`

जापानको बेरोजगार दर २.५ प्रतिशत

जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले घटेर २.५ प्रतिशतमा झरेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२५ को मार्चसम्ममा रोजगारीमा जोडिने व्यक्तिको सङ्ख्या तीन लाख ७० हजारले बढेर छ करोड ७९ लाख ३० हजार पुगेको छ ।

रोजगारीको गिरावट सन् १९५३ देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थाले यताकै उच्च हो भने बेरोजगारको सङ्ख्या ३० हजारले घटेर १७ लाख ५० हजारमा झरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार कामदारको अभाव कायमै रहेकाले वेरोजगार व्यक्तिले कामबाट निकालिएपछि तत्कमालै नयाँ दरबन्दी पाउन सम्भव भएको छ ।

मन्त्रालयका अनुसार मार्चमा मात्रै बेरोजगारी दर अघिल्लो महिनाको २.४ प्रतिशतबाट बढेर २.५ प्रतिशत पुगेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको छुट्टाछुट्टै तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४ मा जापानको औसत रोजगारी उपलब्धता अनुपात एक वर्ष अघिको तुलनामा ०.०४ बिन्दुले घटेर १.२५ मा झरेको छ, जसको अर्थ प्रत्येक १०० रोजगारी खोज्नेहरूका लागि १२५ रोजगारीका अवसर उपलब्ध थिए ।

मार्चमा रोजगार र आवेदकको अनुपात फेब्रुअरीको तुलनामा ०.०२ अङ्कले बढेर १.२६ पुगेको श्रम मन्त्रालयले जनाएको छ ।

‘नाकाबन्दी’का कारण गाजामा सहायता कार्य धराशायी हुने अवस्थामाः संयुक्त राष्ट्रसङ्घ

इजरायलले गाजामा मानावीय सहायतामा पूर्ण नाकाबन्दी लगाएको दुई महिना पुगेको छ । मानवीय सहायताकर्मीहरूले शुक्रबार गाजाको भोकमरी, द्वन्द्वबाट प्रभावित बालबालिका र पानीका लागि मानिसहरूले सङ्घर्ष गर्नुपरेको भयावह दृश्यको वर्णन गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ र रेडक्रसले युद्धग्रस्त प्यालेिस्टनी क्षेत्रको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कारबाहीको माग गरेका छन् ।

“गाजामा मानवीय प्रतिक्रिया पूर्ण रूपमा प्रभावित भएको छ,“ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले एक विज्ञप्तिमार्फत् चेतावनी दिएको छ।

“तत्काल कदम नचालेमा गाजा थप अराजकतामा फस्नेछ र त्यसपछिका मानवीय प्रयासले त्यसलाई सम्बोधन गर्न निकै कठिन हुनेछ ।

इजरायलले गाजा पट्टीमा रहेका २४ लाख प्यालेस्टिनीहरूका लागि आवश्यक अन्तर्राष्ट्रिय सहायताको सबै प्रवाहलाई कडाईका साथ नियन्त्रण गर्दछ।

१५ महिनाको युद्धपछि भएको युद्धविरामका कारण शत्रुतामा उल्लेखनीय कमी आएको भएपनि युद्धविराम रहेकै समय अर्थात् मार्च २ देखि गाजामा सहायता वितरणमा इजरायली अवरोधका कारण अवरोध आएको थियो ।

नाकाबन्दी सुरु भएदेखि नै संयुक्त राष्ट्रसङ्घले बारम्बार जमिनमा मानवीय विपत्तिको चेतावनी दिँदै आएको छ र फेरि भोकमरीको सङ्घारमा पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले एक साताअघि आफ्नो ‘अन्तिम बाँकी रहेको खाद्यान्न’ गाजावासीका लागि वितरण गरेको बताएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसीएचएकी प्रवक्ता ओल्गा चेरेभकोले शुक्रबार जेनेभामा गाजा शहरबाट भिडियो लिंकमार्फत पत्रकारहरूसँग भन्नुभयो, “अहिले मुख्यतया खाद्यान्नको मौज्दात समाप्त भएको छ।”

“सामुदायिक भान्सा घरहरू बन्द हुन थालेका छन् र धेरै मानिसहरू भाकभोकै बसिरहेका छन्,” उहाँले भोजनको कमीका कारण कुपोषणबाट मृत्यु भएका बालबालिका र अन्य अति जोखिममा रहेका व्यक्तिहरूको रिपोर्टलाई सङ्केत गर्दै भन्नुभयो ।

उहाँले भन्नुभयो, “खाद्यान्नलगायतका सामानमाथिको प्रतिबन्ध निकै घातक देखिएको छ ।”

पानीको पहुँचमा पनि ‘अभाव हुँदै गएको’ उहाँले चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाजा भग्नावशेषले भरिएको छ ।सडकहरू भग्नावशेषले पुरिएका छन् ।”

नीति तथा कार्यक्रम परम्परागतभन्दा एक चरण अगाडि बढ्नुपथ्र्यो त्यसमा केही कमी भएको छ – डा महत

काठमाडौँ, १९ वैशाखः नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम परम्परागतभन्दा एक चरण अगाडि बढ्नुपथ्र्यो त्यसमा केही कमी भएको छ तर समग्रमा राम्रो छ ।”

प्रवक्ता महतले भन्नुभयो, “मूलभूत रूपमा नीति तथा कार्यक्रम कार्यान्वयनमा निर्भर हुन्छ । बजेटले के कस्ता मार्ग निर्देश गर्छ, त्यसमा भर पर्छ । विगतमा गरिने छ भनेर घोषणा गरेका कार्यक्रम पूरा गर्न नसकेको पक्षलाई बुझ्न जरुरी छ । त्यसका लागि कार्यक्रममा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।”

कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्रै सहयोग गर्ने विषयलाई बजेटले प्रभावकारी रूपमा जोड दिएर आउनुपर्ने बताउँदे उहाँले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय गाभ्ने, शिक्षकको सुविधा बढाउनेलगायत विषय सरकारले गरेकाले अरु क्षेत्रको रकम घटाउने र शिक्षाको गुणस्तर कसरी बढाउने भन्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रवक्ता डा महतले अर्थतन्त्रलाई चलायमान बनाउन प्राथमिकीकरण, सडक, सिँचाइ, खानेपानीलगायत उत्पादनशील क्षेत्रको पहिचान गरी परिणाम आउने क्षेत्रमा ठोस विषय आउन जरुरी रहेको बताउनुभयो । नेपाल वायुसेवा निगमको पुनर्संरचनाका बहुमत शेयर निजी क्षेत्रलाई दिएर संस्थालाई गतिशील बनाउने गरी आगामी योजना बनाउने दिशातिर सरकार अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा स्वर्णीम वाग्लेले नीति तथा कार्यक्रमलाई सरसरती सुन्दा कुनै नौलोपन नभएकाले विगतको निरन्तरता रूपमा मात्र रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा असफल भएका भूमि बैंकलगायत कार्यक्रमलाई जोडिएको छ । नयाँ कार्यक्रम कुनै छैन । कार्यक्रममा कुनै कल्पनाशिलता देखिन्न, छोटो रूपमा कार्यक्रम ल्याइएको पाटोलाई भने सकारात्मक रूपमा लिन सकिन्छ ।”

जनअपेक्षानुसार काम गर्न सबैले हातेमालो गरौँ : मन्त्री शाही

काठमाडौँ, १९ वैशाख : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकार एक्लैले मात्र जनअपेक्षाअनुसार काम गर्न नसक्ने भन्दै सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।

छायाँ नेपालको १०औँ वार्षिकोत्सवमा अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ, खानेपानी, विपद् व्यवस्थापनलगायत क्षेत्रमा गैरसरकारी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “मुलुक समृद्धिका लागि हामीसँग अपार सम्भावना छन्, त्यसलाई साकार बनाउन सरकारसँगै हातेमालो गर्न सबैलाई आग्रह गर्दछौँ । यसमा युवा वर्गको सक्रियता र भूमिका झन महत्त्वपूर्ण छ ।”

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले राज्यले अपेक्षानुसार गर्न र पुग्न नसकेका स्थान र क्षेत्रमा छायाँ नेपालले शिक्षा र स्वास्थ्यमा गरेका कामको प्रसंशा गर्नुभयो । छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा र कार्यकारी सहायक प्रियंका ठाकुरले संस्थाको स्थापना, उद्देश्य, उपलब्धि र भावी योजनाका बारेमा अवगत गराउनुभएको थियो ।

त्यसैगरी सिजिइडीका अध्यक्ष डा माधव कार्की, छायाँ नेपालका अध्यक्ष सृष्टि सिलवाललगायतले गैरसरकारी निकायले गर्नुपर्ने कामका बारेमा सरकारले सहजीकरण गरेमा जनअपेक्षाअनुसार काम गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो ।

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

काठमाडौँ, १९ वैशाखः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण र रुपान्तरणकारी योजना तथा कार्यक्रमसमेत परेका छन् । केही महत्त्वपूर्ण विषयलाई राससले बुँदागत रूपमा केलाएको छ ।
– उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन ।
– कर प्रणालीमा संरचनात्मक रुपान्तरण ।
– वैकल्पिक वित्त कोष स्थापना ।
– वस्तु विनिमयसम्बन्धी कानुन निर्माण ।
– नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना ।
– दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू ।
– बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना ।
– डिजिटल बैंकसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था ।
– बिमा सूचना केन्द्र कार्यान्वयन ।
– कृषि क्षेत्रमा उद्यम गर्न चाहनेलाई ‘पाइलट प्रोजेक्ट’ ।
– मध्यपहाडी, हुलाकी र बिपी राजमार्गलाई जोडेर हरित व्यवसायमा आधारित आर्थिकमार्ग निर्माण ।
– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना ।
– कृषि बिमाको दायरा विस्तार, किसानका लागि राष्ट्रिय परिचयपत्र ।
– बाली लगाउनुअघि नै समर्थन मूल्य तोकिने, बाली लगाएपछि अग्रिम खरिद सम्झौता गरिने ।
– भूमिसम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिने ।
– सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गर्ने ।
– समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न तत्काल कोष स्थापना ।
– सहकारी ऋण सूचना, बचत सुरक्षण तथा ऋण असुली न्यायाधीकरण स्थापना ।
– चुरे संरक्षण गुरुयोजना पुनरावलोकन । 
– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण परियोजना पुनर्संरचना ।
– वायु गुणस्तर कार्ययोजना लागू ।
– पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा युरो–छ मापदण्ड ।
– जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा ।
– राष्ट्रिय तथा अन्तरराष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चितता ।
– स्टार्टअपसँग जोडेर सबै प्रदेशमा व्यवसाय संवर्द्धन केन्द्र स्थापना ।
– धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्रहरूलाई सार्वजनिक–निजी साझेदारीमा अघि बढाइने ।
– नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजना लागू ।
– लजिस्टिक गुरुयोजना निर्माण र कार्यान्वयन ।
– ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन ।
– पेट्रोलमा बायो इथानोल मिसाउने नीति कार्यान्वयन ।
– प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको गन्तव्यका रूपमा नेपाल ।
– नेपाललाई आरोग्य र ध्यान पर्यटनको स्थलका रुपमा प्रवर्द्धन ।
– विश्व सम्पदा सूचीमा थप स्थानहरू समावेश गरिने ।
– नेपाल वायुसेवा निगमको पुर्नसंरचना ।
– नेपाल हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकहरू संसद्को चालु अधिवेशनबाट पारित ।
– योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य ।
– आगामी दशकलाई आन्तरिक रोजगारी दशक ।
– विद्यालय शिक्षाको शासकीय सुधारका लागि दीर्घकालीन मार्गचित्र बनाउने ।
– विद्यालय शिक्षासम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने ।
– विसं २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गर्ने ।
– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन ।
– प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म पु¥याइने ।
– स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा ‘इन्टर्नसीप’ ।
– बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’ नीति लागू गरिने ।
– विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालय स्थापना ।
– शिक्षक बैंक स्थापना, दरबन्दी पुनरावलोकन, राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने ।
– स्पोट्र्स स्कुल कार्यक्रम सञ्चालन
– अन्तरराष्ट्रिय पदकप्राप्त खेलाडी र उनीहरूका सन्ततिका लागि अध्ययन छात्रवृत्ति ।
– राष्ट्रपति महिला उत्थान कार्यक्रम पुनर्संरचना ।
– बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोड्ने ।
– निरोगी नेपाल अभियान सञ्चालन, सबै प्रदेशमा सघन जलन उपचार र मुटु सेवा विस्तार ।
– फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा ।
– क्यान्सर तथा मिर्गौला प्रत्यारोपण सेवा प्रदेशस्तरमा विस्तार ।
– काठमाडौँमा राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना ।
– जनरण नर्सिङ कार्यक्रम सञ्चालन ।
– बिमा बोर्डको पुनर्संरचना ।
– सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध ।
– औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी एकीकृत ऐन तर्जुमा ।
– विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालन ।
– नयाँ जनसङ्ख्या नीति तर्जुमा ।
– भृकुटीमण्डपलाई अन्तरराष्ट्रियस्तरको सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रका रूपमा विकास
– ‘एक स्थानीय तहः एक स्मार्ट हुलाक’ अवधारणा कार्यान्वयन     
– नेपालको आफ्नै भूउपग्रह सञ्चालन र सुरक्षित साइबर स्पेस निर्माण ।
– राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय आगामी आवबाट सञ्चालन ।
– नागरिक सेवा केन्द्र स्थापना ।
– स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सङ्घीयता अध्ययन प्रतिष्ठानमा रुपान्तरण ।
– निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित ।
– परराष्ट्र मामिलामा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ नीति ।
– प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’का रुपमा विकास
– विसं २०८३ भित्र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सबै अन्तरराष्ट्रिय मापदण्ड पालना ।
– राष्ट्रिय लेखा अनुमानको आधारवर्ष परिवर्तनलगायत रहेका छन् ।

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा

काठमाडौँ, १९ वैशाख : सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८१ लाई संसद्को यसै अधिवेशनबाट पारित गर्ने सङ्कल्प गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा विद्यालय शिक्षाको कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गर्ने उल्लेख रहेको छ । सरकार र नेपाल शिक्षक महासङ्घबीच यही वैशाख १७ गते भएको थियो भने संसद्का तीन ठूला दलका प्रमुख सचेतकले आगामी असार १५ गतेभित्र सो विधेयक पारित गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो । सो विधेयक हाल प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा विचाराधीन रहेको छ ।

नीति तथा कार्यक्रममा शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाइने, विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनर्संरचना गरिने, विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिने र संवत् २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिने जनाइएको छ ।

यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुदृढ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान–प्रविधिमैत्री र अनुसन्धान–अन्वेषण लक्षित बनाइने, विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीहरूको ग्रेडिङका आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने, प्राविधिक शिक्षाको धारलाई विश्वविद्यालय तहसम्म पुर्याइने भनिएको छ ।

संस्थागत–सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागू गरी संस्थागत विद्यालयहरूको समेत सहभागितामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याइने छ नीति कार्यक्रममा रहेको छ ।

“संस्थागत एवं सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता ल्याइने छ । सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणाली, विद्यार्थी परामर्श प्रबन्ध, अन्तरक्रियात्मक इ–लर्निङ सामग्रीको डिजिटल प्लेटफर्म व्यवस्था तथा शिक्षक मेन्टरिङमा आधारित आकर्षक शिक्षणकलामा सघन तालिमको व्यवस्था गरिने छ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा ‘इन्टर्न’ लाई प्रयोग गरिने छ । स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गरिने छ । बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’को नीति लागू गरिने कार्यक्रम रहेको छ ।

यस्तै विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरू खोलिने छ । निजी विद्यालयका लागि राष्ट्रिय नियमन मापदण्ड जारी गर्ने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने, विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्ने, शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने तथा शिक्षक किताबखानाका काम प्रणालीगत रूपमा क्रमशः प्रदेश सरकारलाई हस्तान्तरण गरिने छ ।

उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने छ । विश्वविद्यालयहरूको शासकीय प्रणालीमा सुधार गरिने छ । शैक्षिक गुणस्तरको राष्ट्रिय मानक तयार गरी स्थानीय, प्रदेश र राष्ट्रियस्तरमा सिकाइ उपलब्धि परीक्षण गरिने छभने विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गरी यसलाई विद्यार्थी सङ्ख्या, गुणस्तर र संस्थाको दिगोपनाका आधारमा वितरण गरिने छ । सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षकहरूको वृत्तिविकास र पद वर्गीकरणका आधार तयार गरी विश्वविद्यालयका अन्य शिक्षकसरह अनुकूल हुने व्यवस्था मिलाइने जनाइएको छ ।

नीति तथा कार्यक्रममा वैज्ञानिक अनुसन्धान र प्रविधिको विकासका लागि सार्वजनिक, निजी र शैक्षिक क्षेत्रबीच सहकार्यको वातावरण बनाइने छ । सार्वजनिक क्षेत्रका सबै थिङ्कट्याङ्क संस्था र अनुसन्धान केन्द्रहरूलाई समन्वयात्मक ढङ्गले अघि बढाई नीति निर्माणमा पृष्ठपोषण गराइने छ । साइवर सेक्युरिटी, डेटा सुरक्षा, एप डेभलपमेन्ट तथा सुदृढीकरण र त्यससँग जोडिएका प्रणालीलाई समन्वयात्मक तवरबाट अघि बढाइने उल्लेख छ ।

यस्तै बौद्धिक सम्पत्ति, नवप्रवर्तन र अनुसन्धानलाई परम्परागत ज्ञान, सीप र समुदायसँग जोडिने छ । सङ्घ, प्रदेश, स्थानीय तह र निजी–शैक्षिक संस्थाको समन्वयमा वैज्ञानिक जनशक्ति उत्पादन र अनुसन्धान संस्थागत गरिने भनिएको छ ।

सरकारले वायुसेवा निगमलाई पुनर्संरचना गर्ने

काठमाडौँ, १९ वैशाखः सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई पुनर्संरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने घोषणा गर्नुभएको हो ।

नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्को चालु अधिवेशनबाट पारित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पौडेलले नागरिक उड्डयन नियमनलाई प्रभावकारी बनाउँदै हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाइने उल्लेख गर्नुभयो । उहाँले हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाइनुका साथै आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण एवं विस्तार गरिने बताउनुभयो ।

नेपाललाई प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गरिने उद्देश्य लिएको सरकारले योग ध्यानमार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षकस्थलका रूपमा प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारका रूपमा विकास गरिने जनाइएको छ ।

पर्यावरणमैत्री पर्यटनमा जोड

सरकारले दिगो, आय तथा रोजगारीमूलक, प्रविधि र वातावरणमैत्री पर्यटन नीति अवलम्बन गरेको छ । सार्वजनिक–निजी सहकार्यमा पर्यटनको प्रत्यक्ष लाभ स्थानीय समुदायमा पु¥याइने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई प्रोत्साहित गराइने राष्ट्रपति पैडेलले जानकारी दिनुभयो ।

ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका थप क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल गरिनुका साथै सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र उचित व्यवस्थापन गरिने जनाइएको छ ।

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिने

काठमाडौँ, १९ वैशाख : सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आइटीमा–आधारित भू–सूचना प्रणाली स्तरोन्नति गरी सेवा प्रवाहमा सुधार गरिने उल्लेख गर्नुभयो । “भूमिको नाप जाँच र तथ्याङ्क व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिनेछ । भूमिको उचित प्रयोग गर्न भू–उपयोग योजना कार्यान्वयन गरिनेछ, भूमिसम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

सरकारले सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने जनाएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान गर्नुका साथै समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने भनिएको छ । 

सरकारले तथा ऋण असुली न्यायधिकरण स्थापना गर्नुका साथै सहकारी तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति पनि गर्ने भएको छ । “गरिबी निवारण प्रत्यक्ष लक्षित कार्यक्रमहरू समन्वयात्मक र प्रभावकारी रूपमा सञ्चालन गरिनेछ, विपन्न पहिचान भएका परिवारलाई राज्यका सुविधामा पहुँच वृद्धि गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ । 

दिगो वन व्यवस्थापनमा आधारित वन संवर्द्धन गर्दै वन स्रोतको उचित उपयोग गर्ने, वन पैदावार उत्पादन वृद्धि गरी आन्तरिक आपूर्ति, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा जोड दिने र सामुदायिक वन व्यवस्थापन सुदृढ गर्दै वनमा आधारित स्रोतको उचित उपयोग गर्ने सरकारको योजना छ । राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कायक्रममा भनिएको छ , “सङ्घ–प्रदेश समन्वय सुदृढ गर्दै राष्ट्रिय वनलाई व्यावसायिक कबुलियती वनमा रूपान्तरण गर्ने प्रक्रियालाई सरल र सहज बनाइने छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन क्षेत्रको वातावरणीय सुरक्षा सुनिश्चित गर्दै राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन गरिनेछ ।”

सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्नुका साथै राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनाको पुनःसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाका रूपमा अघि बढाउने भएको छ । एकीकृत जलाधार व्यवस्थापनमार्फत पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनस्र्थापनामा ध्यान दिने सरकारको योजना छ । 

 मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बिमा प्रणालीसँग एकीकृत गर्दै संरक्षण क्षेत्रमा मानव–प्रकृति सहअस्तित्व कायम गर्ने सरकारको नीति छ । सरकारले वातावरणीय अध्ययन तथा मूल्याङ्कन प्रक्रिया सरल बनाउनुका साथै  वायु गुणस्तर कार्य योजना लागू गर्ने र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो–६ मापदण्ड लागू गर्ने सरकारको योजना छ । 

निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने

काठमाडौँ, १९ वैशाखः सरकारले विद्युत् प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको छ । आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा अन्तरदेशीय प्रसारणलाइन निजी क्षेत्रलाई निर्माण गर्न दिनसकिने उल्लेख गरिएको छ ।

“निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका प्रसारणलाइनहरूको विस्तार गरिनेछ । विद्युत् प्रसारण संरचना निर्माण गर्न ‘ट्रान्समिसन’ एवं ‘ह्विलिङ’ चार्ज निर्धारणसहित अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाइनेछ”, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिने जनाइएको छ । ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गर्ने, नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्नेलगायत विषयहरू सरकारको नीति तथा कार्यक्रममा परेका छन् ।

सुख्खायाममा समेत विद्युत् आपूर्तिको मागलाई सम्बोधन गर्न र ऊर्जा सुरक्षा कायम गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि उपयुक्त वित्तीय ढाँचा अपनाइने जनाइएको छ । “तीन तहका सरकारहरूको सहकार्यमा राष्ट्रिय ‘ग्रिड’ नपुगेका स्थानमा ‘अफग्रिड’ सौर्य तथा वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् आपूर्ति विस्तार गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जलविद्युत् निर्माणका लागि स्वःपुँजी परिचालन गराइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्ता आयोजनामा वैदेशिक रोजगारीमा गएका नागरिकको विप्रेषण रकमसमेत परिचालन गर्न प्रयास गरिने उल्लेख छ ।

‘विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण कार्य योजना, २०८०’ अनुसार घरायसी, कृषि, औद्योगिक, व्यावसायिक, पर्यटकीय र यातायात क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग प्रवर्द्धन गर्ने नीति सरकारको छ ।

नेपाल–भारत आदिवासी, जनजातिमैत्री सङ्घद्वारा पहलगाम हमलाको निन्दा

काठमाडौँ, १९ वैशाख : नेपाल–भारत आदिवासी, जनजातिमैत्री सङ्घले भारतको काश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलाको निन्दा गरेको छ ।

सङ्घका अध्यक्ष विनोदकुमार गुरूङले आज विज्ञप्तिमार्फत काश्मिरको पहलगाम क्षेत्रमा हालै भएको आतङ्कवादी हमलाको घटनामा संलग्न आतङ्कवादी कृत्यको भत्सर्ना गर्नुभएको छ । उक्त घटनामा नेपाली नागरिक सुदीप न्यौपानेसहित निर्दोष २६ भारतीय नागरिकहरूको मृत्यु भएको थियो ।

दक्षिण एसियामा शान्ति, स्थायित्व र क्षेत्रीय मैत्रीमाथि आतङ्कवादले गम्भीर खतरा पैदा गरिरहेको उल्लेख गर्दै सङ्घले उक्त घटनाको निष्पक्ष छानबिन गरी अन्तरराष्ट्रिय समुदायसँगको समन्वयमा दोषी समूहलाई कानुनी कठघरामा ल्याउनुपर्ने माग गरेको छ ।

यो जघन्य अपराधका दोषीहरूले कठोरभन्दा कठोर सजाय पाउनुपर्ने उल्लेख गर्दै सङ्घले आफूहरू शान्ति, सहिष्णुता र आपसी सम्मानमा आधारित दक्षिण एसियाको पक्षमा रहेको जनाएको छ । त्यस्तै क्षेत्रीय स्थायित्वका लागि सकारात्मक सन्देश दिन पाकिस्तान सरकारको भूमिका महत्त्वपूर्ण हुने सङ्घको विश्वास छ ।

सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने

काठमाडौँ, १९ वैशाखः सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने भएको छ ।आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा पनि प्रदेशस्तरमा विस्तार गरिने बताउनुभयो ।

उहाँकाअनुसार दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिनेछ । यसैगरी पाठेघर क्यान्सरको एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकालागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइनेछ । मष्तिष्क, मेरूदण्ड, मानसिक र स्नायु रोग उपचारकालागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आधारभूत तथा अत्यावश्यक औषधिको उत्पादन प्रवर्द्धन गरिनुका साथै औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी एकीकृत ऐन तर्जुमा गरिने योजना सरकारको रहेको छ । नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रका जनशक्तिको आपूर्ति सुनिश्चित गर्न ‘जनरल नर्सिङ कार्यक्रम’ सञ्चालन गरिने योजना ल्याएको छ । उत्पीडित तथा सिमान्तकृत समुदायलाई चिकित्सा शिक्षामा आरक्षणको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

‘निरोगी नेपाल अभियान’ अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाइ चिकित्सा प्रणालीको सबै पक्षको विकास गरिने भनिएको छ । आयुर्वेद सेवाको सुदृढीकरण र वैकल्पिक चिकित्सा विधि प्रवर्द्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रूपमा योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

स्वास्थ्य बिमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गर्ने र छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोषलगायत स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाहरूको सेवा प्रभावकारी बनाइने उल्लेख छ ।

‘सूचना प्रविधिका लागि पर्याप्त पूर्वाधार अभाव’ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १९ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिका लागि पर्याप्त पूर्वाधार अभावका कारण सो व्यवसाय फस्टाउन नसकेको बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०८२ (नेशनल आइसिटी डे)’ कार्यक्रममा उहाँले सूचना प्रविधि मुलुकको सुशासन प्रवर्द्धन, समृद्धि र विकासको मूल आधार भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो ।

सूचना प्रविधिलाई चुस्त बनाउन मन्त्रालयले समय सापेक्ष कानुन, पूर्वाधार निर्माण र दक्षजनशक्ति वृद्धिमा जोड दिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जसरी खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान आवश्यक पर्छ त्यसैगरी आइटी विकास गर्न पूर्वाधार अनिवार्य निर्माण गर्नुपर्छ । उहाँले भन्नुभयो, “कम्तीमा आइटी पार्क नभइ नहुने देखिन्छ । हामी बनाउने योजनामा छौँ ।”

मन्त्री गुरुङले विगतका कानुन हटाएर नयाँ नीति तथा कानुन तर्जुमा गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई स्थानीय तह, प्रदेश र सङ्घीय सरकारी कार्यालयमा पूर्णरुपमा लागू गर्ने, दूरसञ्चारलाई समयानुकूल बनाउन ऐन ल्याउने, फोरजी सेवा देशभर पु¥याउने र फाइभजी नेटर्वकलाई सुरुवात गर्ने, डाटा सेन्टर व्यवस्थित गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीति ल्याउने, जिआइडिसीको सबलीकरण र आधुनिकीरण गरी थप डेटा सेन्टर स्थापना गर्नेलगायत गतिविधिमा मन्त्रालयले काम गर्दै आएको जानकारी दिनुभयो ।

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय आइसिटी क्षेत्रको प्रयोग बढ्दै जानु सकारात्मक भए पनि डिजिटल साक्षरता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आइटी क्षेत्रबाट राज्यको अर्थतन्त्रमा टेवा पुग्ने वातावरण सिर्जना गर्न सुझाव दिनुभयो ।

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनले डिजिटल फ्रेमवर्क बनाउने नेपाल सरकारको उद्देश्यलाई सफल पार्न मन्त्रालयले डिजिटल सेवा प्रभावमा जोड दिएको बताउनुभयो । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले सूचना प्रविधिको सदुपयोग गरेर महानगरपालिकालाई सभ्य, सुशासन र व्यवस्थित गर्न सकिएको उदाहरण दिनुभयो ।

‘नेशनल आइसिटी अवार्ड’ प्रदान

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को अवसरमा नेश्नल आइसिटी अवार्डबाट विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । प्रा डा शशीधर राम जोशी ‘नेशनल आइसिटी एक्सीलेन्स अवार्ड’ले पुरस्कृत हुनुभयो । जल तथा मौसम विज्ञान विभागलाई ‘नेश्नल आइसिटी अवार्ड’ (पब्लिक सेक्टर) विधाबाट पुरस्कृत गरिएको छ ।

नेश्नल आइसिटी अवार्ड (पब्लिक सेक्टर) प्रदेशगत र स्थानीय विधातर्फ ललितपुर महानगरपालिकालाई पुरस्कृत गरियो । डिजिटल बैंकिङमा योगदान पु¥याएबापत बन्दना शर्मा नेश्नल आइसिटी एक्सीलेन्स अवार्ड (महिला) विधामा पुरस्कृत हुनुभयो ।

त्यसैगरी इकागजपत्रलाई नेशनल आइसिटी इनोभेसन अवार्ड, टाकुम डिजिटल प्राइभेट लिमिटेड ललितपुर उपमहानगरपालिका–१४ लाई नेशनल आइसिटी स्टार्टअप अवार्ड, नेश्नल आइसिटी अवार्ड (प्राइभेट सेक्टर–प्रोभिजन) विधामा नेपालगञ्ज उपमहानगरपालिका–१० बाँकेको निन्जा इन्फोसेस प्राइभेट लिमिटेडलाई प्रदान गरिएको छ । नेशनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) विधामा माभोरीजन सिस्टम प्राइभेट लिमिटेड काठमाडौँलाई पुरस्कृत गरिएको छ । पुरस्कार राशी जनही रु एक÷एक लाख रहेको छ ।

राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति कार्यक्रममाथि छलफल हुने

काठमाडौँ, १९ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को संयुुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराउनुभयो ।  

उहाँले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिन अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

दाहालले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सदस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपराह्न २ बजेभित्र कार्यव्यवस्था शाखा (राष्ट्रियसभा) मा दिन सक्ने जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २१ गते अपराह्न १२ः१५ मा बस्नेछ ।

एनआरएनए एकता महाधिवेशनको तयारी पूरा, आज दिउँसो २ बजेभित्र दर्ता शुल्क बुझाउन उच्चस्तरीय समितिको आग्रह

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

शनिवारदेखि काठमाडौँमा सुरु हुन लागेको महाधिवेशनका लागि विभिन्न देशबाट सयौँको सङ्ख्यामा प्रतिनिधिहरू (डेलिगेट्स) आइसकेको र अरू बाटोमै रहेको पनि समितिले जनाएको छ । महाधिवेशन हुन नदिन गरिएका विभिन्न अवरोधका बाबजुद ठूलो सङ्ख्यामा प्रतिनिधिहरूको स्वतःस्फूर्त सहभागिताले उच्चस्तरीय समितिको मनोबल बढाएको विज्ञप्तिमा उल्लेख छ ।

समितिले आज शुक्रवार, १९ वैशाख (मे २) दिउँसो २ बजेभित्र सबै डेलिगेटसलाई समितिको बालुवाटारस्थित सचिवालयमा दर्ता शुल्क बुझाएर एकताको महाधिवेशनमा सहभागी हुन अनुरोध गरेको छ ।

“एनआरएनए उच्चस्तरीय समिति कानुनको सर्वोच्चता, विधिको शासन (रुल अफ ल) र सामूहिक बुद्धिमत्तामा विश्वास गर्दछ। विगतका विवादहरूलाई अन्त्य गरी संस्थालाई नयाँ र एकताबद्ध ढङ्गले अगाडी बढाउन सम्मानित सर्वोच्च अदालतको परमादेश, संघको विधानको मर्म र समितिद्वारा पारित कार्यविधिका आधारमा पारदर्शी किसिमले गएको झन्डै ६ महिना देखि हामीले गरिरहेको प्रयास खेर नजाओस् भन्ने तर्फ हामी सचेत छौँ,” समितिकी सदस्य सचिव जानकी गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

समितिको सचिवालयमा बैङ्कका कर्मचारीद्वारा डेलिगेट शुल्क बुझ्ने र निर्वाचन समितिको गैरीधारास्थित कार्यालयमा प्रमाणीकरण गर्ने काम भई रहेको जानकारी गराउँदै समितिले जतिसक्दो छिटो सचिवालयमा गएर आवश्यक कागजात सहित दर्ता शुल्क बुझाउन सम्पूर्ण डेलिगेट्सहरुलाई अनुरोध पनि गरेको छ।

नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

नवलपुर (नवलपरासी), १९ वैशाखः पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् ।

यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताउनुभयो ।

गण्डकी कोटीहोममा देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन सकिन्, गरियो विदाई

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ जारी छ । कोटीहोम महायज्ञको औपचारिक उद्घाटन भने बुधबार गरिएको थियो । १४औं दिनमा चर्चित अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन सकेकी छन् । शुक्रबारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरु प्रशन्न हुनुभो ?’ भनेर प्रश्न गर्दा भक्तजनले् ठूलो स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर हामीलाई अन्य कथा पनि सुनाउनु’ भनेका थिए । संयोजक ढकालका अनुसार बिहीबार देवी प्रतिभाद्वारा प्रस्तुत अन्तिम दिनको श्रीमद्भागवत कथा श्रवण गर्न करिब १० हजार पाँच सय भक्तजन सहभागी थिए । कोटीहोममा हालसम्म एक लाख भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको दावी छ।
भक्तजनको सहभागिता बढ्दै गएको र अर्थ संकलन कार्य पनि बढिरहेको बताइएको छ । बिहीबार पोखरा बिरौटाका दिनेश कार्कीका परिवारजनले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेका छन् ।

कोटीहोमको १४औं दिनमा भारतका डा. विश्वासनन्द, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, अन्नपूर्ण केबलकारका प्रबन्धक दिनेश पौडेललगायतका व्यक्तित्व सहभागी थिए । अन्नपूर्ण केवलकारका प्रवन्धक पौडेलले कोटीहोमका भक्तजनलाई केबलकारसम्म जानका लागि निःशुल्क बस सेवा उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भारतका के के शर्माले पोखरामा आयोजित कोटीहोम संसारमा अहिलेसम्म भएका यज्ञभन्दा विशाल भएको बताए । उनले यो कोटीहोमले विश्वमा नै नेपालको चर्चा भएको बताए । उनले भने, ‘नेपालको कोटीहोम भनेर निकै चर्चा गरिएको छ ।’

कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले यस प्रकारको यज्ञ अहिलेसम्म कहीँ कतै नभएको र भविष्यमा पनि हुन नसक्ने दावी गरे ।कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

सो अवसरमा ११ हजार कलश पुजन भएको छ भने राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती, १९ वैशाखः पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट राक्सिराङ गाउँपालिका–९ का ७० वर्षीय गङ्गाबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

बाटो काट्ने क्रममा स्याङतानलाई आज बिहान ठक्कर दिएको हो । निजको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडे कार्यक्रम प्रभावकारी

काठमाडौँ, १९ वैशाख : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा बिहीबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले उक्त धारणा राख्नुभएको हो ।

कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले शैक्षिक सुधारका लागि ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन व्यवस्थापन तथा दिगोपना’मा कामपाले लगानी बढाएको जानकारी दिनुभयो । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सृजनात्मक सिकाइ, कक्षा ९ र १० मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कामपा शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीले सृजनात्मक सिकाइका लागि २५ विधामा र शिक्षामा सीप कार्यक्रममा १० विषयका पाठ्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ । शैक्षिक नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, विन्टर क्याम्प, प्रविधिको पहुँच वृद्धि, पठन संस्कार, उपचारात्मक कक्षालगायत सहयोगले एसइईमा ७८ प्रतिशत नतिजा आएको धारणा राख्नुभयो ।

प्राप्त उपलब्धिलाई दिगो बनाउने नीतिगत र संस्थागत प्रबन्ध बनाउँदै जानुपर्ने, शिक्षकलाई प्रोत्साहित गर्दै नेतृत्व विकास गराउँदै लैजानुपर्ने, अपनत्व बढाउनुपर्ने, विद्यालय र समुदाय तथा विद्यालय र अभिभावक सम्बन्धलाई शैक्षिक नतिजाको प्रमुख सूचक बनाउनुपर्ने सहभागीको धारणा थियो ।

युनिसेफका प्रतिनिधि जिम्मी ओस्ट्रुम, युरोपियन युनियन प्रतिनिधि अनुक भान नेक, बेलायत सहयोग कार्यक्रम सिवानी मिश्र, कारखाना समूहका प्रतिनिधि सचेत मानन्धरसहितका अधिकारीले स्थानीय सरकार समुदायको सबैभन्दा नजिकको सरकार हुनाले बालबालिकाको वृहत्तर विकासका लागि स्थानीय सरकारले सञ्चालन गर्ने शैक्षिक नवीनतम् कार्यक्रममा साझेदारी गर्न आपसी ज्ञान, सीप उपलब्ध गराउन तयार रहेको उल्लेख गर्नुभयो ।

नवप्रवर्तनमा आधारित कामपाले सञ्चालन गरेका शैक्षिक क्रियाकलापको प्रदर्शनी गरिएको थियो । यसमा कार्यक्रम र उपलब्धिसँग सम्बन्धित चित्र, सङ्केत, ग्राफ, पाइचार्ट, तथ्याङ्क समेटिएका सृजनात्मक सामग्री थिए । यसमा पहुँचयुक्त र समावेशी शैक्षिक कार्यक्रम, विद्यालयको पूर्वाधार परीक्षण, सूचना प्रविधि परीक्षण, रचनात्मक विद्यालय, एकीकृत अध्यापन, सिकाइ र मूल्याङ्कन, विशेष शिक्षालगायत क्षेत्र समेटिएका थिए । कामपाले अबको करिब दुई महिनापछि राष्ट्रिय–अन्तरराष्ट्रिय साझेदार, विज्ञ, सरोकारवाला र बहुक्षेत्रीय पक्षलाई सहभागी गराएर शैक्षिक सम्मेलन आयोजना गर्ने जनाएको छ ।

आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने

काठमाडौँ, १९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन यही वैशाख २० र २१ गते काठमाडौँमा हुने भएको छ ।

महासङ्घका अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले देशभरमा ३५ जातीय घटक सङ्घ, सात प्रदेश महासङ्घ र ७० जिल्ला महासङ्घबाट करिब छ सय प्रतिनिधि तथा पर्यवेक्षकको महाधिवेशनमा सहभागिता रहने जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने महाधिवेशनमा सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्नुहुनेछ । विभिन्न प्रस्तावका साथै राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित हुने महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने महासङ्घका महासचिव चन्द्र तामाङले बताउनुभयो ।

मुलुकमा राजनीतिक आन्दोलनमा महासङ्घको योगदान, संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन छलफल गरिने महाधिवेशनमा मुलुकको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाविरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न महासङ्घले निर्वाह गर्नुपर्ने भूमिका, आगामी रणनीति, कार्यक्रमबारे समीक्षा गरिने छ । काठमाडौँको बानेश्वरस्थित अर्पण बैङ्क्वेटमा हुने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महासङ्घले जनाएको छ ।

कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर

म्याग्दी, १९ वैशाखः बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

निर्माण कम्पनीका अनुसार राहुपारे–बैसरी–कुनौटा–बेगखोला– कालीओडार– तिप्ल्याङ–महभिर–भिरकाटे–घार बैसरी– रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ ।

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो । चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट म्याग्दी हँुदै मुुस्ताङको कोरला पुग्न दुई लेनकोे २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३÷७४ देखि कालोपत्र गर्न सुरु भएको हो । हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ ।

अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमडौँ-भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउनुहुने भएको छ । सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लाग्नुभएको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।संस्थाका अध्यक्ष देव मगरका अनुसार शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लाग्नुभएको हो । उहाँले भन्नुभयो, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।”

आगामी जेठ ३ गते ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम आयोजना हुने भएको हो । नेपाल आउन र नेपालीलाई भेट्न आफू उत्साहित रहेको अभिनेत्री फतेहीले बताउनुभएको छ । उहाँले एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताउनुभएको छ ।

“म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु”, उहाँले भन्नुभएको छ । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’लगायत गीत लोकप्रिय छन् ।

उक्त कार्यक्रममा नेपाली कलाकारहरु दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुती दिनुहुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । उक्त कार्यक्रमको टिकट ‘खल्ती’ एपमा उपलब्ध रहेको आयोजक तथा कार्यक्रम संयोजक मनिष कार्कीले जानकारी दिनुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १९ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३५, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो १००, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २९०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ८०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १९ वैशाखः संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा मौसूफबाट विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण हुनाका साथै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको थियो ।

बेलायती नरेशले नेपालसँगको आफ्नो देशको मैत्रीपूर्ण सम्बन्ध सुमधुर एवं परस्परमा लाभदायक रहेको जनाउँदै त्यसप्रति सन्तुष्टि व्यक्त गर्नुभएको लण्डनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

दुई शताब्दी लामो द्विदेशीय सम्बन्धको चर्चा गर्दै राजदूत घिमिरेले नेपालको सामाजिक–आर्थिक विकासका खातिर संयुक्त अधिराज्यबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गर्नुभएको थियो ।

साथै राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मौसूफको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै संयुक्त अधिराज्यका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो ।

त्यस अवसरमा राजदूत घिमिरेकी धर्मपत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासाद, बेलायती विदेश मन्त्रालय तथा नेपालको दूतावासका वरिष्ठ कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

खोटाङ, १९ वैशाखः “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय इन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु, त्यसपछि उनीहरूको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति आभारी छु ।”

बुबाआमा दुवै पत्ता नलागेका इन्द्रबहादुरले बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट वपंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । नेपाल नागरिकता ऐन, २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ बमोजिम (अन्य तरिकाबाट हुर्किएका व्यक्तिलाई वंशजका आधारमा दिइने नागरिकता) बुबाआमाको नाम उल्लेख गर्ने महल (ठाउँ) खाली राखेको नागरिकता प्राप्त गर्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चक्र राई (बेलायती सेनाका पेन्सनर)को घरमा आश्रय लिएर हुर्किनुभएका इन्द्रबहादुरका दुई छोरा (जेठा राजेश १८ तथा कान्छा आदेश १३ वर्ष)का छन् । इन्द्रबहादुरले आश्रय लिएर बसेका घरधनी चक्रको सात वर्षअघि निधन भएको छिमेकीहरूले बताएका छन् ।

चक्रको निधन भएको तीन वर्षपछि (३३ वर्षको उमेरमा) त्यस घरबाट निकालिनुभएका इन्द्रबहादुर अहिले ससुराली घरमा घरज्वाइँ भएर बसिरहनुभएको छ । चक्रले आफ्नै छोरा बनाएर नागरिकता बनाइदिने, विवाह गरिदिने र अंशसमेत उपलब्ध गराउने शर्तमा त्यस घरमा आफूलाई राखेर काम लगाएको इन्द्रबहादुरले बताउँदै आउनुभएको छ ।

चक्रको निधनपछि छोराछोरीबाट रु आठ लाख लिएर निस्किनुभएका इन्द्रबहादुरलाई नागरिकता दिलाउन वडा कार्यालय बाम्राङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०८१ साल भदौ १७ गते जिल्ला प्रशासन कार्यालयलाई छुट्टाछुट्टै सिफारिस गरेको थियो । चक्रको घरमा हुँदा नै बाम्राङकै स्थानीय दाहाल थरकी महिलासँग विवाह गर्नुभएका इन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि २०८० साल माघ ७ गते गाउँ सर्जमिन गराएर २०४६ साल जेठ १० गतेको जन्ममिति राखेर आफ्नो जन्मदर्ता प्रमाणित गराउनुभएको थियो ।

इन्द्रबहादुरलाई नागरिकता दिलाउन आफू निर्वाचित भएर आएपछि फरकफरक प्रकृतिको पाँचपटक सिफारिस गरिदिएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो । “बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता दिने विषयमा बाम्राङवासी सबै सहमत थियौँ । धेरैले आफ्नो छोरा बनाएर नागरिकता दिन्छु पनि भनेका थिए”, उहाँले भन्नुभयो, “कानुनी प्रावधानका कारण त्यो सम्भव भएन । लामो समयको प्रयासपछि इन्द्रबहादुरलाई अन्य तरिकाबाट हुर्किएका व्यक्ति भनेर नागरिकता दिलाउन सफल भएका छौँ । अब घरजग्गा व्यवस्था गरेर स्थापित गर्छौँ ।”

वडा कार्यालय बाम्राङ तथा नगरपालिकाको कार्यालय दिक्तेलबाट सिफारिससहित आवश्यक कागजात लिएर इन्द्रबहादुर २०८१ भदौ १८ गते जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । त्यसबेला शिवकुमार कार्की खोटाङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । तर, जिल्ला प्रशासन कार्यालयले ईन्द्रबहादुरकोे कागजातमा नेपाल नागरिकता ऐन, २०६३ को दफा ८ (ग) बमोजिम कानुनी संरक्षकका रूपमा पेस नभएको र अन्य संस्थागत संरक्षकत्वसमेत पेस नभएको भन्दै नागरिकताको सिफारिस दरपिठ गर्दै नागरिकता दिन इन्कार गरेको थियो ।

जिल्ला प्रशासनले नागरिकता दिन इन्कार गरेपछि इन्द्रबहादुर कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश घिमिरेलाई गुहार्न दिक्तेलस्थित ‘कान्ति ल फर्म’ पुग्नुभयो । आफ्नो समस्या सुनाएपछि इन्द्रबहादुरले अधिवक्ता घिमिरेलाई प्रोबोनो (निःशुल्क कानुनी सहायता दिने वकिल) कानुन व्यवसायीका रूपमा नियुक्त गर्नुभयो ।

प्रशासनले इन्कार गरेपछि नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित बनाएको भन्दै इन्द्रबहादुरले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गामा वंशजका आधारमा नागरिकता दिन, दिलाउन भनी परमादेशको आदेशसहित माग लिएर रिट निवेदन दर्ता गराउनुभयो । अधिवक्ता घिमिरेमार्फत जिल्ला प्रशासन कार्यालय र प्रजिअ कार्कीविरुद्ध २०८१ साल मङ्सिरमा रिट निवेदन दर्ता गराउनुभएको हो ।

इन्द्रबहादुरको रिट निवेदनमा न्यायाधीश धीरबहादुर चन्द र बबिता उप्रेतीको संयुक्त इजलासले इन्द्रबहादुरको पक्षमा परमादेश जारी गर्यो । नेपाल नागरिकता ऐन, २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ मा उल्लेखित कागजात पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र पाऊँ भनी निवेदन पेस गरेको खण्डमा उक्त दफाको ८‐१ (ग) ३ बमोजिम नागरिकताको प्रमाणपत्र दिनु भनी विपक्षीहरूका नाममा २०८१ साल माघ २३ गते परमादेशको आदेश जारी गरेको थियो ।

उच्च अदालतको परमादेशको फैसला र पत्र जिल्ला प्रशासनलाई पठाएपछि इन्द्रबहादुर पुनः २०८१ साल फागुनदेखि नागरिकता लिन दैनिक प्रशासन धाउन थाल्नुभयो । अदालतले रिट निवेदकलाई नागरिकता दिनू भनेर फैसला गर्दा पनि जिल्ला प्रशासन कार्यालय खोटाङले दुई महिनासम्म नागरिकता नदिँदा इन्द्रबहादुर निरास बन्नुभएको थियो ।

इन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा नगरेकाले ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले प्रतिक्रिया दिनुभएको छ । “खोटाङमा यो पहिलो अभ्यास हो । सबै कुरा मन्त्रालयको सुझावका आधारमा गर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “इन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि तुरुन्तै नागरिकता दिलाएका छौँ । यसमा हाम्रो कुनै कमजोरी छैन ।”

प्रशासनको पछिल्लो सेवा प्रवाहका विषयमा नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईलगायतले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै आएका छन् । कांग्रेस खोटाङका प्रवक्ता रोजन राई र एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका अध्यक्ष गोपाल आचार्यले प्रशासनमै पुगेर नागरिकताको सन्दर्भमा जनताले अनावश्यक दुःख पाएको भन्दै ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

सडक विभागद्वारा कर्णालीमा ७७१.३६ किलोमिटर सडकमा कालोपत्र

काँक्रेविहार (सुर्खेत), १९ वैशाख : कर्णालीका १० जिल्लामा सङ्घीय सरकार मातहत रहेको सडक विभागमार्फत ७५ वटा सानाठूला सडकको काम भइरहेको छ । ठूला सडकदेखि मझौला सडक कर्णालीमा सडक डिभिजन तथा योजना कार्यालयहरूले निर्माण गरिरहेका छन् ।

दुई हजार २१८ दशमलव २९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएकामा हालसम्म ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र भएको छभने दुई सय ६४ किलोमिटर ग्राभेलको काम भएको छ । कच्ची सडक ६७६ दशमलव ५ किलोमिटर निर्माण भएको कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १३ दशमलव २४ किलोमिटर सडक निर्माण जारी छ । प्रदेशभर ५४७ दशमलव ६४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको छ । मध्यपहाडी राजमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोर, राप्ती लोकमार्गको कर्णाली भेगलगायत सानाठूला सडकमा रहेका सबै टुक्रे योजनालाई जोडिएको छ ।

थाचर–शीतल पकारी २१ दशमलव ९८ किलोमिटर, मुसिकोट चौरजहारी ३८ दशमलव ३५ किलोमिटर, चौरजहारी–कुदु २ दशमलव ६६, जाजरकोटको कुदुबाट थलहसम्म ५० दशमलव ८६ किलोमिटर, थलहबाट बडावनसम्म १२ दशमलव ४६, वडावनबाट सुयाडासम्म २२ दशमलव १७, सुयाडा–मनघाट ११ दशमलव ६४, मनघाट–सेस्तडा ६ दशमलव ४८, बेस्तडा–लोहरे १३ दशमलव १७, लोहरे–दुईखम्बे ११ दशमलव १८, दुईखम्बे–नारायण दैलेख शून्य दशमलव ५३, नारायण–रावतकोट १६ दशमलव १५, रावतकोट–लैनचौर १३ दशमलव ३०, लैनचौर–शाहीज्यूला ३३ दशमलव १९, शाहीज्यूला–बेलकोट २ दशमलव २५ र जलेखर्क–बागचौर १२ दशमलव १६ किलोमिटर सडकमा काम भइरहेको छ ।

त्यसैगरी, शीतलपाटीबाट सल्यान खलङ्गा बजारसम्म ९ दशमलव ८३, खलङ्गा बजारबाट बालुवासङ्ग्रहीसम्म ३० दशमलव ९३, सुर्खेतको बोटेचौरबाट धुलियाँविटसम्म ३८ दशमलव ९३, बडीचौरबाट गुटुबजारसम्म ३१ दशमलव ६२ किलोमिटर सडकमा काम भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । गुटुबजारबाट बिनीसम्म ६३ दशमलव १० किलोमिटर, बिजेनेटा–काल्चे २५ दशमलव २० किलोमिटर, काल्चे–बोटेचौर १४ दशमलव २७ किलोमिटर र राम्री–शीतलपाटी ३७ दशमलव ३६ किलोमिटर सडकमा काम भएको छ । शीतलपाटी–पटेलेचौर ४६ दशमलव ६६, पटेलचौर–खौउलापास ७ दशमलव ८४, खौउलापास–मुसिकोट ३१ दशमलव ४० किलोमिटर, सल्यानको थारमार्रेबाट रूकुमपश्चिमको चौरजहारीसम्म ४० दशमलव ७५ किलोमिटर र चौरजहारीबाट चौरजहारी बजारसम्म २ दशमलव ५४ किलोमिटर सडकमा काम भइरहेको छ ।

त्यस्तै सङ्घ सरकारमताहात सडक डिभिजन जुम्लाबाट करर्कार्ने बुरू भेडा सडकमा ७५ दशमलव ०६ किलोमिटर, बुरू भेडाबाट टोप्लासम्म १३ दशमलव ०३ किलोमिटर, टोप्ला–कुडारी २२ दशमलव ८८, रिमनाबजार–बुलबुले ३४ दशमलव ५९ किलोमिटर, इमा–जुइना ४२ दशमलव २८ किलोमिटर सडक निर्माण गरिएको छ । छिन्चुबाट भेरी पुलसम्म १९ दशमलव ०४ किलोमिटर, बोटेचौरबाट रैकरसम्म ९ दशमलव ९४ किलोमिटर, रैकर–पुल बजार १५ दशमलव ०५ किलोमिटर, पुलबजारबाट जाजरकोटको छेडागाडसम्म २३ दशमलव ८८ किलोमिटर, छेडागाड–कालेगाउँ ३६ दशमलव ९९, कालेगाउँ–त्रिवेणी ६८ दशमलव ८१ किलोमिटर, त्रिवेणी–दुनै ४० दशमलव ४३, दुनै–मरिम १२० किलोमिटर सडकमा पनि काम भइरहेको छ । हर्रेबाट छिन्चुसम्म ११ दशमलव ७५, छिन्चु–नेवारी खोला २५ दशमलव ४०, नेवारीखोला–बाङ्गेसिमल ६ दशमलव ९९ र बाङ्गेसिमल–बड्डीचौर २७ दशमलव ११ किलोमिटर सडक सङ्घ सरकारकै माताहातमा रहेको छ ।

बडीचौरबाट काकाखोला गाउँसम्म १८ दशमलव ८९ किलोमिटर सडक रहेको छ । काकाखोला गाउँबाट साइनासम्म ६३ दशमलव २८ किलोमिटर, बेलखेतबाट तिलेपाटासम्म २दशमलव ६१ किलोमिटर, तिलोपाटाबाट सिराडीसम्म १८, सिराडी–खुलालु ४ दशमलव १०, खुलालु–पातलीवडी ३६ किलोमिटर र बोल्डिक–धुलिया २० किलोमिटर सडक रहेको छ । धुलियाबाट सिमिकोटसम्म ८५ किलोमिटर, सिमिकोट–हिल्सा ९५, तेलपानी–बाङ्ग्रेसिमल २५ किलोमिटर सडक सङ्घ सरकारकै माताहातमा छ । माथिल्लो डुगेश्वरबाट पुराइनीसम्म ७दशमलव ६२, पुराइनी–ताराघाट २५दशमलव ३४ किलोमिटर, ताराघाट–महाबुधाम ३५ दशमलव ९२ किलोमिटर, महाबुधाम–तलशेरा २० दशमलव ९७ किलोमिटर छ ।

सुर्खेतबाट गुराँसे २३ दशमलव ५९ किलोमिटर, गुराँसे–बेलघारी ३२ दशमलव ५०, बेलघारी–दुईखम्बे ९दशमलव ६९ किलोमिटर सडक छ । दुई खम्बेबाट पाल्ला कालीमाटी ५ दशमलव ३७ र पाल्लो कालिमटीबाट वडारसम्म ३६ दशमलव ०४ किलोमिटर सडक सङ्घ सरकारको मताहातमा छ । वडारी–भैँसीगोठ ३८दशमलव ५३, नाग्मा–बुलबुले ६५ दशमलव ६७, बुलबुले–गमगढी २४ दशमलव ९७ किलोमिटर, गमगढी–नाक्चेलाग्ना ८९ दशमलव ५८ किलोमिटर सडक रहेको छ । दैलेखकको तल्लो डुर्गेश्वारबाट घियाटिडुसम्म २२ दशमलव ७० किलोमिटर, छेगतरा बजारबाठ पातीमेलासम्म ५४ दशमलव १२ किलोमिटर, खुलालुबाट घोडेनासम्म २६ दशमलव ७७ किलोमिटर, घोडेनाबाट नाग्मासम्म ३९ दशमलव ७० किलोमिटर र नाग्माबाट जुम्ला खलङ्गासम्म ३२ दशमलव १८ किलोमिटर सडक रहेको छ । यी सडकभित्र रहेको ७१७ दशमलव ३६ किलोमिटर कालोपत्र सडक विभागबाट प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा बुझाएको विवरणमा उल्लेख गरिएको छ । कर्णालीमा ५४७ दशमलव ६४ किलोमिटर कालोपत्र गर्ने योजना छ ।

दुर्गम जिल्लामध्ये सबैभन्दा बढी जाजरकोटमा कालोपत्र भएको पाइएको छ । हुम्लामा अहिलेसम्म कालोपत्र नै भएको छैन । त्यस्तै डोल्पामा दुई किलोमिटर मात्र कालोपत्र भएको छ । जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी राजमार्गलगायतमा बढी कालोपत्र भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्याङ्कअनुुसार प्रदेशभर दुई सय ८२ वटा प्रदेश राजमार्ग तथा प्रदेश सडक छन् । प्रदेश राजमार्ग मात्र एक सय तीनवटा रहेका छन् भने प्रदेश सडक एक सय ७९ वटा छन् ।

प्रदेश राजमार्गको सञ्जाल दुई हजार ८७७ दशमलव ३६ किलोमिटर रहेको छभने प्रदेश सडक सञ्जाल तीन हजार ८० दशमलव ५१ किलोमिटर छ । मन्त्रालयको तथ्याङ्कानुसार प्रदेश सरकार स्थापना भएदेखि हालसम्म जम्मा दुई सय ३० किलोमिटर सडक कालोपत्र गर्ने काम भएको छ । यस्तै सात सय किलोमिटर खण्ड स्मिथ सडक र तीन हजार किलोमिटर कच्ची सडक खनिएको छ । यस्तै चार दर्जनजति सडक पुल निर्माण भई कर्णाली प्रदेशका लाखौँ जनता लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म प्रदेशमा कुल तीन हजार ६३८ दशमलव ३७ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । तथ्याङ्कानुसार ७९ वटा स्थानीय तह रहेको कर्णालीका तीनवटा स्थानीय तहमा सडक सञ्जाल पुगेको छैन । त्यस्तै, हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । छयालीस स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक नै बनेको छ । सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, रूकुमपश्चिम, सल्यानका सडकमा कालोपत्र बढी भएको छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, १९ वैशाखः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

यसैगरी, आज राति कोशी ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।साथै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १९ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ २१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ १५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४९ पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९४ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

सकियो ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम : ११ नाउर र सात झारलको सिकार

ढोरपाटन (बागलुङ), १९ वैशाख : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो ।

सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका थिए । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि सिकारी ढोरपाटन आएका थिए । सिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको सिकार थिए । १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार भएन ।

दोस्रो याम (फागुन–वैशाख)का लागि वैशाख १६ गतेसम्म सिकारीले सिकार खेलेका थिए । सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टस काठमाडौँले सिकारीमार्फत दुई नाउर, दुई र दुई बँदेल सिकार गर्न अनुमति पाएको थियो । यो कम्पनीले एउटा नाउर र एउटा झारल मात्र सिकार गरेको छ । ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकन सिकारीले दुई नाउर र दुई झारल सिकार गर्ने अनुमति पाएकामा सबै वन्यजन्तुको सिकार गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी हिमालयन सफारिज प्रालि काठमाडौँमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनमति पाएकामा तीन नाउर र एक झारल सिकार गरेका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका थिए । त्यसमध्ये दुई नाउर र एक झारलको सिकार गरेका छन् । नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल सिकार गर्ने अनुमति पाएकामा दुई नाउर मात्र सिकार गरेको सुवेदीले जानकारी दिनुभयो ।

ओपन नेपाल वाइल्डलाइफ सफारिज एन्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएकामा एक नाउर र दुई झारलको सिकार गरेको उहाँले बताउनुभयो । दोस्रो सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, फ्रान्सबाट सिकारी आएका थिए । ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा सिकार हुने गर्छ ।

भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

टक्सार (भोजपुर), १९ वैशाख : भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि थप गरिएको सात मिनेटको सुरुमै एपीएफका लागि जर्सी नम्बर ७ का खेलाडी सामीराह थोकरले एक गोल गरे । सोही गोल जितका लागि निर्णायक बन्न पुग्यो ।

सेमिफाइनलको म्यान अफ दी म्याच एपीएफका गोलकर्ता थोकर नै बने । प्रतियोगिताअन्तर्गत शुक्रबारको सेमिफाइनल खेल भगवती स्पोर्ट्स क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिनुभयो ।

भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा यही वैशाख १४ देखि सञ्चालन भइरहेको प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लव, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोटर््स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटी मोरङ गरी आठ टिमले सहभागिता जनाएका थिए ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पुरस्कारको व्यवस्था गरिएकोे जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिनुभयो । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ ।

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

काठमाडौँ, १९ वैशाख : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।

पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ ।

बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचनामार्फत आग्रह गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठक बस्दै : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ, १९ वैशाख : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसक्नुभएको छ ।

यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।

यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।

सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

‘लायन्स कप’ भलिबल , नेपाल पुलिस र इरानी टोली विजयी

कास्की, १८ वैशाखः पोखरामा आजदेखि पहिलो संस्करणको ‘लायन्स कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र इरानको टोली विजयी भएको छ ।

भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी यात्रा सुरु गरेको हो । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको समूह ‘बी’अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५–२३ ले जित हासिल ग¥यो । दोस्रो सेट र तेस्रो सेट भने पुलिसले सहज जित निकाल्यो । पुलिसले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले जित निकाल्न सफल रह्यो ।

यसअघि आजै भएको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गरेको थियो ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रबार पहिलो खेल इरानी टोली र गण्डकी प्रदेश तथा दोस्रो खेल भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा इरानी टोली, एपिएफ र गण्डकी प्रदेश छन् भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुर्ईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ ।

प्रतियोगिताको विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख ४४ हजार ४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । 

यसैगरी तेस्रो हुने टोलीले नगद रु एक लाख ४४ हजार चार सय ४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेहरूलाई रु आठ हजार ४४४ का दरले पुरस्कार गरिने डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । 

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

काठमाडौँ, १८ वैशाखः छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स)मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ ।

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि बढाइएको हो । 

उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।

औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । प्राधिकरणले मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुञ्जेल भारतबाट अधिकतम मूल्यमासमेत आयतको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकमा देखिएको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अप्ठ्यारो परिस्थितिमा भारत सरकारबाट ६०० मेगावाट विद्युत् आयातको समयावधि थप चार घण्टा बढाइ गरिएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिएको छ । 

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा सुरु, आज गावहाल पुर्‍याइयो

पाटन । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ । रथयात्रा बिहीबार पुल्चोकबाट सुरु भएर गावहाल पुर्याइएको छ । 

रातो मच्छिन्द्रनाथसँगै मीननाथको रथलाईसमेत गावहाल पुर्याइएको छ । पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ बनाउँदै गर्दा पाटनको टङ्गालमा मिननाथको रथ निर्माण गरिने प्रचलन छ । रथयात्राअगावै मिननाथको रथलाई आजै पुल्चोक ल्याइएको थियो ।

यही वैशाख १५ गते सोमबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रवहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो ।

रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।

यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।

रथयात्राको अवलोकन गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको निमन्त्रणामा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदूतहरु, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि ललितपुर पुगेका थिए ।

ललितपुर महानगरको निमन्त्रणामा रथयात्रा अवलोकन गर्न युरोपेली युनियनका राजदूत भेरोनिका लोरेन्जो, इजरायलका राजदूत श्मुलिक एरीबास, जापानका राजदूत मयादा तोरु, बेलायतका राजदूत रब फेन, अमेरिकी दूतावासका पब्लिक अफियर्स चिफ जेहरा नाक्यूभीका साथै युनेस्को, युएनडिपी, युएनएचसीअरका प्रतिनिधिहरु ललितपुर आउनुभएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

रथयात्रा हेर्न ललितपुर आएका विदेशी पाहुनालाई महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनलगायतले स्वागत गरेका थिए ।

त्यस्तै भगिनी सम्बन्ध कायम भएको रसियाको उलान उदे सहरका नगर प्रमुख र उनको प्रतिनिधिमण्डल, अखिल भारत नेवार सङ्गठन आसाम इकाइका लिलबहादुर प्रधान र केन्द्रका सूर्यनारायण प्रधानसमेतले रथयात्राको अवलोकन गरेका छन् । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु रातो मच्छिन्द्रनाथको परिचय र चर्चालाई अन्तरराष्ट्रियस्तरमा थप उचाइ दिन राजदूत र अन्तरराष्ट्रिय विकास साझेदार संस्थालाई निम्तो दिएको बताए । पुल्चोकबाट रथलाई तानेर गावहाल पुर्याइएको रथलाई सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याइन्छ ।

८८ यसरी सुरु भयो भोटो जात्रा ८८

मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले बहुमूल्य गहना र हीराजडित भोटो पाएको किंवदन्ती छ । यसरी उपहारस्वरूप पाएको किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले ।

खोजी गरेर कहीँकतै नपाएका ती किसानले रातो मच्छिन्द्रनाथको जात्रामा आउँदा एक राक्षसले लगाएको देखेर ‘यो भोटो मेरो हो’ भनेर दाबी गरेको किंवदन्ती छ, यसरी दाबी गर्दा दुई जनाबीच व्यापक विवाद हुनपुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेन् । सो विवाद राजासमक्ष पुर्याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रुपमा मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती छ । 

भोटोजात्रा अवलोकनका लागि प्रत्येक वर्ष राष्ट्रप्रमुख, प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरु, मन्त्रीलगायत विशिष्ठ व्यक्तित्वहरु जावलाखेल आउने परम्परा छ । भोटो जात्राको अवलोकनपछि राष्ट्रप्रमुखले जीवितदेवी कुमारीको दर्शन गर्ने परम्परा छ ।
 
भोटो जात्रासँगै परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिने गरिन्छ । मिननाथको रथ तानेर ललितपुरको टङ्गलमा पुर्याइन्छ ।

काठमाडौँ उपत्यकामा अनावृष्टि भएपछि गुरुजु बन्धुदत्त आचार्य सल्लाहअनुसार राजा नरेन्द्रदेवले भारतको कामरुपकामाक्षा (आसाम) बाट मच्छिन्द्रनाथ काठमाडौँमा ल्याइएको इतिहास छ । संस्कृतिको अध्ययन गर्दै आएका राजेश बज्राचार्यका अनुसार सन् ६४४ देखि ६८० बीचमा रथजात्राको परम्पराको थालनी भएको थियो ।

निसान र आरभ टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाडौँ, १८ वैशाखः निसान श्रेष्ठ र आरभसम्राट हाडा ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आज फाइनलमा प्रवेश गरेका छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा निसानले निहालजङ्ग बहादुर थापालाई ६–३ र ६–२ तथा आरभले राजवीर प्रधानलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६–१ र ६–१ तथा स्वस्तिका विष्टले आइशा डोल्कर गुरुङलाई ६–१ र ६–१ को सोझो सेटमा हराउँदै उपाधि भीडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–० र ६–० तथा सन्तोष खत्रीले भीष्मजङ्ग गुरुङलाई ६–३ र ६–३ को सोझो सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरेका छन् ।

३५ वर्षमाथि पुरुष डबल्समा जीतेन्द्र र इलम दीक्षितको जोडीले भीष्मजङ्ग गुरुङ र गगन महर्जनको जोडीलाई ६–४ र ६–२ तथा सन्तोष र छेवाङ लामाको जोडीले सिमान्त र नवीन श्रेष्ठको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पन्छ्याउदै फाइनलमा पुगेका छन् ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङले उत्तम बोगटीलाई ६–३ र ६–१ तथा चन्द्र शाहीले मनोजविक्रम शाहलाई ६–३ र ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६–१ र ६–० तथा रोहित सुनुवारले मानबहादुर कटुवाललाई ६–२ र ६–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन् ।

५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले प्रेम थापा र रमेश रोक्काको जोडीलाई ६–१ र ६–३ तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले राम राणा र सागर विसीको जोडीलाई ७–६ र ६–१ ले हराउदै फाइनलमा पुग्न सफल भएका छन् ।

भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणाको जोडीले फाडर म्याथ्यु र प्रेम थापाको जोडीलाई ६–२ र ६–१ ले पराजित गरी फाइनलमा पुगेका छन् । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ पहिलो भए । उनले फाइनलमा भिक्टर राणालाई ६–२ र ६–३ ले पाखा लगाएका थिए ।

अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा तीनजना नियन्त्रणमा

जनकपुरधाम, १८ वैशाख : डिभिजन वन कार्यालय धनुषाले अवैध रुपमा सामुदायिक वनबाट नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।

मिथिला नगरपालिका–५ औरही बाबा सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरिरहेको सूचनाको आधारमा आज वनका कर्मचारीको टोलीले ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको कार्यालय प्रमुख विनोद सिंहले जानकारी दिनुभयो ।

सवडिभिजन वन कार्यालय पुष्पवलपुर तथा जिल्लाबाट खटिएको संयुक्त टोलीले ज१त ४८५६, ज१त ६३७७ तथा मधेस प्रदेश ०२–००१ २८७७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । ट्याक्टरसँगै मिथिला नगरपालिका–५ विश्रामपुरका सामेली उछामी, समिर भुजेल र सुन्दर कुमारलाई नियन्त्रणमा लिइएको हो । कार्यालय प्रमुख सिंहका अनुसार नियन्त्रणमा लिएका तीनै जनामाथि वन ऐनअनुसार कारबाही हुने बताउनुभयो ।

जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

कटारी (उदयपुर), १८ वैशाख : उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

चितवनबाट झापातर्पm जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । 

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार बस्नेतको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते झापाको दमक नगरपालिका–१० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारीको कटारी अस्पतालमै उपचार भइरहेको छ । 

दुर्घटनामा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाललाई  उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिइएको छ । चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङको पनि कटारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आणविक वार्ताअघि अमेरिकाले इरानमाथि लगाएको नयाँ प्रतिबन्धको तेहरानद्वारा निन्दा

इरानले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी निर्णयलाई बिहीबार ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिएको छ ।संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका चार र टर्कीमा रहेको एक गरी इरानी तेल बिक्री गर्ने सात कम्पनीमाथि संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भन्नुभएको छ , “जबसम्म इरानले आफ्नो अस्थिर गतिविधिका लागि तेल र पेट्रोकेमिकल राजस्व जुटाउने प्रयास गर्छ र आफ्ना आतङ्कवादी गतिविधि र छद्य्म रूपलाई अगाडी बढाउँछ, तबसम्म संयुक्त राज्य अमेरिकाले इरान र प्रतिबन्ध छलीमा संलग्न उसका सबै साझेदारहरूलाई जवाफदेही बनाउन कदम चाल्नेछ।”

इरान र अमेरिकाबीच शनिबार रोममा हुने चौथो चरणको वार्ताअघि तेहरानले आफ्नो आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा अन्य राजनीतिक तथा आर्थिक प्रतिबन्धबाट राहत मागिरहेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक वक्तव्य जारी गर्दै विकासशील देशहरूबीचको मैत्रीपूर्ण र कानुनी सम्बन्धमा आर्थिक आतङ्कवादको माध्यमबाट खलल पु¥याउने अमेरिकी प्रयासको एक हिस्साका रूपमा प्रतिबन्ध लगाइएको बताउनुभएको छ ।

अमेरिकी निर्णयकर्ताहरूको विरोधाभासी दृष्टिकोण र कूटनीतिको मार्गलाई अगाडि बढाउन सद्भाव र गम्भीरताको कमीको स्पष्ट प्रमाण भएको उहाँले बताउनुभयो ।

गत जनवरीमा राष्ट्रपतिमा फर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि ‘अधिकतम दबाब’ दिने अभियान लाई पुनः सुरु गर्नुभएको छ ।

गत मार्चमा उहाँले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई पत्र पठाएर वार्ताका लागि आग्रह गर्दै इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिनुभएको थियो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१५ मा इरान र विश्व शक्तिराष्ट्रबीच भएको आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता भएको घोषणा गर्दै कडा प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो ।

शुक्रवार भित्र अनिवार्य रूपमा कागजात र दस्तुर बुझाउन एनआरएनए डेलिगेट्सहरूलाई निर्वाचन समितिको आग्रह

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा डेलिगेट्स (प्रतिनिधि) बन्नका लागि शुक्रवारभित्र अनिवार्य कागजात र दस्तुर बुझाउन आग्रह गरिएको छ ।

एनआरएनए निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै वैशाख १९ गते (२ मे २०२५) शुक्रवार अपराह्न २ बजेसम्म अनिवार्य कागजात र दस्तुर बुझाउन बाँकी रहेका डेलिगेटहरूलाई प्रमाण पुग्ने कागजात र दस्तुर बुझाउन आग्रह गरेको छ ।

निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरिसकेका २,६४३ डेलिगेट (मतदाता) हरूमध्ये अहिलेसम्म ६२५ जनाको मात्रै प्रमाणीकरण भई वैशाख १५ गते प्रथम मतदाता नामावली प्रकाशन भई सकेको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बाँकी रहेका २,०१८ डेलिगेटहरूलाई वैशाख १९ गते (शुक्रवार) अपराह्न २ बजेसम्म समय दिइएको जानकारी दिए । शुक्रवार अपराह्न निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्नेछ भने शनिवार महाधिवेशनको उद्घाटन पछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।

‘निर्वाचन प्रक्रियामा सहभागिता जनाउन इच्छुक सम्पूर्ण डेलिगेटहरूले तोकिएको म्याद भित्र आवश्यक प्रक्रिया पूरा नगरेमा, मतदाता नामावलीबाट वञ्चित हुन सक्ने सम्भावना अत्यन्त प्रबल रहनेछ। त्यसैले सबै सरोकारवालालाई समयमै कार्य सम्पादन गर्न हार्दिक अपिल गर्दछौँ,” समितिले भनेको छ।

निर्वाचन समितिले मतदाताको प्रारम्भिक नामावलीमा रहेका नामहरूमाथि यदि कसैले दाबी वा विरोध गर्न चाहेको खण्डमा सोही समयमा निवेदन दिन सक्ने प्रावधान रहेको पनि जनाएको छ ।

शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाडौँ, १८ वैशाखः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छिटो प्रक्रिया अपनाइ पारित गर्न सकिने धारणा राख्नुभएको छ ।

लियो क्लब डिस्ट्रीक्ट ३२५ इ को तेस्रो जिल्ला परिषद् बैठक र तेस्रो वार्षिक जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपाध्यक्ष घिमिरले सरकारसँगको सहमतिअनुसार नै छिटो प्रक्रियाबाट विधेयक सदनबाट पारित गर्न सकिने बताउनुभएको हो ।

“एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति प्रतिनिधिसभाबाट आगामी असार १५ मा शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ”, उपाध्यक्ष घिमिरले भन्नुभयो, “प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई दलहरुको सहमतिमा राष्ट्रियसभाले छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ ।”

उहाँले महत्वपूर्ण विधेयक पारित भएर कानुन बन्न नसक्दा सङ्घीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “प्रतिनिधिसभाले शिक्षा र निजामतिलगायका विधेयक पारित गर्नका लागि शनिबार र बिदाका दिन बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने सहमति गरिसकेको छ, प्रतिनिधिसभाबाट पारित भएर आएका विधेयकहरु राष्ट्रियसभामा लामो समय अड्काउने काम गरेका छैनौँ ।”

उपाध्यक्ष घिमिरेले नेपाली युवालाई सबल प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गराउने र नेपाललाई आधुनिक न्यायपूर्ण तथा समृद्ध राष्ट्र बनाउने कुरामा पनि युवाहरुले महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । 

युवा वर्गको क्रियाशीलताबाट नै राष्ट्र निर्माणका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएकाले युवा वर्गले सदैव कर्मशील सोचबाट अघि बढ्न सक्नुपर्ने उहाँको भनाइ थियो ।