`

दोलखा र जुम्लाको तापक्रम माइनसमा

Nepal One HD १७ मंसिर २०८२ २१:२७
समाज

काठमाडौँ – नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला आज दुई वटा जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ ।

विभागमा आज साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ मा झरेको छ । जाडो सिजन लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जानकारी दिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले हिजो अस्ती जुम्लाको न्यनतम तापक्रम माइनस २ देखि ३ सम्म रहेकामा आज तापक्रम घटेर माइनस ५ दशमलव २ मा पुगेको हो ।

पछिल्लो एक÷दुई दिनमा राति बादल भएकाले बढी चिसो महसुस भएको छ । दिउँसोमा भने धेरैजसो स्थानमा घाम लाग्दा न्यानो महसुस हुने गरेको छ । आज पनि काठमाडौँ उपत्यकालगायत ठाउँमा बिहानभर बादल लागेर चिसो महसुस गराएको उहाँले बताउनुभयो ।

“रातिमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ । उपत्यका र तराईमा वायुप्रदूषण पनि रहेको छ”, मौसमविद् झाले भन्नभयो, “जनावरीमा अझ तापक्रम घट्दै जानेछ, अहिले बङ्गलाको खाडीमा बनेको न्यूनचापीय प्रणालीले असर गरेको छ । अलीअली पाकिस्तान क्षेत्रमा पनि न्यूनचापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दैछ । त्यसले पनि असर गरिरहेको छ ।”

विभागको विवरणमा काठमाडौँमा न्यूनतम तापक्रम ८ दशमलव ५ रहेको छ । नेपालगञ्जमा न्यूनतम तापक्रम १२ रहेको छ । पोखरामा न्यूनतम तापक्रम ११, भैरहवामा १३, जनकपुरमा न्यूनतम तापक्रम १२ डिग्री रहेको छ । यस्तै ताप्लेजुङमा न्यूनतम तापक्रम ९ डिग्री रहेको छ भने जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *