`

‘नीति तथा कार्यक्रमले समयको माग र चाहनालाई सम्बोधन गर्न सकेन’: सांसद गौतम

काठमाडौँ, २२ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोभिता गौतमले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘बिनाइञ्जिनियरिङ मित्रीले’ घर बनाएको जस्तो भएको भनी टिप्पणी गर्नुभएको छ ।

आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले क्रसर उद्योगका कारण सिर्जना भएको क्षति नियन्त्रण एवं प्राकृतिक स्रोतको सदुपयोग गर्ने विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने बताउनुभयो । साथै, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनको प्रगति विवरण पेस गर्न गौतमले माग गर्नुभयो ।

सांसद सूर्यमान दोङले जनताका खास विषय र समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित नभएको बताउनुभयो । ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने नारा समावेश गर्न, रोजगार सिर्जना गर्ने र आर्थिक सुधारको विषयलाई विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

सांसद छिरिङ डम्डुल लामा भोटेले पूर्ववर्ती सरकारको नीति तथा कार्यक्रमका सकारात्मक विषय नसमेटिएकामा गुनासो गर्नुभयो । उहाँले देशभित्रै रासायनिक मल कारखाना स्थापनाको विषय समेट्न, कर्णाली प्रदेशमा हवाई एम्बुलेन्स सञ्चालन गर्न, कर्णाली करिडोर निर्माणलाई गति दिने विषय समेटिनुपर्नेमा जोड दिनुभयो ।

सांसद मनिष झाले नीति तथा कार्यक्रममा सत्तापक्षको चासो नभएको भन्दै बहसमा राज्यको अनावश्यक खर्च मात्रै भएको गुनासो गर्नुभयो । अर्थतन्त्र सुधारका लागि गठित आयोगले दिएको सुझावसमेत नीति तथा कार्यक्रममा नसमेटिएको र चालु आवका धेरै विषय मिल्न गएको उहाँको भनाइ थियो ।

सांसद विनिता कठायतले नीति तथा कार्यक्रमलाई परम्परावादी र कर्मकाण्डी रहेको टिप्पणी गर्दै अनावश्यक संरचना खारेज गर्नेतर्फ ध्यान नदिइएको बताउनुभयो । कर्णालीको जडीबुटी र फलफूल विकास र खस सभ्यताबारे सरकारले ध्यान नदिइएकामा विरोध जनाउनुभयो । सांसद निशा डाँगीले नीति तथा कार्यक्रम सन्तोषजनक नभएको, समयको माग र चाहनालाई सम्बोधन गर्न नसकेको धारणा राख्नुभयो । दक्ष युवालाई रोजगारीको प्रबन्ध, सहरी प्रदूषण नियन्त्रणमा प्रभावकारी व्यवस्थापन र विद्युतीय सवारीसाधनको सघन प्रयोगमा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।

सांसद चन्दा कार्की भण्डारीले सत्तारुढ दलभित्रै नीति तथा कार्यक्रममाथि मतैक्य नभएको पाइएको, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका बारेमा कुनै सम्बोधन नगरेको टिप्पणी गर्नुभयो । देशभित्र रोजगारी सिर्जना, उद्योग व्यवसाय विस्तार, कृषि क्षेत्रको उत्पादकत्व बढाउनेतर्फ सरकारले विशेष चासो राख्नुपर्ने उहाँको भनाइ छ ।

सांसद शिशिर खनालले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको समस्या समाधानका लागि कुनै कार्यक्रम प्रस्ताव नगरिएको गुनासो गर्दै एकीकृत शीतभण्डार निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्य तथा आरोग्य पर्यटन, चलचित्रलगायत पर्यटनलाई ध्यान दिनुपर्ने, पदमार्गलाई थप व्यवस्थित बनाउनुपर्ने उहाँको जोड छ । भूराजनीतिमा देखिएको हलचललाई नीति तथा कार्यक्रमले नछोएको, गैरआवासीय नेपाली नागरिकका विषय समावेश नभएको सांसद खनालको भनाइ छ ।

प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौँ, २२ वैशाखः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सेवा आयोगले तेस्रो वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज बुुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्व वृद्धि हुने अनुसन्धान र परिणाम दिने काममा केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।

सो अवसरमा लोकसेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा रवीन्द्रप्रसाद ढकाललगायत सहभागी हुनुुहुुन्थ्यो ।

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौँ, २२ वैशाखः काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ ।खानेपानीमन्त्री प्रदीप यादवको लामो समयदेखिको प्रयासपछि आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आज खुला बोलपत्रसमेत आह्वान गरेको छ ।

काठमाडौँैं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्कको सहयोगमा सुरू गर्न लागिएको उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) टिकाबहादुर चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीको लामो मेहनत पश्चात अहिले हामी चक्रपथ बाहिरका क्षेत्रसमेतमा अब मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारीमा छौँ । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ ।”

आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१ दशमलव ३० किलोमिटर, कीर्तिपुर, काठमाडौँ र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५ दशमलव ९८ किलोमिटर, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८ दशमलव १५ किलोमिटर, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २०० दशमलब २३ किमी र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९ दशमलव ७४ किमी गरी कूल ८७५ दशमलव ४ किमी खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको आयोजना उपनिर्देशक एवं प्रवक्ता ई विकेश बधानथाछेले बताउनुभयो ।

उहाँका अनुसार जसअन्तर्गत वितरण सञ्जालका ८२८ दशमलब ९२ किमी पिइपाइप र ४६ दशमलब ४८ किमी डिआई पाइप बिच्छ्याइनेछ ।

यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माणलाई छिटोछरितो रूपमा अगाडि बढाउन भक्तपुर, कीर्तिपुर, ठिमी, कपन, जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेम्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिने प्रमुख चौधरीले बताउनुभयो ।

आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिव ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण सुरू भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पिआइडीले आवश्यक पूर्वतयारी सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

योजनाको दोस्रो चरणको निर्माणकार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालनसहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान छ ।

यसअघि, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाडौँ उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल एक हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।

काठमाडौँ उपत्यकावासीलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले पाँच ठूला प्याकेजमा खानेपानी वितरण सञ्जाल सुधार गर्ने भएको छ ।

प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रबद्र्धनमा लागेका छौँ: मन्त्री शाही

मुगु, २२ वैशाखः वन तथा वातावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले सरकार प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रबर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रारा राष्ट्रिय निकुञ्जमा स्थापना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय उद्घाटन कार्यक्रममा आज उहाँले प्रकृति संरक्षणमा जोड दिएर पर्यटकीय क्षेत्रको विकास गरिने बताउनुभयो ।

मन्त्री शाहीले नेपालको सबैभन्दा ठूलो तालका रूपमा मात्र सीमित नभई रारा ताल प्रकृतिको बरदान भएकाले यसको संरक्षण र विकासका लागि सरकार लागिरहेको बताउनुभयो । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल एवं नेपालको सबैभन्दा ठूलो ताल रारासँगै त्यस वरपरको प्रकृति संरक्षणका लागि यहाँ कोषको कार्यालय स्थापना गरिएको उहाँको भनाइ छ । “यस कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रममार्फत रारा तालको प्रकृति संरक्षण र राष्ट्रिय निकुञ्जभित्रको वन वन्यजन्तुको संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास गरेका छौँ”, मन्त्री शाहीले भन्नुभयो,“प्रकृति संरक्षण कोष कर्णाली प्रदेशमा पहिलोपटक यहाँ स्थापना भएको छ । यस कार्यक्रममार्फत रारा राष्ट्रिय निकुञ्ज, रारा ताल, से फोक्सोनडोलगायत समग्र कर्णाली प्रदेशको प्रकृति संरक्षणको क्षेत्रमा पनि काम गर्नेछौँ ।”

कोषले निकुञ्ज क्षेत्रभित्रका वन्यजन्तुको संरक्षण, वन्यजन्तुको उपचार र वन्यजन्तुको अध्ययन अनुसन्धानमा पनि ठूलो योगदान पु¥याउने उहाँको भनाइ थियो । पछिल्ला केही वर्षयता रारा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले पर्यटकको सङ्ख्या वृद्धिसँगै धार्मिक पर्यटन क्षेत्रको विकासमा जोड दिइने भन्दै मन्त्री शाहीले त्यसका लागि आगामी वर्षको बजेटमा आवश्यक कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्थापन गरिने बताउनुभयो ।

“रारालगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन र प्रकृतिको संक्षणमा जोड दिई संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधिलाई चलायमान बनाउने योजनामा मन्त्रालयले काम गरिरहेको छ”, उहाँले भन्नुभयो,“पर्यटकीय गतिविधिलाई चलायमन बनाउन होटल पूर्वाधार निर्माणमा जोड दिएका छौँ । हाल रारामा आउने पर्यटकको सहजताका लागि मुर्मा सल्लेरीमा ठूला होटल निर्माण हँुदैछन् ।”

कार्यक्रममा जिल्ला समन्वय प्रमुख मञ्जनबहादुर कार्की, छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिका अध्यक्ष केशर जङ्ग शाही, कोषका सदस्य सचीव डा नरेश सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघले साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई गरेको छ ।सोमबार भारतमा मे ९ देखि १८ सम्म हुने प्रतियोगिता खेल्न यू–१९ पुरुष टोलीलाई विदाई गरिएको हो ।

सोही क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीमा रहेको सबै खेलाडीहरुलाई आफ्नो कौशलता देखाएर आउन शुभकामना दिएका छन् ।

टिममा उर्जन श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका छन् । गोलकिपिङ कोचमा सन्जिव जोशी, व्यवस्थापकमा रविन खड्का, सहायक प्रशिक्षकमा विनोद श्रेष्ठ र मंगल महर्जन र फिजियोमा अनिश बुढाथोकी रहेका छन् ।

६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।

नेपालको साफ यू–१९ खेल्ने टोलीमा गोलकिपरमा भक्त बहादुर परियार, उपेन्द्र ल्वागुङ, विशेष बानिया, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का, मिडफिल्डरमा कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङ्गेली मगर, रञ्जित लामा, सुवास बम, विजय खड्का र फर्वाडमा पवन पाख्रिन, धरवेन्द्र कुँवर, सुरज ढंगोल र प्रसुन तामाङ रहेका छन् ।

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला निर्माणमा भइरहेको ढिलाइबारे गम्भीर चासो राखेका छन् ।

रङ्गशाला अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडानकार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर उनले छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति चिन्ता व्यक्त गरे ।

छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, निर्माणकार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठसहित सङ्लग्न निर्माण व्यवसायी सहभागी थिए ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ती सय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए ।

उक्त समयावधि यही वैशाख २४ गते सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओलीले के कति कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन दिए ।

मन्त्रालयका सचिव, कार्यालयका प्रमुख र निर्माण व्यवसायीले सम्बन्धित निकायबीच समन्वय गर्न समय लागेकाले बोलपत्र आव्हान हुन ढिलाइ भएको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन गर्नुपरेको, वर्षाले केही दिन काममा अवरोध भएको, प्रतीत पत्र अर्थात् एलसी खोल्ने प्रक्रियामा ढिलाइ जस्ता कारणले तोकिएको अवधिमा काम हुन नसकेको स्वीकारे । अबको एक महिनामा काम सक्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा प्यारापिटतर्फ वित्तीय प्रगति ४५ दशमलव १९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लडलाइटतर्फ वित्तीय प्रगति २३ दशमलव ८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो ।

प्यारापिटका लागि ४९ करोड २५ लाख ६७ हजार ३०२ र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

विशेषको फैसला विरुद्ध सर्वोच्चमा आयोग

काठमाडौँ, २२ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय इनरुवा सुनसरीमा कार्यरत सहायक प्रबन्धक तारणीप्रसाद खतिवडाका हकमा विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

चपडाह निम्न माध्यमिक विद्यालयको नाममा रहेको खाताको रकम झिक्ने प्रयोजनका साथ खतिवडाले खातावालाको नाम परिवर्तन गरी लेटर प्याड तथा छाप दस्तखत गरी किर्ते दस्तखत गरी रु पाँच लाख ६० हजार रकम हिनामिना गरेको आयोगको दावी थियो ।

सो मुद्दामा विशेष अदालतले यही २०८१ वैशाख २४ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । उक्त फैसला कानुन सम्मत् नभएको दाबी गर्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

उडिसा घटनाबारे मन्त्रालय गम्भीर रुपमा अध्ययन गरिरहेको छ : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्यनरत नेपाली विद्यार्थी प्रिन्सा शाहको मृत्यु भएको घटनाप्रति मन्त्रालय गम्भीर भएर लागेको बताए ।

सोमबार शिक्षा उपसमितिको बैठकमा उनले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको ति एजेन्सीहरुसँग बसेर घटनाको छलफल गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले भने, ‘मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको छ, ति मान्छेहरु पत्ता लगाउनु र उनीहरुसँग एक पटक बसेर कसरी यस्तो घटना भयो छलफल गर्नुपर्यो भनेर निर्देशन पनि दिएको छु । यसमा काम भइरहेको छ ।’
यस्तै, यो घटना घट्ना साथ मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यस बारेमा विस्तृत जानकारी लिन निर्देशन दिएको भन्दै यस बारेमा मन्त्रालयले आवश्यक समन्वय पनि गरेको बताए ।

यसैगरि, विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो ।

उपसमितिले पाएको ३५ दिनको समयसीमा हिजो सकिएको थियो । अझै केही छलफल÷निर्णय बाँकी रहेको भन्दै उपसमितिले म्याद थप मागेको थियो । समितिका सभापति अम्मरबहादुर थापाले सोमबारको बैठकमा १० दिनको म्याद थपका लागि गरेको प्रस्ताव पारित भएको छ ।

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

महेन्द्रनगर (धनुषा), २२ वैशाखः जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।

साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।

एनआरएनएको प्रवक्तामा गंगाधर गौतम मनोनित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा अभियन्ता गंगाधर गौतम मनोनित भएका छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका महेश कुमार श्रेष्ठले बेल्जियम निवासी गौतमलाई प्रवक्ता मनोनित गरेका हुन् ।
लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय रहेका उनी एकता महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव थिए ।
संस्थाभित्र एकताको वातावरण बनाउन आफु चुनावी प्रतिस्पर्धामा नउत्रिएको गौतमले बताए। । उनले सबैलाई एकताबद्ध हुन आग्रह गर्दै बाहिर रहेका केही साथीहरूलाई पनि अभियानको मूल प्रवाहमा समेट्नका लागि सिङ्गो कार्यसमितिले पहलकदमी लिने प्रस्ट पारे ।

अहिले गम्भीर सङ्कटमा रहेको एनआरएन अभियानलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै सधैँ सरकार र विश्वभर रहेका अभियन्ताहरूसँग मिलेर काम गर्ने पनि उनले बताए ।आइतबार भएको निर्वाचनबाट महेश कुमार श्रेष्ठसहित सम्पूर्ण पदमा सर्वसम्मत भएको हो ।

पोखरा–मुग्लिन सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै

कास्की, २२ वैशाखः निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् ।

राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाई हुँदा योजनाको काम प्रभावित भएको छ । विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँबरले बताउनुभयो ।

उहाँका अनुसार विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटसमेत यसका बारेमा चासो व्यक्त गरिएको र समाधानका लागि सहजीकरण भएको छ ।

“चार लेन सडकभित्र परेका पोल प्राधिकरणले हटाउँदै गइरहेको छ । अब बाँकी रहेका पोलसमेत एक साताभित्रमा विस्थापित गरिसक्ने सहमति भएको छ । यसबाट काममा देखिएको प्रमुख समस्या समाधान हुनेछ ।” योजना प्रमुख कुँबरले भन्नुभयो ।

योजनाका अनुसार कास्की खण्डस्थित चार लेन सडकभित्र पर्ने सैनिकबस्ती–विश्वविद्यालय १८ र आदर्शचोक–तालचोकका ४९ गरी ६७ पोलका कारण यस क्षेत्रमा काम अघि बढाउन समस्या भएको छ ।

यसैगरी डाँडाको नाकदेखि विजयपुरसम्म ९० वटा पोल नालीमा परेका छन् । मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म ४१ किमी रहेको छ । यस खण्डमा हालसम्म एकतर्फी ३५ किमी सात सय मिटरमा प्रथम तहको कालोपत्र गर्ने कार्य सकिएको बताइन्छ । हालसम्म ५० दशमलव ३४ प्रतिशत भौतिक प्रगति भएको योजना कार्यालयले जनाएको छ ।

“१९ किमी खण्डमा दुईतर्फी कालोपत्र(चार लेन) तथा १६ किमी खण्डमा एकतर्फी कालोपत्र(दुई लेन) को काम सकिएको छ । आगामी असार मसान्तसम्ममा सम्पूर्ण खण्डमा चार लेन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण व्यवसायी मोविलाइज गरिएको छ ।” योजना प्रमुख कुँवरले भन्नुभयो ।

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको म्याद गत वर्षनै सकिएपछि एक वर्ष थप गरिएको थियो । थप गरिएको समय आगामी पुस दोस्रो सातासम्म रहेको छ ।

अर्ना र चराका लागि प्रसिद्ध कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

इनरुवा (सुनसरी), २२ वैशाखः अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या वृद्धि भएको हो । गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेशी नागरिक २१० पर्यटकले आरक्षको भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत भुपेन्द्रसाद यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार पर्यटकको सङ्ख्याबाट आरक्षमा २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । हिउँदको सुरुवातदेखि पर्यटकको सङ्ख्या वृद्धि भएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताउनुभयो ।

आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खँरै हुर्कँदै गरेका गैँडा, र साइबेरियालगायतका देशबाट आउने पाहुना चरा हेर्न तथा अवलोकन गर्न पर्यटक आउने गरेको आरक्ष प्रशासनले जनाएको छ । आरक्षमा ५२० प्रजातिका चराको वास स्थान छ ।

पछिल्लो समय कोशी प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट पर्यटक भित्र्याउन विभिन्न अभियान सुरुवात गरको छ । केही दिन अघि मात्र प्रदेश सरकारले नेपाल–भारतको सीमा क्षेत्र कोसी गाउँपालिका–८ भण्टाबारी नजिक पर्यटक भित्र्याउन भारतीय सवारी तथा पर्यटकलाई प्रदेशभित्र कुनै किसिमको असुविधा नहोस् भनी स्टीकर अभियान सुरुवात गरेको थियो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २२ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु २५, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ९०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३६०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु २१०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु २४०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु ८०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

सङ्घीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ, २२ वैशाख : प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२÷८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।

आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

कार्यसूचीअनुसार, त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल भने आइतबारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रियसभाको बैठक भने दिउँसो १ः १५ बजे बस्ने कार्यसूची छ ।

ट्रम्पद्वारा गल्फ राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस महिनाको अन्त्यतिर साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको साउदी सरकारसँग निकट स्रोतले जानकारी दिएको छ ।

मे १३ देखि १६ सम्म हुने यो भ्रमणमा राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नेछन् । यो उहाँको दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण हुनेछ ।

“राष्ट्रपति ट्रम्पले रियादमा जीसीसीका नेताहरूलाई भेट्नुहुनेछ,” स्रोतले बताए । जीसीसीमा साउदी अरब, युएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन् । बैठकको उद्देश्य राजनीतिक तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको जनाइएको छ ।

यात्राको पूर्वसन्ध्यामा, अमेरिकी सरकारले साउदी अरबसँग ३.५ अर्ब अमेरिकी डलर बराबरको मिसाइल बिक्री सम्झौता स्वीकृत गरेको छ ।

राष्ट्रपति ट्रम्पले साउदी अरबसँग भएका ठूला व्यापारिक सम्झौताहरूको चर्चा गर्दै आउनुभएको छ । साउदी अरबले हालैका वर्षहरूमा रसिया–युक्रेन विषयमा अमेरिकी कूटनीतिमा सकारात्मक भूमिका खेलेको छ ।

यो भ्रमणको समय अमेरिकाले इरानसँग वार्ता सुरु गरेको समयमा परेको छ, जसको केन्द्रबिन्दु तेहरानको आणविक कार्यक्रम हो ।राष्ट्रपति ट्रम्पले इरानमाथि प्रतिबन्ध कडाइका साथ कार्यान्वयन गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय समुदायलाई इरानी तेल बहिष्कार गर्न आग्रह गर्नुभयो ।

सन् २०१८ मा पहिलाको आणविक सम्झौता तोडेका ट्रम्पले अब नयाँ सहमति कायम गर्ने आशा व्यक्त गर्नुभयो, जसले क्षेत्रीय तनाव घटाउने र सम्भावित सैन्य कारबाही रोक्ने अपेक्षा गरिएको छ ।

यसबाहेक, साउदी अरब र इजरायलबीच सम्भावित सम्बन्ध सुधारसम्बन्धी पहल पनि यो भ्रमणमा समावेश हुन सक्ने अनुमान गरिएको छ । यद्यपि साउदी अधिकारीहरूले गाजाको द्वन्द्व अन्त्य नभएसम्म कुनै औपचारिक सहमति सम्भव नहुने स्पष्ट पारेका छन् ।

यातायात व्यवस्था कार्यालय झापाद्वारा नौ महिनामा ८२ करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा), २२ वैशाखः यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१/८२ को नौ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व सङ्कलन गरेको हो ।

चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन बापत रु ६९ करोड छ लाख २२ हजार पाँच सय ४२, यातायात क्षेत्रको आम्दानी बापत रु ९६ लाख ६० हजार छ सय ६७, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत रु १२ करोड १२ लाख ८९ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

चालु आवको नौ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । उहाँका अनुसार गत आव २०८०/८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख छ हजार आठ सय ८४ सवारी साधन दर्ता रहेका थिए ।

कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल तीन हजार दुई सय ३६ दर्ता भएका छन । यसैगरी ई–रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीन सय ४५, ई–स्कुटर पाँच सय ७९, कार एक सय ८०, ट्र्याक्टर एक सय ७६, जिप एक सय ६८, बस एक सय आठ, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चार वटा नयाँ दर्ता भएका छन् ।

सडकको चट्टान फोर्न केमीकलको प्रयोग ,यसरी प्रयोग गरिन्छ केमीकल

ओखलढुङ्गा, २२ वैशाखः यहाँको मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमीकलको प्रयोग गरिने भएको छ । लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमीकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो ।

सुनकोशी गाउँपालिका–६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारासम्म तीन किलोमिटर नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा, हरिबोले भीरमा २०० मिटर चट्टान फोर्न नसक्दा सडक ट्रयाक खुल्न सकेको छैन । उक्त चट्टानलाई लामो समयसम्म ब्रेकर लगाउँदा पनि कटान गर्न नसकेकाले केमीकल प्रयोग गरी चट्टान फोर्ने तयारी गरिएको हो ।

कम्प्रेसर मेसिन ल्याइसकेकाले चट्टानलाई ड्रिल गरी केमीकल प्रयोग गरिने निर्माण कम्पनी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाका प्रोपाइटर तेजबहादुर भुजेलले जानकारी दिनुभयो ।

यसरी प्रयोग गरिन्छ केमीकल
ढुङ्गालाई कम्प्रेसर मेसिनले ड्रिल गरेर पाँचदेखि आठ फुटसम्मको प्वाल बनाइन्छ । ती प्वालमा साढे दुई लिटर र आठ फिटको प्वालमा साढे तीन लिटर केमिकल राखिन्छ । उक्त प्वालमा १२ घण्टादेखि ७२ घण्टासम्म केमीकल राखिन्छ । केमीकलले ढुङ्गालाई गलाएर चर्काउँछ र ढुङ्गा टुक्रिन्छ । चट्टानलाई कति गहिराईसम्म चर्काउने हो सोहीअनुसार प्वाल बनाउने गरिन्छ । प्वालमा नापअनुसारको केमिकल राखेर कम्तीमा १२ देखि बढीमा ७२ घण्टासम्म राख्नुपर्ने ब्लास्टर रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।

सडक निर्माणमा यो प्रविधि जिल्लामै पहिलो पटक प्रयोग गर्न लागिएको हो । केमिकलबाट पनि चट्टान फुटाउन नसकेको खण्डमा ब्लास्टिङको प्रयोग गरिने प्रोपाइटर भुजेलले बताउनुभयो । सडक निर्माण सम्झौतामा ‘ब्लास्टिङ आइटम’ नभएकाले केमिकल प्रयोग गर्न लागिएको उहाँको भनाइ छ ।

हर्कपुरदेखि करिब चार किलोमिटर मोलुङ दोभानसम्म कालोपत्र गर्ने र मोलुङ दोभानदेखि साढे दुई किलोमिटरसम्म कटिङ गर्न महालक्ष्मी भुजेल जेभी निर्माण सेवाले सम्झौता गरेको थियो । मिति २०७९ साल माघ २३ गते सम्झौता भई आगामी माघको २३ गते सम्पन्न गर्ने गरी रु २५ करोड लागतमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय हर्कपुरका इन्जिनियर दिपककुमार दासले जानकारी दिनुभयो ।

हरिबोले भीरको चट्टान ट्रयाक जोडिएपछि ओखलढुङ्गा सदरमुकामदेखि उदयपुरको घुर्मी जोडिने छोटो दुरीको सडक खुल्नेछ ।

ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

म्याग्दी, २२ वैशाखः ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तरगत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।

गत असार महिनामा रु एघार करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ । विसं २०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा सङ्कलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो ।

हाल तीन दशमलब पाँच देखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँहुँदै डाडाँगाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १(२) बाट निर्वाचित रेशमबहादुुर जुग्जालीले बताउनभयो ।

जुुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रु चार करोड बजेट विनियोजन गरेर बहुुवर्षीय ठेक्का लगाउन रु २० करोडको बजेटको स्रोत सुुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रु एक करोड ५० लाख मात्र विनियोजन भएको छ ।

सडकको शनिबार अनुगमन गर्नुभएका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिनुभयो । लुरवाङ–तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ । यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका–५ मल्कवाङ र –६ मराङ तथा मालिका गाउँपालिका– ६ दिच्यामका बासिन्दा लाभान्वित हुुने खाराका बासिन्दा बुद्धी जुग्जालीले बताउनुभयो ।

धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुुम्न तथा दर्शन गर्न जाने पर्यटक एवम् भक्तजनलाई सहज हुुनेछ । सुुन्तला, आलुुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुुग्ने अपेक्षा गरिएको छ ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु,एक हजार ५९३ रुख काट्नुपर्ने

दोधारा चाँदनी (कञ्चनपुर- यहाँको दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु गरिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले एक साता अघिदेखि रुख कटान भइरहेको जानकारी दिनुभयो । “एक हप्ता अघिदेखि रुख कटान सुरु भएको हो । अहिलेसम्म ५०० रुख कटान भइसकेका छन्”, उहाँले भन्नुभयो, “बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ ।” उहाँले रुख कटानका लागि ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताउनुभयो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार काम सुरु भएको हो । भारतीय पक्षले बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा ठेक्का आह्वान गरिसकेकोे छ । सुख्खा बन्दरगाह स्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्ण सुरु हुनेछ ।

बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनललगायतका पूर्वाधार निमार्ण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्म छ लेनको पहँुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा ल्याइसकेको छ ।

भारत सरकार बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । २०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । सरकारले घोषणा गरेको १८ वर्षपछि सुख्खा बन्दरगाह निमार्ण सुरु भएको हो । सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएमा सुदूरपश्चिमको विकासमा टेवा पुग्ने आशा गरिएको छ ।

पोखरा कस्तो बनाउने भनेर सुझाव माग्दै कास्की कांग्रेस

गण्डकी- नेपाली कांग्रेस कास्कीले समग्र जिल्लासहित पोखरालाई कस्तो बनाउने भनेर विभिन्न क्षेत्रसम्बद्ध व्यक्ति एवं निकायसँग सुझाव सङ्कलन सुरु गरेको छ । तीन तहका सरकार आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटको तयारीमा जुटिरहेका बेला कांग्रेसले यहाँको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक छलफल गरी सुझाव सङ्कलन भइरहेको जनाएको छ ।

कांग्रेसका सभापति किशोरदत्त बरालले वडा कार्यसमितिका सभापति, पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरिसकेको र पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गर्ने तयारी भइरहेको बताउनुभयो ।

छलफलबाट आवश्यकता बुझ्ने र सुझावका आधारमा यहाँको भौतिक पूर्वाधार र जनताको प्रमुख आवश्यकताबारे निष्कर्षसहित कार्यान्वयनका लागि तीन तहका सरकारसँग पहलकदमी गरिने पार्टीका सहसचिव एवम् प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।  

झापामा नौ महिनामा सवारी दुर्घटनामा परी ७० जनाको मृत्यु

भद्रपुर (झापा)-जिल्लामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् । त्यस अवधिमा एक हजार ४१३ सवारीसाधन दुर्घटना भएकामा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई÷दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका छन् ।

कार्यालय प्रमुख पौडेलले त्यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ हजार ५९४ सवारीसाधन कारबाहीमा परेका बताउनुभयो । उहाँका अनुसार कारबाहीबाट रु तीन करोड चार लाख दुई हजार राजस्व सङ्कलन भएको छ ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारीचालकलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । नौ महिनामा चार हजार १३४ पटक जनचेतनामूलक कार्यक्रम हुँदा एक लाख ६५ हजार दुई ४९ जना मानिस लाभान्वित भएका कार्यालयले जनाएको छ ।

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

ठूलीभेरी (डोल्पा- डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि सङ्कलकका लागि खुला गर्ने निर्णय गरेको हो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ । जिल्लाका सयाँै बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छन् । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् ।  

यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । सङ्कलकले एक महिनाको समयमा सबै पाटनमा प्रवेश शुल्क तिरेर यार्सागुम्बा सङ्कलनको अनुमित पाउने गरेका छन् । निकुञ्ज क्षेत्रका वन प्रवेशका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रवेश शुल्क लिने छ भने मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुले सेवा शुल्कबापतको छुट्टै शुल्क लिन पाउनेछन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रका नागरिकले रु ५००, डोल्पा जिल्लाभित्रका नागरिकले रु दुई हजार र जिल्लाबाहिरका नागरिकले रु तीन हजार प्रवेश शुल्क तिरेर मात्र वन प्रवेश गर्न पाउनेछन् । एक सामुदायिक वनबाट अर्को सामुदायिक वनमा यार्सा सङ्कलनका लागि प्रवेश गरेमा उक्त सामुदायिक वनले सङ्कलकबाट सेवा शुल्क बापतको छुट्टै रु ५०० रकम लिन पाउनेछन् ।  

डिभिजन वनअन्तर्गतका यार्सा पाटनमा भने सामुदायिक वनले प्रवेश शुल्क लिने गरेका छन् ।  आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले विभिन्न ११ वटा निर्णयसमेत गरेको छ । निर्णय सबैलाई हित हुनेगरी भएको र कार्यान्वयन हुनेमा पनि विश्वस्त रहेको जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले बताउनुभयो ।

बाढी पूर्वसूचनाका लागि जोगबुढा र महाकाली नदीमा गेज मिटर स्थापना

दोधारा चाँदनी (कञ्चनपुर)- जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढी पूर्वसूचनाका लागि तयारी तीव्र थालेको छ । यसै क्रममा कार्यालयले कञ्चनपुरको महाकाली र दोधारा चाँदनीको कुतियाकवरस्थित जोगबुढा नदीमा कलर कोडसहितको गेज मिटर स्थापना गरेको छ ।

यहाँको चौधर नदीमा बाढी पूर्वसूचनाका लागि चेतावनी र खतरा तहको सर्वेक्षण गरिएको फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार शाहले जानकारी दिनुभयो । “महाकाली नदी र जोगबुढा नदीमा गेज मिटर स्थापना भइसक्यो । बाढी पूर्वसूचनाका लागि चौधर नदीमा चेतावनी र खतरा तहको सर्वेक्षण गरिएको छ”, उहाँले भन्नुभयो ।

शाहका अनुसार यस चौधर नदीमा गरिएको कार्यले यहाँको बेदकोट, भीमदत्त र बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित क्षेत्रका समुदायलाई सहज हुनेछ । गत वर्षको बाढीले यस क्षेत्रमा चार मिटरभन्दा बढी बाढी आएर क्षति गरेकाले यस वर्ष नदीमा पूर्वसूचना प्रणाली स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “यसले बाढी प्रभावित क्षेत्रका बासिन्दाले मोबाइलमा जलसतह कति पुग्यो भनेर हेर्न सक्छन्”, उहाँले भन्नुभयो, “त्यहीअनुसार पूर्वतयारीमा जुट्न यहाँका बासिन्दालाई सहज हुनेछ । जसले गर्दा भौतिक र मानवीय क्षति कम हुन्छ ।” कार्यालय प्रमुख शाहले मनसुनभन्दा पहिले नै सबै नदीमा पूर्वसूचना प्रणाली जडान गरिसक्ने बताउनुभयो ।

पछिल्लो समय जल तथा मौसम विज्ञान विभागको पूर्वसूचना प्रणालीले गर्दा क्षति कम हुने गरेको छ । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढाले विभागबाट मोबाइलमा आउने सूचनाले पूर्वतयारीमा लाग्न सहज हुने गरेको बताउनुभयो । “पहिला बाढी कति आयो भनेर महाकाली नदीमा हेर्न जानुपथ्र्यो । पछिल्लो समय विभाग, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाबाट मोबाइलमै सूचना आउँछ । त्यसले गर्दा पूर्वतयारी गर्न सजिलो हुन्छ”, उहाँल्े भन्नुभयो ।

बुढाले जोगबुढा नदीमा कलर कोडसहितको गेज मिटर स्थापनाले थप सजिलो हुने बताउनुभयो । “अब नदीमा कलर हेरेर हामी खतराको तह थाहा पाउने छौँ, नदीको सतह हेर्न जानुपर्ने बाध्यता अब हुँदैन”, उहाँले भन्नुभयो, “बाढीबाट बच्नका लागि यहाँ दुई वटा सेभ हाउस छन् यसले धेरै सजिलो भएको छ ।” तीन तिर जोगबुढा नदी र एकातर्फ महाकाली नदीले घेरेको कुतियाकवर बाढीले सबैभन्दा बढी प्रभावित हुने ठाउँ हो ।

स्थानीय सागर थापाले विभागले निकाल्ने सूचना धेरै हदसम्म मिल्ने गरेकाले धेरै सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो सयम प्रहरी, नगरपालिका र विभागबाट बाढीको अपडेट समयमै मोबाइलमा थाहा पाउने भएकाले जोखिम कम हुँदैछ । बाँकी स्थानमा पनि पूर्वतयारी स्वरूप भइरहेका गतिविधिले आगामी वर्षायाममा थप सहन हुने अपेक्षा गरेका छौँ ।”

जल तथा मौसम विज्ञान विभागले यहाँका विभिन्न नदीमा पूर्वसूचना प्रणाली जडान गरेर नदीको जल सतहबारे जानकारी दिँदै आएको छ ।

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २३ पैसा र बिक्रीदर १८० रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १८ रूपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा तोकेको छ ।

 केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८३ पैसा निर्धारण भएको छ ।

 यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४ रूपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४५ पैसा र बिक्रीदर २० रूपैयाँ ५४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रूपैयाँ १९ पैसा र बिक्रीदर ४४२ रूपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३१ पैसा रहेको छ ।यसैगरी भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन वैशाख २८ देखि सुरु हुने

कर्णाली, २२ वैशाखः कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुने भएको छ ।प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ । त्यसका निम्ति प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तीव्रता दिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । आजैको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

काँक्रेविहार (सुर्खेत), २२ वैशाखः कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार २७३ योजनामा एक हजार १६ योजना सम्झौता गरी काम सुरु भएको छ । तेस्रो चौमासिकको प्रगति समीक्षा सार्वजानिक गर्दै मन्त्रालयले २५७ योजना अझै सम्झौताको क्रममा रहेको जनाएको छ ।

रुकुम पश्चिम र सुर्खेत योजना कार्यान्वनमा सबैभन्दा कमजोर देखिएका छन् । रुकुम पश्चिममा १६४ योजनामा ११७ योजना सम्झौता भएको मन्त्रालयका सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिनुभयो । प्रदेश राजधानी सुर्खेतमा १६१ योजनामा १२४ योजना सम्झौता भएका छन् ।

रुकुम पश्चिमको भौतिक प्रगति २० प्रतिशत र सुर्खेतको २५ प्रतिशत मात्र छ । दैलेखमा हालसम्म १४५ मा १२० योजना सम्झौता भइ काम भइरहेको छ भने २५ योजना सम्झौता हुन बाँकी छ । जुम्लामा १०४ योजनामा हालसम्म ८७ योजनाको सम्झौता भएर काम जारी छ । कालिकोटमा १५० योजनामा १३१ योजना सम्झौता भएका छन् । सल्यानमा ९९ योजनामा ८३ योजना सम्झौता भएका छन् ।

जाजरकोटमा ११० योजनामा ९१ योजनाको काम सुरु भएको छ । हुम्लामा १४८ योजनामा १०६ योजनाको काम तीव्र रूपमा अघि बढेको छ । सडक सञ्जालसँग नजोडिएको हुम्लामा हालसम्म ४२ योजना पाइपलाइनमा रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख ज्वालाराज शाहीले बताउनुभयो । सडक सञ्जालसँग जोडिएको भएपनि उपल्लो डोल्पामा हिमपातलगायतका कारण चिसो हुँदा काम गर्न मुस्किल हुने गर्दछ । मुगुका १०५ वटा योजनामा हालसम्म ८४ योजना सम्झौता भएका छन् ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको भौतिक प्रगति हालसम्म २७ प्रतिशत छ । भौतिक प्रगति कमजोर हुँदा मन्त्रालयको उद्देश्य पुरा नहुने सम्भावना बढेको छ । जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले त्रैमासिक रूपमा कामको विवरण लिने गरेको बताउनुभयो ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वन गर्न निर्देशन दिनुभएको छ । विकास बजेटमा खर्च बढाउन मन्त्री बुढा र मुख्यमन्त्री कँडेलले मातहतका निकायलाई काममा गति बढाउन निर्देशन दिनुभएको हो ।

मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर पदमराज देवकोटाले केही योजनामा विवाद तथा कार्यालय प्रमुख परिवर्तन हुँदा केही ढिला भएको बताउनुभयो । उहाँले केही योजना दोहारिएकाले पनि समस्या आएको जानकारी दिनुभयो ।

काठमाडौं घोषणा पत्र जारी गर्दै एनआरएनएको एकता महाधिवेशन सम्पन्न

गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित दिने एकता महाधिवेशन नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ ।

आइतबार काठमाडौंको हायात होटेलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनहरुबाट नेपालले धेरै आशा गरेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको तर अहिलेसम्म पनि त्यसको कार्यान्वयन हुन नसकेको थाहा पाउँदा दुःख लागेको बताए । उनले नागरिकता कार्यान्वयनको सवालमा आफ्नो दलले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले एनआरएनहरुसँग रहेको ज्ञान र सिप नेपालको उन्नतीमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नु पर्ने बताए । उनले एनआरएनका मुद्दाहरुलाई सम्बोधन गर्न आफ्नो दल सधैं सकारात्मक रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ताहरु, आरके शर्मा, डा. केशव पौडेल, थर्क सेन, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, उच्चस्तरीय समितिका सदस्यहरु कुल आचार्य, विनोद कुँवर र रबिना थापाले शुभकामना दिए ।

नव निर्वाचित अध्यक्ष महेश श्रेष्ठले सबै पक्षलाई मुद्दामामिला फिर्ता लिन आग्रह गर्दै नयाँ कार्यसमितिले छुटेका साथीहरुलाई पनि समेट्न सक्दो प्रयास गर्ने जनाए ।

कार्यक्रममा उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले महाधिवेशनले पारित गरेको ‘काठमाडौं घोषणा पत्र २०२५’ पढेर सुनाउनुका साथै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता गरेका संघका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफूहरुले सर्वोच्च अदालतको परमादेशको सम्मान गर्दै विभिन्न वाधा व्यवधान खपेरै भए पनि तोकिएको समयभित्रै निर्वाचन गराएको जनाए । उनले नयाँ कार्यसमिति संस्थालाई एकजुट बनाएर अघि बढ्न सफल होस् भनि शुभकामना पनि दिए ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सपथ दिलाउँदै प्रमाण पत्र प्रदान गरेका थिए ।

२ दिने अधिवेशनमा संसारभरीबाट आएका सयौं डेलिगेट्सहरु सहभागि भएका थिए । अधिवेशन सम्पन्न भएसँगै सहभागीहरु कर्मथलो फर्किन थालेका छन् ।

गैर आवासीय नेपाली संघ एकताको महाधिवेशन काठमाण्डौ घोषणा २०२५

सम्मानित सर्वोच्च अदालतको परमादेशको पालना गर्दै नेपाल सरकारसँग समन्वय गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा मे ३-४, २०२५ मा काठमाडौँमा आयोजित एकताको महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। डेलिगेट्सहरुबीच व्यापक छलफल गरी यो महाधिवेशन निम्न घोषणा गर्दछ:

१. यो महाधिवेशन गैरआवासीय नेपालीहरु (एनआरएन) हरुले गैर आवासीय नेपाली नागरिकता संबन्धि नेपालको संविधानले ब्यबस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी जतिसक्दो चाडो विद्यमान ऐनकानूनमा संशोधन गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछ।

२. यो महाधिवेशन विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने छिटोभन्दा छिटो ब्यबस्था गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्दछ।

३. यो महाधिवेशन मध्यपूर्व लगायतका मुलुकमा कार्यरत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीका यावत् समस्या र त्यहाँ अज्ञानवस जेलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारसँग समन्वय गरी सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

४. यो महाधिवेशन ब्रिटिश सेनाबाट सेवानिवृत्त पूर्व गोरर्खा सैनिकहरुको समान पेन्सन लगायतका मागहरुलाइ पूरा गर्न कूटनैतिक पहल तीव्र पार्न नेपाल सरकारलाई आग्रह गर्दछ।

५. यो महाधिवेशन विगतका तीता मीठा अनुभवहरु बिर्सेर संस्थालाई एकजुट बनाउन एउटा समयबद्ध रोडम्याप तयार गरी अगाडी बढ्न नवगठित कार्यसमितिलाई अनुरोध गर्दछ।

६. यो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिभावकीय भूमिका निर्वाह गर्नु हुने नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, नेपाल सरकारका प्रतिनिधि लगायत राजनीतिक दल तथा नेतृत्व वर्गप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसैगरी सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु, निर्वाचन समिति, पर्यवेक्षक, संचारकर्मी तथा पत्रकारहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रबाट पाँच जना प्रहरी अपहरण

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले जेल भ्यानमा आक्रमण गरी पाँच जना प्रहरीलाई अपहरण गरेको दाबी गरेको छ ।

शुक्रबार राति ३० देखि ४० जना सशस्त्र व्यक्तिहरूले बलुचिस्तान प्रान्त पार गर्ने एउटा मुख्य राजमार्ग अवरुद्ध गरी प्रहरीको निगरानीमा रहेको जेल भ्यानलाई रोक्का पारेको प्रहरी अधिकारीले जानकारी दिनुभयो ।“कैदीहरूलाई पछि छोडिएको थियो, तर पाँच जना प्रहरी अपहरणमा परेका छन्,” एक उच्च प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा एएफपीलाई बताए ।

उहाँका अनुसार अपहरणमा परेका प्रहरीको उद्धारका लागि अभियान जारी छ ।उक्त समूहले त्यस क्षेत्रमा रहेका केही सरकारी भवन र एक बैङ्कमा समेत आगजनी गरेको जनाइएको छ ।एक सरकारी अधिकारीले जानकारी दिए अनुसार सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन् ।

पाकिस्तान विगत केही दशकदेखि बलुचिस्तानमा पृथकतावादी विद्रोहको सामना गरिरहेको छ, जहाँ राज्य सुरक्षा बल, विदेशी नागरिक तथा गैर–स्थानीय नागरिकहरू आक्रमणको निशानामा पर्छन् ।उक्त क्षेत्रको सबैभन्दा सक्रिय समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले कलात जिल्लामा भएको आक्रमणको जिम्मा लिएको छ।

बीएलएले विगतमा विदेशी लगानीमा निर्माण भइरहेका ऊर्जा परियोजना, विशेषगरी चीनद्वारा समर्थित योजनाहरूलाई लक्षित गर्दै आएको छ ।यस वर्ष मार्चमा सोही समूहले एक रेल नियन्त्रणमा लिई सयौं यात्रुहरूलाई बन्धक बनाएको थियो र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेको थियो ।

‘ऊनको स्वीटर’ वर्षौसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

काठमाडौँ, २१ वैशाख – अभिनेता विपिन कार्कीले आफूले वर्षौपछिसम्म सम्झिने चलचित्र ‘ऊनको स्वीटर’ बनेको बताउनुभएको छ । आज यहाँ पुतलीसडकस्थित स्टार मल्लमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र ‘ऊनको स्वीटर’ र पात्र धरणीधर काफ्लेको चर्चा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस चलचित्रको व्यवसायिक नतिजाका विषयमा म भन्न सक्दिन, तर हामीले उठाएको विषय, यसको निर्माणले पनि यो वर्षौसम्म रहने चलचित्र बनेको छ । यो नयाँ पुस्ताका लागि एउटा दस्तावेज पनि हुनेछ, ग्रामीण जीवनको । मैले आफ्नो उत्कृष्ट भन्ने पाँच चलचित्रमा यो पर्छ ।”

उहाँले यसअगाडि ‘जात्रा’, ‘हरी’, ‘नाका’, ‘सेल्फी किङ’ चलचित्र र उक्त चलचित्रमा निर्वाह गरेको पात्रलाई विशेष बताउनुभयो । ती चलचित्रको व्यवसायिक पक्षभन्दा पनि कलात्मक पक्षले आफूलाई आकर्षित गरेको उहाँले स्पष्ट गर्नुभयो ।

“मैले नाम लिएका चलचित्रहरू मेरा लागि खास हुनुको कारण नै त्यसका पात्र हुन्, विषय हुन् । ती अहिले हेर्नुस् वा पाँच वर्षपछि उस्तै ताजा लाग्ने छन् । त्यसमा भएका पात्र सजिलै तपाइँसँग जोडिनेछन्”, अभिनेता कार्कीले भन्नुभयो ।

उहाँले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताउनुभयो । चलचित्रमा अभिनेता कार्कीको जोडीको रुपमा अभिनेत्री मिरुना मगर प्रस्तुत हुनुभएको छ । उहाँले चलचित्रका निर्देशक नवीन चौहानले पहिलोपटक कथा सुनाउँदा नै पात्रसँग जोडिएको महसुस गरेको बताउनुभयो ।

“म निर्देशक चौहानले बनाउनुभएका साङ्गीतिक श्रव्यदृश्यसँग प्रभावित थिएँ । यो चलचित्रमा काम गर्ने प्रस्ताव आउँदा मलाई निर्देशकले मेरो पात्र र परिवेससँगै एउटा गीतको सानो टुक्रा सुनाउनुभयो । मैले त्यही समयमा चलचित्रमा काम गर्छु भनेकी थिएँ । किनकि उक्त पटकथाले मलाई चलचित्रको संसारमा सहजै पु¥यायो”, अभिनेत्री मगरले भन्नुभयो ।

उहाँले चलचित्रमा आफूले ‘फूल’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पात्र आफ्नो मनको कुरा फ्याट्ट भनिहाल्ने र त्यसको परिणाम नसोच्ने किसिमले तयार गरिएको छ ।

“वास्तविक जीवनभन्दा उल्टो पात्र मैले चलचित्रमा निर्वाह गरेकी छु । त्यसकारण सुरुआती समयमा केही डर पनि थियो, तर अभिनेता कार्कीसँग काम गर्दा अभिनयका केही आयाम सिक्न पाएँ । म बाल्यकालमै नेपाल छाडेर विदेश गएकाले पनि ग्रामीण जीवनलाई धेरै बुझ्न पाएकी थिइन् । तर, मैले चलचित्रमा निर्वाह गर्ने भूमिकामार्फत विभिन्न कला र संस्कृतिलाई नजिकबाट बुझेकी छु, ती चलचित्रका पात्रमार्फत उक्त संस्कृतिसँग जोडिएर जीवन बाच्न पाएँ”, अभिनेत्री मगरले भन्नुभयो ।

निर्देशक नवीन चौहानले चलचित्र नाम झैँ मुलायम कथामा बनेको बताउनुभयो । उहाँले भन्नुभयो,“मैले चलचित्रको कथालाई महसुस गरेर नै नाम राखेको हुँ । मैले कल्पना गरेको एउटा संसारलाई चलचित्रमा चित्रण गर्ने कोसिस गरेको छु । मैले यो चारवर्ष अगाडि नै सोचेको एउटा कथा थियो, अब केही दिनमा चलचित्र बनेर आउँदैछ ।”

उहाँले आफूले साङ्गीतिक श्रव्यदृश्यमार्फत भिन्नभिन्न कथालाई प्रस्तुत गरेका कारण पनि चलचित्र निर्देशन गर्न प्रेरणा मिलेको बताउनुभयो । “गीत र त्यसको लागि निर्माण गरिने श्रव्यदृश्यभन्दा चलचित्र निकै फरक छ भन्ने मैले बुझेर नै त्यहीअनुसार आफूले सक्ने काम गरेको छु”, निर्देशक चौहानले भन्नुभयो ।

चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने उहाँले जानकारी दिनुभयो । पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ ।निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुनेछ ।

कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु

चन्द्रपुर (रौतहट), २१ वैशाखः पूर्वपश्चिम राजमार्गअन्तर्गत यहाँको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ ।

आज हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नंको कारले निजगढतर्फ जाँदै गरेको ना३प ९५१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते र्भका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । कारको ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहीटोल बस्ने ६० वर्षीय बलिराम सहनी घाइते भएकामा स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

यसैगरी, मोटरसाइकल पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनीको सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाएको थियो । उहाँको पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको र मृतकको शवपरीक्षण गरी आफन्तलाई बुझाइए प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

निजामती सेवालाई समावेशी बनाउन दलित समुदायलाई १५ प्रतिशतभन्दा बढी आरक्षणः मन्त्री गुप्ता

काठमाडौँ, २१ वैशाख: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकको निजामती सेवालाई समावेशी बनाउन दलित समुदायलाई १५ दशमलव पाँच प्रतिशत आरक्षण छुट्याइएको बताउनुभएको छ ।

‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१’ माथि राष्ट्रियसभामा उठेका सवालको जवाफ दिने क्रममा आज उहाँले निजामती सेवालाई बढीभन्दा बढी समावेशी बनाउने उद्देश्यले सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा दलित समुदायका लागि उक्त व्यवस्था गरिएको बताउनुभएको हो ।

मन्त्री गुप्ताले भन्नुभयो, “प्रस्तावित ऐनको मस्यौदामा निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४९ प्रतिशत छुट्याइएको र त्यसलाई शतप्रतिशत मानी त्यसको ५० प्रतिशत पदमा महिलाहरूबीच मात्र र बाँकी पदमा अन्य समूहका उम्मेदवारहरूबीच मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ ।”

उहाँले महिलाहरूबीच मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गर्नका लागि छुट्याइएको ५० प्रतिशत पदलाई शतप्रतिशत मानी दलित समुदायलाई १२ दशमलव ७ प्रतिशत छुट्याइएको पनि प्रष्ट पार्नुभयो । महिला समावेशी पदबाहेकका अन्य बाँकी ५० प्रतिशत समावेशी पदलाई शतप्रतिशत मान्दा दलित समुदायलाई १५ दशमलव पाँच प्रतिशत सुरक्षित गर्न लागिएको मन्त्री गुप्ताको भनाइ छ ।

दलित समुदायको सशक्तीकरण गर्ने संरचनालाई एकीकृत गर्न ‘दलित, उपेक्षित, उत्पीडित वर्गको उत्थान तथा विकास प्राधिकरण’ गठनको प्रक्रियासमेत अघि बढेको उहाँले जानकारी दिनुभयो । मन्त्री गुप्ताले प्राधिकरण गठनको सन्दर्भमा राष्ट्रिय दलित आयोग र अर्थ मन्त्रालयबाट साकारात्मक धारणा तथा राय प्राप्त भइसकेको बताउनुभयो । यसैगरी, संविधानको धारा ४० मा उल्लेख गरिएको दलितको हक कार्यान्वयन गर्न मन्त्रालयले ‘दलित समुदायको अधिकार तथा विकासम्बन्धी विधेयक’ संसदको चालू अधिवेशनमै पेस गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रमको बुँदा नं २०२ तथा गत आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं २१३ ले दलित समुदायको सशक्तीकरण गर्ने संरचनालाई एकीकृत गर्ने लक्ष्य लिएकाले सो काम अघि बढ्ने मन्त्री गुप्ताले विश्वास दिलाउनुभयो । प्रस्तावित दलितको हक अधिकार तथा विकास ऐन, २०८१ तर्जुमा सम्बन्धमा अवधारणापत्र तयार गरी सङ्घीय मामिला मन्त्रालयले राय सुझावका लागि राष्ट्रिय दलित आयोगमा पठाएको पनि उहाँले जानकारी गराउनुभयो ।

यमनबाट प्रक्षेपित मिसाइल इजरायलको विमानस्थल क्षेत्रमा खस्दा केही घाइते

यमनस्थित हूती समूहद्वारा प्रक्षेपण गरिएको एक मिसाइल आइतबार इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रमा खस्दा दुई जना घाइते भएको र केही क्षति भएको इजरायली सेना तथा स्थानीय निकायहरूले जानकारी दिएका छन्।

इजरायलको आपतकालीन सेवा ‘मगेन डेविड अदोम’ का अनुसार विस्फोटका कारण दुईजना व्यक्तिहरू घाइते भएका छन् भने अर्का एकजना आश्रयतर्फ दौडने क्रममा सामान्य चोटपटक लागेका छन्।

इजरायली सेनाका एक प्रवक्ताका अनुसार हवाई प्रतिरक्षा प्रणालीले मिसाइल अवरोध गर्न प्रयास गरे तापनि त्यसमा सफलता प्राप्त हुन सकेन। मिसाइल विमानस्थल क्षेत्रमै खसेको पुष्टि गरिएको छ।

सामाजिक सञ्जालमा देखिएको दृश्यहरूमा विमानस्थलको मुख्य टर्मिनलतर्फ जाने सडकमा मिसाइल खसेपछि कालो धुवाँ उडिरहेको देखिन्छ। केही रिपोर्टहरूमा मिसाइलले ठूलो खाल्डो बनाएको उल्लेख गरिएको छ।

इजरायल विमानस्थल प्राधिकरणले सबै उडानहरू अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ, तर चाँडै पुनः सञ्चालन गरिने जनाएको छ। सोही क्रममा विमानस्थलतर्फ जाने रेल सेवा पनि केही समयका लागि स्थगित गरिएको छ।

सुरक्षाको दृष्टिले, प्रहरीले विमानस्थल क्षेत्रतर्फको पहुँच केही समयका लागि बन्द गरेको छ।

हालका दिनहरूमा यमेनमा अमेरिकी हवाई आक्रमणहरू जारी रहेसँगै हूती समूहद्वारा मिसाइल र ड्रोन आक्रमणहरूमा वृद्धि भएको देखिएको छ।

गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिरः संयुक्त राष्ट्रसङ्घीय संस्था

संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी ( युएनआरडब्लूए) ले गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर र कल्पना गर्नै नसकिने भएको बताएको छ ।

एजेन्सीका अनुसार गाजामा जीवन निर्वाहका लागि आवश्यक वस्तुहरूको आपूर्ति पूर्ण रूपमा रोकिएको नवौं हप्ता भइसकेको छ, जसले गर्दा अवस्था झनै बिग्रन सक्ने खतरा छ । यस्तो भयावह स्थिति रोक्न अन्तर्राष्ट्रिय समुदायले तत्काल र समन्वित प्रयास गर्नुपर्ने एजेन्सीले आग्रह गरेको छ । युएनआरडब्लूएले युद्धविरामको लागि पुनः आग्रह गरेको छ ।

त्यस्तै, हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयले गाजामा नाकाबन्दी तथा सीमाहरू बन्द भएकाले शीघ्र मानवीय सङ्कट आउन सक्ने चेतावनी दिएको छ ।

कार्यालयको प्रेस वक्तव्यमा भनिएको छ, “इजरायली प्रशासनले शिशु आहार, पोषण पूरक सामग्री तथा अन्य मानवीय सहायता प्रवेश गर्न नदिएको कारण ७० हजार भन्दा बढी बालबालिका गम्भीर कुपोषणका कारण अस्पतालमा छन् ।”

वक्तव्यमा पाँच वर्ष मुनिका तीन हजार ५०० भन्दा बढी बालबालिका भोकमरीको कारण मृत्युको नजिक रहेको जनाएको छ ।

यसले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा मानवीय सहायता आपूर्ति सहज बनाउनका लागि नाका खोल्न र अत्यावश्यक सामग्री प्रवेशको व्यवस्था मिलाउन तत्काल कदम चाल्न आग्रह गरेको छ ।

इजरायलले सन् २०२५ मार्च २ देखि गाजामा वस्तु तथा आपूर्तिको प्रवेश रोक्दै आएको छ । यो निर्णय जनवरी महिनामा भएको पहिलो चरणको युद्धविराम समाप्त भएपछि गरिएको हो, जबकि दोस्रो चरण अझै लागू भएको छैन ।

अब सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर काम गरौँः अध्यक्ष दाहाल

काठमाडौँ, २१ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले समाजवादका निम्ति सामाजिक न्याय र समृद्धिको पक्षमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो,“मुलुकको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका अतुलनीय छ, अबका दिनमा पनि नेपालको आर्थिक विकासमा तपाईंहरूको भूमिका थप महत्वपूर्ण हुने अपेक्षा गरेको छु ।”

