयो, “इजरायलबाट विभिन्न किसिमका प्रशिक्षण लिएर आएकाहरू नेपालमा सफल भइरहेको जानकारी पाउँदा खुसी लागेको छ ।”

परराष्ट्रमन्त्री राणाद्धारा एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ(एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएकी छन् । सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई बधाई दिन परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राणाले छुटेको समूहलाई पनि यहीमार्फत गोलबद्ध हुन आह्वान गरिन् ।

‘अहिले उच्चस्तरीय समितिले सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्न पहल गरोस्, त्यसमा हामी पनि सहयोग गर्छौँ,’ मन्त्री राणाले भनिन्। यसैगरी अदालतमा रहेका मुद्दाहरूमा पनि मन्त्रालयले प्रक्रियागतरुपमा किनारा लगाउँदै जाने उनले प्रतिबद्धता जनाइन् ।

मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग सहकार्य गरेर नेपालको उन्नतिमा साथ दिन अपिल पनि गरिन् । मध्यपूर्व, खाडी मात्र नभइ संसारका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारिन्

सो अवसरमा मन्त्रालयका सचिव अमृत बहादुर राईले वर्तमान कार्यसमितिलाई बधाई दिँदै सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए । साथै उनले बृहत् एकताका लागि अहिलेको कार्यसमितिले पहल गर्ने आफूले विश्वास लिएको उल्लेख गरे ।

उनले विभिन्न ठाउँका समस्याका बारेमा आपसी छलफलमार्फत समाधान गर्ने बताए । यसैगरी एनआरएन ऐनका विषयमा सुझाव दिन पनि सचिव राईले अनुरोध गरे ।संघका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठले एकता अधिवेशन सम्पन्न गर्न परराष्ट्रमन्त्री डा.देउवा, परराष्ट्र मन्त्रालयलगायत नेपाल सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि मन्त्रालयको साथ र सहयोग लिएर अघि बढ्ने बताए ।

हतारमा भन्दा पनि सबैकुराहरु सोच विचार गरेर मात्रै आफ्नो कार्यसमिति अघि बढ्ने उनले बताए । एनआरएनभित्रका विवादहरू समाधानका लागि सल्लाहकार बोर्डको आवश्यकता रहेको उनले बताए । अध्यक्ष श्रेष्ठले नेपालको विकासमा साझेदार बन्न एनआरएनए सधैँ तयार रहेको पनि जनाए ।

एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले तिता कुराहरू बिर्सिएर अघि बढ्दा मात्रै सबैले सफलता पाउने बताए । संसारकै ठूलो सङ्गठनको रूपमा रहेको एनआरएनबाट सरकारले पनि लाभ लिन सक्ने उनले उल्लेख गरे ।
एनआरएनए अभियन्ता आरके शर्माले एकताको पहलका लागि मन्त्री राणालाई धन्यवाद दिँदै आगामी दिनमा कुनै पनि विषयवस्तुमा छलफल गर्न आफूहरू तयार रहेको बताए । उनले मध्यपूर्वका समस्याहरूलाई सम्बोधन गर्नका लागि विशेष आग्रह पनि गरे ।
उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले सबैको साथ र सहयोगले एकताको अधिवेशन गराउन सकिएको बताए । उनले बृहत् एकताका लागि नव निर्वाचित कार्यसमितिले काम गर्ने र आफू सघाउन तयार रहेको बताए ।

उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले एकता महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित गरेको जानकारी सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई गराइसकेको बताइन् । उनले अहिलेको झन्झटबाट चाँडो मुक्त हुने वातावरण बनाउन सबैलाई आग्रह गरिन् ।सोही अवसरमा उच्चस्तरीय समितिका सदस्य कुँवर तथा सदस्यसचिव गुरुङले उक्त रिपोर्ट परराष्ट्र मन्त्री राणालाई पनि हस्तान्तरण गरेका थिए ।

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

काठमाडौँ, २३ वैशाख : चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । यसअघि सङ्घ सरकारले यो शीर्षकमा प्रदेश र स्थानीय तहमा जाने तेस्रो किस्तावापतको अनुदान पनि कटौती गरेको थियो ।

अर्थ मन्त्रालयले यही वैशाख १६ गते महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै चौथो किस्तावापतको वित्तीय समानीकरण अनुदान कटौती गर्न भनेको हो । अर्थ मन्त्रालयको सो निर्देशन पछि महालेखा नियन्त्रक कार्यालयले गत आइतबार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको अन्तिम किस्तावापतको २० दशमलव ६८ प्रतिशत हिस्सा मात्रै पठाउन भनेको हो ।

“आर्थिक वर्ष २०८१÷८२ को चैत मसान्तसम्म वार्षिक लक्ष्यको तुलनामा ८२ दशमलव ७२ प्रतिशत मात्र राजश्व सङ्कलन भएको र सोही अनुपातमा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयबाट लेखिआएको छ”, महालेखा नियन्त्रक कार्यालयको परिपत्रमा भनिएको छ ।

यसरी लक्ष्यअनुसार राजस्व उठ्न नसकेका कारण प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा चौथो त्रैमासिक किस्ता वापत निनियोजित रकमको २० दशमलव २८ प्रतिशतले हुन आउने रकम मात्रै हस्तान्तरण गर्न भनिएको हो ।

महालेखा नियन्त्रक कार्यालयको परिपत्रलाई आधार मान्ने हो भने यसवर्ष प्रदेश तथा स्थानीय तहहरूले कुल स्वीकृत वार्षिक बजेटमध्ये चौथो किस्तासम्मको ९१ दशमलव ७६ प्रतिशत बराबर मात्रै बजेट पाउनेछन् ।

यसअघि अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तावापतको रकममा पनि कटौती गरेको थियो । गत माघ २९ गते महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै तेस्रो किस्तावापतको वित्तीय समानीकरण अनुदानमा २५ प्रतिशतमध्ये १३ दशमलव २४ प्रतिशत अर्थात् वार्षिक बजेटको ६३ दशमलव २४ प्रतिशत नबढ्ने गरी बजेट निकासा गर्न भनेको थियो ।

प्रदेश तथा स्थानीय तहको चर्को विरोध पछि महालेखा नियन्त्रक कार्यालयले त्यसलाई संशोधन गरेर गत फागुन १३ गते अर्को परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तावापतको भुक्तानी हुने रकम केहि बढाएको थियो । जसअनुसार तेस्रो किस्ता वापतको २५ प्रतिशतमध्ये २१ दशमलव ०८ प्रतिशत अर्थात् कुल स्वीकृत वार्षिक बजेटमध्ये तेस्रो किस्तासम्मको ७१ दशमलव ०८ प्रतिशत नबढ्ने गरी वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन भनेको थियो ।

वित्तीय समानीकरण अनुदान कटौतीबाट स्थानीय तहहरूलाई स्रोत व्यवस्थापनमा ठूलो चुनौती सिर्जना हुने नेपाल नगरपालिका सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा बताउनुहुन्छ । गत वर्ष पनि सरकारले अनुदान कटौती गर्ने निर्णय पछि गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिका सङ्घलगायतले विरोध जनाएको स्मरण गर्नुहुँदै उपाध्यक्ष सापकोटाले अनुदान कटौती हुन कार्यान्वयन चरणमा गएका कामको भुक्तानीमा गम्भीर समस्या देखिने बताउनुभयो ।

“अधिकांश स्थानीय तहको आन्तरिक स्रोत कमजोर छ । सङ्घ सरकारले पहिले बजेट पठाउने तर पछि कटौती गर्ने निर्णय गर्दा झन् ठूलो समस्या सिर्जना भएको छ । अनुदान कटौती हुने हो भने काम भईरहेका योजनामा भुक्तानी गर्न सकिँदैन”, उहाँले रासससँग कुरा गर्दै भन्नुभयो । वित्तीय समानीकरण अनुदान कटौती पछि कसरी अघि बढ्ने भनेर नगरपालिका सङ्घभित्र आपसी छलफल भइरहेको पनि उहाँको भनाइ छ ।

प्रधानमन्त्रीसँग एशियाली भुक्तानी नेटवर्कका प्रतिनिधिको भेट

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीसँग एशियाली भुक्तानी नेटवर्क (एपिएन) को २१औँ फोरमका सहभागीले आज भेट गरेका छन् ।

फोनपेद्वारा आयोजित सम्मेलनमा सहभागी नेपालसहित १३ देशका १४ प्रतिनिधिसँग प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढीकरणका बारेमा विचार विमर्श गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयको लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गर्नुभयो ।

‘नीति तथा कार्यक्रमले लक्षित वर्गलाई समेट्नुपर्छ’ : सांसद यादव

काठमाडौँ, २३ वैशाख : प्रतिनिधिसभाको बैठकमा सांसद उपेन्द्र यादवले नीति तथा कार्यक्रम गरिब, किसान, निम्नवर्गका लागि सहयोग पुग्ने खालको हुनुपर्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद यादवले देशलाई अगाडि बढाउनका आवश्यकपर्ने नीति तथा कार्यक्रम जरूरी भएको बताउनुभयो ।

सांसद अब्दुल खानले जनताको चाहाना र आवश्यकताअुनसार नीति तथा कार्यक्रम आउनुपर्ने र एक वर्षमा केके गर्न सकिन्छ भनेर जनतालाई सेवा दिने खालको हुनुपर्ने बताउनुभयो ।सांसद मोहनबहादुर बस्नेतले नीति तथा कार्यक्रम धेरै राम्रो आएको भए पनि योजनालाई प्राथमिकीकरण गरेर लैजानुपर्ने सुझाव दिनुभयो । उहाँले वर्षातको समयमा बाढी पहिरोले धेरै धनजनको नोक्सान पार्ने भएकाले सुरूमै त्यसको तयारीमा लाग्नुपर्ने भनाइ राख्नुभयो ।

सांसद भानुभक्त जोशीले नीति तथा कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तह मिलेर धेरै काम गर्ने भनेर लेखिएको भए पनि धेरै कानुन बनाउन नसक्दा समस्या परेको विषय ध्यान दिन सुझाव दिनुभयो ।सांसद भगवती चौधरीले सामाजिक न्यायसहित नीति तथा कार्यक्रम आएको र योजनाको आवश्यकताको आधारमा प्राथमिकीकरण गरेर ल्याउनुपर्ने बताउनुभयो ।

सांसद् छिरिङ लामु लामा तामाङ्ले सङ्घीयता सुदृढ बनाउने खालको नीति तथा कार्यक्रम बनाउनुपर्ने भए पनि ठोस योजना नआएको र ग्रामीण क्षेत्रका स्वास्थ्य क्षेत्रको स्वास्थ्य संस्था सुधार गर्ने विषयमा स्पष्ट नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद वीरबहादुर बलायरले ११ लाख मेट्रिक टन रसायनिक मल चाहिनेमा साढे तीन लाख ल्याउने गरेको हुँदा सबै मलको हाहाकार हुने देखिएकाले रू तीन अर्वमा कम्तीमा रू १० अर्वको प्राराङ्कि मल तयार गर्न सुझाव दिनुभयो । उहाँले प्राङ्ग्रारिक मल बनाउने धेरै तरिका भएको र त्यसले धेरै पैसा बचत तथा उत्पादन राम्रो हुने बताउनुभयो ।

सांसद राजेन्द्रकुमार राईले पहाडी र हिमाली क्षेत्रमा सन्तुलन कायम गर्नुपर्ने जरूरी भएको र त्यहाँका जनतालाई त्यही ठाउँमा राख्नका लागि शिक्षा, स्वास्थ्य आदिको व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो । उहाँले धनकुटामा एउटा मेडिकल कलेज जरूरी भएको र त्यहाँ पढ्नेलाई त्यही व्यवस्था गर्नुपर्ने अन्यथा गाउँ रित्तिने जोखिम बढ्नेतर्फ सचेत गराउनुभयो ।

सांसद डिगबहादुर लिम्बुले नीति तथा कार्यक्रममा युवालाई स्वदेशमै बस्ने वातावरणको निर्माण गर्नुपर्ने र रोजगारीका लागि विदेश जाने वातावरणको सिर्जना गर्न नहुनेमा जोड दिनुभयो ।

सांसद तारा लामा तामाङले नीति तथा कार्यक्रम यर्थाथमा आधारित भएर आएको र कति वर्षमा काम गर्न सकिन्छ भनेर तय गरेर राखिएको र अनावश्यक संरचनालाई खारेज गर्ने तयारी राम्रो भएको बताउनुभयो ।

सांसद मैना थापाले संक्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिँदै दुवै आयोगमा निस्पक्ष र विश्सनीय पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गर्नुभयो ।

सांसद सीता मिजारले नैतिक, व्यवहारिक, प्राविधिक शिक्षा दिएर युवालाई रोजगार दिनुपर्ने विषयमा ध्यान दिनुपर्ने र रोजगारी दशक घोषणा गरेअनुसार नीति तथा कार्यक्रममा आउनुपर्नेमा जोड दिनुभयो ।सद सूर्यप्रसाद ढकालले नीति तथा कार्यक्रम संविधानको मर्म र भावनाअनुसार आएको र बजेटले चालु खर्च कटौती गरेर पूर्जीगत खर्च वृद्धि गर्ने दृष्टिकोणबाट अघि बढेको बताउनुभयो ।

सांसद प्रतिमा गौतमले विकास आयोजनाका लागि छुट्टै कोषको स्थापना गर्ने भनिएको भए पनि अन्य चालु कोषको अवस्थाबारे सदनलाई जानकारी नभएको बताउनुभयो । सबै नेपालीलाई खानेपानीको पहुँच पुर्‍याउने भन्ने नीति तथा कार्यक्रममा आउने तर धारामा पानी नआउने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद ऋषिकेस पोखरेलले विद्यालय शिक्षा बदल्नका लागि एउटै पाठ्यपुस्तक सरकारी तथा नीजि क्षेत्रको विद्यालयमा हुनुपर्ने र स्वास्थ्य क्षेत्रमा भएको विभेद पनि अन्त्य गरी एउटै बनाउनुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा जारी रहेको छ । थप छलफल आगामी बैठकमा हुनेछ ।प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २४ गते ११ बजे बस्नेछ ।

उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए ।

सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।

‘साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्’, वडाध्यक्ष तामाङले भने, ‘खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन् ।’

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिए ।

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

जुम्ला, २३ वैशाख : यही वैशाख १७ गते राति परेको असिनापानीले यहाँको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताउनुभयो ।

जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । सोह् हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष रु ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयले जनाएको छ ।

असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ । किसान नुर्बु लामाले लामाले भन्नुभयो, “गत वर्ष स्याउबाट रु आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानी क्षति गरेको छ । सो वडाका आफूसहितका नौ घर परिवारका स्याउमा असिनापानीले क्षति गरेको छ ।” प्रमुख आम्दानीका रूपमा रहेको स्याउको चिचिला लाग्ने बेला पातसमेत झार्ने गरी परेको असिनाले स्याउका रूख टाकुला देखिने थालेको स्याउ किसान लामाको भनाइ छ ।

स्याउलगायत जौँ, गहुँ, मकै, भोटे जिरालगायत बालीमा क्षति गरेको छ । गत वर्षतिर शिखर इन्स्योरेन्सले बिमा गरिदिएकाले किसानलाई राहत भएको थियो । यो वर्ष बिमा नहुँदा स्याउ किसान मर्कामा परेको लामाले बताउनुभयो । गुठीचौर–२ मुडरीगाउँमा असिनापानीले स्याउमा क्षति गरेको वडाध्यक्ष दीपबहादुर ऐडीले बताउनुभयो । कोल्ते, गुठीगाउँ र मुडुरीगाउँ लगायत करिब पाँच सय ५० घरपरिवारले लगाएको गहुँ, जौँ, ओखर, स्याउ र बर्खे फलफूलमा क्षति गरेको छ । जौँ र गहुँबाली भित्र्याउने बेला परेको असिनापानीले किसान चिन्तित भएको वडाध्यक्ष ऐडीको भनाइ छ ।

अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।
आज मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटघाट भएको हो ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।

आज मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुर । आज जानकी नवमी धुमधामका साथ मनाईदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।

माता सीताको जन्मोत्सवको दिन आज खासगरी जनकपुरधामस्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिदैछ ।

जानकी नवमीको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक दुधमती नदीमा साधुसन्त तथा भक्तजनहरुले साही स्नान गरेका छन् । सीता माता धर्तीबाट निस्किए पछि उनलाई धुत खुवाउन दुधमती नदि प्रकट भएको जनविश्वास रहेको छ । रामायणकालिण समयमा यस नदिमा दुध बग्ने र सोही दुध सीता माताले पिउने गरेको बताईन्छ ।

जानकी नवमीको अवसमा आज जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, जानकी डोला यात्रा, तिल्कोत्सव र दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।मधेश प्रदेश सरकारले जानकी नवमीको अवसरमा मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।

करको दायरा बढाउन माग पोखरा महानगरपालिकासँग आग्रह

गण्डकी, २३ वैशाखः पोखराका उद्योगी–व्यवसायीले करको दर नभई दायरा बढाउन पोखरा महानगरपालिकासँग आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजित आगामी आर्थिक वर्षको राजस्व नीतिबारे सुझाव विषयक अन्तरक्रियामा निजी क्षेत्रका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।

पोखरा महागनरभित्र आधिकारिकभन्दा अनधिकृत रूपले व्यवसाय गर्नेहरूको सङ्ख्या बढी भएको जिकिर गर्दै व्यवसायीले त्यसका कारण आधिकारिक निकायमा दर्ता गर्ने व्यवसायीलाई मर्का परेको बताए । महानगरले लागू गर्ने कर तथा राजस्व नीति नागरिक र व्यवसायमैत्री हुनुपर्नेमा व्यवसायीहरूको जोड छ ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले दर्ताबिना नै चलेका व्यवसायकै कारण कर तिरेर व्यवसाय गर्नेहरू मर्कामा परेका तथा भन्सारमा राजस्व तिरेर ल्याइएका सामग्रीभन्दा पनि चोरी पैठारीबाट आउने सामानको अनधिकृत बिक्री हुने सम्भावना बढेको बताउनुुभयो ।

आफूहरू कर तिर्न तयार रहेको बताउँदै उहाँले एक ठाउँमा कर तिरेपछि सोही प्रकृतिको कर अन्य ठाउँमा तिर्न नपर्ने गरी व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो । अर्थतन्त्र बलियो नबन्दासम्म पूर्वाधार र सामाजिक कार्यमा दिल खोलेर खर्च गर्न सकिँदैन भन्नेबारे निजी क्षेत्र जानकार रहेको बताउँदै उहाँले व्यवसायमैत्री नीति आवश्यक हुने बताउनुुभयो ।

पोखरामा लामो समयदेखि घरबहाल कर समस्याका रूपमा देखापरेको बताउँदै उहाँले घरबहाल करको दायित्व घरधनीकै भएकाले त्यस्तो कर घरधनीबाट नै भुक्तानीको व्यवस्था गरिनुपर्ने माग गर्नुुभयो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले व्यवसायीलाई मर्का नपर्ने गरी राजस्व नीति आउनुपर्ने बताउँदै त्यसमा निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुुभयो ।

नेपाल उद्योग परिसङ्घ गण्डकीका अध्यक्ष विनोद शर्मा, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बाँस्तोला, लेखनाथ उद्योग वाणिज्य सङ्घकी महासचिव जानुका पराजुली, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यलगायतले राज्यको नीति व्यवसायमैत्री हुनुपर्ने बताउनुुभयो ।

पोखरा महानगरका उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक मञ्जुदेवी गुरुङले निजी क्षेत्रले उठाएका मागलाई सम्बोधन गरिने बताउनुुभयो । सार्वजनिक–निजी साझेदारीअनुरुप निजी क्षेत्रसँग सहकार्य गर्न महानगर तयार रहेको बताउँदै उहाँले आउँदा दिनमा निजी क्षेत्रसँगको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुुभयो । महानगरको राजस्व नीतिलाई निजी क्षेत्रमैत्री बनाउने तथा कर प्रणालीमा सुधार गर्दै अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

पोखरा महानगरपालिकाको राजस्व महाशाखा प्रमुख नवराज पौडेलले चालु आर्थिक वर्षमा लक्ष्यअनुरुपको राजस्व नउठेको जानकारी दिनुुभयो । महानगरले आन्तरिकतर्फ विभिन्न शीर्षकबाट रु एक अर्ब ७० करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा त्यसलाई संशोधन गर्दै रु एक अर्ब १८ करोडको लक्ष्य निर्धारण गरिएको उहाँले जानकारी दिनुुभयो । यस वर्ष नै लक्ष्य नभेटिएपछि आगामी आवमा त्योभन्दा कम राजस्व सङ्कलनको लक्ष्य राखिने उहाँले बताउनुुभयो ।

सुरौदी जलाधारः पुल नहुँदा जोखिम, कटान नियन्त्रण नहुँदा बगर

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेशको कास्की, स्याङ्जा र तनहुँ जिल्लाका भू–भागहरू समेटर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीय पुलको अभावसँगै वर्षामा पानीको कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा पर्दै आएका छन् ।

खोला आसपासका उब्जाउ योग्य भू–भागमा यहाँको पानीको उपयोग नहुँदा सिँचाइविहीन बनेका छन् भने वर्षामा खोलाले गर्ने कटानका कारण लगाएको बालीसमेत भित्र्याउन पाउने या नपाउने अन्योलता बर्सेनि पर्ने गरेको छ ।

खोलाको कटान नियन्त्रण हुन नसक्दा खेतीयोग्य जमिन बर्सेनि बगर बन्दै जाँदा आफूहरू समस्यामा परिरहेको अगुवा कृषक रमेश आचार्यले बताउनुभयो । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमीन कटान गरिरहे पनि यसतर्फ राज्यको चासो पुग्न नसकेको उहाँले दुखेसो गर्नुभयो ।

“कटान नियन्त्रण नहुँदा वर्षमा रोपेको धान मङ्सिरमा भित्र्याउन पाइन्छ की पाइँदैन भन्ने सधैँ चिन्ता हुने गरेको छ”, उहाँले भन्नुभयो, “सुरौदी खोलाको यत्रो जलसम्पदा कटान नियन्त्रणकै अभावका कारण उपयोगविहीन बनेको छ नै, यसका कारण किसानले बर्सेनि ठूलो क्षति व्यहोर्नु परेको छ ।”

कटान नियन्त्रणका लागि ठाउँठाउँमा तटबन्ध निर्माण गर्न सकिएमा समग्र सुरौदी फाँट कृषि उत्पादनको अब्बल भूमिमा परिणत हुने उहाँले दाबी गर्नुभयो । जलाधारको संरक्षण र उपयोग गर्नसकेमा स्याङ्जाको प्युरीदोभानबाट कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भू–भाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न सकिनुका साथै माछापालनबाट प्रशस्त आम्दानी प्राप्त गर्न सकिन्छ ।

कटान नियन्त्रणका साथसाथै यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक रहेको उल्लेख गर्दै आचार्यले पुलको अभावमा वर्षताको समयमा ज्यानको जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले वर्षात्का समयमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँले अनुभव सुनाउनुभयो ।

यो क्षेत्र पोखरा महानगरपालिका–७ डाँडागाउँ र तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ अर्वादी तथा खारखोला क्षेत्रका स्थानीयको बेँसी रहेको बताउँदै आचार्यले वर्षात्का समयमा खेती गर्न निकै चुनौती व्यहोर्नु परेको जानकारी दिनुभयो । “यहाँ भएका खेत पनि खोलाभन्दा वारीका मानिसको पारी र पारीका मानिसको वारी छ”, उहाँले भन्नुभयो, “वर्षात्मा बढ्ने सुरौदी खोलाका कारण ज्यानको जोखिम मोलेर वारपार गर्नुपर्ने वर्षौंदेखिको बाध्यतामा यहाँका किसान छन् ।”

