`

कञ्चनपुरमा चट्याङ लागेर २४ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान घाइते

दोधारा चाँदनी (कञ्चनपुर), २१ वैशाखः कञ्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताउनुभयो । रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

एनआरएनए नागरिकता कामकाजी भएन्, सदनमा कुरा उठाउँछु : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवसीय नेपाली संघ(एनआरएनए)को एकतामा आफूले अधिकतम प्रयास गरेको बताएका छन् । आइतबार एनआरएनए एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी एवम सदस्यहरुको शपथ समारोहमा सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा या नहुँदा एकताका लागि अधिकतम प्रयास गरेको बताएका हुन् ।

‘एनआरएनएको एकता चासो र चिन्ताको विषय थियो । मुलुक विकासको काममा यसले धक्का पुग्ने हो कि भन्ने चिन्ता थियो । सोही भएकाले एकताका लागि धेरै प्रयास गरेको हुँ । यसअघि तीन अध्यक्षलाई सँगै राखेर हस्ताक्षर गराएरै एकताका लागि प्रयास गरेको हुँ । आज शेष घलेले अदालतको आदेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्नुभएकोमा बधाई दिन चाहन्छु,’ अध्यक्ष दाहालले भने,‘एकता महाधिवेशन गराउन र विना झमेल निर्वाचन सम्पन्न गराउनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।’

संविधान निर्माणकै बेलादेखि गैरआवसीय नेपालीहरुको हक अधिकारका लागि क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने,‘संविधानमा गैरआवसीय नेपालीहरुको हक अधिकार सुनिश्चित गर्ने प्रयास गरेको छु । संविधानको मुल मर्म र भावना अनुसार नागरिकता प्रदान गर्ने प्रयास अघि बढायौं । मेरो तेस्रो कार्यकालमा प्रधानमन्त्रीको हैसियतमा कुल आचार्य र डा.बद्री केसीलाई नागरिकताको प्रमाण पत्र वितरण गर्ने अवसर पाएको छु । त्यो मेरो र सबैको गर्वको विषय हो,’ उनले भने,‘तर नागरिकता कामकाजी भएको छैन् । त्यसैले कामकाजी बनाउने प्रयास गरिनेछ । यो मेरो प्रतिबद्धता भयो ।’

कार्यक्रममा उनले विश्वभरि छरिएर रहेका गैर आवसीय नेपालीहरुका लागि र देशभित्रै रहेका श्रमिकहरुका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रयास गरेको बताए । आफू प्रधानमन्त्री भएको बेला गोर्खाहरुको मुद्दामा पटक पटक पहलकदमी लिएको दाबी गरे । उनले गैरआवसीय नेपालीहरुका मुद्दाहरुलाई सदनमा कुरा उठाउने पनि बताए ।

उनले नेपालमा शुसासन, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासमा काम गर्नुपर्ने भएकाले एनआरएनएको नेटवर्क, ज्ञान, अनभव र रिसोर्सले मुलुकको समृद्धिमा सहयोग पुग्ने बताए । सम्बोधनका क्रममा एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठको टीमलाई बधाई समेत दिए ।

अर्थसमितिमा बाफियामाथि छलफल

काठमाडौँ, २१ वैशाखः बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफल भएको छ । समितिले आज यहाँ उक्त विधेयकका व्यवस्थामाथि बैङ्किङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको हो ।

छलफलका क्रममा पूर्वबैङ्कर परशुराम कुँवर क्षेत्रीले बैङ्क तथा वित्तीय संस्थाको सञ्चालकसम्बन्धी व्यवस्था, बैङ्कर तथा व्यवसायी छुट्याउने प्रावधान, बैङ्कका सञ्चालकको उमेरहदलगायत विषयलाई विधेयकले उपयुक्त ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । यस्तै, बैङ्क तथा वित्तीय संस्थाहरूको गैरबैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट) कम्पनी खोल्नेसम्बन्धी प्रावधान बाफियामा राखिनुपर्ने सुझाव दिँदै उहाँले बैङ्क, वित्तीय संस्थाहरूले धितो लिलाम गरेको जग्गामा हदबन्दी लाग्न नहुने नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बैङ्कर र व्यवसायी छुट्याउने गरी विधेयकमा परेका व्यवस्थाबारे विभिन्न देशका असल अभ्यास र नेपालको सन्दर्भमा त्यसको सान्दर्भिकता खोज्नेगरी उचित प्रबन्ध गरिनुपर्ने बताउनुभयो ।

उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयक विसं २०८० चैतमा संसद्मा दर्ता भएको थियो । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैङ्किङलाई कानुनी मान्यता दिने, बैङ्क सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयर धनी रहेका बैङ्कबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायत महत्वपूर्ण व्यवस्था विधेयकमा राखिएका छन् । यस्तै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिमसमेतका आधारमा बैङ्क तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमनका लागि कानुनी प्रबन्ध गर्न पनि यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ ।

अर्थ समिति सभापति सन्तोष चालिसेले यो विधयेक बैङ्क तथा वित्तीय संस्थाहरूको नियमन र सुपरीवेक्षणसँग मात्र जोडिएको नभई मुलुकको समग्र अर्थतन्त्रसँग समेत जोडिएको बताउनुभयो । “यो विधेयकले वित्तीय क्षेत्रमा फेरबदल गर्नसक्ने हैसियत राख्दछ । यसकारण समितिले महत्वका साथ छलफल अघि बढाउनेछ”, उहाँले भन्नुभयो । विधेयकमाथि प्रतिनिधिसभाका २२ जना सांसदहरूबाट विभिन्न एक सय २७ वटा संशोधन परेको पनि सभापति चालिसेले जानकारी दिनुभयो ।

प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लिखित तीनै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्नका लागि पनि नयाँ बन्ने बाफिया महत्वपूर्ण छ । यसैगरी, नेपालको समग्र बैङ्किङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैङ्क तथा वित्तीय संस्थाहरूको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको जनाइएको छ ।

बाफिया विधेयकमा ‘डिजिटल’ मुद्रालाई परिभाषित गर्न खोजिएको छ । “डिजिटल मुद्रा भन्नाले नेपाल राष्ट्र बैङ्कबाट जारी भएको डिजिटल मुद्रा सम्झिनुपर्छ”, विधेयकमा भनिएको छ । डिजिटल मुद्राबारे हाल नेपाल राष्ट्र बैङ्कले अध्ययन गरिरहेको छ ।

यसैगरी, डिजिटल बैङ्कलाई बैङ्किङ तथा वित्तीय कारोबारको अधिकार दिनका लागि विधेयकमा नयाँ व्यवस्था राखिएको छ । “बाफिया ऐन, अन्य प्रचलित कानुन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैङ्कले तोकेको सीमा, सर्त वा निर्देशनको अधीनमा रही डिजिटल बैङ्कले राष्ट्र बैङ्कले तोकेबमोजिमको निक्षेप लिने, कर्जा प्रवाह गर्नेसमेतका बैङ्किङ तथा वित्तीय कारोबारसमेत गर्न सक्नेछ”, विधेयकमा भनिएको छ । डिजिटल बैङ्कलाई बैङ्कको परिभाषाभित्र समेटिएको छभने विद्युतीय माध्यमबाट जम्मा गरेको रकमलाई निक्षेप मान्न सकिने व्यवस्था गर्न लागिएको छ ।

बैङ्क तथा वित्तीय संस्थामा ‘कार्यकारी अध्यक्ष’ को परिभाषा हटाएर अध्यक्षको प्रावधान मात्रै राखिएको छ । यसैगरी, ‘उल्लेख्य सामित्व’ को परिभाषा पनि परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । “उल्लेख्य स्वामित्व भन्नाले कुनै व्यक्ति वा संस्थासँग मिली संयुक्त रुपमा कुनै बैङ्क तथा वित्तीय संस्थाको चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको वा शेयर स्वामित्वका कारण बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्नसक्ने अवस्था बुझ्नुपर्दछ”, भनी विधेयकमा उल्लेख छ । विद्यमान बाफिया ऐनले यस्तो व्यवस्था दुई प्रतिशत मानेको छ ।

बैङ्क तथा वित्तीय संस्थाको ऋणीको परिभाषा पनि संशोधन प्रस्ताव गरिएको छ । “ऋणी भन्नाले कर्जा लिने वा बैङ्कले जारी गरेको क्रेडिट कार्ड वा त्यस्तै प्रकृतिका अन्य उपकरण धारण गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनुपर्छ”, विधेयकमा भनिएको छ । यसअघि क्रेडिट कार्ड सुविधा लिने व्यक्ति तथा कम्पनीलाई ऋणीको परिभाषाभित्र समेटिएको थिएन । विधेयकमा धितोको परिभाषामा थप गरिएको छ । ‘धितो भन्नाले ऋणीले बैङ्क वा वित्तीय संस्थाबाट लिएको कर्जाको सुरक्षणबापत बैङ्कलाई उपलब्ध गराएको सम्पत्ति सम्झनुपर्दछ’ भनी थप व्यवस्था राखिएको छ ।

एकभन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गर्न आवश्यक रहेको भन्दै कुनै बैङ्क तथा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैङ्कमा सञ्चालक बन्न नसक्ने व्यवस्था गर्न लागिएको छ । सञ्चालकमा महिलाको प्रतिनिधित्व सुनिश्चितताका लागि भन्दै विधेयकमा महिला शेयरधनी रहेको बैङ्क वा वित्तीय संस्थाको सञ्चालक नियुक्त गर्दा कम्तीमा एकजना महिला नियुक्त गर्नुपर्ने व्यवस्था राखिएको छ । यसैगरी, बैङ्क–वित्तीय संस्थामा कम्तीमा एकजना स्वतन्त्र सञ्चालन नियुक्त गर्न सकिने व्यवस्था विद्यमान ऐनमा रहेकामा त्यसलाई संशोधन गरी ‘कम्तीमा एकजना महिलासहित दुईजना’ स्वतन्त्र सञ्चालक नियुक्त गर्न सकिने प्रावधान राखिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकको कार्यकालसम्बन्धी विद्यमान व्यवस्थामा पनि विधेयकमार्फत संशोधन गर्न लागिएको छ । विद्यमान ऐनअनुसार सञ्चालक बढीमा चार वर्षका लागि रहने र निजको पुनः नियुक्त तथा मनोनयन हुन सक्ने व्यवस्था छ । त्यसलाई संशोधन गरेर कुनै सञ्चालक आफ्नो पदावधि समाप्त भएपछि अर्को एक अवधिका लागि मात्रै सञ्चालक पदमा पुनः नियुक्त हुन सक्ने व्यवस्था कायम गर्न लागिएको छ । प्रस्तावित विधेयक संसद्बाट पारित भई लागू भएपछि २५ वर्ष उमेर नपुगेको र ७० वर्ष उमेर नाघेको व्यक्ति बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् । विद्यमान बाफिया ऐनले सञ्चालक हुनका लागि न्यूनतम उमेर २५ वर्ष तोकेको भए पनि अधिकतम उमेरहद भने तोकेको छैन ।

विधेयकअनुसार कुनै व्यक्ति सञ्चालक हुन चाहेमा त्यस्तो बैङ्क वा वित्तीय संस्थामा ऊ र उसको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण कुल चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी हुन सक्नेछैन । विद्यमान बाफिया ऐनमा यो व्यवस्था छैन । सम्बद्ध व्यक्ति वा निजको परिवारले व्यावसायिक ऋण लिएको सीमा यकिन गर्न आवश्यक रहेको भन्दै नयाँ ऐनमा यस्तो व्यवस्था कानुनमा राख्न लागिएको हो ।

विधेयकअनुसार बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिको बैठकलाई नियमित बनाउन हरेक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बैठक बस्नुपर्ने छ । सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धी कानुनलाई पनि बैङ्क तथा वित्तीय संस्थामा कडाइका साथ लागू गर्नेगरी विधेयक तयार पारिएको छ ।

एउटा बैङ्क तथा वित्तीय संस्थाले अर्को बैङ्क तथा वित्तीयको धितोपत्रमा लगानी गर्न नपाउने व्यवस्था रहेका छ । तर, सरकारले आवश्यक ठानेका कृषि, पर्यटन, ऊर्जा, पूर्वाधारजस्ता क्षेत्रमा लगानी गर्न ऋणपत्रसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउका लागि ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था बन्दै गरेको ऐनमा राख्न लागिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले आफूसँग आबद्ध व्यक्ति वा कुनै बैङ्कमा एक प्रतिशत शेयर स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा दिन पाउने छैन । तर शत्प्रतिशत नगद ‘मार्जिन’मा जमानत जारी गर्न, इजाजत प्राप्त संस्थाको आफ्नै मुद्दति रसिद तथा नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कको ऋणपत्रको धितोमा सम्बद्ध व्यक्तिका रुपमा घोषणा गरी कर्जा प्रदान गर्न र घरायसी कर्जा प्रदान गर्न बाधा पु¥याएको नमानिने विधेयकमा उल्लेख छ ।

यसैगरी, कुनै पनि बैङ्क तथा वित्तीय संस्थामा एक प्रतिशत शेयर स्वामित्व भएको व्यक्ति आफू सम्बद्ध बैङ्क वा वित्तीय संस्थाको कानुन, राजस्व, लेखा वा वित्तीय व्यवस्थापन परामर्शदाता, धितो मूल्याङ्कनकर्ता वा लेखापरीक्षकको हैसियतले काम गर्न पाउनेछैन । विधेयक ऐन बनेर लागू भएसँगै सबै बैंक वित्तीय संस्थाले एक प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएको व्यक्तिको सूची तयार गरी नेपाल राष्ट्र बैङ्कलाई बुझाउनुपर्नेछ । हरेक आर्थिक वर्ष सकिएको ३५ दिनभित्रमा यस्तो सूची राष्ट्र बैङ्कलाई बुझाइसक्नुपर्नेछ ।

बन्दै गरेको कानुनअनुसार बैङ्क तथा वित्तीय संस्थाले जुन प्रयोजनका लागि ऋणीलाई कर्जा दिएको हो सो प्रयोजनमा ऋणीले कर्जा रकम सदुपयोग गरेको छ वा छैन भन्ने सम्बन्धमा अनुगमन तालिका बनाई अर्धवार्षिक रूपमा अनिवार्य अनुगमन गर्नुपर्नेछ । यस्तो अनुगमन गर्नुपर्ने व्यवस्था विद्यमान ऐनमा राखिएको भए पनि के कति समयमा अनुगमन गर्ने भन्ने कुरा स्पष्ट खुलेको थिएन ।

यसैगरी, बैङ्क तथा वित्तीय संस्थाको लगानीमा स्थापना भएका कम्पनीको समष्टिगत निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धित निकायको समन्वयमा नेपाल राष्ट्र बैङ्कले गर्ने विधेयकमा उल्लेख छ । कुनै एक व्यक्ति, फर्म, संस्था वा कम्पनीले कुनै एक बैङ्क तथा वित्तीय संस्थाको कुल चुक्ता पुँजीको बढीमा १५ प्रतिशत मात्र लगानी गर्न सक्नेछ । त्यसैगरी, जफत गरिएको धितोपत्र बिक्री वितरणबाट प्राप्त रकम जम्मा गर्न छुट्टै संस्था तोक्न सकिने व्यवस्था पनि विधेयकमा राखिएको छ ।

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

काठमाडौँ, २१ वैशाख: प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका सम्बन्धमा गठित उपसमितिले बुझाएको प्रतिवेदन अध्ययनका निम्ति सदस्यहरूलाई वितरण गरेको छ । आउँदो बैठकमा उक्त प्रतिवेदनमाथि छलफल गर्ने निर्णयसमेत गरिएको छ ।

समिति सभापति ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले भैरहवा विमानस्थलका सम्बन्धमा गठित उपसमिति संयोजक योगेश भट्टराई सो समितिमा नबस्ने घोषणापछि नयाँ संयोजक चयन गरी यथाशीघ्र प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

ती दुवै विमानस्थल निर्माणमा अनियमितता र आर्थिक अपचलन भएको भन्ने समितिमा उजुरी परेपछि अध्ययन उपसमिति गठन गरी छानबिन गरिएको थियो । त्यस क्रममा पोखराका लागि समिति सदस्य राजेन्द्र लिङदेन र भैरहवाका लागि भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रही काम गरेको हुनाले उपसमितिको संयोजकबाट अलग भएर छानबिनमा सहयोग गर्नुपर्छ भनेर प्रश्न उठाइएपछि भट्टराईले संयोजकबाट अलग रहने घोषणा गर्नुभएको थियो ।

बैठकले समितिको २३औँ वार्षिक प्रतिवेदन तयार गरी यही महिनाभित्र संसद्मा पेस गर्ने तथा त्यसका लागि आजसम्म उपसमितिहरूले तयार पारेका प्रतिवेदनलाई अनुमोदन गर्ने निर्णय गरेको सभापति पोखरलले जानकारी दिनुभयो ।

नागढुङ्गा नौबिसे सडक विस्तार : रातिमा पाँच घण्टा बन्द गरिने

मलेखु (धादिङ), २१ वैशाख : नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।

त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा सूचनामा उल्लेख गरिएको छ ।

काठमाडौँबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुङ्गा–मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ ।

साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्नेछ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन । ओभरट्याक नगरी बन्दको समयमा नियमपालना गरिदिन कार्यालयले अनुरोध गरेको छ ।

भारतसँगको तनावबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण

कश्मीरको विवादित क्षेत्रमा भएको घातक आक्रमणपछिको बढ्दो तनावका बीच पाकिस्तान सेनाले शनिबार ‘मिसाइल प्रक्षेपण’ गरेको जनाएको छ ।भारत–प्रशासित कश्मीरको पहलगाममा गत महिना भएको पर्यटकमाथिको आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ, जसपछिको अवस्थाले दुई आणविक शक्ति राष्ट्रबीच पुनः तनाव बढाएको छ ।

पाकिस्तान सेनाले दिएको विज्ञप्तिमा ‘अब्दाली वेपन सिस्टम’ को सफल प्रशिक्षण प्रक्षेपण गरिएको जानकारी दिइएको छ । यो मिसाइल प्रणालीले ४५० किलोमिटर (२७९ माइल) सम्मको दूरीमा प्रहार गर्न सक्ने क्षमता राख्दछ ।

“यो प्रक्षेपण सेनाको कार्यसञ्चालन क्षमताको परीक्षण तथा मिसाइलको प्रविधीय पक्षको मूल्याङ्कन गर्न गरिएको हो,” पाकिस्तान सेनाले बताएको छ ।तर प्रक्षेपण कुन स्थानमा गरिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन ।

उक्त परीक्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणमा कारबाही गर्न सेनालाई ‘पूर्ण स्वतन्त्रता’ दिएको घोषणा पछिको समयमै भएको हो । सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू तीर्थयात्री थिए ।

पाकिस्तानले आक्रमणमा संलग्नता अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ । यसै साता पाकिस्तानले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो र कुनैपनि आक्रामक गतिविधिमा बलपूर्वक प्रतिकार गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

कश्मीरको विषयमा बारम्बार युद्धमा होमिएका भारत र पाकिस्तानमाथि अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न दबाब दिएको छ । छिमेकी चीनले संयमता अपनाउन आग्रह गरेको छ भने युरोपेली सङ्घले पछिल्लो अवस्था ‘गम्भीर र चिन्ताजनक’ भएको जनाएको छ ।

अमेरिकाका उपराष्ट्रपति जे.डी. भ्यान्सले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भारतलाई ‘क्षेत्रीय द्वन्द्वमा परिणत नहुने’ किसिमले प्रतिक्रिया जनाउन आग्रह गर्नुभयो । साथै, पाकिस्तानलाई ‘आफ्नो भूमिमा सक्रिय आतङ्ककारीहरूको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न’ अनुरोध गर्नुभयो।

विश्वलाई सन्देश

पाकिस्तानी विश्लेषकहरूले उक्त मिसाइल प्रक्षेपणलाई चेतावनीको रूपमा व्याख्या गरेका छन् । “यसले पाकिस्तानसँग भारतलाई प्रत्युत्तर दिने स्रोत र क्षमता छ भन्ने देखाउँछ । यो केवल भारतका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि सन्देश हो कि हामी तयारी अवस्थामा छौं,“ सैन्य विश्लेषक हसन अस्करी रिजवीले एएफपीसँग बताउनुभयो ।

शुक्रबार पाकिस्तानी सेनाध्यक्ष जनरल सैयद आसिम मुनिरले उच्च सैन्य कमान्डहरूसँग हालको भारत–पाकिस्तान तनावबारे छलफल गर्नुभयो । बैठकमा उहाँले सबै सीमाक्षेत्रहरूमा सजगता र तयारी बढाउन जोड दिनुभएको थियो ।

भारतीय रक्षा स्रोतहरू अनुसार, दुबै देशले नियन्त्रण रेखा (एलओसी) मा नौ रातदेखि लगातार गोलीबारी गरिरहेका छन् ।
करीब १.५ करोड जनसङ्ख्या रहेको मुस्लिमबहुल कश्मीर क्षेत्र पाकिस्तान र भारतबीच बाँडिएको छ तर दुवै देशले यसलाई आफ्नो क्षेत्र भनेर दाबी गर्दै आएका छन् ।

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका लागि तीन अर्ब दश करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज स्वीकृत गरेको जानकारी आज पेन्टागनले दिएको छ ।

उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरू समावेश छन् ।

यस सहयोगमा समावेश भएका कम्पनीहरूमा प्रमुख रूपमा लडाकु विमान उत्पादन तथा प्राविधिक सेवा प्रदान गर्ने अमेरिकी संस्थाहरू रहेका छन् । तर, यो सहयोगमा कुनै नयाँ विमान समावेश छैन । विमानहरू अमेरिकी सरकारबाट नभई युरोपेली मित्र राष्ट्रहरूबाट प्रदान गरिने बताइएको छ ।

यो सहयोग गत वर्ष डिसेम्बरमा स्वीकृत भई दुई अर्ब छेसठ्ठी करोड रुपैयाँ बराबरको अर्को सम्झौता पछिको निरन्तरता हो, जसले मिसन योजना प्रणाली र मर्मत उपकरणहरू उपलब्ध गराएको थियो ।

नेदरल्याण्ड, डेनमार्क, नर्वे र बेल्जियम जस्ता मित्र राष्ट्रहरूले हालसम्म युक्रेनलाई जम्मा उन्नासी वटा लडाकु विमान दिने घोषणा गरिसकेका छन् । सन् २०२५ भरि थप विमानहरू पठाइने अपेक्षा गरिएको छ ।

एउटा अन्तर्राष्ट्रिय उड्डयन सूचनास्रोत संस्थाका अनुसार, हालै एक विमान टक्सनस्थित अमेरिकी सैन्य आधार शिविरमा ल्याइएको थियो, जुन पछि पोल्याण्डतर्फ पठाइएको देखिएको छ ।

स्थानीय सञ्चार माध्यमको रिपोर्ट अनुसार, टक्सननजिकै रहेको ‘डेभिस–मन्थन’ नामक पुराना विमानहरू भण्डारण गरिने स्थानबाट ती विमानका भागहरू लिइएका हुन् । अमेरिकी वायु सेनाले दिएको जानकारी अनुसार ती विमानहरू पहिले प्रयोगमा ल्याइएका भए पनि हाल उड्न सक्ने अवस्थामा छैनन् । ती विमानहरूबाट युक्रेनले पाउने विमानहरूका लागि अतिरिक्त भागको रूपमा प्रयोग गरिनेछ ।

वक्तव्यमा उल्लेख गरिए अनुसार, ती विमानहरूमा इन्जिन, राडार जस्ता अत्यावश्यक भागहरू छैनन् र तिनलाई पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था पनि छैन ।

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

भक्तपुर ।  गए रातिदेखिको वर्षाले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ।

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए।

भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको हो।

सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगबाट आउन दिएको छ।

इन्सपेक्टर खत्रीका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ।

भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ। सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ।

गाडी चिप्लिएर सयौँ फिट तल खस्ने जोखिम देखिएपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो।

बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ। वर्षामा जोखिम बढे पनि समस्या समाधानका लागि तीव्रगतिमा काम हुन नसक्दा समस्या आएको छ। 

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि किसान उत्साहित

कञ्चनपुर, २१ वैशाख ः बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर (हाइब्रिड) १२०८ जातको मकैखेती गरेर उहाँले चार महिनामा रु ३० हजारदेखि रु ७० हजारसम्म आम्दानी गर्नुभएको छ । पाँच कट्ठा जग्गामा लगाइएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ ।

उन्नत जातको भन्दा गुणस्तरीय वर्णशङ्कर जातका मकैको खेती गर्दा २५ देखि ३० प्रतिशतले बढी उत्पादन हुने गरेको छ । फागुनको पहिलो हप्ता रोपेको मकै जेठमा उत्पादन लिन सकिने किसान चौधरीले बताउनुभयो । हरियो मकै खेतबारीबाट नै रु १० देखि १५ सम्ममा बिक्री हुने गरेको छ । हरियो बिक्री नभएको मकै पाकेपछि बिक्री गरिँदै आएको उहाँको भनाइ छ ।

मकैको डाँठ भने मेसिनमा काटेर घरमा पालेका बाख्रा, बङ्गुर, भैँसीलगायतका लागि भुसासँगै मिसाएर खुवाउन प्रयोगमा ल्याइने गरिएको शङ्कर चौधरीले बताउनुभयो । बैवाहाका १५ बढी किसानले चार कट्ठादेखि सात कट्ठा जग्गामा वसन्ते मकैखेती गरेका छन् । मकैको उत्पादन लिएपछि यहाँका किसानले धान रोप्ने भएकाले छोटो अवधिमै पाक्ने मकैखेतीलाई बढावा दिँदै आएका छन् ।

कुनै किसानले १२८०, कुनैले अरुण–२, अरुण–६ जातका मकैखेती गरेका छन् । “पाँच कट्ठा जग्गामा लगाइएको मकैखेतीबाट गत वर्ष रु ८० हजार आम्दानी भएको छ”, रामलाल चौधरीले भन्नुभयो, “छोटो अवधिमा सोचेभन्दा बढी आम्दानी हँुदा यस वर्ष पनि मकैखेतीलाई निरन्तरता दिएका छौँ ।” वसन्ते मकैखेती गरेका अधिकांश किसानले बाख्रापालन गरेका छन् ।
किसानको घरघरमा १० देखि २२ वटासम्म बाख्रापालन गरिएका छन् । बाख्रपालन गर्न र सिँचाइका लागि बोरिङ जडान गर्न भने किसानले सृजनशील सहकारी संस्थाबाट ऋण लिएका छन् । बाख्रापालन गरेका किसानले खसी, बोका बिक्री गरी धेरैले ऋण चुक्ता गरेका छन् । केहीको अन्तिम किस्तामात्र तिर्न बाँकी छ । बाख्रापालन गरेका किसानले गहुँको भुसासँगै मकैको हरियो डाँठलाई चारोका रूपमा प्रयोग गर्दै आएका छन् ।

मकैका बोट निश्चित दूरीमा लगाइने भएकाले गोडमेल गर्न सहज हुनुका साथै सिँचाइ, गोडमेल गर्न, मलखाद छर्न सहज हुने गरेको किसान बताउँछन् । झारपात व्यवस्थापनसँगै रोग कीरा रोकथामका लागि कृषि प्राविधिकसँग किसानले सल्लाह लिने गरेका छन् । वसन्ते मकैखेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भएकाले बढी जग्गामा खेती गर्न किसान उत्साहित छन् ।

‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र

काठमाडौँ-देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्ये चलचित्र एक हो । यसले समाज र जीवनशैलीसँगै संस्कृतिलाई सङ्ग्रहित गरिरहेको हुन्छ । त्यसकारण पनि चलचित्रमा देखाइने विषयले सही सूचना दिनुपर्ने धारणा चलचित्रकर्मीहरूको छ ।

अहिले विवाहमा खुवाइने भोजको शैली परिवर्तन भइसकेको छ । पार्टी प्यालेस केन्द्रित हुने गरेको भोजको वर्तमान समयमा नेपाली ग्रामीण समुदायमा प्रचलित जन्ते बाख्रो खुवाउने परम्परामा आधारित रहेर निर्देशक सिमोश सुनुवारले चलचित्र ‘जन्ते बाख्रो’ निर्माण गर्नुभएको छ ।

चलचित्रमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज र चलनलाई प्रस्तुत गरिएको निर्देशक सुनुवारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ । लोप हुन लागेको यही सुन्दर परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित चलचित्र तयार पारेको छु । यो प्रचलनसँग जोडिएर चलचित्रको विषयवस्तु अगाडि बढेको छ ।”

उहाँले चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गर्नाका साथै यसलाई नयाँ पुस्ताका लागि जानकारी हुने बताउनुभयो । चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेख्नुभएको उक्त चलचित्रलाई सन्तोष गौतमले निर्माण गर्नुभएको हो । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुनेछ । 

मुलुकको अर्थतन्त्र सुधारका लागि निरन्तर काम भइरहेको छ: अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निरन्तर काम भइरहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा उहाँले पहिलो चरणमा लगानी तथा सुशासन प्रवर्द्धनका लागि विभिन्न कानुनहरू संशोधन गरिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले कानुनी सुधारमार्फत दोस्रो चरणमा आर्थिक सुधारको थालनी भइसकेको र यो निरन्तर कायम रहने बताउनुभयो । “आर्थिक सुधारका लागि अध्यादेशमार्फत लगानी सहजीकरण तथा सुशासन प्रवर्द्धनका लागि धेरै वटा कानुन संशोधन भएका छन् । यो सुधारको अन्तिम किस्ता होइन, थप सुधारका काम निरन्तर चल्नेछन्”, उहाँले भन्नुभयो ।

सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यद्यपि, नीतिगत अस्थिरताका कारण लगानीको वातावरण र निजी क्षेत्रलाई समस्या भइरहेको जिकिर गर्नुभयो । मुलुकको आर्थिक विकास तथा लगानी प्रवर्द्धनका लागि वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसद्मा दर्ता भएको र यसलाई चाँडै टुङ्ग्याइने उहाँको भनाइ छ ।

यस्तै, सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले आफ्नो सिद्धान्तभन्दा बाहिर गएर काम गर्दा यस क्षेत्रमा समस्या देखिएको धारणा राख्नुभयो । सरकारको चालु बजेट र सार्वजनिक ऋणको दायित्व निरन्तर बढ्ने तर पुँजीगत खर्च हुन नसक्ने स्थितिलाई सुधार गर्न अतिआवश्यक रहेको उहाँको भनाइ छ । “स्रोत परिचालन र खर्च व्यवस्थापनमा सुधार नगर्ने हो भने अर्थतन्त्रमा थप समस्या सिर्जना हुनेछ । यसर्थ नेपाललाई सम्पत्ति शुद्धीकरण निवारण मामलामा वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीबाट दुई वर्षभित्र हटाइसक्ने र आगामी दिनमा फेरि कहिल्यै त्यो सूचीमा नपर्ने गरी सरकारले कार्ययोजना बनाइरहेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सामाजिक न्यायसहितको अर्थतन्त्र निर्माण, नयाँ चरणको आर्थिक सुधार, निजी क्षेत्रको प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधारलगायत विषयलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलले समानखालको धारणा बनाएर अघि बढ्नुपर्ने र नीतिगत स्थिरता कायम हुने स्थिति सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले कर प्रशासन सरल र पारदर्शी हुनुपर्ने, करको दरभन्दा दायरा र आयकरको सीमा बढाउनुपर्नेलगायत सुझाव दिनुभयो । साथै नीतिगत स्थिरता र विश्वासको वातावरण बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गरेर आन्तरिक उत्पादन बढाउनेतर्फ जोड दिनुपर्ने पनि मल्होत्राको सुझाव छ ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले अर्थतन्त्रको संरचनागत सुधार, उपभोक्ता बजार तथा निजी क्षेत्रको मनोबल वृद्धि, सूचना प्रविधि क्षेत्रलगायत विषयलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । यस्तै, युवा तथा महिला उद्यमशीलता विकासलक्षित बजेट आउनुपर्ने पनि सुझाव दिइएको थियो ।

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

बेनी (म्याग्दी), २१ वैशाखः रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाँध, सुरुङ, विद्युत्गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत्गृहमा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उहाँले बताउनुभयो । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र छ सय ३४ मिटर पेनस्टक टनेल रहेको छ ।

गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर÷त्रिपल एस जेभीले ठेक्का लिएको थियोभने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङ, २१ वैशाख : मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले मुस्ताङमा विदेशी पर्यटकको आगमन अप्रत्याशित रुपले वृद्धि भइरहेको बताउनुभयो । सन् २०२५ को चार महिनामा सार्क राष्ट्रका ४३ हजार १५१ र अन्य राष्ट्रका आठ हजार ७४५ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म कुल विदेशी पर्यटक सङ्ख्याको ८३ प्रतिशत सार्क राष्ट्रको र १७ प्रतिशत अन्य राष्ट्रका पर्यटक मुस्ताङ भित्रिएका थिए ।

सन् २०२५ को जनवरीमा चार हजार ३४६, फेबु्रअरीमा पाँच हजार ३३०, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म विदेशी पर्यटकको तथ्याङ्क हेर्दा सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म (३६.६६) प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । सन् २०२४ को सुरुआती चार महिनामा ३७ हजार ९७४ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकामा सन् २०२५ को सुरुआती चार महिनामा ५१ हजार ८९६ जनाले मुस्ताङको भ्रमण गरेका छन् ।

मुस्ताङको ऐतिहासिक, धार्मिक, संस्कृति तथा सामाजिक सभ्यता अवलोकन गर्न उल्लेख मात्रामा विदेशी पर्यटक मुस्ताङ आउने गरेको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताउनुभयो । मुस्ताङमा बढी मात्रामा भारतीय पर्यटक आउने गरेका छन् । हिन्दू तथा बौद्धमार्गीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथको दर्शनका लागि छिमेकी देश भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् ।

मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शनसँगै उपल्लो मुस्ताङको कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, निफुक गुम्बा, लोघेकर (घर) गुम्बा, चराङ गुम्बा, लुरी गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, मुस्ताङ गेट, नुन खानी, कागबेनीधाम, ढुम्बाताल, जोमसोम बजार, मार्फा गाउँ, सेकुङ ताल र टिटी ताललगायतको पर्यटकीय गन्तव्य रहेकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुमफिरको गन्तव्य बनेको हो ।

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

इनरुवा (सुनसरी), २१ वैशाख : नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् । उहाँसँग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित हुनुभएको हो ।

“मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले रासससँग भन्नुभयो । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताउनुभएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताउनुभयो । उहाँ नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थाल्नुभएको हो ।

विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवामा न्यु विशाल सेकुवा कर्नरमा काम गर्दैआउनुभएको छ । उहाँलाई न आमाबुबा न घरको बारेमा जानकारी छ । यहाँ काम गर्नुअघि उहाँको नाम चङ्खे थियो । अहिले उहाँ अर्जुन भुजेलको नामबाट चिनिन थाल्नुभएको छ । भुजेल एक वर्षदेखि यहाँ काम गर्दै आउनुभएको छ ।

“आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ”, उहाँले भन्नुभयो । उहाँले नागरिकता बनाउन पहल गरिदिन आग्रह गर्नुभयो ।

वर्षाले नारायणघाट–बुटवल सडकको दाउन्ने क्षेत्र अवरुद्ध,वैकल्पिक सडकबाट यात्रा गर्न आग्रह

नवलपुर (नवलपरासी), २१ वैशाख : गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

उहाँले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गर्नुभएको छ । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिनुभयो ।

कान्ति लोकपथ सडक अवरुद्ध

त्यसैगरी, गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

बागवानीको लिची अहिलेसम्मकै बढी मूल्य २८ लाख रुपैयाँमा लाग्यो ठेक्का

बरहथवा (सर्लाही), २१ वैशाख : उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले रु २८ लाख २५ हजारमा ठेक्का लगाएको हो ।

केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम रु २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका–७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो ।

“यसपटक बागवानीको लिची अहिलेसम्मकै बढी मूल्यमा बिक्री गरेर राजस्व हासिल गर्न सफल भएका छौँ”, केन्द्रका प्रमुख रामकुमार यादवले भन्नुभयो, “पछिल्ला वर्षमा बागवानीको उत्पादनसँगै राजस्व पनि बढेको छ ।”

बागवानी र ठेक्का प्रक्रिया दुवै व्यवस्थित हुँदा राजस्व बढेको उहाँको भनाइ छ । केन्द्रको ८.५ हेक्टर क्षेत्रफलमा छ सय २१ बोट लिचीखेती गरिएको छ । गत वर्ष रु २७ लाख १५ हजारमा ठेक्का लागेको लिची, उत्पादन बढ्दा यस वर्ष ठेक्का मूल्य पनि बढेको उहाँले बताउनुभयो । बागवानीमा नौवटा जातका लिची उत्पादन हुँदै आएको छन् ।

यस्तै यहाँ उत्पादन भएको आँप ठेक्काका लागि केन्द्रले यही वैशाख १६ गते सूचना प्रकाशित गरेको छ । न्यूनतम बिक्री मूल्य रु ७१ लाख ११ हजार कायम गरेर सूचना प्रकाशन गरिएको केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । आँपको ठेक्का यही वैशाख ३१ गते खोलिने छ । करिब एक सय बिघामा गरिएको आँपखेतीमा छ हजार रूख छन् । त्यसमध्ये बर्सेनि तीन हजार ५०० बढी रूखले फल दिने गरेको छ । यहाँको आँप गत वर्ष रु २१ लाखमा ठेक्का लागेको थियो । बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत जातको आँप उत्पादन हुने गरेको केन्द्रका प्रमुख यादवले बताउनुभयो । ठेकेदार समूहले यहाँ उत्पादन भएको लिची, आँपलगायत फलफूल काठमाडौँ, हेटौँडा, चितवनसहित देशका मुख्य सहरसम्म लैजाने गरेका छन् ।

आजको मौसम : बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिदा चट्याङसहित वर्षा

काठमाडौँ, २१ वैशाख : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । देशका हिमाली एवम् पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २१ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १२०, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ९०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु २३०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २९०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु ८०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

सहमतिपछि आवासीय चिकित्सक काममा फर्किए

काठमाडौँ, २१ वैशाख : सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबीच विभिन्न विषयमा सहमति भएको हो ।

सहमतिअनुसार चिकित्सका शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गरिने छ । यस्तै, निजी तथा सार्वजनिक संस्थाको एकैसाथ म्याचिङ तथा भर्ना हुन पाउने गरी व्यवस्था गरिने भएको छ । आवासीय चिकित्सकको बिदा, कार्य समय, अतिरिक्त सुविधालगायतका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।

यस्तै, आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तह बराबरको निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिने सहमति भएको छ । सहमतिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा भीमप्रसाद सापकोटा र नेपाल मेडिकल एसोसिएसनका तर्फबाट नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गर्नुभएको छ ।

मन्त्री पौडेलले सरकारले आवश्यक प्रतिबद्धता गरिसकेपछि नेपाल चिकित्सक सङ्घले आन्दोलन फिर्ता लिएको र सहमति कार्यान्यनका लागि आफूहरूले इमान्दार प्रयास गर्ने बताउनुभयो । निजी मेडिकल कलेजले पनि आठौँ तहसरह भत्ता दिने प्रतिबद्धता जनाएको र आवासीय चिकित्सक काममा फर्किसकेको मन्त्री पौडेल बताउनुभयो ।

घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र

गोरखा, २१ वैशाख : गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त सडकको चौडाइ सात मिटर छ ।

एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले रु २९ करोड ७७ लाख लागतमा सो सडक कालोपत्र गरेको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर कपिल काप्रीले जानकारी दिनुभयो । विसं २०८१ चैत मसान्तभित्र काम सक्ने गरी २०७७ साउन १५ गते ठेक्का सम्झौता भएको हो ।

“ठेक्का सम्झौता भएपछि कोभिड–१९ का कारण केही ढिलाइ भएको थियो”, इन्जिनियर काप्रीले भन्नुभयो, “सडक कालोपत्रसँगै एक मिटर चौडाइको नाली निर्माण र विभिन्न ठाउँमा ग्याविन तथा मेसिनरी पर्खाल निर्माणको काम सम्पन्न भइसकेको छ । सडक कालोपत्र भएपछि स्थानीय उत्साहित भएका बारपाक सुलिकोट गाउँपालिका–७ का अध्यक्ष कृष्ण गुरुङले बताउनुभयो । हाल सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।

“यो ट्रयाक २०५४ सालतिरै खुलेको हो । तर हालसम्म पनि कालोपत्र हुन सकेको थिएन”, उहाँले भन्नुभयो, “सधैँ कच्ची सडकमै यात्रा गर्नुपर्ने चिन्ता थियो ।”

सडक कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको वडाध्यक्ष गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला कच्ची सडक हुँदा यातायातको समस्या थियो । बर्खामा ठाउँठाउँमा पहिरो जाने, सडक हिलाम्य हुँदा सास्ती थियो । सडक कालोपत्र भएपछि बर्खाको समयमा समेत सहजै यातायात सञ्चालन हुने छ ।”

बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र समेत जोड्ने उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएपछि पालिकावासीलाई जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज हुने छ ।

गर्मीसँगै अण्डाको माग बढ्यो,माग धान्न मुस्किल

चितवन, २१ वैशाख : गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्दछ । मुख्य रोगहरू पनि यही मौसममा देखा पर्ने गर्दछन् । पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीका कारण हुने तनाव निकै बढ्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अझै अण्डाको उत्पादन घट्दै जाने छ ।” गर्मी उच्चविन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उहाँको भनाइ छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताउनुभयो । चार महिनाअघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको उहाँ बताउनुहुन्छ । उहाँको भनाइमा गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरेको र चल्ला राख्न नसकेका कारण अण्डाको सङ्ख्या घटेको हो । विद्यालय, क्याम्पस खुलेका र पर्यटक बढेका कारण बजारमा अण्डाको माग बढेको उहाँ बताउनुहुन्छ । माग बढेसँगै किसानले उत्पादन गरेको अण्डाको मूल्य बढ्दो क्रममा छ ।

अध्यक्ष पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रु चार सय ६०, ठूलोको रु चार सय ३५ र मिडियमको रु तीन सय ८५ कायम गरिएको छ । बजारमा मागअनुसार अण्डा नपाएपछि क्रमशः मूल्य बढ्दै गएको हो । गत वर्ष प्रतिक्रेट (३० गोटा) को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । मूल्य घटेसँगै लागत मूल्य धान्न नसकेपछि धेरै किसानले अण्डा दिँदै गरेका कुखुरासमेत बिक्री गर्न बाध्य भएका थिए ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ । अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ । उहाँले भन्नुभयो, “अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् ।”

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २१ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५२ पैसा र बिक्रीदर २० रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३२ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाएको छ ।

कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

भक्तपुर, २१ वैशाख : राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

परीक्षाको मर्यादाविपरीत शिक्षक/कर्मचारी/निरीक्षक/परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च÷अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ । परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ ।

लोकतन्त्रमा वंशवादको स्थान छैनः पूर्वउपप्रधानमन्त्री पोखरेल

जकपुरधाम, २० वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको वर्तमान सङ्घीय लोकतान्त्रिक व्यवस्थामा वशंवादको कुनै स्थान नरहेको बताउनुभएको छ । एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले राजालाई स्थान चाहिन्छ भने सर्वसाधारण नागरिक भएर जनतासमक्ष आउनुपर्ने र निर्वाचनमा भाग लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

राजावादीका नाममा देशमा अशान्ति फैलाउन नहुने भन्दै त्यस्ता गतिविधि गर्नेलाई लोकतान्त्रिक शक्तिले सफल हुन नदिने वरिष्ठ उपाध्यक्ष पोखरेलले दाबी गर्नुभयो । “देशमा लोकतन्त्र आएपछि समृद्धि तथा विकासले गति लिएको छ”, उहाँले भन्नुभयो ।

जनताको सङ्घर्ष, त्याग, तपस्या तथा आन्दोलनबाट मुलुकमा लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै पोखरेलले आमनागरिक राजतन्त्रको पक्षमा नरहने बताउनुभयो । देशमा अर्थतन्त्र सङ्कटमा परेको अवस्थामा समस्या समाधान गर्दै अर्थतन्त्र सुधार गर्न, मुलुकको समग्र विकास गर्न दुई ठूला दल कांग्रेस र एमालेबीच समन्वय भई वर्तमान सरकार गठन भएको उहाँले जानकारी दिनुभयो ।

विगतमा पनि राणाशासन, पञ्चायती शासनविरुद्ध तथा लोकतन्त्र स्थापनका लागि नेपाली कांग्रेस र एमालेले संयुक्त रूपमा आन्दोलन गरेर सफल भएको स्मरण गर्दै उहाँले अहिले पनि नेपालमा आर्थिक समृद्धि र विकासका लागि दुवै पार्टी हातोमालो गरेर अगाडि बढिरहेका उल्लेख गर्नुभयो ।

एमालेको जिल्ला अधिवेशबाट नेतृत्व चयन गर्दा क्षमतावान् र पार्र्टी तथा जनताका लागि काम गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । उहाँले कांग्रेससँग एकातिर प्रतिस्पर्धा छभने एकातिर देश चलाउने जिम्मेवारी रहकाले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले एमाले मधेशमैत्री पार्टी रहेको भन्दै राजतन्त्र, शोषक र जनताको हितविपरीत कार्य गर्ने विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । “हामी विकास र समृद्धिका पक्षमा लागेको छौँ । मुलुकभित्र शान्ति कायम गर्न सबै सतर्क र सचेत हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।

एमालेका धनुषा इन्चार्ज एवं पोलिटब्यूरो सदस्य जुली महतोले वर्तमान सरकार मुलुकको विकासमा केन्द्रित रहेकाले सबैले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो । एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा आज कार्यक्रम भएको थियो ।

धनुषामा पार्टीका १४ हजार १३३ क्रियाशील कार्यकर्ता रहेका छन् । आजदेखि तीन दिन सञ्चालन हुने अधिवेशनले धनुषाको नयाँ नेतृत्व चयन गर्नेछ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबीच भेटवार्ता

सुदूरपश्चिम, २० वैशाखः भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीयमन्त्रीबीच देहरादुनमा भेटवार्ता भएको छ ।

मुख्यमन्त्री र उत्तराखण्डका वनमन्त्री सुबोध उनियाल, पर्यटनमन्त्री सतपाल महाराज, र कृषिमन्त्री गणेश जोशीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भेटवार्तामा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषिखेतीलगायत विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा पर्यटन प्रवर्द्धनबाट रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने, विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको थियो ।

पर्यटनमन्त्री सतपालसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, अध्यात्मिक टुरिजमलगायत विषयमा छलफल गर्नुभयो । यस्तै, कषिमन्त्री जोशीले छलफलका क्रममा नेपालको भौगोलिक अवस्था र मौसमअनुसारको कृषिखेती गरी उत्पादित कृषिउपजलाई बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । सोहीअनुसार बीउबिजन र प्राविधिक सहयोग आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।भारत सरकारको निमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको दश सदस्यीय टोली यही वैशाख १६ गतेदेखि भारत भ्रमणमा रहेको छ ।

ओलीपत्नी राधिका शाक्यद्वारा लिखित ‘करूणा धुलिखेलमा विमर्श

काभ्रेपलाञ्चोक, २० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यद्वारा लिखित ‘करूणा’ आत्मकथामाथि आज काभ्रेपलाञ्चोकको धुलिखेलमा विमर्श गरिएको छ । कार्यक्रमका वक्ताहरूले करूणामा प्रस्तुत जीवन भोगाइका फरकफरक विषयले मानव जीवनको सबै विषयमा करूणा झल्किएको विचार व्यक्त गरे ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले करूणा आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिँदै करूणा अनन्त कथा–व्यथाको सागर रहेको उल्लेख गर्नुभयो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करूणाले ‘तिम्रो छातीमा दया, माया, करुणा सबै छ, त्यसलाई नजिकबाट अनुभूत गर’ भनी झक्झकाउने तथा मानिसभित्रको इमान्दारिता, करुणा, माया, दयाको झल्को दिनाका साथै सत्यको पथमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो । उहाँले जीवनमा जन्मदिने आमाबुबा, पिता र पतिको महत्व, युवापुस्तालाई पठन संस्कृतिमा आकर्षण गर्न, देशको माटोप्रतिको प्रेमलाई अनूभूति हुने गरी प्रस्तुत गरिएको बताउनुभयो । 

करूणा विमर्शमा लेखक शाक्यले आफूले जीवनमा पञ्चायत, बहुदलीय प्रजातन्त्र, गणतन्त्र देखेको र महसुस गरेको कुरा तथा देशको अवस्थालाई वर्तमान युवा र आगामी पुस्तालाई जानकारी दिने उद्देश्यले आत्मकथा लेखेको बताउनुभयो । उहाँले आफ्ना श्रीमान् प्रधानमन्त्री ओलीकै प्रेरणाले आत्मकथा लेख्न सफल भएको बताउनुभयो । “प्रधानमन्त्री अर्थात् श्रीमान् केपी शर्मा ओलीले सधैँ  घरको काममा मात्रै व्यस्त नहुन र आफूभित्रको क्षमता चिनेर लेख्न केही लेख्न भनेर प्रेरणा दिनुभयो । त्यही प्रेरणाका कारणले आत्मकथा लेख्न प्रेरित भएको हुँ”, शाक्यले भन्नुभयो । 

उहाँले आत्मकथामा आफ्ना ‘दुःख र सङ्घर्ष’को चित्रण गरिएको उल्लेख गर्नुभयो । करूणा आत्मकथाको गत फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले काठमाडाँैमा विमोचन गर्नुभएको थियो ।

पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँठाउँमा वर्षा

काठमाडौँ, २० वैशाखः नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गर्नुभयो । आज साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदूरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको उहाँले बताउनुभयो । बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ ।

अहिले नेपालमा स्थानीय र पश्चिमी वायु विकसित छ । अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो । आज दिउँसो बागमती, गण्डकी, मधेश प्रदेश सुदूरपश्चिमलगायत हरेक प्रदेशका केही भागमा पानी परेको थियो भने बागमती र गण्डकीमा अलि बढी पानी परेको पनि अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार र सोमबार पनि बदली रहेको र आजको भन्दा केही बढी बदलीको सम्भावना रहेको छ । हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उहाँले बताउनुभयो । 

अधिकारीले भन्नुभयो, “भोलि कोशी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा वर्षाको ुम्भावना छ । अलि बढी कोशीमा पर्ने सम्भावना छ ।” वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन् । अधिकारीले आगामी साता केही सुधारिए पनि बदलीको अवस्थामा रहने बताउनुभयो । 

स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने : मन्त्री पौडेल

काठमाडौँ, २० वैशाखः स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गर्नुभएको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जनशक्ति थपिने भएका छन् ।

बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लग्नुभएको थियो । हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्र बाँकी दाबीमा मूल्याङ्कनसक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

यसले ती अस्पतालहरूले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

“सङ्गठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालमा सहजता आउने विश्वास गरिएको छ”, उहाँले भन्नुभयो ।

वैशाख २२ गतेदेखि नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

काठमाडौँ, २० वैशाखः त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ । सूचनामा भनिएको छ, “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने व्यहोरासमेत जानकारी गराइन्छ ।”

‘लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्छ’: नेता निधि

काठमाडौँ, २० वैशाखः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउँदै सफल कार्यान्वयनका लागि ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल श्रम प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘परिवर्तित सन्दर्भ र ट्रेड युनियन आन्दोलन’ विषयक गोष्ठीमा उहाँले लोकतान्त्रिक राजनीतिक व्यवस्था मजबुद बन्न सके मात्र मजदुरको हकहित सुरक्षित हुने बताउनुभयो । 

पूर्वउपप्रधामन्त्री निधिले संविधानका मुख्य पाँच विशेषताहरू गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताको सन्दर्भमा ट्रेड युनियन आन्दोलनको भूमिका केन्द्रित गर्न आह्वानसमेत गर्नुभयो । “गणतन्त्र, सङ्घीयता र लोकतन्त्र, समावेशिताको पक्षमा ट्रेड युनियनको भूमिका केन्द्रित हुनुपर्छ । त्यहीभित्र नै आफ्नो हक र हितका लागि प्रयास गरिरहनुपर्छ”, उहाँले भन्नुभयो, “यदि यसमा कुनै पनि किसिमको खतरा आउँछ भने त्यसको बचाउमा ट्रेड युनियनको अभियान केन्द्रित हुनुपर्छ ।”

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले मूलधारका राजनीतिक दल र जनताबीचको बढ्दो दूरीलाई घटाउन संवाद आवश्यक रहेको बताउनुभयो । राजनीतिक व्यवस्था परिवर्तनपछि थुप्रै विकास र सुधारका काम भए पनि जनताको असन्तुष्टि वृद्धि हुँदै जानाका कारण पार्टीले खोज्नुपर्ने उहाँको भनाइ थियो । “नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार सञ्चालनको दश महिना भइसक्यो तर निराशा चिर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “मूलधारका राजनीतिक दलप्रति जनताको विश्वास घट्दो छ । यो चुनौती सामना गर्न ट्रेड युनियनले पार्टीलाई सहयोग गर्न सक्दछ ।”

संविधानसभा सदस्य डा बिन्दा पाण्डेले औपचारिक र अनौपचारिक श्रमिकलाई पञ्जीकरण गर्ने विषयमा जोड दिँदै श्रमिक परिचयपत्रको आवश्यकता औँल्याउनुभयो । उहाँले वर्तमान सन्दर्भमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको भूमिका प्रभावकारी बन्न नसकेको टिप्पणी गर्नुभयो ।

प्रतिष्ठानका महासचिव विकास दाहालले आर्थिक उदारीकरण, प्रविधिको प्रभाव र श्रमबजारको परिवर्तनले ट्रेड युनियनको भूमिका र प्रभावकारितामा ल्याएको परिवर्तनबारे चर्चा गर्नुभयो । उहाँले यसले  श्रमिक अधिकार, सामूहिक सौदाबाजी र सामाजिक न्यायको लडाइँमा नयाँ आयाम थपेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घका संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्याय र नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वकेन्द्रीय सदस्य धुव्रराज पुरीलाई प्रतिष्ठानले अभिनन्दन गरेको थियो । यस्तै, परियोजना व्यवस्थापनसम्बन्धी तालिममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गरियो ।

हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ: ब्रिटिस गोर्खा

काठमाडौँ, २० वैशाख: संसदीय समितिका सभापतिहरूले विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन सहजता प्रदान गर्ने ढङ्गबाट कानुन निर्माण गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँहरूले सन्तान भेट्न आमाबाबु विदेश जाने नभई छारोछोरी नेपाल आउने वातावरण निर्माण गर्नेगरी कानुन तर्जुमा गर्नेतर्फ ध्यान पुर्‍याइने बताउनुभयो ।

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कानुन निर्माणमा कुनै राजनीतिक गन्ध नआउने र विदेशमा रहेका नेपाली नागरिकलाई देश फर्कन सहज तुल्याउन सकियोस् भन्नेमा सम्पूर्ण कोसिस रहने धारणा राख्नुभयो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले बेलायती–गोर्खा फौजमा राज्यले सम्झौता गरेर पठाएका नागरिकलाई आफ्ना होइन भन्ने विषय नेपालका लागि सुहाउँदो नभएको जिकिर गर्नुभयो । आफ्ना नागरिकलाई पराई बनाउन हुन्न भन्नेमा राज्य उत्तरदायी हुनुपर्नेमा जोड दिँदै उहाँले शिक्षा र निजामती प्रशासनमा सुधार नल्याएसम्म देशविकासको नारा कागजमा सीमित रहने धारणा राख्नुभयो ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले संविधान र नेपालको नागरिकता ऐन २०६३ संशोधनका बेला ब्रिटिस गोर्खाले आफ्नो नागरिकताले निरन्तरता पाउनुपर्ने कारणसहितको दलिल पेस गर्नुपर्ने सुझाव दिनुभयो ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले जुनसुकै मुलकमा रहे पनि नेपाली नागरिकका सन्ततिलाई वंशजका आधारमा नागरिकता प्राप्तिमा संविधानतः कुनै बाधा नरहेको तर्क गर्नुभयो । उहाँले कसैलाई पनि राज्यविहीनताको अवस्थामा राख्न नहुने बताउनुभयो ।

यसअघि अभियानका सल्लाहकार कृष्णबहादुर राईले देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था आउन नदिन र ब्रिटिस गोर्खाले प्राप्त गर्ने निवृत्तिभरण राष्ट्र बैंकमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । अभियानका अध्यक्ष फुर्वा शेर्पाले ब्रिटिस गोर्खाले उठाउँदै आएका विषय पहिचान र न्याय, बलिदान र योगदानसँग जोडिएका भन्दै राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उक्त अभियानले बेलायती सेनामा भर्ती भएका लाहुरेको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने तथा उनीहरूको सन्तानलाई पनि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानुनी सुविधा हुनुपर्ने माग गर्दै आएको छ ।

त्यस अवसरमा बेलायती सेनाबाट निवृत्त भएका करिब २२ हजार पूर्व गोर्खा सैनिकलाई पेन्सनका रूपमा प्रदान गरिने करिब २१ करोड पाउण्डस्ट्रलिङ राष्ट्र बैंकमा जम्मा भएर वितरण गर्ने व्यवस्थाका लागि सरकारसँग माग गरिएको थियो ।

हवाई उद्यमी वीरेन्द्रबहादुर बस्नेतको ‘बाइ द बुक’ सार्वजनिक

काठमाडौँ, २० वैशाख: हवाई उद्यमी एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाइ द बुक’ सार्वजनिक भएको छ । स्थापनाको झण्डै २८ वर्षको अवधिमा बुद्ध एयरले हासिल गरेका सफलता र व्यवस्थापकीय पाटोका विभिन्न आयामलाई पुस्तकमा समावेश गरिएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शमशेर जबराले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो ।

त्यस अवसरमा तत्कालीन प्रमुख प्रशासक श्रेष्ठले सफल व्यवस्थापन र गुणस्तरीय सेवाको नमुना संस्थाका रूपमा स्थापित बुद्ध एयर सबैका लागि प्रेरणादायी भएको बताउनुभयो । हाल देशकै अग्रणी हवाई कम्पनीका रुपमा स्थापित बुद्ध एयरको सुरुआती सञ्चालनमा वित्तीय स्रोतको भूमिका निर्वाह गर्ने अवसर पाउनु आफ्ना लागि पनि महत्वपूर्ण अवसर भएको उहाँले उल्लेख गर्नुभयो ।
हिमालयन बैंकका सिइओ जबराले हवाई उद्योगको नमुना संस्थाका रूपमा रहेको बुद्धएयरसँग आर्थिक साझेदारी गर्न पाउनु आफ्ना लागि पनि गौरवको विषय भएको बताउनुभयो ।

लेखक बस्नेतले नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस् भनेर पुस्तक लेखेको बताउनुभयो । “यो पुस्तकको अर्थ नियमसङ्गत हो । बुद्धएयर सुरुआत गर्दाको सपना र सोचलाई पुस्तकमा समेटिएको छ”, उहाँले भन्नुभयो, “हवाई उद्योग असाध्यै जोखिमपूर्ण उद्योग हो, विभिन्न बाधाव्यवधान र कठिनाइ आउँछन् तिनलाई कत्ति पनि हरेस नखाई कसरी समाधान र व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पुस्तकमा उल्लेख छ ।”

बस्नेतले आमनेपाली उद्योग व्यवसाय र व्यवस्थापनमा लागेकाहरूका लागि पुस्तक केही सिक्ने सन्दर्भ सामग्रीका रूपमा हुने विश्वास व्यक्त गर्नुभयो । “पुस्तकमा बुद्ध एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्त समेटिएका छन् । देशमा केही भएन र हुँदैन भन्नेहरूका लागि बाइ द बुकले केही आशाको सञ्चार गराउने छ र अस्तित्वको आत्मबोध गराउने छ । एउटा संस्थाको कुशल व्यवस्थापन र सफल व्यक्तिको जिम्मेवारी र उसको सफल नेतृत्वदायी भूमिकाका बारेमा पुस्तकले बोलेको छ”, उहाँले भन्नुभयो ।

सन् १९९७ मा ४ जनाबाट सुरू भएको बुद्ध एयरमा हाल एक हजार ५०० भन्दाबढीले रोजगारी एको छन् । बीचक्राफ्ट १९०० डी र सी जहाजबाट सेवा सुरु गरेको बुद्धएयरले एटिआर–४२ हुँदै हाल एटिआर–७२ जहाजमार्फत सेवा दिइरहेको छ । बुद्धएयरसँग हाल १८ थान एटिआर जहाज रहेका र देशका ४० भन्दाबढी हवाई गन्तव्यमा उडान गरी हालसम्म दुई करोडभन्दा बढीलाई हवाई सेवा दिइसकेको त्यस अवसरमा जानकारी दिइयो ।

गाजामा इजरायली आक्रमण हुँदा तीन शिशु सहित ११ जनाको मृत्यु

गाजाको नागरिक रक्षा निकायले शनिबार जानकारी दिएको अनुसार दक्षिणी गाजास्थित खान युनिस शरणार्थी शिविरमा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको छ, जसमा एक वर्षभन्दा कम उमेरका तीन शिशुहरू पनि छन् ।

नागरिक सुरक्षा प्रवक्ता महमूद बास्सालका अनुसार बिहान ३ बजे (स्थानीय समय) खान युनिसको अल–बयराम परिवारको घरमा गरिएको आक्रमणमा ज्यान गुमाउनेहरू एउटै विस्तारित परिवारका सदस्यहरू हुन् । तीमध्ये पहिचान भएका आठ जना मध्ये एक वर्षका छोरा, एक वर्षकी छोरी र एक महिनाको शिशु पनि परेका छन् ।

इजरायली सेनाका प्रवक्ताले एएफपीसँग कुरा गर्दै आक्रमणको पुष्टि गर्नुभयो र सो कारबाही ‘एक आतङ्ककारी हमास सदस्यलाई लक्षित गरी गरिएको’ बताइएको छ । तर थप विवरण दिइएको छैन ।

घटनास्थलमा उद्धारकर्मीहरू र स्थानीय बासिन्दाहरूले खण्डहरमा खोजी कार्य गरेका थिए । एएफपीका एक पत्रकारले खिचेको भिडियोमा एक उद्धारकर्मीले भग्नावशेषबाट एक शिशुको निर्जीव शरीर बाहिर ल्याएको देखिन्छ ।

नजिकैको भवनमा बसोबास गर्ने फाइका अबु हाताबले भन्नुभयो,“म उज्यालो चमक देखेँ, त्यसपछि विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुलोले ढाकियो । केही देख्न सकिएन, सबै अँध्यारो भयो ।” उहाँले थप्नुभयो,“हाम्रा सबै झ्यालहरू फुटेका छन्, कोठाहरू क्षतिग्रस्त छन्, छिमेकीको घर पूर्ण रूपमा ध्वस्त भएको छ ।”

इजरायलले मार्च १८ देखि हमासविरुद्धको युद्धमा दुई महिनाको युद्धविरामपछि पुनः आक्रमण सुरु गरेको हो । उक्त युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणपछि सुरु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार मार्च १८ पछि पुनः सुरु भएको आक्रमणदेखि हालसम्म कम्तीमा दुई हजार ३९६ जनाको मृत्यु भइसकेको छ । कुल मृतक सङ्ख्या ५२ हजार ४९५ पुगेको बताइएको छ ।

शुक्रबार मात्रै इजरायली आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको थियो । यस क्षेत्र मार्च २ देखि पूर्ण इस्रायली नाकाबन्दी अन्तर्गत रहँदै आएको छ ।

इजरायलले हमासले मानवीय सहायता अप्ठ्यारो पारिरहेको आरोप लगाउँदै गाजामा सहयोग सामग्री पठाउने कार्य रोकेको छ । इजरायली पक्षले नाकाबन्दीले हमासमाथि बन्धक मुक्त गराउने दबाब सिर्जना गर्ने उद्देश्य रहेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घका विभिन्न निकायहरूले गाजामा भइरहेको मानवीय सङ्कटबारे चेतावनी दिँदै इजरायललाई सहायता प्रवाहमा लगाइएको रोक हटाउन अनुरोध गरेका छन् । उनीहरूले भोकमरीको गम्भीर जोखिमसमेत उल्लेख गरेका छन् ।

पाकिस्तान र इरानबाट झण्डै १७ हजार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार तीन हजार १७२ अफगान परिवारका १६ हजार ७६४ जना नागरिक आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

स्वदेश फर्किनेहरू पूर्वी ननगहार प्रान्तको तोर्खाम नाका, दक्षिणी कान्धहारको स्पिन बोलदक नाका, पश्चिमी हेरातको इस्लाम कला नाका, पश्चिमी निमरोजको अब्रिशम नाका र दक्षिणी हेलमन्दको बहरामचा नाकाबाट अफगानिस्तान प्रवेश गरेका छन् ।

आयोगले ती स्वदेश फर्किएकाहरूलाई अस्थायी बसोबास, खाना, पानी, स्वास्थ्य सेवा र उनीहरूको गृह प्रान्तसम्म पुग्ने यातायात सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) का अनुसार सन् २०२५ अप्रिल १ देखि २४ सम्मको अवधिमा मात्र पाकिस्तानबाट करिब एक लाख २० हजार अफगान नागरिक स्वदेश फर्किएका छन् ।

हाल विश्वभर करिब ७० लाख अफगान शरणार्थी विदेशमा बसोबास गरिरहेका छन्, जसमा धेरैजसो अनौपचारिक रूपमा इरान र पाकिस्तानमा रहेका छन् ।हालै पाकिस्तान र इरान सरकारले ती अनधिकृत रूपमा बसेका अफगान नागरिकहरूलाई स्वदेश फर्कन अनुरोध गरेका छन् ।

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने: सभापति देउवा

काठमाडौँ, २० वैशाखः नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्नेगरी आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले विधेयक निर्माणको गतिलाई तीव्र बनाउन सक्रिय ढङ्गले संसद् र संसदीय समितिमा भूमिका खेल्ने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । 

यस्तै, नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिअनुसार आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । बैठकले भारतको उडिसास्थित केआइआइटीमा अध्ययनरत नेपाली छात्राको निधन र जम्मुकस्मिरस्थित पलहगाममा भएको घटनाको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेको छ ।

यस्तै, संविधानसभा सदस्य तीर्थराम डङ्गोलको निधनमा शोक प्रस्ताव पारित गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिनुभयो । बैठकमा २० भन्दा बढी सांसदहरूले नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा धारणा राख्नुभएको थियो ।

‘नीति तथा कार्यक्रम कार्यान्वयन प्रक्रियामा चुक्नु हुँदैन’ : डा शेखर कोइराला

चितवन, २० फागुनः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएका र अब कार्यान्वयन प्रक्रियामा चुक्न नहुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नीति तथा कार्यक्रम राम्रो ल्याउने तर कार्यान्वयनका पक्षमा काम गर्न नसक्ने पहिलेदेखि नै सरकारको कमजोरी भएको बताउनुभयो ।

डा कोइरालाले भन्नुभयो, “नीति तथा कार्यक्रम राम्रो छ तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ । सधैँ नीति तथा कार्यक्रम कार्यान्वयन फितलो हुँदा समस्या हुने गरेको छ । अब यसलाई कार्यान्वयन गर्नेगरी बजेटमा आउनुपर्छ ।”

फरक प्रसङ्गमा उहाँले कांग्रेसको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताउनुभयो । महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने र गुटको अन्त्य गर्ने भन्दै महाधिवेशन पछि सार्नुको कारण नरहेको बताउनुभयो । नेता डा कोइरालाले अधिवेशनले पार्टीलाई जुझारु बनाउने भन्दै उहाँले हाल भ्रातृ संस्थाको अधिवेशन नहुँदा पार्टी शिथिलतातर्फ गएको छ भन्नुभयो ।

अबको यात्रा आर्थिक क्रान्ति र सामाजिक रूपान्तरण:महासचिव गुरुङ

तम्घास (गुल्मी), २० वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशमा अब आर्थिक क्रान्ति र सामाजिक रूपान्तरण जरूरी रहेको बताउनुभएको छ ।

गुल्मीको मालिका गाउँपालिकामा आयोजित पार्टीको सम्मेलन आज उहाँले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त भएको र अब आर्थिक रूपान्तरण हुनुपर्नेमा जोड दिनुभयो । “देशमा राजनीतिक परिवर्तन भएको छ, अब नागरिकको आर्थिक जीवनस्तर उकास्नुपर्छ । यसलाई जोड दिएर अगाडि बढौँ”, महासचिव गुरुङले भन्नुभयो ।

उहाँले अब नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारलगायत आधारभूत आवश्यकता पूरा गर्दै समाजवादी क्रान्तिको यात्रामा अगाडि बढ्नुपर्ने समय आएको बताउनुभयो । समाजवादी व्यवस्था निर्माण नहुँदासम्म संविधान निर्माणका बाँकी कार्यभार पूरा नहुने र त्यसका लागि अबको यात्रा आर्थिक क्रान्ति हुनुपर्ने महासचिव गुरुङको भनाइ थियो ।

‘एनआरएनएलाई एकताबद्ध बनाएर अघि बढाऔँ’ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, २० वैशाख : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
गैरआवासीय नेपाली सङ्घ उच्चस्तरीय समितिले आज यहाँ आयोजना गरेको एकता महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एकताबद्ध हुँदै एनआरएनएले नेपालमा आएर लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

संविधानसभाबाट बनेको संविधानमा गैरआवासीय नेपालीलाई नागरिकताको अधिकार भए पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको धारणा राख्नुभयो । संविधान संशोधन गरेर भए पनि गैरआवासीय नेपालीलाई समान अधिकार दिनुपर्ने भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले गाउँगाउँमा हजारौँ बिघा जग्गा बाँझो रहेको अवस्थामा दुई रोपनीभन्दा बढी जग्गा किनेर लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई रोक्न नहुने जिकिर गर्नुभयो ।

व्यक्तिको राजनीतिक विचार हुने भए पनि एनआरएनएमा सङ्कीर्ण राजनीतिक सोच हुन नहुनेमा उहाँको जोड थियो ।

जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईले एनआरएनएले विप्रेषणमात्र नभई लगानी पनि भित्र्याएकाले दुरुत्साहन गर्न नहुने बताउनुभयो । एनआरएनएको नागरिकता समस्यालाई सरकारले तत्काल समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

संयोजक डा शेष घलेले यही मे ६ तारिखसम्म एकता महाधिवेशन सम्पन्न गर्नु भन्ने सर्वोच्च अदालतको आदेशअनुसार भएको यो महाधिवेशन एकताको हुने बताउनुभयो । स्थापनाको २२ वर्षसम्म एनआरएनए समसामयिक हुन नसकेकाले यसलाई अब पुनःसंरचना गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

कार्यक्रममा एनआरएनएको उच्चस्तरीय समितिका सदस्यहरू देवमान हिराचन, राजेन्द्रकुमार शर्मा, डा केशव पौडेल, महेश श्रेष्ठ, रविना थापा, कुल आचार्य, विनोद कुँवर, जानकी गुरुङलगायतले एकता महाधिवेशनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौँँ: अध्यक्ष दाहाल

काठमाडौँ, २० वैशाख: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सङ्कल्पका जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताउनुभएको छ ।

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अविधेशनलाई सम्बोधन गर्दै उहाँले संसद्मा पहिलो दल बन्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो । “विसं २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ”, अध्यक्ष दाहालले भन्नुभयो ।

‘माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति’

यसैगरी, अध्यक्ष दाहालले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ । 

“सामाजिक न्याय, आर्थिक पछौटेपनविरुद्ध नेकपा माओवादीले आफ्नो स्थापनाकालदेखि आवाज उठाउँदै आएको छ । बदलिँदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तरराष्ट्रिय सन्तुलनका पक्षमा एउटा नयाँ अभियानको सङ्कल्पका साथ झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग लक्षित अभियान सम्पन्न भएको छ”, उहाँले भन्नुभयो ।

‘अपाङ्गता अधिकारसम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ’ : सांसद परियार

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद  पदमबहादुर परियारले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४’ को व्यवहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्  । 

अपाङ्गता भएका व्यक्तिको आन्दोलनसँगै तनहुँ जिल्लाको सदरमुकाम दमौलीको ‘जलदेवी माध्यमिक विद्यालयमा अध्यन गर्दागर्दै २०५१ सालदेखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका उनले ऐन जारी भएको आठ वर्ष हुँदासम्म त्यसको व्यवहारिक रुपमै प्रभावकारी कार्यान्वयन हुन नुकेको जनाउँदै कार्यान्वयनको निम्ति राज्य गम्भीर हुनुपर्नेमा जोड दिए। 

राष्ट्रियसभाको निर्वाचनमा अपाङ्गतातर्फ गण्डकी प्रदेशबाट तीन हजार ७७४ मतभारसहित विजयी हुनुभएका नेता परियारले ऐनमा अपाङ्गता भएका व्यक्तिलाई सरकार वा स्थानीय निकायबाट सञ्चालित वा सरकारबाट अनुदान प्राप्त शैक्षिक संस्थाद्वारा निःशुल्क रुपमा आधारभूत शिक्षा उपलब्ध गराउनुपर्ने भने पनि त्यसको पूर्ण रुपमा व्यवहारिक रुपमै कार्यान्वयन हुन नसकेको बताउनुभयो । सांसद परियारसँग राससका समाचारदाता सुशील दर्नालले गरेको अन्तर्वार्ताको सम्पादित अंश । 

मुख्य कुरा म प्रदेश सांसद र पालिकाका प्रमुख र उपप्रमुखले मत दिएर अपाङ्गता कोटाबाट संसद्मा आएको हो । त्यसैले म अपाङ्गता भएका व्यक्तिप्रति उत्तरदायि हुनैपर्छ । हाम्रोमा ऐन बन्छ तर कार्यान्वयनमा समस्या छ । विसं २०७२ मा संविधान जारी भयो । २०७४ सालमा अपाङ्गता भएका व्यक्तिसम्बन्धी ऐन जारी भएको छ । तर त्यसको सही ढङ्गबाट कार्यान्वयन हुन सकेको छैन ।  ऐनमा अपाङ्ता भएका व्यक्तिलाई सरकारले तोकिदिएबमोजिमका शैक्षिक संस्थाद्वारा निःशुल्क रूपमा उच्च शिक्षा उपलब्ध गराउने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

त्यसैगरी अपाङ्गता भएका व्यक्तिलाई शिक्षा हासिल गर्न सहज बनाउन उनीहरुको आवश्यकताबमोजिम ब्रेल वा वैकल्पिक लिपि, साङ्केतिक भाषा, सूचना प्रविधिको साधन र दौँतरीबाट सिक्ने जस्ता एकभन्दा बढी माध्यमबाट शिक्षा दिने व्यवस्था मिलाउनु पनि भनिएको छ । तर कार्यान्वयन छैन । मेरो माग भनेको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ । 

संविधानको धारा ४६, १३३ (२) र (३) बमोजिम अपाङ्गता भएका व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभामा अनिवार्य रुपमा समानुपातिक निर्वाचन हुने भनिएको व्यवस्थाको कार्यान्वयन हुनुपर्छ । पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन हुन जरुरी छ । त्यस्ता अपाङ्गतासँग जोडिएका धेरै व्यवस्था छन संविधानमा । तर कार्यान्वयनमा सरकारको चासो छैन । म अहिले राष्ट्रियसभाको सांसद छु । संसद्मा अपाङ्गता भएका व्यक्ति र दलित समुदायको अधिकारको बारेमा बोली नै रहेको हुन्छु । त्यससँगै देशको समसामयिक विषयमा संसद्मा कुरा उठाउने विषय भई नै हाल्यो । मैले संसद् बैठकको प्रत्येक प्रसारण साङ्केतिक भाषामा पनि हुनुपर्ने माग उठाउँदै आएको छु । 

व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको कार्यान्वयनको मागपनि गर्दै आएको छु ।  शिक्षा, निजामती र प्रहरीलगायतका ऐनलाई पनि अपाङ्गमैत्री बनाउनुपर्ने मेरो माग छ । बहिरा नागरिकका हकअधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै विभेदपूर्ण रहेका छन् तिनलाई सच्याउनुपर्ने छ । अर्को कुरा भनेको, दलित समुदायको संवैधानिक हक कार्यान्वयन गर्न आवश्यक ऐन निर्माणमा सरकारको उदासीनता देखाएको छ । संविधानको धारा ४० मा दलित समुदायका लागि विशेष हक र सुविधाको व्यवस्था गरिएको छ । यो धाराले राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउने, सार्वजनिक सेवा तथा रोजगारीमा विशेष प्राथमिकता दिने, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, भूमि सुधार, परम्परागत पेसा संरक्षण र सीप विकासमा सहायता प्रदान गर्ने व्यवस्था गरेको छ । तर, कार्यान्वयन छैन । अहिले पनि दलित समुदायको आफ्नो नाममा जमिन छैन । उनीहरु आर्थिक, सामाजिक र राजनीतिक रुपमा पनि पछाडि गर्दै आएका छन् । 

जहाँसम्म संविधान कार्यान्वयन र संशोधनको विषयलाई हर्दा संविधान केही हदसम्म कार्यान्वयन भएको छ । तर दलित, महिला, मधेसी, आदिवासी जनजाति, उत्पीडित वर्ग र क्षेत्रको सवालमा कार्यान्वयन हुन सकेको छैन । पहिला संविधानमा व्यवस्था कार्यान्वयन गर्नुपर्छ । कार्यान्वयन नगर्दै संविधान गर्नु कति उचित हुन्छ । हो, कतिपय संवैधान व्यवस्थाका कारण काम गर्ने सवालमा अफ्ठ्याराहरु आएका होलान । तर उत्पीडित समुदायको संवैधानिक अधिकार पनि कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ । उनीहरुबारे कानुन निर्माणमा सरकारले चासो देखाउनुपर्छ । 

सङ्घीययतालाई अझै बलियो बनाउनका लागि सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई पूर्ण अधिकार दिनुपर्छ । अधिकारजति सबै सङ्घमा राखेर सङ्घीयताको कार्यान्वयन हुन्छजस्तो मलाई लाग्दैन । 

मेरा मतदाता भनेका प्रदेश सांसद हुन् । म उनीहरुप्रति उत्तरदायी प्रदेशका समस्या सभामा राख्दै आएको छ । अहिले संसद्मा प्रादेशिक समय पनि छुट्याइएको छ । त्यो समयमा आफूलाई निर्वाचन गर्ने प्रदेश र पालिकाका सवालमा मात्रै कुरा राख्न सकिन्छ । मैले प्रादेशिक र शून्य र विशेष समयमा पनि मेरा मतदाताका सवाल र समस्या उठाउने गरेको छ । तर त्यहाँ पनि कार्यान्वयन कै समस्या छ । संसद्मा जति कराउ पनि सरकारले सुन्ने होइन । तर पनि बोल्न छोको छैन । युवा पलायन रोक्नका लागि सरकारसँग स्पष्ट योजना हुनुपर्छ । बिना योजना हुँदैन । जस्तो वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका युवालाई ररोक्नका लागि स्वदेशमा रोजगारी दिन सक्नुपर्छ । रोजगारीको निम्ति देशमा कलकारलखाना सञ्चालन गर्नुपर्छ । त्यसको लागि सरकारले लगानी गर्नुपर्छ । नभए विदेशी लगानीलाई सहज बनाउनुपर्छ ।