महाधिवेशनमार्फत सिङ्गो पार्टी नेतृत्व निर्माणमा एक भएर जानेछ: महासचिव पोखरेल
काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माणमा सिङ्गो पार्टी एक भएर जाने बताउनुभएको छ अखिल नेपाल महिला सङ्घले महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा उहाँले पार्टी र नेतृत्वप्रति प्रहार भएको अवस्थामा एकताबद्ध भएर जानुको विकल्प नभएको बताउनुभयो ।
“हाम्रो पार्टीले प्रतिस्पर्धामा निषेध गर्दैन । म प्रतिस्पर्धा गर्छु भन्नेका लागि पार्टीले सधैँ ढोका खुला राखेको छ”, महासचिव पोखरेलले भन्नुभयो, “हामी एकतामा जोड दिन्छौँ । प्रतिस्पर्धा गर्न आउनेलाई ढोका खुला राख्छौँ ।”उहाँले पार्टीको नीति निर्माणका सन्दर्भमा पहिले नै सम्पन्न गरिसकेकाले नेतृत्व निर्माणको महाधिवेशनका रूपमा लैजाने बताउँदै घरघरमा पुगेर हिंसाविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
अनेम सङ्घका अध्यक्ष टुका हमालले महिला हिंसाविरुद्धको १६ दिने अभियान मात्र नभएर अरू बेला पनि आफूहरूले महिलो हिंसाविरुद्ध काम गरिरहेको बताउनुभयो । उहाँले हाल धेरै महिला प्रविधिको प्रयोगबाट हिंसामा परेको भन्दै त्यसको सही प्रयोग गर्नुपर्ने बताउनुभयो ।