यस क्षेत्रमा खोला तर्ने पुलका लागि यहाँबाट माथि वा तल पाँच सात किलोमिटर हिँड्नुपर्ने बाध्यताका कारण पनि तत्कालै झोलुङ्गे पुल अपरिहार्य देखिएको उहाँले उल्लेख गर्नुभयो । पछिल्ला समयमा यस क्षेत्रको माटेरहबाट तल दराङसिङ क्षेत्रलगायत स्थानमा खोलाको कटान बढीरहेको उहाँको भनाइ छ ।

सुरौदी खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको अवस्थामा कास्की, तनहुँ र स्याङ्जा तीनवटै जिल्लाको संयुक्त प्रयास अपरिहार्य देखिएको पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताउनुभयो । खोला आसपासको क्षेत्रको सबैभन्दा पहिले सीमाङ्कन जरुरी रहेको बताउँदै उहाँले सीमाङ्कन नहुँदा खोलाजन्य सामग्रीको चोरीपैठारी नियन्त्रण गर्न पनि समस्या पर्ने गरेको जानकारी दिनुभयो ।

यस क्षेत्रमा व्यावसायिक कृषिको विकाससँगै जल पर्यटनका विविध सम्भावनालाई उजागर गर्न सकिने बताउँदै उहाँले यसका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभयो ।

सुरौदी खोलाको सदुपयोग गर्न सकेमा खोला किनाराको उत्पादनले कास्की जिल्लालाई पूर्ण रूपमा कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सकिने समाजसेवी यामप्रसाद पौडेलले बताउनुभयो । पछिल्ला समयमा अन्य पूर्वाधार विकासका कामले भने गति लिन थालेको बताउँदै उहाँले हालै सुरौदी जलाधार क्षेत्रअन्तर्गत कदमबोटेबाट फेदीसम्म कालोपत्र गरिएको जानकारी दिनुभयो ।

नदीको बर्सेनि धार परिवर्तन हुँदै झण्डै सात दशकयता जलाधार क्षेत्रमा रहेका कैयौँ खेतीयोग्य जमिन बगरमा परिणत भएको उहाँले बताउनुभयो । कटान नियन्त्रण गरी खोला किनाराका जग्गामा खेती गर्नसकेमा सबै किसिमको उत्पादन हुने यहाँका स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा केही अगुवा कृषकले व्यावसायिक पशुपालनसँगै तरकारीखेतीमा जोड दिँदै आउनुभएको छ ।

यस क्षेत्रको तिखेढुङ्गा क्षेत्रमा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा खर्बुजा लगाउनुभएको छ । लटरम्म फलिरहेको खर्बुजा बजारमा ल्याउने तयारी भइरहेको उहाँहरूले बताउनुभयो । रोजगारीको खोजीमा युवा दिनानुदिन विदेशिएका वास्तविकतामा उहाँहरूले गर्नुभएको खर्बुजाखेती जलाधार क्षेत्र आसपासका सर्वसाधारणका लागि पनि दरिलो पाठ बनेको छ ।

जलाधार क्षेत्रमा अत्यावश्यक झोलुङ्गे पुलको निर्माणसँगै खोलाको कटान नियन्त्रणमा राज्यले चासो दिएमा यो कृषि उत्पादन र जल पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण उपलब्धि हुने उहाँहरूको दाबी छ ।

सहयोग जुटाएर एकै घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

तुलसीपुर (दाङ), २३ वैशाख : आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एका घरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो । तेइस वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन् । मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुनुहुन्छ । सोह्र वर्षीया उहाँ हिँडडुल गर्न पनि सक्नु हुँदैन ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रुपा गन्धर्वसहित उहाँहरु २०६८ सालमा दाङको तुलसीपुर झर्नुभएको थियो । रुपाले भन्नुभयो,“सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमान्ले अर्काे विवाह गर्नुभयो ।” यसपछि रुपालाई श्रीमान्ले कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उहाँलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो ।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उहाँहरु दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आउनुभएको थियो । “कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसकोमा”, गणेशले भन्नुभयो, “लामो समय कसैले पनि बस्न दिएनन् ।” यसरी भाडामा बस्दा पनि पीडा झेलेका उहाँहरुको अहिले आवास निर्माण हुन थालेपछि भने खुसी छन् । सारङ्गी बजाएर, गीत गाएर गणेशले आम्दानी गर्नुहुन्थ्यो, त्यसैले घरखर्च चल्ने गरेको थियो । अब घर बनेपछि भाडा तिर्नुनपर्ने हुँदा सहज हुने गणेशले बताउनुभयो । “भाडा तिर्न पनि गाह्रो हुन्थ्यो, घर बनेपछि भने अब सहज हुने भयो”, उहाँले भन्नुभयो ।

करिब रु १५ लाख लागत अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताउनुभयो । “सबै सन्तान दृष्टिविहीन, बास पनि नभएपछि हामीले घर बनाइदिने गरी काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उहाँको भनाइ छ । यसै क्रममा केसीले अहिलेसम्म घर निर्माणका लागि रु ४० हजार सहयोग गरिसक्नुभएको छ ।

निर्माण भइरहेकाले लाग्ने सबै खर्च व्यहोर्ने गरी काम अघि बढाइरहेको उहाँले बताउनुभयो । दृष्टिविहीन गणेशसहित गङ्गा, जमुना गुरुजजुर नमूना माविमा ब्रेललिपिमार्फत अध्ययन गर्छन् । हाल आमा रुपाको खातामा विभिन्न सङ्घसंस्थाको सहयोगमा रु सात लाख सहयोग सङ्कलन भएको थियो । त्यो रकम बैंकमा मुद्दति खातामा छ । त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको जनाइएको छ ।

सङ्घीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ, २३ वैशाख : सङ्घीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज विहान ११ वजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ : १५ वजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्नहुने कार्यसूची छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभामा गत आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भैसकेको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २३ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ९०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३६०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु २४०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु ८०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ६५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

आँबुखैरेनीका किसानले उत्पादन गरेका फापर गाउँपालिकाद्वारा खरिद

दमौली (तनहुँ), २३ वैशाखः आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित छ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो ।

आँबुखैरेनी-६ प्युघरका सेतीले विगतका वर्षहरूमा प्रतिकिलो रु ६० मा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकिलो रु एक सय ५० का दरले खरिद गरेको जानकारी दिनुभयो । “यो वर्ष पालिकाले खरिद गरिदिएपछि विगतको तुलनामा करिब तीन गुणा बढी आम्दानी भएको छ”, उहाँले भन्नुभयो, “जति उत्पादन हुन्छ गाउँपालिकाले खरिद गरिदिन्छौँ भनेकाले हामीलाई हौसला मिलेको छ ।”

सोही स्थानका मिलनले फापर उत्पादनपश्चात् बिक्रीको समस्या नरहेको सुनाउनुभयो । “गाउँपालिकाले खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरणा प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।

ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताउनुभयो । विगतमा यहाँका कृषकले विचौलियामार्फत प्रतिकिलो रु ६० मा फापर बिक्री गर्दै आएकामा पालिकाले हाटबजारमार्फत प्रतिकिलो रु एक सय ५० मा बिक्री गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसले गर्दा कृषकले विचौलियालाई बिक्री गर्नुपरेको छैन । कृषकले पनि विगतको भन्दा बढी रकम पाउनुभयो ।” केसीले कृषकको बारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिएको बताउनुभयो आँबुखैरेनी–६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्कलगायत क्षेत्रमा फापर उत्पादन हुने गर्दछ । यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने कृषि शाखा प्रमुख केसीले जानकारी दिनुभयो ।

आगामी वर्षदेखि यसको बजारीकरणलाई थप व्यवस्थित गरिने भन्दै उहाँले भन्नुभयो, “आगामी वर्ष फपार उत्पादन हुने गाउँमा कुट्ने उपकरण उपलब्ध गराएर फापरको पिठो खरिद गर्ने योजनासहित अघि बढेका छौँ ।”ग्रामीण भेगमा उत्पादित फापर उपभोक्तासम्म लैजाने र कृषकलाई सहज रूपमा बजारीकरणको व्यवस्था गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

एक करोड ४८ लाखमा यस्ताे बन्याे झिँमा वडा कार्यालय भवन

म्याग्दी, २३ वैशाख : रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९÷८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो ।

आव २०७९/ ८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो । रु ७१ लाख ६६ हजार ४१५ मा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङरोगन, विद्युत्, पानी, फर्निचरको काम गरेको थियो ।

चालु आर्थिक वर्षमा विनियोजन भएको रु २७ लाख बजेटबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताउनुभयो । भवन निर्माण गर्न रु ५९ लाख खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो । भाडाको घरमा सञ्चालित वडा कार्यालय नयाँ भवनमा सारिएको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । भाडाका लागि भइरहेको खर्च बचत भएको वडाध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।

आठवटा वडा रहेको गाउँपालिकाले यसअघि पाखापानीमा वडा नं ६ र भगवतीमा वडा नं २ का लागि भवन निर्माण गरेको थियो । वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ । वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन् ।

मौवाफाँटमा सभाहलसहितको भवन बनाएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । रु एक करोड १५ लाख ८६ हजार ४४७ कबोलेमा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको हो ।

ठेक्का प्रक्रियामा १० वटा निर्माण कम्पनी सहभागी भएका थिए । आगामी वर्ष पनि बजेट विनियोजन गरेर भवन निर्माणलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।
–––

विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोड

काठमाडौँ, २३ वैशाखः विदेश पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमा रोक्न शैक्षिक नीति निर्माण गरी शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले सोमबार यहाँ आयोजना गरेको ‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीतिः संवाद र सम्भावना’ विषयक विमर्श कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले शिक्षा र स्वास्थ्य उपलब्ध गराउन नसकेसम्म मुलुक समृद्ध बन्न नुक्ने धारणा राख्नुभयो । शैक्षिक पूर्वाधार निर्माणका लागि वनको जग्गा उपयोग गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

त्रिुभवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा तीर्थराज खनियाँले देशमा उच्च शिक्षासम्बन्धी प्रभावकारी नीति नभएको उल्लेख गर्दै विदेशीले चाहिएर नेपाली विद्यार्थी आफ्नो मुलुकतर्फ लगिरहेका बताउनुभयो ।नेपाली विद्यार्थी जाने पहिलो अष्ट्रेलिया र दोस्रो देश जापान भएको उल्लेख गर्दै उहाँले जापानमा धेरै घर खाली भएकाले नेपाली विद्यार्थी लगिएको सुनाउनुभयो । अन्य मुलुक गएका जापानी स्वदेश नफर्किएकाले त्यहाँका घर खाली हुने अवस्थामा पुगेका पूर्वउपकुलपति खनियाँले बताउनुभयो ।

पूर्वउपकुलपति अङ्गराज जोशीले शैक्षिक संस्था जाऔँ जाऔँ लाग्ने खालका नीति बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै इन्टरनेटको पनि सहज पहुँचबाट शिक्षा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले शिक्षा देशको मेरुदण्ड भए पनि कम प्राथमिकतामा परेको बताउनुभयो । लिक्वानले सिङ्गापुर बनाउँदा पनि शिक्षाको गुणस्तर सुधार गरेर देशको अवस्था सुधार गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति सिलु बज्राचार्यले अनुसन्धानमा आधारित शिक्षा व्यवस्थाको तयारी गरिनुपर्नेमा जोड दिनुभयो । सैद्धान्तिक र व्यावहारिक ज्ञान एकसाथ दिन नसके शिक्षाको गुणस्तर सुधार नहुने उहाँको भनाइ छ ।

शिक्षाविद् विद्यानाथ कोइरालाले गैरआवासीय नेपाली साङ्घ (एनआरएनए) लाई ज्ञान, सीप, प्रविधि, पैसा र जनशक्ति लिएर नेपाल फर्काउने वातावरण बनाइनुपर्ने बताउनुभयो । अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाले प्रभावकारी पठनपाठनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्यले बेलायतबाट आफैँले २९ जनाको शव नेपाल फर्काएर सहयोग गरेकाले विदेश गएर दुःख पाउने नेपाली विद्यार्थीको सूची लामो रहेको बताउनुभयो । विभागका संयोजक नैनसिंह महराले अहिलेको शैक्षिक अवस्था अस्तव्यस्त हुनुका कारण खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

आजको मौसम : दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

काठमाडौँ, २३ वैशाख : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राष्ट्रिय/अन्तरराष्ट्रिय भलिबलको उपाधि इरानी टोलीलाई

कास्की- पोखरामा सञ्चालन भएको प्रथम संस्करणको लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-१ सेटमा हराउँदै इरानी टोली च्याम्पियन बनेको हो ।

पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४-२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधिसहित रु चार लाख ४४ हजार ४४४ तथा ट्रफी प्राप्त गरेको हो । उपविजेता बनेको पुलिसले रु दुई लाख ४४ हजार ४४४ प्राप्त गरेको छ ।

यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९-२७ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२-२५ ले गुमाएको आर्मीले चौथो सेट २५-२३ ले जित निकाल्दै तेस्रो भएको हो । प्रतियोगितामा तेस्रो भएको आर्मीले रु एक लाख ४४ हजार ४४४ पुरस्कार प्राप्त गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालले राष्ट्रिय खेल भलिबलको विकास गर्दै युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यही वैशाख १८ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा दुई विदेशीसहित छ टोलीको सहभागिता थियो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २३ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६४ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८२ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४ रुपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३४९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाएको छ ।

आज राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस

काठमाडौँ, २३ वैशाखः प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग सीताको विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनबास जाँदा सँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

रावणसहित राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सम्झना गरिने गौतमले जानकारी दिनुभयो ।

अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षादीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् गौतमले उल्लेख गर्नुभयो । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।

दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उहाँ धर्तीको कोखमा लुप्त हुनुभएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति हुनुभएकी सीता माटोमै लुप्त हुनुभएको थियो ।

सीता उत्पत्ति हुनुभएको आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ ।

यसै अवसरमा आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधनासहित भक्तिसङ्गीत र प्रवचन कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा गोविन्द टन्डनले जानकारी दिनुभयो । साथै गोकर्णेश्वर नगरपालिका–२ भूमिस्थलीस्थित रामजानकी मन्दिरमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट

लन्डन, २२ वैशाखः नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले यहाँ महत्वपूर्ण भेटघाट गरेको छ ।

२७ अप्रिल संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लन्डन आइपुगेको प्रतिनिधिमण्डलमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल, विशेष अदालतका न्यायाधीश रीतेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल संलग्न हुनुहुन्थ्यो ।

उक्त न्यायिक प्रतिनिधिमण्डललाई लन्डन हिथ्रोमा बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरे र दूतावासका अन्य वरिष्ठ कूटनीतिज्ञहरूले स्वागत गर्नुभएको थियो । बेलायत भ्रमणका क्रममा प्रधानन्यायाधीश राउतले २९ अप्रिलमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसँग उहाँकै कार्यकक्षमा भेट गर्नुभयो ।

सो भेटघाटका क्रममा दुई न्यायाधीशीले सद्भावना पत्रमा हस्ताक्षर आदानप्रदान गर्नुभयो । जसले नेपाल र संयुक्त अधिराज्यको सर्वोच्च अदालतबीच लामो समयदेखिको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

सद्भावनापत्रले दुई देशका सर्वोच्च अदालत र न्यायिक प्रणालीबीच उत्कृष्ट अभ्यासहरु साझा गर्न र पारस्परिक सहयोग प्रवर्द्धन गर्न सम्बन्धित न्यायपालिकाहरूको पारस्परिक प्रतिवद्धतालाई सहयोग पुग्ने आशा गरिएको छ ।

उक्त भेटघाटमा नेपालका प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतले दिएका केही ऐतिहासिक फैसलाहरूमाथि प्रकाश पार्नुभएको थियो । संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष अल्लरमुइरले दुई देशबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै नेपालको न्यायिक क्षेत्रलाई सहयोग गर्ने आश्वासन दिनुभयो ।

सद्भावना पत्रमा हस्ताक्षर नेपाल र बेलायतको न्यायिक इतिहासमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको प्रतिनिधिमण्डलको विश्वास छ । सो अवसरमा उहाँहरूले न्यायिक अभ्यास र अनुभवका विभिन्न पक्षमा छलफल गर्नुभएकोथियो । न्यायिक अधिकारीहरूलाई तालिम दिने, कुशल न्याय प्रशासनको अनुभव साझा गर्ने, फैसलाको मस्यौदा तयार गर्ने र न्यायिक अभ्यासहरू जस्ता क्षेत्रहरूमा सहकार्य गर्न उहाँहरु सहमत हुनुभएको छ । उहाँहरूले कानुनी शासन कायम राख्न सहयोग प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश राउतले इङ्ग्ल्याण्ड र वेल्सका महिला प्रधानन्यायाधीश ब्यारोनेस कार अफ वाल्टन–अन–द–हेलसँग दुई देशका न्यायिक संयन्त्रबीचको सहकार्यका सम्भावनाबारे छलफल गर्नुभएको थियो । प्रधानन्यायाधीश राउतले बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसँग पनि भेट गर्नुभयो ।

भेटघाटका क्रममा दुई विशिष्ट व्यक्तित्वले संसद् र न्यायपालिकाबीचको सम्बन्धसहित पारस्परिक हितका विभिन्न द्विपक्षीय विषयमा छलफल गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

सोही दिन प्रधानन्यायाधीशसँग इङ्ग्ल्याण्ड र वेल्सको न्यायपालिकाका न्यायाधीश रोबिन नोल्स, लर्ड जस्टिस डिङ्गेमेन्स, अन्तरराष्ट्रिय न्यायिक टोलीका लर्ड जस्टिस स्नोडेन, श्रीमती एडी, एडवर्ड लर्ड गार्नियर, किंग्स कलेज लन्डनका प्रोफेसर जेम्स ली र हाउस अफ कमन्सका सांसद डेभिड स्मिथ जस्ता प्रवुद्ध व्यक्तित्वहरूसँग भेट गर्नुभएको थियो ।

भेटमा उहाँहरूले न्यायिक प्रणालीका विभिन्न आयाम र सहयोगका सम्भावित क्षेत्रहरुबारे छलफल गर्नुभयो । प्रधानन्यायाधीश राउतले बेलायतको न्यायिक प्रणालीका प्रमुख व्यक्तिहरूसँगको बैठकमा भाग लिनुभयो, जसमा ‘जुडिसियल अपोइन्टमेन्ट कमिस्नर’ तनवीर इकराम, इङ्ग्ल्याण्ड र वेल्सको बार अध्यक्ष श्रीमती बारबरा मिल्स केसी र बार काउन्सिलको अन्तरराष्ट्रिय समितिका अध्यक्ष ह्यु मर्सर केसी पनि हुनुुहुन्थ्यो ।

बैठकमा प्रधानन्यायाधीश राउतले कानुनी तर्क, वस्तुनिष्ठता, निष्पक्षता र न्यायप्रति अटल समर्पणको ब्रिटिस परम्पराको प्रशंसा गर्नुभयो । उहाँले दुई देशका सर्वोच्च अदालतबीचको सद्भावना पत्रमा हस्ताक्षर गर्नुको महत्त्वलाई पनि प्रकाश पार्दै दुवै देशका न्यायपालिकाबीचको सम्बन्धलाई बलियो बनाउन र आपसी समझदारी र सहयोगलाई बढावा दिने लक्ष्य राखेको उल्लेख गर्नुभयो ।

बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरले दुई राष्ट्रहरूबीचको लामो समयदेखिको ऐतिहासिक सम्बन्धमा थप जोड दिँदै सद्भावना पत्रले कानुनी परम्परा र न्यायिक प्रणालीको क्षेत्रमा सहकार्य बढाउने आशा व्यक्त गर्नुभयो ।

राजदूत चन्द्रकुमार घिमिरेले दूतावासमा प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा स्वागत समारोह आयोजना गर्नुभयो । स्वागत समारोहमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसहित बेलायतको न्यायिक प्रणाली र समाजका प्रतिष्ठित व्यक्तित्व उपस्थित थिए ।

गत १ मेमा नेपाली प्रतिनिधिमण्डलले बेलायतको न्यायिक क्षेत्रका प्रमुख व्यक्तित्वहरू ओल्ड बेली (केन्द्रीय फौजदारी अदालत) का एन्थोनी लियोनार्ड केसी र सारा ह्वाइटहाउस साथै इनर टेम्पल इन्टरनेशनल कमिटीका अध्यक्ष किरोन बिल केसीसँग अन्तक्र्रिया गरेको थियो ।

बेलायत बसाइको क्रममा प्रतिनिधिमण्डलले दुई देशको न्यायिक प्रणाली र अभ्यासहरूको बारेमा जान्न र अन्तर्दृष्टि आदानप्रदान गर्न स्कटल्याण्डको भ्रमण समेत गरेको छ ।

‘महानगर निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहान्छ’ – बालेन्द्र शाह

काठमाडौँ, २२ वैशाखः काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

आज यहाँ निजी क्षेत्रका प्रतिनिधिसहितको बैठकमा उहाँले सबैको सहकार्यबाट नै देशभित्र रोजगारीको सम्भावना खोज्न सकिने र त्यसका लागि महानगर मिलेर अगाडि बढ्न तयार रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “सहकार्यमा एकता हुन्छ, यसैबाट निराश भएका युवामा आशा जगाउन सकिन्छ । यो रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ ।”

महानगर प्रमुख शाहले यस वर्ष पनि आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा सीप मेला सञ्चालन गर्ने तयारी रहेको र महानगरले वर्षभरि नै सीपमूलक तालिम सञ्चालन गरिरहेकोबताउनुभयो । यस्ता तालिमबाट मानव पुँजीका रूपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आबद्ध गराउन निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अगाडि बढाइएका उहाँले बताउनुभयो ।

निजी क्षेत्रका प्रतिनिधिहरूले महानगरले गत वर्ष सञ्चालन गरेको ‘सीप मेला २०८१’ ले सीपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको धारणा राख्नुभयो । उहाँहरूले उद्योग क्षेत्रले भोगिरहेको जनशक्ति समस्या कम गराउन मेला उपयोगी भएको बताउनुभयो ।

“नेपालमा डकर्मी, सिकर्मी, कपाल काट्ने, प्लम्बिङलगायत कामका लागि युवाहरूमा तत्परता देखिँदैन । यही काम विदेशमा गएर सजिलै गर्छन् । यसकारण यी पेसाहरूमा आकर्षण बढाउनुपर्छ । यी तुरुन्तै रोजगारी दिन सकिने ठाउँ हुन्”, निजी क्षेत्रका प्रतिनिधिहरूले भन्नुभयो ।

बैठकमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगागतले आफ्नो धारणा राख्नुभएको थियो ।
कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले गत वर्ष सम्पन्न गरिएको मेलाका बारेमा जानकारी दिँदै त्यसबेला दुई हजार ८१ लाई तालिम दिने लक्ष्य राखिएकामा दुई हजार ७२५ जनालाई तालिम प्रदान गरिएको बताउनुभयो ।

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यसबेला ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए ।

ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते

गाईघाट (उदयपुर), २२ वैशाखः यहाँको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा आज बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन् ।

जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई रहेका छन् ।

हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा राकिएको थियो । जन्तीहरू होटलमा नास्ता खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय प्रमुख बबिन राईले जानकारी दिनुभयो ।

हाल ट्याक्टर चालक उदयपुरको चौनपा–४ बस्ने ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । घाइते राईलाई उपचारको लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।

नेपाल–चीन साझेदारी ऐतिहासिक र मजबुत छन्ः सभापति देउवा

काठमाडौँ, २२ वैशाखः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विकास प्रयासमा छिमेकी चीनको सहयोग प्रसंशनीय रहेको बताउनुभएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा जिपी कोइराला फाउन्डेसनले आज यहाँ आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नेपाल–चीन सांस्कृतिक, आर्थिक र सामाजिक साझेदारी ऐतिहासिक र मजबुत रहेको बताउनुभयो ।

नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायत क्षेत्रमा चिनियाँ सहयोगप्रति आभार प्रकट गर्दै सभापति देउवाले आगामी दिनमा चिनियाँ सहयोग थप अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

“फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने, जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दछु”,उहाँले भन्नुभयो, “नेपाल–चीन सांस्कृृतिक र शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनाका साथै यसले दुई देशका जनताबीच आपसी सहमति र सहकार्यको भावना जागृत गराउने छ ।”

पूर्वप्रधानमन्त्री देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिइने स्पष्ट पार्नुभयो ।

कांग्रेस नेता डा शेखर कोइरालाले नेपालको विकास प्रयासमा चीनले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध उदाहरणीय रहेको बताउनुभयो । नेपाल एक चीन नीतिको पक्षमा निरन्तर उभिँदै आएको जनाउँदै उहाँले छिमेकीका रूपमा चीनको चासोलाई नेपालले उच्च महत्व दिँदै आएको बताउनुभयो ।

नेपालका लागि चीनका राजदूत चेन सोङले आपसी सहकार्य र मित्रताका आधारमा चीन नेपाल सम्बन्ध अघि बढिरहेको बताउनुभयो । नेपाल र चीनबीच आर्थिक, व्यापारिकलगायत विविध क्षेत्रमा सहकार्य रहँदै आएको भन्दै उहाँले दुवै देशका तर्फबाट भएका उच्चस्तरका भ्रमण आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभयो ।

जिपी कोइराला फाउण्डेशनका अध्यक्ष एवं कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

राजनीतिक, सांस्कृतिक र जनस्तरको आदानप्रदानसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको जनाउँदै उहाँले प्रदर्शनीबाट नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल–चीन दौत्य सम्बन्धको सात दशकका ऐतिहासिक क्षणलाई प्रदर्शनीमा राखिएका छन् । राज्य प्रमुखको भ्रमण तथा सांस्कृतिक आदानप्रदान, जनस्तरको निकटतम् सम्बन्ध र विश्वासलाई प्रदर्शनीमार्फत प्रस्तुत गरिएको छ ।

‘सातै प्रदेशमा जलनको सघन उपचार व्यवस्था स्वागतयोग्य’ – रास्वपाका सांसद कंसाकार

काठमाडौँ, २२ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विन्दबासिनी कंसाकारले सातै प्रदेशमा जलनको सघन उपचारको व्यवस्था गरिने नीति स्वागतयोग्य रहेको बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले जलनको सघन उपचार सेवा विस्तार गर्ने नीतिको प्रशंसा गर्नुभयो ।

“तर जलन सघन सेवा विस्तारका नाममा छुट्टाइएको रकम अन्य पूर्वाधार विकासमा खर्च गर्न हुँदैन, यसो गरियो भने जनताको विश्वासमा ठेस पुग्छ”, उहाँले भन्नुभयो, “समयमा नै उपचार नपाउँदा जलनबाट घाइतेहरुले अकालमा ज्यान गुमाइरहेका छन् ।” उहाँले आवश्यक उपकरण र तालिमप्राप्त जनशक्ति उपलब्ध गराउन सुझाव दिनुभयो । आफ्ना लागि आफैँ केही गर्न नसकेका बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई हेरचाह गर्ने व्यक्तिलाई निरन्तर हेरचाह गर्न सहयोगीको व्यवस्था हुनुपर्ने माग उहाँको छ ।

यसैगरी सांसद मेटमणि चौधरीले सरकारको लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली भएकाले लक्ष्य पूरा हुनेमा कुनै उत्साह नथपिएको बताउनुभयो । सरकारले आफ्नो लक्ष्य पूरा गर्न नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिन उहाँको सुझाव छ ।

“वैदेशिक घाटा न्यूनीकरणका लागि स्पष्ट नीति आएन । हामी कानुनी राज्यको कुरा गर्छौं । तर भागबन्डाको आधारमा नियुक्ति प्रक्रिया हुन्छ । अनि त्यो राजनीतिक दलप्रति जिम्मेवार बन्छ । उ नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार बन्न सक्दैन”, उहाँले भन्नुभयो ।

सांसद रन्जुकुमारी झाले सरकारले पेस गरेको नीति तथा कार्यक्रम संविधान सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने नीति स्वागतयोग्य रहेको बताउनुभयो । जलवायु परिवर्तन, युवा महिला, उद्यम विकासलगायतका विषय राम्रो रहेको उल्लेख गर्दै झाले कार्यान्वयनमा उदासिन नहुन सुझाव दिनुभयो ।

सांसद प्रकाश अधिकारीले स्रोत साधनको भरपुर उपभोग हुनुपर्ने र कृषि, प्राकृतिक स्रोतको उपभोग, पर्यटन विकास आयआर्जनको क्षेत्र रहेकाले यिनीहरुलाई प्राथमिकताको क्षेत्रका रुपमा हेर्नुपर्ने बताउनुभयो । स्नातक नपढ्दै विदेश पलाएकालाई पढ्दै कमाउँदै नीति प्रभावकारी हुने उहाँको भनाइ छ ।

भारत–पाकिस्तान तनावबीच पाकिस्तानको दोस्रो क्षेप्यास्त्र परीक्षण

कश्मीर विषयमा भारत–पाकिस्तानबीच फेरि चर्किएको तनावको बीचमा पाकिस्तानले दोस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेको छ । सोमबार जारी एक विज्ञप्तिमा पाकिस्तान सेनाले १२० किलोमिटर दायरा भएको मिसाइल सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिएको छ ।

परीक्षणको उद्देश्य सैनिक तयारी र प्रविधिगत पक्षहरूको प्रमाणीकरण रहेको बताइएको छ । यसअघि शनिबार पनि पाकिस्तानले ४५० किलोमिटर दायरा भएको अर्को क्षेप्यास्त्र परीक्षण गरिसकेको थियो ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अरागची इस्लामाबाद आइपुगेका छन् र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका छन् । उहाँ यही साता भारत पनि जाने कार्यक्रम रहेको छ । इरानले भारत–पाकिस्तानबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ ।

प्रधानमन्त्री शरीफले सेना ‘राष्ट्रिय सुरक्षाका लागि पूर्ण रूपमा तयार’ रहेको बताउनुभयो । भारतमा गत महिनाको पर्यटकमाथिको आक्रमणलाई लिएर दुई देशबीच तनाव बढेको हो, जसमा २६ जनाको ज्यान गएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ, तर पाकिस्तानले त्यसको खण्डन गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ ।

विश्व समुदायले दुबै देशलाई संयम अपनाउन आग्रह गरेको छ । अमेरिका, रूस र अन्य मुलुकहरूले स्थिति थप जटिल नबनोस् भन्ने आशङ्का व्यक्त गरेका छन् ।

भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँः मन्त्री पौडेल

नारायणगढ (चितवन), २२ वैशाखः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भरतपुर अस्पतालमा चिकित्सा शिक्षातर्फको स्नातक तह ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरिएको बताउनुभएको छ ।

आज अस्पतालमा क्याथ ल्याब, वर्न वार्ड, फर्टिलिटी क्लिनिक, स्तनपान व्यवस्थापन कक्ष, सिमुलेसन ल्याब, बाल खेल उपचार कक्षलगायत सेवाहरू शुभारम्भ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पौडेलले अस्पताललाई सबैखाले उपचार उपलब्ध गराउन सक्ने गरी विकसित गर्न विकास समिति, अस्पताल प्रशासन र मन्त्रालय निरन्तर लागिरहेको बताउनुभयो । “एमबिबीएस कार्यक्रम सञ्चालन गर्ने विषय स्वास्थ्य मन्त्रालयसँग मात्रै सम्बन्धित हुँदैन, यो चिकित्सा शिक्षा आयोगसँग पनि सम्बन्धित हुन्छ । यहाँ एमबिबीएस कार्यक्रम सञ्चालन गर्न अघिल्लो वर्ष नै हामीले पर्याप्त छलफल गरेका थियौँ । स्वास्थ्य मन्त्रालयको आन्तरिक बजेटबाट कार्यक्रम सञ्चालन गर्ने कुरा अगाडि बढाइए पनि आयोगबाट स्वीकृत हुन सकेको स्थिति छैन”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले भरतपुर अस्पताल प्रतिष्ठान नभएका कारण शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “स्वास्थ्य मन्त्रालयले त कसरी छिटो कार्यक्रम सञ्चालन गर्न सकिन्छ भनेर आन्तरिक कोषहरूबाटै रकम व्यवस्था गरेर अगाडि जान खोजेका छौँ । यसै वर्ष अस्पताल विकास समिति र मन्त्रालयकोे साझेदारीमा कार्यक्रम सञ्चालनको पहल गर्छौं ।”

अस्पताल व्यवस्थित नभएसम्म देशको स्वास्थ्य सेवा सुधारिएकोे महसुस हुन नसक्ने भन्दै मन्त्री पौडेलले सेवा सुधारका लागि जनशक्ति विकास गर्न छुट्टै स्वास्थ्य सेवा ऐन जारी भएकोे बताउनुभयो । उहाँले सरकारी अस्पतालमा सेवाग्राहीको आकर्षणलाई व्यवस्थित गरेर जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले अबको शैक्षिक सत्रबाट एमबिबीएस कार्यक्रम सञ्चालन गर्नका लागि पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, अस्पताल विकास समिति अध्यक्ष राजु पौडेललगायत सम्बोधन गर्नुभएको थियो ।

‘नीति तथा कार्यक्रम सकारात्मक’ : डा प्रकाशशरण महत

काठमाडौँ, २२ वैशाखः पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सन्तुलित, यथार्थपरक र कार्यान्वयनमुखी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्नेक्रममा डा महतले केही सुधारात्मक प्रयाससहित नीति तथा कार्यक्रम आएको बताउनुभयो । मौद्रिक–वित्त नीति समन्वय, परिणाममुखी बजेट विनियोजन, सामाजिक सुरक्षामा सन्तुलन, लगानीमैत्री वातावरण निर्माण र रोजगारी सिर्जनाजस्ता विषयलाई विशेष ध्यान दिएर नीति तथा कार्यक्रमलाई यथार्थमा परिणत गर्नुपर्ने धारणा डा महतले राख्नुभयो ।

संसद्मा विपक्षी नेताले ‘हाम्रो पालामा उत्कृष्ट, अहिले सबै बिग्रियो’ भन्ने शैलीमा धारणा राखे पनि त्यो पूर्णरूपमा सत्यतामा आधारित नरहेको उहाँको भनाइ छ ।  हरेक सरकारको प्राथमिकता फरक हुने उल्लेख गर्दै उहाँले समग्रमा नीति तथा कार्यक्रम राष्ट्र निर्माणमा केन्द्रित रहेकाले आलोचनाभन्दा सकारात्मक र कार्यान्वयनयोग्य सुझावको आवश्यकता रहेको बताउनुभयो ।

हालको नीति तथा कार्यक्रम ठोस र सकारात्मक भए पनि त्यसलाई परिणाममुखी बनाउन कार्यान्वयन पक्षमा जोड दिन डा महतको सुझाव छ । उहाँले विगतका जस्तै घोषणामै सीमित हुने प्रवृत्ति तोड्न आवश्यक रहेकाले बजेटको प्रभावकारी कार्यान्वयनलाई नीति निर्माणको मुख्य आधार बनाउनुपर्ने धारणा राख्नुभयो ।

डा महतले आर्थिक शिथिलताको एक प्रमुख कारण मौद्रिक र वित्तीय नीतिबीच समन्वय नहुनुभएको उल्लेख गर्नुभयो । केन्द्रीय बैंकको मौद्रिक नीति र सरकारको वित्त नीति एकअर्कासँग असङ्गत हुँदा निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको र लगानी प्रवाहमा अवरोध देखिएकोतर्फ उहाँले सङ्केत गर्नुभयो ।

उहाँका अनुसार विगतमा बजेट प्रतिफलमुखी आयोजनामा जान नसक्दा लक्ष्यअनुसार आर्थिक विकास हुन नसकेको टिप्पणी उहाँको छ । तर यसपटकको नीति तथा कार्यक्रममा प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्ने र रुग्ण आयोजनामा बजेट नदिने नीति लिइएको उहाँले उल्लेख गर्नुभयो । बजेट विनियोजनमा ‘कनिका छर्ने’ प्रवृत्तिको अन्त्य गर्दै तीन करोडभन्दा कमलागतका आयोजनामा सङ्घीय सरकारले बजेट छुट्याउन नहुने सुझाव उहाँको छ ।

डा महतले अनावश्यक सरकारी संरचना खारेज गर्ने र सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताउनुभयो । यसले सेवाको गुणस्तर सुधार र स्रोतको प्रभावकारी प्रयोगमा योगदान दिने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व लगातार बढ्दो रहेको उल्लेख गर्दै उहाँले स्रोत व्यवस्थापनमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

सुशासन प्रवर्द्धन, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा सुधार तथा कृषिमा व्यवसायीकरण र आयात प्रतिस्थापनजस्ता रणनीति अबलम्बन गरिनुपर्ने उहाँको सुझाव छ । नीति तथा कार्यक्रममाथि नीतिगत रूपमा असहमति जनाउने खास कारण नभएको बताउँदै उहाँले लोकप्रियतावादी नाराबाट जोगिएर दीर्घकालीन नतिजा दिने कार्यक्रममै ध्यान केन्द्रित गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । डा महतले सांसदले आलोचना मात्र नगरी ठोस सुझावसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अहिलेको आर्थिक चुनौती आम नागरिकको अपेक्षा पुरा गर्न नसक्नु हो भन्ने उल्लेख गर्दै उहाँले त्यसका लागि राज्यसँग पर्याप्त स्रोत नभएको, आम्दानी कम र खर्च बढी भएको यथार्थ प्रस्तुत गर्नुभयो । चालू खर्च अत्यधिक र पूँजीगत खर्च न्यून रहँदा संरचनागत विकासमा असर परेको र यो प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने सुझाव उहाँको छ ।

विदेशी सहयोग परिचालनलाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ ध्यान पु-याउन आवश्यक रहेको उहाँको भनाइ छ । “अनुदान निरन्तर घटिरहेको छ । अब हामीले वैदेशिक लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । लगानी सहज बनाइनुपर्छ”, उहाँले भन्नुभयो । लगानीका क्षेत्रमा देखिएको नीतिगत र व्यावहारिक समस्या समाधान गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो । विदेशी ऋण लिँदा पनि द्विपक्षीय भन्दा पनि बहुपक्षीय वैदेशिक ऋणलाई प्राथमिकतामा राख्नुपर्ने  उहाँको भनाइ छ ।

डा महतले रोजगारी सिर्जना गर्न पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउन सकिने सुझाव दिनुभयो । त्यसका लागि सडक, होटललगायतका पूर्वाधार विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल वायुसेवा निगमको व्यवस्थापन निजी क्षेत्रलाई दिनुपर्ने सुझाव उहाँको छ ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।

भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा), २२ वैशाखः विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ ।

मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँको आइतबार राति मृत्यु भएको हो ।

मृतक एलेक्स हिमालयन गाइड्स नामक ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आउनुभएको थियो । तेस्रो क्याम्पसम्म पुगेर बास बस्न दोस्रो क्याम्प फकिएपछि उहाँको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

मृतक एलेक्स अन्य तीन विदेशी र चार जना नेपाली नागरिकसहित मकालु हिमाल आरोहणका लागि २७ अप्रिलमा सोलुखुम्बु हँुदै सङ्खुवासभा आउनुभएको थियो । उहाँको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यहाँसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेको बताइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ ।

यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ । मृतकको शव हेलिकप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै आज दिउँसो नै प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।