उहाँले आफ्नै नेतृत्वको सरकारले एनआरएनएलाई नागरिकता प्रदान गरेको उल्लेख गर्दै थप हितका निम्ति आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले गैरआवासीय नेपालीको ज्ञान सीप नेपालको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो । “एनआरएनसँग निकै ठूलो सञ्जाल, पर्याप्त अनुभव र स्रोतसाधन पनि छ । त्यो नेपालको आर्थिक विकासका निम्ति निकै ठूलो सहयोग पुग्छ ।”

एकीकृत समाजवादीले बुझायो मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

विराटनगर, २१ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिम्कतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभित्र विषय समेटेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्काल सक्ने जति माग पूरा गर्ने र अरू माग बिस्तारै पूरा गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यक्रमअन्तर्गत आज मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो । कार्यक्रममा पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रकुमार राई पनि सहभागी हुनुहुन्थ्यो । उहाँले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने उल्लेख गर्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।

जानकी नवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुर । मधेश प्रदेश सरकारले जानकी नवमीको अवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जानकी नवमीको अवसरमा बैशाख २३ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मधेश प्रदेश सरकारले यस अघि पनि जानकी नवमीमा सार्वजनिक विदा दिँदै आएको छ ।

जानकी नवमीको अवसमा देशभरि नै सार्वजनिक विदा दिनुपर्ने मागसहित हिजो(शनिबार) जनकपुरधामका साधुसन्तहरुले सरकारलाई ध्यानकर्षण गराउन जुलुस निकालेका थिए ।

त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधबार पनि कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको सूचनामा उल्लेख रहेको छ ।

‘सिंहदरबारदेखि दुर्गमक्षेत्रसम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ’ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताएका छन् ।

आइतबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उदघाटन गर्दै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

उनले भने,‘खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ती सार्नुपर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त गर्छौँ ।’
यसैगरी उनले सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताए ।

उनले भने,‘विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरु र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ ।’
आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पु¥याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको मन्त्री यादवको भनाई छ ।
‘म बोलेको कुरा पुरा गर्ने व्यक्ति हुँ । म आफ्नो बाँचा अनुसार नागरिकका घर घरमा शुद्ध खानेपानी पु¥याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु । नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पु¥याउछु’उनले भने ।

बिगतका समयमा अधुरा रहेका र बाढीले क्षति गरेका खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न भइरहेको बताउँदै उनले भने,‘मैले मन्त्रालय सम्हालेदेखि बिगतका अधुरा रहेका खानेपानीका आयोजनाहरु पुरा भएका छन् । सिङ्हदरबारदेखि दुर्गमक्षेत्रसम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ ।’

खानेपानी तथा ढलव्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना अन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब दुई हजार १३४ घरपरिवार र ११ हजार ७६९ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।

उनका अनुसार हालसम्म कुल २५० घरधुरीहरू यस खानेपानी प्रणालीमा जोडिएका तथा यस योजना अन्तर्गत दुईवटा मुहान (सिद्धी खोला र श्रीअन्तु खोला) बाट पानी सङ्कलन गरिन्छ । प्रभावकारी र भरपर्दो आपूर्ति सुनिश्चित गर्न आयोजना पम्पिङ तथा ग्राभिटी दुवै प्रणालीमा आधारित छ ।

योजना १५ वर्षको दीर्घकालीन सेवा अवधिका लागि डिजाइन गरिएको र जसमा भविष्यको जनसङ्ख्या वृद्धि समेत ध्यानमा राखिएको छ । आयोजना सम्पन्न गर्नको लागि कुल लागत रु ३७ करोड ७२ लाख रहेको छ । जसमा १० प्रतिसत लागत स्थानीय समुदायबाट योगदान प्राप्त भएको खानेपानी तथा ढलव्यवस्थापन विभागले जनाएको छ ।

लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा

पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।

दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले अब उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ ।

यसअघि भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान बनाइसकेको छ ।

पहिलो सेट २०–२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो । इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौथो सेट २६–२४ को पुनरागमन जित दर्ता ग¥यो । चौथो सेटमा १८–२१ को अवस्थालाई उल्टाउँदै इरानी टोलीले २६–२४ को जित निकाल्न सफल रहेको थियो ।

तेस्रो स्थानका लागि र फाइनल खेल सोमबार हुनेछ । पुलिस र इरानी टोलीबिचको फाइनल खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । यस्तै तेस्रो स्थानका लागि आर्मी र एपिएफबिचको खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ: नेता निधि

मलङ्गवा (सर्लाही), २१ वैशाख : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेस नै रहेको बताउनुुभएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आज सहिद सुखदेव महतोको सालिक अनावरण गर्दै नेता निधिले सङ्घीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरु राजनीतिक दलभन्दा कांग्रेसलाई बढी रहेको बताउनुुभएको हो । यो व्यवस्थालाई जोगाइ रहन सके मात्र सहिदप्रति उच्च सम्मान हुने भन्दै नेता निधिले कांग्रेसले धेरै कुरा सहेर यो व्यवस्थालाई जोगाइरहेको जिकिर गर्नुभयो ।

संयुक्त सरकार रहेको बेला सबै कुरा आफ्नो पार्टीले भनेको नहुने भन्दै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी २०८४ को निर्वाचनलाई लक्षित गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले अबको १३ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँगको सात बुँदे सहमतिअनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा गर्न थप सहज हुँदै जाने बताउनुुभयो ।

पार्टीका पूर्वउपसभापति निधिले पछिल्लो समय मधेस प्रदेशमा योजना छनोटसँग जोडिएका नकारात्मक कुरा आइरहेको भन्दै प्रदेशलाई नै बद्नाम गर्ने काममा नलाग्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

विसं २०५९ वैशाख २१ गते तत्कालीन विद्रोही पक्षले घाँटी रेटेर हत्या गरेका पार्टी नेता एवं साविक अत्रौली गाविसका अध्यक्ष सुखदेव महतोको आधाकदको सालिक अनावरण गरिएको हो ।

कार्यक्रममा कांग्रेस नेता एवं मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंह, गङ्गीलाल राय, पूर्वमन्त्री शम्भु श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्र सिंहलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

एमाले सचिवालय बैठक : बजेट ठोस र परिमाणमुखी ल्याइनुपर्ने

काठमाडौँ, २१ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकमा आगामी आर्थिक वर्षको सन्दर्भमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले बैठकमा नेताहरुले बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा जोड दिएको बताउनुभयो ।

“मूलतः नीति तथा कार्यक्रमले भनेजस्तै बजेट पनि ठोस र परिमाणमुखी होस् । विगतमा योजनाको छनौट स्रोतको विन्यास र योजनाको प्राथमिकतामा भद्रगोल देखिएको छ,” उहाँले भन्नुभयो, “विगतमा भएको अव्यवस्थालाई चिर्दै बजेट आओस् । सङ्घीय सरकारले राष्ट्रियस्तरका योजनामा केन्द्रित हुनुपर्ने बाँकी योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने भन्ने कुरामा जोड दिइएको छ ।”

यसैगरी, बैठकले बजेट उत्पादन र उत्पादत्वमा केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिएका छन् । उपमहासचिव ज्ञवालीले कृषि क्षेत्रका सघन क्षेत्र निर्माण गरेर किसानलाई जमिन, प्रविधि, बजार र बचतमा जोड दिँदै उनीहरुको आम्दानी बढाउने र मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव प्राप्त भएको उहाँले बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले बजेटमा ‘जेन–जी’ पुस्तालाई केन्द्रमा राखेर उद्यमशीलता, उद्यममा क्रियाशील बनाउँदै जेन–जीसँगैको सहकार्यमा सूचना प्रविधिको विकासलाई अगाडि बढाउन बैठकमा छलफल भएको बताउनुभयो ।

यसैगरी, बदलिँदो भूराजनीतिकले गर्दा अन्तरराष्ट्रिय सहयोग कटौती भएको र ठेक्का लागेका योजनामा दाताहरुले हात झिक्ने अवस्थाले गर्दा सरकारको दायित्व झन् थपिने भन्दै त्यसलाई ध्यानमा राखेर योजनाको प्राथमिकता गर्न पार्टीले सरकारलाई सुझाव दिएको उहाँको भनाइ छ ।

उपमहासचिव ज्ञवालीका अनुसार बैठकमा सुशासन, भष्ट्राचार नियन्त्रण र स्रोतको अधिकतम सदुपयोगलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ ।