बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरण
गलकोट (बागलुङ) – बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी एक मतदानस्थल थप गरिएको छ भने दुई मतदानस्थल स्थानान्तरण गरिएका छन् ।
सहज र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न एउटा मतदानस्थल थपिएको छ भने दुईवटा मतदानस्थल सारिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिनुभयो । मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछाडिएका बस्तीमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थपिएको तथा मतदानस्थल सारिएको उहाँको भनाइ थियो ।
थपिएको मतदानस्थलमा गलकोट नगरपालिका–११ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई मतदानस्थलका रुपमा थप गर्न सिफारिस गरिएको छ । रिघामा हाल रहेका दुई हजार ८०० मतदातामध्ये एक हजार १९० मतदातालाई मनेवा आविमा ल्याएर मतदानस्थलका रुपमा कायम गरिएको प्रमुख रिजालले बताउनुभयो ।
यस्तै बागलुङ नगरपालिकाको एक मतदान स्थल र बडिगाड गाउँपालिकाको एक मतदानस्थललाई पूर्वाधारको अभाव तथा भौगोलिक चुनौतीका कारण स्थानान्तरण गरिएको छ । बागलुङ नगरपालिका–८ सिगानाको मतदानस्थल र बडिगाड गाउँपालिका–१० को मतदानस्थललाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ ।
बागलुङ नगरपालिका–८ सिगाना वडा कार्यालयको मतदान केन्द्रलाई सिगाना स्वास्थ्यचौकीमा सारिएको छ । वडा कार्यालयमा मतदानस्थल साँघुरो भएकाले सारिएको हो । यस्तै बडिगाड गाउँपालिका–१० साबिकको वडा कार्यालयमा भएको मतदानस्थल रनामस्थित नयाँ वडा कार्यालयमा सारिएको प्रमुख रिजालले बताउनुभयो ।
यसअघिको निर्वाचनमा जिल्लामाम १०६ मतदातस्थल रहेका थिए । गत निर्वाचनमा २३१ मतदान केन्द्र थिए । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो । बागलुङ जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ मतदाता रहेकामा अहिले पाँच हजार ९९३ मतदाता थपिएका छन् ।
