ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो – उपप्रमुख डङ्गोल
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापू दिवसलाई यस समुदायको पहिचान र अस्तित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको छ ।
बाइसौँ ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले ज्यापू समाजको पहिचान र अस्तित्वको संरक्षण एवं प्रवर्द्धन सरकारको दायित्व भएको स्मरण गराउनुभयो । यस दिवसले ज्यापूहरुको मेहनत, माटो र सांस्कृतिक पहिचान दर्शाइरहेको उहाँको भनाइ छ ।
“यःमरि केवल परिकार होइन, हाम्रो समृद्धि, उब्जनी र परिवारको एकताको प्रतीक हो”, समारोहमा शुभकामना व्यक्त गर्दै उपप्रमुख डङ्गोलले भन्नुभयो, “ज्यापू दिवस र यस पर्व परम्परा मात्र होइन हाम्रो पहिचान हो । विभिन्न जात्रा र पर्वहरुलाई परम्परा मात्र होइन अस्तित्वका रुपमा लिनुपर्छ ।” उहाँले नयाँ धान घरभित्र भित्र्याई बनाइने परिकार यःमरिको सांस्कृतिक र सामाजिक पक्षबारे चर्चा गर्नुभयो । यःमरि पुन्हि र ज्यापू दिवस माटोसँगको प्रतिज्ञा र भूमिप्रति सम्मान प्रकट गर्ने अवसर भएको उपप्रमुख डङ्गोलले बताउनुभयो । यस चाडका सांस्कृतिक महत्वसँगै दार्शनिक मूल्यलाई उजागर गर्नुपर्नेमा उहाँको जोड थियो ।
कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहले नेपालमा विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने धेरै सांस्कृतिक सम्पदाहरू रहेको उल्लेख गर्दै तिनको संरक्षणमा मौलिक सङ्गीत, चाडपर्व र परम्परागत पूजा विधिले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले २०६७ सालमा अभौतिक सम्पदाको संरक्षणका लागि राष्ट्रिय सांस्कृतिक नीति ल्याइएको स्मरण गर्दै काठमाडौँ महानगरभित्रका ६३ गुठीका लागि आर्थिक वर्ष २०५७÷५८ मा प्रदान गरिएको अनुदानबाट कोष स्थापना भएको जानकारी दिनुभयो ।
वसन्तपुर दरबार स्क्वायरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो । यस दिवसका अवसरमा ¥याली कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
