`

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल

Nepal One HD १८ मंसिर २०८२ १९:४९
नेकपा एमाले

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौती भएकाले त्यसलाई सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

“अहिलेका चुनौतीलाई सामना गरेर अनुकूल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउने चाहने हामीहरु फेरि प्रतिस्पर्धा गरौला,” उहाँले भन्नुभयो, “तर अहिलेको समय चुनौतीलाई सामना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ ।”

महासचिव पोखरेलले पार्टीमा रहर गर्ने साथीहरुलाई प्रतिस्पर्धा खुला रहेको समेत बताउनुभयो । उहाँले पार्टीको तल्लो कार्यकर्ता तहभन्दा माथिल्लो तहमा समस्या रहेको बताउनुभयो । “सङ्कट आउँदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ । तर जति तल तह आयो त्यो सङ्कट समाधान हुन्छ,” उहाँले भन्नुभयो । उहाँले कार्यकर्ताले पार्टीको रक्षा गर्ने बताउनुभयो ।

महासचिव पोखरेलले पार्टीले बनाएका नीति अहिलेका चुनौती समाना गर्न प्रभावकारी स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो । उपत्यकाका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अहिले नेतृत्वलाई बलियो बनाएर जाने बताउनुभयो । कमिटीका अध्यक्ष प्रेम पराजुली महाधिवेशन सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *